सत्यता पछ्याउनु भनेको के हो (१०)

हामीले हाम्रो अघिल्लो भेलामा नैतिक आचरणसम्बन्धी “कर्मअनुसारको फल मिल्छ; त्यसैले सकेसम्‍म उदार हुनुपर्छ” भन्‍ने भनाइबारे सङ्गति र विश्‍लेषण गऱ्यौँ। के अब तिमीहरूले परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरूलाई साँच्‍चै बुझ्यौ त? नैतिक आचरणसम्बन्धी यी भनाइहरू कसरी सत्यताभन्दा फरक छन्? के अब तँ नैतिक आचरणसम्बन्धी यी भनाइहरू मूलतः सत्यता होइनन्, र तिनले निश्‍चय नै सत्यताको ठाउँ लिन सक्दैनन् भनेर पुष्टि गर्न सक्छस्? (सक्छु।) तैँले पुष्टि गर्न सक्छस् भनेर केले देखाउँछ? (केले देखाउँछ भने, परम्परागत संस्कृतिका यी भनाइहरू वास्तवमा के हुन् भनेर बुझ्ने केही क्षमता ममा छ। विगतमा, मलाई आफ्नो हृदयमा यी कुराहरू छन् भन्‍ने मलाई थाहा थिएन। परमेश्‍वरले केही सङ्गति र विश्‍लेषण गर्नुभएपछि मात्र, म अहिलेसम्म यी कुराहरूको प्रभावमा रहेछु, अनि मैले सधैँ मानिसहरू र परिस्थितिलाई परम्परागत संस्कृतिको आधारमा हेरेको रहेछु भनेर थाहा पाएको छु। मैले परम्परागत संस्कृतिका यी भनाइहरू सत्यताका एकदमै विपरीत छन् र यी सबै नै मानिसहरूलाई भ्रष्ट पार्ने कुराहरू हुन् भनेर पनि बुझेको छु।) तैँले यो पुष्टि गरेकोले, पहिलो कुरा त यी परम्परागत संस्कृतिका कुराहरूलाई केही मात्रामा बुझेको छस्। तँसित बोधात्मक ज्ञान रहेको मात्र होइन, तैँले यी कुराहरूको सार सैद्धान्तिक दृष्टिकोणबाट चिन्‍न पनि सक्छस्। दोस्रो कुरा, तँ अब परम्परागत संस्कृतिका कुराहरूको प्रभावमा छैनस्, अनि तँ यी कुराहरूको प्रभाव, नियन्त्रण र बन्धनलाई आफ्नो तनमनबाट हटाउन सक्छस्। विशेष गरी विभिन्‍न कुरालाई हेर्दा वा विभिन्‍न समस्याहरू सम्हाल्दा, तँ यी विचार र दृष्टिकोणको प्रभाव र बन्धनमा पर्दैनस्। समग्रमा, तिमीहरूले सङ्गतिद्वारा परम्परागत संस्कृतिका यी विचार र दृष्टिकोणलाई केही मात्रामा बुझेका छौ। यो सत्यता बुझेर प्राप्त भएको परिणाम हो। परम्परागत संस्कृतिका यी कुराहरू, विशेष गरी नैतिक आचरणसम्बन्धी “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” र “कर्मअनुसारको फल मिल्छ; त्यसैले सकेसम्‍म उदार हुनुपर्छ” भन्‍ने भनाइहरू शैतानी दर्शनहरूले भरिएका खोक्रा तर मिठो सुनिने भनाइहरू हुन्। यी भनाइहरूले मानिसहरूलाई तिनीहरूको सोचमार्फत निरन्तर प्रभाव, नियन्त्रण र बन्धनमा पार्छन्, तर मानिसहरूको नैतिक आचरणमा सक्रिय र सकारात्मक भूमिका खेल्दैनन्। तिमीहरूले अहिले अलिकति बुझेको भए पनि, यी कुराहरूको प्रभावलाई तिमीहरूको हृदयबाट जरैदेखि उखेलेर फाल्न गाह्रो छ। तिमीहरूले केही समयसम्म आफूलाई सत्यताले सुसज्‍जित पार्नुपर्छ र परमेश्‍वरको वचनअनुसार अनुभव गर्नुपर्छ। त्यसपछि मात्र तिमीहरूले यी ढोँगी कुराहरू कति गहन रूपमा हानिकारक, गलत र हास्यास्पद रहेछन भनेर पूर्ण रूपले स्पष्टसँग देख्‍न सक्छस्, र त्यसपछि मात्र जरैदेखि त्यो समस्या उखेलेर फाल्न सकिन्छ। यदि तैँले केवल केही सिद्धान्तहरू बुझेर यी गलत सोच र विचारहरू त्याग्‍न अनि तिनको प्रभाव, नियन्त्रण र बन्धनबाट आफूलाई मुक्त गर्न चाहेको भए, यो गर्न एकदमै गाह्रो हुन्थ्यो। अब तिमीहरू नैतिक आचरणसम्बन्धी यी भनाइहरू वास्तवमा के हुन् भनेर केही मात्रामा चिन्‍न सक्छौ, र कम्तीमा पनि तिमीहरूले केही बुझाइ हासिल गरेका छौ र आफ्नो सोचाइमा केही सुधार ल्याएका छौ। बाँकी कुरा कसरी सत्यता खोजिन्छ र कसरी परमेश्‍वरको वचनअनुसार मानिसहरू र परिस्थितिलाई हेरिन्छ अनि भविष्यमा कसरी अनुभव गरिन्छ, त्यसमा निर्भर हुन्छ।

परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरूबारे सङ्गति र विश्‍लेषण गरेपछि, के तिमीहरू यी भनाइको सारलाई स्पष्टसित देख्‍न सक्छौ? यदि तिमीहरू साँच्‍चै स्पष्टसँग देख्‍न सक्छौ भने, परम्परागत संस्कृतिका यी भनाइहरू सत्यता होइनन्, र यी भनाइहरूले सत्यताको ठाउँ लिन सक्दैनन् भनेर निर्धारण गर्न सक्छौ। यति कुरा पक्‍का हो, र धेरैजसो मानिसहरूले सङ्गतिद्वारा आफ्नो हृदयमा यसलाई साँचो प्रमाणित गरिसकेका छन्। त्यसोभए, नैतिक आचरणसम्बन्धी यी सबै विभिन्‍न भनाइहरूको सारलाई कसरी बुझ्नुपर्छ? यदि परमेश्‍वरको वचन र सत्यताअनुसार यो समस्या सामना गरिएन भने, यसलाई कुनै हालतमा पनि चिन्‍न र बुझ्न सकिँदैन। परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरू सैद्धान्तिक रूपमा जति नै उत्कृष्ट र सकारात्मक भए पनि, के यी साँच्‍चै मानिसहरूको कार्य र व्यवहारको मापदण्ड वा आफूलाई कुनै निश्‍चित व्यवहारमा ढाल्‍ने सिद्धान्त हुन् त? (होइनन्।) यी आफूलाई त्यसरी व्यवहारमा ढाल्‍ने सिद्धान्त र मापदण्ड होइनन्। त्यसोभए, वास्तवमा यी के हुन् त? नैतिक आचरणसम्बन्धी प्रत्येक भनाइको सारलाई विश्‍लेषण गरेर, के तिमीहरू वास्तवमा सत्यता के हो र मानिसहरूमाझ पैदा भएका नैतिक आचरणसम्बन्धी यी भनाइहरूको सार के हो भनेर निष्कर्ष निकाल्न सक्छौ? के तिमीहरूले यो प्रश्‍नबारे कहिल्यै सोचेका छैनौ? शासकवर्गको खुट्टा मोल्ने र चापलुसी गर्ने अनि तिनीहरूको सेवा गर्दा मात्र अति खुसी हुने तथाकथित विचारक र नैतिकविद्‌हरूको उद्देश्य पन्छाउँदै, यसलाई सामान्य मानवताको दृष्टिकोणबाट विश्‍लेषण गरौँ। नैतिक आचरणसम्बन्धी ती भनाइहरू सत्यता नभएकाले, र ती भनाइहरूले सत्यताको ठाउँ लिन पनि नसक्‍ने हुनाले, ती मिथ्या हुनुपर्छ। ती निश्‍चय नै सकारात्मक कुरा होइनन्—यति पक्‍का छ। यदि यसरी तिमीहरूले ती वास्वतमा के हुन् भनेर चिन्‍न सक्छौ भने, यो प्रमाणित हुन्छ कि तिमीहरूले आफ्नो हृदयमा सत्यतालाई केही हदसम्म बुझिसकेका र अलिअलि समझ पाइसकेका छौ। नैतिक आचरणसम्बन्धी ती भनाइहरू सकारात्मक कुरा होइनन्, न त ती मानिसहरूको कार्य र व्यवहारको मापदण्ड नै हुन्, न त मानिसहरूले आफूलाई निश्‍चित व्यवहारमा ढाल्‍न प्रयोग गर्ने र पालन गर्नुपर्ने सिद्धान्त नै हुन्, त्यसैले ती भनाइहरूमा केही न केही गल्ती छ। के यो विचारणीय छ? (छ।) यदि तैँले “नैतिक आचरण” लाई मात्र विचार गर्छस् अनि ती भनाइहरू सही दृष्टिकोण र सकारात्मक कुरा हुन् भनेर सोच्छस् भने, तँ गलत छस् र तँ ती कुराहरूको धोका र छलमा पर्नेछस्। ढोँगी कुरा कहिल्यै सकारात्मक बन्‍न सक्दैन। सद्‌गुणी व्यवहारका विभिन्‍न प्रकटीकरणको सन्दर्भमा भन्‍नुपर्दा, ती सच्‍चा रूपमा र हृदयदेखिनै गरिन्छ कि गरिँदैन भनेर छुट्याउनुपर्छ। यदि ती मन नलागीनलागी, नाटक गर्दै वा कुनै उद्देश्य पूरा गर्न गरिन्छ भने, यस्तो व्यवहार प्रदर्शनमा कुनै न कुनै समस्या हुन्छ। के तिमीहरू नैतिक आचरणसम्बन्धी ती भनाइहरू वास्तवमा के हुन् भनेर चिन्‍न सक्छौ? कसले मलाई बताउन सक्छ? (शैतानले नैतिक अचरणसम्बन्धी भनाइहरू मानिसहरूलाई भ्रमित र भ्रष्ट पार्न प्रयोग गर्छ, अनि तिनीहरूलाई उसको उपासना गराउने र उसलाई पछ्याउन लगाउने अनि परमेश्‍वरबाट टाढा राख्‍ने उद्देश्यले यी भनाइहरू पालन र अभ्यास गर्न लगाउँछ। यो शैतानले मानिसहरूलाई भ्रष्ट पार्न प्रयोग गर्ने विधि र तरिकाहरूमध्येको एक हो।) यो नैतिक आचरणसम्बन्धी भनाइहरूको सार होइन। यो त शैतानले मानिसहरूलाई छल गर्ने उद्देश्य हो जुन त्यसले यस्ता भनाइहरू प्रयोग गरेर हासिल गर्छ। सर्वप्रथम, तिमीहरूले के कुरा स्पष्टसित जान्‍नुपर्छ भने, नैतिक आचरणसम्बन्धी कुनै पनि भनाइ सत्यता होइन, झन् यसले सत्यताको ठाउँ लिने त कुरै नगरौँ। ती सकारात्मक कुरासमेत होइनन्। त्यसोभए वास्तवमा ती के हुन् त? निश्‍चितसाथ यो भन्‍न सकिन्छ कि नैतिक आचरणसम्बन्धी ती भनाइहरू विधर्मी भ्रमहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई झुक्क्याउँछ। ती कुरा मानिसहरूमा हुनुपर्ने सत्यताको वास्तविकता होइनन्, न त सामान्य मानवजातिले जिउनुपर्ने सकारात्मक कुरा नै हुन्। नैतिक आचरणसम्बन्धी ती भनाइहरूमा कृत्रिमता, ढोँग, जालसाजी र चालहरू हुन्छन्—ती झूटा व्यवहार हुन्, ती मानिसहरूको विवेक र समझ वा तिनीहरूको सामान्य सोचबाट उत्पन्‍न भएका होइनन्। तसर्थ, नैतिक आचरणसम्बन्धी परम्परागत संस्कृतिका सबै भनाइहरू निराधार र निरर्थक झूटा शिक्षा र भ्रम हुन्। शैतानले अघि सारेका नैतिक आचरणसम्बन्धी भनाइहरूलाई आज यी केही सङ्गतिद्वारा पूरै मृत पारिएको छ। ती सकारात्मक कुरासमेत नहुँदा पनि, कसरी मानिसहरूले तिनलाई स्विकार्न सके? कसरी मानिसहरू ती विचार र दृष्टिकोणअनुसार जिउन सके? यसको कारण के हो भने, नैतिक आचरणसम्बन्धी ती भनाइहरू मानिसहरूका धारणा र कल्पनासँग एकदमै राम्रोसँग मेल खान्छन्। ती भनाइहरूले प्रशंसा र अनुमोदनको भाव पैदा गर्छन्, तसर्थ मानिसहरूले नैतिक आचरणसम्बन्धी ती भनाइहरू मनैदेखि स्विकार्छन्, र ती अभ्यास गर्न नसके पनि, भित्रभित्रै उत्साहसाथ तिनलाई अँगाल्छन् र पूजा गर्छन्। यसरी शैतानले मानिसहरूलाई झुक्क्याउन, तिनीहरूको हृदय र व्यवहार नियन्त्रण गर्न नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरू प्रयोग गर्छ, किनभने मानिसहरू हृदयमा नैतिक आचरणसम्बन्धी हरप्रकारका भनाइहरूलाई अन्धाधुन्ध पूजा र विश्‍वास गर्छन्, अनि तिनीहरू सबै अझ धेरै मर्यादित, कुलिन र दयालु भएको देखावटी गर्न ती कुरा प्रयोग गर्न, र त्यसरी उच्‍च सम्मान र प्रशंसा पाउने आफ्नो लक्ष्य हासिल गर्न मन पराउँछन्। सङ्क्षेपमा भन्दा, मानिसहरूले कुनै काम गर्दा, नैतिक आचरणसम्बन्धी कुनै न कुनै व्यवहार वा मानव गुण देखाउनुपर्छ भन्‍ने कुरा नैतिक आचरणसम्बन्धी हरप्रकारका भनाइहरूले तोकेका छन्। ती व्यवहार र मानव गुणहरू निकै भव्य देखिन्छन्, र तिनको सम्मान गरिन्छ, त्यसकारण सबै मानिस आफ्नो मनमा एकदमै धेरै तिनैको आकाङ्क्षा राख्छन्। तर तिनीहरूले के विचार गरेका हुँदैनन् भने, नैतिक आचरणसम्बन्धी ती भनाइहरू सामान्य व्यक्तिले आफूलाई व्यवहारमा ढाल्‍न प्रयोग गर्नुपर्ने सिद्धान्त नै होइनन्; बरु, ती त व्यक्तिले बनावटी रूपमा धारण गर्न सक्‍ने विभिन्‍न प्रकारका ढोँगी व्यवहार हुन्। ती विवेक र समझबाट टाढिएका विचलनहरू हुन्, सामान्य मानवताको इच्छाबाट अलग्गिएका कुरा हुन्। शैतानले मानिसहरूलाई झुक्याउन, अनि त्यसलाई र ढोँगी सन्त भनाउँदाहरूलाई उपासना गर्न लगाउन नैतिक आचरणसम्बन्धी गलत र बनावटी भनाइहरू प्रयोग गर्छ, र यसरी मानिसहरूलाई सामान्य मानवता र मानव व्यवहारको मापदण्डलाई साधारण, सरल र तुच्छ कुराको रूपमा देखाउँछ। अनि, मानिसहरूले ती कुरालाई तिरस्कार गर्छन् र असाध्यै घृणित ठान्छन्। किनभने शैतान-प्रवर्धित नैतिक आचरणसम्बन्धी ती भनाइहरू हेर्दा अति मनमोहक र मानिसका धारणा र कल्पनाहरूसँग एकदमै मेल खाने हुन्छन्। तर तथ्य के हो भने, नैतिक आचरणसम्बन्धी कुनै पनि भनाइ मानिसहरूले आफूलाई व्यवहारमा ढाल्दा र संसारसँगको व्यवहार गर्दा पालन गर्नुपर्ने सिद्धान्त होइन। यसबारे सोच्—के यो त्यस्तै होइन र? वास्तवमा, नैतिक आचरणसम्बन्धी भनाइहरू मानिसहरूलाई सतही रूपमा अझ मर्यादित र उच्‍च जीवन जिउन लगाउने मापदण्ड मात्र हुन्, जसमार्फत तिनीहरूले अरूलाई आफ्नो पूजा र प्रशंसा गर्ने तर तुच्छ नठान्‍ने तुल्याउन सक्छन्। ती भनाइहरूको सारले के देखाउँछ भने, ती मानिसहरूले असल व्यवहारद्वारा असल नैतिक आचरण देखाऊन् भन्‍ने मापदण्ड मात्र हुन्, र यसरी तिनले भ्रष्ट मानवताका महत्त्वाकाङ्क्षा र असाधारण चाहनाहरूलाई छोप्छन् र रोक्छन्, अनि मानिसको दुष्ट र घिनलाग्दो प्रकृति र सार, साथै विभिन्‍न भ्रष्ट स्वभावहरूको प्रकटीकरणलाई ढाकछोप गर्छन्। ती सतही असल व्यवहार र अभ्यासद्वारा व्यक्तिको व्यक्तित्व बढाउन, अरूको नजरमा उसको छवि उच्‍च पार्न र ऊप्रतिको संसारको सम्‍मान अझ व्यापक पार्नका लागि हुन्। यी बुँदाहरूबाट नैतिक आचरणसम्बन्धी भनाइहरू देखावटी व्यवहार र अभ्यासद्वारा मानिसका भित्री सोच, दृष्टिकोण, उद्देश्य र अभिप्रायहरू, तिनीहरूको घृणित चेहरा, अनि तिनीहरूको प्रकृति र सार ढाकछोप गर्नका लागि हुन् भन्‍ने देखिन्छ। के ती कुरालाई सफलतापूर्वक ढाकछोप गर्न सकिन्छ? ती कुरालाई ढाकछोप गर्ने प्रयास गर्दा ती झन् बढी देखिँदैनन् र? तर शैतानले यसबारे वास्ता गर्दैन। त्यसको उद्देश्य भ्रष्ट मानवताको घृणित चेहरा ढाक्‍नु, मानिसको भ्रष्टताको सत्यता ढाकछोप गर्नु हो। त्यसकारण, शैतानले मानिसहरूलाई नैतिक आचरणको देखावटी व्यवहार अँगाल्दै भेष बदल्न लगाउँछ, जसको अर्थ यसले नैतिक आचरणका नियम र व्यवहारहरू प्रयोग गरी मानिसको रूपको एउटा चिटिक्‍कको प्याकेज बनाउँछ, जसले व्यक्तिको मानव गुण र व्यक्तित्व सुदृढ़ देखाउँछ ताकि उसले अरूबाट सम्मान र प्रशंसा पाउन सकोस्। मूलतः नैतिक आचरणसम्बन्धी यी भनाइहरूले कुनै व्यक्ति उच्‍च छ कि तुच्छ भनेर उसले देखाएको व्यवहार र नैतिक स्तरको आधारमा निर्धारण गर्छन्। उदाहरणको लागि, कुनै व्यक्ति उपकारी हो कि होइन भनेर मापन गर्ने कुरा उसले अरूको खातिर आफ्नो स्वार्थ त्यागेको देखिन्छ कि देखिँदैन त्यसमा निर्भर हुन्छ। यदि त्यस्तो गरेको राम्रोसँग देखिन्छ भने, उसले राम्रोसँग देखावटी रूप धारण गर्छ अनि आफूलाई विशेष प्रशंसनीय बनाउँछ भने, यो व्यक्तिलाई निष्ठावान् र मर्यादित, र अरूको नजरमा विशेष उच्‍च नैतिक स्तर भएको व्यक्ति मानिन्छ, अनि राज्यले उसलाई अरूले सिक्‍नुपर्ने, पुज्नुपर्ने र अनुकरण गर्नुपर्ने नैतिकताको नमूना बनेको भनेर तक्मा दिन्छ। अनि, कुनै स्त्री असल छे कि खराब भनेर कसरी मूल्यङ्कन गर्नुपर्छ? यसको लागि त्यो स्त्रीले आफ्नो समुदायभित्र देखाएका विभिन्‍न व्यवहारहरू “स्‍त्रीजाति सद्गुणी, दयालु र विनम्र हुनैपर्छ” भन्‍ने भनाइअनुरूप छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि ऊ सद्गुणी, दयालु र विनम्र बनेर, पाकाहरूप्रति उच्‍च आदर देखाएर, सबैको हित सोच्दै सहजै सम्झौता गरेर, अत्यन्तै धैर्यवान् र कठिनाइहरू सहन सक्षम भएर, मानिसहरूविरुद्ध द्वेष नराखेर वा अरूसँग वादविवाद नगरेर, अनि सासुससुरालाई आदर र श्रीमान् र छोराछोरीलाई राम्रो ख्याल गरेर, सधैँ आफूबारे मात्र नसोचेर, सट्टामा केही कुरा कहिल्यै नखोजेर, देहसुखमा नरमाएर, आदि इत्यादि गरेर ऊ हरेक पक्षमा यसअनुरूप चल्छे भने, ऊ वास्तवमै सद्गुणी, दयालु र विनम्र स्त्री हो। मानिसहरू यी बाहिरी व्यवहारलाई स्त्रीहरूको नैतिक आचरण मूल्याङ्कन गर्न प्रयोग गर्छन्। कुनै व्यक्तिको महत्त्व, असलता र दुष्टतालाई उसको सतही अभ्यास र व्यवहारद्वारा मापन गर्नु बेठिक र अवास्तविक हुन्छ। यसरी दाबी गर्नु झूटो, छली र असङ्गत पनि हुन्छ। यो मानिसहरूमा देखिने नैतिक आचरणसम्बन्धी भनाइहरूको मूलभूत समस्या हो।

