विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई)

आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको दसौँ विषयवस्तु: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्‍नेबारे सङ्गति गर्न जारी राख्छौँ। पछिल्लोपटक, हामीले सत्यतालाई घृणा गर्नेबारे लक्षित केही निर्दिष्ट सङ्गति गर्‍यौँ, त्यसैले पहिला यसको समीक्षा गरौँ। पछिल्लोपटक तिमीहरूले “घृणा गर्नु” लाई कसरी व्याख्या गर्‍यौ? (हामीले त्यसलाई सत्यतालाई महत्त्व नदिने, सत्यतालाई हेयको दृष्टिले हेर्ने, खिसी गर्ने र अनादर गर्ने, साथै सत्यतालाई तिरस्कार गर्ने रूपमा व्याख्या गर्‍यौँ।) के तिमीहरूले व्यावहारिक शब्दहरू प्रयोग गरेर प्रस्ट रूपमा यस शब्दको सार व्याख्या गरेका छौ? (हाम्रो व्याख्यामा घृणा गर्नुका पर्यायवाचीहरू मात्र थिए; त्यो सतही थियो र त्यसले सत्यतालाई तिरस्कार गर्नुका विस्तृत पक्षहरू प्रस्ट पारेको थिएन, न त सत्यतालाई कसरी लिने भन्‍नेबारेका हाम्रा मनोवृत्ति र प्रकटीकरणहरू नै प्रस्ट पारेको थियो। हामीले त्यसको सार व्याख्या गर्न सकेनौँ।) यस्तो व्याख्याको प्रकृति कस्तो हुन्छ? यो कुन वर्गअन्तर्गत पर्छ? (शब्द र सिद्धान्तहरू।) अरू केही छ? के यो ज्ञानअन्तर्गत पर्छ? (पर्छ।) यो ज्ञान कसरी हासिल भएको हो? यो विद्यालय, शिक्षक, साथै शब्दकोश र पुस्तकहरूबाट पनि हासिल भएको हो। त्यसोभए, मेरो र तिमीहरूको व्याख्याबीचको भिन्नता के छ? (परमेश्‍वरको सङ्गति हरव्यक्तिको सत्यताप्रतिको मनोवृत्तिबारे हुन्छ—अर्थात्, मानिसहरू हृदयको गहिराइदेखि नै सत्यताको प्रतिरोध गर्छन्, त्यसप्रति दिगमिग र घिन महसुस गर्छन्, त्यसलाई अस्वीकार गर्छन्, र त्यसलाई निन्दा गर्ने साथै दुर्भावपूर्ण रूपमा त्यसलाई आलोचना र अपमान गर्ने हदसम्म पुग्छन्। परमेश्‍वरको व्याख्या मानिसहरूको सत्यताप्रतिको मनोवृत्तिबाट आउँछ।) म “घृणा गर्नु” शब्दको सार विभिन्न अत्यावश्यक व्यवहार, अभ्यास, मनोवृत्ति र दृष्टिकोणहरूको परिप्रेक्ष्यबाट व्याख्या गर्छु। कुन व्याख्याचाहिँ वास्तवमै सत्यता हो? (परमेश्‍वरको व्याख्या नै सत्यता हो।) त्यसोभए तिमीहरूको व्याख्यामा के कुराको कमी छ? (हामी सत्यता बुझ्दैनौँ। हामी कामकुराहरूलाई सतही रूपमा मात्र हेर्छौँ र तिनलाई मामलाहरू हेर्ने ज्ञान र धर्मसिद्धान्तहरूको भरमा शाब्दिक रूपमा मात्र व्याख्या गर्छौँ।) तिमीहरू यो शब्दलाई आफूले प्राप्त गरेको ज्ञानको आधारमा र आफ्नो शाब्दिक अर्थ बुझाइअनुसार व्याख्या गर्छौ, तर तिमीहरूलाई यो शब्द कसरी कुनै व्यक्तिको प्रकृति सार र भ्रष्ट स्वभावसित जोडिएको हुन्छ भनेर बिलकुलै थाहै हुँदैन। यही नै ज्ञान र धर्मसिद्धान्तहरू अनि सत्यताबीचको भिन्नता हो। के तिमीहरूले परमेश्‍वरका वचनहरू पढ्दा र सत्यता सङ्गति गर्दा पनि प्रायजसो यही विधि प्रयोग गर्छौ? (गर्छौँ।) अचम्म मान्‍नैपर्दैन, धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरू जसरी पढे पनि, वास्तवमा तीभित्रको सत्यता के हो बुझ्न सक्दैनन्। त्यसैले, धेरै मानिसहरूले वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेर पनि सत्यता वास्तविकता बुझेका वा त्यसमा प्रवेश गरेका हुँदैनन्। यसैले नै सधैँ भन्‍ने गरिन्छ, “मानिसहरूले सत्यता बुझ्दैनन् र सत्यता बुझ्ने क्षमता राख्दैनन्।”

हामी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको दसौँ विषयवस्तु: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्‍नेबारे सङ्गति गर्न जारी राख्नेछौँ। पछिल्लो भेलामा, हामीले सत्यतालाई घृणा गर्नुलाई तीनओटा विषयवस्तुमा विभाजन गर्‍यौँ। ती तीन विषयवस्तु के-के थिए? (पहिलो, परमेश्‍वरको पहिचान र सारलाई घृणा गर्नु; दोस्रो, परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्नु; तेस्रो, परमेश्‍वरका वचनहरूलाई घृणा गर्नु।) अब हामी “ख्रीष्टविरोधीहरूले सत्यतालाई घृणा गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु” भन्‍ने विषयलाई चिरफार गरौँ। पछिल्लोपटक, हामीले मूलत: पहिलो विषयबारे धेरथोर कुरा गर्‍यौँ, तर परमेश्‍वरको सारको पवित्रता र अद्वितीयपनबारे धेरै विस्तारमा सङ्गति गरेनौँ, जसको उद्देश्य तिमीहरूलाई मनन गर्ने केही समय दिने र तिमीहरूलाई विशेषगरी मैले सङ्गति गरेका परमेश्‍वरका धार्मिकता र सर्वशक्तिमान्‌ताका पक्षहरूका आधारमा सङ्गति गराउनु हो। आज, हामी परमेश्‍वर देहधारी हुनुभएको देहलाई ख्रीष्टविरोधीहरूले कुन रूपमा लिन्छन् भन्‍ने कुरा समेट्ने दोस्रो विषयवस्तु सङ्गति गर्नेछौँ, र कसरी ख्रीष्टविरोधीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्‍ने विषयलाई चिरफार गर्नेछौँ।

आ. परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्नु

देहधारी परमेश्‍वर, अर्थात् ख्रीष्टबारे ख्रीष्टविरोधीहरूका दृष्टिकोण र धारणाहरू, साथै उहाँसित तिनीहरूको सम्बन्धका पनि केही विशिष्ट प्रकटीकरण र प्रकाशहरू छन्। यदि हामीले नीरस रूपमा मानिसहरूका केही विशिष्ट प्रकटीकरणहरू वा केही मानिसहरूका विशिष्ट अभ्यासहरू मात्र प्रस्तुत गर्ने हो भने, तिमीहरूलाई त्यो प्रस्तुति अलि अस्पष्ट लाग्न सक्छ। बरु अब त्यसलाई धेरै विषयवस्तुहरूमा विभाजन गरौँ, र त्यसबाट परमेश्‍वर देहधारी बन्नुभएको देहप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति ठ्याक्कै के छ भनी बुझौँ, अनि ख्रीष्टविरोधीहरूले कसरी सत्यतालाई घृणा गर्छन् भनेर पुष्टि र चिरफार गरौँ। पहिलो विषयवस्तु हो, खुसामदी, चापलुसी, र मिठा शब्दहरू; दोस्रो हो, सूक्ष्मजाँच र विश्‍लेषण, साथै उत्सुकता; तेस्रो हो, तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ; चौथो हो, ख्रीष्टको कुरा केवल सुन्ने, तर न त त्यसलाई पालना गर्ने न त त्यसप्रति समर्पित हुने। यी प्रत्येक विषयवस्तुका अभिव्यक्तिहरू, साथै तिनका शाब्दिक अर्थबाट तिमीहरूले बुझ्न सक्ने विचार र प्रकटीकरणहरूलाई हेर्दा, के ती सबै सकारात्मक छन्? के त्यस्तो कुनै विषयवस्तु छ जुन अलि बढी स्वीकारात्मक वा सकारात्मक छ? “स्वीकारात्मक” र “सकारात्मक” ले के जनाउँछन्? तिनले कम्तीमा मानवता र समझ हुनुलाई जनाउँछन्। यसलाई उचालेर सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समर्पण वा मनोवृत्ति र दृष्टिकोण हुनुको स्तरसम्‍म लैजानु आवश्यक छैन। मानव समझको मानक मात्र प्रयोग गर्दा, यीमध्ये कुनचाहिँ सन्तोषजनक छ?

सर्वप्रथम, पहिलो विषयवस्तुलाई हेरौँ: खुसामदी, चापलुसी, र मिठा शब्दहरू। के यी तीन शब्दहरू मानव भाषामा प्रशंसनीय, सकारात्मक वा स्वीकारात्मक मानिन्छन्? (मानिँदैनन्।) विशेषगरी, यी शब्दहरूले कस्तो खाले मानिसहरूका बोली र व्यवहारहरू जनाउँछन्? (छली, गद्दार, नीच, र चापलुस मानिसहरू।) गद्दार, नीच, र धर्मत्यागी मानिसहरू; छलीपन, नीचता, र दुष्टतासँग जोडिएका मानिसहरू। अरूको नजरमा यस्ता मानिसहरूका कार्यहरू बढीजसो घृणास्पद र नीच, मानिसहरूप्रति बेइमान, र दयालु मन नभएका देखिन्छन्। तिनीहरूले प्राय: खुसामदी र चापलुसी गर्छन्, र मिठा शब्दहरू बोल्छन्, र प्रभाव वा उच्च हैसियत भएकाहरूलाई चाकडी र चाटुकारी गर्छन्। यस्ता व्यक्तिहरूलाई अरूद्वारा घृणा गरिन्छ र यिनीहरूलाई प्रायजसो नकारात्मक पात्रको रूपमा हेरिन्छ।

दोस्रो विषयवस्तु हेरौँ: सूक्ष्म जाँच र विश्‍लेषण, साथै उत्सुकता। के यी शब्दहरू प्रशंसनीय मानिन्छन् कि अपमानजनक? (अपमानजनक।) अपमानजनक? मलाई बुझा त, तैँले किन तिनलाई अपमानजनक भनेर वर्गीकरण गर्छस्? विनाप्रसङ्ग, यी शब्दहरू निष्पक्ष हुन्छन् र यिनलाई प्रशंसनीय वा अपमानजनक भन्न मिल्दैन। उदाहरणको लागि, कुनै वैज्ञानिक परियोजनाप्रति सूक्ष्मजाँच अपनाउनु, कुनै समस्याको सार विश्‍लेषण गर्नु, केही कुराहरूबारे उत्सुक हुनु—यी प्रकटीकरणहरूलाई मूलत: सकारात्मक वा नकारात्मक भन्न मिल्दैन र यी अत्यन्तै निष्पक्ष हुन्छन्। तर यहाँ एउटा प्रसङ्ग छ: यहाँ मानिसहरूले सूक्ष्म जाँच र विश्‍लेषण गर्ने, साथै उत्सुकता राख्ने त्यो चिज मानव अनुसन्धानको कुनै उचित विषय होइन, बरु परमेश्‍वर देहधारी हुनुभएको देह हो। त्यसैले, यो प्रसङ्ग जोडेपछि, यस्ता मानिसहरूले गरेका कामकुराहरू, साथै तिनीहरूका प्रकटीकरण र व्यवहारहरूको आधारमा, यी शब्दहरू यहाँ आएर प्रस्ट रूपमै अपमानजनक बन्छन्। परमेश्‍वर देहधारी हुनुभएको देहलाई प्राय: कस्ता मानिसहरूले सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्? के त्यो सत्यता पछ्याउनेहरूले हो, कि नपछ्याउनेहरूले हो? के त्यो हृदयदेखि नै ख्रीष्टलाई साँच्चै विश्‍वास गर्नेहरूले हो कि, ख्रीष्टप्रति संशयी मनोवृत्ति राख्नेहरूले हो? संशयी मनोवृत्ति बोक्नेहरूले हो भन्‍ने प्रस्ट छ। तिनीहरूमा ख्रीष्टमाथि साँचो आस्था हुँदैन, साथै सूक्ष्मजाँच र विश्‍लेषण गर्नुबाहेक, तिनीहरू अत्यन्तै उत्सुक पनि हुन्छन्। तिनीहरू ठ्याक्कै के कुराबारे उत्सुक हुन्छन्? हामी चाँडै यी प्रकटीकरण र सारहरूका विस्तृत कुराहरूबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ।

अब, तेस्रो विषयवस्तु हेरौँ: तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ। प्रशंसनीय वा अपमानजनक अर्थ विश्‍लेषण गर्न यस विषयवस्तुमा कुनै विशेष शब्दहरू छैनन्। यस्ता मानिसहरूको यस्तो प्रकटीकरण र यस्तो विशिष्ट अभ्यासले कस्तो तथ्य खुलासा गर्छन्? यस्ता काम गर्ने र यस्ता प्रकटीकरणहरू देखाउने व्यक्तिमा कस्तो स्वभाव हुन्छ? पहिलो कुरा त, के ऊ अरूलाई गर्ने व्यवहारमा निष्पक्ष हुन्छ? (हुँदैन।) कुन वाक्यांशबाट यो कुरा बुझ्न सकिन्छ? (“तिनीहरूको मुडमा भर पर्छ।”) यस वाक्यांशको अर्थ के हो भने, यस्ता मानिसहरूले सिद्धान्तहरूविना, कुनै न्यूनतम मानकविना, र खासगरी कुनै विवेक वा समझविना कार्य गर्ने र अरू मानिसहरूलाई व्यवहार गर्ने गर्छन्—तिनीहरू पूर्णतया आफ्नो मुडद्वारा निर्देशित हुन्छन्। यदि कसैले कुनै साधारण व्यक्तिलाई आफ्नो मुडअनुसार व्यवहार गर्छ भने, त्यो ठूलो समस्या नहोला; त्यसले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नेछैन वा परमेश्‍वरको स्वभाव चिढ्याउनेछैन, बरु यो व्यक्ति मनमौजी छ, उसले सत्यता पछ्याउँदैन, सिद्धान्तहरूविना कार्य गर्छ, र आफ्नो मुड र रूचिको आधारमा जे मन लाग्छ त्यही गर्छ, आफ्ना दैहिक चाहना र भावनाहरूबारे मात्र सोच्छ र अरूका भावनाहरूबारे सोच्दैन, र अरूप्रति कुनै सम्मान देखाउँदैन भन्‍ने कुरा मात्र चित्रण गर्छ। यो तिनीहरूले कुनै साधारण व्यक्तिलाई गर्ने व्यवहारमा आधारित व्याख्या हो—तर यहाँ तिनीहरूको मुडमा आधारित व्यवहार भोग्ने व्यक्ति को हो? त्यो कुनै साधारण व्यक्ति होइन, त्यो त परमेश्‍वर देहधारी हुनुभएको देह अर्थात् ख्रीष्ट हो। यदि तैँले आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्छस् भने, यो गम्भीर समस्या हो, तर कति हदसम्म गम्भीर हो भनेर हामी अहिले छलफल गर्नेछैनौँ।

अब, चौथो विषयवस्तु हेरौँ: ख्रीष्टको कुरा केवल सुन्ने, तर न त त्यसलाई पालना गर्ने न त त्यसप्रति समर्पित हुने। यो ठ्याक्कै के हो भनी परिभाषित गर्ने कुनै विशिष्ट शब्दहरू छैनन्; यो मानिसहरूले विभिन्‍न कुराहरूप्रति कसरी व्यवहार गर्छन्, त्यसको एकप्रकारको प्रकटीकरण हो, एकप्रकारको स्वभाविक स्थिति र विशेष मनोवृत्ति हो। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ? तिनीहरू सुन्छन्, तर न त आज्ञापालन गर्छन् न त समर्पित हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले अझै सुन्न सक्छन्, तर के तिनीहरूले बाहिरी रूपमा जे देखाउँछन् त्यो तिनीहरूले जे सोच्छन् वा तिनीहरूको भित्री मनोवृत्ति जे छ त्यही हो त? (होइन।) बाहिरी रूपमा त तिनीहरू सुशील लाग्‍लान् र सुनिरहेजस्तो देखिएलान्, तर भित्री स्थिति त्यस्तो हुँदैन। भित्री रूपमा, त्यहाँ अवज्ञाको मुड र मनोवृत्ति, साथसाथै प्रतिरोधको मुड र मनोवृत्ति हुन्छ। तिनीहरूले यस्तो सोच्छन्: “म हृदयमा तिम्रो आज्ञापालन गर्दिनँ; म आज्ञापालन गर्दिनँ भनेर तिमीलाई कसरी प्रस्ट पारूँ? म तिमीले भनेका वचनहरूलाई बस कानले सुन्छु, तर तिनलाई मनमा लिने वा लागु गर्ने बिलकुलै गर्दिनँ। म आफूलाई तिम्रो विरुद्धमा उभ्याउनेछु र तिम्रो विरोध गर्नेछु!” न त आज्ञापालन गर्नु न त समर्पित हुनु भन्नुको अर्थ यही हो। यदि यस्ता मानिसहरू साधारण व्यक्तिहरूको सम्पर्कमा आउँछन् र उनीहरूसँग अन्तरक्रिया गर्छन्, साधारण मानिसहरूले भन्‍ने कुरालाई यस्तो स्थिति, दृष्टिकोण, र मनोवृत्तिले हेर्छन् भने, त्यो प्रस्ट र चिन्न सकिने प्रकटीकरण भए पनि नभए पनि, यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ? के तिनीहरूलाई अरू मानिसहरूले भन्‍ने गरेको मानवता र चेतना भएका असल मानिसहरू मानिन्छ त? के तिनीहरूलाई सकारात्मक पात्रका रूपमा हेरिन्छ त? हेरिँदैनन् भन्‍ने प्रस्ट छ। “केवल सुन्नु, तर न त आज्ञापालन गर्नु न त समर्पित हुनु” भन्‍ने वाक्यांशको आधारमा मात्र भन्नुपर्दा, ती मानिसहरू अहङ्कारी हुन्। तिनीहरू कति अहङ्कारी हुन्? अत्यन्तै चरम, र चेतना गुमाउने, पूर्ण रूपले पागल हुने, कसैको आज्ञापालन नगर्ने र कसैलाई पनि कुनै ध्यान नदिने हदसम्म। अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ: “म तिमीसँग बोल्न सक्छु, म तिमीसँग जोडिन सक्छु, तर मेरो मनमा कसैको कुरा पस्न सक्दैन, न त कसैका शब्दहरू मेरा कार्यहरूका सिद्धान्त र मार्गदर्शन नै बन्न सक्छन्।” तिनीहरू मनमा आफ्नै सोचहरू मात्र बोक्छन्, र आफूभित्रको आवाजलाई मात्र चासो दिन्छन्। तिनीहरूले कुनै पनि सही, स्वीकारात्मक, वा सकारात्मक भनाइ र सिद्धान्तहरूलाई न त सुन्छन् न त स्विकार्छन्, बरु हृदयमा तिनको प्रतिरोध गर्छन्। के मानिसहरूको भीडमा यस्ता मानिसहरू हुन्छन्? समूहमा, यस्ता मानिसहरू विवेकशील मानिन्छन् कि अविवेकी? के तिनीहरू सकारात्मक पात्रका रूपमा हेरिन्छन् कि नकारात्मक? (नकारात्मक पात्रका रूपमा।) त्यसोभए, समूहका धेरैजसो मानिसहरूले तिनीहरूलाई प्रायजसो कसरी हेर्छन् र कस्तो व्यवहार गर्छन्? तिनीहरूलाई व्यवहार गर्दा उनीहरूले कस्ता विधिहरू प्रयोग गर्छन्? के धेरैजसो मानिसहरू यस्ता व्यक्तिहरूसँग सम्पर्कमा आउन र अन्तरक्रिया गर्न इच्छुक हुन्छन्? (हुँदैनन्।) मण्डलीमा, धेरैजस्तो मानिसहरू यस्ता व्यक्तिहरूसँग मिलेर बस्न सक्दैनन्—यसको कारण के हो? किन हरव्यक्तिले यस्ता मानिसहरूलाई रुचाउँदैनन्, बरु घृणा गर्छन्? यो समस्यालाई दुइटा वाक्यहरूले प्रस्ट्याउन सक्छन्। पहिलो, यी मानिसहरू कसैसँग पनि सहकार्य गर्दैनन्, तिनीहरू आफै अन्तिम निर्णय गर्न चाहन्छन्, र तिनीहरू कसैको कुरा सुन्दैनन्; तिनीहरूलाई अरू कसैको कुराप्रति ध्यान दिन लगाउनु अत्यन्तै गाह्रो हुन्छ, र तिनीहरूले अरूका राय र विचारहरू लिन खोज्नु, वा अरूका कुरा सुन्नु असम्भव छ। दोस्रो, तिनीहरू कोहीसँग पनि सहकार्य गर्न सक्षम हुँदैनन्। के यी दुई वाक्यहरू यस्तो व्यक्तिका सबैभन्दा विशिष्ट प्रकटीकरणहरू होइनन् र? के यस्तो व्यक्तिको सार तिनै होइनन् र? (हुन्।) पहिलो कुरा, तिनीहरूको स्वभाव हेर्दा, तिनीहरू कसैको कुरा सुन्दैनन् र कसैप्रति समर्पित हुँदैनन्। तिनीहरू आफै अन्तिम निर्णय गर्न चाहन्छन्, अरूका कुरा सुन्न चाहँदैनन्, र अरूसित सहकार्य गर्दैनन्। तिनीहरूको हृदयमा अरूको लागि कुनै ठाउँ हुँदैन, न त सत्यता वा मण्लीका सिद्धान्तहरूको लागि नै कुनै ठाउँ हुन्छ—यस्ता मानिसहरूको ख्रीष्टविरोधी स्वभाव यस्तै हुन्छ। त्यसअलावा, तिनीहरू कसैसँग सहकार्य गर्न वा मिलेर बस्न सक्दैनन्, र हृदयमा हिचकिचाहटपूर्वक इच्छुक भए पनि, समय आउँदा तिनीहरू अझै पनि सहकार्य गर्न सक्दैनन्। यहाँ के भइरहेको छ? के त्यसमा कुनै निश्‍चित स्थिति संलग्न छैन र? तिनीहरू अरूलाई हेयको दृष्टिले हेर्छन्, उनीहरूको कुरा सुन्दैनन्, र अरूका शब्दहरू सिद्धान्तहरूसित जतिसुकै मिले पनि, तिनलाई तिनीहरूले स्विकार्दैनन्। अरूसँग सहकार्य गर्नुपरे पनि, तिनीहरूकै तरिकाले मात्र गर्न सकिन्छ। के यो सौहार्दपूर्ण सहकार्य हो त? यो सहकार्य होइन; यो स्वेच्छाचारी कदम हो, जहाँ एक जनाले निर्णयहरू लिन्छ। अरूसँगका अन्तरक्रियाहरूमा यस्ता मानिसहरूको स्वभाव यस्तै हुन्छ, र तिनीहरूले ख्रीष्टलाई पनि उही रूपमा व्यवहार गर्छन्। के यो चिरफार गर्न लायक छ? यो समस्या गम्भीर र चिरफार गर्न लायक छ! अब, प्रत्येक विषयवस्तुमा ख्रीष्टविरोधीहरूका विशिष्ट प्रकटीकरण र अभ्यासहरूबारे कुरा गरौँ, र यी विशेष प्रकटीकरण र अभ्यासहरूमार्फत ख्रीष्टविरोधीहरूको सार बुझौँ—सत्यतालाई घृणा गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु। पहिलो विषयवस्तुबाट चिरफार गर्न सुरु गरौँ।

अ. खुसामदी, चापलुसी, र मिठा शब्दहरू

खुसामदी, चापलुसी, र मिठा शब्दहरू—बाहिरी रूपमा, यी शब्दहरूको अर्थ सबैले बुझ्नुपर्छ, र यी कुराहरू सन्निहित भएका व्यक्तिहरू यत्रतत्र भेटिन्छन्। खुसामदी र चापलुसीमा लाग्नु, र मिठा शब्दहरू बोल्नु भनेको प्रायजसो अरूको निगाह, प्रशंसा, वा कुनै लाभ प्राप्त गर्नहेतु अपनाइने बोलीको शैली हो। चापलुसी र चोचोमोचो गर्नेहरूले सबैभन्दा बढीजसो यस्तै बोल्छन्। यो भन्‍न सकिन्छ कि सारा भ्रष्ट मानवहरूले केही हदसम्म यही प्रकटीकरण देखाउँछन्, जुन शैतानी दर्शनअन्तर्गत पर्ने बोलीको शैली हो। त्यसोभए, के मानिसहरूले केही लाभहरू प्राप्त गर्नहेतु, देहधारी परमेश्‍वरसामु पनि उस्तै प्रकटीकरण र अभ्यासहरू देखाउँछन्? यो अवश्य नै त्यति सरल कुरा होइन। परमेश्‍वर जुन देहमा देहधारी हुनुभएको छ, त्यो देहप्रति मानिसहरू खुसामदी र चापलुसीमा लाग्दा, तिनीहरूको हृदयमा ख्रीष्टबारे कस्तो दृष्टिकोण वा सोचाइले यस्तो व्यवहार निम्त्याउँछ? मानिसहरूले प्रायजसो अरू मानिसहरूप्रति देखाउने व्यवहार यही हो। यदि मानिसहरूले देहधारी परमेश्‍वरप्रति पनि यस्तै व्यवहार गर्छन् भने, त्यसले अन्तर्निहित रूपमा एउटा समस्या खुलासा गर्छ: तिनीहरूले देहधारी परमेश्‍वर अर्थात् ख्रीष्टलाई भ्रष्ट मानवजातिमध्येकै एक साधारण व्यक्तिको रूपमा लिन्छन्। बाह्य दृष्टिकोणले हेर्दा, ख्रीष्टसँग हड्डी र देह छन् र मानवको रूप छ। यसले मानिसहरूलाई भ्रममा पार्छ, ख्रीष्ट केवल एउटा मानव हो भन्‍ने विश्‍वास गराउँछ, र मानवहरूप्रति गरिने व्यवहारको तर्क र सोचाइको आधारमा ख्रीष्टप्रति निर्लज्जपूर्वक व्यवहार गर्न लगाउँछ। मानवहरूप्रति गरिने व्यवहार, खासगरी हैसियत र ख्याति भएको व्यक्तिप्रति गरिने व्यवहारको तर्क र सोचाइअनुसार, सहज रूपमा लाभहरू वा भावी बढुवा प्राप्त गर्नको निम्ति राम्रो छाप छोड्ने सर्वोत्तम रणनीति भनेको मधुर र कुशल शब्दहरू प्रयोग गरेर सुन्ने व्यक्तिलाई सहज र खुसी महसुस गराउनु हो। तसर्थ व्यक्तिले नम्र भावभङ्गी देखाउन जरूरी छ, र डरलाग्दो वा निन्याउरो मुहार देखाउनु हुँदैन, साथै भाषामा पनि कुनै आवेगपूर्ण, दुर्भावपूर्ण, वा कठोर शब्दहरू, वा व्यक्तिको गर्वमा चोट पुर्‍याउने शब्दहरू हुनु हुँदैन। यस्ता प्रकटीकरण र वचनहरूद्वारा मात्र यस्तो व्यक्तिसामु राम्रो छाप छोड्न र उसमा घिन पैदा नगराउन सकिन्छ। यस्तो लाग्छ, मिठासपूर्वक बोल्नु, र चापलुसी र चोचोमोचो गर्नुलाई नै अरूप्रति सबैभन्दा साँचो सम्मान मानिन्छ। त्यसैगरी, मानिसहरू ठान्छन् कि, तिनीहरूले ख्रीष्टप्रति सम्मान देखाउन, र सौहार्दता कायम राख्न हदैसम्म यस्तो व्यवहार देखाउनुपर्छ, र तिनीहरूका कुरामा कुनै चित्त दुख्ने भाषा वा सामग्री हुनु हुँदैन, र निश्‍चय नै कुनै अप्रिय शब्द पनि हुनु हुँदैन। मानिसहरू ख्रीष्टसँग अन्तरक्रिया र कुराकानी गर्ने यो नै उत्तम तरिका हो भन्ठान्छन्। तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देहलाई सामान्य भ्रष्ट स्वभाव भएको सबैभन्दा साधारण मानवको रूपमा लिन्छन्, र उहाँलाई व्यवहार गर्ने योभन्दा राम्रो अर्को तरिका नै छैन भन्ठान्छन्। त्यसकारण, जब कुनै ख्रीष्टविरोधी ख्रीष्टसामु आउँछ, उसको हृदयमा कुनै डर, सम्मान, वा सच्चा इमानदारी हुँदैन, बरु मिठासपूर्ण र कुशल भाषा प्रयोग गर्ने चाहना हुन्छ, र यसरी परमेश्‍वर देहधारी हुनुभएको देहप्रति खुल्लमखुल्ला खुसामदी र चापलुसी गर्न भ्रामक कुराहरूमा शरण पर्नेसमेत गर्छ। तिनीहरू सारा मानिसहरू यही शैलीको प्रभावमा पर्छन्, र परमेश्‍वर देहधारी हुनुभएको देह पनि मानव भएकोले, उहाँले पनि यही शैलीप्रति संवेदनशीलता देखाउनुहुनेछ र यही शैली रुचाउनुहुनेछ भन्‍ने विश्‍वास गर्छन्। यसर्थ, ख्रीष्ट, अर्थात् परमेश्‍वर देहधारी हुनुभएको देहसित व्यवहार गर्दा, आफ्नो हृदयभित्र ख्रीष्टविरोधीहरू ख्रीष्टसँग परमेश्‍वरको सार छ भन्‍ने तथ्य स्विकार्दैनन्। बरु, तिनीहरू त केही मानवीय रणनीतिहरू, संसारसँग व्यवहार गर्ने मानव दर्शनहरू, र अरूलाई लिने र आफूअनुकूल प्रयोग गर्ने सामान्य मानव चालबाजीहरू प्रयोग गरेर परमेश्‍वर देहधारी हुनुभएको देहसित व्यवहार गर्छन्। के यी व्यवहारहरूको सारले ख्रीष्टविरोधीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्छन् भन्‍ने तथ्य देखाउँदैन र? (देखाउँछ।)

ख्रीष्टविरोधीहरू ख्रीष्टलाई भ्रष्ट मानवहरूलाई झैँ व्यवहार गर्छन्, र यसरी ख्रीष्टलाई देखेपछि खुसामदी र चापलुसीका शब्दहरू मात्र बोल्छन्, र त्यसपछि ख्रीष्टका प्रतिक्रियाहरू हेर्छन् र उहाँका रूचिहरू पूरा गर्ने कोसिस गर्छन्। कतिपय मानिसहरू ख्रीष्टलाई देखेपछि यसो भन्छन्: “मैले तिमीलाई टाढैदेखि चिनेँ। तिमी भिडभन्दा अलग छौ। तिमीसँग टाउकोमा एउटा प्रभामण्डल छ जुन अरूसँग छैन। तिमी साधारण व्यक्ति हैनौ भनेर मैले तुरुन्तै थाहा पाएँ। परमेश्‍वरको घरमा ख्रीष्टबाहेक अरू को साधारण होइन र? मैले तिमीलाई देख्नेबित्तिकै यो साँचो हो भन्न सक्थेँ। जुन देहमा परमेश्‍वरको देहधारण भयो, त्यो वास्तवमै अरूभन्दा फरक छ।” के यो भद्दा बकवास होइन र? मेरो रूप साधारण, आम मानिसकै जस्तो छ। यदि मैले कुनै पनि भिडमा केही पनि नगर्ने वा नभन्‍ने हो भने, मलाई चिन्न जोकोहीलाई पनि एकदुई वर्ष लाग्न सक्छ। कुनै पनि समूहमा, म एक साधारण सदस्य मात्र हुन्छु; ममा कसैले पनि केही विशेष कुरा देख्न सक्दैन। अहिले, म मण्डलीमा काम गरिरहेको छु, र परमेश्‍वरको गवाहीको कारण, मैले तिमीहरूमाझ बोल्दा तिमीहरूले सुन्छौ। तर परमेश्‍वरको गवाही नहुने हो भने, मलाई कति जनाले सुन्लान् वा ध्यान देलान्? त्यो एउटा प्रश्‍नकै रूपमा रहेको छ र थाहा पाउन बाँकी नै छ। कतिपय मानिसहरू भन्छन्: “म उसलाई परमेश्‍वरजस्तै देख्छु। मलाई सधैँ ऊ असाधारण छ, र अरूभन्दा फरक छ भन्‍ने लाग्थ्यो।” म कसरी फरक छु? के मसँग तीनओटा टाउका र छओटा हातहरू छन्? तैँले कसरी फरक बताउन सक्छस्? एकपटक परमेश्‍वरले भन्नुभयो: म जानाजानी मानिसहरूलाई ममा ईश्‍वरत्वको कुनै सुइँको पनि पाउन दिन्नँ। यदि परमेश्‍वरले मानिसहरूलाई उहाँको ईश्‍वरत्व थाहा पाउन दिनुहुन्न भने, तैँले त्यो कुरा कसरी देख्न सक्छस्? के यी मानिसहरूले भनेको कुरामा समस्या छैन र? यो घृणास्पद चापलुसहरूको बकवास कुराबाहेक हरू केही होइन, जसका शब्दमा कुनै अर्थ हुँदैन भन्‍ने प्रस्ट छ। देहधारी परमेश्‍वरको बाह्य रूप साधारण व्यक्तिकै जस्तो छ। मानव आँखाले ख्रीष्टको ईश्‍वरत्व कसरी खुट्ट्याउन सक्छन्? यदि ख्रीष्टले काम नगर्ने र नबोल्ने हो भने, कसैले पनि उहाँलाई चिन्नेथिएन वा उहाँको पहिचान र सार थाहा पाउनेथिएन। यो तथ्य हो। त्यसोभए “तिमी परमेश्‍वर देहधारी हुनुभएको देह हौ, तिमी अरूभन्दा भिन्न छौ भनेर मैले एकै नजरमा थाहा पाएँ” वा “मैले तिमीलाई देख्नेबित्तिकै, तिमीले महान् काम गर्न सक्छौ भन्‍ने थाहा पाएँ” भनेर भन्‍नेहरूलाई चाहिँ के भन्‍ने नि? यी कस्ता भनाइहरू हुन्? ती पूर्णतया बकवास हुन्! जब परमेश्‍वरले उहाँको गवाही दिनुभएको थिएन, तब तैँले किन जतिपटक हेरे पनि खुट्ट्याउन नसकेको त? परमेश्‍वरले गवाही दिनुभएपछि, जब मैले आफ्नो काम सुरु गरेँ, तब तैँले कसरी अचानक एकै नजरमा देख्न सकिस्? यो प्रस्टै छ, यी छली शब्दहरू हुन्, पूर्णतया पागल कुराहरू हुन्।

कतिपय मानिसहरू मसित भेट्दा वा अन्तरक्रिया गर्दा आफ्नो प्रदर्शन गर्न चाहन्छन्। तिनीहरू सोच्छन्: “देहधारी परमेश्‍वरलाई बारम्बार भेट्न पाइँदैन; यो त जीवनमा एकैपटक आउने अवसर हो। मैले राम्रो गर्नुपर्छ, र परमेश्‍वरलाई थाहा दिन मैले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा प्राप्त मेरा नतिजाहरू, र परमेश्‍वरको हालको चरणको काम स्विकारेपछि मैले हासिल गरेका राम्रा उपलब्धिहरू देखाउनुपर्छ।” मलाई थाहा दिन भनेर तिनीहरूले के भन्न खोजेका हुन्? तिनीहरू बढुवाको मौका पाउने आशा गर्छन्। मण्डलीमा भए त, तिनीहरूले आफ्नो जीवनकालमा अलग देखिने वा बढुवा पाउने मौका कहिल्यै नपाउन सक्‍थे; तिनीहरूलाई कसैले पनि चयन गर्थेन। तिनीहरू अब अवसर आएको छ भन्ठानेर कसरी कुनै समस्याहरू खुलासा नगरी र आफ्नो प्रदर्शन गर्न खोजेको सुइँको नदिई बोल्ने भनी मनन गर्छन्। अनि, तिनीहरूलाई अझ बढी कुशल र चतुर भएर केही युक्ति र चालबाजीहरू प्रयोग गर्नुपर्छ, र ससाना छलहरू अपनाउनुपर्छ। तिनीहरू भन्छन्: “परमेश्‍वर, हामीले यतिका वर्षसम्म तिमीमा विश्‍वास गरेर निश्‍चय नै धेरै लाभ प्राप्त गरेका छौँ! हाम्रो सम्पूर्ण परिवारले विश्‍वास गर्छ, हामी सबैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नहेतु सबथोक त्यागेका छौँ। तर त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण त तिम्रा वचनहरू अत्यन्तै महान् छन्, र तिमीले अत्यन्तै धैरै काम गरेका छौ। हामी सबैजना कर्तव्यहरू निर्वाह गर्दै परमेश्‍वरमा समर्पित हुन इच्छुक छौँ।” जसको म यस्तो जवाफ दिन्छु: “तर यसमा वास्तवमा कुनै फाइदा छैन।” “छ नि—परमेश्‍वरले दिएको अनुग्रह प्रचुर छ। परमेश्‍वरका वचनहरूमा हामीले धेरै नयाँ ज्योति, अन्तर्ज्ञान, र बुझाइहरू प्राप्त गरेका छौँ। दाजुभाइ-दिदीबहिनीहरू सबैले धेरै ऊर्जा प्राप्त गरेका छन्, उनीहरू सबै आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न इच्छुक छन्।” “कमजोर र नकारात्मक कोही छन् कि? बाधा र अवरोध सिर्जना गर्नेहरू पनि छन् कि?” “छैनन्, हाम्रो मण्डली जीवन एकदमै राम्रो छ। दाजुभाइ-दिदीबहिनीहरू सबैजना परमेश्‍वरलाई प्रेम गर्न, र सबथोक त्यागेर सुसमाचार प्रचार गर्न खोज्छन्। परमेश्‍वरले भन्‍ने सबथोक राम्रो हुन्छ। हामी सबै जना उत्प्रेरित छौँ, र अब हामीले पहिलेझैँ अनुग्रह र पेटभरि खान खोज्दै विश्‍वास गर्न मिल्दैन। हामीले परमेश्‍वरको निम्ति सबथोक त्याग्न, आफूलाई परमेश्‍वरसामु चढाउन, र आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न जरूरी छ।” “त्यसोभए, विगत केही वर्षमा, तिमीहरूले परमेश्‍वरका वचनहरूबारे कुनै बुझाइ प्राप्त गरेका छौ त?” “हो, प्राप्त गरेका छौँ। परमेश्‍वर, तिम्रा वचनहरू अत्यन्तै महान् छन्, ती प्रत्येक वाक्यले हाम्रा मूल समस्या छुन्छन्, र हाम्रो प्रकृति सार खुलासा गर्छन्! हामीले आफूलाई बुझ्दाखेरि, अनि तिम्रा वचनहरूमा पनि, ठूलो ज्योति प्राप्त गरेका छौँ। परमेश्‍वर, तिमी हाम्रो पूरै परिवारको र हाम्रो पूरै मण्डलीको लागि जीवन रक्षक हौ। तिमी नभएको भए, हामी धेरै पहिले कहीँकतै नष्ट भएका हुनेथ्यौँ। तिमी नभएको भए, कसरी अघि बढ्ने भनेर हामीलाई थाहा हुन्थेन। हाम्रो मण्डलीका सबैले तिमीलाई हेर्ने अभिलाषा राख्छन्, सपनामा तिमीलाई भेटूँ भनेर हरदिन प्रार्थना गर्छन्, र हरदिन तिमीसँगै हुने आशा राख्छन्!” के तिनीहरूको बोलीमा कुनै हृदयस्पर्शी वा सच्चा शब्दहरू हुन्छन् त? (हुँदैनन्।) त्यसभए ती कस्ता शब्दहरू हुन्? ती पाखण्डी, खोक्रा, र बेकार हुन्। जब म तिनीहरूलाई आत्मज्ञानबारे बोल्न भन्छु, तब तिनीहरूले भन्छन्, “परमेश्‍वरको काम स्विकारेदेखि, मलाई आफू मानवतारहित दियाबलस र शैतान भएको महसुस हुन्छ।” “तँसित कसरी मानवता छैन?” “म सिद्धान्तहरूविना कार्य गर्छु।” “कस्ता कार्यहरूमा तँसित सिद्धान्तहरू हुँदैनन्?” “म अरूसित सौहार्दपूर्ण सहकार्य गर्न सक्दिनँ, अनि अरूसँगका अन्तरक्रियाहरूमा र मानिसहरूसँग व्यवहार गर्दा, मसित सिद्धान्तहरू हुँदैनन्। म दियाबलस र शैतान हुँ, म शैतानबाट उत्पत्ति भएको हुँ, म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु। म हरमोडमा परमेश्‍वरको प्रतिरोध गर्छु, र निरन्तर परमेश्‍वरको विरोध र मुकाबिला गर्छु।” यी शब्दहरू बाहिरी रूपमा राम्रा सुनिन्छन्। जब म तिनीहरूलाई “तिमीहरूको मण्डलीको फलानोलाई अहिले कस्तो छ?” भनेर सोध्छु, तब तिनीहरूले भन्छन्, “अहिले उसलाई राम्रो छ। उसलाई यसअघि मण्डलीको अगुवाइ गर्नबाट प्रतिस्थापित गरिएको थियो, तर उसले पश्‍चात्ताप गर्‍यो, र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई फेरि चयन गरे।” “के त्यो सत्यता पछ्याउने व्यक्ति हो?” “यदि उसले सत्यता पछ्याउँछ भनेर परमेश्‍वरले भन्छन् भने उसले सत्यता पछ्याउँछ; यदि उसले पछ्याउँदैन भनेर परमेश्‍वरले भन्छन् भने उसले सत्यता पछ्याउँदैन।” “यो व्यक्ति उत्साहित देखिन्छ, तर उसको क्षमता निकै कमजोर छ, हैन र?” “कमजोर? हो, अलि कमजोर नै हो। नत्र, पछिल्लोपटक दाजुभाइ-दिदीबहिनीहरूले उसलाई किन प्रतिस्थापित गर्थे र?” “यदि उसको क्षमता कमजोर छ भने, के उसले ठोस काम गर्न सक्छ? के उसले मण्डलीको अगुवाइको दायित्व पूरा गर्न सक्छ?” मेरो कुरा सुनेपछि, तिनीहरू मेरो कुराले कमजोर क्षमताको व्यक्तिले दायित्व पूरा गर्न सक्दैन भन्‍ने सङ्केत गरेको अर्थ्याउँछन्, र यसो भन्छन्, “त्यसोभए उसले त्यो पूरा गर्न सक्दैन। दाजुभाइ-दिदीबहिनीहरूले उसलाई सबैभन्दा खराबमध्येको उत्तम भनेर रोजेका हुन्; ऊभन्दा राम्रो कोही पनि नभएकोले उनीहरूले उसलाई रोजे। सारा दाजुभाइ-दिदीबहिनीहरूले उसको क्षमता औसत छ, तर उसले हामीलाई अगुवाइ गर्न सक्छ भन्छन्। यदि उसको क्षमता कमजोर छ भने, मलाई लाग्छ दाजुभाइ-दिदीबहिनीहरूले उसलाई अर्कोपटक चयन नगर्न सक्छन्। परमेश्‍वर, के मैले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभाव पार्ने कोसिस गर्नुपर्छ?” “यो मामला तेरो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको कदमा भर पर्छ। उनीहरूले सिद्धान्तहरूको आधारमा आफूलाई राम्रो लागेको व्यक्ति चयन गर्छन्—यो प्रक्रिया सही हो, तर कतिपय मानिसहरू मूर्ख हुन्छन् र मानिस र मामलाहरूलाई छर्लङ्गै बुझ्न सक्दैनन्, र कहिलेकाहीँ तिनीहरूले गलत व्यक्ति चयन गर्छन्।” मैले यसो भन्नुको मतलब के थियो? म त एउटा तथ्य मात्र भनिरहेको थिएँ, जानाजान यस व्यक्तिलाई प्रतिस्थापित गर्न खोजिरहेको थिइनँ। तर ख्रीष्टविरोधीले यो कुरा सुनेपछि त्यसलाई कसरी बुझ्यो? उसले बोलेन, बरु मनमनै यस्तो सोच्यो, “के यो परमेश्‍वरले यस व्यक्तिलाई प्रतिस्थापित गर्न गरेको सङ्केत हो? त्यसो हो भने, परमेश्‍वरले साँच्चै के भन्न खोजेको हो, मैले थप छानबिन गर्नुपर्छ। यदि यो व्यक्तिलाई प्रतिस्थापित गरियो भने, मण्डलीलाई अरू कसले अगुवाइ गर्न सक्छ, यो काम कसले गर्न सक्छ?” ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्‍नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्‍वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्‍वरसँग बोल्‍न र कुनै पनि वास्तविक कुरा भन्‍नसमेत सक्षम हुँदैनन्। तिनीहरू घुमाउरो र अप्रत्यक्ष पारामा चिप्लो घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरूले तेरो निर्णयको प्रतीक्षा गर्दै, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्दै, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्दै छलकपट गर्छन्। तिनीहरूले भन्‍ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन। तिनीहरूले मानिसहरूसँग यसरी नै अन्तरक्रिया गर्छन् र परमेश्‍वरसँग पनि यसरी नै व्यवहार गर्छन्—तिनीहरू त्यति धेरै छली हुन्छन्। यही नै ख्रीष्टविरोधीको स्वभाव हो।

