जवान हुँदाको एउटा विशेष अनुभव

16 डिसेम्बर 2024

झेङ्छिन, चीन

सन् २००२ मा, १८ वर्षको हुँदा मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। जुलाई २००४ मा, अर्को प्रान्तमा सुसमाचार सुनाउने क्रममा ब्रदर वाङ्ग चेङ्ग र मलाई प्रहरीले पक्राउ गर्‍यो। त्यो बेला, मैले सोचेँ, “हामीले सुसमाचार प्रचार मात्रै गरिरहेका छौँ, कुनै कानुन उल्‍लङ्घन गरेका छैनौँ। साथै, म जवानै छु, त्यसकारण पुलिसले सायद मलाई पक्‍कै केही पनि नगर्ला। तिनीहरूले मलाई प्रश्‍न मात्रै सोधेर छोडिदेलान्।” त्यस्तो त कहाँ हुनु नि, तिनीहरूले मलाई पुलिस चौकीमा ल्याएपछि, एक अफिसरले टेबल ठटायो र मलाई जङ्गिदै सोधपुछ गर्न थालिहाल्यो: “तेरो नाम के हो? तँ कहाँ बस्छस्? तँलाई कसले यो काम गर्न बोलायो? तैँले क-कसलाई प्रचार गरिस्?” मैले प्रतिक्रिया नदिएपछि, उसले मलाई मेरो कानै बज्ने गरी गालामा कस्सेर दुईपटक थप्‍पड हान्यो, अनि सुसमाचार प्रचार गरेर हामीले सामाजिक सुव्यवस्था भङ्ग गरिरहेका र कानुन उल्‍लङ्घन गरिरहेका छौँ भनेर भन्यो। मलाई निकै रिस उठ्यो, र मैले सोचेँ, “कस्तो हास्यास्पद कुरा! हामी अरू मानिसहरू असल बनून् र सही मार्ग पछ्याऊन् भनेर सुसमाचार प्रचार गर्छौँ। त्यसलाई कसरी तिमीहरू सामाजिक सुव्यवस्था भङ्ग गरेको भन्‍न सक्छौ?” तर पुलिस कति क्रोधित छन् भन्‍ने देखेपछि, तिनीहरूसँग तर्क गर्नु व्यर्थ छ भन्‍ने लाग्यो, त्यसकारण मैले केही नि भनिनँ। पछि, तिनीहरूले वाङ्ग चेङ्ग र मलाई हतकडी लगाए र पुलिसको गाडीमा राखे। तिनीहरूले लैजाँदै गर्दा, मलाई निकै चिन्ता लाग्यो। हामी तिनीहरूको अड्डामा पुगेपछि तिनीहरूले मलाई कुटपिट गर्नेछन्, यातना दिनेछन् भन्‍ने साह्रै डर लाग्यो। यदि मैले कठिनाइ भोग्‍न सकिनँ र यहूदा बनेँ भने, मैले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन मात्र गरेको हुँदैन, मैले गर्दा अझै धेरै दाजुभाइ-दिदीबहिनीहरू पनि पक्राउ परेर मैले जस्तै कष्ट भोग्‍नुपर्ने हुन्थ्यो। मैले मनमनै परमेश्‍वरसँग यसो भन्दै बारम्‍बार प्रार्थना गरेँ: “परमेश्‍वर, मलाई धेरै डर लागेको छ। बिन्ती छ मेरो रक्षा गर्नुहोस् र मलाई आत्मविश्‍वास र शक्ति दिनुहोस्।” प्रार्थना गरेपछि, मलाई अलिक शान्ति महसुस भयो।

