किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

18 नोभेम्बर 2021

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र सबै प्रकारका महामारीहरू व्यापक हुँदैछन् र अनिकाल र युद्ध बढिरहेका छन्। विश्‍वासीहरूलाई प्रभु जुनसुकै बेला फर्केर आउन सक्‍नुहुन्छ भन्‍ने लाग्न थालेको छ, तर उहाँ कुन क्षणमा अचानक बादलको सवारीमा ओर्लनुहुनेछ भन्ने तिनीहरूलाई थाहा छैन, त्यसकारण तिनीहरू उहाँको पुनरागमनको प्रतीक्षा गर्दै दिन-रात जागा रहन्छन् र प्रार्थना गर्छन्। विपत्तिहरू बर्सिन थालिसकेका छन्, तैपनि आजको दिनसम्‍म पनि तिनीहरूले प्रभु बादलमा देखा पर्नुभएको देखेका छैनन्। धेरै जना मानिसहरू अलमलमा परेका छन्, र सोच्छन्, “किन प्रभु अझै आउनुभएको छैन? के उहाँले पूरा नगर्ने गरी बोल्‍नुभएको हो?” अवश्य नै होइन। प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र प्रभुका वचनहरू कहिल्यै पनि व्यर्थका हुनेछैनन्। कसैले पनि अपेक्षा नगरिरहेका बेला, प्रभु पहिले नै मानिसको पुत्रको रूपमा देहधारी भएर गुप्तमा ओर्लनुभयो, र धेरै जना मानिसहरूले धेरै पहिले नै उहाँलाई स्वागत गरिसकेका छन्। धेरै वर्ष पहिले पवित्र आत्‍माको कामका पाइलाहरूको खोजी गरेर, तिनीहरूले मानिसको पुत्रले बोलिरहनुभएको र धेरै सत्यता व्यक्त गरिरहनुभएको थियो भन्‍ने पत्ता लगाए। तिनीहरूले यी वचनहरू जति धेरै पढे, तिनीहरूलाई यो पवित्र आत्‍माको आवाज, परमेश्‍वरको आवाज हो भन्‍ने त्यति नै धेरै अनुभूति भयो, र तिनीहरूले अन्तिममा यो सत्यताहरू व्यक्त गर्नुहुने यस मानिसको पुत्र नै फर्कनुभएका प्रभु येशू, अर्थात् देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्‍ने पत्ता लगाए! तिनीहरूले उत्साहको साथ हर्षोल्लास गरे: “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, हामीले आखिरमा प्रभुलाई स्वागत गरेका छौं!” परमेश्‍वरका चुनिएका मानिसहरू आतुरीका साथ यो खबर फैलाउनमा लागे, र सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको छ, उहाँ देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ भन्‍ने गवाही दिए। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने सबै सम्प्रदायका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर यो परमेश्‍वरको आवाज हो भन्‍ने पहिचान गरे, एकपछि अर्को गर्दै परमेश्‍वरको सिंहासनको अघि आए, र थुमाको विवाह-भोजमा सरिक भए। यसले प्रभु येशूका यी अगमवाणीहरूलाई पूरा गर्छ: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कार्यले प्रभु येशूका यी अगमवाणीहरूलाई पनि पूरा गरे: “म चाँडै आउँछु,” “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र आउँछ,” र “मानिसको पुत्र आफ्‍नो दिनमा आउँछ।” यसले परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँका सबै वचनहरू र अगमवाणीहरू पूरा हुन्छन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले भन्‍नुभयो, “स्वर्ग र पृथ्वी बित्नेछन्, तर मेरा वचनहरू बित्नेछैनन्(मत्ती २४:३५)। र सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “स्वर्ग र पृथ्वी बितेर जानसक्छ, तर मैले भनेको कुराको एउटा अक्षर वा एउटा बिन्दुसमेत बितेर जानेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५३)। हाम्रा मुक्तिदाता येशू पहिले नै आइसक्‍नुभएको छ, र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र उहाँले आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ, र धेरै पहिले नै उहाँले विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ। परमेश्‍वरले शैतानलाई हराउनुभएको छ र सारा