के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

30 नोभेम्बर 2021

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ। उहाँले मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिनको लागि परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ। उहाँका वचनहरूको सङ्कलन, वचन देहमा देखा पर्नुहुन्छ अनलाइन उपलब्‍ध छ। यसले धार्मिक संसारलाई मात्रै होइन, तर सारा संसारलाई नै हल्‍लाएको छ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखापराइको तृष्णा गर्ने हरेक देश र हरेक सम्प्रदायका मानिसहरूमध्ये कतिपयले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, र ती वचनहरू सत्यता हुन् र पवित्र आत्‍माका वाणीहरू हुन् भन्‍ने देखेका छन्। तिनीहरूले परमेश्‍वरको आवाज सुनेका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पहिचान गरी परमेश्‍वरको सिंहासनको अघि आएका छन्। प्रभु येशूले भन्‍नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)। तर धार्मिक संसारका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, ती शक्तिशाली र अख्तियारपूर्ण छन् भन्‍ने कुरालाई स्वीकार गरेका भए पनि, उहाँका वचनहरूलाई बाइबलमा नलेखिएका हुनाले, तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, तर ती बाइबलमा नभएका हुनाले, कसरी ती परमेश्‍वरका काम र वचनहरू हुन सक्छन्? अनि कतिपयले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूले बाइबलको सट्टा वचन देहमा देखा पर्नुहुन्छ पढेको देखेर बाइबलभन्दा बाहिर जानु भनेको प्रभुलाई धोका दिनु हो, यो विधर्म हो भन्दै यसको निन्दा गर्छन्। यसले मलाई यहूदी फरिसीहरूको बारेमा याद दिलाउँछ, जसले प्रभु येशूलाई न्याय गरे, दोषी ठहर्याए, र उहाँको विरुद्ध संघर्ष गरे, किनभने उहाँका कार्य र वचनहरू तिनीहरूको धर्मशास्‍त्रभन्दा बाहिर गएका थिए र उहाँलाई मसीह भनेर भनिएको थिएन। तिनीहरूले उहाँलाई क्रूसमा समेत टाँगे, र परमेश्‍वरद्वारा दण्डित र नष्ट हुन पुगे, अनि इस्राएल राष्ट्रलाई बरबादीमा डुबाए। यो विचारोत्प्रेरक पाठ हो! आज धेरै धार्मिक मानिसहरूले के जोड दिन्छन् भने, परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन। यो गलत विचारमा लागिपरेर, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरूलाई इन्कार गर्छन् र दोष दिन्छन्। कतिले त सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर सीधै स्वीकार गर्छन्, तर तिनलाई अनुसन्धान गर्दैनन्, यसको परिणाम स्वरूप तिनीहरूले विपत्तिहरूभन्दा पहिले प्रभुलाई स्वागत गर्ने मौका गुमाइरहेका छन्। दुःखको कुरा, तिनीहरू विपत्तिहरूमा परेका छन्। “परमेश्‍वर सबै काम र वचनहरू बाइबलमा नै छन् र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन।” यस विचारले गर्दा अनगिन्ती मानिसहरूले प्रभुलाई स्वागत गर्ने आफ्‍नो मौका गुमाएका छन्, यसरी यसले अकथनीय हानि गरेको छ। यो विचारमा वास्तवमा गलत कुरा के छ? मलाई यसको बारेमा थाहा भएको कुरा बताउँछु है त।

त्यसमा अघि बढ्नुभन्दा अघि, बाइबल कहाँबाट आयो भन्‍ने कुरालाई स्पष्ट पारौं। यसमा दुई वटा भाग छन्: पुरानो करार र नयाँ करार। यहूदीहरूले यहोवामा विश्‍वास गर्छन्, र पुरानो करारको धर्मशास्‍त्रको प्रयोग गर्छन्, जबकि इसाईहरूले प्रभु येशूमा विश्‍वास गर्ने हुँदा नयाँ करार प्रयोग गर्छन्। पुरानो र नयाँ दुवै करार परमेश्‍वरले आफ्‍नो काम समाप्त गर्नुभएको शताब्दीऔंपछि मानिसले सङ्कलित गरेका हुन्। बाइबल स्वर्गबाट खसेको होइन, र अवश्य नै परमेश्‍वरले व्यक्तिगत रूपमा यो लेखेर हामीलाई हस्तान्तरण पनि गर्नुभएको होइन। यसलाई त्यस बेलाका धार्मिक