भेलाको “तयारी”
सियाओ ली, चीनसन् २०२३ फेब्रुअरीमा, म मुख्य रूपमा मलजलको कामका लागि जिम्मेवार मण्डली अगुवा चुनिएकी थिएँ। सुरुमा, मसँग सहकार्य गर्ने सिस्टरको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले सन् २०१७ मा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दाको मेरो समय अत्यन्त सुखद थियो किनभने मैले सधैँ प्रत्येक भेलाबाट थप सत्यता र केही कुरा प्राप्त गर्ने गर्थेँ। सुरुमा हामी सबै च्याटमा कुरा गर्थ्यौं अर्थात् हामी टाइप गरेर अनलाइन कुराकानी गर्ने गर्थ्यौं। त्यसकारण म कुनै पनि कुरा लुकाउँदिनथेँ, र म परमेश्वरका वचनहरूसम्बन्धी मेरो बुझाइको बारेमा कुरा गर्न निकै सक्रिय हुन्थेँ। अगुवाहरूले मसँग राम्रो बुझाइ छ भनेर अक्सर भन्थे अनि दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर गर्थे। तिनीहरूले मेरो सङ्गति सुन्न मन पर्छ र मेरो अङ्ग्रेजी राम्रो छ भन्थे। तिनीहरूको प्रशंसा सुन्दा म अत्यन्तै हर्षित हुन्थेँ र मैले राम्ररी काम गरिरहेकी छु भन्ने लाग्थ्यो। त्यसपछि एक जना सिस्टरले भेलामा हामी भोइस कलबाट कुरा गरौँ भनेर भनिन्, अनि समस्याहरू देखा पर्न थाले।
पहिलो भोइस कल भेलामा, हामीले परमेश्वरका वचनहरू पढिसकेपछि, एकदुई जना सिस्टरहरूले पहिला त्यस अनुच्छेदबारे आफ्नो बुझाइ बताए। तर म घबराएकी थिएँ र मैले तिनीहरूको सङ्गति सुनेकै थिइनँ। यसभन्दा पहिले सधैँ लेखेरै कुरा हुन्थ्यो, त्यसकारण भोइस सङ्गति सञ्चालन गर्ने मलाई बानी परेकै थिएन। भोइस सङ्गति गर्नु मेरो कमजोर पक्ष थियो। जब लेखेर कुरा गरिन्थ्यो तब मैले मेरा शब्दहरू चयन गरेर सबै कुरा राम्रो बनाउन सक्थेँ। तर लाइभ च्याटमा बोल्दा, मसँग तयारी गर्ने पर्याप्त समय हुँदैनथ्यो। मसँग परमेश्वरका वचनहरूको केही बुझाइ भए पनि, मेरो सङ्गति भताभुङ्ग र लथालिङ्ग हुन्छ, म अङ्ग्रेजी फर्ऱर बोल्न सक्दिनँ, र दाजुभाइ-दिदीबहिनीहरू मसित खिन्न हुन्छन् भन्ने मलाई डर लागेको थियो। भेलाको समयभरि यी समस्याले मेरो ध्यान खिचेका थिए। मैले आफ्नो कुरा बताउनुपर्ने कि नपर्ने मलाई हिचकिचाहट भइरहेको थियो। मैले बताइनँ भने, अरूले म सङ्गतिमा सक्रिय रूपले सहभागी भएकी छैनँ भन्ने सोच्नेथिए र अगुवाहरू मसित खिन्न हुनेथिए। तर बताएँ भने, मैले माइक्रोफोन अन गर्नुपर्नेथियो र म राम्ररी बोलिनँ भने, दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ ठान्नेछन् भनेर म डराएँ। यसले तिनीहरूसँगको मेरो राम्रो छविलाई बरबाद गर्नेथियो। यी विचारहरूले गर्दा म यति घबराएँ कि मैले केही बोल्नै सकिनँ। मलाई विश्वासमा ल्याउने दुई जना सिस्टरहरू भेलामै थिए, र मैले सङ्गति राम्ररी गरिनँ भने, तिनीहरू खिन्न हुनेछन् भनेर सोचेँ। त्यसपछि, एक जना अगुवा, फ्लोरा शीले मलाई भनिन्, “सिस्टर वेनिएला, तपाईं केही बताउन सक्नुहुन्छ कि? अरू सबैले बताइसक्नुभयो। तपाईंले सङ्गति बाँड्न बिर्सिनुभयो?” उनको आवाजको भाव सुन्दा मलाई उनी खिन्न छिन् जस्तो लाग्यो। मलाई साँच्चै नै अनौठो र लज्जित महसुस भयो। मेरो यो कमजोरीलाई लुकाउन र तिनीहरूको नजरमा मेरो छवि कायम राख्न, त्यहाँदेखि मैले भेलाभन्दा पहिले सङ्गतिमा केको बारेमा बोल्न चाहन्थेँ त्यसबारेमा लेख्ने, अनि त्यसपछि मेरो पालोमा केवल त्यो पढ्ने निर्णय गरेँ। त्यसपछि म त्यति घबराउँदिनथेँ। तिनीहरूले म धाराप्रवाह बोल्ने वक्ता हुँ र मेरो सङ्गति सान्दर्भिक छ भन्ने सोच्नेछन्। मलाई यो राम्रो विचार हो भन्ने लाग्यो।