माथि उल्लिखित केही पक्षलाई हेर्दा, के परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरू वास्तवमै आफूलाई व्यवहारमा ढाल्नेसम्बन्धी सिद्धान्त हुन् त? (होइनन्।) ती भनाइहरूले सामान्य मानवताका आवश्यकताहरू पटक्‍कै पूरा गर्दैनन्, ती पूर्णतया यसको विपरीत छन्। तिनले मानवजातिको लागि आफूलाई व्यवहारमा ढाल्नेसम्बन्धी सिद्धान्तहरू प्रदान गर्दैनन्, न त मानिसहरूको कार्य र व्यवहारका सिद्धान्तहरू नै उपलबध गराउँछन्। त्यसको विपरीत, तिनले मानिसहरूले देखावटी रूप धारण गरून्, आफूलाई ढाकछोप गरून्, अरूसामु आफूलाई निश्‍चित तरिकाको व्यवहारमा ढालून् र कार्य गरून् भन्‍ने मापदण्ड तोक्छन्, ताकि तिनीहरूले उच्‍च सम्मान र प्रशंसा पाऊन्। यसो गर्नुको उद्देश्य कसरी आफूलाई सही व्यवहारमा ढाल्ने वा कसरी सही आचरण अँगाल्‍ने भनेर मानिसहरूलाई बुझाउनु होइन, बरु तिनीहरूलाई अझ बढी अरूका धारणा र कल्पनाअनुरूप जिउन अनि अरूका प्रशंसा र मान्यता प्राप्त गर्न लगाउनु हो। परमेश्‍वरले तोक्‍नुभएको यो हुँदै होइन। परमेश्‍वरले तोक्‍नुभएको कुरा त मानिसहरूले अरूले के सोच्लान् भन्‍ने वास्ता नगरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुमा मात्र ध्यान दिँदै सत्यताका सिद्धान्तअनुसार आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु हो। नैतिक आचरणसम्बन्धी भनाइहरू मानिसहरूको विचार र दृष्टिकोण वा मानव प्रकृति र सारसँग सम्बन्धित समस्याहरू समाधान गर्नेबारे भन्दा पनि मानिसहरू आफ्नो व्यवहार, अभ्यास र आफूले देखाउने रूपमा—देखावटी रूपमै भए पनि—शिष्ट र असल हुनुपर्छ भन्‍नेबारे अझ बढी सम्बन्धित छन्। अर्को शब्दमा भन्‍नुपर्दा, परम्परागत संस्कृतिका नैतिक आचरणसम्बन्धी भनाइहरूले मानिसहरूमा लाद्‍ने मापदण्डहरू मानिसहरूको सारमा आधारित हुँदैनन्, झन् तिनले विवेक र समझको प्राप्य दायरा विचार गर्नु त परको कुरा हो। साथै, ती भनाइहरू मानिसहरूमा भ्रष्ट स्वभाव छ, तिनीहरू सबै स्वार्थी र घृणित छन् भन्‍ने वस्तुगत तथ्यविरुद्ध छन्, र तिनले मानिसहरूलाई तिनीहरूको व्यवहार र अभ्यासको सन्दर्भमा यो गर्न र त्यो गर्न बाध्य पार्छन्। तसर्थ, तिनले मानिसहरूमा जुनै दृष्टिकोणले मापदण्डहरू लादे पनि, मानिसहरूलाई भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट आधारभूत तवरमा मुक्त गर्न सक्दैनन्, न त मानिसहरूको सारको समस्या नै समाधान गर्न सक्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, तिनले मानिसहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित समस्याहरू समाधान गर्न सक्दैनन्। यसले गर्दा, तिनले मानिसहरूको व्यवहारको सिद्धान्त र दिशा परिवर्तन गर्न सक्दैनन्, न त आफूलाई कसरी व्यवहारमा ढाल्ने, अरूसँग कसरी व्यवहार गर्ने, वा सकारात्मक पक्षबाट पारस्परिक सम्बन्धहरू कसरी सम्हाल्ने भनेर नै मानिसहरूलाई बुझाउँछन्। अर्को दृष्टिकोणबाट भन्‍नुपर्दा, नैतिक आचरणसम्बन्धी भनाइहरू मानिसहरूलाई दिइने एक प्रकारको नियम वा व्यवहारमाथिको नियन्त्रण मात्र हुन्। ती सबै रूपमा निकै राम्रो देखिए पनि, तिनले थाहै नपाई मानिसहरूको सोच र दृष्टिकोणलाई असर गर्छन्, तिनीहरूलाई नियन्त्रण र बन्धनमा पार्छन्, र परिणामस्वरूप मानिसहरूले व्यवहार र कार्यको सही सिद्धान्त र मार्ग भेट्टाउन सक्दैनन्। यस सन्दर्भमा, मानिसहरूले गर्न सक्‍ने भनेकै मन नलागीनलागी परम्परागत सांस्कृतिक विचार र दृष्टिकोणको प्रभाव स्विकार्ने मात्र हो। अनि तिनीहरू यी भ्रामक विचार र दृष्टिकोणको प्रभावमा परेर थाहै नपाई व्यवहारको सिद्धान्त, उद्देश्य र दिशा गुमाउन पुग्छन्। यसको कारण भ्रष्ट मानिसहरू अन्धकारमा डुब्छन् र ज्योति गुमाउँछन्, जसले गर्दा तिनीहरू झूट, नाटक र चालमा भर परेर प्रसिद्धि र व्यक्तिगत फाइदाको पछि लाग्‍न मात्रै सक्छन्। उदाहरणको लागि, तैँले कुनै व्यक्तिलाई मद्दत चाहिएको देख्दा, तुरुन्तै सोच्छस्, “अरूलाई सहयोग गर्दा आनन्द महसुस गर्नु नै सही व्यवहार हो। मानिसहरूको व्यवहारको लागि आधारभूत सिद्धान्त र नैतिक मानक यही हो,” त्यसैले तैँले त्यो व्यक्तिलाई अचेतन रूपमै सहयोग गर्नेछस्। तैँले उसलाई सहयोग गरेपछि, आफूलाई यस्तो व्यवहारमा ढाल्दा आफू उच्‍च बनेको र आफूमा अलि मानवता भएको महसुस गर्छस्, तैँले अचेतन रूपमै आफूलाई उच्‍च व्यक्ति, उच्‍च चरित्रवान्‌ व्यक्ति, मर्यादित र चरित्र भएको व्यक्ति, अनि अवश्य नै आदरयोग्य व्यक्तिको रूपमा समेत प्रशंसा गर्छस्। यदि तैँले उसलाई मद्दत गरिनस् भने, यस्तो सोच्छस्, “हैट, म त असल व्यक्ति होइन रहेछु। जबजब म मद्दत चाहिएको कुनै व्यक्ति भेट्छु र मद्दत गर्नेबारे सोच्छु, तबतब म सधैँ आफ्नै हित विचार गर्छु। कस्तो स्वार्थी म!” तैँले आफूलाई मापन गर्न, नियन्त्रण गर्न अनि कुन सही र कुन गलत भनी मूल्याङ्कन गर्न सधैँ अचेतन रूपमै “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने वैचारिक दृष्टिकोण प्रयोग गर्नेछस्। तैँले यो भनाइ अभ्यास गर्न नसक्दा, आफूलाई घृणा गर्ने वा तुच्छ ठान्‍नेछस्, र अलि असहज महसुस गर्नेछस्। अरूलाई मद्दत गरेर आनन्द प्राप्त गर्न सक्‍नेहरूलाई तँ प्रशंसा र कदरको दृष्टिले हेर्नेछस्, तिनीहरू तँभन्दा उच्‍च, तँभन्दा मर्यादित, र तँभन्दा चरित्रवान्‌ छन् भन्ठान्‍नेछस्। तर यस्ता मामिलाको सन्दर्भमा, परमेश्‍वरका मापदण्डहरू फरक हुन्छन्। तेरो लागि परमेश्‍वरको मापदण्ड भनेको उहाँको वचन र सत्यताका सिद्धान्तहरू पालन गर्नु हो। अनि, नैतिक आचरणको सन्दर्भमा, मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? परम्परागत नैतिक र सांस्कृतिक दृष्टिकोण पालन गरेर कि परमेश्‍वरका वचनहरू पालन गरेर? सबैले यो छनौट गर्नुपर्छ। के तँलाई अब परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने सत्यताका सिद्धान्तहरू प्रष्ट भयो? के तैँले ती बुझिस्? तँ कत्तिको राम्ररी ती पालन गर्छस्? ती पालन गर्दा तँलाई के-कस्ता विचार र दृष्टिकोणले प्रभावित गर्छन् र रोक्छन्, अनि के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्? तैँले यसरी आत्मचिन्तन गर्नुपर्छ। तैँले परम्परागत संस्कृतिका नैतिक आचरणसम्बन्धी भनाइहरूको ठ्याक्‍कै कति धेरै सार आफ्नो हृदयमा स्पष्टसँग देख्‍न सक्छस्? के परम्परागत संस्कृतिले अझै तेरो हृदय ओगटेको छ? यी सबै कुरा मानिसहरूले हल गर्नैपर्ने समस्या हुन्। जब तेरा भ्रष्ट स्वभावहरू हट्छन् र जब तैँले सत्यता र परमेश्‍वरको वचन पूर्णतया र सम्झौता नगरी मान्‍न र पालन गर्न सक्छस्, तब तैँले जे अभ्यास गर्छस् त्यो पूर्णतया सत्यताको सिद्धान्तअनुरूप हुन्छ। तँ भ्रष्ट स्वभावद्वारा बाधित हुन वा परम्परागत संस्कृतिको नैतिक विचार र दृष्टिकोणद्वारा बाँधिन छोड्छस्, अनि तैँले सही ढङ्गमा परमेश्‍वरको वचन अभ्यास गर्न र सत्यताको सिद्धान्तअनुसार कार्य गर्न सक्‍नेछस्। विश्‍वासीहरूको व्यवहार र कार्यलाई जुन सिद्धान्तहरूले निर्देशित गर्नुपर्ने हो, ती सिद्धान्त यिनै हुन्। जब तैँले परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न, परमेश्‍वरको वचन पालन गर्न र सत्यताको सिद्धान्तअनुसार अभ्यास गर्न सक्छस्, तब तँ असल नैतिक आचरणयुक्त व्यक्ति मात्र बन्‍नेछैनस्, परमेश्‍वरको मार्ग पछ्याउन सक्‍ने व्यक्ति पनि बन्‍नेछस्। जब तँ आफूलाई व्यवहारमा ढाल्ने सिद्धान्त र सत्यता अभ्यास गर्छस्, तब तँमा नैतिक आचरणको स्तर मात्र हुँदैन, तैँले अँगालेको व्यवहारमा सत्यताको सिद्धान्त पनि हुन्छ। के सत्यताको सिद्धान्त पालन गर्नु र नैतिक आचरणको मापदण्ड पालन गर्नुबीच भिन्‍नता छ? (छ।) ती कसरी भिन्‍न छन्? नैतिक आचरणसम्बन्धी मापदण्डहरू पालन गर्नु भनेको व्यावहारात्मक अभ्यास र प्रकटीकरण मात्र हो, जबकि सत्यताको सिद्धान्तअनुसार अभ्यास गर्नुचाहिँ यसो हेर्दा अभ्यासजस्तो देखिए पनि यो अभ्यासमा सत्यताको सिद्धान्त पालना हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, सत्यताको सिद्धान्त पालन गर्नु आफूलाई उचित व्यवहारमा ढाल्‍ने कार्य र मानिसहरू हिँड्ने मार्गसँग सम्बन्धित छ। त्यसको अर्थ, यदि तैँले सत्यता अभ्यास गरिस् र परमेश्‍वरको वचनमा रहेको सत्यताका सिद्धान्तहरू पालन गरिस् भने, त्यो सही मार्ग हिँड्नु हो, जबकि परम्परागत संस्कृतिका नैतिक आचरणसम्बन्धी मापदण्डहरू पालन गर्नु भनेको नियमहरू पालन गरेजस्तो व्यवहार देखाउनु मात्र हो। यसमा सत्यताको सिद्धान्त समावेश हुँदैन, न त यो मानिसहरू हिँड्ने मार्गसँग नै सम्बन्धित हुन्छ। म के भन्दै छु, के तैँले बुझिस्? (बुझेँ।) यहाँ एउटा उदाहरण छ। उदाहरणको लागि, नैतिक आचरणसम्बन्धी “अरूको खातिर आफ्‍ना हितहरू त्याग गर” भन्‍ने भनाइले मानिसहरूलाई कुनै पनि समय र परिस्थितिमा “नीच स्वार्थ त्याग्‍नुपर्छ र उच्‍च स्वार्थ अँगाल्‍नुपर्छ” भन्‍ने मापदण्ड दिन्छ। यो अविश्‍वासीहरूमाझको एउटा शैली हो जसलाई उच्‍च चरित्रयुक्त र दृढ निष्ठावान् हुनु भनिन्छ। “नीच स्वार्थ त्याग्‍नुपर्छ र उच्‍च स्वार्थ अँगाल्‍नुपर्छ”—कस्तो सानदार अलङ्कार! यो उच्‍च चरित्र र दृढ निष्ठाको एक शैलीजस्तो मात्र सुनिनु दुःखको कुरा हुन सक्छ, तर यो मानिसहरूले पालन गर्नुपर्ने सत्यताको सिन्द्धान्त होइन। तथ्य के हो भने, “नीच स्वार्थ त्याग्‍नुपर्छ र उच्‍च स्वार्थ अँगाल्‍नुपर्छ” भन्‍ने यो भनाइ र मानिसहरूलाई अरूको खातिर आफ्नो हित त्याग्‍न लगाउने कार्यको आखिरी उद्देश्य वास्तवमा आफूलाई अरूद्वारा सेवा गरिने कुरा सुनिश्‍चित गर्नु हो। मानिसहरूको उद्देश्य र अभिप्रायको दृष्टिकोणबाट हेर्दा, यो भनाइमा शैतानी दर्शनहरू र लेनदेन समावेश छन्। के तैँले यसबाट “नीच स्वार्थ त्याग्‍नुपर्छ र उच्‍च स्वार्थ अँगाल्‍नुपर्छ” भन्‍ने भनाइमा सत्यताको सिद्धान्त छ कि छैन भनेर निर्धारण गर्न सक्छस्? त्यसमा सत्यताको सिद्धान्त बिलकुलै छैन! यो व्यवहारको सिद्धान्त हुँदै होइन, यो त पूरै शैतानी दर्शन हो, किनभने नीच स्वार्थ त्याग्‍ने मानिसहरूको उद्देश्य उच्‍च स्वार्थ अँगाल्‍नु हो। यस्तो अभ्यास उच्‍च होस् वा अशिष्ट, यो त बस मानिसहरूलाई बाँध्‍ने नियम मात्र हो। यो व्यावहारिक देखिन्छ, तर सारमा यो बेतुकको र निरर्थक छ। तँलाई जे आइपरे पनि, अरूको खातिर आफ्नो हित त्याग्‍नुपर्छ भनेर भन्‍ने मात्र गरिन्छ। चाहे तँ इच्छुक होस् या नहोस्, वा चाहे तैँले यो गर्न सक् या नसक्, अनि परिस्थिति जेसुकै होस्, यसले तँलाई अरूको खातिर आफ्नो हित त्याग्‍न मात्र लगाउँछ। यदि तैँले “नीच स्वार्थ त्याग्‍न” सकिनस् भने, तँलाई “उच्‍च स्वार्थ अँगाल्‍नुपर्छ” भन्‍ने वाक्यांशले प्रलोभनमा पार्छ, जसले गर्दा तैँले अरूको खातिर आफ्नो हित त्याग्‍न सकिनस् भने पनि, उच्‍च स्वार्थ त्याग्‍न चाहँदैनस्। “उच्‍च स्वार्थ अँगाल्‍ने” सोचले मानिसहरूलाई बहकाउँछ। यस्तो परिस्थितिमा, निर्णय गर्नु गाह्रो हुन्छ। त्यसोभए के अरूको खातिर आफ्नो हित त्याग्‍नु आफूलाई व्यवहारमा ढाल्‍ने सिद्धान्त हो त? के यसले सकारात्मक परिणाम ल्याउन सक्छ? हरेक व्यक्तिले आफूलाई एकदमै राम्ररी ढाकछोप गर्छ, अनि चरम उच्‍चपन, मर्यादा र चरित्र देखाउँछ, तर अन्त्यमा परिणाम के हुन्छ? यसबाट शुन्य नै हात लाग्‍नेछ भनेर मात्र भन्‍न सकिन्छ, किनभने यसो गरेर अन्य मानिसको प्रशंसा मात्र पाउन सकिन्छ, सृष्टिकर्ताको अनुमोदन पाउन सकिँदैन। यो कसरी भयो? के यो हरेकले परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरू पालन गर्नुको र शैतानी दर्शनहरू पछ्याउनुको परिणाम हो? यदि हरेकले परमेश्‍वरको वचन स्विकार्छ, सही विचार र दृष्टिकोण मान्छ, सत्यताको सिद्धान्तमा लागिरहन्छ, र जीवनमा परमेश्‍वरद्वारा डोऱ्याइएको दिशा पछ्याउँछ भने, जीवनको सही मार्गमा हिँड्न मानिसहरूलाई सजिलो हुनेछ। के अरूको खातिर आफ्नो हित त्याग्‍नुभन्दा यसरी अभ्यास गर्नु उत्तम हो? यसरी अभ्यास गर्नु भनेको सत्यताको सिद्धान्त पालन गर्नु र परमेश्‍वरको वचनअनुसार ज्योतिमा जिउनु हो, ढोँगको मार्गमा शैतानलाई पछ्याउनु होइन। शैतानी दर्शनहरू, साथै परम्परागत संस्कृतिका नैतिक आचरणसम्बन्धी भनाइहरूबाट आउने सबै विभिन्‍न विचारहरू त्यागेर अनि सत्यता स्विकारेर र परमेश्‍वरको वचनअनुसार जिएर मात्रै वास्तविक मानव स्वरूपमा जिउन र परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ।