अगुवाहरूले मिलेर एकट्ठा गरेका हुन्। अवश्य नै तिनीहरूसँग पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइ थियो—त्यसमा कुनै शङ्का छैन। मानिसहरूले नै बाइबललाई सङ्कलित गरेका हुनाले, पुरानो करारमा नयाँ करारका विषयवस्तु समावेश गर्न सकिने कुनै उपाय थिएन, र नयाँ करारमा परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई समावेश गर्ने कुनै उपाय थिएन। किनभने मानिसहरूले भविष्यलाई देख्‍न सक्दैनन्। बाइबलमा समावेश गरिएका पद र पुस्तकहरू छनौट गरिएका पद र पुस्तकहरू हुन्, र अगमवक्ताहरू वा प्रेरितहरूका सबै लेखहरूलाई बाइबलमा समावेश गरिएको छैन। धेरै वटा पुस्तकहरूलाई छुटाइएको छ वा हटाइएको छ। तर त्यो समस्याको कुरा होइन। यसलाई मानवले नै सङ्कलित गरेको हुनाले, कतिलाई छनौट गरिएको छ, कतिलाई हटाइएको छ, र कतिलाई छुटाइएको छ, अनि त्यो सामान्य कुरा नै हो। यस विषयमा मानिसहरूले गल्ती गर्ने कुरा के हो भने तिनीहरूले परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा छन् भनी जोड दिन्छन्, मानौं परमेश्‍वरले ती युगहरूमा बोल्‍नुभएका र गर्नुभएका कुराहरू त्यति नै हुन्। यो कस्तो प्रकारको समस्या हो? कतिपय अगमवक्ताहरूका पुस्तकलाई पुरानो करारमा समावेश गरिएका थिएनन्, र हामीलाई थाहा भएको कतिपय पुस्तकहरू, जस्तै हनोक र एज्राका पुस्तकहरूलाई बाइबलमा समावेश गरिएको छैन। र प्रेरितहरूका अरू पुस्तकहरूलाई पनि नयाँ करारमा समावेश गरिएका छैनन् भन्‍ने कुरामा हामी निश्‍चित हुन सक्छौं, अनि प्रभु येशूले तीन वर्षभन्दा बढी समयसम्‍म प्रचार गरिरहनुभएको थियो र उहाँले पक्‍कै पनि धेरै वचनहरू बोल्‍नुभएको हुनुपर्छ, तर बाइबलमा उहाँका थोरै वचन मात्रै छन्। प्रेरित यूहन्‍नाले भनेजस्तै, “अनि येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो” (यूहन्‍ना २१:२५)। परमेश्‍वरका काम र वचनहरूका बारेमा बाइबलले राखेको दस्तावेज अत्यन्तै सीमित छ! पुरानो करार र नयाँ करार दुवैमा त्यस युगको लागि परमेश्‍वरका कार्य र वचनहरूको पूर्णता समावेश छैन भन्‍ने कुरा हामीलाई थाहा छ, त्यसमा कुनै शङ्का छैन। यो सबैले स्वीकार गर्ने तथ्य हो। धार्मिक संसारमा बाइबललाई वा यसलाई कसरी निर्माण गरियो भन्‍ने कुरालाई नबुझ्‍ने मानिसहरू धेरै छन्। तिनीहरू सबैले परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भनेर विश्‍वास गर्छन्, र बाइबलभन्दा बाहिरको कुनै पनि कुरालाई इन्कार गर्छन् र दोष दिन्छन्। के त्यो ऐतिहासिक तथ्यहरू अनुरूप छ? के त्यो दाबी परमेश्‍वरको कामको न्याय गर्नु होइन र? के त्यो परमेश्‍वरलाई विरोध गर्नु होइन र? बाइबललाई त्यसरी सङ्कलित गरिएको थियो, र यो काम मानिसहरूले गरेका थिए, त्यसकारण मानिसहरूले कसरी परमेश्‍वरको कामको अर्को चरण बाइबलमा अगाडि नै राख्‍न सक्थे र? त्यो असम्‍भव हुनेथियो, किनभने मानिसहरूसँग भविष्यलाई देख्‍ने क्षमताको कमी छ। पुरानो करारलाई सङ्कलित गर्ने मानिसहरू प्रभु येशूको पालामा जीवित थिएनन्, र तिनीहरूले प्रभु येशूको काम अनुभव गरेनन्। कसरी तिनीहरूले उहाँका कार्य र वचनहरू, अनि प्रेरितहरूका पुस्तकहरूलाई अगाडि नै पुरानो करारमा समावेश गर्न सक्थे र? नयाँ करारलाई सङ्कलित गर्ने मानिसहरूले पनि २,००० वर्षपछिको आखिरी दिनहरूको कार्य र वचनहरूलाई पहिले नै धर्मशास्‍त्रमा समावेश गर्ने कुनै उपाय थिएन। आज सम्पूर्ण धार्मिक संसारले सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरूलाई देखेका छन्। कतिपयले तिनको बारेमा खोजी-निधो गरेका छन्। र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् र तिनमा अख्‍तियार छ भन्‍ने स्वीकार गरेका छन्। तर बाइबलमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र उहाँको नाम समावेश नभएको हुनाले, र ती कुरा बाइबलमा नपाइने हुनाले, सर्वशक्तिमान्‌ परमेश्‍वर नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई तिनीहरू इन्कार गर्छन्। के तिनीहरूले पनि फरिसीहरूले प्रभु येशूलाई विरोध गर्दा र दोष दिँदा गरेकै गल्ती गरिरहेका छैनन् र? फरिसीहरूले प्रभु येशूको नाम मसीह होइन, र उहाँका कार्य र वचनहरू तिनीहरूका धर्मशास्‍त्रसँग मिल्दैन भन्‍ने सोचेका हुनाले, तिनीहरूले उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न सके। आजका धर्ममा रहेका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको नामको बारेमा बाइबलमा अगमवाणी गरिएको छैन र उहाँका वचनहरू पनि बाइबलमा भेट्टाउन सकिँदैन भन्‍ने देखेका हुनाले, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका कार्य र वचनहरूलाई इन्कार गर्छन् र दोष दिन्छन्। तिनीहरूले परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍ने पाप गरिरहेका छन्। वास्तवमा, बाइबलमा परमेश्‍वरको आखिरी दिनहरूको काम र वचनहरू समावेश नभए पनि, परमेश्‍वरले आखिरी दिनहरूमा लिनुहुने नयाँ नामको बारेमा गरिएका अगमवाणीहरू छन्, जस्तै यशैयामा गरिएको यो अगमवाणी: “अनि अन्यजातिहरूले तेरो धार्मिकता देख्नेछन् र सबै राजाहरूले तेरो महिमा देख्नेछन्: र तँलाई यहोवाको मुखले दिनुहुने नयाँ नाउँद्वारा बलाइनेछ” (यशैया ६२:२)। र हामीले प्रकाशको पुस्तकमा यस्तो लेखिएको पाउछौं: “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यस उप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्नेछु, जुनचाहिँ स्वर्गका मेरो परमेश्‍वरबाट तल आउने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु” (प्रकाश ३:१२)। “म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ” (प्रकाश १:८)। “हल्लेलूयाह: किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वरले शासन गर्नुहुन्छ” (प्रकाश १९:६)। बाइबलमा परमेश्‍वरले आखिरी दिनहरूमा धेरै वचन बोल्‍नुहुनेछ र धेरै काम गर्नुहुनेछ भनेर पनि अगमवाणी गरिएको छ, प्रभु येशूले भन्‍नुभयो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। प्रकाशको पुस्तकमा सात पटक उल्‍लेख गरिएको एउटा चेतावनी पनि छ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश अध्याय २, ३)। प्रकाशको पुस्तकले परमेश्‍वरले आखिरी दिनहरूमा मोहोर हालिएको चर्मपत्रको मुट्ठो खोल्‍नुहुनेछ भनेर पनि अगमवाणी गर्छ। स्पष्टै छ, परमेश्‍वरले आखिरी दिनहरूमा मण्डलीहरूसँग बोल्‍नुहुनेछ र मानवजातिलाई सबै सत्यतामा डोर्याउनुहुनेछ भनेर अगमवाणी गरिएको छ। परमेश्‍वरको यो आखिरी दिनहरूका कार्य र वचनहरू कसरी बाइबलमा अगाडि नै देखा पर्न सक्थे र? त्यो असम्‍भव कुरा हो! यी सबै अगमवाणीहरू र स्पष्ट तथ्यहरू हुँदा हुँदै पनि, किन धेरै मानिसहरूले देखीदेखी पनि अन्धाधुन्ध आलोचना गर्दै परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन भनेर जिद्दी गरिरहेका छन्? स्पष्टै छ, अहिले देखा परेर काम गरिरहनुभएका परमेश्‍वरलाई आलोचना गर्ने र विरोध गर्ने दुस्साहस गर्ने यी मानिसहरूले परमेश्‍वरको कामलाई बुझेका छैनन्, र सत्यतालाई अलिकति पनि बुझेका छैनन्। तिनीहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्छ र हटाउनुहुन्छ, र तिनीहरू पहिले नै विपत्तिहरूमा परिसकेका छन्। यसले बाइबलका यी अगमवाणीहरूलाई पूरा गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)।

हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन पढौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्‍वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू उहाँको क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)”)।

