सत्यता पछ्याउनु भनेको के हो (२)

हामीले हाम्रो अघिल्लो भेलामा सत्यता पछ्याउनु भनेको के हो भनेर सङ्गति गरेका थियौँ। यसलाई समीक्षा गर्दै सुरु गरौँ: सत्यता पछ्याउनु भनेको के हो? के तिमीहरूसित यसको उत्तर छ? के तिमीहरूले हाम्रो अघिल्लो सङ्गतिपछि यसबारे मनन गऱ्यौ? हामीले निश्‍चित विषयहरूमा सङ्गति गरिसकेपछि, तिमीहरूले तीबारे मनन गर्नुपर्नेछ, र त्यसपछि आफ्नो वास्तविक जीवनमा ती अनुभव गर्नु र भोग्‍नुपर्नेछ। त्यसपछि मात्र तिमीहरूले साँचो ज्ञान प्राप्त गर्न सक्‍नेछौ; त्यसपछि मात्र तिमीहरूले आफूले मनन गरिरहेका ती विषयहरूलाई साँचो रूपमा बुझ्न र कदर गर्न सक्‍नेछौ; त्यसपछि मात्र तिमीहरूले साँचो अनुभव र ज्ञान प्रस्तुत गर्न सक्‍नेछौ। के त्यस्तै होइन र? (त्यस्तै हो।) त्यसो भए, के तिमीहरूले यो प्रश्‍नबारे मनन गऱ्यौ? सत्यता पछ्याउनु भनेको के हो? सत्यता पछ्याउने कार्यमा केके तत्त्वहरू समावेश छन्? यसमा आवश्यक पर्ने मुख्य कुराहरू केके हुन्? के तिमीहरूले यी कुराको सारसङ्क्षेप गरेका छौ? (अघिल्लोपटक, परमेश्‍वरले मानिसमा रहेका सत्यता पछ्याउनेसम्बन्धी विभिन्‍न गलत विचार, दृष्टिकोण, र मनोवृत्तिहरूबारे सङ्गति गर्दै यो सुरु गर्नुभएको थियो; त्यसपछि परमेश्‍वरले सत्यता पछ्याउने कार्यका पाँचवटा चरणबारे विस्तृत रूपमा सङ्गति गर्नुभएको थियो।) हाम्रो अघिल्लो सङ्गतिमा मूलतः दुईवटा मुख्य भाग थिए: धेरै मानिसमा सत्यता पछ्याउने कार्यसित सम्बन्धित केही नकारात्मक स्थिति वा गलत दृष्टिकोणहरू, सत्यता पछ्याउनेसम्बन्धी मानिसका गलतबुझाइहरू, साथै सत्यता नपछ्याउन मानिसहरूले गर्ने बहानाबाजी र बचाउ-तर्कहरू—त्यो पहिलो मुख्य भाग थियो। दोस्रो भागचाहिँ सत्यता कसरी पछ्याउने भन्‍नेसम्बन्धी सङ्गति थियो, जसमा पाँचवटा चरणहरू थिए। दुईवटा मात्र भाग भएको भए पनि, हामीले प्रत्येक भागमा धेरै विस्तृत रूपमा र खास विषयहरूबारे कुरा गरेका थियौँ। मैले सत्यता पछ्याउनेसम्बन्धी मानिसको केही गलत ज्ञान र बुझाइ खुलासा गरेको थिएँ, र त्यसपछि मैले सत्यता पछ्याउने सन्दर्भमा मानिसमा हुने कैयौँ कठिनाइहरूका साथै सत्यताप्रति दिक्‍क मान्‍नेहरूले सत्यता नपछ्याउनको लागि गर्ने केही बहाना, बचाउ-तर्क र बहानाबाजीहरू पनि खुलासा गरेको थिएँ। मानिसहरूले सत्यता पछ्याउने सन्दर्भमा देखाउने नकारात्मक, निष्क्रिय मनोवृत्ति र संज्ञान तिनीहरूले आफ्नो वास्तविक जीवनमा अपनाउने जीवनशैली र खोजी, अनि सत्यताप्रति तिनीहरूले राख्‍ने मनोवृत्तिसँग मेल खान्छन्—ती सबै मानिसको खास व्यवहार र खास अभिव्यक्तिसित सम्बन्धित छन्। त्यसपछि, मानिसका विभिन्‍न व्यवहारको आधारमा, मैले सत्यता पछ्याउने केही निश्‍चित तौरतरिका प्रस्तुत गरेँ। के तिमीहरूलाई त्यो सब स्पष्ट छ? (छ।) साँच्‍चै हो? त्यसो भए, किन तिमीहरू केही बोल्दैनौ? लाग्छ, तिमीहरू अझै पनि त्यति स्पष्ट भएका छैनौ; हामीले सङ्गति गर्नुपर्ने कुरा अझै धेरै छन्।

परमेश्‍वरमा विश्‍वास गर्नुसँग सम्बन्धित सबैभन्दा ठूलो कुरा नै सत्यता पछ्याउनु हो। सत्यता पछ्याउनु भनेको के हो? सत्यता पछ्याउने कुरा आउँदा, मान्छेका प्रकटीकरणहरूका सबै कुराले तिनीहरूका धेरैजसो समस्या र कठिनाइहरू खुलासा गर्छन्, अनि मानिसहरूसित सत्यता नपछ्याउने अनेक सफाइ र बहानाहरू हुन्छन्—यस्ता बाधाहरू असाध्यै ठूला हुन्छन्। मानिसहरूका विभिन्‍न कठिनाइहरूको कारण, सत्यता पछ्याउने कुरा आउँदा, तिनीहरू अत्यन्तै बोझिलो र अप्ठ्यारो स्थितिमा रहेजस्तो देखिन्छन्, र तिनीहरूलाई यो असाध्यै गाह्रो छ भन्‍ने लाग्छ। वास्तवमा, “सत्यता पछ्याउनु भनेको के हो?” भन्‍ने प्रश्‍नको जवाफ दिन सजिलो छ, तैपनि किन मानिसहरू सत्यता पछ्याउन सक्दैनन्? कारण के हो? सबैजनाले आफूमा विवेक र समझ छ, आफूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छु, आफू कर्तव्य निभाउन सक्षम छु, र आफू कष्ट भोग्‍न र मूल्य चुकाउन तयार छु भनी घमण्ड गर्छन्। यति राम्रा व्यवहारहरूको जग हुँदाहुँदै पनि, कसरी तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न सक्दैनन्? तिनीहरूसँग यस्तो राम्रो मानवता, सत्यनिष्ठा, र ठूलो प्रतिष्ठा छ; तिनीहरूमा आफ्नो खोजीबारे इच्छा, आकाङ्क्षा र चाहना छ; तिनीहरूमा व्यक्तिपरक प्रयास, कठिनाइ सहने इच्छा, र मूल्य चुकाउने मनोवृत्ति छ; तिनीहरूमा सत्यता स्विकार्न चाहने सक्रिय, सकारात्मक र उपरमुखी मनोवृत्ति छ। जगको रूपमा यी कुराहरू भएर पनि, किन तिनीहरू सत्यता पछ्याउन योग्य छैनन्? किन तिनीहरू सत्यता पछ्याउने उपलब्धि हासिल गर्न सक्दैनन्? यो समस्याको जड कहाँ छ? (मान्छेले सत्यतालाई प्रेम गर्दैन र प्राकृतिक रूपमै सत्यतादेखि दिक्‍क मान्छ।) त्यो सही जवाफ हो। सबैभन्दा आधारभूत कारण भनेकै मानिसहरूमा भ्रष्ट स्वभाव हुनु हो। मान्छेको भ्रष्ट स्वभाव शैतानको कुरा हो, र शैतानको कुनै पनि कुरा परमेश्‍वर र सत्यताको वैरी हो। तसर्थ, मानिसहरूलाई सत्यता पछ्या भनेर भन्‍नु भनेको तिनीहरूलाई आफ्ना अन्तर्निहित जीवन र गुणहरू, अनि तिनीहरूको खोजका अन्तर्निहित तरिका र जीवनदृष्टि त्याग् भनेर भन्‍नु बराबर हो। यी गलत कुराहरू छोड्नु, आफ्ना देहगत इच्छाहरू त्याग्‍नु, र त्यसको साटो परमेश्‍वरका वचनहरू र सत्यता पछ्याउनु र अभ्यास गर्नु, जसलाई तिनीहरूको देहले नै रुचाउँदैन, जुन तिनीहरूसँग छँदै छैन, र जसलाई तिनीहरू तिरस्कार, घृणा र इन्कार गर्छन्—र यस्तो गर्नु तिनीहरूलाई एकदमै गाह्रो हुन्छ। तँलाई सत्यता पछ्या भनेर भन्‍नु भनेको तेरो अन्तर्निहित जीवन त्याग् भनेर भन्‍नु बराबर हो। के यो तँलाई तेरो जीवन बलिदान गर्न लगाउनुजस्तै होइन र? (हजुर, हो।) तेरो जीवन बलिदान गर्ने तँ नै होस्। के मानिसहरू स्वेच्छाले कुनै कुराको लागि आफ्नो जीवन बलिदान गर्छन्? (गर्दैनन्।) तिनीहरू भित्री मनमा भन्छन्, “म गर्नेछैनँ”—सयपल्ट, हजारपल्ट, दस हजारपल्ट: “म गर्नेछैनँ।” जस्तोसुकै परिस्थितिमा पनि, मानिसहरूलाई आफूमा भएका अन्तर्निहित शैतानी कुराहरू त्याग्‍न गाह्रो हुन्छ। यो तथ्य हो, जुन तिमीहरूले गहन र साँचो रूपमा अनुभव गरेका छौ। मानिसहरू सत्यता पछ्याउनका लागि हृदयभित्रैदेखि देहसुख त्याग्‍न; वा शैतानको प्रकृति र सार भएको आफ्नो जीवन त्याग्‍न; वा आफ्नो अन्तर्निहित शैतानी गुणहरू वा शैतानी प्रकृति त्याग्‍न अनिइच्छुक हुन्छन्। त्यसैले, शैतानी प्रकृति भएकाहरू र शैतानी स्वभावअनुसार जिउनेहरूका लागि सत्यतालाई प्रेम गर्नु र पछ्याउनु तिनीहरूको इच्छाविपरीत हुन्छ, र तिनीहरू त्यसो गर्न मान्दैनन्। यसको जड के हो? मानिसमा भएका गुणहरू शैतानको भएकोले यस्तो भएको हो र ती गुणहरू अन्तर्निहित रूपमै परमेश्‍वरविरुद्ध हुन्छन्। तसर्थ, मानिसहरूले सत्यता सुनेपछि र बुझेपछि, सत्यतालाई प्रेम गर्नेहरू, यसप्रति लागिपर्न र मूल्य चुकाउन इच्छुकहरू, र यो इच्छा, प्रेरणा र आकाङ्क्षा भएकाहरूले मात्र सत्यता बुझ्नेबित्तिकै अभ्यास गर्न सक्छन्। तिनीहरू मात्रै सत्यता र यसको वास्तविकताअनुसार जिउन सक्छन्। सत्यता अभ्यास गर्न चाहने धेरै मानिस छन्, तर तिनीहरू शैतानी प्रकृति र स्वभावद्वारा बाधित हुन्छन्; तिनीहरू इच्छुक भए पनि सत्यता अभ्यास गर्न सक्दैनन्। तथ्य के हो भने, वास्तविक जीवनमा सत्यता अभ्यास गर्नु एकदमै गाह्रो कुरा हो। तँलाई तेरो सबभन्दा मन पर्ने कपडा र गरगहना, वा तेरो रुचिको कुरा, वा तँलाई मन पर्ने जागिर वा करियर वा तेरो सबलता वा सोख, वा कुनै त्यस्ता कुरा त्याग् भन्‍नु एउटा कुरा हो। तँ यी कुनै पनि कुरा त्याग्‍न सक्छस्; ती त्याग्‍न सजिलो छ। तर तँलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन तेरो देह वा शैतानी स्वभाव त्याग्‍न लगाउनु—त्यो अत्यन्तै गाह्रो कुरा हो। यसलाई ठ्याक्‍कै मिल्ने वाक्यांशमा व्याख्या गर्दा, यो आकाशको तारा झार्नु, वा पौडेर समुद्र पार गर्नुजस्तै हो—यी कुरा गर्नु तिनीहरूलाई अति नै गाह्रो हुनेछ। ह्वेल माछालाई समुद्र पार गर्नु सजिलो हुन्छ; त्यो त्यसको प्राकृतिक क्रियाकलाप हो। तर त्यसलाई माछाको सट्टा पराल खुवाउनु असम्भव छ। यदि तैँले व्यक्तिलाई अलिकति कष्ट भोग्‍नू, अलिकति मूल्य चुकाउनू, र बाँकी जीवन नम्र भई जिउनू भनेर भनिस् भने, त्यो त इच्छा हुने जो कसैले गर्न सक्‍ने कुरा हो। वास्तवमा, परमेश्‍वरलाई साँचो विश्‍वास गर्ने र सत्यताको तृष्णा गर्ने व्यक्तिको लागि कुनै पनि शारीरिक कठिनाइले ठूलो समस्या खडा गर्दैन। उदाहरणका लागि, देहसुखमा लिप्त नहनु; वा दैनिक सुताइको समय घटाउनु; वा दश वर्षसम्म निरन्तर कठिन जीवन जिउनु; वा अत्यन्तै खराब खानेकुरा, कपडा, घर र यातायात उपभोग गरेर जिवन बिताउनुजस्ता कठिनाइहरू—यदि व्यक्तिमा इच्छाशक्ति छ र ऊ सत्यता पछ्याउन इच्छुक छ र उसमा अलिकति आत्मसंयम छ भने, उसले ती कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छ। तर यदि तैँले कसैलाई देहसुख र शैतानलाई त्याग्‍नू, पूर्णतया परमेश्‍वरको मापदण्डअनुसार र उहाँका वचनहरूको आधारमा काम गर्नू, र सत्यताअनुसार अभ्यास गर्दै परमेश्‍वरमा समर्पित हुनू भनेर भनिस् भने, कुनै पनि व्यक्तिलाई त्यो गाह्रो लाग्‍नेछ। मानिसलाई कठिनाइ नै त्यहीँ हुन्छ। तसर्थ, सत्यता पछ्याउने कार्य भनेको मानिसहरूले सङ्कल्प गरेर प्रयास गर्नु वा आत्मसंयम अभ्यास गर्नु र नियमहरू पालन गर्नु, र त्यसपछि सत्यता अभ्यास गरेर सत्यता प्राप्त गर्न सक्षम हुनुजस्तो होइन। सत्यता पछ्याउनु नै भ्रष्ट मानवजातिको लागि सबैभन्दा गाह्रो र कठिन कुरा हो। यो समस्याको जड कहाँबाट आउँछ? (यो शैतानको स्वभावबाट आउँछ।) त्यो सही हो। शैतानको स्वभाव मानिसको सबैभन्दा ठूलो चुनौती हो। मान्छेमा कमजोर क्षमता, वा खराब मिजास र व्यक्तित्व होला, र उनीहरूमा कुनै सबलता, प्रतिभा वा बोल्ने सीप नहोला—तर यी कुनै पनि कुराले उनीहरूको लागि ठूलो चनौती खडा गर्दैन। आखिर, समस्या मानिसको भ्रष्ट स्वभावबाट पैदा हुन्छ। भ्रष्ट स्वभावले मानिसहरूको हातखुट्टा, मन र विचार, सोचाइ, सोच्ने तरिका र भित्री आत्मालाई बलियो नियन्त्रणमा राख्छ, र यसले गर्दा तिनीहरूलाई सत्यता पछ्याउने मार्गमा एक पाइला हिँड्न पनि गाह्रो हुन्छ। मान्छेले तीन वा पाँच वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका तर केही पनि हासिल नगरेका हुन सक्छन्; कतिपयले त झन् दश, बीस, वा तीस वर्षदेखि विश्‍वास गरेर पनि यसबाट एकदुई वटा कुरा मात्र हासिल गरेका हुन सक्छन्। अनि तिनीहरूमध्ये कतिले त केही पनि हासिल गरेका हुँदैनन्—ती केही पनि हासिल नगरेकाहरू कति दरिद्र र कति दयनीय छन्! तिनीहरूले तीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तर दरिद्र र अन्धो नै रहेका छन्, के हासिल गरिस् भन्दा देखाउने केही हुँदैन। जब तिनीहरू नकारात्मक बन्छन्, यसबाट कसरी बाहिर आउने भनेर तिनीहरूलाई थाहै हुँदैन; जब तिनीहरू परमेश्‍वरबारे गलतबुझाइमा पर्छन्, ती बुझाइलाई कसरी हटाउने भनेर तिनीहरू जान्दैनन्; तिनीहरूमाथि आपद् आइपर्दा, त्यो कसरी सामना गर्ने भन्‍ने नै तिनीहरूलाई थाहा हुँदैन, न त त्यस्तो कठिनाइ कसरी समाधान गर्ने भनेर नै थाहा हुन्छ। के व्यक्तिपरक इच्छाशक्ति प्रयोग गरी आफूलाई नियन्त्रण गरेर वा आफ्नो धैर्यमा भर परी अन्तहीन रूपमा दृढ रहेर मात्र समस्याहरू समाधान गर्न सकिन्छ? मानिसहरूले परिस्थितिहरूसँग क्रमैसँग जुध्दै ती साम्य नहुञ्‍जेल अघि बढिरहन्छन्, तर तिनीहरूको भ्रष्ट स्वभाव जिउँको तिउँ रहिरहन्छ। त्यो समाधान गरिएको हुँदैन। तिनीहरूले जति नै पटक नकारात्मकता अनुभव गरेको, वा परमेश्‍वरबारे गलत बुझेको, वा परमेश्‍वरबारे धारणा राखेको भए पनि, वा तिनीहरू आफै विफल, पतीत र कमजोर भएको भए पनि, तिनीहरूले आजको दिनसम्मै अलिकति पनि अनुभवात्मक गवाही दिन सक्दैनन्, न त तिनीहरूसँग आफ्नो ज्ञान, अनुभव वा परमेश्‍वरका वचनहरूको अनुभवबारे बताउने कुनै कुरा नै हुन्छ। तिनीहरूको हृदय खाली हुन्छ; तिनीहरूको आत्माको गहिराइ रित्तो हुन्छ। तिनीहरूसँग सत्यताको अनुभावात्मक बुझाइ हुँदैन, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको साँचो ज्ञान हुँदैन, र तिनीहरूमा उहाँको काम र उहाँको स्वभावबारे ज्ञान हुनु त झन् टाढाको कुरा हो। के तिनीहरू दरिद्र, अन्धा र दयनीय छैनन् र? (छन्।) यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन भने, उसले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यसको कुनै अर्थ रहँदैन। अनि, किन व्यक्तिले आफैलाई यस्तो हदसम्म पुऱ्याउँछ? त्यसको कारण केमा लुकेको छ? यहाँ पनि, समस्या मानिसको भ्रष्ट स्वभावबाटै उत्पन्‍न हुन्छ। यो वस्तुपरक कारण हो।

मानिसहरूले सत्यता नपछ्याउनुको वस्तुपरक कारण के हो भनेर हामीले प्रष्ट पारिसकेका छौँ। अब हामी व्यक्तिपरक कारणबारे अलिकति कुरा गर्नेछौँ। व्यक्तिपरक कारण के हो भने, मानिसहरूले परमेश्‍वरको काम र उहाँका सम्पूर्ण वचन, वा आफ्नो वास्तविक जीवनबाट आफूमा भ्रष्ट स्वभाव छ भनेर थाहा त पाएका होलान्, तर तिनीहरूले आफूलाई कहिल्यै परमेश्‍वरका वचनहरू र सत्यताअनुसार दाँजेर हेर्दैनन्, तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभाव चिन्दैनन् र त्याग्दैनन्, अनि कहिल्यै परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने मार्गमा अथक प्रयास र ठूलो समर्पण त गर्लान्, तिनीहरूले निकै कडा परिश्रम पनि गर्लान्, धेरै कष्ट पनि भोग्लान्, र यसको लागि धेरै मूल्य पनि चुकाउलान्, तर ती सबै बाहिरी व्यवहार मात्र हुन्। ती कुराले व्यक्ति सत्यता पछ्याउने मार्गमा हिँडेको छ भनेर प्रमाणित गर्दैनन्। सबैभन्दा धेरै कष्ट भोग्‍नेहरू ती मानिस हुन् जसले सुरुका दिनहरूमा परमेश्‍वरलाई पछ्याउन थालेका थिए, जसले आफू लगभग बीस वर्षको छँदा कर्तव्य लिएका थिए। यी मानिसहरू अहिले लगभग पचास वर्ष पुगेका छन्, र अझै अविवाहित छन्। तैँले भन्‍न सक्छस् कि तिनीहरूले आफ्नो युवावस्था परमेश्‍वरप्रतिको विश्‍वासमा समर्पित गरेका छन्, अनि परिवार र विवाह त्यागेका छन्। के त्यो ठूलो मूल्य चुकाएको हो? (हो।) तिनीहरूले आफ्नो युवावस्था त्यागे र आफ्नो सारा जीवन अर्पण गरे, अनि यसबाट के आयो? तिनीहरूले चुकाएको मूल्य ठूलो थियो, तर अन्त्यमा तिनीहरूले पाउने कुरा तिनीहरूको समर्पण बराबर वा अनुरूप छैन। यहाँ समस्या के हो? तिनीहरू जुन मनोवृत्ति र सङ्कल्पद्वारा मूल्य चुकाउँछन् त्योअनुसार अनि तिनीहरूको समर्पणको समयावधि, मात्रा र हदको आधारमा त तिनीहरूले सत्यता बुझ्न र अभ्यास गर्न सक्‍नुपर्ने हो जस्तो लाग्छ। तँलाई लाग्छ कि तिनीहरूमा पक्‍कै परमेश्‍वरको लागि गवाही र श्रद्धालु हृदय होला; तिनीहरूमा परमेश्‍वरबारे ज्ञान होला; तिनीहरू परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँडिसकेका होलान्; र तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गरिसकेका होलान्। तर वास्तवमा, त्यो अड्कल मात्र हो—यी दुई कुराबीच तार्किक सम्बन्ध मात्र छ, तथ्यसँग वा यी मानिसहरू जिउने वास्तविकतासँग यो कुरा मिल्दैन। यहाँ समस्या के हो? के हामीले यसबारे अनुसन्धान र छलफल गर्नुपर्दैन र? के यो गहन रूपले सोच्नुपर्ने समस्या होइन र? (हो नि।) दुई वा तीन वर्षदेखि परमेश्‍वरको यो चरणको काम स्विकार्दै आएकाहरूमाझ, अनुभव र गवाही भएका मानिसहरूको कमी छैन। तिनीहरू परमेश्‍वरका वचनहरूले कसरी आफूलाई परिवर्तन गरेका र इमानदार मानिस बनाएका छन् भनेर गवाही दिन्छन्; तिनीहरू परमेश्‍वरका वचनहरूले कसरी आफूलाई सत्यता पछ्याउने मार्गमा रहन र सत्यता बुझ्न मदत गरेका छन् भनेर गवाही दिन्छन्; तिनीहरू परमेश्‍वरका वचनहरूले कसरी आफ्नो भष्ट स्वभाव, अहङ्कार र छलीपन, विद्रोहीपन, हैसियतको लालसा, महत्त्वाकाङ्क्षा र चाहनाजस्ता कुराहरू समाधान गरिदिएका छन् भनेर गवाही दिन्छन्। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेको दुई वा तीन वर्षपछि नै अनुभव र गवाही हासिल गर्न सक्षम छन्; तिनीहरूसँग परमेश्‍वरका वचनहरूको गहिरो अनुभावात्मक बुझाइ छ, र तिनीहरू उहाँका वचनहरूको सच्‍चाइपन महसुस गर्न सक्छन्। अनि, कतिपय मानिसहरूले चाहिँ किन बीस वा तीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका र निकै धेरै मूल्य चुकाएका, धेरै कष्ट भोगेका, र धेरै दौडधुप गरेका भए पनि, तिनीहरूको हृदयको गहिराइ र आत्मिक संसार रित्तो र खोक्रो छ? यस्तो अवस्थामा भएका धेरै मानिस प्रायः अन्योल हुन्छन्। तिनीहरू सधैँ भन्छन्, “म त साह्रै अन्योल छु।” म भन्छु, “तैँले अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेको बीस वा तीस वर्ष भइसकेको छ। कसरी तँ अझै अन्योल छस्? तैँले केही हासिल गरेको छैनस् भन्‍ने प्रष्ट देखिन्छ।” आजको दिनसम्म, केही मानिस अझै नकरात्मक र कमजोर छन्। तिनीहरू भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको यत्तिका वर्ष भइसकेको छ, तर के पाएको छु र?” तिनीहरू नकारात्मक र कमजोर हुँदा, वा तिनीहरू आफ्नो हैसियत र लाभबाट वञ्‍चित हुँदा, वा तिनीहरूको घमण्ड तृप्त नहुँदा, प्रायः परमेश्‍वरलाई दोष दिन्छन् र यत्तिका वर्षदेखि उहाँलाई विश्‍वास गरेकोमा पछुतो गर्छन्। सर्वप्रथमतः तिनीहरू उहाँका वचनहरूमा विश्‍वास गरेकोमै पछुतो गर्छन्, अनि तिनीहरू परमेश्‍वरलाई पछ्याउन दृढ भई आफ्नो जागिर, विवाह र परिवार, र कलेज जाने मौका त्यागेकोमा पछुतो गर्छन्। तिनीहरूमध्ये केही त मण्डली छोड्नेबारे समेत सोच्छन्। तिनीहरू अहिले आफ्नो विश्‍वासबारे अति नै पछुतो गर्छन्—सर्वप्रथमतः तिनीहरूले किन यस्तो कष्ट उठाएको? बीस वा तीस वर्षदेखि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तिनीहरूले कैयौँ सत्यता सुनेका छन् र परमेश्‍वरको कैयौँ काम अनुभव गरेका छन्, तर तिनीहरूको हृदयको गहिराइ अझै रित्तो छ, र तिनीहरू प्रायः भद्रगोल, अन्योल, पछुतो, अनिच्छा, र आफ्नो भविष्यबारे अनिश्‍चितताको स्थितिमा पुग्छन्—यसको कारण के हो? के यस्ता मानिसहरू दयाको लायक छन्? (छैनन्।) जब म यी मानिसहरूलाई देख्छु, जब म तिनीहरूबारे खबर सुन्छु र तिनीहरूको वर्तमान कार्य-व्यवहारहरूबारे थाहा पाउँछु, तब मलाई तिनीहरूबारे एक पूर्वाभास हुन्छ। ममा तिनीहरूबारे एक सोचाइ आउँछ। तिनीहरूको अवस्था र तिनीहरूको भित्री संसार किन मसँग यत्ति परिचित देखिन्छ? तिनीहरू अहिले पनि परमेश्‍वरको घरमै छन्, कर्तव्य निभाउँदै छन्—आखिर तिनीहरू कुन कुरामा भर परिरहेका छन्? के यो अनुग्रहद्वारा मुक्ति पाउने मानसिकता हो? के यो व्यक्तिले अन्त्यसम्म परमेश्‍वरलाई पछ्यायो भने अवश्यै मुक्तितर्फ डोऱ्याउनेछ भन्‍ने मानसिकता हो? कि यो भाग्यसंयोगमा आधारित मानिसिकता हो? यो यीमध्ये कुनै पनि होइन। त्यसो भए यो के हो त? यो त पावलले भनेजस्तो हो: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यो खण्डलाई विश्‍लेषण गरी सरल रूपमा बताउँदा, यी शब्दहरूमा कारोबारी चरित्र लुकेको छ, लेनदेन गर्ने मनोवृत्ति, विचार र योजना लुकेको छ, र यस्ता कुराहरू चाहना र महत्त्वाकाङ्क्षाबाट पैदा हुन्छन्। तैँले यी शब्दहरूमा कस्तो तथ्य देख्छस्? परमेश्‍वरप्रतिको विश्‍वासमा मानिसहरू केको पछि लाग्छन्? (मुकुट र आशिष्‌हरू।) हो। तिनीहरू आशिष्‌ र असल गन्तव्यको पछि लाग्छन्। अनि तिनीहरूले त्यो असल गन्तव्य र आशिष्‌को लागि के लेनदेन गर्छन्? ती कुराहरूसित तिनीहरूले के साट्छन्? (आफ्नो पसिना र परिश्रम, आफ्नो त्याग र समर्पण, आफ्नो कष्ट र मूल्य चुकाइ।) पावलका शब्दहरू प्रयोग गर्ने हो भने तिनीहरूले आफ्नो लडाइँ लडेका छन्, आफ्नो दौड दौडेका छन्। आफूले गर्नुपर्ने सबै कुरा गरिसकेको भन्ठान्दै, तिनीहरू परमेश्‍वरले मानवजातिको लागि तयार पार्नुभएको असल गन्तव्य र आशिष्‌ आफूले पाउनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई लाग्छ कि यो परमेश्‍वरले कुनै पनि हालतमा गर्नैपर्ने र—उहाँले नगरी नहुने कुरा हो—र यदि उहाँले त्यसो गर्नुभएन भने, उहाँ परमेश्‍वर हुनुहुनेछैन। स्पष्टतः यसमा परमेश्‍वरप्रति कुनै आज्ञाकारिता छैन, सत्यता पछ्याउने कुनै मनोवृत्ति छैन, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने कुनै मनोवृत्ति वा योजना छैन। यो त परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूको लागि तिनीहरूले गर्न सक्‍ने केही कुरा लेनदेन गर्ने चाह मात्र हो। त्यसैले, हामीले अहिले कुरा गरिरहेका मानिसहरूले प्रायः आफ्नो भित्री संसार खोक्रो छ र आफ्नो हृदयको गहिराइमा आफूले भर पर्न सक्‍ने कुनै कुरा छैन भन्‍ने महसुस गर्छन्, तैपनि तिनीहरू सदाझैँ अघि बढ्दै जान्छन्, त्यस्ता मूल्यहरू चुकाउँदै र त्यस्ता कष्ट भोग्दै जान्छन्, र निरन्तर आफ्नो लडाइँ लड्दै र आफ्नो दौड दौडँदै जान्छन्। तिनीहरू केमा भर पर्छन्? तिनीहरूले पावलका भनाइहरूलाई पक्रन्छन् र ती भनाइले आफ्नो “विश्‍वास” मा टेवा दिन्छन् भनी आँखा चिम्लेर विश्‍वास गर्छन्। तिनीहरू इनाम र मुकुट पाउन आफ्नो महत्त्वाकाङ्क्षा र चाहनामा भर पर्छन्। तिनीहरू धेरै आशिष्‌ पाउन लेनदेन प्रयोग गर्ने आफ्नो सपनामा भर पर्छन्। तिनीहरू परमेश्‍वरको कामको बुझाइमा वा परमेश्‍वरको लागि आफूलाई खर्चिने क्रममा सत्यता पछ्याएर प्राप्त गरेको अनुभव र ज्ञानमा भर पर्दैनन्। तिनीहरू भर पर्ने कुरा त्यो हुँदै होइन।

