महामारीको बेला बिरामी भएपछिका मननहरू

25 अप्रिल 2023

सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेपछि तुरुन्तै, मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने उहाँले आखिरी दिनहरूको आफ्‍नो काम समाप्त गर्न लाग्दा, असललाई इनाम र दुष्टलाई दण्ड दिन हामीमाथि विपत्तिहरू आउनेछन्। दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्नेहरू विपत्तिमा नष्ट हुनेछन्, परमेश्‍वरका वचनहरूको न्याय स्विकार्ने र शुद्धहरूलाई परमेश्‍वरले विपत्तिहरूमा रक्षा गरेर जोगाउनुहुनेछ र अनन्त आशिषहरू प्राप्त गर्न उहाँको राज्यमा लैजानुहुनेछ। त्यो बेला मलाई लाग्यो, राज्यमा लगिनु र अनन्त जीवन पाउनु ठूलो आशिष हुनेछ, र मैले यो जीवनमा एकपटक आउने अवसरलाई कदर गर्नुपर्छ, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र परमेश्‍वरका लागि परिश्रम गर्नुपर्छ ताकि परमेश्‍वरको काम समाप्त हुँदा, म रहन योग्य हुन सकूँ। त्यसकारण, मैले जागिर छोडेर सुसमाचार प्रचार गर्न थालेँ। विपत्तिहरू बढिरहेको देखेर यस्तो नाजुक समयमा म अझै धेरै सुकर्म तयार पार्न र राज्य सुसमाचार फैलाउने काममा योगदान दिन अझै धेरै मानिसहरूलाई परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार बाँड्न चाहन्थेँ। त्यसकारण, मैले सुसमाचार सुनाउनमा आफ्‍नो सारा शक्ति लगाएँ हरेक दिन सबेरैदेखि रातीसम्‍म व्यस्त हुन्थेँ। मेरो जिल्‍लामा धेरैभन्दा धेरैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरे, र एकपछि अर्को मण्डली स्थापना भयो। यी परिणामहरू देख्दा मलाई आफैसँग निकै खुसी लाग्यो। मलाई सुसमाचार कामप्रतिको मेरो योगदान अदेखा हुन सक्दैन भन्‍ने लाग्यो। अनि संसारलाई तहसनहस पार्दै महामारी फैलिँदा, र सङ्क्रमणको सङ्ख्या बढिरहँदा, मलाई पूर्णरूपमा ढुक्‍क लाग्यो। मलाई लाग्यो, मैले आफ्‍नो कर्तव्यमा परमेश्‍वरको लागि कडा मेहनत गरेकीले, यो जति फैलिए पनि, मलाई असर गर्नेछैन। तर, अप्रत्याशितरूपमा महामारीको भाइरस ममा सङ्क्रमण भएपछि मेरा धारणा र कल्‍पनाहरू चकनाचूर भए। यसले मलाई आफ्‍नो वर्षौँको विश्‍वासमा रहेका मनसाय र अशुद्धपनलाई मनन गर्ने तुल्यायो।

सन् २०२१ को मेमा एक दिन, मलाई अचानक खोकी लाग्‍न थाल्यो, त्यसपछि ज्वरो आयो र पूरै शरीर कमजोर भएको महसुस भयो। सुरुमा त मलाई चिसो लागेको होला भनेर त्यति वास्ता गरिनँ, तर एक हप्तासम्‍म पनि लक्षणहरू हराएनन्। एउटी सिस्टरले मेरा लक्षणहरू साँच्‍चै कोरोना भइरसका जस्तै छन् भन्‍ने देखिन् र मलाई सङ्क्रमण भयो भनेर चिन्तित भइन्, त्यसकारण मलाई जँचाउन अस्पताल जान सुझाव दिइन्। मैले यस कुरालाई त्यति ध्यान दिइनँ। मलाई लाग्यो, मैले दिनभरि काम गर्ने गरेकी छु, र आफ्‍नो कर्तव्यको लागि कष्ट भोगेकी र मूल्य चुकाएकी छु, साथै यसमा निकै राम्रा परिणामहरू हासिल गरेकी छु। त्यसबाहेक मैले दुष्कर्म गरेर मण्डलीको काममा बाधा दिएकी छैनँ, त्यसकारण मलाई कसरी भाइरस लाग्‍न सक्छ? तर परीक्षणका नतिजाहरू मेरो अपेक्षाभन्दा ठिक उल्टा निस्के। मेरो नतिजा पजेटिभ आयो। मलाई कसरी भाइरस लाग्यो भन्‍ने कुरा बुझ्‍न नसकेर म अलमल्ल हुँदै घर आएँ। मैले वर्षौँदेखि कर्तव्य पूरा गर्दै आइरहेकी छु, र पनि किन परमेश्‍वरले मेरो रक्षा गर्नुभएन? ब्रदर-सिस्टरहरूले थाहा पाए भने मलाई के सोच्‍नेछन्? के तिनीहरूले मैले परमेश्‍वरलाई चिढ्याउने कुनै काम गरेर मलाई दण्ड भएको हो भनी सोच्‍नेछन्? तर मैले दुष्कर्म गरेकी र मण्डलीको काममा बाधा दिएकी छु भन्‍ने मलाई लागेको थिएन। अघिल्‍लो वर्ष महामारी सुरु भएपछि विश्‍वभरि लाखौँ मानिसहरू मरिसकेका छन्। अब मलाई पनि सङ्क्रमण भएकोले के म पनि मर्नेछु? परमेश्‍वरको काम समाप्त हुनलागेको बेला म मरेँ भने, के मेरो वर्षौंको परिश्रम व्यर्थ हुनेछैन र? त्यसपछि त भविष्यको राज्यमा मैले आशिषहरूको कुनै हिस्‍सा पाउनेछैनँ। यसबारे जति सोचेँ म त्यति नै व्याकुल भएँ, र यस परिस्थिति कसरी पार गर्ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई पुकार्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंले मलाई यो भाइरस लाग्‍न दिनुभएको छ—पक्‍कै पनि यसमा तपाईंको असल इच्छा हुनुपर्छ। तपाईंबाट गलत कुरा हुन सक्दैन, तसर्थ मैले पक्‍कै पनि कुनै तरिकाले तपाईंविरुद्ध विद्रोह गरेर तपाईंको विरोध गरेकी हुनुपर्छ। तर मैले तपाईंको स्वभावलाई कसरी चिढ्याएँ मलाई थाहा छैन। मैले कसरी गल्ती गरेँ त्यो जान्‍न मलाई अन्तर्दृष्टि दिनुहोस्। म पश्‍चात्ताप गर्न तयार