गोप्य होटेलमा भएको सोधपुछ

16 डिसेम्बर 2024

सङ पिङ, चीन

फेब्रवरी २०१३ को एक दिन, एक जना सिस्टर र मैले भेलामा जाने योजना बनायौँ। दिउँसोको दुई बजेतिर, मैले उनलाई जुत्ता पसलको छेउमा पर्खिरहेकी थिएँ, त्यस बेला एक जना मान्छेले फोनमा बोल्दै मलाई घरीघरी हेरिरहेको देखेँ, र मलाई केही गडबड छजस्तो लाग्यो। म त्यहाँबाट जान लाग्दा, “हलचल नगर्” भनेर भनेको सुनेँ। मैले मतिर चारपाँच जना मानिसहरू दौडिँदै आइरहेको देखेँ, र मैले सोचेँ, “अहो, पुलिस पो आएछ!” मैले भाग्‍ने प्रयास त गरेँ, तर दुई जनाले मलाई समाएर भूँइमा लडाए, त्यसपछि मलाई कारमा हाले, र त्यहाँ मसँगै अरू तीन जना सिस्टरहरू पनि पक्राउ परेका रहेछन्।

पुलिसले हामीलाई पुलिस चौकीमा लगे र आँगनको पर्खालछेउमा उभिन लगाए। मलाई निकै डर लागेको थियो। मैले गम्भीर भावमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र परमेश्‍वरका यी वचनहरू स्मरण गरेँ: “नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। वास्तवमा, परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भने, म किन डराउने? यो वातावरण अनुभव गर्नको लागि मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। बिस्तारै, मैले आफूलाई शान्त पारेँ। त्यसपछि, एउटी महिला पुलिसले मलाई खानतलासीको लागि जबरजस्ती लुगा फुकाउन, र खुट्टा फारेर ठिङ्ग्रिन लगाई। मलाई अपमानित महसुस भयो र रिस उठ्यो।

भोलिपल्ट राती, पुलिसले मलाई छ-तले होटेलमा लिएर गए। तिनीहरूले होटेलका माथिल्‍ला तीन तला भाडामा लिएर त्यसलाई परमेश्‍वरका विश्‍वासीहरू थुनेर यातना दिने गोप्य सोधपुछ केन्द्र बनाएका रहेछन्। म छैटौँ तलामा पुगेपछि, २० जना भन्दा बढी ब्रदर-सिस्टरहरू लाइनमा बसिरहेका देख्दा, म चकित भएँ: धेरै जना मानिसहरू पक्राउ परेका रहेछन्! कम्युनिस्ट पार्टीले तिनीहरू सबैलाई एकैपटक पक्राउ गरेको होजस्तो देखिन्थ्यो। पुलिसले हामीलाई कस्तो व्यवहार गर्नेछ भन्‍ने मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ, र हामीलाई सुरक्षा दिन अनुरोध गरेँ, ताकि हामी दह्रिलो गरी खडा हुन सकौँ। त्यसपछि पुलिसले हामीलाई सोधपुछको लागि अलग गरे।

तेस्रो दिन, बिहान पाँच बजे, एकजना मोटो पुलिस आएर हप्काएजस्तै गरी भन्यो, “मैले सोधपुछ गरिरहेको मानिस अगुवा रहेछ, तर त्यो जिद्दी छ। बिहान दुईतीन बजेसम्‍म पनि सोधपुछ सकिएन।” उसले गर्व गर्दै आफ्‍नो कुरालाई जारी राख्यो, “सुरुमा, मैले त्यसलाई अनुहारमा कस्‍सेर लात हानेँ, त्यसपछि त्यसको अर्को पट्टिबाट हानेँ, अनि त्यसलाई दुवै हातले थप्‍पड हानेको हानेकै गरेँ।” उसले आफ्‍ना हातहरू हल्‍लाउँदै रिसाएर गुनासो गर्‍यो, “मैले त्यसलाई यति साह्रो हाने कि मेरो हातै दुख्यो, त्यसकारण मैले आधा पानी भएको बोतल उठाएँ र मेरो हात चलाउन नसक्‍ने अवस्थामा पुगिञ्‍जेल त्यसको अनुहारमा हानिरहेँ। त्यसको सबै अनुहार कच्याकुचुक्‍क भयो। त्यो चिन्‍नै नसकिने भएको थियो।” पुलिसको कुरा सुनेपछि म डरले थरथर काँपे। मेरो मुटु ढुकढुक गरिरहेको थियो, र मलाई एकदमै धेरै रिस उठ्यो, “यी पुलिसहरू कति निर्दयी रहेछन्, यदि तिनीहरूले मलाई पनि त्यही ब्रदरलाई जस्तै कुटे भने, के म सहन सकूँला?” मलाई यसबारेमा थप विचार गर्ने आँट आएन। मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरेँ र कुटपिट भएको ब्रदरलाई रक्षा गर्न, र मलाई पनि रक्षा गर्न अनुरोध गरेँ, ताकि हामीले यो परिस्थितिलाई सामना गर्ने आत्मविश्‍वास प्राप्त गर्न सकौँ।

