मूल्याङ्कनले मेरो खुलासा गर्दा

25 फेब्रुअरी 2023

सन् २०२१ को मे महिनाको मध्यतिर, अगुवा सिस्टर चेन, मसँग कुरा गर्न मकहाँ आइन् र मैले सिस्टर लूलाई चिन्छु कि चिन्दिन, उनी अरूप्रति निष्पक्ष छिन् कि छैनन्, उनी आलोचक छिन् कि छैनन् भनेर सोधिन्। उनले यति कठोरताको साथ सोधिन् कि मैले तुरुन्तै सिस्टर लूलाई के भइरहेको छ भनेर सोधिहालेँ। उनले सिस्टर लू अत्यन्तै अहङ्कारी छिन् र धेरै अगुवाहरूको बारेमा तिनीहरू झूटा अगुवा हुन् भन्दै आलोचना गरेकी छिन् भनेर भनिन्। सिस्टर लू कुरा गर्न सिपालु छिन्, त्यसकारण भेलामा उनले आत्मज्ञानको बारेमा कुरा गर्न सक्छिन्, तर उनले आफूलाई चिनेकी छैनन् भनेर पनि उनले भनिन्। उनले धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले सिस्टर लूलाई राम्ररी चिनेका छैनन्, त्यसकारण तिनीहरूले उनको सङ्गति मन पराउँछन् भनेर भनिन्। मैले तुरुन्तै सोचेँ मण्डलीबाट हटाइएका कतिपय ख्रीष्टविरोधीहरूले पनि त्यसै गरेका थिए। के त्यो ख्रीष्टविरोधीहरूले गर्ने व्यवहार थिएन र? कहिलेकहीँ कुनै अगुवा झूटो हो भनेर भन्‍नु एउटा कुरा हो, तर तिनीहरूमध्ये धेरै जना झूटो अगुवा हुन् भन्‍नु अहङ्कारी कार्य हो। मलाई गत वर्ष गरिएको अगुवाहरूको चुनावको याद आयो, जुन बेला सिस्टर लू र अर्की सिस्टरले एक उम्मेदवारको बारेमा गोप्य छलफल गर्दै उनले इज्‍जत र हैसियतको मात्र वास्ता गर्छिन्, देखावटी काम गर्छिन्, वास्तविक काम गर्दिनन् भनी भनेका थिए। ममा सिस्टर लूप्रति पूर्वाग्रही भावना पैदा भएको थियो मलाई तिनी साँच्‍चै नै आलोचक छिन् भन्‍ने लाग्यो।

त्यसपछि ती अगुवाले मलाई सिस्टर लूको बारेमा मूल्याङ्कन लेख्‍न लगाइन्। मलाई केही समय पहिले कुनै विषयमा केही मानिसहरूले उनलाई औंल्याएको बेला उनीसँग भएको अन्तरक्रियाको याद आयो, सुरुमा उनी प्रतिरक्षात्मक भएकी थिइन्, तर त्यसपछि उनले मनन गरेर परिवर्तन र प्रवेश प्राप्त गरेकी थिइन्। उनले सत्यतालाई स्वीकार गरिन्। उनीसँगको कुराकानीमा, उनले आत्म-चिन्तन र आत्म-ज्ञानको बारेमा वास्ता गर्ने हुँदा, उनले प्रार्थना गर्ने, सत्यताका सिद्धान्तहरूको खोजी गर्ने, र प्रवेश गर्नको लागि परमेश्‍वरका वचनहरू पाएको मैले देख्‍न सक्थेँ। उनले एकदुई वटा गवाहीहरू पनि लेखेकी थिइन् मलाई उनी सत्यताको खोजी गर्ने व्यक्ति हुन् भन्‍ने लागेको थियो। तर उनी अहङ्कारी, चिप्‍लो घसेर बोल्‍ने, बहकाउने, र अगुवाहरूलाई जथाभाबी आलोचना गर्ने व्यक्ति हुन् भनेर अगुवाले भनेको सोच्दा, मलाई के लाग्यो भने यदि मैले उनी सत्यता स्वीकार र खोजी गर्न सक्‍ने व्यक्ति हुन् भनेर भनेँ भने, के अगुवाले ममा समझशक्तिको कमी छ, म मूर्ख हुँ भन्‍नेछैनन् र? यदि मैले अगुवासामु नकरात्मक छवि प्रस्तुत गरेँ भने, मैले निश्‍चित कर्तव्यहरू पूरा गर्ने मौका गुमाउन सक्‍नेछु। त्यो कुरालाई ध्यानमा राखेर, मैले मेरो मूल्याङ्कनमा सिस्टर लूलाई सत्यता स्वीकार गर्न कठिन हुन्छ, र समस्याहरूको सामना गर्दा उनले आफूलाई निर्दोष साबित गर्न खोज्छिन् भनेर भनिदिएँ। मैले उनले दैनिक जीवनमा प्रकट गर्ने केही भ्रष्टताको बारेमा पनि लेखेँ। उनले सत्यताको खोजी गर्ने केही तरिकाहरूका बारेमा पनि लेखेँ, तर उनी साँच्‍चै सत्यताको खोजी गर्ने व्यक्ति हुन् कि होइनन् भन्‍ने कुरामा म निश्‍चित छैन भनेर पनि टिप्‍पणी थपेँ। मूल्याङ्कन लेखिसकेपछि मलाई अलिक असहज लाग्यो। सिस्टर लूसँगको मेरो अनुभव कहिल्यै पनि अगुवाले व्याख्या गरेजस्तो रहेको थिएन। उनीसँग अलिअलि अहङ्कारी स्वभाव थियो, कहिलेकहीँ उनले सीधै बोल्थिन् र स्वीकार्न कठिन हुने कुराहरू बोलिहाल्थिन्, तर हृदयमा उनी खराब थिइनन्, उनले परमेश्‍वरको घरका हितहरूलाई साथ दिन्थिन्। अरूले सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गरेको देख्दा उनले बोल्‍ने साहस गर्थिन्। उदाहरणको लागि, जब उनले एक जना