निरन्तर यातना भोग्दा
सन् २००० डिसेम्बरको एक दिन दिउँसो करिब ५ बजेतिर एक जना ब्रदर र सिस्टरसहित म र मेरी श्रीमती घरमा भेला भइरहेका बेला हामीले अचानक ढोका जोरले “ढक ढक ढक” गरेको सुन्यौँ। मैले हतारपतार हाम्रा पुस्तकहरू लुकाएँ। त्यसपछि, छ-सात जना प्रहरी कोठामा पसे। तिनीहरूमध्ये एकले चिच्याउँदै भने: “तिमीहरू के गर्दैछौ? के तिमीहरू भेला भइरहेको हो?” उसले मलाई सर्च वारेन्टमा जबरजस्ती हस्ताक्षर गराएपछि तिनीहरूले घर खोतलखातल गरे र सबै कुरा भताभुङ्ग पारिदिए। तिनीहरूले परमेश्वरको वचनका पुस्तकहरू र दुईवटा टेप रेकर्डर भेट्टाए। राजनीतिक सुरक्षा विभागका लिउ थरका उपप्रमुखले परमेश्वरको वचनका केही पुस्तकहरू लिएर मनेर आए र भने: “यो तेरो गिरफ्तारीको प्रमाण हो।” त्यसपछि तिनीहरूले हामीलाई कारमा राखे। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंले आज हामीलाई पक्राउ पर्न दिनुभएको छ। प्रहरीले मलाई जतिसुकै यातना दिए पनि म यहूदा बनेर तपाईंलाई धोका दिदिनँ!”
प्रहरी चौकी पुर्याएपछि तिनीहरूले हामीलाई छुट्टाछुट्टै सोधपुछ गरे। जिन थरका एक प्रहरीले मलाई सोधे: “तेरो घरमा भएका ती पुस्तक तँलाई कसले दियो? तेरो नेता को हो?” म एक शब्द पनि बोलिनँ, त्यसैले तिनले क्रूरतापूर्वक भने: “तँ बोल्दैनस्? तँ बोलिनस् भने मर्छस्!” म नबोलेको देखेर एक जना प्रहरीले मेरो टाउकोमा बेस्सरी केही मुक्का हाने र एक-दुई थप्पड जोरले कसे। मेरो आँखा तिरिमिरी भयो र अनुहार भतभती पोल्यो। त्यसपछि तिनले मेरो तिघ्रामा केहीपटक जोरले लात हाने। प्रहरी जिनले पत्रिका बेरेर मेरो अनुहारमा हिर्काए र भयानक पाराले भने: “योसँग कुरा गरेर समय बर्बाद नगरौँ। त्यसलाई डोरीले बाँधौँ र हामी के गर्न सक्छौँ भनेर देखाइदिऊँ!” त्यसपछि एक जना प्रहरीले लगभग एकचौथाइ इन्च मोटो डोरी ल्याए अनि मेरो बाहिरी लुगा फुकालेर भित्री लुगामा मात्रै राखे। तिनीहरूले मेरो पाखुरा समातेर भुइँमा लडाए, मेरो घाँटी वरिपरिबाट डोरी बेर्दै छातीबाट लगेर पाखुरा बाँधे, अनि मेरा हातहरूलाई पछाडि लगेर बाँधे, त्यसपछि त्यो डोरीलाई मेरो घाँटीमा बेरेको डोरीमा छिराएर बेस्सरी तानेर कसे। मेरा दुवै काँधलाई दुख्ने गरी आपसमा खिचेर तानियो र त्यो पातलो डोरी मासुमा गाडियो। मेरा पाखुरा भाँचिएजस्तो लाग्यो र असाध्यै पीडा भयो। तिनीहरूले मेरा खुट्टा ९० डिग्रीमा तन्काउन लगाए र मेरो कम्मरसँगै टाउकोलाई पनि ९० डिग्रीमा निहुराए। मलाई चक्कर लाग्यो र मेरा आँखा टाउकोबाट फुत्त बाहिर निस्केला जस्तो भयो। अनुहारबाट पसिना तररर बगेर भुइँ भिजेको थियो। म थकित र पीडामा थिएँ, शरीर काँपिरहेको थियो, र म उभिन नसक्ने थिएँ। म मेरो खुट्टालाई नजिक ल्याएर एकछिन आराम गर्न चाहन्थेँ, तर अलिकति हलचल गरेमा जिनले पछाडि लात हानिहाल्थे र हलचल नगरी बस् भन्थे। पीडा असह्य थियो। ममा रिस र घृणा जागेको थियो, र मैले सोचेँ: “बाहिर यत्तिका धेरै अपराधी छन् तर तिमीहरू तिनका पछि लाग्दैनौ। म परमेश्वरमा विश्वास गर्छु र सही मार्गमा हिँड्छु, कुनै कानुन उल्लङ्घन गर्दिनँ, तर मलाई नै यातना दिँदैछौ। यो त हदैको दुष्टता हो!” मलाई परमेश्वरका वचन याद आए, जसले यसो भन्छन्: “प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। आखिर मैले चिनियाँ कम्युनिस्ट पार्टीको कुरूप अनुहार कस्तो छ भनेर देखेँ। तिनीहरू “धार्मिक स्वतन्त्रता” र “प्रहरी जनताको साथी” भन्छन्, तर ती सबै झूट हुन्! चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक स्वतन्त्रताको सम्मान गरेको बहाना गरिरहन्छ, तर वास्तवमा तिनीहरू विश्वासीहरूलाई निर्दयी व्यवहार गर्छन् र हामी सबैलाई निमिट्यान्न पार्न चाहन्छन्। कम्युनिस्ट पार्टी भनेको शैतान अर्थात् दियाबलस हो, जसले परमेश्वरलाई प्रतिरोध र घृणा गर्छ। मैले मनमनै सोचेँ, “तिनीहरूले मलाई जति धेरै यातना दिन्छन्, उति नै धेरै म अन्त्यसम्म विश्वास राख्नेछु!”
