२१. धार्मिक संसारको धारणा: “परमेश्‍वरका विश्‍वासीहरू पहिल्यैदेखि असल व्यवहार गर्छन् र परिवर्तन भइसकेका छन्, तसर्थ तिनीहरूले आखिरी दिनहरूको न्याय र शुद्धीकरण स्विकार्नु आवश्यक छैन”

धार्मिक संसारका मानिसहरूले यस्तो सोच्छन्: “हामीले प्रभुमा विश्‍वास गरेका हुनाले, हामी नम्र र धैर्यशील भएका छौँ, हामीले आफ्ना शत्रुलाई प्रेम गरेका छौँ, क्रूस बोकेका छौँ, सांसारिक कुराहरू त्यागेका छौँ, अनि प्रभुको लागि काम र प्रचार गरेका छौँ। हामी केही मात्रामा परिवर्तन भइसकेका छौँ। परमेश्‍वर आउनुभएपछि, हामीलाई स्वर्गको राज्यमा लगिनेछ—किन तपाईंचाहिँ हामीले शुद्ध हुन परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम स्विकार्नुपर्छ भनेर भन्नुहुन्छ?”

बाइबलका वचनहरू

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

“साँचो-साँचो म तिमीहरूलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ” (यूहन्‍ना ८:३४-३५)

“किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन, तर न्यायमा पर्ने निश्‍चित भयपूर्ण पर्खाइ र प्रज्वलित आक्रोश हुनेछ, जसले शत्रुहरूलाई निल्‍नेछ” (हिब्रू १०:२६-२७)

“सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

के परमेश्‍वरको अघि एक सन्त वा एक धर्मी व्यक्तिको रूपमा सिद्ध तुल्याइन सजिलो छ? “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने कथन साँचो हो। जब तिमीहरू परमेश्‍वरको अघि आउँछौ, तब तिमीहरूले आफ्नो हरेक वचन र कार्य, आफ्नो हरेक विचार र सोचाइ, र तिमीहरूले हरेक दिन देख्‍ने सपनाहरूको बारेमा विचार गर—यो सबै तिमीहरूको आफ्नै खातिर हो। के यो मामिलाको साँचो अवस्था होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु होइन, र यसको अर्थ झैझगडा र विवादहरू वा लुटपाट र चोरीबाट टाढा रहनु होइन। धार्मिकताको अर्थ परमेश्‍वरको आदेशलाई आफ्नो कर्तव्यको रूपमा ग्रहण गर्नु र परमेश्‍वरको व्यवस्था र प्रबन्धलाई आफ्नो निम्ति स्वर्गबाट ठहराइएको कर्तव्यको रूपमा लिनु र परमेश्‍वरमा समर्पित हुनु हो, समय र स्थानको पर्वाह नगरिकन प्रभु येशूले गर्नुभएजस्तै गर्नु हो। परमेश्‍वरले भन्‍नुभएको धार्मिकता यही हो। लोतलाई धर्मी भन्‍न सकिन्छ किनकि उनले आफ्नो नाफा र नोक्‍सानीको विचार नगरिकन परमेश्‍वरले पठाउनुभएका दुई स्वर्गदूतहरूलाई बचाएका थिए; उनले त्यस बेला जे गरेका थिए, त्यसलाई धर्मी भन्‍न सकिन्छ तर उनलाई धर्मी मानिस भन्‍न सकिँदैन। लोतले परमेश्‍वरलाई देखेका हुनाले उनले स्वर्गदूतहरूका सट्टामा आफ्नी दुई छोरीहरू दिएका थिए तर विगतमा उनले गरेका सबै व्यवहारहरू धार्मिकता सुहाउँदो थिएनन्। त्यसैले म भन्छु “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा रहेकाहरू मध्येका कसैलाई पनि धर्मी भन्‍न सकिँदैन। तेरो कार्य जतिसुकै असल भए तापनि, तैँले जतिसुकै परमेश्‍वरको नाउँको महिमा गरेको देखिए तापनि, तैँले अरूलाई हिर्काउने र सराप्‍ने नगरे पनि, अनि अरूबाट चोर्ने वा लुट्ने नगरे पनि, तँलाई धर्मी भन्‍न सकिँदैन, किनकि सामान्य व्यक्तिले यस्तो कार्य गर्न सक्छ। अहिले यहाँ मुख्य कुरो चाहिँ तैँले परमेश्‍वरलाई चिनेको छैनस् भन्‍ने नै हो। यति मात्र भन्‍न सकिन्छ कि अहिले तँसँग अलिकति मात्र सामान्य मानवता छ, तर परमेश्‍वरले भन्‍नुभएको धार्मिकताका तत्त्वहरू छैनन्, त्यसैले तैँले गर्ने कुनै पनि कुराले तैँले परमेश्‍वरलाई चिनेको छस् भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दर्शन र परमेश्‍वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्‍वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्‍ने र उपवास बस्‍नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्‍वरलाई पटक्‍कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई काटछाँट गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझेका हुन्छन्। के यो परमेश्‍वरप्रति सेवा हो र? विगतमा परमेश्‍वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्‍वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्‍नुको अर्थ, यदि तँमा परमेश्‍वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्‍वरको साँचो रूप र स्वभावलाई जान्‍न असफल हुन्छस् भने, यदि परमेश्‍वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्‍वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्‍न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान काटछाँट गर्नका लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्‍चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ समर्पित हृदयसहित परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्टाइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्षम हुनेछस्। यदि तैँले तेरो जीवन, मानव जीवनसम्बन्धी तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरा धेरै धारणाहरू परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जान्छ। जब परमेश्‍वरले मानिसहरूलाई जित्‍नुहुन्छ, तब यो र यस्तो कुनै पनि कुरामा त्यसको प्रभाव हुँदैन, यो मानिसहरूभित्र हुन आउने प्रभाव हो। यदि परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा तैँले आफ्नो देहलाई वशमा राख्‍न र सहन अनि कष्ट भोग्न मात्र जानेका छस् भने, र त्यो सही हो कि गलत भनी तँलाई थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्‍ने पत्तोसमेत छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तनतर्फ डोर्‍याउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्, किनभने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन्, परमेश्‍वरलाई साँचो प्रेम गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तेरो बारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्‍चि नै असल छन्, र सत्यता अभ्यास गर्ने कार्य अत्यन्तै उत्तम हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल छ जस्तो सुनिन्छ, तर वास्तवमा यो यस्तो प्रक्रिया जसको लागि धेरै अनुभव चाहिन्छ। यस अवधिमा, मानिसहरूले धेरै कठिनाइहरू भोग्‍नुपर्छ, तिनीहरूले आफ्‍नै शरीरलाई वशमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काटछाँट, परीक्षा र शोधनको पनि सामना गर्नुपर्छ, अनि तिनीहरूले विभिन्‍न असफलता, पतन, भित्री संघर्ष, र हृदयमा कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूले आफ्‍नो प्रकृतिको बारेमा बुझ्‍न सक्छन्, तर कतिपय कुराहरू बुझेर पनि तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरूले लामो समयसम्‍म अनुभव गरिसकेपछि मात्रै बल्‍ल आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