कतिपय मानिसहरू मलाई कस्ता शब्द र मामलाहरू सुन्न मन पर्छ भन्‍ने थाहै नपाई मेरो सम्पर्कमा आउँछन्; तर थाहा नहुँदा पनि तिनीहरूले कुनै न कुनै उपाय भेटाइहाल्छन्। तिनीहरू मसित छलफल गर्न केही विषयहरू रोज्छन्, र सोच्छन्, “यी विषयहरू तिम्रो रूचिका हुन सक्छन्, यी तिमीले जान्न वा सुन्न चाहेका तर तिमी अत्यन्तै नम्र भएको कारण सोध्न नसकेका कुरा हुन सक्छन्, त्यसैले म नै तिमीलाई बताउने पहल गर्नेछु।” जब हामी भेट्छौँ, तिनीहरूले भन्छन्, “हालसालै, हाम्रो क्षेत्रमा भारी वर्षा भयो र पूरै सहरमा बाढी पस्यो। सार्वजनिक व्यवस्था पनि खस्किरहेको छ; अहिले चोरहरूको बिगबिगी छ। कोही बाहिर निस्कँदा, चोरिने वा लुटिने जोखिम हुन्छ। मैले सुनेँ कि कतिपय ठाउँहरूमा, धेरै बालबच्चाहरू अपहरित भएका छन्, र मानिसहरू त्रासको स्थितिमा छन्। गैरविश्‍वासीहरू समाज अत्यन्तै अस्तव्यस्त र पूरै असामान्य बनेको छ भन्छन्। धर्मका मानिसहरू अझै पनि बाइबल समातेर सुसमाचार प्रचार गरिरहेका छन्, र भनिरहेका छन् कि आखिरी दिनहरू आएका छन्, र परमेश्‍वर ओर्लन लाग्नुभएको छ, र हामीमाथि ठूला विपत्ति र सङ्कट आइपरेका छन्।” अनि कतिपय मानिसहरू यस्ता छन्, जो मलाई भेटेपछि तुरुन्तै यसो भन्छन्, “केही दिनअघि, तीनओटा चन्द्रमाहरू आकाशमा एकै ठाउँमा देखिए, र धेरै मानिसहरूले फोटो खिचे। कतिपय लोक दैवज्ञहरू आकाशमा महान् दर्शनहरू देखिन लागे, र साँचो प्रभु देखा परे भन्छन्।” तिनीहरूले यस्ता कुराहरू—यस्ता सामाजिक अस्तव्यस्तता, विपत्ति, र विभिन्न असाधारण घटना र खगोलीय कुराहरू देखा पर्नुमा अत्यन्तै चासो राख्छन् र तिनका बारेमा जानकारी लिन्छन्। मलाई भेट्दा तिनीहरूले मसित निकट सम्बन्ध गाँस्न यसलाई कुराकानीको विषय बनाउँछन्। कतिपयले यस्तो विश्‍वास गर्छन्, “देहधारी परमेश्‍वर एक साधारण व्यक्ति हो। ऊ र अरूबीचको भिन्नता भनेको उसले परमेश्‍वरको काम गर्छ र परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ। यसर्थ, धेरैजसो मानिसहरूले विश्‍व शान्तिको आशा गर्दै मानवहरू सौहार्दता र सन्तुष्टिमा जिऊन् भन्‍ने आशा गर्छन्, तर देहधारी ख्रीष्ट भने सामान्य मानिसहरूभन्दा फरक छ। उसले संसारमा ठूलो अस्तव्यस्तता होस्, दर्शन र ठूला विपत्तिहरू आऊन्, परमेश्‍वरको महान् काम तत्काल पूरा होस्, साथै परमेश्‍वरको व्यवस्थापनको काम चाँडो पूरा होस्, र उसले बोलेका वचनहरू पूरा होऊन् भन्‍ने आशा गर्छ। उसले चासो र रुचि राख्ने विषयहरू यिनै हुन्। त्यसैले, उसलाई भेट्दा, म यिनै कुराहरूबारे कुरा गर्नेछु, र ऊ अत्यन्तै खुसी हुनेछ। ऊ खुसी भएपछि सायद मेरो बढुवा हुनेछ, र ऊसित थप दिन बिताउने मौका मिल्न सक्छ।” के यस्ता मानिसहरू हुन्छन्? मैले एकपटक एउटी जवान केटी भेटेँ जसको बोली मिठो थियो; ऊ वाक्पटु, र तेज बुद्धिकी थिई, उसलाई कसलाई के भन्‍ने भनेर ठ्याक्कै थाहा हुन्थ्यो, ऊ चर्चामा आउने काम गर्न र हरेक रूपमा चम्किन माहिर थिई, र खासगरी शक्ति र हैसियत भएकाहरूसित अन्तरक्रिया गर्न निकै सिपालु थिई। मलाई भेटेर मसित अन्तरक्रिया गर्दा, उसले तुरुन्तै भनी: “फलानो ठाउँमा आपराधिक घटनाहरूको बिगबिगी छ; स्थानीय प्रहरीमा समेत गुण्डाहरू छन्। एउटा गुण्डा नाइके थियो जसले आफ्नो ठाउँमा धेरै खराब कामहरू गर्थ्यो। एकदिन, उसले एउटा उच्च अधिकारी, ठूलो राक्षसलाई बाटोमा भेट्यो। उसको गाडीले उक्त ठूलो राक्षसको गाडीलाई उछिन्यो, अनि ठूलो राक्षसले आफ्नो अङ्गरक्षकलाई भन्यो, ‘त्यो कसको गाडी हो? म त्यसलाई फेरि हेर्न चाहन्नँ!’ अनि, भोलिपल्ट, उसलाई मारियो।” के समाजमा यस्ता कुराहरू हुन्छन्? (हुन्छन्।) यस्ता कुराहरू हुन्छन्, तर के मलाई भेटेपछि त्यसलाई नै कुराकानीको मुख्य विषय बनाउनु उपयोगी हुन्छ? यी मैले चासो राख्ने वा सुन्न चाहने विषयहरू होइनन्, तर उसलाई त्यो कुरा थाहा थिएन। उसले मलाई यी डरलाग्दा कथाहरू सुन्न मन लाग्छ भन्‍ने सोची। ल भन् त, के विपत्ति, दर्शन, अनि प्राकृतिक र मानव-निर्मित सङ्कटहरू मैले चासो राख्ने र सुन्न चाहने विषयहरू हुन्? (होइनन्।) यी कुराहरू सुनेर समय काट्नु ठिकै हो, तर यदि तैँले मलाई ती कुराहरू सुन्न मन लाग्छ भन्‍ने सोच्छस् भने, तँ गलत छस्। मलाई यी कुराहरूमा रुचि छैन, म यी कुराहरू सुन्न चाहन्नँ। कतिपय मानिसहरू सोध्छन्, “मानिसहरूले यी कुराहरूबारे कुरा गर्दा तिमीले सुन्छौ?” सुन्नुमा मेरो आपत्ति छैन, तर त्यसको मतलब मलाई सुन्न मन लाग्छ भन्‍ने होइन, न त म यो जानकारी र यी कथाहरू बटुल्न चाहन्छु भन्‍ने नै हो। यसको मतलब के हो? यसको मतलब मेरो हृदयको गहिराइमा, मसित यी मामलाहरूबारे कुनै उत्सुकता छैन, कुनै प्रकारको रुचि छैन। कतिपय मानिसहरूले त यस्तोसमेत सोच्छन्, “तिमीले हृदयमा ठूलो रातो अजिङ्गरलाई अत्यन्तै घृणा गर्दैनौ र? यदि तिमी ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ भने, म तिमीलाई ठूलो रातो अजिङ्गरमाथि आइपरेको दण्डबारे बताउनेछु: तेता ठूलो रातो अजिङ्गरभित्रकै उच्च अधिकारीहरूबीच आन्तरिक द्वन्द्व थियो, धेरै गुटहरू एकअर्कासँग लडिरहेका थिए, र एउटा नाइके राक्षसलाई झण्डै मारेका थिए। यी नाइके राक्षसहरू थुप्रैपटक हत्याको प्रयासबाट बाँचेका छन्, स्थिति साँच्चिकै खतरनाक छ! यो कुरा सुन्दा तिमी खुसी हुन्‍नौ र?” के यस्ता कुराहरूबारे सुन्दा तिमीहरू सबै खुसी हुनेथियौ? यदि तिमीहरू खुसी हुनेथियौ भने, खुसी होऊ; यदि तिमीहरूलाई सुन्न मन लाग्दैन भने, नसुन—यो मसँग सम्बन्धित छैन। छोटकरीमा, यी मामलाहरूबारे भन्नुपर्दा, चाहे त्यो कुनै देशको महामारी होस्, वा चाहे कसरी उक्त महामारी पैदा भयो, कति मानिसहरू मरे, कुन देशले ठूलो विपत्ति सामना गर्‍यो, कुनै देशको सरकारको स्थिति कस्तो छ, कुनै देशका उपल्लो तहका आन्तरिक सङ्घर्षहरू, वा सामाजिक उतारचढावहरू कति क्रूर छन् भन्‍ने कुरा हुन्, ती कुरा मेरो कानमा पुगेमा मैले सुन्न सक्छु, तर मलाई तिनका बारेमा थाहा नभएकै कारण मैले ती घटनाहरूबारे विशेष विवरणहरू खोज्ने, समाचार सुन्ने, अखबार पढ्ने, वा अनलाइनमा यी घटनाहरूसँग सम्बन्धित सामग्री खोज्ने प्रयत्न गर्नेछैन। म कदापि त्यसो गर्नेछैन, म त्यस्तो काम कहिल्यै गर्दिनँ। मलाई यी मामलाहरूमा रुचि छैन। कति मानिसहरू भन्छन्: “यो सबै तपाईंको नियन्त्रणमा छ, यो सबै तपाईंले गर्दा भएको हो; त्यसैले तपाईंलाई रुचि नभएको हो।” के यो भनाइ सही हो? धर्मसिद्धान्तको सन्दर्भमा यो सही हो, तर सारमा, कुरा त्यस्तो होइन। मानव नियति, हरेक वर्ण, हरेक समूह, र हरेक उमेरका मानिसहरूमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ। हरेक युगमा कुनै न कुनै विपद्‌ वा असामान्य घटनाहरू देखापर्नु सामान्य हो—यो सबै परमेश्‍वरको हातमा हुन्छ। जुनसुकै युग भए पनि, ठूला वा साना जे-जस्ता घटनाहरू घटे पनि, जब युग परिवर्तन हुने समय आउँछ, तब घाँस वा रूखले पात नफेरे पनि, त्यो युगको अन्त्य हुनैपर्छ। यो परमेश्‍वरको सार्वभौमिकताको मामला हो। यदि कुनै युग अन्त्य हुनु छैन भने, आकाशीय वस्तुहरूमा वा पृथ्वीका सारा चिजहरूमा ठूला परिवर्तनहरू भए पनि, त्यो युगको अन्त्य हुँदैन। यी सबै परमेश्‍वरका मामलाहरू हुन्, जुन मानव हस्तक्षेप वा मदतभन्दा बाहिर छन्। मानिसहरूले सबैभन्दा बढी गर्नुपर्ने भनेको यी कुराहरूमा चासो नराख्नु, आफ्नो कौतुहलता पूरा गर्न प्रमाण र जानकारी नबटुल्नु हो। परमेश्‍वरले गर्नुहुने कामकुराहरूबारे भन्नुपर्दा, तैँले सकेसम्म बुझ्नुपर्छ, तर बुझ्न सम्भव नभएको कुरा जबर्जस्ती बुझ्न खोज्नु हुँदैन। भ्रष्ट मानवजातिमाझ, यी मामलाहरू अत्यन्तै सामान्य र अत्यन्तै आम कुरा हुन्। यी सबै मामलाहरू—युगहरूको परिवर्तन, विश्‍व व्यवस्थाको रूपान्तरण, कुनै जातिको नियति, कुनै सरकारको शासन र हैसियत, आदि इत्यादि—सबै परमेश्‍वरका हातमा, सबै उहाँको सार्वभौमिकतामा हुन्छन्। बस मानिसहरूले विश्‍वास, स्वीकार, र समर्पण मात्र गर्नुपर्छ; त्यो नै पर्याप्त हुन्छ। जति धेरै रहस्यहरू बुझियो, त्यति धेरै आकर्षक देखिने सोचेर अझ बढी रहस्यहरू बुझ्ने सोचाइ नराख्, परमेश्‍वरमा विश्‍वास गर्दैमा तँमा ठूलो कद र आत्मिकता छ जस्तो नगर्। यस्तो मानसिकता राख्नुको अर्थ परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरो दृष्टिकोण गलत छ भन्‍ने हुन्छ। यी मामलाहरू महत्त्वपूर्ण होइनन्। साँच्चिकै महत्त्वपूर्ण मामला, अर्थात् मानिसहरूले सबैभन्दा धेरै चासो दिनुपर्ने कुरा भनेको त परमेश्‍वरको व्यवस्थापन योजनाको मूलतत्व, अर्थात् मानवताको मुक्ति हो, मानवजातिलाई परमेश्‍वरको व्यवस्थापन योजनाको कामभित्रै मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने कार्य हो। यो नै सबैभन्दा ठूलो र केन्द्रीय मामला हो। यदि तँ यो मामलासँग सम्बन्धित सत्यता र दर्शनहरू बुझ्छस् भने, परमेश्‍वरले तँमा जे गर्नुहुन्छ र तँलाई जुन सत्यता प्रदान गर्नुहुन्छ त्यसलाई स्विकार्, साथै हरेक काटछाँट, न्याय, र ताड्ना स्विकार्, यदि तैँले यी सबै स्विकारिस् भने, यो आकाशीय घटना, रहस्य, विपत्ति, वा राजनीतिको अनुसन्धान गर्नुभन्दा बढी मूल्यवान् हुन्छ।

कतिपय मानिसहरूले इतिहासबारे अलिकति सिक्छन्, राजनीतिबारे केही बुझ्छन्, अनि एक अर्थमा, तिनीहरू धाक देखाउन रुचाउँछन्; अर्को अर्थमा, तिनीहरू सोच्छन्, “देहधारी परमेश्‍वरसित परमेश्‍वरको सार र सत्यता छ। उसलाई यावत थोकमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भन्‍ने थाहा छ र उसले त्यसभित्रका विस्तृत कुराहरू बुझ्छ। त्यसैले, यदि मैले राजनीति र इतिहास बुझ्छु भने, के मैले उसका चाहनाहरू पूरा गर्न सक्छु? के मैले यी सारा कामकुराबारे उसको कौतुहलता मेटाउन सक्छु?” म भन्छु, तँ गलत छस्! मलाई सबैभन्दा बढी घिन लाग्ने पहिलो चिज राजनीति हो र दोस्रो चिज इतिहास हो। यदि तैँले इतिहासबारे हास्यास्पद, कथाझैँ किस्साहरू सुनाउँछस्, वा सामान्य बातचित गर्छस् र यसरी समय बिताउँछस् भने ठिक छ। तर यदि तैँले मसित खुसामदी गर्न र सम्बन्ध गाँस्नहेतु यी शब्दहरू र यी मामलाहरूलाई मसँग छलफल गर्नुपर्ने गम्भीर कुराको रूपमा लिन्छस् भने, तँ गलत छस्; मलाई यी कुराहरू सुन्ने कुनै चाहना छैन। कति मानिसहरू गलत रूपमा यस्तो सोच्छन्, “तिमी सत्यता सङ्गति गर्ने र मानिसहरूको लागि भेलाहरू राख्ने गर्छौ किनकि त्यो तिमीले गर्नैपर्छ; भित्र मनको गहिराइमा, तिमीलाई सबैभन्दा मनपर्ने कुरा संसारको ठूलो अस्तव्यस्तता नै हो। तिमीलाई संसार धेरै अस्तव्यस्त नहुने हो कि भन्‍ने डर छ। त्यसैले जबजब विपत्ति आउँछ, तिमी भित्रभित्रै कति खुसी हुन्छौ, सायद आतिशबाजी नै गरेर उत्सव पो मनाउँछौ कि, कसलाई के थाहा!” म भन्दै छु, त्यो वास्तविकता होइन। ठूलो रातो अजिङ्गर नष्ट भएर ढले पनि, म म नै रहनेछु। कति मानिसहरू सोध्छन्, “ठूलो रातो अजिङ्गर ढल्यो भने तपाईं खुसी हुनुहुन्थेन र? ठूलो रातो अजिङ्गरलाई नष्ट पारेर दण्डित तुल्याइँदा, तपाईंले आतिशबाजी गर्नुपर्दैन र? के तपाईंले ठूलो भोजभतेर गरेर परमेश्‍वरका चुनिएका मानिसहरूसँग उत्सव मानाउनुपर्दैन र?” ल भन् त, के मैले गर्नुपर्ने यही हो? के त्यसो गर्नु सही कि गलत हो? के यो सत्यतासँग मिल्छ? कतिले भन्छन्: “ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ज्यादै सताएको छ, परमेश्‍वरबारे अफवाह फैलाएर उहाँको नामको अपमान गरेको छ, परमेश्‍वरबारे ईशनिन्दा र आलोचना गरेको छ। के त्यसले त्यसको प्रतिशोध भेट्दा, हामीले अलिकति उत्सव मनाउनुपर्दैन र?” यदि तिमीहरू उत्सव मनाउँछौ भने, म अनुमति दिन्छु, किनकि तिमीहरूको त्यही मुड छ। यदि तिमीहरू सबै जना खुसी छौ, तीन दिन तीन रात जागा बस्छौ, सँगै भेला भएर परमेश्‍वरका वचनहरू पढ्छौ, परमेश्‍वरको धार्मिकताको प्रशंसा गर्न भजनहरू गाउँछौ र नाच्छौ, अनि परमेश्‍वरले ठूलो रातो अजिङ्गर अर्थात् शत्रुलाई अन्तत: नष्ट पारी पैतालामूनि कुल्चनुभएको छ, र परमेश्‍वरका चुनिएका मानिसहरू अबउप्रान्त त्यसको सतावट र यातनामा पर्नेछैनन्, घर फर्कन नसक्ने अवस्थामा रहनेछैनन्, र अन्तत: परिवारकहाँ फर्कन सक्‍नेछन् भनेर खुसियाली मनाउँछौ भने, सबैको मुडलाई स्वाभाविक रूपमै लिन सकिन्छ। यदि तिमीहरू यस तरिकाले उत्सव मनाउन र आनन्द लिन चाहन्छौ भने, मेरो सहमति छ। तर म आफूले जे गर्नुपर्ने हो त्यही गर्नेछु; म यी गतिविधिहरूमा संलग्न हुँदिनँ। कति मानिसहरू सोध्छन्: “तपाईं किन यस्तो मनोवृत्ति बोक्नुहुन्छ? के यसले मानिसहरूको जोस मार्दैन र? तपाईं किन केही जोस देखाउनुहुन्न? यदि सबैभन्दा महत्त्वपूर्ण क्षणमा तपाईं नै सहभागी हुनुहुन्न भने, हामी कसरी रमाउन सक्छौँ?” उत्सव मनाउनु गलत होइन, तर हामीले एउटा कुरा प्रस्टसित सङ्गति गर्नुपर्छ: मानौँ ठूलो रातो अजिङ्गर दण्डित भयो, र परमेश्‍वरले त्यसलाई हटाउनुभयो रे; कुनैबेला परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्ने काम गर्ने यो पिशाची राजालाई नष्ट र नामेट पारियो रे—त्यसोभए, परमेश्‍वरका चुनिएका मानिसहरूको कदचाहिँ कस्तो छ त? तिमीहरूले कति सत्यता बुझेका छौ? यदि तिमीहरू सबैले पर्याप्त मात्रामा कर्तव्य गर्न सक्छौ, सबैजना सृष्टि गरिएका योग्य प्राणीहरू हौ, सबैजना परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम छौ, हरव्यक्तिसँग अय्यूब र पत्रुसको कद छ, र सबैले मुक्ति पाइसकेका छौ भने, वास्तवमै त्यो खुसीको क्षण र उत्सव मनाउन योग्य कुरा हो। तर यदि कुनै दिन ठूलो रातो अजिङ्गरको पतन भयो तर तिमीहरूको कद बफादारीपूर्वक कर्तव्य गर्ने स्तरमा पुग्दैन, तिमीहरूमा अझै पनि परमेश्‍वरको डर छैन, र तिमीहरू दुष्टताबाट अलग बस्न सक्दैनौ, अय्यूब र पत्रुसको कदबाट अत्यन्तै टाढा छौ, र परमेश्‍वरको सार्वभौमिकताप्रति साँच्चै समर्पित हुन असक्षम छौ, र तिमीहरूलाई सृष्टि गरिएको योग्य प्राणी मान्न सकिन्‍न भने, तिमीहरू खुसी हुनुपर्ने कारण के छ र? के यो व्यर्थ खुसीमा रमाउनु मात्र होइन र? यस्तो उत्सव अर्थहीन र मूल्यहीन हुन्छ। कति मानिसहरू भन्छन्: “ठूलो रातो अजिङ्गरले हामीलाई ज्यादै सताउँछ; हामीले त्यसलाई घृणा गर्नु अवश्य नै ठिक होइन र? त्यसको सार चिन्नु नै ठिक हुन्थ्यो, होइन र? त्यसले हामीलाई धेरै सताएको छ; त्यसलाई हटाइँदा हामी किन खुसी हुन मिल्दैन र?” खुसी हुनु र आफ्ना भावनाहरू व्यक्त गर्नु ठिक हो। तर यदि तँलाई ठूलो रातो अजिङ्गरको विनाश हुनुले परमेश्‍वरको व्यवस्थापन योजना पूरा भएको र मानवजातिले मुक्ति पाएको जनाउँछ, र ठूलो रातो अजिङ्गरको विनाश हुनु भनेको परमेश्‍वरको व्यवस्थापन योजना पूरा हुनु, साथै तेरो आफ्नै मुक्ति र सिद्धता समान हो भन्‍ने लाग्छ भने, के यो बुझाइ गलत होइन र? (हो।) त्यसोभए, अब तिमीहरूले के बुझ्यौ? परमेश्‍वरको शत्रु, अर्थात् ठूलो रातो अजिङ्गरको सम्बन्धमा भन्नुपर्दा, त्यसको नियति र त्यो कस्तो छ भन्‍ने कुरा परमेश्‍वरका मामलाहरू हुन्, र तेरो स्वभाव परिवर्तन वा मुक्ति पछ्याउने कार्यसँग तिनको कुनै सम्बन्ध छैन। ठूलो रातो अजिङ्गर त एउटा प्रतिभार, एउटा सेवा गर्ने वस्तु मात्र हो, जसलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा प्रयोग गरिएको छ। त्यसले के गर्छ र परमेश्‍वरले कसरी त्यसलाई प्रयोग गरेर सेवा गर्न लगाउनुहुन्छ, ती परमेश्‍वरका कुरा हुन्, जुन मानिसहरूसित सम्बन्धित छैनन्। त्यसकारण, यदि तँ त्यसको नियतिबारे अत्यन्तै चिन्ता लिन्छस्, र तेरो हृदयलाई त्यसद्वारा विचलित हुन दिन्छस् भने, त्यसमा समस्या छ। परमेश्‍वरले ठूलो रातो अजिङ्गर, सारा दियाबलसहरू, र शैतानहरूलगायतका यावत्‌ थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, त्यसैले दियाबलस र शैतानहरूले जे गरे पनि, ती जस्तोसुकै भए पनि, तेरो जीवन प्रवेश वा स्वभाव परिवर्तनसँग तिनको कुनै सम्बन्ध छैन। के कुरासित चाहिँ तेरो सरोकार हुन्छ? तैँले परमेश्‍वरप्रति त्यसको प्रतिरोधको दुष्ट र क्रूर सार, परमेश्‍वरप्रति शत्रुवत्‌ र वैरी रहने त्यसको सार चिन्नुपर्छ—तैँले बुझ्नुपर्ने कुरा यही हो। जहाँसम्म अरू कुराहरू छन्, परमेश्‍वरले त्यसमाथि कस्ता विपत्तिहरू ल्याउनुहुन्छ, परमेश्‍वरले त्यसको नियति कसरी योजनाबद्ध गर्नुहुन्छ, तँसँग त्यसको कुनै सम्बन्ध छैन, र त्यो कुरा जानेर कुनै काम छैन। किन काम छैन? किनभने तँलाई थाहा भए पनि, परमेश्‍वरले किन यस तरिकाले काम गर्नुहुन्छ, त्यो तैँले बुझ्न सक्दैनस्। तैँले त्यो कुरा देखे पनि, परमेश्‍वरले किन त्यस तरिकाले कार्य गर्न रोज्नुहुन्छ, त्यो तैँले थाहा पाउनेछैनस्, तैँले त्यसपछाडिको सत्यता राम्रोसँग बुझ्न सक्‍नेछैनस्। अब म यी संक्षिप्त टिप्पणीसँगै यो विषय यहीँ टुङ्ग्याउँछु।

