प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

7 अक्टोबर 2021

२००० वर्ष पहिले, देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो, र यसरी पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा गर्नुभयो। उहाँले आखिरी दिनहरूमा आउने प्रतिज्ञा गर्नुभएको हुनाले, सबै विश्‍वासीहरूले सतर्कतासाथ प्रभुको पुनरागमनको प्रतीक्षा गरिरहेका छन्, र प्रभुका विश्‍वासीहरूको रूपमा आफ्ना सबै पाप क्षमा भएका छन्, र उहाँले तिनीहरूलाई उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न भन्‍ने सोच्छन्। तिनीहरू पूर्ण रूपमा तयार छन्, त्यसकारण उहाँको राज्यमा लगिन सक्नको लागि तिनीहरूले प्रभुको पुनरागमनको प्रतीक्षा मात्रै गर्नु आवश्यक छ भन्‍ने तिनीहरू सोच्छन्। यही कारणले गर्दा मानिसहरूले सधैँ आकाशतिर नियालिरहेका हुन्छन्, यसरी उहाँ अचानक बादलमा देखा पर्नुहुन्छ र उहाँलाई भेट्टाउनको लागि तिनीहरूलाई स्वर्ग लैजानुहुन्छ भन्‍ने प्रतीक्षामा छन्। तर तिनीहरूलाई छक्‍क पार्ने कुरा के हो भने, तिनीहरूले ठूला-ठूला विपत्तिहरू सुरु भएको देखिरहेका छन् तर अझै प्रभुलाई स्वागत गरेका छैनन्। के भइरहेको छ भन्‍ने कसैलाई थाहा छैन। तिनीहरूले प्रभु बादलमा आउनुभएको नदेखेका भए तापनि, तिनीहरूले उहाँ देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्किसक्‍नुभएको छ भनेर पूर्वीय ज्योतिले समरूप गवाही दिँदै आइरहेको देखेका छन्। उहाँले सत्यताहरू व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको उपस्थिति र उहाँको कामले सम्पूर्ण धार्मिक संसारलाई हल्‍लाएको छ र व्यापक प्रतिक्रियालाई प्रेरित गरेको छ। देहधारी परमेश्‍वरको न्यायको काम मानिसहरूका धारणा र कल्‍पनाभन्दा निकै बाहिरको कुरा हो। धेरैले सोधिरहेका छन्: प्रभु येशूले पहिले नै उहाँको महान् छुटकाराको काम पूरा गरिसक्‍नुभएको छ, र परमेश्‍वरले हामीलाई धर्मी भनी सक्‍नुभएको छ, तब उहाँले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ र? तिनीहरूलाई त्यो सम्‍भव छैन जस्तो लाग्छ। धार्मिक समुदायले उहाँको कार्यलाई अनुसन्धान गर्न इन्कार गर्दै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विरोध र निन्दा समेत गरिरहेका छन्, तर यस क्रममा तिनीहरूले ठूला-ठूला विपत्तिहरूबाट उम्कने आशा गर्दै आफूहरूलाई राज्यमा उठाइ लैजानको लागि प्रभु बादलमा आउनुहुनेछ भनी उत्कट रूपमा प्रतीक्षा गरिरहेका छन्। तैपनि, परमेश्‍वरको कार्य विशाल र शक्तिशाली छ र कसैले पनि यसलाई रोक्‍न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले विजेताहरूको समूह बनाउनुभएको छ र विपत्तिहरू सुरु भइसकेका छन्, यस क्रममा धार्मिक संसार रुँदै र दाह्रा किट्दै विपत्तिमा डुब्छ। तिनीहरूलाई विपत्तिहरूभन्दा अघि उठाइ नलगिएको हुनाले, तिनीहरूले उहाँको पुनरागमन विपत्तिहरूको बेला वा विपत्तिहरूपछि हुनेछ भनेर आशा राखिरहेका छन्। तिनीहरूले किन प्रभुलाई विपत्तिहरूभन्दा पहिले स्वागत