करिब आधा घण्टापछि मलाई आफ्नो सारा शरीर कमजोर भएको महसुस भयो अनि मेरो टाउको र आँखा सुन्निएका थिए। मेरा खुट्टा पूरै लाटा भए अनि पाखुरा र हातले केही चाल नपाउने भए। मेरा कपडा निथ्रुक्कै भिज्यो। त्यतिबेला जिनले यसो भनेको सुनेँ: “तिमीहरूले यो डोरी एक घण्टाभन्दा बढी प्रयोग गर्नुहुँदैन, अन्यथा पाखुरा नचल्ने हुन्छ।” तिनले त्यसो भनेपछि तिनीहरूले डोरी खोले। तिनीहरूले डोरी फुकाल्नसाथ म भुइँमा डङ्ग्रङ्ग लडेँ, मेरो सारा शरीर दुखिरहेको थियो। त्यसपछि दुई जना प्रहरीले दुईतिरबाट मेरा दुवै हात समाए र ठूलो डोरी बटारेको जस्तो गरी मेरा पाखुरा बटारे। केहीपटक बटारेपछि मेरा हात असाध्यै दुख्यो। जिनले फेरि मलाई सोधे: “तैँले ती पुस्तक कहाँबाट पाइस्? तेरो नेता को हो? कसले तँलाई धर्ममा लगायो? अहिले बताइहाल्!” त्यसपछि लिउले देखावटी दया देखाउँदै भने: “हामीलाई त्यति मात्र बता, यो त्यति ठूलो कुरा होइन। यदि तैँले बताइस् भने उप्रान्त दुःख कष्ट भोग्नुपर्दैन।” मैले सोचेँ: “मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै धोका दिन्छु पो होला!” म नबोलेकोले जिनले झोक्किँदै भने: “यसलाई फेरि डोरीले कस् र कतिबेर थेग्दो रहेछ हेरौँ न!” तिनीहरूले फेरि मलाई डोरीले बाँधे। यसपटक तिनीहरूले मलाई अझ धेरै कसेर बाँधे। डोरी पहिलेकै डोबमा गड्यो र पहिलेभन्दा धेरै दुख्यो। मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरिरहेँ, अनि विश्वास एवम् शरीरको पीडा सहन मदत मागेँ। आधा घण्टापछि मैले जवाफ नदिएको देखेर तिनीहरूले डोरी खुकुलो पारे।
राती लगभग साढे बाह्रतिर प्रहरीले मलाई बन्दीगृहमा लग्यो। बन्दीगृहमा मैले दिनको दुईपटक मात्र खाना पाउँथेँ, हरेक खानामा उसिनेको रोटी र अलिकति सब्जी मात्र हुन्थ्यो। रोटीभित्र मकैको खोया पिसेर हालिएको, आधाजति सब्जी कुहिएको र कचौराको पिँधमा हिलो हुन्थ्यो। हरेक दिन खाना खाने बेलामा र बिहान आधा घण्टा बाहिर घुम्न जाँदाबाहेक बिहान छ बजेदेखि राती आठ बजेसम्म मैले पलेटी कसेर बस्नुपर्थ्यो। यदि बसिरहेको बेला अलिकति मात्र हलचल गरेँ भने कसैले मलाई हिर्काइहाल्थ्यो। प्रहरी चौकीमा डोरीले बाँधेर यातना दिएकोले मेरो एक काँधदेखि अर्को काँधसम्म गहिरो घाउ भएको थियो। त्यसबाट पीप निस्केर मेरा कपडा भिजेको थियो, र मेरा नाडीबाट पनि रगत बग्न थालेको थियो, निलो-रातो भएर सुन्निएको थियो। मेरो शरीरभरिका जोर्नी सहनै नसक्ने गरी दुख्थ्यो र शौचालय जानसमेत असाध्यै गाह्रो हुन्थ्यो। यो ठाउँ मान्छे राखिन उपयुक्त छैन भन्ने मलाई लाग्यो र जेलका ती अन्धकार दिन आखिर कहिले समाप्त हुने हो मलाई थाहा थिएन। यी सोचाइले मलाई साह्रै पीडा दियो। पीडाको बीचमा मैले परमेश्वरलाई मार्गदर्शन माग्दै बारम्बार प्रार्थना गरेँ ताकि मैले उहाँको इच्छा बुझ्न सकूँ, बलियो हुन सकूँ, र आफ्नो गवाहीमा दृढ रहन सकूँ। मलाई परमेश्वरका यी वचन याद आए: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरू मनन गर्दा म उत्साहित भएँ। परमेश्वरको अनुमतिले नै म त्यस्तो परिस्थितिमा थिएँ। परमेश्वरले मेरो विश्वास र प्रेमलाई सिद्ध पार्न त्यो कठिन वातावरण प्रयोग गरिरहनुभएको थियो। म आफ्नो गवाहीमा दृढ रहूँ र शैतानलाई लज्जित बनाऊँ भन्ने उहाँको चाहना थियो। तर यदि अलिकति कष्ट भोग्नुपर्दा नै म भाग्न खोज्ने हो भने त्यो कस्तो प्रकारको गवाही हुनेथियो? मैले प्रहरीको यातना भोगे पनि यसले मलाई परमेश्वरको प्रतिरोध गर्ने कम्युनिस्ट पार्टीको शैतानी सारलाई स्पष्टसित बुझ्न मदत गऱ्यो, ताकि मैले त्यसलाई हृदयभित्रदेखि घृणा गर्न र त्याग्न सकूँ, अनि उप्रान्त त्यसको धोकामा नपरूँ। त्यो त मेरो लागि परमेश्वरको मुक्ति थियो। मैले परमेश्वरको इच्छा बुझेपछि म त्यति दुःखी भइनँ। मैले आफैसँग यस्तो प्रतिज्ञा गरेँ: “मैले जति नै कष्ट भोगे पनि म परमेश्वरमा भर परिरहनेछु र उहाँको गवाही दिनमा दृढ भई खडा भइरहनेछु।”
एक दिन, राजनीतिक सुरक्षा विभागबाट एक व्यक्ति मलाई सोधपुछ गर्न आए र म अलिक आत्तिएँ। तिनीहरूले मलाई कस्ता प्रकारका यातना दिने हुन् भन्ने मलाई थाहा थिएन। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेर मेरो हृदयको रक्षा गर्नुहोस् भनी बिन्ती गरेँ। सोधपुछ कोठामा उपप्रमुख लिउले ढोँगी पाराले सोधे: “कुरा नलुकाई भन्, हामीलाई भनिसकेपछि तँ घर जान सक्छस्। हामी तेरो घर गयौँ। तेरा छोराछोरी सानै रहेछन्—एकदमै दुःखको कुरा, तिनीहरूको देखरेख गर्ने कोही रहेनछ। हामीलाई बताई मात्र दे।” तिनीहरूले मेरा छोराछोरीको कुरा गर्दा मलाई असह्य भयो। मैले सोचेँ: “म र मेरी श्रीमतीलाई कम्युनिस्ट पार्टीले पक्राउ गऱ्यो र अहिले मेरा छोराछोरीलाई समेत जोड्दैछ। यस्तो सानो उमेरमा कसैको हेरचाहबिना तिनीहरूले कसरी जीवन गुजार्न सक्छन्?” त्यतिबेला मलाई परमेश्वरका यी वचनहरू याद आए: “मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ; … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३)। यो शैतानको चाल हो भनेर मैले बुझेँ। प्रहरीले मेरा भावना प्रयोग गरेर मलाई परमेश्वरलाई धोका दिन लोभ्याउँदै थियो। म त्यो चालमा पर्नु हुँदैनथियो। त्यसपछि, मैले परमेश्वरका वचनहरू सम्झेँ, जसले यसो भन्छन्: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १)। पमेश्वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र मेरा छोराछोरी उहाँका हातमा थिए। म आफ्ना छोराछोरीलाई परमेश्वरमा सुम्पन इच्छुक थिएँ, र प्रहरीले मेरो विरुद्धमा जुनसुकै चाल चले पनि म दृढ रूपमा खडा रहनेथिएँ र कहिल्यै यहूदा बन्नेथिइनँ! लिउले मलाई मण्डलीबारे सोधपुछ गरिरहे र मैले जवाफ नदिँदा जिनले मलाई मुक्का र लात्तीले हिर्काउँदै यसरी चिल्लाए: “बोल्दैनस्, तँलाई म कुटेर मार्छु!” कुटाइले गर्दा मेरो टाउको रन्थनियो। मलाई कुट्दा-कुट्दा जिन स्याँस्याँ भए र कुट्न छोडे, त्यसपछि रिसाउँदै भने: “बोलिनस् भने ठीकै हुनेछु भनी सोच्छस्? तैँले अझै जेलको हावा खानेछस्! तँलाई तह लगाउने तरिका हामीसित छ।” तिनले बोल्दै जबरजस्ती मेरो कोट, कपडाको जुत्ता र मोजा खोले। तिनले मेरो पिंडुला देखिने गरी मेरो पाइन्ट माथि सुर्काए, त्यसपछि मलाई तान्दै सोधपुछ कोठाको बाहिरपट्टि भएको ठूलो ट्रकतिर लगे र मेरा हातलाई ट्रकको ढोकाको ह्याण्डल राखेर हतकडी लगाए। ढोका निकै अग्लो थियो, ह्याण्डलमा राखेर हतकडी लगाउँदा मेरा हात टाउकोमाथि परे। भुइँमा एक फुटभन्दा बाक्लो हिऊँ जमेको थियो। जिनले म उभिरहेको ठाउँको वरिपरि लगभग १० वर्ग फिट हिउँ सफा गरे, त्यहाँ बरफको पातलो तह भएको बलौटे जमिन देखियो। तिनले मलाई खाली खुट्टा त्यो बरफमा उभिन लगाए, र रिसाउँदै भने: “यदि तँ बोलिनस् भने कठ्याङ्ग्रिएर अधमरो हुनेछस्। बाँकी जीवन तँ कुँजो बन्नेछस्!” त्यसपछि तिनी भित्र गए।
