अब म डरले लुरुक्क पर्दिनँ

25 अप्रिल 2023

मैले सेप्टेम्‍बर २ मा एउटी सिस्टर पक्राउ परेकी सुनेँ। त्यो दिन म अगुवाको घर जाँदै थिएँ, तर घरमा कोही थिएन। अगुवाको घर छेउमा बस्‍ने सिस्टर जियाओ होङले मलाई देखेछिन्। उनले मलाई आफ्‍नो घरमा बोलाएर घबराउँदै भनिन्, “नराम्रो घटना घट्यो। झोउ लिङलाई प्रहरीले लग्यो। यो दुई दिनअघिको घटना हो र हामीले केही खबर सुनेका छैनौँ। अगुवा सबैलाई यो कुरा बताउन गएकी छिन्—उनी चाँडै आउनुपर्ने हो।” यो खबर सुनेपछि, मलाई घबराहट पनि भयो, डर पनि लाग्यो। झोउ लिङ पहिले अगुवा थिइन्, र प्रहरीले उनलाई कस्तो यातना दिनेछ मलाई थाहा थिएन। के उनी यातना सहन नसकेर यहूदा बन्‍नेछिन्? म भर्खरै उनको घर गएकी थिएँ। यदि प्रहरीले निगरानी गरिरहेको थियो भने, तिनीहरूले मलाई देखे होलान्। म भागिरहेकी थिएँ त्यसैले पहिला म यहाँ सरेँ। ठूलो रातो अजिङ्गरले वर्षौँदेखि मलाई लगातर खेदो गरिरहेको छ। तिनीहरूले मलाई भेटे भने अवश्य अझ घोर यातना दिनेछन्। तिनीहरूले मलाई कुटेर मार्छन् होला। मलाई साह्रै डर लाग्यो र त्यो ठाउँबाट जतिसक्दो चाँडो भाग्‍न मन लाग्यो, तर मैले अगुवासँग तत्कालै छलफल गर्नुपर्ने केही कुरा थिए, र म भाग्दा त्यो ढिलाइ हुनेथ्यो। म अगुवा चाँडै फर्केर आउने आशा गरिरहेकी थिएँ। केही समयपछि नै अगुवा जियाओ होङको घरमा आइन्, त्यसपछि हामीले छलफल सकेपछि उनी घर फर्किन्। दुई-तीन मिनेटपछि नै, जियाओ होङ आत्तिँदै फर्केर आइन् र भनिन्, “अगुवा जान लागेकी थिइन्, सात-आठ जना प्रहरीले उनलाई लिएर गए। तिनीहरूको कारमा झोउ लिङ पनि थिइन्। उनले पक्‍कै पनि अगुवा कहाँ बस्छन् भनेर तिनीहरूलाई भनेकी हुनुपर्छ। जे गरे पनि, बाहिर नजानुहोस्।” मेरो मुटु फुट्लाजस्तै गरी ढुकढुक भयो। जियाओ होङ र अगुवा सडक वारीपारी बस्थे। प्रहरी नजिकै हुन सक्थ्यो। तिनीहरूले मलाई पक्रे भने, म पक्‍कै उम्‍कन पाउनेथिइनँ। मलाई झ्यालबाहिर हेर्ने पनि आँट आएन, र मैले परमेश्‍वरलाई निरन्तर पुकारिरहेँ, र पुलिसहरू चाँडै जाऊन् भनेर कामना गरेँ। लगभग एक घण्टापछि प्रहरीको कार गयो र मेरो मुटु बल्‍ल शान्त भयो। तर केही दिनपहिले झोउ लिङ मेरो घरमा आएकी थिइन्—उनले मलाई पनि धोका दिइन् भने के गर्ने? मेरो घर अब सुरक्षित थिएन। म कहाँ जानुपर्ने? त्यहाँ ब्रदर-सिस्टरहरूको फोन नम्‍बरहरू लेखिएको एउटा नोटबुक थियो जसलाई मैले जतिसक्दो चाँडो हटाइहाल्नुपर्थ्यो। मेरो नजिकै अरू तीन जना आश्रयदाताका घरहरू थिए। तिनीहरूलाई तुरुन्तै सूचित गरिएन भने, तिनीहरू पक्राउ पर्न सक्थे र अरू धेरै ब्रदर-सिस्टरहरू पनि मुछिनेथिए। तर म त्यही बेला फर्केर गएकी भए, तिनीहरूको हातमा पर्न सक्थेँ। मैले सहरबाहिर कर्तव्य पूरा गरेको वर्षौँ भएको थियो, र म प्रहरीले पक्राउ गर्ने प्रमुख निसाना बनेकी थिएँ। म पक्राउ परेँ भने मैले झनै घोर यातना भोग्‍नेथिएँ। अहँ हुँदैन, मैले भागेर तुरुन्तै सुरक्षित स्थान खोज्‍नुपर्थ्यो। यी विचारहरूले मलाई अशान्त पारे, र मैले परमेश्‍वरलाई निरन्तर पुकारिरहेकी थिएँ। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, मेरो क्रोध तँमाथि खनिनेछ, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक दुःख भोग्नेछस्। तैँले सबै भोग्नुपर्छ; तँसँग भएका सबै कुराहरू मेरो लागि त्याग्न र मलाई पछ्याउनको लागि तैँले गर्नसक्ने सबै कुरा गर्न, र तेरो सबै कुरा अर्पण गर्न तँ तयार हुनुपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो असल अभिप्रायबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। ले तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। मलाई मेरो कद सानो छ, र ममा साँचो विश्‍वासको कमी छ भन्‍ने थाहा भयो। मेरो वरपरका मानिसहरू एकपछि अर्को गर्दै पक्राउ परेका देख्दा, मलाई डर लाग्यो र म लुक्ने सुरक्षित स्थान खोज्‍न चाहन्थेँ। मैले आफ्‍नो सुरक्षाको लागि मण्डलीका हितहरूलाई बेवास्ता गरिरहेकी थिएँ—कत्ति स्वार्थी! अगुवा पक्राउ परेको हुनाले, अरू धेरैलाई सूचित गर्नुपर्थ्यो, र परमेश्‍वरको वचनका धेरै प्रतिहरू अन्त कतै सार्नुपर्थ्यो। यदि यो कार्य जतिसक्दो चाँडो गरिएन भने, अरू धेरै मण्डली सदस्यहरू पक्राउ पर्न सक्थे। मण्डली डिकनका रूपमा, ब्रदर-सिस्टरहरू र परमेश्‍वरको वचनका पुस्तकहरूको रक्षा गर्नु मेरो कर्तव्य र जिम्‍मेवारी थियो। यदि म डरले थरथर भएँ, र व्यर्थको जीवन जिएँ भने, त्यो अत्यन्तै गैरजिम्‍मेवारी हुनेथ्यो। परमेश्‍वरले यो नाजुक समयमा मैले उहाँको इच्‍छालाई विचार गरेर मण्डलीको कामको रक्षा गर्छु कि गर्दिनँ भनेर हेरिरहनुभएको थियो। मैले परमेश्‍वरमा भरोसा गरेर तुरुन्तै अनुगमनको काम गरिहाल्‍नुपर्थ्यो। जहाँसम्‍म म पक्राउ पर्छु कि पर्दिनँ भन्‍ने कुरा छ, त्यो परमेश्‍वरकै हातमा थियो। म आफ्‍नो सुरक्षा परमेश्‍वरको हातमा सुम्‍पन तयार भएँ। यो महसुस गरेपछि, म घबराउन र डराउन छोडेँ। म घरछेउ पुग्दा, मैले घरअघि प्रहरीको कार रोकिएको देखेँ। मेरो मुटु ढुकढुक गर्न थाल्यो। यहूदाले मलाई धोका दिएको रहेछ। नजिकका तीन जना आश्रयदाताहरूका घरमा पनि खानतलासी गरियो कि गरिएन मलाई थाहा थिएन। मैले यो अवस्थाबारे तुरुन्तै माथिल्ला अगुवावर्गलाई रिपोर्ट गर्नुपर्थ्यो, ताकि तिनीहरूले मण्डलीको काममा अझै धेरै हानि हुन नदिन समयमा नै सावधानी अपनाएर बन्दोबस्त मिलाउन सकून्।