तिनीहरूले हामीलाई नगर अपराध अनुसन्धान कार्यालयमा लगे। तिनीहरूले हाम्रो खानतलासी गर्दा, एक जना अफिसरले मसँग पेजर रहेको फेला पार्‍यो र म पक्‍कै पनि अगुवा हुनुपर्छ भनेर भन्यो। यो सुन्दा, मलाई लाग्यो, “तिनीहरूले मलाई अगुवा हो भन्‍ने ठाने भने त, मलाई त्यतिकै छाड्नेछैनन्।” मैले केही पनि नबोलेको देखेर, झाओ थरको एउटा पुलिस अफिसरले बनावटी मुस्कान दिँदै भन्यो, “तैँले थाहा पाएको कुरा भनिनस् भने, तैँले कति सहन सक्दो रहेछस् हामी हेर्नेछौँ!” उसले मलाई नराम्रो शब्‍दले बोलाउँदै एकदुईपटक लात मार्‍यो, त्यसपछि मलाई छातीमा कस्‍सेर मुड्कीले हान्यो, मलाई निकै पीडा भयो र म उछिट्टिएँ। उसले मलाई अझै केही मुक्‍का र लात मार्‍यो, अनि म २ मिटर पछाडि पुगेँ, र झण्डै पछारिएँ। मैले मौन भई पीडा भोगेँ र एक शब्‍द पनि निकालिनँ। अन्त्यमा थाकेपछि ऊ रोकियो र मलाई जङ्गिँदै भन्यो, “बोल्‍न सुरु गरिनस् भने, म तँलाई बाघे कुर्सीमा राखेर इलेक्ट्रिक बेटनको स्वाद चखाउँछु!” मलाई अत्यन्तै डर लागेको थियो। लात र मुक्‍का पहिले नै मारिएकोले मलाई दुखिरहेको थियो। बाघे कुर्सीमा बाँधिएर करेन्ट लगाइयो भने म त्यो सहन सक्छु कि सक्दिनँ मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्‍वरलाई मनमनै बारम्‍बार प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर, बिन्ती छ, मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई आत्मविश्‍वास र साहस दिनुहो। म अडिग रहनको लागि तपाईंमा भर पर्न चाहन्छु, र म कहिल्यै पनि यहूदा बन्‍नेछैनँ।” त्यसपछि, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू याद आयो: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्‍न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। वास्तवमा, परमेश्‍वर नै मेरो दह्रिलो साथ हुनुहुन्छ, र मेरो जीवन उहाँकै हातमा छ। परमेश्‍वरकै अनुमतिले म पक्राउ परेको थिएँ। यो परमेश्‍वरले मलाई गर्नुभएको जाँच थियो। पुलिसले मलाई जति धेरै यातना दिए पनि, म परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा पूर्ण रूपले अडिगतासाथ खडा हुनुपर्थ्यो। त्यसपछि, एक पुलिस अफिसरले मेरो नाम र ठेगाना सोध्यो। मैले सोचेँ, “मेरो परिवारले घरमा अहिले मण्डली अगुवाहरूलाई शरण दिएको छ। यदि मैले आफू बस्‍ने ठाउँ बताएँ, र पुलिस गएर हाम्रो घरमा खानतलासी गर्‍यो भने, मेरो परिवारका सदस्यहरू र अगुवाहरू पक्राउ पर्नेछन्, त्यसैले मैले यो कुरा भन्‍नु हुँदैन।” मैले केही नबोलेको देख्दा, त्यो पुलिस निकै रिसायो, र केही नबोली, परमेश्‍वरको वचनको पुस्तक उठाएर मेरो अनुहारमा नराम्ररी हान्यो, र मलाई अनुहारमा निकै साह्रो दुख्यो, त्यसपछि उसले जङ्गिँदै लात हान्यो। यस क्रममा, अर्को पुलिस अफिसरले मलाई छातीमा नराम्ररी मुड्कीले हान्यो। थाकेर तिनीहरूलाई सास फेर्न गाह्रो भएपछि मात्रै तिनीहरू रोकिए। अनि म अझै नबोलेको देखेर, एउटाले भन्यो, “यो त साँच्‍चै कट्टर रहेछ। त्यसलाई जेलमै हाल्दिँऊ, अनि कष्ट भोगोस् न!” म जेल पर्न लागेको छु भन्‍ने सुन्दा, मलाई अलिक डर लाग्यो। जेलहरूमा त कैदीले कैदीलाई कुट्ने गर्छन् भन्‍ने सुनेको थिएँ। यदि म साँच्‍चै नै कैदमा परेँ भने, मैले कस्तो-कस्तो यातना भोग्‍नुपर्ला? के तिनीहरूले मलाई अङ्गभङ्ग पार्लान्? मैले सहन सकिन भने के होला? यसबारेमा मैले धेरै विचार गरेँ, तर जेसुकै भए पनि कम्तीमा पनि मलाई मैले यहूदा बनेर परमेश्‍वरलाई धोका दिनु हुँदैन भन्‍ने कुराचाहिँ थाहा थियो। अनि, मैले परमेश्‍वरसँग शपथ लिएँ, “हे परमेश्‍वर! मेरो कद अत्यन्तै सानो छ, र म आफै दह्रिलो रहन सक्दिनँ, तर म तपाईंमा आड लिन तयार छु। बिन्ती छ मेरो साथमा रहनुहोस्, र मलाई सहने शक्ति दिनुहोस्। म कहिल्यै पनि यहूदा बन्‍नेछैनँ, र म मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिनेछैनँ!” प्रार्थना गरेपछि, मलाई सामर्थ्य र आत्मविश्‍वासको अनुभूति भयो।

