प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

19 सेप्टेम्बर 2021

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो भनी भन्‍नुभएको हो। त्यसैले सबै जना के कुरामा ढुक्क छन् भने जब प्रभु फर्केर आउनुहुन्छ, उहाँसँग मुक्ति दिने कुनै पनि काम हुनेछैन, उहाँले सबै विश्‍वासीहरूलाई आकाशमा प्रभुलाई भेट्नको लागि उचाल्‍नुहुनेछ, हामीलाई स्वर्गमा लैजानुहुनेछ, र यतिमै यो कुरा समाप्त हुनेछ। प्रभुमा विश्‍वास गर्नेहरूले दृढ़ रूपमा विश्‍वास गर्ने कुरा यही हो। यही कारणले गर्दा धेरैजना अझै पनि आकाशतिर नियालिरहेका हुन्छन्, आफूलाई सीधै उहाँको राज्यमा लैजान प्रभु आउनुहुन्छ भनेर हात बाँधेर प्रतीक्षा गरिरहेका हुन्छन्। तर अहिले ठूलाठूला विपत्तिहरू आइसकेका हुनाले, र धेरैजसोले प्रभुको आगमनलाई नदेखेका हुनाले, तिनीहरूको विश्‍वासमा गिरावट आइरहेको छ र तिनीहरू निरूत्साहित भइरहेका छन्। कतिपयले त शङ्का समेत गर्छन्: के प्रभुको प्रतिज्ञा साँच्चै वास्तविक थियो त? उहाँ आउँदै हुनुहुन्छ कि हुन्न? वास्तवमा, प्रभु येशू धेरै पहिले नै मानिसको पुत्रको रूपमा गुप्त रूपमा आइसक्‍नुभएको छ, र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। तर धेरैजसो मानिसहरूले परमेश्‍वरको आवाज वा मण्डलीहरूका निम्ति पवित्र आत्‍माले बोल्नुभएका वचनहरू सुन्‍ने प्रयास गरिरहेका छैनन्, बरु हरपल तिनीहरूले प्रभु आफूलाई स्वर्गमा लैजान बादलमा आउनुहुन्छ, यसरी आफूले प्रभुलाई स्वागत गर्ने मौका गुमाइरहेको कल्पना गरिराखेका छन्। त्यो जीवन-पर्यन्त पछुतो हुनेछ। यो कुरा प्रभु येशूले क्रूसमा बोल्‍नुभएका वचनहरूलाई मानिसहरूले गर्ने व्याख्यासँग नजिकबाट जोडिएको हुन सक्छ: “यो सकियो।”

हामी यस वाक्यबाट सुरु गरौं। किन धेरै विश्‍वासीहरूले प्रभु येशूले “यो सकियो” भन्नुको अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो भन्‍ने हुन्छ भनी सोच्छन्? के यसको कुनै बाइबलीय आधार छ? के यसलाई पवित्र आत्‍माले पुष्टि गर्नुभएको छ? के प्रभुले मानवजातिलाई मुक्ति दिन थप कुनै काम गर्नेछैन भनी कहिल्यै भन्‍नुभयो? के यी वचनहरूले परमेश्‍वरले आफ्‍नो मुक्तिको काम पूरा गर्नुभएको कुरालाई जनाउँछ भनेर पवित्र आत्माले गवाही दिनुभएको छ? हामीले निश्‍चयताको साथ भन्‍न सक्छौं: छैन। त्यसो भए, किन सबैले प्रभु येशूका यी वचनहरूलाई सबैले परमेश्‍वरको मुक्तिको काम त्यतिबेलै पूर्ण रूपमा पूरा भयो भन्‍ने अर्थमा लिन्छन्? त्यो अलिक हास्यास्पद छ, होइन र? परमेश्‍वरका वचनहरूलाई बुझ्‍नु त्यति सजिलो काम होइन। २ पत्रुस १:२० मा यसो भनिएको छ, “सबभन्दा पहिले यो जान कि पवित्रशास्त्र कुनै पनि अगमवाणीलाई व्यक्तिगत रूपमा अर्थ्याउनु हुँदैन।” आफ्‍नै तरिकाले धर्मशास्‍त्रको अर्थ लगाउनुका परिणामहरू अत्यन्तै गम्‍भीर हुन्छन्। फरिसीहरूका