हामीले भर्खरै सङ्गति गरेको कुरालाई हेर्दा के बुझ्न सकिन्छ भने सत्यता पछ्याउने मार्गमा धेरै व्यावहारिक चुनौतीहरूका साथै दुष्ट स्वभावका बन्धन र बाधाहरू, अनि निकै धेरै कठिनाइ र अवरोधहरू हुन्छन्, तर जबसम्म आफूमा साँचो विश्‍वास हुन्छ, तबसम्म परमेश्‍वरका वचनहरू र पवित्र आत्माको कामको मार्गदर्शनमा भर परेर सत्यता पछ्याउने मार्गमा पूर्ण रूपमा हिँड्न सकिन्छ भनेर विश्‍वास गर्नुपर्छ। यसको लागि पत्रुस एक दृष्टान्त हुन्। परमेश्‍वरमाथिको विश्‍वासमा, धेरै मानिसहरूले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै ध्यान दिन्छन्, तिनीहरू कष्ट भोगेको र मूल्य चुकाएकोमै सन्तुष्ट हुन्छन्। तर तिनीहरूले सत्यता खोजी गर्दै गर्दैनन्। फलस्वरूप, परमेश्‍वरमा विश्‍वास गरेको दश वर्ष, बीस वर्ष, तीस वर्ष भएर पनि, तिनीहरूमा परमेश्‍वरको कामबारे साँचो ज्ञानको कमी हुन्छ, र तिनीहरूले सत्यता वा परमेश्‍वरका वचनहरूसम्‍बन्धी अनुभव वा ज्ञानबारे केही बताउन सक्दैनन्। भेलाहरूमा, जब तिनीहरूले आफ्नो अनुभव गवाहीबारे केही बोल्‍ने प्रयास गर्छन्, तब तिनीहरूसँग बोल्‍ने कुरा केही हुँदैन; आफूले मुक्ति पाउँछु कि पाउँदिनँ भन्‍ने कुरा तिनीहरूको लागि पूर्णतया अज्ञात हुन्छ। यहाँ समस्या के हो त? सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्। तिनीहरू विश्‍वासी बनेको जति नै वर्ष भए पनि, तिनीहरूले सत्यता बुझ्‍नसमेत सक्दैनन्, अभ्यास नै गर्ने त टाढाको कुरा हो। सत्यता स्विकार्दै नस्विकार्ने व्यक्तिले कसरी यसको वास्तविकतामा प्रवेश गर्न सक्छ? कतिपय मानिसहरूले यो समस्या देख्‍न सक्दैनन्। तिनीहरूले धर्मसिद्धान्तका शब्‍द र वाक्यांशहरू सुगारटाइ गर्नेहरूले सत्यता अभ्यास गर्छन्, तिनीहरू पनि सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्। के यो सही हो? धर्मसिद्धान्तका शब्‍द र वाक्यांशहरू सुगारटाइ गर्नेहरू अन्तर्निहित रूपमै सत्यता बुझ्‍न नसक्‍ने हुन्छन्—तब कसरी तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? तिनीहरूले जे अभ्यास गर्छन् त्यसले सत्यता उल्‍लङ्घन नगरेको जस्तो देखिन्छ, र त्यो असल कार्य र असल व्यवहार हो जस्तो देखिन्छ, तर त्यस्तो असल कार्य र असल व्यवहारलाई कसरी सत्यताको वास्तविकता भन्‍न सकिन्छ? सत्यता नबुझ्‍ने मानिसहरूले सत्यताको वास्तविकता के हो सो जान्दैनन्; तिनीहरूले मानिसहरूको असल कार्य र असल व्यवहारलाई नै सत्यता अभ्यासको रूपमा लिन्छन्। यो मूर्खता हो, होइन र? धर्मका मानिसहरूको विचार र दृष्टिकोणभन्दा यो कसरी फरक भयो र? कसरी यस्ता भ्रामक बुझाइका समस्याहरू समाधान गर्न सकिन्छ? मानिसहरूले अरूलाई हेरेर तिनीहरूको वास्तविक रूप के हो भनेर बुझ्‍न सक्‍ने, र तिनीहरूसँग सत्यताको वास्तविकता छ कि छैन भनेर भन्‍न सक्‍ने हुनको लागि सर्वप्रथम तिनीहरूले परमेश्‍वरका वचनहरूबाट उहाँको इच्‍छा बुझ्‍नुपर्छ, अनि सत्यता बुझ्‍नु भनेको के हो, र सत्यता अभ्यास गर्नु भनेको के हो भन्‍ने कुरा जान्‍नुपर्छ। परमेश्‍वरको काम र मानिसको मुक्ति भनेकै मानिसहरूलाई सत्यता बुझाउन र अभ्यास गराउनको लागि हो; त्यसपछि मात्रै मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न, सिद्धान्तअनुसार अभ्यास गर्न, र सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्। यदि तँ सत्यता पछ्याउँदैनस्, अनि आफ्‍नै धारणा र कल्‍पनाहरूअनुसार परमेश्‍वरको लागि आफूलाई खर्चन, कष्ट भोग्‍न, र मूल्य चुकाउनमा मात्रै सन्तुष्ट हुन्छस् भने, के तैँले गर्ने सबै कुराले तेरो सत्यता अभ्यास र परमेश्‍वरप्रतिको समर्पण जनाउँछ? के यसले तैँले तेरो जीवन स्वभाव परिवर्तन गरेको छस् भन्‍ने प्रमाणित गर्छ? के यसले तँसँग परमेश्‍वरको साँचो ज्ञान छ भन्‍ने देखाउँछ? होइन। त्यसो भए, तैँले गर्ने सबै कुराले केलाई जनाउँछ? यसले केवल तेरो व्यक्तिगत झुकाव, बुझाइ, र कामनालाई जनाउँछ। यो केवल तँलाई गर्न मन लागेको र तैँले गर्न इच्‍छा गरेको कुरा हुन्छ; तैँले गर्ने हरेक कुराले तेरा आफ्‍नै चाहना, इच्‍छा र आदर्श मात्र तृप्त पार्छ। अवश्य नै, यो सत्यता पछ्याउनु होइन। तेरो कुनै पनि कार्य वा व्यवहारले सत्यतासँग वा परमेश्‍वरका मापदण्डहरूसित कुनै सम्‍बन्ध राख्दैन। तेरो हरेक कार्य वा व्यवहार तेरो आफ्‍नै लागि हुन्छ; तैँले आफ्‍नै आदर्श, प्रतिष्ठा, र हैसियतका लागि काम, लडाइँ, र दौडधूप गरिरहेको हुन्छस्, र यो कुराले तँलाई पावलभन्दा कति पनि फरक बनाउँदैन, ती पावल जसले इनाम पाउन, मुकुट पहिरन, र स्वर्गको राज्यमा प्रवेश गर्नकै लागि मात्र जीवनभर परिश्रम र काम गरे—र यसले तँ पावलको मार्गमा हिँडिरहेको छस् भनेर प्रष्टै देखाउँछ। कोही भन्छन्, “म इच्छुक रूपमै परिश्रम र काम गर्छु। मैले परमेश्‍वरसँग सौदा गर्ने प्रयास गरेको छैनँ।” तैँले एक वा अर्को तरिकामा परमेश्‍वरसँग सौदा गर्ने प्रयास गरेको छस् कि छैनस्, तेरो मन वा मनोवृत्तिमा परमेश्‍वरसँग सौदा गर्ने स्पष्ट अभिप्राय छ कि छैन—तँसित यस्तो योजना वा उद्देश्य छ कि छैन, यसले कुनै फरक पर्दैन—तर तैँले तेरो परिश्रम र काम, कठिनाइ, र तैँले चुकाएका मूल्यहरूलाई स्वर्गको राज्यको इनाम र मुकुट पाउनका लागि लेनदेन गर्ने प्रयास गरिरहेको हुन्छस्। यस समस्याको सार के हो भने, तैँले परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरिरहेको हुन्छस्—यति मात्र हो कि तँलाई आफूले त्यसो गर्दै छु भन्‍ने कुरा थाहा हुँदैन। चाहे जे होस्, जबसम्म व्यक्तिले आशिष्‌हरू प्राप्त गर्न कठिनाइ भोग्छ र मूल्य चुकाउँछ, तबसम्म उसको खोजीको सार पावलको जस्तै हुन्छ। कुन तरिकामा तिनीहरू उस्तै हुन्? तिनीहरू दुवैले परमेश्‍वरका आशिष्‌हरू र उहाँले मानवजातिलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूसित आफ्ना असल व्यवहारहरू—आफ्नो परिश्रम, आफूले भोगेका कठिनाइ, आफूले तिरेका मूल्यहरू, आदि इत्यादि—लेनदेन गर्ने प्रयास गर्छन्। के यी कुराहरू सारमा एउटै छैनन् र? (एउटै छन्।) ती सारमा एउटै छन्; कुनै वास्तविक भिन्‍नता छैन। यदि तँ पावलको मार्गमा हिँड्न चाहन्‍नस् बरु पत्रुसको मार्गमा हिँड्न चाहन्छस् भने, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? निस्सन्देह: नै तैँले सत्यता पछ्याउन सिक्‍नुपर्छ। तैँले सत्यता, साथै परमेश्‍वरको न्याय र सजाय अनि काटछाँट र निराकरण स्विकार्न सक्‍नुपर्छ; तैँले आफूलाई चिन्‍न, अनि आफ्नो स्वभावमा परिवर्तन ल्याउन र परमेश्‍वरलाई प्रेम गर्ने अभ्यासको खोजी गर्न ध्यान केन्द्रित गर्नुपर्छ। सत्यता पछ्याउने मार्गमा हिँड्नु र पत्रुसको मार्गमा पाइला चाल्नु भनेको त्यही हो। पत्रुसको मार्गमा हिँड्नको लागि तैँले सबभन्दा पहिले परमेश्‍वर मानिसबाट के चाहनुहुन्छ र परमेश्‍वरले मानिसलाई कुन मार्ग देखाउनुभएको छ त्यो बुझ्नुपर्छ। तैँले सर्वनाश र विनाशतर्फ डोऱ्याउने मार्गदेखि मुक्तितर्फ डोऱ्याउने परमेश्‍वरमाथिको विश्‍वासको मार्गलाई छुट्याउन सक्‍नुपर्छ। तैँले आफू किन पावलको मार्गमा हिँड्न सकेँ भनेर साँचो मनन गर्नुपर्छ, र त्यो मार्गमा तँलाई हिँड्न लगाउने कुन स्वभाव हो भनेर निर्क्योल गर्नुपर्छ। तैँले तेरो भ्रष्ट स्वभावमा रहेका अहङ्कार, वा छलीपन वा दुष्टताजस्ता सबैभन्दा मुख्य र स्पष्ट देखिने कुराहरूलाई चिन्‍नुपर्छ। तैँले यी भ्रष्ट स्वभावहरूबाट सुरु गरेर मनन गर्, विश्लेषण गर् र आफूलाई चिन्। यदि तैँले आत्मज्ञान र आत्मघृणा हासिल गरिस् भने, तँलाई तेरा भ्रष्ट स्वभावहरू त्याग्‍न र सत्यता अभ्यास गर्न सजिलो हुनेछ। तसर्थ, विशेष गरी यो कसरी अभ्यास गर्नुपर्छ? अब अहङ्कारी स्वभावको उदाहरण प्रयोग गरेर यसबारे सङ्गति गरौँ। तेरो दैनिक जीवनमा बोल्दा, व्यवहार गर्दा र मामिलाहरू सम्हाल्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूसँग सङ्गति गर्दा र अन्य यस्तै कुराहरू गर्दा, हातमा जुनै मामिला भए पनि, वा तँ जहाँ भए पनि, वा परिस्थिति जे भए पनि, तैँले आफूले कस्तो अहङ्कारी स्वभाव देखाएँ भनेर जाँच्न सधैँ ध्यान दिनुपर्छ। तैँले आफूलाई थाहा भएका र आफूले चिन्‍न सक्‍ने तेरा सबै प्रकटीकरण, सोच र विचारहरू, साथै तेरा अभिप्राय र उद्देश्यहरू उदाङ्गो पार्नुपर्छ—विशेष गरी, सधैँ उच्‍च स्थानबाट अरूलाई भाषण छाँट्न चाहनु; कसैको आज्ञा नमान्‍नु; आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु; अरूले भनेको कुरा जति नै सही भए पनि नस्विकार्नु; आफू गलत हुँदासमेत आफ्नो कुरा अरूलाई स्विकार्न र मान्‍न लगाउनु; निरन्तर अरूलाई नेतृत्व गर्ने झुकाव राख्‍नु; अगुवा र सेवकहरूले काटछाँट र निराकरण गर्दा तिनीहरूलाई झूटा भनी निन्दा गर्दै अटेर गर्नु वा सफाइ दिनु; सधैँ अरूको निन्दा गर्नु र आफूलाई उच्‍च पार्नु; अरू सबैभन्दा आफूलाई सधैँ श्रेष्ठ ठान्‍नु; सधैँ प्रसिद्ध र प्रतिष्ठित व्यक्ति बन्‍ने चाह गर्नु; सधैँ आफ्नो प्रदर्शन गर्न रुचाउनु ताकि अरूले तेरो उच्‍च आदर र पूजा गरून्।.... तैँले यी भ्रष्टताका प्रकटीकरणहरूलाई मनन र विश्‍लेषण गर्ने अभ्यासमार्फत् तेरो अहङ्कारी स्वभाव कति नराम्रो रहेछ भनेर थाहा पाउन सक्छस्, अनि तैँले आफूलाई घृणा र तिरस्कार गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई झन् धेरै घृणा गर्न सक्छस्। यो तरिकाले तँ आफूले सबै कुरामा अहङ्कारी स्वभाव देखाएको छु कि छुइनँ भनेर मनन गर्न इच्छुक हुनेछस्। यसको एक भाग, तैँले तेरो बोलीमा कस्तो अहङ्कारी र आत्मधर्मी स्वभाव देखाउँछस्—तैँले कस्तो घमण्डी, अहङ्कारी र समझहीन कुरा गर्छस्, त्यो कुरा मनन गर्नु हो। अर्को भागचाहिँ, तैँले आफ्नो धारणा, कल्पना, महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गर्दा कस्तो हास्यस्पद र समझहीन काम गर्छस्, त्यो मनन गर्नु हो। यस्तो आत्मचिन्तनद्वारा मात्र आफूलाई बुझ्न सकिन्छ। तैँले आफूलाई साँचो अर्थमा बुझेपछि, परमेश्‍वरका वचनहरूमा इमानदार व्यक्ति बन्‍ने अभ्यासका मार्ग र सिद्धान्तहरू खोजी गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूमा देखाइएका मार्ग र सिद्धान्तहरूअनुसार अभ्यास, कर्तव्यपालन, र अरूसँग व्यवहार र अन्तरक्रिया गर्नुपर्छ। तैँले केही समय, सम्भवतः एक वा दुई महिना यसरी अभ्यास गरिसकेपछि, तँलाईं यसबारे तेरो हृदयमा प्रफुल्लता महसुस हुनेछ, अनि तैँले यसबाट केही प्राप्त गरिसकेको र सफलताको स्वाद चाखिसकेको हुनेछस्। तँलाई आफूसित इमानदार र समझदार व्यक्ति बन्‍ने मार्ग छ भन्‍ने महसुस हुनेछ, अनि तैँले मानसिक तवरमा अझ धेरै स्थिर महसुस गर्नेछस्। तैँले अझै सत्यताको विशेष गहन ज्ञानबारे बोल्न नसके पनि, यसबारे केही बोधात्मक ज्ञान, साथै अभ्यासको मार्ग पाइसकेको हुनेछस्। यसलाई शब्दमा स्पष्टसित व्यक्त गर्ने नसके पनि, तैँले अहङ्कारी स्वभावले मानिसहरूलाई कस्तो हानि गर्छ र कसरी तिनीहरूको मानवता बिगार्छ भन्‍नेबारे केही मात्रामा बुझिसकेको हुनेछस्। उदाहरणको लागि, अहङ्ककारी र अभिमानी मानिसहरू प्रायः घमण्डी र उद्दण्ड कुरा गर्छन्, र अरूलाई छक्याउन झूट बोल्छन्; तिनीहरू ठूलाठूला कुरा बोल्छन्, नारा फलाक्छन्, र जोरदार भाषण छाँट्छन्। के यी विभिन्‍न अहङ्कारी स्वभावका प्रकटीकरणहरू होइनन् र? के यी अहङ्कारी स्वभावहरू देखाउनु एकदमै समझहीन कुरा होइन र? यदि तैँले यस्ता अहङ्कारी स्वभावहरू देखाएर आफूले सामान्य मानव समझ गुमाएको छु, र अहङ्कारी स्वभावमा जिउनु भनेको मानवताअनुसार नभई दियाबलसताअनुसार जिउनु हो भनेर साँच्‍चै बुझ्न सकिस् भने, तैँले भ्रष्ट स्वभाव भनेकै शैतानी स्वभाव हो भनेर साँच्‍चै चिनिसकेको हुनेछस्, र तँ आफ्नो हृदयबाटै शैतान र भ्रष्ट स्वभावहरूलाई घृणा गर्न सक्षम बन्‍नेछस्। तैँले छ महिना वा एक वर्ष यस्तो अनुभव गरेर आफूलाई साँचो अर्थमा बुझ्न सक्‍नेछस्, र यदि तैँले फेरि अहङ्कारी स्वभाव देखाइस् भने, तँलाई त्यो तुरुन्तै थाहा हुनेछ, अनि तँ त्यसलाई त्याग्‍न र छोड्न सक्षम हुनेछस्। तँ परिवर्तन हुन थालिसकेको हुनेछस्, अनि क्रमिक रूपमा आफ्नो अहङ्कारी स्वभाव हटाउन र अरूसँग सामान्य तवरमा मेलमिलापमा रहन सक्षम बन्‍नेछस्। तँ इमानदारीपूर्वक र हृदयबाटै बोल्न सक्‍नेछस्; तैँले झूटो बोल्न वा अहङ्कारी कुरा गर्न छोड्नेछस्। के त्यसपछि तँमा इमानदार व्यक्तिको केही समझ र केही स्वरूप हुनेछैन र? तब के तैँले प्रवेश पाइसकेको हुनेछैनस् र? ठीक यति नै बेला तैँले केही कुरा प्राप्त गर्ने थाल्नेछस्। जब तैँले यसरी इमानदार बन्‍ने अभ्यास गर्छस्, तब जस्तोसुकै अहङ्कारी स्वभाव देखाए पनि, तँ सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्षम बन्‍नेछस्, अनि यसरी केही समय इमानदार व्यक्ति बन्‍ने अनुभव गरेपछि, थाहै नपाई क्रमिक रूपमा तैँले इमानदार व्यक्ति बन्‍नेसम्बन्धी सत्यता र परमेश्‍वरका सान्दर्भिक वचनहरू बुझ्नेछस्। अनि जब तैँले तेरो अहङ्कारी स्वभाव विश्‍लेषण गर्न ती सत्यताहरू प्रयोग गर्छस्, तेरो हृदयले परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र ज्योति पाउनेछ, र तेरो हृदय उज्यालिन थाल्नेछ। तैँले मानिसहरूमा अहङ्कारी स्वभाव पैदा गर्ने भ्रष्टता र यसले तिनीहरूलाई जिउन लगाउने कुरूपता स्पष्टसित देख्‍नेछस्, अनि मानिसहरूले अहङ्कारी स्वभाव देखाउँदा तिनीहरूले आफैलाई जुन भ्रष्ट स्थितिमा पाउँछन् ती हर भ्रष्ट स्थितिलाई तैँले चिन्‍न सक्‍नेछस्। थप विश्‍लेषणपछि, तैँले शैतानको कुरूपता झनै स्पष्टसित देख्‍नेछस्, र शैतानलाई झनै धेरै घृणा गर्नेछस्। यसरी तँलाई तेरो अहङ्कारी स्वभाव हटाउन सजिलो हुनेछ। जब तेरो ज्ञान यस हदमा पुग्छ, तैँले परमेश्‍वरका सान्दर्भिक वचनहरू र सत्यता छर्लङ्गै बुझ्न सक्‍नेछस्, र तँलाई परमेश्‍वरले मानिसबाट चाहुनुभएका सबै कुरा सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्छ र तिनीहरू तीअनुसार नै जिउनुपर्छ भनेर थाहा हुनेछ। त्यसरी, सत्यता अभ्यास गर्नु तँलाई गाह्रो लाग्‍न छोड्नेछ। बरु, तैँले सत्यता अभ्यासलाई स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको हुन्छ, र मानिस त्यसरी नै जिउनुपर्छ भनेर विश्‍वास गर्नेछस्। त्यो बेला, परमेश्‍वरका वचनहरू र तेरो सत्यता अभ्यास पूर्ण रूपले स्वस्फूर्त, सकारात्मक र सक्रिय हुनेछ, र त्यससँगै तैँले सत्यतालाई अझ धेरै प्रेम गर्नेछस्। तेरो हृदयमा धेरै सकारात्मक कुरा बढ्नेछन्, र परमेश्‍वरको साँचो ज्ञान क्रमिक रूपमा विकास हुनेछ। सच्‍चा रूपमा सत्यता बुझ्नु भनेको त्यही हो। तँमा सबै मामिलाबारे सही दृष्टि र दृष्टिकोण हुनेछ, अनि यो साँचो ज्ञान र यी सही दृष्टिकोणहरूले तेरो हृदयमा बिस्तारै जरा गाड्नेछन्। सत्यताको वास्तविकतामा प्रवेश गर्नु भनेको त्यही हो—यो कसैले तँलाई वञ्‍चित गर्न र तँबाट खोस्‍न नसक्‍ने कुरा हो। तैँले अलिअलि गर्दै यी सकारात्मक कुराहरू एकत्र गरिसकेपछि, हृदयभित्र एकदमै भरपुर भएको महसुस गर्नेछस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भनेर महसुस गर्न छोड्नेछस्, र तेरो हृदयको रित्तोपन हट्नेछ। जब तैँले सत्यता बुझ्नु कति राम्रो कुरा रहेछ भनी महसुस गरेको, र मानव जीवनको ज्योति देखेको हुन्छस्, तब तँमा साँचो विश्‍वास पलाउनेछ। अनि जब तँसँग परमेश्‍वरको काम अनुभव गर्ने विश्‍वास हुन्छ, र जब तैँले सत्यता पछ्याउनु र मुक्ति प्राप्त गर्नु कति वास्तविक र व्यावहारिक रहेछ भनेर देख्छस्, तब सकारात्मक र सक्रिय रूपमा तैँले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नेछस्। तैँले तेरो साँचो अनुभव र ज्ञानबारे सङ्गति गर्नेछस्, र यसरी परमेश्‍वरको गवाही दिनेछस् र अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरूको शक्ति र सत्यताले मानिसलाई पुऱ्याउने लाभहरू जान्‍न मदत गर्नेछस्। त्यसपछि तैँले सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अझ धेरै विश्‍वास प्राप्त गर्नेछस्—र त्यसरी तँ परमेश्‍वरमा साँचो रूपले समर्पित भएको हुनेछस्। जब तँ आफ्नो साँचो अनुभावात्मक गवाहीबारे बोल्छस्, तब तेरो हृदय झनै उज्यालो हुनेछ। तँलाई आफूमा सत्यता अभ्यास गर्ने धेरै मार्ग छ भन्‍ने लाग्‍नेछ, र साथमा तैँले आफूमा कैयौँ कमीहरू रहेछन्, आफूले अभ्यास गर्नुपर्ने सत्यता कैयौँ रहेछन् भनेर थाहा पाउनेछस्। यस्तो अनुभावात्मक गवाहीले अरूलाई लाभ पुऱ्याउने वा सुधार गर्ने मात्र होइन—तँलाई पनि आफूले सत्यता पछ्याउने कार्यबाट केही कुरा पाएको, वास्तवमै परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको महसुस हुनेछ। जब व्यक्तिले आफू परमेश्‍वरको गवाही दिन सक्‍ने नहुञ्‍जेलसम्‍मै यसरी परमेश्‍वरको काम अनुभव गर्छ, यसबाट अझ धेरै मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू चिन्‍न र ती स्वभावहरूको बन्धन, बाधा, र कष्ट पन्छाउन र शैतानको शक्तिदेखि निस्कन सक्षम हुन मदत मिल्ने मात्र होइन—यसले त्यो व्यक्तिलाई सत्यता पछ्याउने र सिद्ध पारिने मार्गमा हिँड्न झन्झन् धेरै विश्‍वास पनि दिन सक्छ। के यस्तो अनुभव साँचो गवाही बन्दैन र? साँचो गवाही भनेकै त्यही हो। के परमेश्‍वरको यस्तो गवाही दिन सक्‍ने व्यक्तिलाई उहाँमा विश्‍वास गर्नु पट्यारलाग्दो, वा अर्थहीन, वा खोक्रो लाग्छ? अवश्य लाग्दैन। जब व्यक्तिले परमेश्‍वरको गवाही दिन सक्छ र जब ऊसँग परमेश्‍वरबारे साँचो ज्ञान हुन्छ, उसको हृदय शान्ति र आनन्दले भरिन्छ, र उसले आफू भरपुर र एकदमै स्थिर बनेको महसुस गर्छ। जब व्यक्ति यस्तो अवस्था र क्षेत्रमा जिउँछ, उसले आफूलाई कष्ट भोग्‍न, मूल्य चुकाउन, र संयम रहन बाध्य नपार्नु स्वभाविकै हो। उसले आफ्नो देहलाई अनुशासनमा राख्‍न र देहसुख त्याग्‍न आफूलाई बाध्य पार्दैन। उसले धेरै रूपमा गर्ने भनेको सकारात्मक तवरमा आफ्ना भ्रष्ट स्वभावहरूबारे ज्ञान लिनु हो। उसले परमेश्‍वरको स्वभाव, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ सोसम्बन्धी ज्ञान पछ्याउने र परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न के गर्नुपर्छ भनेर पनि बुझ्नेछ। त्यसरी उसले परमेश्‍वरका वचनहरूमाझ उहाँको इच्छा बुझ्नेछ, र आफूभित्रको क्षणिक भावनामा बग्‍नुको सट्टा सत्यताका सिद्धान्तहरू खोज्नेछ। उदाहरणको लागि, परिस्थिति आइपर्दा संयम रहन नसक्‍नु, आवेगमा आउनु, खराब मुडमा हुनु, त्यही दिन फेरि रिसाउनु, त्यही दिन फेरि कुनै काम नराम्ररी वा सोचेभन्दा कम गुणस्तरमा गर्नु, वा अन्य कुनै त्यस्तै महत्त्वहीन कार्य गर्नु, आदि इत्यादि। यी कुराहरूले तेरो सत्यता अभ्यासमा बाधा दिँदैनन् भने, तीबारे चिन्ता गर्नु पर्दैन। तैँले आफ्ना भ्रष्ट स्वभावहरू हटाउन र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरिकामा र उहाँको इच्छाअनुसार अभ्यास गर्न ध्यान लगाइराख्‍नुपर्छ। यसरी सत्यता अभ्यास गर्, अनि तैँले छिटो जीवन प्रगति हासिल गर्नेछस्, र त्यसपछि तँ सत्यता पछ्याउने मार्गमा लागिसकेको र सिद्ध पारिइसकेको हुनेछस्। अबउप्रान्त तेरो हृदय खोक्रो हुनेछैन; तँसित परमेश्‍वरप्रति साँचो विश्‍वास हुनेछ, र तैँले परमेश्‍वरका वचनहरू र सत्यताप्रति पहिलेभन्दा झनै रुचि र झनै कदर देखाउनेछस्। तैँले झन्झन् धेरै परमेश्‍वरका इच्छा र मापदण्डहरू बुझ्नेछस्। व्यक्ति यो तहमा पुगेपछि, ऊ पूर्णतया परमेश्‍वरका वचनहरू र सत्यताको वास्तविकतामा प्रवेश गरिसकेको हुन्छ।