त्यो हिउँद विशेष गरी चिसो थियो। बाहिर तापक्रम लगभग माइनस ५ डिग्री थियो। हतकडी लगाउनेबित्तिकै मलाई हड्डीसम्म चिसो भयो र म उभिरहेको ठाउँमा चिसो बतास चलिरहेको थियो। मेरो शरीरले बिस्तारै केही चाल पाउन छोड्यो। मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरिरहेँ: “हे परमेश्वर, म आफूलाई पूर्णतया तपाईंका हातमा सुम्पँदैछु। यो कष्ट पार गर्न कृपया मलाई विश्वास, तागत र इच्छाशक्ति दिनुहोस्।” मैले प्रार्थना गरिसकेपछि, “सत्यताको लागि सबै त्याग्नुपर्छ” भन्ने शीर्षक रहेको परमेश्वरका वचनको एउटा भजन मनमनै गाएँ:
१ तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। …
२ तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
म उत्साहित भएँ। म शैतानसामु झुक्नु हुँदैनथियो। त्यो दिन म कठ्याङ्ग्रिएर मरेको भए पनि परमेश्वरको गवाहीको रूपमा दृढ खडा हुनेथिएँ! लगभग आधा घण्टापछि बन्दीगृहको गार्डले जाँदैगर्दा मलाई ट्रकको ढोकमा हतकडी लगाइएको देखे। तिनले सोधपुछ कोठातिर जाँदै जोरले कराएर भने: “तिमीहरूले मानिसलाई यसरी सोधपुछ गर्न सक्दैनौ। हामी कसैलाई पनि चिसोले कक्राएर अधमरो पार्न सक्दैनौँ!” ती गार्ड भित्र गएको तुरुन्तैपछि जिन र अरूले आएर मलाई तान्दै भित्र लगे। त्यतिञ्जेल त मेरा हातखुट्टा केही चाल नपाउने भइसकेका थिए, चिसोले गर्दा मेरो मुख लाटो भएको थियो र मेरो मुटु थरथराइरहेको थियो। म भुइँमा एक घण्टाभन्दा बढी बसेँ र त्यसपछि बिस्तारै जीउ तातिन थाल्यो। लिउले मलाई पीडामा देखेर खुसी हुँदै भने: “तिमीहरू चोरभन्दा पनि खत्तम छौ—कम्तीमा तिनीहरूसित सीप त छ। तिमीहरू त परमेश्वरमा विश्वास गर्नकै लागि यत्तिका दुःख भोग्छौ, यो कष्ट भोग्न लायक कुरै होइन। नबोले पनि तँलाई सजाय त हुने नै छ।” त्यो सुनेर मलाई असाध्यै रिस उठ्यो। यी प्रहरीले सत्य कुरालाई तोडमरोड गर्छन्। तिनीहरू चोरको अपराधलाई सीप ठान्छन् तर सत्यताको मार्गमा हिँड्ने हामी विश्वासीलाई चाहिँ अपराधीजस्तो व्यवहार गर्छन्, मानौँ हामी अमानवीय यातना दिइनुपर्ने घातक शत्रु हौँ! तिनीहरूका दुष्ट अनुहार देख्दा मैले तिनीहरूलाई हृदयबाटै सरापेँ। अन्त्यमा, तिनीहरूले मैले मुख नखोल्ने देखेपछि मलाई फेरि जेलकोठरीमा नै पठाए।
त्यो रात, मेरा खुट्टा चिलायो र दुख्यो, अनि त्यसमा फोका उठ्यो। भोलिपल्ट बिहान खुट्टाभरि उम्लेको पानीले पिल्सिएको जस्तो रगतसरिको फोका उठेको थियो। एकपछि अर्को गर्दै उठेका ती फोकामध्ये ठूलो चाहिँ अण्डाको रानी जत्रो र सानो चाहिँ औँलाको टुप्पो जत्रो थियो। म पटक्कै हिँड्न सकिनँ र मलाई ती फोका कन्याउन मन लाग्यो, तर आँट आएन। ती रगतसरिका फोकाहरू फुट्दा मेरो मोजा टाँसियो। मेरा पिंडुला पूरै लाटा भएका थिए र चिलाउँथ्यो। मलाई हनहनी ज्वरो आयो र अनुहार रन्किएर रातो भयो। तेस्रो दिनसम्म त मेरा खुट्टामा सङ्क्रमण भएर र