ख्रीष्टविरोधीहरूले खुसामदी, चापलुसी र मिठा शब्दहरू प्रयोग गर्नुका प्रकटीकरणहरू साधारण भ्रष्ट मानिसहरूमा पनि अवश्यै भेटिन्छन्, तर के कुराले ख्रीष्टविरोधीहरूलाई साधारण भ्रष्ट मानिसहरूबाट फरक बनाउँछ? तिनीहरूका खुसामदी, चापलुसी, र मिठा शब्दहरूमा कुनै सम्मान र इमानदारी हुँदैन। बरु, तिनीहरू देहधारी परमेश्‍वरलाई खेलाउने, जाँच्ने र प्रयोग गर्ने उद्देश्य राख्छन्, र यस्ता अभ्यासहरू पैदा गराउँछन्; तिनीहरूका आफ्नै उद्देश्यहरू हुन्छन्। तिनीहरूले आफ्नो अगाडि देखेको साधारण व्यक्तिसँग खुसामदी, चापलुसी र मिठा शब्दहरूमार्फत खेलवाड गर्न र ख्रीष्टलाई फसाउन खोज्छन्, र यसरी ख्रीष्टलाई तिनीहरू वास्तवमा को हुन्, तिनीहरूसँग कस्ता भ्रष्ट स्वभावहरू छन्, तिनीहरूमा कस्तो निष्ठा र कस्तो सार छ, र तिनीहरू कुन वर्गका व्यक्तिहरूमा पर्छन् भनी छर्लङ्गै बुझ्न दिँदैनन्। तिनीहरू फसाउन र धोका दिन चाहन्छन्, हैन र? (हो।) तिनीहरूको खुसामदी, चापलुसी, र मिठा शब्दहरूमा त्यस्तो कुनै सच्चा शब्द हुन्छ र? एउटा पनि हुँदैन। ख्रीष्टविरोधीहरूका आशय र उद्देश्य धोका दिने, फसाउने र खेलवाड गर्ने हुन्। के यी अभ्यासहरू ख्रीष्टविरोधीहरूले सत्यतालाई घृणा गर्नुको सार होइनन् र? (हुन्।) तिनीहरूले सबै साधारण मानिसहरूलाई मिठा शब्दहरू सुन्न, र उनीहरूसामु अरूलाई चापलुसी गराउन र लम्पसार पराउन मन पर्छ, र यसले उनीहरूलाई आफू महत्त्वपूर्ण भएको र औसत व्यक्तिभन्दा ठूलो भएको आभास गराउँछ भन्‍ने सोच्छन्। तर त्यसको उल्टो, यदि कसैले ख्रीष्टसामु अत्यन्तै दासत्व तरिकाले व्यवहार गर्छ, निष्ठा र इज्जत राख्दैन, छल गरेर बोल्छ, सधैँ धोका दिन र तथ्यहरू ढाकछोप गर्न खोज्छ, र ख्रीष्टलाई बहाना र झूटपूर्वक व्यवहार गर्छ भने, ख्रीष्टले यो कुनै पनि कुरा नस्विकार्नुहुने मात्र होइन, हृदयमा उहाँलाई तँप्रति झर्कोसमेत लाग्‍नेछ। कुन हदसम्म? परमेश्‍वरले यो व्यक्ति घिनलाग्दो छ, उसले एउटा पनि सत्यता बोल्दैन, कसरी जुत्ता चाट्ने भन्‍नेबारे मात्र सोच्छ, ऊ केही न कामको छ, ऊ सकारात्मक पात्र होइन—यस्तो व्यक्ति भर र भरोसाहीन हुन्छ भनेर भन्नुहुन्छ। भर र भरोसाहीन; यस्ता मानिसहरूलाई दिइने परिभाषा यही हो। बाहिरी रूपमा, यी दुई शब्दहरू मात्र हुन्, तर वास्तवमा, यस्तो व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, सत्यता प्राप्त गर्न सक्दैन, र मुक्ति पाउने सम्भावना हुँदैन। यदि यस व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन र मुक्ति पाउने सम्भावना छैन भने, उसले परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्व र मूल्य के हुन्छ? यदि उसले अवरोध वा बाधाहरू सिर्जना गर्दैन भने, उसले परमेश्‍वरको घरमा, ठ्याक्कै ठूलो रातो अजिङ्गरले जस्तै, कुनै प्रतिभार वा सेवा गर्ने वस्तुको भूमिका मात्र खेल्न सक्छ। कुनै वस्तुको भूमिका खेल्नुको अर्थ के हो? त्यसको अर्थ अस्थायी रूपमा सकुन्जेल कुनै काम गर्नु हो, जस्तै नपल्टिन्जेल गाडा तानिरहनु। तिनीहरूलाई किन कुनै भूमिका खेल्न लगाइन्छ? किनकि यस्ता मानिसहरूले सत्यता पछ्याउँदैनन्। तिनीहरूले हृदयमा सत्यतालाई यति धेरै घृणा र गाली गर्छन्, सत्यतासँग यति धेरै ठट्टा र खेलवाड गर्छन् कि तिनीहरूको अन्तिम नियति पावलको जस्तै अन्त्यमा पुग्न नसक्ने सुनिश्‍चित हुन्छ। त्यसकारण, यस्तो व्यक्तिले परमेश्‍वरको घरमा अस्थायी सेवाकर्ताको भूमिका मात्र खेल्न सक्छ। एक अर्थमा, तिनीहरूले साँच्चिकै सत्यता पछ्याउनेहरूको समझशक्ति र बुझाइ बढाउन मद्दत गर्छन्। अर्को अर्थमा, तिनीहरू परमेश्‍वरको घरमा आफूले जे सक्छन् त्यही गर्छन्, र सक्दो सेवा गर्छन्, किनकि यस्ता मानिसहरू मार्गको अन्त्यसम्म पुग्न सक्दैनन्।

एकदिन, म बाहिर गएको बेला एकजना चिनेको व्यक्तिसँग मेरो भेट भयो। मैले बोल्नुअघि नै उसले पहिला सोधी, “हामी नभेटेको लामो समय भयो। म तिमीलाई हरदिन यहीँ पर्खिँदै आएकी छु, तिम्रो यति धेरै याद आउँछ कि म घरमा बस्नै सक्दिनँ। म यहाँ आउजाउ गर्ने भिडहरूमा तिमीलाई खोजिरहन्छु!” मैले मनमनै सोचेँ, यो व्यक्ति मानसिक रूपमा अलि अस्वस्थ हुन सक्छे। के मैले तँलाई भेट्ने समय दिएको थिएँ र? तँ किन मलाई हरदिन यहाँ पर्खन्थिस्? हाम्रो जम्काभेट भइहालेकोले केही महत्त्वपूर्ण विषयमा कुरा गरौँ। मैले उसलाई सोधेँ, “तिमीलाई अहिले कस्तो छ?” उसले जवाफ दिई, “ओहो, कुरै नगरौँ। हाम्रो पछिल्लो भेटपछि, मैले तिमीबारे यति धेरै सोचमा डुबेकी छु कि म खान वा सुत्न पनि सकिरहेकी छैनँ। म कुनै दिन तिमीलाई भेट्ने आशा गरिरहेकी थिएँ।” मैले भनेँ, “कुनै महत्त्वपूर्ण विषयबारे कुरा गरौँ न। यस अवधिमा तिम्रो स्थिति कस्तो रहेको छ?” “ठिकठिकै। ठिकै रहेको छ।” “के तिमीहरूको मण्डलीले चुनाव गरायो? के अहिले पनि त्यही अगुवा छ?” “छैन, तिनीहरूले फलानो चयन गरे।” “ऊ कस्तो छ?” “ऊ ठिकै छ।” “त्यसोभए यसअघिको मण्डली अगुवालाई किन प्रतिस्थापित गरियो?” “थाहा छैन; ऊ ठिकै थियो।” “अलि प्रस्ट भन्, ‘ठिकै’ मात्र नभन्। के उसले ठोस काम गर्न सकेन?” “मलाई त ऊ ठिकै लाग्थ्यो।” “नयाँ चुनिएको अगुवाको मानवता कस्तो छ? सत्यताबारे उसको बुझाइ कस्तो छ? के उसले ठोस काम गर्न सक्छ?” “ऊ ठिकै छ।” मैले उसलाई जे सोधे पनि उसको जवाफ सधैँ “ठिकै” भन्‍ने हुन्थ्यो, जसले गर्दा कुराकानी गर्न असम्भव भयो। त्यसैले म त्यहाँबाट गएँ। यो कथाबारे तिमीहरूलाई के लाग्छ? यो कथाको शीर्षक के हुनुपर्छ? (“ठिकै।”) यो कथा “ठिकै” हो। मैले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्दा, थोरैले मात्र मानव समझबाट बोल्छन्, सत्यता सिद्धान्तहरूबमोजिम बोल्ने त कुरै छाडौँ। धेरैजसो मानिसहरूले झूट, बकवास, भ्रम, र अहङ्कारी शब्दहरू मात्र बोल्छन्; त्यसमा एउटा पनि साँचो कथन हुँदैन। म तैँले बोल्ने हरेक वाक्य सत्यतासँग मिल्दो हुनुपर्छ वा त्यसमा सत्यता वास्तविकता हुनुपर्छ भन्‍ने मापदण्ड तोक्दिनँ, तर कम्तीमा, तैँले मानवझैँ बोल्न सक्नुपर्छ, केही इमानदारी देखाउनुपर्छ, र केही साँचो भावना देखाउनुपर्छ। के यी कुराहरूविना संवाद गर्न सम्भव हुन्छ त? हुँदैन। तँ सधैँ खोक्रा कुराहरू गर्छस् र झूट बोल्छस्; परिस्थितिहरू सामना गर्नुपर्दा, बकवास, भ्रम, र बेइज्जतीपूर्ण र हद नाघ्‍ने शब्दहरू सबै बाहिर आउँछन्, साथै स्पष्टीकरण र बचाउका शब्दहरू देखा पर्छन्, र त्यसले मिलेर बस्न वा कुराकानी गर्न असम्भव तुल्याउँछ, हैन र? (हो।)

धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तर यस क्रममा यी वचनहरू स्वर्गको परमेश्‍वरसित, परमेश्‍वरको आत्मासित, र अदृश्य र अमूर्त परमेश्‍वरसित मात्र सम्बन्धित छन् भन्‍ने विश्‍वास गर्छन्। त्यो परमेश्‍वर अत्यन्तै टाढा हुनुभएकाले, उहाँका वचनहरू सत्यता भन्न मिल्नेगरी गहन मानिन्छन्। तर तिनीहरूसामु रहेको यो साधारण व्यक्ति, देख्‍न सकिने र बोल्दा सुनिने यो व्यक्तिको सत्यतासँग, परमेश्‍वरसँग, वा परमेश्‍वरको सारसँग थोरै मात्र सम्बन्ध भएको मानिन्छ। यस्तो किन हो भने, उहाँ देख्‍न सकिने हुनुहुन्छ र उहाँ मानिसहरूसँग अत्यन्तै नजिक हुनुहुन्छ, उहाँले तिनीहरूका हृदय वा नजरलाई कुनै पनि रूपमा प्रभाव पार्नुहुन्न, र उहाँले तिनीहरूमा कुनै पनि रहस्यमयी कौतुहलताको भाव जगाउनुहुन्न। मानिसहरूलाई यो साधारण, छुन सकिने, र बोल्ने व्यक्ति चिन्न अत्यन्तै सजिलो छ, उहाँ अत्यन्तै पारदर्शी हुनुहुन्छ भन्‍ने लाग्छ। तिनीहरूले एकै नजरमा उहाँलाई भित्रैसम्‍म बुझ्‍न र छर्लङ्गै देख्न सकिन्छ भन्‍नेसमेत सोच्छन्। फलस्वरूप, मानिसहरूले अचेतन रूपमै ख्रीष्टलाई कुनै मानवलाई जस्तै, हैसियत वा शक्ति भएको कुनै व्यक्तिलाई जस्तै व्यवहार गर्छन्। के यो सत्यता सिद्धान्तहरूसँग मिल्छ? ख्रीष्टलाई कसरी हैसियत र शक्ति भएका भ्रष्ट मानवहरूसँग समान रूपमा लिन मिल्छ? जब मानिसहरूले हैसियत र शक्ति भएका व्यक्तिहरूको खुसामद र चापलुसी गर्छन्, तब तिनीहरूले लाभ र प्रशंसा पाउँछन्। भ्रष्टहरू यसमा रमाउँछन्; तिनीहरू अरूले आफ्नो खुसामद र चापलुसी गरून्, साथै आफ्नो जुत्ता चाटून् भन्‍ने चाहना राख्छन्, किनकि यसले तिनीहरूलाई अझ बढी आदर्शमयी र वरिष्ठ, अनि तिनीहरूको हैसियत र शक्तिलाई अझ महत्त्वपूर्ण देखिने तुल्याउँछ। तर परमेश्‍वरको सार बोक्‍ने ख्रीष्ट ठ्याक्कै उल्टो हुनुहुन्छ। जब कुनै व्यक्तिसँग हैसियत र प्रसिद्धि हुन्छ, त्यो ऊसँग आदर्शमयी सार वा चरित्र भएर भएको हुँदैन; त्यसैले, उसले आफ्नो प्रसिद्धि र हैसियत देखाउन भएभरका उपायहरू प्रयोग गरेर अरूलाई उसलाई आदर्श ठान्न र चापलुसी गर्न लगाउन जरूरी हुन्छ। तर यसको उल्टो, परमेश्‍वरको सार बोक्‍ने ख्रीष्टसँग अन्तर्निहित रूपमै परमेश्‍वरको पहिचान र हैसियत हुन्छ, जुन सृष्टि गरिएका कुनै पनि प्राणीका सार र हैसियतभन्दा उच्च हुन्छन्। उहाँको पहिचान र सारको वस्तुगत अस्तित्व हुन्छ, त्यसको प्रमाणीकरणको लागि कुनै पनि सृष्टि गरिएको प्राणीको प्रशंसा आवश्यक पर्दैन; न त उहाँलाई आफ्नो पहिचान, सार वा उहाँको आदर्शमयी हैसियत प्रस्तुत गर्न कुनै सृष्टि गरिएको प्राणीको खुसामद वा चापलुसी नै आवश्यक पर्छ। यस्तो किन हो भने, ख्रीष्टसँग परमेश्‍वरको सार हुनु एक अन्तर्निहित तथ्य हो; यो उहाँलाई कुनै व्यक्तिले दिने कुरा होइन, झन् यो मानवजातिमाझ वर्षौँको अनुभवमार्फत आर्जन गरिएको कुरा हुनु त परै जाओस्। भन्नुको मतलब, कुनै सृष्टि गरिएको प्राणी नभए पनि परमेश्‍वरका पहिचान र सार उस्तै रहन्छन्; कुनै सृष्टि गरिएको प्राणीले परमेश्‍वरलाई आराधना नगर्दा वा नपछ्याउँदा पनि परमेश्‍वरको सार बदलिँदैन—यो एक अपरिवर्त्नीय तथ्य हो। ख्रीष्टविरोधीहरू ख्रीष्टले जेसुकै भन्नु वा गर्नुभए पनि, मानिसहरूले मिठा शब्दहरू प्रयोग गर्नुपर्छ, जयजयकार गर्नुपर्छ, पछिपछि जानुपर्छ, अनि उहाँका रूचिहरू पूरा गर्न र उहाँका अभिप्रायहरूविरुद्ध नलाग्न खुसामद गर्नुपर्छ भन्‍ने गलत विश्‍वास राख्छन्, र यसले ख्रीष्टलाई उहाँको पहिचान र हैसियतको अस्तित्व अनुभूत गराउन सक्छ भन्ठान्छन्। यो गम्भीर त्रुटि हो! मानवजातिमाझ प्रसिद्धि, शक्ति, र हैसियत भएको कुनै पनि व्यक्तिले कसरी आफ्नो प्रसिद्धि र शक्ति प्राप्त गर्छ? (खुसामद गरेर अनि जुत्ता चाटेर।) यो एउटा पक्ष हो। यसअलावा, यो मुख्यगरी मानिसहरूमाझ उसका सङ्घर्ष र प्रयत्नहरूमार्फत आउँछ, साथै चालबाजी र विभिन्न उपायहरूमार्फत आर्जन गरेर वा खोसेर पनि आउँछ। यो केवल एउटा छवि, एउटा उच्च पद वा मानिसहरूको दर्जा मात्र हो। यो उच्च छवि, उच्च दर्जा, र उच्च हैसियतले व्यक्तिलाई भिडमाझ अलग देखिने, र अगुवा अर्थात् निर्णायक भूमिका खेल्ने निर्णयकर्ता बन्ने तुल्याउँछ। तर हैसियत र प्रसिद्धि भएको, र मानिसहरूमाझ अरूभन्दा माथि उठेको यस व्यक्तिको सार के हुन्छ? के ऊ र अरूबीच कुनै भिन्नता छ? उसको पहिचान र सार ठ्याक्कै कुनै साधारण भ्रष्ट मानवका जस्तै हुन्छ; ऊ शैतानको सत्तामा भ्रष्ट तुल्याइएको एक साधारण सृष्टि गरिएको प्राणी हो, जसले सत्यता र सकारात्मक कुराहरूलाई घात गर्न, सही र गलतलाई उल्टाउन, तथ्यहरूविरुद्ध लाग्न, दुष्टता गर्न, परमेश्‍वरको प्रतिरोध गर्न, र स्वर्गलाई अवज्ञा गर्न र सराप्न सक्छ। उसको साँचो पहिचान र सार शैतानद्वारा भ्रष्ट तुल्याइएको, परमेश्‍वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको जस्तो हुन्छ, त्यसैले उसको प्रसिद्धि र हैसियत खोक्रो पदवी मात्र बन्छ। काफी रूपमा निर्दयी, क्रूर र दुर्भावपूर्ण रहेका, र हैसियत र प्रसिद्धिको लागि अरूलाई मार्ने वा हानि गर्ने मानिसहरूले उच्च पदहरू हासिल गर्छन्। युक्ति रच्न सक्‍नेहरू, अनि तौरतरिका जान्‍ने र षडयन्त्र गर्न सक्‍नेहरू अरूहरूमाथिका अगुवा बन्छन्। यी व्यक्तिहरू साधारण भ्रष्ट मानिसहरूभन्दा बढी दुर्भावपूर्ण, क्रूर, र दुष्ट हुन्छन्। तिनीहरू आफूलाई मिठा शब्दहरू, जुत्ताचटाइ, खुसामद, र चापलुसीद्वारा व्यवहार गरिएको मात्र मन पराउँछन्। यदि तैँले तिनीहरूलाई सत्य कुरा भन्छस् भने, तेरो जीवन जोखिममा पर्छ। ख्रीष्टविरोधीहरूले खेलका यी सांसारिक नियमहरू र दुनियाँसँग व्यवहार गर्ने दर्शनहरू परमेश्‍वरको घरमा ल्याउँछन्, र तिनलाई ख्रीष्टसँगका अन्तरक्रियाहरूमा लागु गर्छन्। तिनीहरूले ठान्छन् कि यदि ख्रीष्टले आफूलाई बलियो रूपमा स्थापित गर्न चाहनुहुन्छ भने, उहाँले पनि आफूसँग खुसामद, चापलुसी, र मिठा शब्दहरू प्रयोग गरिएको नै मन पराउनुहुन्छ। यसरी तिनीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहलाई भ्रष्ट मानवजातिकै सदस्यको रूपमा मिहीन ढङ्गले व्यवहार गर्छन्, जुन ख्रीष्टविरोधीहरूको शैली हो। तसर्थ, ख्रीष्टसँगका अन्तरक्रियाहरूमा ख्रीष्टविरोधीहरूले देखाउने स्वभाव निस्सन्देह रूपमै दुष्ट हुन्छ। तिनीहरू दुष्ट स्वभावका हुन्छन्, र तिनीहरू मानिसहरूका सोचहरूबारे अनुमान लगाउन र मनन गर्न, अरू मानिसहरूका शब्द र भावहरू नाप्न, र ख्रीष्टसँगका व्यवहारमा र उहाँसँगका तिनीहरूका उठबसका मामलाहरूमा निश्‍चित उपायहरू, र अधर्मी मानिसहरूले प्रयोग गर्ने खेलका नियमहरू प्रयोग गर्न मन पराउँछन्। तिनीहरूले गर्ने सबैभन्दा गम्भीर गल्ती के हो? तिनीहरू किन यस तरिकाले व्यवहार गर्न सक्छन्? यसको जड के हो? परमेश्‍वरले देहधारी परमेश्‍वर एक साधारण व्यक्ति हो भन्नुहुन्छ। यो सुनेपछि ख्रीष्टविरोधीहरू प्रसन्न हुन्छन्, र यसो भन्छन्: “ठिक छ, त्यसोभए म तिमीलाई एक साधारण व्यक्तिको रूपमा व्यवहार गर्नेछु; अब मसित तिमीलाई कसरी व्यवहार गर्ने भन्‍ने आधार छ।” जब परमेश्‍वरले परमेश्‍वर देहधारी हुनुभएको देहमा परमेश्‍वरको सार छ भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले यस्तो जवाफ दिन्छन्: “परमेश्‍वरको सार? मैले कसरी नदेखेको त? त्यो कहाँ छ? त्यो कसरी प्रकट हुन्छ? ऊसँग परमेश्‍वरको सार छ भनेर प्रमाणित गर्न उसले के प्रकट गर्छ? मलाई त हैसियत भएकाहरूको खुसामद र चापलुसी गर्न मात्र आउँछ। मानिसहरूको खुसामद र चापलुसी गर्नमा म कहिल्यै गलत हुन सक्दिनँ; यो नै सधैँ उत्तम उपाय हुन्छ। जे होस्, सत्यता बोल्नुभन्दा त यो धेरै राम्रो हो।” यो ख्रीष्टविरोधीहरूको दुष्टता हो। ख्रीष्टविरोधीहरू यसरी नै सत्यतामा विश्‍वास गर्ने वा सत्यता स्विकार्ने गर्दैनन्, र तिनीहरू शैतानको दर्शनद्वारा मात्र जिउँछन्।