अहिले धेरै मानिसहरूले अभ्यास र प्रवेश गरिरहेको कुरा सत्यताको वास्तविकता होइन्, तिनीहरू बस एक प्रकारको अवस्थामा प्रवेश गरिरहेका छन्, जसमा तिनीहरू बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्, र मूल्य चुकाउन इच्छुक हुन्छन्, अनि कष्ट भोग्‍न र सबै कुरा अर्पित गर्न तयार हुन्छन्। तर तिनीहरूको हृदयको गहिराइ खोक्रो नै रहन्छ, र तिनीहरूसँग भित्री संसारमा आफैलाई साथ दिने केही हुँदैन। किन तिनीहरूसँग साथ दिने केही पनि हुँदैन? किनभने तिनीहरूलाई कुनै कुरा आइपर्दा, तिनीहरूमा मार्गको कमी हुन्छ; तिनीहरू कामनापूर्ण सोचमा भर पर्छन्, र तिनीहरूमा सत्यता अभ्यासका सिद्धान्तहरू हुँदैनन्। आफूमा भ्रष्ट स्वभावहरू प्रकट हुँदा, तिनीहरूले आत्मसंयम मात्र अभ्यास गर्न सक्छन्, त्यो समाधान गर्न तिनीहरू सत्यता खोज्न सक्दैनन्। भाग्यवश, तिनीहरूको वृद्ध देहमा नैसर्गिक क्षमता हुन्छ: यसले कष्ट भोग्‍न सक्छ। अविश्‍वासीहरूमाझ एउटा भनाइ छ, “सहन नसकिने कुनै कष्ट छैन, बस आशिष्‌चाहिँ प्राप्त गर्न सकिँदैन।” मानिसको देहमा जन्मजात, नैसर्गिक क्षमता हुन्छ: यसले एकदमै धेरै आशिष् प्राप्त गर्न सक्दैन, तर यो जुनसुकै कष्ट भोग्‍न र संयमता अपनाउन सक्षम छ। के यो असल कुरा हो? के यो सबलता वा दुर्बलता हो, कि कमी हो? के तिनीहरूको त्यो भनाइ सत्यता हो? (होइन।) त्यो सत्यता होइन, अनि यदि कुनै कुरा सत्यता होइन भने, त्यो निरर्थक कुरा हो। त्यो भनाइ केवल खोक्रा शब्दहरू हुन्, त्यसले तेरो कुनै समस्या समाधान गर्न सक्दैन, न त तेरो कुनै व्यावहारिक कठिनाइहरू नै सुल्झाउन सक्छ। ठ्याक्‍कैसँग भन्‍नुपर्दा, यसले तेरा भ्रष्ट स्वभावहरू हटाउन सक्दैन। तसर्थ, त्यो भनाइ बोल्‍नुको कुनै अर्थ छैन। तँमा यसबारे केही ज्ञान होला, तँ यसबारे सचेत होलास्, र तैँले यसलाई गहन रूपमा अनुभव गरेको होलास्, तैपनि यसको कुनै अर्थ छैन। अविश्‍वासीहरूसित अरू भनाइहरू पनि छन्, जस्तै “मलाई मर्न डर लाग्दैन, त्यसैले जिउन किन डराउनु?” र “रात त परिसक्यो, दिन हुन कति बेर नै लाग्छ र?” के यी भनाइहरू निकै सानदार छैनन् र? ती निकै प्रेरणादायी र दार्शनिक छैनन् र? अविश्‍वासीहरूले यी भनाइलाई “आत्माको अचूक औषधी” भन्छन्। के तँलाई यस्ता भनाइहरू मन पर्छ? (मन पर्दैन।) किन मन पर्दैन? कतिपयले भन्लान्, “बस, हामीलाई ती मन पर्दैन। ती अविश्‍वासीहरूका भनाइ हुन्; हामीलाई त परमेश्‍वरका वचनहरू मन पर्छ।” त्यसो भए, तँलाई परमेश्‍वरका वचनहरूको कुन भाग मन पर्छ? तँ कुनचाहिँ वाक्यांशलाई सत्यता मान्छस्? तैँले कुन वाक्यांश अनुभव, अभ्यास र प्राप्त गरेको छस्, र कुन वाक्यांशमा प्रवेश गरेको छस्? अविश्‍वासीहरूका ती भनाइलाई मन नपराउनु मात्रको कुनै अर्थ छैन; तँलाई ती मन नपरे पनि तैँले तिनको सार स्पष्टसित चिन्‍न सकेको छैनस्। के यी भनाइहरू सही हुन् त? (होइनन्।) चाहे सही हुन् वा गलत, अविश्‍वासीहरूका ती भनाइहरूको सत्यतासँग कुनै सम्बन्ध छैन। मानिसहरूले ती भनाइलाई असल र सही ठाने पनि, ती सत्यताअनुरूप छैनन्, र ती सत्यताको स्तरमा पुग्‍न सक्दैनन्। ती सबैले सत्यताको उल्लङ्घन गर्छन् र ती सत्यताका शत्रु हुन्। अविश्‍वासीहरू सत्यता स्विकार्दैनन्, त्यसैले के सही र के गलत हो भनेर तिनीहरूसँग बहस गर्नु आवश्यक छैन। हामीले तिनीहरूका भनाइलाई भ्रामक बकबास ठान्‍ने, र त्योभन्दा बढी केही नगरे हुन्छ। “बकबास” भनेको के हो? यसको अर्थ, ती भनाइहरू मानिसहरूको लागि, तिनीहरूको जीवनको लागि, तिनीहरू हिँड्ने मार्गको लागि, वा तिनीहरूको मुक्तिको लागि पटक्‍कै शिक्षाप्रद वा मूल्यवान् छैनन् भन्‍ने हो। यस्ता सबै भनाइ बकबास हुन्; यसलाई खोक्रो शब्द पनि भन्‍न सकिन्छ। मान्छेको जीवन र मृत्यु वा तिनीहरू हिँड्ने मार्गसित यसको कुनै सम्बन्ध छैन, र यो सकारात्मक प्रयोजन नै नभएको निरर्थक कुरा हो। मानिसहरू यस्तो वाक्यांश सुन्छन् र सदाझैँ जीवन जिउँछन्; यस्तो वाक्यांशले कुनै तथ्य परिवर्तन गर्नेछैन, किनकि यो सत्यता होइन। सत्यताले मात्र मानिसलाई सुधार गर्छ; यसको मूल्य अपार छ। किन म यसो भन्छु? किनभने सत्यताले मानिसहरूको नियति, तिनीहरूको सोच तथा दृष्टिकोण, र तिनीहरूको भित्री संसार बदल्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सत्यताले मान्छेका भ्रष्ट स्वभावहरू हटाउन सक्छ; यसले व्यक्तिका गुणहरू परिवर्तन गर्न सक्छ, उसका शैतानी गुणहरूलाई सत्यताका गुणहरूमा परिणत गर्न सक्छ—यसले भ्रष्ट स्वभावअनुसार जिउने व्यक्तिलाई सत्यता र परमेश्‍वरका वचनहरूअनुसार जिउने व्यक्तिमा परिणत गर्न सक्छ। जब व्यक्तिले परमेश्‍वरका वचनहरूको आधारमा सत्यताको वास्तविकताको जीवन जिउँछ, तब के त्यसरी उसको जीवन परिवर्तन हुँदैन र? जब व्यक्तिको जीवन परिवर्तन हुन्छ, यसको अर्थ उसको सोच र दृष्टिकोण परिवर्तन भएको हुन्छ; यसको अर्थ मानिस र विभिन्‍न कुराहरूप्रतिको उसको दृष्टिकोण, मनोवृत्ति र विचार परिवर्तन भएको हुन्छ; यसको अर्थ विभिन्‍न घटना र वस्तुहरूप्रतिको उसको अडान र दृष्टिकोण पहिलाको भन्दा फरक भएको हुन्छ। अविश्‍वासीहरूका ती सबै भनाइ खोक्रो शब्द र बकबासहरू हुन्। ती कुराहरूले कुनै समस्या समाधान गर्न सक्दैनन्। मैले भर्खरै उल्लेख गरेको भनाइ—“सहन नसकिने कुनै कष्ट छैन, बस आशिष्‌चाहिँ प्राप्त गर्न सकिँदैन”—के यो निरर्थक र खोक्रो शब्द होइन र? (हो नि।) तँ कष्ट भोग्‍न सक्छस्—त के भो? तँ सत्यता प्राप्त गर्न त कष्ट भोग्दैनस्; तँ प्रतिष्ठा र हैसियतमा रमाउन कष्ट भोग्छस्। तेरो कष्ट भोगाइको कुनै मूल्य वा महत्त्व छैन। यी तथ्यहरूलाई हेर्: तैँले यत्तिका कष्ट भोगेको छस् र यति ठूलो मूल्य चुकाएको छस्, तैपनि तँ अझै आफूलाई चिन्दैनस्, र तैँले तेरो भ्रष्ट स्वभावबाट पैदा हुने सोचविचारसमेत राम्ररी बुझ्दैनस्, न त ती समाधान गर्न नै सक्छस्। अनि, के तँलाई जीवन प्रवेश गर्न सक्छु जस्तो लाग्छ? के तेरो कष्ट भोगाइको कुनै मूल्य छ? यसको कुनै मूल्य छैन। कतिपय मानिसको कष्ट भोगाइको मूल्य हुन्छ। उदाहरणको लागि, मानिसहरूले सत्यता प्राप्त गर्न भोग्‍ने कष्टको मूल्य हुन्छ: जब व्यक्तिले सत्यता प्राप्त गरिसकेको हुन्छ, उसले अरूलाई सुधार्न र भरणपोषण गर्न सक्छ। धेरै मानिसले सुसमाचार सुनाउन कष्ट भोग्छन् र मूल्य चुकाउँछन्, र यसरी मण्डली र परमेश्‍वरको घरको काम फैलाउन, अनि स्वर्गको राज्यको सुसमाचार सुनाउन मदत पुर्‍याउँछन्। यसबाट हामी के देख्‍न सक्छौँ भने, सत्यता प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न कष्ट भोग्‍ने र मूल्य चुकाउने व्यक्तिले यसबाट केही न केही प्राप्त गर्नेछ। यी मानिसहरूले परमेशवरको अनुमोदन पाउनेछन्। तर कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूले परमेश्‍वरको खातिर आफूलाई अर्पित गरे पनि, कष्ट भोगे पनि, र उहाँबाट दया पाए पनि, त्यो दया परमेश्‍वरको निगाह र सहनशीलता अनि उहाँले मानिसलाई दिनुहुने कृपा र अनुग्रहको प्रतिबिम्बबाहेक अरू केही होइन। कस्तो अनुग्रह? केही भौतिक आशिष्‌—त्योबाहेक अरू केही होइन। के तैँले चाहेको त्यही हो? के तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको अन्तिम उद्देश्य त्यही हो? मलाई लाग्छ, होइन। के तैँले परमेश्‍वरलाई विश्‍वास गरेको दिनदेखि नै उहाँको दया, सुरक्षा र उहाँले दिनुहुने केही भैतिक आशिष्‌ मात्र चाहेको छस्? के तैँले चाहेका कुराहरू तिनै हुन्? के तँ तेरो विश्‍वासमा ती कुरा नै पछ्याउँछस्? (होइन।) के ती कुराले तेरो मुक्तिको समस्या हल गर्न सक्छन्? (सक्दैनन्।) तिमीहरूले निकै स्पष्ट रूपमा सोच्‍न थाल्यौ जस्तो देखिन्छ। तिमीहरूले कुन कुरा अत्यावश्यक र कुन कुरा महत्त्वपूर्ण छ भनेर बुझेका छौ। तिमीहरू अब अन्योलमा छैनौ। तिमीहरूलाई कुन कुरा गहकिलो छ र कुन छैन भन्‍ने थाहा भइसकेको छ। तर तिमीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छौ कि सक्दैनौ भनेरचाहिँ हेर्न बाँकी नै छ।

परमेश्‍वरमा विश्‍वास गर्नु भनेको अनुग्रह वा परमेश्‍वरको सहन र निगाह प्राप्त गर्नु होइन। त्यसो भए, यो के हो त? यो मुक्ति पाउने कुरा हो। अनि मुक्तिको निसान के हो? परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू के-के हुन्? मुक्ति पाउन के चाहिन्छ? आफ्नो भ्रष्ट स्वभाव हटाउनुपर्छ। यो मामिलाको मुख्य कुरा यही हो। त्यसैले, अन्त्यमा सबै कुरा भनिएपछि र गरिएपछि, तैँले जति नै कष्ट भोगेको भए पनि वा जति नै ठूलो मूल्य चुकाएको भए पनि, वा आफूलाई जति नै साँचो विश्‍वासी भएको घोषणा गरे पनि—यदि अन्त्यमा तेरो भ्रष्ट स्वभाव हटाइएकै छैन भने, यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। यो पनि भन्‍न सकिन्छ कि तैँले सत्यता नपछ्याउने भएकोले तेरो भ्रष्ट स्वभाव नहटेको हो। यसको अर्थ तँ मुक्तिको मार्गमा हिँडेकै छैनस्; यसको अर्थ परमेश्‍वरले मानिसलाई मुक्ति दिन भन्‍नुहुने र गर्नुहुने सबै कुराले तँमा केही पनि हासिल गरेको छैन, यसले तँलाई गवाही दिन डोऱ्याएकै छैन, र यसले तँमा फल फलाएकै छैन। परमेश्‍वरले यसो भन्‍नुहुनेछ, “तैँले कष्ट भोगेको र मूल्य चुकाएको हुनाले, मैले तँलाई अनुग्रह, आशिष्, हेरचाह र सुरक्षा दिएको छु, जसको लागि तँ यो जीवन र यो संसारमा हकदार छस्। तर मुक्तिपछि मानिस जुन कुराको हकदार हुन्छ त्यो कुरामा तेरो कुनै भागीदारी छैन। त्यस्तो किन हो? किनभने तँ यो जीवन र यो संसारमा जुन कुराको हकदार छस् त्यो तँलाई मैले दिइसकेको छु; मुक्तिपछि मानिस जुन कुराको हकदार हुन्छ त्यो सन्दर्भमा भन्‍नुपर्दा, तेरो लागि केही पनि छैन, किनभने तँ सत्यता पछ्याउने मार्गमा हिँडिनस्।” तँ मुक्ति पाउनेहरूमध्येको एक होइनस्, तँ सृष्टि गरिएको साँचो प्राणी भएको छैनस्, र परमेश्‍वर तँलाई चाहनुहुन्‍न। परमेश्‍वर त्यस्ता मानिसहरूलाई चाहनुहुन्‍न जो उहाँका लागि केवल काम गर्छन्, समय खर्चन्छन्, कष्ट भोग्छन्, र मूल्य चुकाउँछन्, जो साँचो अर्थमा अलिअलि विश्‍वास गर्छन् र जसमा अलिअलि विश्‍वास हुन्छ, तर त्योभन्दा बढी केही हुँदैन। यस्ता मानिसहरू उहाँका विश्‍वासीहरूका समहूहरूभित्र जहीँतहीँ पाइन्छन्। अर्को शब्दमा भन्दा, परमेश्‍वरको निम्ति काम गर्ने र सेवा चढाउने यस्ताहरू अत्यन्तै धेरै छन्, गन्‍नै नसकिने गरी असंख्य छन्। यदि तिनीहरू परमेश्‍वरले पूर्वनिर्धारित र छनौट गर्नुभएका र परमेश्‍वरले उहाँको घरमा फर्काएर ल्याउनुभएका व्यक्तिहरू हुन् भने, तिनीहरूमध्ये कोही पनि उहाँको लागि काम गर्न र सेवा चढाउन अनिच्छुक हुनेछैन। त्यस्तो किन हो? किनभने त्यस्तो गर्नु एकदमै सजिलो छ। यही कारण कैयौँ मानिसहरूले परमेश्‍वरको निम्ति सेवा चढाउँछन् र परिश्रम गर्छन्। पावलले जस्तै, ख्रीष्टिविरोधी र दुष्ट मानिसहरूले पनि त्यस्तो गर्न सक्छन्। के पावलजस्ता मानिसहरू कैयौँ छैनन् र? (छन्।) यदि तैँले मण्डलीमा गएर “जबसम्म तँपाई परमेश्‍वरको खातिर समय खर्चन, कष्ट भोग्‍न र मूल्य चुकाउन इच्छुक हुनहुन्छ, तबसम्म तपाईंले धार्मिकताको मुकुट पाउनुहुनेछ” भन्दै प्रचार गरिस् भने, के तँलाई तेरो आह्वान धेरै मानिसले सुन्‍नेछन् भन्‍ने लाग्छ? धेरैले सुन्‍नेछन्। तर अफसोस, अन्त्यमा यिनीहरू परमेश्‍वरले मुक्ति दिनुहुने वा मुक्ति पाउन सक्‍ने मानिसहरू हुँदैनन्। यस्ता मानिसहरू सेवा चढाउने चरणमै अल्झिरहन्छन्; तिनीहरू परमेश्‍वरलाई सेवा चढाउन मात्र इच्छुक हुन्छन्। अर्को शब्दमा भन्दा, यी मानिसहरू आफ्नो परिश्रमलाई परमेश्‍वरबाट सौभाग्य, अनुग्रह र आशिष् पाउनको लागि सौदा गर्न मात्र इच्छुक हुन्छन्। तिनीहरूले आफू जीवित रहिरहने तरिका वा आफ्नो जीवनशैली, वा जीवित रहिरहनको लागि आफू भर पर्दै आएको जग परिवर्तन गर्न चाहँदैनन्; तिनीहरू आफ्नो भ्रष्ट स्वभाव बदल्न वा मुक्तिको खातिर सत्यता पछ्याउनको लागि परमेश्‍वरको न्याय र सजाय स्विकार्न चाहँदैनन्। स्वभाविक रूपमै यो पनि भन्‍न सकिन्छ कि यी मानिसहरू कष्ट भोग्‍न र मूल्य चुकाउन मात्र इच्छुक हुन्छन्, र यिनीहरू आफूसँग भएका सबै कुरा त्याग्‍न र अर्पण गर्न मात्र इच्छुक हुन्छन्, अनि यिनीहरूले जति नै मूल्य परे पनि सकेजति सबै समर्पण गर्छन्, र यिनीहरू सम्भव भएसम्म हरतरिकामा परिश्रम गर्न इच्छुक हुन्छन्—तैपनि तैँले तिनीहरूलाई आफूलाई चिन्‍नू, सत्यता स्विकार्नू, आफ्नो भ्रष्टता हटाउनू, देहसुख त्याग्‍नू, सत्यता अभ्यास गर्नू, र निनवेवासीले गरेजस्तो आफ्नो दुष्टता त्यागेर परमेश्‍वरतर्फ फर्कनू, अनि उहाँका वचनहरूप्रति ध्यान दिनू र उहाँका वचनहरूअनुसार जिउनू भनिस् भने, तिनीहरूलाई त्यो अत्यन्तै गाह्रो लाग्‍नेछ। के त्यसै होइन र? (हो।) के यो निकै समस्याजनक छैन र? परमेश्‍वरले अत्यन्तै धेरै काम गर्नुभएको छ र अत्यन्तै धेरै वचन व्यक्त गर्नुभएको छ, त्यसो भए किन मानिसहरूलाई सत्यता पछ्याउन यति कठिन लाग्छ? किन तिनीहरू सधैँ यसप्रति उदासीन रहन्छन्? तिनीहरूले वर्षौँ प्रवचनहरू सुनेपछि पनि परिवर्तन हुने अभिप्राय राख्दैनन्। तिनीहरूले परमेश्‍वरसामु हृदयबाटै कहिल्यै सच्‍चा पश्‍चात्ताप गरेका छैनन्, न त आफूमा भ्रष्ट स्वभावहरू छन् भनेर कहिल्यै साँचो रूपमा मानेका वा स्विकारेका नै छन्। विभिन्‍न कुराहरूप्रतिको आफ्नो दृष्टिकोण र कार्य दुवैमा तिनीहरूले कहिल्यै आफ्नो दृष्टिकोण त्याग्‍ने र सत्यता खोजी गर्ने काम गरेका छैनन्; तिनीहरू हरेक मामिलालाई आफ्नो दृष्टिकोण बदलेर परमेश्‍वरसामु पश्‍चात्ताप गर्ने मनोवृत्तिले लिँदैनन्। तसर्थ, यहाँ धेरै मानिस यस्ता छन् जसले निकै धेरै अनुभव र निकै धेरै काम गरेका छन्, जो निकै धेरै समयदेखि आफ्नो कर्तव्यमा रहेका छन्, तर अझै पनि तिनीहरूले कुनै गवाही सिर्जना गर्न सक्दैनन्। तिनीहरूमा अझै पनि परमेश्‍वरका वचनहरूको कुनै ज्ञान वा अनुभव छैन, अनि परमेश्‍वरका वचनहरूबारे आफ्नो अनुभव र ज्ञानबारे कुरा गर्दा तिनीहरू एकदमै लज्‍जित र निरीह हुन्छन्, र तिनीहरू अत्यन्तै अयोग्य देखिन्छन्। यसको कारण के हो भने तिनीहरूसँग या त सत्यताको ज्ञान हुँदैन या त तिनीहरू यसप्रति अनिइच्छुक हुन्छन्। अर्कोतर्फ, परिश्रम गर्नु एकदमै सरल, एकदमै सजिलो हुन्छ। त्यसैले त परमेश्‍वरलाई सेवा चढाउन हरेक व्यक्ति इच्छुक हुन्छ, तर तिनीहरू कसैले पनि सत्यता पछ्याउने विकल्प रोज्दैन।

अब त्यसो भनिसकिएपछि, सत्यता पछ्याउनु भनेको ठ्याक्‍कै के हो त? हामीले धेरै बताइसकेका छौँ; के हामीले सत्यता पछ्याउनु भनेको के हो भनेर परिभाषित गर्नुपर्दैन? के तिमीहरू यसलाई परिभाषित गर्न सक्छौ? यो परिभाषा एकदमै सरल हुनुपर्छ, होइन त? के तिमीहरूले यी वचनहरू मनन, चिन्तन र सोचविचार गर्दैमा यो तिमीहरूमा आइहाल्छ? कतिपयले यसो भन्लान्, “सत्यता पछ्याउनु भनेको ठूलो विषय हो। यसलाई एक-दुई वाक्यमा स्पष्टसित व्यक्त गर्न सकिँदैन। यसबारे के भन्‍ने मलाई थाहा छैन। कस्ता शब्दहरूले यसलाई व्याख्या गर्न सक्छन्? सत्यता पछ्याउनु ठूलो कुरा हो, र ठूल्ठूला शब्दहरूबाहेक कुनै पनि कुराले यसलाई उचित रूपमा व्याख्या र परिभाषित गर्न सक्दैन—सबैलाई साँच्‍चि नै प्रभावित पार्ने एकमात्र तरिका त्यही हो!” के तिमीहरू त्यस्तै हुनुपर्छ भन्‍ने सोच्छौ? (होइन।) त्यसो भए, सत्यता पछ्याउनुलाई दैनिक बोलचालको भाषामा परिभाषित गर। (सत्यता पछ्याउनु भनेको हाम्रो भ्रष्ट स्वभाव हटाउन सत्यता प्रयोग गर्नु हो।) के त्यसलाई परिभाषा मान्‍न सकिन्छ? के तिमीहरू यसबाट निष्कर्ष निकाल्दै छौ? के सत्यता पछ्याउनुलाई परिभाषित गर्नु सजिलो छ? यसलाई परिभाषित गर्नु सजिलो काम होइन; यसबारे चिन्तनमनन गर्न केही प्रयत्‍न लगाउनुपर्छ। सत्यता पछ्याउनु भनेको के हो? अब यसलाई परिभाषित गर्ने प्रयास गरौँ, हुन्‍छ? सर्वोत्कृष्ट मानव भाषा त्यो हो जुन सरल, बोलचालको र वास्तविक हुन्छ। हामी बिरानो भाषा वा ठूल्ठूला शब्दमा बोल्नेछैनौँ। हामी सरर्र रूपमा, बोलचाल गर्न र बुझ्न सजिलो हुने गरी सामान्य मानिसहरूको दैनिक भाषा बोल्नेछौँ ताकि हामीले भनेका कुरा मानिसहरूले तुरन्तै बुझ्न सकून्। ससाना बच्‍चाहरू, वा अति सामान्य व्यक्ति वा बुझ्न नसक्‍ने मानसिक तवरमा कमजोरहरूबाहेक, सामान्य तवरमा सोच्न सक्‍ने कुनै पनि वयस्कले हामीले बोलेको भाषा सुन्‍नेबित्तिकै बुझ्न सक्‍नेछ। बोलचालको भाषा भनेको त्यही हो; दैनिक रूपमा बोलिने भाषा भनेको त्यही हो। त्यसो भए, सत्यता पछ्याउनु भनेको के हो त? परमेश्‍वरका वचनहरूको आधारमा, परमेश्‍वरका वचनहरूअनुसार, र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु—सत्यता पछ्याउनु भनेकै त्यही हो। सत्यता पछ्याउनुको सही परिभाषा यही हो। प्रश्‍न: सत्यता पछ्याउनु भनेको के हो? उत्तर: परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु। सत्यता पछ्याउनुको परिभाषा त्यही हो। सरल छ, छैन त? तिमीहरूमध्ये कतिपयले भनौला, “तपाईंले यत्तिका समय सत्यता पछ्याउनु भनेको के हो भनेर सङ्गति गर्दै आउनुभएको छ, जबकि यसको परिभाषा त्यो एक वाक्यको मात्र छ। के यो त्यस्तो सरल छ?” हो, यो त्यस्तो सरल छ। तर यो त्यस्तो सरल परिभाषा भए पनि, यसले सम्बन्धित धेरै विषयहरू छुन्छ—र ती सबै सम्बन्धित विषयहरूले सत्यता पछ्याउनुको विषय छुन्छन्। यी विषयहरूमा मानिसका कठिनाइहरू अनि मानिसका सोच र दृष्टिकोणहरू, साथै मानिसले सत्यता पछ्याउने सन्दर्भमा अपनाउने अनेकौँ बहानाबाजी, सफाइ, तौरतरिका र मनोवृत्तिहरू पर्छन्। मानिसले सत्यता पछ्याउन प्रतिरोध गर्ने र सत्यता पछ्याउन नमान्‍ने विषय पनि छ, जुन मानिसको भ्रष्ट स्वभावको कारण पैदा हुन्छ। अवश्य नै, मैले तँलाई बताएका कुराहरू—सत्यता पछ्याउने कैयौँ मार्ग र चरणहरू, व्यक्तिले सत्यता पछ्याउने तरिकाहरू, सत्यता पछ्याउँदा प्राप्त हुने परिणामहरू, र सत्यताअनुसार जिउने मानिसहरूमा देख्‍न सकिने सत्यताको वास्तविकता—यी कुराहरूले पनि सत्यता पछ्याउने विषय छुन्छन्। यसको अन्तिम परिणामचाहिँ परमेश्‍वरका वचनहरू र मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको अनुभावात्मक गवाही हो जुन मानिसहरूले सत्यता पछ्याउँदा अनि उहाँका वचनहरू अभ्यास र अनुभव गर्दा उत्पन्‍न हुन्छ। यो सबैभन्दा ठूलो परिणाम हो। यस्तो गवाहीको एउटा विशेषता भनेको यसले परमेश्‍वरको कार्यका परिणामहरूबारे गवाही दिन्छ; अर्को विशेषताचाहिँ, यसले सत्यता पछ्याउने मानिसहरूमा देख्‍न सकिने सकारात्मक परिणामहरू अर्थात तिनीहरूको भ्रष्ट स्वभाव धेरथोर हदमा हटेको कुराको गवाही दिन्छ। उदाहरणको लागि, कुनै एकदमै अहङ्कारी, निरङ्कुश, लापरवाह, र आफ्नो कार्यमा आफै कानुन बन्‍ने गरेको व्यक्तिले परमेश्‍वरका वचनहरू पढेर यो भ्रष्ट स्वभाव रहेछ भन्‍ने थाहा पाउँछ, र त्यसपछि यो कुरा मान्छ र स्विकार्छ। क्रमिक रूपमा उसले यो भ्रष्ट स्वभावले अरू र आफूलाई हानि गर्दो रहेछ भनेर थाहा पाउँछ: सानो दृष्टिकोणबाट हेर्दा, यसले मानिसहरूलाई हानी गर्छ, तर ठूलो दृष्टिकोणबाट हेर्दा, यसले माण्डलीको काममा बाधा, अवरोध र हानि पुऱ्याउँछ। यो परिणामहरूको एउटा भाग हो; यो परमेश्‍वरका वचनहरू बुझेपछि मान्छेले सिक्‍ने कुरा हो। त्यसबाहेक, परमेश्‍वरका वचनहरूको प्रकाशको आधारमा, तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर मान्छन्, र त्यसपछि परमेश्‍वरले मिलाउनुभएका परिस्थितिहरूमा क्रमिक रूपमा पश्‍चात्ताप गर्छन्, र आफ्नो जीवनशैली अनि कुनै समय आफूले अपनाएका व्यवहार र कार्यसम्बन्धी दृष्टिकोणहरू त्याग्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा सिद्धान्तहरू र अभ्यासको मार्ग खोज्छन्, र उहाँले तिनीहरूलाई दिनुभएका सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्छन्। यो साँचो पश्‍चात्ताप र साँचो रूपमा आफूलाई परिवर्तन गर्नु हो। तिनीहरूले परमेश्‍वरका वचनहरूको आधारमा आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्छन्, र अन्त्यमा, तिनीहरूले कार्य गर्दा सत्यताका सिद्धान्तहरू खोज्‍न थाल्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरूलाई आफ्नो आधारको रूपमा लिने वास्तविकताको केही अंश जिउँछन्। यो अहङ्कारी स्वभाव हटाउने उदाहरण हो। यसमार्फत प्राप्त हुने अन्तिम परिणाम के हुन्छ भने, यो व्यक्ति अहङ्कारी भएर जिउन छोड्छ; बरु उसमा विवेक र समझ आउँछ, उसले सत्यताका सिद्धान्तहरू खोज्न सक्छ, र ऊ साँचो अर्थमा सत्यताप्रति समर्पित हुन्छ; उसले अभ्यास गर्ने र जिउने कुरालाई अबदेखि उसको भ्रष्ट स्वभावले वशमा पार्दैन, बरु उसले सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिन्छ, र ऊ परमेश्‍वरका वचनहरूको वास्तविकताअनुसार जिउँछ—परिणाम त्यही हो। के यो परिणाम सत्यता पछ्याएर प्राप्त हुँदैन? (हुन्छ।) सत्यता पछ्याउँदा व्यक्तिमा पैदा हुने परिणाम त्यही हो। अनि परमेश्‍वरको नजरमा, यसरी जिउनु भनेकै उहाँ र उहाँको कार्यबारे सही गवाही दिनु हो; परमेश्‍वरका वचनहरूको न्याय, सजाय र खुलासाबाट सृष्टि गरिएको प्राणी गुज्रँदा प्राप्त हुने परिणाम यही हो। यो साँचो गवाही हो, र परमेश्‍वरका निम्ति यो महिमावान् कुरा हो। मानिसका निम्तिचाहिँ, यो अवश्यै महिमावान् कुरा होइन; यसलाई सम्मानजनक र गर्वको कुरा मात्र भन्‍न सकिन्छ, र यो परमेश्‍वरको काम अनुभव गरेपछि सृष्टि गरिएको प्राणीमा हुनुपर्ने र सृष्टि गरिएको प्राणीले जिउनुपर्ने गवाही हो। यो सत्यता पछ्याउने व्यक्तिले प्राप्त गर्ने सकारात्मक परिणाम हो। परमेश्‍वरले पनि यस्तो अनुभव र ज्ञानलाई, र यी मानिसहरू जिउने कुरालाई उहाँको काममार्फत प्राप्त हुने परिणाम ठान्‍नुहुन्छ। उहाँको लागि, यो शैतानमाथि गतिलो झापड हान्‍ने गवाही हो। परमेश्‍वरले प्रेम गर्नुहुने र मूल्यवान् ठान्‍नुहुने कुरा यही हो।