एक दिन साँझ, चीनका एकदुई जना सिस्टरहरूले हाम्रो भेलाको आयोजना गरे। हामी सबैले हाम्रो कुराकानी प्रस्तुत गर्न अङ्ग्रेजी प्रयोग गऱ्यौँ। केही दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै लजाएका थिए किनभने तिनीहरूको अङ्ग्रेजी त्यति राम्रो थिएन, तर तिनीहरूले परमेश्वरका वचनहरूसम्बन्धी आफ्नो बुझाइबारे सङ्गति गर्न सके। मेरो पालो आउँदा, म आफ्नो सङ्गतिमा अत्यन्तै सक्रिय भएँ र आत्मविश्वासले भरिएको जस्तो सुनिएकी थिएँ किनभने मैले आफूले भन्न चाहेका सबै कुरा अगाडि नै लेखेकी थिएँ। सङ्गति बाँड्ने अन्तिम व्यक्ति म नै थिएँ। मैले स्वाभाविक शैलीमा बोल्ने सक्दो प्रयास गरेकी थिएँ ताकि तिनीहरूले मैले पढिरहेकी छु भन्ने थाहा नपाऊन्। त्यसपछि, तिनीहरू सबैले मेरो सङ्गतिको तारिफ गरे र यो तिनीहरूको लागि उपयोगी रह्यो भनी भने अनि मेरो अङ्ग्रेजी राम्रो रहेछ भनेर बताए। तिनीहरूको प्रशंसा सुन्दा म मनमनै खुसी थिएँ र मलाई तिनीहरूको समर्थन प्राप्त भएको जस्तो महसुस भयो। त्यसपछि मलाई समूह अगुवाको रूपमा छनौट गरियो र अरूले मलाई के सोच्छन् भन्नेबारे मैले अझै बढी ध्यान केन्द्रित गरेँ। तर अरूले मेरो प्रशंसा गर्दा मलाई दोषी र अलिक असहज महसुस हुन थाल्यो, किनभने मैले तिनीहरूलाई मेरो वास्तविकता देखाइरहेकी थिइनँ। मलाई यो सही छ भन्ने लागेन, तर पनि मैले त्यसै गरिरहेँ। भेलाहरूमा मैले साँचो रूपमा अरूको सङ्गति सुनिरहेकी हुँदिनथेँ किनभने म आफ्नो बुझाइ लेख्न व्यस्त भइरहेकी हुन्थेँ। म आफ्नो अभिमानलाई सन्तुष्ट पार्न र आफ्नो प्रतिष्ठालाई जोगाउन सधैँ राम्रो सुनिने कुराहरू लेख्नमा केन्द्रित हुन्थेँ। यसले गर्दा मैले ती सङ्गतिहरूबाट धेरै कुरा पाउन सकिनँ र मेरो लागि ती अर्थहीन भए। यस्तो कार्य खराब हो भन्ने मलाई थाहा थियो, र म परिवर्तन भएर अरूलाई सत्य बताउन चाहन्थेँ, तर मैले त्यो कदम चाल्ने आँट गरिनँ। यदि मैले अग्रिम रूपमै मेरो सङ्गति लेख्ने गरेको कुरा अरूले थाहा पाए भने, तिनीहरूले मलाई तुच्छ ठान्छन् र म अत्यन्तै कपटी छु, मैले झूट बोलिरहेकी र छल गरिरहेकी छु भनेर भन्न सक्छन् भन्ने मलाई डर लागेको थियो। मैले धेरैपटक त्यसो गर्न छोड्न चाहेकी थिएँ किनभने यसले मलाई फाइदा गरेको थिएन, र यसले मलाई असहज स्थितिमा पार्थ्यो, तर त्यो चिन्ताको बोझले मेरो छवि र अरूको आदर पाउने इच्छालाई जितेको थिएन किनभने मलाई मेरो इज्जत र प्रतिष्ठाको बढी चिन्ता थियो। तर हरेकपटक ती कुरा गर्दा, मलाई निकै दोषी महसुस हुन्थ्यो। मैले यो मेरो बुझाइलाई अझै स्पष्ट र सटीक रूपमा बताउन गरिरहेकी छु, त्यसरी अरूले मैले भनेको कुरालाई अझै राम्ररी बुझ्न सक्छन् भनेर आफैलाई विश्वस्त दिलाउनसमेत प्रयास गरेँ। मैले आफैलाई यो ठीक छ भनेर भनिरहेँ, तर मेरो असहजता र ग्लानिले मलाई सताइरह्यो। मैले मनमनै सोचेँ, “यदि मैले मेरो अभिमानलाई त्याग्न सकेँ र सबैलाई सत्य बताएँ भने, म यसबाट उम्कन सक्नेछु। तर मेरो अङ्ग्रेजी त्यति राम्रो छैन भन्ने तिनीहरूले थाहा पाए भने, मलाई हाँसोमा उडाउनेछन् भन्ने डर छ। सोपछि मैले कसरी तिनीहरूको सामना गर्ने?” मैले यो समस्याबारे लामो समय सङ्घर्ष गरेँ, र पनि आफ्नो हृदय खोल्न सकिनँ। अरू के गर्ने भन्ने थाहा नभएपछि, मैले मेरो भाषागत सीप बढाउने प्रयास गरेँ। मैले घरमा आफै सङ्गति गरेको अभ्यास गर्थेँ, आफ्नो कुरा रेकर्ड गर्थेँ र त्यसपछि कस्तो सुनिन्छ भनी सुन्थेँ। मैले सोचेँ, “यदि मैले यसरी आफ्नो बोल्ने सीपलाई सुधार गर्न सकेँ भने, त्यसपछि मैले मेरो सङ्गतिलाई अग्रिम रूपमा लेख्नुपर्नेछैन, र म सीधै बताउन सक्छु। त्यसपछि कसैलाई साँचो कुरा बताउनुपर्ने आवश्यकता हुँदैन। मैले राम्ररी सङ्गति गर्न सकेँ र मेरो अङ्ग्रेजी फर्रर सुनियो भने, मप्रतिको तिनीहरूको आदर कायम रहनेछ।” तर मैले जति नै अभ्यास गरे पनि, भेलाहरूमा सङ्गति गर्दैपिच्छे म घबराउँथेँ, त्यसकारण सधैँझैँ म मेरो सङ्गति पढेर सुनाउँथेँ। म आफैप्रति एकदमै खिन्न थिएँ र म नकारात्मक स्थितिमा अल्झिएकी हुनाले मेरा कर्तव्यमा असर पऱ्यो। म बर्खास्त भएँ।