गरेनन्? तिनीहरूले कहाँ गल्ती गरे? के प्रभु येशूले आफ्‍नो प्रतिज्ञा तोड्नुभयो, र यसरी विश्‍वासीहरूलाई विपत्तिहरूभन्दा पहिले राज्यमा लान असफल भई तिनीहरूलाई अत्यन्तै खिन्‍न तुल्याउनुभयो? कि मानिसहरूले बाइबलीय अगमवाणीहरूलाई गलत बुझे, र यसरी प्रभु बादलमा आउनुहुन्छ भन्‍ने आफ्‍ना धारणाहरूमा भरोसा गरे, परमेश्‍वरको आवाज सुन्‍न इन्कार गरे, र त्यसैले प्रभुलाई स्वागत गर्न असफल भए र विपत्तिमा परे? प्रभुले किन विपत्तिहरूभन्दा पहिले बादलमा आउनुभएन र विश्‍वासीहरूलाई उठाइ लैजानुभएन, त्यसबारे अहिले सबै जना अत्यन्तै अन्योलमा छन्। आज, आज म देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मानिसको पुत्रको रूपमा गर्नुहुने न्यायको कामबारे मेरो व्यक्तिगत बुझाइ बाँड्नेछु।

बाइबलसँग परिचित सबै जनाले धेरैजसो बाइबलीय अगमवाणीहरूले दुई वटा कुरा बताउँछन् भन्‍ने बुझेका हुन्छन्: प्रभु फर्कनुहुनेछ र उहाँले आखिरी दिनहरूमा न्याय गर्नुहुनेछ। तैपनि यी दुई कुरा वास्तवमा एउटै हुन्, जुन, परमेश्‍वर आखिरी दिनहरूमा आफ्‍नो न्यायको काम गर्न देहमा आउनुहुनेछ भन्‍ने हो। कतिले अवश्य नै यो भनाइको बाइबलीय आधार छ कि छैन भनेर सोध्छन्। अवश्य नै छ। यी कुराहरूबारे प्रशस्तै बाइबलीय अगमवाणीहरू छन्—२०० वा त्योभन्दा बढी। एउटा उदाहरण हेरौं, जस्तै पुरानो करारमा यसो भनिएको छ: “अनि उहाँले राष्ट्रहरूको बीचमा न्याय गर्नुहुनेछ र धेरै मानिसहरूलाई हप्काउनुहुनेछ” (यशैया २:४)। “किनभने उहाँ आउनुहुन्छ, किनभने उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ: उहाँले संसारलाई धार्मिकताद्वारा, र मानिसहरूलाई आफ्‍नो सत्यताद्वारा न्याय गर्नुहुनेछ” (भजनसंग्रह ९६:१३)। नयाँ करारमा यसो पनि भनिएको छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। प्रभु येशूले उहाँ फर्कनुहुनेछ र आखिरी दिनहरू न्यायको काम गर्नुहुनेछ भनी व्यक्तिगत रूपमा अगमवाणी गर्नुभयो। प्रभु येशूले भन्नुभयो, “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ” (यूहन्‍ना ५:२२)। “र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्‍ना ५:२७)। प्रकाशको पुस्तकले यस्तो अगमवाणी गरेको छ: “तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ” (प्रकाश १४:७)। यी अगमवाणीहरूले स्पष्ट रूपमा नै प्रभु मानिसको पुत्रको रूपमा आउनुहुनेछ र आखिरी दिनहरूमा न्यायको काम गर्नुहुनेछ भनेर भन्छन्। यसमा कुनै शङ्का छैन। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा न्यायको काम गर्न मानिसको पुत्रको रूपमा आउनुहुनेछ भनेर अनुग्रहको युगमा स्पष्टसित अगमवाणी गर्नुभएको हामी देख्‍न सक्छौं। प्रकाशको पुस्तकले स्पष्ट रूपमा अगमवाणी गर्छ, “किनकि उहाँको न्यायको घडी आएको छ।” यी अगमवाणीहरूले के देखाउँछन् भने, आखिरी दिनहरूमा प्रभु मानिसको पुत्रको रूपमा देहधारी हुनुहुन्छ र यसरी हाम्रो बीचमा न्यायको काम गर्न व्यक्तिगत रूपमा नै आउनुहुन्छ। यसबारे परमेश्‍वरले धेरै पहिले नै योजना