चौथो दिन बिहान, पुलिसले मलाई चौकीमा लगे। वू थरको पुलिसले मलाई मण्डलीमा मेरो पद के हो भनेर सोध्‍यो। मैले म साधारण विश्‍वासी हुँ भनेर भनेँ। ऊ अचानक उठ्यो र भन्‍यो, “तैँले पीडा भोगिनस् भने सायद सत्य कुरा भन्दैनस्!” उसले मलाई हात सिधा पारेर, ठिङ्ग्रिन, उठ्न लगायो, र त्यसपछि त्यो पक्रियालाई दोहोर्‍याइरहन लगायो। लामो समयसम्‍म यसो गरिसकेपछि, म यति थकित भएँ कि जीउमा खलखल पसिना बगिरहेको थियो, र मेरा खुट्टाहरू दुखिरहेका थिए। म भूँइमा लडेँ। उसले ओठ लेब्र्याउँदै भन्यो, “तँलाई थाहा छ? मानिसहरू जति नै ज्याद्रो भए पनि, यहाँ तिनीहरू मेरो अघि निहुरिनुपर्छ। के तँ अगुवा होस्? तेरो ठूलो मान्छे को हो?” मैले केही नभनेको देखेर, उसले मलाई ठिङ्ग्रिन लगायो। एकदुई मिनेट टुक्रुक्‍क बसेपछि, मेरा खुट्टाहरू काम्‍न थाले, सुन्‍निए, र चाँडै नै म ढलेँ। उसले मलाई फेरि उठेर टुक्रुक्‍क बसिरहन लगायो, र मैले ८०० पटकभन्दा बढी दोहोर्‍याएँ। एकजना पुलिसले धम्की दिँदै भन्यो, “तँलाई कति पसिना आयो, देखिस्। दयालाग्दो देखिन्‍छेस्। किन यति कष्ट भोग्दै छेस्? परमेश्‍वर कहाँ छ? तँलाई थाहा भएको कुरा भनिस् भने, तैँले कष्ट भोग्‍नु पर्दैन। भनिनस् भने, तैँले सोचेको भन्दा बढी कष्ट भोग्‍नुपर्नेछ।” पुलिसका शब्‍दहरू सुन्दा, मलाई घृणा जाग्यो। मैले उसलाई पुलुक्‍क हेर्दै केही थाहा छैन भनेर भनेँ। तिनीहरूले मेरो हात पछाडिबाट बाघे-कुर्सीमा हतकडीले बाँधे। हतकडीले बाँधेको केही समयपछि नै, मेरो छाती कसिलो भयो र सास फेर्न गाह्रो भयो। म लगभग निस्सासिएकी थिएँ। मैले तिनीहरूलाई हतकडी खोल्‍न अनुरोध गरेँ, र लामो समयपछि, बल्‍ल तिनीहरूले खोलिदिए। पछि, एक जना पुलिस अफिसरले आएर भन्यो, “आफ्‍नो अवस्था बुझ्‍ने कोसिस गर्। अरू सबैले बताइसके। यहाँ बसेर एकलै नबोली बस्‍नु मूर्खता हो, होइन र? तँलाई के थाहा छ हामीलाई भनिहाल् अनि हामी तँलाई छोडिदिन्छौँ।” त्यसपछि उसले एकदुई वटा फोटो निकाल्यो र त्यहाँ भएका मानिसहरूलाई पहिचान गर्न लगायो। उसले भन्यो, “यी सबै मानिसहरू पक्राउ परेका छन्, र तिनीहरूले तँलाई चिन्छु भनेका छन्। तँ तिनीहरूलाई चिन्छस्? मण्डलीमा तिनीहरूको काम के हो?” मैले सोचेँ, “यदि ब्रदर-सिस्टरहरूले साँच्‍चै मलाई चिन्छु भनी स्विकारेका छन्, तर मैले तिनीहरूलाई चिन्दिनँ भनेर बताएँ भने, पुलिसले मलाई अवश्य नै छोड्नेछैन। तर यदि तिनीहरूलाई चिन्छु भनेँ भने, मैले ब्रदर-सिस्टरहरूलाई धोका दिइरहेकी हुन्छु। त्यसो गरेँ भने म परमेश्‍वरलाई धोका दिने यहूदा बन्छु। मैले के गर्ने?” यस बेला, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो: “मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३)। यो शैतानको चलाकी हो भन्‍ने मलाई थाहा भयो। पुलिसले मलाई छल गर्न र ब्रदर-सिस्टरहरू, र परमेश्‍वरलाई धोका दिन लगाउनको लागि यो तरिकाको प्रयोग गरिरहेको हुन सक्छ। म यो जालमा पर्नु हुँदैनथ्यो। यदि मेरा ब्रदर-सिस्टरहरूले मलाई चिनेको भनी स्वीकार गरे पनि, मैले तिनीहरूलाई धोका दिनु हुँदैनथ्यो। यो कुरा ध्यानमा राख्दै, मैले तिनीहरूलाई चिन्दिनँ भनेर भनेँ।

मलाई मूर्ख बनाउन नसकेको देखेर वू थरको पुलिस अफिसरले रिसाउँदै भन्यो, “तँ कति जिद्दी रहिछस् म हेर्न चाहन्छु!” त्यसपछि उसले मलाई उठ्न आदेश दियो र हलवेको झ्यालको फलामको बारमा मेरो हात हतकडीले बाँध्यो। मेरो शरीर झुण्डिएको थियो, मेरो नाडीमा सहनै नसक्‍ने पीडा भइरहेको थियो, र यस क्रममा, पुलिसहरू मलाई हेर्दै हाँसे। केही समयपछि, तिनीहरूले मलाई ओराले र ठिङ्ग्रिन लगाए। त्यो रात, पुलिसले मलाई होटेलमा फर्काएर लगे। भोलि बिहान, वू थरको पुलिस अफिसरले भन्यो, “आजदेखि, म तँलाई झ्यालमा हतकडीले बाँध्छु। तैँले साँचो कुरा भनिनस् भने, केही खान पाउनेछैनस्।” त्यसपछि, तिनीहरूले मेरो एउटा हात फलामको बारमा हतकडीले बाँधे। समय-समयमा, तिनीहरू मेरो मण्डलीको विवरणहरू सोध्‍न आउँथे। म नबोलेको देखेपछि एक जना पुलिसले मलाई फोल्डरले नराम्ररी हान्यो, र अरू सिस्टरहरूलाई यातना दिएको मैले सुन्‍न सकूँ भनेर जानीजानी ढोका खोलिदिए। तिनीहरूको वेदनापूर्ण रोदन सुनेपछि, म अत्यन्तै दुःखी भएँ र मलाई अत्यन्तै रिस उठ्यो।