कति मानिसहरू भन्छन्: “खुसामद गर्न, चापलुसी गर्न, र मिठा शब्दहरू बोल्न सक्नेहरूलाई सबैले मन पराउँछन्; परमेश्‍वरले मात्र यस्ता मानिसहरू मन पराउनुहुन्न। त्यसोभए, परमेश्‍वरले वास्तवमा कस्तो व्यक्ति मन पराउनुहुन्छ? व्यक्तिले परमेश्‍वरसित कसरी अन्तरक्रिया गर्नुपर्छ ताकि उहाँले मन पराउनुहोओस्?” तिमीहरूलाई थाहा छ? (परमेश्‍वरले इमानदार मानिसहरू, परमेश्‍वरलाई हृदयका कुरा भन्‍ने मानिसहरू, हृदय खोलेर छली नगरी परमेश्‍वरसित सङ्गति गर्ने मानिसहरू मन पराउनुहुन्छ।) अरू केही छ? (परमेश्‍वरको डर मान्ने हृदय भएकाहरू, परमेश्‍वरका वचनहरू सुन्न र स्विकार्न सक्‍नेहरू।) (परमेश्‍वरको घरतर्फ हृदय फर्केकाहरू, परमेश्‍वरसित एकैमन भएकाहरू।) तिमीहरू सबैले इमानदार व्यक्ति हुनुका धेरै पक्षहरू उल्लेख गरेका छौ जुन अभ्यास गरिनुपर्छ। इमानदार व्यक्ति बन्‍नु परमेश्‍वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्‍वरसँग व्यवहार गर्दा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्‍नुपर्छ: परमेश्‍वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। गैरविश्‍वासीहरूले अभ्यास गर्ने खुसामद वा चापलुसीमा नलाग्; परमेश्‍वरलाई मान्छेको खुसामद र चापलुसी आवश्यक छैन। इमानदार बन्‍नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्‍नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्‍वरसित खुलेर कुरा गर्नु, परमेश्‍वरसँग इमानदार हृदयले अन्तरक्रिया गर्नु, र कुनै पनि गलत अभिप्राय वा छलपकटविना सीधा कुरा बोल्‍नु।) ठीक भन्यौ। इमानदार व्यक्ति बन्‍नको लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत इच्‍छाहरूलाई पन्छाउनुपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तैँले आफूलाई परमेश्‍वरसामु उदाङ्गो पार्नुपर्छ र हृदयमा जे छ त्यो कुरा भन्नुपर्छ, तेरा शब्‍दहरूका परिणाम के हुनेछन् भनेर मनन वा सोचविचार नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि मात्रै कुराहरू बोल्‍ने नगर्। तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र दूषणहरू छन्, तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, “मैले यो कुरा भन्‍नुपर्छ, त्यो कुरा होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्‍वरमा राम्रो छाप पर्ने गरी बताउनेछु।” के यो मनसायहरू बोक्नु होइन र? तिमीहरूले मुख खोल्‍नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्‍न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्‍दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्‍चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्‍नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्‍नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुष्ट मनसाय राख्‍नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ मानिसहरूका अनुहारका भावहरू र तिनीहरूका हेराइबाट सङ्केत लिन्छस्: यदि तिनीहरूको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्‍नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि तिनीहरूको हेराइ नराम्रो छ, र तिनीहरूलाई आफूले सुनेको कुरा मन परेन भन्‍ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, “ठीकै छ, म तिमीलाई रोचक लाग्‍ने, तिमीलाई खुशी बनाउने, तिमीलाई मन पर्ने, र तिमीलाई मप्रति सकारात्मक बनाउने कुरा बताउँछु।” के यो इमानदार बन्‍नु हो? होइन। कति मानिसहरू कसैले मण्डलीमा दुष्टता गरेको र बाधा सिर्जना गरेको देख्दा रिपोर्ट गर्दैनन्। तिनीहरू सोच्छन्, “यदि म यो रिपोर्ट गर्ने पहिलो भएँ भने, मैले त्यस व्यक्तिलाई चिढ्याउँछु, र यदि म गलत रहेछु भने, मैले काटछाँट भोग्नुपर्छ। म अरूले रिपोर्ट गरून्जेल पर्खनेछु र उनीहरूसँगै जोडिनेछु। हामी गलत भयौँ भने पनि, ठूलो कुरा हुन्‍न—आखिर भिडलाई दोषी ठहर्‍याउन मिल्दैन। भनाए नै छ नि, ‘थुतुनो निकाल्नेलाई नै पहिलो प्रहार गरिन्छ।’ म त्यो व्यक्ति हुनेछैन; मूर्खले मात्र थुतुनो निकाल्न जिद्‌ कस्छ।” के यो इमानदार हुनु हो? निश्‍चय नै होइन। यस्तो व्यक्ति वास्तवमै धूर्त हुन्छ; यदि ऊ मण्डलीको अगुवा, अर्थात् प्रभारी व्यक्ति बन्यो भने, के उसले मण्डलीको काममा क्षति पुर्‍याउनेछैन र? निश्‍चय नै पुर्‍याउनेछ। यस्तो व्यक्तिलाई कदापि प्रयोग गर्नै हुँदैन। के तिमीहरू यस्तो व्यक्तिलाई खुट्ट्याउन सक्छौ? उदाहरणको लागि, मानौँ एक अगुवा छ रे, जसले खराब काम गरेको छ र मण्डलीको काममा बाधा दिएको छ, तैपनि यस व्यक्तिबारे वास्तवमा के-कसो हुँदै छ भनेर कसैले पनि बुझ्दैन, न त ऊ कस्तो हो भनेर माथिलाई नै थाहा हुन्छ—उसलाई के समस्या छ भनेर तँलाई मात्र थाहा हुन्छ। के यस्तो परिस्थितिमा तैँले इमानदारीपूर्वक उक्त समस्या माथि सुनाउनेथिस्? यो समस्याले नै मान्छेको सबैभन्दा बढी खुलासा गर्छ। यदि तैँले उक्त मामला लुकाइस् र कसैलाई केही पनि भनिनस्, परमेश्‍वरलाई समेत भनिनस्, र त्यस अगुवाले अति धेरै दुष्टता गरेर मण्डलीको काम अस्तव्यस्त पारेपछि, अनि सबैले उसलाई खुलासा गरेर तह लगाइसकेपछि मात्र उठेर “मलाई ऊ असल व्यक्ति होइन भनेर सुरुदेखि नै थाहा थियो। कतिपय मानिसहरूले ऊ असल व्यक्ति हो भन्‍ने सोचेका भएर मात्र हो; यदि मैले केही भनेको भए, कसैले पनि मेरो कुरामा विश्‍वास गर्नेथिएन। त्यसैले मैले बोलिनँ। अब त उसले केही खराब काम गरेको र ऊ को हो भनेर सबैले भन्न सक्ने भएर, म उसमा साँच्चै के समस्या छ भनेर भन्न सक्छु” भनिस् भने, के त्यो इमानदार हुनु हो? (होइन।) यदि तैँले हरेकपटक कसैका समस्याहरू खुलासा हुँदा, वा कुनै समस्या रिपोर्ट भइरहँदा, भिडको पछि लाग्छस् र अन्तिममा मात्र उभिएर तिनको खुलासा वा समस्याको रिपोर्ट गर्छस् भने, के तँ इमानदार भइरहेको हुन्छस्? यो कुनै पनि कुरा इमानदार हुनु होइन। यदि तँलाई कुनै व्यक्ति मन पर्दैन, वा कसैले तँलाई चिढ्याएको छ, र तँलाई ऊ दुष्ट व्यक्ति होइन भन्‍ने थाहा छ, तर तैँले सानो मन गरेर उसलाई घृणा गर्छस् र ऊमाथि बदला लिन र उसलाई मूर्ख बनाउन चाहन्छस् भने, तैँले उपायहरू सोच्दै मौका खोजेर माथिसमक्ष ऊबारे खराब कुराहरू बताउन सक्छस्। तैँले त्यस व्यक्तिको निन्दा नगरी तथ्यहरू मात्र बताइरहेको पनि हुन सक्छस्, तर ती तथ्यहरू बताउँदा तेरो आशय खुलासा भएको हुन्छ: तैँले उसलाई तह लगाउन माथिको हात प्रयोग गर्न वा परमेश्‍वरलाई केही भन्न लगाउन चाहन्छस्। माथिसमक्ष समस्याहरू रिपोर्ट गरेर, तँ आफ्नो लक्ष्य हासिल गर्ने कोसिस गरिरहेको हुन्छस्। यो पक्कै पनि व्यक्तिगत अभिप्रायहरूद्वारा दूषित भएको कुरा हो, र निश्‍चय नै यो इमानदार हुनु होइन। यदि ऊ मण्डलीको काममा बाधा दिइरहेको दुष्ट व्यक्ति हो, र त्यो काम रक्षा गर्नको निम्ति तैँले माथिसमक्ष रिपोर्ट गर्छस्, र त्यसबाहेक, तैँले रिपोर्ट गर्ने समस्याहरू पूर्णतया तथ्यपूर्ण छन् भने, यो शैतानी दर्शनहरूद्वारा कामकुरा सम्हाल्नुभन्दा फरक हो। यो कुरा न्यायको भावना र जिम्मेवारीबोधबाट उब्जिन्छ, र यो आफ्नो बफादारी पूरा गर्नु हो; इमानदार हुने कुरा यसरी प्रकट हुन्छ।

परमेश्‍वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्‍वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्‍वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्‍वरलाई इमानदार मानिसहरू, अर्थात् उहाँसँग इमानदार व्यवहार गर्ने मानिसहरू मन पर्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ। भन्नुको मतलब, ख्रीष्टसित व्यवहार र अन्तरक्रिया गर्दा, तैँले कुनै जोरबल लगाउनु पर्दैन, तैँले कुनै “गृहकार्य,” वा तयारी वा अग्रिम रूपमा केही गर्न आवश्यक छैन; यो केही पनि जरूरी छैन। परमेश्‍वरलाई इमानदारी: मनैदेखिको, सामान्य, स्वाभाविक कुराकानी र अन्तरक्रिया मन पर्छ। तैँले केही गलत कुरा भनिस् वा अनुचित शब्दहरू प्रयोग गरिस् भने पनि समस्या हुँदैन। उदाहरणको लागि, मानौँ म कुनै ठाउँमा गएँ र भान्सेले सोध्यो, “तिमीले खान नमिल्ने केही छ? तिमीले खाने र नखाने खानाहरू के-के छन्? म के बनाइदिऊँ?” मैले भन्छु: “धेरै नुनिलो, पिरो खाना नहोस्, र धेरै चिल्लो र तारेको खाना पनि नहोस्। मुख्य खानामा भात वा थुक्पा भए हुन्छ।” के यी निर्देशनहरू गहन छन्? (छैनन्।) खाना बनाउन जान्‍नेले तुरुन्तै बुझिहाल्छ, उसलाई अनुमान, मनन वा विशेष मार्गदर्शन वा स्पष्टीकरणको आवश्यकता पर्दैन। आफ्नो अनुभवअनुसार पका, यो सामान्य कुरा हो। तर मानिसहरूले सबैभन्दा सामान्य काम पनि गर्न सक्दैनन्, किनभने तिनीहरूमा भ्रष्ट स्वभावहरू र स्वार्थ हुन्छन्। म धेरै चिल्लो नहोस् भन्छु, तर पकाउने बेलामा तिनीहरूले अलिकति सब्जीको लागि ठूलो डाडुभरी तेल हाल्छन्, र मूलत: त्यसलाई तारेर चिल्लो स्वादको बनाउँछन्। म धेरै नुनिलो नहोस् भन्छु, तर तिनीहरूले पितिक्‍क नुन हाल्छन् र त्यो लगभग बेस्वादिलो हुन्छ। त्यति धैरै तेल हालेको र त्यो नुनै नभएको खाना खाऊँखाऊँ लाग्ने हुन्छ र? त्यो भान्सेले यति सानो काम पनि राम्रोसँग गर्न सक्दैन, र यस्तोसमेत भन्छ, “परमेश्‍वरका अभिप्रायहरू बुझ्न कठिन हुन्छ। परमेश्‍वरले भन्नुहुने हरवचन सत्य हो; त्यो अभ्यास गर्न मानिसहरूलाई गाह्रो छ!” “अभ्यास गर्न गाह्रो” को अर्थ के हो? यो अभ्यास गर्न गाह्रो हुने होइन, बरु तैँले चाहिँ अभ्यास नगरेको हो। तेरो स्वार्थीपन अत्यन्तै ठूलो छ; तँसित सधैँ तेरा आफ्नै अभिप्राय र व्यक्तिगत दूषणहरू हुने गर्छन्। तँ सधैँ तेरो आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छस्, र तेरो आफ्नै रुचिअनुसार सबथोक गर्छस्। म भन्छु: “खाना पकाउँदा पिरो नबनाउनू। यदि तिमीहरू सबैलाई पिरो मन पर्छ भने, मेरो लागि पिरो नहुने परिकार बनाउनू।” तर पकाउने बेलामा तिनीहरूले जिद्दी गरेर पिरो नै बनाउँछन्; तिनीहरू ग्वाम् कि ग्याम् खान्छन्, र मिठो भयो भन्ठान्छन्। म भन्छु: “मैले तँलाई पिरो नबना भनेको थिएँ। किन पिरो बनाइस्?” “यो परिकार पिरो नै हुनुपर्छ। पिरो भएन भने स्वादिलो हुँदैन। त्योविना यसको स्वाद नै रहँदैन।” यो कस्तो व्यक्ति हो? के उसमा राम्रा अभिप्रायहरू छन्? कति मानिसहरूलाई मासु खान मन लाग्छ; म भन्छु, “यदि तँलाई मासु मन पर्छ भने तेरो लागि मासु नै मासुको परिकार बना। मेरो लागि बनाइने परिकारमा मासु कम हाल्, वा मेरो लागि साकाहारी परिकार नै बना।” तिनीहरूले सहजै स्विकार्छन्, तर पकाउने बेलामा तिनीहरूले मेरो अनुरोधलाई बेवास्ता गर्छन्, भाँडामा मासुका ठूलठूला टुक्रा हाल्छन्, र जिरे खुर्सानीसमेत हाल्छन्। मासु आफैमा चिल्लो भए पनि तिनीहरूले त्यसलाई तेलमा भुट्छन्, र आफूलाई जस्तो मन पर्छ त्यस्तै स्वादको बनाउँछन्। यदि मैले तिनीहरूलाई यसो गर्न दिइनँ भने त्यो तिनीहरूलाई स्वीकार्य हुँदैन; तिनीहरूले यस्तोसमेत भन्छन्: “तिमीलाई खुसी पार्न ज्यादै गाह्रो छ। यो निकै स्वादिष्ठ छ! अरू सबैले खान्छन् त, तिमीचाहिँ किन खाँदैनौ? मैले यो चिज तिम्रै लागि पकाइरहेको होइन त? धेरै खानु तिम्रो स्वास्थ्यको लागि राम्रो हो, यसले तिमीलाई शक्ति दिन्छ। तिमी स्वस्थ भयौ भने, तिमीले अझ बढी प्रवचनहरू प्रचार गर्न सक्दैनौ र? म त तिमी र दाजुभाइ-दिदीबहिनीहरू दुवैबारे सोचिरहेको हुन्छु।” के यो व्यक्ति एकदमै समस्याजनक छैन र? ऊसँग सबथोकमा बलिया चाहनाहरू छन्, सबथोकमा उसका आफ्नै राय र विचारहरू छन्। उसमा कुनै सत्यता छ छैन भनेर त भन्नै परेन, उसमा सबैभन्दा आधारभूत मानवतासमेत छैन। के यो इमानदार हुनु हो? (होइन।) सुरुमा, यो व्यक्तिले मलाई सोध्दा, ऊ शालीन छ, उसले निकै राम्रोसँग पकाउन जान्दछ भन्‍ने लागेको थियो। तर खाना पस्किसकेपछि, मैले थाहा पाएँ—उसले राम्रोसँग बोल्छ, मप्रति राम्रो व्यवहार गरेजस्तो देखिन्छ, तर खासमा, ऊ त एउटा स्वार्थी र घृणास्पद व्यक्ति रहेछ।