छु।” मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “बिरामीपनको अनुभव कसरी गरिनुपर्छ? तँ प्रार्थना गर्न र परमेश्‍वरको इच्‍छालाई बुझ्‍नको लागि उहाँको अघि आउनुपर्छ, र तैँले के गलत गरिस्, र तँभित्र तैँले समाधान गर्न बाँकी रहेका के-कस्ता भ्रष्टताहरू छन् सो जाँच्‍नुपर्छ। तैँले आफ्‍ना भ्रष्ट स्वभावहरूलाई पीडाविना समाधान गर्न सक्दैनस्। मानिसहरू पीडाद्वारा नै खारिनुपर्छ; त्यसपछि मात्रै तिनीहरू छाडा हुन छोड्नेछन् र सधैँ परमेश्‍वरको अघि जिउनेछन्। कष्टको सामना गर्दा, मानिसहरूले सधैँ प्रार्थना गर्छन्। तिनीहरूले भोजन, वस्‍त्र, वा सुखचैनको बारेमा विचार गर्दैनन्; तिनीहरूको हृदयमा, तिनीहरूले सधैँ प्रार्थना गर्नेछन्, र यो समय अवधिमा तिनीहरूले कुनै गलत काम पो गरे कि सो जाँच गर्नेछन्। धेरैजसो समय, जब तिमीहरू गम्‍भीर बिमार वा कुनै असामान्य रोगले थला पर्छौ, र यसले तँलाई धेरै पीडा दिन्छ, तब यी कुराहरू संयोगवश भएका हुँदैनन्; चाहे तँ बिरामी भएको होस् वा स्वस्थ रहेको होस्, यो सबैको पछाडि परमेश्‍वरको इच्‍छा हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्‍वरका वचनहरूले मलाई समयमा नै अन्तर्दृष्टि दिएर सङ्क्रमण त्यतिकै भएको होइन, यो पूर्णरूपमा परमेश्‍वरको नियम र बन्दोबस्तद्वारा भएको हो भन्‍ने देखाए। मैले परमेश्‍वरको इच्‍छा खोजेर आत्मचिन्तन गर्नुपर्थ्यो। जेसुकै भए पनि मैले परमेश्‍वरलाई गुनासो गर्नु र दोष दिनु हुँदैनथ्यो। त्यसपछिका धेरै दिनसम्‍म म घरमा क्वारेन्टाइनमा बसेँ, र मैले आफूले प्रकट गरेको कुनै पनि भ्रष्टताबारे ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ, आफूलाई चिनेँ, र परमेश्‍वरको वचनमा अभ्यास र प्रवेशको मार्ग भेट्टाएँ। साथै, शारीरिकरूपमा मलाई जस्तो महसुस भए पनि, मैले अनलाइन सुसमाचार सुनाइरहेँ। केही दिनपछि, मलाई निकै सन्चो भयो, मलाई खोकी पनि त्यति लागेन, मेरो तापक्रम सामान्य थियो, अनि मलाई बलतागत पनि राम्ररी फर्केको थियो। मलाई निक्‍कै खुसी लाग्यो, र परमेश्‍वरले मेरो आज्ञापालन र पश्‍चात्ताप देख्‍नुभएको छ, त्यसैले उहाँले मलाई हेरचाह गर्नुभएको छ भन्‍ने सोचेँ। त्यो सोचेपछि, मलाई गाह्रो हुन अलिक छोड्यो। तर भोलिपल्‍ट मलाई अचानक छाती कसिएको र असहज महसुस भयो र खोकी लाग्य-लाग्यै भयो। त्यसपछि मलाई हनहन ज्वरो आयो र म पूर्णरूपमा कमजोर भएँ। म आत्तिनसम्म आत्तिएँ। मेरो रोग पत्ता लागेदेखि नै, मैले परमेश्‍वरलाई दोष दिएकी थिइनँ र आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ। म कसरी अझै बिरामी हुन सकेँ? यसको कुनै औषधी थिएन, तसर्थ परमेश्‍वरले मलाई बचाउनुभएन भने, म पक्‍कै मर्नेथिएँ। मृत्युबारे सोच्दा मलाई साह्रै डर लाग्यो—म यसको अघि झुक्‍नु हुँदैनथ्यो। मैले परमेश्‍वरलाई पछ्याएको १० वर्ष भएको थियो, मैले घर र जागिर छोडेर आफ्‍नो कर्तव्यमा रातदिन काम गरेकी थिएँ। मैले धेरै कष्ट भोगेकी र निकै मूल्य चुकाएकी थिएँ। के परमेश्‍वरले यी सब याद गर्नुभएको छैन? मरेँ भने, मैले कहिल्यै राज्यको सुन्दरता देख्‍नेथिइनँ वा यसका आशिषहरू पाउनेथिइनँ। यसबारे जति सोचेँ म त्यति नै निराश भएँ। मैले अझै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ, तर ममा कुनै भित्री जाँगर थिएन, र धेरै काम गर्नु पर्दा मलाई निकै झोँक चल्थ्यो। म हतार-हतार काम गर्थेँ ताकि केही आराम गर्न पाऊँ। पहिले म बिहानदेखि रातीसम्म आफ्‍नो कर्तव्यमा खटिन्थेँ, र परमेश्‍वरले मलाई रक्षा गर्नुहुनेछ भन्‍ने सोच्थेँ, तर अहिले परमेश्‍वरले त्यसो गरिरहनुभएको थिएन, मैले आफ्नै भलाइबारे सोचेर आफ्‍नो स्वास्थ्यको ख्याल गर्नुपर्थ्यो। धेरै तनाव र थकित हुनु मेरो स्वास्थ्यको लागि राम्रो हुँदैनथ्यो। भेलाहरूमा, अरू ब्रदर-सिस्टरहरूसँग धेरै बलताकत हुन्थ्यो र निरन्तर सङ्गति गर्न सक्थे। तर म भने, बोल्‍नेबित्तिकै खोक्‍न थाल्थेँ, र परमेश्‍वरका वचन पढ्दा स्याँस्याँ हुन्थेँ। म निकै व्याकुल भएँ र परमेश्‍वरसँग तर्क नगरी बस्‍नै सकिनँ: “हे परमेश्‍वर, म सामान्यतया आफ्‍नो कर्तव्यमा निकै लगनशील छु, अनि गम्‍भीर र जिम्‍मेवार छु। अरू कतिले मैले जत्तिको कर्तव्य पूरा गर्न सक्दैनन्। अरू सबै स्वस्थ छन् र आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन्, त्यसोभए किन मलाई चाहिँ भाइरस लाग्यो त? यदि यो तपाईंबाटको परीक्षा हो भने, मण्डलीमा मैले भन्दा धेरै सत्यता पछ्याउनेहरू अरू छन् त, किन तिनीहरूले यो सामना गरिरहेका छैनन्? यदि यो तपाईंको दण्ड हो भने, मैले कुनै दुष्कर्म गरेकी वा मण्डलीको काममा