हामीले माथि सङ्गति गरिसकेको कुराको आधारमा के तिमीहरू नैतिक आचरणसम्बन्धीका भनाइहरूबारे कुनै निष्कर्षमा पुगेका छौ? नैतिक आचरण बारेका यी सबै विभिन्‍न भनाइहरू मानिसहरूको सोच, दृष्टिकोण र बाहिरी व्यवहारलाई नियन्त्रण गर्ने नीतिनियम र चलन मात्र हुन्। ती व्यवहारको सिद्धान्त वा मापदण्ड हुँदै होइनन्, र ती हर प्रकारका मानिस, मामिला र परिस्थितिको सामना गर्दा मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त होइनन्। त्यसोभए, मानिसहरूले कुन सिद्धान्तहरू पालन गर्नुपर्छ? के हामीले यसबारे सङ्गति गर्नु पर्दैन? कोही भन्छन्: “मानिसहरूले पालन गर्नुपर्ने सत्यताको सिद्धान्त र नैतिक आचरणसम्बन्धी ती भनाइहरूको नीतिनियम तथा चलनबीच के भिन्‍नता छ?” मलाई बता, के कुनै भिन्‍नता छ? (छ।) कुन पक्षमा भिन्‍नता छ? नैतिक आचरण बारेका भनाइहरू मानिसहरूको सोच, दृष्टिकोण र व्यवहारलाई नियन्त्रण गर्ने नीतिनियम र चलन मात्र हुन्। मानिसहरूलाई आइपर्ने सबै विभिन्‍न मामिलाको सन्दर्भमा भन्‍नुपर्दा, तिनले मानिसहरूमाथि तिनीहरूको व्यवहारलाई नियन्त्रण गर्ने र तिनीहरूको हातखुट्टा बाँध्ने मापदण्डहरू लादेका छन्, यसरी तिनीहरूलाई विभिन्‍न मानिस, मामिला र परिस्थितिलाई सम्हाल्ने सही सिद्धान्त र तौरतरिका खोज्न नदिई यो र त्यो गर्न लगाउँछ। तर, सत्यताको सिद्धान्त फरक छ। परमेश्‍वरको वचनले मानिसहरूलाई तोक्ने बहुपक्षीय मापदण्डहरू त नीतिनियम वा चलन होइनन्, झन् मानिसहरूको सोचाइ र व्यवहारलाई नियन्त्रण गर्ने विभिन्‍न भनाइ हुने त कुरै आउँदैन। बरु, तिनले त मानिसहरूलाई सबै प्रकारका परिस्थितिमा र कुनै कुरा आइपर्दा तिनीहरूले पालन गर्नुपर्ने सत्यताका सिद्धान्तहरू बताउँछन्। त्यसोभए, वास्तवमा यी सिद्धान्तहरू के हुन्? किन म परमेश्‍वरको वचन मात्र सत्यता वा सत्यताको सिद्धान्त हो भनेर भन्छु? किनभने परमेश्‍वरको वचनले मानिसहरूलाई तोक्न विभिन्‍न मापदण्डहरू सबै नै सामान्य मानवले प्राप्त गर्न सक्छ, यो तबसम्म हुन्छ जबसम्म कुनै कुरा आइपर्दा तिनले मानिसहरू भावना, चाहना, महत्त्वाकाङ्क्षा र तिनीहरूको भ्रष्ट स्वभावद्वारा प्रभावित र नियन्त्रित नहोऊन्, बरु परमेश्‍वरको वचन र सत्यताको सिद्धान्तअनुसार अभ्यस गरून् भन्‍ने माग गर्छन्, जुन मानिसहरूले पालन गर्न सक्ने सिद्धान्त हो। परमेश्‍वरको वचनको सत्यताका सिदान्तहरूले मानिसहरूले पछ्याउनुपर्ने सही दिशा र उद्देश्यलाई औँल्याउँछन्, अनि ती मानिसहरू हिँड्नुपर्ने मार्ग पनि हुन्। परमेश्‍वरको वचनको सिद्धान्तले मानिसहरूको विवेक र समझलाई सामान्य तवरमा कार्य गराइरहने मात्र होइन, तर जग अर्थात् मानिसहरूको विवेक र समझमा सत्यताको सिद्धान्त पनि स्वभाविक रूपमा थप्छ। यी त मानिसहरूले विवेक र समझद्वारा पालन गर्न र पूरा गर्न सक्ने सत्यताका मानक हुन्। मानिसहरूले परमेश्‍वरको वचनका यी सिद्धान्तहरू पालन गर्दा, तिनीहरूको नैतिकता र निष्ठा वृद्धि हुने होइन, न त तिनीहरूको मानव मर्यादाको सुरक्षा नै हुन्छ। बरु, तिनीहरू जीवनको सही मार्गमा हिँड्न थालेका हुन्छन्। कुनै व्यक्तिले परमेश्‍वरको वचनको सत्यताका यी सिद्धान्तहरू पालन गर्दा, उसमा सामान्य व्यक्तिको विवेक र समझ हुने मात्र होइन, तर उसले विवेक र समझ पाएकोले आफूलाई कसरी व्यवहारमा ढाल्ने भन्‍ने सन्दर्भमा अझ धेरै सत्यताका सिद्धान्तहरू बुझ्छन्। सरल शब्दमा भन्‍नुपर्दा, उसले व्यवहारका सिद्धान्तहरू बुझ्छन्, मानिसहरू र कामकुरालाई हेर्दा अनि आफूलाई व्यवहारमा ढाल्दा र कार्य गर्दा सत्यताका कुन सिद्धान्तहरू प्रयोग गर्ने भनेर थाहा पाउँछ, अनि ऊ आफ्नो भावना, चाहना, महत्त्वाकाङ्क्षा र भ्रष्ट स्वभावद्वारा नियन्त्रित र प्रभावित हुन् छोड्छ। यसरी ऊ पूर्णतया सामान्य व्यक्तिको स्वरूपमा जिउँछ। परमेश्‍वरद्वारा दिइएका यी सिद्धान्तहरूले मूलतः मानिसहरूलाई नियन्त्रण गर्ने र तिनीहरूलाई पापमुक्त हुन रोक्ने भ्रष्ट स्वभावको समस्या हल गर्छन्, जसले गर्दा तिनीहरू आफ्नो पुरानो जीवनमा जिउन, भावना, चाहना, महत्त्वाकाङ्क्षा र भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुन छोड्छन्। अनि यो सबको ठाउँ केले लिन्छ? परमेश्‍वरको वचनको मापदण्ड र सत्यताको सिद्धान्तले लिन्छन्, जुन व्यक्तिको जीवन बन्छन्। सामान्यतया, मानवजातिले पालन गर्नुपर्ने सत्यताका सिद्धान्तहरू पालन गर्न थालेपछि, मानिसहरू देहगत विभिन्‍न समस्याहरूमा जिउन छोड्छन्। अझ स्पष्टसँग भन्‍नुपर्दा, मानिसहरू छल, धोका, र शैतानको नियन्त्रणमा जिउन छोड्छन्। अझै तोकेर भन्‍नुपर्दा, तिनीहरू शैतानले मानिसहरूमा हालिदिने कैयौँ विचार, दृष्टिकोण र जिउने दर्शनको अधीनमा जिउन छोड्छन्। बरु, तिनीहरू मर्यादा र निष्ठामा जिउने मात्र होइनन्, तर स्वतन्त्र भई र मानिसको रूपमा पनि जिउँछन्, जुन सृष्टिकर्ताको सार्वभौमिकताको आधीनमा सृष्टि गरिएको प्राणीको साँचो स्वरूप हो। यो त परमेश्‍वरको वचन तथा सत्यता र परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरूबीचको मूलभूत भिन्‍नता हो।

आजको सङ्गतिको विषय अलि गहन छ। तिमीहरूले यो सुनेपछि यसबारे केही समय मनन गर्नुपर्छ, विचार गर्नुपर्छ र भनिएको कुरा बुझिन्छ कि बुझिँदैन भनेर हेर्नुपर्छ। के तिमीहरूले यो सङ्गतिको आधारमा नैतिक आचरणसम्बन्धीका भनाइहरू र सत्यताबीचको भिन्‍नता पूर्णतया बुझेका छौ? मलाई सबैभन्दा सजिलो शब्दमा बता: नैतिक आचरणसम्बन्धीका भनाइहरूको सार के हो? (नैतिक आचरणसम्बन्धीका भनाइहरू भनेको मानिसहरूको सोच र व्यवहारलाई नियन्त्रण गर्ने नीतिनियम र चलन मात्र हुन्, ती व्यवहारको सिद्धान्त र मापदण्ड होइनन्।) राम्रोसँग बताइस्।

परम्परागत संस्कृतिमा कोङ रोङले[क] ठूला नास्पातीहरू दिएको एउटा कथा छ। तिमीहरूलाई के लाग्छ: के कोङ रोङजस्तो हुन नसक्‍ने कोही असल व्यक्ति होइन र? मानिसहरू कोङ रोङजस्तो हुन सक्‍ने व्यक्ति कुलिन चरित्रको, निष्ठामा दृढ, र निःस्वार्थ रूपमा परोपकारी—अर्थात असल व्यक्ति हुन्छ भनेर सोच्ने गर्थे। के यो ऐतिहासिक कथाको कोङ रोङ सबैले पछ्याएको आदर्श व्यक्ति हो? के यस पात्रले मानिसहरूको हृदयमा निश्‍चित ठाउँ ओगट्को छ? (छ।) तर उसको नामले होइन, उसको सोच र अभ्यास, उसको नैतिकता र व्यवहारले मानिसहरूको हृदयमा ठाउँ ओगटेको हुन्छ। मानिसहरूले यस्ता अभ्यासहरूलाई ठूलो महत्त्व र अनुमोदन प्रदान गर्छन्, अनि भित्रभित्रै कोङ रोङको नैतिक आचरणको प्रशंसा गर्छन्। तसर्थ, यदि तैँले यस्तो व्यक्तिलाई देखिस् जसले अरूका लागि आफ्नो हित त्याग्न सक्दैन, जो कोङ रोङले जस्तो ठूला नास्पतीहरू दिने व्यक्ति होइन भने, तँ ऊसँग भित्रभित्रै चिढिन्छस् र उसलाई तिरस्कार गर्छस्। त्यसोभए, के तैँले चिढिनु र तिरस्कार गर्नु जायज हो? ती कुनै कुरामा आधारित हुनैपर्छ। सबैभन्दा महत्त्वपूर्ण, तैँले सोच् त: “कोङ रोङ सानै थियो र पनि उसले ठूला नास्पतीहरू दिन सक्यो। तर तँ त ठूलो भइसकेको छस्, तैपनि यस्तो स्वार्थी छस्,” अनि तँ उसलाई भित्रभित्रै तिरस्कार गर्छस्। त्यसोभए, के तैँले तिरस्कार गर्नु र चिढिनु कोङ रोङले ठूला नास्पतीहरू दिएको कथामा आधारित छ? (छ।) के यस आधारमा मानिसहरूलाई हेर्नु सही हो? (होइन।) किन सही होइन? किनभने तैँले मानिसहरू र कामकुरालाई हेर्ने आधारको स्रोत सही छैन, किनभने तेरो सुरुवात नै गलत छ। तेरो सुरुवात त कोङ रोङले ठूला नास्पतीहरू दिएको घटनालाई मानिसहरू र कामकुरालाई मापन गर्ने मानकको रूपमा लिनु हो, तर मापन गर्ने यो तरिका र पद्धति गलत हुन्। ती कुन तरिकामा गलत हुन्? ती गलत छन् किनभने तँ कोङ रोङको कथामा लुकेको विचारलाई सही मान्छस्, यसलाई मानिसहरू र कामकुरालाई मापन गर्ने वैचारिक दृष्टिकोणको रूपमा लिन्छस्। तैँले यसरी मापन गर्नुको परिणामस्वरूप अधिकांश मानिसहरू असल छैनन्। के यो मापनबाट प्राप्त परिणाम सही छ? (अहँ, सही छैन।) किन सही छैन? किनभने तेरो मापनको मानक गलत छ। यदि कुनै व्यक्तिले परमेश्वरद्वारा दिइएको शैली र सिद्धान्त प्रयोग गर्छ भने, यस्तो व्यक्तिलाई कसरी मापन गर्नुपर्छ? त्यो व्यक्तिले परमेश्वरको घरको हितलाई कायम राख्छ कि राख्दैन, ऊ परमेश्वरको पक्षमा छ कि छैन, उसमा परमेश्वरप्रति श्रद्धालु हृदय छ कि छैन, र ऊ आफूले गर्ने कुरामा सत्यताको सिद्धान्त खोज्छ कि खोज्दैन भनी विचार गर्दै मापन गर्नुपर्छ: यी पक्षहरूमा आधारित मापन मात्रै सबैभन्दा सही हुन्छ। यस व्यक्तिलाई कुनै कुरा आइपर्दा, यदि उसले प्रार्थना गर्छ, खोजी गर्छ र यसबारे सबैसँग छलफल गर्छ, अनि—कहिलेकाहीँ ऊ परोपरकारी हुन नसके पनि र ऊ सानातिना तरिकामा अलि स्वार्थी भए पनि—यदि उसले गर्ने कुरा परमेश्वरद्वारा माग गरिएका पक्षहरूअनुसार मापन गर्दा मूलतः पर्याप्त छ भने, यो व्यक्ति सत्यता स्विकार्न सक्ने र सही व्यक्ति हो। त्यसोभए, यो निष्कर्ष केमा आधारित छ? (यो परमेश्वरका वचन र मापदण्डहरूमा आधारित छ।) त्यसैले, के यो निष्कर्ष सही हो? यो त यदि तैँले कोङ रोङले ठूला नास्पतीहरू दिएको वैचारिक दृष्टिकोण प्रयोग गरेर मापन गरेको भए, त्योभन्दा निकै धेरै सही हो। कोङ रोङको कथाको वैचारिक दृष्टिकोणले मानिसहरूको अस्थायी व्यवहार र अभ्यासहरू मापन गर्छ, तर परमेश्वर मानिसहरूले यो व्यक्तिको सार नापून्, साथै सत्यता र परमेश्वरको मापदण्डप्रति उसको मनोवृत्ति वास्तवमा कस्तो छ भनेर मापन गरून् भन्ने माग गर्नुहुन्छ। तैँले नैतिक आचरणसम्बन्धीका भनाइहरू व्यक्तिको क्षणिक व्यवहार वा एउटा घटनाको दौरान उसको कार्य वा क्षणिक प्रकटीकरणहरू मापन गर्न प्रयोग गर्छस्। यदि तैँले ती भनाइहरू व्यक्तिको भित्री गुणहरू मापन गर्न प्रयोग गरिस् भने, यो सही हुनै छैन किनभने नैतिक आचरणसम्बन्धीका भनाइहरू प्रयोग गरेर व्यक्तिको भित्री गुणहरू मापन गर्नु भनेको गलत सिद्धान्त प्रयोग गरेर ती मापन गर्नु हो, र तेरो हातमा गलत परिणाम हात लाग्ने छ। भिन्नता तिनको बाहिरी व्यवहारमा हुँदैन, तर तिनको प्रकृति र सारमा हुन्छ। तसर्थ, मानिसहरूलाई नैतिक आचचरणसम्बन्धीका भनाइहरू प्रयोग गरेर मापन गर्नु मूलतः गलत हो। मानिसहरूलाई सत्यताका सिद्धान्तहरू प्रयोग गरेर मापन गर्नु मात्र सही हो। म के भन्दै छु के तैँले बुझिस्?।

नैतिक आचरणसम्बन्धीका भनाइहरूको सार के हो भने, ती मानिसहरूको व्यवहार र सोचलाई नियन्त्रण गर्ने नीतिनियम र चलन हुन्। केही हदसम्म, तिनले मानिसहरूको सोचाइलाई सीमित पार्छन् र नियन्त्रण गर्छन्, अनि सोचको सही अभिव्यक्ति र सामान्य मानवताको सामान्य मापदण्डहरूलाई बन्धनमा राख्छन्। निस्सन्देह, के पनि भन्न सकिन्छ भने तिनले केही हदसम्म सामान्य मानव अस्तित्वका केही नियमहरू उल्लङ्घन गर्छन्, र सामान्य मानिसहरूलाई मानव आवश्यकता र अधिकारबाट वञ्चित पनि गर्छन्। उदाहरणका लागि, “स्‍त्रीजाति सद्गुणी, दयालु र विनम्र हुनैपर्छ” भन्ने आदर्श भनाइले महिलाहरूको मानव अधिकारलाई जबर्जस्ती हस्तक्षेप गरेर नष्ट गर्छ। यसले सम्पूर्ण मानव समाजमा महिलाहरूलाई कस्तो भूमिका खेल्न लगाउँछ? तिनीहरूलाई दासको भूमिका खेल्न लगाउँछ। के कुरा यही होइन? (हो।) यस दृष्टिकोणबाट हेर्दा, नैतिक आचरणसम्बन्धीका यी नीतिनियम र चलनहरूले मानव सोचहरू नष्ट गरेका छन्, सामान्य मानवताका विभिन्न आवश्यकताहरू हटाएका छन्, अनि साथै सामान्य मानवताका विभिन्न सोचहरूको मानव अभिव्यक्तिलाई सीमित पारेका छन्। नैतिक आचरणसम्बन्धीका भनाइहरू मूलतः सामान्य मानिसहरूको आवश्यकताको आधारमा बनाइएको हुँदैन, न त सामान्य मानिसहरूले पूरा गर्न सक्ने मानकको आधारमा नै बनाइएको हुन्छ, तर ती सबै मानिसको कल्पना र महत्त्वाकाङ्क्षी चाहनाको आधारमा बनाइएको हुन्छ। नैतिक आचरणसम्बन्धीका यी भनाइहरूले मानिसहरूको सोचलाई नियन्त्रित र सीमित गर्ने अनि तिनीहरूको व्यवहारलाई बन्धनमा राख्ने मात्र होइन्, तर मानिसहरूलाई झूटा र काल्पनिक कुराहरूको उपासना गर्न र पछि लाग्न पनि लगाउँछन्। तर मानिसहरूले ती प्राप्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू आफूलाई सेतो पोत्न र ढाकछोप गर्नका लागि नाटकबाजी मात्र गर्छन्, ताकि एकदमै मर्यादित देखिने शालीन र उच्च जीवन जिउन सकियोस्। तर तथ्य के हो भने नैतिक आचरणका यी विचार र दृष्टिकोणअनुसार जिउनु भनेको मानव सोचहरू बङ्ग्याउनु र सीमित पार्नु अनि मानिसहरू यी गलत विचार र दृष्टिकोणको आधीनमा असमान्य र विकृत तरिकामा जिउनु हो, होइन र? (हो।) मानिसहरू यसरी जिउन मन पराउँदैनन्, र तिनीहरू यो गर्न चाहँदैनन्, तर तिनीहरू यी वैचारिक जन्जीरहरूको बन्धनबाट मुक्त हुन सक्दैनन्। तिनीहरू सबैले गर्न सक्ने भनेको यी विचार र दृष्टिकोणको अधीनमा मन नलागी-नलागी र इच्छा नलागी-नलागी जिउनु मात्र हो। त्यसका साथै, जन विचार अनि यी विचार र दृष्टिकोणले तिनीहरूको हृदयमा पारेको दबाबको कारण, तिनीहरूले ढोँगको एकपछि अर्को मुकुण्डो लगाएर यस संसारमा नीच अस्तित्व जिउन बाध्य हुनुबाहेक अर्को विकल्प तिनीहरूसँग हुँदैन। यो त मानवजातिका लागि नैतिक आचरणसम्बन्धी भनाइहरूको परिणाम हो। के तिमीहरूले यो बुझेका छौ? (बुझेका छौँ) हामीले नैतिक आचरण बारेका यी भनाइहरूलाई जति धेरै सङ्गति र विश्लेषण गऱ्यौँ, उति नै धेरै मानिसहरूले ती स्पष्टसँग देख्न सक्छन्, र तिनीहरूलाई उति नै धेरै परम्परागत संस्कृतिका यी विभिन्न भनाइहरू सकारात्मक कुरा होइनन् भन्ने लाग्छ। तिनले मानवजातिलाई हजारौँ वर्षदेखि बहकाउँदै र हानि गर्दै आएका छन्, यहाँसम्म कि मानिसहरूले परमेश्वरको वचन सुनिसकेपछि र सत्यता बुझिसकेपछि पनि, आफूलाई परम्परागत संस्कृतिका यी विचार र दृष्टिकोणको प्रभावबाट मुक्त गर्न सक्दैनन्, अनि ती सकारात्मक कुराझैँ गरी तिनको आकाङ्क्षा राख्छन्। धेरै मानिसहरू तिनलाई सत्यताको ठाउँमा पनि प्रयोग गर्छन्, र सत्यतको रूपमा अभ्यास गर्छन्। के तिमीहरूले आजको सङ्गतिद्वारा परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरूलाई अझ राम्ररी र सही तरिकामा बुझेका छौ? (बुझेका छौँ।) अब तिमीहरूले तिनलाई केही मात्रामा बुझेका छौ, नैतिक आचरण बारेका अरू भनाइहरूबारेको सङ्गतिलाई निरन्तरता देऔँ।