मलाई सिस्टर सु हुवासँग माथिल्ला अगुवावर्गको सम्पर्क जानकारी छ भन्‍ने थाहा थियो, त्यसैले म उनलाई भेट्न गएँ। म त्यहाँ पुग्‍नेबित्तिकै, उनका गैरविश्‍वासी श्रीमानले घबराउँदै यसो भने, “केही पुलिसहरू भर्खरै आएका थिए। सु हुवा बाहिर गएकी छिन्, त्यसैले तिनीहरूले उनलाई भेट्टाएनन्। तिनीहरू थप पक्राउ गर्न तपाईंको घर गएका छन्।” म हतपत त्यहाँबाट हिँडिहालेँ, बसिरहने आँट गरिनँ। बाटोमा आउँदै गर्दा मैले ठूलो रातो अजिङ्गर कति दुष्ट रहेछ भनेर सोच्दै थिएँ। यसले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई पक्रन यस्तो हुनसम्मको प्रयास गर्छ। ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका थिए, र म कुनै पनि बेला पक्राउ पर्ने खतरामा थिएँ। यदि म यातना सहन नसकेर यहूदा बनेँ भने, के मेरो विश्‍वासको मार्ग समाप्त हुनेथिएन र? मैले यसबारे जति सोचेँ, त्यति नै म कमजोर र भयभीत भएँ, र चीनमा बसेर विश्‍वासी बन्‍नु साह्रै गाह्रो र खतरनाक रहेछ जस्तो लाग्यो। मैले हृदयमा परमेश्‍वरलाई बारम्‍बार पुकारिरहेँ, “हे परमेश्‍वर! मैले के गर्नुपर्ने?” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई उहाँको ज्योतिले उज्यालो पारून् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष निकाल्नको लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। मलाई पक्राउ गरी कुटेर मारिनेछ भन्‍ने डरमा म जिइरहेकी छु भन्‍ने महसुस भयो। म शैतानको चालमा परिरहेकी थिएँ। शैतानले मलाई रोक्न, परमेश्‍वरप्रति विश्‍वास गुमाउन लगाउन मेरो कमजोरीलाई प्रयोग गरिरहेको थियो ताकि मैले आफ्‍नो कर्तव्य पूरा गर्ने आँट नगरूँ। त्यसपछि मैले परमेश्‍वरबाट बिस्तारै टाढा भएर उहाँलाई धोका दिनेथिएँ। मैले शैतानका चालहरू बुझ्नुपर्थ्यो। म यस्ता परिस्थितिहरू जति सामना गर्थेँ, उति नै मैले परमेश्‍वरको नजिक आएर उहाँमा भरोसा गर्नुपर्थ्यो अनि उहाँका वचनहरूअनुसार जिउनुपर्थ्यो। म पक्राउ नै परे पनि, समर्पित हुनुपर्थ्यो र गुनासो गर्नु हुँदैनथ्यो। मैले आफ्‍नो गवाहीमा दह्रिलो भएर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनुपर्थ्यो।

मलाई ब्रदर-सिस्टरहरूको फोन नम्‍बर भएको नोटबुकको याद आयो, जुन अझै घरमै थियो। म फर्केर जानुपर्थ्यो; नत्र, प्रहरीले त्यो भेट्यो भने तिनीहरू सबै पक्राउ पर्नेथिए। तर प्रहरीले मेरो घरको निगरानी गरिरहेको हुन सक्थ्यो—के म तिनीहरूको हातमा नाचिरहेकी हुनेथिइनँ र? मलाई दोधार भइरहेको बेला, परमेश्‍वरका यी वचनहरू याद आयो। “तिमीहरू प्रत्येकले मप्रति अनुकूल छु भनी विश्‍वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र बफादारिता छ भनी विश्‍वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? … आफ्‍नो छोराछोरीको खातिर, वा आफ्‍नो श्रीमानको खातिर, वा आफ्नो आत्मसंरक्षणको खातिर तिमीहरूले मलाई थुन्छौ। मेरो बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्नो परिवार, आफ्‍नो छोराछोरी, आफ्‍नो हैसियत, आफ्‍नो भविष्य, र आफ्‍नो सन्तुष्टिको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले मेरो बारेमा विचार गरेका छौ? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुको बारे विचार गर्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। जब तैँले आफ्‍नो कर्तव्य निभाउँछस्, तैँले आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूको बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई हरहालतमा मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारीताको वास्तविकता कहाँ छ? मप्रति तेरो निष्ठाको वास्तविकता कहाँ छ? कहिले तेरा अभिप्रायहरू मेरा आशिषहरू प्राप्त नगर्नको खातिर रहेका छन्? तिमीहरू मलाई झुक्याउँछौ र मलाई धोका दिन्छौ, तिमीहरू सत्यतामाथि खेलबाड गर्छौ, तिमीहरू सत्यताको अस्तित्वलाई लुकाउँछौ, र सत्यताको सारलाई धोका दिन्छौ। यसरी मेरो विरुद्धमा गएर भविष्यमा तिमीहरूलाई केले पर्खिन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। हरेक प्रश्‍न मेरो हृदयमा परमेश्‍वरको आरोपजस्तो लाग्यो। सबै कुरा शान्तिपूर्ण हुँदा, मैले आफ्‍नो कर्तव्यको लागि घर र जागिर छोड्न सकेकी थिएँ। मलाई आफू परमेश्‍वरप्रति समर्पित छु जस्तो लाग्थ्यो। तर मैले साँच्चै ठूलो रातो अजिङ्गरका पक्राउहरू सामना गर्दा, मेरो कद कति सानो रहेछ भन्‍ने देखेँ। पहिले, म खोक्रा नारा र सिद्धान्तहरू बकिरहेकी हुन्थेँ। एउटा वास्तविक सङ्कष्टले मेरो साँचो कद प्रकट गरिदियो। मैले आफ्‍ना हितहरूको रक्षा कसरी गर्ने भन्‍नेबारे मात्रै सोचेँ। मैले मण्डलीको कामको पटक्कै रक्षा गरिरहेकी थिइनँ। म परमेश्‍वरको इच्‍छालाई ध्यान दिने व्यक्ति थिइनँ। यदि म त्यस्तो व्यक्ति भएकी भए, मण्डलीका हित मुछिएको कुरामा, परमेश्‍वरको लागि सबै कुरा, आफ्नो ज्यानसमेत त्याग्‍न सक्नेथिएँ। मलाई परमेश्‍वरको वचनका ती सबै पुस्तकहरूबारे याद आयो। ती पुर्‍याउन ब्रदर-सिस्टरहरूले आफ्‍नो ज्यान जोखिममा पारेका थिए र ती सार्दा धेरै जनालाई ठूलो रातो अजिङ्गरले पक्राउ गरेको थियो। कतिलाई त कुटेर मारिएको समेत थियो। तिनीहरूले आफ्‍नो जीवन र मृत्युको चिन्तालाई पन्छाएका थिए ताकि ब्रदर-सिस्टरहरूले परमेश्‍वरको वचन पढ्न पाऊन्; तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पारेका थिए। तर म? मैले मण्डलीका हितहरूलाई विचार गरिनँ। मैले केही घटना आइपर्दा आफ्‍नै सुरक्षाबारे मात्रै सोचेँ। मलाई पक्राउ पर्छु र यातना दिएर मारिनेछु भन्‍ने डर लाग्यो। सामान्यतया, मलाई फाइदा हुने कुराको लागि म मरिहत्ते गर्थेँ, तर अहिले मैले मण्डलीको खातिर अलिकति पनि त्याग गर्न सकिनँ। ती ब्रदर-सिस्टरहरूको