इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

इमानदार व्यक्ति हुँदाको तिमीहरूको व्यक्तिगत अनुभव कस्तो छ? (इमानदार व्यक्ति हुनु साँच्‍चै कठिन छ।) यो किन कठिन छ? (म साँच्‍चै इमानदार व्यक्ति हुन चाहन्छु। तर, जब म हरेक दिन आफ्‍नो जाँच गर्छु, तब म आफूलाई कपटी भएको अनि मेरो बोलीवचनमा कैयौँ दूषणहरू भएको पाउँछु। कहिलेकहीँ म आफ्‍ना शब्‍दहरूमा भावना घुसाउँछु, वा बोल्दा खेरी मसँग निश्‍चित मनसायहरू हुन्छन्। कहिलेकहीँ म सानातिना खेलहरू खेल्छु, वा कुरा घुमाउँछु, वा वास्तविकता विपरीतका कुरा बोल्छु—छली कुराहरू, अर्धसत्य कुराहरू, र अरू किसिमका झूटहरू बोल्छु, त्यो सबै एउटा उद्देश्य हासिल गर्नका लागि हुन्छ।) यी सबै व्यवहारहरू मानिसहरूका भ्रष्ट स्वभावबाट आउँछन्; ती कुराहरू मानिसहरूको कुटिल र छली पाटोमा पर्छन्। मानिसहरू किन छलमा भर पर्छन्? यो आफ्‍नै उद्देश्यहरू पूरा गर्न, आफ्नै लक्ष्यहरू हासिल गर्नका लागि हुन्छ, र त्यसैले तिनीहरू गुप्त माध्यमहरू प्रयोग गर्छन्। यसो गर्ने क्रममा, तिनीहरू खुलस्त र निष्कपट हुँदैनन्, र तिनीहरू इमानदार मानिसहरू पनि होइनन्। यस्तै बेलामा मानिसहरूले आफ्‍नो कपटीपन र धूर्तता, वा आफ्नो दुर्भावना र नीचता प्रकट गर्छन्। मानिसहरूका हृदयमा यी भ्रष्ट स्वभावहरू हुँदा, तिनीहरूलाई इमानदार व्यक्ति बन्‍नु अत्यन्तै कठिन हुन्छ भन्ने लाग्छ। इमानदार व्यक्ति बन्नुको कठिनाइ त्यहीँ हुन्छ। तर यदि तँ सत्यतालाई प्रेम गर्ने, र सत्यतालाई स्विकार्न सक्ने व्यक्ति होस् भने, तँलाई इमानदार व्यक्ति बन्‍न त्यति कठिन हुनेछैन। तैँले यो निकै सहज रहेछ भन्‍ने महसुस गर्नेछस्। व्यक्तिगत अनुभव भएकाहरूलाई इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा ठूला व्यवधानहरू भनेको मानिसहरूको धूर्तता, छलीपन, दुर्भावना, र घृणित अभिप्रायहरू हुन्। जबसम्म यी भ्रष्ट स्वभावहरू रहन्छन्, तबसम्म इमानदार व्यक्ति बन्न अत्यन्तै गाह्रो हुनेछ। तिमीहरू सबैले इमानदार मानिस बन्‍ने तालिम लिइरहेका छौ, त्यसकारण तिमीहरूसँग यसको केही अनुभव छ। तिमीहरूका अनुभवहरू कस्ता छन्? (हरेक दिन म आफूले बोलेका रद्दी कुराहरू र ढाँटेका झूटहरू सबै लेखेर राख्छु। त्यसपछि, म केही आत्म-निरीक्षण र आत्म-चिरफार गर्छु। मैले यीमध्ये धेरैजसो झूटको पछाडि कुनै न कुनै अभिप्राय भेटेको छु, र मैले आफ्नो अभिमान र इज्‍जत बचाउनका लागि ती बोलेको हुन्छु। मैले बोलेको कुरा सत्यता अनुरूप छैन भनेर म सचेत भए पनि, म झूट नबोली र ढोँग नगरी बस्‍न सक्दिनँ।) इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा गाह्रो कुरा त्यही हो। तँ यसबारे सचेत हुनु वा नहुनु महत्त्वपूर्ण कुरा होइन; मुख्य कुरा त यो गलत हो भनेर जान्दाजान्दै पनि, तँ आफ्‍ना उद्देश्यहरू पूरा गर्न, आफ्‍नो छवि र इज्‍जत कायम राख्नका लागि जिद्दी भई झूट बोल्न जारी राख्छस्, र तैँले अनजानमा भयो भनेर गर्ने कुनै पनि दाबी झूटो हुन्छ। इमानदार व्यक्ति बन्‍नुको कडी तेरा मनसाय, अभिप्राय र भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। झूट बोल्‍ने समस्यालाई त्यसको स्रोतमै समाधान गर्ने एउटै उपाय यही हो। आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्नु, अर्थात्, व्यक्तिगत फाइदा हासिल गर्नु, परिस्थितिको फाइदा उठाउनु, आफूलाई राम्रो देखाउनु, वा अरूको अनुमोदन प्राप्त गर्नु—यी कुराहरू नै मानिसहरूले झूट बोल्‍नुका अभिप्राय र लक्ष्यहरू हुन्। यस प्रकारको झूट बोलाइले भ्रष्ट स्वभाव प्रकट गर्छ, र झूट बोल्‍ने विषयमा तँमा हुनुपर्ने सुझबुझ नै यही हो। त्यसो भए, यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ? त्यो सबै तैँले सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा अडिएको हुन्छ। यदि तँ सत्यता स्विकार्न र आफ्‍नो वकालत नगरी बोल्‍न सक्छस् भने; यदि तँ आफ्‍नै हितहरूलाई ख्याल गर्न छोड्न सक्छस् र यसको साटो मण्डलीको काम, परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूलाई ख्याल गर्न सक्छस् भने, तैँले झूट बोल्‍न छोड्नेछस्। तँ साँचो, र सीधा कुरा बोल्‍न सक्षम हुनेछस्। यो कदविना, तैँले साँचो बोल्‍न सक्‍नेछैनस्, र त्यसले तेरो कदमा कमी छ र तँ सत्यता अभ्यास गर्न असक्षम छस् भन्‍ने प्रमाणित गर्छ। र त्यसकारण, इमानदार व्यक्ति बन्‍नका लागि सत्यता बुझ्‍ने प्रक्रिया, र कद बढ्ने प्रक्रिया आवश्यक हुन्छ। जब हामी यसलाई यसरी हेर्छौँ, तब आठदेखि दश वर्षको अनुभवविना, इमानदार व्यक्ति बन्‍नु असम्‍भव नै हुन्छ। यो अवधि भनेको व्यक्ति जीवनमा वृद्धि हुने प्रक्रिया, उसले सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रिया हो। कतिपय मानिसहरूले यस्तो सोध्‍न सक्छन्: “के झूट बोल्‍ने समस्या समाधान गर्नु र इमानदार व्यक्ति बन्‍नु साँच्चै नै त्यति गाह्रो हुन सक्छ?” यो कुरा तिमीहरूले कसका बारेमा कुरा गरिरहेका छौ भन्ने कुरामा भर पर्छ। यदि त्यो व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, उसले निश्‍चित मामलाहरूमा झूट बोल्‍न छोड्न सक्छ। तर यदि यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो भने, झूट बोल्‍न छोड्नु उसका लागि झनै गाह्रो हुनेछ।

इमानदार व्यक्ति बन्‍नका लागि आफैलाई तालिम दिनु भनेको मुख्य रूपमा झूट बोल्‍ने समस्या समाधान गर्नु, साथै आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। यसो गर्नका लागि एउटा महत्त्वपूर्ण अभ्यास गर्नुपर्छ: जब तँलाई तैँले कसैलाई ढाँटेको र जालझेल गरेको छस् भन्‍ने महसुस हुन्छ, तैँले तिनीहरूसँग खुलेर कुरा गर्नुपर्छ, आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि माफी माग्‍नुपर्छ। झूट बोल्‍ने समस्या सुल्झाउन यो अभ्यास निकै फाइदाजनक हुन्छ। उदाहरणका लागि, यदि तैँले कसैलाई जालझेल गरेको छस् वा तैँले तिनीहरूसँग बोलेका शब्‍दहरूमा कुनै दूषित कुरा वा व्यक्तिगत अभिप्राय थियो भने, तैँले तिनीहरूलाई भेटेर आफ्‍नो चिरफार गर्नुपर्छ। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “मैले तिमीलाई भनेको कुरा झूट थियो, त्यो मैले आफ्‍नो स्वाभिमान जोगाउनका लागि भनेको थिएँ। त्यो बोलेपछि मलाई असहज लाग्यो, त्यसकारण म अहिले तिमीसँग माफी माग्दै छु। कृपया, मलाई माफ गरिदेऊ।” त्यो व्यक्तिलाई यो कुरा निकै नौलो लाग्‍नेछ। उसले झूट बोलेपछि माफी माग्‍ने व्यक्ति कसरी हुन सक्यो भनेर सोच्‍नेछ। यस्तो साहसलाई उसले साँच्चै सराहना गर्नेछ। त्यस्तो अभ्यास गरेर व्यक्तिले के-के फाइदाहरू प्राप्त गर्न सक्छ? यसको उद्देश्य अरूको सम्मान पाउनु होइन, बरु आफूलाई झूट बोल्‍नबाट अझै प्रभावकारी रूपमा नियन्त्रण गर्नु र रोक्‍नु हो। त्यसकारण, झूट बोलेपछि, तैँले त्यसका लागि माफी माग्‍ने अभ्यास गर्नैपर्छ। तैँले यसरी आफूलाई जति धेरै चिरफार गर्ने, उदाङ्गो पार्ने, र मानिसहरूसँग माफी माग्‍ने अभ्यासको तालिम दिन्छस्, नतिजाहरू त्यति नै राम्रा हुनेछन्—अनि तैँले बोल्‍ने झूटको सङ्ख्या पनि झन्-झन् कम हुँदै जानेछन्। इमानदार व्यक्ति बन्‍नका लागि र झूट बोल्‍नबाट आफूलाई रोक्‍नका लागि आफ्‍नो चिरफार गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न साहस चाहिन्छ, र झूट बोलेपछि कसैसँग माफी माग्‍न त झन् धेरै साहस चाहिन्छ। यदि तिमीहरूले यसरी एक-दुई वर्ष—वा सायद तीनदेखि पाँच वर्ष—अभ्यास गर्‍यौ भने, अवश्य नै स्पष्ट नतिजाहरू देख्नेछौ, र आफ्‍ना झूटहरूबाट उम्कन तिमीहरूलाई गाह्रो हुनेछैन। आफूलाई झूटहरूबाट उम्काउनु इमानदार व्यक्ति बन्‍नेतर्फको पहिलो कदम हो, र तीनदेखि पाँच वर्षको प्रयासविना यो हासिल गर्न सकिँदैन। झूट बोल्‍ने समस्या समाधान भएपछि, दोस्रो कदम भनेको छल र जालझेलको समस्या समाधान गर्नु हो। कहिलेकहीँ, जालझेल र छलका लागि व्यक्तिले झूट बोल्‍नु पर्दैन—यी कुराहरू व्यवहारद्वारा नै हासिल गर्न सकिन्छ। व्यक्तिले बाहिरी रूपमा झूट नबोल्‍न सक्छ, तर उसले आफ्‍नो हृदयमा अझै पनि छल र जालझेल पालेको हुन सक्छ। उसलाई यो कुरा अरू कसैलाई भन्दा पनि बढी थाहा हुन्छ, किनभने उसले यसबारे गहन रूपमा सोचेका र होसियारीसाथ ख्याल गरेको हुन्छ। पछि चिन्तन गर्दा यो कुरा पहिचान गर्न उसलाई सहज हुनेछ। झूट बोल्‍ने समस्या समाधान भएपछि, छल र जालझेल गर्ने समस्याहरू समाधान गर्न तुलनात्मक हिसाबमा अलिक सहज हुन्छ। तर व्यक्तिसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ, किनभने छल र जालझेल गर्दा उसलाई उसैको अभिप्रायद्वारा शासित हुन्छ। मानिसहरूले यो कुरा बाहिरबाट बोध गर्न सक्दैनन्, न त तिनीहरूले यो कुरा खुट्ट्याउन नै सक्छन्। परमेश्‍वरले मात्रै यसको छानबिन गर्न सक्‍नुहुन्छ, र यसबारेमा उहाँलाई मात्र थाहा हुन्छ। त्यसकारण, परमेश्‍वरप्रतिको प्रार्थनामा भर परेर अनि उहाँको छानबिन स्वीकार गरेर मात्रै छल र जालझेल गर्ने समस्या समाधान गर्न सकिन्छ। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्दैन वा हृदयमा परमेश्‍वरको डर मान्दैन भने, उसको छल र जालझेल गर्ने समस्या समाधान गर्न सकिँदैन। तैँले परमेश्‍वरको अघि प्रार्थना गर्न र आफ्‍ना गल्तीहरू मान्न सक्छस्, वा तैँले कबुल गर्न र पश्चात्ताप गर्न सक्छस्, वा तैँले आफ्‍नो भ्रष्ट स्वभाव चिरफार गर्न सक्छस्—त्यो बेला तैँले के सोचिरहेको थिइस्, तैँले के भनिस्, तेरो अभिप्राय के थियो, र तँ कसरी छलमा संलग्‍न भइस् भनेर साँचो रूपमा बताउन सक्छस्। यसो गर्नु तुलनात्मक रूपमा सजिलो हुन्छ। तर, यदि तँलाई अर्को व्यक्तिको अघि आफैलाई उदाङ्गो पार्न भनियो भने, तैँले आफ्‍नो साहस र सङ्कल्प गुमाउन सक्छस्, किनभने तँ आफ्‍नो इज्‍जत बचाउन चाहन्छस्। त्यतिबेला खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न तँलाई साह्रै कठिन हुनेछ। सायद तैँले बेलाबेलामा आफ्‍नै व्यक्तिगत लक्ष्य र अभिप्राय अनुसार बोलिरहेको वा व्यवहार गरिरहेको हुन्छस् भनेर तैँले आम रूपमा मान्न सक्छस् होला; तैँले गर्ने वा बोल्ने कुरामा केही हदको छल, दूषितता, झूट वा जालझेल छ भनेर मान्न सक्छस् होला। तर त्यसपछि, जब कुनै घटना घट्छ र तँलाई आफ्‍नो चिरफार गर्न, सुरुदेखि अन्तिमसम्म कामकुराहरू कसरी भए भनेर खुलासा गर्न, तैँले बोलेका कुन-कुन शब्‍दहरू छली थिए, तिनको पछाडिको अभिप्राय के थियो, तैँले के सोचिरहेको थिइस्, र तँ दुर्भावपूर्ण वा दुष्ट भइरहेको थिइस् कि थिइनस् भनेर व्याख्या गर्न लगाइयो भने, तँ खास कुराहरू बताउन वा विस्तृत कुरा खोल्‍न चाहँदैनस्। कतिपय मानिसहरूले त यसो भन्दै कुरा टार्ने समेत गर्छन्: “कुरा त्यस्तै हो। म अलिक छली, धूर्त, र भर पर्न नसकिने व्यक्ति हुँ।” यसले तिनीहरू आफ्‍नो भ्रष्ट सारलाई उचित रूपमा सामना गर्न असमर्थ छन्, वा तिनीहरू कति छली र धूर्त छन् भन्‍ने कुरा देखाउँछ। यी मानिसहरू सधैँ पन्छिने स्थिति र अवस्थामा हुन्छन्। तिनीहरूले सधैँ आफूलाई माफ गरिरहेका र परिस्थितिअनुसार ढालिरहेका हुन्छन्, र इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नका लागि कष्ट भोग्‍न वा मूल्य चुकाउन सक्दैनन्। धेरै मानिसहरूले वर्षौँदेखि सधैँ यसो भन्दै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्दै आएका छन्: “म अत्यन्तै छली र धूर्त छु, मेरो व्यवहारमा प्रायजसो जालझेल हुन्छ, र म मानिसहरूसँग निष्कपट रूपमा व्यवहार बिलकुलै गर्दिनँ।” तर धेरै वर्षसम्‍म त्यही कुरा फलाकेपछि पनि, तिनीहरू पहिलेजस्तै छली नै रहिरहन्छन्, किनभने तिनीहरूले यो छली स्थिति प्रकाश गर्दा कहिल्यै साँचो चिरफार वा पछुतो गरेका हुँदैनन्। तिनीहरूले कहिल्यै अरूसामु आफूलाई उदाङ्गो पार्ने वा झूट बोलेपछि वा मानिसहरूसँग जालझेल गरेपछि माफी माग्‍ने गर्दैनन्, तिनीहरूले भेलामा आत्म-चिरफार र आत्मज्ञानका अनुभवात्मक गवाहीबारे सङ्गति त झनै गर्दैनन्। तिनीहरूले आफूलाई कसरी चिन्न पुगे वा त्यस्ता मामलाहरूमा तिनीहरूले कसरी पश्‍चात्ताप गरे भन्‍ने बारेमा कहिल्यै बताउँदैनन्। तिनीहरूले यी मध्ये कुनै पनि कामकुरा गर्दैनन्, यसले तिनीहरू आफूलाई चिन्दैनन् र तिनीहरूले साँचो पश्‍चात्ताप गरेका छैनन् भन्‍ने प्रमाणित गर्छ। जब तिनीहरूले तिनीहरू छली छन् र इमानदार व्यक्ति बन्‍न चाहन्छन् भनेर भन्छन्, तब तिनीहरू नारा मात्रै फलाक्छन् र धर्मसिद्धान्त मात्रै प्रचार गर्छन्, अरू केही गर्दैनन्। तिनीहरूले पानीको बहाव सँगसँगै बग्न र भीडलाई पछ्याउनका लागि मात्रै यी कुराहरू गरिरहेका हुन सक्छन्। अथवा, मण्डली जीवनको वातावरणले तिनीहरूलाई झारा टार्न र देखावटी व्यवहार गर्न बाध्य पारेको पनि हुन सक्छ। चाहे जे भए पनि, नारा फलाक्‍ने र धर्मसिद्धान्त प्रचार गर्ने यस्ता मानिसहरूले कहिल्यै साँचो पश्‍चात्ताप गर्दैनन्, र तिनीहरूले निश्चय नै परमेश्‍वरको मुक्ति पाउन सक्‍नेछैनन्।