बारेमा विचार गर्नुहोस्—तिनीहरूले मसीहको बारेमा गरिएका अगमवाणीहरूलाई व्यक्तिगत रूपमा अर्थ्याए, र परिणामस्वरूप, मसीह आउनुभयो, तर तिनीहरूले प्रभु येशूलाई आफ्नो व्याख्यासँग नमिल्‍नुभएको देखे। त्यसैले तिनीहरूले उहाँको कामलाई दोष दिए र उहाँलाई क्रूसमा समेत टाँगे। तिनीहरूले अत्यन्तै गम्‍भीर परिणामहरूको सामना गरे। यसले गर्दा प्रभु येशूले तिनीहरूलाई प्रत्यक्ष रूपमा दण्डाज्ञा दिनुभयो। तिनीहरू श्रापित भए!

त्यसैले जब प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुभयो, उहाँले केको बारेमा बताइरहनुभएको थियो? यसलाई बुझ्‍नको लागि आखिरी दिनहरूमा हुने प्रभुको पुनरागमनको बारेमा दिइएका बाइबलीय अगमवाणीहरू, विशेष गरी प्रभु येशूले व्यक्तिगत रूपमा गर्छु भनी भन्‍नुभएका कुराहरू, र उहाँले स्वर्गको राज्यको बारेमा भन्‍नुभएका दृष्टान्तहरूलाई होसियारीसाथ विचार गर्नुपर्छ। यी कुराहरू प्रत्यक्ष रूपमा नै आखिरी दिनहरूको उहाँको कामसँग सम्‍बन्धित छन्। प्रभु येशूले क्रूसमा यसो भन्‍नुहुँदा वास्तवमा उहाँले केको बारेमा बताइरहनुभएको थियो भनी सही रूपमा बुझ्‍नको लागि हामीसँग यी अगमवाणी र दृष्टान्तहरूको आधारभूत बुझाइ हुनुपर्छ। हामीले यसलाई पूर्ण रूपमा बुझेनौं भने पनि, त्यसको अर्थ मानिसलाई मुक्ति दिने परमेश्‍वरको कार्य पूर्ण रूपमा समाप्त भएको थियो भनेर हामीले मान्यता राख्‍न सक्छौं भन्‍ने हुँदैन। यो स्वेच्‍छाचारी, हास्यास्पद विश्‍वास हो। वास्तवमा, यदि हामीले प्रभु येशूका अगमवाणीहरू र स्वर्गको राज्यका दृष्टान्तहरूलाई गम्‍भीर रूपमा ध्यान दियौं भने, हामीले राज्य र प्रभुको पुनरागमन भएपछि उहाँले गर्नुहुने कामको बारेमा आधारभूत बुझाइ प्राप्त गर्न सक्छौं। त्यसपछि हामीले उहाँको “यो सकियो” भन्ने अभिव्यक्तिलाई गलत रूपमा अर्थ लगाउनेछैनौं। प्रभु येशूले यसो भनेर भविष्यवाणी गर्नुभयो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ। … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्ना ५:२२, २७)। र १ पत्रुसमा यसो भनिएको छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। प्रकाशको पुस्तकमा, हामी देख्छौं: “हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:५)। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। प्रभु येशूले स्वर्गको राज्यको बारेमा व्याख्या गर्न धेरै वटा दृष्टान्तहरूको प्रयोग गर्नुभयो, जस्तै “फेरि पनि, स्वर्गको राज्य एउटा जाल जस्तै हो, जसलाई समुद्रमा हानियो र यसमा हरप्रकारका माछा परे: यो भरिएपछि तिनीहरूले यसलाई किनारमा ताने, र बसेर राम्रालाई भाँडाहरूमा जम्मा गरे, र नराम्रालाई फाले। संसारको अन्त्यमा पनि यस्तै हुनेछ: स्वर्गदूतहरू आउनेछन्, र धर्मीहरूबाट दुष्टहरूलाई अलग गर्नेछन्, र तिनीहरूलाई आगोको भट्टीमा