महिमा प्राप्त गर्नुभएको छ, र त्योसँगै ठूला-ठूला विपत्तिहरू सुरु भएका छन्। परमेश्‍वरको सबै कार्य घनिष्ठ रूपमा जोडिएका छन् भन्‍ने हामी देख्‍न सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, यसरी सम्पूर्ण धार्मिक संसार, र सारा संसारलाई हल्‍लाउनुभएको छ। तैपनि, धर्ममा रहेका धेरै मानिसहरू अझै पनि मुक्तिदाता येशू बादलको सवारीमा आउनुहुनेछ भन्दै आकाशतिर नियालिरहेका छन्। तिनीहरू सबै विपत्तिमा परेका छन् र के भइरहेको छ अझै तिनीहरूलाई थाहा छैन, र तिनीहरू निर्बुद्धि कन्या हुन् भनेर मात्रै भन्‍न सकिन्छ। धार्मिक संसारमा ख्रीष्ट-विरोधी शक्तिहरूको छल र नियन्त्रणमा परेका धेरै मूर्ख र अज्ञानी मानिसहरू छन्, जसले अझै पनि सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कार्यलाई आलोचना गरिरहेका र दोष दिइरहेका छन्। उहाँका वचनहरू सत्यता हुन् भन्‍ने तिनीहरूलाई राम्ररी थाहा छ, र पनि स्वीकार गर्दैनन्। साँचो मार्गको बारेमा अलिकति पनि खोजी-निधो नगरिकन अझै पनि प्रभु बादलमा आउनुहुनेछ भन्‍ने बाइबलका वचनहरूमा नै तिनीहरू लागिरहन्छन्, परमेश्‍वरको आवाज सुन्‍ने कुरा त परै जाओस्। परिणाम स्वरूप, तिनीहरू विपत्तिहरूमा परेका छन् र तिनीहरूले गुनासो, बिलौना गरिरहेका छन्, र दाह्रा किटिरहेका छन्। यो अत्यन्तै दुःखद कुरा हो। कतिपयले सोध्‍न सक्छन्, “प्रभुलाई स्वागत गर्न किन हामीले परमेश्‍वरको आवाज सुन्‍नुपर्छ?” आज म यस विषयमा मेरो थोरै बुझाइ बताउनेछु।

पहिले, हामी यो कुराप्रति स्पष्ट हुनैपर्छ, यदि प्रभु साँच्‍चै नै स्वर्गबाट बादलमा आउनुभयो र सबैले देख्‍न सके भने, हामीले उहाँको आवाज सुन्‍नु पर्नेथिएन, बरु हाम्रो आँखामा मात्रै भर पर्नुपर्थ्यो। तर प्रभु देहमा, मानिसको पुत्रको रूपमा आउनुहुने हुनाले, बाहिरी रूपमा हेर्दा उहाँ परमेश्‍वरको स्वरूप विनाको साधारण व्यक्ति हुनुहुन्छ, र उहाँ अलौकिक हुनुहुन्‍न। मानिसहरू परमेश्‍वरका आत्मा देख्‍न नसक्‍ने मरणशील प्राणी हुन्। हामीले मानिसको पुत्रको भौतिक रूप मात्रै देख्‍न सक्छौं, त्यसकारण उहाँको आवाजलाई सुन्‍ने बाहेक देहमा हुनुभएका मानिसको पुत्रलाई चिन्ने अरू कुनै उपाय छैन। उहाँलाई उहाँका वाणीहरूद्वारा मात्रै पहिचान गर्न सकिन्छ। त्यही कारणले गर्दा प्रभु येशूले भन्‍नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। हामी सबैलाई थाहा छ, २,००० वर्ष पहिले, मानवजातिलाई छुटकारा दिनको लागि प्रभु येशूको रूपमा परमेश्‍वर देह बन्नुभयो। उहाँ सामान्य मानवतामा जिउनुभयो, र सामान्य व्यक्तिले जस्तै खाने, वस्‍त्र लगाउने, सुत्‍ने र यात्रा गर्ने गर्नुहुन्थ्यो। प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कसैलाई थाहा थिएन, उहाँको परिवारलाई समेत थाहा थिएन, र प्रभु येशू स्वयम्‌लाई समेत उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा थिएन। उहाँले जताततै स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो र धेरै वटा सत्यताहरू व्यक्त गर्नुभयो। उहाँले मानिसहरूलाई आफ्‍नो पाप स्वीकार गर्न र पश्‍चात्ताप गर्न, सहनशीलता र धैर्यताको बारेमा, अरूलाई सात गुणा सत्तरी पटक क्षमा गर्न, क्रूस बोकेर उहाँलाई पछ्याउन सिकाउनुभयो। उहाँले मानिसहरूलाई आफ्‍नो सारा हृदयले, प्राणले, र मनले परमेश्‍वरलाई प्रेम गर्न, अनि आफूलाई जस्तै अरूलाई प्रेम गर्न सिकाउनुभयो। को राज्यमा प्रवेश गर्न सक्छन्, र यस्तै कुराहरू बताउँदै प्रभु येशूले स्वर्गको राज्यका रहस्यहरू पनि प्रकट गर्नुभयो। यी सत्यताहरू परमेश्‍वरले मानिसको छुटकाराको लागि व्यक्त गर्नुभएको पश्‍चात्तापको मार्ग थिए, र मानिसहरूले यी सत्यता