एकपटक भेलामा, एक जना सिस्टरले परमेश्वरका वचनहरूको यो खण्ड सुनाइन्, त्यसले मेरो साह्रै मन छोयो, परमेश्वरका वचनहरूले भन्छन्: “यदि तँ अरूले तँलाई भरोसा गरून् भन्ने चाहन्छस् भने, सर्वप्रथम तँ इमानदार व्यक्ति हुनैपर्छ। इमानदार व्यक्ति बन्न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि सबैले त्यसभित्र हेर्न सकून्, तँ के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तँ सधैँ नाटक गरिरहन्छस्, सधैँ पवित्रता, कुलीनता, महानता, र उच्च चरित्रको ढोंग गर्छस्, आफ्नो भ्रष्टता र त्रुटिहरू अरूबाट लुकाउँछस्, तिनीहरूलाई झूटो छवि प्रस्तुत गर्छस्, र तिनीहरूलाई तँ इमानदार, महान्, आत्म-त्यागी, न्यायवान्, र निःस्वार्थ छस् भनी विश्वास गर्न लगाउँछस् भने—के यसमा छलीपन र छल छैन र? समय बित्दै जाँदा, मानिसहरूले तँलाई छर्लङ्गै देख्न सक्नेछैनन् र? त्यसैले, पाखण्डी नबन् वा मुखौटो नलगा। बरु, सरल र खुला बन्, र आफूलाई उदाङ्गो पार्न सिक्—आफ्नो हृदय अरूले देख्ने गरी खुला पार्। यदि तँ आफ्ना सबै विचार र तैँले गर्न चाहेका सबै कुराहरू—चाहे ती सकारात्मक होऊन् वा नकारात्मक—अरूले देख्ने गरी उदाङ्गो पार्न सक्छस् भने, के तँ तब इमानदार भइरहेको हुँदैनस् र? जब तैँले आफूलाई अरूले देख्ने गरी उदाङ्गो पार्छस्, तब परमेश्वरले तँलाई हेरिरहनुभएको हुन्छ। उहाँले भन्नुहुनेछ, ‘तैँले आफूलाई अरूले देख्ने गरी उदाङ्गो पारेको हुनाले, तँ मेरो सामु पनि पक्कै इमानदार छस्।’ तर यदि तँ गोप्य रूपमा परमेश्वरसामु मात्रै आफूलाई उदाङ्गो पार्छस्, तर अरूसामु सधैँ महान्, कुलीन, र निःस्वार्थ भएको नाटक गर्छस् भने, परमेश्वरले तेरो बारेमा के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ पूर्ण रूपमा छली व्यक्ति होस्। तँ एक पक्का पाखण्डी र बदमास होस्, र तँ एक इमानदार व्यक्ति होइनस्।’ परमेश्वरले तँलाई यसरी निन्दा गर्नुहुनेछ। एक इमानदार व्यक्ति हुनुको अर्थ के हो भने, तँ परमेश्वरसामु भए पनि वा अरू मानिसहरूसामु भए पनि, तँ आफ्नो भित्री स्थिति र आफ्नो हृदयका शब्दहरूबारे शुद्ध र सरल तरिकाले खुल्न सक्छस्। के यो गर्न सजिलो छ? यसका लागि एक अवधिको प्रशिक्षण, साथै बारम्बारको प्रार्थना र परमेश्वरप्रतिको निर्भरता आवश्यक छ। तैँले सबै मामिलामा आफ्नो हृदयका शब्दहरू सरल र खुला रूपमा बोल्न आफूलाई प्रशिक्षित गर्नैपर्छ। यस्तो प्रकारको प्रशिक्षणले, तँ प्रगति गर्न सक्छस्। यदि तैँले ठूलो कठिनाइ सामना गरिस् भने, तैँले परमेश्वरलाई प्रार्थना र सत्यताको खोजी गर्नैपर्छ; तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्षम नहुन्जेल आफ्नो हृदयमा युद्ध गर्नु र देहमाथि विजय हासिल गर्नु आवश्यक छ, जबसम्म तैँले सत्यतालाई अभ्यासमा लागू गर्न सक्दैनस्। यसरी आफूलाई बिस्तारै प्रशिक्षित गरेर, तेरो हृदय बिस्तारै खुल्दै जानेछ। तँ झन्-झन् शुद्ध र सरल बन्दै जानेछस्, र तेरा शब्द र कार्यहरूको प्रभाव पहिलेभन्दा फरक हुनेछ। तैँले झन्-झन् कम झूट बोल्नेछस् र झन्-झन् कम छल गर्नेछस्, र तँ परमेश्वरसामु जिउन सक्षम हुनेछस्। तब तँ सारगत रूपमा एक इमानदार व्यक्ति बनेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने, परमेश्वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँलाई कुटिलता वा बेइमानी मन पर्दैन। कुनै कुरा सुन्दर होस् वा कुरूप, हामीले सङ्गतिमा आफ्नो हृदय खोलेर कुरा गर्नुपर्छ, झूट बोल्नु हुँदैन, हृदयमा कुटिल हुनु हुँदैन। हामीले अरूसामु आफू जे होइनौं त्यो हौँ भन्ने बहाना गर्नै हुँदैन, र पटक्कै मकुन्डो लगाउनु हुँदैन। इमानदार हुनु भनेको त्यही हो। परमेश्वरका यी वचनहरू पढ्दा मलाई अत्यन्तै दोषी महसुस भयो किनकि म इमानदार व्यक्ति थिइनँ। म साँच्चै सबैसँग खुलस्त हुन, आफ्नो अभिमान र प्रतिष्ठालाई त्याग्न चाहन्थेँ, तर मैले निकै पटक प्रयास गरे पनि, त्यसो कहिल्यै गर्न सकिनँ। मलाई इज्जतको धेरै नै माया थियो। म आफ्नै अभिमानको बन्धनमा थिएँ। म पूर्ण रूपमा भ्रष्ट छु भन्ने मैले देखेँ। मलाई अत्यन्तै दोषी महसुस भयो र बेचैन पनि भयो। मैले मनमनै सोचेँ, “मानिसहरूमा मेरो झूटो सकारात्मक छाप पार्न खोजेर किन मैले सधैँ बहाना बनाइहरेकी छु? मैले किन सत्यता अभ्यास गरेर