पछि, एक अधबैँसे पुलिसले मसँग मित्रवत् व्यवहारको बहाना बनाउँदै भन्यो, “हेर् त। तँ अझै सानै छस्, अल्गो अनि ह्याण्डसम छस्। एउटी राम्री केटी वा राम्रो जागिर खोज्‍नुपर्दैन? किन ईश्‍वरमा विश्‍वास गर्ने झमेलामा पर्छस्?” त्यसपछि उसले मलाई हस्ताक्षर गर्न लगाउन पछुतो-पत्र निकाल्यो। मैले त्यो पत्र पढेँ र त्यसमा हस्ताक्षर गर्दा मैले परमेश्‍वरलाई धोका दिइरहेको हुनेरहेछु भन्‍ने थाहा भयो। मैले त्यो पत्रमा हस्ताक्षर गर्न सक्दिनथेँ! मैले त्यसमा हस्ताक्षर गर्न नमानेपछि, त्यो अफिसरले परमेश्‍वरको वचनको कडा गाता भएको पुस्तकले मेरो दायाँबायाँ कन्चटमाथि हान्यो, र मेरो कान फेरि पनि बज्‍न थाल्यो, र मेरो टाउकोमा एउटा ठूलो टुटुल्‍को देखा पर्‍यो। त्यसरी कुटेपछि, मेरो टाउको लट्टिएको र मेरो अनुहार सुन्‍निएको थियो, अनि कस्‍सेर लात हानेको हुनाले मेरो खुट्टा पोलिरहेको र सुन्‍निएको थियो। मलाई त पूरै जीउ नचल्‍ने भएछ कि जस्तो लाग्यो, र मेरो जीउमा यति दुखिरहेको थियो कि मलाई आँसु रोक्‍न सकिरहेको थिइनँ। मैले सोचेँ, “मैले पछुतो-पत्रमा हस्ताक्षर गर्न इन्कार गरिरहेँ भने, तिनीहरूले मलाई अझै साह्रो कुट्ने पो हुन् कि? तिनीहरूले मलाई मार्ने पो हुन् कि? तर म त्यसमा हस्ताक्षर गर्न सक्दिनँ। त्यसमा हस्ताक्षर गर्नु भनेको परमेश्‍वरलाई धोका दिनु हो।” त्यो बेला, मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मैले बुझेँ, यो कठिनाइ र कष्ट मेरो लागि जाँच थियो, यो मैले उहाँमा साँचो विश्‍वास गर्छु कि गर्दिनँ, र म उहाँको गवाहीको रूपमा दह्रिलो गरी खडा हुन सक्छु कि सक्दिनँ भनेर हेर्ने जाँच थियो। साँचो विश्‍वास भनेको हरेक परिस्थितिमा उहाँका बन्दोबस्तहरूमा समर्पित हुनु अनि कष्ट र पीडामा पनि उहाँलाई सन्तुष्ट पार्नु हो भनेर परमेश्‍वरले भन्‍नुभएको थियो। मैले आफूलाई पूर्ण रूपमा परमेश्‍वरकै अधीनमा छोड्नुपर्थ्यो, र मैले जति धेरै कष्ट भोग्‍नु परे पनि, म शैतानको अघि झुक्‍नु हुँदैनथ्यो। मैले परमेश्‍वरमा आड लिएर गवाही दिनुपर्थ्यो। यो कुरा सोचेर, मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, तिनीहरूले मलाई जति नै पिटे पनि, चाहे तिनीहरूले मलाई पिटेरै मारे पनि, म कदापि त्यो पत्रमा हस्ताक्षर गर्नेछुइनँ।” त्यो रात, पुलिस अफिसरहरूले म र वाङ्ग चेङ्गलाई थुना घरमा पठाए, र हामीलाई अलगअलग ठाउँमा थुने।