कहिल्यै सुनेका वा देखेका थिएनन्। प्रभु येशूलाई पछ्याउने धेरै मानिसहरूले प्रभु येशूका वचनहरू कति अख्तियारपूर्ण र शक्तिशाली छन्, ती सृष्टि गरिएको प्राणीले व्यक्त गर्न नसक्‍ने कुरा हुन् भन्‍ने देखेर उहाँलाई पछ्याएका थिए। तिनीहरूले परमेश्‍वरको आवाज चिने र प्रभुलाई पछ्याए। यो परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्‍ने र प्रभुलाई स्वागत गर्ने कार्य थियो। यस बीच, यहूदी धर्मका ती मुख्य पूजाहारी, शास्‍त्री र फरिसीहरूले प्रभुका वचनहरूको अख्‍तियार र शक्तिलाई स्वीकार गरेका भए पनि, प्रभु येशू साधारण र सामान्य मानिसको पुत्रको रूपमा देखिनुहुने भएकोले र उहाँको परिवार उच्‍च खानदानको वा प्रतिष्ठित र शक्तिशाली नभएकोले, उहाँका वचनहरू धर्मशास्‍त्रमा समावेश नगरिएका हुनाले, र उहाँको नाम मसीह नभएको हुनाले, र त्यो कुरा धर्मशास्‍त्रका अगमवाणीहरूसँग नमिलेको हुनाले तिनीहरूले प्रभु येशूलाई इन्कार गरे र नकारे, र उहाँले ईश्‍वर-निन्दा गर्नुभएको छ भनेर उहाँलाई दोषी समेत ठहर्याए। अन्तिममा, तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, यसले गर्दा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुभयो र सराप्‍नुभयो। त्यसकारण प्रभुलाई स्वागत गर्नको लागि हामीले परमेश्‍वरको आवाज सुन्‍नु कति महत्त्वपूर्ण छ सो कुरा देख्‍न सक्छौं। यदि हामीले परमेश्‍वरको आवाज सुन्दैनौं, तर मानिसको पुत्रको बाहिरी रूपलाई मात्रै हेर्छौं भने, उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर हामीले कहिल्यै देख्‍नेछैनौं। हामीले हाम्रा धारणा र कल्‍पनाहरूका आधारमा मात्रै प्रभुलाई दोष दिनेछौं र इन्कार गर्नेछौं। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देखा पर्न र काम गर्नको लागि मानिसको पुत्रको रूपमा देह बन्‍नुभएको छ। यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौं भने, हामीले परमेश्‍वरको आवाज सुनेर, ती परमेश्‍वरका वचनहरू हुन् कि होइनन्, यो सत्यता हो कि होइन, यो पवित्र आत्‍माबाट आएको हो कि होइन भन्‍ने निर्धारित गर्नुपर्छ। हामीले हाम्रो निश्‍चयतालाई यसैमा आधारित गर्नुपर्छ। त्यसपछि मात्रै हामीले ख्रीष्‍टलाई, परमेश्‍वरको प्रकटीकरणलाई पहिचान गर्न सक्छौं, र परमेश्‍वरको आवाज सुनेर मात्रै हामीले प्रभुलाई स्वागत गर्न सक्छौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ’ भन्‍ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले हामीलाई परमेश्‍वरको देखापराइ कसरी खोजी गर्ने त्यो र परमेश्‍वरको देहधारण पहिचान गर्ने तरिका देखाउँछन्। यो पूर्ण रूपमा स्पष्ट छ: ख्रीष्‍ट नै बाटो, सत्यता, र जीवन हुनुहुन्छ; ख्रीष्टको ईश्‍वरीयता मुख्य रूपमा सत्यता र परमेश्‍वरको आवाज व्यक्त गरेर प्रकट हुन्छ। त्यसकारण ख्रीष्टको स्वरूप जतिसुकै साधारण र सामान्य देखिए पनि, उहाँले सत्यता व्यक्त गर्न, परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो व्यक्त गर्न सक्‍नुहुन्छ भने, उहाँ परमेश्‍वरको प्रकटीकरण हुनुहुन्छ। ख्रीष्टको मानवता जतिसुकै साधारण र सामान्य भए पनि, उहाँले सत्यता व्यक्त गर्न, र परमेश्‍वरको आवाज व्यक्त गर्न सक्‍नुहुन्छ भने, उहाँ ईश्‍वरीय सार भएको व्यक्ति हुनुहुन्छ—उहाँ देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। यसमा कुनै शङ्‍का छैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले देखा परेर काम गर्न थाल्‍नुभएपछि, सत्यतालाई प्रेम गर्ने सबै सम्प्रदायका धेरै जना मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, र उहाँका वचनहरू सबै सत्यता हुन्, सबै पवित्र