परमेश्‍वरले मानिसहरूलाई अभ्यास गर्न माग गर्नुहुने हरेक सत्यताका लागि तिनीहरूले मूल्य चुकाउनुपर्छ, र वास्तविक जीवनमा व्यावहारिक रूपमा नै ती सत्यता अभ्यास र अनुभव गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूलाई शब्द र धर्मसिद्धान्तहरू वाचन गरेर, आत्मज्ञानको कुरा गरेर, आफू छली छु, झूटो बोल्छु, कुटिल, छली छु र जालझेल गर्छु भनेर मान्दै, वा यी कुराहरू एक-दुई पटक ठूलो स्वरले बोल्‍दै अनि त्यतिमै कुरा सक्काउँदै ओठे-सेवा मात्र गर्न लगाउनुहुन्‍न। यदि कसैले यो सबै कुरा मान्छ तर त्यसपछि ऊ अलिकति पनि परिवर्तन हुँदैन भने; यदि उसले झूट बोल्न, ठग्न, र छल गर्न जारी राख्छ भने; यदि कुनै कुरा सामना गर्दा, उसले त्यही शैतानी चलाकीहरू, त्यही शैतानी विधिहरू प्रयोग गर्छ भने; यदि उसका माध्यम र विधिहरू कहिल्यै परिवर्तन हुँदैनन् भने, के यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? के उसले कहिल्यै आफ्‍नो स्वभाव परिवर्तन गर्न सक्नेछ? अहँ—कहिल्यै सक्नेछैन! तैँले आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न सक्नैपर्छ। तँसँग दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा खुल्ने र आफूलाई उदाङ्गो पार्ने अनि आफ्‍नो साँचो स्थितिबारे सङ्गति गर्ने साहस हुनैपर्छ। यदि तँ आफ्‍नो भ्रष्ट स्वभाव उदाङ्गो पार्ने वा चिरफार गर्ने साहस गर्दैनस् भने; यदि तँ आफ्‍ना गल्तीहरू मान्ने साहस गर्दैनस् भने, तँ सत्यता पछ्याउने कार्यमा लागेको छैनस्, तँ आफूलाई चिन्‍ने व्यक्ति हुनु त परको कुरा हो। यदि सबै जना ती धर्मका मानिसहरूजस्तै अरूको सम्मान पाउन मात्रै आफ्नो प्रदर्शन गर्छन् भने, अरूको आदर र सम्‍मान पाउनका लागि मात्रै तिनीहरू परमेश्‍वरलाई कति धेरै प्रेम गर्छन्, उहाँमा तिनीहरू कति धेरै समर्पित हुन्छन्, उहाँप्रति कति धेरै बफादार छन् र उहाँले तिनीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर गवाही दिन्छन् भने; र यदि सबैले हृदयमा आफ्‍नै व्यक्तिगत योजना पालेर बस्छन् र आफ्नै व्यक्तिगत निजी स्थान कायम गर्छन् भने, कसैले पनि कसरी वास्तविक अनुभवहरूका बारेमा कुरा गर्न सक्छ र? कसैसँग पनि कसरी एकअर्कासँग कुराकानी गर्नका लागि साँचो अनुभव हुन सक्छ र? अनुभवहरू साझा गर्नु र तीबारे सङ्गति गर्नु भनेको परमेश्‍वरका वचनहरूबारे तेरो अनुभव र ज्ञानको सङ्गति गर्नु हो। यो तेरो हृदयमा भएको हरेक विचार, तेरो स्थिति, र तँभित्र प्रकट भएको भ्रष्ट स्वभाव व्यक्त गर्नु हो। यो अरूलाई यी कुराहरू खुट्ट्याउन दिनु, र त्यसपछि सत्यता सङ्गति गरेर समस्या समाधान गर्नु हो। अनुभवहरू यसरी सङ्गति गर्दा मात्र हरेकले फाइदा लिन्छ र फल प्राप्त गर्छ; यो मात्र साँचो मण्डली जीवन हो। यदि यो परमेश्‍वरका वचनहरू वा कुनै भजनबारे तेरो अन्तर्ज्ञानसम्बन्धी रित्ता कुराहरू मात्रै भएमा, र त्यसपछि तँ अघि नबढाइकनै, आफ्ना कुनै वास्तविक स्थितिहरू वा समस्याहरू उल्लेख नगरीकनै, आफूलाई मन लागेजसरी सङ्गति गर्छस् भने, त्यस्तो सङ्गतिले केही फाइदा गर्दैन। यदि सबैले धर्मसिद्धान्त वा सैद्धान्तिक ज्ञानबारे मात्रै कुरा गर्छन्, तर वास्तविक अनुभवहरूबाट आफूले प्राप्त गरेको ज्ञानबारे केही पनि बोल्दैनन् भने; र सत्यता सङ्गति गर्दा, यदि तिनीहरू सबैले आफ्‍नो व्यक्तिगत जीवन, आफ्नो वास्तविक जीवनका समस्या, र आफ्ना भित्री संसारबारे कुरा गर्न चाहँदैनन् भने, साँचो कुराकानी कसरी हुन सक्छ? त्यहाँ वास्तविक भरोसा कसरी हुन सक्छ? कुनै भरोसा हुन सक्दैन! यदि श्रीमतीले आफ्‍नो हृदयमा भएका कुराहरू आफ्‍नो श्रीमानलाई कहिल्यै बताउँदिन भने, के त्यसलाई आत्मीयता मानिन्छ? के तिनीहरूले एकअर्काको मनमा के छ भनेर जान्‍न सम्भव छ? (अहँ, सम्भव छैन।) अनि, मानौँ तिनीहरूले निरन्तर, “म तिमीलाई प्रेम गर्छु!” भनेर भनिरहन्छन्। तिनीहरू यसो भन्छन् मात्रै, तर तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा वास्तवमा के सोचिरहेका छन्, तिनीहरू एकअर्काबाट के अपेक्षा गर्छन्, वा तिनीहरूसँग के-कस्ता समस्याहरू छन्, सो उदाङ्गो पार्ने वा एकअर्कालाई बताउने गर्दैनन्। तिनीहरूले भरोसासाथ एकअर्कालाई कहिल्यै पनि यस्ता कुराहरू भन्दैनन्, र सँगै हुँदा, तिनीहरूले एकअर्काको लागि सतही मीठा कुराहरू मात्रै बोल्छन्। त्यसोभए के तिनीहरू साँच्‍चै नै श्रीमान-श्रीमती हुन् त? निश्चय नै होइनन्! त्यसै गरी, यदि दाजुभाइ-दिदीबहिनीहरू एकअर्कालाई भरोसा गर्न, एकअर्कालाई सहयोग गर्न, र एकअर्काको आपूर्ति गर्न सक्‍ने हुन चाहन्छन् भने, हरेक व्यक्तिले आफ्नो साँचो अनुभवहरू बताउनुपर्छ। यदि तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गर्दैनस् भने—यदि तँ मानिसले बुझ्ने शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छस् भने, यदि तँ परमेश्‍वरमाथिको विश्‍वासबारे केही धर्मसिद्धान्तहरू प्रचार गर्छस्, र दिक्‍क लाग्‍ने सामान्य उक्तिहरूको मात्र सुगा-रटाइ गर्छस्, तर आफ्‍नो हृदयमा भएको कुराबारे खुलेर बोल्दैनस् भने—तँ इमानदार व्यक्ति होइनस्, र तँ इमानदार व्यक्ति बन्न सक्दैनस्। माथिको उही उदाहरण प्रयोग गर्दा: केही वर्षसम्‍म सँगै बसिसकेपछि, कहिलेकहीँ विवाद गर्ने बाहेक, श्रीमान् र श्रीमतीले एकअर्कासँग बानी बसाल्ने प्रयास गर्छन्। तर तिमीहरू दुवै सामान्य मानवताका छौ भने, र तिमीहरूले जीवनमा वा काममा सामना गर्ने जुनसुकै कठिनाइहरूबारे, र हृदयको गहिराइमा जे सोचिरहेका छौ र परिस्थिति मिलाउन जे-जस्तो योजना बनाइरहेका छौ, वा आफ्ना छोराछोरीको भविष्यका लागि जे-जस्ता विचार र योजनाहरू गरिरहेका छौ सोबारेमा तँ ऊसँग सधैँ हृदयबाट बोल्छस्, र ऊ तँसँग हृदयबाट बोल्छ, र तँ आफ्नो जीवनसाथीलाई यी सबै कुराहरू बताउँछस् भने—के तिमीहरू दुवैले एकअर्काको अत्यन्तै घनिष्ठ भएको अनुभव गर्नेछैनौ र? तर यदि उसले तँलाई कहिल्यै आफ्‍ना भित्री विचारहरू बताउँदैन र घरमा पैसा मात्र कमाएर ल्याउँछ भने; यदि तैँले कहिल्यै उसलाई आफ्‍ना विचारहरू बताउँदैनस्, र तिमीहरू एकअर्कालाई भरोसा गरी कुराहरू साट्दैनौ भने, के तिमीहरू दुईबीच भावनात्मक दूरी हुनेछैन र? निश्‍चय नै हुनेछ, किनभने तिमीहरूले एकअर्काका विचार वा योजनाहरू बुझ्दैनौ। अन्ततः, तैँले तेरो जीवनसाथी कस्तो प्रकारको व्यक्ति हो भनेर भन्‍न सक्‍नेछैनस्, न त उसले नै तँ कस्तो प्रकारको व्यक्ति होस् भनेर भन्‍न सक्‍नेछ। तैँले उसका खाँचोहरू बुझ्नेछैनस्, न त उसले नै तेरा खाँचोहरू बुझ्नेछ। यदि मानिसहरूका बीचमा कुनै मौखिक वा आत्मिक सञ्चार भएन भने, तिनीहरूका बीचमा घनिष्ठता हुने कुनै सम्‍भावना हुँदैन, र तिनीहरूले एकअर्काको आपूर्ति गर्न वा एकअर्कालाई सहयोग गर्न सक्दैनन्। तिमीहरूले यो अनुभव गरेका छौ, होइन र? यदि तेरो साथीले सबै कुरामा तँलाई भरोसा गरी कुरा खोल्छ, उसले जे सोचिरहेको छ र उसले जेसुकै कष्ट वा खुसी बोकिरहेको भए पनि तँलाई भन्छ भने, के तैँले ऊसँग निकै घनिष्ठ भएको अनुभव गर्नेछैनस् र? उसले तँलाई यी कुराहरू भन्‍न इच्‍छुक हुनुको कारण भनेको तैँले पनि आफ्‍ना भित्री विचारहरू सुनाउन उसलाई भरोसा गरेकोले गर्दा हो। तिमीहरू विशेष रूपमा नजिक छौ, र यही कारणले गर्दा तिमीहरू एकअर्कासित मिल्‍न र एकअर्कालाई सहयोग गर्न सक्छौ। मण्डलीमा दाजुभाइ-दिदीबहिनीहरूबीच यस किसिमको कुराकानी र आदानप्रदान भएन भने, तिनीहरू मिलेर बस्न सक्नेछैनन्, र तिनीहरूलाई आफ्‍नो कर्तव्य निर्वाह गर्दा सामञ्जस्यपूर्वक सहकार्य गर्न असम्‍भव लाग्नेछ। त्यसैले, सत्यता सङ्गति गर्नका लागि आत्मिक सञ्‍चार, र हृदयबाट बोल्‍ने क्षमता चाहिन्छ। इमानदार व्यक्ति बन्‍नका लागि व्यक्तिमा हुनुपर्ने सिद्धान्तहरूमध्येको एक यही हो।

कतिपय मानिसहरूले इमानदार व्यक्ति हुनका लागि मान्छेले सत्य बोल्नुपर्छ र हृदयबाट कुरा गर्नुपर्छ, र तिनीहरूले झूट बोले वा छल गरे भने खुलेर कुरा गर्दै आफूलाई उदाङ्गो पार्नुपर्छ र आफ्नो गल्ती मान्नुपर्छ भनेर भनिएको सुन्दा, तिनीहरू भन्छन्, “इमानदार व्यक्ति हुन कठिन छ। के आफूले सोच्ने सबै कुरा मैले अरूलाई भन्नु जरुरी छ? के सकारात्मक कुराहरूबारे सङ्गति गर्नु नै पर्याप्त छैन र? मैले अरूलाई मेरो अँध्यारो वा भ्रष्ट पक्षबारे बताउनु पर्दैन, पर्छ र?” यदि तैँले अरूसामु आफैलाई उदाङ्गो पार्दैनस् भने, र आफैलाई चिरफार गर्दैनस् भने, तैँले आफूलाई कहिल्यै चिन्नेछैनस्। तैँले आफू कस्तो चीज हुँ भनेर कहिल्यै पहिचान गर्नेछैनस्, अनि अरू मानिसहरूले तँलाई कहिल्यै भरोसा गर्न सक्नेछैनन्। यो तथ्य हो। यदि तँ अरूले तँलाई भरोसा गरून् भन्‍ने चाहन्छस् भने, सर्वप्रथम तँ इमानदार व्यक्ति हुनैपर्छ। इमानदार व्यक्ति बन्‍न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्‍नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तैँले सधैँ ढोँग गरिरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोँग गरिरहेको हुन्छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा त्रुटिहरू देख्न दिँदैनस् भने; यदि तैँले मानिसहरूलाई तँमा निष्ठा छ, र तँ महान्, आत्मत्यागी, न्यायसङ्गत र निस्वार्थ छस् भनी विश्‍वास दिलाउन तिनीहरूसामु झुटो छवि प्रस्तुत गर्छस् भने, के यो छलीपन र झुटोपन होइन र? के मानिसहरूले समयसँगै तँलाई छर्लङ्ग देख्नेछैनन् र? त्यसकारण, देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदय उदाङ्गो पार्। यदि तैँले अरू मानिसहरूले देखून् भनेर आफ्नो हृदय उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सबै सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के यो इमानदारिता होइन र? यदि तैँले अरू मानिसहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, “अरू मानिसहरूले देखून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको होस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।” तर यदि तैँले आफू अरू मानिसहरूको नजरपछाडि र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान्, आदर्श र निस्वार्थ भएको ढोँग गर्छस् भने, परमेश्‍वरले तेरोबारे के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ पूर्ण रूपमा छली व्यक्ति होस्; तँ पूरै पाखण्डी र दुष्ट होस्; अनि तँ इमानदार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई निन्दा गर्नुहुनेछ। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अरू मानिसहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिबारे र तेरो हृदयमा भएका शब्दहरूबारे विशुद्ध र खुलस्त वृत्तान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसका लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भर-पराइ आवश्यक पर्छ। तैँले सबै मामलाहरूमा सरल र खुलस्त रूपमा आफ्ना हृदयका कुरा बोल्‍न आफैलाई तालिम दिनैपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तैँले ठूलो कठिनाइ सामना गरिस् भने, परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र सत्यता खोज्नैपर्छ; तैँले सत्यता अभ्यास गर्न नसकुञ्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिँदा, तेरो हृदय बिस्तारै खुल्नेछ। तँ झन्झन् विशुद्ध हुँदै जानेछस्, र तेरा शब्द र व्यवहारका प्रभाव पहिलेका भन्दा फरक हुनेछन्। तेरा झूट र जालझेलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ सारगत रूपमै इमानदार व्यक्ति बनेको हुनेछस्।

शैतानद्वारा भ्रष्ट तुल्याइएकाले, सारा मानवजाति शैतानी स्वभावमा जिउँछन्। शैतानले जस्तै, मानिसहरूले पनि हरेक पक्षमा आफ्‍नो भेष बदल्ने र आफूलाई राम्रो देखाउने गर्छन्, र सबै मामलामा छल र खेलमा भर पर्छन्। तिनीहरूले छल र खेलको सहारा नलिने कुनै कुरा हुँदैन। कतिपय मानिसहरूले त किनमेलजस्ता आम क्रियाकलापहरूमा समेत छली खेल खेल्छन्। उदाहरणका लागि, तिनीहरूले सबैभन्दा फेसनको लुगा किनेका हुन सक्छन्, तर—तिनीहरूलाई त्यो साह्रै मन परे पनि—दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको कुरा काट्लान् र तिनीहरूलाई सतही भन्लान् भन्‍ने डरले मण्डलीमा त्यो लगाउने आँट गर्दैनन्। त्यसकारण तिनीहरू बस त्यो लुगा अरूले नदेख्‍ने गरी लगाउँछन्। यो कस्तो खालको व्यवहार हो? यो छली र ठगी स्वभावको प्रकटीकरण हो। किन कसैले फेसनमा रहेको लुगा किन्‍ने, तर आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूको अगाडि लगाउने आँट नगर्ने गर्छ? उसलाई हृदयमा, फेसनमा भएका कुराहरू मन पर्छ, र ऊ गैरविश्‍वासीहरूले जस्तै संसारका प्रचलनहरू पछ्याउँछ। उसलाई दाजुभाइ-दिदीबहिनीहरूले उसलाई छर्लङ्ग देख्लान्, ऊ कति सतही छन्, र ऊ सम्माननीय र सीधा व्यक्ति होइन भनेर बुझ्लान् भन्‍ने डर हुन्छ। ऊ हृदयमा, फेसनमा रहेका कुराहरूनै पछ्याउँछ र ती कुराहरू त्याग्‍न उसलाई गाह्रो हुन्छ, त्यसकारण उसले घरमा मात्रै त्यस्तो लुगा लगाउँछ र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई देख्‍लान् भनेर डराउँछ। यदि उसलाई मनपर्ने कुराहरू पूर्ति हुन सक्दैनन् भने, किन उसले ती कुरा त्याग्‍न सक्दैन? के उसलाई शैतानी स्वभावले नियन्त्रण गरिरहेको छैन र? उसले शब्द र धर्मसिद्धान्तहरू निरन्तर बोलिरहेको हुन्छ, र ऊ सत्यता बुझ्‍नेजस्तो देखिन्छ, तैपनि उसले सत्यता अभ्यास भने गर्नै सक्दैन यो शैतानी स्वभावअनुसार जिउने व्यक्ति हो। यदि कुनै व्यक्ति बोलीवचन र व्यवहारमा सधैँ कपटी हुन्छ भने, यदि उसले अरूलाई आफ्‍नो वास्तविकता देख्न दिँदैन भने, र यदि उसले अरूसामु सधैँ भक्त व्यक्तिको छवि प्रस्तुत गर्छ भने, त्यस्तो व्यक्ति र फरिसीका बीचमा के भिन्‍नता हुन्छ? ऊ वेश्याको जीवन जिउन चाहन्छ, तर सतीत्वको छवि पनि निर्माण गरिरहेको हुन्छ। उसले झिलिमिली लुगा सार्वजनिक रूपमा लगाउन सक्दैन भन्‍ने उसलाई राम्ररी थाहा थियो, तैपनि किन उसले त्यो किन्यो त? के त्यो पैसाको नाश भएन र? यो त उसलाई त्यस्तो कुरा मनपर्ने हुनाले र उसको मन त्यस्तै लुगामा बसेको हुनाले, उसलाई त्यो किन्‍नुपर्छ भन्‍ने लागेको हो। तर किनिसकेपछि, बाहिर जाँदा उसले त्यो लगाउन सक्दैन। केही वर्ष बितेपछि, उसलाई त्यो किनेकोमा पछुतो हुन्छ, र अचानक यस्तो महसुस हुन्छ: “मैले त्यस्तो काम गर्नेगरी कसरी त्यति मूर्ख र घृणास्पद भएँ?” उसलाई आफैले गरेको कामप्रति आफैलाई समेत घृणा जाग्छ। तर उसले आफ्‍नो व्यवहार नियन्त्रण गर्न सक्दैन, किनभने उसले आफूलाई मनपर्ने र आफूले पछ्याउने कुराहरू त्याग्‍न सक्दैन। त्यसकारण, उसले आफूलाई सन्तुष्ट पार्न दुईजिब्रे युक्ति र जालझेल प्रयोग गर्छ। यदि उसले यस्तो सानो मामलामा समेत छली स्वभाव प्रकट गर्छ भने, के ठूलो कुरामा उसले सत्यता अभ्यास गर्न सक्ला त? यो असम्‍भव हुनेछ। प्रस्टै छ, छली हुनु उसको प्रकृति हो, र छलीपन नै उसको मुख्य कमजोरी हो। छ-सात वर्षको एउटा बच्‍चा थियो, जसले आफ्‍नो परिवारसँग एक पटक मीठो खानेकुरा खायो। अरू बच्‍चाहरूले खानेकुरा के थियो भनेर सोध्दा, त्यो बच्‍चाले आँखा झिम्कायो र भन्यो, “ला, बिर्सेँ त,” जबकि वास्तवमा उसले तिनीहरूलाई बस बताउन चाहेको थिएन। के आफूले भर्खरै खाएको कुरा उसले साँच्‍चै बिर्सन सक्थ्यो? यो छ-सात वर्षको बच्‍चाले झूट बोल्‍न सक्यो। के यो ठूला मान्छेहरूले उसलाई सिकाएको कुरा थियो त? के यो उसको घरको वातावरणको प्रभाव थियो त? थिएन—यो मान्छेको प्रकृति हो, उसको विरासत हो; मानिस छली स्वभावसहित जन्‍मन्छ। वास्तवमा, त्यो बच्‍चाले जेसुकै मीठो कुरा खाएको भए पनि, त्यो सामान्य कार्य थियो। त्यो उसका आमाबुबाले उसका लागि बनाइदिएका थिए; उसले अरू कसैको खानेकुरा चोरेको थिएन। यदि यो बच्‍चाले झूट बोल्‍नु नै नपर्ने त्यस्तो परिस्‍थितिमा झूट बोल्‍न सक्यो भने, के उसले अरू मामलाहरूमा झूट बोल्‍ने सम्‍भावना अझै बढी हुनेछैन र? यसले कस्तो समस्या चित्रण गर्छ? के यो उसको प्रकृतिको समस्या होइन र? त्यो बच्‍चा अहिले हुर्किसकेको छ, र झूट बोल्‍नु उसको प्रकृति बनेको छ। ऊ साँच्‍चै नै छली व्यक्ति हो; यो कुरा उसमा सानै उमेरदेखि देख्‍न सकिन्थ्यो। छली मानिसहरू अरूलाई नढाँटी र छल नगरी बस्‍न नै सक्दैनन्, र तिनीहरूका झूट र जालझेल कुनै पनि समय र स्थानमा देखा पर्न सक्छन्। तिनीहरूले यी कुराहरू कसरी गर्ने भनी सिक्‍नु पर्दैन, वा त्यसका लागि तिनीहरूलाई उक्‍साउनु पर्दैन—तिनीहरू त्यो गर्ने क्षमता लिएर नै जन्‍मेका हुन्छन्। यदि त्यो बच्‍चाले त्यस्तो सानो उमेरमै मानिसहरूसँग जालझेल गर्नका लागि झूट बोल्‍न सक्यो भने, के उसले झूट बोल्नु साँच्‍चै एक पटक मात्रै हुने अपराध हुन सक्छ? निश्चय नै हुन सक्दैन। यसले ऊ प्रकृति सारले नै छली व्यक्ति हो भन्‍ने देखाउँछ। के त्यस्तो सरल कुरा पनि सहजै खुट्ट्याउन सकिँदैन र? यदि कसैले सानै उमेरदेखि झूट बोल्दै आएको छ, प्रायजसो झूट बोल्‍ने गर्छ, त्यसो गर्न आवश्यक नपर्ने सरल मामलाहरूमा पनि मानिसहरूलाई ढाँट्ने र जालझेल गर्ने गर्छ भने, र यदि झूट बोल्‍नु उसको प्रकृति नै बनेको छ भने, उसलाई परिवर्तन हुन सहज हुनेछैन। ऊ सच्‍चा रूपमै छली व्यक्ति हो। छली मानिसहरूलाई मुक्ति दिन सकिँदैन भनेर किन भनिन्छ? किनभने तिनीहरूले सत्यता स्विकार्ने सम्‍भावना हुँदैन, त्यसकारण तिनीहरूलाई शुद्ध गर्न र रूपान्तरित गर्न सम्भव नै हुँदैन। परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्‍नेहरू फरक हुन्छन्। तिनीहरू सानैदेखि तुलनात्मक रूपमा निष्कपट हुन्छन्, र तिनीहरूले कहीँकतै झूट बोलिहाले भने, तिनीहरूको अनुहार रातो हुनेछ र तिनीहरूलाई असहज महसुस हुनेछ। त्यस्तालाई इमानदार व्यक्ति बन्‍न सजिलो हुन्छ: यदि तैँले तिनीहरूलाई झूट बोल्‍न वा ठग्‍न लगाइस् भने, तिनीहरूलाई त्यो काम गर्न गाह्रो हुनेथियो। झूट बोल्दा पनि तिनीहरूले सबै कुरा राम्ररी भन्न सक्दैनन्, र सबैले थाहा पाइहाल्छन्। यिनीहरू तुलनात्मक रूपमा सरल मानिसहरू हुन्, र यदि तिनीहरू सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूले मुक्ति हासिल गर्ने सम्‍भावना बढी हुन्छ। यसप्रकारको व्यक्तिले विशेष परिस्‍थितिमा, कुनै उपाय नभएको बेला मात्रै झूट बोल्छन्। सामान्यतया, उसले सधैँ सत्य बोल्‍न सक्छ। जबसम्म उसले सत्यता पछ्याइरहन्छ, तबसम्म उसले केही वर्षको प्रयासमै भ्रष्टताको यो पक्ष फाल्न सक्नेछ, र त्यसपछि उसलाई इमानदार व्यक्ति बन्‍न गाह्रो हुनेछैन।