ड्युटीमा रहेको अफिसरले मलाई एउटा कोठरीमा लग्यो। त्यहाँभित्र एक दर्जन जति मानिसहरू रहेछन्, र ती सबैको अनुहार र भाव डरलाग्दो देखिन्थ्यो। त्यो कोठरी यति अनौठो र डरलाग्दो थियो कि मलाई वास्तवमै डर लागेर आयो। अफिसरले कैदीहरूलाई भन्यो, “यो ईश्‍वरमा विश्‍वास गर्ने मान्छे हो। यसलाई ‘राम्ररी हेरचाह’ गर।” उसको कुरा भूँइमा खस्‍न नपाउँदै, एकदुई जना कैदीहरू मलाई कुट्न र लात मार्न आइहाले, त्यसपछि मलाई सबै लुगा फुकाउन लगाए। तिनीहरूले पानीको पाइप ल्याए र मेरो जीउ आधा घण्टासम्‍म भिजाए, र म चिसोले गर्दा कामिरहेको थिएँ। तिनीहरूले मेरो नाम के हो र मैले क-कसलाई सुसमाचार सुनाएँ भनेर सोधिरहे। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ र मेरो हृदयलाई रक्षा गर्नुहोस् भनेर अनुरोध गरिरहेँ। तर एक शब्द पनि बोलिनँ। भोलिपल्ट, तिनीहरूले मलाई फेरि कुटे। एक जना कैदीले मेरो कपालमा समात्यो र मेरो टाउकोको पछाडिको भाग पर्खालमा यति साह्रो बजार्‍यो कि मेरो कान बज्यो र नाकबाट रगत आयो। पछि, ती कैदीहरूले मलाई “हवाइजहाज” उडाएझैँ गरे, तिनीहरूले मलाई घोप्टिन लगाए, र दुई जनाले मेरो नाडीमा समातेर मलाई पर्खालमा ठोक्‍काए, र मेरो टाउकोमा टुटुल्‍को उठ्यो र मलाई रिङ्गटा लाग्यो र बेहोस भएँ। मेरो होस आउनुभन्दा पहिले, तिनीहरूले मलाई फेरि “हवाइजहाज” बनाए, अर्थात् तिनीहरूले मलाई मेरो हात पछाडि लगाएर भूँइमा घोप्टो पारेर सुताए, अनि अगाडिको एक जनाले मेरो हातमा पक्रेर अगाडि ठेले, अनि अर्कोले मेरो नाडीमा पक्रेर मलाई अगाडि झट्काए। मलाई मेरा नाडीहरू खुस्किएजस्तै लाग्यो। म पीडाले चिच्याएँ। तिनीहरूले मलाई दश मिनेटभन्दा बढी यातना दिइरहे, र तिनीहरूले मलाई छोडेपछि, मेरो हातले केही पनि थाहा पाएन। मैले सोचेँ, “के मेरो हात काम नलाग्‍ने भएको हो? त्यस्तो भएको हो भने त, म अझै पनि जवानै छु, अनि भविष्यमा म कसरी बाँच्‍न सकुँला? अब फेरि तिनीहरूले मलाई के गरेर यातना दिनेछन् थाहा छैन। के तिनीहरूले मलाई कुटेर मार्ने त होइन?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो। तर त्यसपछि मलाई परमेश्‍वरका वचनहरू याद आए: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। मलाई महसुस भयो कि मानिसहरूले जीवनलाई प्रेम गर्छन् र मृत्युको डर मान्छन् भन्‍ने कुरा शैतानलाई थाहा छ, त्यसकारण त्यसले हामीलाई आक्रमण गर्न र परमेश्‍वरलाई धोका दिन लगाउन हाम्रो कमजोरी प्रयोग गर्छ। तर म शैतानको चलाकीमा परेर आफ्नो जीवन जोगाउँदै लज्‍जासाथ जिउन सक्दिनथेँ। यसै क्रममा, परमेश्‍वरले पनि मेरो विश्‍वासलाई सिद्ध पार्न यस्तो कठिनाइको प्रयोग गर्नुभयो। मलाई वितेका युगहरूका सन्तहरूका बारेमा याद आयो, जसले सुसमाचार प्रचार गर्नको लागि धेरै कष्ट भोगेका थिए!। कतिलाई पक्राउ र कैद गरियो, अनि कतिले त आफ्‍नो ज्यानसमेत दिए। मैले आखिरी दिनहरूमा परमेश्‍वरको आवाजलाई सुन्‍न पाउनु, अनि सुसमाचार प्रचार गर्न, र परमेश्‍वरको देखापराइ र कामको गवाही दिन सक्‍नु सम्‍मानको कुरा थियो। ती मानिसहरूले मलाई कुटेर नै मारे पनि, मैले त धार्मिकताको निम्ति सतावट भोगेको हुनेथ्यो। यो गरिमामयी कुरा थियो, र यसको अर्थ मैले मेरो जीवन व्यर्थमा जिएको थिइनँ भन्‍ने हुनेथ्यो। यो कुरा महसुस गरेपछि, मैले हृदयमा शक्ति पाएँ। तिनीहरूले मलाई जसरी यातना दिए पनि, म दह्रिलो गरी खडा हुनेवाला थिएँ, परमेश्‍वरलाई धोका दिनेवाला थिइनँ।