चार दिनपछि, मू थरको पुलिसले मेरो नोटबुक निकाल्यो, र त्यसमा भएका नम्‍बरहरू देखाउँदै ती मेरा ब्रदर-सिस्टरहरूका फोन नम्‍बर हुन् कि होइनन् भनी सोध्यो। मैले उत्तर नदिएपछि, उसले चिच्याउँदै भन्यो, “तैँले एक शब्‍द नबोले पनि, यो नोटबुककै आधारमा पनि तँलाई सजाय हुन्छ!” उसले एउटा फोटो निकाल्यो, र त्यसमा भएको व्यक्तिलाई देखाउँदै तिनी मण्डलीका अगुवा हुन् कि भनेर मलाई सोध्यो। त्यसपछि उसले मण्डली आवास घरका तीन वटा फोटोहरू निकाल्यो, र मलाई पहिचान गर्न लगायो। म ती सबै घरहरू चिन्थेँ, तर मैले चिन्दिनँ भनेर भनेँ। उसले भन्यो, “हामी तँलाई कारमा राखेर त्यहाँ लैजानेछौँ। तैँले कहाँ छ भनेर मात्रै देखाउनुपर्छ, र हामी कसले भन्यो भनेर गोप्य राख्‍नेछौँ, कसैलाई पनि तैँले भनेको हो भन्‍ने थाहा हुनेछैन।” मैले अझै केही नभनेको देखेपछि, उसले आफ्‍नो छेउको पुलिसलाई भन्यो, “त्यसलाई नाङ्गो पार्, अनि झ्यालको बाहिरपट्टि फर्काएर झुण्ड्याइदे, ताकि आउनेजानेले देख्‍न सकून्। त्यसपछि, त्यसको फोटो खिचेर इन्टरनेटमा राख्, त्यसपछि यो यहूदा हो, र यसले हामीलाई सबै कुरा बताई भनेर भन्।” त्यसपछि, त्यो मेरो लुगा फुकाउन आयो। मलाई निकै डर लागेको थियो। यदि त्यसले साँच्‍चै नै त्यसै गरेर मेरो फोटो इन्टरनेटमा पोष्ट गर्‍यो भने त मेरा आफन्त र इष्टमित्रहरूले देख्‍नेछन्। त्यसपछि त म कसरी बाँच्‍न सक्छु? त्यसलाई मैले मेरो लुगा नफुकाउन बिन्ती गरेँ, तर उसले ओठ लेब्र्याउँदै भन्यो, “के भनिस्? तँलाई डर लाग्यो?” त्यसपछि तिनीहरू सबै गलल हाँसे। तिनीहरू सन्तुष्ट भएको देखेर, मलाई यो शैतानको अर्को चलाकी हो भन्‍ने थाहा भयो, त्यसकारण म तुरुन्तै शान्त भएँ र परमेश्‍वरलाई पुकारेँ। यसपटक, मलाई “सत्यताको लागि सबै त्याग्‍नुपर्छ” भन्‍ने शीर्षक भएको परमेश्‍वरको वचनको एउटा भजन याद आयो: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। मैले परमेश्‍वरमा विश्‍वास गरेर जीवनमा सही मार्ग पछ्याएकी थिएँ। परमेश्‍वरमा विश्‍वास गरेको कारण यातना भोग्‍नु र अपमानित हुनु लाज मान्‍नुपर्ने कुरा होइन। मैले धार्मिकताको निम्ति सतावट भोगिरहेकी थिएँ, र परमेश्‍वरले यसको अनुमोदन गर्नुभएको थियो। यदि मैले आफ्‍नो प्रतिष्ठा जोगाउन शैतानको अघि झुकेर परमेश्‍वरलाई धोका दिन्थेँ भने, त्यो मैले गर्न सक्‍ने सबैभन्दा लाजमर्दो कुरा हुनेथ्यो, र मैले साँच्‍चै नै मेरो मानव मर्यादा गुमाउनेथेँ। म डरपोक बनेर शैतानलाई दयाको भीख मागेकोमा र यसरी आफूलाई शैतानको हाँसोको पात्र बनाएकोमा मलाई आफैप्रति घृणा जाग्यो। मैले मनमनै सङ्कल्‍प गरेँ: यी दुष्ट पुलिसहरूले मलाई जसरी अपमानित गरे पनि, तिनीहरूले साँच्‍चै नै मलाई नाङ्गै पारे पनि, म कहिल्यै झुकेर दयाको भीख माग्‍नेछैनँ, र म कहिल्यै पनि यहूदा बन्‍नेछैनँ। मलाई अब डर लागेको छैनँ भन्‍ने देखेपछि, पुलिसहरू यति रिसाए कि तिनीहरूले मेरा दुवै हात फलामको बारमा हतकडीले बाँधे। एक जना महिला प्रहरीले चिच्याउँदै भनिन्, “तिमीहरूले त्यसलाई नाङ्गै पार्छु भनेको होइन? त्यसको सबै अङ्ग देख्‍ने गरी सबै लुगा फुकाइदेओ।” ती सबै पुलिसहरू नरकका पिशाचहरूजस्तै गलल हाँसे। त्यो बेला, म झुण्डिएकी थिएँ, र मेरो जीउको सबै बोझ नाडीमा परेको थियो, जसले गर्दा ती भाँचिन लागेजस्तै गरी दुखे। मैले हृदयमा परमेश्‍वरलाई गम्भीर भावमा प्रार्थना गरिरहेँ, र मलाई पुलिसको यातना सहन सक्‍ने र शैतानसँग सम्झौता नगर्ने विश्‍वास र शक्ति दिनुहोस् भनेर अनुरोध गरिरहेँ। आधा घण्टाभन्दा बढी समय बितेपछि, पुलिसले मलाई तल झार्‍यो। मेरा खुट्टाहरू असंवेदनशील र चेतनाविहीन बनेका थिए, र मेरो खुट्टाले भुइँ छुनेबित्तिकै म लडिहालेँ। एक जना पुलिस अफिसरले जङ्गिदै भन्यो, “आफ्‍नो अवस्था हेर्। यदि तँ अझै बोल्दैनस् भने, हामीसँग तँलाई तह लगाउने अझै धेरै उपाय छन्।” त्यसपछि तिनीहरू गए।