सिस्टरले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरेको र कामको प्रगतिमा प्रभाव पारेको देखिन्, तब उनले तिनीसँगको सम्‍बन्धलाई पन्छाएर कुनै ढिला नगरी यो कुरा औंल्याउन सकिन्, र उनले यसबारेमा अगुवालाई पनि बताउन सकिन्। सिस्टर लूको सामान्य व्यवहारलाई हेर्दा, उनले परमेश्‍वरको घरका हितहरूलाई साथ दिन्थिन् र उनी सही व्यक्ति थिइन्, तर अगुवाले यसको विपरीत कुरा भनेकी थिइन्। अगुवा पूर्वाग्रहले भरिएकी छिन् कि जस्तो लाग्यो। सिस्टर लूको विषयमा मूल्याङ्कनहरू सङ्कलन गरेपछि, तिनी मण्डलीबाट बर्खास्त हुने वा हटाइने हुन् कि भन्‍ने मलाई लाग्यो। मैले यसबारेमा जति सोचे, मलाई त्यति न असहज लाग्यो, त्यसकारण मैले अगुवालाई उनले सिस्टर लूसँग उनका समस्याहरूका बारेमा सङ्गति गरिन् कि गरिनन्, उनले ती समस्याहरू बुझिन् कि बुझिनन् भनी सोधेँ। तर अगुवाले सिस्टर लूले पहिले पनि अगुवाहरूलाई आलोचना गर्ने गरेकी थिइन्, र उनले फेरि यसो गर्न थालेकी छिन् भन्दै मेरो प्रश्‍नलाई पन्छ्याइन्। उनको कारणले एक जना अगुवाले पद-त्याग गर्नेबारेमा सोचिरहेको छ, त्यसकारण उनी अवरोध बनिसकेकी छिन् भनेर तिनले भनिन्। अगुवाको मुखबाट यो कुरा सुनेपछि, उनले समस्यालाई मैलेभन्दा राम्ररी बुझेकी छिन्, त्यसैले ममा समझशक्तिको कमी छ र म सिस्टर लूको बाहिरी व्यवहारबाट भ्रममा परेँ भन्‍ने मलाई लाग्यो। मैले थप अरू केही भनिनँ।

केही दिनपछि, उच्‍च तहका एक अगुवाले अवस्थाको अनुसन्धान गरेर भने कि सिस्टर लूले जथाभाबी अगुवाहरूको आलोचना गरिरहेकी थिइनन्, बरु सही तरिकाले झूटा अगुवाहरूको खुलासा गरिरहेकी थिइन्। सिस्टर चेनको बारेमा सिस्टर लूले रिपोर्ट गरेकी हुनाले, सिस्टर लूले जथाभाबी अगुवाहरूको आलोचना गर्छिन् भनेर दोष दिँदै तिनी उनीमाथि जाइलागेकी थिइन्, र तिनले एकतर्फी रूपमा सिस्टर लूको कर्तव्य रोकेकी थिइन्। सिस्टर लूले रिपोर्ट गरेका धेरै जना झूटा अगुवाहरू सबैलाई निष्कासन गरिएको थियो, र उनले आफ्‍नो कर्तव्य फिर्ता पाइन्। यो कुरा सुनेपछि मेरो हृदय ढुकढुक गरिरहेको थियो—म त छक्‍क परेकी थिएँ। मलाई अलिक असहज पनि लागिरहेको थियो। मैले अगुवाको पछि लागेर सिस्टर लूलाई अहङ्कारी भएको, जथाभाबी अगुवाहरूको आलोचना गरेको, सत्यतालाई राम्ररी स्वीकार नगरेको दोष दिएकी थिएँ। मैले पनि सिस्टर लूलाई दोषी ठहर्‍याइरहेकी थिएँ। त्यो गम्‍भीर समस्या थियो। मलाई यो त्यति सानो कुरा होइन, मैले साँच्‍चै नै आत्मचिन्तन गर्नुपर्छ भन्‍ने लाग्यो। त्यसकारण मैले परमेश्‍वरलाई आफूलाई बुझ्‍न अगुवाइ गर्नुहोस् भन्दै प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा मानव जीवनको सही मार्गमा हिँड्नको लागि, तैँले कम्तीमा पनि इज्‍जतको साथ र मानव रूपमा जिउनुपर्छ; तैँले अरूलाई तेरो भरोसा र आदर गर्ने तुल्याउनुपर्छ र तैँले तिनीहरूलाई तेरो चरित्र र सत्यनिष्ठा गहन छ, तैँले सधैँ आफ्नो वाचा पूरा गर्छस्, र आफ्नो बोलीको मान राख्छस् भन्‍ने अनुभव गराउनुपर्छ। … इज्‍जत भएका मानिसहरूको व्यक्तित्व हुन्छ; कहिलेकहीँ तिनीहरू अरूसँग मिलेर बस्दैनन्, तर तिनीहरू इमानदार हुन्छन्, तिनीहरू झूटा वा छली हुँदैनन्, र अन्तिममा अरू मानिसहरूले पनि तिनीहरूलाई निकै आदर गर्छन्, किनभने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमानदार र इज्‍जतदार हुन्छन्, तिनीहरूसँग सत्यनिष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा लुट्दैनन्, मानिसहरूलाई कुनै समस्या आइपर्दा तिनीहरूले सहयोग गर्छन्, तिनीहरू विवेक र समझ भएका अन्य व्यक्तिहरूसँग मिल्छन्, र तिनीहरूले कहिल्यै पनि अरूको बारेमा मनोमानी आलोचना गर्दैनन्; अरूलाई मूल्याङ्कन गर्दा वा अरूको बारेमा छलफल गर्दा तिनीहरूले ठीक कुरा बोल्छन्, तिनीहरूले आफूलाई थाहा भएको कुरा भन्छन्, र कुनै कुरा थाहा छैन भने तिनीहरूले लापरवाही रूपमा बोल्दैनन् र