पछि, पुलिसले मलाई सोधपुछको लागि ल्याए, र मलाई यसो भन्दै धम्की दिए, “तँसँग अझै स्वीकार गर्ने मौका छ। तँ राजनीतिक कैदी होस्, र तैँले स्वीकार गरिनस् भने, तँलाई जेल हुनेछ। तैँले जेलमा भेट्ने मानिसहरू घातक हुन्छन्। तँलाई पछुतो हुनेछ! तँ जिउँदै बाहिर निस्कन्‍छस् कि निस्कन्‍नस् भन्‍न गाह्रो छ।” मलाई कैद हुनेछ, र मलाई राजनीतिक कैदी भनेको सुन्‍नेबित्तिकै, मलाई तिनीहरूको लागि यो गम्‍भीर अपराध रहेछ भन्‍ने थाहा भयो। मैले कति वर्षको जेल सजाय भोग्‍नुपर्ने हो? के मैले मेरो सारा जवानी जेलमै बिताउनुपर्ने हो? मैले अरू कैदीहरूबाट सुनेको थिएँ कि जेलमा धेरै मानिसहरूलाई त कुटेरै मारिन्छ। अनि मलाई झन्झून् चिन्ता लाग्‍न थाल्यो। मलाई यातना दिन कैदीहरूले कस्तो तरिका प्रयोग गर्छन्, वा म बाँच्‍छु कि बाँच्‍दिनँ मलाई थाहा थिएन। मैले यसबारे जति विचार गरेँ, मलाई त्यति नै दयनीय महसुस भयो। म वास्तवमै आफूलाई जेल सजाय नहोस् भन्‍ने चाहन्थेँ, र त्यो ठाउँबाट निस्किहाल्न आतुर थिएँ। अनि, मैले मनमनै परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गरेँ, “हे परमेश्‍वर! अहिले म अत्यन्तै कमजोर छु, र मैले तपाईंको इच्‍छा बुझेको छैन, तर तपाईंकै अनुमतिमा यो परिस्थिति ममा आएको छ भन्‍ने मलाई थाहा छ। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म दह्रिलो गरी खडा हुन सकूँ।” प्रार्थना गरिसकेपछि, मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू याद आए: “सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, मेरो आजको सतावट र कष्ट मैले भोग्‍नुपर्छ भनेर पहिले नै तय गरिएको थियो। यो त धार्मिकताको निम्ति सताइनु र ख्रीष्‍टसँगै कष्ट भोग्‍नु थियो। यो अर्थपूर्ण थियो। यसरी पक्राउ पर्दा र सताइँदा मैले ठूलो रातो अजिङ्गरको दुष्ट सारलाई स्पष्ट रूपमा देख्‍ने मौका पाएँ। ठूलो रातो अजिङ्गर परमेश्‍वरको शत्रु हो र उहाँलाई विरोध गर्ने दियाबलस हो। यो परिस्थितिले मलाई देहधारी परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशमा कसरी काम गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा पनि देखायो। वास्तवमा, यो अत्यन्तै कठिन कार्य हो। यो कुरा सोचेपछि, मलाई एकदमै धेरै उत्प्रेरणा प्राप्त भयो। मलाई मैले परमेश्‍वरलाई निराश पार्नु हुँदैन भन्‍ने लाग्यो। अनि, म तिनीहरूले मलाई कुटेरै मारे पनि दह्रिलो गरी खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार भएँ।

चौध दिनपछि, पुलिसले मलाई र अरू एकदुई जना ब्रदर-सिस्टरहरूलाई पुलिसको गाडीमा लगे, र हामीलाई श्रमद्वारा पुनर्शिक्षा लिनुपर्ने सजाय भएको छ, र हामीलाई श्रम केन्द्रमा लगिँदै छ भनेर भने। त्यहाँ जाँदै गर्दा, मैले सोचेँ, “मैले श्रम केन्द्रमा कति वर्ष बस्‍नुपर्छ थाहा छैन। आशा छ, यो त्यति लामो समय हुनेछैन, ताकि म निस्केर मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग चाँडै भेलाहरूमा जान सकूँ, र कर्तव्य पूरा गर्ने काम जारी राख्‍न सकूँ। विगतमा, म थोरै पनि गम्भीर थिइनँ, र राम्ररी आफ्‍नो कर्तव्य पूरा गर्दिनथेँ। म प्रतिज्ञा गर्छु, बाहिर निस्‍केपछि, म सत्यताको खोजी गर्नेछु र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु।” हामी नगर सार्वजनिक सुरक्षा ब्यूरोमा पुगेपछि, पुलिस भित्र गए र श्रमद्वारा पुनर्शिक्षाको सजायपत्र लिएर आए, र गाडीभित्र हामीलाई पढेर सुनाए। धेरै दाजुभाइ-दिदीबहिनीहरूले एक वा डेढ वर्षको सजाय पाएका थिए, तर मलाई तीन वर्षको सजाय दिइएको थियो। यो सुन्दा, म हल न चल भएँ। मैले सोचेँ, “तीन वर्ष? मलाई किन अरूलाई भन्दा धेरै वर्षको सजाय दिइयो? म कसरी त्यति लामो समयसम्‍म बाँच्‍न सक्छु र?” मन यति दुख्यो कि म त्यो व्याख्या गर्नै सक्दिनँ, र मैले यो कुरा स्वीकार गर्नै सकिनँ। म पूरै निराश थिएँ। तर त्यसपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “जाँचहरू भोग्दा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा आस्था हुनैपर्छ…। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो महसुस गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको आस्था त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो आस्था त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले दह्रिलो अडान लिनुपर्छ र आफ्नो गवाहीमा बलियोगरी उभिनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको आस्थाले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा आस्था हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। आस्थाबिना, उहाँले यो गर्न सक्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, मैले जस्तो दुःखदायी परिस्‍थितिहरूको सामना गरे पनि, वा त्यो जति घृणित भए पनि, मैले परमेश्‍वरमा विश्‍वास गरेँ भने मात्रै म खडा रहिरहन सक्छु। तर ममा परमेश्‍वरमाथिको विश्‍वासको कमी थियो। मलाई श्रमद्वारा पुनर्शिक्षा केन्द्रमा तीन वर्षको लागि पठाइएको छ भन्‍ने थाहा पाउनेबित्तिकै, मैले यो कुरालाई स्वीकार गर्नै सकिनँ, त्यसकारण मैले परमेश्‍वरसँग तर्क गर्न खोजेँ, र उहाँसित गुनासो गरेँ। मैले यो सजाय ठूलो नहोस्, र मैले त्यति धेरै कष्ट भोग्‍नु नपरोस् भन्‍ने आशा गरेँ। विगतमा, मैले परमेश्‍वरको अघि शपथ खाएर परिस्थिति जस्तोसुकै कठिन भए पनि म उहाँलाई पछ्याउनेछु भनेर भनेको थिएँ, तर अहिले मेरो धारणाअनुसार नरहेको यस्तो परिस्थितिको सामना गर्दा, म नकरात्मक बनेँ र मैले गुनासो गरेँ। म अत्यन्तै विद्रोही थिएँ। म यसरी अघि बढिरहनु हुँदैनथ्यो। अर्को वातावरणको अनुभव गर्नलाई मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो।