आत्‍माबाट आएका र परमेश्‍वरको आवाज हुन् भन्‍ने पत्ता लगाएका छन्। यसरी तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँ देहधारी परमेश्‍वर, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। यो परमेश्‍वरका सबै चुनिएका मानिसहरूले पुष्टि गर्ने तथ्य हो। देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर खानपान गर्दै, अरूसँग बस्दै र अन्तरक्रिया गर्दै, सत्यता व्यक्त गर्दै कुनै पनि समय वा स्थानमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल, भरणपोषण, र अगुवाइ गर्दै मानिसहरूका बीचमा जिउनुहुन्छ। हामीले परमेश्‍वरका वचनहरू एकपछि अर्को अध्याय गर्दै व्यक्त गरिएको देखेका छौं, र तिनलाई वचन देहमा देखा पर्नुहुन्छ जस्ता परमेश्‍वरका वचनहरूको पुस्तकहरूमा सङ्कलित गरिएका छन्, र ती वचनहरू जम्‍मा करोडौँ सङ्ख्यामा छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापनको कार्यका रहस्यहरू प्रकट गर्नुभएको छ, जस्तै मानवजातिको व्यवस्थापन गर्ने सम्‍बन्धी परमेश्‍वरको उद्देश्य, शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याएको छ, परमेश्‍वरले कसरी मानिसलाई मुक्ति दिन चरणबद्ध रूपमा काम गर्नुभएको छ, देहधारणका रहस्यहरू, र बाइबलको भित्री कथा, आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ, परमेश्‍वरले कसरी मानिसहरूलाई तिनीहरूको प्रकार अनुसार वर्गीकरण गर्नुहुन्छ, युगको अन्त्य गर्न असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम गर्नुहुन्छ, पृथ्वीमा ख्रीष्टको राज्य कसरी पूरा हुन्छ, र अरू धेरै कुरा। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिको न्याय गरेर परमेश्‍वर विरोधी सार र तिनीहरूको भ्रष्टता सम्‍बन्धी सत्यता प्रकट पनि गर्नुहुन्छ। उहाँले मानिसहरूलाई भ्रष्ट स्वभावबाट छुटकारा पाएर मुक्ति हासिल गर्ने मार्ग पनि प्रदान गर्नुहुन्छ। उहाँले मानिसहरूलाई परमेश्‍वरसँग कसरी उचित सम्‍बन्ध स्थापित गर्ने, कसरी इमानदार व्यक्ति बन्‍न अभ्यास गर्ने, परमेश्‍वरसँग कसरी विश्‍वासी बन्‍ने, परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍नको लागि कसरी परमेश्‍वरको मार्गलाई पछ्याउने, परमेश्‍वरप्रतिको आज्ञापालन र प्रेम कसरी हासिल गर्ने, र यस्तै कुरा बताउनुहुन्छ। यी सबै सत्यताहरू मानिसलाई आफ्‍नो विश्‍वासमा पापबाट स्वतन्त्रता प्राप्त गर्न र परमेश्‍वरको मुक्ति प्राप्त गर्न चाहिने आवश्यक सत्यताहरू हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरूले प्रभु येशूको अगमवाणीलाई पूरा गर्छन्: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू जति पढ्छौं, हाम्रो हृदय त्यति नै ज्योतिले भरिन्छ, र ती वचनहरूले हामीलाई पूर्ण रूपमा विजय गर्छन्। परमेश्‍वरका न्यायका वचनहरूद्वारा उहाँका धार्मिकता, पवित्रता, र प्रताप र क्रोध, र परमेश्‍वरको उल्‍लङ्घन गर्न नसकिने स्वभाव अनुभव गरेर, हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती परमेश्‍वरका आवाज हुन्, ती पवित्र आत्‍माले मण्डलीहरूलाई दिनुभएका वचनहरू हुन् भन्‍ने पुष्टि गर्छौं। यसको बारेमा विचार गर्नुहोस्—परमेश्‍वर बाहेक, कसले परमेश्‍वरको कार्यका रहस्यहरूलाई प्रकट गर्न सक्छ? कसले परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैलाई व्यक्त गर्न सक्छ? परमेश्‍वर बाहेक, कसले मानवजातिको भ्रष्ट सारको न्याय र पर्दाफास गर्न सक्छ? कसले मानवजातिलाई पापबाट मुक्त गर्न सक्छ? परमेश्‍वरले मात्रै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, परमेश्‍वरले मात्रै मानवजातिको भ्रष्टतालाई शुद्ध पार्न, र