एउटी यस्तै व्यक्ति छे जसलाई म प्राय: देखिरहन्छु; ऊ स्वभावैले षडयन्त्रकारी चतुर छे। जब उसले मसित अन्तरक्रिया गर्छे, मैले औषधी खानेबित्तिकै उसले पानी ल्याइरहेकी हुन्छे; जब म बाहिर जान लागिरहेको हुन्छु, उसले तुरुन्तै मेरो झोला समात्छे, र बाहिर चिसो रहेको बुझेर गलबन्दी र पन्जा ल्याइदिन्छे। म सोच्छु: ऊ झटपट काम गर्छे, तर किन अफ्ठ्यारो महसुस हुन्छ? चाहे म भित्र वा बाहिर गइरहेको हुँ, वा चाहे कपडा, जुत्ता, वा टोपी लगाइरहेको हुँ, मभन्दा चाँडो एकजना त सधैँ नै हुन्छ। तिमीहरूलाई मेरो अनुभूतिबारे के लाग्छ? मलाई खुसी लाग्‍नुपर्छ कि झर्को लाग्‍नुपर्छ? (झर्को लाग्नुपर्छ।) के तिमीहरूलाई यस्तो व्यवहारप्रति लाग्छ? (लाग्छ।) यदि तिमीहरू सबैलाई झर्को लाग्छ भने, के तिमीहरूलाई मलाई पनि झर्को लाग्छ भन्‍ने लाग्छ? (लाग्छ।) कति मानिसहरू, मेरो लागि यो सबै गरेपछि, निकै खुसी हुन्छन् र यसो भन्दै आफूप्रति गर्व गर्छन्: “जब म काम गरिरहेको थिएँ, म मालिकद्वारा रुचाइन्थेँ। म जहाँ गए पनि, मानिसहरू मलाई रुचाउँथे किनकि म चाँडो निर्णय गर्न सक्छु।” यसको तात्पर्य तिनीहरूलाई जुत्ता चाट्न, खुसामद गर्न, र चापलुसी गर्न आउँछ; तिनीहरू बुद्धु, सुस्त, वा मूर्ख छैनन्; तिनीहरू चाँडो काम गर्छन् र तेजिलो दिमागका छन्, त्यसैले जहाँ गए पनि तिनीहरू रुचाइन्छन्। तिनीहरू आफूलाई सबैले रुचाउँछन् भनेर भन्छन्, जसको मलतब मैले पनि तिनीहरूलाई रुचाउनुपर्छ। के मलाई तिनीहरू मन पर्छ त? मलाई तिनीहरूदेखि अत्यन्तै झर्को लाग्छ! म त देख्नेबित्तिकै यस्ता मानिसहरूलाई पन्छाइदिन्छु। अनि अरूहरू यस्ता छन्, जो आपराधिक दुनियाँका नाइके र ठूला गुण्डाहरूका सुरक्षाकर्मी र चापलुस नोकरहरूले गाडीको ढोका खोलिदिएको र संसारमा आफ्नो मालिकको टाउकोको सुरक्षा गरिदिएको देखेर, मलाई पनि त्यस्तै गर्छन्। म गाडीमा पस्नुअगावै, तिनीहरू ढोका खोल्न पुगिसकेका हुन्छन्, त्यसपछि आफ्नो हातले मेरो टाउकोको रक्षा गर्छन्, र मलाई गैरविश्‍वासीहरूले कार्यकर्ता प्रमुखलाई व्यवहार गरेझैँ व्यवहार गर्छन्। मलाई यी मानिसहरूप्रति घृणा लाग्छ। कति पनि सत्यता नपछ्याउने यी मानिसहरूमा स्वार्थी, घृणास्पद, र घिनलाग्दो मानवता हुन्छ, र तिनीहरूमा कुनै पनि लज्जाबोध हुँदैन। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, र हैसियत र ख्याति भएकाहरूलाई खुसामद र चापलुसी गर्छस्, साथै निरन्तर रूपमा जुत्ता चाट्ने काम गर्छस्, तब कतिपय सोझा मानिसहरूलाई समेत यो कुरा घृणित लाग्छ र उनीहरूले यस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्छन्। यदि तैँले मसित यस्तो गरिस् भने, मलाई यो कुरामा अझ बढी घिन लाग्छ। मसित कहिल्यै यस्तो व्यवहार नगर्; मलाई त्यो चाहिँदैन, त्यसप्रति घिन लाग्छ। मलाई चाहिने भनेको तेरो खुसामद, चापलुसी वा जुत्ताचटाइ होइन। म त तँ मसित इमानदार बन्, हामी भेट्दा हृदयको कुरा गर्, आफ्ना बुझाइ, अनुभवहरू, र कमीकमजोरीहरूबारे कुरा गर्, कर्तव्य गर्ने क्रममा आफूले खुलासा गर्ने भ्रष्टताबारे, र आफ्ना अनुभवहरूमा आफूलाई कमी लागेका कुराबारे छलफल गर् भन्‍ने चाहन्छु। तैँले यी सारा कुराहरूबारे खोजी र सङ्गति गर्न सक्छस्, र तिनलाई अन्वेषण पनि गर्न सक्छस्। हामीले जुनसुकै विषयमा सङ्गति वा कुराकानी गरे पनि, तँ इमानदार हुनुपर्छ, र तँसित यस्तो हृदय र मनोवृत्ति हुनुपर्छ। खुसामद, जुत्ताचटाइ, चापलुसी गरेर, वा मस्का मारेर राम्रो छाप छोड्न सक्छु भन्‍ने नसोच्—यो पूर्णतया बेकार छ। बरु उल्टै, यस्तो व्यवहारले कुनै पनि फाइदा दिन नसक्ने मात्र नभई, तँलाई ठूलो सर्ममा पार्दै तेरो मूर्खता खुलासा गर्नसमेत सक्छ।

ख्रीष्टसँग समेत इमानदार हुन नसक्नेहरू कस्ता मानिसहरू हुन्? यदि तैँले अरूलाई इमानदारीसाथ व्यवहार गर्छस् भने, तँ तिनीहरूले तेरो साँचो परिस्थिति थाहा पाउलान् र तँलाई हानि गर्लान् भनेर डराउँछस्, तँ तिनीहरूले तँलाई छल, शोषण, उपहास, वा घृणा गर्न सक्छन् भनेर डराउँछस्। तर ख्रीष्टसित इमानदार हुनुमा तँलाई केको डर हो? यदि तेरो हृदयमा यी संशयहरू छन् भने, त्यो एउटा समस्या हो। यदि तँ इमानदार हुन सक्दैनस् भने, त्यो पनि तेरो समस्या हो; तैँले त्यही क्षेत्रमा सत्यता पछ्याउनुपर्छ र परिवर्तनको लागि प्रयास गर्नुपर्छ। यदि तँ तेरो अगाडिको व्यक्ति तैँले विश्‍वास गर्ने र पछ्याउने परमेश्‍वर हुनुहुन्छ भनेर साँच्चै विश्‍वास गर्छस् र मान्छस् भने, तैँले उहाँसित खुसामद र चापलुसी गरेर, साथै मिठा शब्दहरू बोलेर अन्तरक्रिया नगर्नु नै उत्तम हुन्छ। बरु, इमानदार हू, मनको कुरा बोल् अनि तथ्यगत कुराहरू भन्। छली कुराहरू भन्‍ने, झूट बोल्ने, साँचो कुरा लुकाउने, वा छलकपट र षडयन्त्र गर्ने काम नगर्। ख्रीष्टसँग अन्तरक्रिया गर्ने यो नै उत्तम उपाय हो। के तिमीहरूले यसो गर्न सक्छौ? कुनचाहिँ सकारात्मक हो: इमानदार हुनु, कि खुसामद र चापलुसी गर्नु? (इमानदार हुनु।) इमानदार हुनु सकारात्मक हो, तर खुसामद र चापलुसी गर्नु नकारात्मक हो। यदि मानिसहरू इमानदार हुनेजस्तो सकारात्मक काम गर्न सक्दैनन् भने, यसले तिनीहरूमा समस्या छ, तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने जनाउँछ। के यो मेरो मापदण्ड ज्यादा भयो? यदि तिमीहरूलाई त्यो ज्यादा हो भन्‍ने लाग्छ भने, यदि यस्तो व्यवहार पाउनको लागि, तिमीहरूले मसित यस्तो इमानदार शैलीमा र यस्तो इमानदार मनोवृत्तिले कुराकानी गर्नको लागि, म योग्य छैन भन्‍ने लाग्छ भने, के तिमीहरूसँग त्योभन्दा राम्रो विधि, त्योभन्दा राम्रो तरिका छ? (छैन।) त्यसोभए यही शैली अभ्यास गर। यो विषयवस्तुबारे हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ।

सूक्ष्मजाँच र विश्‍लेषण, अनि साथमा जिज्ञासा

अब हामी दोस्रो विषयवस्तुमा आउँछौँ—सूक्ष्मजाँच र विश्‍लेषण, अनि साथमा जिज्ञासा। के यो विषयवस्तु बुझ्न सजिलो छ? देहधारी परमेश्‍वरका कार्य र वचनहरू, साथै उहाँको हरेक वचन र कार्यमा प्रकट हुने व्यक्तित्व र स्वभाव, वा उहाँका रुचिहरूलाई समेत सामान्य मानिसहरूले सही रूपमा लिनुपर्छ। साँच्चिकै परमेश्‍वरको पछि लाग्ने र सत्यता पछ्याउनेहरूले ख्रीष्टका यी बाहिरी प्रकटीकरणहरूलाई उहाँको देहको सामान्य पाटोको रूपमा लिन्छन्। ख्रीष्टले बोल्नुहुने वचनहरूबारे भन्नुपर्दा, तिनीहरूले तिनलाई ती सत्यता हुन् भन्‍ने मनोवृत्तिले सुन्न र बोध गर्न सक्छन्, र यी वचनहरूमार्फत परमेश्‍वरका अभिप्रायहरू र अभ्यासका सिद्धान्तहरू बुझ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्ने अभ्यासको मार्ग भेट्टाउन सक्छन्। तर ख्रीष्टविरोधीहरू फरक तरिकाले व्यवहार गर्छन्। जब तिनीहरू ख्रीष्टले बोल्नुभएको र कार्य गर्नुभएको देख्छन्, तिनीहरूको हृदयभित्र स्वीकार वा समर्पण होइन, सूक्ष्मजाँच हुन्छ: “यी वचनहरू कहाँबाट आउँछन्? यी कसरी बोलिन्छन्? एकपछि अर्को वाक्य—के यी पूर्वनियोजित हुन्छन् कि पवित्र आत्माद्वारा प्रेरित हुन्छन्? के यी वचनहरू सिकिएका हुन् कि अग्रिम रूपमा तयार पारिएका हुन्? मलाई किन थाहा नभएको? यी कतिपय वचनहरू अत्यन्तै साधारण, अर्थात् सामान्य कुराकानी जस्तो सुनिन्छन्। यो परमेश्‍वर जस्तो देखिँदैन; के परमेश्‍वरले साँच्चै यति सामान्य रूपमा, यति साधारण तरिकाले बोल्नुहुन्छ? म सूक्ष्मजाँच गरेर यो कुरा थाहा पाउन सक्दिनँ, त्यसैले म उसले पृष्ठभूमिमा के गर्छ भनेर नियाल्नेछु। के उसले समाचारपत्रहरू पढ्छ? के उसले कुनै चर्चित पुस्तकहरू पढेको छ? के उसले व्याकरण अध्ययन गर्छ? उसले प्रायजसो कस्ता मानिसहरूसँग अन्तरक्रिया गर्छ?” तिनीहरू सत्यताप्रति समर्पण वा स्वीकारको मनोवृत्ति बोक्दैनन्, बरु कुनै विद्वानले वैज्ञानिक अनुसन्धान गरेको वा शैक्षिक विषयहरू अध्ययन गरेको मनोवृत्तिद्वारा ख्रीष्टको सूक्ष्मजाँच गर्छन्। तिनीहरू ख्रीष्टका वचनहरूका विषयवस्तु र उहाँको बोल्ने शैली, ख्रीष्टले सम्बोधन गर्नुहुने श्रोताहरू, साथै हरेकपटक ख्रीष्टले बोल्नुहुँदाको उहाँको मनोवृत्ति र उद्देश्यहरू सूक्ष्मजाँच गर्छन्। जबजब ख्रीष्टले बोल्नु वा कार्य गर्नुहुन्छ, तिनीहरूका कानमा पुग्ने सबथोक, तिनीहरूले देख्न सक्ने सबथोक, र तिनीहरूले जेबारे सुन्छन् त्यो सबै तिनीहरूको सूक्ष्मजाँचको विषय बन्छ। तिनीहरू ख्रीष्टले बोल्नुहुने हरशब्द र वाक्य, उहाँले चाल्नुहुने हरकदम, उहाँले सम्हाल्नुहुने हरव्यक्ति, मानिसहरूलाई व्यवहार गर्ने उहाँको तरिका, उहाँको बोली र आचरण, हेराइ र मुहारको भाव, उहाँको जियाइ शैली र समयतालिका, साथै अरूसँग अन्तरक्रिया गर्ने उहाँको तरिका र अरूप्रतिका उहाँका मनोवृत्तिहरू सूक्ष्मजाँच गर्छन्—तिनीहरूले यी सबै सूक्ष्मजाँच गर्छन्। यो सूक्ष्मजाँचमार्फत, ख्रीष्टविरोधीहरू यस्तो निष्कर्षमा पुग्छन्: मैले ख्रीष्टलाई जसरी हेरे पनि, उहाँमा सामान्य मानवता नै भएको देखिन्छ; उहाँ निकै साधारण हुनुहुन्छ, सत्यता व्यक्त गर्ने क्षमताबाहेक उहाँमा अत्यन्तै विशेष केही पनि छैन। के यो साँच्चिकै देहधारी परमेश्‍वर हुन सक्छ? तर जतिसुकै सूक्ष्मजाँच गरे पनि, तिनीहरू एउटा पक्का निष्कर्षमा पुग्न सक्दैनन्; जतिसुकै सूक्ष्मजाँच गरे पनि, तिनीहरू ख्रीष्ट नै तिनीहरूले हृदयमा स्विकारेको परमेश्‍वर हुनुहुन्छ भनेर निश्‍चित हुन सक्दैनन्। तिनीहरू ख्रीष्टलाई सूक्ष्मजाँच गर्नेहरू हुन्, परमेश्‍वरको काम अनुभव गर्नेहरू होइनन्—तिनीहरूले कसरी पो परमेश्‍वरबारे ज्ञान हासिल गर्न सक्छन् र?

ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई सूक्ष्मजाँच गर्दा परमेश्‍वरको भव्यता देख्न सक्दैनन्, परमेश्‍वरको धार्मिकता, सर्वशक्तिमान्‌ता, र अख्तियारयुक्तता देख्न सक्दैनन्। तिनीहरूले जति सूक्ष्मजाँच गरे पनि, तिनीहरू ख्रीष्टसित परमेश्‍वरको सार छ भन्‍ने निष्कर्षमा पुग्न सक्दैनन्; तिनीहरू यसलाई छर्लङ्गै देख्न र बुझ्न सक्दैनन्। कतिपय मानिसहरूले भन्छन्: “जहाँ तिमीले छर्लङ्ग देख्न वा बुझ्न सक्दैनौ, त्यहीँ सत्यता खोज्नुपर्छ।” यसप्रति ख्रीष्टविरोधीको जवाफ यस्तो हुन्छ: “म त यहाँ कुनै सत्यता खोज्नुपर्ने देख्दिनँ, गहिरो सूक्ष्मजाँच गर्नलायक शङ्कास्पद विवरणहरू मात्र छन्।” अनि सूक्ष्मजाँच र विश्‍लेषण गरेपछि, तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्: यो ख्रीष्टले केही वचनहरू मात्र बोल्न सक्नुहुन्छ, त्यसबाहेक, उहाँमा साधारण मानिसहरूमा भन्दा फरक केही पनि छैन। उहाँमा कुनै विशेष वरदान छैन, कुनै विशेष क्षमता छैन, र येशूले जस्ता चिन्ह र अचम्मका कामहरू गर्ने कुनै अलौकिक शक्ति छैन। उहाँ जे भन्नुहुन्छ त्यो सबै कुनै मरणशील व्यक्तिका शब्दहरू हुन्। त्यसैले, के उहाँ साँच्चै ख्रीष्ट हुनुहुन्छ त? यो कुराको त थप विश्‍लेषण र सूक्ष्मजाँच गर्नुपर्ने हुन्छ। यसरी तिनीहरूले जे-जसरी हेरे पनि, ख्रीष्टमा परेमश्‍वरको सार देख्न सक्दैनन्; तिनीहरूले जे-जसरी सूक्ष्मजाँच गरे पनि, ख्रीष्टमा परमेश्‍वरको पहिचान छ भन्‍ने निष्कर्ष निकाल्न सक्दैनन्। एक ख्रीष्टविरोधीको नजरमा, परमेश्‍वरले देहधारण गर्नुभएको देहमा असाधारण शक्तिहरू, विशेष वरदानहरू, आश्‍चर्यकर्महरू देखाउने क्षमता, साथै परमेश्‍वरको अख्तियार प्रकट र अभ्यास गर्ने सार र सामर्थ्य हुनुपर्छ। तर तिनीहरूसामु रहेको यो साधारण व्यक्तिमा यी सबै गुणहरू छैनन्, र उहाँको बोलीमा उच्च शब्दचातुर्य छैन; धेरै कुराबारे व्याख्या गर्दासमेत, उहाँले बोलीचालीको भाषा प्रयोग गर्नुहुन्छ, जुन मानव धारणहरूसँग मिल्दैन, र त्यो विश्‍वविद्यालयको कुनै प्राध्यापकको स्तरको समेत हुँदैन। ख्रीष्टविरोधीहरूले ख्रीष्टको बोली जतिसुकै सूक्ष्मजाँच गरे पनि, ख्रीष्टका कार्यहरू, साथै काम गर्नमा उहाँले लिनुहुने मनोवृत्ति र शैलीहरू जतिसुकै सूक्ष्मजाँच गरे पनि, तिनीहरूले ख्रीष्ट—अर्थात् यो साधारण व्यक्ति—मा परमेश्‍वरको सार देख्न सक्दैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदयमा, यो व्यक्ति सबैभन्दा पछ्याउन लायक हुनुका कारणहरू तिनीहरूले छर्लङ्गै देख्न नसक्ने तिनै धेरै कुराहरू, वचनहरू र घटनाहरू हुन्—तिनीहरूको लागि सूक्ष्मजाँच र विश्‍लेषणको लायक कुरा त्यही हुन्, यस व्यक्तिलाई पछ्याउनुमा तिनीहरूको सबैभन्दा ठूलो प्रेरणा तिनै हुन्। कस्ता सामग्री र विषयहरू तिनीहरूको सूक्ष्मजाँच र विश्‍लेषणका लायक हुन्छन्? जीवन प्रवेशबारे ख्रीष्टले बोल्नुभएका तिनै वचनहरू; साधारण मानिसहरूले वास्तवमै यस्ता कुराहरू बोल्न सक्दैनन्, उनीहरूमा साँच्चै ती कुराहरू हुँदैनन्, साथै यस्ता वचनहरू वास्तवमै मानवजातिमाझ कुनै अर्को दोस्रो व्यक्तिमा पनि भेटिँदैनन्—ती कहाँबाट आउँछन् भन्‍ने कुरा थाहा हुँदैन। ख्रीष्टविरोधीहरू बारम्बार सूक्ष्मजाँच गर्छन्, तर यसबारे कहिल्यै निष्कर्षमा पुग्न सक्दैनन्। उदाहरणको लागि, जब म कुनै व्यक्ति कस्तो छ, र उसका सार र स्वभाव के हुन् भन्‍नेबारे बोल्छु, तब साधारण मानिसहरूले यी विवरणहरूलाई मिहीन रूपमा वास्तविक व्यक्तिसँग भिडाएर हेर्छन् र उक्त मामला पुष्टि गर्छन्। जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन्, तिनीहरूले उक्त मामला भिडाएर हेर्न र बुझ्‍न स्विकार्ने मनोवृत्ति नभई विश्‍लेषण गर्ने मनोवृत्ति अपनाउँछन्। तिनीहरूले केचाहिँ विश्‍लेषण गर्छन् त? “तिमीलाई यो व्यक्तिको परिस्थितिबारे कसरी थाहा हुन्छ? तिमीलाई उसमा यस्तो स्वभाव छ भनेर कसरी थाहा हुन्छ? तिमीले त्यसलाई परिभाषित गर्ने आधआर के हो? तिमी ऊसँग धेरै सम्पर्कमा रहेका छैनौ, त्यसैले तिमीले उसलाई कसरी बुझ्छौ? हामी ऊसँग लामो समयदेखि सम्पर्कमा छौँ, तर हामी किन उसलाई छर्लङ्गै देख्न वा बुझ्न सक्दैनौँ? म आफैले हेर्नुपर्छ, तिम्रो कुरा मात्र पत्याउनु हुँदैन। तिमीले भनेको कुरा सही वा ठिक नहुन पनि सक्छ।” केही मानिसहरूले मसँग अन्तरक्रिया गर्ने क्रममा, मैले तिनीहरूलाई कुनै निश्‍चित काम वा पेशामा मार्गदर्शन गर्न सक्छु। यदि यो मार्गदर्शनको शैली र विधि उनीहरूसँग भएको प्राविधिक ज्ञानसँग मिल्दो छ र त्यसले चित्त बुझ्छ भने, उनीहरूले अनकनाउँदै त्यसलाई कार्यान्वयन गर्नेछन्। तर यदि त्यसले उनीहरूको चित्त बुझ्दैन भने, उनीहरूले मनमा प्रतिरोध गर्नेछन् र यस्तो मनन गर्नेछन्, “तिमी किन यसरी गर्छौ? के यो यस क्षेत्रविपरीत छैन र? मैले किन तिम्रो कुरा सुन्नुपर्‍यो? यदि तिमीले भनेको कुरा गलत छ भने, मैले तिम्रो कुरा सुन्न मिल्दैन; मैले आफ्नै मार्ग पछ्याउनुपर्छ। यदि तिमी सही छौ भने, मैले तिमी कसरी सही छौ र तिमीले यो कुरा कसरी थाहा पायौ भनेर बुझ्नुपर्छ। के तिमीले यो कुरा अध्ययन गर्‍यौ? यदि अध्ययन गरेनौ भने, तिमीलाई कसरी थाहा पाउन सक्यौ? यदि तिमीले यो कुरा अध्ययन नगरेको भए, तिमीले यो बुझ्दैनौ; यदि तिमीले बुझ्छौ भने, त्यो असाधारण हो। तिमीले यो कसरी बुझ्छौ? तिमीलाई कसले बतायो, कि तिमी आफैले गोप्य रूपमा सिक्यौ?” तिनीहरूले भित्रभित्रै विश्‍लेषण र सूक्ष्मजाँच गर्छन्। मैले बोल्ने हरेक वाक्यले, मैले सम्हाल्ने हरेक मामलाले, ख्रीष्टविरोधीहरूको फिल्टर पार गर्नुपर्छ र तिनीहरूको परीक्षण छिचोल्नुपर्छ। त्यसले तिनीहरूको परीक्षण पार गरे मात्र तिनीहरूले त्यसलाई स्विकार्नेछन्; पार गरेन भने, तिनीहरूले आलोचना गर्नेछन्, राय निर्माण गर्नेछन्, र प्रतिरोध सिर्जना गर्नेछन्।