श्रम केन्द्रमा, मैले हरेक दिन पर्याप्त खान पाउँदिनथेँ, र मैले खाली पेटमा धेरै काम गर्नुपर्थ्यो। कहिलेकहीँ त मैले बिहानको दुईतीन बजेसम्‍म काम गर्नुपर्थ्यो, र काम गर्दा मैले गलत कुरा भनेँ वा गल्ती गरेँ भने, तिनीहरूले मलाई कुट्थे। कामबाट फर्केपछि, मलाई हरेकपटक कष्ट दिइन्थ्यो र पानी कोठामा एक घण्टा थुनेर राखिन्थ्यो। वर्षैभरि यसै गरिन्थ्यो। पानी कोठामा पानीको बाफ धेरै हुन्थ्यो, र समय बित्दै जाँदा, धेरै मानिसहरू बिरामी हुन्थेँ। कतिलाई लुतो आउँथ्यो, कतिलाई हाडजोर्नीको समस्या हुन्थ्यो, र मलाई जीउभरि डाबर आएको थियो। हरेक रात मेरो जीउ यति चिलाउँथ्यो कि म सुत्‍नसमेत सक्दिनथेँ, र कन्याउँदा कन्याउँदा रगत नै आउँथ्यो, र घाउको पाप्रा उक्‍किन्थ्यो, र कति ठाउँमा त छाला नै बाहिर आउँथ्यो। गार्ड प्रमुखलाई मैले डाक्टरलाई देखाउनुछ भनेर भनेँ, तर उसले उदासीन हुँदै भन्यो, “यो त डाबर आएको मात्रै हो। तँलाई केही भएको छैन। तँलाई यसले काम गर्न बाधा दिँदैन।” यस बिन्दुमा, मलाई निकै दुःख लाग्यो। मैले सोचेँ, “यस्तो जवानीमै मलाई यो रोग लाग्यो। यो निको भएन भने के गर्ने? मैले हरेक दिन धेरै काम गर्नुपर्छ, र मैले कैदीहरूको कुटाइ र अपमान पनि सहनुपर्छ। कहिले यो पीडाको अन्त्य हुन्छ?” यो कुरा विचार गरेको गर्‍यै गर्दा त्यसले मलाई झन्झन् दयनीय बनायो। अरू ब्रदरहरू सँगै परेकाले सङ्गति गर्न र एक-अर्कालाई सहयोग गर्न सक्थे, तर म एकलै अविश्‍वासीहरूसँग थिएँ, र कुराकानी गर्नलाई कोही पनि थिएन, र यस्तो देख्दा मलाई असाध्यै पीडा हुन्थ्यो। म प्रायजसो राती ओछ्यानमा गुटमुटिएर चुपचाप आँसु झार्थेँ। म यसो भन्दै परमेश्‍वरसँग प्रार्थना गर्थेँ, “हे परमेश्‍वर, यहाँ म अत्यन्तै कमजोर महसुस गर्छु। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंको इच्‍छालाई बुझ्‍न सकूँ।”