फाल्नेछन्: त्यहाँ दाह्रा किटाइ र रुवाबासी हुनेछ(मत्ती १३:४७-५०)। हामीले यी अगमवाणी र दृष्टान्तहरूबाट के देख्‍न सक्छौं भने, प्रभु येशूले उहाँको पुनरागमन भएपछि धेरै काम गर्नुहुनेछ भनी भयो। तर यसको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको सत्यता व्यक्त गर्नु र न्यायको काम गर्नु नै हो। यसले मानिसहरूलाई सबै सत्यतामा प्रवेश गर्नेतर्फ डोर्‍याउनेछ अनि सबैलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ। सिद्ध तुल्याइन सक्‍नेहरूलाई सिद्ध तुल्याइनेछ, र हटाइनेहरूलाई हटाइनेछ। यसले प्रभु येशूले राज्यको बारेमा भन्‍नुभएको सबै कुरालाई पूरा गर्नेछ। गहूँ र सामा, महाजाल, बुद्धिमती र निर्बुद्धि कन्याहरू, भेडा र बाख्रा, र असल नोकर र दुष्ट नोकरका बारेमा विचार गरौं। परमेश्‍वरको घरबाट सुरु हुने न्यायको कामले गहुँलाई सामाबाट, असललाई दुष्ट नोकरहरूबाट, सत्यतालाई प्रेम गर्नेहरूलाई आराम मात्रै चाहनेहरूबाट अलग गर्नेछ। बुद्धिमती कन्याहरू थुमाको विवाह-भोजमा सहभागी हुनेछन् र परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछन्। निर्बुद्धि कन्याहरूलाई के हुनेछ? तिनीहरू रुँदै र दाह्रा किट्दै, विपत्तिमा पर्नेछन्, किनभने तिनीहरूले परमेश्‍वरको आवाज सुनेनन्। यो सबैलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गर्ने, असललाई इनाम र दुष्टलाई दण्ड दिने न्यायको काम हो, र यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई शतप्रतिशत पूरा गर्नेछ: “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्(प्रकाश २२:११)। “हेर, म चाँडै आउँछु; हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ(प्रकाश २२:१२)। जब हामीले प्रभु येशूका अगमवाणीहरूलाई साँचो रूपमा बुझ्छौं, हामीले के देख्छौं भने, आखिरी दिनहरूमा प्रभु मुख्य रूपमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्न आउनुहुन्छ, यसरी सबैलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ र तिनीहरूको परिणाम निर्धारित गर्नुहुन्छ। त्यसो भए, के प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो भनेर उहाँले भन्‍नुभएको हो भनी हामीले साँच्‍चै दाबी गर्न सक्छौं? प्रभु येशू बादलमा ओर्लनुहुनेछ र हामीलाई उहाँसँग भेट गर्नको लागि लैजानुहुनेछ भनेर प्रतीक्षा गर्दै के हामी निरन्तर मूर्ख बनिरहन सक्छौं? के परमेश्‍वरले आखिरी दिनहरूमा काम गर्ने क्रममा व्यक्त गर्नुहुने सबै सत्यतालाई हामीले त्यतिकै निन्‍दा गर्न सक्छौं? के प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न मानिसको पुत्रको रूपमा देहमा फर्कनुहुनेछ भन्‍ने तथ्यलाई निर्धक्‍क इन्कार गर्न सक्छौं? ठूलाठूला विपत्तिहरू पहिले नै आइसकेका छन्, र धर्मका धेरै मानिसहरू अझै पनि उहाँले तिनीहरूलाई कहिल्यै