परमेश्‍वरलाई इमानदार मानिसहरूबाट माग गर्नुहुने मानक के हो? परमेश्‍वरका वचनहरूको यो अध्याय, तीन अर्तीहरूमा बताइएका परमेश्‍वरका मागहरू के-कस्ता छन्? (“इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै छल गर्ने प्रयास नगर्नु र कुनै पनि कामकुरा परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो, र परमेश्‍वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। … यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म भन्छु तँ सत्यता अभ्यास गर्न नरुचाउने व्यक्ति होस्। यदि तँसँग तैँले साझा गर्न नचाहने धेरै गोप्य मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि, आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अरूहरूसामु ल्याउन अत्यन्तै विकर्षित छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति पाउ र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)।) यहाँ एउटा निकै महत्त्वपूर्ण वाक्य छ। त्यो के हो, के तिमीहरूले देख्यौ? (परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग तैँले साझा गर्न नचाहने धेरै गोप्य मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अरूहरूसामु ल्याउन अत्यन्तै विकर्षित छस् भने,म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।”) हो, ठीक भन्यौ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग तैँले साझा गर्न नचाहने धेरै गोप्य मामलाहरू छन् भने।” यसको अर्थ के हो भने मानिसहरूले त्यस्ता धेरै कामकुराहरू गरेका हुन्छन्, जसका बारेमा तिनीहरूले बताउने आँटै गर्दैनन्, र तिनीहरूका अँध्यारा पाटोहरू अति धेरै हुन्छन्। तिनीहरूको कुनै पनि दैनिक व्यवहार परमेश्‍वरको वचनअनुसार हुँदैन, र तिनीहरू देहविरुद्ध विद्रोह गर्दैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्, र परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गरेपछि पनि, तिनीहरूले सत्यता वास्तविकतामा प्रवेश गरेका हुँदैनन्। “यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य मामलाहरू—आफ्ना अप्ठ्याराहरू—लाई अरूहरूसामु ल्याउन अत्यन्तै विकर्षित छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।” यहाँ, परमेश्‍वरले मानिसहरूलाई अभ्यासको मार्गतर्फ इसारा गर्नुभएको छ। यदि तँ यसरी अभ्यास गर्दैनस्, र नारा र धर्मसिद्धान्त मात्रै फलाक्छस् भने, तँ व्यक्ति होस्। यो वास्तवमा नै मुक्तिसँग जोडिएको छ। मुक्ति पाउनु हरेक व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण छ। के परमेश्‍वरले “सजिलैसँग मुक्ति नपाउने” भनेर अरू कहीँ उल्‍लेख गर्नुभएको छ? अरू ठाउँमा, उहाँले मुक्ति पाउन कति गाह्रो छ भन्‍ने कुरालाई बिरलै उल्‍लेख गर्नुहुन्छ, तर इमानदार बन्‍ने बारेमा कुरा गर्दा उहाँले यसबारे उल्‍लेख गर्नुहुन्छ नै। तँ इमानदार व्यक्ति होइनस् भने, तँ मुक्ति दिन निकै गाह्रो हुने व्यक्ति होस्। “सजिलैसँग मुक्ति नपाउने” भन्‍नाले तैँले सत्यता स्विकार्दैनस् भने, तँलाई मुक्ति पाउन गाह्रो हुनेछ भन्‍ने हो। तँ मुक्तिको सही मार्ग लिन असक्षम हुनेछस्, त्यसकारण तँलाई मुक्ति पाउन असम्‍भव हुनेछ। परमेश्‍वरले मानिसहरूलाई केही छुट दिनका लागि यो वाक्यशैलीको प्रयोग गर्नुहुन्छ। भन्‍नुको अर्थ: तँलाई मुक्ति दिन सहज छैन, तर तैँले परमेश्‍वरका वचनहरू अभ्यास गरिस् भने, तँसँग मुक्ति प्राप्त गर्ने आशा हुन्छ। त्यसको मुख्य अर्थ त्यही हो। यदि तँ परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनस्, र तेरा गोप्य कुराहरू र चुनौतीहरू कहिल्यै चिरफार गर्दैनस्, र अरूसँग सङ्गति गर्दा कहिल्यै खुल्दैनस्, अनि तिनीहरूका अघि आफ्‍ना भ्रष्टता र घातक त्रुटिहरूबारे सङ्गति, चिरफार, र प्रकाश गर्ने गर्दैनस् भने, तँलाई मुक्ति दिन सकिँदैन। त्यस्तो किन हुन्छ? तैँले आफूलाई यसरी उदाङ्गो पारिनस् वा चिरफार गरिनस् भने, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई घृणा गर्नेछैनस्, त्यसकारण तेरो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुनेछैन। अनि यदि तँ परिवर्तन हुन सकिनस् भने, तैँले मुक्ति पाउने बारेमा सोच्‍न समेत कसरी सक्छस् र? परमेश्‍वरका वचनहरूले यो स्पष्ट रूपमा नै देखाउँछन्, र यी वचनहरूले परमेश्‍वरको अभिप्राय प्रस्तुत गर्छन्। मानिसहरू इमानदार बन्‍नुपर्छ भनेर परमेश्‍वरले किन सधैँ जोड दिनुहुन्छ? किनभने इमानदार बन्‍नु अत्यन्तै महत्त्वपूर्ण छ—यो कुरा व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ कि सक्दैन वा उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरासँग सोझै सम्‍बन्धित हुन्छ। कतिपय मानिसहरू यसो भन्छन्: “म अहङ्कारी र आत्मधर्मी छु, र म प्रायः रिसाउँछु र म प्रायजसो भ्रष्टता प्रकट गरिरहन्छु।” अरूहरू भन्छन्, “म अत्यन्तै सतही र आडम्बरी छु, र अरूले मेरो प्रशंसा गर्दा म निकै मन पराउँछु।” यी सबै नै मानिसहरूले बाहिरबाट देख्‍न सक्‍ने कुराहरू हुन्, र यी कुराहरू ठूला समस्याहरू होइनन्। तैँले सधैँ यी कुराहरूबारे बोलिरहनु हुँदैन। तेरो स्वभाव वा व्यक्तित्व जे भए पनि, तँ परमेश्‍वरले माग गर्नुहुने इमानदार व्यक्ति बन्‍न सकेसम्म, तैँले मुक्ति पाउन सक्छस्। त्यसकारण, तिमीहरू के भन्छौ? के इमानदार बन्‍नु महत्त्वपूर्ण छ त? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, त्यसकारण उहाँका वचनहरूको तीन अर्तीहरू भन्‍ने अध्यायमा परमेश्‍वरले इमानदार बन्‍नेबारे बताउनुभएको छ। अरू अध्यायमा, उहाँले विश्‍वासीहरूसँग सामान्य आत्मिक जीवन र उचित मण्डली जीवन हुनुपर्छ भनेर बारम्‍बार उल्‍लेख गर्नुहुन्छ, र तिनीहरूले सामान्य मानवता कसरी जिउनुपर्छ भनेर वर्णन गर्नुहुन्छ। यी मामलाहरूमा उहाँका वचनहरू आम किसिमका छन्; तिनका बारेमा विशेष रूपमा वा अत्यन्तै विस्तृत रूपमा छलफल गरिएको छैन। तर, परमेश्‍वरले इमानदार बन्‍ने बारेमा बोल्दा, उहाँले मानिसहरूलाई पछ्याउने मार्ग औँल्याउनुहुन्छ। उहाँ मानिसहरूलाई कसरी अभ्यास गर्ने भनेर बताउनुहुन्छ, र उहाँ पर्‍याप्त विवरण र स्पष्टताका साथमा बोल्‍नुहुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँसँग तैँले साझा गर्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अरूहरूसामु ल्याउन अत्यन्तै विकर्षित छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने व्यक्ति होस्।” इमानदार बन्‍ने कार्य मुक्ति प्राप्त गर्नुसँग सम्‍बन्धित हुन्छ। त्यसैले तिमीहरू के भन्छौ, परमेश्‍वरले किन मानिसहरू इमानदार बन्‍नुपर्छ भन्ने माग गर्नुहुन्छ? यसले आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने सत्यतालाई छुन्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यका लागि चाहनुहुने मानिसहरू इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्‍न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्‍वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्‍भावना नै हुन्छ। तँ अहिले अत्यन्तै भक्त छस्, अहङ्कारी वा आत्मधर्मी छैनस्, कर्तव्य निर्वाह गर्दा राम्ररी मूल्य चुकाउन सक्छस्, वा सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई विश्‍वासी बनाउन सक्छस् भनेर भन्छस्। तर तँ इमानदार छैनस्, तँ अझै पनि छली छस्, र तँ पटक्कै परिवर्तित भएको छैनस्, त्यसोभए के तैँले मुक्ति पाउन सक्छस् त? बिलकुलै सक्दैनस्। र त्यसकारण, परमेश्‍वरका यी वचनहरूले प्रत्येकलाई यो स्मरण गराउँछन् कि मुक्ति पाउन, सबभन्दा पहिले तिनीहरू परमेश्‍वरका वचनहरू र मागहरूअनुसार इमानदार बन्नैपर्छ। तिनीहरूले खुलेर कुरा गर्नैपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू, र आफ्ना मनसाय र रहस्यहरू उदाङ्गो पार्नैपर्छ, र ज्योतिको मार्ग खोजी गर्नैपर्छ। “ज्योतिको मार्ग खोजी गर्नु” भनेको के हो? यो भनेको आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता खोजी गर्नु हो। जब तैँले आफ्‍नो भ्रष्टता, आफ्नो व्यवहारपछाडिका उद्देश्य र अभिप्रायलाई उदाङ्गो पार्छस्, तब तैँले आफूलाई पनि चिरफार गर्छस्, जसपछि तैँले यसो भन्दै खोजी गर्छस्: “मैले किन त्यसो गरेँ? के यसमा परमेश्‍वरका वचनहरूको कुनै आधार छ? के यो सत्यताअनुरूप छ? के यसो गरेर, मैले जानी-जानी गलत काम गरिरहेको छु? के मैले परमेश्‍वरलाई छल गरिरहेको छु? यदि मैले परमेश्‍वरलाई छल गरिरहेको छु भने, मैले यसो गर्नु हुँदैन; मैले परमेश्‍वरले के माग गर्नुहुन्छ, र परमेश्‍वरले के भन्‍नुहुन्छ भनी हेर्नुपर्छ, र सत्यता सिद्धान्तहरू के-के हुन् भनी पत्ता लगाउनुपर्छ।” सत्यता खोजी गर्नु भनेको यही हो; ज्योतिमा हिँड्नु भनेको यही हो। जब मानिसहरू नियमित रूपमा यो अभ्यास गर्न सक्छन्, तब तिनीहरू साँच्‍चै परिवर्तन हुन सक्छन्, र यसरी तिनीहरूले मुक्ति हासिल गर्न सक्छन्।

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुहुने कुराले के प्रमाणित गर्छ भने उहाँले वास्तवमै छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूलाई पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूका स्वभाव, साथै तिनीहरूका अभिप्राय, र तिनीहरूले छल गर्ने माध्यमहरूप्रतिको घृणा हो; परमेश्‍वर यी सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरू सत्यतालाई स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न सक्छन्, र तिनीहरू परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने परमेश्‍वरले कसैलाई पूर्वाग्रह देखाउनुहुन्न, न त सत्यताले नै त्यसो गर्छ। र त्यसकारण, यदि हामी परमेश्‍वरलाई प्रसन्न बनाउने मानिस बन्‍न चाहन्छौँ भने, हामीले सुरुमा आत्म-आचरणका सिद्धान्तहरूलाई परिवर्तन गर्नैपर्छ, शैतानी दर्शनहरूअनुसार जिउन छोड्नैपर्छ, आफ्नो जीवन जिउनका लागि झूट र छलमा भर पर्न छोड्नैपर्छ, र आफ्ना सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्ने कोसिस गर्नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरू अरूहरूमाझ जिउँदा सधैँ झूट, ढोँग, र छलमा भर पर्थे, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो आचरणको जगका रूपमा लिन्थे। यो परमेश्‍वरले तिरस्कार गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तँ सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्ने कोसिस गर्छस् भने, तँलाई बदनाम, आलोचना, र अस्वीकार गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झूट बोल्‍न झन्झन्‌ सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न धूर्त माध्यमहरू प्रयोग पनि गर्छस् र यसरी आफ्नो सुरक्षा गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस् जबसम्म तँ आफूलाई उम्काउन नै सक्दैनस्। परमेश्‍वरको घरमा, कामकुराहरू ठीक विपरीत हुन्छन्। तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्‍वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तँ आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तँ आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पवित्र आत्माको काम वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। तैँले जेसुकै गरे पनि वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँसित इमानदार मनोवृत्ति हुनैपर्छ। इमानदार मनोवृत्तिबिना, तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गर्न सक्‍दैनस्। यदि तैँले सधैँ झाराटारुवा शैलीमा कर्तव्य निर्वाह गर्छस्, र तँ कुनै काम राम्रोसित गर्न असफल हुन्छस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ, र आत्म-चिरफार गर्नका लागि तँ खुलस्त हुनुपर्छ। त्यसपछि, तैँले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ र झाराटारुवा हुनुको सट्टा अर्कोपल्ट अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ। यदि तँ इमानदार हृदयसहित कोसिस गर्ने र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गर्दैनस्, अनि सधैँ आफ्नो देह वा आफ्नै आडम्बरलाई सन्तुष्ट पार्न खोज्छस् भने, के तैँले राम्रो काम गर्न सक्नेछस् र? के तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गर्न सक्‍नेछस्? निश्चय नै सक्‍नेछैनस्। छली मानिसहरू आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा हुन्छन्; तिनीहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र त्यस्ता मानिसहरूलाई मुक्ति प्राप्त गर्न गाह्रो हुन्छ। मलाई भन—छली मानिसहरूले सत्यता अभ्यास गर्दा, के तिनीहरू छलमा संलग्‍न हुन्छन् त? सत्यता अभ्यास गर्नका लागि तिनीहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरूका आफ्‍नै स्वार्थहरूलाई त्याग्‍नुपर्छ, अरूको सामुन्ने खुल्नुपर्छ र आफैलाई उदाङ्गो पार्नुपर्छ। तर तिनीहरूले कुनै कुरा रोकेर राखेका हुन्छन्; जब तिनीहरू बोल्छन्, तिनीहरूले आधा कुरा मात्रै गर्छन्, र बाँकी कुरा रोकेर राख्छन्। तिनीहरूले के भन्‍न खोजेका हुन् भनेर अरूले सधैँ अनुमान गर्नुपर्छ, र तिनीहरूको अर्थ पत्ता लगाउन सधैँ सङ्केतहरू जोड्नुपर्छ। तिनीहरू सधैँ आफ्ना लागि लचक देखाउँछन्, तिनीहरू आफ्ना लागि खेल्‍ने ठाउँ खाली छोड्छन्। अरूले तिनीहरू छली छन् भन्‍ने थाहा पाएपछि, उनीहरू तिनीहरूसँग कुनै सम्‍बन्ध राख्‍न चाहँदैनन्, र तिनीहरूले जेसुकै काम गर्दा पनि तिनीहरूविरुद्ध सावधान हुन्छन्। तिनीहरू झूट बोल्छन् र ठग्छन् अनि तिनीहरूले भनेका कुराहरूमा कुन साँचो र कुन झूटो हो, वा ती कुराहरू कति बनावटी छन् भन्‍ने थाहा नपाएर अरूले तिनीहरूलाई भरोसा गर्न सक्दैनन्। तिनीहरूले अरूसँग आफूले बोलेको कुरा प्रायजसो पूरा गर्दैनन् र मानिसहरूले हृदयमा तिनीहरूका लागि कुनै मूल्य राख्ने गर्दैनन्। अनि परमेश्‍वरको हृदयमाचाहिँ के हुन्छ? परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले त तिनीहरूलाई अझै बढी तिरस्कार गर्नुहुन्छ, किनभने परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ। मानिसले सतहको कुरा मात्रै देख्‍न सक्छ, तर परमेश्‍वरले अझै सही, तीक्ष्ण, र वास्तविक रूपमा देख्नुहुन्छ।

तैँले विश्‍वास गरेको जति लामो समय भएको भए पनि, तेरो कर्तव्य जे भए पनि वा तैँले जे काम गरे पनि, तेरो क्षमता असल भए पनि कमजोर भए पनि वा तेरो चरित्र असल भए पनि खराब भए पनि, तैँले सत्यता स्विकार्न र इमानदार व्यक्ति बन्‍ने प्रयास गर्न सकुन्जेल, तैँले निश्चय नै इनामहरू पाउनेछस्। इमानदार व्यक्ति बन्‍न नखोज्ने कतिपय मानिसहरूले तिनीहरूको कर्तव्य राम्ररी पूरा गर्नु नै पर्‍याप्त हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूलाई म यसो भन्छु, “तैँले कहिल्यै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेछैनस्।” अरू मानिसहरूले इमानदार व्यक्ति बन्नु ठूलो कुरा होइन, परमेश्‍वरका अभिप्रायअनुरूप सेवा प्रदान गर्न खोज्नु अझै ठूलो कार्य हो, र यो परमेश्‍वरलाई सन्तुष्ट पार्ने एकमात्र तरिका हो भन्‍ने सोच्छन्। त्यसोभए प्रयास गरेर हेर्—इमानदार व्यक्ति नबनी तैँले परमेश्‍वरका अभिप्रायअनुरूप सेवा गर्न सक्छस् कि सक्दैनस्, हेर्। अरू मानिसहरू इमानदार व्यक्ति बन्न खोज्दैनन्, तर हरेक दिन प्रार्थना गर्ने, समयमै भेलामा जाने, परमेश्‍वरका वचनहरू खाने-पिउने, र गैरविश्‍वासीहरू जस्तो नजिउने गर्नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले कुनै नियम नतोडेसम्म वा कुनै दुष्कर्म नगरेसम्म, तिनीहरूका लागि त्यो नै पर्‍याप्त हुन्छ। तर के परमेश्‍वरलाई त्यसरी सन्तुष्ट पार्न सकिन्छ? तँ इमानदार व्यक्ति होइनस् भने तैँले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्? तँ इमानदार व्यक्ति होइनस् भने, तँ सच्चा व्यक्ति होइनस्। तँ इमानदार छैनस् भने, तँ कुटिल र छली छस्। तैँले झाराटारुवा तरिकाले काम गर्छस्, हर किसिमका भ्रष्टता प्रकट गर्छस्, र चाहेर पनि सत्यता अभ्यास गर्न सक्दैनस्। इमानदार व्यक्ति बन्‍ने कार्यभन्दा बाहिरको कुनै पनि कुरा राम्ररी गरिएको हुँदैन—तँसँग कुनै पनि हालतमा परमेश्‍वरप्रति समर्पणता हासिल गर्ने वा उहाँलाई सन्तुष्ट पार्ने तरिका हुँदैन। इमानदारीको मनोवृत्तिविना तैँले कसरी आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस् र? इमानदार मनोवृत्तिविना आफ्‍नो कर्तव्य पूरा गरिस् भने तैँले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस् र? के तैँले त्यो उचित रूपमा गर्न सक्छस्? तँ सधैँ आफ्‍नै देहका बारेमा र आफ्‍नै सम्भाव्यताहरूका बारेमा मात्रै सोच्छस्, सधैँ आफ्‍नो देहको कष्ट कम गर्ने, कम समर्पित हुने, कम योगदान दिने, कम मूल्य चुकाउने चाहना मात्रै गर्छस्। तैँले सधैँ कुनै न कुनै कुरा रोकेर राखिरहेको हुन्छस्। यो त छली मनोवृत्ति हो। आफूलाई परमेश्‍वरप्रति समर्पित गर्ने कुरामा समेत कतिपय मानिसहरू हिसाबकिताब गर्छन्। तिनीहरू भन्छन्: “भविष्यमा म सहजताका साथ जिउनुपर्छ। परमेश्‍वरको काम कहिल्यै सकिएन भने के गर्ने? म उहाँलाई आफ्नो सत प्रतिशत दिन सक्दिनँ; परमेश्‍वरको दिन कहिले आउनेछ भन्‍ने कुरा समेत मलाई थाहा छैन। मैले परमेश्‍वरका लागि समर्पण गर्नुभन्दा पहिले राम्ररी हिसाबकिताब गर्नुपर्छ, मेरो पारिवारिक जीवन र भविष्यका लागि प्रबन्ध गर्नुपर्छ।” के यस्तो तरिकाले सोच्‍ने मानिसहरू धेरै छन्? जब व्यक्तिले यस्तै हिसाबकिताब गर्छ र आफ्‍नो लागि भइपरिआउने कुराको योजना बनाउँछ भने त्यो कस्तो स्वभाव हो? के यस्ता मानिसहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? के तिनीहरू इमानदार मानिस हुन्? यसरी हिसाबकिताब गर्नु र भइपरिआउने कुराको योजना बनाउनु भनेको परमेश्‍वरसँग एउटै हृदयको हुनु होइन। यो त छली स्वभाव हो, र सो गर्ने मानिसहरूले छल कार्य गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई गर्ने मनोवृत्ति निश्चय नै इमानदारी होइन। कतिपय मानिसहरूलाई के कुराको डर हुन्छ भने, तिनीहरूसँग अन्तरक्रिया वा सङ्गत गर्दा, तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका समस्याहरू छर्लङ्ग देख्नेछन् र तिनीहरूको कद सानो छ भनेर भन्‍नेछन्, वा तिनीहरूलाई हेय भावले हेर्नेछन्। त्यसकारण जब तिनीहरू बोल्छन्, तब तिनीहरूले आफू सधैँ उत्साही भएको, परमेश्‍वरको तृष्णा गर्ने गरेको, र सत्यता अभ्यास गर्नमा अति इच्छुक रहेको जस्तो देखाउने छाप छोड्न खोज्छन्। तर भित्री रूपमा, तिनीहरू अत्यन्तै कमजोर र नकारात्मक हुन्छन्। तिनीहरूले कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्‍न नसकून् भनेर दह्रिलो भएको नाटक गर्छन्। यो पनि छल नै हो। छोटकरीमा भन्दा, तैँले गर्ने जेसुकै कुरामा, चाहे त्यो जीवनमा होस् वा कर्तव्य निर्वाह गर्दा होस्, यदि तँ अरूलाई बहकाउन वा छल गर्न अनि तिनीहरूलाई तँलाई आदर र आराधना गर्न लगाउन, वा तँलाई हेय भावले नहेर्न लगाउन झूट र नाटक वा देखावटी रूप प्रयोग गर्छस् भने, यो सबै छल नै हो। कतिपय महिलाहरू आफ्‍नो श्रीमानलाई सराहना गर्छन्, जबकि वास्तवमा तिनीहरूका श्रीमान पिशाच र अविश्‍वासीहरू हुन्छन्। उनका दाजुभाइ-दिदीबहिनीहरूले उनको स्‍नेह अत्यन्तै दह्रो रहेछ भनेर भन्छन् भन्‍ने डरले, त्यस्ती महिला यसो भन्‍ने पहिलो व्यक्ति हुन्छे: “मेरो श्रीमान त पिशाच हो।” तर, हृदयमा उसले यसो भन्छे: “मेरो श्रीमान त असल व्यक्ति हुनुहुन्छ।” मुखले त उसले सुरुमा भनेको कुरा भन्छे—तर त्यो त अरूलाई सुनाउनका लागि मात्रै हो, ताकि उसले आफ्‍नो श्रीमानलाई खुट्ट्याएकी छे भन्‍ने तिनीहरूले सोचून्। उसले वास्तवमा यसो भनिरहेकी हुन्छे: “पर्ख, मेरो खुलासा नगर। म नै सुरुमा यो दृष्टिकोण व्यक्त गर्नेछु ताकि तिमीहरूले यसबारे उल्‍लेख गर्न नपरोस्। मैले मेरो श्रीमानलाई पिशाच भनेर खुलासा गरिसकेँ, त्यसको अर्थ मैले आफ्ना स्‍नेह त्यागेको छु र तिमीहरूले यसबारे केही भन्‍नु पर्दैन।” के त्यो छली हुनु होइन र? के त्यो देखावटी व्यवहार होइन र? यो देखावटी रूप धारण गरेर मानिसहरूलाई छल गर्नु र बहकाउनु हो। तैँले खेल खेलिरहेको हुन्छस्, हरेक अवसरमा जालझेल गरिरहेको हुन्छस्, ताकि अरूले तेरो साँचो अनुहार नभई तेरो झूटो स्वरूप देखून्। यो कुटिल कुरा हो; यो मानिसको छलीपन हो। तैँले तेरो श्रीमान पिशाच हो भनी स्विकारेकी छेस्, त्यसोभए तँ किन ऊसँग सम्बन्धविच्छेद गर्दिनस्? किन त्यस पिशाचलाई, त्यस शैतानलाई इन्कार्दिनस्? तैँले तेरो श्रीमान पिशाच हो भनी भन्छेस्, तर पनि त्यसैसँग जीवन बिताउन जारी राख्छेस्—यसले तँ पिशाचहरूलाई मन पराउँछेस् भन्‍ने देखाउँछ। तैँले मुखले चाहिँ त्यो पिशाच हो भन्छेस्, तर हृदयमा यो कुरा मान्दिनस्। यसको अर्थ तैँले अरूलाई छल गरिरहेकी छेस्, तिनीहरूको आँखामा छारो हालिरहेकी छेस्। यसले तैँले पिशाचहरूसँग साठगाँठ गरेकी छेस्, तिनीहरूको रक्षा गरिरहेको छस् भन्‍ने देखाउँछ। यदि तँ सत्यता अभ्यास गर्ने व्यक्ति भएकी भए, तैँले तेरो श्रीमान पिशाच हो भनेर मान्नेबित्तिकै ऊसँग सम्बन्धविच्छेद गर्नेथिइस्। त्यसपछि तैँले गवाही दिन सक्नेथिइस्, र यसले तैँले आफू र त्यस पिशाचका बीचमा स्पष्ट रेखा कोरिरहेकी थिइस् भन्‍ने देखाउनेथियो। तर दुर्भाग्यवश, तैँले यो रेखा कोर्न नसकेकी मात्रै होइन, तर तँ पिशाचसँग आफ्‍ना दिनहरू बिताइरहेकी छेस्, र झूट र छलद्वारा दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाइरहेकी छेस्। यसले तँ पिशाच जस्तै छेस्, तँ झूट बोल्‍ने अर्को पिशाच होस् भन्‍ने प्रमाणित गर्छ। बिहे गरेको लोग्नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर भन्‍ने भनाइ छ। तैँले पिशाचलाई बिहे गरेकीले र त्यसलाई कहिल्यै पिठ्यूँ फर्काउने नभएकीले, तँ पनि पिशाच नै होस् भन्‍ने प्रमाणित गर्छ। तँ पिशाच होस्, तर तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्न तैँले तेरो श्रीमान पिशाच हो भनी भन्छेस्—के यो झूट र छलको युक्ति होइन र? तँलाई सत्यता राम्ररी थाहा छ, तर पनि अरूको आँखामा छारो हाल्नका लागि अझै यस्ता माध्यमहरू प्रयोग गर्छेस्। यो कपटी कार्य हो; यो छली कार्य हो। सबै कपटी र छली मानिसहरू पूर्ण रूपमा पिशाचहरू हुन्।