तिनीहरूले मिठो सुनिने गलत कुरा थप्दैनन्। तिनीहरूले भनेका कुरामा विश्‍वसनीयता हुन्छ भनेर भन्‍न सकिन्छ, र ती कुरालाई सोचविचारमा लिन सकिन्छ। चरित्र भएका मानिसहरूको बोलीवचन र कार्यहरू अझै वास्तविक र मानिसहरूले भरोसा गर्न योग्य हुन्छन्। चरित्रविनाका मानिसहरूलाई कसैले पनि राम्रो ठान्दैन, तिनीहरूको बोलीवचन र कार्यहरूलाई कसैले पनि ध्यान दिँदैन, कसैले पनि तिनीहरूलाई गम्‍भीर रूपमा लिँदैन र कसैले पनि तिनीहरूलाई भरोसा गर्दैन, किनभने तिनीहरूले धेरै झूट बोल्छन् र तिनीहरूले पर्याप्त रूपमा साँचो कुरा बोल्दैनन्; तिनीहरू बेइमान हुन्छन् र अरूसँग अन्तरक्रिया गर्दा र अरूको लागि काम गर्दा छली र झारातिरुवा बन्छन्, अनि कसैले पनि तिनीहरूलाई मन पराउँदैनन्। के तिमीहरूले तिमीहरूको सोचाइअनुसार भरोसा गर्न लायक कसैलाई भेटेका छौ? के तिमीहरूले आफूलाई मानिसहरूको भरोसाको योग्य ठान्छौ? के तिमीहरूले अरूलाई तिमीहरूमाथि भरोसा गर्ने तुल्याउन सक्छौ? यदि कसैले तिमीहरूलाई कुनै व्यक्तिको बारेमा सोध्यो भने, तिमीहरूले मूल्याङ्कन र आलोचना गर्न आफ्‍नो मनलाई भरोसा गर्नु हुँदैन; तिमीहरूले भन्‍ने कुरा तथ्यमा आधारित हुनुपर्छ, यो निष्पक्ष र सही हुनुपर्छ। आफूलाई स्पष्ट थाहा नभएको कुरामा तिमीहरू चुप बस्‍नुपर्छ, र आफूले बुझेको कुरा मात्रै भन्‍नुपर्छ। मानिसहरूप्रति तिमीहरू न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। यसो गर्नु मात्रै जिम्‍मेवारी लिनु हो। यदि तिमीहरूले केही सतही घटनालाई मात्रै अवलोकन गरेका छौ भने, र यदि यो तिमीहरूको आफ्नै मूल्याङ्कन मात्रै हो भने, तिमीहरूले मानिसहरूलाई अन्धाधुन्ध यस्तो-त्यस्तो भनेर भन्‍न मिल्दैन, लाञ्छना लगाउने कुरा त परै जाओस्। तिमीहरूले यसो भन्दै आफ्‍नो कुरा बताउनुपर्छ, ‘मलाई के लाग्छ भने …’ वा ‘मेरो सोचाइ के छ भने…।’ यो अलिक निष्पक्ष किसिमको बोल्‍ने तरिका हो, र यो सुनेर, अर्को व्यक्तिले तिमीहरूले बोलेका कुरा इमानदार छन्, तिमीहरूको मनोवृत्ति निष्पक्ष छ, र तिनीहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन् भन्‍ने सोच्छन्। के तिमीहरूले यसो गर्न सक्छौ भन्‍नेमा तिमीहरू पक्‍का छौ? (छैनौँ।) त्यसो भए, यसले तिमीहरू अरूप्रति पर्याप्त रूपमा इमानदार छैनौ, र तिमीहरूसँग इमानदार हृदय छैन वा तिमीहरूको चालचलनमा इमानदार मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले सीधा, इमानदार मानिसहरूले अरूलाई सही र निष्पक्ष रूपमा मूल्याङ्कन गर्छन्, र जथाभाबी बोल्दैनन् भन्‍ने थाहा पाएँ। तिनीहरूले आफूलाई थाहा भएको कुरा भन्छन्, र त्योभन्दा बढी बोल्दैनन्। तिनीहरूलाई भरोसा गर्न सकिन्छ। तर जो सीधा कुरा गर्दैनन् तिनीहरूको मूल्याङ्कनहरूमा व्यक्तिगत मनसायहरू हुन्छन्, आफूले कल्‍पना गरेको कुरालाई बढाइचढाइ गर्छन्, र आफ्‍नै लक्ष्‍यहरू हासिल गर्नका लागि तथ्यहरू बङ्ग्याउने, कुराहरू उल्ट्याउने पनि गर्छन्। त्यस्तो व्यक्तिले अत्यन्तै धेरै झूट बोल्छ, अत्यन्तै थोरै सत्य बोल्छ, र त्यस्तालाई भरोसा गर्न सकिँदैन। तिनीहरूमा इज्‍जत र सत्यनिष्ठा हुँदैन। मैले सिस्टर लूलाई गरेको मूल्याङ्कनको बारेमा फेरि विचार गरेँ। ती अगुवाले उनी अहङ्कारी र आलोचक छिन् भनेर दोष दिएको सुन्दा, तिनले भनेको कुरा सही हो, होइन भन्‍नेबारेमा मसँग कुनै समझशक्ति थिएन र सिस्टर लूले रिपोर्ट गरेका अगुवाहरू झूटा अगुवा थिए, थिएनन् मलाई थाहा थिएन। म अन्धाधुन्ध अगुवाको पछि लागेँ। सिस्टर लूको बारेमा अगुवाको विचार मेरो अनुभवसँग नमिलेको र मलाई अलिक असहज महसुस भएको भए पनि, मलाई उनले ममा समझशक्तिको कमी छ भन्नेछिन् र उनमा मेरो नराम्रो छवि बस्‍नेछ, अनि मैले थप महत्त्वपूर्ण कर्तव्यहरू प्राप्त गर्नेछैन भन्‍ने कुराको डर थियो। त्यसैले मैले सिस्टर लूको बारेमा नकारात्मक मूल्याङ्कन लेखेँ। म उनलाई नभएको दोष लगाउँदै