तिनीहरूलाई पाप र शैतानको शक्तिबाट मुक्ति दिन सक्‍नुहुन्छ। सायद सर्वशक्तिमान्‌ परमेश्‍वर साधारण र सामान्य मानिसको पुत्र जस्तो देखिनुहुन्छ, तर उहाँका वचनहरू र कामबाट, हामी उहाँसँग सामान्य मानवता मात्रै छैन, उहाँमा ईश्‍वरीय सार पनि छ भन्‍ने देख्‍न सक्छौं। उहाँभित्र परमेश्‍वरका आत्माले बास गर्नुहुन्छ, र उहाँका वचनहरू परमेश्‍वरका आत्माको प्रत्यक्ष अभिव्यक्तिहरू हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वर नै बाटो, सत्यता, र जीवन हुनुहुन्छ, उहाँ देहधारी परमेश्‍वर, र फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्‍वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। … उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्‍वरका पक्षमा यसरी हामीमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्‍वरको गरिमा दिँदैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्‍ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्‍वरको भित्री हृदय, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसलाई हामी रात दिन चाह गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु)

यस विन्दुमा, हामीले प्रभुलाई स्वागत गर्नको लागि किन परमेश्‍वरको आवाज सुन्‍नुपर्छ त्यस बारेमा तपाईं थप प्रष्ट भएको हुनुपर्छ। वास्तवमा, परमेश्‍वरको आवाज सुन्‍नु त्यति कठिन कार्य होइन। परमेश्‍वरको भेडाले परमेश्‍वरको स्वर सुन्‍न सक्छ—यो परमेश्‍वरले तोक्‍नुभएको कुरा हो। मानिसहरूको शिक्षाको स्तरले फरक पार्दैन, बाइबल सम्‍बन्धी तिनीहरूको ज्ञान र अनुभवको गहिराइले पनि फरक पार्दैन। हृदय र आत्मा भएका जोकोही व्यक्तिले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे भने, परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, ती अख्तियारपूर्ण र शक्तिशाली छन्, र ती परमेश्‍वरका आवाज हुन् भन्‍ने तिनीहरूले अनुभव गर्न सक्छन्। तिनीहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेमलाई, र कुनै उल्‍लङ्घन नसहने परमेश्‍वरको धर्मी, प्रतापी स्वभावलाई अनुभव गर्न सक्छन्। यो आत्मिक अनुभव र अन्तर्ज्ञानको कार्य हो। हामीले प्रभु येशूका वचनहरू पढ्दा पनि यस्तै अनुभव गर्छौं, किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र प्रभु येशूका वचनहरू दुवै एउटै आत्माका अभिव्यक्ति हुन्। ती एउटै स्रोतबाट आएका हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एउटै हुनुहुन्छ। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका थप केही खण्ड पढौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जित्छु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो देखापराइको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्‍छन्, मानौँ नाबालक भर्खरै जन्‍मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्‍ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्‍ने मेरो प्रबन्धको उद्देश्य हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)

म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरो इच्‍छाविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिन्छु र तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी अपराधमुक्त गरेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असंख्य मानिसहरू र असंख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र सारा मानवजातिले आफ्‍नै आँखाले देख्‍ने गरी म आफ्‍नै आवाजमा पृथ्वीतर्फ उच्‍च सोरले कराउनेछु र तिनीहरूको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्नेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)