तुलनामा म साह्रै स्वार्थी थिएँ। परमेश्‍वरको इच्छाप्रति मलाई कुनै वास्ता थिएन। अहिले मण्डली अगुवा पक्राउ परेका थिए, मण्डली डिकन भएर मण्डलीको कामको रक्षा गर्नुको सट्टा लुकेर बस्‍नु सुरक्षित त थियो, तर मैले आफ्‍नो कर्तव्य पूरा गर्ने र गवाही दिने मौका गुमाएँ। त्यसपछि त मेरो जीवनको के अर्थ रह्यो र? के म जिउँदो लास बनिरहेकी थिइनँ र? यो सोचेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज म पक्राउ पर्नु-नपर्नु पूर्णरूपमा तपाईंकै हातमा छ। बिन्ती छ, मलाई विश्‍वास र बुद्धि दिनुहोस् ताकि म तपाईंमा भरोसा गरेर कर्तव्य पूरा गर्न सकूँ।”

बिहान २ बजेतिर, मेरो नजिकै बस्‍ने सिस्टरको घर गएँ। मेरो घर नजिकका धेरैवटा घरमा प्रहरीहरू गएका थिए भन्‍ने मलाई थाहा भयो। केही ब्रदर-सिस्टरहरू भागे र पक्राउबाट बचे। तिनीहरूले मलाई प्रहरी अवश्य फेरि आउनेछ र तपाईं तुरुन्तै गइहाल्‍नुहोस् भने। मैले बसिरहने आँट गरिनँ। मैले घरको ढोकामा कसैले पर्खिरहेको छैन भन्‍ने देखेँ, त्यसकारण म हतार-हतार घर गएँ र फोन नम्‍बर भएको नोटबुक लिएँ। मैले राहतको सास फेरेँ।

त्यसपछि म ब्रदर याङ गुवाङको घर गएँ। तिनले मलाई देख्‍नेबित्तिकै डराउँदै भने, “हिजो मेरी श्रीमती र म पक्राउ पऱ्यौँ। तिनीहरूले हामीलाई हिजो राती छोडिदिए। अरू धेरै ब्रदर-सिस्टरहरू पनि पक्राउ परेका छन्।” म त्यहाँबाट हतार-हतार निस्केँ। फर्कँदै गर्दा मैले के सोचेँ भने परिस्थिति खराब हुँदै गइरहेको छ, र चारैतिर पक्राउ भइरहेको छ। यदि मलाई यहूदाले धोका दियो भने, प्रहरीले अवश्य नै मेरो विवरण भेट्टाउनेछ, र चारैतिर निगरानी भएको हुनाले, म कुनै पनि बेला पक्राउ पर्न सक्छु। यदि मैले तिनीहरूको यातना सहन सकिनँ भने के गर्ने? त्यो सोच्दा मलाई साह्रै डर लाग्यो। म लुकेँ भने अलिक सुरक्षित हुनेथिएँ, तर अनुगमनको काम अझै पूरा भएको थिएन। यदि म अहिले लुकेँ भने, के म भगुवा हुनेछैनँ र? मैले विश्‍वास गरेको यतिका वर्ष भएको थियो र परमेश्‍वरको वचनबाट धेरै मलजल प्राप्त गरेकी थिएँ। यदि म यो नाजुक घडीमा आफ्‍नो कर्तव्य वा जिम्‍मेवारी पूरा नगरी भागेँ भने, ममा कुनै विवेक वा मानवता नभएको हुनेथ्यो। के म विश्‍वासीको रूपमा समेत गनिनेथिएँ र? म परमेश्‍वरलाई धोका दिने यहूदाभन्दा फरक हुनेथिइनँ। यो सोचेपछि, मैले भागेर व्यर्थको जीवन जिउनुभन्दा पक्राउ परेर प्रहरीको हातमा मर्नेछु भनेर मनमनै निर्णय लिएँ। म आफ्‍नो गवाहीमा दह्रिलो हुनुपर्थ्यो, मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्थ्यो, र आफ्‍नो कर्तव्य पूरा गर्न सक्दो गर्नुपर्थ्यो। त्यसैले, म मेरो आश्रयदाताको घरमा तुरुन्तै फर्केर गएँ।