अब हामी नैतिक आचरणसम्बन्धीको “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने भनाइबारे सङ्गति गर्ने छौँ। अवश्य नै, नैतिक आचरण बारेका यी भनाइहरू एकदमै भव्य र एकदमै प्रभावशाली छन्, मानौँ ती प्रत्येक भनाइ एक प्रकारको साहसिक भावना र महान् मानिसहरूको गुणहरूले भरिएको छ, अनि त्यो साधारण वा सामान्य व्यक्तिले प्राप्त गर्ने नसक्ने हुन्छ। “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ”—यसका लागि कत्ति धेरै उदार मनको हुनुपर्छ! त्यो गर्न तँमा कति दयालु, परोपकारी र महान् व्यक्तित्व हुनुपर्छ! “सानो ... पैँचो” “उदार मन” सित सम्बन्धित छ, तर त्यसका साथै, यो सम्बन्धले यी दुईबीच अथाह खाडल र ठूलो भिन्‍नता छ भन्‍ने आभास गराउँछ। यसको अर्थ, तैँले “सानो गुनको पैँचो पनि” तिर्नैपर्छ, तर केले? यो उदार मनले, असाध्यै धेरै कार्य वा व्यवहारले वा एकदमै इमानदारीसाथ र एकदमै इच्छुक भएर तिर्नुपर्छ, त्यो बिर्सिनु हुँदैन। यसरी सानो गुनको पैँचो तिर्न कति धेरै कुरा चाहिन्छ, अनि यदि तैँले यसको पैँचो कुनै कम कुराले तिरिस् भने, तँमा विवेक छैन। यो तर्कअनुसार, दया देखाउने व्यक्ति पनि आखिर अनुचित तरिकामा फाइदा उठाउने व्यक्ति होइन र? यो फाइदा उठाउने व्यक्तिले आफूले देखाएको दयाबाट अवश्य नै धेरै लाभ उठाउँछ! उसले सानो गुन गरेर दया देखाउँछ र बद्लामा उदार मनले लिन्छ। यो एकदमै लोभलाग्दो सौदा, र अरूलाई हानि गरेर धेरै लाभ कमाउने तरिका हो। के कुरा यही होइन र? यस जीवनमा, हरेक व्यक्तिले सानो गुन स्विकार्ने छ। यदि उसले यी सबैको पैँचो उदार मनले तिर्नैपऱ्यो भने, उसलाई यो तिर्न जीवनभरि लाग्छ, जसले गर्दा उसले आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारीहरू पूरा गर्न सक्दैन, झन् जीवनको मार्गबारे विचार गर्ने त परै जाओस्। यदि तैँले सानो गुन पाइस् तर त्यसको पैँचो उदार मनले तिर्न सकिनस् भने, तँलाई तेरो विवेकले घोच्छ र समाजले दोष दिन्छ, अनि तैँले आफूलाई विद्रोही, खलनायक, कृतघ्न र अमानव ठान्छस्। तर यदि कसैले त्यो गुन उदार मनले तिर्न सकेको भए नि? उसले भन्‍नेथियो, “मजस्तो कर्तव्यनिष्ठ व्यक्ति अरू कोही छैन, किनभने म सानो गुनको पैँचो पनि उदार मनले तिर्न सक्छु। यसरी मलाई पहिले मदत गर्ने र दया देखाउने व्यक्तिले म कस्तो खालका व्यक्ति रहेछु, अनि मलाई मदत गरेर उसलाई नोक्सान भयो कि भएन, अनि मलाई मदत गर्नु उपयुक्त थियो कि थिएन भनेर देख्न सक्छ। यसरी, उसले यो कहिल्यै बिर्सने छैन, अनि उसलाई सरमसमेत लाग्‍ने छ। त्यसबाहेक, म उसको पैँचो तिरिरहने छु। मैले सानो गुनको पैँचो पनि उदार मनले तिर्न सक्ने भएकोले, के म उच्च चरित्रको व्यक्ति होइ न र? के म सज्जन होइन र? के म महान् व्यक्ति होइन र? के म प्रशंसा पाउन योग्य छैनँ र?” सबैले उसको प्रशंसा र वाहवाही गर्छन्, र यसले उसको भावना जागृत गराउँछ, त्यसैले ऊ भन्छ, “तपाईंहरूले मलाई दयालु, उच्च चरित्रको, परुषहरूमाझ उदाहरण र मानव नैतिकताको नमूनाको रूपमा प्रशंसा गर्नुहुने भएकोले, म मरेपछि मेरो स्मारक बनाएर त्यहाँ ‘उहाँ “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने आदर्शका नमूना हुनुहुन्थ्यो, र उहाँलाई मानव नैतिकताको उदाहरण भन्‍न सकिन्छ भनेर लेख्नुपर्छ।’ ” तर तिनीहरूले स्मारक खडा गरेपछि पनि उसको माटोको प्रतिमा बनाएर मन्दिरमा राख्नुपर्छ र त्यसपछि उसको विशिष्ट नाममा “फलानो-फलानो परमेश्‍वरको तीर्थस्थल” भनेर लेख्नुपर्छ अनि यसको मुन्तिर धूपवेदी खडा गर्नुपर्छ, जहाँ हरेकले उसलाई धूप चढाउनैपर्छ ताकि यो निरन्तर उसको फाइदाका लागि बलोस् भन्‍ने ऊ सोच्छ। त्यसबाहेक, मानिसहरूले आफ्नो घरमा उसको प्रतिमा राख्नैपर्छ, धूप बाल्नैपर्छ, अनि दिनको तीनपल्ट उसलाई घुँडा टेकेर ढोग्नैपर्छ, आफ्ना छोराछोरी र नातानातिनीलाई अनि आउँदा पुस्तालाई ऊजस्तो बन्‍न सिकाउनैपर्छ, यसरी तिनीहरू आफ्ना छोराछोरीलाई ऊजस्तै व्यक्ति, सानो गुनको पैँचो पनि उदार मनले तिर्न सक्ने—मानव नैतिकताको आदर्श र नमूनासँग विवाह गर्नैपर्छ भनेर बताउँछन्। चिनियाँ मानिसहरूको परम्परागत शिक्षण शैली आफ्नो छोराछोरीलाई असल मानिस बन्‍न सिकाउनु हो, अनि यसले दया स्विकारेर यसको पैँचो तिर्ने प्रयास गर्नुमा जोर दिन्छ। यदि तैँले सानो गुन स्विकारिस् भने, यसको पैँचो जीवनभरि कडा मेहनत गरेर अर्थात् उदार मनले तिर्नैपर्छ। छोराछोरी हुर्केपछि, तिनीहरूले पनि आउँदा पुस्तालाई त्यसरी नै सिकाउँछन्, र यो निरन्तर चल्दै जान्छ, एउटा पुस्ता देखि अर्को पुस्तामा हस्तान्तरण हुन्छ। जब यस्तो व्यक्तिले सानो गुनको पैँचो पनि उदार मनले तिर्न सक्छ, तब उसले पनि अन्तिम लक्ष्य हासिल गरेको हुन्छ। उसले के लक्ष्य हासिल गरेको हुन्छ? तिनीहरू सांसारिक मानिसहरू र समाजद्वारा पहिचान र स्वीकार गरिएको हुन्छ। अवश्य नै, यो दोस्रो प्राथमिकताको कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरू उसको चित्र भित्तामा झुण्डाउँछन् र उसको प्रतिमालाई भेटी चढाउँछन्, अनि उसले पुस्ता दर पुस्ता यस संसारको बल्दो धूपको आनन्द लिन सक्छ, अनि उसको आत्मा र विचार यो संसारमा हस्तान्तरण गरिन सक्छ र उसले आउँदा मानिसहरूको पुस्ताको प्रशंसा जित्न सक्छ। अन्त्यमा, ऊ यस संसारको बल्दो धूपले टन्‍न अघाएपछि, के बन्छ? ऊ दियाबलस राजा बन्छ, र उसको लक्ष्य आखिर प्राप्त हुन्छ। यो त शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुको अन्तिम परिणाम हो। सुरुमा, मानिसहरूले परम्परागत संस्कृतिको नैतिक आचरण बारेको एउटा विचार मात्र ग्रहण गर्छन्, जस्तै परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयता। पछि गएर, तिनीहरू यो विचारको मापदण्ड पालन गर्छन्, यो विचार र यो मापदण्डलाई कडिकडाइ साथ अभ्यास गरेर अरूका लागि उदाहरण बसाल्छन् र ती पालन गर्छन्, अनि बाँकी मानवका लागि नैतिकताको नमूना र आदर्श बन्‍ने लक्ष्य हासिल गर्छन्। त्यसपछि तिनीहरू मर्छन्, तिनीहरूले राम्रो नाम छोडिराख्छन्, जुन पुस्ता दर पुस्ता हस्तान्तरण हुन्छ। अन्त्यमा, तिनीहरूले आफूले चाहेको कुरा पाउँछन्, जुन धेरै वर्षसम्म यस संसारको बल्दो धूपको सुगन्ध लिनु र पिशाचहरूको राजा बन्‍नु हो। के यो राम्रो कुरा हो? (होइन।) यो राम्रो कुरा होइन भनेर तँ किन भन्छस्? विश्‍वासीले जीवनमा आकाङ्क्षा राख्ने अन्तिम लक्ष्य यही हो। उसले निश्चित नैतिक आचरण बारेका विचारहरू अनुमोदन गर्छ, त्यसपछि अन्त्यमा सबैले उसलाई असल, दयालु, विशिष्ट र उच्च चरित्रको व्यक्तिको रूपमा प्रशंसा नगरिन्जेल यी नैतिक मापदण्डहरू लागू गर्नमा उदाहरण बसालेर अगवाइ गर्छ। उसको व्यवहार र कार्यको गाथा सारा मानिसहरूमा फैलन्छन्, अनि उसको व्यवहार र कार्यलाई मानिसहरूको पुस्ता दर पुस्ताले अध्ययन र श्रद्धा गर्छ, अन्त्यमा त्यो व्यक्ति सम्पूर्ण पुस्ताका लागि आदर्श नमूना, र अवश्य नै पिशाचहरूको राजा बन्छ। के सांसारिक मानिसहरू हिँड्ने मार्ग यही होइन र? के यो सांसारिक मानिसहरूले आकाङ्क्षा राख्नुको परिणाम होइन र? के यसको सत्यतासँग सम्बन्ध छ? के यसको परमेश्‍वरको मुक्तिसँग सम्बन्ध छ? पटक्कै सम्बन्ध छैन। यो त नैतिक आचरणसम्बन्धी भनाइहरूले मानिसहरूमाथि ल्याउने अन्तिम परिणाम हो। यदि कुनै व्यक्तिले परम्परागत संस्कृतिका सबै विभिन्‍न विचारहरू पुरै स्विकार्छ र पुरै पालन गर्छ भने, निस्सन्देह ऊ हिँड्ने मार्ग पिशाचहरूको मार्ग हो। यदि तँ पिशाचहरूको मार्गमा पूर्ण रूपले हिँड्न थालेको छस् भने, मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको मार्गसँग तेरो कुनै सम्बन्ध हुँदैन, र मुक्तिसँग पटक्कै सम्बन्ध हुँदैन। तसर्थ, यदि तँ सत्यता बुझ्ने आधारमा अझै पनि परम्परागत संस्कृतिका विचारहरूद्वारा सीमित परिएको र प्रभावित भएको छस् र साथै यी विचारहरूको प्रभावमा परेर तिनीहरूको नियम, यी मापदण्ड र भनाइहरू पालन गर्छस्, ती त्याग्‍न वा छोड्न सक्दैनस्, अनि परमेश्‍वरका मापदण्डहरू स्विकार्न सक्दैनस् भने, तैँले पिशाचहरूको मार्ग पछ्याउन थाल्ने छस् र तँ पिशाचहरूको राजा बन्‍ने छस्। तैँले त्यो बुझिस्, होइन त? यो संसारको कुनै सिद्धान्त व भनाइले, संसारको सबैभन्दा उच्च नैतिक स्तरले समेत परमेश्‍वरद्वारा मानवजातिलाई दिइएको मुक्तिको मार्गको ठाउँ लिन सक्दैन। यदि मानिसहरू सही मार्गमा अर्थात् मुक्तिको मार्गमा हिँड्न चाहन्छन् भने, परमेश्‍वरसामु आएर, उहाँको वचन नम्रतापूर्वक र दृढता साथ स्विकारेर, उहाँका सबै विभिन्‍न दाबी र मापदण्डहरू स्वीकार गरेर, अनि परमेश्‍वरको वचनलाई मापदण्डको रूपमा लिई आफूलाई व्यवहारमा ढालेर र कार्य गरेर मात्र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्छन्। नत्र, मानिसहरू जीवनको सही मार्गमा कुनै हालतमा हिँड्न सक्दैनन्, तर सर्वनाशमा पुऱ्याउने मार्गमा शैतानका दर्शनहरू मात्र पालन गर्न सक्छन्। कतिपय मानिसहरू भन्छन्, “के कुनै मध्य मार्ग छ?” छैन, तँ कि परमेश्‍वरको मार्गमा हिँड्, किचाहिँ शैतानको पिशाची मार्ग हिँड्। दुइटा मात्र मार्ग छन्। यदि तँ परमेश्‍वरको मार्गमा हिँड्दैनस् भने, निस्सन्देह शैतानले ल्याउने विभिन्‍न विचारहरू र यस्ता विचारहरूले उत्पन्‍न गर्ने विभिन्‍न पिशाची तौरतरिका पालन गर्छन्। यदि तँ मध्य मार्ग वा कुनै तेस्रो मार्ग अपनाएर सम्झौता गर्न चाहन्छस् भने, त्यो असम्भव छ। के कुरा स्पष्ट भयो? (भयो।) म “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने भनाइलाई थप विस्तार गर्नेछैनँ किनभने यो धेरथोर “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने भनाइजस्तै छ, जसबारे हामीले पहिले सङ्गति गरिसकेका छौँ। यी दुई भनाइहरूको सार निकै समान छ, त्यसैले यसबारे अझ विस्तारमा छलफल गर्नु आवश्यक छैन।