दुई दिनपछि, एकजना मोटो पुलिस आयो। भित्र आउनेबित्तिकै, उसले मेरो निगरानी गर्ने दुई जना पुलिसलाई भन्यो, “तिमीहरूले यो आइमाईको मुख खोल्‍न किन सकेनौ, थाहा छ? तिमीहरूले धेरै नरम व्यवहार गरिरहेका छौ, र तिमीहरूले सही तरिका प्रयोग गरिरहेका छैनौ। आज, म तिमीहरूलाई एकदुई वटा उपाय सिकाउँछु, र म कसरी यस्तो काम गर्छु भनेर देखाउँछु!” उसले मलाई ठिङ्ग्रिन लगायो, त्यसपछि आधा ठिङ्ग्रिन लगायो, अनि मैले मेरो सारा शक्ति गुमाएर ढलुन्‍जेलसम्म मलाई त्यही कुरा दोहोर्‍याइरहन लगायो। त्यसपछि उसले दुई जना अफिसरलाई मेरो एकएक हात समाएर, मलाई तल ठेल्‍न र माथि उचाल्‍न लगायो, र यसरी तिनीहरूले मलाई बारम्बार यातना दिइरहे। तिनीहरूको कठोर हाउभाउलाई हेर्दा, अझै कडा यातना आउन बाँकी नै छ भन्‍ने मलाई थाहा भयो। दुई दिनअघि अपमानित हुने डरले शैतानको अघि झुकेर दयाको भीख माग्दाको मेरो गुलामी शैलीबारे मैले विचार गरेँ, त्यसकारण मैले आज परमेश्‍वरमा भरोसा गरेर शैतानको अघि उहाँको गवाही दिने सङ्कल्‍प गरेँ। मैले हृदयमा परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई यातना दिन पुलिसले अरू के-कस्ता तरिकाहरू प्रयोग गर्छन् मलाई थाहा छैन, तर म तपाईंको लागि दह्रिलो र सानदार गवाही निर्माण गर्न चाहन्छु, त्यसकारण म बिन्ती गर्छु, मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्।” केही क्षणमै, तिनीहरू यति थाके र असिनपसिन भए कि, तिनीहरूले मलाई उचाल्‍नै सकेनन्। तिनीहरूको हातले मलाई छोडेपछि, म नराम्ररी भूँइमा पछारिएँ। तिनीहरूले बारम्‍बार मलाई उठेर ठिङ्ग्रिन लगाए। त्यो मोटो पुलिसले मेरो उपहास गर्दै भन्यो, “यसलाई गर्मी भएजस्तो छ। त्यसलाई पानी खन्याइदेओ। त्यसलाई त्यो मन पर्नेछ।” त्यसपछि तिनीहरूले म पूरै भिजिञ्‍जेल मेरो जीउमा पानी खन्याए। तर अचम्‍मको कुरा, मेरो जीउबाट तातो बाफ आएको जस्तो अनुभव भयो, र मलाई जाडोको अनुभव भएन। यो परमेश्‍वरले मलाई गर्नुभएको सुरक्षा हो भन्‍ने मलाई थाहा थियो। मैले मनमनै परमेश्‍वरलाई निरन्तर धन्यवाद दिइरहेँ, र परमेश्‍वरमाथिको विश्‍वास बढेको अनुभव गरेँ।