त्याग्‍नुहुनेछैन भन्‍ने ठान्दै प्रभु फर्कनुहुने सपनामा डुबिरहेका छन्। अब बिउँझने समय भयो। तिनीहरू बिउँझेनन् भने, विपत्तिहरू समाप्त भइसकेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वर सबै मानिसहरूकहाँ खुला रूपमा देखा पर्नुभएपछि, परमेश्‍वरले नयाँ स्वर्ग र पृथ्वी बनाइसक्‍नुभएको हुनेछ, र धार्मिक संसारका सबै मानिसहरूले बिलौना गरिरहेका र दाह्रा किटिरहेका हुनेछन्। त्यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्नेछ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुको अर्थ के हो भन्‍ने कुरालाई धेरैले सोध्‍न सक्छन्। यो वास्तवमा अत्यन्तै सरल छ। प्रभु येशूका वचनहरू सधैँ अत्यन्तै व्यवहारिक थिए, त्यसैले जब उहाँले यसो भन्‍नुभयो, उहाँले अवश्य नै उहाँको छुटकाराको कामलाई उल्‍लेख गरिरहनुभएको थियो। तर मानिसहरूले प्रभुका यी व्यवहारिक वचनहरू मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामसँग सम्‍बन्धित छ भनी बुझ्छन्, तर यो पूर्ण रूपमा स्वेच्‍छाचारी अर्थ्याइ हो, किनभने मानिसलाई मुक्ति दिने कार्यलाई परमेश्‍वरले आंशिक रूपमा मात्रै पूरा गर्नुभएको थियो। सबैभन्दा महत्त्वपूर्ण चरण—उहाँको आखिरी दिनहरूको न्यायको काम अझै बाँकी थियो। “यो सकियो” को अर्थ परमेश्‍वरले गर्नुहुने मुक्तिको सबै काम समाप्त भयो भन्‍ने हुन्छ भनेर किन तपाईं दाबी गर्नुहुन्छ? के त्यो हास्यास्पद र अनुचित कुरा होइन र? आखिर, प्रभु येशू किन क्रूसीकरण हुनुभयो? यसद्वारा उहाँले वास्तवमा के हासिल गर्नुभयो? परिणाम के थियो? सबै विश्‍वासीहरूलाई यो कुरा थाहा छ, किनभने यसको बारेमा बाइबलमा स्पष्ट रूपमै लेखिएको छ। प्रभु येशू मानवजातिलाई छुटकारा दिन आउनुभयो। क्रूसीकरणको क्रममा, प्रभु येशू मानवजातिको पापबलि हुनुभयो, उहाँले सबैको पाप लिनुभयो, ताकि मानिसहरूले अबउप्रान्त व्यवस्थाको अधीनमा रही दोषी ठहरिनु र मृत्युदण्ड भोग्‍नु नपरोस्। त्यसपछि मानिसहरूले प्रभुमा विश्‍वास गरेर, प्रार्थना गर्दै उहाँको सामुन्ने पाप स्वीकार गरेर, आफ्‍नो पापको क्षमा र परमेश्‍वरको अद्‍भूत अनुग्रहको आनन्द पाउन सके। त्यो अनुग्रहद्वारा प्राप्त हुने मुक्ति हो, र प्रभु येशूको छुटकाराको कामले हासिल गरेको कुरा यही हो। हाम्रो विश्‍वासद्वारा हाम्रा पापहरू क्षमा गरिए पनि, हामी सधैँ पाप नगरी बस्‍न सक्दैनौं भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। हामी पाप गर्ने, स्वीकार गर्ने, फेरि पाप गर्ने चक्रमा जिइरहेका हुन्छौं। हामी पापबाट उम्‍कन नै सकेका छैनौं। यसको अर्थ के हो त? यसको अर्थ हामीसँग अझै पनि पापी प्रकृति छ, र हामीसँग शैतानी स्वभाव छ, त्यसैले हामीले हाम्रा पाप क्षमा भएपछि पनि पाप गर्न जारी राख्‍ने समस्यालाई समाधान गर्न सक्दैनौं। यसले सबै विश्‍वासीहरूलाई अन्योलमा