बनाउनुभएको थियो र यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको कामको लागि सत्यताहरू व्यक्त गर्नुभएको छ, उहाँले धेरै वचनहरू बोल्‍नुभएको छ र विजेताहरूको समूह निर्माण गर्नुभएको छ। यसले यी अगमवाणीहरू पूर्ण रूपमा पूरा भइसकेका छन् भन्‍ने देखाउँछ। लौ अब हामी प्रभुले आफ्‍नो छुटकाराको काम गरिसक्‍नुभएको छ, त्यसकारण उहाँले आखिरी दिनहरूमा न्यायको काम गर्नु असम्‍भव छ भन्‍ने आम धार्मिक विश्‍वास बारे हेरौं। के यसको कुनै बाइबलीय आधार छ? के प्रभु येशूले यसो भन्‍नुभयो? अहँ छैन। भन्नुभएन। यस्ता विचारहरू मानव धारणा र कल्‍पनाहरू बाहेक केही पनि होइनन्—ती मनका कामना हुन्। ती, बाइबलमा दिइएका अगमवाणीहरूभन्दा ठीक विपरीत छन्, र परमेश्‍वरको कुनै पनि वचनले यी धारणाहरूलाई समर्थन गर्दैन। यो सोचाइ अत्यन्तै मूर्खतापूर्ण छ! किन मानिसहरूले इमानदारीसाथ बाइबलमा प्रभुका वचनहरू र अगमवाणीहरू खोजी गर्न सक्दैनन् र बरु तिनीहरू आफ्‍नै धारणाहरूको कारण परमेश्‍वरका आखिरी दिनहरूको कामको न्याय र निन्दा गर्छन्? के त्यो स्वेच्‍छाचारी र अहङ्कारी कार्य होइन र? बाइबलमा मानिसको पुत्रको आगमन र आखिरी दिनहरूमा हुने न्यायबारे धेरै अगमवाणीहरू छन्, तसर्थ, किन मानिसहरूले आफ्‍नै आँखा अगाडिको पवित्र-शास्त्रलाई देख्दैनन्? यो त बाइबलले भनेको जस्तै हो, “तिमीहरूले सुनेर त सुन्‍नेछौ, तर बुझ्‍नेछैनौ; अनि तिमीहरूले हेरेर त देख्‍नेछौ, तर चिन्‍नेछैनौ: किनभने यी मानिसहरूका हृदय बोधा छन्, र तिनीहरूका कान बहिरा छन्, र तिनीहरूका आँखा बन्द छन्; नत्र त तिनीहरूले आफ्‍ना आँखाले देख्‍नेथिए र आफ्‍ना कानले सुन्‍नेथिए, र आफ्‍ना हृदयले बुझ्‍नेथिए, अनि तिनीहरू परिवर्तन हुनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ” (मत्ती १३:१४-१५)। बुद्धिमान व्यक्तिले परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ, किन मानिसको पुत्र काम गर्न देखा पर्नुहुन्छ त्यस कुराको खोजी र अनुसन्धान गर्नुपर्छ। हामीले बाइबलका अगमवाणीहरूलाई साँचो रूपमा बुझ्‍नअघि यी प्रश्‍नहरूको उत्तर दिनुपर्छ।

अब हामी मानवजातिलाई छुटकारा दिइसक्‍नुभएपछि किन प्रभु न्यायको कामको लागि फेरि देहधारी बन्‍नुहुन्छ भन्‍ने कुरालाई नियालौं। सर्वशक्तिमान् परमेश्‍वरले यो रहस्यलाई खुलासा गरिसक्‍नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यस बारे के भन्छन्, हेरौं। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। “किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्, होइन र? प्रभु येशूले अनुग्रहको युगमा मानिसजातिलाई छुटकारा दिनुभयो, तब किन उहाँ आखिरी दिनहरूमा न्यायको लागि फर्कनुहुन्छ? किनभने प्रभु येशूले छुटकाराको काम सकाएर परमेश्‍वरको मुक्तिको काम आधा मात्रै पूरा गर्नुभयो। यसबाट मानिसले पापबाट छुटकारा हासिल गऱ्यो, त्यसकारण, हामी प्रभुलाई प्रार्थना गर्न र उहाँसँग सङ्गति गर्न अनि उहाँको अनुग्रह र आशिष्‌ प्राप्त गर्न योग्यका भयौं। हाम्रा