त्यसपछि दुई जना पुलिसले मलाई घिस्याएर उठाए र मेरो देब्रे हात फलामको बारमा हतकडीले बाँधे। पहिले नै झुण्ड्याइएको कारण मेरो हातमा घाउ भइसकेको थियो, त्यसकारण यसपटक हतकडीले झुण्ड्याउँदा, मलाई झन् पीडा भयो। मलाई पीडा भएको देख्दा पुलिसहरू हाँसे, र म तिनीहरूलाई मेरो कमजोरी देखाउन चाहँदिनथेँ, त्यसकारण मैले कुनै आवाज ननिकाली पीडा सहिरहेँ। पीडा कम गर्न, मैले बुढी औँलाको टुप्‍पाले उभिने प्रयास गरेँ। मेरो एउटा बुढी औँलोले भुइँ त छुन्थ्यो, तर अलिअलि मात्र छुन्थ्यो, तर यो देखेपछि पुलिस अफिसरले मेरो गोलीगाँठोमा खुट्टाले थिच्यो, त्यसपछि मेरो शरीर केही समय हावामै झुण्डियो, अनि उसले अचानक खुट्टा तान्यो, जसले गर्दा मेरो हात झट्कियो र मलाई एकदमै धेरै पीडा भयो। म अझै चुप बसेको देखेर, पुलिसले मेरो एउटा खुट्टामा डोरी बाँध्यो, डोरी तानेर मलाई झुण्ड्यायो, र अचानक छोडिदियो। तिनीहरूले बारम्बार त्यसै गरिरहे। त्यसरी, मेरो शरीरलाई यताउता हल्‍लाइयो, र मेरो नाडीमा छुरीले काटेको जस्तै पीडा भयो। यो कार्य जारी रहँदा, मैले हृदयमा आतुरीसाथ परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, त्यो मोटो पुलिसले रतन कुर्सी ल्यायो। अरू दुई जना पुलिसले मेरो एकएक ओटा खुट्टा पक्रेर कुर्सीको माथि राखे, त्यसपछि तिनीहरूले कुर्सी झट्टै ताने। मेरो सबै भार नाडीमा पर्‍यो। सहनै नसकिने पीडा भयो। तीसचालीस मिनेटपछि, पुलिसले मेरो देब्रे हात झारेर, दाहिने हातचाहिँ फलामको बारमा हतकडीले बाँधेँ, र निरन्तर यातना दिए। मेरो सास बढ्न थाल्यो, र मैले सोचेँ, “पुलिसले मलाई अझै कति समय यातना दिने हुन् मलाई थाहा छैन। यदि तिनीहरूले मलाई यसरी नै झुण्डाइरहे भने, मेरो हात चल्‍न छोड्नेछ, र मेरो हात साँच्‍चै नचल्‍ने भयो भने, म भविष्यमा कसरी बाँच्‍ने?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै दयनीय महसुस भयो, र पछि त मलाई सास फेर्नसमेत गाह्रो भयो। मलाई अब योभन्दा धेरै समय सहन सक्दिनँजस्तो लाग्यो, त्यसकारण मैले गम्भीर भावमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरो देह अत्यन्तै कमजोर छ। म अब योभन्दा धेरै सहन सक्दिनँ। बिन्ती छ मलाई सामर्थ्य दिनुहोस्, ताकि म दह्रिलो गरी खडा हुन सकूँ र शैतानलाई लाजमा पार्न सकूँ।” त्यो बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्‍नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। परमेश्‍वरका वचनहरूले मलाई सामर्थ्य दिए। मानवजातिलाई छुटकारा दिन, प्रभु येशू क्रूसमा टाँगिनुभयो र ठूलो अपमान र पीडा सहनुभयो, तैपनि उहाँले कुनै हिचकिचाहट देखाउनुभएन। मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ, र यसबारेमा परमेश्‍वरले हाम्रो लागि पहिले नै एउटा उदाहरण राखिसक्‍नुभएको छ। तर जब मैले पुलिसको यातना सहनुपर्‍यो, मैले कसरी साक्षी बन्‍ने भन्‍नेबारेमा विचार गरिनँ। बरु, मैले आफ्‍नै शरीरको बारेमा सोचेँ। म कति स्वार्थी र घृणित थिएछु! यो कुरा सोचेपछि, मलाई लाज र सरम भयो। यसपटक, मैले म परमेश्‍वरलाई सन्तुष्ट पार्छु भनेर सङ्कल्‍प गरेँ। परमेश्‍वरको प्रेमको बारेमा विचार गर्दा मैले प्रेरणा पाएँ र अन्त्यसम्‍मै शैतानसँग लड्ने साहस पाएँ। यसपटक, एकजना पुलिसले मैले आँखा बन्द गरेको देख्यो र भन्यो, “त्यसले तिनीहरूको ईश्‍वरसँग प्रार्थना गर्दै छे, र त्यसले प्रार्थना गर्दा हरेकपटक शक्ति पाउँछे।” अर्कोले पातलो फलामको लौरोले मेरो परेलामा घोच्यो। मेरो आँखामा घोच्दै गर्दा, उसले भन्यो, “आँखा खोल्। तँलाई तेरो ईश्‍वरसँग प्रार्थना गर्ने अनुमति छैन।” म अझै चुप बसेको देखेपछि, उसले मलाई पेटीले तीनचारपटक अनुहारमा हान्यो, तर मलाई कुनै पीडा भएन। आधा घण्टापछि, एकजना पुलिसले भन्यो, “त्यसलाई अझै माथि बाँध, ताकि त्यसले भूँइ छुन नपाओस्। हेरूँ त्यसलाई कस्तो लाग्छ।” त्यसपछि, दुई जना पुलिसले मलाई उचाले, तर अर्कोले हतकडी खोलेर अझै माथिको बारमा लगाउन आँट्दा, हतकडी अचानक भाँचियो र यो अड्किन छोड्यो। तिनीहरूले अर्को हतकडी प्रयोग गरे, तर त्यसले काम गरेन। यो परमेश्‍वरको सुरक्षा हो भन्‍ने मलाई थाहा थियो, र मैले हृदयबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। पुलिसहरू मलाई उचाल्‍न नसक्‍ने गरी थाकेका थिए, त्यसकारण तिनीहरूले मलाई छोडिदिए, र म अचानक भूँइमा पछारिए। तिनीहरूले मलाई दुई घण्टाजति यातना दिइसकेका थिए, र म यति थकित भएकी थिएँ कि म हल न चल भएर लडिरहेँ। पुलिसले मलाई यातना दिएको त्यो सबै प्रक्रियाको बारेमा विचार गर्दा, मैले पुलिसको खराब र दुष्ट प्रकृतिलाई देखेँ। मैले मप्रतिको परमेश्‍वरको वास्ता पनि अनुभव गरेँ, र म परमेश्‍वरप्रति अझै विश्‍वस्त भएँ। केही समयपछि, एक जना पुलिस अफिसर आएर मलाई एकदुई पटक लात मार्‍यो। म अझै हलचल नगरेको देखेर, उसले चीसो बनाउने एक बोतल मलम मेरो आँखामा खन्याइदिए, तर मलाई केही पनि अनुभव भएन। मैले कुनै प्रतिक्रिया नदिएको देखेर त्यो पुलिस त्यहाँबाट हिँड्यो। यो परमेश्‍वरले मलाई सुरक्षा गर्नुभएको हो भन्‍ने मलाई थाहा थियो।