धेरै सुन्निएर सबैभन्दा ठूलो चप्पलमा पनि घुसार्न सकिनँ। मेरा पिंडुला पनि सुनिएर सामान्यभन्दा दोब्बर आकारको भएका थियो, र गोलीगाँठो पूरै कालो-निलो भएको थियो। यसको लागि जिम्मेवार ठहराउला भनेर गार्डहरूले मलाई अस्पताल पठाए। डाक्टरले मेरो दायाँ गोलीगाँठो सङ्क्रमण भएर पिलिएको छ र शल्यक्रिया गर्नुपर्छ भने। शल्यक्रिया गर्ने कक्षमा डाक्टरले अर्को कर्मचारीलाई यसो भनेको सुनेँ: “केही दिनअघि यस्तै हालतको अर्को कैदी ल्याइएको थियो। उसको खुट्टा पनि यसरी नै सङ्क्रमण भएको थियो, हड्डीको तन्तु मर्ने अस्टियोमाइलाइटिस रोगले उसको मृत्यु भयो।” डाक्टरले त्यसो भनेको सुनेर म भयभीत भएँ। मेरा खुट्टामा सङ्क्रमण भएको थियो र म हिँड्नसमेत सक्दिनथिएँ। के मलाई पनि अस्टियोमाइलाइटिस हुनेथियो? त्यसो भएको भए, कि मेरो मृत्यु हुनेथियो वा म अपाङ्ग हुनेथिएँ। त्यसपछि मैले के गर्नेथिएँ? म अझै जवानै थिएँ र मेरा सारा परिवार ममाथि आश्रित थिए। मैले जति धेरै सोचेँ, त्यति नै धेरै मलाई पीडा भयो, र त्यसपछि मलाई “कसरी सिद्ध पारिने” भन्ने शीर्षक रहेको परमेश्वरका वचनहरूको एउटा भजन याद आयो: “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्न सक्ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्वास हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्वरका वचनहरूबाट मैले विश्वास र तागत पाएँ। कष्ट भोग्दा पनि मैले विश्वास राखेको र म दृढ भएको परमेश्वर चाहनुहुन्छ। विगतमा केहीपटक यातना भोगेको कुराबारे सोच्दा मलाई आफूसित धेरै विश्वास छ भन्ने लाग्यो। चिसोले आफू निकै घाइते भएको देख्दा मलाई आफ्नो जीवन र भविष्यबारे चिन्ता लाग्न थाल्यो। म मर्छु होला वा खुट्टा नचल्ने होला भन्ने डर भयो। मेरो कद साँच्चै सानो थियो। मैले परमेश्वरप्रति साँचो विश्वास वा समर्पण पटक्कै देखाइनँ। यी कुराबारे सोच्दा मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! म उप्रान्त आफूबारे सोच्न चाहन्नँ। म तपाईंका योजनबद्ध कार्य र बन्दोबस्त पालन गर्नेछु, अनि यदि म मर्न परे पनि दृढ भई खडा रहनेछु र तपाईंलाई सन्तुष्ट तुल्याउनेछु।” अस्पतालमा छँदा प्रहरीले मलाई हर समय पलङमा हतकडी लगाएर राख्थे। तिनीहरूले मलाई शौचालय जान र खाना खानका लागि मात्र हतकडी खोल्थे। एकपटक म शौचालय गएको बेला दुई जना महिला बिरामीले प्रहरीलाई मैले के अपराध गरेछु भनेर सोधेछन्। जिनले भनेछन्, “ऊ बलात्कारी हो!” ती महिला बिरामीहरूले मलाई घृणाको नजरले हेरे। मलाई रिस उठ्यो। प्रहरीले सधैँ तथ्य कुरा बङ्ग्याउँछन् र झूट कुरा गर्छन्!
केही हप्तापछि मेरा खुट्टा सुनिएको कम भयो, तर अझै पनि खोच्याउँदै हिँड्थेँ। गार्डहरूले मलाई फेरि बन्दीगृहमा ल्याए। एक दिन तीन जना नयाँ प्रहरी मलाई सोधपुछ गर्न आए। मलाई स्लाइन पानी दिएको देखेर तिनीहरूले निर्दयी तरिकाले भने: “त्यो निकाल! तिमीहरूले यसलाई स्लाइन पानी दिएर एकदमै दया देखाइरहेका छौ। यसलाई जिउँदै राख्यौ, त्यो नै ठूलो कुरा हो!” मलाई रिस उठ्यो र मनमनै सोचेँ: “कस्ता पिशाचहरू, मलाई चिसोले कक्राएर अधमरो पार्ने अनि अहिले चाहिँ एकदमै दया देखाएको भन्दा रहेछन्। तिनीहरू साँच्चै क्रूर र निर्दयी हुन्!”