एकपटक, हामी कसरत गर्न बाहिर गएको बेला, अर्को समूहको एक जना ब्रदरले मलाई कसैले नदेख्‍ने गरी एउटा पोको दिए। मैले कार्यस्थल गएर यसलाई खोलेँ, र त्यहाँभित्र परमेश्‍वरका वचनहरू सारिएको एउटा नोट रहेछ। मैले जेलमा परमेश्‍वरका वचनहरू पढ्न पाउँछु भन्‍ने सोचेको थिइनँ, र म भावविभोर र अभिप्रेरित भएँ। त्यो अनुच्‍छेदमा यस्तो लेखिएको थियो: “राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। सङ्कष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइविहीन हुन्छन् तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू पढ्दा, तिनले मेरो हृदय छोए। यस्तो आपतको बेला, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र उहाँप्रतिको गवाहीमा दह्रिलो गरी खडा हुन परमेश्‍वरमा भरोसा गर्नुपर्छ भन्‍ने बुझेँ। समूहमा म एकलै थिएँ, मेरो नजिक कोही दाजुभाइ थिएनन्, र संघर्ष र कठिनाइ धेरै थिए। यो मेरो लागि एउटा जाँच थियो। यसले गर्दा मैले आफ्‍नै कमीकमजोरी र मेरो वास्तविक कदलाई देख्‍न सकेँ। यसले मलाई आत्मनिर्भर पनि हुन सिकायो, अनि परमेश्‍वरमा भरोसा गरेर यो वातावरण अनुभव गर्न, र कठिनाइ र पीडालाई जित्‍न सिकायो। म कमजोर हुँदा, मेरो ब्रदरले मलाई मदत गर्नुभयो, र मलाई परमेश्‍वरका वचनहरू दिनुभयो र ती वचनहरूले मलाई साँच्‍चै नै उत्प्रेरणा दिए। मलाई थाहा थियो, यो परमेश्‍वरको प्रेम थियो, र परमेश्‍वर सधैँ मेरै साथमा हुनुहुन्थ्यो र मलाई हेरचाह र रक्षा गरिरहनुभएको थियो। यो कुरा मनमा हुँदा, मैले अघि बढिरहने शक्ति पाएँ, र यो वातावरणको सामना गर्ने आत्मविश्‍वास प्राप्त गरेँ।

सन् २००६ मा, मेरो पाइतालमा छाला उक्‍किने गम्‍भीर समस्या आयो। मेरो खुट्टाका औँलाहरू यति दुख्थे कि म हिँड्नसमेत सक्दिनथेँ। पुलिसले मलाई कुनै उपचार गर्न दिएनन्, केही मलम मात्रै दिए, तर यसले मेरो खुट्टा निको पारेन, बरु अवस्था झनै बिगार्‍यो। मलाई निकै दुःख लाग्यो, र मलाई यो ठाउँ अत्यन्तै निराशाजनक र अन्धकारपूर्ण लाग्यो। कसैले पनि यस्तो सहन नपरोस्। तर त्यसपछि मलाई “विजेताहरूको गीत” शीर्षकको परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो: “के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारको बीचमा मेरो ज्योतिको मार्गदर्शनलाई अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको प्रमाणका रूपमा धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सहने कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९)। परमेश्‍वरका वचनहरूको यो भजन मनमनै गाएपछि, मैले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझेँ। उहाँको अभिप्राय ठूलो रातो अजिङ्गरको देशमा शैतानको अध्यारो प्रभुत्वबाट उम्केर परमेश्‍वरको मुक्ति पाउन सक्षम, र परमेश्‍वरको राज्यमा प्रवेश गरेर परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्य मानिसहरूको समूहलाई सिद्ध पारी विजेताहरू बनाउनु हो। यसबारेमा ध्यान दिएर सोच्दा, मैले के चाल पाएँ भने कम्युनिस्ट पार्टीको निर्दयी यातना र श्रम केन्द्रको अमानवीय व्यवहार अनुभव नगरेको भए, मैले कम्युनिस्ट पार्टीको परमेश्‍वरप्रतिको घृणा र शत्रुताको दुष्ट सार स्पष्ट रूपमा देख्‍न सक्‍नेथिनँ, मैले आफ्नो हृदयबाट यसलाई पूर्ण रूपमा इन्कार गर्ने कुरा त परै जाओस्। मैले यो दर्दनाक वातावरणको कष्ट नभोगेको भए र तथ्यहरूद्वारा मेरो खुलासा नभएको भए, मैले अझै पनि परमेश्‍वरसँग माग गरिरहेको रहेछु, वा परमेश्‍वरका कामहरू मेरा धारणाहरूअनुरूप नहुँदा, म अझै पनि परमेश्‍वरससित गुनासो र तर्क गर्न सक्ने रहेछु, वा मेरो कद र परमेश्‍वरमाथिको मेरो विश्‍वास अत्यन्तै सानो रहेछ भनेर मैले कहिल्यै थाहा पाउनेथिनँ। के यो ज्ञान र लाभ मैले यही दर्दनाक वातावरणबाट पाएको थिइनँ र? यो परमेश्‍वरले मलाई दिनुभएको अनुग्रह थियो! मप्रतिको परमेश्‍वरको प्रेम र मुक्तिको बारेमा सोचेपछि मैले आत्मविश्‍वास पाएँ। मलाई अय्यूबले कसरी आफ्‍ना छोराछोरी गुमाएका थिए, कसरी तिनको जीउभरि खटिरा आएको थियो, र कसरी तिनले धेरै शारीरिक कष्ट भोगेका थिए, र पनि तिनले कुनै गुनासो नगरी परमेश्‍वरको आराधना गरेका थिए भन्‍ने कुराको याद आयो। अय्यूबको तुलनामा त मैले भोगेको सानोतिनो रोग र थोरै कष्ट उल्‍लेख गर्नसमेत लायक थिएनन्। मैले परमेश्‍वरको गवाही दिनमा दह्रिलो हुन उहाँको आज्ञापालन गर्दै उहाँमा भरोसा गर्नुपर्थ्यो। यो सोचेपछि, मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, यो स्थान जति नै खराब भए पनि वा मेरो शरीरले जति नै कष्ट भोगे पनि, म समर्पित हुन तत्पर छु। अबउप्रान्त म नकरात्मक हुन चाहन्‍नँ, मैले वृद्धि हुनुपर्छ, ताकि तपाईंले अबउप्रान्त मेरो बारेमा चिन्ता गर्नु नपरोस्।”