अब हामी नैतिक आचरणसम्बन्धी अर्को भनाइ—आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन—बारे कुरा गरौँ। यो भनाइ बुझ्नु एकदमै सजिलो हुनुपर्ने हो, होइन? यसलाई हामीले पहिले कुरा गरेको नैतिक आचरणबारेका भनाइहरूको मापदण्डसँग तुलना गर्दा, स्पष्टतः यो भनाइ पनि मानिसहरूलाई बाँध्ने अरट्ठो नियम हो। सैद्धान्तिक रूपमा यो भव्य र प्रभावकारी, यसमा कुनै गल्ती छैन, र मानिसहरूसँग व्यवहार गर्नका लागि सरल सिद्धान्त जस्तो देखिए पनि, आफूलाई कसरी व्यवहारमा ढाल्ने वा मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा यो सरल सिद्धान्तले कुनै अर्थ राख्दैन, अनि यसले व्यक्तिको व्यवहार वा जीवन पछ्याइमा कुनै सहयोग गर्दैन। यो मानिसहरूले आफ्नो आचरण र व्यवहारमा पालन गर्नुपर्ने सिद्धान्त होइन, न त यो मानिसहरूले जीवनमा सही दिशा र लक्ष्य पछ्याउने सिद्धान्त नै हो। तैँले यो मानदण्ड पालन गरिस भने पनि, यसले गर्ने भनेकै तँलाई मानिसहरूसँग व्यवहार गर्दा कुनै अनुचित कुरा गर्न रोक्ने मात्र हो, तर यसको अर्थ तँ मानिसहरूलाई वास्तविक प्रेम गर्छस् वा तिनीहरूलाई साँच्चै सहयोग गर्छस् भन्ने होइन, झन् यसले तँ जीवनको सही मार्गमा छस् भनेर साबित गर्नु त परको कुरा हो। शाब्दिक अर्थमा, “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍नुको अर्थ, यदि तँलाई कुनै कुरा मन पर्दैन, वा कुनै कुरा गर्न मन लाग्दैन भने, तैँले अरूलाई पनि त्यो कुरा जबरजस्ती गर्न लगाउनु हुँदैन भन्ने हो। यो बाठोपन र समझदारीजस्तो देखिन्छ, तर तैँले हरेक परिस्थिति सामना गर्न यो शैतानी दर्शन प्रयोग गरिस् भने, धेरै गल्ती गर्नेछस्। सायद तैँले मानिसहरूलाई चोट पुर्‍याउनेछस्, बहकाउनेछस्, वा हानिसमेत गर्नेछस्। जस्तै, कतिपय आमाबुबालाई पढ्न मन पर्दैन, तर आफ्‍ना छोराछोरीलाई पढ्न लगाउन मन पर्छ, र सधैँ तिनीहरूसँग तर्क गर्दै परिश्रम गरेर अध्ययन गर्न प्रेरित गर्छन्। यदि तैँले यहाँ “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने माग लागू गर्नुपर्ने हो भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई पढ्न लगाउनु हुँदैन, किनभने तिनीहरू आफैलाई पढ्न मन पर्दैन। कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर सत्यताको पछि लाग्दैनन्; तैपनि तिनीहरूलाई हृदयमा परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो भन्‍ने थाहा छ। यदि तिनीहरूले आफ्‍ना छोराछोरी परमेश्वरमा विश्वास गर्दैनन् र सही मार्गमा छैनन् भनेर देखे भने, तिनीहरूले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न प्रेरित गर्छन्। तिनीहरू आफै सत्यताको पछि नलागे पनि, आफ्‍ना छोराछोरीलाई यसको पछि लगाएर आशिषित बनेको चाहन्छन्। यस परिस्थितिमा, यदि तिनीहरूले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइ पालन गरे भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न लगाउनु हुँदैन। त्यो त यो शैतानी दर्शनअनुरूप हुनेथियो, र यसले तिनीहरूका छोराछोरीको मुक्ति पाउने मौका पनि नष्ट गर्नेथियो। यो परिणामको जिम्‍मेवार को हुन्छ? नैतिक आचरणसम्बन्धीको आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने परम्परागत भनाइले के मानिसहरूलाई हानि गर्दैन र? अर्को उदाहरण पनि छ। कतिपय आमाबुबा कर्तव्यनिष्ठ र नियमबद्ध जीवन जिउनुसँग सन्तुष्ट हुँदैनन्। तिनीहरू खेतमा मेहनत गर्न वा आफ्नो परिवारको पालनपोषण गर्न काम गर्न इच्छुक हुँदैनन्। बरु तिनीहरू छल्न, ठग्न वा जुवा खेल्न मन पराउँछन्, यसरी बेइमान धन कमाउन अधार्मिक माध्यम चलाउँछन्, ताकि उच्च जीवन जिउन, रमाइलो गर्न र देहगत सुख उपभोग गर्न सकियोस्। तिनीहरू इमानदार काममा संलग्न हुन वा सही मार्ग पछ्याउन मन पराउँदैनन्। तिनीहरू यो कुरा चाहँदैनन्, होइन त? यो राम्रो होइन भन्ने तिनीहरूलाई मनमा थाहा छ। यस स्थितिमा तिनीहरूले कसरी आफ्ना छोराछोरीलाई शिक्षा दिनुपर्छ? सामान्य मानिसहरू आफ्ना छोराछोरीलाई राम्ररी पढ्न र कुनै सीपमा निपुण बन्न सिकाउँछन् ताकि उनीहरूले भविष्यमा राम्रो जागिर पाउन सकून् र आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्न लगाउन सकून्। यो त आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गर्नु हो, होइन र? (हो।) यो सही हो। तर यदि तिनीहरूले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइ पालन गरे भने, यसो भन्ने छन्, “बाबु, मलाई हेर् त। म जीवनमा सबै प्रकारका कामकुरा गर्न सक्छु, जस्तै खान, पिउन, वेश्यवृत्ति गर्न र जुवा खेल्न इत्यादि। म नपढी वा कुनै सीप नसिकी पनि जिवन जिउन सक्छु। तैँले भविष्यमा मसँग सिक्। तैँले स्कूल जानु र कडा मेहनत गरेर पढ्नु पर्दैन। चोर्नु, छल्नु र जुवा खेल्नु सिक्। र पनि तैँले बाँकी जीवन आरामसँग बिताउन सक्छस्!” के त्यो गर्नु सही हो? के कसैले आफ्ना छोराछोरीलाई यसरी सिकाएको छ? (अहँ, सिकाएको छैन।) यो “आफूले नचाहेको कुरा अरूमाथि” नलाद्नु हो, होइन र? के यी उदाहरणहरूले यो भनाइलाई पूर्ण रूपमा खण्डन गरेका छैनन् र? यसमा केही पनि सही छैन। उदाहरणको लागि, कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू देहगत सहजताहरूको लालसा गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्दा सुस्त हुने उपाय खोज्छन्। तिनीहरू कष्ट भोग्‍न वा मूल्य चुकाउन इच्‍छुक हुँदैनन्। तिनीहरू, “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइलाई राम्रो ठान्छन् र मानिसहरूलाई भन्छन्, “तिमीहरू आफैमा रमाउन सिक्‍नुपर्छ। तिमीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु वा कठिनाइ भोग्‍नु वा मूल्य चुकाउनु पर्दैन। यदि सुस्त हुन सक्छौ भने, सुस्त बन; कुनै कुरामा झारा टार्न सक्छौ भने, झारा टार। आफ्‍नो लागि परिस्थिति कठिन नबनाऊ। हेर त, म यसरी नै जिउँछु—के यो रमाइलो छैन र? मेरो जीवन परिपूर्ण छ! त्यसरी जिएर तिमीहरूले आफूलाई थकित पारिरहेका छौ! तिमीहरूले मबाट सिक्‍नुपर्छ।” के यसले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने माग पूरा गर्छ? यदि तैँले यसरी व्यवहार गरिस् भने, के तँ विवेक र समझ भएको व्यक्ति होस्? (होइन।) यदि व्यक्तिले आफ्‍नो विवेक र समझ गुमायो भने, के उसमा सदगुणको कमी हुँदैन र? सदगुणको कमी हुनु भनेको यही हो। हामी किन यसो भन्छौँ? किनभने तिनीहरू सहजताको लालसा गर्छन्, आफ्‍नो कर्तव्यमा झारा टार्छन्, र अरूलाई पनि उक्साएर र प्रभावित पारेर आफूसँगै झाराटारुवा र सहजताको लालसा गर्ने बनाउँछन्। यसमा समस्या के छ? आफ्‍नो कर्तव्यमा झाराटारुवा र गैरजिम्‍मेवार बन्‍नु छल र परमेश्‍वरको विरोध गर्नु हो। यदि तँ झाराटारुवा भइरहिस् र पश्‍चात्ताप गरिनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ। यसरी मण्डलीबाट धेरै मानिसहरू निकालिन्छ। के तथ्य यही होइन? (हो।) त्यसैले, यो भनाइ पालन गर्नु र मानिसहरूले आफ्नो कर्तव्य लगनशील भई निर्वाह नगरून्, बरु परमेश्वरलाई छल गरून् र धोका दिऊन् भनी सबैलाई आफूजस्तै बन्न उक्साउनु भनेको मानिसहरूलाई हानि र बरबाद गर्नु होइन र? तिनीहरू आफै अल्छे र धूर्त छन्, र अझै अरूलाई कर्तव्य निर्वाह गर्न बाधा दिन्छन्। के यो मण्डलीको काममा बाधा र अडचन ल्याउनु होइन र? के यो परमेश्वरसँग शत्रुता मोल्नु होइन र? के परमेश्वरको घरले यस्ता मानिसहरूलाई राख्छ? मानिलिऊँ, अविश्वासीहरूको कम्पनीमा काम गर्ने व्यक्तिले अरू कर्मचारीलाई उचित तरिकामा काम नगर्न उक्साउँछ। यदि हाकिमले यो कुरा थाहा पाएमा उसलाई कामबाट निकाल्दैन र? हाकिमले निश्चय नै उसलाई निकाल्ने छ। त्यसैले, यदि उसले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दै पनि यो गर्न सक्छ भने, के ऊ परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? यो दुष्ट व्यक्ति र गैरविश्वासी हो जो परमेश्वरको घरमा घुसेको छ। उसलाई हटाउनैपर्छ र निकाल्नैपर्छ! के तिमीहरूले यी उदाहरणहरू सुनेपछि, नैतिक आचरणसम्बन्धीको “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइको सारलाई केही मात्रामा चिन्न सक्छौ? (हामी सक्छौँ।) तैँले कस्तो अन्तिम निष्कर्ष निकालेको छस्? के यो मापदण्ड सत्यताको सिद्धान्त हो? (होइन।) अवश्य नै होइन। त्यसोभए यो के हो त? यो बाहिरी रूपमा राम्रो लाग्ने तर वास्तवमा व्यावहारिक अर्थ नभएको भ्रमित भनाइ मात्र हो।

के तिमीहरू “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने भनाइको समर्थक हौ? यदि कुनै व्यक्ति यो वाक्यांशको समर्थक हो भने, तिमीहरू उसलाई महान् र आदर्श ठान्छौ? कतिपय मानिसहरू यसो भन्छन्, “हेर्नुहोस् त, तिनीहरू जबरजस्ती गर्दैनन्, अरूलाई दुःख दिँदैनन्, वा कठिन परिस्थितिमा पार्दैनन्। के तिनीहरू मजाका छैनन् र? तिनीहरू आफूप्रति सधैँ कठोर हुन्छन् र पनि अरूप्रति सहनशील हुन्छन्; तिनीहरू आफूले नगर्ने कुरा अरूलाई कहिल्यै गर्न लगाउँदैनन्। तिनीहरू अरूलाई धेरै स्वतन्त्रता दिन्छन्, र तिनीहरूलाई प्रशस्‍त न्यानोपन र स्वीकारको अनुभूति गराउँछन्। कस्तो राम्रो व्यक्ति!” के त्यो साँचो हो? “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने भनाइको अर्थ हो, तैँले आफूलाई मन पर्ने र आनन्दित लाग्ने कुरा मात्रै अरूलाई दिनु वा प्रदान गर्नुपर्छ। तर भ्रष्ट मानिसहरूलाई के-कस्ता कुरा मन पर्छ र के कुराले आनन्दित तुल्याउँछ? भ्रष्ट कुराहरू, निरर्थक कुराहरू, र अत्यधिक इच्‍छाहरू। यदि तँ मानिसहरूलाई यी नकारात्मक कुराहरू दिन्छस् र प्रदान गर्छस् भने, के सारा मानवजाति झन्-झन् भ्रष्ट हुँदै जाने छैन र? सकारात्मक कुराहरू झन्-झन् कम हुँदै जानेछन्। के यो तथ्य होइन र? यो तथ्य हो, मानवजाति गहन रूपमा भ्रष्ट तुल्याइएको छ। भ्रष्ट मानिसहरू ख्याति, फाइदा, हैसियत, र देहगत सुखचैनहरू मन पराउँछन्; तिनीहरू सेलिब्रेटी बन्‍न, शक्तिशाली र महामानव बन्‍न चाहन्छन्। तिनीहरू सहज जीवन जिउन चाहन्छन् र कडा परिश्रम गर्न इच्चा गर्दैनन्; तिनीहरू सबै कुरा हातैमा आएका चाहन्छन्। तिनीहरूमध्ये एकदमै थोरैले मात्र सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। यदि मानिसहरूले आफ्‍ना भ्रष्टता र अभिरुचिहरू अरूलाई दिए र प्रदान गरे भने, के हुनेछ? यो तिमीहरूले कल्‍पना गरेजस्तै हुनेछ: मानवजाति झन्-झन् भ्रष्ट मात्र हुँदै जानेछ। “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने विचारका समर्थकहरू मानिसहरूले अरूलाई आफ्‍नो भ्रष्टता, अभिरुचि, र लालची इच्‍छाहरू दिएर वा प्रदान गरेर दुष्टता, सुखसुविधा, पैसा, र प्रगति खोज्नुपर्छ भन्छन्। के यो जीवनको सही मार्ग हो? “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने भनाइ समस्याले भरिएको हुन्छ भनेर प्रस्टै देखिन्छ। यसका भुलचुकहरू अति स्‍पष्ट छन्; यो विश्‍लेषण गर्न र बुझ्नसमेत लायक छैन। अलिकति जाँच गर्दा पनि, यसका त्रुटि र निरर्थकता स्पष्टरूपमा देखिन्छ। तैपनि, तिमीहरूमध्ये धेरै जना यो भनाइद्वारा सहजै फकिन्छौ र प्रभावित हुन्छौ, अनि नबुझी यसलाई स्वीकार गर्छौ। अरूसँग अन्तरक्रिया गर्दा, तिमीहरू आफूलाई चेतावनी दिन र अरूलाई सल्‍लाह दिन यो भनाइ अक्सर प्रयोग गर्छौ। यसो गरेर, तिमीहरू आफ्नो चरित्र निकै उच्च छ, र तिमीहरूको व्यवहार अत्यन्तै समझदार छ भन्‍ने सोच्छौ। तर थाहै नपाई, यी शब्दहरूले तँ जिउने सिद्धान्त र मामिलाहरूमा तैँले लिने अडानलाई प्रकट गरेका हुन्छन्। यसको साथै, तैँले अरूलाई धोका दिएर अनि बहकाएर तेरो जस्तै दृष्टिकोण र अडानले मानिसहरू र परिस्‍थितिलाई हेर्ने तुल्याएको छस्। तैँले वास्तविक मध्यमार्गी व्यक्तिले जस्तो व्यवहार गरेको छस्, र पूर्णरूपमा मध्य मार्ग अपनाएको छस्। तँ भन्छस्, “समस्या जेसुकै भए पनि, यसलाई गम्‍भीररूपमा लिनु आवश्यकता छैन। आफ्‍नो वा अरूका लागि परिस्थिति गाह्रो नबनाऊ। यदि अरूको लागि परिस्थिति गाह्रो बनायौ भने, तिमीहरूले आफ्नो लागि परिस्थिति गाह्रो बनाइरहेका हुन्छौ। अरूलाई दया गर्नु भनेको आफैलाई दया गर्नु हो। यदि तिमीहरू अरूप्रति कठोर भयौ भने, आफूप्रति कठोर भइरहेका हुन्छौ। आफूलाई किन कठिन परिस्थितिमा पार्ने? “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भनेको आफ्ना लागि गर्न सक्ने सबैभन्दा उत्तम, र सबैभन्दा विचारशील कुरा हो।” यो मनोवृत्ति अवश्य नै कुनै पनि कुरामा सतर्क हुने किसिमको होइन। कुनै पनि मामिलामा तँसँग सही अडान वा दृष्टिकोण छैन; तँसँग सबै कुराबारे अस्पष्ट दृष्टिकोण छ। तँ सावधान छैनस् तर कामकुराप्रति आँखा चिम्‍लन्छस्। जब तँ अन्तिममा परमेश्‍वरअघि खडा हुन्छस् र आफ्‍नो लेखा दिन्छस्, तब त्यसमा ठूलो गडबडी भएको हुने छ। किन त्यसो हुन्छ? किनभने तँ सधैँ नै “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भनी भन्छस्। यसले तँलाई धेरै सान्त्वना र आनन्द दिन्छ, तर साथै तँलाई धेरै समस्यामा पार्ने छ, यसले गर्दा तैँले धेरै विषयमा स्पष्ट दृष्टिकोण राख्न वा अडान लिन सक्दैनस्। अवश्‍य नै, यी परिस्थितिहरू सामना गर्दा यसले तँलाई परमेश्‍वरका माग र मापदण्डहरू के-के हुन्, वा तैँले कस्ता परिणाम हासिल गर्नुपर्छ भनेर बुझ्न नसक्ने पनि तुल्याउँछ। तँ कुनै पनि कुरामा सतर्क नहुने हुनाले यी कुराहरू हुन्छन्; तेरो गडबड मनोवृत्ति र दृष्टिकोणको कारण ती हुन्छन्। “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने भनाइ मानिसहरू र परिस्थितिप्रति तँमा हुनुपर्ने सहनशील मनोवृत्ति होइन र? होइन। यो बाहिरबाट सही, आदर्शमय, र दयालु देखिने सिद्धान्त मात्रै हो, तर वास्तवमा यो पूर्णतया नकारात्मक कुरा हो। स्पष्टतः यो मानिसहरूले पालना गर्नुपर्ने सत्यताको सिद्धान्त त झन् पटक्‍कै होइन। परमेश्‍वर मानिसहरूले आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने माग गर्नुहुन्‍न, बरु उहाँ मानिसहरूले फरक-फरक परिस्थिति सम्हाल्दा तिनीहरू आफूले पालना गर्नुपर्ने सिद्धान्तहरूबारे स्पष्ट भएको माग गर्नुहुन्छ। यदि यो सही छ र परमेश्‍वरका वचनहरू र सत्यताअनुरूप छ भने, तँ त्यसमा लागिरहनैपर्छ। अनि तँ यसमा लागिरहनैपर्ने मात्रै होइन, तर तैँले अरूलाई अर्ती दिने, मनाउने, र सङ्गति गर्ने पनि गर्नैपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको इच्‍छा वास्तवमा के हो, र सत्यताका सिद्धान्तहरू के-के हुन् भनेर स्पष्टरूपमा बुझ्‍न सकून्। यो तेरो जिम्‍मेवारी र दायित्व हो। परमेश्‍वरले तँलाई मध्य मार्ग अपनाउनू भनेर भन्‍नुहुन्‍न, र तेरो हृदय कति ठूलो छ भनेर तैँले देखाउनुपर्छ भनेर त झन् भन्‍दै भन्‍नुहुन्‍न। परमेश्‍वरले तँलाई जुन कुराबारे सल्‍लाह दिनुभएको छ र सिकाउनुभएको छ, र उहाँले आफ्‍ना वचनहरूमा जुन कुराहरूबारे बताउनुहुन्छ, ती कुराहरूमा नै तँ लागिरहनुपर्छ: मानदण्ड, मापदण्ड, , र मानिसहरूले पालना गर्नुपर्ने सत्यताका सिद्धान्तहरू। तँ यी कुरामा पटक्कै टाँसिनु र अल्झिरहनु हुँदैन मात्रै होइन, तर तैँले उदाहरण बसालेर, साथै आफूलेजस्तै सत्यताका यी सिद्धान्तहरूमा टाँसिरहन, पालना र अभ्यास गर्न अरूलाई मनाएर, रेखदेख गरेर, सहयोग गरेर र डोऱ्याएर सत्यताका यी सिद्धान्तहरू पनि पालन गर्नैपर्छ। परमेश्‍वर तैँले यो गरेको माग गर्नुहुन्छ—उहाँले तँलाई सुम्पने कुरा यही हो। तैँले अरूलाई बेवास्ता गरेर आफूबाट मात्र माग गर्नु मिल्दैन। तैँले समस्याहरूमा सही अडान लिनुपर्छ, सही मापदण्डमा टाँसिनुपर्छ, र परमेश्‍वरका वचनहरूमा के-कस्ता मानकहरू दिइएका छन् भनेर ठिकसित जान्‍नुपर्छ, र सत्यताका सिद्धान्तहरू के-के हुन् भनेर ठिकसित पत्ता लगाउनुपर्छ भन्ने परमेश्‍वर माग गर्नुहुन्छ। तैँले यो पूरा गर्न नसके पनि, तँ अनिच्‍छुक भए पनि, तँलाई यो मन नपरे पनि, तँमा धारणाहरू भए पनि, वा तैँले यसको विरोध गरे पनि, तैँले यसलाई आफ्‍नो जिम्‍मेवारी, आफ्नो दायित्वको रूपमा लिनैपर्छ। तैँले मानिसहरूलाई परमेश्‍वरबाट आउने सकारात्मक कुराहरूबारे, सही र ठिक कुराहरूबारे सङ्गति दिनैपर्छ, अनि ती अरूलाई सहयोग गर्न, प्रभाव पार्न, र डोऱ्याउन प्रयोग गर्नैपर्छ, ताकि तीबाट मानिसहरूले फाइदा र सुधार पाऊन्, र तिनीहरू जीवनमा सही मार्गमा हिँड्न सकून्। यो तेरो जिम्‍मेवारी हो, र तँ “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्‍ने विचारमा जिद्दी भएर टाँसिनु हुँदैन, जुन विचार शैतानले तेरो मनमा हालिदिएको छ। परमेश्‍वरको नजरमा, त्यो भनाइ जिउने दर्शन मात्रै हो; यो शैतानको चाल भएको एउटा सोच्ने तरिका मात्र हो; यो सही मार्ग हुँदै होइन, न त सकारात्मक कुरा नै हो। परमेश्‍वरले तँबाट माग गर्नुभएको कुरा भनेकै तँ सोझो व्यक्ति बन्नु हो, जसले आफूले गर्नुपर्ने र गर्न नहुने कुरा स्पष्टरूपमा बुझ्छ। उहाँ तँ मानिसहरूलाई खुसी पार्ने वा मध्यमार्गी व्यक्ति बन्नुपर्छ भन्ने माग गर्नुहुन्न; उहाँ तैँले मध्य मार्ग अपनाउनुपर्छ भनेर माग गर्नुहुन्न। जब कुनै कुरा सत्यताका सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ, तैँले भन्‍नुपर्ने कुरा भन्‍नैपर्छ, र बुझ्‍नुपर्ने कुरा बुझ्‍नैपर्छ। यदि कसैले कुनै कुरा बुझ्दैन तर तँ बुझ्छस्, र उसको गल्ती औँल्याएर सहयोग गर्न सक्छस् भने, तैँले यो जिम्‍मेवारी र दायित्व पूर्णतया पूरा गर्नैपर्छ। तैँले हात बाँधेर हेरिबस्‍नु पटक्कै हुँदैन, झन् आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्नेजस्ता शैतानले तेरो मनमा हालिदिएका दर्शनहरूमा टाँसिनु त पटक्‍कै हुँदैन। के तैँले कुरा बुझिस्? (बुझेँ।) जुन कुरा सही हो, त्यो सकारात्मक पनि हो, चाहे तँलाई त्यो मन नपरे पनि, चाहे त्यो गर्ने इच्छा नभए पनि, चाहे तैँले त्यो गर्न वा प्राप्त गर्न नसके पनि, चाहे त्यसको विरोध गरिस् भने पनि, वा त्यसविरुद्ध धारणा विकास गरिस् भने पनि। मानवजातिमा भ्रष्ट स्वभाव र निश्चित संवेग, भावना, चाहना र धारणा छ भन्दैमा परमेश्वरको वचन र सत्यताको सार परिवर्तन हुने छैन। परमेश्वरको वचन र सत्यताको सार कहिल्यै, कहिले पनि परिवर्तन हुने छैन। यदि तैँले परमेश्वरको वचन र सत्यता जानिस्, बुझिस्, अनुभव र प्राप्त गरिस् भने, आफ्नो अनुभव र गवाहीबारे अरूलाई सङ्गति दिनु तेरो दायित्व हो। यसो गर्दा अझ धेरै मानिसहरूले परमेश्वरको इच्छा बुझ्न, सत्यता बुझेर प्राप्त गर्न, परमेश्वरको माग र मानक बुझ्न अनि सत्यताका सिद्धान्तहरू बुझ्ने मदत पाउने छन्। यसो गरेर, यी मानिसहरूले आफ्नो दैनिक जीवनमा समस्याहरू आइपर्दा अभ्यासको मार्ग पाउने छन् र तिनीहरू शैतानको विचार र दृष्टिकोणद्वारा भ्रममा वा बन्धनमा पर्ने छैनन्। नैतिक आचरणसम्बन्धी आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने भनाइ वास्तवमै र साँच्चै मानिसहरूको मन नियन्त्रण गर्ने शैतानको धूर्त चाल हो। यदि तँ सधैँ यसलाई पालना गर्छस् भने, तँ शैतानी दर्शनहरूअनुसार जिउने व्यक्ति होस्; शैतानी स्वभावमा पूर्णरूपले जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको मार्ग पछ्याउँदैनस् भने, तैँले सत्यतालाई प्रेम गर्दैनस् र पछ्याउँदैनस्। जेसुकै भए पनि, तैँले पछ्याउनुपर्ने सिद्धान्त र तैँले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई सकेजति सहयोग गर्नु हो। तैँले शैतानले भन्ने कुरा अभ्यास गर्नु हुँदैन, जुनचाहिँ “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” र मानिसहरूलाई खुसी पार्ने “बाठो” व्यक्ति बन्नुपर्छ भन्ने हो। मानिसहरूलाई आफूले सकेजति सहयोग गर्नु भनेको के हो? यसको अर्थ आफ्ना जिम्‍मेवारी र दायित्व पूरा गर्नु हो। तैँले कुनै कुरा तेरो जिम्‍मेवारी र दायित्वको भाग हो भन्‍ने थाहा पाउनेबित्तिकै, परमेश्‍वरका वचनहरू र सत्यतामा सङ्गति गर्नुपर्छ। आफ्ना जिम्‍मेवारी र कर्तव्य पूरा गर्नु भनेको यही हो। के यो सङ्गतिले मुख्यतः नैतिक आचरणसम्बन्धीको “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइलाई स्पष्ट पारेको छ? के तिमीहरूले यो बुझेका छौ? (बुझेका छौँ।) यो भनाइ तुलनात्मक रूपमा बुझ्न सजिलो छ, र तैँले अत्यधिक विचार-विमर्श नगरी यसमा के गलत छ भनेर चिन्न सक्छस्। यो एकदमै निरर्थक मात्र हो, त्यसैले यसबारे थप विस्तारमा सङ्गति गर्नु आवश्यक छैन।