सोधपुछ कोठामा, एक जना प्रहरीले भने: “तेरो मुद्दा अब हाम्रो आपराधिक प्रहरी ब्रिगेडको हातमा आएको छ। राजनीतिक सुरक्षा विभागको अब तँसित कुनै काम नरहन सक्छ, तर हाम्रो सधैँ आफ्नै तरिका हुन्छन्!” तिनीहरू सबैको दुष्ट, नीच अनुहार देखेर म आत्तिएँ र मलाई चिटचिट पसिना आउन थाल्यो। आपराधिक प्रहरी ब्रिगेडले ठूला मुद्दाहरू हेर्छन् भनेर मैले सुनेको थिएँ। तिनीहरूले अत्यन्तै क्रूर र निष्ठुर तरिकामा यातना दिने गर्थे। तिनीहरूले मलाई कसरी यातना दिनेथिए, त्यो मलाई थाहा थिएन। के मैले त्यो सहन गर्न सक्नेथिएँ? मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेर मलाई विश्वास र यो कष्ट सहने सङ्कल्प दिनुहोस् भनी बिन्ती गरेँ। त्यसपछि, ती प्रहरीले भने: “हाम्रो यहाँ सबैभन्दा ढीटहरूले समेत सधैँ मुख खोलेका हुन्छन्। आपराधिक प्रहरी ब्रिगेडले मानिसलाई सजाय दिने कुरामा विशेषज्ञता हासिल गरेको हुन्छ। सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने तिमीहरू बाँच वा मर हामीलाई वास्ता हुँदैन, त्यसैले कुरा नलुकाई छिटो बता!” मैले भनेँ: “मसँग भन्नुपर्ने केही छैन।” तिनले रिसाएर मलाई एक हातले र त्यसपछि फेरि अर्को हातले जोरले थप्पड हाने। म रन्थनिएँ। मलाई अनुहारमा एकदमै पीडा भएको र मुखका कुनाबाट रगत बगिरहेको अनि मुख र अनुहार सुनिएको मात्र महसुस हुन सक्यो। तिनीहरू सबै बलिया र क्रूर रहेको देखेर म निकै चिन्तित भएँ: “यदि यस्तै भइरह्यो भने त, के तिनीहरूले मलाई कुटेर अपाङ् बनाउने र मार्नेछैनन् र? यदि मैले यातना सहन नसेकर पोल खोलेँ भने त म यहूदा बन्नेछु।” मैले तुरुन्तै परमेश्वरसामु आएर प्रार्थना गरेँ। प्रार्थना गरिसकेपछि, मैले परमेश्वरका वचनहरूको एउटा वाक्य सम्झेँ: “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। मैले परमेश्वरका वचनहरूबाट विश्वास प्राप्त गरेँ र यस्तो सङ्कल्प गरेँ: “आज तिनीहरूले मलाई जति नराम्रोसँग कुटे पनि म यहूदा बन्नेछैनँ!” तिनीहरूले मलाई अझ केहीपटक बेस्सरी थप्पड र लात हाने। त्यसपछि, तिनीहरूले मलाई पहिलाकै जस्तो डोरीले बाँधे। तर यसपटक अझ नराम्रोसित बाँधे। तिनीहरूले मेरा पाखुरा पछाडि तानेर डोरीले बेस्सरी कसे। मेरा पाखुरा भाँचिएजस्तो भयो र नराम्रोसँग दुख्यो। आधा घण्टापछि, मेरा हात कालो-निलो भए, तिनीहरूले मलाई मर्ने हालतमा देखेर डोरी खोले। त्यसको आधा घण्टापछि मेरा नाडी ठीक भएको देखेर तिनीहरूले फेरि मलाई दोस्रोपटक डोरीले कसे। यसपटक तिनीहरूले भूइँ पुछ्न प्रयोग गरिने मोप ल्याए। तिनीहरूले त्यसको बिँडलाई मेरो गर्धन वरिपरी बाँधेको डोरीको पछाडिपट्टि घुसारे र त्यसलाई दुईपटक घुमाएर मेरो पाखुरा र काँधको डोरी अझ जोरले कसे। एक जना प्रहरी मेरो पछाडिको मोप समाएर कुर्सीमा बसे र त्यसलाई बेस्सरी तल बटारे। मेरा हातमा असह्य पीडा भयो र ती भाँचिन लागेजस्तो लाग्यो। तिनले मोपलाई तलतिर बटार्दै मलाई सोधिरहे: “तिमीहरू कति जना छौ? तेरो नेता को हो?” मैले जवाफ नदिएको देखेर तिनीहरूले तीनवटा बियरको बोतल ल्याए र मेरा पाखुरामुनि घुसारे। मलाई त मेरा पाखुरा कऱ्याककुरुक भएछ भन्ने लाग्यो र यत्ति साह्रो पीडा भयो कि मेरो झण्डै ज्यानै गयो। मैले परमेश्वरलाई शक्ति माग्दै प्रार्थना