परमेश्‍वरले देहधारण गर्नुभएको देह नै सारा मानिसहरूको लागि सबैभन्दा ठूलो रहस्य हो। यो सम्बन्धमा के भइरहेको हो भनेर कसैले पनि बुझ्न सक्दैन, न त यो देहमा कसरी परमेश्‍वरको सार पूरा हुन्छ—परमेश्‍वर कसरी व्यक्ति बन्नुभएको छ, यस व्यक्तिले कसरी परमेश्‍वरको मुखका वचनहरू बोल्न र परमेश्‍वरको काम गर्न सक्छ, र परमेश्‍वरको आत्माले यस व्यक्तिलाई कसरी मार्गदर्शन र निर्देशन गर्नुहुन्छ भन्‍ने कुरा नै कसैले बुझ्न सक्छ। यो सबै काममा, मानिसहरूले यस देहबाट न त ठूला दर्शनहरू देखेका छन्, न त कुनै महत्त्वपूर्ण चालहरू देखेका छन्—यसमा विशेष केही पनि भइरहेको देखिँदैन; सबथोक सामान्य देखिन्छ। परमेश्‍वरले मानिसहरूलाई थाहै नदिई इस्राएलमा भएको महिमालाई पूर्वमा ल्याउनुभएको छ। यस व्यक्तिको बोलाइ र काम गराइमार्फत, कसैले पनि कसरी हो भनेर थाहै नपाउनेगरी, एउटा नयाँ युगको सुरुवात भएको छ, र पुरानो युगको अन्त्य भएको छ। तर ज-जसले साँच्चिकै परमेश्‍वरमा विश्‍वास गर्छन्, जो सरल र खुला हृदयका छन्, जसमा मानवता र समझ छ, उनीहरूले यी मामलाहरू सूक्ष्मजाँच गर्दैनन्। यदि तिनीहरूले सूक्ष्मजाँच गर्दैनन् भने केचाहिँ गर्छन् त? निष्क्रिय रूपमा प्रतीक्षा मात्र गर्छन् त? होइन—तिनीहरूले यी वचनहरू सत्यता हुन् भनेर बुझ्छन्, यी सारा वचनहरूको स्रोत परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छन्, र यसरी यो साधारण व्यक्ति ख्रीष्ट हो भनेर स्विकार्छन्, र उहाँलाई आफ्नो प्रभु र परमेश्‍वरको रूपमा स्विकार्छन्, र अरू कुरा केही पनि सोच्दैनन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूले यी सारा वचनहरू र यो सबै काम परमेश्‍वरबाट आउँछन्, यो सारा बोलाइ र काम गराइको स्रोत परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्न सक्दैनन्, त्यसकारण यस साधारण व्यक्तिलाई आफ्नो प्रभु र परमेश्‍वरको रूपमा स्विकार्दैनन्। बरु, तिनीहरूले सूक्ष्मजाँचलाई अझ तीब्र पार्छन् र हृदयमा प्रतिरोध गर्छन्। तिनीहरूले केको प्रतिरोध गर्छन् त? “तिमीले जतिसुकै बोले पनि, तिमीले गरेको काम जतिसुकै महान् भए पनि, तिम्रो स्रोत जोसुकै भए पनि, तिमी साधारण व्यक्ति रहुञ्जेल, तिम्रो बोल्ने शैली मेरा धारणाहरूसँग नमिलेसम्म, तिम्रो रूप मेरो आँखामा पर्ने वा मेरो सम्मान जित्ने गरी भव्य नभएसम्म, म तिमीलाई सूक्ष्मजाँच र विश्‍लेषण गर्ने नै छु। तिमी मेरो सूक्ष्मजाँचको वस्तु हौ; म तिमीलाई मेरो प्रभु, मेरो परमेश्‍वरको रूपमा स्विकार्न सक्दिनँ।” तिनीहरूको यो सूक्ष्मजाँच र विश्‍लेषणको क्रममा, ख्रीष्टविरोधीहरूले आफ्ना धारणा, विद्रोहीपन, र भ्रष्ट स्वभावहरू समाधान गर्न नसक्ने मात्र होइन, बरु उल्टै तिनीहरूका धारणाहरू दिनदिनै बढ्दै र झन्झन् गम्भीर पनि बन्दै जान्छन्। उदाहरणको लागि, जब कुनै मण्डली अगुवा मण्डलीमा बाधा र विनाश निम्त्याउने ख्रीष्टविरोधीको रूपमा खुलासा हुन्छ, र यस्तो घटना घट्दा, ख्रीष्टविरोधीहरूको पहिलो प्रतिक्रिया भनेको यस्तो प्रश्‍न सोध्‍नु हो: “के ख्रीष्टलाई यसबारे थाहा छ? यो मण्डली अगुवालाई कसले नियुक्त गर्‍यो? यसप्रति ख्रीष्टको प्रतिक्रिया के छ? उसले यसलाई कसरी सम्हालिरहेको छ? के ख्रीष्टले यो व्यक्तिलाई चिन्छ? के ख्रीष्टले यसअघि यो व्यक्ति ख्रीष्टविरोधी हो भनेर भनेको, वा यो घटनाको अगमवाणी गरेको छ? यो मण्डलीमा यस्तो ठूलो समस्या आइसकेपछि, के यो कुरा थाहा पाउने पहिलो व्यक्ति ख्रीष्ट थियो?” म त मलाई थाहा थिएन, मैले पनि यसबारे भर्खरै थाहा पाएको हुँ भन्छु। “त्यो ठिक होइन—तिमी परमेश्‍वर हौ, तिमी ख्रीष्ट हौ; तिमीलाई किन थाहा हुँदैन? तिमीलाई थाहा हुनुपर्छ।” म ख्रीष्ट, अर्थात् एक साधारण व्यक्ति भएकै कारण, मैले थाहा पाउनुपर्छ। मण्डलीसँग मानिसहरूलाई सम्हाल्ने आफ्नै प्रशासनिक आदेश र सिद्धान्तहरू छन्। जब ख्रीष्टविरोधीहरू देखा पर्छन्, तिनीहरूलाई मण्डलीका सिद्धान्तहरूअनुसार निकाल्न र निष्कासन गर्न सकिन्छ। यसले परमेश्‍वरसँग शक्ति छ, सत्यतासँग शक्ति छ भन्‍ने कुरा प्रतिबिम्बित गर्छ। मैले सबथोक थाहा पाउनु आवश्यक छैन। यदि मण्डलीले मानिसहरू सम्‍हाल्ने प्रशासनिक आदेश र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सकेन भने, म हस्तक्षेप गर्नेछु। तर यदि दाजुभाइ-दिदीबहिनीहरूले मानिसहरूलाई निकाल्ने र निष्कासन गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू बुझ्छन् भने, म त्यसमा संलग्न हुनु आवश्यक छैन। जहाँ सत्यताको शक्ति चल्छ, त्यहाँ मैले हस्तक्षेप गर्नुपर्दैन। के यो एकदमै सामान्य होइन र? (हो।) तर ख्रीष्टविरोधीहरूले यस मामलाबारे समस्याहरू सिर्जना गर्न र धारणाहरू विकास गर्न सक्छन्, र यी धारणाहरू प्रयोग गरेर ख्रीष्टलाई नकार्न र ख्रीष्टसँग परमेश्‍वरको सार छ भन्‍ने तथ्यलाई निन्दा गर्नसमेत सक्छन्। ख्रीष्टविरोधीहरू ठ्याक्कै यही गर्छन्। केही चिज तिनीहरूका धारणा, कल्पना, वा अपेक्षाहरूसँग नमिलेकै कारण, तिनीहरूले ख्रीष्टको सार नकार्न सक्छन्। ख्रीष्टको हरेक पक्षबारे तिनीहरूको सूक्ष्मजाँचले यो निष्कर्षमा पुर्‍याउँछ: तिनीहरूले ख्रीष्टमा परमेश्‍वरको सार देख्दैनन्; त्यसैले, तिनीहरूले यस व्यक्तिमा परमेश्‍वरको सार र पहिचान भएको भनेर परिभाषित गर्न सक्दैनन्। यसले त्यस्तो परिस्थितिमा पुर्‍याउँछ कि जहाँ केही नभएसम्म त ठिकै हुन्छ, तर केही आइपर्नेबित्तिकै पहिला उफ्रेर ख्रीष्टको पहिचान नकार्ने र ख्रीष्टलाई निन्दा गर्ने ख्रीष्टविरोधीहरू नै हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीहरूको सूक्ष्मजाँचको उद्देश्यचाहिँ ठ्याक्कै के हो त? तिनीहरूको सूक्ष्मजाँच र विश्‍लेषणको उद्देश्य सत्यतालाई अझ राम्रोसँग बुझ्नु नभई प्रमाण खोजेर लाभ लिनु, परमेश्‍वरले देहधारण गर्नुभएको तथ्यलाई नकार्नु, र परमेश्‍वरले धारण गर्नुभएको देह नै ख्रीष्ट अर्थात् परमेश्‍वर हो भन्‍ने तथ्यलाई नकार्नु हो। ख्रीष्टविरोधीहरूले ख्रीष्टको सूक्ष्मजाँच र विश्‍लेषण गर्नुपछाडिको मनसाय र उद्देश्य यही हो।

ख्रीष्टलाई पछ्याउने र अनुयायीको नाटक गर्ने क्रममा, ख्रीष्टविरोधीहरू सूक्ष्मजाँच र विश्‍लेषणको मनोवृत्ति बोक्छन्, र अन्त्यमा सत्यता बुझ्न वा ख्रीष्ट नै प्रभु अर्थात् परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यबारे निश्‍चित हुन सक्दैनन्। तैपनि तिनीहरू किन यति अनकनाउँदै, यति अनिच्छापूर्वक पछ्याउँछन्, र परमेश्‍वरको घरमै बस्छन्? हामीले यसअघि छलफल गरेको एउटा कुरा के हो भने, तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय राख्छन्; तिनीहरू महत्त्वाकाङ्क्षी हुन्छन्। अर्को कुरा, ख्रीष्टविरोधीहरूमा साधारण मानिसहरूमा नहुने जिज्ञासा हुन्छ। कस्तो जिज्ञासा? त्यो अनौठा र असामान्य घटनाहरूप्रति तिनीहरूको आकर्षण हो। ख्रीष्टविरोधीहरू यो संसारका सारा अनौठा र असामान्य घटनाहरू, प्रकृतिका नियमहरू नाघ्‍ने सारा घटनाहरूबारे विशेष जिज्ञासु हुन्छन्। तिनीहरूमा धेरै कुराहरू उजागर गर्ने र तिनको गहिराइमा पुग्ने चाहना हुन्छ। यो खोजबिनको सार के हो? यो सबथोक बुझ्‍न र सबथोकपछाडिको सत्यता जान्न चाहने विशुद्ध अहङ्कार हो, मानौँ त्यो थाहा नपाए तिनीहरू अयोग्य देखिन्छन्। जुनसुकै मामला भए पनि, तिनीहरू यो मामलाका भित्रीबाहिरी कुराबारे सबैभन्दा पहिला थाहा पाउने, सबैभन्दा जानकार र सबैभन्दा ठूलो ज्ञाता बन्न चाहन्छन्—तिनीहरू हरेक अर्थमा “सबैभन्दा ठूलो” बन्न चाहन्छन्। त्यसैले, तिनीहरू परमेश्‍वरले देहधारण गर्नुभएको मामलालाई पनि बेवास्ता गर्ने वा छुटाउने गर्दैनन्। तिनीहरू भन्छन्, “परमेश्‍वरको देहधारण नै मानव संसारको सबैभन्दा ठूलो रहस्य हो। यो सबैभन्दा ठूलो रहस्य, यो सबैभन्दा आश्‍चर्यजनक कुरामा ठ्याक्कै के भइरहेको छ? यसले साधारण अपेक्षाहरू पार गर्छ र यो देह साधारण मानवहरूभन्दा फरक छ, त्यसैले भिन्नता केमा छ? म आफैले हेर्न र बुझ्न जरूरी छ।” यो “आफैले हेर्न र बुझ्‍न” भनेर तिनीहरूले भन्नुको मतलब के हो? यसको मतलब हो, “म संसारका धेरै देशहरू गएको छु, चर्चित हिमाल र ऐतिहासिक स्थलहरू घुमेको छु, र मैले चर्चित र बुद्धिमान् व्यक्तिहरूको अन्तर्वार्ता लिएको छु; उनीहरू सबै साधारण मानिसहरू हुन्। मैले यो ख्रीष्टलाई मात्र भेटेको छैन र उसको मात्र कुरा सुनेको छैन। यो ख्रीष्टको सार ठ्याक्कै के हो? म आफैले हेर्न र बुझ्न जरूरी छ।” तिनीहरू ठ्याक्कै केचाहिँ आफै हेर्न र बुझ्न चाहन्छन् त? “मैले सुनेको छु कि परमेश्‍वरले चिन्ह र अचम्मका कामहरू गर्न सक्छ। तिनीहरू येशू नै प्रभु र ख्रीष्ट हो भनेर भन्छन्; मानिसहरूको जिज्ञासा पूरा गर्न उसले कस्ता चिन्ह र अचम्मका कामहरू गर्‍यो त? म एउटा घटना सम्झिन्छु, जहाँ प्रभु येशूले एउटा निबारोको रूखलाई श्राप दिएपछि, त्यो ओइलियो। के यो ख्रीष्टले अहिले त्यस्तै गर्न सक्छ? मैले हेर्न र बुझ्न जरूरी छ, र मौका मिल्यो भने, उसले यस्ता कार्यहरू गर्न सक्छ सक्दैन भनी जाँच्नुपर्छ। भनिन्छ कि देहधारी परमेश्‍वरसँग परमेश्‍वरको अख्तियार हुन्छ, जसले कुँजो परेकोलाई हिँड्ने, अन्धोलाई देख्ने, बहिरोलाई सुन्ने, र बिरामीलाई निको बनाउँछ। यी चमत्कारिक र नवीन घटनाहरू हुन्; मानव संसारमा तिनलाई साधारण मानिसहरूमा नहुने असाधारण क्षमता मानिन्छन्। यो म आफैले हेर्नुपर्ने कुरा हो।” यसअलावा, तिनीहरूको दिमागमा अल्झिरहने अर्को सबैभन्दा महत्त्वपूर्ण मामला पनि छ। तिनीहरू भन्छन्: “विगत र वर्तमान जीवन, र यो मानव संसारमा हुने पुनर्जन्मको चक्रको वास्तविकता ठ्याक्कै के हो? साधारण मानिसहरूले यो कुरा प्रस्टसित बुझाउन सक्दैनन्। परमेश्‍वर त देहधारी बनिसकेको छ, र उसले सबथोकमाथि शासन गर्छ, त्यसैले के ख्रीष्टलाई यसबारे थाहा छ? मौका मिल्यो भने, मैले उसलाई सोध्न र यस मामलाबारे जानकारी लिन जरूरी छ; मैले उसलाई मेरो रूप जाँच्न र मेरो नियति राम्रो छ छैन, विगतको जीवनमा म के थिएँ, म जन्तु थिएँ कि मानव भनेर हेर्न लगाउनैपर्छ। यदि उसलाई यी कुराहरू थाहा छ भने, म प्रभावित हुनेछु; त्यसले उसलाई असाधारण, सामान्य मानिसहरूभन्दा अलग, र सायद ख्रीष्ट नै बनाउनेछ। साथै, स्वर्गमा परमेश्‍वरको सिंहासन र बासस्थान छ भनेर भनिन्छ, त्यसोभए के यो देहधारी परमेश्‍वरलाई परमेश्‍वरको बासस्थान र स्वर्गको राज्य कहाँ छन् भनेर थाहा छ? स्वर्गको राज्यमा सुन बिछ्याइएका चहकिला र शानदार बाटाहरू छन् भनेर भनिन्छ; यदि यो देहधारी परमेश्‍वरले हामीलाई भ्रमणमा लान सके, के हाम्रो पूरै जीवन अर्थपूर्ण हुने र हाम्रो आस्था व्यर्थ नहुने हुन्थेन र? यसअलावा, हामीले खेतीपाती पनि गर्नुपर्थेन; भोक लाग्दा, ख्रीष्टले एउटै वाक्यले ढुङ्गालाई खानामा परिणत गर्न सक्थ्यो। पाँचवटा रोटी र दुईवटा माछाले नै उसले पाँच हजार जनालाई भोजन गरायो; के त्यो हाम्रो लागि ठूलो फाइदा हुन्थेन र? अनि ख्रीष्टले बोल्दा के हुन्छ? उसले जिउँदो पानी प्रदान गर्छ भनिन्छ, तर यो जिउँदो पानीचाहिँ कहाँ छ? त्यो कसरी प्रदान गरिन्छ, त्यो कसरी बग्छ? यी सबै खोज गर्नलायक मामलाहरू हुन्, प्रत्येक मामला निकै नवीन छन्। यदि मैले आफ्नै आँखाले यीमध्ये एउटा मात्र पनि देख्न सके, म यस जीवनकालमा एक साधारण व्यक्ति मात्र नभई, अन्तर्ज्ञानी व्यक्ति नै बन्नेथिएँ।” के तिनीहरूमा यो जिज्ञासा हाबी भइरहेको छैन र? (छ।)

कति मानिसहरू सत्यता प्राप्त गर्न नभई, दिमागमा अरू युक्तिहरू सोचेर परमेश्‍वरमा विश्‍वास गर्छन्, ख्रीष्टलाई स्विकार्छन् र ख्रीष्टलाई पछ्याउँछन्। कति मानिसहरू मलाई भेट्नेबित्तिकै सोध्छन्, “‘प्रकाश’ पुस्तकका सात महामारी र सात कचौराहरूको अर्थ के हो? सेतो घोडाले के सङ्केत दिन्छ? के साँढे तीन वर्षको सङ्कट आइपुगेको छ?” म जवाफ दिन्छु, “तँ केको बारे सोधिरहेको छस्? प्रकाश भनेको के हो?” तिनीहरूले प्रतिवाद गर्छन्, “तिमीलाई प्रकाशबारे समेत थाहा छैन? तिमीलाई त परमेश्‍वर भनिन्छ, तर म त खासै निश्‍चित भइनँ!” अरूले सोध्छन्, “सुसमाचार फैलाउने क्रममा, हामी रहस्यमयी मामलाहरूबारे सोध्ने मानिसहरू भेट्छौँ। हामी के गरौँ?” तिनीहरूले भनिनसक्दै, म भनिदिन्छु, “जसले सत्यता खोजी गर्नुको सट्टा सधैँ रहस्यहरूबारे सोध्छ ऊ सत्यता स्विकार्ने व्यक्ति होइन; उसले भविष्यमा मुक्ति पाउन सक्दैन। जो सधैँ रहस्यहरू खोज्छन्, तिनीहरू बेकारका हुन्छन्; यस्ता मानिसहरूलाई सुसमाचार नसुना।” म किन यसो भन्छु? आखिर, यी प्रश्‍नहरू कसले सोधिरहेको छ? ती अरू कोही होइनन्; तिनीहरू आफै हुन्। तिनीहरू यी प्रश्‍नहरू सोधेर तिनका जवाफ जान्न चाहन्छन्, र तिनीहरू कसले सोधिरहेको छ भनेर मलाई थाहै हुन्‍न भन्ठान्छन्, मानौँ म तिनीहरूलाई भित्रसम्‍म छर्लङ्गै देख्नै सक्दिनँ! मैले त्यसो भनेपछि, तिनीहरू त्यो सुन्छन् र सोच्छन्, “परमेश्‍वरले मलाई बेकारको भन्यो, त्यसैले अबउप्रान्त म सोध्दिनँ।” मेरो शैली कस्तो छ? के यसले प्रभावकारी रूपमा तिनीहरूलाई चुप पारेन त? यदि मैले जवाफ दिएको भए, के त्यो तिनीहरूको योजनालाई साथ दिएको हुन्थेन र? त्यसपछि त तिनीहरू औँला दिँदा डुँडुलो निल्थे, र अनन्त रूपमा प्रश्‍नहरू सोधिरहन्थे। के मसित तिनीहरूलाई यी कुरा बुझाउने दायित्व छ त? अनि यति ज्ञानले तैँले के नै गर्न सक्थिस् र? मलाई थाहा भए पनि, म तँलाई भन्दिनँ। मैले तँलाई किन भन्नुपर्‍यो? के म धर्मशास्‍त्रको व्याख्याता हुँ? के तँ धर्मशास्त्‍त्रीय अध्ययनको लागि यहाँ आएको होस्? तँ मेरो सूक्ष्मजाँच गर्न आउँछस्, अनि के म तेरो सूक्ष्मजाँचको निम्ति आफ्नो हृदय खोलूँ? के त्यो उचित हो? तँ मलाई जाँच्न आउँछस्, अनि के म तँलाई मेरो जाँच गर्न दिऊँ? के त्यो उचित हो? तँ सत्यता स्विकार्न आएको होइनस्; तँ शत्रुता, शङ्का र सोधपुछको मनोवृत्ति बोकेर प्रश्‍नहरू सोध्न आउँछस्। सम्भवतः म तँलाई जवाफ दिने नै छैन। कति मानिसहरू भन्छन्, “जुनै प्रश्‍नको पनि जवाफ दिन जरूरी छैन र?” त्यो कुरा मामलामा भर पर्छ। सत्यता र मण्डलीको कामको सन्दर्भमा, मैले अझै पनि परिस्थितिबारे विचार गर्नुपर्छ। यदि मैले यसअघि नै तँलाई भनिसकेको छु र तँ अझै थाहा नभएको नाटक गर्दै, नम्रपूर्वक सोधेको बहाना बनाउँछस् भने, म तँलाई जवाफ दिनेछैन। म तँलाई काटछाँट गर्नेछु, र त्यसपछि तैँले बुझ्नेछस्। ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कसरी सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्, साथै ख्रीष्ट र परमेश्‍वरबारे तिनीहरूको के जिज्ञासा हुन्छ भन्‍ने दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरू ठ्याक्कै केचाहिँ सूक्ष्मजाँच गरिरहेका हुन्छन्? तिनीहरू सत्यताबारे सूक्ष्मजाँच गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरले गर्नुहुने हरेक चिजलाई आफ्नो सूक्ष्मजाँच र विश्‍लेषणको विषय बनाउँछन्, र यसलाई समय काट्ने उपायको रूपमा प्रयोग गर्छन्। तिनीहरू अविश्‍वासीहरू कुनै धर्मशास्‍त्रीय विद्यालयमा पढ्न गएझैँ गरी परमेश्‍वरलाई पछ्याउँछन् मानौँ तिनीहरू ज्ञानको कुनै निश्‍चित क्षेत्र वा विधा अध्ययन गर्ने विद्वान हुन्। के यस्ता मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्? के तिनीहरूले ज्योति प्राप्त गर्न सक्छन्? के तिनीहरूले सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।)