पार्छ—यो अत्यन्तै पीडादायी कुरा हो। परमेश्‍वरका वचनहरूले भन्छन्, “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, त्यसैले अशुद्ध जोकोहीले उहाँलाई देख्‍न सक्दैनन्। अनि, सधैँ पाप गर्दै र परमेश्‍वरको विरोध गर्दै हिँड्ने मानिसहरू कसरी परमेश्‍वरको राज्यमा प्रवेश-योग्य हुन सक्छन्? मानिसहरू पापबाट पूर्ण रूपमा उम्केर शुद्ध हुन सकेका छैनन्, त्यसैले के मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम साँच्‍चै पूरा भएको हुन सक्छ? परमेश्‍वरको मुक्ति पूर्ण मुक्ति हुनेछ—उहाँले आफ्‍नो कामलाई आधामा छोड्नुहुन्न। त्यही कारणले प्रभु येशूले धेरैपटक आफ्‍नो पुनरागमनको बारेमा भविष्यवाणी गर्नुभयो। उहाँ केही समय पहिले, आखिरी दिनहरूमा देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रभुको छुटकाराको कामको जगमा नै न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुभएको छ। यो हामीलाई मानवजातिको भ्रष्ट स्वभावबाट धुनको लागि हो ताकि हामी पापका बन्धनहरूबाट स्वतन्त्र हुन सकौं। यो हामीलाई शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन र हामीलाई अन्तिममा परमेश्‍वरको राज्यमा ल्याउनको लागि हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम समाप्त भएपछि मात्रै मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त हुनेछ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))।

परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। … दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। अनुग्रहको युगमा, प्रभु येशूले गर्नुभएको छुटकाराको काम मानिसको पाप क्षमा गर्नको लागि मात्रै थियो। मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्ने र मुक्ति दिने सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम नै हो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मानिसको विद्रोही, परमेश्‍वर-विरोधी प्रकृति र सारको न्याय र खुलासा गर्छन्, त्यसरी हामीलाई आफ्‍नै शैतानी स्वभाव र भ्रष्टता चिनाउँछन्। यसले हामीलाई हामी अलिकति पनि मानव रूपविनाका र अहङ्कार, धूर्तता, र दुष्टताजस्ता शैतानी स्वभावले भरिएका छौं भन्‍ने देखाउँछ। मानिसहरूले आफूलाई शैतानले कति गहन रूपमा भ्रष्ट तुल्याएको छ भनी देख्‍ने एउटै मात्र तरिका यही हो, यसरी तिनीहरूले सच्‍चा रूपमा आफूलाई घृणा गर्न र साँचो पछुतो गर्न, अनि परमेश्‍वरसामु पश्‍चात्ताप गर्न सक्छन्। त्यसपछि तिनीहरूले सत्यता कति बहुमूल्‍य छ भनी देख्छन् र परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्छन्। यसले गर्दा तिनीहरू क्रमिक रूपमा आफ्‍नो भ्रष्ट स्वभावबाट मुक्त हुन थाल्छन् र आफ्‍नो जीवन स्वभाव रूपान्तरण गर्न थाल्छन्, र अन्तिममा परमेश्‍वरमा साँचो रूपमा समर्पित हुन