गरिरहेँ। त्यसपछि, दुई जना प्रहरी मेरा दायाँबायाँतिर आएर मेरो कमिज उठाए, र पानीको बोतलको मुखले करङमा बेस्सरी रगडे। अति दुख्यो र म चिल्लाएँ। एक जना प्रहरीले चिच्याउँदै भने: “तँलाई पीडा भइरहेको छ, आफूलाई बचाउन तँ आफ्नो परमेश्वरलाई बोला न त, हुन्न? यदि तँलाई यतिसाह्रो पीडा भइरहेको छ भने, बता न त!” तिनीहरूले छाला नपिल्छिएसम्म मेरो करङमा रगडिरहे। त्यो पीडादायी थियो। त्यसपछि तिनीहरूले मेरो टाउको जोडले तलतिर थिचेर आक्रोशित हुँदै भने: “यसो गर्दा पनि भएन भने यसलाई कोही पनि नभएको ठाउँमा लैजाऔँ र कुटेर मारौँ। परमेश्वरमा विश्वास गर्नेहरू हुनुभन्दा चोर हुनु उत्तम हो। यदि तैँले केही पैसा पाएको भए पनि थोरै कष्ट जायजै हुन्थ्यो!” त्यसपछि, एक प्रहरीले भने: “बता न, त्यति बताउनुको लागि यो कष्ट भोग्नु उचित होइन। बताइस् भने, सबै कुरा सक्किइहाल्छ।” मलाई मेरो शरीरको सहने क्षमता समाप्त भएको जस्तो महसुस भयो, र मैले सोचेँ: “यदि मैले तिनीहरूलाई सानोतिनो कुरा मात्र बताएर झुक्याउँदा हुन्छ कि? सायद मैले भोग्ने कष्ट पनि कम हुनेछ।” तर त्यसपछि मनमा लाग्यो, यदि मैले केही भनेँ भने, म यहूदा बनेर परमेश्वरलाई धोका दिइरहेको हुनेछु। मैले केही भन्नु हुँदैन। मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ: “हे परमेश्वर! म अब साँच्चै खडा रहन सक्दिनँ। मलाई तागत दिनुहोस् र मेरो रक्षा गर्नुहोस् ताकि म आफ्नो गवाहीमा दृढ रहन सकूँ।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरका वचनहरू याद आयो: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूबाट मैले पुनः तागत पाएँ। मैले उहाँको साथ र निरन्तर मार्गदर्शन महसुस गर्न सकेँ। मैले जति नै कष्ट भोगे पनि म परमेश्वरमा भर पर्नेथिएँ र त्यसबाट पार हुनेथिएँ। मैले उहाँलाई प्रार्थना गरेँ: “हे परमेश्वर, म कति सहन सक्छु, तपाईंलाई थाहा छ। तिनीहरूले मलाई जतिसुकै यातना दिए पनि, म तपाईंलाई धोका दिनेछैनँ। यदि मैले साँच्चै अरू पीडा सहन सकिनँ भने म यहूदा बन्नुभन्दा बरु मर्नेछु।”
दोस्रो चरण सकिएपछि म भुइँमा ढलेँ। म मुस्किलले अलिक ठीक हुनासाथ एक प्रहरीले मलाई कलरमा समाएर ताने र पर्खालमा चेप्ट्याए। तिनले मेरो घाँटी अँठ्याए र क्रूरतापूर्वक भने: “तेरो म आज घाँटी निमोठ्छु!” मैले मुस्किलले सास फेर्दै सारा तागत लगाएर तिनलाई पर धकेलेँ। तिनी पछाडि हटे र छक्क परे। मलाई पनि अचम्म लाग्यो। एक महिनाको यातनापछि म निकै कमजोर भएको थिएँ। त्यो दिन मैले पहिले नै केही यातना भोगिसकेको थिएँ र मसँग कुनै शक्ति बाँकी थिएन। मैले तिनलाई धकेल्न सक्छु भनेर कल्पना गरेको थिइनँ। यो त परमेश्वरले मलाई मदत र तागत दिनुभएको हो भनेर मलाई थाहा भयो। तिनीहरूले मलाई दिउँसो एक बजेसम्म यातना दिइरहे। एकजना आपराधिक प्रहरीले क्रोधित हुँदै भने: “तँ साह्रै जिद्दी छस्। हामी भोलि पनि यातना जारी राख्नेछौँ र कतिसम्म टिक्न सक्दो रहेछस्, हेरौँ न। यदि तँ बोलिनस् भने, कुरो नखोलेसम्म हामी तँलाई हरेक दिन सोधपुछ गर्नेछौँ!” राति म आफ्नो खाटमा ढल्किरहेको थिएँ, जीउभरि चोटैचोट थियो। मेरो करङ वरिपरिको छाला सबै पिल्सिएको थियो र सास फेर्दासमेत दुख्थ्यो। मेरा पाखुरा यतिसाह्रो दुख्थ्यो कि कमिज खोल्न