साँझ सात बजेतिर, एक जना पुलिस अफिसर आयो। म भिजेको र चिसोले कामिरहेको देखेपछि, उसले अरू पुलिसहरूलाई हकार्‍यो। दयाको नाटक गर्दै, उसले मलाई लुगा फेर्न दिन सुक्खा लुगा ल्याउन लगायो, त्यसपछि उसले मलाई एक बटुका नुडल दियो, अनि मलाई एकलै बसेर सोधपुछ गर्ने प्रयास गर्‍यो। उसले भन्यो, “तिमी आफ्‍नो घरबाट यति टाढा छ्यौ, र अहिले तिमी फर्केर जान सक्दैनौ। तिम्रा छोराछोरीलाई तिम्रो याद आउँदैन? यस्तो सानै उमेरमा ईश्‍वरमा विश्‍वास गरेर के गरेकी? तिमी अगुवा हौ भन्‍ने मैले सुनेको छु, त्यसकारण हामीले जान्‍न चाहेको कुरा भन, अनि म तिमीलाई जान दिन्छु। तिमी घर गएर आफ्‍नो परिवारसँग बस्‍न पाउनेछौ।” यो सुनेपछि, मलाई उसले छल गरेर उसको कुरामा विश्‍वास गर्न लगाउँदै छ र मलाई मण्डलीको बारेमा जानकारी दिन फकाउँदै छ भन्‍ने थाहा भयो। मैले भनेँ, “मलाई थाहा भए जति सबै कुरा तपाईंहरूलाई बताइसकेँ। अरू मलाई केही थाहा छैन।” उसले अचानक टेबलमा हान्यो, र उठेर मलाई जङ्गिदै भन्यो, “बोलिनस् भने तँलाई हामी केही गर्न सक्दैनौँ भन्‍ने लाग्छ! केन्द्रीय सरकारले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई पूर्ण रूपमा निर्मूल पार्ने आदेश दिएको छ। हामी तिमीहरूको संस्थालाई पाखा लाउनेछौँ। तैँले हामीसँग सहकार्य गर्न सुरु गरिनस् भने, तँलाई सजाय हुनेछ।” त्यसपछि ऊ गयो। यति बेला, वू थरको पुलिसले भन्यो, “तैँले बुद्धि लगाएर हामीले चाहेको जानकारी दिएकै ठीक हुन्छ। अनि तैँले धेरै कष्ट भोग्‍नु पर्दैन।” मैले सोचेँ, “पुलिसहरूले आफूले चाहेको जानकारी पाएनन् भने तिनीहरूले यातना दिन छोड्दैनन्। यदि म यातना सहन नसकेर यहूदा बनेँ भने, त्यो परमेश्‍वरलाई धोका दिएको हुन्छ, त्यसकारण मैले आत्महत्या गरेकै राम्रो हुन्छ।” मैले आत्‍महत्या गर्नेबारेमा सोचिरहेकी थिएँ। त्यो बेला, मलाई मेरो स्थिति गलत छ भन्‍ने महसुस भयो, त्यसकारण मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर! मेरो देह अत्यन्तै कमजोर छ, र म मरेर यो परिस्थितिबाट उम्कन चाहन्छु। म अत्यन्तै कमजोर छु, र मेरो कद अत्यन्तै सानो छ। बिन्ती छ मलाई अन्तर्दृष्टि दिएर अगुवाइ गर्नुहोस्, र दह्रिलो गरी खडा हुने आत्मविश्‍वास र सामर्थ्य दिनुहोस्।” प्रार्थना गरिसकेपछि, मेरो एमपिफाइब प्‍लेयरमा परमेश्‍वरको वचनका फाइलहरू छन् भन्‍ने मलाई याद आयो। मैले जवान पुलिस अफिसरलाई भनेँ, “मेरो एमपिफाइब प्‍लेयर दिनुहोस् त। त्यसमा तपाईंहरूलाई देखाउनुपर्ने एउटा कुरा छ।” मैले कुरा खोल्‍न लागेकी छु भन्‍ने सोचेर, तिनले मलाई त्यो दिए। मैले एमपिफाइब प्‍लेयर खोलेँ, जहाँ मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “परमेश्‍वरले जस-जसलाई ‘विजेताहरू’ भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई ‘विजेता’ हुनु भनी भन्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। परमेश्‍वरका वचनहरूबाट मैले परमेश्‍वरको इच्‍छा बुझेँ। मैले सतावट र संकष्टको सामना गर्दा, परमेश्‍वरले मेरो विश्‍वास र बफादारिता चाहनुहुन्छ। शैतानको पकडमा हुँदा मैले विजयी गवाही दिएको परमेश्‍वर चाहनुहुन्छ। मलाई यी दुष्ट पुलिसहरूले जबरजस्ती परमेश्‍वरलाई धोका दिन लगाउनको लागि यसरी यातना दिए। यदि मैले आत्महत्या गरेर गवाही गुमाएको, त्यो शैतानको चलाकीमा पर्नु, र परमेश्‍वरले मेरो लागि गर्नुभएको प्रयासको स्तरअनुसार जिउन नसक्‍नु हुनेथ्यो—त्यसले परमेश्‍वरलाई धेरै चोट दिनेथ्यो। म मर्नु हुँदैनथ्यो, बरु जिएर बलियो बन्‍नुपर्थ्यो, दह्रिलो गरी खडा भएर परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्थ्यो। यसबारेमा विचार गर्दा मैले सामर्थ्य पाएको महसुस गरेँ। मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरी धन्यवाद दिएँ। जवान पुलिसले अचम्‍म मान्दै भन्यो, “तँ त निकै साहसी रहिछस्, यहाँ घुँडा टेकेर प्रार्थना गर्ने आँट गर्छस्!” मैले उसको कुरा बेवास्ता गरेँ। मैले प्रार्थना गरिसकेपछि, उसले सोध्यो, “तैँले निर्णय गरिस्? राम्ररी विचार गरिसकेपछि, के थाहा छ मलाई भन्।” मैले दृढतासाथ भनेँ, “मैले भन्‍नुपर्ने सबै कुरा भनिसकेँ। मेरो भन्‍नु अरू केही छैन।” वू थरको अफिसर यति क्रोधित भयो कि उसले हतकडी टिपेर मेरो एउटा हात फलामको बारमा बाँधिदियो। जवान अफिसरले भन्यो, “प्रार्थना निकै शक्तिशाली हुँदो रहेछ। त्यसले यसलाई अर्कै व्यक्ति बनाइदेलाजस्तै भएको छ। यसले केही कुराको डर मान्दैन, र केही कुरा भन्दैन।” त्यो कुरा सुनेपछि, मैले मेरो हृदयको अन्तस्करणबाट नै परमेश्‍वरलाई धन्यवाद दिएँ, र म दह्रिलो गरी खडा हुन सक्छु भन्‍नेमा अझै विश्‍वस्त भएँ।