मण्डलीमा कति कामहरू यसअघि कहिल्यै नदेखिएका कामहरू हुन्छन्, र कतिपयमा त पेशागत काम पनि संलग्‍न हुन्छ। मैले यस्तो काममा मार्गनिर्देशन गर्दा, कतिपय मानिसहरू गम्भीर र नम्र रूपमा सुन्छन्, र यी कर्तव्यहरू गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरू, र अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता वास्तविकता बोध गर्छन्। तर कतिपय मानिसहरू दिमाग खियाएर हृदयमा सूक्ष्मजाँच गर्छन्; तिनीहरू सोच्छन्, “तिमीले यी क्षेत्रहरूको अध्ययन गरेका छैनौ। त्यसबाहेक, के तिमीले साँच्चै यति धेरै क्षेत्रहरू अध्ययन गर्न सक्छौ? कसले सबथोक बुझ्न र जान्न सक्छ? तिमी केको आधारमा हामीलाई मार्गनिर्देशन गर्छौ? हामीले किन तिम्रो कुरा सुन्ने? हामीलाई मार्गदर्शन गर्दा तिमीले भनेको कुराले कहिलेकाहीँ साँच्चै अर्थ राख्ने भए पनि, तिमीलाई यो कुराचाहिँ कसरी थाहा हुन्छ? यदि मैले केही कुरा अध्ययन गरिनँ भने, मैले त्यसबारे थाहा पाउनेछैन। मैले मनन गर्नुपर्छ, थप जान्ने, हेर्ने, र सुन्ने प्रयत्न गर्नुपर्छ, अनि त्यो अवस्थामा पुग्ने कोसिस गर्नुपर्छ, जहाँ मलाई तिम्रो मार्गदर्शन आवश्यक नहोस् र त्यो म आफैले गर्न सकूँ। तिमीले पनि क्रमिक रूपमा सिक्दै, अलिअलि गर्दै दक्षता हासिल गर्दै गएको देखिन्छ।” तिनीहरूले बाहिरी स्वरूपहरू मात्र हेर्छन्, र यो देख्दैनन् कि एकातिर, यस व्यक्तिले जे भन्‍नुभए पनि वा जे गर्नुभए पनि, त्यसका सिद्धान्तहरू हुन्छन्—जुन कामको मार्गदर्शन भइरहेको भए पनि, त्यो सिद्धान्तअनुसार गरिएको हुन्छ, र त्यो सिद्धान्त मानिसहरूका वास्तविक आवश्यकताहरू र वास्तविक कामका अपेक्षित नतिजाहरूसँग सम्बन्धित हुन्छ। अर्कोतिर, सबैभन्दा महत्त्वपूर्ण कुरा, यस व्यक्तिले केही पनि सिक्‍नुभएको हुँदैन; उहाँको ज्ञान, सिकाइ, अन्तर्ज्ञान, र अनुभव उल्लेखनीय हुँदैनन्। तर मानिसहरूले एउटा कुरा बिर्सनु हुँदैन: उहाँको अन्तर्ज्ञान, ज्ञान, अनुभव, र विज्ञता प्रचुर वा उल्लेखनीय भए पनि नभए पनि, हालको काम गर्न जिम्मेवार स्रोत यो बाह्य देह होइन, यस देहको सार हो—परमेश्‍वर स्वयम् हो। त्यसकारण, यदि तैँले यस देहको स्वरूप, अर्थात् उहाँको उचाइ र रूप, स्वर, स्वरको आरोहअवरोह, र बोल्ने शैलीको आधारमा मूल्याङ्कन गर्छस् भने, तैँले किन उहाँले यी कार्यहरू गर्न सक्नुहुन्छ र किन उहाँ तिनमा योग्य हुन सक्नुहुन्छ भनेर व्याख्‍या गर्न वा बुझ्न सक्नेछैनस्, तैँले यो कुरा छर्लङ्गै बुझ्न सक्नेछैनस्। के यो कुरा छर्लङ्गै बुझ्‍न नसक्नुको अर्थ यो समाधान गर्न नसकिने मामला हो भन्‍ने हो? होइन, यसलाई समाधान गर्न सकिन्छ। तैँले त्यसलाई छर्लङ्गै बुझ्नुपर्दैन; बस तैँले एउटा कुरा मात्र थाहा पाउन, याद गर्न र स्विकार्न आवश्यक छ: परमेश्‍वरले धारण गर्नुभएको देह नै ख्रीष्ट हो। ख्रीष्टप्रति मानिसहरूमा हुनुपर्ने सिद्धान्त, अडान, र मनोवृत्ति भनेको सूक्ष्मजाँच, विश्‍लेषण, वा जिज्ञासा पूरा गर्ने होइन, बरु स्विकार्ने, सुन्ने र समर्पित हुने हो। यदि तैँले सूक्ष्मजाँच र विश्‍लेषण गर्छस् भने, के त्यसले अन्त्यमा तँलाई परमेश्‍वरको सार देख्न मद्दत गर्नेछ? गर्नेछैन। परमेश्‍वरले कसैलाई पनि उहाँको विश्‍लेषण वा सूक्ष्मजाँच गर्न अनुमति दिनुहुन्न; तैँले जति धेरै सूक्ष्मजाँच र विश्‍लेषण गर्छस्, परमेश्‍वरले त्यति नै धेरै तँबाट कुराहरू लुकाउनुहुनेछ। परमेश्‍वरले कुराहरू लुकानुहुँदा मानिसहरूले के महसुस गर्छन्? तिनीहरूको हृदयमा परमेश्‍वरको अवधारणा अनिश्‍चित बन्छ, सत्यताको अवधारणा अस्पष्ट बन्छ, र तिनीहरूले पछ्याउनुपर्ने मार्गको सबथोक धूमिल बन्छ। यो कुनै पर्खालले तेरो दृश्य छेकिरहेको जस्तै हो; तैँले अगाडिको दिशा देख्न सक्दैनस्, त्यो पूरै धमिलो हुन्छ। परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर को हुनुहुन्छ? के परमेश्‍वर साँच्चिकै हुनुहुन्छ? यी प्रश्‍नहरू तेरो अगाडि उभिएको कालो पर्खालजस्तै हुन्, जुन परमेश्‍वरले तँबाट उहाँको मुहार लुकाउनुभएको हो, ताकि तैँले उहाँलाई देख्न नसक्। तेरो लागि सारा दृश्यहरू अस्पष्ट बन्छन्, ती हराउँछन्, र तेरो हृदय अन्धकारले भरिन्छ। अनि जब तेरो हृदय अँध्यारो हुन्छ, के तँसित अझै पनि अगाडि बढ्ने मार्ग हुन्छ? के तँलाई अझै पनि के गर्ने भन्‍ने थाहा हुन्छ? हुँदैन। तेरो मूल दिशा र लक्ष्यहरू जतिसुकै प्रस्ट भएका भए पनि, जब तैँले परमेश्‍वरको सूक्ष्मजाँच र विश्‍लेषण गर्छस्, तब ती अस्पष्ट र अँध्यारो बन्छन्। जब मानिसहरू यस्तो परिस्थिति र स्थितिमा फस्छन्, तिनीहरू खतरामा पर्छन्; परमेश्‍वरको सूक्ष्मजाँच गर्नमा जोड दिनेहरूलाई यस्तै हुन्छ। ख्रीष्टविरोधीहरू सधैँ यस्तै परिस्थितिमा हुन्छन्, तिनीहरूको अगाडि पूर्ण अन्धकार हुन्छ, तिनीहरू सकारात्मक कुराहरू के हुन्, सत्यता के हो भन्‍ने कुरा खुट्ट्याउन असक्षम हुन्छन्। परमेश्‍वरले जे गर्नुभए पनि, तिनीहरू त्यो वास्तवमै परमेश्‍वर हुनुहुन्छ, त्यो परमेश्‍वर स्वयम् हुनुहुन्छ भनेर पुष्टि गर्न सक्दैनन्; तिनीहरूले जसरी हेरे पनि तिनीहरूले देहधारीलाई व्यक्तिको रूपमा मात्र देख्छन्, किनकि तिनीहरू सधैँ सूक्ष्मजाँच र विश्‍लेषण गरिरहेका हुन्छन्, र त्यसैले परमेश्‍वरले पनि तिनीहरूलाई अन्धो पारिरहनुहुन्छ। तैँले तिनीहरूका आँखाहरू खुला, चम्किला र ठूला देख्छस्, तर तिनीहरू अन्धा नै हुन्छन्। परमेश्‍वरले मानिसहरूबाट आफ्नो मुहार लुकाउनुहुँदा, तिनीहरूको हृदय चाम्रो परेजस्तै, पूर्ण अन्धकारमा डुबेजस्तै हो। तिनीहरू बाहिरी कुरा मात्र देख्छन्, त्यसभित्र रहेको मार्ग बुझ्न सक्दैनन्, र अन्तर्निहित सत्यता बुझ्नबाट चुक्छन्—अझ भन्नुपर्दा, तिनीहरू परमेश्‍वरको सार वा उहाँको स्वभाव बुझ्न सक्दैनन्।

परमेश्‍वरको देखापराइ र कामलाई विश्‍लेषण र सूक्ष्मजाँच गरेर त्यसले कुनै नतिजाहरू दिनेछैन। विश्‍लेषण र सूक्ष्मजाँच गर्ने स्थितिमा नफस्नु महत्त्वपूर्ण छ; यो नकारात्मकताको मार्ग हो। त्यसोभए सकारात्मक मार्ग के हो त? तैँले यो परमेश्‍वरको काम हो, यो साधारण व्यक्ति नै परमेश्‍वरले धारण गर्नुभएको देह हो र उसमा परमेश्‍वरको सार छ भनेर दृढ विश्‍वास गरेपछि, निःशर्त रूपमा स्विकार्नु र समर्पित हुनुपर्छ। मानिसहरू यस देहमा असहमत हुनुपर्ने धेरै पक्षहरू छन्, मानव धारणा र कल्पनाविपरीतका धेरै पक्षहरू छन् भन्‍ने महसुस गर्छन्; त्यो मानिसहरूमा हुने समस्या हो। परमेश्‍वर यही तरिकाले चल्नुहुन्छ, र बदलिनुपर्ने भनेको मानिसहरूका धारणाहरू, तिनीहरूका भ्रष्ट स्वभावहरू, र परमेश्‍वरप्रतिका तिनीहरूका मनोवृत्तिहरू हुन्, परमेश्‍वर देहधारी हुनुभएको देह होइन। मानिसहरूले यसमा सत्यता खोज्न, परमेश्‍वरका अभिप्रायहरू खोज्न, र आफ्नो उचित दृष्टिकोण र स्थान लिन आवश्यक छ, उहाँलाई परमेश्‍वरको रूपमा स्विकारेपछि पनि उहाँको सूक्ष्मजाँच गर्न, वा उहाँले के गर्नुहुन्छ र के भन्नुहुन्छ भनेर विश्‍लेषण र छलफल गर्न चाहने होइन। त्यो ठूलो समस्या बन्नेछ। जब तेरो स्थान साथै सत्यता स्विकार्ने तेरो कोण गलत हुन्छन्, तैँले सबथोकलाई जे-जसरी हेर्छस् त्यसको परिणाम बदलिनेछ, र त्यसले तेरो पछ्याइको मार्ग र दिशा प्रभावित पार्नेछ। परमेश्‍वरले जे गर्नुहुन्छ वा जे भन्नुहुन्छ, त्यो मानव धारणाहरूसँग मिल्नु नमिल्नु अस्थायी समस्या मात्र हो। परमेश्‍वरले मानवजातिका लागि गर्नुहुने सारा कामको योगदान र मूल्य, त्यसले मानव जीवनमा ल्याउने मूल्य शाश्‍वत हुन्। तिनलाई कुनै पनि व्यक्ति, शैक्षिक विधा, तर्क वा सिद्धान्त, वा प्रवृत्तिद्वारा परिवर्तन गर्न सकिँदैन। यही नै सत्यताको मूल्य हो। हुन सक्छ अहिले यस साधारण व्यक्तिका वचन र कार्यहरूले तेरो जिज्ञासा वा आडम्बर पूरा गर्न नसक्‍लान्, तिनले तँलाई पूर्ण रूपमा विश्‍वास दिलाउन वा तेरो मन र बोलीलाई जित्न पनि नसक्‍लान्; तर आज उहाँले बोल्नुहुने सारा वचनहरू, साथै यस युग र अवधिमा उहाँले सम्पूर्ण मानवजाति, सम्पूर्ण युग, र परमेश्‍वरको समग्र व्यवस्थापन योजनाप्रति गर्नुहुने सारा कामका योगदानहरू अनन्तसम्‍मै एकनास रहन्छन्—यो तथ्य हो। त्यसकारण, तैँले एकदिन यस्तो महसुस गर्नेछस्: “बीसतीस वर्षअघि, मैले यस साधारण व्यक्तिले भन्‍नुभएको कुनै एउटा भनाइलाई सूक्ष्मजाँच, गलत व्याख्या, प्रतिरोध, र आलोचना तथा निन्दासमेत गरेँ। बीसतीस वर्षपछि, जब म फेरि त्यो भनाइलाई सम्झिन्छु, मेरो हृदय आभारीपन र आत्मग्लानिले भरिन्छ।” भ्रष्ट मानवहरू परमेश्‍वरसामु नीचा र महत्त्वहीन हुन्छन्, तिनीहरू सधैँभरि शिशु नै हुन्छन्, र उल्लेख गर्न लायक हुँदैनन्। कुनै व्यक्तिले जतिसुकै काम गर्ने भए पनि, जुनसुकै अवधिमा जुनसुकै सन्दर्भमा परमेश्‍वरले बोल्नुभएको हरेक वचनले सारा मानवजातिमाझ पुर्‍याएको योगदानको तुलनामा, त्यो स्वर्ग र पृथ्वीबीचको भिन्नताजस्तै हुन्छ! त्यसैले, तैँले परमेश्‍वर मानिसहरूले सूक्ष्मजाँच, विश्‍लेषण र शङ्का गर्ने वस्तु होइन भनेर बुझ्न जरूरी छ। परमेश्‍वरको काम र परमेश्‍वरले धारण गर्नुभएको देहको उद्देश्य मानिसहरूको जिज्ञासा पूरा गर्नु होइन। उहाँले यो सारा काम गर्नुको उद्देश्य समय कटाउनु वा यतिकै दिन बिताउनु होइन—उहाँको अभिप्राय एउटा युगका मानिसहरूलाई मुक्ति दिनु हो, सारा मानवजातिलाई मुक्ति दिनु हो, र उहाँले हासिल गर्न चाहनुभएका कामका नतिजाहरू सदासर्वदा रहिरहून् भन्‍ने हो। ख्रीष्टविरोधीहरू ख्रीष्टलाई सूक्ष्मजाँच र विश्‍लेषण गरिनुपर्ने, र तिनीहरूको जिज्ञासा पूरा गर्ने साधारण व्यक्तिको रूपमा हेर्छन्। यसको प्रकृति के हो? के यसलाई बुझ्न वा माफी गर्न सकिन्छ? तिनीहरू कहिल्यै नरोकिने पापीहरू हुन्, तिनीहरू सदाको लागि श्रापित र अक्षम्य हुन्छन्! यदि कुनै व्यक्तिमा मानवता छ, उसले सत्यता बुझ्छ, र उसमा सत्यता वास्तविकता छ भने, उसलाई सूक्ष्मजाँच गर्नुसमेत निकै घिनलाग्दो हुन्छ। ख्रीष्टलाई साधारण व्यक्तिको रूपमा हेर्नु र भित्री रूपमा सूक्ष्मजाँच गर्नु, उहाँको हरेक कामलाई शत्रुता र अपमानसाथ हेर्नु, र उहाँले बोल्नुहुने वचनहरूबारे जिज्ञासा मात्र पूरा गर्न खोज्नु—र कतिपय मानिसहरूले मलाई देखेपछि “अलि धेरै सत्यता सङ्गति गर, तेस्रो स्वर्गको भाषाबारे अलि धेरै सङ्गति गर, हामीलाई थाहा नभएको अलि धेरै कुराहरू भन” भनेरसमेत भन्‍नु—तिनीहरूले यस व्यक्तिलाई कुन रूपमा लिन्छन्? आफ्नो न्यास्रो मेटाउने व्यक्ति? परमेश्‍वरले यस मामलालाई कसरी परिभाषित गर्नुहुन्छ? के यो परमेश्‍वरविरुद्धको ईशनिन्दा होइन र? यदि यसलाई मानिसहरूप्रति लक्षित गरियो भने, यसलाई उपहास र गिल्ला भनिन्छ; यदि यसलाई परमेश्‍वरप्रति लक्षित गरियो भने, यसलाई ईशनिन्दा भनिन्छ।

यस प्रकटीकरण—सूक्ष्मजाँच, विश्‍लेषण, र जिज्ञासा—को अन्तर्वस्तुभित्र ख्रीष्टविरोधीहरूको प्रकृति सार आफसेआफ दुष्टको रूपमा, र सत्यताप्रति प्रतिकूल हुनुको रूपमा प्रकट हुन्छ। तिनीहरूले सबै सकारात्मक कुराहरूलाई बेवास्ता गर्छन्; तिनीहरूले ती सबैलाई घृणा गर्छन् र उपेक्षा गर्ने मनोवृत्तिले हेर्छन्, परमेश्‍वर देहधारी हुनुभएको देहलाई समेत बाँकी राख्दैनन्। तिनीहरूलाई सारा मामलाहरूमा आफ्नो जिज्ञासा पूरा गर्नुपर्छ, सबथोकलाई आफ्नो सूक्ष्मजाँचको दायरामा ल्याउनुपर्छ, र तिनीहरू सबथोकको निष्कर्ष निकाल्न र गहिराइमा पुग्न, र के भइरहेको छ भनेर पत्ता लगाउन चाहन्छन्, ताकि तिनीहरू जानकार र बुद्धिमान् देखिऊन्। यही नै मानवहरूको भ्रष्ट स्वभाव हो। सबथोक सूक्ष्मजाँच गर्ने बानी परेपछि, तिनीहरू सूक्ष्मजाँचलाई परमेश्‍वरतिर लक्षित गर्छन्। यसबाट तिनीहरूलाई के प्राप्त हुन्छ? सिद्धता र मुक्ति? होइन, यसले तिनीहरूमा अधोगति र विनाश मात्र ल्याउँछ! ख्रीष्टविरोधीहरूलाई यसरी नै परिभाषित गरिन्छ। तिनीहरू श्रापित र निन्दनीय हुन्छन्। परमेश्‍वर देहधारी हुनुभएको देहलाई हेर्दा, तिनीहरूले कहिल्यै पनि अनुयायी वा सृष्टि गरिएका प्राणीहरूको स्थान लिएर उहाँलाई स्विकार्ने र हेर्ने गर्दैनन्; बरु, तिनीहरू उहाँलाई एउटा विद्वान, सबथोक जानेझैँ गर्ने व्यक्ति, जिज्ञासाहरूले भरिएको व्यक्ति, र सत्यता बुझ्न नसक्ने र सकारात्मक कुराहरूलाई घृणा गर्ने अहङ्कारी व्यक्तिको कोण र दृष्टिकोणबाट बुझ्छन् र हेर्छन्। यस्ता मानिसहरूले मुक्ति पाउन सक्दैनन् भन्‍ने कुरा प्रस्टै छ।

जुन ६, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग एक)

अर्को: विषयवस्तु दस: तिनीहरू सत्यतालाई घृणा गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई बेवास्ता गर्छन् (भाग तीन)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्