पापहरू क्षमा भएका छन् र हामी पवित्र आत्‍माले दिनुभएको शान्ति र आनन्द प्राप्त गर्छौं, तर हामीले अझै जहिले पनि पाप गरिरहेका हुन्छौं, अनि पाप गर्ने अनि स्वीकार गर्ने, फेरि पाप गर्ने चक्रमा फँसिरहेका हुन्छौं। पापको बन्धन र प्रतिबन्धहरूबाट कोही पनि उम्कन सक्दैन, तर हामी यसमा सङ्घर्ष गर्दै जिउँछौं। यो पीडादायी छ र यसबाट मुक्त हुने कुनै उपाय छैन। यसले के देखाउँछ भने, प्रभुले हाम्रा पाप क्षमा गर्नुभएको भए पनि, हाम्रो पापी प्रकृति अझै अस्तित्वमा छ; हाम्रो भ्रष्ट स्वभाव अझै अस्तित्वमा छ। हामीले कुनै पनि बेला परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, उहाँको विरोध र न्याय गर्ने सम्‍भावना हुन्छ। यो इन्कार गर्न नसकिने तथ्य हो। कसैले विश्‍वास गरेको जति नै लामो समय भए पनि, तिनीहरू पापबाट उम्‍कन र पवित्रता हासिल गर्न सक्दैनन् वा परमेश्‍वरको सामने आउन योग्यका हुँदैनन्। यसले प्रभुको यो आगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। र हिब्रू १२:१४ मा यसो भनिएको छ, “पवित्रता …, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन।” हामी यहाँ के देख्‍न सक्छौं भने, परमेश्‍वरको इच्‍छा गर्नेहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। तर किन प्रभुले उहाँको नाउँमा प्रचार गर्ने र भूतहरू धपाउनेहरूलाई दुष्कर्मीहरू भनी भन्‍नुभयो? धेरै मानिसहरूका लागि यो निकै अन्योलपूर्ण हुनसक्छ। यसको अर्थ तिनीहरूले आफ्‍नो विश्‍वासको घोषणा त गर्छन् तर तिनीहरूले पाप गरिरहन्छन् र साँचो रूपमा पश्‍चात्ताप गरेका छैनन्। तिनीहरूले प्रभुको नाउँमा जति धेरै प्रचार गर्ने वा भूत धपाउने काम गरे पनि, जति धेरै आश्‍चर्यकर्महरू गरे पनि, तिनीहरूसँग प्रभुको स्वीकृती हुँदैन। प्रभुको नजरमा यस्ता मानिसहरू दुष्कर्मीहरू हुन्। तिनीहरूले प्रभुको नाममा काम गर्न त सक्छन् तर यो प्रभुको लागि अपमान हो, जुन कुरालाई उहाँ तिरस्कार गर्नुहुन्छ। के पाप क्षमा पाएका यी मानिसहरू राज्यमा प्रवेश गर्न योग्य छन्? अवश्य नै छैनन्। तिनीहरूले अझै पनि तिनीहरूलाई आकाशमा लैजानको लागि प्रभु आउनुहुने दिनको सपना देखिरहेका छन्। यो त मानव कल्‍पना मात्रै हो। स्पष्टै छ, प्रभु येशूले आफ्‍नो आगमनबारे गर्नुभएको अगमवाणीको अर्थ उहाँले मानिसहरूलाई उहाँसँग भेट्नको लागि सीधै आकाशमा लैजानुहुनेछ भन्‍ने होइन, तर यसको अर्थ उहाँले न्यायको काम गर्नुहुनेछ र मानिसहरूलाई तिनीहरूको पापी प्रकृति र भ्रष्टताबाट धुनुहुनेछ, उहाँले हामीलाई पाप र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिनुहुनेछ, र हामीलाई सुन्दर गन्तव्यमा लैजानुहुनेछ भन्‍ने हो। आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामको अर्थ यही हो। हामी सबैले अवश्य के कुरा देख्‍न सक्छौं भने, अनुग्रहको युगमा भएको छुटकारा हामीलाई हाम्रो पापबाट छुटकारा दिने काम मात्रै थियो, त्यसकारण हाम्रा पापहरू क्षमा भएका छन्। यसले मुक्तिको आधा काम मात्रै