बाधा दिएकी छैनँ, वा तपाईंको स्वभावलाई चिढ्याएकी छैनँ। हे परमेश्‍वर, म आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु र अहिलेको मेरो कर्तव्य नै मलाई मन पर्छ। मैले यो पर्याप्त गरेकी छैनँ—म जिइरहनु र आफ्‍नो कर्तव्य पूरा गरिहन चाहन्छु। हे परमेश्‍वर, अहिले म महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकी छु र अझै तपाईंको सेवा गर्न सक्छु। बिन्ती छ, मलाई रक्षा गर्नुहोस् ताकि म जिउन र तपाईंको सेवा गर्न सकूँ।” यसबारे सोच्दा, मेरो मनमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड स्पष्टरूपमा आयो: “सृष्टि गरिएको प्राणीको रूपमा तैँले कुन आधारमा परमेश्‍वरसँग मागरू राख्छस्? मानिसहरू परमेश्‍वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्‍वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले उचित वा न्यायसंगत हुँदैन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। … परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छ। यो कुरा मानिसहरूले बुझ्न नसक्ने भए पनि, तिनीहरूले आफ्नै इच्छामा फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्‍ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू विचार गर्दा, उहाँले मलाई आमने-सामने बसेर हप्काइरहनुभएको छ जस्तो लाग्यो र हरेक वचन सिधै हृदयमा पुग्यो। के मैले परमेश्‍वरलाई अन्यायी र अधर्मी बनेको दोष दिइरहेकी थिइनँ र? के मैले परमेश्‍वरसामु मोलतोल गरिरहेकी, बहाना बनाइरहेकी, र सर्तहरू राखिरहेकी थिइनँ र? मैले आफ्नो कर्तव्यमा भोगेको वर्षौँको कष्टभोग र गरेको समर्पणताद्वारा केही उपलब्धि हासिल गरेकी थिएँ, त्यसकारण मलाई परमेश्‍वरले विपत्तिमा पर्नबाट रक्षा गर्नुपर्छ, र त्यो उहाँको धार्मिकता हुनेछ भन्‍ने लागेको थियो। तर त्यो त वास्तवमा पूर्णरूपमा मेरा धारणा र कल्‍पनाहरू मात्रै रहेछन्, ती सत्यताअनुरूप पटक्‍कै छैन रहेछन्। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र म सृष्टि गरिएको प्राणी हुँ। मैले पाउने सबै कुरा परमेश्‍वरबाट आउँछन्, र मेरो जीवन पनि परमेश्‍वरले नै दिनुभएको हो। परमेश्‍वरले मेरो भाग्य कसरी मिलाउनुहुन्छ र उहाँले मलाई कति जिउन दिनुहुन्छ त्यो सबै उहाँकै हातमा छ। सृष्टि गरिएको प्राणीको रूपमा, मैले त्यसलाई मान्‍नुपर्छ र स्विकार्नुपर्छ। परमेश्‍वरसँग तर्क गर्ने र सर्तहरू राख्ने कुन अधिकार मसँग थियो र? तर मैले यतिका वर्ष विश्‍वास गरेकी र परमेश्‍वरको सत्यताका धेरै मलजल र भरणपोषण पाएकी थिएँ, र पनि म कृतज्ञ थिइनँ। अहिले मलाई भाइरस लागेको र मृत्युको खतरामा परेको हुनाले, मैले परमेश्‍वरसँग तर्क गरिरहेकी थिएँ र उहाँको विरोध गरिरहेकी थिएँ, र उहाँलाई अन्यायी भएको दोष लगाइरहेकी थिएँ। मेरो विवेक र समझ कहाँ गयो? यसबारे जति सोचेँ मलाई त्यति नै ग्‍लानि र लाज भयो, र परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गरेँ। “हे परमेश्‍वर, म अति अविवेकी रहेछु! मलाई तपाईंले सृष्टि गर्नुभयो; म सृष्टि गरिएको प्राणी हुँ। म तपाईंका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। त्यो सही र स्वभाविक कुरा हो। तपाईंले मलाई यो भाइरस लाग्न दिनुभएको छ, जसमा मृत्युको जोखिम छ। मलाई मर्न मन थिएन, मैले आज्ञापालन गर्न चाहिनँ, तसर्थ मैले तपाईंसँग तर्क गरेँ, तपाईंलाई उचितरूपमा काम नगरेको दोष लगाएँ, र मलाई जिउन दिनुहोस् भनेर तपाईंलाई अनुरोध गरेँ। ममा साँच्‍चै आज्ञापालन वा समझ रहेनछ। म कति विद्रोही रहेछु! हे परमेश्‍वर, म आत्मचिन्तन गरेर तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु।”

त्यसपछि केही दिनसम्‍म, मैले परमेश्‍वरलाई गरेका गुनासा र उहाँप्रतिका मेरा गलतबुझाइहरूबारे सोच्दैपिच्छे मलाई साह्रै नरमाइलो लाग्थ्यो। विशेष गरी मेरो अवस्था झन् गम्‍भीर भएपछि मैले कसरी परमेश्‍वरको विरोध गरेकी थिएँ, उहाँसँग तर्क गरेकी थिएँ, नकारात्मक बनेर सुस्त बनेकी थिएँ, आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ र लसकमसक गरेकी थिएँ भनी सोच्दा, मलाई झनै ग्‍लानि भयो र अप्ठ्यारो लाग्यो। मैले आफू बिरामी नहुँदा र सङ्कष्ट नआउँदा, परमेश्‍वरको धार्मिकताबारे, र सृष्टि गरिएका प्राणीहरू सृष्टिका बन्दोबस्तहरूका प्रभुप्रति समर्पित हुनुपर्छ भनेर घोषणा गरिरहेकी थिएँ। मैले बिरामी हुँदा किन यति धेरै विद्रोहीपन र प्रतिरोध देखाएँ? मैले मेरो भक्तिको समयमा परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ। “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। “ख्रीष्टविरोधीहरूको