पनि सक्दिनँथेँ। मैले कलर उठाएर हेरेँ र काँधमा निको भइसकेका घाउहरू फेरि बल्झिएको देखेँ। मेरा नाडीमा डोरीको छाप बसेको ठाउँमा रगतका डामहरू बसेका थिए। ती पिशाचहरूले मलाई परमेश्वरलाई धोका दिन र मेरा दाजुभाइ-दिदीबहिनीहरूको पोल खोल्न बाध्य पार्न जस्तोसुकै क्रूर कार्य गर्नेथिए। तिनीहरू मलाई मार्न आतुर थिए। तिनीहरू सत्यतालाई घृणा गर्ने, परमेश्वरलाई घृणा गर्ने पिशाचहरूको झुण्ड थिए! प्रहरीले भोलिपल्ट मलाई फेरि सोधपुछ जारी राख्ने भनेको कुराबारे सोच्दा म कायर भएँ र डर लाग्यो: “के भोलि यातना झनै क्रूर हुनेछ? के तिनीहरूले मलाई यातना दिएर मार्नेछन्? मैले मण्डलीबारे नबताएसम्म यी दुष्ट प्रहरीले रोकिनेवाला छैनन्। तर यदि मैले मुख खोलेँ भने म परमेश्वरलाई धोका दिने यहूदा बन्नेछु, र यदि मुख खोलिनँ भने मलाई यातना दिएर मारिनेवाला छ।” अनि मैले परमेश्वरलाई बारम्बार प्रार्थना गरें: “हे परमेश्वर, मेरो कद धेरै सानो छ, म साँच्चै यी सबै यातना एक्लै सहन सक्दिनँ, तर म यहूदा बनेर तपाईंलाई धोका दिन चाहन्नँ। कृपया मलाई मदत र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरका यी वचनहरू याद आयो: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। मैले ती वचनहरूबारे बारम्बार सोचेँ। परमेश्वरको स्वभाव धर्मी छ र यसले अपराध सहँदैन भनेर मलाई थाहा थियो। यदि मैले कष्टबाट उम्कन परमेश्वरलाई धोका दिएँ र दाजुभाइ-दिदीबहिनीहरूको पोल खोलेँ भने परमेश्वरको स्वभावलाई चिढ्याइरहेको हुनेथिएँ र अन्ततः दण्ड भोग्नेथिएँ। मैले यी सम्पूर्ण अनुभवबारे सोचेँ। यदि परमेश्वरका वचनहरूले मलाई मार्गनिर्देशन नगरेका भए मैले प्रहरीको क्रूर यातना सहन सक्नेथिइनँ। परमेश्वरको सुरक्षाको कारण नै म अझै जीवित छु। मेरो जीवन र मृत्यु परमेश्वरका हातमा छ। परमेश्वरको अनुमतिबिना शैतानले मेरो जीवन लिन सक्दैन। त्यो कुरा मनमा राखेर मैले परमेश्वरको गवाहीको रूपमा दृढ भई खडा हुन आफ्ना सबै कुरा दिने सङ्कल्प गरेँ। अचम्मको कुरा, मलाई अर्को सोधपुछको सामना गर्ने आत्मविश्वास जागेपछि तिनीहरू फर्केर आएनन्। करिब एक महिना पछि लिउले मलाई सूचित गरे: “तेरो मुद्दा बन्द गरिएको छ। तँलाई एक वर्षको समय दिइएको छ। तेरो परिवारले सुनवाईको लागि जमानत गराएको छ। घर पुगेपछि एक वर्षसम्म त्यहीँ रहनुपर्छ। बोलाएको सूचना पाउनेबित्तिकै तँ हाजिर हुनुपर्छ।”
रिहा भएपछि मैले प्रहरीको निगरानीबाट बचेर अन्य ठाउँमा कर्तव्य पूरा गर्नका लागि घर छोड्नुपऱ्यो। चिनियाँ कम्युनिस्ट पार्टीबाट भएको त्यो पक्राउ र सतावटले मलाई परमेश्वरलाई घृणा र प्रतिरोध गर्ने त्यसको शैतानी सार स्पष्ट रूपमा देख्न मदत गर्यो। मैले त्यसलाई भित्रैदेखि घृणा गरेँ। मैले साँच्चै मेरो लागि परमेश्वरको प्रेम र मुक्ति पनि महसुस गरेँ। म अरू यातना सहन लगभग नसक्ने अवस्थामा पुग्दा परमेश्वर सधैँ मेरो साथमा रहनुभयो, मेरो हेरचाह र रक्षा गर्नुभयो अनि आफ्ना वचनहरू प्रयोग गरेर मलाई डोऱ्याउनुभयो अनि विश्वास र तागत दिनुभयो ताकि मैले ती दियाबलसको क्रूरतालाई जित्न सकूँ र आफ्नो जीवन उहाँलाई सुम्पने र उहाँको गवाहीको रूपमा दृढ खडा हुने सङ्कल्प गर्न सकूँ। परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।