अब नैतिक आचरणसम्बन्धी अर्को भनाइ—म साथीका लागि गोली खान तयार छु—बारे सङ्गति गरौँ। यो भव्य कथनजस्तो देखिन्छ, जुन मानवजातिमाझ एकदमै प्रचलित छ। विशेषतः भावनालाई मूल्यवान् ठान्ने र भाइचारालाई महत्त्व दिने मानिसहरू यो भनाइलाई धेरै मित्र बनाउने आदर्शको रूपमा अपनाउँछन्। यसलाई प्रयोग गर्ने जुनसुकै युग वा जातीय समहूमा किन नहोस्, नैतिक आचरणसम्बन्धीको “म साथीका लागि गोली खान तयार छु” भन्ने यो भनाइलाई निकै राम्रो ठानिन्छ। भन्नुको मतलब, यसले मानवताको विवेक र समझसँग अपेक्षाकृत राम्रो मेल खान्छ। अझ स्पष्टसँग भन्नुपर्दा, यो मानिसहरूले आफ्नो विवेकमा पालन गर्ने “भाइचारा” को अवधारणासँग मेल खान्छ। भाइचारालाई मूल्यवान् ठान्ने मानिसहरू साथीका लागि गोली खान इच्छुक हुने थिए। तिनीहरूको साथी जति नै कठिन र खतरनाक परिस्थितिमा भए पनि, तिनीहरूले अघि बढेर उनीहरूका लागि गोली खाने थिए। अरूका खातिर आफ्नो हित त्याग्ने मनोभाव यही हो। नैतिक आचरणसम्बन्धीको “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइले मानिसहरूमा हालिदिने कुरा भनेको मुख्यतः भाइचारालाई मूल्यवान् ठान्नु हो। यसका लागि मानिसहरूले पालन गर्नुपर्ने मानक भनेको व्यक्तिले भाइचारालाई मूल्यवान् ठान्नैपर्छ: यो भनाइको सार त्यही हो। यो “भाइचारा” शब्दको अर्थ के हो? भाइचाराको मानक के हो? यो साथीका लागि आफनो हित त्याग्न र उसलाई सन्तुष्ट पार्न सबै कुरा गर्न सक्नु हो। तेरो साथीलाई जे आवश्यक परे पनि, चाहिएको मदत दिनु तेरो नैतिक दायित्व हो, अनि यदि त्यसका लागि जीवन जोखिममा परे पनि परोस्। साँचो साथी बन्न चाहिने कुरा यही हो, अनि यसलाई मात्र साँचो भाइचारा मान्न सकिन्छ। भाइचाराको अर्को अर्थ, साथीका लागि जीवन वा मृत्युको पर्बाह नगरी आफ्नो जीवन जोखिममा पार्न, आफ्नो जिवन अर्पण गर्न वा जीवन खतरामा हाल्न सक्नु हो। यो यस्तो मित्रता हो जसले जीवन जोखिममा पर्ने परीक्षा सहन्छ, यो जीवन-मरणको मित्रता हो अनि यो साँचो भाइचारा हो। यो नैतिक व्यवहारको मानदण्डअनुसार साथीको परिभाषा हो। तँ साँचो साथी बन्न साथीहरूका लागि गोली खान इच्छुक हुनै पर्छ, यो नै आफ्ना साथीहरूसँग व्यवहार गर्दा पालन गर्नुपर्ने नैतिक आचरणको मापदण्ड हो, र यो नै साथीहरू बनाउने सन्दर्भमा मानिसहरूको नैतिक आचरणको मानदण्ड हो। नैतिक आचरणसम्बन्धी “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइ विशेषतः साहसिक र न्यायपूर्ण अनि विशेष गरी महान् र उच्च रूपमा देखिन्छ, अनि यसले मानिसहरूको प्रशंसा र अनुमोदनलाई प्रेरित गर्छ, अनि मानिसहरूलाई यस्तो कुरा गर्ने सक्नेहरू चट्टानको चिराबाट फुत्त निस्कने अर्कै दुनियाँको अमर व्यक्ति हुन् भनेर महसुस गराउँछ, अनि तिनीहरूलाई यी मानिसहरू विशेष गरी शूरवीर वा तरवारबाजजस्तै धर्मी हुन् भनी सोच्न लगाउँछ। त्यसैले, यस्तो निष्कपट र स्पष्ट विचार अनि दृष्टिकोणलाई मानवजातिले सहजै स्विकार्छन्, अनि ती सजिलै तिनीहरूको हृदयमा घुस्छन्। के तिमीहरू “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइबारे यस्तै महसुस गर्छौ? (यस्तै महसुस गर्छौँ।) वर्तमान समयमा साथीका लागि गोली खान तयार हुने मानिसहरू धेरै नभए पनि, अधिकांश मानिसहरू आफ्नो साथी उनीहरूका लागि गोली खान इच्छुक, बफादार, असल मित्र होस्, र समस्या आइपर्दा आफ्नो उसले तुरन्तै कुनै सर्त नराखी मदतको हात बढाओस्, अनि सबै कठिनाइसँग डटेर र खतरामा हताश नबनी उनीहरूका लागि कुनै पनि कुरा गरिदेओस् भन्ने आशा गर्छन्। यदि तैँले पनि तेरो साथीबाट यस्तै माग गर्छस् भने, के यसले तँ अझै साथीका लागि गोली खान तयार हुनुपर्छ भन्ने यस विचारद्वारा प्रभावित र बाँधिएको छस् भनेर देखाउला? के तँ आफू अझै यो पुरानो, पराम्परागत तरिकाको सोचाइअनुसार जिउँछस् भनेर भन्ने छस्? (भन्ने छु।) आजकल मानिसहरू प्रायः “अहिले जनजीवनमा नैतिकता खस्कँदो हालतमा छ, मानिसहरूमा आफ्नो पूर्वजको जस्तो मानसिकता छैन, समय बद्लेको छ, साथीहरू जस्तो हुनुपर्ने हो त्यस्ता छैनन्, मानिसहरू भाइचारालाई पटक्कै मूल्यवान् ठान्दैनन्, मानिसहरूमा मानव न्यानोपन गुमेको छ, अनि आपसी सम्बन्धहरू झन्-झन् टाढिँदै छन्” भनेर दुखेसो पोख्छन्। आजभोली एकदमै कम मानिसहरूले मात्र साथीहरूबीचको भाइचारालाई मूल्यवान् ठान्ने भए पनि, तिनीहरू साथीका लागि आफ्नो जीवन दिने ती उदार र न्यानो हृदय भएका व्यक्तिहरूलाई सम्झेर अझै रमाउँछन्, र तिनीहरूले देखाएको शैलीको आदर गर्छन्। उदाहरणका लागि, साथीका लागि आफ्नो जीवन दिने पुरातन समयका मानिसहरूबारे इतिहासमा हस्तान्तरण हुँदै आएका केही कथालाई ले, विशेष गरी भाइचारा कायम राख्ने मानिसहरूबारे आत्मरक्षा कलाको संसारमा स्थापित कथाहरूलाई ले। अहिलेसम्म, जब मानिसहरू चलचित्र र टेली श्रृङ्खलामा यी कथाहरू हेर्छन्, तब तिनीहरूको हृदय भावनाले ओतप्रोत हुन्छ, र तिनीहरूमा मानव न्यानोपनले भरिएको युगमा फर्केर जाने आशा पलाउँछ, जतिबेला मानिसहरू भाइचारालाई मूल्यवान् ठान्थे। यी कुराहरूले केलाई देखाउँछन्? के तिनले साथीका लागि गोली खाने विचारलाई मानिसहरूको मनमा सकारात्मक कुराको रूपमा श्रद्धा गरिन्छ, र यसलाई असल व्यक्ति बन्न चाहनेहरूका लागि उच्च नैतिक मानकको रूपमा लिइन्छ भनेर देखाउँछन्? (देखाउँछन्।) आजकल मानिसहरूले आफूबाट यस्तो कुरा माग गर्ने आँट नगरे पनि, र यो प्राप्त गर्न नसके पनि, आफ्नो समुदायमा यस्ता मानिसहरू भेटिने, तिनीहरूसँग सङ्गत गर्ने र तिनीहरूसँग मित्रता गाँस्ने आशा गर्छन् ताकि तिनीहरूलाई कठिनाइ आइपर्दा आफ्नो साथीले तिनीहरूका लागि गोली खान सकोस्। नैतिक आचरणसम्बन्धीको यस भनाइबारे मानिसहरूको मनोवृत्ति र दृष्टिकोणलाई हेर्दा, मानिसहरू भाइचारालाई मूल्यवान् ठान्ने यस्तो विचार र दृष्टिकोणद्वारा गहन रूपमा प्रभावित छन् भन्ने स्पष्टै देखिन्छ। मानिसहरू तिनीहरूलाई भाइचाराको मनोभावको आकाङ्क्षा र पालन गर्न प्रोत्साहन दिने यस्तो विचार र दृष्टिकोणद्वारा प्रभावित हुने भएकोले, अवश्य नै तिनीहरू तीअनुसार जिउने धेरै सम्भावना हुन्छ। परिणामस्वरूप, मानिसहरू यस्तो विचार र दृष्टिकोणद्वारा नियन्त्रित र अधीनस्थ हुने झुकाउ राख्छन्, अनि सम्भवतः यस्तो विचार र दृष्टिकोणअनुसार मानिसहरू र कामकुरालाई हेर्छन् अनि आफूलाई व्यवहारमा ढाल्छन् र कार्य गर्छन्, त्यसका साथै, तिनीहरू “के यो व्यक्तिले भाइचारालाई मूल्यवान् ठन्छ?” भनेर प्रश्न गर्दै मानिसहरूलाई न्याय गर्न यस्तो विचार र दृष्टिकोण प्रयोग गर्ने झुकाव राख्छन्। यदि तिनीहरूले भाइचारालाई मूल्यवान् ठान्छन् भने, तिनीहरू राम्रा व्यक्ति हुन्; तर यदि तिनीहरू भाइचारालाई मूल्यवान् ठान्दैनन् भने तिनीहरू सङ्गत गर्न लायक छैनन्, र असल व्यक्ति होइनन्। अवश्य नै, तैँले पनि तेरो आफ्नै व्यवहारलाई नियन्त्रण गर्ने र आफ्नो व्यवहारलाई बन्धनमा राख्ने र न्याय गर्ने सन्दर्भमा भाइचारासम्बन्धी यी विचारहरूद्वारा प्रभावित हुने झुकाव राख्छस्, अनि तिनलाई अरूसँग अन्तरक्रिया गर्ने मापदण्ड र निर्दशनको रूपमा लिन्छस्। उदाहरणका लागि, यस्तो विचार र दृष्टिकोणको गहिरो जरा गाढेर बसेको प्रभावमा, जब तँ दाजुभाइ-दिदिबहिनीहरूसँग सङ्गत गर्छस्, तब आफूले गर्ने हरेक कुरा मापन गर्न आफ्नो विवेक प्रयोग गर्छस्। यो “विवेक” शब्दको अर्थ के हो? तथ्य के हो भने, मानिसहरूको हृदयमा यसको अर्थ भाइचाराबाहेक अरू केही होइन। कहिलेकाहीँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भाइचाराको कारण मदत गरिन्छ, कहिलेकाहीँ तिनीहरूलाई भाइचाराको कारण नै सहानुभूति देखाइन्छ। कहिलेकाहीँ, आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्वरको परिवारमा केही देखावटी प्रयास गर्ने वा त्याग गर्ने वा केही क्षणिक सङ्कल्प गर्ने, यी सबै कुरा वास्तवमा भाइचारालाई मूल्यवान् ठान्ने यस्तो विचारको नियन्त्रणमा परेर नै हुने गर्छन्। के यी घटनाहरूले मानिसहरू यस्तो विचार र दृष्टिकोणद्वारा गहन रूपमा प्रभावित हुन्छन् अनि तिनले बाँधिसकेका र आत्मसात् गरिसकेका छन् भनेर स्पष्ट र निश्चित रूपले देखाउँदैनन् र? मैले “बाँधिसकेका” र आत्मसात् गरिसकेका” भन्नुको अर्थ के हो? के भाइचारालाई मूल्यवान् ठान्ने यस्ता विचार र दृष्टिकोणहरूले मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्न नसक्ने मात्र होइनन् तर त्यसबाहेक ती त मानिसहरूको अस्तित्व र जीवनको दर्शन बनिसकेका छन् अनि मानिसहरू ती पक्रिराख्छन् र तिनलाई सकारात्मक कुरा ठान्छन् भनेर भन्न सकिन्छ? किन म तिनीहरूले तिनलाई सकारात्मक कुरा ठान्छन् भनेर भन्छु? यसको अर्थ के हो भने, जब मानिसहरू परमेश्वरको वचन सुन्छन्, उहाँको वचन अभ्यास गर्छन् र उहाँको आज्ञा मान्छन्, लापरवाह नभई र झारा नटारी आफ्नो कर्तव्य निर्वाह गर्छन्, अझ धेरै मूल्य चुकाउँछन्, र परमेश्वरप्रति विश्वासयोग्य हुन्छन्, तब यो सब व्यवहार निकै हदसम्म भाइचाराको विचारद्वारा नियन्त्रित हुन्छ, अनि भाइचाराको यो तत्वले दूषित बन्छ। उदाहरणका लागि, कतिपय मानिसहरू भन्छन्: “हामी आफूलाई व्यवहारमा ढाल्ने सन्दर्भमा होसियार हुनै पर्छ, हामीले आफ्नो कर्तव्यमा झारा टार्नु हुँदैन! परमेश्वरले हामीलाई एकदमै धेरै अनुग्रह गर्नुभएको छ। ठूलो रातो अजिङ्गले जथाभावी दमन गरिरहेको र सतावट दिइरहेको यस्तो खतरनाक परिस्थितिमा, परमेश्वरले हामीलाई शैतानको प्रभावबाट सुरक्षा दिनुहुन्छ र बचाउनुहुन्छ। हामीले आफ्नो विवेक पटक्कै गुमाउनु हुँदैन, परमेश्वरको प्रेमको ऋण चुकाउन आफ्नो कर्तव्य उचित तरिकामा निर्वाह गर्नैपर्छ! हामीलाई हाम्रो जीवन परमेश्वरले दिनुहुन्छ, त्यसैले हामी उहाँको प्रेमको ऋण चुकाउन उहाँप्रति विश्वासयोग्य हुनैपर्छ। हामी कृतघ्न हुनु हुँदैन!” जोखिम उठाउनुपर्ने र मूल्य चुकाउनुपर्ने कर्तव्यको सामना गर्ने अन्य मानिस छन्, जसले यसो भन्छन्: “यदि अरू अघि सरेनन् भने, म अघि सर्छु। मलाई खतरादेखि डर लाग्दैन!” मानिसहरूले उनीहरूलाई सोध्छन्: “तिमीलाई किन खतरादेखि डर लाग्दैन?” अनि उनीहरू जवाफ दिन्छन्, “के तिमीहरूको व्यवहारमा अलिकति पनि नैतिक निष्ठा छैन? परमेश्वरको परिवारले मलाई राम्रो व्यवहार गर्छ, अनि परमेश्वर मेरो भलो चिताउनुहुन्छ। मैले उहाँलाई पछ्याउने सङ्कल्प गरिसकेको हुनाले, मैले अलि त्याग गरेर खतराहरू मोल्नुपर्छ। ममा भाइचाराको यो मनोभाव हुनैपर्छ र मैले यसलाई मूल्यवान् ठान्नैपर्छ।” अनि यस्तै आदि इत्यादि। के यी घटना र मानिसहरूका यी प्रकटिकरणहरू भाइचारालाई मूल्यवान् ठान्ने यस्तो विचार र दृष्टिकोणद्वारा केही हदसम्म नियन्त्रित हुन्छन्? यस्तो विचार र दृष्टिकोणद्वारा नियन्त्रणमा परेर, मानिसहरूले गर्ने न्याय र छनौट अनि मानिसहरूले धेरैजसो समय प्रकट गर्ने केही व्यवहार र सत्यता अभ्यासबीच कुनै सम्बन्ध छैन। ती क्षणिक आवेग, क्षणिक मनस्थिति वा क्षणिक चाहना मात्र हुन्। किनभने यो सत्यताको सिद्धान्त पालन गर्नु होइन, अनि यो व्यक्तिको कर्तव्य निर्वाह गर्ने व्यक्तिपरक इच्छाबाट आउँदैन, अनि यो सत्यता र सकारात्मक कुराप्रति प्रेमले ओतप्रोत भई गरिँदैन, मानिसहरूबीचको यो भाइचार प्रायः टिक्न सक्दैन, यो अलि समयभन्दा धेरै रहन सक्दैन, न त यो धेरै लामो नै रहन सक्छ। केही समयपछि मानिसहरूको ऊर्जा सकिन्छ, हावा खुस्केको बलुनजस्तै हुन्छ। कतिपय मानिसहरू भन्छन्, “म पहिले किन एकदमै ऊर्जावान् थिएँ? किन म परमेश्वरको घरका निम्ति यी खतरनाक काम लिन अति इच्छुक हुन्थेँ? अहिले त्यो सब ऊर्जा किन हरायो?” त्यस बेला यो तेरो क्षणिक आवेग, चाहना वा सङ्कल्प मात्र थियो, अनि यो अवश्य नै भाइचाराको तत्वद्वारा दूषित भएको थियो। त्यसबारे बताउनुपर्दा, “भाइचारा” भनेको के हो? सरल शब्दमा भन्नुपर्दा, यो क्षणिक मुड वा मनोदशा हो, अर्थात् मानिसहरूले विशेष वातावरण र परिस्थितिमा विकास गर्ने मुड हो। यस्तो मुड एकदमै प्रफुल्ल, एकदमै प्रसन्न र एकदमै सकारात्मक हुन्छ, जसले गर्दा तँ सकारात्मक न्याय र छनौट गर्छस् वा केही भव्य कथनहरू पैदा गर्छस्, र कडा परिश्रम गर्न केही मात्रामा इच्छुक हुन्छस्, तर यस प्रकारको इच्छुकता सत्यतालाई प्रेम गर्ने, सत्यता बुझ्ने वा सत्यता अभ्यास गर्ने साँचो स्थिति होइन। यो त भाइचारालाई मूल्यवान् ठान्ने यस्तो विचार र दृष्टिकोणको नियन्त्रणमा उत्पन्न हुने मुड मात्र हो। यसको सरल व्याख्या यही हो। अझ गहन रूपमा, मेरो दृष्टोकोणबाट हेर्नुपर्दा, भाइचारा भनेको वास्तवमा हडबडी प्रकट हुनु हो। मैले “हडबडी प्रकट हुनु” भन्नुको अर्थ के हो? उदाहरणका लागि, जब मानिसहरू क्षणिक खुसी हुन्छन्, तब तिनीहरू नखाई वा नसुती दिन-रात बिताउन सक्छन्, र पनि तिनीहरूलाई भोक वा थकाइ लाग्दैन। के यो सामान्य कुरा हो? सामान्य स्थितिमा, खाना खाएन भने मानिसहरूलाई भोक लाग्ने छ, र रातभरि राम्ररी सुतेनन् भने तिनीहरू थकित र तन्द्रामा हुने छन्। तर तुरुन्तै तिनीहरू प्रफुल्ल मुडमा हुन्छन्, तिनीहरूलाई भोक, निद्रा वा थकाइ महसुस हुँदैन, के यो असमान्य कुरा हो? (हो, यो असामान्य कुरा हो।) के यो स्वाभाविक तवरमा जीवन स्वभाव प्रकट भएको हो? (होइन।) यदि यो सामान्य प्रकटीकरण होइन भने, के हो त? यो हडबडी हो। हडबडी भनेको पनि के हो? यो भनेको मानिसहरूले क्षणिक खुसी वा क्रोधजस्ता असामान्य भावनाहरूको कारण कुनै विवेकहीन स्थितिमा हुँदा केही चरम व्यवहारहरू देखाउनु हो। यी चरम व्यवहारहरू के हुन्? कहिलेकाहीँ तिनीहरू खुसी हुँदा, आफ्नो घरका सबैभन्दा बहुमूल्य कुराहरू अरूलाई दिन्छन्, वा कहिलेकाहीँ रिसको झोँकमा कसैलाई छुरीले घोपेर मार्छन्। के यो हडबडी होइन? यी चरमसीमाका व्यवहार हुन्, जुन मानिसहरू विवेकहीन अवस्थामा हुँदा हुँदछ: यो हडबडी हो। कतिपय मानिसहरू विशेष गरी आफ्नो कर्तव्य पहिलोपटक थाल्दा खुसी हुन्छन्। तिनीहरूलाई खाने बेलामा भोक लाग्दैन, र सुत्ने बेलामा निद्रा लाग्दैन। त्यसको सट्टा तिनीहरू रुन्छन्, “परमेश्वरका लागि त्याग गर्, परमेश्वरका लागि मूल्य चूका, र कुनै पनि कठिनाइ सहने गर्!” तिनीहरू खुसी नहुँदा कुनै कुरा गर्न चाहँदैनन्, देखेजति सबैलाई मन पराउँदैनन्, र अबउसो विश्वास नगर्ने विचारसमेत गर्छन्। यो सब हडबडी हो। यो हडबडी कसरी आयो? के यो मानिसहरूको भ्रष्ट स्वभावबाट आएको हो? यसको जड केलाउँदा, यो मानिसहरूले सत्यता नबुझेकोले र सत्यता अभ्यास गर्न नसकेकोले गर्दा भएको हो। मानिसहरूले सत्यता नबुझ्दा, तिनीहरू विभिन्न विचलित सोचहरूद्वारा प्रभावित हुन्छन्। तिनीहरूले विभिन्न विचलित र नकारात्मक सोचको प्रभावमा परेर विभिन्न विवेकहीन र असामान्य मुड विकास गर्छन्। यी मुडमा हुँदा, तिनीहरूले सबै प्रकारको रिसउठ्दो न्याय गर्छन् र व्यवहार देखाउँछन्। यो यस्तै हुन्छ, होइन त? “म साथीका लागि गोली खान तयार छु” भन्ने यो वैचारिक दृष्टिकोणको सार के हो? (यो हडबडी हो।) त्यो सही हो, यो हडबडी हो। त्यसैले, के “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइमा कुनै विवेकीपन छ? के यो सिद्धान्तअनुरूप छ? के यो मानिसहरूले पालन गर्नुपर्ने सकारात्मक कुरा हो? अवश्य नै होइन। साथीका लागि गोली खाने कुरा अविवेकी कुरा हो, यो आवेग हो र यो हडबडी हो। यो मामिलालाई विवेकी ढङ्गमा सम्हाल्नैपर्छ। के तैँले भाइचारालाई साथीका लागि गोली खाने हदसम्म मूल्यवान् ठान्दैनस् भने ठिकै छ? के तैँले साथीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म मात्र मदत गरे ठिकै छ? कसरी कामकुरा सही गर्नु? विशेष गरी भाइचारालाई मूल्यवान् ठानेको देखिने म साथीका लागि गोली खान तयार छु भन्नेजस्ता विचार र दृष्टिकोणहरू किन गलत छन्? तिनमा के गल्ती छ? यो मामिला स्पष्ट पार्नुपर्छ। यो मामिला स्पष्ट भएपछि, मानिसहरूले यस्ता विचार र दृष्टिकोण पूर्णतया त्याग्ने छन्। तथ्य के हो भने, यो मामिला अत्यन्तै सरल छ। के तिमीहरू यसलाई स्पष्टसँग व्याख्या गर्न सक्छौ? यस मामिलाबारे तिमीहरूसँग कुनै दृष्टिकोण छैन, भन्नुपर्ने कुनै कुरा छैन। यसले एउटा कुरा पुष्टि गर्छ, त्यो के हो भने मैले “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइलाई विश्लेषण गर्नुअघि तिमीहरू सबै यो भनाइलाई पालन गर्ने वा विशेष गरी पुज्ने मानिस थियौ, र साथीका लागि गोली खान तयार मानिसहरूको ईर्ष्या गर्थ्यौ, अनि यस्तो व्यक्तिसँग मित्रता गाँस्न सक्नेहरूको पनि डाह गर्थ्यौ, र यस्तो मित्रता गाँस्नुलाई आनन्ददायी र सम्मान ठान्थ्यौ। के कुरा त्यही होइन र? तिमीहरू यो मामिलालाई कसरी हेर्छौ? (मलाई लाग्छ, “म साथीका लागि गोली खान तयार छु” भन्ने भनाइअनुसार मानिसहरूसँग व्यवहार गर्नु सिद्धान्तविहीन हो र यो सत्यताअनुरूप होइन।) यो जवाफ तँलाई कस्तो लाग्यो? के यसले तँमाथि यस्ता विचार र दृष्टिकोणले लाद्ने बन्धन र जन्जीरहरूलाई हटाउन सक्छ? के यसले यस्तो मामिलालाई तैँले सम्हाल्ने पद्धति र सिद्धान्तलाई परिवर्तन गर्न सक्छ? के यसले यस्तो मामिलाबारे तेरो गलत धारणालाई सच्याउन सक्छ? यदि यसले यसो गर्न सक्दैन भने, यो जवाफ के हो त? (धर्मसिद्धान्त।) धर्मसिद्धान्तबारे बताएर के काम? धर्मसिद्धान्तबारे नबता। धर्मसिद्धान्त कहाँबाट आउँछ? कुरा के हो भने, तैँले यस्तो विचार र दृष्टिकोणको सारलाई स्पष्टसँग देख्दैनस्, तैँले मानिसहरू र कामकुरालाई हेर्ने तरिका अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तरिकाको सन्दर्भमा यस्तो विचार र दृष्टिकोणले पार्ने नकारात्मक प्रभाव र गर्ने हानिलाई पूर्णतया बुझ्दैनस्। तिनमा के गलत छ भनेर तँलाई थाहा हुँदैन, त्यसैले तैँले गर्न सक्ने भनेकै सतही धर्मसिद्धान्तहरू प्रयोग गरेर जवाफ दिने र यो समस्या समाधान गर्ने मात्र हो। अन्तिम परिणाम के हुन्छ भने, धर्मसिद्धान्तहरूले तेरो समस्या हल गर्न सक्दैनन्, अनि तँ अझै यस्तो विचार र दृष्टिकोणको नियन्त्रण र प्रभावमा जिउँछस्।