सबैमा भ्रष्ट स्वभाव हुन्छ। यदि तिमीहरूले केही आत्म-चिन्तन गऱ्यौ भने, तिमीहरूले अरूमाथि झूटो छाप पार्ने वा छली कार्य गर्ने कतिपय स्थिति वा अभ्यासहरू स्पष्ट रूपमा नै देख्छौ; तिमीहरू सबैले कुनै न कुनै बेला नाटक गरेका छौ वा ढोँग गरेका छौ। कतिपय मानिसहरू यसो भन्छन्: “त्यसोभए किन मैले याद गरेको छैनँ त? म निष्कपट व्यक्ति हुँ। यो संसारमा मलाई निकै हेपिएको र ठगिएको छ, तर मैले एक पटक पनि छल गरेको छैनँ। म त आफ्‍नो हृदयमा जे छ त्यही भन्छु।” त्यसले अझै पनि तँ इमानदार व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दैन। सम्भवतः तँ बुद्धिमान छैनस्, वा त्यति शिक्षित छैनस्, वा समूहमा तँ सहजै हेपिन्छस्, वा तँ कार्य गर्दा बुद्धि नपुर्‍याउने, केही सीप भएको अकुशल कायर होस्, र समाजको तल्‍लो स्तरमा पर्छस्—अझै पनि यसले तँ इमानदार व्यक्ति होस् भन्‍ने अर्थ दिँदैन। इमानदार व्यक्ति भनेको सत्यता स्वीकार गर्न सक्‍ने व्यक्ति हो—बिचरा भन्‍न लायकको मूर्ख, केही न कामको, वा निष्कपट व्यक्ति होइन। तिमीहरूले यी कुराहरू खुट्ट्याउन सक्‍नुपर्छ, होइन र? म प्रायजसो कतिपय मानिसहरूले यसो भन्‍ने गरेको सुन्‍ने गर्छु: “म कहिल्यै झूट बोल्दिनँ—मलाई पो सधैँ झूट बोलिन्छ। मलाई मानिसहरूले सधैँ हेप्छन्। परमेश्‍वरले खाँचोमा परेकालाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भनेर भन्‍नुभएको छ, र म ती मानिसहरूमध्ये एक हुँ। यो परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले हामीजस्ता समाजमा स्वागत नगरिएका निष्कपट मानिसहरूलाई दया गर्नुहुन्छ। यो साँच्‍चै नै परमेश्‍वरको कृपा हो!” परमेश्‍वरले खाँचोमा परेकालाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍नुको पछाडि व्यावहारिक पाटो छ। तैँले त्यसलाई पहिचान गर्न सके पनि, यसले तँ इमानदार व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दैन। वास्तवमा, कतिपय मानिसहरू बस बेवकुफ, मूर्ख हुन्छन्; तिनीहरू कुनै सीप नभएका, कमजोर क्षमता भएका, र सत्यता पटक्‍कै नबुझ्ने मूर्खहरू हुन्छन्। परमेश्‍वरले उल्‍लेख गर्नुहुने इमानदार मानिसहरूसँग त्यस्तो प्रकारको व्यक्तिको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले खाँचोमा परेकाहरूलाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍ने कुरा साँचो हो, तर बेवकुफ र मूर्खहरू यसरी उठाइनेमा पर्दैनन्। तेरो क्षमता अन्तर्निहित रूपमै अत्यन्तै कमजोर छ, र तँ मूर्ख, केही न कामको छस्, र तँ गरिब परिवारमा जन्‍मेको र समाजको तल्‍लो वर्गको सदस्य भए पनि, तँ अझै पनि परमेश्‍वरको मुक्तिको पात्र होइनस्। तैँले समाजमा धेरै कष्ट भोगेको र विभेद सहेको छस् भन्दैमा, तँलाई सबैले हेपेका र ठगेका छन् भन्दैमा, तँ इमानदार व्यक्ति होस् भन्‍ने नसोच्। त्यस्तो सोच्छस् भने, तँ नराम्ररी भूलमा परेको छस्। के तैँले इमानदार व्यक्ति कस्तो हुन्छ भन्‍ने बारेमा कुनै गलतफहमी वा विकृत बुझाइ पालिरहेको छस्? के तिमीहरूले यो सङ्गतिद्वारा केही स्पष्टता प्राप्त गरेका छौ त? इमानदार व्यक्ति बन्‍नु मानिसहरूले सोचेको जस्तो होइन; यो शब्दजाल रच्नबाट टाढा बस्‍ने सीधा बोल्‍ने व्यक्ति बन्‍नु होइन। व्यक्ति स्वतः सीधा बोल्‍ने व्यक्ति हुन सक्छ, तर त्यसको अर्थ ऊ जालझेल वा छलमा संलग्‍न हुँदैन भन्‍ने हुँदैन। सबै भ्रष्ट मानवमा ठग र छली भ्रष्ट स्वभावहरू हुन्छन्। जब मानिसहरू शैतानको प्रभावअन्तगर्त, र यसका शक्तिहरूबाट शासित र नियन्त्रित भएर, यस संसारमा जिउँछन् तब तिनीहरूका लागि इमानदार हुनु असम्भव हुन्छ। तिनीहरू झन् धेरै छली मात्र बन्न सक्छन्। यस भ्रष्ट मानवजातिका बीचमा जिउँदा इमानदार व्यक्ति हुन वास्तवमै धेरै कठिनाइहरू समावेश हुन्छन् साथै हामीलाई गैरविश्‍वासीहरू, दियाबलसका राजाहरू, र जिउँदा पिशाचहरूले गर्ने गिल्‍ला, निन्दा, मूल्याङ्कन, बहिस्कार र खेदाइ समावेश हुन्छ। त्यसकारण, के यो संसारमा इमानदार व्यक्तिका रूपमा बाँच्नु सम्‍भव छ? के यो संसारमा बाँच्न हाम्रा लागि कुनै ठाउँ छ? हो, छ। हामी निश्चय नै बाँच्न सक्छौँ। परमेश्‍वरले हामीलाई पूर्वनिर्धारण गर्नुभएको र चुन्‍नुभएको छ, र उहाँले अवश्य नै हाम्रा लागि बाटो खोलिदिनुहुन्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र उहाँकै मार्गदर्शनमा उहाँलाई पछ्याउँछौँ, र हामी पूर्णतया उहाँद्वारा दिइएको सास र जीवनद्वारा नै जिउँछौँ। हामीले परमेश्‍वरका वचनहरूको सत्यता स्विकारेका हुनाले, हामीसँग कसरी जिउने भन्‍ने नयाँ नियमहरू छन्, र हाम्रो जीवनका लागि नयाँ उद्देश्यहरू छन्। हाम्रा जीवनका जग परिवर्तन भएका छन्। हामीले पूर्ण रूपमा, सत्यता प्राप्त गर्न र मुक्ति पाउनका लागि जिउने नयाँ शैली, आफूलाई आचरणमा ढाल्ने नयाँ तरिका अपनाएका छौँ। अर्थात्, हामीले जिउने नयाँ पद्धति अपनाएका छौँ: हामी आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि जिउँछौँ। हामी के खान्छौँ, हामी के लाउँछौँ, वा हामी कहाँ जिउँछौँ भन्‍ने कुरासँग यसको बिलकुलै कहीँकतै कुनै सम्बन्ध छैन; हाम्रो हृदयलाई चाहिने कुरा यही हो। धेरै मानिसहरूलाई इमानदार व्यक्ति बन्‍न धेरै गाह्रो हुन्छ जस्तो लाग्छ। यसको एउटा पाटो के हो भने भ्रष्ट स्वभाव फाल्न निकै गाह्रो हुन्छ। त्यसमाथि, यदि तिमीहरू गैरविश्‍वासीहरूका बीचमा जिइरहेका छौ भने—अनि विशेष गरी यदि तिमीहरू तिनीहरूसँगै काम गरिरहेका छौ भने—इमानदार व्यक्ति बन्दा र साँचो बोल्दा तिमीहरूलाई हाँसोमा उडाइन, गिल्‍ला गरिन, आलोचना गरिन, बहिस्कार गरिन वा खेदाइन समेत सकिन्छ। त्यसले हाम्रो अस्तित्वका लागि चुनौतीहरू सृजना गर्छ। धेरै मानिसहरू भन्छन्: “इमानदार व्यक्ति बनेर साध्य हुँदैन। यदि मैले खुलस्त बोलेँ भने मलाई घाटा हुनेछ, र झूट नबोली म केही पनि पूरा गर्न सक्नेछैनँ।” यो कस्तो खालको दृष्टिकोण हो? यो त छली व्यक्तिको दृष्टिकोण र तर्क हो। तिनीहरू पूर्ण रूपमा, आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्नका लागि झूटा र छली कुराहरू भन्छन्। तिनीहरू ती कुराहरू गुमाउने डरले इमानदार मानिस बन्‍न र सत्य बताउन इच्‍छुक हुँदैनन्। सम्पूर्ण भ्रष्ट मानवजाति त्यस्तै हुन्छन्। तिनीहरू जति नै शिक्षित भए पनि, तिनीहरूको हैसियत जति उच्‍च वा निम्न भए पनि, तिनीहरू अधिकृत भए पनि वा आम नागरिक भए पनि, तिनीहरू सेलिब्रेटी भए पनि औसत व्यक्ति भए पनि, तिनीहरू सबैले निरन्तर झूट बोल्छन् र ठग्छन्, र कोही पनि भरोसा लायक हुँदैनन्। यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएनन् भने, तिनीहरूले सधैँ झूट बोल्न र छल्न जारी राख्नेछन्, र छली स्वभावले भरिएका हुनेछन्। के यसरी तिनीहरूले परमेश्‍वरप्रतिको साँचो समर्पणता हासिल गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्।

के तिमीहरूलाई इमानदार व्यक्ति बन्‍न गाह्रो छ जस्तो लाग्छ? के तिमीहरूले कहिल्यै यो अभ्यास गर्ने प्रयास गरेका छौ? कुन-कुन हिसाबमा तिमीहरूले इमानदार व्यक्ति बन्‍ने अभ्यास र अनुभव गरेका छौ? तिमीहरूका अभ्यासहरू कुन-कुन सिद्धान्तहरूमा आधारित थिए? तिमीहरूसँग अहिले यसको कुन स्तरको अनुभव छ? के तिमीहरू आधारभूत रूपमा इमानदार व्यक्ति बनिसकेको अवस्थामा पुगेका छौ? यदि तिमीहरूले यो हासिल गरेका छौ भने, त्यो असाध्यै राम्रो कुरा हो! परमेश्‍वरका वचनहरूबाट हामीले के देख्‍न सक्‍नुपर्छ भने, हामीलाई मुक्ति दिन र रूपान्तरण गर्नका लागि, उहाँले के-कस्ता कुरा आउन लागेका छन् भनी पूर्व स्वाद दिन केही काम मात्र गर्ने वा भविष्यमा के हुनेछ भनेर देखाउनलाई काम गर्ने, र त्यसलाई त्यतिमै छोडिदिने मात्र गर्नुहुन्न। न त उहाँले मानिसहरूको बाहिरी व्यवहारलाई नै बदल्नुहुन्छ। बरु, उहाँ त हरेक व्यक्तिलाई परिवर्तन गर्न चाहनुहुन्छ, तिनीहरूको हृदयको सबैभन्दा गहन भागबाट, तिनीहरूको स्वभाव र तिनीहरूको सारबाटै सुरु गर्दै, उहाँले तिनीहरूलाई स्रोतबाटै रूपान्तरित गर्न चाहनुहुन्छ। परमेश्‍वरले यसरी नै काम गर्नुहुने हुनाले, हामीले आफूलाई कस्तो व्यवहार गर्नुपर्छ त? हामीले पछ्याउने कुरा, हाम्रो स्वभावगत परिवर्तन, र हामीले पूरा गर्नुपर्ने कर्तव्यहरूका लागि हामीले जिम्‍मेवारी लिनुपर्छ। हामीले गर्ने सबै कुरामा हामी गम्‍भीर हुनुपर्छ, कुनै पनि कुरालाई त्यत्तिकै जान दिनु हुँदैन, र सबै कुरालाई चिरफारका लागि उठाउन सक्‍नुपर्छ। तैँले हरेक पटक कुनै काम सक्दा, चाहे तँलाई त्यो काम सही रूपमा गरिएजस्तो लागे पनि, त्यो काम सत्यताअनुरूप नहुन सक्छ। यसको पनि चिरफार गरिनैपर्छ, र यसलाई परमेश्‍वरका वचनहरूअनुसार तुलना, पुष्टि र खुट्ट्याउने गरिनुपर्छ। यस तरिकाले, त्यो सही थियो कि गलत थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। यसको साथै, तैँले गलत गरेँ भनी लागेको कुरालाई पनि चिरफार गरिनैपर्छ। यसका लागि दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्दै, खोजी गर्दै, र एकअर्कालाई सहयोग गर्दै थप समय बिताउनुपर्छ। तैँले जति धेरै सङ्गति गर्छस्, तेरो हृदय त्यति नै बढी उज्यालो हुनेछ, र तैँले त्यति नै बढी सत्यता सिद्धान्तहरू बुझ्नेछस्। यो परमेश्‍वरको आशिष् हो। यदि तिमीहरूमध्ये कसैले पनि आफ्नो हृदय खोल्दैनौ, र अरूका नजरमा राम्रो छाप छोड्न र आफूलाई अरूले उच्‍च मानून् र आफ्नो खिल्‍ली नउडाऊन् भन्‍ने उद्देश्यले, तिमीहरू सबैले आफूलाई ढाकछोप गर्छौ भने, तिमीहरूले साँचो वृद्धि अनुभव गर्नेछैनौ। यदि तैँले सधैँ भेष बदल्छस् र सङ्गतिमा कहिल्यै खुल्दैनस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछैनस्, र तँ सत्यता बुझ्न सक्षम हुनेछैनस्। अनि, यसको परिणाम के हुनेछ? तँ सदासर्वदा अन्धकारमै जिउनेछस्, र तँलाई मुक्ति दिइनेछैन। यदि तँ सत्यता प्राप्त गर्न र आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले सत्यता प्राप्त गर्न र सत्यता अभ्यास गर्नलाई मूल्य चुकाउनैपर्छ, र तैँले आफ्नो हृदय खोलेर अरूसित सङ्गति गर्नैपर्छ। यो तेरो जीवन प्रवेश र तेरो स्वभावगत परिवर्तन दुवैका लागि फाइदाजनक हुन्छ। भेलाहरूमा तिमीहरूका अनुभवात्मक बुझाइका बारेमा छलफल गर्दा यसले तिमीहरूलाई र अरूलाई फाइदा गर्छ। तिमीहरूमध्ये कसैले पनि आफ्‍नो आत्मज्ञान, वा आफ्‍नो अनुभवात्मक बुझाइका बारेमा कुरा गरेनौ भने; कसैले आफूलाई चिरफार गरेनौ वा खुलस्त पारेनौ भने; यदि तिमीहरू सबै शब्द र धर्मसिद्धान्तहरू बोल्‍नमा सिपालु भयौ तर आफूबारेको बुझाइका बारेमा कसैले पनि बताएनौ, र तिमीहरूसँग भएको थोरै आत्मज्ञानमाथि प्रकाश पार्न तिमीहरू कसैले साहस गरेनौ भने, के हुन्छ? तिमीहरू सबै भेला हुनेछौ र विनम्र शब्‍दहरू र खुसी साटासाट गर्नेछौ, एक-अर्काको चापलुसी र तारिफ गर्नेछौ, र कपटी कुरा गर्नेछौ। “ए, हालै तिमी निकै राम्रो भएका छौ। तिमीमा केही परिवर्तन आएको छ!” “हालै तिमीले ठूलो आस्था देखाएका छौ!” “तिमी कति जोसिलो छौ है!” “तिमी त मभन्दा धेरै समर्पित भएको छौ।” “तिम्रा भेटीहरू मेराभन्दा ठूला छन्!” यस्तै प्रकारको परिस्थिति विकास हुन्छ। सबैले एक-अर्काको चापलुसी र तारिफ गर्छन्, र सबैले खुट्ट्याउन् र बुझून् भनी चिरफारका लागि आफ्‍नो साँचो रूप प्रस्तुत गर्न कोही पनि मान्दैन। के यस्तो प्रकारको वातावरणमा साँचो मण्डली जीवन हुनसक्छ? अहँ, हुन सक्दैन। कतिपय मानिसहरू यसो भन्छन्: “मैले मण्डली जीवन जिएको केही वर्ष भयो। म सधैँ सन्तुष्ट रहँदै आएको छु र मैले यसको आनन्द लिएको छु। भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरू सबैलाई प्रार्थना गर्न र परमेश्‍वरको प्रशंसाका भजनहरू गाउन मन पर्छ। प्रार्थना र भजनहरूका कारण सबै जना उत्प्रेरित भएर आँसु झार्छन्। कहिलेकाहीँ परिस्थिति संवेगले ओतप्रोत हुन्छ र हामी सबै जना पसीनाले भिजेका हुन्छौँ। दाजुभाइ-दिदीबहिनीहरू गाउँछन् र नाच्छन्; यो निकै सम्‍पन्‍न, रङ्गिन मण्डली जीवन हो, र यो साह्रै आनन्ददायी छ। यसमा साँच्‍चै नै पवित्र आत्‍माको काम समावेश छ! त्यसपछि, हामी परमेश्‍वरका वचनहरू खान्छौँ-पिउँछौँ, र परमेश्‍वरका वचनहरूले सीधै हाम्रो हृदयसँग बोलेको अनुभव गर्छौँ। हरेक पटक सङ्गति गर्दा सबै जना अत्यन्तै उत्साहित हुन्छन्।” केही वर्षसम्‍म यस्तो प्रकारको मण्डली जीवन जिउँदा सबैलाई रमाइलो लाग्छ, तर यसबाट के आउँछ? कुनै पनि व्यक्ति सत्यता वास्तविकतामा बिरलै प्रवेश गर्छ, र परमेश्‍वरको गवाही दिने आफ्‍नो अनुभवबारे बिरलै कसैले व्याख्या गर्न सक्छ। परमेश्‍वरका वचनहरू पढ्न, गीत गाउन र नाच्नका लागि तिनीहरूसँग धेरै ऊर्जा हुन्छ, तर सत्यताबारे सङ्गति गर्ने कुरा आउँदा, कतिपय मानिसहरू कुनै चासो राख्दैनन्। कसैले पनि इमानदार व्यक्ति बन्ने आफ्‍नो अनुभवबारे कुरा गर्दैन; कसैले पनि आत्म-चिरफार गर्दैन, र अरूले आफ्‍नो भ्रष्ट स्वभाव देखून् र खुट्ट्याउन् भनी, अनि अरूको फाइदा र आत्मोन्नतिका लागि कसैले पनि आफ्‍नो भ्रष्ट स्वभावलाई उदाङ्गो पार्दैन। कसैले पनि परमेश्‍वरलाई महिमा दिन आफ्‍नो वास्तविक अनुभवात्मक गवाहीबारे सङ्गति गर्दैन। वर्षौँको मण्डली जीवन त्यत्तिकै गाउँदै-नाच्दै, खुसी हुँदै र आनन्द लिँदै खेर जान्छ। मलाई भन: यो खुसी र आनन्द कहाँबाट आउँछ? म भन्छु, परमेश्‍वरले हेर्न चाहनुहुने वा उहाँलाई सन्तुष्ट पार्ने यो कुराले होइन, किनभने उहाँ त मानिसहरूको जीवन स्वभावमा परिवर्तन आएको, र मानिसहरूले सत्यता वास्तविकता जिएको हेर्न चाहनुहुन्छ। परमेश्‍वर यो वास्तविकता हेर्न चाहनुहुन्छ। उहाँ तिमीहरू भेलामा हुँदा, आफ्‍नो भजन किताब समाएर, उहाँको प्रशंसामा गाउँदै र नाच्दै गरेको, वा उत्साहित भएको चाहनुहुन्‍न—उहाँ त्यो हेर्न चाहनुहुन्‍न। यसको विपरीत, यो देख्दा परमेश्‍वरलाई दुःख लाग्छ, पीडा हुन्छ, र बेचैनी हुन्छ, किनभने उहाँले हजारौँ हजार वचनहरू बोल्‍नुभएको छ, तर एक जना व्यक्तिले पनि तिनलाई साँचो रूपमा पालना गरेको र जिएको छैन। त्यस्तो कुराले परमेश्‍वरलाई चिन्तित तुल्याउँछ। तिमीहरूले मण्डली जीवनबाट पाएको थोरै शान्ति र खुसीमा प्रायजसो आत्म-सन्तुष्ट र ढुक्‍क मान्‍ने गर्छौ। तिमीहरू परमेश्‍वरलाई प्रशंसा गर्छौ र केही आनन्द, सान्त्वना वा केही आत्मिक पूर्णता प्राप्त गर्छौ, त्यसपछि तिमीहरूले आफ्‍नो आस्था राम्ररी अभ्यास गरेका छौ भन्‍ने विश्‍वास गर्छौ। तिमीहरू यी भ्रमहरूसँग टाँसिएर बस्छौ, तिनलाई पुँजीका रूपमा, परमेश्‍वरमाथिको आस्थाको सबैभन्दा ठूलो प्राप्तिका रूपमा लिन्छौ, र तिमीहरूको जीवन स्वभावमा परिवर्तन र मुक्तिको मार्गमा प्रवेश गर्नुको सट्टामा तिनैलाई स्विकार्छौ। त्यसरी, तिमीहरूलाई सत्यता पछ्याउनु वा इमानदार व्यक्ति बन्न खोज्नु नै पर्दैन भन्‍ने लाग्छ। आफ्‍नो बारेमा चिन्तन गर्नु वा आफ्‍ना समस्याहरूलाई चिरफार गर्नु, वा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नु पर्ने कुनै आवश्यकता छैन भन्‍ने लाग्छ। यो त भयानक क्षेत्रमा प्रवेश गर्नु हो। यदि मानिसहरूले यसो गर्न जारी राखे भने; परमेश्‍वरको काम पूरा हुन लागेको बेला, तिनीहरू अझै पनि इमानदार मानिसहरू बनेका हुँदैनन् वा तिनीहरूले आफ्‍नो कर्तव्य मानकअनुरूप पूरा गरेका हुँदैनन् भने; तिनीहरूले परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गरेका हुँदैनन् र तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा पर्न सक्छन् भने; यदि तिनीहरू शैतानको प्रभावबाट उम्केका छैनन् भने; यदि परमेश्‍वरले गर्नुहुने यी मागहरू तिनीहरूले अझै पूरा गरेका छैनन् भने, तिनीहरू परमेश्‍वरले मुक्ति दिने मानिसहरू होइनन्। त्यसैले परमेश्‍वर चिन्तित हुनुहुन्छ।