तथ्यहरूविपरीत गइरहेकी थिएँ। त्यो त उनलाई बहिस्कार र दमन गर्नु थियो, र त्यस कार्यले मेरो अत्यन्तै दुष्ट स्वभावलाई प्रकट गर्‍यो। सिस्टर लूले झूटा अगुवाहरूको हैसियतको बन्धनमा नपरी तिनीहरूको बारेमा रिपोर्ट र खुलासा गर्नु धर्मी कार्य थियो। म उनलाई साथ दिन असफल भएकी मात्र होइन, मैले त उनलाई अगुवासँगै दोषसमेत दिएँ, असल कुरालाई खराब कुरा भनेँ। मैले साँच्‍चै नै सिस्टर लूलाई चोट पुर्‍याएकी थिएँ। त्यो त दुष्ट कार्य गर्नु, शैतानको सहयोगी बन्‍नु थियो। म पछुतो र ग्‍लानिले भरिएँ। मलाई मैले साँच्‍चै नै सिस्टर लूमाथि अन्याय गरेकी छु र म उनलाई अनुहारमा हेर्न सक्दिनँ भन्‍ने लाग्यो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, ममा मानवताको कमी छ। मैले सिस्टर लूलाई दमन गर्ने र दोष दिने कार्यमा झूटा अगुवालाई पछ्याएँ। मैले तपाईंको अघि अपराध गरेकी छु। हे परमेश्‍वर, म गलत थिएँ, म पश्‍चात्ताप गर्न चाहन्छु…।”

मैले परमेश्‍वरका थप केही वचनहरू पढेँ जसले मलाई आफ्‍नो बारेमा अझै राम्ररी बुझ्‍न सहायता गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैली पछ्याउँदै व्यवहार गर्छन्, परिस्थितिअनुसार आफ्‍नो चाल बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै बोल्दैनन्, इमानदार रूपमा कहिल्यै कुरा गर्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका वास्तविक परमेश्‍वरलाई छल गर्ने र फुस्ल्याउने प्रयास गर्छन्। तिनीहरूसँग परमेश्‍वरप्रति अलिकति पनि डर हुँदैन। तिनीहरू परमेश्‍वरसँग हृदय खोलेर कुरा गर्न र कुनै पनि वास्तविक कुरा बोल्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू घुमौरो र अप्रत्यक्ष पारामा कुरा गरेर चिप्‍ले घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा लहरोजस्तै बेरिएर माथि चढिरहेका हुन्छन्। जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरूले तुरुन्तै तिनीहरू कति असल छन्, र तिनीहरूमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ त्यसको बारेमा कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू ती मानिसहरू कति खराब र दुष्ट छन्, ती मानिसहरूले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएका छन् त्यसबारेमा तुरुन्तै कुरा गर्न थाल्छन्। जब तेँले कुनै कुराको सत्यता जान्‍न चाहन्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरू तैँले नै कुनै निष्कर्ष निकाल्ने प्रतीक्षा गर्दै, तेरा वचनहरूमा अर्थ छन् कि भनेर ध्यान दिएर सुन्दै, र तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्दै कुरा घुमाउँदै बस्छन्, ताकि तिनीहरूले तैँले जे सुन्‍न चाहन्छस् त्यै कुरा भन्‍न सकून्। तिनीहरूले भन्‍ने हरेक कुरा चापलुसी, चम्चागिरी, र चाकडी हुन्छ; तिनीहरूको मुखबाट सत्यताको एउटै शब्‍द निस्कँदैन(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु १०: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग दुई)”)। “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा असुद्ध हुन्छन् र ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, र यसमा तिनीहरूका अव्यक्त, अकथनीय चालहरू, विधिहरू, उद्देश्यहरू र षडयन्त्रहरू लुकेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूका बोलीवचन र कार्यहरू अत्यन्तै धेरै दूषित र झूटहरूद्वारा अत्यन्तै धेरै भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि, तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही, र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। तिनीहरू बेइमान भएका हुनाले तिनीहरूका मन अत्यन्तै जटिल, षडयन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीहरूले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, हो लाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो, तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै र हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि, तिनीहरूले आफ्नो भाषाले यसरी कामकुरालाई हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूद्वारा धोका र छलमा पर्छन्, अनि त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एक लाई एक, दुई लाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै आफूले के सोचिरहेको छु भनेर भन्दैनन्, अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा खोतल्नै नसकिने हुन्छ, अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि यो पर्दा हट्यो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे, र तिनीहरूलाई समाते भने—कुरो घुमाउनलाई तिनीहरूले तुरुन्तै अर्को झूट् सिर्जान गर्छन्। … यी मानिसहरूको अरूसित अन्तरक्रिया गर्ने सिद्धान्त र विधि यही हो, झूटहरूद्वारा मानिसहरूलाई छल्ने उपाय। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झूटहरूले भरिएका हुन्छन् अनि तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू धोकामा पर्दै जान्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा सुधार प्राप्त गर्न सक्दैनन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। ख्रीष्टविरोधीहरूले आफ्‍ना बोलीवचन र व्यवहारमा सधैँ छल लुकाएर राखेका हुन्छन्, तिनीहरूले अरूलाई छल गर्दै कुनै आधारविना घुमाउरो कुरा गर्छन् भन्‍ने कुरालाई परमेश्‍वरका वचनहरूले प्रकट गरेका छन्। ख्रीष्‍टसँगको सम्पर्कमा समेत, तिनीहरूले अवस्था के छ भनेर हेर्ने, चापलुसी गर्ने गर्दै सङ्केतहरूको खोजी गरिरहेका हुन्छन्। तिनीहरूमा केही पनि सच्‍चा हुँदैन। तिनीहरू साँच्‍चै छली र दुष्ट हुन्छन्। म कहिल्यै पनि ख्रीष्‍टको प्रत्यक्ष सम्पर्कमा आएकी थिइनँ, तर म पनि अवस्था के छ बुझ्‍ने, कस्तो वातावरण सिर्जना भएको छ हेर्ने, अनि अरूले के चाहन्छन् त्यसको अनुमान गर्ने गर्थेँ। मैले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरिरहेकी हुन्थेँ। केही महिना पहिले, अगुवाले सिस्टर लूप्रतिको मेरो मूल्याङ्कन मागिन्, र त्यो बेला तिनीसँग उनको विषयमा नकारात्मक विचार छ भन्‍ने मलाई लागेन, तर तिनले सायद उनलाई पदोन्‍नति गर्न चाहन्छिन् भन्‍ने मलाई लागेको थियो। त्यसकारण मैले समस्याहरूको सामना गर्दा सिस्टर लूले सत्यता खोजी र स्वीकार गर्न सक्छिन्, उनमा धार्मिकताको बोध छ र मण्डलीका हितहरूलाई साथ दिन सक्छिन् भनी बताएँ। मैले आधारभूत रूपमा उनका सबल पक्षहरूका बारेमा बताएँ, र उनको कमजोरीको बारेमा त्यति उल्‍लेख गरिनँ। तर जब अगुवाले सिस्टर लूको आलोचना गरिन् र उनको व्यवहारको बारेमा जानकारी बटुलिन्, मसँग सिस्टर लूको बारेमा उनको भन्दा फरक अनुभव छ भन्‍ने मैले थाहा पाएँ, तर उनले ममा समझशक्तिको कमी छ भनी भन्‍नेछिन् भन्‍ने डर लाग्यो, त्यसकारण मैले उनको कुरामा सहमति जनाउँदै, सिस्टर लू अहङ्कारी र आलोचक छिन् र उनलाई सत्यता स्वीकार गर्न कठिन हुन्छ भनेर भनेँ। मैले उही व्यक्तिको मूल्याङ्कन गरिरहेकी थिएँ, तर मैले उनको बारेमा पूरै फरक कुरा भनिरहेकी थिएँ। मैले अलिकति पनि निष्पक्ष व्यवहार गरिरहेकी थिइनँ। मलाई प्रभु येशूले हामीलाई दिनुभएको निर्देशनको बारेमा याद आयो, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्(मत्ती ५:३७)। तर जब मैले उनको बारेमा लेखिरहेकी थिएँ, मैले अगुवामा राम्रो छवि प्रस्तुत गर्न चाहँदै, उनले के चाहन्छिन् भनेर अनुमान गरिरहेकी थिएँ, त्यसकारण मैले अवस्थालाई सरल रूपमा नहेरी मेरा विचारहरू घुमाइरहेकी थिएँ। मैले भनेको र गरेको सबै कुरा व्यक्तिगत मनसायले कलङ्कित थिए, र त्यसमा एउटै पनि सच्‍चा, साँचो शब्‍द थिएन। म साँच्‍चै नै धूर्त र दुष्ट थिएँ। म मेरा बोलीवचन र व्यवहारमा सिद्धान्तहीन