मैले त्यो साँझ परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने शैली र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्‍न सकुँला र? स्वर्ग र पृथ्वीको हरेक कुराले मेरो सेवा गर्छ; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान्‌ र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्‍छेदन गर्छ; मेरा कार्यहरूको बारेमा भएको आश्‍चर्य नै ठीक यही हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्‍चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारको रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यको बारेमा रहेको आश्‍चर्य नै ठीक यही होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८)। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि देख्‍न सकेँ। ठूलो रातो अजिङ्गर परमेश्‍वरको शत्रु हो। यसले उग्ररूपले इसाईहरूलाई पक्राउ गर्छ र सताउँछ अनि परमेश्‍वरको काममा बाधा दिन्छ, यसरी मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम नष्ट गर्ने व्यर्थै आशा गर्छ। तर ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटले हामीलाई मानिसलाई हानी गर्ने र परमेश्‍वरविरुद्धको यसको दुष्ट सार बुझ्दै जान, र हृदयदेखि यसलाई घृणा गर्न र यससँग सम्‍बन्ध तोड्न सहायता गर्छन्। यसका पक्राउ र सतावटले झूटा विश्‍वासीहरूबाट साँचा विश्‍वासीहरूलाई अलग पनि गर्छन्, र भेडालाई बाख्राबाट, र गहुँलाई सामाबाट छुट्याउँछन्। सङ्कष्टको समयमा, कतिपय मानिसहरू डरको कारण कर्तव्य पूरा गर्दैनन्, वा विश्‍वास त्याग्छन्, र कतिपयचाहिँ पक्राउ परेर यातना पाउँदा परमेश्‍वरलाई धोका दिएर यहूदा बन्छन्। तिनीहरू नै सामाका रूपमा खुलासा हुने, निफनेर फालिने मानिसहरू हुन्। के त्यसले परमेश्‍वरको बुद्धि र धार्मिकतालाई देखाउँदैन र? त्यसले मलाई प्रभु येशूले भनेको कुरा याद दिलायो, “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। मलाई परमेश्‍वरको सुसमाचार फैलाउनको खातिर शहीद भएका युगौँ युगका सन्तहरूको याद आयो। कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो; कतिलाई घिस्याइयो र च्यातेर चार फ्याक पारियो। तिनीहरू मरे पनि, तिनीहरूको मृत्यु अर्थपूर्ण छ। तर परमेश्‍वरलाई धोका दिएर यहूदा बन्‍नेहरू हेर्दा जिउँदा देखिए पनि, तिनीहरूको हृदयमा वेदना छ। तिनीहरू जिउँदा लास हुन्, बयान गर्न नसकिने दुःखमा छन्। तिनीहरू मरेपछि, तिनीहरूको आत्मा नरकमा जान्छ र तिनीहरू दण्डित हुनेछन्। मैले त्यो कुरा राम्ररी बुझेकी थिइनँ। बरु, म आफ्‍नो कर्तव्यबाट पछि हटेर लुक्‍न चाहन्थेँ। मेरो कर्तव्यत्यागको कारण मण्डलीको काममा हानि पुगेको भए, त्यो एउटा अपराध हुनेथ्यो—एउटा अनन्त कलङ्क। मैले आफ्‍नो कर्तव्यप्रति समर्पित भएर आफ्‍नो ज्यान बलिदान दिन सकेको भए, मलाई