मानिसहरू आस्थामा नयाँ-नयाँ हुँदा सधैँ अत्यन्तै उत्साहित हुन्छन्। जब तिनीहरूले विशेषगरी परमेश्‍वरले सत्यताबारे सङ्गति गर्नुभएको सुन्छन्, तब तिनीहरू यस्तो सोच्छन्: “अब मैले सत्यता बुझेँ। मैले साँचो मार्ग भेट्टाएँ। म साह्रै खुसी छु!” हरेक दिन नै नयाँ वर्ष वा विवाह भोज मनाएझैँ हर्ष महसुस हुन्छ; हरेक दिन तिनीहरू कसैले भेला वा सङ्गति आयोजना गर्छन् कि भनेर अपेक्षा गर्छन्। तर केही वर्षपछि, कतिपय मानिसले मण्डली जीवनप्रतिको आफ्नो जोस र परमेश्‍वरमा विश्‍वास गर्ने जोस गुमाउँछन्। किन त्यसो हुन्छ? किनभने तिनीहरूसँग परमेश्‍वरका वचनहरू र सत्यताबारे सतही र सैद्धान्तिक बुझाइ मात्रै हुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरूमा साँचो रूपमा प्रवेश गरेका, वा तिनीहरूले त्यसको वास्तविकता व्यक्तिगत रूपमा अनुभव गरेका हुँदैनन्। परमेश्‍वरले भन्‍नुभएजस्तै, धेरै मानिस भोजमा भएको भव्य खानेकुरालाई हेर्छन्, तर तिनीहरूमध्ये धेरै जना हेर्न मात्रै आएका हुन्छन्। तिनीहरू परमेश्‍वरले प्रदान गरेका मिठा-मिठा खानेकुरा लिएर खाँदैनन्, चाखेर आफ्‍नो शरीरलाई पोषित गर्न ती उपयोग गर्दैनन्। परमेश्‍वर यही कुरालाई घृणा गर्नुहुन्छ, र उहाँलाई यसले चिन्तित तुल्याउँछ। के तिमीहरू अहिले यस्तै प्रकारका स्थितिमा छैनौ र? (छौँ।) म तिमीहरूलाई सहयोग गर्नका लागि तिमीहरू सबैसँग बारम्‍बार सङ्गति गर्छु। मलाई के कुराले सबैभन्दा बढी चिन्तित तुल्याउँछ भने, यी प्रवचनहरू सुनेपछि र आफ्ना आत्मिक खाँचो पूरा गरेपछि, तिनलाई अभ्यास गर्न तिमीहरू केही पनि गर्दैनौ र तीबारे थप विचार गर्दैनौ। त्यस अवस्थामा, मैले भनेका सबै कुरा व्यर्थ भएको हुनेछ। कुनै व्यक्तिको क्षमता जस्तोसुकै खालको भए पनि, दुई-तीन वर्षको आस्थापछि तिमीहरूले ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चिन्‍न सक्‍नेछौ। यदि ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, ढिलो-चाँडो उसले यसलाई पछ्याउनेछ; यदि ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन भने, ऊ लामो समयसम्‍म टिक्नेछैन, र उसलाई प्रकट गरिनेछ र हटाइनेछ। के तिमीहरू साँच्‍चै सत्यताका प्रेमीहरू हौ? के तिमीहरू इमानदार मानिस बन्‍न इच्छुक छौ? के तिमीहरू भविष्यमा परिवर्तन हुन सक्नेछौ? यस सङ्गतिपछि तिमीहरू यसबाट कति चाहिँ व्यक्तिगत रूपमा लागू गर्नेछौ? यसबाट कतिले तिमीहरूमा वास्तवमा नतिजाहरू निकाल्नेछ? त्यो सब अज्ञात छ; यो कुरा अन्तिममा प्रकट हुनेछ। कुनै व्यक्ति आस्थामा नयाँ-नयाँ हुँदा कति उत्साही छ वा उसले कति धेरै कष्ट भोग्‍न सक्छ भन्‍ने कुरासँग यसको कुनै सम्‍बन्ध हुँदैन। मुख्य कुरा भनेको उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र सत्यतालाई स्विकार्न सक्छ कि सक्दैन भन्‍ने हो। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै प्रवचन सुनेपछि त्यसबारे मनन गर्नेछन्। तिनीहरूले मात्रै परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्ने, ती कसरी अनुभव गर्ने, तिनलाई आफ्‍नो वास्तविक जीवनमा कसरी लागू गर्ने, परमेश्‍वरमा साँच्‍चै समर्पित हुने व्यक्ति बन्‍नका लागि परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकता कसरी जिउने भन्‍ने बारेमा मनन गर्नेछन्। त्यसैले सत्यतालाई प्रेम गर्नेहरूले अन्ततः सत्यता प्राप्त गर्नेछन्। सत्यतालाई प्रेम नगर्नेहरूले साँचो मार्ग स्विकार्लान्; तिनीहरूले हरेक दिन भेला भएर प्रवचनहरू सुन्‍न र केही धर्मसिद्धान्त सिक्‍न सक्लान्, तर तिनीहरू कठिनाइ र परीक्षाहरू सामना गर्नेबित्तिकै नकारात्मक र कमजोर बन्छन्, र तिनीहरूले आफ्‍नो आस्था त्याग्‍नसमेत सक्छन्। विश्‍वासीका रूपमा, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा सत्यताप्रति तेरो मनोवृत्ति र तेरो पछ्याइको उद्देश्य के हो भन्‍ने कुरामा: तेरो पछ्याइ साँच्‍चै सत्यतालाई आफ्‍नो जीवनका रूपमा प्राप्त गर्नु हो कि होइन भन्‍ने कुरामा निर्भर हुन्छ। कतिपय मानिस अरूलाई सहयोग गर्न, परमेश्‍वरको सेवा गर्न, वा मण्डलीको अगुवाइ राम्ररी गर्नका लागि सत्यताले आफूलाई सुसज्‍जित गर्छन्। त्यो नराम्रो कुरा होइन, र यसको अर्थ ती मानिसहरूले केही बोझ वहन गरेका छन् भन्‍ने हो। तर तिनीहरू आफ्‍नो जीवन प्रवेशमा वा सत्यता अभ्यासमा ध्यान दिँदैनन् भने, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनन् भने, के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? त्यो असम्‍भव हुनेछ। यदि तिनीहरूसँग नै सत्यता वास्तविकता छैन भने, तिनीहरूले अरूलाई कसरी सहयोग गर्न सक्छन्? तिनीहरूले कसरी परमेश्‍वरको सेवा गर्न सक्छन्? के तिनीहरूले मण्डलीको काम राम्ररी गर्न सक्छन्? त्यो पनि असम्‍भव नै हुनेछ। तैँले कति धेरै प्रवचन सुनेको छस्, वा कुन मार्ग रोजेको छस् भन्‍ने कुराले फरक पार्दैन। म तिमीहरूलाई सही दृष्टिकोण बताउँछु: तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तँ अगुवा भए पनि वा नियमित अनुयायी भए पनि, तैँले मुख्य रूपमा परमेश्‍वरका वचनहरूमा मेहनत लगाउनैपर्छ। तैँले तिनलाई पढ्नैपर्छ र तीबारे गम्भीरतापूर्वक सोच्नैपर्छ। सुरुमा तैँले जान्‍नुपर्ने र अभ्यास गर्नुपर्ने सबै सत्यता बुझ्नैपर्छ; आफूलाई ती वचनहरूसँग तुलना गरेर आफै लागू गर्। तैँले सत्यता बुझेर वास्तविकतामा प्रवेश नगरेसम्म कुनै सत्यता प्राप्त गरेको हुँदैनस्। यदि तँ आफूले बुझेको धर्मसिद्धान्त सधैँ अरूलाई बुझाउँछस्, तर तँ त्यसलाई अभ्यास गर्न वा अनुभव गर्न सक्दैनस् भने, यो विचलन हो—यो मूर्खता र अज्ञानता हो। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा अभ्यास र अनुभव गर्नुपर्छ, र बिस्तारै धेरै सत्यता बुझ्न पुग्नुपर्छ। त्यसपछि तैँले आफ्‍नो कर्तव्यमा झन्-झन् राम्रा नतिजाहरू प्राप्त गर्न थाल्‍नेछस्, र अरूसँग साझा गर्नका लागि तँसँग धेरै अनुभवात्मक गवाही हुनेछन्। यसरी, परमेश्‍वरका वचनहरू तेरो जीवन बन्नेछन्। तैँले अवश्य नै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछस्, र परमेश्‍वरले तँलाई दिएको आज्ञा पनि पूरा गर्न सक्‍नेछस्। यदि तँ सधैँ यी वचनहरूसँग अरूलाई तुलना गर्न, तिनलाई अरूमा लागू गर्न, वा आफ्‍नो कामको पुँजीका रूपमा प्रयोग गर्न चाहन्छस् भने, तँ समस्यामा पर्नेछस्। यसो गर्दा, तैँले पूर्ण रूपमा ठ्याक्कै पावलले लिएकै मार्ग लिइरहेको हुन्छस्। तेरो दृष्टिकोण यस्तो भएकाले, तैँले यी वचनहरूलाई निश्चय नै धर्मसिद्धान्त, सिद्धान्तका रूपमा लिइरहेको हुन्छस्, र तँ भाषणहरू दिन र काम पूरा गर्न यी सिद्धान्तहरू प्रयोग गर्न चाहन्छस्। यो अत्यन्तै खतरनाक कुरा हो—झुटा अगुवाहरू र ख्रीष्टविरोधीहरूले यसै गर्छन्। यदि तैँले आफ्‍नो स्थितिलाई परमेश्‍वरका वचनहरूअनुसार हेरिस्, सुरुमा आत्मचिन्तन गरेर बुझाइ प्राप्त गरिस्, अनि सत्यता अभ्यास गरिस् भने, इनामहरू पाउनेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। तब मात्रै तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न योग्य हुनेछस् र तँसँग त्यसो गर्ने कद हुनेछ। यदि तँसँग परमेश्‍वरको काम र उहाँका वचनहरूको वास्तविक अनुभव छैन भने; यदि तँसँग जीवन प्रवेश पटक्कै छैन तर शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्‍न सक्छस् भने, तैँले काम गरे पनि, त्यो अन्धाधुन्ध गरिरहेको हुन्छस्, र कुनै ठोस कुरा हासिल गरिरहेको हुँदैनस्। अन्ततः तँ झुटो अगुवा र ख्रीष्टविरोधी बन्‍नेछस्, र तँलाई हटाइनेछ। यदि तैँले सत्यताको एउटा पक्ष बुझिस् भने, सुरुमा तैँले आफूलाई यससँग तुलना गरेर यसलाई आफ्‍नो जीवनमा लागू गर्नुपर्छ, ताकि यो तेरो वास्तविकता बनोस्। त्यसपछि तैँले निश्चय नै केही प्राप्त गर्नेछस् र तँ परिवर्तन हुनेछस्। यदि तँलाई परमेश्‍वरका वचनहरू असल छन्, ती सत्यता हुन् र तिनमा वास्तविकता छ भन्‍ने लाग्छ, तर हृदयमा सत्यताबारे चिन्तन गर्ने वा त्यसलाई बुझ्‍ने प्रयास गर्दैनस्, अनि आफ्‍नो व्यावहारिक जीवनमा यो अभ्यास र अनुभव गर्नुको सट्टा त्यसलाई नोटबुकमा लेखेर त्यतिमै रोकिन्छस् भने, तैँले कहिल्यै सत्यता बुझ्‍नेछैनस् वा प्राप्त गर्नेछैनस्। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस् वा प्रवचनहरू र सङ्गति सुन्छस्, तब तैँले मनन गरेर तिनलाई आफूसँग तुलना गर्नैपर्छ, तिनलाई आफ्ना स्थितिहरूसँग जोड्नैपर्छ, र आफ्ना समस्याहरू समाधान गर्नका लागि प्रयोग गर्नैपर्छ। यसरी वचनहरू लागू गरेर मात्रै तैँले तीबाट केही साँचो कुरा पाउन सक्छस्। के तिमीहरूले प्रवचन सुनेपछि यही नै अभ्यास गर्छौ? गर्दैनौ भने, परमेश्‍वर तिमीहरूको जीवनमा हुनुहुन्‍न, न त उहाँका वचनहरू नै छन्, अनि उहाँमाथिको तिमीहरूको विश्‍वासमा कुनै वास्तविकता छैन। तिमीहरू गैरविश्‍वासीहरूजस्तै परमेश्‍वरका वचनहरूभन्दा बाहिर जिइरहेका छौ। परमेश्‍वरमा विश्‍वास गर्ने, तर उहाँका वचनहरू अभ्यास गर्न र अनुभव गर्नका लागि तिनलाई आफ्‍नो वास्तविक जीवनमा लागू गर्न नसक्‍ने जोकोहीले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दैन—ऊ अविश्‍वासी हो। सत्यता अभ्यास गर्न नसक्‍ने मानिसहरू परमेश्‍वरमा समर्पित हुने मानिस होइनन्, तिनीहरू त उहाँविरुद्ध विद्रोह गर्ने र उहाँलाई प्रतिरोध गर्ने मानिस हुन्। परमेश्‍वरका वचनहरू आफ्‍नो वास्तविक जीवनमा अभ्यास नगरीकन तिनीहरूसँग परमेश्‍वरका कामहरू अनुभव गर्ने कुनै उपाय हुँदैन। अनि यदि व्यक्तिले आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरको काम वा उहाँका वचनहरूको न्याय र सजाय अनुभव गर्दैन भने, ऊसँग सत्यता प्राप्त गर्ने कुनै उपाय हुँदैन। के तिमीहरूले यो कुरा बुझ्यौ? यदि तिमीहरू यी वचनहरू बोध गर्न सक्छौ भने, त्यो सर्वोत्तम हुनेछ—तर तैँले तिनलाई जसरी बोध गरे पनि, जति बुझे पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तैँले आफूले बुझेका परमेश्‍वरका वचन र सत्यताहरूलाई आफ्‍नो वास्तविक जीवनमा लागु गर्नुपर्छ, र तिनलाई त्यहाँ अभ्यास गर्नुपर्छ। तँ कदमा बढ्नका लागि र तेरो स्वभाव परिवर्तनका लागि एकमात्र तरिका यही हो।