त्यसपछिका दिनहरूमा, म प्रार्थना नगरी बस्‍न सक्दिनथेँ। जब म कामबाट थाक्थेँ वा पीडा सहन सक्दिनथेँ, र नकरात्मक र कमजोर बन्थेँ, तब म तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरिहाल्थेँ। क्रमिक रूपमा म दह्रिलो हुँदै गएँ, नकारात्मक र कमजोर महसुस हुन कम भयो, र परमेश्‍वरले मेरो लागि तय गर्नुभएको यो वातावरणलाई मैले उचित रूपमा सामना गर्न सकेँ। परमेश्‍वरलाई धेरैधेरै धन्यवाद! त्यो तीन वर्षको अवधिमा, परमेश्‍वरसँग प्रार्थना गर्दै, उहाँमा भरोसा गर्दै, र परमेश्‍वरका वचनहरूको अगुवाइमा भरोसा गर्दै, म अन्ततः त्यस्तो कठिन अवस्थाबाट पार पाउन सक्षम भएँ।

यो सबै अनुभव गरिसकेपछि, मैले ठूलो रातो अजिङ्गर शैतान हो, परमेश्‍वरलाई घृणा गर्ने र मानिसहरूलाई हानि गर्ने र भ्रष्ट पार्ने दियाबलस हो भनेर स्पष्ट रूपमा बुझेँ। परमेश्‍वर मात्रै प्रेम हुनुहुन्छ, र उहाँले मात्रै मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ। मलाई यातना दिइँदा, परमेश्‍वरको वचनले नै मलाई अगुवाइ गर्‍यो, मलाई आत्मविश्‍वास र शक्ति दियो, र दियाबलसको क्रूरतालाई हराउन सहयोग गर्‍यो। यो दर्दनाक वातावरणले नै मेरो जवान, अज्ञानी र सङ्कटाभिमुख व्यक्तित्वलाई बलियो, परिपक्‍व र स्थिर बनायो, र मैले कष्टमा हुँदा परमेश्‍वरमा भरोसा गर्न र उहाँकै बाटो हेर्न सिकेँ। यसले मलाई परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता देख्‍न, र परमेश्‍वर सधैँ मेरो साथमा रहनुहुन्छ, मलाई साथ दिन र रक्षा गर्न, र मलाई कुनै पनि बेला भरणपोषण दिन र सहयोग गर्न तयार हुनुहुन्छ भन्‍ने बुझ्‍न सहयोग गर्‍यो। मैले परमेश्‍वरप्रति थप आत्मविश्‍वास प्राप्त गरेँ। मैले भविष्यमा जति नै ठूलो सतावट र सङ्कष्टको सामना गरे पनि, म परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन दृढसङ्कल्पित छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मष्तिष्क-सफाइ विरुद्धको युद्ध

झाओ लियाङ्ग, चीन म १९ वर्षको हुँदा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले मेरो विश्‍वासको कारण पक्राउ गरेको थियो। तिनीहरूले मलाई परमेश्‍वरलाई...

नतोडिने विश्‍वास

मेङ्ग योङ्ग, चीनडिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्