हामीले भर्खरै सत्यता पछ्याउनु भनेको के हो भनेर परिभाषित गरेका छौँ। के यो परिभाषामार्फत, सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारे तिमीहरूको दृष्टिकोण वास्तविकताको नजिक पुगेको छ? (छ।) अहिले हामीले सत्यता पछ्याउनुलाई तिमीहरूले बुझ्ने तरिकामा परिभाषित गरेका छौँ, अब तिमीहरूले तिमीहरूको पहिलेको पछ्याइलाई कसरी लिनुपर्छ? तिमीहरूमध्ये धेरैजसो सत्यता पछ्याउने मानिस होइनौ भन्‍ने पनि सम्भव छ। यो सुन्दा, यसले तिमीहरूलाई अलिक खिन्‍न पार्छ होला, होइन त? एकपटक फेरि यो परिभाषा पढ: (सत्यता पछ्याउनु भनेको के हो? उत्तर: परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।) अब तिमीहरू यसलाई सही रूपमा भन्‍न सक्छौ। थप विचार गर्दा, के यो सही हो? (हो।) यदि तिमीहरूले आफ्नो पहिलेको पछ्याइ र अभ्यासलाई यस परिभाषाको आधारमा मापन गऱ्यौ भने, नतिजा के आउनेछ? तिमीहरूले हाल आफूमा सत्यताको वास्तविकता छ कि छैन भनेर थाहा पाउन सक्‍नेछौ, र अहिलेको तिमीहरूको आचरण सत्यता पछ्याउने कार्य हो किन होइन भनेर पुष्टि गर्न सक्‍नेछौ। यो अमूर्त तरिकामा बताइएको होइन, हो त? यो एकदमै बोलचालको भाषा हो, होइन र? (हो।) यो कुनै पनि सामान्य व्यक्तिले बुझ्न सक्‍ने सामान्य भाषा हो। यो बुझ्न निकै सजिलो देखिए पनि, मानिसहरूसँग एउटा समस्या छ। त्यो समस्या के हो? त्यो परिभाषा बुझिसकेपछि, तिनीहरूलाई अप्ठ्यारो र खिन्‍न लाग्छ। किन तिनीहरू खिन्‍न हुन्छन्? किनभने तिनीहरूलाई विगतमा आफूले भोगेको कष्ट र चुकाएको मूल्यलाई निन्दा गरिएको महसुस हुन्छ, तिनीहरूले ती व्यर्थैमा भोगिएछ र चुकाइएछ भन्‍ने लाग्छ, र यसले गर्दा तिनीहरूलाई नरमाइलो लाग्छ। यो सुनेर कतिपय मानिसले भन्‍नेछन्, “ए—त्यसो भए सत्यता पछ्याउनुको परिभाषा त्यही हो। यदि हामी त्यो परिभाषाअनुसार चल्यौँ भने, के हामीले चुकाएका सबै मूल्य र हामीले विगतमा गरेका सबै समर्पणहरू व्यर्थ भएनन् र? यदि तपाईंले सत्यता पछ्याउनु भनेको के हो भनेर परिभाषित नगर्नुभएको भए, हामीले राम्ररी नै पछ्याइरहेका छौँ भनेर सोच्नेथ्यौँ; अहिले तपाईंले यसलाई यसरी परिभाषित गर्नुभएको छ, के हाम्रो पछ्याइ र हामीले चुकाएका सबै मूल्य माटोमा मिलेनन् र? के हाम्रो मुकुट र इनाम पाउने सबै सपना चकनाचूर भएनन् र? हामीले सत्यता बुझेपछि आशिष् पाउनुपर्छ र हाम्रा सपनाहरू साकार हुनुपर्छ, अनि किन अहिले हामीलाई सत्यता बुझेकोमा न्याय गरिँदै छ? किन हामी अन्धकारमा आशाविहीन भएर जिइरहेका छौँ? हाम्रो विगत र वर्तमानलाई निन्दा गरिएको छ, र भविष्य कस्तो हुने हो बताउन सकिने अवस्था छैन। हामीले आशिष् पाउने कुनै आशा नै छैन जस्तो देखिन्छ।” के अवस्था त्यस्तै हो त? के मानिसहरूले यसबारे यसरी सोच्नु सही हो? (होइन।) त्यसो भए, के मानिसहरूले यसबारे यसरी नै सोच्नुपर्छ? (होइन।) तिनीहरूले त्यसरी सोच्नु हुँदैन। तर यसबारे एउटा राम्रो कुरा छ: तैँले सत्यता पछ्याउने कार्यको यो परिभाषालाई बारम्बार प्रार्थना गर्दै पढ्न सक्छस्, र तैँले त्यसपछि आफ्नो विगतलाई फर्केर हेर्न, आफ्नो वर्तमानलाई हेर्न, र आफ्नो अघिको भविष्यलाई हेर्न सक्छस्। तँ खिन्‍न हुन सक्छस्, तर त्यस्तो महसुस हुनु भनेको तँ भावशून्य नहुनु हो। तँ आफ्नो विगत, वर्तमान र भविष्य विचार गर्न जान्दछस्, र तँ आफ्ना सम्भाव्यताहरूको योजना बनाउन र तीबारे सोच्न, तीबारे चिन्ता गर्न र तीबारे जुर्मुराउन जान्दछस्। त्यो राम्रो कुरा हो। यसले के साबित गर्छ भने, तँ अझै जीवित छस्, तँ जीवित व्यक्ति होस्, र तेरो हृदय मरेको छैन। यदि कुनै व्यक्तिलाई जे भन्दा पनि वा सत्यता पछ्याउने मार्गबारे जति नै स्पष्ट सङ्गति गर्दा पनि, ऊ उदासीन नै रहन्छ भने त्योचाहिँ चिन्ताको कुरा हो। त्यस्ताहरू सोच्छन्, “म यस्तै नै छु; मैले आशिष् पाऊँ कि विपत्ति भोगूँ, के मतलब? मलाई जाँच्नुहोस्, निन्दा गर्नुहोस्—तपाईंलाई जे मन पर्छ त्यही गर्नुहोस्!” तिनीहरूलाई जे भने पनि, तिनीहरू यसप्रति भावशून्य रहन्छन्। त्यसले समस्या जनाउँछ। मैले समस्या भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, तैँले सत्यताबारे तिनीहरूसित जसरी सङ्गति गरे पनि, तिनीहरूले त्यो बुझ्नेछैनन्; तिनीहरू आत्मा नभएका मृत व्यक्ति हुन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु, सत्यता पछ्याउनु, मुक्ति पाउनु, वा मानिसलाई मुक्ति दिने परमेश्‍वरको कार्यजस्ता कुराबारे कुनै जानकारी छैन, र तिनीहरूले यस्ता कुराहरू बुझ्दै बुझ्दैनन्। यो त बहिरो व्यक्तिलाई गीत गाउन सिकाउने, वा रङ्गान्ध व्यक्तिलाई रङ मिलाउन सिकाउने प्रयास गर्नुजस्तै हो। यो कहीँकतै सम्भव हुँदैन। तिनीहरूसित यी कुराहरू सङ्गति गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, किनभने तैँले जे भने पनि, चाहे त्यो गहन होस् वा सतही, तोकेर होस् कि सामान्य तवरमा, यसले केही फरक पार्नेछैन—तिनीहरूलाई आखिर केही पनि महसुस हुनेछैन्। तिनीहरू कालो चश्मा लगाएका अन्धा व्यक्तिहरू हुन्, चश्मा लगाए पनि नलगाए पनि, तिनीहरूको देख्‍ने क्षमतामा केही फरक आउँदैन। कतिपय मानिसहरू प्रायः भनिरहन्छन्, “रात त परिसक्यो, दिन हुन कति बेर नै लाग्छ र?” र “मलाई मर्न डर लाग्दैन, त्यसैले जिउन किन डराउनु?” अनि “हावामा मुक्‍का हानेर केही पनि हुँदैदैन।” यी सबै आफूलाई एकदमै चतुर ठान्‍ने आत्माहीन, मृत मानिसहरूका भनाइ हुन्। आत्मिक अर्थमा भन्दा, तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। आत्मिक बुझाइको कमी भएकाहरू जीवित भएर पनि मृत मानिसहरू हुन्। के मृत मानिसहरूले जीवितहरूको बोली बुझ्न सक्छन्? तिनीहरू सोच्छन्, “सत्यता पछ्याउनेबारे यो सबै कुरा, अनि मानिसहरू र विभिन्‍न कुराहरूबारे व्यक्तिको दृष्टिकोण, अनि व्यक्तिको व्यवहार र कार्य—यो सबको मसित के सम्बन्ध छ? मलाई मर्न डर लाग्दैन, त्यसैले जिउन किन डराउनु?” यस्तो सोच्नेहरू बरबाद हुन्छन्। तिनीहरू मृतहरूमध्येकै एक हुन्। सत्यता पछ्याउनुको परिभाषाबारे यस्तै कुरा हुन्छ। तैँले यो परिभाषा पढेपछि आफ्नो भावी मार्गबारे तेरो जे अभिप्राय र योजना भए पनि, वा तँ जसरी परिवर्तन भए पनि, यो सबै तेरो व्यक्तिगत खोजभित्र पर्छ। यी कुराहरू मैले भन्‍नुपर्ने वचन र गर्नुपर्ने कार्य हुन्। मैले भन्‍नुपर्ने सबै कुरा भनेको छु, र मैले भन्‍नुपर्ने सबै भनेको छु। यदि तिमीहरू साँच्‍चै सत्यतालाई प्रेम गर्छौ र तिमीहरूमा सत्यता पछ्याउने इच्छा छ भने, तिमीहरू सामान्यतः मानिसहरू र विभिन्‍न कुराहरूलाई कसरी हेर्छौ भन्‍ने सन्दर्भमा मैले तिमीहरूको खोजको उद्देश्य र निर्देशनको रूपमा दिएको सत्यता पछ्याउने कार्यको परिभाषालाई तिमीहरूले राम्रोसित अपनाउनेछौ, अनि सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नेछौ र कार्य गर्नेछौ वा यसलाई सन्दर्भको रूपमा अपनाउनेछौ, र यसरी तिमीहरू क्रमिक रूपमा परमेश्‍वरका वचनहरू र सत्यताको वास्तविकतामा प्रवेश गर्नेछौ। यदि तैँले त्यसो गरिस् भने, निकट भविष्यमा सत्यता पछ्याउने मार्गमा निश्‍चय नै केही हासिल गर्नेछस्। कतिपयले भन्लान्, “सत्यता पछ्याउनलाई अति ढिलो कहिल्यै हुँदैन।” यो गलत हो—यदि तैँले परमेश्‍वरको काम समाप्त हुन्जेलसम्मै सत्यता पछ्याइनस् भने, त्यो वास्तवमा एकदमै ढिलो हुनेछ। त्यो कुरालाई कसरी व्याख्या गर्नुपर्छ? सत्यता पछ्याउने कार्य परमेश्‍वरको काम समाप्त हुनुअघि नै गरिनुपर्छ। अर्को शब्दमा भन्दा, परमेश्‍वरले आफ्नो काम समाप्त भयो भनेर घण्टी बजाउनुअघिसम्म मात्र यो भनाइ साँचो हुन्छ। तर जब परमेश्‍वरको काम समाप्त भएको हुन्छ, र जब उहाँले “अब म मानिसलाई मुक्ति दिने काम गर्नैछैनँ, र म मानिसहरूलाई मुक्ति पाउन मदत गर्ने वा मानिसहरूको मुक्ति संलग्‍न हुने वचनहरू अब व्यक्त गर्नेछैनँ। म अब यस्ता कुराहरू बोल्नेछैनँ” भनेर भन्‍नुहुन्छ, तब उहाँको काम साँच्‍चै समाप्त भएको हुनेछ। तैँले सत्यता पछ्याउन त्यतिञ्‍जेल पर्खिबसिस् भने, साँच्‍चै नै अति ढिलो हुनेछ। जेहोस्, यदि तैँले अहिले नै सत्यता पछ्याउन थालिस् भने, तँसँग अझै समय हुनेछ—तैँले मुक्ति पाउने मौका अझै पाउनेछस्। अबउप्रान्त, परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर क्रमिक रूपमा मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न दिलोज्यान लगा। छोटो समयमा मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्ने परमेश्‍वरका सबै वचनहरू पढेर बुझ्ने प्रयास गर्, अनि आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने अभ्यास गर्। यसो गर्दा तेरो जीवन प्रवेशमा ठूलो फाइदा पुग्छ। उदाहरणको लागि, मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्ने परमेश्‍वरका वचनहरूमध्ये ख्रीष्टविरोधीहरूको स्वभाव समेट्ने वचनहरूलाई ली। के ती सबैभन्दा आधारभूत वचन होइनन् र? (हुन्।) अनि तैँले ती वचनहरूलाई आफ्नो आधारको रूपमा लिएर के गर्नुपर्छ? आफूलाई निन्दा गर्नुपर्छ? आफूलाई सराप्‍नुपर्छ? आफ्नो भविष्य र गन्तव्यबाट आफूलाई पन्छाउँनुपर्छ? होइन—तैँले आफ्नो भ्रष्ट स्वभाव चिन्‍न ती प्रयोग गर्नुपर्छ। यसबाट उम्कने कोसिस नगर्। यो त हरेक व्यक्तिले पार गर्नैपर्ने मोड हो। यसलाई हरेक व्यक्तिले पार गर्नुपर्छ भन्‍नुको अर्थ के हो? यो ठिक त्यस्तै हो जस्तो कि प्रत्येक व्यक्ति आमाबुबाको कोखबाट जन्मन्छ, त्यसपछि हुर्कन्छ, बूढो हुन्छ, र मर्छ। यी हरेक व्यक्तिले एक-एक गर्दै पार गर्नैपर्ने मोडहरू हुन्। सत्यता पछ्याउनु कत्तिको महत्त्वपूर्ण छ? यो मानिसको दैनिक खाना र पानीजत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले दिनहुँ खान र पिउन छोडिस् भने, तेरो देह जीवित रहन सक्दैन्; तेरो जीवन रहिरहन सक्दैन। “परमेश्‍वरका वचनहरूअनुसार” भन्‍नुको अर्थ, तैँले परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ, र त्यसबाट तेरो दृष्टिकोण, तौरतरिका र अभ्यासहरू पैदा हुन्छन्। अवश्य नै, “परमेश्‍वरका वचनहरूअनुसार” भन्‍नु र “सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर” भन्‍नु एउटै कुरा हो। त्यसैले, सत्यता पछ्याउनुको परिभाषामा “परमेश्‍वरका वचनहरूअनुसार” हुन मात्र पनि पर्याप्त छ। त्यसो भए, “सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर” भन्‍ने कुरा चाहिँ किन थप्‍नुपर्‍यो? किनभने कतिपय विशिष्ट समस्याहरूबारे परमेश्‍वरका वचनहरूमा बताइएको छैन। यस्तो स्थितिमा, तैँले सत्यताका सिद्धान्तहरू खोजी गर्नुपर्छ, अनि ती सिद्धान्तभित्र रहेर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ। तैँले यसो गरेर अवश्यै पूर्ण सटिकता हासिल गर्नेछस्। पूर्ण सटिकता हासिल गर्नुअघि, व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव चिन्‍नुपर्छ, र आफ्नो भ्रष्ट प्रकटीकरण र भ्रष्ट सार स्विकार्नुपर्छ। त्यसपछि, तिनीहरूले इमान्दारीसाथ पश्‍चात्ताप गर्नुपर्छ, र यसरी साँचो रूपमा आफूलाई परिवर्तन गर्नुपर्छ। यो श्रृङ्खलाको हरेक प्रक्रिया अत्यावश्यक हुन्छ, यो ठ्याक्‍कै मान्छेले खाना खाँदाको जस्तै अवस्था हो: खाना मुखमा हाल्नैपर्छ, त्यसपछि त्यो अन्‍ननली हुँदै पेटमा पुग्छ, त्यसपछि त्यो पच्छ र त्यसलाई शरीरले सोस्छ। त्यसपछि मात्र त्यो क्रमिक रूपमा रगतमा गएर शरीरलाई चाहिने पोषण बन्छ। मानिसहरूले सत्यता पछ्याउँछन् र यसलाई आफ्नो मापदण्डको रूपमा लिन थाल्छन्, र त्यसपछि तिनीहरूले सत्यता अभ्यास गर्न, त्यसअनुसार जिउन र त्यसको वास्तविकतामा प्रवेश गर्न सक्छन्। यो घटनाक्रममा हरेक सामान्य प्रक्रिया अत्यावश्यक हुन्छ; ती प्रक्रिया सत्यता पछ्याउने हरेक व्यक्तिले सत्यताको कुनै पनि तत्त्व खोजी गर्दा लिनैपर्ने अनिवार्य कदमहरू हुन्। कतिपयले भन्लान्, “सत्यता पछ्याउन मलाई ती चरण र पक्रिया चाहिँदैन। म सिधै सत्यता खोजी गर्छु र त्यसलाई अभ्यास गर्दै आफ्नो वास्तविकता बनाउँछु।” यो अति सामान्य बुझाइ हो, तर यदि यसले परिणाम ल्याउन सक्छ भने, अवश्यै यो उत्तम तरिका हो। यसले के देखाउँछ भने, तैँले आफ्नो भ्रष्ट स्वभावबारे नियमित तवरमा थाहा पाउन थालेपछि केही मात्रामा ज्ञान र सफलता पाइसकेको छस्, त्यसैले तँ जाँच्ने, जान्‍ने, स्विकार्ने, पश्‍चात्ताप गर्ने, आदि इत्यादि प्रक्रियाविना चल्न र सिधै सत्यताका सिद्धान्तहरू खोजी गर्न सक्छस्। सत्यताका सिद्धान्तहरू सिधै खोजी गर्नको लागि व्यक्तिमा निश्‍चित कद हुनुपर्छ। यस्तो कद हुनुको अर्थ के हो? यसको अर्थ, उसमा आफ्नो भ्रष्ट स्वभावबारे साँचो ज्ञान छ, र आफूलाई आइपर्ने कुनै कुरासम्बन्धी सत्यताहरू नबुझ्दा, उसले आफूलाई चिन्‍नु, वा पश्‍चात्ताप गर्नु वा आफूलाई बदल्नु जरुरी पर्दैन। उसले सिधै सत्यताका सिद्धान्तहरू बुझे हुन्छ र त्यसपछि तीअनुसार अभ्यास गरे पुग्छ। त्यति गरे काफी हुन्छ। यो सामान्य व्यक्तिको कद होइन। यस्तो कद भएको व्यक्तिले कम्तीमा पनि परमेश्‍वरको कठोर न्याय, सजाय, अनुशासन र जाँचमा पर्ने प्रक्रिया अनुभव गरेको हुन्छ। उसले आफूलाई परमेश्‍वरमा समर्पित गरेको हुन्छ र ऊ सिद्ध तुल्याइने मार्गमा हिँडिसकेको हुन्छ। यस्ता मानिसहरूले आफ्नो भ्रष्टता चिन्‍ने, त्यसपछि त्यो स्विकार्ने, पश्‍चात्ताप गर्ने र आफूलाई बदल्नेजस्ता प्रक्रियाहरू पार गर्नु पर्दैन। अनि, तिमीहरूको अवस्थाचाहिँ कस्तो छ? के तिमीहरूमध्ये अधिकांशले आफूलाई चिन्‍ने प्रक्रियाबाट सुरु गर्नुपर्छ? यदि तैँले आफूलाई चिन्दैनस् भने, तँ विश्‍वस्त हुनेछैनस्, र तँलाई सत्यता स्विकार्न सजिलो हुनेछैन, न त तँ साँचो पश्‍चात्ताप गर्न नै सक्‍नेछस्। यदि तैँले साँचो पश्‍चात्ताप गर्दैनस् भने, के तँ सत्यताप्रति समर्पित हुन सक्छस्? के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? अवश्य सक्दैनस्, अनि त्यस्तो स्थितिमा, तँ मुक्ति पाउने व्यक्ति हुनेछैनस्।

यो सङ्गतिपछि, के तिमीहरूले अब सत्यता पछ्याउने अलिअलि मार्ग पाएका छौ? के तिमीहरूमा यसको पछि लाग्‍ने आत्मविश्‍वास छ? (छ।) त्यो राम्रो कुरा हो; यदि तिमीहरूमा यीमध्ये कुनै पनि नभएको भए, त्यो चिन्ताको विषय हुन्थ्यो। तिमीहरूमध्ये कतिपयले प्रवचनपछि नकारात्मक महसुस गर्छौ होला। “ओहो—मेरो क्षमता कमजोर छ। मैले प्रवचन सुनेँ, तर केही पनि बुझ्न सकिनँ; म अलिअलि सिद्धान्त मात्र बुझ्छु। ममा त्यति आत्मिक बुझाइ छैन जस्तो छ। सत्यता पछ्याउन मलाई जोसै चल्दैन। म कर्तव्य निर्वाह गर्दा अलिअलि परिश्रम मात्र गर्न सक्छु। ममा कैयौँ कमीकमजोरी र टन्‍नै भ्रष्ट स्वभावहरू छन्। यो परिवर्तन गर्न सकिँदैन जस्तो लाग्छ। त्यस्तै भए नि भइरहोस्। मलाई सेवाकर्ता बन्‍नु नै पर्याप्त छ।” के यस्तो नकारात्मक सोच भएको व्यक्ति सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ? यो अलिक खतरनाक देखिन्छ किनभने यी नकारात्मक सोचहरू नै व्यक्तिको सत्यता पछ्याइमा ठूलो बाधा बन्छन्। ती सोचहरूलाई हल गरिएन भने, यो मार्ग जति नै राम्रो भए पनि यसमा हिँड्न सकिनेछैन। कतिपय मानिस सत्यता पछ्याउने मार्गमा धेरैपटक विफल भएका र खस्केका छन्, अनि निरुत्साहित भएका छन्: “आ भइहाल्यो—अब मैले सत्यताको पछि लाग्‍नु पर्दैन। मेरो भाग्यमा आशिष् पाउने लेखेको छैन। के परमेश्‍वर स्वयम्‌ले यसो भन्‍नुभएको छैन र: “के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ?” ऐनामा हेर्दा मेरो रूप औषत दर्जाको छ, आँखामा चमक छैन र अनुहारको बनोट बेढङ्गको छ, केही पनि मिलेको छैन। जसरी हेरे पनि, म आशिष् पाउने व्यक्तिजस्तो पटक्‍कै देखिँदिनँ। यदि परमेश्‍वरले हुन्छ नै भनेर पूर्वनिर्धारित गर्नुभएको छैन भने, मानिसहरूले मन लागेजति नै बल गरेर पछ्याउन सक्छन्, तर त्यो कुनै कामको हुनेछैन!” ती मान्छेको मानसिकता हेर्: तिनीहरूको हृदयमा समाधान गर्नुपर्ने यत्तिका धेरै घृणित कुराहरू छन्, अनि कसरी तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छन्? सत्यता पछ्याउनु भनेको जीवनको सबैभन्दा ठूलो कुरा हो, तर तैँले यसलाई सधैँ आशिष् प्राप्त गर्नुसित जोडेर सबैभन्दा खराब कुरा गर्छस्। व्यक्तिले पहिला आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय हटाउनुपर्छ। त्यसपछि, सत्यता पछ्याउने कार्य अलिक राम्ररी अघि बढ्नेछ। सत्यता पछ्याउने सन्दर्भमा, सबैभन्दा ठूलो कुरा भनेको यस मार्गमा धेरै मानिसहरू छन् कि छैनन् भनेर हेर्नु, र अधिकांशको छनौटलाई पछ्याउनु होइन, बरु पत्रुसको सिको गर्दै परमेश्‍वरका मापदण्डहरू पूरा गर्न मात्र प्रयास गरिरहनु हो। सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ, वर्तमानलाई स्पष्टसित बुझेर त्यसमा जिउनु, आफूले हाल कस्तो भ्रष्ट स्वभाव देखाउँछु भनेर जान्‍नु, अनि यसलाई हटाउन तुरुन्तै र लगत्तै सत्यता खोज्नु, पहिला यसलाई विश्‍लेषण गर्नु र राम्ररी जान्‍नु, र त्यसपछि परमेश्‍वरसित पश्‍चात्ताप गर्नु हो। तैँले पश्‍चात्ताप गर्दा सत्यता अभ्यास गर्नु अति महत्त्वपूर्ण छ—वास्तविक परिणामहरू प्राप्त गर्ने एकमात्र तरिका यही हो। यदि तैँले परमेश्‍वरलाई “हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न इच्छुक छु। मलाई माफ गर्नुहोस्। म गलत रहेछु। बिन्ती छ, मलाई क्षमा गर्नुहोस्!” भनेर भन्छस् र परमेश्‍वरको अनुमोदन पाउन यति गरे पुग्छ भन्‍ने सोच्छस् भने, के त्यसले काम चल्छ त? (चल्दैन।) यदि तँ सधैँ परमेश्‍वरलाई “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर भन्‍न चाहन्छस् र परमेश्‍वरले “भइहाल्यो। अघि बढ्दै जा” भनेर भन्‍नुहुनेछ भन्‍ने आशा गर्छस् भने—यदि तँ सधैँ यस्तो अवस्थामा जिउँछस् भने, सत्यतामा प्रवेश गर्न सक्‍नेछैनस्। त्यसो भए, तैँले कसरी परमेश्‍वरसित प्रार्थना र पश्‍चात्ताप गर्नुपर्छ? के कुनै मार्ग छ? यसको अनुभव हुनेले यसबारे अलिअलि भन्‍दा हुन्छ। कसैले भन्‍न सक्दैन? यस्तो लाग्छ, सामान्यतः तिमीहरू कहिल्यै पश्‍चात्तापको प्रार्थना गर्दैनौ, न त परमेश्‍वरसामु आफ्नो पाप स्विकारेर पश्‍चात्ताप नै गर्छौ। त्यसो भए, तिमीहरूले कसरी आफ्नो इच्छा र अभिप्राय त्याग्‍नुपर्छ? तिमीहरूले कसरी आफ्नो भ्रष्टता हटाउनुपर्छ? के तिमीहरूसँग अभ्यासको मार्ग छ? उदाहरणको लागि, यदि तँसँग अहङ्कारी स्वभाव हटाउने मार्ग छैन भने, यसरी परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, ममा अहङ्कारी स्वभाव छ। मलाई आफू अरूभन्दा श्रेष्ठ, अरूभन्दा असल, र अरूभन्दा बाठो छु भन्‍ने लाग्छ, र म अरूलाई मैले भनेकै कुरा गर्न लाउन चाहन्छु। यो साह्रै समझहीन कुरा हो। यो अहङ्कार हो भनेर थाहा भएर पनि, किन म यो त्याग्‍न सक्दिनँ? बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस् र गाली गर्नुहोस्। यसको सट्टा, म तपाईंको इच्छा खोज्न आफ्नो अहङ्कार र आफ्नो इच्छा त्याग्‍न इच्छुक छु। म तपाईंका वचनहरू सुन्‍न र तिनलाई मेरो जीवन र मैले व्यवहार गर्ने सिद्धान्तको रूपमा स्विकार्न इच्छुक छु। म तपाईंका वचनहरूअनुसार जिउन इच्छुक छु। बिन्ती छ, मलाई मार्गदर्शन गर्नुहोस्, बिन्ती छ, मलाई मदत र अगुवाइ गर्नुहोस्।” के यी शब्दहरूमा समर्पणको मनोवृत्ति छ? के त्यहाँ समर्पण गर्ने इच्छा छ? (छ।) कतिपयले भन्लान्, “एकपटकको प्रार्थना काम लाग्दैन। मलाई कुनै कुरा आइपर्दा, म अझै आफ्नो भ्रष्ट स्वभावअनुसार नै जिउँछु, र अझै इन्चार्ज नै हुन चाहन्छु।” त्यो अवस्थामा, निरन्तर यसरी प्रार्थना गर्: “हे परमेश्‍वर, म साह्रै अहङ्कारी, साह्रै विद्रोही छु! बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस्, मेरो दुष्कर्मको मार्ग बन्द गरिदिनुहोस्, र मेरो अहङ्कारी स्वभावलाई लगाम लगाउनुहोस्। मेरो बिन्ती छ, मलाई मार्गदर्शन र अगुवाइ गर्नुहोस्, ताकि म तपाईंका वचनहरूअनुसार जिउन सकूँ, अनि तपाईंका वचनहरू र मापदण्डहरूअनुसार कार्य र अभ्यास गर्न सकूँ।” परमेश्‍वरलाई अझ धेरै प्रार्थना र अन्तर्बिन्ती गर्, र उहाँलाई काम गर्न दे। तेरा शब्दहरू जति सच्‍चा हुन्छन्, र तेरो हृदय जति सच्‍चा हुन्छ, उति नै देहसुख र इच्छा त्याग्‍ने तेरो इच्छा प्रबल हुनेछ। जब यो कुरा तेरो आफ्नै इच्छाले काम गर्ने चाहनामाथि हाबी हुन्छ, तब क्रमिक रूपमा तेरो हृदय परिवर्तन हुनेछ—र जब त्यस्तो हुन्छ, तँमा सत्यता अभ्यास गर्ने र यसका सिद्धान्तहरूअनुसार काम गर्ने आशा पलाउनेछ। तैँले प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई केही भन्‍नुहुनेछैन, वा तँलाई कुनै सङ्केत दिनुहुने, वा कुनै कुराको प्रतिज्ञा गर्नुहुनेछैन, बरु तेरो हृदय र तेरा शब्दहरूपछाडि लुकेको अभिप्राय जाँच्नुहुनेछ; उहाँले तेरो बोली निष्कपट र साँचो हो कि होइन, र तैँले उहाँलाई सच्‍चा हृदयले अन्तर्बिन्ती र प्रार्थना गर्दै छस् कि छैनस् भनेर अवलोकन गर्नुहुनेछ। जब परमेश्‍वरले तेरो हृदय सच्‍चा रहेछ भन्‍ने देख्‍नुहुन्छ, उहाँले तँलाई तैँले प्रार्थना गरेर मागेजस्तै अगुवाइ र मार्गदर्शन दिनुहुनेछ, अनि अवश्यै उहाँले तँलाई हप्की र अनुशासन पनि दिनुहुनेछ। जब परमेश्‍वरले तैँले अन्तर्बिन्ती चढाएको कुरा पूरा गर्नुहुन्छ, तब तेरो हृदयले अन्तर्दृष्टि पाउनेछ र यो अलिअलि परिवर्तन हुनेछ। यसको विपरीत, यदि तेरो प्रार्थना र अन्तर्बिन्ती सच्‍चा छैन, र तँसित पश्‍चात्ताप गर्ने साँचो चाहना छैन, तर झारातिरुवा शैलीमा आफ्नो बोलीद्वारा परमेश्‍वरलाई रिझाउन र मूर्ख बनाउन मात्र खोज्दै छस् भने, परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा तेरो लागि केही पनि गर्नुहुनेछैन, बस तँलाई तिरस्कार र इन्कार गर्नुहुनेछ। यी परिस्थितिहरूमा, तँलाई पनि तेरो लागि परमेश्‍वरले कुनै कुरा भन्‍नुहुन्छ, वा कुनै कुरा गर्नुहुन्छ, वा कुनै पाइला चाल्नुहुन्छ भन्‍ने पटक्‍कै लाग्‍नेछैन, तर परमेश्‍वरले तँमा कुनै काम नगर्नुभएको चाहिँ तँ हृदयमा इमानदार नभएर हो। अनि जब परमेश्‍वर कुनै काम गर्नुहुन्‍न, तब के हुनेछ? तैँले चाहेजस्तै तेरो हृदयमा पश्‍चात्ताप गर्ने चाहना हुनेछैन, र त्यो फिटिक्‍कै परिवर्तन भएको हुनेछैन। अनि त्यसैले, त्यो परिस्थितिमा र तँमाथि आइपरेको त्यो घटनामा, तैँले गर्ने कामकुराहरू सत्यताका सिद्धान्तहरूको आधारमा नभई मानव इच्छा र भ्रष्ट स्वभावद्वारा निर्देशित हुनेछन्। तैँले अझै पनि आफ्नो इच्छा र चाहनाअनुसार नै काम र अभ्यास गरिरहेको हुनेछस्। तैँले परमेश्‍वरलाई चढाएको प्रार्थनाको परिणाम प्रार्थनाअघिको जस्तै नै हुनेछ; त्यसमा कुनै परिवर्तन आउनेछैन। तैँले आफूलाई कति पनि परिवर्तन नगरी अझै जे मन लाग्यो त्यही गरिरहेको हुनेछस्। यसको अर्थ, सत्यता पछ्याउने प्रक्रियामा मानिसहरूले व्यक्तिपरक प्रयास गर्नु पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ जति तिनीहरूले सत्यता बुझ्छन् कि बुझ्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसको साथै, जब मानिसहरूले सत्यता बुझ्छन् र यसलाई अभ्यास गर्न चाहन्छन्, र जब त्यसो गर्न तिनीहरूलाई गाह्रो लाग्छ, तब तिनीहरूले परमेश्‍वरमा भर पर्नुपर्छ, अनि आफ्नो हृदय र सच्‍चा प्रार्थना अर्पण गर्नुपर्छ। त्यो पनि एकदमै महत्त्वपूर्ण छ; यी सबै कुरा अत्यावश्यक छन्। यदि तँ बोक्रे र सतही रूपमा मात्र प्रार्थना गर्दै “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु” भनेर भन्छस् र यदि तँ तेरो प्रर्थनाका शब्दहरूमा जस्तै परमेश्‍वरप्रति झारातिरुवा छस् भने, परमेश्‍वरले काम गर्नुहुनेछैन्, न त तँलाई ध्यान नै दिनुहुनेछ। यदि तँ “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर भन्छस् भने, परमेश्‍वरले “ठिकै छ, भइहाल्यो” भनेर अवश्यै भन्‍नुहुनेछैन। तैँले परमेश्‍वरसँग बोक्रे र सतही कुरा गरेकोले उहाँले तँलाई सोध्‍नुहुनेछ: “कुन तरिकामा तँ गलत रहेछस्? के गर्ने तेरो अभिप्राय छ? के तँ पश्‍चात्ताप गर्नेछस्? के तँ आफ्नो दुष्टता त्यागेर परिवर्तन हुनेछस्? के तँ आफ्नो इच्छा, अभिप्राय र हितहरू त्याग्‍नेछस् र आफूलाई तुरन्तै परिवर्तन गर्नेछस्? के तँ आफूलाई परिवर्तन गर्ने सङ्कल्प गर्न सक्छस्?” यो कुरा हुँदै गर्दा परमेश्‍वरले तँलाई कुनै कुरा सोध्‍नुभएको तैँले नसुन्‍न सक्छस्, तर यदि तँ परमेश्‍वरलाई “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर भन्छस् भने, परमेश्‍वरको दृष्टिकोणबाट, उहाँको मनोवृत्ति मैले भनेको जस्तै हुनेछ: उहाँले यी वचनहरूद्वारा तँलाई प्रश्‍न गर्नुहुनेछ। उहाँले तँलाई कसरी प्रश्‍न गर्नुहुनेछ? तैँले “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर भनेपछि के गर्छस् र के छनौट गर्छस् भनेर उहाँले हेर्नुहुनेछ। उहाँले तैँले आफ्नो भ्रष्ट स्वभाव सच्‍चा तवरमा स्वीकार र घृणा गरेर साँचो पश्‍चात्ताप गरेको छस् कि छैनस् भनेर नियाल्नुहुनेछ। परमेश्‍वरले उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ, सत्यताप्रति तेरो मनोवृत्ति कस्तो छ, तँ तेरो भ्रष्ट स्वभावलाई कसरी लिन्छस् र यसबारे तेरो दृष्टिकोण कस्तो छ, अनि तँ आफ्नो गलत दृष्टिकोण र गलत तौरतरिका त्याग्‍ने अभिप्राय राख्छस् कि राख्दैनस् भनेर नियाल्नुहुनेछ; उहाँले तेरा छनौटहरू हेर्नुहुनेछ, तँ सत्यताको मार्गमा हिँड्ने छनौट गर्छस् कि गर्दैनस्, तैँले अघि बढ्दै जाँदा कसरी काम गर्नुपर्छ र सिद्धान्तहरू पालन गर्नुपर्छ, र तँ सत्यता अभ्यास गरेर उहाँमा समर्पित हुन सक्छस् कि सक्दैनस् भनेर हेर्नुहुनेछ। परमेश्‍वरले तेरो हरेक चाल, तेरो हरेक अभिप्राय र छनौट जाच्‍नुहुनेछ, र त्यो जाँच गर्ने क्रममा उहाँले ती छनौटहरूपश्‍चात तैँले गरेका कामकुराहरू साँच्‍चै पश्‍चात्ताप गर्ने र आफूलाई बदल्ने कार्य हुन् कि होइनन् भनेर नियाल्नुहुनेछ। महत्त्वपूर्ण कुरा त्यही हो।

मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गरिसकेपछि, आफूलाई कसरी परिवर्तन गर्नुपर्छ? सत्यता अभ्यास गर्न र साँच्‍चै परिवर्तन हुनको लागि आफ्नो इच्छा, आफ्नो सोच र दृष्टिकोण, अनि आफ्नो पुरानो कार्यशैली त्याग्‍नुपर्छ। आफूलाई साँचो रूपमा परिवर्तन गर्नु भनेको त्यही हो। यदि तँ आफू परिवर्तन हुन इच्छुक छु भनेर दाबी मात्र गर्छस्, तर हृदयमा चाहिँ अझै आफ्नै चाहनामा अल्झिरहन्छ, सत्यता त्यागिरहन्छस् र आफ्नो पुरानै तौरतरिकालाई निरन्तरता दिइरहन्छस् भने, तैँले आफूलाई साँचो रूपले परिवर्तन गरिरहेको छैनस्। यदि तँ परमेश्‍वरलाई प्रार्थना गर्दा “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर मात्र भन्छस्, तर त्यसपछिका तेरा सबै व्यवहारमा तँ अझै आफ्नै इच्छाअनुसार निर्णय गर्ने, काम गर्ने, अभ्यास गर्ने र जिउने गर्दै सबै कुरामा सत्यताविपरीत जान्छस् भने, परमेश्‍वरको दृष्टिबाट तँलाई कसरी परिभाषित गर्नुपर्छ? तैँले आफूलाई परिवर्तन गरेको छैनस्। कम्तीमा पनि उहाँले तँ परिवर्तन हुने अभिप्राय राख्दैनस् भनेर भन्‍नुहुनेछ। तँ परमेश्‍वरलाई “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भन्छस् होला, तर यी त बोक्रे शब्द मात्र हुन्, ती तेरो हृदयको गहिराइबाट आउने पश्‍चात्ताप र पाप-स्वीकार होइनन्। ती कुरामा दोष स्विकार्ने र पश्‍चात्ताप गर्ने मनोवृत्तिको कुनै झल्को छैन; ती खोक्रो शब्द मात्र हुन्। परमेश्‍वरले तेरो कुरा सुन्‍नुहुन्‍न—उहाँले बस तैँले सोचिरहेको, योजना गरिरहेको र षड्यन्त्र बुनिरहेको कुरा हेर्नुहुन्छ। अनि जब परमेश्‍वरले तेरा कार्यहरूको आधार र सिद्धान्तहरू अझै सत्यताविपरीत छन् भन्‍ने देख्‍नुहुन्छ, उहाँले तेरो साँचो, वास्तविक र सही फैसला गर्नुहुनेछ। उहाँले यसो भन्‍नुहुनेछ, “तैँले आफूलाई बदलेको छैनस्, तँ परिवर्तन भइरहेको छैनस्।” अनि परमेश्‍वरले यसो भन्‍नुहुँदा, उहाँले तेरो यस्तो फैसला गर्नुहुँदा, तेरो बारेमा पटक्‍कै चिन्ता लिनुहुनेछैन। अनि जब परमेश्‍वरले तेरो बारेमा कुनै चिन्ता लिनुहुन्‍न, तब आगामी दिनहरूमा तेरो हृदय अँध्यारो हुनेछ, र तैँले गर्ने हरेक कुरामा अन्तर्दृष्टि र ज्योतिको कमी हुनेछ, र तैँले भ्रष्ट स्वभाव देखाउँदा तँलाई थाहासमेत हुनेछैन, न त यसको लागि तँलाई कुनै अनुशासनमा नै राखिनेछ। तँ भावशून्य भएर अघि बढ्नेछस्, अनि तँलाई खोक्रो र आडरहित भएको महसुस हुनेछ। सबैभन्दा खराब त, तँ तेरो मनमानी र लापरवाह व्यवहारमा लिप्त भइरहनेछस्, अनि तैँले तेरो भ्रष्ट स्वभावलाई बिनारोकतोक बढ्न दिइरहनेछस्। हुने भनेकै त्यही हो। यसरी काम गर्नुको अन्तिम परिणाम के हुनेछ? जब कुनै व्यक्तिले सत्यता त्याग्छ, परमेश्‍वरले त्यसउप्रान्त उसको चिन्ता लिनुहुनेछैन, उसले आफूमाथि निम्त्याउने परिणाम यही हो। परमेश्‍वरले तँलाई केही पनि नभन्‍न, वा स्पष्ट रूपमा केही पनि सङ्केत नगर्न सक्‍नुहुन्छ, तर तैँले त्यो सब महसुस गर्न सक्‍नेछस्। तेरो सोचाइ र विचार, तेरो वास्तविक स्थिति, अनि सत्यताप्रतिको तेरो मनोवृत्तिको आधारमा यो स्पष्ट हुनेछ कि तेरो समग्र अवस्था भनेकै भावशून्यता, बोधोपन, हठीपन र यस्तै अन्य प्रकटीकरणहरू हुन्। यी कुराहरू मानिसहरूमा प्रतिबिम्बित हुन्छन्। त्यसैले, तिमीहरूले आफ्नो वास्तविक जीवन र आफूले अभ्यास गर्ने कुरालाई यससँग दाँजेपछि, तिमीहरूलाई यी तलका कुरा अध्ययन वा अनुसन्धान गर्न मन लाग्‍न सक्छ: जब तँ परमेश्‍वरतर्फ पटक्‍कै फर्केको हुँदैनस्, तब तँ उहाँसँग मिठामिठा कुरा गर्छस् होला, तर त्यसो गर्दा तँ कुन प्रकारको स्थिति र अवस्थमा हुन्छस्? अनि जब तँ साँच्‍चै परिवर्तन भएको हुन्छस्, तैँले परमेश्‍वरलाई मिठामिठा शब्दहरूले प्रार्थना नगरे पनि, बरु त्यसको साटो हृदयबाट थोरथोरै बोले पनि, त्यतिबेला तँ कुन प्रकारको स्थिति र अवस्थामा हुन्छस्? यी दुई अवस्थाहरू बिलकुलै फरक हुन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको दैनिक जीवनमा स्पष्टसित कुनै सङ्केत नगर्न वा तिनीहरूसँग स्पष्ट शब्दमा नबोल्न पनि सक्‍नुहुन्छ, तर तिनीहरूले आफ्नो दैनिक जीवनमा पवित्र आत्माको काम र उहाँले गर्नुहुने हरेक कुरा अनि उहाँले व्यक्त गर्न चाहनुहुने हरेक इच्छा महसुस गर्न सक्‍नुपर्छ। अवलोकन गर्नेहरूले पनि स्वभाविक रूपमै यी कुराहरू पत्ता लगाउन सक्छन्। भावशून्य र मन्द बुद्धिको व्यक्ति एकाएक बाठो बन्‍न सक्छ वा सामान्यतया बाठो रहेको व्यक्ति अचानक भावशून्य, मन्द बुद्धिको र बेकारको बन्‍न सक्छ। यी दुई अवस्था वा स्थिति एक व्यक्तिमा वा फरकफरक मान्छेमा उही समयमा आउन सक्छ—यो प्रायः भइरहने कुरा हो। यसबाट के देख्‍न सकिन्छ भने, धेरैजसो घटनामा व्यक्ति बाठो वा मूर्ख हुनु उसको दिमाग, सोचाइ वा क्षमतासित सम्बन्धित कुरा होइन; यो त परमेश्‍वरले निर्धारित गर्नुभएको हुन्छ। कुरा स्पष्ट भयो? (भयो।) तैँले यी कुराहरू अनुभव नगरेसम्म कहिल्यै बुझ्नेछैनस्। ती अनुभव गरिसकेपछि भने तँलाई थाहा हुनेछ—तैँले जति गहिरो गरी ती अनुभव गर्छस्, उति नै राम्रो तेरो बुझाइ हुनेछ, र ती कुरालाई तैँले उति नै गहिरो गरी कदर गर्नेछस्। परमेश्‍वरको इच्छा उहाँका कार्यहरूमा हुन्छ; उहाँले तँलाई यसको स्पष्ट सङ्केत दिनुहुनेछैन, न त तँलाई यसबारे स्पष्टसित बताउने वा यसबारे तँसँग कुरा गर्ने नै गर्नुहुनेछ, तर त्यसको अर्थ तँप्रति उहाँको कुनै अडान छैन भन्‍ने होइन। यसको अर्थ तेरो सोचाइ, विचार, अवस्था वा मनोवृत्तिबारे परमेश्‍वरसित कुनै दृष्टिकोण छैन भन्‍ने पनि होइन। आफूमाथि कुनै कुरा आइपर्दा, जब कसैमा आफ्नै व्यक्तिगत अभिप्राय र योजना पलाउँछ, र जब उसले स्पष्ट रूपमै भ्रष्ट स्वभाव प्रकट गर्छ—ठीक यस्तै क्षणहरूमा उसले आफ्‍नो बारेमा मनन गरेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरले त्यस व्यक्तिलाई जाँच गर्ने महत्त्वपूर्ण क्षणहरू पनि यिनै हुन्। त्यसकारण, तैँले सत्यता खोजी गर्न, सत्यता स्विकार्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस् कि सक्दैनस् भन्‍ने क्षणहरूले नै व्यक्तिलाई सबैभन्दा बढी खुलासा गर्छन्। य्सता क्षणहरूमा, तैँले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्नुपर्छ र साँचो पश्‍चात्ताप गर्न इच्छुक हुनुपर्छ। तैँले “हे परमेश्‍वर, मलाई माफ गर्नुहोस्। म गलत रहेछु,” भनेर परमेश्‍वरसँग बोक्रे व्यवहार गर्नुभन्दा उहाँसित इमान्दार घोषणा गर्नुपर्छ। परमेश्‍वर तँबाट बोक्रे व्यवहार होइन, साँचो पश्‍चात्ताप गर्ने मनोवृत्ति चाहनुहुन्छ। यदि तँलाई कठिनाइ भएको छ भने परमेश्‍वरले मदत र मार्गदर्शन गर्नुहुनेछ अनि तँलाई चरणबद्ध रूपमा आफूलाई परिवर्तन गर्ने कार्यमा र सत्यता स्विकार्ने र पछ्याउने मार्गमा डोर्‍याउनुहुनेछ। अवश्य नै, यदि तेरो पश्‍चात्ताप शब्दमा मात्र सीमित छ भने, वा यदि तँ पश्‍चात्ताप गर्न अनि आफ्नो अभिप्राय र चाहनाहरू त्याग्‍न चाहन्छस्, तर तँ यसबारे इमानदार छैनस् र तँसित त्यसो गर्ने इच्छाशक्ति छैन भने, परमेश्‍वरले तँलाई जबर्जस्ती गर्नुहुन्‍न। परमेश्‍वरको कुरा गर्दा, मानिसप्रतिको उहाँको मनोवृत्तिमा “हुनैपर्छ” भन्‍ने कुरा हुँदैन; परमेश्‍वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ र उहाँले तँलाई छनौट गर्न दिनुहुन्छ, अनि उहाँ पर्खिरहनुभएको छ। उहाँले के पर्खिरहनुभएको छ? उहाँले तँ कस्तो छनौट गर्छस् अनि तँमा पश्‍चात्ताप गर्ने अभिप्राय छ कि छैन भनेर हेर्न पर्खिरहनुभएको छ। यदि तँसित पश्‍चात्ताप गर्ने अभिप्राय छ भने, तँ त्यो कहिल्यै गर्दै छस्? तेरो पश्‍चात्ताप कसरी प्रकट हुनेछ? यदि तँसित पश्‍चात्ताप गर्ने अभिप्राय छ र तँ त्यसो गर्न इच्छुक छस्, तर काम गर्दा अझै पनि आफ्नो हित रक्षा गर्न खोज्छस् र आफ्नो हैसियत गुमाउन अझै चाहँदैनस् भने, देख्दैमा स्पष्ट हुन्छ कि तँ सच्‍चा पश्‍चात्तापी होइनस्, र तँ यसबारे इमानदार छैनस्। तँ बस अलिअलि पश्‍चात्ताप गर्न चाहन्छस्, तर तँ साँचो पश्‍चात्तापी होइनस्। यदि तँ पश्‍चात्ताप गर्ने अभिप्राय मात्र राख्छस् तर साँचो पश्‍चात्ताप गर्दैनस् भने, के परमेश्‍वरले तँमा काम गर्नुहुनेछ? उहाँले काम गर्नुहुनेछैन। उहाँले यसो भन्‍नुहुनेछ, “अनि, तैँले कहिले पश्‍चात्ताप गर्ने अभिप्राय राखेको छस्?” तँलाई थाहा हुनेछैन। के परमेश्‍वरले फेरि तँलाई सोध्‍नुहुनेछ? अहँ—उहाँले भन्‍नुहुनेछ, “त्यसो भए, तँ सच्‍चा पश्‍चात्तापी होइनस्। ठीकै छ, म पर्खनेछु।” तैँले पश्‍चात्ताप गर्ने अभिप्राय नराख्‍न सक्छस्, तैँले पश्‍चात्ताप गर्न, वा आफ्नो हैसियत र हित त्याग्‍न अनिच्छुक बन्‍न सक्छस्। ठिकै छ। परमेश्‍वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ, र तैँले आफूले चाहेजस्तो कुनै पनि छनौट गर्न सक्छस्। परमेश्‍वरले तँलाई जबर्जस्ती गर्नुहुनेछैन। तर तैँले विचार गर्नुपर्ने एउटा तथ्य छ, यदि निनवेवासीहरूजस्तै तँ परिवर्तन हुँदैनस् र पश्‍चात्ताप गर्दैनस् भने, यसको परिणाम के हुनेछ? तँ नष्ट हुनेछस्। हाल, यदि तँ पश्‍चात्ताप गर्ने अभिप्राय मात्र राख्छस्, तर पश्‍चात्ताप गर्नेतर्फ कुनै वास्तविक पाइला चालेको छैनस् भने, परमेश्‍वरले तेरो चिन्ता लिनुहुनेछैन। किन उहाँले तेरो चिन्ता लिनुहुनेछैन? परमेश्‍वर भन्‍नुहुन्छ, “तँ सच्‍चा छैनस्, आफू कहाँ उभिएको छु भनेर बताउँदैनस्, र तेरो हृदय अझै पनि ढलपलिँदै छ।” एकछिन सोचेपछि, तैँले आफू पश्‍चात्ताप गर्न इच्छुक छु भनेर भन्‍न सक्छस्, तर त्यो त तेरो कुनै कार्य वा कुनै ठोस योजनाविनाको सोच र खोक्रो भनाइ मात्र हो। त्यसैले परमेश्‍वर भन्‍नुहुन्छ, “म तँजस्ता मान्छेलाई पर पन्छाइदिनेछु। मलाई तेरो चिन्ता छैन। जे चाहन्छस् त्यही गर्!” जब एक दिन तैँले “ओहो, मैले पश्‍चात्ताप गर्नुपर्छ” भनेर बुझ्छस्, त्यतिबेला तैँले यो कसरी गर्नुपर्छ? तेरा ती शब्दहरूद्वारा परमेश्‍वर मूर्ख बन्‍नुहुन्‍न र “योसित पश्‍चात्ताप गर्ने अभिप्राय छ, त्यसैले अब मैले यसलाई आशिष् दिनुपर्छ, होइन र?” भन्दै अन्धाधुन्ध काम गर्नुहुन्‍न। परमेश्‍वरले त्यसो गर्नुहुनेछैन। उहाँले केचाहिँ गर्नुहुनेछ? उहाँले तँलाई जाँच्नुहुनेछ। तैँले पश्‍चात्ताप गर्ने अभिप्राय राख्छस, तँ पश्‍चात्ताप गर्न चाहन्छस्, र यसप्रतिको तेरो चाहना पहिलेको भन्दा अलिक दह्रिलो छ, तर तैँले वास्तवमै पश्‍चात्ताप गर्नको लागि कति समय लाग्छ कसलाई के थाहा? यदि तैँले पश्‍चात्ताप गर्ने ठोस कदमहरू लिएको वा ठोस योजना बनाएको छैनस् भने, त्यो साँचो पश्‍चात्ताप होइन। तैँले यसलाई वास्तविक व्यवहारमा उतार्नुपर्छ। अनि तैँले यसलाई वास्तविक व्यवहारमा उतारेपछि परमेश्‍वरको काम आउनेछ। के परमेश्‍वरको कार्य र मानिसहरूप्रतिको उहाँको व्यवहारका सिद्धान्तहरू छन्? जब परमेश्‍वर काम गर्नुहुन्छ, तब मान्छेले अन्तर्दृष्टि पाउँछन्, तिनीहरूको आँखा चम्किलो हुन्छ, तिनीहरू सत्यता बुझ्न र यसको वास्तविकतामा प्रवेश गर्न सक्छन्, अनि तिनीहरूको प्राप्ति सयगुणा, हजारगुणाले बढ्छ। यो भइसकेपछि, तैँले साँच्‍चै आशिष् पाउँछस्। तसर्थ, मानिसहरूले यी कुरा प्राप्त गर्न कस्तो जग बसाल्नुपर्छ? (साँचो पश्‍चात्ताप गर्न सक्षम।) त्यो सही हो। जब मानिसहरूले आफ्नो हित र चाहनाहरू साँच्‍चै त्याग्छन्, जब तिनीहरू परमेश्‍वरसित साँचो पश्‍चात्ताप गर्छन्—मतलब तिनीहरूले बीचैमा दुष्कर्म गर्न छोड्छन्; आफ्नो दुष्टता, चाहना र अभिप्रायहरू त्याग्छन्; र परमेश्‍वरसामु पाप स्विकार्छन्; अनि परमेश्‍वरका मापदण्डहरू र उहाँका वचनहरू स्विकार्छन्—त्यसपछि तिनीहरू आफूलाई परिवर्तन गर्ने वास्तविकतामा प्रवेश गर्न थाल्छन्। यो मात्र साँचो पश्‍चात्ताप हो।

हामीले भर्खरै मान्छेले सत्यता पछ्याउने क्रममा बारम्बर फेला पार्ने समस्याहरू र सत्यता पछ्याउनेहरूले चिन्‍न र जान्‍न सक्‍ने समस्याहरूबारे सङ्गति गऱ्यौँ। समाधान गर्नुपर्ने समस्याहरू तिनै हुन्। हामीले विगतमा यी समस्याहरूलाई त्यति धेरै व्याख्या वा विश्‍लेषण गरेनौँ होला, ती समस्याबारे हामी कुनै स्पष्ट निष्कर्षमा पनि पुगेनौँ होला, तर सत्यता पछ्याउने प्रक्रियामा मानिसले अनुभव गर्ने हरेक चरण र यो प्रक्रियामा तिनीहरूसँग हुने फरक व्यवहार र स्थितिहरूको सन्दर्भमा परमेश्‍वरसँग मिल्दा वचन र कार्यहरू छन्, र उहाँसँग ती कुराहरू सम्हाल्ने र सुल्झाउने सान्दर्भिक तौरतरिका र पद्धति छन्। मानिसहरूले यी सबै कुरा अलिअलि अनुभव गर्न र बुझ्न सक्छन्; तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्नु हुँदैन, वा परमेश्‍वरबारे कुनै धारणा वा कल्पना पाल्नु हुँदैन जुन वास्तविकतासित मेल खाँदैन। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूलाई सत्यता पछ्याउने कार्यसित सम्बन्धित हरेक चरण, हरेक कार्यशैली र हरेक अभ्यास शैली छनौट गर्न प्रशस्त स्वतन्त्रता र प्रशस्त माध्यम प्रदान गर्नुहुन्छ—उहाँले मानिसहरूलाई बाध्य पार्नुहुन्‍न। अनि यी वचन र मापदण्डहरू स्पष्ट र सटीक भाषामा छापिएका र बोलिएका भए पनि, यी सत्यताहरूलाई कसरी लिने भनेर हरेक व्यक्तिले स्वतन्त्र रूपमा आफै निर्णय गर्ने कुरा हो। परमेश्‍वरले मानिसहरूलाई जबर्जस्ती गर्नुहुन्‍न। यदि तँ सत्यता पछ्याउन इच्छुक छस् भने, तैँले मुक्ति पाउने आशा छ। यदि तँ सत्यता पछ्याउन इच्छुक छैनस् भने, यदि तँ यी सत्यताहरूलाई बेवास्ता गर्दै ती केही होइनन् जस्तो गर्छस् भने, यदि तँ सत्यता पछ्याउने अभ्यासका यी तरिकाहरूमा पटक्‍कै चासो लिँदैनस् भने—त्यो पनि ठिकै छ। परमेश्‍वरले तँलाई जबर्जस्ती गर्नुहुनेछैन। यदि तँ परमेश्‍वरको लागि परिश्रम गर्न मात्र इच्छुक छस् भने, त्यो पनि ठिकै छ। जबसम्म तैँले सिद्धान्तहरू उल्लङ्घन गर्दैनस्, तबसम्म परमेश्‍वरको घरले तँलाई तेरो आफ्नै छनौट गर्न दिनेछ। मुक्ति प्राप्त गर्नुसित सत्यता पछ्याउनुको नछुट्टिने र घनिष्ठ सम्बन्ध भए पनि, सत्यता पछ्याउन रुचि नलिने, यसबारे सोचविचार नगर्ने वा यो काम गर्ने अभिप्राय नराख्‍ने, र यसबारे कुनै पनि योजना नबनाउने मानिसहरूको कमी छैन। त्यसो भए, के यी मानिसहरूलाई निन्दा गरिन्छ? ठ्याक्‍कै त्यस्तोचाहिँ गरिँदैन। यदि यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्छन् भने, तिनीहरूले त्यहाँ आफ्नो कर्तव्य निरन्तर निर्वाह गर्न सक्छन्। तैँले सत्यता नपछ्याएको कारण परमेश्‍वरको घरले तँलाई कर्तव्य निर्वाह गर्ने तेरो अधिकारदेखि वञ्‍चित गर्नेछैन। तर यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुलाई अहिले “परिश्रम गर्नु” भनेर वर्गीकरण गरिएको छ। “परिश्रम गर्नु” यसलाई व्याख्या गर्ने राम्रो तरिका हो, यो परमेश्‍वरको घरले प्रयोग गर्ने शब्द हो, तर वास्तवमा यसलाई “काम गर्नु” भनेर मात्रै पनि भन्‍न सकिन्छ। तिमीहरू कतिपयले यसो पनि भन्‍न सक्छौ, “काम गर्दा, ज्याला पाइन्छ।” हो, तैँले काम गरेर ज्याला पाउँछस्। त्यसो भए, तेरो ज्याला के हो? परमेश्‍वरले तँलाई दिनुभएका सबै अनुग्रहहरू—ती तेरा ज्याला हुन्। अनि सत्यता पछ्याउने सन्दर्भमा भन्‍नुपर्दा, तैँले जेसुकै गर्ने अभिप्राय राखे पनि, जेसुकै योजना बनाए पनि, वा जेसुकै गर्ने इच्छा गरे पनि, म अहिले नै तँलाई स्पष्टसित भन्‍न सक्छु कि तँ स्वतन्त्र छस्। तैँले सत्यता पछ्याउन सक्छस्, त्यो ठिकै छ; यदि तँ सत्यता पछ्याउँदैनस् भने, त्यो पनि ठिकै छ। तर मैले तिमीहरूलाई भन्‍ने अन्तिम कुरा के हो भने, व्यक्तिले सत्यता पछ्याएर मात्र मुक्ति पाउन सक्छ। यदि तिमीहरू सत्यता पछ्याउँदैनौ भने, मुक्ति पाउने तिमीहरूको आशा शून्य हुनेछ। मैले तिमीहरूलाई भन्‍नुपर्ने तथ्य त्यही हो। तिमीहरूलाई यो तथ्य बताइनुपर्छ, ताकि यो कुरा तिमीहरूको हृदयमा स्पष्ट, खुलस्त, सटीक र टड्कारोसित घुसोस्—ताकि मुक्तिको आशा कुन जगमा निर्मित छ भनेर तिमीहरूलाई हृदयमा स्पष्ट थाहा होस्। यदि तँ “मैले आफ्नो कर्तव्य निर्वाह गर्न मात्र सकेँ र मलाई परमेश्‍वरको घरबाट हटाइएन भने भइहाल्यो; मैले सत्यता पछ्याउनेजस्तो गाह्रो कष्ट उठाइरहनुपर्दैन” भन्‍ने सोच्दै परिश्रम गर्नमा मात्र सन्तुष्ट हुन्छस् भने, के तेरो यो दृष्टिकोण ठिक हुन्छ? तैँले अहिले पनि परमेश्‍वरमा विश्‍वास गरे पनि, वा कर्तव्य निर्वाह गरे पनि, के तँमा अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन सक्‍छु भन्‍ने आत्मविश्‍वास छ? जे भए पनि, सत्यता पछ्याउनु जीवनको ठूलो कुरा हो, यो विवाह गर्नु र बालबच्‍चा जन्माउनुभन्दा, छोराछोरी हुर्काउनुभन्दा, जीवन जिउनु र धनसम्पत्ति कमाउनुभन्दा धेरै महत्त्वपूर्ण छ। यो परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्दै भविष्यको पछि लाग्‍नुभन्दा पनि महत्त्वपूर्ण छ। यो सबै भनिएपछि र गरिएपछि, यो स्पष्ट हुन्छ कि सत्यता पछ्याउनु व्यक्तिको जीवन मार्गको सबैभन्दा उल्लेखनीय कुरा हो। यदि तिमीहरूले अझै सत्यता पछ्याउन रुचि राखेका छैनौ भने, कसैले पनि तिमीहरूबारे फैसला गरेर तिमीहरूले भविष्यमा सत्यता पछ्याउनेछैनौ भनेर भन्‍नेछैनन्। म पनि तिमीहरूबारे फैसला गरेर, यदि तिमीहरूले अहिले सत्यता पछ्याएनौ भने, भविष्यमा यो कहिल्यै गर्नेछैनौ भनेर भन्‍नेछैनँ। यहाँ भइरहेको कुरा त्यो होइन। त्यसमा यस्तो कुनै तार्किक सम्बन्ध छैन; यो तथ्य होइन। जे भए पनि, म के आशा गर्छु भने, निकट भविष्यमा, वा यही क्षणमा पनि, तिमीहरू सत्यता पछ्याउने मार्गमा अघि बढ्न सक्छौ, र सत्यता पछ्याउने मानिस बन्‍न अनि मुक्तिको आशा भएकाहरूमध्येका एक हुन सक्छौ।