थिएँ, र म भरोसा वा विश्‍वासको योग्य थिइनँ। मैले मेरो इज्‍जत पूरै गुमाएकी थिएँ। मलाई आफूप्रति झन्-झन् घृणा लाग्‍न थाल्यो। पहिले झूटा अगुवा र ख्रीष्टविरोधीहरूले नाम र हैसियतको खातिर अरूलाई हेपेको देख्दा, मलाई निकै रिस उठ्थ्यो। मैले यस्तै प्रकारको दुष्टता गर्नेछु भनेर कहिल्यै पनि कल्‍पना गरेकी थिइनँ। मैले मेरा आफ्‍नै लक्ष्यहरूको खातिर, मेरा हितहरू रक्षा गर्न मेरा शब्‍दहरू बङ्ग्याएँ। मैले असल व्यक्तिलाई खराब व्यक्तिको रूपमा प्रस्तुत गरेँ। मैले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने सीधा व्यक्तिलाई आलोचक व्यक्तिको रूपमा चित्रण गरेँ। मैले असल व्यक्तिलाई दुर्व्यवहार गर्ने र दोषी ठहर्‍याउने व्यक्ति बनेँ। म सिस्टर लूलाई दोष दिँदै र दमन गर्दै झूटा अगुवाको पक्षमा उभिरहेकी थिएँ। मेरो हृदयमा दुर्भावना छ भन्‍ने मलाई थाहा भयो।

एकपटक भेलाको बेला, अगुवाले सिस्टर लूको मूल्याङ्कन सङ्कलन गर्न चाहेको कुरा सुनेकी छु भनी एक सिस्टरले भनिन्, अगुवाले चित्रण गरे जस्तो सिस्टर लू छैनन् भन्‍ने उनलाई लागेको थियो। उनले अन्धाधुन्ध अगुवाको कुरा सुनिनन्, तर अगुवाले भनेको र गरेको कुरालाई छुट्याउन सकिन्। उनले उच्‍च तहका अगुवाहरूलाई यसबारेमा बताइन् र सिस्टर लूमाथि गरिएको व्यवहारलाई रोकिन्। परमेश्‍वरले हाम्रो लागि उस्तै वातावरण तय गर्नुभएको थियो। ती सिस्टरले सत्यताको खोजी गर्न सकिन्, परमेश्‍वरप्रति तिनमा आदरको हृदय थियो र तिनी स्पष्ट कुरा गर्ने व्यक्ति थिइन्। उनले सिस्टर लूको पक्षमा उभिएर परमेश्‍वरको घरका हितहरूलाई साथ दिइन्, तर मैले म झूटा अगुवाका झूट र चलाकीहरूमा परेर शैतानको नोकरले झैँ काम गर्दै उनको बेलगाम दुष्टतालाई प्रोत्साहन दिएँ। यो कुरा देखेपछि मलाई साँच्‍चै आफूप्रति घृणा जाग्यो। त्यसपछि सिस्टर लूको बारेमा अगुवाले भनेको कुरा मैले किन त्यति सजिलै पत्याएँ भन्‍नेबारेमा सोचेँ। आलोचक हुनु भनेको के हो त्यसको सत्यता मैले साँचो रूपमा नबुझेको हुनाले त्यसो भएको थियो। वास्तवमा, कुनै व्यक्ति आलोचक हो कि होइन भनेर बुझ्ने मुख्य उपाय भनेको तिनीहरूको अभिप्राय के हो, तिनीहरूले रिपोर्ट गर्ने समस्याहरू वास्तविक समस्या हुन् कि होइनन् भनेर जान्‍नु हो। यदि कसैले सिद्धान्तहरूको विरुद्धमा जाने र वास्तविक काम नगर्ने झूटा अगुवाहरूको बारेमा पत्ता लगाउँछ र तिनीहरूको बारेमा स्पष्ट हुन सत्यता बुझ्‍ने अरू मानिसहरूसँग सङ्गति गर्छ, र तिनीहरूको अभिप्राय मण्डलीको कामलाई साथ दिनु हो भने, त्यो आलोचक हुनु होइन, तर सोझो व्यवहार गर्नु हो। आलोचक मानिसहरूको आफ्‍नै मनसाय हुन्छ, तिनीहरूले तथ्यहरूलाई बङ्ग्याउँछन्, तिनीहरूले मानिसहरूलाई निन्दा र आक्रमण गर्ने गर्छन्। तिनीहरूले अरूको दोष कोट्याउने वा तीललाई पहाड बनाउने गर्छन्, अनि अलिअलि भ्रष्टता देखाउने मानिसहरूलाई उच्छृङ्खलपूर्ण तरिकाले आलोचना गर्छन्। त्यो सबै दमन गर्ने र दोष दिने कार्य हो। त्यो आलोचक बन्‍नु हो। आलोचक बन्‍नु भनेको के हो भन्नेबारेमा मसँग साँचो बुझाइ थिएन, र मैले गलत रूपमा के विश्‍वास गरेकी थिएँ भने यदि हामीले अगुवाका समस्याहरू पत्ता लगायौं भने, हामीले तिनीहरूलाई सीधै बताउनुपर्छ कि उच्‍च तहको अगुवालाई यसको बारेमा रिपोर्ट दिनुपर्छ, तर यदि हामीले दाजुभाइ-दिदीबहिनीहरूसँग गुप्त रूपमा कुरा गर्‍यौँ भने, त्यो आलोचक बन्‍नु हो। मैले प्रसङ्ग के हो वा यसको पछाडि के छ भन्‍ने कुरालाई हेरिरहेकी थिइनँ। जब मैले सिस्टर लूले अरूसँग गुप्त रूपमा बोलेको देखेँ, अनि केही अगुवाहरूले वास्तविक काम गरिरहेका छैनन्, तिनीहरू झूटा अगुवा हुन् भनेर भनेको सुनेँ, मलाई तिनी आलोचक भइरहेकी छिन् भन्‍ने लाग्यो, त्यसकारण मैले उनलाई जथाभाबी दोष दिएँ। उनले भनेको कुरा वास्तविक हो, होइन भन्‍ने कुरालाई मैले कुनै ध्यान दिइनँ। तर उनले सत्य रिपोर्ट गरिरहेकी छिन् भन्‍ने कुरा तथ्यहरूले देखाए। उनले सत्यताको बारेमा बोल्‍न र परमेश्‍वरको घरको हित रक्षा गर्ने आँट गरिन्। त्यो त धार्मिकतालाई साथ दिनु हो, आलोचक हुनु होइन। यो सबै बाहिरबाट लगभग उस्तै देखिन्छन्, तर जब मनसायलाई हेरिन्छ, तब यो निकै फरक हुन सक्छ। सत्यताका सिद्धान्तहरू र परमेश्‍वरका वचनहरूका आधारमा हेरेर, साथै अवस्थाको प्रसङ्गलाई हेरेर अघि बढ्यौं भने, हामीले मानिसहरूलाई बदनाम गर्ने सम्‍भावना कम हुन्छ।