भोलि बिहान, पुलिसहरूले आफ्‍नो कुनै रणनीतिले काम नगरेको देखेपछि, मलाई भने, “आजदेखि, हामी तँलाई झ्यालमा हरेक दिन हतकडीले बाँधेर राख्‍नेछौँ, र तँलाई खान, पिउन, वा सुत्‍न दिनेछैनौँ। तँ कति दिन थाम्न सक्दो रहिछस् हेरौँ।” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो जीवन र मृत्यु तपाईंकै हातमा छ भन्‍ने म विश्‍वास गर्छु। बिन्ती छ मलाई रक्षा गर्नुहोस्। म मरे भने पनि, म दह्रिलो गरी खडा भएर तपाईंको लागि गवाही दिनेछु!” त्यसपछि, पुलिसले पालैपालो मलाई हेर्न थाले, र म झुलेको देख्दा चिच्याएर बिउँझाउँथे। तेस्रो दिन, सडकपारीबाट एक जना मानिसले मलाई झ्यालमा हतकडीले बाँधेको देख्यो र मलाई चर्को सोरमा भन्यो, “तिमीलाई कसैले अपहरण गरेको हो? यदि हो भने, मतिर हात हल्याऊ, अनि म तिम्रो लागि ११० मा फोन गर्नेछु।” मैले सोचेँ, “मलाई यहाँ पुलिसले कैद गरेको छ। पुलिसले सर्वसाधारण मानिसहरूको भलाइ गर्छ भन्‍ने तिमीलाई लाग्छ? कम्युनिस्ट पार्टीको पुलिसहरू नीच भूतहरूको समूह मात्रै हुन्।” केही दिनपछि, तल्‍लो तलाका अझै धेरै मानिसहरूले मलाई झ्यालमा हतकडीले बाँधिएको देखे। तिनीहरूले मतिर औँला ताक्दै कुरा गरिरहन्थे, त्यसकारण पुलिसले मलाई पछाडिको कोठामा सारे।

मार्च २० तिर हुनुपर्छ, एक दिन, मलाई विशेष अनुसन्धान कार्यालयमा लगियो। त्यहाँ, तीन जना पुलिसले बिहान चार बजेसम्‍म, मेरो मस्तिष्क धुलाइ गर्ने प्रयास गरे, र त्यस क्रममा लियू थरको पुलिस अफिसरले मलाई भन्यो, “सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका मानिसहरू अहिले करोडौँ पुगेका छन्, र यसले कम्युनिस्ट पार्टीका हितहरूलाई सीधै खतरामा पार्छ। यदि हामीले यसलाई दमन गरेनौँ भने, कसले कम्युनिस्ट पार्टीको कुरा सुन्ला र? राष्ट्रपति क्षीले ‘पूर्वीय ज्योति’ लाई पूर्ण रूपमा निर्मूल पार्न, र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई पुनर्शिक्षा दिन आदेश दिनुभएको छ, ताकि तिनीहरूले आफ्‍नो विश्‍वास त्यागेर पार्टीको शिक्षा र नेतृत्वलाई स्वीकार गर्न सकून्। तिनीहरूले यसो गर्न मानेनन् भने, तिनीहरूलाई जेल सजाय दिइनेछ, र तिनीहरूलाई कुटेर मारियो भने पनि कसैले वास्ता गर्नेछैन।” उसले आफ्‍नो कुरालाई जारी राख्यो, “अहिले, सम्पूर्ण प्रान्त र पूरै देशले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरूलाई आक्रमण गरिरहेको छ। अन्तिममा, यसलाई उखेलेर फालिनेछ। यदि तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिरहन सक्छु जस्तो लाग्छ भने, म तँलाई भन्छु, अब यो सम्‍भव छैन!” मैले भनेँ, “हामी परमेश्‍वरका विश्‍वासीहरू भेलाहरूमा जाने, परमेश्‍वरको वचन पढ्ने, इमानदार मानिसहरू बन्‍न स्वभाव परिवर्तन गर्न प्रयास गर्ने, र जीवनको सही मार्ग पछ्याउने मात्रै गर्छौँ। हामीले कसरी कम्युनिस्ट पार्टीका हितहरूलाई हानि गर्न सक्छौँ? यदि मेरो विश्‍वास लाग्दैन भने, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुहोस् र तपाईंलाई थाहा हुनेछ। तपाईंहरूले सर्वशक्तिमान् परमेश्‍वरको वचनका धेरै पुस्तकहरू जफत गर्नुभएको छ, तब किन एउटा पुस्तक खोलेर हेर्नुहुन्‍न?” अर्को पुलिस अफिसरले चिच्याउँदै भन्यो, “हामीसँग परमेश्‍वरमा विश्‍वास गर्ने कुरा नगर्! हामी यसमा विश्‍वास गर्दैनौँ, हामी कम्युनिस्ट पार्टी र राष्ट्रपति क्षीमा मात्रै विश्‍वास गर्छौं।” त्यसपछि उसले मलाई धम्की दियो, “यसबारेमा राम्ररी विचार गर्। हामीले जे जान्‍न चाहन्छौं त्यो हामीलाई भनिस् भने, बाचा भो, म तँलाई जेल सजाय हुन दिनेछैनँ। हामी तँलाई तुरुन्तै घर जान दिनेछौँ। यदि तँ आफ्‍नो अवस्थालाई अझै बुझ्दैनस् भने, म तँलाई मानसिक अस्पताल पठाउँछु। डाक्टरले तँलाई हरेक दिन सूइ लाइदिनेछ, अनि तँ बौलाउनेछस्। तँ अनेक किसिमका मानसिक रोगीहरूसँग बस्‍नेछस्, त्यसपछि तिनीहरूले तँलाई हरेक दिन कुट्नेछन् र हप्काउनेछन्। तँ त्यहाँ कति लामो समय बस्‍न सक्छस्, हेरौँला।” यो कुरा सुनेपछि, मलाई निकै डर लाग्यो। मलाई मानसिक अस्पताल पठाइयो भने, म हरेक दिन मानसिक रोगीहरूसँग हुनेछु। त्यस्ता मानिसहरूसँग बस्‍यो भने, सामान्य मानिस पनि बौलाउनेछ। म चुप लागेको देखेर, तिनीहरूले मलाई फेरी धम्की दिए, “फर्केर जा अनि यसबारेमा विचार गर्। हामीले जान्‍नुपर्ने सबै कुरा लेख्। हामीसँग उपलब्ध प्रमाणको आधारमा, हामी तँलाई कम्तीमा पनि तीनदेखि सात वर्षसम्‍म कैद सजाय दिन सक्छौँ।”