सत्यता पछ्याउनुसित मुक्ति प्राप्त गर्नुको प्रत्यक्ष सम्बन्ध छ, त्यसैले सत्यता पछ्याउने कुरा सानो विषय होइन। यो आम विषय होला, तर यसले कैयौँ सत्यतालाई छुन्छ। वास्तवमा, यो विषय मानिसका सम्भाव्यता र नियतिसित घनिष्ठ रूपले सम्बन्धित छ, अनि हामीले यसबारे प्रायः सङ्गति गरिरहने भए पनि, मानिसहरू सत्यता पछ्याउने सम्बन्धमा आफूले बुझ्नुपर्ने विभिन्‍न सत्यता र समस्याहरूबारे अझै त्यति स्पष्ट छैनन्। बरु, तिनीहरू भ्रमित तरिकामा मानिसहरूले असल ठान्‍ने विभिन्‍न व्यवहार र तौरतरिका, साथै मानिसहरूले अपेक्षाकृत सक्रिय, उच्‍चता-उन्मुख र सकारात्मक ठान्‍ने सोच र दृष्टिकोणहरूलाई सत्यताको रूपमा लिन्छन् र पछ्याउँछन्। यो भयानक गल्ती हो। मानिसहरूले थुप्रै कुराहरूलाई असल, उचित र सही मान्छन्, तर साँच्‍चै भन्‍नुपर्दा, ती सत्यता होइनन्। तीमध्ये केहीचाहिँ बढीमा सत्यताअनुरूप होलान्, तर कसैले पनि ती सत्यता हुन् भनेर भन्‍न सक्दैन। धेरैजसो मानिसहरूमा सत्यता पछ्याउनेबारे अत्यन्तै गलत बुझाइ हुन्छ, र तिनीहरूले त्यसबारे कैयौँ त्रुटिपूर्ण बुझाइ र पूर्वाग्रह पालेका हुन्छन्। त्यसैकारण, हामीले यसबारे स्पष्टसित सङ्गति गरेर मानिसहरूलाई तिनीहरूले यसमा बुझ्नुपर्ने सत्यता र समाधान गर्नुपर्ने समस्या बुझाउनु आवश्यक छ। हामीले भर्खरै सङ्गति गरेको सत्यता पछ्याउनेसम्बन्धी निर्दिष्ट विषयवस्तुबारे के तिमीहरूले केही सोचेका छौ? के तिमीहरूसँग कुनै योजना वा अभिप्राय छ? अहिले हामीले हाम्रो सङ्गतिद्वारा सत्यता पछ्याउनु भनेको के हो भनेर थप निर्दिष्ट परिभाषा दिएका छौँ, त्यसैले धेरै मानिसहरू आफूले गर्ने गरेको र देखाउने गरेको कुरा, साथै आफूले भविष्यमा गर्न चाहेको कुराबारे अलिक अन्योल छन्। तिनीहरू व्याकुल छन्, र कतिले त आफूमा कुनै आशा नभएको र आफू हटाइने खतरामा रहेकोसमेत महसुस गर्छन्। यदि सत्यतालाई स्पष्टसित सङ्गति गरिएको हुँदा पनि मानिसहरूलाई जोसजाँगर चल्दैन भने, के तिनीहरूको स्थिति सही हुन्छ? के यो सामान्य अवस्था हो? (अहँ, यो सामान्य अवस्था होइन।) यदि तैँले पहिले सत्यता पछ्याएको थिइस् र यो सङ्गति सुनेर तँलाई त्यसको पुष्टि मिलेको भए, के तँलाई झनै स्फूर्ति आउँदैनथ्यो र? (आउँथ्यो।) त्यसो भए, मानिसहरू किन जोसजाँगरहीन बन्छन् त? त्यसरी जोसजाँगरहीन बन्‍नुको जड के हो? सत्यता जति पारदर्शी र स्पष्टसित सङ्गति गरियो, मानिसहरूमा उति नै धेरै मार्ग हुनुपर्छ—त्यसो भए, किन मानिसहरू आफूसित जति धेरै मार्ग भयो, उति नै धेरै जोसजाँगरहीन बन्छन्? के यहाँ समस्या छैन र? (समस्या छ।) के समस्या छ? (यदि कुनै व्यक्तिलाई सत्यता पछ्याउनु राम्रो हो भन्‍ने थाहा छ, तर ऊ सत्यता पछ्याउन चाहँदैन भने, त्यो उसले सत्यतालाई प्रेम नगर्ने भएर भएको हो।) मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् वा सत्यता पछ्याउने अभिप्राय राख्दैनन्—त्यसैले तिनीहरू जोसजाँगरहीन बन्छन्। अनि तिनीहरूको पहिलेका कार्यहरूबारे के भन्‍न सकिन्छ? (ती कार्यहरूलाई निन्दा गरिन्छ) “निन्दा” त्यति उचित शब्द होइन—साँच्‍चै भन्‍नुपर्दा, तिनीहरूको पहिलेका कार्यहरूलाई मान्यता दिइएको हुँदैन। कसैका कार्यहरूलाई मान्यता नदिइनु, त्यो कस्तो परिणाम हो? कसैका कार्यहरूलाई मान्यता नदिइँदा के हुन्छ? यसको अर्थ के हो? त्यो सरल छ—यदि व्यक्तिका कार्यहरूलाई मान्यता दिइएन भने, यसले ऊ सत्यता पछ्याइरहेको छैन, बरु मान्छेलाई सही र असल लाग्‍ने कुराहरू पछ्याइरहेको छ, अनि ऊ अझै आफ्नो धारणा र कल्पनाअनुसार जिउँछ भनेर देखाउँछ। के यस्तै भइरहेको छैन र? (हो त।) त्यस्तै भइरहेको छ। परमेश्‍वरले मानिसहरूका कार्यहरूलाई मान्यता नदिनुहुँदा, तिनीहरू खिन्‍न हुन्छन्। यस्तो बेला के तिनीहरूमा अभ्यासको कुनै सकारात्मक र सही मार्ग हुँदैन? के आफ्ना कार्यहरूलाई मान्यता दिइएन भन्दैमा, व्यक्ति नकारात्मक बन्‍नु, आफ्नो कर्तव्य त्याग्‍नु, र आशा मारेर लत्तो छोड्नु सही हुन्छ? के त्यो अभ्यासको सही मार्ग हो? (होइन।) यो अभ्यासको सही मार्ग होइन। जब व्यक्तिमाथि यस्तो कुनै कुरा आइपर्छ, र उसले आफ्ना समस्याहरू पत्ता लगाउँछ, तब उसले आफ्नो मार्ग तुरुन्तै बदल्नुपर्छ। यदि तैँले सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारे अनि तेरो पहिलेका कार्य र व्यवहारसित सत्यता पछ्याउनुको कुनै सम्बन्ध छैन भन्‍नेबारे हाम्रो सङ्गतिमार्फत पत्ता लगाइस् भने, यसले तँलाई खिन्‍न बनाए पनि नबनाए पनि, तैँले सर्वप्रथम अभ्यासको आफ्नो पुरानो, गलत तरिका र पद्धति, साथै तेरो पछ्याइको गलत मार्ग बदल्नुपर्छ। तैँले ती कुरा तुरुन्तै बदल्नुपर्छ। परमेश्‍वरले तिनीहरूको पहिलेका कार्यहरूलाई बेवास्ता गर्नुहुँदा र मान्यता नदिनुहुँदा, उहाँले यी कार्यहरू परिश्रम मात्रै हुन् र ती कुरासित सत्यता पछ्याउनुको कुनै सम्बन्ध छैन भनेर भन्‍नुहुँदा, कतिपय मानिसले यस्तो सोच्नेछन्, “ओह, हामी मानिसहरू वास्तवमा मूर्ख र अन्धो रहेछौँ। हामी सत्यता बुझ्दैनौँ र परिस्थितिहरूको वास्तविकता देख्‍न सक्दैनौँ—अनि यत्तिका समय हामीले सत्यता अभ्यास गरिरहेका, सत्यता पछ्याइरहेका, र परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छौँ भनेर विश्‍वास गऱ्यौँ। हामीले आफ्नो तथाकथित ‘सत्यता पछ्याइ’ मा गरेका कामकुरा त असल मानव व्यवहार मात्र रहेछन् भन्‍ने अहिले मात्र हामीलाई थाहा भयो—ती त मानिसहरूले आफ्नो देहका विभिन्‍न नैसर्गिक योग्यता, क्षमता, र प्रतिभाको आधारमा गर्ने कुरा मात्र थिए। ती कुरा त सत्यता पछ्याउनुका सार, परिभाषा र मापदण्डहरूभन्दा एकदमै फरक रहेछन्; ती कुराको यससँग कुनै सम्बन्ध छँदै छैन रहेछ। अब हामीले यसबारे के गर्नुपर्छ?” यो ठूलो समस्या हो, र यसलाई समाधान गर्नुपर्छ। यसलाई समाधान गर्ने तरिका के हो? यहाँ प्रश्‍न उठेको छ: पहिले मानिसहरूले असल ठानेको व्यवहार र तौरतरिकालाई एकनाससित बेवास्ता गरी पन्छाइएको छ, अनि परमेश्‍वरले ती कुरा सम्झनुहुन्‍न, न त उहाँले ती सत्यता पछ्याउने कार्य हुन् भनेर नै भन्‍नुभएको छ—त्यसो भए, सत्यता पछ्याउनु भनेको के हो? यसको जवाफ पाउन, व्यक्तिले सत्यता पछ्याउनुको परिभाषा होसियारीपूर्वक प्रार्थना गर्दै पढ्नुपर्छ, र त्यो परिभाषाबाट अभ्यास गर्ने मार्ग खोज्‍नुपर्छ, अनि यसलाई आफ्नो जीवनको वास्तविकतामा परिणत गर्नुपर्छ। मानिसहरूले विगतमा सत्यता पछ्याउने कार्यलाई अभ्यास गरेनन्, त्यसैले अबदेखि तिनीहरूले सत्यता पछ्याउनुको परिभाषालाई आफ्नो आधारको रूपमा, र आफ्नो व्यवहारको जगको रूपमा लिनुपर्छ। त्यसो भए, सत्यता पछ्याउनुको परिभाषा के हो? यसको परिभाषा हो: परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु। यसलाई योभन्दा स्पष्टसँग परिभाषित गर्न सकिँदैन। मानिसका पहिलेका सबै कार्य र व्यवहारचाहिँ के थिए त? के ती परमेश्‍वरका वचनहरूअनुरूप, तिनीहरूको मापदण्डअनुरूप थिए? फर्केर सोच त—त्यस्तो थिए? (थिएनन्।) यो भन्‍न सकिन्छ कि यस्ता कार्य र व्यवहार आक्‍कलझुक्‍कल भेट्टिन्छन्, तर ती प्रायः कहीँ पनि भेट्टाइँदैनन्। तसर्थ, के मानिसले यत्तिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर, उहाँका वचनहरू पढेर र सङ्गति गरेर साँच्‍चै केही पनि पटक्‍कै पाएको छैन त? के मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार एउटै कुरा पनि अभ्यास गरेका छैनन्? हामीले यहाँ बताएको परिभाषा “परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु” कुन कुराप्रति लक्षित छ? यो कुन समस्या हल गर्नको लागि हो? यो मानिसका कुन समस्या अनि मानिसको स्वभावको सारका कुन पक्षहरूप्रति लक्षित छ? अहिले मानिसहरूले सत्यता पछ्याउनुको परिभाषा बुझ्छन् होला, तर तिनीहरूका पहिलेका कार्यहरूलाई किन मान्यता दिइएन र ती सत्यता पछ्याउने कार्य होइनन् भनेर किन भनियो भन्‍ने कुरा आउँदा, तिनीहरूलाई यो कुरा अस्पष्ट, अबोधगम्य र धमिलो लाग्छ। कतिपयले भन्‍नेछन्, “हामीले परमेश्‍वरको नाम ग्रहण गरेदेखि नै धेरै कुरा त्यागेका छौँ: हामीले आफ्नो परिवार र जागिर त्यागेका छौँ, अनि हामीले आफ्ना सम्भाव्यताहरू त्यागेका छौँ। हामीमध्ये कतिपयले आफ्नो राम्रो जागिरबाट राजीनामा दिए; हामीमध्ये कतिको त धेरै पैसा आउने र असीमित सम्भाव्यता भएको राम्रो करियर थियो, ती सबै त्याग गरियो। हामीले यी सब त्याग गरेका छौँ। हामीले परमेश्‍वरमा विश्‍वास गरेदखि नै नम्र, धैर्यशील, र सहनशील हुन सिकेका छौँ। हामी अरूसँग अन्तरक्रिया गर्दा विवाद गर्दैनौँ, हामी मण्डलीमा आइपर्ने कुनै पनि मामिला सम्हाल्न सक्दो जोड गर्छौँ, अनि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कठिनाइ आइपर्दा प्रेमपूर्वक सहयोग गर्न सक्दो कोसिस गर्छौँ। हामी अरूलाई हानि गर्ने कार्यदेखि टाढै बस्छौँ र अरूको हितमा हानि पुऱ्याउनदेखि पनि हामी सक्दो टाढै बस्छौँ। के सत्यता पछ्याउनुसित यी तौरतरिकाको साँच्‍चै कुनै सम्बन्ध छैन?” अब, होसियारीपूर्वक सोच्: मानिसको त्याग, समर्पण, परिश्रम, सहनशीलता, धैर्य, र कष्टसमेत—यी कुरा केसँग सम्बन्धित छन्? यी कुरा कसरी हासिल गरिन्छ? यी कुरा केमा आधारित छन्? कुन प्रेरणादायी शक्तिले गर्दा मानिसहरू यी कुरा गर्न लागिपर्छन्? यसबारे मनन गर्। के यी गहन रूपमा सोच्नुपर्ने कुरा होइनन् र? (हुन्।) अब, यी कुराहरू गहन रूपमा सोच्नुपर्ने भएकोले, आजै यसबारे खोजी र अनुसन्धान गरौँ; मानिसहरूले सधैँ असल, सही र श्रेष्ठ ठान्‍ने गरेका यी कुराहरूसित सत्यता पछ्याउनुको कुनै सम्बन्ध छ कि छैन, हेरौँ।

हामी मानिसको त्याग, परिश्रम र मानिसले चुकाउने मूल्यलाई हेर्दै सुरु गर्नेछौँ। यी त्याग, परिश्रम र मूल्यहरूको प्रसङ्ग वा परिवेश जे भए पनि, यी कुराहरूको निम्ति मुख्य प्रेरणादायी शक्ति कहाँबाट आउँछ? मैले सारांशमा भन्‍नुपर्दा, यसका दुईवटा स्रोत छन्। पहिलो हो, मानिसहरूले आफ्नो विचार र धारणाहरूमा यस्तो सोच्‍नुः “यदि परमेश्‍वरमा विश्‍वास गर्ने हो भने, त्याग गर्नुपर्छ, र समर्पित हुनुपर्छ, अनि उहाँको लागि मूल्य चुकाउनुपर्छ। परमेश्‍वरलाई मानिसहरूले त्यस्तो गरेको मन पर्छ। मानिसहरू ऐसआराममा लिप्त भएको र सांसारिक कुरा पछ्याएको, वा दाबीचाहिँ उहाँको नाम स्विकारेँ, उहाँको अनुयायी बनेँ भनेर गर्ने तर त्यसपछि उदासीन भएर निरन्तर आफ्नै जीवन निरन्तर जिउने गरेको उहाँलाई मन पर्दैन। मानिसहरूले त्यस्तो गरेको परमेश्‍वरलाई मन पर्दैन।” मानिसहरूको व्यक्तिपरक इच्छाको सन्दर्भमा, यो सोच आउनु निश्‍चित छ। कसैले परमेश्‍वर र उहाँको नयाँ काम स्विकार्नुको कारण जेसुकै भए पनि, उसको व्यक्तिपरक इच्छा यसरी नै काम गर्न राजी हुनेछ, किनकि उसलाई मानिसहरूले त्यसरी काम गरेको परमेश्‍वरलाई मन पर्छ र तिनीहरूले यसरी काम गरेर मात्र परमेश्‍वरबाट खुसी र सन्तुष्टि प्राप्त गर्नेछन् भन्‍ने विश्‍वास हुन्छ। यस्ता व्यक्तिले सोच्छन् कि जबसम्म मानिसहरूले लगनशील भई संघर्ष र प्रयास गर्छन्, जबसम्म कुनै प्रतिफल नमागी परिश्रम गर्छन्, जबसम्म मानिसहरूले मूल्य चुकाउन आफ्नो हित वा दुःखलाई बेवास्ता गर्दै परिश्रम गर्छन् र मूल्य चुकाउँछन्, र निरन्तर परमेश्‍वरमा आफूलाई समर्पित र अर्पित गरिरहन्छन्, तबसम्म परमेश्‍वर अवश्यै खुसी हुनुहुनेछ। अनि त्यसैले, जब कुनै व्यक्तिले यस्तो विश्‍वास गर्छ, तब उसले आँखा चिम्लेर आफ्नो शिर झुकाउँछ, र अरू सबै कुराको बाबजुद, उसले त्याग्‍न सक्‍नेजति सबै कुरा त्याग्छ, अर्पण गर्न सक्‍नेजति सबै कुरा अर्पण गर्छ, र सहन सक्‍नेजति जुनुसुकै कुरा पनि सहन्छ। मानिसहरूले यी पद्धतिहरू त पालन गर्छन्, तर के तिनीहरूमध्ये कसैले पनि शिर ठाडो गरेर परमश्‍वरलाई यसरी सोधेको छ, “हे परमेश्‍वर, मैले जे गरिरहेको छु, के त्यो तपाईंलाई चाहिने कुरा हो? हे परमेश्‍वर, के तपाईं मेरो समर्पण, मेरो परिश्रम, मेरो कष्ट, र मैले चुकाएका मूल्यहरूलाई मान्यता दिनुहुन्छ?” मानिसहरू परमेश्‍वरलाई यो कुरा कहिल्यै सोध्दैनन्, अनि परमेश्‍वरको प्रतिक्रिया के हुन्छ वा उहाँको मनोवृत्ति कस्तो छ भनेर थाहा नभई, तिनीहरू निरन्तर आशा साँच्दै परिश्रम गर्छन्, आफूलाई अर्पित र समर्पित गर्छन्, र यसरी तिनीहरू कष्ट भोगियो भने मात्र परमेश्‍वर खुसी र सन्तुष्ट हुनुहुनेछ भनेर विश्‍वास गर्छन्। कतिपय मानिसहरू त हदै पार गर्दै बासमती चामल खान छोड्छ्न, त्यो खाए परमेश्‍वर खुसी हुनुहुनेछैन भनेर डराउँछन्। तिनीहरू बासमती चामल खानु ऐसआराममा लिप्त हुनु हो भनेर विश्‍वास गर्दै, बरु सुक्खा रोटी खान्छन्। तिनीहरूलाई सुक्खा रोटी, ढिँडो र गुन्द्रुकको झोल खाँदा मात्र ढुक्‍क लाग्छ, अनि आफूलाई ढुक्‍क लागेपछि तिनीहरूले परमेश्‍वर अवश्य सन्तुष्ट भएको हुनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले गलत रूपमा आफ्नो भावना, आनन्द, दुःख, क्रोध र खुसीलाई परमेश्‍वरको भावना, आनन्द, दुःख, क्रोध, र खुसी ठान्छन्। के त्यो हास्यास्पद कुरा होइन र? धेरै मानिसहरू मानिसले सही मान्‍ने कुराहरूलाई नै सत्यता ठान्छन्, र ती कुरा मानिसको लागि परमेश्‍वरका मापदण्डहरू हुन् भन्दै परमेश्‍वरमाथि नै ती कुरा लादिदिन्छन्, किनभने सबै मानिसहरूले विश्‍वास गर्ने कुरा नै त्यही हो। अनि जबसम्म मानिसहरूले यस्तो विश्‍वास राख्छन्, तबसम्म ती भनाइ, व्यवहार र पद्धतिहरूलाई तिनीहरूले थाहै नपाई सत्यता ठान्‍नु एकदमै सम्भव छ र त्यो स्वभाविक पनि हो। अनि मानिसहरूले ती कुरा सत्यता हुन् भनेर निर्धारित गरिसकेपछि, ती कुरा पक्‍कै पनि मानिसले पालन गर्नुपर्ने अभ्यासका सिद्धान्तहरू हुनुपर्छ भनी सोच्नेछन्, अनि यदि कुनै व्यक्तिले यसरी ती कुरा अभ्यास र पालना गर्छन् भने, उसले परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेको, सत्यता पछ्याइरहेको, र अवश्यै, उहाँको इच्छा पुरा गरिरहेको हुन्छ। अनि मानिसहरूले “परमेश्‍वरको इच्छा पुरा गरिरहेको” हुनाले के तिनीहरूको कठिनाइ सार्थक छैन र? के तिनीहरूले यो मूल्य सही तरिकामा चुकाइरहेका छैनन् र? के यो परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने र परमेश्‍वरले सम्झनुहुने कुरा होइन र? अवश्य त्यही हो भनेर मानिसहरू सोच्छन्। मानिसले “सत्यता” भनेर विश्‍वास गर्ने कुरा र परमेश्‍वरका वचनहरूबीचको दूरी र भिन्‍नता यही हो। मानिसहरूले एकनाससित आफ्नो धारणा र कल्पनाअनुसार मानव नैतिक चरित्रअनुरूपका, अनि असल, श्रेष्ठ र सही लाग्‍ने सबै कुरालाई सत्यता मान्छन्, र त्यसपछि तिनीहरू त्यही दिशामा कार्य र अभ्यास गर्ने प्रयास गर्छन्, र आफैलाई कडा मापदण्ड दिन्छन्। तिनीहरूलाई त्यसरी आफूले सत्यता पछ्याइरहेको छु, आफू सत्यता पछ्याउने व्यक्तिबाहेक अरू कोही होइन, र आफू अवश्य नै मुक्ति पाउन सक्‍ने व्यक्ति पनि हुँ भन्‍ने विश्‍वास लाग्छ। तर तथ्य के हो भने, मानिसहरूले आफ्नो धारणामा असल, सही र सकारात्मक ठान्‍ने ती कुराहरूसँग परमेश्‍वरको वचन र सत्यताको कुनै सम्बन्ध छैन। तर मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा र हातमा लिँदा, तिनीहरूले—आफ्नो धारणामा—असल, सही, सुन्दर, दयालु, सकारात्मक ठानेका, अनि मानिसले सत्यता भनेर वकालत गरेका सबै कुरालाई सत्यता र सकारात्मक कुरा ठान्छन्, र तिनीहरूले ती कुरालाई नै अथक रूपमा पछ्याउँछन्, र ती कुराहरू पछ्याउनै र प्राप्त गर्नैपर्छ भन्‍ने मापदण्ड आफूमाथि मात्र होइन अरूमाथि समेत थोपर्छन्। गलत तर अथक रूपमा मानिसहरूले मानिसले नै असल ठान्‍ने कुराहरूलाई सत्यता मान्छन्, र त्यसपछि ती कुराले माग गर्ने मापदण्ड र निर्देशनअनुसार ती कुराकै पछि लाग्छन्, र यसरी आफूले सत्यता पहिल्यैदेखि पछ्याइरहेको छु र आफू सत्यताको वास्तविकताअनुसार जिइरहेको छु भन्‍ने सोच्छन्। यो त सत्यता पछ्याउनेबारे मानिसहरूमा रहेको गलतबुझाइको एउटा पक्ष हो। यो गलत बुझाइ हो, मानिसहरूले—आफ्ना धारणाहरूमा—आफूले विश्‍वास गर्ने कुरालाई नै आफ्नो मापदण्डको रूपमा असल, सही, र सकारात्मक कुरा ठान्दै मानिसप्रतिका पररमेश्‍वरका मापदण्डहरू, अनि उहाँका वचनहरूका माग र स्तरहरूलाई प्रतिस्थापित गर्छन्। मानिसहरूले आफ्ना धारणामा सही र असल भनी विश्‍वास लागेका यी कुरालाई नै गलत रूपमा सत्यता ठान्छन्, र त्यति मात्र होइन—तिनीहरूले यी कुरा नै पालन गर्छन् र पछ्याउँछन्। के यो समस्या होइन र? (हो।) यो मानिसको सोचाइ र दृष्टिकोणको समस्या हो। मानिसहरू यी कुरा गर्दा, केले उत्प्रेरित भएका हुन्छन्? तिनीहरूलाई यी विचार र गलतबुझाइ राख्‍न लगाउने मूल कारण के हो? त्यो मूल कारण हो मानिसहरूले परमेश्‍वर यी कुरा मन पराउनुहुन्छ भनेर विश्‍वास गर्नु, र त्यसरी तिनीहरूले यी कुरा उहाँमाथि लाद्नु। उदाहरणको लागि, पारम्परिक संस्कृतिले मानिसहरूलाई लगनशील र मितव्ययी हुनू भन्छ; लगनशीलता र मितव्यीता मानव सद्‌गुण हुन्। यसै गरी “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” र “मालिकले भनेजस्तो गर्नू, नत्र हड्डी घोटे पनि केही पाइन्‍न,” र अन्य यस्तै विचारहरू पनि सद्‍गुणहरू नै हुन्। हरेक जाति र समूहमा, मानिसहरू आफूले असल, सही, सकारात्मक, सक्रिय र उच्‍चता-उन्मुख ठानेका सबै कुरा सत्यता हुन् भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरूले यी कुरालाई नै सत्यताको रूपमा व्यवहार गर्दै परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यतालाई प्रतिस्थापित गरिदिन्छन्। तिनीहरूले गलत रूपमा मानिसले दृढ विश्‍वास गर्ने शैतानका कुराहरूलाई सत्यता र परमेश्‍वरका मापदण्डहरूको स्तर ठान्छन्। तिनीहरू आफूले कल्पना गर्ने र सही ठान्‍ने आदर्श, दिशा र उद्देश्य पछ्याउँछन्। यो ठूलो गल्ती हो। मानिसको धारणा र कल्पनाबाट निस्कने यी कुराहरू परमेश्‍वरको वचनअनुरूप पटक्‍कै हुँदैनन्, र यी पूर्णतया सत्यताविपरीत हुन्छन्।

म मानिसहरूले आफ्नो धारणामा असल र सही ठान्‍ने कुरालाई गलत रूपमा सत्यता मानेको केही उदाहरण दिनेछु, ताकि यो विचार अत्यन्तै अमूर्त नहोस्, र ताकि तिमीहरू यसलाई बुझ्न सक्षम होऊ। उदाहरणको लागि: कतिपय महिलाहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि सिङ्गारपटार गर्न र गरगहना लगाउन छोड्छन्। तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूले राम्रो आचरण देखाउनुपर्छ र आफूलाई सिङ्गारपटार गर्नु वा झकिझकाउ पार्नु हुँदैन भन्‍ने सोच्दै आफ्नो श्रृङ्गार सामग्री र गरगहनालाई पर पन्छाउँछन्। कतिपय मानिसको गाडी हुन्छ तर त्यो कुदाउँदैनन्, बरु तिनीहरू साइकल चढ्छन्। तिनीहरू गाडी कुदाउनु ऐसआराममा लिप्त हुनु हो भन्ठान्छन्। कतिपय मानिसहरूमा मासु खाने ल्यागत हुन्छ, तर तिनीहरू मासु खाँदैनन्, किनभने तिनीहरूले सधैँ मासु खाएमा, कुनै बेला मासु खानै नपाउने परिस्थिति आइपऱ्यो भने, नकारात्मक र कमजोर भई, तिनीहरूले परमेश्‍वरलाई धोका दिन सक्छन् भन्‍ने सोच्छन्। तसर्थ, तिनीहरू पहिले नै त्यो नहुँदाको कष्ट भोग्‍न सिक्छन्। अरूले चाहिँ, परमेश्‍वरको विश्‍वासी भएपछि राम्रो चालचलन देखाउनुपर्छ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूले आफ्ना त्रुटिहरू र खराब आनीबानीको लेखाजोखा गर्छन्, अनि आफ्नो बोल्ने शैली बदल्न कडा परिश्रम गर्छन्, तिनीहरूले आफ्नो रिस रोक्छन् र आफू सुध्रिन र अशिष्ट नबन्‍न सक्दो गर्छन्। तिनीहरू के सोच्छन् भने व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरिसकेपछि, उसले आफूलाई नियन्त्रित र संयमित पार्नुपर्छ, र अरूको दृष्टिमा असल व्यक्ति र शिष्ट बन्‍नुपर्छ। यसो गर्दा आफूले मूल्य चुकाइरहेको, परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको र सत्यता अभ्यास गरिरहेको हुन्छ भनेर तिनीहरू सोच्छन्। कतिपय मानिसहरू कहिलेकाहीँ झकिझकाउ भएर किनमेल गर्न जान्छन्, र आफूले त्यसो गरेकोमा दोषी महसुस गर्छन्। तिनीहरूलाई लाग्छ कि अब तिनीहरू परमेश्‍वरको विश्‍वासी बनिसकेको हुनाले, सिङगारपटार गर्नु र झकिझकाउ बन्‍नु हुँदैन, अनि राम्रा लुगाफाटाहरू लगाउनु हुँदैन। सिङगारपटार गर्ने, झकिझकाउ हुने र राम्रा लुगाफाटा लगाउने गरियो भने, परमेश्‍वरले त्यस्तो कार्यलाई घिनाउनुहुनेछ, मन पराउनुहुनेछैन भन्‍ने विश्‍वास तिनीहरू गर्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले आदिम मानवजातिलाई मन पराउनुहुन्छ, तर उहाँलाई उद्योगधन्दा वा आधुनिक विज्ञान वा कुनै पनि प्रचलन मन पर्दैन। तिनीहरूले यी कुराहरू पछ्याउन छोडे मात्र आफूले सत्यता पछ्याइरहेको हुन्छ भन्‍ने सोच्छन्। के यो बाङ्गो बुझाइ होइन र? (हो नि।) के यी मानिसहरूले परमेश्‍वरका वचनहरू होसियारीपूर्वक पढेका छन्? के तिनीहरूले उहाँका वचनहरूलाई सत्यताको रूपमा लिएका छन्? (छैनन्।) अनि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा नलिएको हुनाले, के तिनीहरूले सत्यता पछ्याइरहेका छन् त? (छैनन्।) त्यसैले, यी पद्धति र प्रकटीकरणहरू मानिसहरूले आफ्नो धारणामा सही र असल ठान्‍ने कुराहरूलाई गलत रूपमा सत्यता मान्‍नु र ती कुराले सत्यतालाई प्रतिस्थापित गर्नु मात्रै हो। तिनीहरूले आशावादी भएर यी कुरा अभ्यास गर्छन्, र त्यसपछि आफूले सत्यता पछ्याइरहेको छु, र आफू सत्यताको वास्तविकता भएको मानिस हुँ भन्ठान्छन्। उदाहरणको लागि, परमेश्‍वरमा विश्‍वास गरेदेखि टेलिभिजन कार्यक्रम, वा समाचार नहर्ने, वा किनमेल गर्नसमेत नजाने मानिसहरू छन्। तिनीहरू कैयौँ रात परालको थाकमा सुतेका छन् र कैयौँ दिन कुकुरको खोरछेउमा बिताएका छन् किनभने तिनीहरूले सुसमाचार सुनाइरहेका र आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। चिसो खानेकुरा खाएकोले तिनीहरूलाई धेरैपटक पेट दुखेको छ, निद्रा नपुगेको र भरपेट नखाएको कारण तिनीहरूको वजन धेरै घटेको छ र तिनीहरूले धेरै कष्ट भोगेका छन्। तिनीहरूलाई यी सबै कुराहरू राम्ररी थाहा छ, र तिनीहरू एक-एक गरी हिसाब लगाउँछन्। किन तिनीहरू यी कुराको यस्तो स्पष्ट विवरण राख्छन्? कारण के हो भने, तिनीहरू यी व्यवहार र तौरतरिका सत्यता अभ्यास गर्नु र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु हो, अनि आफूले यी सबै असल व्यवहार हासिल गरे, परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ भन्‍ने विश्‍वास गर्छन्। त्यसैले, मानिसहरू गुनासो गर्दैनन्, र तिनीहरू नहिच्किचाई यी कुराहरू अभ्यास गर्छन्। तिनीहरू तीबारे कुरा गर्न, ती दोहोर्‍याउन र ती सम्झन कहिल्यै थाक्दैनन्, र यसरी तिनीहरूको हृदय एकदमै सन्तुष्ट हुन्छ। तर तिनीहरूमाथि परमेश्‍वरबाट परीक्षा आउँदा, उहाँले मिलाउनुहुने परिस्थिति तिनीहरूले चाहेजस्तो नहुँदा, तिनीहरूप्रति उहाँको मापदण्ड र उहाँको कार्य तिनीहरूको धारणाअनुरूप नहुँदा, यी मानिसहरूले सही ठान्‍ने कुराहरूका साथै तिनीहरूले चुकाउने मूल्य र तिनीहरूका अभ्यासहरू केही काम लाग्‍नेछैनन्। यी कुराहरूले तिनीहरूलाई आफूले सामना गर्ने परिस्थितिहरूमा परमेश्‍वरप्रति समर्पित हुन वा उहाँलाई चिन्‍न अलिकति पनि मदत गर्नेछैनन्। यसको विपरीत, तिनीहरूका लागि ती कुरा परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने र परमेश्‍वरप्रति समर्पित हुने कार्यमा ठेस लाग्‍ने ढुङ्गा र बाधा बन्‍नेछन्। यसको कारण के हो भने मानिसहरूले आफूले सही मान्‍ने कुराहरू आधारभूत रूपमा सत्यता होइनन्, र तिनीहरूले अभ्यास गर्ने कुरा सत्यता पछ्याउनु होइन भनेर कहिल्यै जानेका छैनन्। त्यसो भए, मानिसहरूले यी कुराबाट के प्राप्त गर्छन्? केवल एक प्रकारको असल व्यवहार प्राप्त गर्छन्। मानिसहरूले ती कुराबाट सत्यता र जीवन प्राप्त गर्नेछैनन्। तर तिनीहरूले गलत रूपमा यी असल व्यवहारलाई सत्यताको वास्तविकता ठान्छन्, र तिनीहरू आफ्नो धारणामा सही लाग्‍ने कुराहरू सत्यता र सकारात्मक कुरा हुन् भनेर झनै दृढ सङ्कल्पित हुन्छन्, र फलस्वरूप, त्यो सङ्कल्पले तिनीहरूको हृदयमा जरा गाड्छ। आफूले आफ्नो धारणामा सत्यता ठानेका यी कुराहरूलाई मानिसहरूले जति धेरै पूजा र अन्धाधुन्ध विश्‍वास गर्छन्, उति नै धेरै तिनीहरूले सत्यतालाई इन्कार गर्छन्, र उति नै धेरै तिनीहरू परमेश्‍वरका मापदण्डहरू र उहाँका वचनहरूबाट टाढिन्छन्। त्यसको साथै, मानिसहरूले जति धेरै मूल्य चुकाउँछन्, तिनीहरूलाई उति नै धेरै आफूले पूँजी प्राप्त गरेझैँ लाग्छ, अनि उति नै धेरै आफू मुक्ति पाउन र परमेश्‍वरको प्रतिज्ञा हासिल गर्न योग्य भएको विश्‍वास हुन्छ। के यो दुष्चक्र होइन र? (हो त।) यो समस्याको जड के हो? मुख्य दोषी के हो? (मानिसहरूले आफ्नो धारणालाई गलत रूपमा सकारात्मक कुरा ठान्‍नु र ती धारणाद्वारा परमेश्‍वरका वचनहरू प्रतिस्थापित गर्नु।) मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना धारणाहरूद्वारा प्रतिस्थापित गर्छन्, परमेश्‍वरका वचनहरूलाई पर पन्छाउँछन्, र मूलतः ती वचनहरूलाई पुरै बेवास्ता गर्छन्। अर्को शब्दमा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दै मान्दैनन्। के भन्‍न सकिन्छ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि उहाँका वचनहरू पढ्न त पढ्लान्, तर तिनीहरूले पछ्याउने, रोज्‍ने र अभ्यास गर्ने कुरा अझै पनि मानिसकै धारणा र कल्पनामा आधारित हुन्छ, अनि तिनीहरू उहाँका वचन र मापदण्डअनुसार विश्‍वासको मार्गमा हिँडेका हुँदैनन्। खास गरी मानिसहरूले आफ्नो धारणा र कल्पनाको आधारमा परमेश्‍वरलाई विश्‍वास गर्ने समस्या कहाँबाट पैदा हुन्छ? मानिसको धारणा र कल्पना कहाँबाट उत्पन्‍न हुन्छ? ती कहाँबाट आउँछन्? ती मुख्यतः पारम्परिक संस्कृति, मानिसको विरासत, साथै धार्मिक संसारको शिक्षा र प्रभावबाट आउँछन् भनेर भन्‍न सकिन्छ। मानिसका धारणा र कल्पनाहरू ती कुरासँग सिधै सम्बन्धित हुन्छन्।