झूट बोल्न छोड्न सक्दिनँ? के परमेश्वरप्रतिको मेरो विश्वास सबै व्यर्थ हुन्? के ती सबै भेला र सत्यताको खोजी व्यर्थ थिए?” मलाई आफू आफ्नै अभिमानको बन्धनबाट कहिल्यै उम्कन सक्दिनँ भन्ने लाग्यो। मलाई हाम्रो समूह छोडेर आफूलाई सही स्थितिमा ल्याउन केही समय दिन मन लाग्यो, र आफूलाई राम्ररी सही स्थितिमा ल्याएपछि भेलाहरूमा फर्केर आउन र ती कुरा गर्न छोड्न सक्थेँ। त्यसकारण म समूहबाट निस्किएँ र आफ्नो एकाउन्ट प्रयोग गर्न छोडेँ, किनभने म एकलै रहेर आत्मसमीक्षा गर्न चाहन्थेँ। म केही समय साँच्चै व्याकुल र हताश भएकी थिएँ, र एकलो पनि भएकी थिएँ। म आफैप्रति साँच्चै खिन्न भएकी थिएँ। मैले विश्वास गरेको दुई वर्ष भइसकेको थियो, तर अझै पनि इमानदार हुन र आफ्नो अभिमानलाई त्याग्न मलाई गाह्रो भइरहेको थियो। मप्रति अरूको विचार कस्तो छ भन्ने कुरामा म धेरै चासो राख्थेँ। सत्य जानेर अरूले कस्तो प्रतिक्रिया देलान् भन्ने कल्पना गर्दा नै मलाई अत्यन्तै लाज लाग्थ्यो।
त्यो बेला म परमेश्वरका वचनहरू पढ्नेबाहेक केही गर्न सक्दिनँथिएँ। एक दिन मैले यो खण्ड देखेँ: “सत्यता पछ्याउनका लागि, व्यक्तिले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिनुपर्छ, तर कहाँबाट सत्यताको अभ्यास गर्न सुरु गर्ने त? यसका कुनै नीतिहरू छैनन्। तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। यदि तैँले कर्तव्य निर्वाह गर्न सुरु गरेको छस् भने, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न थाल्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, अभ्यास गर्नलाई सत्यताका विभिन्न पक्षहरू हुन्छन्, र तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। उदाहरणका लागि, तैँले एक इमानदार व्यक्ति बनेर इमानदारीपूर्वक बोल्दै र आफ्नो हृदय खोल्दै यस कार्यको सुरुवात गर्नुपर्छ। यदि त्यहाँ कुनै कुरा छ जसको बारेमा तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भन्न धेरै अप्ठ्यारो मान्छस् भने, तैँले घुँडा टेकेर प्रार्थनामार्फत त्यो कुरा परमेश्वरलाई भन्नुपर्छ। तैँले परमेश्वरलाई के भन्नुपर्छ त? तेरो हृदयमा जे छ त्यो परमेश्वरलाई भन्; खोक्रा गफहरू नगर् वा उहाँलाई धोका दिने कोसिस नगर्। इमानदार भएर सुरु गर्। यदि तँ कमजोर भएको छस् भने, म कमजोर भएको छु भन्; यदि तँ दुष्ट भएको छस् भने, म दुष्ट भएको छु भन्; यदि तँ छली भएको छस् भने, म छली भएको छु भन्; यदि तँमा दुर्भावपूर्ण र कपटी विचारहरू छन् भने, त्यसबारे परमेश्वरलाई भन्। यदि तँ सधैँ हैसियतका लागि प्रतिस्पर्धा गर्छस् भने, उहाँलाई यो कुरा पनि भन्। परमेश्वरबाट तँमाथि अनुशासन कारबाही हुन दे; उहाँलाई तेरो निम्ति वातावरणहरू खडा गर्न दे; परमेश्वरलाई तेरा सबै कठिनाइहरू पार गर्न र तेरा सबै समस्याहरू समाधान गर्न तँलाई सहयोग गर्न दे। तैँले परमेश्वरको लागि आफ्नो हृदय खोल्नुपर्छ; त्यसलाई बन्द नगर्। यदि तैँले उहाँलाई आउन दिइनस् भने पनि उहाँले तेरो छानबिन गर्न सक्नुहुन्छ। तैपनि, यदि तैँले उहाँको लागि आफ्नो हृदय खुला गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। त्यसो भए तैँले कुन बाटो रोज्नुपर्छ त? तैँले आफ्नो हृदय खोल्नुपर्छ र परमेश्वरलाई आफ्नो हृदयको कुरा भन्नुपर्छ। तैँले कुनै पनि हालतमा झुटो बोल्नु र छद्म भेष धारण गर्नु हुँदैन। तैँले इमानदार व्यक्ति बनेर सुरुवात गर्नुपर्छ। हामीले वर्षौँदेखि इमानदार व्यक्ति बन्नेसम्बन्धी सत्यताहरूमा सङ्गति गर्दै आएका छौँ, तैपनि आज पनि यहाँ धेरै मानिसहरू छन् जो उदासीन छन्, जो आफ्ना अभिप्राय, चाहना र उद्देश्यहरूअनुसार मात्र बोल्छन् र काम गर्छन्, र जसलाई कहिल्यै पश्चात्ताप गर्न मन लाग्दैन। यो इमानदार मानिसहरूको मनोवृत्ति होइन। परमेश्वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के यो तिनीहरूको लागि मानिसहरूलाई जानेर त्यही अनुसार व्यवहार गर्न सजिलो होस् भनेर