मैले यो मेरो कमजोरीबाट केही पाठ सिकेँ। भविष्यका मूल्याङ्कनहरूमा, मैले आदरको हृदय कायम राख्‍नुपर्छ, अरूको कुरा अन्धाधुन्ध सुन्‍ने गर्नु हुँदैन। मैले परमेश्‍वरका वचनहरूअनुसार अवस्थाहरूको सार पत्ता लगाउन तथ्यहरूलाई पछ्याउनुपर्छ। यदि मैले सत्यताको आधारमा परिस्थितिलाई स्पष्ट रूपमा देख्‍न सकिनँ भने, मैले कम्तीमा पनि स्पष्ट कुरा बोल्‍नुपर्छ, कसैलाई राम्रो देखाउने र कुरा बङ्ग्याउने होइन। परमेश्‍वरका वचनहरूले भन्छन्, “परमेश्‍वरको मार्ग पछ्याओ: ‘परमेश्‍वरको मार्ग’ ले केलाई जनाउँछ? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू भावनामा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सबैभन्दा मुख्य कुरा, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु भनेको परमेश्‍वरको मार्गलाई पछ्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुकै एक हिस्सा हो? के यो परमेश्‍वरको मार्ग पछ्याउनु हो? (हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिप्रति तपाईंको विचार के छ? के तिनले मण्डलीको कामको लागि जिम्‍मेवारी लिन्छन्?’ र तैँले जवाफ दिन्छस्, ‘तिनी निकै सिपालु छन्, तिनले मैलेभन्दा बढी जिम्‍मेवारी लिन्छन्, तिनको क्षमता मेरोभन्दा राम्रो छ, र तिनको मानवता पनि असल नै छ, तिनी परिपक्‍व र स्थिर छन्।’ तर तैँले आफ्‍नो हृदयमा के सोचिरहेको हुन्छस्? तैँले के सोचिरहेको हुन्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, भरोसा गर्न लायक छैन, र कपटी, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, ‘मैले साँचो कुरा भन्‍नु हुँदैन, मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, तैँले तिनीहरूको बारेमा राम्रा कुराहरू गर्ने निर्णय गर्छस्, र तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन, यो सबै झूट र ढोँग मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तैँले शैतानको मार्ग, भूतहरूको मार्ग लिएको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्‍ने मार्ग हो। तैँले कुनै अर्को व्यक्तिसँग बोल्‍ने भए पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ, र तेरो हृदय नियालिरहनुभएको, तेरो हृदय जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानिसहरूको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्। तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्। परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ, परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, तेरो हृदयमा के-कस्ता तुच्छ युक्तिहरू छन्, के-कस्ता धोकेबाज तरिका र के-कस्ता कपटी विचारहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। अनि, तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने देखेर, तँप्रतिको परमेश्‍वरको दृष्टिकोण के हुन्छ, तँप्रतिको उहाँको मूल्याङ्कन के हुन्छ? यसमा, तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलेको छैनस् भन्‍ने हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा महत्वपूर्ण भाग सत्यताको अभ्यास गर्नु हो”)। परमेश्‍वरका वचनहरूबाट मैले आइपर्ने सबै कुरा हामी परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने गर्न सक्छौं कि सक्दैनौं भन्‍ने कुरामा आधारित हुन्छ भन्‍ने थाहा पाएँ। परमेश्‍वरले