पक्राउ गरियो र कुटेर मारियो नै भने पनि, मैले परमेश्‍वरको लागि गवाही दिएर शैतानलाई लज्जित पारेको हुनेथिएँ। मेरो मृत्युको मूल्य र अर्थ हुनेथ्यो। त्यसपछि मैले परमेश्‍वरका अझै धेरै वचन पढेँ। “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको शक्ति र बुद्धि देख्‍न सकेँ। चाहे जिउँदो होस् वा मरेको, सबै कुरा परमेश्‍वरकै हातमा छन्। शैतानले परमेश्‍वरको काममा सेवा पुर्‍याउँछ—यसले विरोधीको काम गर्छ। चिनियाँ कम्युनिस्ट पार्टीले अनेक किसिमका चाल चल्छ, र धेरै मानिसहरू र थोकहरूको शक्ति प्रयोग गर्छ, तर परमेश्‍वरको अनुमतिविना, यसले हाम्रो शिरको एउटा केश पनि छुन सक्दैन। ठिक अय्यूबको अनुभवमा जस्तै, शैतानले तिनलाई परमेश्‍वरलाई इन्कार गर्न र नकार्न लगाउने प्रयास गर्दै आक्रमण गर्‍यो र चोट पुर्‍यायो। परमेश्‍वरले शैतानलाई अय्यूबलाई दुःख दिन अनुमति दिनुभयो, तर तिनको ज्यान खतरामा पार्ने अनुमति दिनुभएन, र शैतानले परमेश्‍वरको आज्ञाविरुद्ध जाने आँट गरेन। त्यसरी नै मेरो अनुगमनको काममा, म एकपछि अर्को खतरनाक परिस्थितिबाट सकुशल उम्‍केँ। त्यो पूर्णरूपमा परमेश्‍वरको हेरचाह र सुरक्षा थियो। यी सबै अनुभवले मलाई परमेश्‍वरको अख्तियार र सार्वभौमिकता देखाएका छन्। यदि परमेश्‍वरले मलाई पक्राउ गर्न ठूलो रातो अजिङ्गरलाई अनुमति दिनुभएन भने, यसले पक्रन सक्दैनथ्यो। यदि उहाँले मेरो पक्राउ गर्ने अनुमति दिनुभएको भए, म यसबाट उम्‍कन सक्नेथिइनँ। यो बुझेपछि ममा विश्‍वास पलायो। मलाई म आफ्‍नो जीवन परमेश्‍वरको हातमा सुम्पेर उहाँका योजनाबद्ध कार्यहरूमा समर्पित हुन तयार छु भन्‍ने लाग्यो।

पछि, माथिल्ला अगुवाहरूले भेला आयोजना गर्ने घरमा प्रहरीले जाँच गरेको छैन भन्‍ने मलाई थाहा भयो। भेला हुने दिन आउन लागेकोले, तिनीहरूले अझै धेरै अगुवाहरूलाई पक्रने मौका कुरिरहेका छन् भन्‍ने मलाई चिन्ता लाग्यो। यदि अगुवाहरूलाई सूचित गरिएन भने, तिनीहरू पक्राउ पर्न सक्थे र अझै धेरै मानिसहरू मुछिनेथिए। हामीले तुरुन्तै केही आइडिया निकाल्यौँ, र केही उतारचढावपछि, बल्‍ल माथिल्ला अगुवाहरूलाई मण्डलीको परिस्थितिबारे बतायौँ। अगुवाहरूले हाम्रो सुरक्षालाई विचार गर्दै हामीलाई पहिला लुकेर बस्‍नू भने। केही दिनपछि, अगुवाहरूबाट एउटा पत्र प्राप्त भयो, त्यसमा ठूलो रातो अजिङ्गरले हाम्रो क्षेत्रमा पक्राउ कारबाही चलाएको छ, पुस्तकहरू राखेका दुईवटा घरमा छापा मारिएको छ भनेर भनिएको रहेछ। एउटा घर मात्रै बचेको थियो, र सबै कुरा तुरुन्तै सार्नुपर्थ्यो। मबाहेक पुस्तकहरू सुरक्षित राख्‍नेहरूलाई चिन्‍ने सबै जना पक्राउ परेका थिए, र त्यस क्षेत्र र मण्डली सदस्यहरूबारे म अलिक परिचित थिएँ, त्यसकारण मैले पुस्तकहरू सार्न सहयोग गरेको तिनीहरू