“साथीका लागि गोली खान तयार हुने” जस्ता विचार र दृष्टिकोणमा के गल्ती छ? वास्तवमा यो प्रश्न निकै सरल छ, कठिन छैन। संसारमा जिउने कोही पनि व्यक्ति चट्टानको चिराबाट फुत्त निस्केर आएको होइन। सबैका आमाबुबा र छोराछोरी छन्, सबैका आफन्त छन्, यो मानव संसारमा कसैको पनि स्वतन्त्र अस्तिव छैन। मैले यसो भन्‍नुको अर्थ के हो? मेरो भन्‍नुको मतलब, तँ यो मानव संसारमा जिउँछस्, र तेरो आफ्नै पूरा गर्नुपर्ने दायित्वहरू छन्। प्रथमतः तैँले तेरा आमाबुबाको देखभाल गर्नैपर्छ, अनि दोस्रो, तैँले आफ्ना छोराछोरी हुर्काउनैपर्छ। यी त तेरो परिवारभित्रका जिम्मेवारीहरू हुन्। समाजमा पनि तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू छन्। तैँले समाजमा कर्मचारी, कृषक, व्यवसायी, विद्यार्थी वा बुद्धिजीवीजस्ता भूमिका निभाउनैपर्ने हुन्छ। तैँले परिवारदेखि समाजसम्म पूरा गर्नुपर्ने धेरै जिम्मेवारी र दायित्वहरू छन्। त्यसको अर्थ, तैँले आफ्नो खानेकुरा, लुगाफाटा, आवास र यातायातबाहेक गर्नैपर्ने धेरै कुरा छन्, अनि तैँले धेरै कुरा गर्नुपर्छ र धेरै दायित्व पूरा गर्नुपर्छ। तैँले मानिसहरू हिँड्ने परमेश्‍वरप्रतिको विश्‍वासको यो सही मार्गबाहेक व्यक्तिको हैसियतमा पूरा गर्नुपर्ने धेरै पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वहरू छन्। तेरो स्वतन्त्र अस्तित्व छैन। तेरो जिम्मेवारी साथीहरू बनाउनु र रमाइलो क्षण बिताउनु वा आफूले कुरा गर्न सक्ने वा मदतकारी कसैलाई खोज्नु मात्र होइन। तेरो अधिकांश जिम्मेवारी—र सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीहरू—तेरो परिवार र समाजसँग सम्बन्धित छन्। यदि तैँले आफ्ना पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वहरू राम्ररी पूरा गरिस् भने मात्र व्यक्तिको रूपमा तेरो जीवन पूर्ण र सिद्ध मानिने छ। त्यसैले, तैँले परिवारमा पूरा गर्नुपर्ने जिम्मेवारीहरूमा के समावेश छन्? तैँले छोराछोरीको हैसियतमा आफ्ना आमाबुबाको सेवा र देखभाल गर्नुपर्छ। तेरा आमाबुबा बिमार हुँदा वा कठिनाइमा पर्दा, तैँले आफ्नो शक्तिले भ्याएसम्म सबै गर्नुपर्छ। तैँले आमाबुबाको हैसियतमा आफ्नो परिवारको पालनपोषण गर्न पसिना बगाउनुपर्छ, अथक प्रयास गर्नुपर्छ, कडा मेहनत गर्नुपर्छ र कठिनाइ सहनुपर्छ, अनि आमाबुबा हुनुको गह्रौँ जिम्मेवारी उठाउँदै आफ्ना छोराछोरीलाई हुर्काउनुपर्छ, तिनीहरूलाई सही मार्गमा हिँड्न सिकाउनुपर्छ र व्यवहारको सिद्धान्त बुझ्न लगाउनुपर्छ। यसैले, परिवारमा तेरो जिम्मेवारी धेरै छन्। तैँले आफ्ना आमाबुबाको देखभाल गर्नैपर्छ र आफ्ना छोराछोरी हुर्काउने जिम्मेवारी उठाउनैपर्छ। गर्नुपर्ने यस्ता धेरै कुरा छन्। अनि समाजमा चाहिँ तेरा के-कस्ता जिम्मेवारीहरू छन्? तैँले नियम-कानुन पालन गर्नैपर्छ, तँसँग अरूलाई व्यवहार गर्ने सिद्धान्तहरू हुनैपर्छ, तैँले काममा सक्दो गर्नैपर्छ र आफ्नो करियरलाई राम्ररी मिलाउनैपर्छ। तेरो अस्सी वा नब्बे प्रतिशत समय र शक्ति यी नै कुरामा खर्च नगरी हुँदैन। भन्‍नुको अर्थ, तैँले आफ्नो परिवार वा समाजमा जे भूमिका निभाए पनि, तँ जुनै मार्गमा हिँडे पनि, तेरो महत्त्वाकाङ्क्षा र आकाङ्क्षा जे भए पनि, हरेक व्यक्तिले बहन गर्नुपर्ने जिम्मेवारीहरू हुन्छन्, जुन उसका लागि व्यक्तिगत तवरमा एकदमै महत्त्वपूर्ण हुन्छन्, र तिनले लगभग सम्पूर्ण समय र शक्ति खान्छन्। पारिवारिक र सामाजिक जिम्मेवारीको दृष्टिकोणबाट हेर्दा, व्यक्तिको रूपमा तँ र तेरो जीवन यस मानव संसारमा आउनुको के महत्त्व छ? यो त तँलाई स्वर्गले दिएको जिम्मेवारी र मिशन पूरा गर्नका लागि हो। तेरो जीवन तेरो मात्र होइन, अनि अवश्य नै यो अरूको होइन। तेरो जीवन तेरो मिशन र जिम्मेवारी, अनि तैँले यस मानव संसारमा पूरा गर्नुपर्ने जिम्मेवारी, दायित्व र मिशनका लागि अस्तित्वमा छ। तेरो जीवन तेरा आमाबुबाको होइन, न त तेरी पत्नी (पति) को नै हो, अनि अवश्य नै यो तेरा छोराछोरीको होइन। झन् यो तेरा सन्ततिको हुनु त परको कुरा हो। त्यसोभए, तेरो जीवन कसको हो त? संसारको व्यक्तिको दृष्टिकोणबाट भन्‍नुपर्दा, तेरो जीवन तँलाई परमेश्‍वरद्वारा दिइएको जिम्मेवारी र दायित्वका लागि हो। तर एक विश्‍वासीको दृष्टिकोणबाट हेर्दा, तेरो जीवन परमेश्‍वरका लागि हुनुपर्छ, किनभने बन्दोबस्त मिलाउने उहाँ नै हुनुहुन्छ र तेरो हर कुरामा उहाँकै सार्वभौमिकता हुन्छ। तसर्थ, तैँले व्यक्तिको हैसियतमा यो संसारमा जिउँदा आफूखुसी आफ्नो जीवन अरूलाई दिनु हुँदैन, र भाइचाराको खातिर जो कोहीका लागि आफ्नो जीवन आफूखुसी अर्पण गर्नु हुँदैन। भन्‍नुको अर्थ, तैँले आफ्नो जीवन तुच्छ बनाउनु हुँदैन। तेरो जीवन अरू जो कोहीका लागि, विशेष गरी शैतानका लागि, यो समाजका लागि र र यो भ्रष्ट मानवजातिका लागि मूल्यहीन छ, तर तेरा आमाबुबा र आफन्तका लागि तेरो जीवन अति महत्त्वपूर्ण छ किनभने तेरो जिम्मेवारी र उनीहरूको अस्तिवबीच अटुट सम्बन्ध हुन्छ। अवश्य नै, अझ महत्त्वपूर्ण कुरा के हो भने तेरो जीवन र सबै कुरा अनि सम्पूर्ण मानवजातिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यबीच अटुट सम्बन्ध छ। परमेश्‍वरको सार्वभौमिकता भएको धेरै जीवनका लागि तेरो जीवन अपरिहार्य छ। सायद तँ आफ्नो जीवनलाई त्यत्तिको मूल्यवान् ठान्दैनस् र सायद तैँले आफ्नो जीवनलाई त्यत्तिको मूल्यवान् ठान्‍नु हुँदैन, तर तथ्य के हो भने तेरो जीवन तेरा आमाबुबा र आफन्तका लागि एकदमै महत्त्वपूर्ण छ, जोसँग तेरो घनिष्ठ बन्धन र अटुट सम्बन्ध छ। किन म त्यसो भन्छु? किनभने उनीहरूप्रति तेरो जिम्मेवारी छ, तिनीहरूको पनि तँप्रति जिम्मेवारी छ, तेरो समाजप्रति जिम्मेवारी छ र समाजप्रतिको तेरो जिम्मेवारी तैँले समाजमा खेल्ने भूमिकासित सम्बन्धित छ। हरेक व्यक्तिको भूमिका र हरेक जीवित अस्तित्व परमेश्‍वरका लागि अपरिहार्य छ, र ती सबै कुरा मानवजाति, यो संसार र यो ब्रह्माण्डमाथि परमेश्‍वरको सार्वभौमिकताका अपरिहार्य भाग हुन्। परमेश्‍वरको नजरमा, हरेक जीवन बालुवाको कणभन्दा पनि नगण्य र कमिलाभन्दा पनि अपहेलित छ। तैपनि, प्रत्येक व्यक्ति जीवन, जीवित र सास फेर्ने जीवन भएकोले परमेश्‍वरको सार्वभौमिकताभित्र, व्यक्तिले खेल्ने भूमिका महत्त्वपूर्ण नभए पनि, ऊ पनि अपरिहार्य छ। तसर्थ, यसलाई यी पक्षबाट हेर्दा, यदि कुनै व्यक्तिले खुसीसाथ साथीका लागि गोली खान तयार हुन्छ र यसो गर्ने सोच्छ मात्र होइन तर कुनै पनि क्षण यसो गर्न तयार हुँदै आफ्नो पारवारिक जिम्मेवारी, सामाजिक जिम्मेवारी, परमेश्‍वरले उसको जिम्मामा दिएको मिशन र कर्तव्यसमेत वास्ता नगरी आफ्नो जीवन दिन्छ भने, के त्यो गलत होइन र? (हो, गलत हो।) यो विश्‍वासघात हो! परमेश्‍वरले मानिसलाई दिने सबैभन्दा बहुमूल्य कुरा यो सास हो, जसलाई जीवन भनिन्छ। यदि तँ कुनै साथीलाई आफ्नो जीवन सुम्पन योग्य ठान्छस् र उसलाई आफ्नो जीवन त्यतिकै दिन्छस् भने, के यो परमेश्‍वरप्रति विश्‍वासघाती बन्‍नु होइन र? के यो जीवनको अनादर गर्नु होइन र? के यो परमेश्‍वरप्रति अवाज्ञाकारी कार्य होइन र? के यो परमेश्‍वरविरुद्ध विद्रोह गर्नु होइन र? (हो त्यही हो।) स्पष्टतः यो त तैँले आफ्नो परिवार र समाजमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू त्याग्‍नु हो र परमेश्‍वरले दिएको मिशनबाट पछि हट्नु हो। यो विश्‍वासघात हो। व्यक्तिको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यस जीवनमा लिनुपर्ने जिम्मेवारीहरू—पारिवारिक जिम्मेवारी, सामाजिक जिम्मेवारी, र परमेश्‍वरले तँलाई दिएका मिशनहरू—हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यी जिम्मेवारी र मिशन हुन्। यदि तैँले क्षणिक भाइचाराको भावनामा बगेर र क्षणिक आवेगमा आएर आफ्नो जीवन त्यतिकै अर्काका लागि दिइस् भने, के तेरा जिम्मेवारीहरू अझै रहन्छन्? त्यसपछि तँ मिशनबारे कसरी कुरा गर्न सक्छस्? स्पष्टतया, तँ परमेश्‍वरले तँलाई दिएको जीवनलाई सबैभन्दा बहुमूल्य कुराको रूपमा कदर गर्दैनस्, बरु यो त्यतिकै अरूलाई दिन्छस्, अरूका लागि आफ्नो जीवन त्याग्छस्, आफ्नो परिवार र समाजप्रतिको जिम्मेवारीहरूलाई पूर्णतया अनादार गर्छस् वा छोड्छस्, जुन अनैतिक र अनुचित कुरा हो। त्यसोभए, म तिमीहरूलाई के बताउने प्रयास गर्दै छु त? तँ आफ्नो जिवन त्यतिकै नत्याग् वा अरूलाई नदे। कतिपय मानिसहरू भन्छन्, “के म यो आफ्ना आमाबुबालाई दिन सक्छु? यो मेरी प्रेमिकालाई दिँदा कसो होला, के यो ठिक हो?” यो ठिक होइन। किन ठिक होइन? परमेश्‍वर तँलाई जीवन दिनुहुन्छ र तेरो जीवन निरन्तर चल्न दिनुहुन्छ ताकि तैँले तेरो परिवार र समाजप्रति आफ्नो जिम्मेवारी अनि परमेश्‍वरले तँलाई सुम्पेको मिशन पूरा गर्न सकोस्। यो तैँले आफ्नो जीवनलाई खेलाँची रूपमा लिनका लागि होइन, किनभने तँ अरूलाई आफ्नो जीवन दिने वचन दिन्छस्, अरूलाई आफ्नो जीवन दिन्छस्, अरूका निम्ति आफ्नो जीवन खर्चिन्छस्, र अरूलाई आफ्नो जीवन समर्पित गर्छस्। यदि व्यक्तिले आफ्नो जीवन गुमायो भने, के उसले अझै आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारी र आफ्नो मिशन पूरा गर्न सक्छ? के यो अझै गर्न सकिन्छ? (सकिँदैन।) अनि जब व्यक्तिको पारिवारिक र सामाजिक जिम्मेवारीहरू हुँदैनन्, तब के उसले निर्वाह गरेको सामाजिक भूमिका अझै रहन्छ? (रहँदैन।) जब कुनै व्यक्तिले गर्ने गरेको सामाजिक भूमिका रहँदैन, तब के उसको मिशन अझै रहन्छ? रहँदैन, त्यो रहँदैन। जब व्यक्तिको मिशन र सामाजिक भूमिका रहँदैनन्, तब के परमेश्‍वरले जुन कुरामाथि सार्वभौम शासन गर्नुहुन्छ, त्यो अझै रहन्छ त? परमेश्‍वरले सार्वभौम शासन गर्ने कुरा जीवित थोक, जीवनसहितको मानवजाति हुन्, अनि जब उनीहरूको सामाजिक जिम्मेवारी र जीवन रहँदैनन्, र तिनीहरूका सबै सामाजिक भूमिका शून्यमा फर्किन्छन्, के यो परमेश्‍वरले सार्वभौम शासन गर्ने मानवजातिलाई र परमेश्‍वरको व्यवस्थापन योजनालाई शून्यमा फर्काउने कोसिस होइन र? यदि तैँले यो गरिस् भने, के यो विश्‍वासघात होइन र? (हो।) यो वास्तवमा विश्‍वासघात हो। तेरो जीवन तेरा जिम्मेवारी र मिशनहरूका लागि मात्र अस्तित्वमा छ, अनि तेरो जीवनको मूल्य तेरा जिम्मेवारी र मिशनहरूमा मात्र झल्काउन सकिन्छ। त्यसबाहेक, साथीका लागि गोली खान तयार हुनु तेरो जिम्मेवारी र मिशन होइन। परमेश्‍वरद्वारा जीवन दिइएको व्यक्तिको रूपमा तँलाई परमेश्‍वरले सुम्पेको जिम्मेवारी र मिशन पूर गर्नु तैँले गर्नुपर्ने कुरा हो। तर, साथीका लागि गोली खान तयार हुनु तँलाई परमेश्‍वरले दिएको जिम्मेवारी वा मिशन होइन। बरु, यो त तैँले भाइचाराको भावनाले कार्य गर्नु, तेरो आफ्नो स्वैच्छिक सोचाइ, जीवनबारे तेरो गैरजिम्मेवार सोचाइ हो, अनि अवश्य नै, यो शैतानले मानिसहरूको जीवनलाई तिरस्कार गर्न र कुल्चिमिल्ची पार्न तिनीहरूमा हालिदिने एक प्रकारको सोचाइ पनि हो। त्यसैले, समय जहिले आए पनि, तैँले जस्तो प्रकारको हितैषी मित्र बनाए पनि, जीवन नै जोखिममा पर्ने परिस्थितिमा समेत तेरो मित्रता टिके पनि, तँ उसका लागि आफूखुसी गोली खाने वचन नदे, र यस्तो सोचलाई हल्कासित समेत नले, आफ्नो सारा जीवन, तेरो अस्तित्व उसलाई सुम्पनेबारे नसोच्। ऊप्रति तेरो कुनै जिम्मेवारी वा दायित्व छैन। यदि तिमीहरूको रुचि समान छ, व्यक्तित्व समान छ र तिमीहरू एउटै मार्गमा हिँड्छौ भने, एकअर्कालाई मदत गर्न सक्छौ, आफूलाई मन पर्ने कुराबारे आपसमा कुरा गर्न सक्छौ र तिमीहरू घनिष्ठ मित्र बन्‍न सक्छौ, तर यो घनिष्ठ मित्रता एकअर्काका लागि गोली खाने कुराको आधारमा बनिँदैन, न त भाइचारालाई मूल्यवान् ठान्‍ने कुराको आधारमा नै बनिन्छ। तैँले उसका लागि गोली खानु आवश्यक छैन, र तैँले उसका लागि आफ्नो जीवन त्याग्‍नु वा एक थोपा रगत बगाउनुसमेत पर्दैन। कतिपय मानिसहरू भन्छन्: “त्यसोभए, मैले भाइचाराको भावना राख्नुको के काम? म आफ्नो मानवता र हृदयमा सधैँ भाइचारा देखाउन चाहन्छु, त्यसैले मैले के गर्नुपर्छ त?” यदि तँ साँच्चै भाइचारा देखाउन चाहन्छस् भने, आफूले बुझेका सत्यताहरू तैँले अर्को व्यक्तिलाई बताउनुपर्छ। तैँले अर्को व्यक्ति कमजोर भएको देख्दा, उसलाई साथ दे। छेउमा उभिएर मात्र नहेर्; ऊ गलत मार्गमा लाग्दा, सम्झना गरा, सल्लाह दे, र उसको हात थाम्। जब तँ अर्को व्यक्तिको समस्या देख्छस्, तब उसलाई मदत गर्नु तेरो दायित्व बन्छ, तर तैँले उसका लागि गोली खानु पर्दैन, तैँले आफ्नो जीवन उसका लागि दिने वचन दिनु पर्दैन। तेरो ऊप्रतिको जिम्मेवारी भनेको मदत गर्नु, साथ दिनु, सम्झना गराउनु, सुझाव दिनु, वा कहिलेकाहीँ अलि क्षमाशील हुनु र सहनु मात्र हो, तर उसका लागि आफ्नो जीवन त्याग्‍नु होइन्, झन् उसलाई तथाकथित भाइचाराको भावना देखाउने त परको कुरा हो। मेरा लागि त, भाइचारा भनेको केवल आवेगपन हो, र यो सत्यतासँग सम्बन्धित छैन। परमेश्‍वरले मानिसहरूलाई दिएको जीवनसँग तुलना गर्दा, मानिसहरूमाझको भाइचारा त बकवास हो। यो त शैतानले मानिसहरूमा हालिदिने एक प्रकारको आवेगपन, धूर्त चाल हो जसले मानिसहरूलाई भाइचाराको खातिर आवेशमा आएर धेरै कुरा गर्न लगाउँछ, जसलाई भुल्न तिनीहरूलाई गाह्रो हुने छ र त्यसका लागि तिनहरू बाँकी जीवनभरि पछुतो गर्ने छन्। यो अनुचित हो। तसर्थ, तैँले यो भाइचाराको विचार त्याग्‍नु बेस हुन्छ। भाइचाराअनुरूप जिउने नगर्, बरु सत्यता र परमेश्‍वरको वचनअनुरूप जिउने गर्। कम्तीमा पनि तँ आफ्नो मानवता, विवेक र समझअनुरूप जिउनुपर्छ, सबैसँग र सबै कुरासँग विवेकी ढङ्गमा व्यवहार गर्नुपर्छ, अनि सबै कुरा आफ्नो विवेक र समझअनुसार उचित तरिकामा गर्नुपर्छ।