हो? अवश्य होइन। परमेश्वरले मानिसलाई इमानदार हुन लगाउनुहुन्छ किनभने उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदारहरूलाई नै आशिष् दिनुहुन्छ। इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्वरलाई प्रेम गर्न सक्ने व्यक्ति बन्नु हो। इमानदार व्यक्ति बन्नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्नु त परको कुरा हो। यदि तँ मलाई विश्वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बन्ने अभ्यास गरेर मात्र परमेश्वरका लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, तेरो हृदयभित्र सत्यता तेरो जीवन बन्न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, अनि तँलाई कसैले पनि बुझ्न सक्दैन भने, तेरो गुप्त जालझेल अत्यन्तै गहिरो छ, र तँ सबैभन्दा छली मानिस होस्। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तैपनि साधारण हुन र परमेश्वरको अघि खुल्न सक्दैनस्, यदि तँ हृदयदेखि परमेश्वरसँग कुरा गर्न सक्दैनस्, र अझै घुमाउरो कुरा गर्न र आफ्नै सानो एजेन्डा बोक्न, वा परमेश्वरलाई छल्न झुटो बोल्न वा ठुलठुला कुरा गर्नसमेत सक्छस् भने, तैँले आफैलाई हानि गर्नेछस्, र परमेश्वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। यस खण्डले मलाई के देखायो भने, सत्यता बुझ्नु अरू कुनै कुराभन्दा महत्त्वपूर्ण छ, मेरो इज्जत र अभिमानभन्दा महत्त्वपूर्ण छ। सत्यता प्राप्त गर्नको लागि, म इमानदार हुन थाल्नुपर्थ्यो। एक भनेको एक, दुई भनेको दुई—अबउप्रान्त बहाना बनाउन वा धोका दिन छोड्नुपर्थ्यो। केही समयसम्म, मैले बहाना गरिरहेकी थिएँ, अरूलाई धोका दिइरहेकी थिएँ। मैले आफूले बोल्न चाहेको कुरा लेख्थेँ, ताकि तिनीहरूले मेरो बुझाइ राम्रो छ र मैले अङ्ग्रेजी राम्रो बोल्छु भन्ने सोचून्, र तिनीहरूले मेरो तारिफ गरिरहून् र मेरो मान गरिरहून्। म ग्लानि र चिन्ताले भरिएकी भए पनि, दाजुभाइ-दिदीबहिनीहरूको अघि मन खोलेर बताउने साहस मसँग थिएन। तिनीहरूले मेरा अपर्याप्तताहरू देखेको र मलाई तुच्छ ठानेको, म झूट बोल्ने व्यक्ति हुँ भनेर भनेको म चाहँदिनथेँ। तिनीहरूलाई सत्य बताउनुभन्दा त हाम्रो समूह छोड्नसमेत मैले चाहेकी थिएँ। म साँच्चै नै कुटिल थिएँ। मलाई थाहा भयो, म त्यति धेरै डिप्रेसनमा पर्नु भनेको शैतानले मलाई गरेको हानि हो र यसरी जिउनुले मलाई मेरो जीवन प्रवेशबाट रोकिरहेको छ। यसले मलाई बरबादसमेत गर्न सक्थ्यो। मेरो हृदयमा वास्तवमा के छ भनी अरूलाई बताउन मैले साहस बटुल्नुपर्थ्यो, ताकि मैले केही इमानदारिता अभ्यास गर्न सकूँ। सत्य बताउन जति नै अनौठो लागे पनि, म गलत तरिकाले काम गर्नबाट बाहिर निस्कनुपर्छ भन्ने मलाई थाहा थियो। परमेश्वरलाई इमानदार मानिसहरू मन पर्छ र कुटिल मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। अरूसामु झूटो बहाना बनाउँदै र सीधा कुरा नगरी मैले नाटक गरिरहेकी भए, म अन्धकारमा जिइरहेकी हुन्थेँ र मैले पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्न सक्नेथिइनँ। मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ। म परमेश्वरप्रति पूर्ण रूपमा खुलस्त हुनुपर्थ्यो ताकि उहाँले ममा भएको छलीपनलाई हटाउन मलाई सहयोग गर्न सकून्। त्यसैले, मलाई सत्यताको अभ्यास गर्न र इमानदार व्यक्ति बन्न अगुवाइ गर्नुहोस् भनेर मैले परमेश्वरलाई अनुरोध गर्दै प्रार्थना गरेँ।
पछि, मैले पछि बल्ल हाम्रा अगुवा, सिस्टर कोन्नीलाई मन खोलेर आफ्नो कुरा बताएँ र उनीसँग सङ्गति गरेँ। मैले उनलाई मैले किन समूह त्यागेर मेरो एकाउन्ट बन्द गरेँ भनेर बताएँ। मेरो कुरा सुनेपछि, सिस्टर कोन्नीले भनिन्, “मैले तपाईंलाई त्यसको निम्ति कहिल्यै तुच्छ ठान्दिनँथेँ, र म तपाईंको इमानदारितालाई साँच्चै कदर गर्छु।” उनलाई मन खोलेर आफ्नो कुरा बताउँदा, उनीसँग सङ्गति गर्दा, मलाई अत्यन्तै राहत मिल्यो। इमानदार बन्नु कति राम्रो कुरा रहेछ भनेर मैले साँचो रूपमा अनुभव गरेँ, किनभने सत्यता अभ्यास गर्दा म मेरा सबै चिन्ताबाट मुक्त भएँ। सिस्टर कोन्नीले मलाई मैले परमेश्वरका वचनहरूसम्बन्धी आफ्नो बुझाइ बताउँदा, मैले पोख्त भएर बोल्नु पर्दैन वा कुनै उच्च स्तरका सिद्धान्तहरू बताउनु पर्दैन भनेर केही सुझाव पनि दिइन्। यसको लागि हृदयबाट कुरा निस्कनु नै पर्याप्त छ, किनभने यो मलाई साँच्चै महुसुस हुने र थाहा हुने कुरा हो। मैले उनको सुझाव स्विकारेँ र म यसलाई अभ्यास गर्न तयार छु जस्तो लाग्यो।