हाम्रो मन र मस्तिष्क देख्‍नुहुन्छ। हामीले सोच्‍ने र गर्ने सबै कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहुन्छ। हामीले मूल्याङ्कनहरूमा आदरको हृदय कायम राख्‍नुपर्छ, भावनाहरूमा बग्‍ने वा आफ्‍ना मनसायहरूको नियन्त्रणमा रहनु हँदैन, तथ्यहरूको आधारमा सत्यताको खोजी गर्नुपर्छ, आफूलाई थाहा भएको कुरा मात्रै भन्‍नुपर्छ, र परमेश्‍वरका मापदण्डहरूअनुसार इमानदार बन्‍नुपर्छ। यदि हामीले कसैको व्यवहारको प्रकृतिलाई स्पष्ट रूपमा देख्‍न वा सिद्धान्तहरूलाई पत्ता लगाउन सक्दैनौं भने, हामीले अझै बढी खोजी र प्रार्थना गर्नुपर्छ, ताकि हामीले कसैलाई मूर्खले झैँ आलोचना गर्ने वा अन्धाधुन्ध उपनाम भिराउने नगरौं। र मैले मण्डलीको सफाइ गर्नेबारेमा सोचेँ। व्यक्तिगत मनसायहरू राखेमा, तथ्यहरूअनुसार काम गर्ने वा अरूलाई निष्पक्ष मूल्याङ्कन गर्ने नगरेमा यसले अरूलाई भ्रममा पार्न सक्छ। गम्‍भीर अवस्थामा, गल्तीले कोही निष्कासित भई, तिनीहरूमाथि अन्याय हुन्छ। वा भावनाको आधारमा बोलेर, गैर-विश्‍वासी, दुष्कर्मीको रक्षा हुन्छ हटाइनुपर्ने व्यक्ति मण्डलीमै रहन पुग्छ र उसले थप हानि गर्न सक्छ। कर्तव्य परिवर्तन गर्ने विषयमा पनि यही सिद्धान्त लागू हुन्छ। यदि मूल्याङ्कन गलत छ भने, यसले असल व्यक्तिहरू बढुवा र वृद्धि-विकास हुनबाट रोक्‍न सक्छ, खराब मानिसहरू पदमा रहिरहन सक्छन्। यसले अरूको जीवन प्रवेशलाई मात्रै रोक्दैन, परमेश्‍वरको घरको काममा पनि हानि गर्छ। मूल्याङ्कनहरू निरन्तर देखिने व्यवहारमा आधारित हुनुपर्छ भन्‍ने कुरा पनि मैले थाहा पाएँ। कसैलाई निष्पक्ष तरिकाले मूल्याङ्कन गर्नलाई, हामीले तिनीहरूको कमजोरी वा भ्रष्टता प्रकट गरेको क्षणमा नै अल्झिएर तिनीहरूलाई नराम्रो नाम दिने गर्नु हुँदैन। यो कुरा बुझेपछि, मैले आफैलाई के कुरा स्मरण गराउन थालेँ भने, मूल्याङ्कनहरूमा मैले परमेश्‍वरको आदर गर्ने हृदय कायम राख्‍नुपर्छ, यसलाई तथ्यगत र निष्पक्ष ढङ्गले कुनै थपघट नगरी गर्नुपर्छ।

पछि, मैले कामका आवश्यकताहरूको कारण सिस्टर लूको बारेमा अर्को मूल्याङ्कन लेख्‍नुपरेको थियो। मलाई थाहा थियो, परमेश्‍वरले मलाई जाँच्‍न, मैले सत्यता अभ्यास गरी सिद्धान्तहरूमा प्रवेश गर्न, उनको निष्पक्ष मूल्याङ्कन गर्न सक्छु, सक्दिनँ भनेर यो अवस्था ल्याउनुभएको थियो। त्यसकारण मैले परमेश्‍वरको अघि मेरो हृदय शान्त पारेँ र प्रार्थना गरेँ, मेरो हृदयभित्रको कुरा हेरेर मलाई इमानदार हुन सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ। मैले कालोलाई कालो भन्‍नुपर्थ्यो, मेरो भावना वा मनसायहरूको पछि लाग्‍नु हुँदैनथियो। मैले आफूलाई थाहा भएको कुरा भन्‍नुपर्थ्यो, र आफूलाई थाहा छैन भने थाहा छैन भन्‍नुपर्थ्यो। मैले यो अभ्यास गर्दा मलाई निकै सहज महसुस भयो। सिस्टर लूको यो मूल्याङ्कनले मलाई मेरो आफ्‍नै धूर्त, कुटिल भ्रष्ट स्वभाव देख्‍न, मैले भित्री मनसाय राखी बोलेँ र व्यवहार गरेँ भने थाहै नपाई मानिसहरूलाई चोट दिँदै र आलोचना गर्दै दुष्ट काम गर्नेछु भनी देख्‍न मदत गर्‍यो। मैले के पनि देखेँ भने परमेश्‍वरका वचनहरूअनुसार जिउनु, परमेश्‍वरले हामीलाई सिकाउनुभएअनुसार गर्नु, इमानदार व्यक्ति बन्‍नु भनेको साँचो मानव रूपमा जिउने, परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने एउटै तरिका हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

मेरो प्रतिरक्षात्मक सोचाइ र गलतबुझाइलाई परमेश्‍वरको वचनले हटायो

सन् २०१४ मा, म मण्डली अगुवा हुँदा, म आफ्‍नो कर्तव्यमा तुलनात्मक रूपमा प्रभावकारी नै थिएँ, त्यसकारण मलाई मैले सत्यतालाई बुझेकी छु जस्तो...

छोराको घातक रोगको सामना गर्दा

लियाङ शिन्, चीन दुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको परिणाम चिन्ताजनक रहेको,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्