विचारमा, कुनै व्यक्तिले कर्तव्य पूरा गर्न, मूल्य चुकाउन, र केही कठिनाइ भोग्‍न सक्छ भने, उसलाई परमेश्‍वरले आशिष दिनुपर्छ। त्यसकारण, तिनीहरूले केही समय मण्डलीको काम गरिसकेपछि, मण्डलीको लागि आफूले गरेका कामहरू, परमेश्‍वरको घरका निम्ति आफूले दिएका योगदानहरू, र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफूले गरेका कुराहरूबारे गहिरिएर सोचविचार गर्न थाल्छन्। तिनीहरू यो सब कुरा मनमा जकडेर राख्छन् र ती कार्यका लागि परमेश्‍वरबाट के-कस्ता अनुग्रह र आशिषहरू पाइन्छ भनेर हेर्न कुरेर बस्छन्, ताकि तिनीहरूले गरिरहेको काम सार्थक छ कि छैन भनेर अझ राम्ररी निर्धारित गर्न सकून्। किन तिनीहरू यस्ता कुराहरूमा लिप्त हुन्छन्? तिनीहरूले हृदयको गहिराइमा के कुरा खोजिरहेका हुन्छन्? परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको उद्देश्य के हो? सुरुदेखि नै, तिनीहरूले आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गरेका छन्। अनि तिनीहरूले प्रवचनहरू सुनेका जति नै वर्ष भए पनि, वा परमेश्‍वरका जति नै वचनहरू खाए र पिए पनि, जति धेरै धर्मसिद्धान्तहरू बुझे पनि, आशिषहरू प्राप्त गर्ने आफ्नो इच्‍छा र अभिप्राय कहिल्यै त्याग्‍नेछैनन्। यदि तैँले तिनीहरूलाई सृष्टि गरिएको कर्तव्यनिष्ठ प्राणी बन्‍न र परमेश्‍वरका नियम र बन्दोबस्तहरू स्वीकार गर्न अनुरोध गरिस् भने, तिनीहरू भन्‍नेछन्, ‘त्यसको मसँग कुनै लिनुदिनु छैन, मैले प्रयत्न गर्नुपर्ने कुरा त्यो होइन। मैले प्रयत्न गर्नुपर्ने कुरा त यो हो, मैले लडाइ लडिसकेपछि, मैले आवश्यक प्रयास गरिसकेपछि र आवश्यक कठिनाइ भोगिसकेपछि—मैले यो परमेश्‍वरका मापदण्डहरूअनुसार गरिसकेपछि—परमेश्‍वरले मलाई इनाम दिनुपर्छ र मलाई रहन दिनुपर्छ, अनि राज्यमा मुकुट दिनुपर्छ, र परमेश्‍वरका मानिसहरूको भन्दा उच्‍च पद दिनुपर्छ। कम्तीमा पनि म दुई-तीनवटा सहरको इन्चार्ज हुनुपर्छ।’ ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी यही कुराको वास्ता गर्छन्। परमेश्‍वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरूको उत्प्रेरणा र इच्‍छाहरू हटाउन सकिँदैन; तिनीहरू पावलजस्तै हुन्। के त्यस्तो खुला लेनदेनले दुष्ट र भयानक स्वभावलाई प्रश्रय दिँदैन र? धर्मका कतिपय मानिसहरू भन्छन्, ‘हाम्रो पुस्ताले परमेश्‍वरलाई क्रूसको बाटोमा पछ्याउँछ। किनभने परमेश्‍वरले हामीलाई चुन्‍नुभएको छ, त्यसकारण हामी आशिषका हकदार भएका छौँ। हामीले कष्ट भोगेर मूल्य चुकाएका छौँ, र हामीले तितो कचौराबाट दाखमद्य पिएका छौँ। हामीमध्ये कतिपयले पक्राउ परेर जेल सजाय पाएका छौँ। यो सब कठिनाइ भोगेपछि, यति धेरै प्रवचन सुनेपछि, अनि बाइबलबारे धेरै कुरा सिकेपछि, कुनै दिन हामीले आशिष्‌ पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग बहस गर्नेछौँ।’ के तिमीहरूले कहिल्यै यस्तो कुनै कुरा सुनेका छौ? तिनीहरू तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग बहस गर्नेछौँ भनी भन्छन्—कस्तो साहस? के यो सुन्दा मात्रै पनि तिमीहरूलाई डर लाग्दैन र? कसले परमेश्‍वरसँग बहस गर्ने प्रयास गर्न साहस गर्छ? … के त्यस्ता मानिसहरू प्रधान स्‍वर्गदूत होइनन् र? के तिनीहरू शैतान होइनन् र? तैँले चाहेको जोकोहीसँग बहस गर्न सक्छस्, तर परमेश्‍वरसँग होइन। तैँले त्यसो गर्नु हुँदैन, र यस्तो सोचाइ राख्नु हुँदैन। आशिषहरू परमेश्‍वरबाट आउँछन्, र उहाँ जसलाई चाहनुहुन्छ उसैलाई ती दिन सक्‍नुहुन्छ। तैँले आशिष पाउने मापदण्डहरू पूरा नै गरिस् भने पनि, परमेश्‍वरले तँलाई दिनुभएन भने, तैँले उहाँसँग बहस गर्ने प्रयास गर्नु हुँदैन। सारा ब्रह्माण्ड र सारा मानवजाति परमेश्‍वरको हातमा छन्, परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ, तँ त महत्त्वहीन क्षुद्र मानव मात्रै होस्—तैपनि तँ अझै परमेश्‍वरसँग बहस गर्ने आँट गर्छस्। तँ कसरी यति दुस्साहसी बन्‍न सक्छस्? बरु तैँले आफू को रहेछ भनेर ऐनामा हेर्। यदि तैँले सृष्टिकर्ताविरुद्ध कोहोलो मच्चाउने र बहस गर्ने आँट गरिस् भने, के तैँले आफ्‍नै मृत्यु खोजिरहेको हुँदैनस् र? ‘कुनै दिन हामीले आशिष्‌ पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग बहस गर्नेछौँ।’ यी शब्‍दहरूद्वारा तैँले परमेश्‍वरविरुद्ध खुलेआम कोहोलो मच्चाइरहेको छस्। तेस्रो स्वर्ग कस्तो ठाउँ हो? यो परमेश्‍वरको वासस्थान हो। तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग बहस गर्ने प्रयास गर्ने आँट गर्नु भनेको दरबारमा जबरजस्ती घुस्‍नुसरह हो। के कुरा यही होइन र? कतिपय मानिसहरू भन्छन्, ‘यसको ख्रीष्टविरोधीहरूसँग के सम्‍बन्ध छ?’ यसको ठूलो सम्‍बन्ध छ, किनभने तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग बहस गर्न चाहने मानिसहरू ख्रीष्टविरोधी हुन्; ख्रीष्टविरोधीहरूले मात्रै यस्ता शब्‍दहरू बोल्छन्, र त्यस्ता शब्‍दहरू ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा हुन्छन्, अनि यो ख्रीष्टविरोधीहरूको दुष्टता हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात (भाग दुई))। परमेश्‍वरले यो प्रकट गर्नुहुँदा म लज्‍जित भएँ र मैले आफ्‍नो कर्तव्यमा वर्षौँदेखि कष्ट भोग्‍नु र मूल्य चुकाउनुको कारण त परमेश्‍वरको इच्‍छालाई ध्यान दिन र उहाँको प्रेमको ऋण तिर्न सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नका लागि रहेनछ। यो त परमेश्‍वरका आशिषहरू पाउन, राज्यमा प्रवेश गरेर अनन्त आशिषहरू लिनका लागि पो रहेछ। मैले कर्तव्य निर्वाहलाई विपत्तिबाट उम्‍कने र परमेश्‍वरको आशिष पाउने, परमेश्‍वरसँग लेनदेन गर्ने माध्यम र पूँजीको रूपमा लिएकी रहेछु। त्यसैले मैले त आफूले कति गरेकी छु, कति जना मानिसलाई विश्‍वासमा ल्याएकी छु, कति कष्ट भोगेकी छु, कति मूल्य चुकाएकी छु भनेर भित्रभित्र हिसाबकिताब गरिरहेकी रहेछु। म जति गन्ती गर्थेँ, मलाई त्यति नै आफूले सराहनीय सेवा दिएकी छु, र विपत्तिमा परमेश्‍वरको सुरक्षा पाएर बच्‍न योग्य छु भन्‍ने लाग्थ्यो। मलाई अचानक भाइरस लाग्ला भन्‍ने कहिल्यै लागेन। मैले परमेश्‍वरलाई दोष दिएँ र गलत बुझेँ, बिरामी हुँदा परमेश्‍वरमा कसरी समर्पित हुने भनेर खोजी गरिनँ। बरु, परमेश्‍वरको अनुमोदन पाउन के गर्न सक्छु भनेर विचार गरेँ, ताकि परमेश्‍वरको सुरक्षा पाएर म चाँडै निको हुन सकूँ। त्यसैले, निको हुनुको सट्टा मेरो अवस्था झनै बिग्रेको देख्दा म परमेश्‍वरप्रति हतोत्साहित भएँ। मलाई रक्षा नगरेकोमा, मसँग अन्यायी भएकोमा मैले उहाँलाई दोष दिएँ। तथ्यहरूले के देखाए भने मेरो विश्‍वास र कर्तव्य आशिष पाउनका लागि मात्रै थिए, र म परमेश्‍वरप्रति सच्चा थिइनँ। मैले त आशिषहरू पाउने आफ्नो उद्देश्य हासिल गर्न उहाँलाई प्रयोग मात्रै गरिरहेकी थिएँ, उहाँसँग लेनदेन गरिरहेकी र उहाँलाई धोका दिइरहेकी थिएँ। म साह्रै स्वार्थी र धूर्त थिएँ! अनुग्रहको युगमा पावल प्रभुको सुसमाचार सुनाउन धेरै कष्ट भोग्दै र ठूलो मूल्य चुकाउँदै युरोपका सबै ठाउँ गए, तर तिनले दिएका सबै कुरा स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउनका लागि मात्रै थिए। तिनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। त्यसको वास्तविक अर्थ परमेश्‍वरले तिनलाई मुकुट दिनुभएन भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने थियो। धार्मिक संसारका मानिसहरू पावलका यी शब्दहरूबाट अति प्रभावित छन्। प्रभुको नाममा काम गर्ने र कष्ट भोग्‍ने सबै स्वर्ग जान र आशिष पाउन सो गर्छन्। तिनीहरूले आशिष पाएनन् भने परमेश्‍वरसँग तर्क गर्छन्। म तिनीहरूजस्तै थिएँ, थिइनँ त? त्यसपछि मलाई डर लाग्यो। मैले यस्तो स्वभाव प्रकट गर्छु भनेर कहिल्यै कल्‍पना गरेकी थिइनँ। यदि त्यो परिस्थितिले मलाई खुलासा नगरेको भए, मैले आफूमा यस्तो गम्भीर ख्रीष्टविरोधी स्वभाव रहेछ भनेर कहिल्यै देख्‍नेथिइनँ। मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्‍ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्‍वासले काम गरेको चाहन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको स्वभाव धर्मी, पवित्र, र कुनै अपराध नसहने किसिमको छ भन्‍ने महसुस गर्न सकेँ। परमेश्‍वर मानवजातिलाई मुक्ति दिन काम गर्नुहुन्छ, र उहाँ मानिसको इमानदारिता र भक्ति चाहनुहुन्छ। मानिसहरूको प्रयासमा स्वार्थ, अशुद्धता, मोलतोल, वा छल छन् भने परमेश्‍वरले ती स्वीकार नगर्नुहुने मात्र होइन, तर तीदेखि दिगमिगाउनु र घिनाउनुहुन्छ, र ती कुराको निन्दा गर्नुहुन्छ। ठिक पावलजस्तै, जसलाई अन्तिममा परमेश्‍वरले आशिष नदिनुभएको मात्र होइन, तर दण्डित हुन नरकमा पठाउनुभयो। मेरो कर्तव्यमा लेनदेनको अशुद्धता जसरी आयो त्यसलाई पनि परमेश्‍वर पक्‍कै घिनाउनुहुन्छ र दिगमिगाउनुहुन्छ। म बिरामी भएको घटनाले परमेश्‍वरको धर्मी र पवित्र स्वभावलाई पूर्णतः प्रकट गऱ्यो। त्यसबाहेक, मैले यो रोगलाई हृदयदेखि पूर्णतया स्विकारेँ र मानिलिएँ।