र उहाँको डर मान्‍न, अनि उहाँका वचनहरूमा जिउन सक्छन्। यसरी मानिसहरूले शैतानका शक्तिहरूलाई पूर्ण रूपमा त्याग्‍न र परमेश्‍वरबाट पूर्ण मुक्ति प्राप्त गर्न सक्छन्, अनि परमेश्‍वरले तिनीहरूलाई रक्षा गर्न सक्‍नुहुन्छ र तिनीहरू आखिरी दिनहरूका ठूलाठूला विपत्तिहरूमा बाँच्‍न, र मानवजातिको लागि परमेश्‍वरले तयार गर्नुभएको सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छन्। यसले प्रकाश २१:३-६ को अगमवाणीलाई पूरा गर्छ। “मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्। अनि सिंहासनमा बस्‍नुहुने परमेश्‍वरले भन्‍नुभयो, हेर्, म सबै कुरा नयाँ बनाउँछु। अनि उहाँले मलाई भन्‍नुभयो, लेख्: किनभने यी वचनहरू साँचा र विश्‍वासयोग्य छन्। अनि उहाँले मलाई भन्‍नुभयो, यो पूरा भयो। म अल्फा र ओमेगा, सुरु र अन्त्य, हुँ। जो तिर्खाएको छ उसलाई म जीवनको पानीको फोहराबाट सित्तैमा दिनेछु।” यहाँ, परमेश्‍वर भन्‍नुहुन्छ, “यो पूरा भयो।” यो कुरा प्रभु येशूले क्रूसमा भन्‍नुभएको वाक्यभन्दा पूर्ण रूपमा फरक छ: “यो सकियो।” यी फरकफरक प्रसंग, फरकफरक संसार हुन्। जब प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुभयो, उहाँले आफ्‍नो छुटकाराको काम पूरा भएको बारेमा बताइरहनुभएको थियो। प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको “यो पूरा भयो” भन्‍ने वचनहरू परमेश्‍वरले मानिसलाई मुक्ति दिने आफ्‍नो कार्यलाई पूरा गर्नुभएको बारेमा बताउनुभएको हो, जुन बेला पवित्र वासस्‍थान मानिससँग हुन्छ, उहाँ तिनीहरूका बीचमा जिउनुहुन्छ, र तिनीहरू उहाँका राज्यका मानिसहरू हुनेछन्, जहाँ फेरि कुनै आँसु, मृत्यु, वा कष्ट हुनेछैन। परमेश्‍वरले आफ्‍नो मुक्तिको काम पूरा गर्नुभएको एउटै मात्र चिन्‍ह यही हो।

यस विन्दुमा, सबैलाई के कुरा स्पष्ट हुनुपर्छ भने, प्रभु येशूले क्रूसमा बोल्‍नुभएका वचनहरूको अर्थ परमेश्‍वरको मुक्तिको काम समाप्त भएको हो भनेर दाबी गर्नु परमेश्‍वरको कामको वास्तविकताको पूर्ण विपरीत छ र यो विशुद्ध रूपमा मानव धारणा मात्रै हो। यो प्रभुका वचनहरूको गलत व्याख्या हो जुन छली र भ्रामक छ, र यसले कति जना मानिसहरूलाई भ्रममा परेको छ त्यो भन्‍न सकिँदैन। यसमा अन्धाधुन्ध लागिपरेर प्रभु अचानक बादलमा देखा पर्नुहुन्छ भन्दै स्वर्गमा लगिने आशामा प्रतीक्षा गर्ने, अनि सधैँ सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका धेरै सत्यताहरूलाई जाँच गर्न इन्कार गर्नेहरू, सबैले प्रभुलाई भेट्ने आफ्‍नो अवसर गुमाउनेछन्। अनि अवश्य नै, तिनीहरूले कहिल्यै पनि पापबाट उम्केर पूर्ण रूपमा मुक्ति पाउनेछैनन्। त्यसपछि जीवनभरिको विश्‍वास व्यर्थ हुनेछ, र तिनीहरू विपत्तिहरूमा पर्ने र परमेश्‍वरद्वारा हटाइने कुरा निश्चित छ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्