जब परमेश्‍वर सत्यताहरू व्यक्त गर्नुहुन्छ वा मानिसहरूसमक्ष आफ्‍ना मागहरू अघि सार्नुहुन्छ, तब उहाँले तिनीहरूका लागि सिद्धान्त र अभ्यासका मार्गहरू सधैँ औँल्याइदिनुहुनेछ। उदाहरणका लागि, हामीले भर्खरै कुरा गरेको विषय इमानदार व्यक्ति बन्‍नुलाई लिऊँ: परमेश्‍वरले मानिसहरूलाई इमानदार मानिस कसरी बन्‍ने र इमानदार व्यक्ति बन्‍ने सिद्धान्तहरू कसरी अभ्यास गर्ने भनेर तिनीहरूलाई सही बाटोमा लैजानका लागि एउटा मार्ग दिनुभएको छ। परमेश्‍वरले भन्‍नुभयो, “यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अरूहरूसामु ल्याउन अत्यन्तै विकर्षित छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।” यसको तात्पर्य के हो भने, हामीले गुप्त वा निजी ठानेको कुरालाई लिएर त्यसलाई उदाङ्गो पार्नुपर्छ, त्यसलाई चिरफारका लागि अघि सार्नुपर्छ भनेर उहाँ हामीसँग माग गर्नुहुन्छ। तिमीहरूले यो कुराबारे विचार गरेका छैनौ: तिमीहरूलाई यसरी अभ्यास गर्न लगाउनका लागि परमेश्‍वरले यसो भन्‍नुभएको हो भनेर तिमीहरूले बुझेका वा जानेका थिएनौ। कहिलेकाहीँ तँ छल्ने र ठग्ने अभिप्रायले कार्य गर्छस्, र त्यसकारण तेरा व्यवहार र अभिप्रायहरू परिवर्तन हुनुपर्छ। सायद तेरो बोलीवचनको छलीपन वा ठग प्रकृतिलाई कसैले बोध गर्न सक्दैन होला—तर आफैलाई स्याबासी नदे। तैँले परमेश्‍वरसामु आएर आफूलाई जाँच्‍नुपर्छ—तैँले मानिसहरूलाई मूर्ख बनाउन सक्छस्, तर परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍ना अभिप्राय र विधिहरूलाई उदाङ्गो पारेर चिरफार गर्नुपर्छ, तेरा यी अभिप्रायहरू परमेश्‍वरलाई प्रसन्‍न पार्ने खालका छन् कि छैनन्, वा उहाँका लागि ती घिनलाग्दा छन् कि छैनन्, तँ तिनलाई उदाङ्गो पार्न सक्छस् कि सक्दैनस्, तीबारे कुरा गर्न गाह्रो हुन्छ कि हुँदैन, र ती सत्यताअनुरूप छन् कि छैनन् भन्‍ने बारेमा चिन्तन गर्नुपर्छ। यस्तो प्रकारको चिरफार र विश्‍लेषणद्वारा तैँले यो मामला वास्तवमा सत्यताअनुरूप छैन भन्‍ने पत्ता लगाउनेछस्; यस्तो प्रकारको व्यवहारलाई प्रकाशमा ल्याउन गाह्रो हुन्छ, र परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ। त्यसपछि, तैँले यो व्यवहार परिवर्तन गर्छस्। मेरो यस सङ्गतिले तिमीहरूलाई कस्तो महसुस गरायो? तिमीहरूमध्ये कतिपय पक्‍कै पनि चिन्तित भएका छौ। तिमीहरू सोच्छौ: “परमेश्‍वरमा विश्‍वास गर्नु साह्रै जटिल रहेछ। यहाँसम्‍म आइपुग्न नै निकै गाह्रो भएको थियो—अब मैले फेरि सबै सुरुबाट गर्नुपर्ने भयो?” वास्तवमा, अहिले परमेश्‍वर आउनुभएकाले, र उहाँले मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न थाल्‍नुभएकाले, यो मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वास, र तिनीहरूको आत्म-आचरणको सुरुवात हो। यदि तँ राम्रो सुरुवात गर्छस् भने, तैँले आफ्‍नो आस्थामा बलियो जग निर्माण गर्नैपर्छ, पहिले दर्शनहरूका सत्यताहरू र परमेश्‍वरलाई पछ्याउनुको महत्त्वबारे सिक्नैपर्छ, र त्यसपछि सत्यता अभ्यास गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान केन्द्रित गर्नैपर्छ। यसरी, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। यदि तँ शब्द र धर्मसिद्धान्तहरूबारे बोल्नमा मात्रै केन्द्रित हुन्छस् र यी कुराहरूका आधारमा जग निर्माण गर्छस् भने, त्यो समस्या बन्छ। यो त बालुवामा घरको जग निर्माण गर्नुजस्तै हो: तैँले जति अल्गो घर बनाए पनि, त्यो सधैँ ढल्‍ने खतरामा हुनेछ, र त्यो घर टिक्‍नेछैन। तर, अहिलेसम्‍म तिमीहरू सबैमा एउटा तारिफयोग्य कुरा छ, जुन के हो भने तिमीहरू मैले तिमीहरूसँग गर्ने सङ्गति बुझ्छौ र त्यो सुन्‍न इच्छुक हुन्छौ। यो राम्रो हो। सत्यता पछ्याउनु र वास्तविकतामा प्रवेश गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र बाँकी कुरा गौण हुन्। तँलाई यो कुरा थाहा भएसम्म, तेरो आस्थामा सही मार्गमा लाग्न तँलाई गाह्रो हुनेछैन। सत्यता पछ्याउने मार्गमा हिँड्नका लागि तैँले सुरुमा आफैलाई चिन्नुपर्छ—तँसँग के-कस्ता भ्रष्ट स्वभावहरू छन् र तेरा कमीकमजोरीहरू के-के हुन् भन्‍ने बारेमा तँ स्पष्ट हुनुपर्छ। त्यसपछि तैँले आफूलाई सत्यताले सुसज्‍जित पार्नुको महत्त्व बुझ्‍नेछस्, र तैँले समस्याहरू समाधान गर्न सत्यता खोजी तुरुन्तै गर्न सक्‍नेछस्। समयले कसैलाई पर्खँदैन! तैँले जीवन प्रवेशसम्‍बन्धी आफ्‍ना समस्याहरू समाधान गरेर तँसँग सत्यता वास्तविकता भएपछि, तैँले भित्री शान्तिको अझै ठूलो अनुभूति गर्नेछस्। प्रकोपहरू जति नै ठूला भए पनि, तँलाई डर लाग्‍नेछैन। यदि तैँले सत्यता नपछ्याई यी आखिरी केही वर्ष खेर फालिस्, र परिस्थितिहरू आइपर्दा, तँ अझै पनि वाल्ल पर्छस्, र पर्खाइको निष्क्रिय स्थितिमा रहन्छस्, आफ्ना समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न पनि सक्दैनस्, तर अझै संसारसँग व्यवहार गर्ने र भ्रष्ट स्वभावका दर्शनअनुसार जिउँछस् भने, त्यो कति दयनीय हुनेछ! यदि ठुला प्रकोपहरू आउने दिनमा, तँसँग अलिकति पनि सत्यता वास्तविकता छैन भने, तँलाई सत्यता नपछ्याएकामा वा आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेकामा, कुनै पनि सत्यता पटक्कै प्राप्त नगरेकामा पछुतो हुनेछ। तँ निरन्तर बेचैनीको स्थितिमा जिइरहेको हुनेछस्। अहिले, पवित्र आत्माको कामले कसैलाई पर्खँदैन। परमेश्‍वर मानिसहरूलाई तिनीहरूको आस्थाको केही प्रारम्‍भिक वर्षमा, केही अनुग्रह र कृपा दिनुहुन्छ; उहाँले तिनीहरूलाई सहयोग र भरणपोषण गर्नुहुन्छ। यदि मानिसहरू कहिल्यै परिवर्तन भएनन् र वास्तविकतामा कहिल्यै प्रवेश गरेनन्, तर आफूलाई थाहा भएको शब्द र धर्मसिद्धान्तमा नै सन्तुष्ट हुन्छन् भने, तिनीहरू खतरामा हुन्छन्। तिनीहरूले पवित्र आत्माको काम, र मानवजातिलाई परमेश्‍वरले दिने मुक्ति र सिद्धताको अन्तिम मौका गुमाइसकेका हुन्छन्। तिनीहरू रुँदै र दाह्रा किट्दै विपत्तिहरूमा पर्न मात्रै सक्छन्।

जब तिमीहरूले आफ्‍नो आस्थाको जग निर्माण गर्न सुरु गर्छौ, तब तिमीहरूले सत्यता पछ्याउने मार्गमा दह्रिलो गरी पाइला चाल्नुपर्छ। तिमीहरू शब्द र धर्मसिद्धान्तहरू भट्ट्याउने सुरुवाती रेखामा नभई सत्यता वास्तविकतामा प्रवेश गर्ने सुरुवाती रेखामा हुनुपर्छ। तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गर्ने, सबै कामकुरामा सत्यताको खोजी र अभ्यास गर्ने, सबै कुरामा सत्यता अभ्यास गर्न सक्‍ने र यसलाई सबै कुराको तुलनाका रूपमा प्रयोग गर्ने कार्यमा केन्द्रित हुनुपर्छ। तिमीहरूले सत्यता अभ्यास कसरी गर्ने, अभ्यासका सिद्धान्तहरू के-के हुन्, र सत्यताको कस्तो खालको अभ्यासले परमेश्‍वरका मागहरू पूरा गर्नेछ र परमेश्‍वरलाई सन्तुष्ट पार्नेछ भन्‍ने कुरालाई मनन गर्नुपर्छ। तर, मानिसहरूमा कदको अत्यन्तै कमी छ। तिनीहरू सधैँ सत्यताको अभ्याससँग सम्‍बन्धित नरहेका, आत्मज्ञान वा इमानदार व्यक्ति बन्‍ने कार्यसँग सम्‍बन्धित नरहेका कुराहरूका बारेमा सोधिरहेका हुन्छन्। के यो दयनीय सुनिन्न र? के त्यसले सानो कद देखाउँदैन र? कतिपय मानिसहरूले परमेश्‍वरले कामको यो चरण सुरु गर्ने बित्तिकै यसलाई स्विकारे, र आजको दिनसम्‍मै तिनीहरू विश्‍वासी नै रहिआएका छन्। तर तिनीहरू अझै पनि सत्यता वास्तविकता भनेको के हो, वा सत्यता अभ्यास गर्नु भनेको के हो भन्‍ने कुरा बुझ्दैनन्। कतिपय यसो भन्छन्, “मैले आफ्‍नो आस्थाका लागि आफ्‍नो परिवार र जागिर छोडेको छु र निकै दुःख पनि पाएको छु। तपाईंले कसरी मसँग कुनै सत्यता वास्तविकता छैन भनेर भन्‍न सक्‍नुहुन्छ? मैले आफ्‍नो परिवार छोडेको छु—के त्यो वास्तविकता होइन र? मैले आफ्‍नो विवाह त्यागेको छु—के त्यो वास्तविकता होइन र? के त्यो सबै सत्यता अभ्यास गरेको अभिव्यक्ति होइन र?” बाहिर, तैँले परमेश्‍वरमा विश्‍वास गर्न गैरविश्वासी संसार त्यागेको र परिवार छोडेको छस्। तर के त्यसको अर्थ तैँले सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भन्‍ने हुन्छ? के यसको अर्थ तँ परमेश्‍वरमा समर्पित हुने इमानदार व्यक्ति होस् भन्‍ने हुन्छ? के यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ, वा तँ सत्यता वा मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ? निश्चय नै हुँदैन। तेरा यी बाहिरी कार्यहरू अरूका लागि राम्रा देखिन सक्छन्—तर तिनको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस् वा तँ परमेश्‍वरमा समर्पित छस् भन्‍ने हुँदैन, र तिनले तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको छस् भन्‍ने अर्थ निश्चय नै दिँदैन। मानिसहरूका त्याग र समर्पण अत्यन्तै अशुद्ध हुन्छन्, र सबै मानिसहरू आशिष् पाउने अभिप्रायले नियन्त्रित हुन्छन्, र तिनीहरू परीक्षाहरू र शोधनद्वारा शुद्ध गरिएका हुँदैनन्। त्यसैले अत्यन्तै धेरै मानिसहरू अझै पनि आफ्ना कर्तव्यमा झारा टार्छन् र कुनै वास्तविक नतिजाहरू निकाल्दैनन्; तिनीहरूले मण्डलीको काममा बाधा-अवरोध दिने, त्यसलाई कमजोर बनाउने, र अनेक किसिमका समस्याहरू ल्याउने गर्छन्। तिनीहरू पश्‍चात्ताप गर्ने बारेमा केही सोच्दैनन् र नकारात्मकता फैलाइरहन्छन्, झूट बोलिरहन्छन्, र आफ्‍नो कुरा सही साबित गर्न, तथ्यहरू बङ्ग्याइरहन्छन्, चाहे मण्डलीले तिनीहरूलाई किन ननिकालोस्। कतिपय मानिसहरूले विश्‍वास गरेको एक-दुई दशक भइसकेको हुन्छ, तर अझै पनि छाडा दौडन्छन् र हर किसिमका दुष्कर्म गर्छन्। त्यसपछि तिनीहरूलाई मण्डलीले हटाउँछ वा निष्कासित गर्छ। तिनीहरूले अत्यन्तै धेरै भयानक कुराहरू गर्न सक्छन् भन्‍ने तथ्य नै तिनीहरूको चरित्र भयानक छ, तिनीहरू अत्यन्तै कुटिल र छली छन्, र तिनीहरू सीधा, आज्ञाकारी, वा समर्पित पटक्कै छैनन् भन्‍ने कुराको पर्याप्त प्रमाण हो। किनभने तिनीहरूले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने कार्यलाई कहिल्यै त्यति वास्ता गरेनन्। तिनीहरूले परमेश्‍वरमाथिको आस्थालाई यस्तो मामला ठान्छन्: “मैले मेरो परिवार त्यागेसम्म, परमेश्‍वरका लागि मेहनत गरेसम्म, कष्ट भोगेसम्म, र मूल्य चुकाएसम्म, परमेश्‍वरले मेरा कार्यहरू सम्झनुपर्छ, र मैले उहाँको मुक्ति पाउनुपर्छ।” यो त सनकी र आशावादी कामना मात्रै हो। यदि तँ मुक्ति प्राप्त गर्न र साँच्‍चै परमेश्‍वरको अघि आउन चाहन्छस् भने, सुरुमा तँ खोजी गर्न परमेश्‍वरकहाँ आउनैपर्छ: “हे परमेश्‍वर, मैले के अभ्यास गर्नुपर्छ? मानिसहरूलाई मुक्ति दिने तपाईंको मानक के हो? तपाईंले कस्ता प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ?” हामीले सबैभन्दा बढी यही कुराको खोजी गर्नुपर्छ र यसैलाई जान्‍नुपर्छ। सत्यतामा आफ्नो जग निर्माण गर्, सबै कुरामा सत्यता र वास्तविकतामा मेहनत लगा, त्यसपछि तँ जग भएको, जीवन भएको व्यक्ति हुनेछस्। यदि तँ शब्द र धर्मसिद्धान्तहरूमा आफ्‍नो जग निर्माण गर्छस्, कुनै पनि सत्यता कहिल्यै अभ्यास गर्दैनस् वा सत्यतामा कहिल्यै मेहनत लगाउँदैनस् भने, तँ कहिल्यै जीवन नहुने व्यक्ति बन्‍नेछस्। जब हामी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छौँ, तब हामीसँग इमानदार व्यक्तिको जीवन, वास्तविकता र सार हुन्छ। त्यसपछि हामीसँग इमानदार व्यक्तिको अभ्यास र व्यवहार हुन्छ, र कम्तीमा पनि, हाम्रो इमानदार पक्षले परमेश्‍वरलाई हर्षित तुल्याउनेछ, र उहाँले यसलाई अनुमोदन गर्नुहुनेछ। तर, हामी अझै पनि प्रायजसो झूट, चलाकी, र छ्लीपन देखाउँछौँ, जुन पखालिनुपर्छ। त्यसैले त हामीले सत्यता पछ्याउन जारी राख्‍नुपर्छ र हामी अड्किनु हुँदैन। परमेश्‍वरले हामीलाई पर्खिरहनुभएको छ, हामीलाई मौका दिइरहनुभएको छ। यदि तँ कहिल्यै इमानदार व्यक्ति बन्‍ने योजना बनाउँदैनस्, कसरी इमानदारीपूर्वक र हृदयबाट बोल्‍ने, कसरी चलाकी वा छलको दूषणबिना कामकुरा गर्ने, कसरी इमानदार व्यक्तिजस्तो व्यवहार गर्ने भनेर खोजी गर्दैनस् भने, तँ कुनै पनि हालतमा इमानदार मानव रूपका साथ जिउनेछैनस् वा इमानदार व्यक्ति बन्‍ने सत्यता वास्तविकतामा प्रवेश गर्नेछैनस्। यदि तैँले सत्यताको निश्‍चित पक्षको वास्तविकतामा प्रवेश गरेको छस् भने, तैँले सत्यताको त्यो पक्ष प्राप्त गरेको हुन्छस्; यदि तँसँग त्यो वास्तविकता छैन भने, तँसँग त्यो जीवन वा कद हुँदैन। परीक्षाहरू र प्रलोभनको सामना गर्दा, वा कुनै आज्ञा पाउँदा, तँमा कुनै वास्तविकता पटक्कै भएन भने, तैँले सहजै ठक्‍कर खान र गल्ती गर्न सक्नेछस्; तैँले परमेश्‍वरलाई चिढ्याउने र उहाँविरुद्ध विद्रोह गर्ने सम्‍भावना धेरै हुनेछ। तैँले आफूलाई रोक्‍न सक्‍नेछैनस्। धेरै मानिसहरू आफ्‍नो कर्तव्यमा जथाभाबी काम गर्छन्, सल्‍लाह लिन मान्दैनन् र असुधार्य रहन्छन्, मण्डलीको काममा गम्‍भीर बाधा र अवरोध दिन्छन् अनि परमेश्‍वरको घरका हितहरूमा गम्‍भीर हानि गर्छन्। अन्त्यमा यी मानिसहरूलाई निकालिन्छ वा निष्कासित गरिन्छ—यो अपरिहार्य परिणाम हो। तर यदि तैँले अहिले इमानदार व्यक्ति बन्‍नका लागि सत्यता अभ्यास गरिरहेको छस् भने, इमानदार व्यक्तिका रूपमा तेरो अनुभवात्मक गवाहीलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। त्यसलाई कसैले पनि तँबाट खोस्‍न सक्दैन, र यो वास्तविकता, यो जीवनबाट तँलाई कसैले वञ्चित गर्न सक्दैन। कतिपय मानिसहरू सोध्छन्, “म इमानदार व्यक्ति भएको लामो समय भइसक्यो। के म फेरि छली व्यक्ति बन्‍न सक्छु?” यदि तैँले आफ्‍नो भ्रष्ट फालेको त्यागेको छस् भने; यदि तँसँग इमानदार व्यक्ति बन्‍नुको सत्यता वास्तविकता छ भने; यदि तँ मानव रूपमा जिइरहेको छस् र आफ्‍नो हृदयमा चलाकी, छ्लीपन, र गैरविश्‍वासी संसारलाई घृणा गर्छस् भने, तँ शैतानको शक्तिअन्तर्गत रहने अवस्थामा फर्कन सक्दैनस्। किनभने तँ परमेश्‍वरका वचनहरू अनुसार जिउन सक्छस्; तँ पहिल्यै ज्योतिमा जिइरहेको छस्। छली व्यक्तिबाट इमानदार व्यक्तिमा परिवर्तन हुनु सहज छैन। परमेश्‍वरले अत्यन्तै मन पराउनुहुने इमानदार व्यक्तिबाट छली व्यक्तिमा परिणत हुनु असम्‍भव हुनेछ, अझै कठिन हुनेछ। कतिपय मानिसहरू यसो भन्छन्: “मसँग इमानदार व्यक्ति बनेको केही वर्षको अनुभव छ। प्रायजसो म साँचो बोल्छु र म निकै इमानदार छु। तर कहिलेकाहीँ म झूटो, घुमाउरो, वा छली कुरा बोल्छु।” यो समाधान गर्न निकै सजिलो समस्या हो। तैँले सत्यता खोजी गर्ने र सत्यताका लागि लागिपर्ने कार्यमा ध्यान दिएसम्म, भविष्यमा परिवर्तन हुन नसक्‍ने बारेमा चिन्ता गर्नु पर्दैन। तँ निश्चय नै सुध्रिन जारी राख्नेछस्। यो त खेतमा रोपिएको बीउ जस्तै हो, यदि तैँले यसलाई समयमा मलजल गरिस् र यसले दैनिक घाम पायो भने, पछि यसले फल दिन्छ कि दिँदैन भनेर तैँले चिन्ता गर्नु पर्दैन, र शिशिरमा निश्चय नै कटनी हुनेछ। तिमीहरूले अहिले सबैभन्दा बढी चिन्ता गर्नुपर्ने कुरा भनेको यो हो: के तिमीहरूले इमानदार व्यक्ति बन्‍ने कार्यमा कुनै प्रवेश गरेका छौ? के तिमीहरूले झन्-झन् कम झूट बोलिरहेका छौ? के तिमीहरूले तिमीहरू समग्रमा इमानदार व्यक्ति हौ भनी भन्‍न सक्छौ? मुख्य प्रश्‍नहरू यिनै हुन्। यदि कसैले: “म छली व्यक्ति हुँ भन्‍ने मलाई थाहा छ, तर मैले इमानदार बन्‍ने अभ्यास कहिल्यै गरेको छैनँ” भनेर भन्छ भने, तँसँग इमानदार व्यक्ति बन्‍नुको कुनै वास्तविकता छैन। तैँले धेरै परिश्रम गर्नुपर्छ, तेरो जीवनको हरेक सानो पक्षलाई, तेरा सबै विभिन्‍न व्यवहारहरूलाई, छल अभ्यास गर्ने तेरा सबै तरिकाहरूलाई, र अरूसँग गर्ने तेरो व्यवहार चिरफार गर्नुपर्छ। यी कुराहरूको चिरफार गर्नुभन्दा पहिले, तँलाई आफैप्रति निकै खुसी लाग्‍ने गरेको, र आफूले गरेको कुरामा आत्मसन्तुष्टि मिल्‍ने गरेको हुनसक्छ। तर परमेश्‍वरका वचनहरूसँग तुलना गरेर तिनलाई चिरफार गरेपछि, तँ चकित हुनेछस्, “म यति दुष्ट, यति दुर्भावपूर्ण र धूर्त छु भन्‍ने मलाई थाहा थिएन!” तैँले आफ्‍नो वास्तविक सत्त्व पत्ता लगाउनेछस्, र आफ्‍ना कठिनाइ, त्रुटि, र छलीपन साँच्‍चै पहिचान गर्नेछस्। यदि तैँले कुनै चिरफार गर्दैनस्, र सधैँ आफूलाई इमानदार व्यक्ति, छलबाट मुक्त व्यक्ति ठान्छस्, र पनि आफूलाई छली व्यक्ति भन्छस् भने, तँ कहिल्यै परिवर्तन हुनेछैनस्। यदि तैँले आफ्‍नो हृदयका ती घृणास्पद र दुष्ट अभिप्रायहरूलाई खोतलेर निकालिनस् भने, तैँले आफ्‍नो कुरूपता र भ्रष्टतालाई कसरी देख्‍नेछस्? तैँले आफ्‍ना भ्रष्ट स्थितिहरूका बारेमा चिन्तन गरिनस् र तिनलाई चिरफार गरिनस् भने, के तैँले तँ कति गहन रूपमा भ्रष्ट तुल्याइएको छस् भन्‍ने कुराको सत्यता देख्‍नेछस्? तैँले आफ्‍नो भ्रष्ट स्वभाव बुझिनस् भने, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्ने तरिका तँलाई थाहा हुनेछैन; तँलाई सत्यता कसरी पछ्याउने र परमेश्‍वरका मागहरू अनुसार वास्तविकतामा कसरी प्रवेश गर्ने भनी थाहा हुनेछैन। “सत्यताको अभ्यास गरिनस् भने तँसँग कहिल्यै वास्तविकता हुनेछैन।” भन्‍ने वाक्यांशको साँचो अर्थ त्यही हो।