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब तँ सृजिएको प्राणीको हैसियतले सृष्टिकर्ताको सामु आउँछस्, तब तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने उचित कुरा हो, र यो तेरो काँधमा भएको जिम्मेवारी हो। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्‍ने आधारमा, सृष्टिकर्ताले मानवजातिको माझमा अझ महान् काम गर्नुभएको छ। उहाँले मानवजातिमा कामको झन् गहन चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुभएको छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सकेका छन् अनि यसद्वारा आफ्ना भ्रष्ट स्वभावहरू फ्याँकिदिन र शुद्ध हुन पाएका छन्। यसरी तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र खराबीलाई त्याग्न, पूर्ण मुक्ति हासिल गर्न अनि उप्रान्त शैतानका कुनै कष्टहरूको वशमा नपर्न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुभएको प्रभाव यही हो। त्यसैकारण, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वरले तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँले तँलाई तैँले सृष्टि गरिएको प्राणीको हैसियतले आफ्नो कर्तव्य पूरा गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँले त तँलाई शुद्ध हुने र मुक्ति पाउने, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन आउने मौका प्रदान गर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो मन छोए। कर्तव्य पूरा गर्नु भनेको सृष्टि गरिएको प्राणीले पन्छाउन नमिल्‍ने जिम्‍मेवारी र दायित्व हो, र यो सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन गर्ने विशेष मार्ग हो। हाम्रा कर्तव्यहरूमा, परमेश्‍वरले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्न सबै किसिमका परिस्थिति तय गर्नुहुन्छ, त्यसपछि उहाँले आफ्ना वचनको न्याय र प्रकाश अनि अनुशासनद्वारा, हामीलाई आफ्नो भ्रष्टता बुझ्‍न र परिवर्तन हुन दिनुहुन्छ, उप्रान्त शैतानद्वारा भ्रष्ट र हानि हुन दिनुहुन्न। यो परमेश्‍वरको असल इच्‍छा हो। मैले आफ्‍नो वर्षौँको कर्तव्य निर्वाहमा, परमेश्‍वरले तय गर्नुभएका परिस्थितिहरूमा धेरै भ्रष्टता प्रकट गरेँ। मैले आफ्‍नो भ्रष्ट स्वभावलाई केही बुझेँ, त्यसपछि आफूलाई घृणा गर्न, पश्‍चात्ताप गरेर परिवर्तन हुन, र अलिकति मानव स्वरूप लिन थालेँ। मैले आफ्‍नो कर्तव्यबाट धेरै कुरा प्राप्त गरेकी थिएँ, तर पनि म अझै कृतज्ञ थिइनँ। बरु, मैले आफ्ना कर्तव्यलाई आशिषहरू पाउने माध्यम, विपत्तिहरू पार गर्ने पासको रूपमा प्रयोग गरेँ, र परमेश्‍वरलाई धोका दिन र प्रयोग गर्न सकिने व्यक्तिको रूपमा लिएँ। म घृणित व्यक्ति थिएँ! परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तर मैले ती कदर गरिनँ, र कसरी आशिष पाउने, विपत्तिबाट उम्‍कने, राज्यमा प्रवेश गरेर इनाम पाउने भन्‍नेबारे मात्रै विचार गरेँ। म साँच्‍चै दुष्ट रहेछु। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आशिषको लागि आफ्‍नो कर्तव्य पूरा गर्न छोड्छु, तर उहाँको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्यमा सत्यता खोज्छु भनेर शपथ खाएँ। मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। “यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञापालन—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्‍वरप्रतिको आज्ञापालनको वास्तविकतामा जिउँनुपर्छ। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ,’ के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, ‘परमेश्‍वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौं-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्‍वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्‍वरलाई चोट पुर्‍याउने किसिमका थिए। मैले भविष्यमा परमेश्‍वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्‍वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्‍म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्‍ने कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहोस्। म परमेश्‍वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्‍याउने वा निराशा तुल्याउने काम गर्नेछैन।’ यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, ‘यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु र समर्पित हुनेछु। म बिरामी हुँदा कसरी समर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?’ जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्‍वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्‍म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्‍वरलाई गनगन नगरी बस्‍न सक्छस्? (सक्छु।) अहिले ‘सक्छु’ भनेर भन्‍नु सजिलो छ, तर जब तँमा साँच्‍चै यो कुरा आइपर्छ त्यो बेला ‘सक्छु’ भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, ‘म परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?’ सृष्टि गरिएको प्राणी भनेको के हो? के सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी परमेश्‍वरका वचनहरू सुन्‍नु मात्रै हो? होइन—यो त परमेश्‍वरका वचनहरूमा जिउनु हो। परमेश्‍वरले हामीलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तँ यी कुराहरूमा जिउन सक्, र तैँले उहाँको लागि गवाही दिन सक्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्‍मेवारी र दायित्व हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू नियमित पढ्दा र सत्यको गहन मनन गर्दा मात्रै अघि बढ्ने बाटो भेटिन्छ)। मलाई परमेश्‍वरका वचनहरू अति हृदयस्पर्शी लाग्यो। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र म सृष्टि गरिएको प्राणी हुँ, त्यसैले मेरो भाग्य उहाँकै हातमा छ। उहाँले मलाई त्यो रोग लाग्न दिनुभयो, त्यसैले म बाँचे पनि मरे पनि, परमेश्‍वरका नियम र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने आधारभूत समझ त्यही हो। अनि कर्तव्य भनेको सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने कुरा हो। कुनै पनि बेला, जेसुकै भए पनि, मैले एक मुठी सास रहुञ्जेल, आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। मैले वर्षौँदेखि परमेश्‍वरको धेरै प्रेम पाएकी थिएँ, तर म सत्यताको पछि नलागेकी हुनाले, सधैँ उहाँविरुद्ध विद्रोह गर्थेँ र उहाँलाई चोट दिन्थेँ—म परमेश्‍वरप्रति धेरै ऋणी भएकी थिएँ। अब जीवित रहुञ्जेल, मैले परमेश्‍वरको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछिका दिनहरूमा, मैले हरेक दिन परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने भनेर सोचेँ। मसँग सहकार्य गर्ने सिस्टर यस कर्तव्यमा नयाँ थिइन् र सुसमाचार सुनाउने धेरै सिद्धान्तहरू उनलाई थाहा थिएन, त्यसैले धेरै समस्या देखा परे। म उनलाई अनलाइन सहयोग र मार्गदर्शन दिइरहेकी हुन्थेँ। म प्रायजसो मनमनै परमेश्‍वरको वचन पढ्ने र परमेश्‍वरको प्रशंसाका भजनहरू गाउने पनि गर्थेँ। मलाई खोकी लागिरहन्थ्यो र ज्वरो आउँथ्यो, तर म रोगले गर्दा पछि हटिनँ, र मर्छु कि भनेर सोच्‍न छोडेँ। मलाई मेरो भाग्य परमेश्‍वरकै हातमा छ, र म कति जिउँछु त्यो परमेश्‍वरकै नियमले निर्धारित गर्छ भन्‍ने थाहा थियो। उहाँले मलाई जिउन दिनुभएसम्म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र उहाँको प्रेमको ऋण तिर्न प्रयास गर्नेथिएँ, र उहाँले मेरो मृत्यु तोक्नुभएको दिनसम्म म उहाँमा समर्पित हुनेथिएँ र कहिल्यै गुनासो गर्नेथिइनँ।

एक साँझ मेरो खोकी रोकिएन, मेरो घाँटीमा पुरै खकार जमिएको थियो, मलाई हनहन ज्वरो पनि आएको थियो र मेरो पुरै जीउ दुखिरहेको थियो। ओछ्यानमा पल्टिँदा यति अप्ठ्यारो हुन्थ्यो कि सुत्‍न नसकेर कोल्टे फेरिरहन्थेँ। सोचेँ: “के म मर्न लागेकी हुँ? निदाएँ भने, फेरि कहिल्यै बिउँझिएला के त?” मृत्युबारे सोच्दा म साह्रै व्याकुल भएँ, र भविष्यमा सायद मैले परमेश्‍वरका वचन पढ्ने मौका पाउनेछैनँ भन्‍ने सोच्दा म एकोहोरो रोइरहेँ। म उठेँ, कम्प्युटर खोलेँ, र परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “हरेकको आयु परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। चिकित्साको हिसाबमा कुनै रोग निको नहुने देखिन सक्छ, तर परमेश्‍वरको नजरमा, यदि तेरो जीवन अझै चल्नैपर्छ र तेरो समय आएको छैन भने, तैँले चाहेर पनि मर्न सक्दैनस्। यदि परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, घातक मानिने रोगले पनि तेरो मृत्यु हुनेछैन—परमेश्‍वरले तँलाई लैजानुहुनेछैन। यदि तैँले प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस्, वा आफ्‍नो रोगको उपचार गर्दैनस्, वा तैँले आफ्‍नो उपचार रोकिस् नै भने पनि, तँ मर्नेछैनस्। विशेष गरी परमेश्‍वरबाट आज्ञा पाएका मानिसहरूको हकमा यो झनै लागू हुन्छ: तिनीहरूको मिसन पूरा हुन बाँकी नै हुँदा, तिनीहरूलाई जुनै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्दै मर्दैनन्; तिनीहरू मिसन पूर्तिको अन्तिम क्षणसम्‍म जिउनैपर्छ। के तँ यस कुरामा विश्‍वास गर्छस्? … तथ्य कुरा के हो भने तैँले आफ्‍नो रोग निको होस् र तँ मर्नु नपरोस् भनेर मोलतोल गरे पनि, वा