चाहन्थे। मलाई राम्ररी थाहा थियो, यस्तो परिस्थितिमा म जानु उचित हुन्थ्यो, र यो मैले पन्छिनै नमिल्ने जिम्‍मेवारी थियो। तर अहिले परिस्थिति साह्रै तनावग्रस्त थियो र ठूलो रातो अजिङ्गरले अझै पनि मानिसहरूलाई खेदो गरिरहेको थियो। यस्तो समयमा म गएकी भए, के मैले आफूलाई खतरामा पारिरहेकी हुनेथिइनँ र? मलाई अलिक डर लाग्यो। तर यो परिस्थिति कसरी परमेश्‍वरकै हातमा छ, र यदि परमेश्‍वरले अनुमति दिनुभएन भने ठूलो रातो अजिङ्गरले मलाई केही गर्न सक्दैन भन्‍ने मलाई याद आयो। त्यसकारण मैले सहयोग गर्ने निर्णय गरेँ। मैले यस्तो प्रार्थना गरेँ, “हे परमेश्‍वर! यो कर्तव्य मलाई आएको छ, र म आफ्‍नो जिम्‍मेवारी पूरा गर्न तयार छु। यसपछि जे घटना भए पनि, म तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। म पक्राउ परेँ भने पनि, मलाई यातना नै दिइयो भने पनि, म फेरि कहिल्यै भगुवा हुनेछैनँ। म तपाईंलाई भक्ति चढाउनेछु, र शैतानलाई लाजमा पार्न आफ्‍नो गवाहीमा दह्रिलो हुन्छु।”

त्यसकारण मैले यताउता सोधेँ र पुस्तकहरू राखिएको घर भेट्टाएँ। त्यहाँका ब्रदरले तिनको घरमा सात-आठ जना प्रहरीहरू आएर पक्राउ गरिसकेका छन् भनी भने। तिनीहरूले केही नबोली तिनकी श्रीमतीलाई लगेका थिए, र उनीहरूलाई २,००० युआन जरिमाना तिराएका थिए, तर तिनीहरूले त्यहाँ राखिएका पुस्तकहरू भेट्टाएनन्—ती पुस्तकहरू जतिसक्दो चाँडो सार्नुपर्थ्यो। हामीले हतार-हतार कारमा पुस्तकहरू हाल्यौँ। बाटोभरि, मैले आफ्नो हृदय परमेश्‍वरबाट एकछिन पनि टाढा राख्ने आँट गरिनँ। अन्तिममा हामीले कुनै बाधाविना सुरक्षित स्थानमा पुस्तकहरू पुर्‍यायौँ। मैले परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ।

यो पूरै अनुभवबारे सोच्दा, म परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्न सक्छु, साथै मेरो विश्‍वास कति सतही थिएछ भनेर देख्न सक्छु। ठूलो रातो अजिङ्गरको पक्राउविना, मैले आफ्‍नो कदलाई स्पष्टसित देख्‍नेथिइनँ, र विशेष गरी आफ्‍नो स्वार्थीपन र मृत्युको डर देख्‍नेथिइनँ, न त परमेश्‍वरको सर्वशक्तिमान् शासनलाई नै बुझ्‍नेथिएँ। साथै, मैले परमेश्‍वर साँच्‍चै हाम्रो साथमा हुनुहुन्छ, र हामीले परमेश्‍वरमा भरोसा गऱ्यौँ भने, उहाँ हाम्रो साथमा हुनुहुनेछ र हाम्रो लागि बाटो खोलिदिनुहुन्छ भन्‍ने अनुभव गरेँ। यो बुझाइ मैले शान्तिपूर्ण वातावरणमा प्राप्त गर्न सक्दिनथिएँ।

अघिल्लो: पढाइ छोड्दा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आत्मसंरक्षणका परिणामहरू

२०१९ मा हाम्रो मण्डलीको काम अनुगमन गर्न सिस्टर गुवानलाई सरुवा गरिएको थियो। मैले उनलाई दुई वर्षपहिले भेटेकी थिएँ, र यसपटक उनीसँग कुराकानी...

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्