पछि, अर्की एक जना सिस्टरले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन्, जुन एकदमै अन्तर्दृष्टिपूर्ण थियो। परमेश्वरका वचनहरूले भन्छन्: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्वर तिनीहरूसँग अप्रसन्न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्। तिनीहरू हर उज्ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्न छोड्छस्, जब इज्जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले कसरी मानिसहरूले आफ्नो जीवनभन्दा आफ्नो इज्जत र हैसियतलाई बहुमूल्य ठान्छन्, र कुनै कुराको सामना गर्दा परमेश्वरको इच्छाबारे नभई आफ्नै प्रतिष्ठा, अभिमान र पदबारे विचार गर्छन् भन्ने कुरालाई खुलासा गर्नुहुन्छ। हामीले बहाना गरेको परमेश्वर चाहनुहुन्न, र हामीले आफ्नो प्रतिष्ठालाई प्राथमिकता दिएको वा मानिसहरूमाझ आफ्नो हैसियत खोजेको उहाँ चाहनुहुन्न। यी हामीलाई परमेश्वरको अनुमोदन प्राप्त गर्न सहयोग गर्ने कुरा होइनन्, र यी कुराले हामीलाई हाम्रो स्वभाव परिवर्तन गराउन वा मुक्ति दिलाउन सक्दैनन्। नाम र हैसियत भनेका शैतानले हामीलाई भ्रष्ट र बाँध्न प्रयोग गर्ने तरिका हुन् र यी कुराहरूको पछि लाग्दा हामी झन्-झन् अभिमानी र कुटिल बन्छौँ। त्यसरी हामीले आखिरमा परमेश्वरको मुक्ति गुमाउँछौँ। परमेश्वरलाई कुटिल मानिसहरू मन पर्दैन र अरूको प्रशंसा वा तारिफ प्राप्त गर्न मानिसहरूले चाल चलेको उहाँ चाहनुहुन्न। हामीले हाम्रो प्रतिष्ठा र हैसियतलाई त्यागेको, सत्यताको पछि लागेको र हामी इमानदार मानिस बनेको उहाँ चाहनुहुन्छ। परमेश्वरको अघि होस् वा अरूको अघि, हामी छली वा कपटी हुनु हुँदैन। मैले लगातर मन खोलेर अरूलाई मेरा समस्याहरू बताउन सकेकी थिइनँ, किनभने म मेरो इज्जत र अभिमानप्रति अत्यन्तै चिन्तित थिएँ। आफ्नै शैतानी स्वभावको दह्रिलो पकडमा परेर मैले सत्यता अभ्यास गर्न सकिनँ। इज्जत र हैसियतसम्बन्धी मेरो इच्छा अत्यन्तै दह्रिलो थियो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका होऊन्, वा धाक देखाइरहेका होऊन्, वा देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाइरहेका होऊन्, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गर्ने देखिए पनि, अहिले यसलाई हेर्दा, के यो मार्ग सही हो? के यो सत्यता पछ्याउने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? प्रस्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्वरले निन्दा र तिरस्कार गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूका पछाडि मानिसको उन्मत्त महत्त्वाकाङ्क्षा र परमेश्वरविरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्वरका हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर बिलकुलै चिन्नुहुन्न, बरु तिनीहरूलाई दुष्कर्मीका रूपमा चित्रण गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्वरले के फैसला सुनाउनुहुन्छ? ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्वरले ‘मबाट दूर होओ’ भनेर भन्नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानका हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल सताउँछन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्वरका भेडा होइनन्, उहाँका अनुयायी हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमा पर्दैनन्। परमेश्वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचनहरूबाट मैले अरूको हृदयमा ठाउँ लिन मानिसहरू ढोँगी र छली बन्छन् भन्ने देखेँ। तिनीहरूले अरूको सम्मान प्राप्त गरे पनि र तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छा पूरा भए पनि, तिनीहरूले अन्त्यमा के पाउँछन्? यसरी काम गरेर तिनीहरूले एक क्षणको लागि मानिसहरूलाई मूर्ख तुल्याउन सक्छन्, तर परमेश्वरलाई मूर्ख तुल्याउन सक्दैनन्। अन्त्यमा परमेश्वरले तिनीहरूलाई ठुक्र्याउनुहुनेछ र हटाउनुहुनेछ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले सत्यताको पछि नलाग्ने, र आफ्नै अभिप्रायहरू पाल्ने, अरूको हृदयमा ठाउँ ओगट्नेहरूलाई घृणा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा हेर्नुहुन्छ र तिनीहरूले गरेका कर्तव्यहरूलाई स्वीकार गर्नुहुन्न। मैले आफ्नो व्यवहारबारे आत्मसमीक्षा गरेँ र परमेश्वरको विरोध गर्ने मार्गमा साँच्चै हिँडेकी रहेछु भनेर थाहा पाएँ, किनभने मेरा सबै विचार र कार्यहरू अरूको प्रशंसा र तारिफ पाउनका लागि गरिएका थिए। यदि मैले यो मार्गलाई जारी राखेकी भए, अन्तिममा म बरबाद हुन्थेँ। त्यो विचार गरेपछि, मलाई धेरै प्रकारका डर भयो, मलाई परमेश्वरले त्याग्नहुनेछ भन्ने डर भयो, मलाई परमेश्वरले शैतानको हातमा सुम्पनुहुनेछ भन्ने डर भयो र मैले परमेश्वरको मुक्ति गुमाउनेछु भन्ने मलाई डर भयो। म इमानदारीपूर्वक परिवर्तन भएर त्यो स्थितिबाट मुक्त हुन, आफ्नो साँचो रूपमा आउन, र फेरि कहिल्यै झूटो नबोल्न वा छली नहुन चाहन्थेँ।
तर जब साँच्चै अभ्यास गर्ने समय आयो, मेरो भ्रष्टता र कमीकमजोरीबारे दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोल्नेबारे सोच्दा, म अत्यन्तै हिचकिचाएँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड देखेँ, जसबाट मैले साहस पाएँ। परमेश्वरको वचनले भन्छ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्वरले मन पराउनुहुन्न भनी हेर्नको लागि चिरफार गर्न सिक्नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्ने प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, परमेश्वरका वचनहरूले साँच्चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छन्। जब हामी आफ्नो साँचो भ्रष्टताबारे कसरी खुलेर बोल्ने र सत्यताको खोजी गर्ने भन्ने विषयमा सिक्छौँ, हाम्रो गलत विचार र भ्रष्ट स्वभाव बिस्तारै परिवर्तन हुँदै जान सक्छन्। परमेश्वरले मेरो गलत सोचाइको खुलासा गर्नुभयो अनि नाम र हैसियतसम्बन्धी मेरो गलत खोजीलाई प्रकट गर्नुभयो, त्यसपछि अभ्यासको सही मार्ग पत्ता लगाउन उहाँका वचनहरूद्वारा मलाई अगुवाइ गर्नुभयो। मैले अरूसँग मन खोलेर कुरा गर्न, मेरो नाम र इज्जतबारे विचार गर्न छोड्न, कुटिल, छली, र कपटी बन्न छोड्नको लागि मैले पहिलो कदम लिनुपर्थ्यो। मैले परमेश्वरका वचनहरू अभ्यास गर्दै ती वचनलाई मभित्र मार्गको अगुवाइ गर्न दिनुपर्थ्यो।
त्यो आइतबार बिहान, म सदाझैँ भेलामा सहभागी भएँ र म इमानदार हुनुपर्छ भनेर मैले मनमनै भनेँ। मैले प्रार्थना गरेँ, “प्रिय परमेश्वर, यसपटक म सत्यताको अभ्यास गर्न चाहन्छु, शैतानका बन्धनहरूबाट मुक्त हुन र मेरो ढोँगीपन र छललाई प्रकट गर्न चाहन्छु। तिनीहरूले मलाई तुच्छ ठाने पनि, म त्यसको वास्ता गर्नेछैनँ। म तपाईंलाई सन्तुष्ट पार्न इमानदार व्यक्ति बन्न चाहन्छु। बिन्ती छ, मलाई सहयोग गर्नुहोस्, ताकि म खुलेर कुरा गर्न र इमानदार बन्न सकूँ।” प्रार्थना गरेपछि म अलिक ढुक्क भएँ। हाम्रो भेलाको अवधिमा, मैले साँच्चै नै परमेश्वरका वचनहरूबारे सोचेँ अनि लगनशील भई अरूले आफ्नो अनुभव र बुझाइबारे दिएको सङ्गति सुनेँ। मैले त्यो समय आफ्नो सङ्गति लेखिरहेकी थिइनँ, र अरू सबैलाई कस्तो सङ्गति मन पर्छ भन्नेबारे विचार गरिनँ। मैले त्यसो गर्दा, अरूका अनुभवहरूको सङ्गतिबाट नयाँ अन्तर्दृष्टि प्राप्त गरेँ। मैले सङ्गति गर्न लाग्दा, म निकै घबराए पनि, मैले आफ्नो सङ्गति कति राम्रो वा सिपालु ढङ्गमा दिइँदैछ भन्नेबारे विचार गरिनँ र तिनीहरूले थाहा पाएपछि के भन्लान् भन्ने कुराले मलाई फरक पारेन। त्यसपछि मैले मलाई साँचो रूपमा प्रभाव पारेका परमेश्वरका वचनहरूको एउटा खण्डबारे कुरा गरेँ: “इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। … यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचनहरूको यो खण्डलाई मैले आफ्नै अनुभवसँग जोडेँ, दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो सबैभन्दा साँचो रूप पूर्ण रूपमा प्रकट गरेँ। मैले तिनीहरूलाई भनेँ, “यतिका समय, मैले ठूलो बहाना गर्दै आएकी थिएँ, अङ्ग्रेजी फरर बोलेको बहाना गरिरहेकी थिएँ। साँचो कुरा त के हो भने, मैले मेरा सबै सङ्गति अग्रिम रूपमा लेख्ने गर्थेँ र मेरो बोलाइ स्वाभाविक सुनियोस् र मैले राम्रो सङ्गति गर्छु भनेर तपाईंहरू सबैले ठानून् भनेर रेकर्ड गर्दै अभ्याससमेत गर्थेँ। त्यो केवल तपाईंहरूको प्रशंसा र तारिफ पाउनका लागि थियो। मैले तपाईंहरूलाई छल्दै आइरहेकी थिएँ। …” मैले मेरो हृदयलाई उदाङ्गो पारेपछि तिनीहरू मसित खिन्न हुनेछन् भन्ने ठानेकी थिएँ, तर कुरा त्यस्तो भएन, तिनीहरूले मलाई भने, तपाईंले नराम्रो सङ्गति गर्छु भनेर चिन्ता गर्नुपर्दैनथियो। परमेश्वर हामी इमानदार भएको चाहनुहुन्छ, आफ्नो कुरा सिँगार्ने र अव्यावहारिक बनेको होइन। यदि मैले हृदयबाट सङ्गति गरिनँ, र यो शब्द र सिद्धान्तहरू मात्रै थियो भने, त्यसको फाइदा के हुन्थ्यो र? यो कुराले मेरो मन छोयो। तिनीहरूले मलाई तुच्छ ठानेनन्, र तिनीहरूमध्ये कतिले मेरो अवस्था कस्तो थियो भन्ने बुझ्न सक्छौं भनी भने, अनि मेरो अनुभवले तिनीहरूलाई सहयोग गर्यो भनी भने। मेरो लागि यो मनोहर आश्चर्य थियो। मेरो भ्रष्टताबारे सबैसँग खुलस्त कुरा गरिसकेपछि, मैले बन्धनमुक्त महुसुस गरेँ। शैतानले मलाई सत्यता अभ्यास गर्नबाट रोक्न अभिमान र प्रतिष्ठा प्रयोग गर्छ, तर जब मैले परमेश्वरका वचनहरूबाट आफ्नो बारेमा सिकेँ, इमानदार व्यक्ति बन्ने र खुलस्त कुरा गर्ने अभ्यास गरेँ, मलाई परमेश्वरको एक कदम नजिक पुगेजस्तो लाग्यो अनि यसले म र मेरा दाजुभाइ-दिदीबहिनीहरूबीचका शङ्का र बाधाहरू हटायो। धेरै लामो समयदेखि, मैले आफ्नो अभिमानलाई सन्तुष्ट पार्न र अरूको प्रशंसामा रमाउन छदम् रूप धारण गर्ने छनौट गरेकी थिएँ, तर त्यो परमेश्वरको चाहना थिएन। वास्तवमा, मैले लामो समयदेखि परमेश्वरलाई चोट पुर्याउँदै आएकी थिएँ। तर म परिवर्तन हुन्छु भन्ने प्रतीक्षा गर्दै परमेश्वर सधैँ क्षमाशील र धैर्यशाली हुनुभयो। परमेश्वरको प्रेमको लागि म अत्यन्तै कृतज्ञ छु।
यो अनुभवले मलाई सत्यताको पछि लाग्नुको महत्त्व सिकायो। शैतानी स्वभावका बन्धनहरूबाट मुक्त हुने एउटै मात्र तरिका भनेको इमानदार व्यक्ति बनेर सत्यता अभ्यास गर्नु हो। साँचो खुसी र शान्ति प्राप्त गर्ने एउटै तरिका भनेको सत्यता अभ्यास गर्नु हो। म अत्यन्तै कुटिल, ढोँगी थिएँ, तर अहिले म सत्यता अभ्यास गर्ने र इमानदार बन्ने निर्णय गर्छु। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। मेरो एउटै चाहना भनेको परमेश्वरले मलाई अगुवाइ गरिरहून् भन्ने हो, ताकि मैले अझै धेरै सत्यता अभ्यास गर्न सकूँ।
सियाओ ली, चीनसन् २०२३ फेब्रुअरीमा, म मुख्य रूपमा मलजलको कामका लागि जिम्मेवार मण्डली अगुवा चुनिएकी थिएँ। सुरुमा, मसँग सहकार्य गर्ने सिस्टरको...
मरीयन, संयुक्त राज्य अमेरिकामण्डलीका नयाँ विश्वासीहरूलाई मलजल गर्ने जिम्मेवारी ममाथि छ। केही नयाँ विश्वासीहरू आएको धेरै समय भएको थिएन, र...
यो जून महिनामा, म मलजल डिकन चयन भएँ। एक दिन, सिस्टर चेङ लिन र म नयाँ विश्वासीहरूको भेला सञ्चालन गर्न गयौँ। नयाँ विश्वासीहरूमा थुप्रै...
क्लारा, अमेरिकाकेही समयअघि मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, जसमा भनिएको थियो: “खुसामद, चापलुसी, र मिठा शब्दहरू—बाहिरी रूपमा, यी...