यसको पछाडि तेरो अरू कुनै अभिप्राय वा उद्देश्य भए पनि, परमेश्‍वरको दृष्टिकोणमा, यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्छस् र तँ अझै पनि प्रयोग गरिन लायक छस्, यदि परमेश्‍वरले तँलाई प्रयोग गरिनुपर्छ भनेर निर्णय गर्नुभएको छ भने, तँ मर्नेछैनस्। तैँले चाहेर पनि मर्न सक्नेछैनस्। तर तैँले समस्या ल्याइस्, र अनेक किसिमका दुष्कर्महरू गरिस्, र परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने, तँ चाँडै मर्नेछस्; तेरो आयु घटाइनेछ। परमेश्‍वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै निर्धारित गर्नुभएको थियो। तिनीहरूले परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू पालना गर्न सक्छन् भने, तिनीहरूलाई रोग लागे पनि नलागे पनि, वा तिनीहरूको स्वास्थ्य राम्रो भए पनि नभए पनि, तिनीहरू परमेश्‍वरले निर्धारित गर्नुभएको समयभरि बाँच्‍नेछन्। के तँ यस कुरामा विश्‍वास गर्छस्?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरको वचन पढेर उहाँको प्रेम र कृपा महसुस गर्न सकेँ, र मेरो हृदय साँच्चै आनन्दित भयो। मैले परमेश्‍वरको इच्‍छा अझ धेरै बुझेँ। म आखिरी दिनहरूमा जन्मन सक्नु, परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य पूरा गर्न सक्नु परमेश्‍वरले निर्धारित गर्नुभएको थियो र यो परमेश्‍वरले मलाई दिनुभएको मिशन पनि थियो। मेरो मिशन पूरा भएको हो भने, बिरामी नै नभए पनि म मर्नुपर्थ्यो। नत्र, मलाई मार्ने रोग लागे पनि म मर्नेथिइनँ। मलाई केले पर्खिरहेको छ म जान्दिनँ, तर मैले आफ्‍नो जीवन परमेश्‍वरको हातमा दिनुपर्छ र उहाँका बन्दोबस्तहरू पछ्याउनुपर्छ भन्‍ने मलाई थाहा थियो। म कुनै पनि बेला मर्न सक्छु भन्‍ने सोच्दा, मलाई फेरि परमेश्‍वरसँग हृदयदेखि बोल्‍न निकै मन लाग्यो। मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई तपाईंको घरमा आउन छनौट गर्नुभएकोमा र तपाईंको सोर सुन्न दिनुभएकोमा धन्यवाद छ। तपाईंका वचनहरूका यति धेरै मलजल र भरणपोषण पाएर मैले निकै धेरै सत्यता सिकेकी छु र व्यक्ति बन्‍नुका सिद्धान्तहरू जानेकी छु। मेरो जीवन व्यर्थ भएन भन्‍ने मलाई लाग्छ। यति हो, म अत्यन्तै गहनरूपमा भ्रष्ट छु, र मैले सधैँ तपाईंविरुद्ध विद्रोह गरिरहेकी र तपाईंलाई चोट दिइरहेकी हुन्छु। म राम्ररी सत्यताको पछि लागेकी छैनँ वा तपाईंको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य इमानदारीसाथ पूरा गरेकी छैनँ। मैले तपाईंलाई अलिकति सान्त्वना कहिल्यै दिएकी पनि छैनँ। म तपाईंप्रति अत्यन्तै धेरै ऋणी छु। मैले तपाईंको प्रेमको ऋण तिर्ने थप मौका पाउन सक्नेछु कि सक्नेछैनँ थाहा छैन। बाँचेँ भने, म साँच्‍चै सत्यताको पछि लाग्न र तपाईंलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु…।”

त्यस रात, म थाहै नपाई निदाएछु। भोलिपल्‍ट बिउँझनेबित्तिकै, मलाई पुरै ढुक्‍क लाग्यो मानौँ मलाई कहिल्यै रोग लागेकै थिएन। मलाई घाँटी सञ्चो लाग्यो, खकार जमेको थिएन। मैले हतार-हतार मेरो तापक्रम नापेँ र यो सामान्य भएको रहेछ। म निकै भावुक भएँ, र यो मप्रति परमेश्‍वरको कृपा र सुरक्षा हो भन्‍ने मलाई थाहा भयो। मलाई कोरोना भाइरस लाग्दा मैले धेरै विद्रोहीपन र प्रतिरोध देखाएकी भए पनि, परमेश्‍वरले मलाई मेरा अपराधअनुसार व्यवहार गर्नुभएन, तर अझै पनि मेरो रक्षा गर्नुभयो। मैले आँसु थाम्‍नै सकिनँ, र परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाएँ।

दुई महिना बित्यो र मेरो तापक्रम सधैँ सामान्य रह्यो। भाइरस फेरि लागेन, र थाहै नपाई म पूर्णरूपमा निको भएँ। यो महामारीमा धेरै जना मरे, तर परमेश्‍वरको अचम्‍मको वास्ता र मुक्तिकै कारण म बाँचेँ। यो भाइरस लागेको घटनाले मेरो विश्‍वास र कर्तव्यप्रति मेरो मनसाय र अशुद्धताहरू उदाङ्गो पाऱ्यो, जसले गर्दा मैले परमेश्‍वरसँग आशिषको लागि लेनदेन गर्ने मेरो नीच मनसाय देखेँ र मैले आफूलाई केही बुझेँ र मलाई आफूप्रति घृणा जाग्यो। साथै, मैले परमेश्‍वरको पवित्र, र धर्मी स्वभावबारे केही व्यावहारिक अनुभव र बुझाइ प्राप्त गरेँ, र म परमेश्‍वरका नियम र बन्दोबस्तहरूमा समर्पित भएँ। मैले यो परिस्थितिबाट केही शोधन र पीडा अनुभव गरेँ, तर यति धेरै कुरा पाएँ कि ती कुरा सहज परिस्थितिमा प्राप्त गर्न सक्दिनथेँ। मैले यो अनुभवबाट प्राप्त गरेको कुराबारे सोच्दा, म परमेश्‍वरप्रतिको कृतज्ञता र प्रशंसाले भरिन्छु। म परमेश्‍वरलाई उहाँको प्रेम र मुक्तिको लागि धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्