पूरा गर्‍यो, र परमेश्‍वरले आखिरी दिनहरूमा कामको अझै ठूलो चरण पूरा गरिरहनुभएको छ। प्रभु येशूको छुटकाराको कामको जगमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा धुन र पापबाट मुक्त गर्न हामीलाई, शैतानका शक्तिहरूबाट मुक्त गर्न आखिरी दिनहरूको न्यायको कामको लागि सत्यताहरू व्यक्त गरिरहनुभएको छ। यहाँ हामी देख्‍न सक्छौं, प्रभु येशूको छुटकाराले आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको लागि पूर्ण रूपमा बाटो तयार पार्दै थियो। यो जग बसाल्‍ने कार्य थियो। र सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको काम मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापन योजनाको सबैभन्दा महत्त्वपूर्ण चरण हो र यसले युगको अन्त्य गर्नेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार नगरिकन प्रभु येशूको छुटकाराको कामलाई मात्रै स्वीकार गर्नु भनेको विश्‍वासको मार्गमा आधासम्‍म मात्रै हिँड्नु जस्तो हो, र अन्तिम चरण हाम्रो भवितव्य र परिणामलाई निर्धारित गर्ने सबैभन्दा महत्त्वपूर्ण चरण हो। यो चरणलाई साँचो रूपमा नलिनु भनेको आधा बाटो हिँडेर छोड्नु र अगाडिका सबै प्रयासहरू खेर फाल्‍नु हो। यात्राको अन्तिम भाग प्रायजसो कठिन हुन्छ भन्‍ने कुरा सबैले बुझ्‍नुहुन्छ भन्‍ने मलाई लाग्छ। तपाईंको विश्‍वासको यो अन्तिम चरण नै तपाईंको भवितव्य निर्धारित गर्ने सबैभन्दा महत्त्वपूर्ण चरण हो। विश्‍वासीहरूका हकमा भन्दा, हाम्रो परिणाम र भवितव्य निर्धारित गर्ने कुरा भनेको आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको काम हो। यदि मानिसहरूले यसलाई स्वीकार गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई हटाउनु हुनेछ; त्यो अत्यन्तै दुःखलाग्दो कुरा हो। त्यसकारण हामी के कुरामा निश्‍चित हुन सक्छौं भने, कुनै व्यक्ति विश्‍वासी भएको जति लामो समय भए पनि, यदि उसले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्दैन भने, परमेश्‍वरले उसलाई हटाउनुहुनेछ, र ऊ निर्बुद्धि कन्या हुनेछ, जो रुँदै र दाह्रा किट्दै विपत्तिमा पर्नेछ। पहिलेका धेरै जना अविश्‍वासीहरूले सर्वशक्तिमान परमेश्‍वरको कार्यलाई सीधै स्वीकार गरेका छन् र आखिरी दिनहरूमा परमेश्‍वरले दिनुहुने मुक्ति प्राप्त गरेका छन्। यिनीहरू भाग्यमानीहरू हुन् र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न नमानेर हटाइने विश्‍वासीहरूको स्थान लिन्छन्। के विश्‍वासीहरूको लागि त्यो सबैभन्दा ठूलो पछुतो हुनेछैन र? प्रभुको लागि यतिका वर्ष प्रतीक्षा गरिसकेपछि, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको काम गरिरहनुभएको र धेरै सत्यताहरू व्यक्त गरिरहनुभएको देख्छन् तर त्यसलाई स्वीकार गर्न मान्दैनन्, बरु मूर्ख भई प्रभु बादलमा आउनुहुनेछ भनी प्रतीक्षा गर्छन् र परमेश्‍वरसँग बाजी थाप्छन्। अन्त्यमा तिनीहरूले मुक्ति पाउने मौका गुमाउनेछन्। के त्यो एक विश्‍वासीको लागि अत्यन्तै दुःखलाग्दो कुरा हुनेछैन र?

सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन कसरी न्यायको काम र धुने काम गर्नुहुन्छ भनेर कतिले सोध्न सक्छन्। यससँग सम्‍बन्धित सत्यताहरूमाथि सङ्गति गर्ने कुरा धेरै छन्, त्यसकारण आज हामी यसको सतह मात्रै कोट्याउन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)। बाट उद्धृत गरिएको सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू के कुरामा अत्यन्तै स्पष्ट छन् भने, उहाँको आखिरी दिनहरूको न्याय मुख्य रूपमा सत्यता व्यक्त गरेर मानवजातिको भ्रष्ट सारलाई न्याय गर्न, हाम्रो भ्रष्टता खुलासा गर्नको लागि हो त्यसकारण हामी आफ्‍नो बारेमा मनन गर्छौं, आफूलाई चिन्छौं अनि आफ्नो भ्रष्टता देख्छौं। त्यसपछि हामी पछुताउँछौं, आफूलाई गर्छौं, आफ्नो देहलाई घृणा गर्छौं र यसरी साँचो पश्‍चात्ताप आउँछ। यो न्यायको काम मानिसहरूलाई बुझाउन केही सत्यताहरू व्यक्त गरेर मात्र गरिँदैन, तर परमेश्‍वरले सत्यताका थुप्रै पक्षहरू व्यक्त गर्नु हुँदैछ यी सबै सत्यताहरू मानिसजातिलाई न्याय गर्न, खुलासा गर्न, काटछाँट गर्न र निराकरण गर्न, र साथै हामीलाई जाँच्न र शोधन गर्नका लागि हुन्। विशेष गरी मानिसको भ्रष्ट सारलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूले तीक्ष्‍णताको साथ मानवजातिको शैतानी स्वभावहरू र हाम्रो प्रकृति र सारलाई प्रकट गर्छन्। यी वचनहरू पढ्दा ती मर्मस्पर्शी छन् र त्यसले सीधै हाम्रो हृदय छुन्छन्। हामीले हामी कति गहिरोसित भ्रष्ट भएका छौं र हामी मानव भनिन योग्य छैनौं भन्ने कुरा देख्छौं। हाम्रो लुक्ने ठाउँ कहीँ छैन र हामी परमेश्‍वरको क्रोधबाट उम्कन जमिनका दरारहरूमा लुक्न चाहन्छौं। यो न्यायबाट गुज्रेर जानु हाम्रो आफ्‍नो भ्रष्टताको सत्यतालाई देख्‍ने एक मात्र तरिका हो, त्यसपछि हामी पछुतोले भरिन्छौं हामी परमेश्‍वरका आशिषहरू र उहाँको राज्यमा लगिन योग्य छैनौं भन्ने थाहा पाउछौं। अत्यन्तै भ्रष्ट भएका हुनाले हामी परमेश्‍वरलाई देख्न योग्य छैनौं। परमेश्‍वरको न्याय र सजायविना हामी कहिल्यै पनि आफूलाई साँचो रूपमा चिन्दैनौं तर हामीले मुखले मात्र आफ्नो पाप स्वीकार गरेको बहाना गर्छौं, र यसरी हामीलाई हामी पूर्ण रूपमा शैतानी स्वभावमा जिइरहेका छौं भन्‍ने थाहा हुँदैन। हामीले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेका र उहाँको विरोध गरिरहेका हुन्छौं, र हामीले अझै पनि स्वर्गमा जान सक्छौं भन्‍ने सोच्छौं। यो लाजमर्दो र भ्रमपूर्ण कुरा हो, र यसमा आत्म-चेतनाको पूरै अभाव छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र धुने कार्यको अनुभव गर्ने हामीले उहाँका वचनहरू सत्यता हुन्, ती अनमोल छन् भन्ने प्रत्यक्ष ज्ञान पाएका छौं! परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूले मात्रै हाम्रो भ्रष्टतालाई धुन र हामीलाई पापबाट मुक्ति दिन सक्छन्। उहाँका वचनहरूको न्याय अनुभव गरेर मात्रै हाम्रो भ्रष्ट स्वभावलाई धुन र परिवर्तन गर्न सकिन्छ, त्यसरी हामी परमेश्‍वरको इच्छा गर्ने र राज्यमा प्रवेश गर्न योग्य मानिसहरू हुन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले हामीलाई बाटो, सत्यता र जीवन दिन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको कामद्वारा हामी सत्यता र जीवन पाउन सक्छौं, अनि परमेश्‍वरको अघि जिउन सक्छौं, जुन परमेश्‍वरबाटको अत्यन्तै ठूलो आशिष्‌ हो!