परमेश्‍वरले भन्‍नुहुने हरेक कुरा सत्यता हो—प्रत्येक वचनमा सत्यता वास्तविकता हुन्छ, र यो सबै सकारात्मक कुराहरूको वास्तविकता हो। त्यसकारण मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न र तिनमा प्रवेश गर्न ती वचनहरूलाई आफ्‍नो दैनिक जीवनमा ल्याउनुपर्छ। परमेश्‍वरको हरेक वचन मानवजातिका खाँचोहरूप्रति लक्षित हुन्छ, र हरेक वचन मानिसहरूले आफूलाई त्यससँग तुलना गर्नका खातिर हुन्छ। ती वचनहरू झलक्‍क हेरेर छोडिदिनका लागि हुँदैनन्, न त ती तेरा केही आत्मिक खाँचोहरू पूरा गर्नका लागि नै हुन्छन्, न त तैँले सतही रूपमा बोल् भनेर न त शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्ने तेरा खाँचो पूरा गर्नका लागि नै हुन्छन्। परमेश्‍वरको हरेक वचनमा सत्यताको वास्तविकता हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनस् भने, तँसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने कुनै उपाय हुनेछैन—तँ सधैँ वास्तविकतासँग कुनै सम्‍बन्ध नभएको व्यक्ति बन्‍नेछस्। यदि तँ इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छस् भने, तँसँग इमानदार बन्‍नुको वास्तविकता हुनेछ र तैँले झूटो नाटक गर्नुको सट्टा इमानदार व्यक्ति बन्‍ने साँचो स्थितिमा जिउन सक्‍नेछस्। तैँले कस्तो खालको व्यक्ति इमानदार हुन्छ र कस्तो खालको व्यक्ति इमानदार हुँदैन, र परमेश्‍वरले किन छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भनी पनि बुझ्‍न सक्‍नेछस्। तैँले साँच्‍चै नै इमानदार व्यक्ति बन्‍नुको महत्त्व बुझ्‍नेछस्; परमेश्‍वरले मानिसहरूबाट इमानदार व्यक्ति बन्‍ने माग गर्नुहुँदा उहाँले कस्तो महसुस गर्नुहुन्छ, र उहाँले किन मानिसहरूबाट त्यो माग गर्नुहुन्छ भनी अनुभव गर्नेछस्। आफू छलीपनले भरिएको छु भन्‍ने थाहा पाउँदा, तैँले आफ्‍नो छलीपन र कुटिलपनलाई घृणा गर्नेछस्। तँ कसरी विना लाज छली र कुटिल स्वभावले जिइस् भनेर तँलाई घृणा लाग्‍नेछ। त्यसकारण तँ परिवर्तन हुन उत्सुक हुनेछस्। यस तरिकाले, तैँले इमानदार व्यक्ति बन्‍नु नै सामान्य मानवतामा जिउने र अर्थपूर्ण जीवन जिउने एउटै तरिका हो भन्‍ने कुरा झन्झन् अनुभूत गर्दै जानेछस्। तँलाई के महसुस हुनेछ भने परमेश्‍वरले मानिसहरूबाट इमानदार व्यक्ति बन्‍ने माग गर्नु अत्यन्तै अर्थपूर्ण हुन्छ। अनि, तँलाई के महसुस हुनेछ भने यसो गरेर मात्रै तँ परमेश्‍वरका अभिप्रायअनुरूप हुन सक्छस्, इमानदार मानिसहरूले मात्रै मुक्ति प्राप्त गर्नेछन्, र परमेश्‍वरले भन्‍नुभएको कुरा पूर्ण रूपमा सही हुन्छ! मलाई भन: के परमेश्‍वरले मानिसहरूबाट इमानदार हुने माग गर्नु अर्थपूर्ण छ? (हजुर, छ।) त्यसो भए, अहिलेदेखि नै, तिमीहरूले आफ्‍ना छली र कुटिल भागहरूलाई चिरफार गर्न सुरु गर्नुपर्छ। ती कुराहरू चिरफार गरेपछि, तैँले हरेक छली कुराको पछाडि एउटा अभिप्राय, निश्‍चित लक्ष्य, र मानव कुरूपता हुन्छ भन्‍ने पत्ता लगाउनेछस्। यो छलले मानिसहरूको मूर्खता, स्वार्थ, र घृणास्पदता प्रकट गर्छ भन्‍ने पनि तैँले पत्ता लगाउनेछस्। जब तैँले त्यो कुरा पत्ता लगाउनेछस्, तब आफ्‍नो साँचो रूप देख्‍नेछस्, र आफ्‍नो साँचो रूप देख्दा, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्न थाल्छस्, जब तैँले तँ कस्तो खालको कुरा होस् भनेर साँच्‍चै थाहा पाउँछस्, के तब तैँले आफ्‍नो प्रदर्शन गरिरहनेछस् त? के तैँले हरे मोडमा धाक लगाइरहनेछस्? के तैँले सधैँ अरूबाट तारिफ र प्रशंसा चाहिरहनेछस्? के तैँले परमेश्‍वरका मागहरू अत्यन्तै उच्‍च छन्, तिनको कुनै आवश्यकता छैन भनेर अझै भन्‍नेछस्? तैँले त्यसरी व्यवहार गर्नेछैनस्, र तैँले त्यस्ता कुराहरू भन्‍नेछैनस्। तँ परमेश्‍वरले भन्‍नुभएको कुरासँग सहमत हुनेछस्, र “आमेन” भन्‍नेछस्। तँ आफ्‍नो हृदय र मनदेखि, र नजरदेखि नै विश्‍वस्त हुनेछस्। जब यो हुन्छ, यसको अर्थ के हो भने तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न थालेको छस्, तँ वास्तविकतामा प्रवेश गरेको छस्, र तैँले नतिजाहरू देख्‍न थालेको छस्। तैँले परमेश्‍वरका वचनहरू जति अभ्यास गर्छस्, तँलाई ती कति सही र कति जरुरी छन् भन्‍ने कुरा त्यति नै महसुस हुनेछ। मानौँ तँ ती अभ्यास गर्दैनस्, बरु: “अहो, म त बेइमान रहेछु, म त छली रहेछु” भन्दै बस सधैँ भुनभुनाइरहन्छस्, र तैपनि कुनै परिस्थिति सामना गर्दा तँ अझै पनि छली रूपमा व्यवहार गर्छस्, तर यस क्रममा तँलाई त्यो छ्लीपनमा गनिन्न भन्‍ने लाग्छ, तँ आफूलाई अझै पनि इमानदार नै सोच्छस्, र त्यस मामिलालाई त्यत्तिकै जान दिन्छस्। अनि अर्को पटक कुनै परिस्थिति आइपर्दा, तँ फेरि चालहरूको सहारा लिन थाल्छस् र कुटिलता र छलीपनमा संलग्न हुन्छस्, मुख खोल्नेबित्तिकै झूट बोल्छस्। पछि, तँ सोच्छस्, “के म फेरि पनि कुटिल र छली भएँ? के मैले फेरि झूट बोलिरहेको थिएँ? तर त्यो गनिँदैन जस्तो लाग्छ” र तँ परमेश्‍वरसामु यसो भन्दै प्रार्थना गर्छस्: “हे परमेश्‍वर, हेर्नुहोस्, म कसरी सधैँ कपटको सहारा लिन्छु, र म सधैँ कुटिल र छली हुन्छु। बिन्ती छ, मलाई क्षमा गर्नुहोस्। अर्कोपटक म त्यस्तो गर्नेछैनँ; यदि त्यस्तो गरेँ भने, मलाई अनुशासनमा राख्‍नुहोस्”, र यी मामिलालाई हल्का रूपमा छुन्छस्, त्यसलाई ढाकछोप गर्छस्। यो कस्तो प्रकारको व्यक्ति हो? यो सत्यतालाई प्रेम नगर्ने र सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्ति हो। तैँले केही मूल्य चुकाएको हुन सक्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्दै, परमेश्‍वरको सेवा गर्दै, वा प्रवचनहरू सुन्दै केही समय बिताएको हुन सक्छस्। तैँले कामका केही घण्टा त्यागेको र अलिक कम पैसा कमाएको पनि होलास्। तर वास्तवमा, तैँले सत्यता पटक्‍कै अभ्यास गरेको छैनस्, र तैँले सत्यता अभ्यास गर्ने मामलालाई गम्‍भीर रूपमा लिएको छैनस्। तँ यसबारेमा कहिल्यै केही नसोची, सतही र झाराटारुवा हुँदै आएको छस्। यदि सत्यता अभ्यास गर्दा तँ झारा मात्रै टार्छस् भने, त्यसले सत्यताप्रतिको तेरो मनोवृत्ति प्रेमको मनोवृत्ति होइन भन्‍ने कुरा प्रमाणित गर्छ। तँ सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्ति होस्; तँ सत्यताबाट टाढा छस् र सत्यताप्रति वितृष्ण छस्। तैँले आशिष्‌हरू पाउनका लागि आस्था बोकेको छस्, र दण्ड पाउने डरले मात्रै तँ परमेश्‍वरबाट टाढा गएको छैनस्। त्यसकारण आफूलाई राम्रो देखाउन शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने प्रयास गर्दै, केही आत्मिक शब्दावली र केही प्रचलित भजनहरू सिक्दै, सत्यता सङ्गति गर्नका लागि केही चलनचल्तीका वाक्यांशहरू र तेरो आस्थासँग सम्‍बन्धित केही प्रचलित शब्‍दहरू सिक्दै, तँ आफ्‍नो आस्थामा झारा टार्छस्। तँ आफूलाई आत्मिक व्यक्तिजस्तै राम्रो पारेर देखाउँछस्, र तँ परमेश्‍वरका अभिप्रायअनुरूपको व्यक्ति होस् र उहाँद्वारा प्रयोग गरिन योग्य छस् भन्‍ने सोच्छस्। तँ आत्मसन्तुष्ट हुन्छस् र आफैलाई बिर्सन्छस्। तँ यो सतही तहको छवि, यी ढोँगी व्यवहारका बहकाउमा पर्छस् र मूर्ख बन्छस्। तँ मर्ने दिनसम्‍मै यी कुराहरूद्वारा मूर्ख बन्छस्, र तैँले स्वर्गमा आरोहण गर्नेछस् भनेर सोचे पनि, वास्तवमा तँ नरकमा झर्नेछस्। त्यस्तो प्रकारको आस्थाको अर्थ के हुन्छ र? तेरो यो तथाकथित “आस्था” मा केही पनि वास्तविक हुँदैन। बढीमा, तैँले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मानेको हुन्छस्, तर तँ सत्यता वास्तविकतामा अलिकति पनि प्रवेश गरेको हुँदैनस्। त्यसकारण, अन्त्यमा, तेरो परिणाम गैरविश्‍वासीहरूको सरह हुनेछ—तँ नरक जानेछस्, र तेरो अन्तिम नतिजा असल हुनेछैन। परमेश्‍वर भन्‍नुहुन्छ: “मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइन, तर प्रशस्त फल मागेको हुँ।” तँसँग जति धेरै फूल भए पनि वा ती जति सुन्दर भए पनि, परमेश्‍वरले ती चाहनुहुन्‍न। भन्‍नुको अर्थ, तैँले जति राम्ररी बोले पनि वा तँ जति समर्पित भएको, तैँले जति योगदान गरेको, वा त्यागेको देखिए पनि, परमेश्‍वरले यसमा हर्ष मान्नुहुन्न। परमेश्वरले त तैँले कति सत्यता वास्तवमै बुझेको र अभ्यास गरेको छस्, परमेश्‍वरका वचनहरूको कति धेरै सत्यता वास्तविकता जिएको छस्, तेरो जीवन स्वभावमा साँचो परिवर्तन आएको छ कि छैन, तँसँग कति धेरै वास्तविक अनुभवात्मक गवाही छन्, तैँले कति धेरै सुकर्म तयार गरेको छस्, परमेश्‍वरका अभिप्राय पूरा गर्न तैँले कति काम गरेको छस्, र तैँले मानकअनुरूप आफ्‍नो कर्तव्य निर्वाह गरेको छस् कि छैनस् भन्‍ने कुरा मात्रै हेर्नुहुन्छ। परमेश्‍वरले हेर्नुहुने कुराहरू यिनै हुन्। मानिसहरूले परमेश्‍वरलाई नबुझ्दा र तिनीहरूलाई उहाँका अभिप्राय थाहा नहुँदा, तिनीहरूले सधैँ तिनलाई गलत रूपमा अर्थ्याउँछन् र उहाँसँग हिसाबकिताब मिलाउन उहाँलाई केही सतही कुराहरू टक्र्याउँछन्। तिनीहरू भन्छन्, “हे परमेश्‍वर, म विश्वासी भएको धेरै वर्ष भयो। मैले धेरै ठाउँ यात्रा गरेको छु, सुसमाचार सुनाएको छु र विश्‍वासमा ल्याएको छु। मैले तपाईंका वचनहरूका धेरै खण्डहरू कण्ठस्थ वाचन गर्न सक्छु र निकै धेरै भजनहरू गाउन सक्छु। जब कुनै ठूलो वा कठिन कुरा आइपर्छ, तब म सधैँ उपवास र प्रार्थना गर्छु, र म सधैँ तपाईंका वचनहरू पढ्छु। म कसरी तपाईंका अभिप्रायअनुरूप हुन सक्दिनँ र?” त्यसपछि परमेश्‍वरले तिनीहरूलाई भन्‍नुहुन्छ: “के अहिले तँ इमानदार व्यक्ति भएको छस्? के तेरो छलीपन परिवर्तन भएको छ? के इमानदार व्यक्ति बन्‍नका लागि तैँले कुनै मूल्य चुकाएको छस्? के तैँले आफूले गरेका सबै छली कामकुराहरू, आफ्नो छलीपनका सबै प्रकटीकरणहरू कहिल्यै मेरो अगाडि ल्याई तीमाथि प्रकाश पारेको छस्? के तँ मसँग कम बेइमान भइरहेको छस्? जब तैँले मसँग झूटो शपथ खाने वा खोक्रा प्रतिज्ञा गर्ने, वा मलाई मूर्ख बनाउन असल कुराहरू बोल्ने गर्छस्, के त्यो तँलाई थाहा हुन्छ? के तैँले यी कुराहरू त्यागेको छस्?” जब तैँले त्यसबारेमा विचार गर्छस् र यी कुराहरू तैँले पटक्कै त्यागेको छैनस् भन्‍ने कुरा पत्ता लगाउँछस्, तब तँ अक्‍क न बक्‍क हुनेछस्। अनि, तँसँग परमेश्‍वरको अघि हिसाबकिताब मिलाउने उपाय हुँदो रहेनछ भन्‍ने तथ्यबारे तँ सजग हुनेछस्। तिमीहरू आफैलाई चिन भनी म तिमीहरूको भ्रष्ट स्थिति खुलासा गर्छु; तिमीहरू सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न सक भनेरै म यति धेरै बोल्छु। कुनै पनि वचन, कुनै पनि सङ्गति वा सत्यता मानिसहरूले टाढाटाढासम्म कण्ठस्थ वाचन गर्दै हिँड्नका लागि होइन; ती त अभ्यास गर्नका लागि दिइएका हुन्। किन तिमीहरूलाई सधैँ सत्यता स्विकार्न र अभ्यास गर्न भनिन्छ? किनभने सत्यताले मात्रै तिमीहरूको भ्रष्टता पखाल्‍न र तिमीहरूको जीवन दृष्टिकोण, र तिमीहरूका मूल्य-मान्यताहरू परिवर्तन गर्न सक्छ, र सत्यता मात्रै कसैको जीवन बन्‍न सक्छ। जब तँ सत्यता स्विकार्छस्, तब यसलाई आफ्‍नो जीवन बनाउनका लागि तैँले यसलाई अभ्यास पनि गर्नैपर्छ। यदि तँ आफूले सत्यता बुझेको विश्वास गर्छस् तर तैँले यसको अभ्यास गरेकै छैनस्, र यो तेरो जीवन बनेकै छैन भने, तँ परिवर्तन हुने सम्भावना नै हुँदैन। तैँले सत्यता स्विकारेको छैनस्, त्यसकारण कुनै पनि हालतमा तेरो भ्रष्ट स्वभाव पखालिँदैन। यदि सत्यता अभ्यास गर्न सक्दैनस् भने, तँ परिवर्तन हुनेछैनस्। अन्तिममा, यदि सत्यताले तेरो हृदयमा जरा गाडेको छैन र यो तेरो जीवन बनेको छैन भने, विश्‍वासीका रूपमा तेरो समय समाप्त हुन लाग्दा, तेरो नियति र परिणाम निर्धारण गरिनेछ। यो सङ्गतिलाई ध्यानमा राखेर, के तिमीहरू सबैले सत्यता अभ्यास गर्नमा केही आत्तुरी महसुस गरिरहेका छौ? तीन वर्ष, पाँच वर्ष, वा त्योभन्दा बढी समय पर्खने, अनि त्यसपछि मात्रै अभ्यास गर्न थाल्ने काम नगर्। सत्यता अभ्यास गर्ने विषयमा धेरै चाँडो वा धेरै ढिलो भन्‍ने हुँदैन; यदि तैँले चाँडै अभ्यास गरिस् भने, तँ चाँडै परिवर्तन हुनेछस्, र तैँले ढिलो अभ्यास गरिस् भने, तँ ढिलै परिवर्तन हुनेछस्। यदि तैँले पवित्र आत्माको काममा र परमेश्‍वरद्वारा मानवजातिलाई सिद्ध पारिने कार्यको अवसर गुमाइस् भने, महाविपत्तिहरू आउँदा तँ खतरामा हुनेछस्। त्यसपछि, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भएपछि, कुनै अवसर बाँकी रहनेछैन। यदि तैँले आफ्‍नो मौका गुमाएपछि, “मैले त्यो बेला कुनै मेहनत लगाइनँ, तर म अब अभ्यास गर्न थाल्‍नेछु” भनेर भनिस् भने, धेरै ढिला भइसकेको हुनेछ, र तँ परमेश्‍वरद्वारा पूर्ण पारिने सम्‍भावना निकै कम हुनेछ। यस्तो किन हुन्छ भने, पवित्र आत्‍माले उप्रान्त काम गरिरहनुभएको हुनेछैन, र यावत् थोक, सबै सत्यतासम्‍बन्धी तेरो बुझाइ अत्यन्तै सतही हुनेछ। अहिले अनेक किसिमका परिस्थितिहरू देखा परिरहेका छन्, र सत्यता सङ्गतिमार्फत, तिमीहरूको आस्था वृद्धि भइरहेको छ र तिमीहरूसँग परमेश्‍वरलाई पछ्याउने अझै बढी जोस छ। यदि केही समयसम्‍म कुनै परिस्थिति नआएको भए, तिमीहरू अवश्य नै नकारात्मक र अनुशासनहीन बन्‍नेथियौ, परमेश्‍वरबाट झन्झन् टाढा जानेथियौ। तिमीहरू धार्मिक संसारका मानिसहरूजस्तै भेलाका शैलीहरू र धर्मका विधिविधानहरू पालना मात्रै गर्ने, सत्यता वास्तविकतारहित हुनेथियौ। त्यसपछि त तिमीहरूले छाती पिट्दै बिलौना गर्नुको के अर्थ हुन्थ्यो र?