मानिसहरूले आफ्नो सोच र दृष्टिकोणमा अरू कुन कुराहरूलाई असल, सही र सकारात्मक ठान्छन्? तैँले उदाहरणको रूपमा केही कुराको नाम लिन सक्छस्। मानिसहरू प्रायः भन्छन्, “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ,” र “सोझा मानिसहरू सधैँ सफल हुन्छन्,”—यी केही हुन्, होइन र? (हो।) अनि अरू पनि छन्: “भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता; आज भएन भने, भोलि त पक्‍कै हुन्छ,” “दुष्टतामा लागिरहँदा आफ्नै विनाश हुन्छ,” “मर्नुभन्दा बौलाउनु निको,” “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ,” “किताबको अघि सबै कुरा फिका हुन्छ,” आदि इत्यादि। यी सब घृणित बकवास हुन्। यस्ता भनाइहरू सुन्दा मलाई झोँक चल्छ, तैपनि मानिसहरूले अति सजिलै यी कुरा भन्‍ने गर्छन्। किन तिनीहरूले यति सजिलै यी कुरा भन्‍न सक्छन्? किन मैले चाहिँ यी कुरा भन्‍न नसकेको होला? मलाई यी शब्दहरू, यी भनाइहरू मन पर्दैन। तिमीहरूले ती कुरा तयारी अवस्थामा राखेका हुन्छौ, ती कुरा तिमीहरूको जिब्रोबाट फुत्त निस्किहाल्छन्, र तिमीहरूले ती कन्ठाग्र गरेर अति राम्रोसँग भन्‍न सक्‍छौ, अनि यो तथ्यले तिमीहरू ती कुराको विशेष प्रशंसा र पूजा गर्छौ भन्‍ने प्रमाणित हुन्छ। तिमीहरू यी खोक्रा, भ्रमित, अवास्तविक कुराहरूलाई पूजा गर्छौ, र साथमा ती कुरालाई आफ्नो आदर्श-वाक्य र आफ्ना कार्यहरूको सिद्धान्त, मापदण्ड र आधारको रूपमा लिन्छौ। त्यसपछि, तिमीहरू परमेश्‍वरले पनि यी कुराहरूलाई नै विश्‍वास गर्नुहुन्छ, उहाँका वचनहरू यिनै विचारहरूको फरक शैली मात्र हुन्, र यी कुरा उहाँका वचनहरूको सामान्य अर्थ अर्थात् मानिसहरू असल बन्‍नुपर्छ भन्‍ने आह्वान हुन् भनेरसमेत सोच्छौ। के यो दृष्टिकोण सही हो? के यी कुरा उहाँका वचनहरूको अर्थ र उहाँले व्यक्त गर्नुहुने सत्यता हुन्? बिलकुलै होइनन्; परमेश्‍वरले भन्‍न खोज्नुभएका कुराहरूसित यी कुराको कुनै सम्बन्ध छैन। तसर्थ, सत्यताप्रतिको मानिसहरूको मनोवृत्ति परिवर्तन गर्नुपर्छ, र सत्यताप्रतिको तिनीहरूको मान्यता सच्याउनुपर्छ—यसको अर्थ तिनीहरूले सत्यतालाई जुन मापदण्डअनुसारको स्थान दिन्छन् त्यो मापदण्ड सच्याउनु र परिवर्तन गर्नुपर्छ। नत्र, तिनीहरूलाई सत्यता स्विकार्न गाह्रो हुनेछ, र तिनीहरू सत्यता पछ्याउने मार्गमा कुनै हालतमा हिँड्नेछैनन्। त्यसो भए, सत्यता के हो? बृहत अर्थमा, परमेश्‍वरका सबै वचन सत्यता हुन्। अझ स्पष्टसित भन्‍नुपर्दा चाहिँ—सत्यता भनेको के हो त? मैले तिमीहरूलाई पहिले बताइसकेको छु। मैले के भनेको थिएँ? (“सत्यता भनेको मानिसहरूको व्यवहार, कार्य र परमेश्‍वरप्रतिको आराधनाको मापदण्ड हो।”) त्यो सही हो। सत्यता भनेको मानिसहरूको व्यवहार, कार्य र परमेश्‍वरप्रतिको आराधनाको मापदण्ड हो। त्यसैले, के मानिसहरूले आफ्नो धारणामा सही र असल ठान्‍ने कुराहरूसँग सत्यताको कुनै सम्बन्ध छ? (छैन।) ती मानव कुराहरू कहाँबाट आउँछन्? (जिउनुसम्बन्धी शैतानको दर्शनबाट, र पारम्परिक संस्कृतिद्वारा मानिसमा घुसाइएका केही सोचबाट आउँछन्।) त्यो सही हो। स्पष्टसित भन्‍नुपर्दा, यी कुरा शैतानबाट पैदा हुन्छन्। अनि यी कुरा मानिसमा घुसाइदिने प्रतिष्ठित, प्रसिद्ध मानिसहरू को हुन्? के तिनीहरू शैतान होइनन् र? (शैतान नै हुन्।) तिमीहरूका कुलपिताहरू सबै शैतान हुन्—तिनीहरू जिउँदा शैतान हुन्। चिनियाँ मानिसहरूले अपनाउने यी भनाइहरूलाई हेर्: “टाढाको मित्र भेट्दा हर्कबढाइँ हुन्छ” “आइसकेपछि बस्‍ने नै होला,” “आमाबुबाको काँध नछोड्नू,” “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो,” “आमाबुबाको इज्‍जत नगर्ने छोराछोरी पाउनुभन्दा अपुताली हुनु बेस,” “मृतकलाई आदर गर,” “मर्ने बेलाको बोली साँचो र मिठो।” यी भनाइहरूलाई होसियारीसाथ विश्‍लेषण गर्—के तीमध्ये कुनै सत्यता हुन्? (होइनन्।) ती सबै बकवास र भ्रम हुन्। मलाई बता, परमेश्‍वरको काम ग्रहण गरिसकेपछि यी भ्रम र बकवासलाई सत्यता ठान्दा मानिसहरू कत्ति मूर्ख भएको हुनुपर्छ? के यी मानिसहरूमा सत्यता बुझ्ने क्षमता छ? (छैन।) यस्ता मानिसहरू मूर्ख खालका हुन्छन् र तिनीहरूले पटक्‍कै सत्यता बुझ्न सक्दैनन्। अनि तिमीहरू—यत्तिका धेरै परमेश्‍वरका वचन पढेपछि, के तिमीहरूमा अलिकति पनि सत्यताको ज्ञान छैन? (छ।) सत्यता कहाँबाट आउँछ? (यो परमेश्‍वरबाट आउँछ।) सत्यता परमेश्‍वरबाट आउँछ। परमेश्‍वरद्वारा नबोलिएका कुनै पनि वचनमा विश्‍वास नगर। जिउनुसम्बन्धी ती शैतानी दर्शनहरू र पारम्परिक संस्कृतिबाट आउने ती विचारहरू सत्यता होइनन्, र व्यक्तिले तीअनुसार वा त्यस्ता कुरालाई आफ्नो मापदण्ड मानेर मानिसहरू र कुनै कुरालाई हेर्ने, वा व्यवहार र कार्य गर्ने गर्नु हुँदैन, किनभने ती परमेश्‍वरबाट आउँदैनन्। यदि कुनै कुरा मानिसबाट आउँछ भने, चाहे यो पारम्परिक संस्कृतिबाट आओस् कि केही प्रसिद्ध व्यक्तिबाट, वा यो सिकाइबाट पैदा होस् कि समाजबाट, वा यो मानिसको वंशबाट आओस् कि जातिबाट—यो सत्यता होइन। तर यिनै कुरालाई मानिसहरू सत्यता ठान्छन्, सत्यताको साटो यी कुरालाई नै पछ्याउँछन् र अभ्यास गर्छन्। अनि सधैँ तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको र परमेश्‍वरको इच्छा पूरा गर्न लागिरहेको छु भनी सोच्छन्, तर वास्तवमा कुरा ठिक उल्टो भइरहेको हुन्छ: जब तँ यी कुराको आधारमा खोजी र अभ्यास गर्छस्, तब तँ झनै परमेश्‍वरका मापदण्डहरू र सत्यताबाट टाढिन्छस्।

मानिसले असल र सकारात्मक ठान्‍ने कुरालाई गलत रूपमा मानिसहरूले सत्यता मान्‍नु र सत्यताझैँ गरी तिनैलाई पछ्याउनु अत्यन्तै हास्यास्पद कुरा हो। परमेश्‍वरको काम स्विकारिसकेका र उहाँका धेरै वचनहरू पढिसकेका मानिसहरूले अझै पनि मानिसले असल ठान्‍ने ती कुरालाई गलत रूपमा सत्यता ठानिरहन र सत्यताझैँ गरी तिनैलाई पछ्याइरहन कसरी सक्छन्? यहाँ समस्या के हो? मानिसहरूले सत्यता के हो भनेर बुझ्दैनन्, र तिनीहरूमा सत्यताको वास्तविक ज्ञान छैन भनेर देखाउन यो नै पर्याप्त छ। यो मैले भर्खरै सोधेको प्रश्‍नमा भएको एउटा कारकतत्त्व हो: “यी कुरा सत्यता नभएर पनि, कसरी मानिसहरूले ती अभ्यास गरेर आफूले सत्यता अभ्यास गरिरहेको छु भनी सोच्न सक्छन्?” म मानिसको भ्रष्ट स्वभावलाई समेट्ने अर्को कारकतत्त्वबारे बताउनेछु। मानिसहरू आफूले आफ्नो धारणामा असल, सही र सकारात्मक ठान्‍ने कुरा सत्यता हुन् भनी विश्‍वास गर्छन्, अनि यसै आधारमा तिनीहरूले गुप्त योजना बनाउँछन् र यसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याइयो र उहाँ खुसी हुनुभयो भने उहाँले मानिसलाई प्रतिज्ञा गर्नुभएको आशिष् तिनीहरूलाई दिनुहुनेछ भन्‍ने विश्‍वास गर्छन्। के यो गुप्त योजना परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्नु होइन र? (हो।) एकातर्फ, मानिसहरू गलत र हास्यास्पद बुझाइ राख्दै यी कुराहरू पालन गर्छन् र पछ्याउँछन्, र अर्कोतर्फ आफ्ना चाहना र महत्त्वाकाङ्क्षा बोकेर परमेश्‍वरसँग सौदा गर्छन्। के त्यो अर्को कारकतत्त्व होइन र? (हो।) हामीले विगतमा यस कारकतत्त्वबारे बारम्बार सङ्गति गरेका छौँ, तसर्थ अब हामी यसबारे विस्तृतमा कुरा गर्नेछैनौँ। त्यसो भए, म तिमीहरूलाई सोध्छु: परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले परमेश्‍वरको लागि त्याग गर्दा, कष्ट भोग्दा, आफूलाई समर्पित गर्दा, र मूल्यहरू चुकाउँदा, के उसले अभिप्राय र उद्देश्य राखेको हुँदैन र? (हुन्छ।) कोही छ जसले, “मेरो केही चाहना छैन, म केही माग्दिनँ। जस्तोसुकै परिस्थिति भए पनि, म त्याग गर्नेछु, समर्पित हुनेछु, र मूल्य चुकाउनेछु। कुरा त्यति नै हो। मेरो कुनै व्यक्तिगत चाहना र महत्त्वाकाङ्क्षा छैन। परमेश्‍वरले मलाई जसरी व्यवहार गर्नुभए पनि हुन्छ। उहाँले मलाई इनाम दिनुहोला या नहोला—तर जे होस्, मैले उहाँका मापदण्डहरूअनुसार काम गरेको छु, आफूलाई अर्पण गरेको छु, सबै कुरा त्याग गरेको छु, मूल्य चुकाएको र कष्ट भोगेको छु” भनेर भन्छ? के यस्ता मानिसहरू छन्? (छैनन्।) आजसम्म यस्तो व्यक्ति जन्मेको छैन। कतिपयले भन्लान्, “यस्तो व्यक्तिले त एकलासमा जिउनुपर्ने हुन्थ्यो।” यदि कुनै व्यक्ति एकलासमा जिएको हुन्थ्यो भने पनि, ऊ यस्तो हुन्थेन: उसमा अझै भ्रष्ट स्वभाव, महत्त्वाकाङ्क्षा र चाहनाहरू हुने थिय़ो, अनि उसले अझै परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्ने थियो। अनि, यस प्रश्‍नमा भएको दोस्रो कारकतत्त्वचाहिँ के हो भने, मानिसहरूले जब आफ्नो धारणामा सही ठान्‍ने कुरालाई सत्यता ठान्छन्, तब तिनीहरूले गुप्त योजना बनाउँछन्। त्यो गुप्त योजना के हो? यी कुराहरूलाई परमेश्‍वरले मानिसलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू र सुन्दर गन्तव्यसँग साटफेर गर्न अभ्यास गर्नु हो। मानिसले कुनै कुरालाई सकारात्मक ठान्यो भने त्यो अवश्य सही हुनुपर्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्, र यसरी अभ्यास गरियो भने परमेश्‍वरबाट आशिष् पाइन्छ भनेर सोच्छन्। त्यो त मानिसको गुप्त योजना हो। यो दोस्रो कारकतत्त्वको सम्बन्ध आफ्नो महत्त्वकाङ्क्षा र चाहना पूरा गर्न अनि परमेश्‍वरसँग सौदा गर्न प्रयास गर्ने मानिसहरूसित छ। यदि तँलाई य विश्‍वास लाग्दैन भने, मानिसहरूलाई सौदा गर्न रोक्‍ने प्रयास गर्, र तिनीहरूलाई तिनीहरूको चाहना र महत्त्वाकाङ्क्षादेखि वञ्‍चित गर्—तिनीहरूलाई तिनीहरूको चाहना र महत्त्वकाङ्क्षाहरू त्याग्‍न लगा। तिनीहरूले तुरुन्तै कष्ट भोग्‍ने र मूल्य चुकाउने शक्ति गुमाउनेछन्। किन तिनीहरूले यी कुराहरू गर्ने शक्ति गुमाउनेछन्? किनभने तिनीहरूलाई आफूले आफ्नो सम्भाव्यता र नियति गुमाएको, आफूले आशिष् पाउने कुनै आशा नरहेको, र आफूसँग पाउनुपर्ने केही पनि नभएको महसुस हुनेछ। तिनीहरूले अभ्यास गर्ने कुरा र तिनीहरूले पछ्याउने कुरा सत्यता होइनन्, बरु तिनीहरूले सकारात्मक भनी कल्पना गरेका कुराहरू हुन्, तैपनि तिनीहरूको चाहना र महत्त्वाकाङ्क्षा चकनाचूर हुँदा, तिनीहरू कुनै पनि हालतमा यी कुराहरूको मूल्य चुकाउनसमेत इच्छुक हुँदैनन्। मलाई बताओ त, यी मानिसहरूसँग के छ? के तिनीहरूमा साँचो विश्‍वास छ? (छैन।) त्यसबाहेक, के यी मानिसहरू बफादार छन्? कतिपयले भन्लान्, “अहिले परमेश्‍वर जे भन्‍नुहुन्छ हामी त्यो पालन गर्छौँ। उहाँले जे भन्‍नुभए पनि, हामी नकारात्मक वा निरुत्साहित हुँदैनौँ, र हामी पछिसमेत हट्दैनौँ, लत्तो छाड्नु त परै जाओस्। परमेश्‍वरले हामीलाई नचाहनु भए पनि र उहाँले हामी सेवाकर्ता र श्रमदाता हौँ, हामी सत्यता पछ्याउने मानिस होइनौँ, र हाम्रो मुक्ति पाउने आशा छैन भनेर भन्‍नुभए पनि, हामी निहिचकिचाईकन उहाँलाई पछ्याउनेछौँ र आफ्ना कर्तव्य निरन्तर निर्वाह गरिरहेनेछौँ। के त्यो बफादारी होइन? के त्यो आफूसँग विश्‍वास हुनु होइन? के बफादार हुनु र आफूमा विश्‍वास हुनु नै सत्यता पछ्याउनु होइन र? के यसको अर्थ हामीले केही हदसम्म सत्यता पछ्याइरहेका छौँ भन्‍ने होइन र?” मलाई बताओ त, के त्यो सत्यता पछ्याउनु हो? (होइन।) त्यो सत्यता पछ्याउनु होइन भनेर भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, मानिसका सबै ‘जीवनमार्ग’ बन्द गरिएको छ, तिनीहरूसँग कुनै आडसमेत छैन। त्यसो भए, अब के गर्नुपर्छ? गर्न सकिने कुरा केही छ? यसबारे गर्न सकिने कुरा केही भए पनि या नभए पनि, यो सुनेपछि मानिसहरूलाई कस्तो लाग्छ? तिनीहरू अत्यन्तै निरुत्साहित हुन्छन्: “के यसको अर्थ आशिष् पाउने मेरो आशा साँच्‍चै छैन त? आखिर कुरा के हो?” मानिसहरूले यी परिस्थितिहरूमा आफ्नो समझ पुरै गुमाउँछन्। अहिले मेरा वचनहरूले तिमीहरूलाई तिमीहरूको पुरै “जीवनमार्ग” बाट वञ्‍चित गरेका छन्, तिमीहरू यहाँबाट कहाँ जान्छौ, म हेर्नेछु। कतिपयले भन्छन्, “परिश्रम गर्नु, वा सौदा गर्ने प्रयास गर्नु, वा बाङ्गो बुझाइ राख्‍नु, वा कष्ट भोग्‍नु र मूल्य चुकाउनु सही होइन—त्यसो भए गर्नुपर्ने सही कुराचाहिँ के हो त? परमेश्‍वरले जे भन्‍नुभए पनि, हामी उहाँलाई त्याग्‍नेछैनौँ। हामी आफ्नो कर्तव्य निर्वाह गरिरहनेछौँ। के त्यो सत्यता अभ्यास गर्नु होइन र?” यो प्रश्‍नलाई स्पष्टसित बुझ्नुपर्छ। मानिसहरूले सत्यता बुझ्दैनन् र सत्यता अभ्यास गर्नु भनेको के हो भन्‍नेबारे सधैँ बाङ्गो बुझाइ राख्छन्, त्यसैले तिनीहरूले, त्याग गर्नु, समर्पित हुनु, कष्ट भोग्‍नु, र मूल्य चुकाउनुलाई सत्यता अभ्यास गर्नु र परमेश्‍वरमा समर्पित हुनु भन्ठान्छन्। यो भयानक गल्ती हो। सत्यता अभ्यास गर्नु भनेको परमेश्‍वरका वचनहरू अभ्यास गर्नु हो, तर मानिसहरूले ती वचनहरू सिद्धान्तसहित अभ्यास गर्नुपर्छ—तिनीहरूले कदापि मानिसको धारणा र कल्पनाको आधारमा त्यसो गर्नु हुँदैन। परमेश्‍वर निष्कपट हृदय चाहनुहुन्छ, उहाँलाई प्रेम गर्ने हृदय, उहाँलाई सन्तुष्ट तुल्याउने हृदय चाहनुहुन्छ। यसरी परमेश्‍वरका वचनहरू अभ्यास गर्नु मात्र सत्यता अभ्यास गर्नु हो। यदि व्यक्तिले परमेश्‍वरको लागि आफूलाई समर्पित गर्दा, सधैँ परमेश्‍वरसँग सौदा गर्ने अनि आफ्नो महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने इच्छा राख्छ भने, उसले सत्यता अभ्यास गरिरहेको हुँदैन, उसले यससँग खेल खेलिरहेको र यसलाई कुल्चिमिल्ची गरिरहेको हुन्छ, अनि ऊ ढोँगी हुन्छ। तसर्थ, कुनै व्यक्तिले परमेश्‍वरको न्यायका वचनहरू स्विकार्न सक्छ, अनि आशिष्‌हरू पाउने अभिप्राय र चाहना चकनाचूर भए पनि, अनि अफूसँग प्रतीक्षा गर्नुपर्ने र उत्प्रेरणादायी कुनै कुरा नभए पनि, परमेश्‍वरलाई त्याग्दैन र आफ्नो कर्तव्य निर्वाह गरिरहन्छ भने, के यो सत्यता पछ्याउनु र अभ्यास गर्नु हो? मैले हेर्दा त, यदि हामीले सत्यता भनेको के हो भन्‍ने परिभाषाको आधारमा यसलाई मापन गऱ्यौँ भने, अझै पनि यो सत्यता पछ्याउनु होइन, यसले सत्यता पछ्याउनुको मापदण्ड फिटिक्‍कै पूरा गर्दैन। अहिले हामीसँग सत्यता पछ्याउनुको सही परिभाषा छ, हामीले मानिसहरूको कार्य, आचरण, र प्रकटीकरणहरू विश्‍लेषण गर्दा यस परिभाषालाई कडाइसाथ पालन गर्नुपर्छ। व्यक्तिसँग उसले प्रतीक्षा गर्नुपर्ने आशिष्‌हरू नभए पनि, उसको परमेश्‍वरसँगै रहने र आफ्नो कर्तव्य निरन्तर निर्वाह गर्ने क्षमताको आधारमा के विश्‍लेषण गर्न सकिन्छ? सृष्टि गरिएको प्राणीको रूपमा मानिसहरू मानवताको दुईवटा प्रशंसनीय कुरासहित जन्मन्छन्, र यदि तैँले ती कुरा प्रयोग गर्न सकिस् भने, यसले तँलाई—कम्तीमा पनि—परमेश्‍वरको आज्ञा मान्छस् भन्‍ने सुनिश्‍चित गर्नेछ। के तिमीहरूलाई ती दुईवटा कुरा के-के हुन् भनेर थाहा छ? (विवेक र समझ।) सही हो। मानिसको मानवतामा सबैभन्दा बहुमूल्य दुईवटा कुरा छन्—जब मानिसहरू सत्यता बुझ्दैनन्, जब तिनीहरूको क्षमता एकदमै कमजोर हुन्छ, र तिनीहरूमा परमेश्‍वरका मापदण्ड र सत्यतासम्बन्धी कुनै ज्ञान वा प्रवेश हुँदैन, र तिनीहरू आफ्नो स्थानमा अझै खडा रहन सक्छन्, तब तिनीहरूलाई त्यो हासिल गर्न दिने आधारभूत पूर्वसर्त के हो? तिनीहरूसँग सामान्य मानवताको विवेक र समझ हुनुपर्छ। त्यसो भए, उत्तर स्पष्ट छ। मानिसहरू सत्यता नपछ्याउने भएकाले, र तिनीहरूमा आशिष् पाउने चाहना वा महत्त्वाकाङ्क्षा नहुने हुनाले, र तिनीहरूलाई आशिषित हुने तिनीहरूको चाहनाबाट वञ्‍चित गरिएको हुनाले, यदि तिनीहरूले परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भने, तिनीहरूले केको आधारमा त्यसो गर्छन्? तिनीहरूलाई केले उत्प्रेरणा दिन्छ? तिनीहरूको कार्यको लागि कुनै आधार वा कुनै उत्प्रेरणा हुँदैन—मानिसहरूसँग सामान्य मानवताको विवेक र समझ छ भने, तिनीहरूले यी कुरा गर्न सक्छन्। अहिलेसम्मको परिस्थिति यस्तो छ: तँ सत्यता बुझ्दैनस्, त्यो तथ्य हो—र धर्मसिद्धान्तको तेरो बुझाइ बेकार छ, यसको अर्थ तँ सत्यताको वास्तविकतामा प्रवेश गरेको छस् भन्‍ने हुँदैन। तैँले आफ्नै लागि सम्भाव्यताहरू र नियतिको पछि लाग्‍न परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्नु गलत हो भन्‍ने तँलाई थाहा छ, तर सम्भाव्यता र नियतिको पछि लाग्‍ने तेरो कार्य र आशिषित हुने तेरो इच्छाको निन्दा गर्दै ती कुराबाट तँलाई वञ्‍चित गरिसकिएपछि पनि, यदि तैँले खुसीसाथ अझै परमेश्‍वरलाई पछ्याएर आफ्नो कर्तव्य निर्वाह गरेको भए, त्यो उल्लेखनीय कुरा हुन्थ्यो। यदि तैँले सत्यता प्राप्त नगरी परमेश्‍वरलाई पछ्याउन सकेको भए, त्यो केमा भर परेको हुन्थ्यो? त्यो तेरो विवेक र समझमा भर परेको हुन्थ्यो। व्यक्तिको विवेक र समझले उसको सामान्य अस्तित्व, जीवन र मानिसहरूको व्यवहार र परिस्थिति झेल्न सक्छ। त्यसो भए, तैँले विवेक र समझमा आधारित भई कर्तव्य निर्वाह गर्नु र सत्यता अभ्यास गर्नुबीच के भिन्‍नता छ? सत्यता पछ्याउने व्यक्तिको प्रकटीकरण के हो भने, उसले परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्छ र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्छ र कार्य गर्छ, तर आफ्नो विवेक र समझको आधारमा मात्र काम गर्नेहरूले सत्यता नपछ्याउन सक्छन् र आफूमा कुनै दाग लाग्‍न नदिई अझै पनि परिश्रम गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरको घरमा रहिरहन सक्छन्। त्यस्तो कुरा केमा निर्भर हुन्छ? तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएरभन्दा आफ्नै विवेक र समझलाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्छन्, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्छन् र काम गर्छन्। त्यसैले, त्यो कुरालाई विचार गर्दा, यदि तैँले आफ्नो विवेक र समझमा मात्र भर परेर आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, के त्यो र सत्यता पछ्याउनुबीच कुनै भिन्‍नता छैन र? (छ।) विवेक र समझको आधारमा कर्तव्य निर्वाह गर्नु भनेको परिश्रम गर्नुमै सुन्तुष्ट हुनु हो; यो त कडा परिश्रम गर्नु, कुनै बाधा वा अवरोध खडा नगर्नु, आज्ञापालन गर्नु र समर्पित हुनु, अरू मानिसहरूसँग राम्रो व्यवहार गर्नु र राम्रो सम्बन्ध राख्‍नु, र आफूमा कुनै दाग लाग्‍न नदिनुजस्ता कुराहरूलाई आफ्नो मापदण्डको रूपमा लिनु हो। के त्यसले सत्यता पछ्याउनुको स्तर पूरा गर्छ? गर्दैन। व्यक्तिमा जति नै धेरै राम्रो व्यवहार भए पनि, यदि तिनीहरूमा आफ्नो भ्रष्ट स्वभाव, विद्रोहीपन, धारणा, परमेश्‍वरसम्बन्धी गलत विचार, र विभिन्‍न नकारात्मक स्थितिको कुनै ज्ञान नै छैन भने; अनि यदि यी कुरा समाधान गर्न तिनीहरूलाई असम्भव हुन्छ भने; यदि तिनीहरूलाई सत्यता अभ्यासका सिद्धान्तहरू बुझ्न असम्भव हुन्छ भने; र यदि तिनीहरूको भ्रष्ट स्वभावको कुनै पनि प्रकटीकरण समाधान गरिएको छैन भने; अनि यदि तिनीहरू अझै पनि अहङ्कारी र आत्मधर्मी, निरङ्कुश र लापरवाह, दुष्ट र छली छन्, र कहिलकाहीँ तिनीहरू नकारात्मक र कमजोर बन्छन् र परमेश्‍वरलाई शङ्का गर्नेजस्ता कामकुराहरूसमेत गर्छन् भने—यदि यी कुराहरू अझै पनि तिनीहरूमा छन् भने, के तिनीहरूले परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्न सक्छन्? यदि अझै पनि तिनीहरूमा यी भ्रष्ट स्वभावहरू छन् भने, के तिनीहरूले साँचो रूपमा परमेश्‍वरको कार्य अनुभव गर्न सक्‍नेछन्? यदि व्यक्तिमा असल व्यवहारहरू मात्र छन् भने, के त्यो सत्यता पछ्याइको प्रकटीकरण हो? (होइन।) मानिसहरूमा हुने सर्वोत्तम कुराहरू के-के हुन्? केवल विवेक र समझ; यी दुईवटा मात्र सकारात्मक कुरा हुन्, र मानिसमा हुने प्रशंसनीय कुरा यिनै हुन्। तर तीमध्ये कुनै पनि सत्यतासँग सम्बन्धित छैनन्; यी त मानिसले सत्यता पछ्याउनको लागि चाहिने सबैभन्दा आधारभूत पूर्वसर्तहरू मात्र हुन्, भन्‍नुको मतलब, यदि तँमा मानवताको सामान्य विवेक र समझ छ, अनि तँ सत्यता बुझ्न सक्छस् भने, तँलाई समस्याहरू आइपर्दा तैँले सही निर्णय गर्न सक्‍नेछस्। मानिसमा हुने विवेक र समझ यही हो: परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, र तँचाहिँ सृष्टि गरिएको प्राणी होस्; परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ, त्यसैले तैँले आफूलाई परमेश्‍वरमा चढाउनु र समर्पित गर्नु मात्र सही हो, अनि तैँले उहाँका वचनहरू सुन्‍नु मात्र सही हो। यो “मात्र सही” भन्‍ने कुरा तेरो विवेक र समझले निर्धारित गर्छ—तर के तैँले उहाँका वचनहरू सुनेको छस्? तेरो कार्यपछाडिका सिद्धान्त र तौरतरिका केके हुन्? तँमा भ्रष्ट स्वभाव छ—के तैँले यसलाई त्यागेको छस्? के तैँले यसलाई हटाएको छस्? यी कुराहरूको “मात्र सही” सित कुनै सम्बन्ध छैन। यदि तँ के गर्नु मात्र सही हो र यो कसरी गर्नु मात्र सही हो भन्‍नेमै अल्झिरहन्छस्, अनि “मात्र सही” भन्‍ने परिधिभित्र जिउँछस् भने, के त्यो तेरो विवेक र समझको प्रभाव होइन र? (हो।) तेरो विवेकले तँलाई भन्छ, “परमेश्‍वरले मलाई बचाउनुभएको छ, त्यसैले मैले आफूलाई उहाँमा समर्पित गर्नुपर्छ। परमेश्‍वरले मेरो जीवन बचाउनुभएको छ र दोस्रो जीवन दिनुभएको छ, त्यसैले मैले उहाँको प्रेमको ऋण तिर्नु मात्र सही हो। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, र म सृष्टि गरिएको प्राणी हुँ, त्यसैले म उहाँका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ।” के यो तेरो विवेक र समझको प्रभाव होइन र? (हो।) मानिसहरूको विवेक र समझको कारण उत्पन्‍न हुने विभिन्‍न व्यवहार, अभ्यासको तरिका, मनोवृति, र दृष्टिकोण तिनीहरूको विवेक र समझले प्राकृतिक तवरमा गर्न सक्‍ने कुराको परिधिबाहिर जाँदैनन्, र तिनीहरूले सत्यता अभ्यासको स्तर पूरा गर्न सक्दैनन्। के त्यसै होइन र? (हो।) उहारणको लागि, कतिपय मानिसले भन्लान्, “परमेश्‍वरको घरले मलाई कर्तव्य निर्वाह गर्न दिएर उच्‍च पारेको छ, र परमेश्‍वरको घरले मलाई गाँस, बास र कपास दिएको छ। परमेश्‍वरको घरले नै मेरो जीवनको हरेक पक्षको ख्याल गरेको छ। मैले परमेश्‍वरको धेरै अनुग्रह पाएको छु, त्यसैले मैले उहाँको प्रेमको ऋण तिर्नुपर्छ; मैले आफ्नो कर्तव्यमा झारातिरुवा भएर परमेश्‍वरलाई धोका दिनु हुँदैन, बाधा वा अवरोध दिने कुनै कुरा गर्न हुने त झन् कुरै आउँदैन। म परमेश्‍वरको घरले मेरो लागि जे प्रबन्ध गरे पनि त्यो मान्‍न इच्छुक छु। परमेश्‍वरको घरले मलाई जे गर्न लगाए पनि, म गुनासो गर्नेछैनँ।” यस प्रकारको घोषणा गर्नु त राम्रो कुरा हो; तर विवेक र समझ भएको व्यक्तिले यो गर्नु निकै सजिलो हुँदैन र? (हुन्छ।) के यसले सत्यता अभ्यासको स्तर पूरा गर्न सक्छ? (सक्दैन।) यसले सत्यता अभ्यासको स्तर पूरा गर्दैन। तसर्थ, व्यक्ति जति नै श्रेष्ठ विवेकको वा सामान्य समझको भए पनि, वा उसले आफ्नो विवेक र समझद्वारा नियन्त्रित भएर सबै कुरा गर्न सके पनि, अनि तिनीहरूको कार्य जति नै उचित र शिष्ट भए पनि, वा अरूले यी कुराको जति नै प्रशंसा गरे पनि, ती कुराहरू असल मानव व्यवहारबाहेक अरू केही हुँदैनन्। ती कुराहरूलाई असल मानव व्यवहारको क्षेत्रभित्र मात्र वर्गीकरण गर्न सकिन्छ; ती कुराले आधारभूत रूपमै सत्यता अभ्यासको स्तर पूरा गर्न सक्दैनन्। जब तैँले आफ्नो विवेकको आधारमा अरूसँग अन्तरक्रिया गर्छस्, तब तेरो बोली अलिक नरम हुन्छ, र तैँले अरूलाई आक्रमण गर्ने, वा रिसाउने, दबाउने, वा नियन्त्रण गर्ने, वा धम्क्याउने, वा अरूबाट फाइदा उठाउने आदि इत्यादि गर्नेछैनस्—यी सबै सामान्य मानवताको समझद्वारा हासिल गर्न सकिने कुरा हुन्—तर के ती सत्यता अभ्याससित सम्बन्धित छन् त? अहँ, ती सम्बन्धित छैनन्। ती मानिसको समझद्वारा हासिल गर्न सकिने कुरा हुन्, अनि ती कुरा र सत्यताबीचमा एक निश्‍चित दूरी रहेको छ।