मलाई लाग्छ, हाम्रो सङ्गतिको यो विन्दुमा हामीमध्ये धेरैले के बुझेका छौं भने, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम हामीले सोचे जस्तो सरल छैन। यो हामीलाई छुटकारा दिने अनि हाम्रो पाप क्षमा गरेर त्यतिमा नै सीमित हुने काम होइन, तर उहाँको मुक्तिको काम हामीलाई दुष्टता र पापबाट पूर्ण मुक्ति दिन, शैतानको पकडबाट मुक्ति दिनका लागि हो। ताकि हामी परमेश्‍वरमा समर्पित हुन सकौं र हामीले उहाँको आराधना गर्न सकौं। यसलाई हासिल गर्ने एउटै मात्र तरिका न्यायको काम मात्रै हो। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र न्यायको काम गरिरहनुभएको छ। उहाँको यो काम अत्यन्तै महान् छ, अतुलनीय छ! सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले सारा संसारलाई हल्‍लाएको छ र ब्रह्माण्डमा हलचल ल्याएको छ। परमेश्‍वरको आखिरी दिनहरूको कामले सबैको ध्यान खिचेको छ र यसले संसारलाई चकित पारेको छ। सत्यतालाई प्रेम गर्नेहरू सबैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई अनुसन्धान गरिरहेका छन्, र सत्यतालाई प्रेम नगर्नेहरूले मात्रै परमेश्‍वरको कार्यलाई नदेखे जस्तो गर्छन् र अवहेलना गर्छन्। तर परमेश्‍वरको कार्य धार्मिक संसार वा अविश्‍वासीहरूद्वारा कहिल्यै प्रभावित हुनेछैन। यो नरोकिकन अघि बढ्छ। आँखा झिमिक्‍क गर्दा, ठूला-ठूला विपत्तिहरू सुरु भएका छन् र परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम यसको चरम विन्दुमा छ। परमेश्‍वरलाई पछ्याउनेहरूको लागि, उहाँको घरबाट सुरु हुन यो न्याय केहीलाई सिद्ध पार्ने धेरै हटाउने कार्य हो। अरूका लागि यो, परमेश्‍वरको विरोध गर्ने दुष्कर्मीहरूलाई क्रमिक रूपमा ठेगान लगाउन विपत्तिहरूको प्रयोग गर्ने, शैतानलाई लगाम लगाएर यो दुष्ट युगलाई पूर्ण अन्त्य गर्ने कार्य हो। त्यसपछि हामी नयाँ युगलाई स्वागत गरेर त्यसमा प्रवेश गर्नेछौं, जसमा ख्रीष्टको राज्य पृथ्वीमा महसुस गरिन्छ। जसले अझै पनि प्रभु बादलमा आउनुहुनेछ भनेर तृष्णा गरिरहेका छन्, तिनीहरू रूँदै र दाह्रा किट्दै विपत्तिमा पर्नेछन्, र यसले प्रकाशको पुस्तकको यो अगमवाणी पूरा गर्नेछ, “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्” (प्रकाश १:७)। सर्वशक्तिमान् परमेश्‍वरले यसो पनि भन्‍नुभयो, “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ”)।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्