त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?” (वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)”)।

बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो” (वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (४)”)।

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। … त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो अझै पनि मानिसहरूका विचारहरूको इतिहास नै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई ‘पवित्र पुस्तक’ मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; ‘पवित्र पुस्तक’ मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)”)।

मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्‍वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; सृष्टि गरिएको कुनै पनि प्राणीले उहाँलाई बुझ्‍न सक्दैन। अन्तमा, मैले हरेकलाई सम्झना दिलाउने कार्यलाई निरन्तरता दिनुपर्छ: परमेश्‍वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्‍वरको कार्यको चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्‍याउन मन पराउनुहुन्‍न; यसका अतिरिक्त, मानिसहरूले एक निश्‍चित क्षेत्रमा सीमित गरेर उहाँलाई आराधना गरेको उहाँ चाहनुहुन्‍न। यो परमेश्‍वरको स्वभाव हो” (वचन देहमा देखा पर्नुहुन्छको सन्दर्भग्रन्थ)।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यसलाई अत्यन्तै स्पष्ट पार्छन्, होइन र? बाइबल त व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएका कामहरूका दुई चरणको विवरण मात्रै हो। यो ऐतिहासिक पुस्तक हो, र यसले अवश्य नै परमेश्‍वरका सबै काम र वचनहरूलाई प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, सबै थोकको जीवनको स्रोत हुनुहुन्छ। उहाँले सहस्राब्दीऔंदेखि बोल्दै र काम गर्दै आउनुभएको छ, र उहाँसँग मानवजातिको भरण-पोषणको असीमित स्रोत छ, र उहाँले हामीलाई सधैँ अघि बढाइरहनुभएको छ। उहाँका वचनहरू सधैँ अघि बढिरहने जिउँदो पानीका मूल हुन्। परमेश्‍वरका काम र वचनहरूलाई कुनै पनि व्यक्ति वा वस्तुले रोक्‍न सक्दैन, बाइबललाई सीमित गर्ने कुरा त परै जाओस्। उहाँको व्यवस्थापन योजना र मानवजातिका खाँचोहरूका आधारमा अझै धेरै बोल्‍ने र नयाँ काम गर्ने कार्यलाई उहाँले कहिल्यै रोक्‍नुभएको छैन। व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसको जीवनमा अगुवाइ गर्न व्यवस्था जारी गर्नुभयो जुन बेला बाइबल नै थिएन। प्रभु येशूले व्यवस्थाको युगमा पश्‍चात्तापको मार्गको बारेमा प्रचार गर्नुभयो र छुटकाराको काम गर्नुभयो, यस क्रममा उहाँ पुरानो करारभन्दा बाहिर जानुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँले मानवजातिलाई शुद्ध पार्ने र पूर्ण मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्दै सात मोहोर र चर्मपत्रको मुट्ठो खोल्‍नुभएको छ। यो नयाँ, अझै उच्‍च चरणको काम हो, जुन काम अनुग्रहको युगमा गरिएको छुटकाराको कामको जगमा नै गरिएको छ। यो अझै नयाँ र अझै व्यवहारिक काम हो, र यो बाइबलमा अगाडि नै देखा पर्न सक्दैनथियो। यसबाट हामी के देख्‍न सक्छौं भने परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन, सधैँ अघि बढिरहन्छ, कहिल्यै दोहोरिँदैन। उहाँको नयाँ कामले बाइबलमा लेखिएको कुरालाई उछिन्छ, र यसले मानिसलाई नयाँ मार्ग र अझै उच्‍च सत्यताहरू प्रदान गर्छ। त्यसकारण हाम्रो विश्‍वास बाइबलमा मात्रै आधारित हुनु हुँदैन, र हामीले अवश्य नै परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भनेर भन्‍न सक्दैनौं। परमेश्‍वरका वर्तमान वचनहरूको भरण-पोषण र रेखदेख प्राप्त गर्नको लागि हामीले पवित्र आत्‍माको कामको खोजी गर्नुपर्छ र परमेश्‍वरको कामका पाइलाहरूलाई पछ्याउनुपर्छ। प्रकाशको पुस्तकले भन्छ, “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)। तिनीहरू बुद्धिमती कन्याहरू हुन् जो थुमाको विवाह-भोजमा सहभागी हुन सक्छन्। र परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्न सक्छन्।