धेरैजसो मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आफ्‍नो व्यवहारलाई विशेष जोड् दिन्छन्, जसको फलस्वरूप तिनीहरूको व्यवहारमा केही परिवर्तन आउँछन्। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले धुम्रपान र मद्यपान गर्न छोड्छन्, र त्यसउप्रान्त अरूसँग प्रतिस्पर्धा गर्दैनन्, र घाटा बेहोर्दा धैर्यताको अभ्यास गर्न मन पराउँछन्। तिनीहरूका व्यवहारमा केही परिवर्तन आएको हुन्छ। कतिपय मानिसहरूलाई के लाग्छ भने परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले परमेश्‍वरको वचन पढेर सत्यता बुझ्‍न सक्छन्; तिनीहरूले पवित्र आत्‍माको कार्य अनुभव गरेका छन्, र तिनीहरूको हृदयमा साँचो शान्ति प्राप्त भएको छ जसले गर्दा तिनीहरू विशेष जोसिला भएका छन्, र तिनीहरूले त्याग्‍न वा भोग्‍न नसक्‍ने केही छैन। तापनि, आठ, दस वा बीस वा तीस वर्षसम्म विश्‍वास गरेपछि पनि तिनीहरूको स्वभावमा कुनै परिवर्तन नभएको हुनाले, आखिरमा तिनीहरू पुरानै चालमा फर्कन थाल्छन्; तिनीहरूको अहङ्कार र हठीपन झन् स्पष्ट हुँदै जान्छ, तिनीहरू शक्ति र फाइदाको लागि प्रतिस्पर्धा गर्न थाल्छन्, तिनीहरू मण्डलीको पैसाको लालच गर्छन्, परमेश्‍वरको घरबाट फाइदा लिएका मानिसहरूप्रति तिनीहरूलाई डाहा लाग्छ। तिनीहरू परजीवी र नाशक जीव बन्छन्, र कतिलाई त झूटा अगुवा र ख्रीष्टविरोधीहरूका रूपमा खुलासा गरेरसमेत हटाइन्छ। अनि यी तथ्यहरूले के प्रमाणित गर्दछन्? व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, “एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।” किन मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसहरूका शोधनहरू सबैले तिनीहरूको स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि तिनीहरू परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न, र सामान्यतया उहाँको आराधना गर्ने हुन सकून्। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको अभिव्यक्ति हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको आज्ञापालन गर्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफ्‍नो विरुद्धमा विद्रोह गर्न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पणता हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित भजनहरू

शुद्ध पारिनलाई आखिरी दिनहरूको ख्रीष्टको न्यायलाई स्वीकार गर

अघिल्लो: २०. धार्मिक संसारको धारणा: “आखिरी दिनहरूमा महान् सेतो सिंहासनको न्याय भनेको असललाई इनाम र दुष्टलाई दण्ड दिने कुरा हो, यो मुक्ति होइन”

अर्को: २२. धार्मिक संसारको धारणा: “परमेश्‍वर त्रिएक हुनुहुन्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्