जिम्मेवारी र जीवनसम्बन्धी धेरै भनाइ र विचारबारे सङ्गति गरेर के तिमीहरूले साथीका लागि गोली खान तयार हुने भन्ने यो नैतिक मापदण्डलाई अब बुझ्यौ? अहिले तिमीहरूले बुझेका छौ, त्यसोभए के तिमीहरूमा यस्तो कुरा सम्हाल्नका लागि सही सिद्धान्तहरू छन्? (छन्।) यदि कसैले तँलाई उसका लागि गोली खाइदेऊ भनेर साँच्चै भन्यो भने, तँ के गर्छस्? तँ कस्तो जवाफ दिन्छस्? तैँले यसो भन्‍ने छस्, “यदि तिमी मलाई तिम्रा लागि खोली खाइदेऊ भन्छौ भने, तिमी मेरो ज्यान लिने व्यक्ति हौ। यदि तिमी मेरो ज्यान लिन चाहन्छौ, यदि तिमी मबाट यस्तो माग गर्छौ भने, तिमीले मलाई आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारीहरू पूरा गर्ने अधिकारबाट वञ्चित गर्दै छौ। यो त मलाई मेरो मानव अधिकारबाट वञ्चित गर्नु पनि हो, अनि अझ महत्त्वपूर्ण, मलाई परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने अवसरबाट वञ्चित गर्नु हो। तिमीले मलाई मेरो मानव अधिकारबाट यसरी वञ्चित गर्नु भनेको मेरो अन्त्य हुनु हो! तिमीले मलाई यत्तिका धेरै अधिकारबाट वञ्चित गर्दै छौ र मलाई तिम्रो खातिर मर्न लगाउँदै छौ। तिमी कत्ति स्वार्थी र घृणित हुन सकेको? तैपनि के तिमी अझै मेरो साथी हौ? स्पष्टतः तिमी मेरो साथी होइनौ, मेरो शत्रु हौ।” के त्यसो भन्‍नु सही हो? (हो।) वास्तवमा त्यसो भन्‍नु सही कुरा हो। के तँ त्यसो भन्‍ने आँट गर्छस्? के तैँले साँच्चो यो बुझिस्? यदि कुनै साथीले तँलाई उसका लागि गोली खाइदेऊ भन्छ र तेरो ज्यान माग्छ भने, तँ सुरुमै ऊबाट टाढा भइहाल्नुपर्छ, किनभने ऊ असल व्यक्ति होइन।

उसले तेरा लागि गोली खान सक्छ भन्दैमा ऊ तेरो मित्र बन्‍नुपर्छ भन्‍ने नसोच्। तँ भन्छस्: “मैले तिमीलाई मेरा लागि गोली खाइदेऊ भनिनँ, तिमीले त्यो स्वेच्छाले गरेका हौ। तिमीले मेरा लागि गोली खान सके पनि, तिम्रा लागि मलाई गोली खाइदेऊ भन्‍ने कुरै नसोच। तिमी समझदार छैनौ, तर म सत्यता बुझ्छु, म समझदार छु, र म यो मामिला समझदारीपूर्वक सम्हाल्ने छु। तिमीले मेरा लागि जतिपटक गोली खाएको भए पनि, म आवेशमा आएर तिम्रा लागि खोली खाने छैनँ। यदि तिमी कठिनाइमा छौ भने, म सक्दो मदत गर्ने छु, तर तिम्रो खातिर जिउन मात्र परमेश्‍वरले यो जीवनमा मलाई सुम्पेका जिम्मेवारी र मिशनहरू कदापि त्याग्‍ने छैनँ। मेरो संसारमा जिम्मेवारी, दायित्व र मिशनबाहेक अरू केही कुरा छैन। यदि तिमी मसँग मित्रता गाँस्न चाहन्छौ भने, मेरो जिम्मेवारी र मिशन मिलेर पूरा गर्न मलाई मदत गर, सहयोग गर। तब मात्र तिमी मेरो साँचो साथी हुन्छौ। यदि तिमी मलाई तिम्रा लागि गोली खाइदेऊ भनिरहन्छौ र यस प्रकारको वचन दिन, तिम्रा लागि आफ्नो जीवन त्याग्‍न, तिमीलाई मेरो जीवन दिने वचन दिन लगाइरहन्छौ भने, तिमी तुरन्तै मबाट दूर भइहाल्नुपर्छ, तिमी मेरो साथी होइनौ, म तिमीजस्तो व्यक्तिसँग मित्रता गाँस्न चाहन्नँ र म तिमीजस्तो व्यक्तिको मित्र बन्‍न चाहन्नँ।” त्यसो भन्दा कसो होला? (राम्रो हुन्छ।) यो कसरी राम्रो हुन्छ? यस्तो साथी नबनाउँदा, तँ दबाबमुक्त, चिन्तामुक्त हुन्छस्, तैँले सोचाइको बोझ बोक्नु पर्दैन, र तँ भाइचारालाई मूल्यवान् ठान्‍नेजस्ता विचारहरूको बन्धनमा पर्दैनस्। यदि कसैले वास्तवमा “साथीका लागि गोली खान तयार नहुने तिमीजस्ता मानिसहरू सङ्गत गर्न योग्य हुँदैनन्, र कसैको मित्र बन्‍न सक्दैनन्” भनेर भन्यो भने, के तँलाई यो सुनेर दुःख लाग्‍ने छ? के तँलाई यी शब्दहरूले असर गर्ने छन्? के तँलाई दुःख लाग्छ अनि नकारात्मक र मानिसहरूद्वारा त्यागिएको, अस्तित्वको आभास नभएको र जीवनमा आशा मरेको महसुस हुने छ? यस्तो हुन सक्छ, तर जब तँ सत्यता बुझ्छस्, तब तैँले यो कुरालाई राम्ररी बुझ्न सक्ने छस्, अनि तँ यी शब्दहरूको बन्धनमा पर्ने छैनस्। तैँले आजदेखि सुरु गरेर परम्परागत संस्कृतिका यी कुराहरू त्याग्नैपर्छ, यी बोझहरू बोक्नु आवश्यक छैन। यसरी मात्र तँ जीवनको सही मार्गमा हिँड्न सक्छस्। के तँ यसलाई अभ्यास गर्ने छस्? (गर्ने छु।) अवश्य नै, यो त्यति चाँडै त्याग्‍न सकिने कुरा होइन। मानिसहरूले पहिले आफ्नो मन तयार पार्नैपर्छ, अलिअलि गर्दै मनन गर्ने, अलिअलि गर्दै सत्यता खोज्ने, अलिअलि गर्दै बुझ्ने र त्यसपछि यसलाई सत्यताको सिद्धान्तअनुसार अलिअलि गर्दै अभ्यास गर्ने गर्नैपर्छ। यो नै मानिसहरूसँग व्यवहार गर्न, मानिसहरूसँगको सम्बन्धलाई सम्हाल्न र मानिसहरूसँग सङ्गत गर्न सत्यताको सिद्धान्त प्रयोग गर्नु हो। सङ्क्षेपमा भन्‍नुपर्दा, म तिमीहरूलाई केही आखिरी शब्दहरू भन्‍न चाहन्छु: जीवन र आफ्नो जिम्मेवारीको कदर गर्; आफ्नो कर्तव्य निर्वाह गर्न परमेश्‍वरबाट प्राप्त अवसरको कदर गर् र परमेश्‍वरले तँलाई दिएको मिशनको कदर गर्। तैँले कुरा बुझिस्, होइन त? (हो, बुझेँ।) तैँले यो विषयलाई राम्ररी बुझेको छस्, के त्यो आनन्दको कुरा होइन त? (हो।) यदि तँ यी गलत विचार र दृष्टिकोणको नियन्त्रण र बन्धनमा परिनस् भने, तँलाई ढुक्‍क लाग्‍ने छ। तर तँ अहिले पटक्कै ढुक्‍क छैनस्। भविष्यमा तँ सत्यता पछ्याउने मार्गमा हिँडिस् र यी कुराद्वारा कष्टमा परिनस् भने मात्र तँ साँच्चै ढुक्‍क हुन्छस्। सत्यतालाई मापदण्डको रूपमा लिएर परमेश्‍वरको वचनअनुसार मानिसहरू र कामकुरालाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्नेहरू मात्र साँच्चै चिन्तामुक्त र ढुक्‍क हुन्छन्, शान्ति र आनन्द पाउँछन्, सत्यताअनुसार जिउँछन् र आफूलाई व्यवहारमा ढाल्छन् र तिनीहरूलाई कहिल्यै पछुतो हुने छैन। आजको सङ्गति यतिमै समाप्त गरौँ।

मे ७, २०२२

पादटिप्पणी:

क. प्रसिद्ध चिनियाँ कथामा प्रस्तुत कोङ रोङका विशेषताहरू केटाकेटीलाई शिष्टाचार र भातृप्रेमका मूल्यबारे शिक्षा दिन परम्परागत रूपमा प्रयोग गरिन्छ। त्यो कथामा, कोङ रोङको परिवारले नास्पातीको टोकरी प्राप्त गर्दा, चार वर्षीय कोङ रोङले कसरी ठूला नस्पातिहरू आफ्ना दाजुहरूलाई दिएर आफ्ना लागि सबैभन्दा सानो नास्पाती लिन्छ भनेर बताइएको छ।

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (९)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (११)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्