सर्वशक्तिमान्‌ परमेश्‍वरले ३० वर्षदेखि उहाँको आखिरी दिनहरूको न्यायको काम गर्दै आउनुभएको छ र उहाँले करोडौँ वचनहरू पनि व्यक्त गर्नुभएको छ। उहाँका वाणीहरू प्रशस्त छन् र तिनमा कुनै कुराको कमी छैन। तिनले बाइबलका रहस्यहरूलाई साथै परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरूलाई प्रकट गर्छन्, जस्तै मानवजातिको व्यवस्थापन गर्ने सम्‍बन्धी उहाँको उद्देश्य, शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानवजातिलाई शैतानका शक्तिहरूबाट कसरी चरणबद्ध रूपमा मुक्ति दिनुहुन्छ, परमेश्‍वरले मानवजातिलाई कसरी परीक्षा र शोधनद्वारा शुद्ध गर्नुहुन्छ र पवित्र तुल्याउनुहुन्छ, उहाँको आखिरी दिनहरूको न्यायको काम, देहधारणका रहस्यहरू र उहाँका नामहरू, बाइबलको वास्तविक कथा, सबै प्रकारका मानिसहरूका परिणामहरू, मानवजातिको अन्तिम गन्तव्य, र पृथ्वीमा ख्रीष्टको राज्य कसरी पूरा हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई न्याय पनि गर्नुहुन्छ र मानवजातिको भ्रष्टता र तिनीहरूको परमेश्‍वर-विरोधी, शैतानी प्रकृतिलाई खुलासा पनि गर्नुहुन्छ। उहाँले हामीलाई पापबाट उम्कने र परमेश्‍वरद्वारा पूर्ण मुक्ति पाउने मार्ग देखाउनुहुन्छ, जस्तै साँचो रूपमा कसरी पश्‍चात्ताप गर्ने, देहलाई त्यागेर सत्यताको अभ्यास कसरी गर्ने, कसरी इमानदार बन्‍ने, कसरी परमेश्‍वरको इच्‍छा पूरा गर्ने, कसरी परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने, परमेश्‍वरप्रतिको स्वीकार र समर्पणता, परमेश्‍वरप्रतिको प्रेम कसरी हासिल गर्ने, इत्यादि कुरा। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले दिनुभएका वचनहरूभन्दा अझै प्रशस्त र उच्‍च छन्, र ती सबै परमेश्‍वरको मुक्ति पाउनको लागि हामीले प्राप्त गर्नै पर्ने सत्यताहरू हुन्। ती आँखा खोल्‍ने र पूर्ण तुल्याउने किसिमका छन्, र तिनले सबै कुरामा हामीलाई अभ्यासको मार्ग दिन्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा, हामीले हाम्रा सबै संघर्ष र हाम्रो विश्‍वासमा उठेका प्रश्‍नहरूको उत्तर र समाधान प्राप्त गर्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरबाट आएको वचन शरीरमा देखा पर्नुहुन्छ राज्यको युगको लागि दिइएको बाइबल हो, र यो परमेश्‍वरले आखिरी दिनहरूमा मानिसलाई दिनुभएको अनन्त जीवनको बाटो हो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाने, पिउने, र अभ्यास गर्ने गरेर, उहाँका वचनहरूको न्याय, सजाय पाएर अनि केही सत्यताहरू बुझेर, परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको बारेमा साँचो बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरूका भ्रष्ट स्वभावहरू धोइन्छन् र विभिन्‍न हदसम्‍म परिवर्तन हुन्छन्, र तिनीहरू अन्तिममा पापको बन्धनबाट उम्कन्छन् र शैतानलाई हराउने गवाही दिन्छन्। परमेश्‍वरले विपत्तिहरूभन्दा पहिले निर्माण गर्नुभएका विजेताहरू तिनीहरू नै हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम, काम, र वचनहरूलाई बाइबलमा नलेखिएका हुन सक्छन्, तर सर्वशक्तिमान्‌ परमेश्‍वरका कार्य र वचनहरूले फलाएका फल, ल्याएका अन्तिम