सर्वशक्तिमान्‌ परमेश्‍वरका हरेक वचन शक्तिशाली र अख्तियारपूर्ण, मानिसहरूको हृदय हल्‍लाउने किसिमका छन्। सर्वशक्तिमान् परमेश्‍वर सृष्टिकर्ताको रूपमा सबै मानवजातिसँग बोल्‍नुहुन्छ। परमेश्‍वरको अख्तियार र पहिचान उहाँका वचनहरूमा स्पष्ट रूपमा नै प्रकट हुन्छन्, र तिनको शैली, उहाँले लिनुहुने स्थान, व्यक्त हुने स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती परमेश्‍वरका अद्वितीय विशेषताहरू हुन्। कुनै स्वर्गदूत, सृष्टि गरिएको प्राणी, शैतानी दुष्ट आत्माले कहिल्यै पनि यो सबै प्राप्त गर्न वा हासिल गर्न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले परमेश्‍वरको अद्वितीय अख्‍तियारलाई पूर्ण रूपमा प्रकट गर्छन्, र तिनले परमेश्‍वरको धर्मी र उल्‍लङ्घन गर्न नसकिने स्वभावलाई देखाउँछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू नै परमेश्‍वरका अभिव्यक्तिहरू र आवाज हुन् भन्‍ने हामी सबैले देखेका छौं।

आज, वचन देहमा देखा पर्नुहुन्छमा समावेश सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र परमेश्‍वरका वचनहरू पाठ गरिएका धेरै वटा भिडियोहरू अनलाइन भेट्टाउन सकिन्छ, र सबै देशका र सबै सम्प्रदायका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई अनुसन्धान गरिरहेका र स्वीकार गरिरहेका छन्। तैपनि, धर्ममा रहेका अझै धेरै मानिसहरू बाइबलका वचनहरूमा टाँसिइरहन्छन्, प्रभु बादलमा ओर्लेर आउनुहुनेछ भन्‍ने तिनीहरूका धारणामा लागिरहन्छन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ भन्‍ने देखे पनि, तिनीहरूले खोजी गर्ने, अनुसन्धान गर्ने, वा परमेश्‍वरको आवाज सुन्‍ने गर्दैनन्। तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरलाई आलोचना गर्दै, गिल्‍ला गर्दै र दोष दिँदै धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूको पछि समेत लाग्छन्। यस्तो लाग्छ मानौं तिनीहरूको हृदय अन्धा भएका छन्—तिनीहरूले सुन्‍न त सुन्छन् बुझ्दैनन्, हेर्न त हेर्छन् तर देख्दैनन्। त्यस्ता मानिसहरू परमेश्‍वरको आवाज सुन्‍न सक्‍ने हुँदैनन्, जसले तिनीहरू परमेश्‍वरका भेडा होइनन् भन्‍ने देखाउँछ। तिनीहरू आखिरी दिनहरूमा प्रकट भएका सामाहरू, निर्बुद्धि कन्याहरू हुन्, जसलाई अहिले परमेश्‍वरले त्याग्‍नुभएको छ र हटाउनुभएको छ, र तिनीहरू विपत्तिमा परेका छन्। तिनीहरू बाँच्‍छन् कि मर्छन् त्यो भन्‍न कठिन छ। यदि तिनीहरू बाँचे भने पनि, तिनीहरूले विपत्तिहरूपछि प्रभु येशू बादलको सवारीमा ओर्लेर सबैको सामने खुल्‍लमखुल्‍ला देखा पर्नुहुनेछ भनेर प्रतीक्षा गर्न मात्रै सक्छन्। तर त्यो बेला, जब तिनीहरूले दोष दिएका र विरोध गरेका सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने देख्छन्, तिनीहरू हक्क न बक्‍क हुन्छन्, तर पछुतो गर्नको लागि यो धेरै ढीला भइसकेको हुनेछ। तिनीहरू छोडिनेछन्, र तिनीहरू रोइरहेका र दाह्रा किटिरहेका हुनेछन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)

अन्तिममा, हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको खण्ड पढौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचनहरू र इच्छा बुझ्नेछस्। तिमीहरूको ‘असम्भव’ भन्‍ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। … त्यसैले, हामी परमेश्‍वरको इच्छाको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

२,००० वर्ष पहिले, देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो, र यसरी पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्