होटेलमा फर्केपछि, म पुलिसले भनेको कुरा सोच्दा सुत्‍नै सकिन। मानसिक रोगीहरूले मलाई खेदेर कुट्छन् भन्‍ने सोच्दा, र म बौलाएर सडकमा नाङ्गै कुद्छु होला भन्‍ने सोच्दा मलाई चिसो पसिना आयो र ओछ्यानबाट अचानक उठेँ। म रोएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई पागल हुन्छु भन्‍ने डर लाग्यो। बिन्ती छ मलाई मदत गर्नुहोस्, डोर्‍याउनुहोस् र शान्त बनाउनुहोस्। मैले जस्तोसुकै परिस्‍थितिको सामना गरे पनि, म तपाईंलाई कहिल्यै धोका दिनेछैनँ।” मैले प्रार्थना गरिसकेपछि, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्‍वरका वचनहरू मनन गर्दै गएपछि, म क्रमिक रूपमा शान्त भएँ। यदि म आफ्‍नो ज्यान दिन तयार हुन्थेँ भने, मैले सहन नसक्‍ने कष्ट के हुन सक्थ्यो र? मेरो जीवन र मृत्यु परमेश्‍वरकै हातमा थिए, र परमेश्‍वरको अनुमतिविना म मानसिक रोगी हुनेथिनँ। बिहान भएपछि, मैले कापी र कलम निकालेँ, र एउटा पङ्क्ति लेखेँ, “ठूलाठूला आँगन छन्, पर्खाल अग्‍लाअग्‍ला, जेलमा बस्‍नु परे पनि बस्छु सदासदा।” पुलिस अफिसरले यो देखेपछि, आफ्‍नो अनुहार बिगार्‍यो। ऊ यति रिसाएको थियो कि ढोका झट्काउँदै ऊ गयो।

एक महिनाभन्दा बढी समय बितेपछि, मलाई थुना घरमा पठाइयो। सोधपुछमा अझै पनि निष्कर्ष ननिस्किएको हुनाले, तिनीहरूले मलाई छ महिनाको नजरबन्दी सजाय सुनाए, र मलाई यसो भन्दै चेतावनी दिए, “तँ अहिले शङ्कास्पद अपराधी होस्, र कहीँ पनि तेरो कुनै स्वतन्त्रता हुँदैन। तैँले फेरि परमेश्‍वरमा विश्‍वास गरिस्, र हामीले तँलाई पक्राउ गर्‍यौँ भने, तँलाई सजाय हुनेछ।” पुलिसले समयसमयमा मेरो घरमा फोन गर्थे, र परमेश्‍वरमाथिको मेरो विश्‍वासको बारेमा मलाई सोधपुछ गर्न धार्मिक मामला ब्यूरोका मानिसहरू आइरहन्थे। मैले मेरा ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्ने आँट गरिनँ, र म मण्डली जीवन जिउन सकिनँ। पुलिसको यातनाले गर्दा, म मेरा दुवै हातका औँलाहरू खुम्च्याउन नसक्‍ने भएकी थिएँ, र मेरा नाडीहरू यति साह्रो दुख्थे कि म तिनलाई चलाउनै सक्दिनथेँ। म काइँयोसमेत उठाउन सक्दिनथेँ, र अहिलेसमेत मेरो नाडीमा कुनै शक्ति छैन।

कम्युनिस्ट पार्टीले मलाई पक्राउ, सतावट र यातनाको शिकार बनाएपछि, मैले त्यसको क्रूर, दुष्ट, र स्वर्गविरोधी प्रकृतिलाई स्पष्टसित देखेँ। मलाई यो परमेश्‍वरलाई विरोध गर्ने र मानिसहरूलाई हानि गर्ने शैतान हो भन्‍ने स्पष्ट भयो। यसै क्रममा, मैले परमेश्‍वर सर्वशक्तिमान् र बुद्धिमानी हुनुहुन्छ भन्‍ने पनि देखेँ, र मप्रतिको परमेश्‍वरको सुरक्षा र वास्ता अनुभव गरेँ। परमेश्‍वरका वचनहरूले नै मलाई शैतानमाथि विजय प्राप्त गर्न, र दह्रिलो गरी खडा हुन एकएक कदम गरी डोर्‍याए। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

शू चाङ्ग, दक्षिण कोरियासन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न...

कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

वाङ ग्याङ, चीन सन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्