परिणामहरूले पूर्ण रूपमा बाइबलका अगमवाणीहरूलाई पूरा गर्छन्। अहिले परमेश्‍वरका चुनिएका मानिसहरूका गवाहीहरूका भिडियो र चलचित्रहरू अनलाइन राखिएका छन्, जसमा सर्वशक्तिमान्‌ परमेश्‍वरको देखा-पराइ र कामको बारेमा संसारलाई गवाही दिइएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पूर्वदेखि पश्चिमसम्‍म चम्केर सारा संसारलाई उज्यालो पार्ने महान् ज्योति जस्तै हुन्। सत्यतालाई प्रेम गर्ने संसारका हरेक कुनाका धेरैभन्दा धेरै मानिसहरूले साँचो मार्गको अनुसन्धान गरिरहेका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ फर्किरहेका छन्। यो संसारलाई हल्‍लाउने ठूलो छाल जस्तै हो, जसलाई कुनै पनि शक्तिले रोक्‍न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरु कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस अतुलनीय ‘मानव’ को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? … जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, ‘सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्’” (वचन देहमा देखा पर्नुहुन्छको “सहस्राब्दीय राज्यको आगमन भएको छ”)। राज्यको युग नै वचनको युग हो। परमेश्‍वरले मानवजातिलाई जित्‍न, धुन, र मुक्ति दिन आफ्‍ना वचनहरूको प्रयोग गरिरहनुभएको छ, र उहाँले विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ। यसले परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्तिलाई पूर्ण रूपमा देखाउँछ। तर धार्मिक संसार बाइबलमा नै टाँसिइरहन्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार्न मान्दैन। यी मानिसहरू पाप गर्ने, स्वीकार गर्ने, फेरि पाप गर्ने चक्रमा फसेको पुरानो जीवनमा अड्किएका छन्, र परमेश्‍वरको कार्यद्वारा पहिले नै हटाइएका छन्, यसैले तिनीहरू विपत्तिहरूमा परेका छन्, र रुन्छन् र दाह्रा किट्छन्। तिनीहरू प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ र तिनीहरूलाई अनन्त जीवन दिन स्वर्गको राज्यमा उठाइ लैजानुहुनेछ भनेर अझै प्रतीक्षा गरिरहेका छन्। के त्यो घिउको लड्डु खानु जस्तै होइन र? प्रभु येशूले भन्‍नुभयो, “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्‍ना ५:३९-४०)। बाइबलमा नै टाँसिइरहनेहरूले सत्यता वा जीवन प्राप्त गर्नेछैनन्। ख्रीष्‍टमा विश्‍वास गर्ने, ख्रीष्‍टलाई नै पछ्याउने र उहाँमा समर्पित हुनेहरूले मात्रै सत्यता र जीवन प्राप्त गर्नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले अहिले मानवजातिलाई धुन र पूर्ण रूपमा मुक्ति दिन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। यदि हामी सत्यता र जीवन प्राप्त गर्न चाहन्छौं भने, हामी बाइबलभन्दा बाहिर जानुपर्छ र परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनुपर्छ, सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। पापबाट उम्केर परमेश्‍वरद्वारा पूर्ण मुक्ति पाउने एउटै मात्र मार्ग, र विपत्तिहरूमा परमेश्‍वरको सुरक्षा प्राप्त गरेर, उहाँको राज्यमा प्रवेश गर्ने एउटै मार्ग त्यही हो। बाइबललाई नछोड्ने, तर परमेश्‍वरको विगतका कार्य र वचनहरूमा अड्किरहनेहरू, परमेश्‍वरले हामीलाई आखिरी दिनहरूमा दिनुहुने सत्यताको मार्गलाई स्वीकार गर्न नमान्‍नेहरूले मानवजातिलाई पूर्ण मुक्ति दिने परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा छुटाउनेछन्, र तिनीहरू विपत्तिहरूमा मात्रै पर्नेछन् र दण्डित हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को खण्डद्वारा समाप्त गरौं। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्” (वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्