विवेक र समझको आधारमा काम गर्नुसित सत्यता अभ्यासको कुनै सम्बन्ध छैन भनेर किन म भन्दै छु? म एउटा उदाहरण दिन्छु। मानौँ, कुनै व्यक्ति तँप्रति दयालु भएको छ, र तेरो ऊसँग राम्रो सम्बन्ध छ, अनि उसले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्छ, र त्यसपछि तँलाई सुसमाचार सुनाउँछ—र यो कुरा परमेश्‍वरले उसलाई प्रयोग गरी तँलाई सुसमाचार सुनाउनुबराबर हो। अनि, तैँले परमेश्‍वरको नयाँ काम स्विकारेपछि, तँ ऊप्रति झनै कृतज्ञ बन्छस्, र सधैँ उसको ऋण चुकाउन चाहन्छस्। त्यसैले, तैँले जे गर्दा पनि उसलाई अलि छूट दिन्छस्, अनि तैँले उसलाई जे भन्दा पनि तँ सधैँ निकै शिष्ट हुन्छस्। तँ उसलाई विशेष आदर, श्रद्धा, र सहन गर्छस्, अनि उसले जस्तो खराब काम गरे पनि वा उसको चरित्र जस्तोसुकै भए पनि, तँ ऊप्रति धैयशील र उदार बन्छस्, यहाँसम्म कि उसले चुनौती आइपरेर मदत माग्दा तँ उसलाई विनासर्त सहयोग गर्छस्। किन तँ यसो गर्छस्? तेरो कार्यलाई केले प्रभाव पारिहेको छ? (मेरो विवेक।) यो तेरो विवेकको प्रभावले गर्दा हुन्छ। तेरो विवेकको यो प्रभावलाई सकारात्मक वा नकारात्मक भन्‍न सकिँदैन; तँसँग विवेक र अलिअलि मानवता छ, अनि कुनै व्यक्ति तँप्रति दयालु हुँदा, तँ कृतज्ञ हुन्छस् र उसको ऋण चुकाउँछस् भनेर मात्र भन्‍न सकिन्छ। त्यो दृष्टिकोणबाट हेर्दा, तँ सही व्यक्ति होस्। तर यदि हामीले यसलाई सत्यता प्रयोग गरेर मापन गर्ने हो भने, सायद हामी अर्कै निष्कर्षमा पुग्छौँ। मानौँ, एकदिन त्यो व्यक्तिले दुष्ट काम गर्छ र मण्डलीले उसलाई हटाउँदै छ, तर तँ अझै उसलाई तेरो विवेक प्रयोग गरेर मापन गर्छस् र भन्छस्, “उहाँले नै मलाई सुमाचार सुनाउनुभएको हो। म बाँचुञ्जेल उहाँको गुन बिर्सनेछैनँ; यदि उहाँ नहुनुभएको भए, अहिले म जहाँ छु, त्यहाँ हुने थिइनँ। उहाँले आज दुष्कर्म गर्नुभए पनि, म उहाँलाई खुलासा गर्न सक्दिनँ। उहाँले गरेको कुरा गलत हो भनेर मलाई थाहा भए पनि, म त्यो बताउन सक्दिनँ, किनभने उहाँले मलाई धेरै मदत गर्नुभएको छ। मैले उहाँको ऋण चुकाउन नसकूँला, तर म उहाँलाई आक्रमण गर्न सक्दिनँ। यदि अरू कसैले उहाँको रिपोर्ट गर्न चाहन्छ भने, त्यो गर्न सक्छ, तर मचाहिँ गर्नेछैनँ। म उहाँको घाउमा नुन-चुक छर्कन सक्दिनँ—यदि मैले त्यस्तो गर्थेँ भने, म कस्तो व्यक्ति हुन्थेँ होला? के म विवेकहीन व्यक्ति बन्थिनँ र? के विवेकहीन व्यक्ति पशु होइन र?” तिमीहरूलाई के लाग्छ? यस्तो परिस्थितिमा विवेकले कस्तो प्रभाव पार्छ? के विवेकले पार्ने प्रभावले सत्यता उल्लङ्घन गर्दैन र? (गर्छ।) यसबाट हामी के देख्‍न सक्छौँ भने, कहिलेकाहीँ व्यक्तिको विवेकले पार्ने प्रभाव उसको भावनाको बन्धन र नियन्त्रणमा हुन्छ, र फलस्वरूप, उसका निर्णयहरू सत्यताका सिद्धान्तहरूसँग बाझिन्छन्। त्यसरी नै, हामी एउटा तथ्य पनि स्पष्टसित देख्‍न सक्छौँ: व्यक्तिको विवेकले पार्ने प्रभाव सत्यताको मानकभन्दा कमसल हुन्छ, अनि कहिलेकाहीँ मानिसहरूले आफ्नो विवेकको आधारमा काम गर्दै सत्यता उल्लङ्घन गर्छन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यताअनुसार जिउँदैनस्, बरु विवेकको आधारमा काम गर्छस् भने, के तैँले दुष्ट काम गरेर परमेश्‍वरको विरोध गर्न सक्दैनस् र? तैँले वास्तवमा केही दुष्ट काम गर्न सक्‍नेछस्—व्यक्तिको विवेकको आधारमा कार्य गर्नु कहिल्यै गलत हुँदैन भनेर ठोकेर भन्‍न सकिँदैन। यसले के देखाउँछ भने, यदि व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने र उहाँको इच्छाअनुरूप गर्ने इच्छा गर्छ भने, आफ्नो विवेकको आधारमा मात्र काम गर्नु एकदमै अपर्याप्त हुन्छ। व्यक्तिले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सत्यताको आधारमा काम गर्नुपर्छ। जब तँ तेरो विवेकलाई सत्यताको रूपमा लिन्छस् र यसलाई अरू सबै कुराभन्दा श्रेष्ठ ठान्छस्, तब तैँले सत्यतालाई कहाँ राखेको हुन्छस्? तैँले सत्यतालाई तेरो विवेकले प्रतिस्थापित गरेको हुन्छस्; के त्यो सत्यताको प्रतिरोध गर्नु होइन र? के त्यो सत्यताको विरोध गर्नु होइन र? यदि तँ तेरो विवेकअनुसार जिउँछस् भने, तैँले सत्यता उल्लङ्घन गर्न सक्छस्, र सत्यता उल्लङ्घन गर्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरमा विश्‍वास गरेपछि आफ्नो बोली र कार्यको लागि विवेकलाई मानकको रूपमा लिने र विवेककै आधारमा आफूलाई व्यवहारमा ढाल्ने थुप्रै मानिस छन्। के विवेकको आधारमा काम गर्नु सत्यता अभ्यास हो त, कि होइन? के व्यक्तिको विवेकले सत्यताको ठाउँ लिन सक्छ? खास गरी, विवेकको आधारमा काम गर्नु सत्यताको आधारमा काम गर्नुभन्दा कुन तरिकाले फरक छ? कतिपय मानिसले आफ्नो विवेकको आधारमा काम गर्नुमै सधैँ जोड दिन्छन् र आफूलाई सत्यता पछ्याउने व्यक्ति ठान्छन्। के त्यो दृष्टिकोण सही हो? (होइन।) के व्यक्तिको विवेकबाट पैदा हुने भावनाहरूले सत्यताको ठाउँ लिन सक्छन्? (सक्दैनन्।) यी मानिसहरूले के गल्ती गर्दै छन्? (सत्यता उल्लङ्घन, जुन परमेश्‍वरको विरोध गर्नु हो।) त्यो सही हो। तिनीहरूले आफ्नो विवेकबाट उत्पन्‍न भावनालाई सत्यताबराबर मान्छन्, जसले गर्दा तिनीहरूले सत्यता उल्लङ्घन गर्न पुग्छन्। यस्ता व्यक्तिहरूले सधैँ विवेकलाई नै आफ्नो मापदण्ड मान्दै त्यो विवेककै मानकअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्छन् र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्छन् र कार्य गर्छन्। तिनीहरू आफ्नो विवेकको फन्दा र नियन्त्रणमा पर्छन्, र साथमा तिनीहरूको समझ पनि विवेकद्वारै नियन्त्रित हुन्छ। यदि कुनै व्यक्ति आफ्नो विवेकद्वारा नियन्त्रित छ भने, के उसले सत्यता खोज्न र त्यसअनुसार अभ्यास गर्न सक्छ? सक्दैन। त्यसो भए, के विवेकले सत्यताको ठाउँ लिन सक्छ? सक्दैन। कतिपयले सोध्लान्, “हामीले अरू मानिसहरूसित कसरी व्यवहार गर्ने भनेर मापन गर्न आफ्नो विवेक प्रयाग गर्न नसक्‍ने हुँदा र विवेकलाई सत्यताको रूपमा लिन पनि नमिल्ने हुँदा, के हामीले परमेश्‍वरसँग कसरी व्यवहार गर्ने भनेर मापन गर्न आफ्नो विवेकलाई मानकको रूपमा लिनु सही हो त?” यो प्रश्‍न विचारयोग्य छ। चाहे जे होस, व्यक्तिको विवेकले सत्यताको ठाउँ लिन सक्दैन। यदि तँमा सत्यता छैन र तँ तेरो विवेकको आधारमा परमेश्‍वरको नजिक आउँछस् भने, मानव मानकअनुसार त त्यसलाई राम्रो मानिनेछ, तर यो मानकमा भर परेर तैँले परमेश्‍वरप्रतिको प्रेम वा समर्पण हासिल गर्न सक्‍नेछैनस्—बढीमा तैँले सत्यता उल्लङ्घन वा परमेश्‍वरको विरोध नगर्न सक्‍नेछस्, त्यो आफैमा निकै राम्रो कुरा हो। कतिपयले भन्लान्, “तपाईंले अरू मानिससँग आफ्नो विवेक प्रयोग गर्नुपर्दैन, र परमेश्‍वरसँग पनि आफ्नो विवेक प्रयोग गर्नुपर्दैन।” त्यो सही हो कि होइन? वाद र सिद्धान्तको दृष्टिकोणले हेर्दा, यो गलतजस्तो लाग्छ, होइन र? त्यसो भए, यसलाई मापन गर्न सत्यता प्रयोग गर्—के तँलाई यो सही लाग्छ? के परमेश्‍वरले मानिसहरूलाई विवेक प्रयोग गरेर उहाँको नजिक आउनू भनेर भन्‍नुहुन्छ? परमेश्‍वरले मानिसलाई कस्तो मापदण्ड दिनुहुन्छ? उहाँले मानिसलाई कसरी उहाँको नजिक आउन लगाउनुहुन्छ? तँसँग विवेक होला, तर के तँ इमान्दार छस्? यदि तँमा विवेक छ तर तँ इमान्दार छैनस् भने, त्यो केही कामको हुँदैन। परमेश्‍वरको मापदण्ड मानिस इमान्दारीसाथ उहाँको नजिक आओस् भन्‍ने हो। यो कुरा बाइबलमा लेखिएको छ, “र तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू” (मर्कूस १२:३०)। परमेश्‍वरको मापदण्ड के हो? (मानिसहरूले परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, र आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण प्राणले प्रेम गर्नुपर्छ।) परमेश्‍वर मानिसहरूबाट के चाहनुहुन्छ? (तिनीहरूको इमान्दारिता।) सही हो। के परमेश्‍वरले, “तिमीहरूले मलाई आफ्नो विवेक र समझले, अनि आफ्नो सहजज्ञानले प्रेम गर्नुपर्छ” भनेर भन्‍नुभएको छ? के परमेश्‍वरले त्यसो भन्‍नुभयो? (अहँ, भन्‍नुभएन।) किन परमेश्‍वरले त्यसो भन्‍नुभएन? (किनभने विवेक सत्यता होइन।) त्यसो भए, विवेक के हो त? (मानवताको सबैभन्दो तल्लो मानक।) त्यो सही हो, विवेक र समझ मानवताको सबैभन्दा आधारभूत मानक हुन्। व्यक्ति असल छ कि छैन र उसँग मानवता छ कि छैन भनेर तँ कसरी भन्‍न सक्छस्? तँ यो कसरी मापन गर्न सक्छस्? तँ यसलाई केले मापन गर्छस्? यसको सबैभन्दा तल्लो र सबैभन्दा आधारभूत मानक भनेको व्यक्तिसँग विवेक र समझ छ कि छैन भनेर हेर्नु हो। त्यही मानकद्वारा तैँले व्यक्तिमा मानवता छ कि छैन भनेर मापन गर्न सक्छस्। त्यसो भए, व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनेर मापन गर्ने मानकचाहिँ के हो त? व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरा ऊसँग विवेक र समझ छ कि छैन भन्‍ने कुराको आधारमा बताउन सकिन्छ—के यो कुरा सत्यता हो? के त्यो सही छ? (छैन।) त्यसो भए परमेश्‍वरले मानिसबाट चाहनुहुने कुरा के हो? (इमान्दारिता।) परमेश्‍वर मानिसको इमान्दारिता चाहनुहुन्छ। इमान्दारितामा केके हुन्छन्? व्यक्तिले इमान्दारिता देखाउन के गर्नुपर्छ? यदि व्यक्तिले प्रार्थना गर्दा म आफ्नो इमान्दारिता परमेश्‍वरलाई चढाउँछु भनेर मात्र भन्छ, तर त्यसपछि ऊ इमान्दारीसाथ परमेश्‍वरमा समर्पित हुँदैन वा बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, के त्यो इमान्दारिता हो? त्यो इमान्दारिता होइन—त्यो छल हो। त्यसो भए, कुनचाहिँ व्यवहार इमान्दारिताको प्रकटीकरण हो? यसको निर्द्धिष्ट अभ्यास के हो? के तँलाई थाहा छ? के यो परमेश्‍वरप्रति समर्पित हुने मनोवृत्ति होइन र? (हो।) व्यक्तिमा समर्पणको मनोवृत्ति छ भने मात्र ऊ इमान्दार हुन्छ। के यो विवेकभन्दा कता हो कता श्रेष्ठ होइन र? इमान्दारितासित विवेक र समझको निकट सम्बन्धसमेत छैन, तीबीच ठूलो दूरी छ। मानिसहरूको विवेक र समझ भनेको तिनीहरूको अस्तित्व, सामान्य जीवन, र अरू मानिसहरूसँग सम्बन्ध कायम राख्‍न चाहिने सबैभन्दा आधारभूत अवस्था मात्र हुन्। यदि मानिसहरूले आफ्नो विवेक र समझ गुमाउने हो भने, तिनीहरूले आफ्नो अस्तित्व, वा सामान्य जीवन, वा सबैभन्दा आधारभूत स्तरमा अरू मानिसहरूसँग सम्बन्ध कायम गर्नसमेत सक्दैनथे। विवेक वा समझ नभएका मानिसहरू, ती दुष्टहरूलाई नै हेर् न—के कुनै समूहका कोही तिनीहरूसँग अन्तरक्रिया गर्न इच्छुक हुन्छ त? (हुँदैन।) कोही पनि तिनीहरूसँग अन्तरक्रिया गर्न इच्छुक हुँदैन। तिनीहरूसँग अन्तरक्रिया गर्दा मानिसहरूलाई कस्तो महसुस हुन्छ? घृणा र तिरस्कार—तिनीहरूलाई डर, विवश र बन्धनमा परेकोसमेत महसुस हुन सक्छ। यस्ता मानिसहरूसँग सामान्य मानवताको विवेक र समझसमेत हुँदैन, र कोही पनि तिनीहरूसँग अन्तरक्रिया गर्न चाहँदैनन्। मलाई बता, के परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनुहुनेछ? (दिनुहुनेछैन।) यदि दुष्ट व्यक्तिले उसलाई चिढ्याउने जोकोहीलाई “परिस्थिति मिलोस् न, म तेरो ज्यान लिनेछु—तेरो नाश गर्नेछु” भनेर जवाफ दिन्छ भने, उसले साँच्‍चै त्यसो गर्न सकोस् या नसकोस्, के त्यस्तो कुरा भन्‍न सक्‍ने तथ्यले उसलाई दुष्ट व्यक्ति बनाउँदैन र? (बनाउँछ।) त्यसो भए, बोलीले नै अरूमा डर पैदा गराउने ऊ कस्तो प्रकारको व्यक्ति हो? के ऊ विवेक र समझ भएको व्यक्ति हो? (होइन।) अनि के विवेक र समझ नभएकाहरूसँग मानवता हुन्छ? (हुँदैन।) मानवता नभएको त्यस्तो दुष्ट व्यक्तिसँग अन्तरक्रिया गर्न कसले आँट गर्छ? के ती दुष्ट मानिसहरूसँग अरू मानिसहरूको सामान्य सम्बन्ध हुन्छ? (हुँदैन।) तिनीहरूसँग अरू मानिसहरूको कस्तो सम्बन्ध हुन्छ? सबैजना तिनीहरूसँग डराउँछन्, सबैले तिनीहरूको पावन्दी र बन्धनमा परेको महसुस गर्छन्—तिनीहरूले भेट्ने जति सबैलाई धम्क्याउन र सजाय दिन चाहन्छन्। के यस्ता मानिसहरूमा सामान्य मानवता हुन्छ? विवेक र समझ नभएको यसप्रकारको व्यक्तिसँग कसैले पनि अन्तरक्रिया गर्ने आँट गर्दैन। तिनीहरू सामान्य मानव जीवन जिउनसमेत सक्दैनन्, त्यसैले तिनीहरू दियाबलस र पशुहरूभन्दा फरक छैनन्। समूहहरूमा, तिनीहरू सधैँ अरूमाथि जाइलाग्छन्, एकपछि अर्को व्यक्तिलाई सजाय दिन्छन्। अन्त्यमा, सबै जना तिनीहरूदेखि टाढिन्छन्, सबै जना तिनीहरूदेखि जोगिन्छन्। तिनीहरू कति भयानक छन्! तिनीहरू सामान्य मानव सम्बन्ध राख्‍नसमेत सक्षम हुँदैनन् र तिनीहरूले समूहमा आफ्नो स्थान बनाउनसमेत सक्दैनन्—तिनीहरू कस्ता व्यक्ति हुन्? यस्ता मानिसहरूसँग मानवतासमेत हुँदैन—के तिनीहरू सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) कस्तो व्यक्तिमा मानवता हुँदैन? पशु र दियाबलस। परमेश्‍वर आफूले व्यक्त गर्नुहुने सत्यताहरू पशु र दियबलसलाई होइन मानवजातिलाई दिनुहुन्छ। विवेक र समझ हुनेहरू मात्र मानव कहलिन योग्य हुन्छन्। मलाई फेरि बता: के पूर्णतया सामान्य मानवतामा जिउनलाई व्यक्तिमा विवेक र समझ भए पुग्छ? कसैले पुग्दैन भन्ला, किनभने मानिसहरूमा भ्रष्ट स्वभावहरू छन्। मानिसहरूले भ्रष्ट स्वभावदेखि मुक्त हुन र सामान्य मानवतामा जिउन सक्‍नलाई सत्यता पछ्याउनुपर्छ। कतिपयले भन्लान्, “ममा विवेक र समझ छ। यदि मैले दुष्ट काम नगर्ने सुनिश्‍चित गरेँ भने, ममा सत्यताको वास्तविकता हुनेछ।” के त्यो सही हो? यदि कसैसँग विवेक र समझ छ भने, त्यसको अर्थ उसले सत्यता पछ्याइरहेको छ भन्‍ने होइन—न त ऊ आफ्नो विवेक र समझअनुसार जिइरहेको छ भन्‍ने नै हो। त्यसो भए, वास्तवमा विवेक र समझ के हुन् त? विवेक र समझ भनेको त सत्यता पछ्याउन मानिसहरूमा हुनैपर्ने मानवताको सबैभन्दा आधारभूत चिन्ह र गुण मात्र हुन्। यी दुई कुराअनुसार जिउनु भनेको सत्यता पछ्याउनु होइन, झन् यसले सत्यताको वास्तविकता भएको प्रमाण दिनु त परै जाओस्। मैले भर्खरै बताएको उदाहरणबाट के देख्‍न सकिन्छ भने, जब व्यक्तिले आफ्नो विवेक र समझको आधारमा मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्छ र कार्य गर्छ, तब उसले सत्यता र सिद्धान्तहरू उल्लङ्घन गर्न पुग्छ। उसले सत्यतालाई आफ्नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार यी कुरा गर्ने मानक पूरा गरिरहेको हुँदैन। तसर्थ, तँसँग जति नै विवेक भए पनि, र तेरो समझ जति नै सामान्य भए पनि, यदि तैँले सत्यतालाई आफ्नो मापदण्ड मानेर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्दैनस् भने, तैँले सत्यता पछ्याइरहेको हुँदैनस्। त्यस्तै गरी, तैँले तेरो विवेक र समझको सहजज्ञानको दायराभित्र रहेर जति नै कष्ट भोगे पनि, तैँले सत्यता पछ्याइरहेको छस् भनेर भन्‍न सकिँदैन।

हामीले भर्खरै तीनवटा कुरा विश्‍लेषण गऱ्यौँ, ती सबै सत्यता पछ्याउनेबारे मानिसहरूमा हुने पूर्वाग्रह र गलतफहमीहरू थिए। अब मलाई बता, ती तीनवटा कुरा केके हुन्? (पहिलो, मानिसहरूले आफ्नो धारणामा असल, सही र सकारात्मक मान्‍ने कुरालाई सत्यता ठान्छन्, र ती कुरालाई नै आफ्नो मानकको रूपमा प्रयोग गर्दै मानिसप्रतिको परमेश्‍वरको मापदण्ड र उहाँका वचनहरूको मापदण्ड र मानकलाई प्रतिस्थापित गर्छन् र त्यसपछि, तिनीहरूले ती कुरालाई नै पछ्याउँछन् र अभ्यास गर्छन्। दोस्रो, मानिसहरूले भ्रमित बुझाइको आधारमा चाहना र महत्त्वाकाङ्क्षा पाल्दै परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्छन्। मानिसहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याइएपछि र उहाँ खुसी हुनुभएपछि, उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर विश्‍वास गर्छन्। तेस्रो, आफ्नो विवेक र समझको आधारमा आफूलाई व्यवहारमा ढाल्यो र काम गऱ्यो भने, आफूले सत्यता अभ्यास गररहेको हुन्छ भनेर मानिसहरू विश्‍वास गर्छन्।) ती तीन कुरालाई पर राखेर हेर्दा, खासमा सत्यता पछ्याउनु भनेको के हो? सत्यता पछ्याउनुको परिभाषालाई फेरि हेरौँ: “परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।” मानिसहरूलाई सत्यता पछ्याउनु भनेको के हो र सो कसरी गर्नुपर्छ भनेर बुझ्न लगाउन यो परिभाषा पर्याप्त छ। हामीले सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारे धेरै कुरा गरिसकेका छौँ। त्यसो भए, यसलाई कसरी पछ्याउने त? हामीले यसबारे भर्खरै र पहिले पनि निकै सङ्गति गरेका छौँ: चाहे तैँले मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्दा होस्, वा आफूलाई व्यवहारमा ढाल्दा र काम गर्दा होस्, यो कुरा सत्यतालाई मापदण्डको रूपमा लिएर अनि परमेश्‍वरको वचनअनुसार नै गर्नुपर्छ। सत्यता पछ्याउनु भनेको त्यही हो। यी कुरासँग असम्बन्धित अरू कुनै पनि कुरा सत्यता पछ्याउनु होइन। पक्‍कै पनि, यदि “परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु” तेरो भ्रष्ट स्वभावतर्फ लक्षित छैन भने, यसले मानिसका केही सोच, दृष्टिकोण र धारणालाई सम्बोधन गर्छ। अनि यदि यसले यी कुराहरू सम्बोधन गर्छ, र यो मानिसलाई सत्यताको सिद्धान्तअनुसार अभ्यास गर्न अनि परमेश्‍वरको वचन र सत्यताप्रति समर्पित हुन सक्षम बनाउने लक्ष्य प्राप्त गर्नका लागि हो भने, स्वाभाविक रूपमै त्यो नै यसको अन्तिम परिणाम हुनेछ। “परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु,” निकै प्रष्ट र सुस्पष्ट छ। यसले अन्त्यमा मानिसहरूलाई जुन मार्ग दिन्छ त्यसले तिनीहरूलाई तिनीहरूको अभ्यासमा आफ्नो पूर्वाग्रह हटाउन, अनि तिनीहरूको चाहना र महत्त्वकाङ्क्षा त्याग्‍न सक्षम बनाउँछ। तर मानिसहरूले आफू श्रेष्ठ छु, आफूमा मानवता छ, विवेक र समझ छ भन्‍ने विश्‍वास लिएर जिउनु हुँदैन, र यस्तो कुराले परमेश्‍वरका वचनहरूलाई आफ्नो आधार मान्‍ने र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिने अभ्यासलाई प्रतिस्थापित गर्नु हुँदैन। तैँले जस्तोसुकै सफाइ दिए पनि, तँसँग जस्तोसुकै सामर्थ्य र गुणहरू भए पनि, ती कुराले सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र काम गर्नुको ठाँउ लिन सक्दैनन्। यो निस्सन्देह कुरा हो। त्यसको विपरीत, यदि मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने तेरो दृष्टिकोण, अनि तेरो व्यवहार र कार्य सुरुदेखि नै पूर्णतया परमेश्‍वरको वचनअनुसार छ र यसमा सत्यतालाई अभ्यासको सिद्धान्तको रूपमा लिइएको छ भने, तैँले सत्यता पछ्याइरहेको हुन्छस्। नत्र, पछ्याइरहेको हुँदैनस्। संक्षेपमा, मानव धारणा र कल्पनामा जिउनु, सौदा गर्ने अभिप्रायले काम गर्नु, वा आफूमा प्रशस्तै असल नैतिक आचरण छ भन्‍ने विश्‍वास गर्दै सत्यताको पछ्याइ र अभ्यासलाई नै प्रतिस्थापित गरिदिनु—यस्ता सबै व्यवहार मूर्खता हुन्। तीमध्ये कुनै पनि सत्यता पछ्याइको प्रकटीकरण होइनन्, र अन्त्यमा यी मूर्ख व्यवहारको परिणामस्वरूप मानिसहरूले सत्यता बुझ्नेछैनन्, तिनीहरू परमेश्‍वरको इच्छा बुझ्न असक्षम हुनेछन्, र तिनीहरू मुक्तिको मार्गमा हिँड्न सक्‍नेछैनन्। कुरा बुझिस्? (बुझेँ।) अवश्य नै, सत्यता नपछ्याउनेहरूमाझ, मुक्ति पाउन नसक्‍नेहरूबाहेक, कतिपय त सेवाकर्ता नै भएर बाँच्न चाहनेहरू पनि छन्। यो निकै राम्रो हो, यसलाई सत्यता नपछ्याउनुको राम्रो विकल्पको रूपमा लिन सकिन्छ। कुन मार्ग चुन्‍ने हो, त्यो विशेषतः तैँमा निर्भर हुन्छ। सायद कतिपयले यसो भन्‍नेछन्, “त्यो सबै सङ्गतिपछि पनि, तपाईंले हामीलाई मानिसहरू र विभिन्‍न कुराहरूलाई कसरी हेर्ने, वा कसरी आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने भनेर बताउनुभएको छैन।” के मैले बताएको छैनँ? (बताउनुभएको छ।) व्यक्तिले के कुराअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुपर्छ, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नुपर्छ? (परमेश्‍वरका वचनहरूअनसार।) अनि केलाई आफ्नो मापदण्डको रूपमा लिनुपर्छ? (सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिनुपर्छ।) त्यसो भए, परमेश्‍वरका वचनहरू के हुन्? सत्यता कहाँ छ? (परमेश्‍वरका वचनहरू सत्यता हुन्।) परमेश्‍वरका वचनहरू एकदमै धेरै छन्, ती वचनहरूले मानिसहरूलाई मानिसहरू र विभिन्‍न कुराहरूलाई कसरी हेर्ने, र कसरी आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्‍ने हरेक पक्षबारे बताउँछ, त्यसैले हामी अहिले यी कुराबारे विस्तृत रूपमा कुरा गर्नेछैनौँ। फेरि एकपल्ट सत्यता पछ्याउनु भनेको के रहेछ, पढ्। (सत्यता पछ्याउनु भनेको के हो? परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।) यी वचनहरूलाई तैँले हृदयमा कुँदेर राख्नुपर्छ, र तेरो जीवनको आदर्श-वाक्यको रूपमा प्रयोग गर्नुपर्छ। अनि यी वचनहरूलाई प्रायजसो झिकेर हेर्ने गर्, ताकि तैँले यी वचनबारे सोच्‍न र विचार गर्न सक्; र यी वचनहरूसित तेरो व्यवहार, तेरो जीवनको मनोवृत्ति, विभिन्‍न कुराहरूप्रतिको तेरो दृष्टिकोण र तेरो अभिप्राय र लक्ष्यलाई दाँजेर हेर्। त्यसपछि तँलाई तेरो साँचो अवस्था र तैँले देखाउने स्वभावको सार कस्तो रहेछ भनेर स्पष्टै महसुस हुनेछ। ती कुरालाई यी वचनहरूसँग दाँज्, र यी वचनहरूलाई तेरो अभ्यासको सिद्धान्त अनि तेरो अभ्यासको मार्ग र निर्देशनको रूपमा ली। जब तैँले यसरी पछ्याउँछस्, र जब तँ यी वचनहरूमा पूर्णतया प्रवेश गर्न र यी वचनअनुसार जिउन सक्षम बन्छस्, तब तैँले सत्यता पछ्याउनु भनेको के हो, बुझ्नेछस्। स्वाभाविक रूपमै, जब तँ यी वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्, तँ सत्यता पछ्याउने मार्गमा हिँडिसकेको हुनेछस्। जब तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तब के हुन्छ? तेरो भ्रष्ट स्वभावको कारण हुने बाधा, नियन्त्रण र बन्धनहरू दिनदिनै कम हुँदै जानेछन्। त्यस्तो किन हुन्छ? किनभने तँलाई तँसित आफ्नो भ्रष्ट स्वभाव हटाउने मार्ग छ, र आफ्नो मुक्तिको आशा छ भन्‍ने महसुस हुनेछ। तब मात्र तँलाई परमेश्‍वरमा साँचो विश्‍वास गर्ने अनि उहाँका वचनहरू खाने र पिउने जीवन सन्तुष्टदायी, शान्तिमय र आनन्दप्रद लाग्‍नेछ। यत्तिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, सत्यतालाई प्रेम नगर्नेहरूलाई अझै पनि जीवन एकदमै खोक्रो छ, र आफ्नो लागि भरपर्दो केही पनि छैन भन्‍ने लाग्छ। प्रायजसो तिनीहरूलाई भ्रष्ट स्वभावमा जिउनु पीडादायीसमेत लाग्छ, र तिनीहरूले त्यो पन्छाउन त चाहन्छन् तर सक्दैनन्। तिनीहरू सधैँ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रण, जञ्जीर र बन्धनमा रहन्छन्, जसले गर्दा तिनीहरूलाई साह्रै कष्ट हुन्छ, तैपनि तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन। तिनीहरूको यो दुःखका दिनहरू कहिल्यै हट्दैनन्। यदि तिनीहरूले सत्यता स्विकार्न र मुक्ति प्राप्त गर्न सक्थे भने, यी दुःखका दिनहरू पनि बितेर जाने थिए। तथापि, यो सब कुराको परिणाम तेरो भावी खोज र प्रवेशमा भर पर्छ।

जनवरी २९, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्