मलाई भन, के छली मानिसहरूसँग जिउनु थकाइलाग्दो हुन्छ? (हुन्छ।) के तिनीहरू पनि थकित भएका हुँदैनन् र? वास्तवमा, तिनीहरू पनि थकित हुन्छन्, तर तिनीहरूले आफ्‍नो थकाइ महसुस गर्दैनन्। यस्तो किन हो भने छली मानिसहरू र इमानदार मानिसहरू फरक-फरक हुन्: इमानदार मानिसहरू बढी सरल हुन्छन्। तिनीहरूका सोचहरू त्यति जटिल हुँदैनन्, र तिनीहरू आफूले जे सोच्यो त्यही बोल्छन्। अर्कोतर्फ, छली मानिसहरू, सधैँ घुमाउरो तरिकाले बोल्छन्। तिनीहरू केही कुरा पनि सीधै भन्दैनन्— बरु, तिनीहरूले सधैँ छली खेल खेलिरहेका र तिनीहरूका झूटहरू लुकाइरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो दिमाग खियाइरहेका हुन्छन्, हेलचेक्र्याइँ गरेमा कुनै कुरा खुस्काउनेछन् भनी डराउँदै सधैँ सोचिरहेका हुन्छन्। कतिपय मानिसहरूले कुन हदसम्‍म छली खेल खेल्छन्? तिनीहरूले जोसँग अन्तरक्रिया गरिरहेका भए पनि, सधैँ को बढी लेखाजोखा गर्छ, को बढी बाठो छ, को माथि छ भनेर हेर्ने प्रयास गरिरहेका हुन्छन्, र अन्त्यमा तिनीहरूको प्रतिस्पर्धात्मकता स्नायु असन्तुलन बन्छ। तिनीहरू राती सुत्‍न सक्दैनन्, तैपनि पीडा महसुस गर्दैनन्, र यो सामान्य हो भन्‍नेसमेत सोच्छन्। के तिनीहरू जिउँदा पिशाचहरू बनेका हुँदैनन् र? जब परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई शैतानको प्रभावबाट उम्किन र आफ्‍नो भ्रष्ट स्वभाव फाल्न, इमानदार मानिसहरू बन्‍न, र उहाँका वचनहरूअनुसार जिउन दिनुहुन्छ। इमानदार व्यक्तिका रूपमा जिउनु आजाद र उन्मुक्तिपूर्ण हुन्छ, र यो अत्यन्तै कम पीडादायी हुन्छ। यो सबैभन्दा सुखी जीवन हो। इमानदार मानिसहरू बढी सरल हुन्छन्। तिनीहरूले आफ्‍नो हृदयको कुरा भन्छन्, र जे सोच्छन् त्यही भन्छन्। तिनीहरूले आफ्‍ना बोलीवचन र व्यवहारमा, विवेक र समझ पालन गर्छन्। तिनीहरू सत्यतातर्फ लागिपर्न इच्छुक हुन्छन्, र सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्छन्। तिनीहरूले कुनै कुरा छर्लङ्ग देख्न सकेनन् भने, तिनीहरू सत्यता खोजी गर्न इच्छुक हुन्छन्, र जुन काम सत्यता अनुरूप हुन्छ त्यही गर्छन्। तिनीहरूले जहाँ पनि र सबै कुरामा परमेश्‍वरका चाहना खोज्छन्, त्यसपछि आफ्‍नो व्यवहारमा तिनलाई पछ्याउँछन्। केही पक्षमा तिनीहरू मूर्ख पनि हुन सक्छन् र तिनीहरूले सत्यता सिद्धान्तहरूद्वारा आफूलाई सुसज्‍जित गर्नैपर्ने हुन्छ, र यसका लागि तिनीहरू निरन्तर वृद्धि हुनुपर्छ। यसरी अनुभव गर्नुको अर्थ तिनीहरू इमानदार, र बुद्धिमान्‌ मानिसहरू बन्‍न र पूर्णतया परमेश्‍वरका अभिप्रायअनुरूप हुन सक्छन्। तर छली मानिसहरू त्यस्ता हुँदैनन्। तिनीहरू शैतानी स्वभावअनुसार जिउँछन्, भ्रष्टता प्रकट गर्छन्, तैपनि त्यो गर्ने क्रममा तिनीहरू अरूले तिनीहरूविरुद्ध प्रयोग गर्ने केही कुरा भेट्लान् कि भन्‍ने डर मान्छन्। त्यसकारण, प्रतिक्रिया स्वरूप तिनीहरूले कपटी र छली चालहरू प्रयोग गर्छन्। तिनीहरूलाई सबै कुरा प्रकाश हुने समय आउने डर लाग्छ, त्यसकारण झूटहरू बोल्न र तिनलाई ढाकछोप गर्न तिनीहरू हर उपाय लगाउँछन्, र कुनै अन्तराल देखा पर्दा, त्यसलाई भर्न थप झूट बोल्छन्। सधैँ झूट बोल्नु र आफ्‍ना झूटहरू ढाकछोप गर्नु—के यो जिउने थकाइलाग्दो तरिका होइन र? तिनीहरू झूटहरू रच्‍न र तिनलाई ढाकछोप गर्न सधैँ दिमाग खियाइरहेका हुन्छन्। यस्तो गर्नु अत्यन्तै बोझिलो हुन्छ। त्यसैले, झूटहरू रच्दै र तिनलाई ढाकछोप गर्दै दिन बिताउने छली मानिसहरूको जीवन यस्तो थकाइलाग्दो र पीडादायी हुन्छ! तर इमानदार मानिसहरू फरक हुन्छन्। इमानदार व्यक्तिका रूपमा, व्यक्तिले बोल्‍ने र व्यवहार गर्ने विषयमा धेरै ख्याल गर्नु पर्दैन। धेरैजसो अवस्थामा, इमानदार व्यक्तिले बस साँचो रूपमा बोल्‍न सक्छ। कुनै खास मामलाले तिनीहरूको हितमा छोयो भने मात्रै तिनीहरूले अलिक बढी दिमाग खियाउँछन्—तिनीहरूले आफ्‍ना हितहरूको सुरक्षा गर्न, आफ्‍नो आडम्बर र गौरव कायम राख्न अलिकति झूट बोल्‍न सक्छन्। यस्ता झूटहरू सीमित हुन्छन्, त्यसकारण इमानदार मानिसहरूको बोलाइ र व्यवहार त्यति थकाइलाग्दो हुँदैन। छली मानिसहरूका अभिप्रायहरू इमानदार मानिसहरूका भन्दा धेरै जटिल हुन्छन्। तिनीहरूले गर्ने सोच-विचार बहुपक्षीय हुन्छ: तिनीहरूले आफ्‍नो ख्याति, प्राप्ति, र हैसियत, साथै आफ्नो प्रसिद्धि र प्रतिष्ठालाई ख्याल गर्नैपर्छ; अनि तिनीहरूलाई आफ्‍ना हितहरूको सुरक्षा गर्नैपर्ने हुन्छ—यो सबै अरूसामु आफ्नो कुनै त्रुटि नदेखाई वा आफ्नो खेल के हो भनी प्रकट नगरी गर्नुपर्ने हुन्छ, त्यसकारण तिनीहरूले झूटहरू रच्‍न आफ्‍नो दिमाग खियाउनैपर्छ। त्यसमाथि, छली मानिसहरूसँग ठूलाठूला, अनावश्यक चाहनाहरू र धेरै मागहरू हुन्छन्। तिनीहरूले आफ्‍ना उद्देश्यहरू हासिल गर्न उपायहरू रच्नुपर्छ, त्यसकारण तिनीहरूले झूट बोल्‍न र धोका दिन जारी राख्‍नुपर्छ, अनि अझ धेरै झूट बोल्‍दै जाँदा, तिनीहरूले थप झूटहरू ढाकछोप गर्नुपर्ने हुन्छ। त्यसकारण छली व्यक्तिको जीवन इमानदार व्यक्तिको भन्दा निकै थकाइलाग्दो र पीडादायी हुन्छ। कतिपय मानिसहरू तुलनात्मक रूपमा इमानदार हुन्छन्। यदि तिनीहरूले सत्यता पछ्याउन, तिनीहरूले जुनसुकै झूट बोलेका भए पनि आफ्‍नो बारेमा चिन्तन गर्न, आफूले संलग्न भएको छलकपट जेसुकै भए पनि त्यसलाई पहिचान गर्न, त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्दै चिरफार गर्न र बुझ्‍न, र त्यसलाई परिवर्तन गर्न सक्छन् भने, तिनीहरूले केही वर्षको अवधिमै आफ्‍ना धेरै झूट र छलकपटहरूबाट आफूलाई उम्काउन सक्‍नेछन्। त्यसपछि तिनीहरू आधारभूत रूपमै इमानदार व्यक्ति बनेका हुनेछन्। यसरी जिउनुले तिनीहरूलाई धेरै पीडा र थकाइबाट मुक्त मात्रै गर्दैन, तिनीहरूलाई शान्ति र खुसी पनि दिन्छ। धेरै मामलाहरूमा, तिनीहरू ख्याति, प्राप्त, र हैसियत, साथै आडम्बर र गौरवका बन्धनहरूबाट उम्कनेछन्, र स्वतः आजाद र उन्मुक्त भएर जिउनेछन्। तर, छली मानिसहरूको बोलीवचन र व्यवहारपछाडि सधैँ गुप्त मनसायहरू हुन्छन्। तिनीहरूले अरूलाई बहकाउन र झुक्क्याउनका लागि अनेक किसिमका झूटहरू रच्छन्, अनि आफ्नो खुलासा हुनेबित्तिकै, आफ्‍ना झूटहरू ढाकछोप गर्न अनेक उपायहरू सोच्छन्। यस्ता आदि इत्यादि कुराको सास्तीमा पर्दा, तिनीहरूले पनि आफ्‍नो जीवन थकाइलाग्दो छ भन्‍ने महसुस गर्छन्। तिनीहरूले सामना गर्ने हरेक परिस्थितिमा धेरै झूट बोल्‍नुपर्ने हुनु नै तिनीहरूका लागि थकाइलाग्दो भइसकेको हुन्छ, र त्यसपछि ती झूटहरू ढाकछोप गर्नुपर्दा झनै थकाइलाग्दो हुन्छ। तिनीहरूले भन्‍ने सबै कुरा एउटा उद्देश्य पूरा गर्नका लागि हुन्छ, त्यसकारण तिनीहरू आफूले बोल्‍ने हरेक शब्‍दमा धेरै मानसिक शक्ति खर्च गर्छन्। अनि, तिनीहरूले बोलिसकेपछि, तैँले तिनीहरूलाई छर्लङ्ग देखिस् कि भन्‍ने डर तिनीहरूलाई हुन्छ, त्यसकारण तिनीहरूले आफ्‍ना झूटहरू लुकाउन पनि आफ्‍नो दिमाग खियाउनैपर्ने हुन्छ, र तिनीहरूले जिद्दी गर्दै तँलाई स्पष्टीकरण दिन्छन्, तँलाई तिनीहरूले ढाँटिरहेका वा छलिरहेका छैनन्, र तिनीहरू असल व्यक्ति हुन् भनेर विश्‍वस्त तुल्याउने प्रयास गर्छन्। छली मानिसहरू यस्ता कुराहरू गर्नमा पोख्त हुन्छन्। यदि दुई छली मानिसहरू सँगै छन् भने, त्यहाँ मनमुटाब, द्वन्द्व, र षड्यन्‍त्र निश्‍चित हुन्छ। तिनीहरूको विवाद कहिल्यै टुङ्गिँदैन, नतिजास्वरूप झन्झन् गहन घृणा पैदा हुन्छ, र तिनीहरू कट्टर शत्रुहरू बन्छन्। यदि तँ छली व्यक्तिसँग इमानदार भइस् भने, यी व्यवहारहरूले तँलाई अवश्य नै वाक्क पार्नेछ। यदि तिनीहरूले कहिलेकाहीँ मात्रै त्यस्तो व्यवहार गर्छन् भने, तैँले सबैमा भ्रष्ट स्वभाव हुन्छ र त्यस्ता कुराहरूबाट जोगिन गाह्रो हुन्छ भनेर भन्‍नेछस्। तर यदि तिनीहरूले सधैँ त्यसरी नै व्यवहार गर्छन् भने, तँलाई यी शैलीहरूदेखि निकै घिन लाग्नेछ र तँ तिनलाई घृणा गर्नेछस्; तँ तिनीहरूको त्यो पक्ष र तिनीहरूमा भएका अभिप्रायहरूलाई घृणा गर्नेछस्। जब तँलाई त्यस्तो हदसम्म घृणा लाग्छ, तब तैँले तिनीहरूलाई घृणा र इन्कार गर्न सक्‍नेछस्। यो एकदमै सामान्य कुरा हो। तिनीहरूले पश्‍चात्ताप गरेर केही बदलाव नदेखाएसम्‍म तिनीहरूसँग अन्तरक्रिया गर्नु सकिँदैन।

तिमीहरूलाई के भन्छौ—के छली मानिसहरूका लागि जीवन थकाइलाग्दो हुँदैन र? तिनीहरूले आफ्नो सबै समय झूटहरू बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले आफैले यस्तो थकान आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने थाहा हुन्छ—तैपनि किन तिनीहरू छली बन्‍न चाहन्छन्, र इमानदार व्यक्ति बन्‍न चाहँदैनन् त? के तिमीहरूले यस प्रश्‍नबारे कहिल्यै विचार गरेका छौ? यो मानिसहरू आफ्नै शैतानी प्रकृतिहरूद्वारा मूर्ख बनाइनुको परिणाम हो; यसले तिनीहरूलाई यस्तो प्रकारको जीवन, यस्तो प्रकारको स्वभावबाट आफूलाई उम्काउनबाट रोक्छ। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसमा नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिका मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले तिनीहरूको छवि, तिनीहरूको प्रतिष्ठा र तिनीहरूको हितमा समेत हानि पुग्छ, र तिनीहरूले एकदमै धेरै गुमाउनेछन् भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्यारो ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै प्यारो ठान्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्क्षेपमा, जब मानिसहरू इमानदार व्यक्ति बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, यो तिनीहरूले सत्यतालाई प्रेम नगरेका कारण हुन्छ। तिनीहरूले हृदयमा, प्रतिष्ठा र हैसियतजस्ता कुराहरूलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन, र शैतानको शक्ति अन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त परमेश्‍वरलाई वर्षौँदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र फिटिक्कै परिवर्तित भएका छैनन्—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले, जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ। के सत्यतालाई प्रेम नगर्नेहरूलाई मुक्ति दिन सकिन्छ? यो बिलकुलै असम्‍भव छ। सत्यतालाई प्रेम नगर्नु व्यक्तिको हृदय र प्रकृतिको समस्या हो। यसलाई समाधान गर्न सकिँदैन। व्यक्तिलाई उसको आस्थामा मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतः उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै सत्यता स्विकार्न सक्छन्; तिनीहरूले मात्रै सत्यताका खातिर कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले मात्रै परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सक्छन्। तिनीहरूले मात्रै सत्यता खोजी गर्न र आफ्‍ना अनुभवहरूमार्फत आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न, देहविरुद्ध विद्रोह गर्ने साहस पाउन, र सत्यताको अभ्यास र परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै यसरी सत्यता पछ्याउन, मुक्तिको मार्ग हिँड्न, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। योभन्दा अर्को कुनै मार्ग छैन। सत्यतालाई प्रेम नगर्नेहरूलाई यो स्विकार्न निकै गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने प्रकृतिले नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई घृणा गर्ने हुन्छन्। यदि तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्न वा दुष्टता गर्न छोड्न चाहे भने, त्यसो गर्न तिनीहरूलाई साह्रै गाह्रो हुनेथियो, किनभने तिनीहरू शैतानका हुन् र तिनीहरू दियाबलस र परमेश्‍वरका शत्रु बनिसकेका हुन्छन्। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ, दियाबलसहरू वा शैतानलाई मुक्ति दिनुहुन्‍न। कतिपय मानिसहरू यस्ता प्रश्‍नहरू सोध्छन्: “म साँच्‍चै सत्यता बुझ्छु। म बस यसलाई अभ्यास गर्न सक्दिनँ। म के गरूँ?” यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो। यदि कसैले सत्यतालाई प्रेम गर्दैन भने, उसले सत्यता बुझे पनि सत्यता अभ्यास गर्न सक्दैन, किनभने हृदयमा ऊ त्यसो गर्न इच्छुक नै हुँदैन र उसलाई सत्यता मनै पर्दैन। त्यस्तो व्यक्तिलाई मुक्ति दिनै सकिँदैन। कतिपय मानिसहरू यसो भन्छन्: “मलाई त इमानदार व्यक्ति बन्दा धेरै कुरा गुमाइन्छ जस्तो लाग्छ, त्यसकारण म त्यस्तो व्यक्ति बन्‍न चाहन्‍नँ। छली मानिसहरूले कहिल्यै केही गुमाउँदैनन्—तिनीहरूले त अरूको फाइदा उठाएर समेत लाभ लिन्छन्। त्यसकारण, म त बरु छली व्यक्ति नै बन्छु। म अरूलाई मेरो व्यक्तिगत मामला जान्‍न, मलाई राम्ररी बोध गर्न वा मलाई बुझ्‍न दिन चाहन्‍नँ। मेरो भाग्य मेरै हातमा हुनुपर्छ।” त्यसो भए, सक्दो लागिपर्—र प्रयास गरेर हेर्। तेरो परिणाम कस्तो हुन्छ, त्यो हेर्; अन्तिममा को नर्क जान्छ र कसले दण्ड पाउँछ, त्यो हेर्।

के तिमीहरू इमानदार मानिस बन्‍न इच्छुक छौ? यो सङ्गति सुनेपछि तिमीहरूले के गर्ने योजना बनाएका छौ? तिमीहरू सबभन्दा पहिले केदेखि सुरु गर्नेछौ? (म झूट बोल्‍न छोडेर सुरु गर्नेछु।) त्यो अभ्यास गर्ने सही तरिका हो, तर झूट बोल्‍न छोड्नु सजिलो छैन। मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटहरूमा कुनै अभिप्राय नै लुकेको हुँदैन, न त ती झूटको जानी-जानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त बस प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र तिनले शैतानको चलाकीलाई प्रतिनिधित्व गर्छन्, र ती मानिसहरूले जानी-जानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, उसले देहविरुद्ध विद्रोह गर्न सक्नेछैन—त्यसकारण उसले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्‍ने समस्या एकै पटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकाहीँ वा धेरै पटक पुरानै बानीमा फर्किने समस्या रहनेछ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्‍ने हरेक झूटलाई समाधान गरेसम्म, र यो कार्यलाई कायम राखेसम्म, त्यो दिन पक्‍कै आउनेछ जब तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्‍ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब तँबाट एउटा झूट निस्किन्छ, तब आत्म-चिन्तन गर्, र त्यसपछि परमेश्‍वरलाई प्रार्थना गर्। जब अर्को झूट निस्किन्छ, तब फेरि आत्मचिन्तन गर्, र परमेश्‍वरलाई प्रार्थना गर्। परमेश्‍वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तैँले सत्यता अभ्यास गर्ने र सत्यता जिउने त्यति नै तृष्णा गर्नेछस्। त्यसरी, तँसँग झूटहरू त्याग्‍ने सामर्थ्य हुनेछ। केही समयसम्‍म त्यस्तो अनुभव र अभ्यास गरेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले उप्रान्त झूट बोल्‍न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्‍नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछन्। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो आजाद र उन्मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले बाँध्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बन्नुका नतिजाहरू देख्‍न थाल्‍नेछस्। अवश्‍य नै, विशेष परिस्‍थितिहरू सामना गर्दा, तैँले कहिलेकाहीँ सानो झूट मुखबाट फुत्काउन सक्छस्। कहिलेकाहीँ तैँले खतरा सामना गर्न सक्छस् वा तँलाई कुनै प्रकारको समस्या आइपर्न सक्छ, वा तँ आफ्‍नो सुरक्षा कायम राख्न चाहन सक्छस्, र त्यस्तो बेला झूट नबोली हुँदैन। तैपनि, तैँले यसबारेमा चिन्तन गर्नुपर्छ, यसलाई बुझ्‍नुपर्छ र समस्या समाधान गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गरेर यसो भन्‍नुपर्छ: “ममा अझै पनि झूट र चालहरू छन्। परमेश्‍वरले मलाई मेरो भ्रष्ट स्वभावबाट सधैँका लागि मुक्त गर्नुहोस्।” जब व्यक्तिले उद्देश्यपूर्ण रूपमा बुद्धि अभ्यास गरिरहेको हुन्छ, तब यो भ्रष्टताको प्रकटीकरणका रूपमा गनिँदैन। इमानदार व्यक्ति बन्‍नका लागि व्यक्तिले अनुभव गर्नैपर्ने कुरा त्यही हो। यस तरिकाले, अलिअलि गर्दै, तेरा झूटहरू घट्दै जान्छन्। आज तैँले दश वटा झूट बोल्छस्, भोलि तैँले नौ वटा बोल्न सक्छस्, र पर्सी आठ वटा बोल्‍नेछस्। पछि तैँले दुई-तीन वटा झूट मात्रै बोल्‍नेछस्। तैँले झन्झन्‌ धेरै सत्य बोल्दै जानेछस्, र इमानदार व्यक्ति बन्‍ने तेरो अभ्यास पहिलेभन्दा झन्झन् परमेश्‍वरका अभिप्राय, उहाँका सर्तहरू, र उहाँले माग गर्नुभएको मानकहरूको झनै नजिक पुग्‍नेछ—अनि त्यो कति राम्रो हुनेछ! इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नका लागि, तँसँग एउटा मार्ग, र एउटा लक्ष्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्‍ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्‍नुपछाडि लुकेको तेरो सार चिन्नैपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्‍न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्‍ने समस्यालाई छर्लङ्ग देखिसकेको हुनेछस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, पक्कै नतिजाहरू देख्नेछस्। एक दिन तैँले यसो भन्‍नेछस्: “इमानदार व्यक्ति बन्‍नु सजिलो छ। छली बन्‍नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबउप्रान्त म छली व्यक्ति बन्‍न चाहन्‍नँ, सधैँ के-के झूटहरू बोल्‍ने र आफ्‍ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्‍नँ। यो त मानसिक रोग भएको व्यक्ति हुनुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—‘मानव’ भनेर भन्‍नलायक नै नभएको व्यक्ति हुनु हो! त्यस्तो खालको जीवन अति थकाइलाग्दो हुन्छ, र म अबउप्रान्त त्यसरी जिउन चाहन्‍नँ!” यस पटक, तँ साँच्चै इमानदार व्यक्ति बन्‍ने आशा हुनेछ, र यसले तैँले इमानदार व्यक्ति बन्‍नेतर्फ प्रगति गर्न थालेको छस् भन्‍ने प्रमाणित गर्नेछ। यो एउटा ठूलो सफलता हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्‍दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्‍जित हुन्छौ। तिमीहरूको अनुहार रातो हुनेछ, तिमीहरूलाई लाज लाग्नेछ, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्नेछ। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्‍नुपर्छ। तैँले यसो भन्‍नुपर्छ: “हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरू ममाथि हाँस्नेछन् भन्‍ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई आजाद र उन्मुक्त हुने तुल्याउनुहोस्।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयभित्र अझै धेरै ज्योति हुनेछ, र तैँले मनमनै भन्‍नेछस्: “यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एक पटक त इमानदार व्यक्ति बनेको छु।” तैँले यसरी प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई उत्प्रेरित गर्नुहुनेछ, र तँलाई वास्तविक व्यक्ति बन्‍दा हुने अनुभवलाई कदर गर्ने तुल्याउनुहुनेछ। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग आस्था हुन्छ नै भन्‍ने छैन। कुनै मार्ग नहुनु मानिसहरूका लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग पाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द भेट्टाउँछ। यदि तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले सान्त्वना पाउनेछ, र तिनीहरूले आजादी र उन्मुक्ति प्राप्त गर्नेछन्। यदि तँसँग परमेश्‍वरबारे केही साँचो ज्ञान छ भने, तैँले यो संसारका सबै कुराहरू स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्; तेरो हृदय उज्यालो हुनेछ, र तँसित मार्ग हुनेछ। त्यसपछि तैँले पूर्ण उन्मुक्ति र आजादी पाउनेछस्। यस बेला, तैँले सत्यता अभ्यास गर्नु, परमेश्‍वरलाई सन्तुष्ट पार्नु, र वास्तविक व्यक्ति बन्‍नु भनेको के हो भनी बुझ्‍नेछस्—र यसमा, तँ परमेश्‍वरमाथिको तेरो विश्‍वासको सही मार्गमा हुनेछस्।

शरद, २००७

अघिल्लो: सत्यता पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

अर्को: आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्