मात्र ३००,००० युआनको लागि

16 डिसेम्बर 2024

लि मिङ्ग, चीन

२००९ अक्टोबर ९, राती ९ बजेतिर मेरी श्रीमती, छोरी र म भेला भइरहेका बेला हामीले अचानक कसैले हतारमा ढोका ढकढक्याइरहेको सुन्यौँ। मैले हतार-हतार परमेश्‍वरको वचनका किताबहरू लुकाएँ, र मेरी श्रीमतीले ढोका खोल्‍नेबित्तिकै सात जना पुलिस भित्र पसे र एक जनाले चिच्याउँदै भन्यो, “हामी राष्ट्रिय सुरक्षा ब्रिगेडबाट आएका हौँ। तँ हामीसँग हिँड्!” तिनीहरूले मलाई पुलिसको गाडीमा जबरजस्ती कोचारे र तीन जना पुलिस हाम्रो घरमा खानतलासी गर्न बसे। मलाई लगेको लगभग आधा घण्टापछि तिनीहरूले मेरी श्रीमतीलाई पनि हिरासतमा ल्याएका रहेछन् भन्ने मैले पछि थाहा पाएँ।

कारमा तिनीहरूले मलाई यसो भन्दै धम्की दिए: “तिमीहरूको नेता पक्राउ परिसकेको छ। तैँले आफूलाई थाहा भएको सबै कुरा भनिस् भने हामी तँलाई केही गर्नेछैनौँ।” तिनीहरूले मण्डलीको निन्दा गर्दै केही कुरा पनि भने। तिनीहरूका यी सबै झूट सुन्दा मलाई निकै रिस उठ्यो, तर तिनीहरूले मलाई कसरी यातना दिनेछन् होला भन्ने सोचेर मलाई अलिक डर पनि लागेको थियो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरी जसरी कष्ट भोगे पनि यहूदा बनेर परमेश्‍वरलाई धोका नदिऊँ भन्दै मेरो रक्षा गर्न अनुरोध गरेँ। तिनीहरूले मलाई राष्ट्रिय सुरक्षा ब्रिगेडमा लगे र दुई जना सादा पोसाकका पुलिसले मलाई तानेर माथिल्‍लो कोठामा लगी सोफामा थेचारे। पुलिसको क्याप्टेनले मलाई सोध्यो, “तँ कहिलेदेखि धर्ममा लागिस्? तिमीहरू कहाँ भेला हुन्छौ? तिमीहरूको नेता को हो? तिमीहरूको चर्चमा कति जना छन्?” मैले उत्तर दिइनँ। उसले गोजीबाट केही फोटो निकाल्यो र ती मानिसहरू चिन्‍न लगायो, तर मैले “चिन्दिनँ” भनेर उत्तर दिएँ। त्यसपछि उसले भन्यो, “तैँले विश्‍वास गरेको सर्वशक्तिमान्‌ परमेश्‍वरलाई चीनमा स्पष्ट रूपमा नै प्रतिबन्ध लगाइएको छ। केन्द्रीय समितिले धेरै पहिले नै भूमिगत चर्चहरूलाई हटाउनैपर्छ भनेर आदेश जारी गरिसकेको छ, त्यसकारण तैँले अहिले नै मुख खोल्न सुरु गर्दा राम्रो हुन्छ!” त्यसपछि उसले मण्डलीको ३००,००० युआन (लगभग ४५,००० अमेरिकी डलर) कहाँ राखिएको छ भन् भन्यो। एउटा पुलिसले टेबल ठोकेर आँखा फुकाल्दै चिच्यायो “हामीले रसिद पाएका छौँ र हामीलाई थाहा तँसँग ३००,००० युआन छ। अहिले नै त्यो रकम हामीलाई दिइहाल्!” उसको उग्र रूप देख्दा मलाई रिस उठ्यो र मैले जवाफ दिएँ, “त्यो तपाईंको पैसा होइन। किन माग्‍नुहुन्छ? किन तपाईं त्यो जफत गर्न चाहनुहुन्छ?” दुई जना पुलिस मतिर दौडिँदै आए र मलाई अनुहारमा हिर्काउन थाले, तिनीहरूले मलाई राती १० देखि १२ बजेसम्‍म बारम्‍बार कुटिरहे। मेरो अनुहार र टाउको पूरै सुन्‍निएको थियो, मेरो कान बजिरहेको थियो, र मेरो पूरै शरीर दुखिरहेको थियो। म भुइँमा लडेँ, आँखा बन्द गरेर परमेश्‍वरलाई मनमनै प्रार्थना गर्दै, मलाई शक्ति दिनुहोस् र मेरो हृदयको रक्षा गर्नुहोस् ताकि मलाई कुटेर मारियो भने पनि मैले मण्डलीको पैसा कहिल्यै नत्यागूँ र म कहिल्यै यहूदा नबनूँ भनेर उहाँलाई अनुरोध गरेँ। मैले केही नबोलेको देखेर तिनीहरूले मलाई हिरासत केन्द्रमा लगे र रातभरि फलामको रेलिङमा हतकडी लगाएर राखे।

त्यसपछि तिनीहरूले मलाई हिरासत घरमा राखे। केही दिनसम्‍म पुलिसले मलाई मण्डलीको पैसा कहाँ राखिएको छ भनेर प्रश्‍न गर्न तीनपटक ल्याए, र मैले तिनीहरूलाई केही पनि बताइनँ। अक्टोबर १७ को बिहान ८ बजे अलिकपछि पुलिसले मलाई राष्ट्रिय सुरक्षा ब्रिगेडमा लिएर गए, र सोधपुछ कोठामा मेरो हातखुट्टा फलामको कुर्सीमा हतकडी लगाए, अनि पैसा कहाँ छ भनेर सोधे। मैले अझै पनि केही भनिनँ। एउटा पुलिसले बाँसको पातलो भाटा दोबारेर मलाई टाउकोमा र जिउमा हिर्काउन थाल्यो, र त्यो भाटाले मेरो मुख जबरजस्ती खोल्ने प्रयास गऱ्यो। मेरो टाउकोमा यताउता कुट्ने काम जारी रह्यो। उसले मेरो मुख खोलाउन नसकेपछि मेरो कान बटार्दै जोडले मास्तिर तान्यो र चिच्याउँदै भन्यो, “म तँलाई सोध्दैछु! तँ बहिरा होस् कि क्या हो? मेरो कुरा नसुने जस्तो गर्छस्? चाम्रो बनिस् भने कुटाइ खाइस्, अनि हेरौँ को चाम्रो रहेछ!” यसो भन्दै उसले मेरो कनसिरी तान्यो, र टुपीमा पक्रेर मेरो टाउको झट-झट झट्काऱ्यो। मलाई मेरो कपालको जरा नै उखेलिएला जस्तो लाग्यो र मलाई निकै रिँगटा लाग्यो। तिनीहरूले मलाई राती १० बजेसम्‍म निरन्तर यातना दिए, र मैले जानाजानी बोल्‍न नमानेको देखेर तिनीहरूले जङ्गिँदै भने, “आजको लागि यति नै, तर तैँले आज राती यसबारे राम्रो सोचेर भोलि यसको उत्तर दिँदा राम्रो हुन्छ!” मेरो जीउभरि कुटेको नीलडाम बसेको थियो र मेरो ढाड पोलिरहेको थियो। भोलिपल्‍ट तिनीहरूले मलाई के गर्ने विचार गरेका छन् भन्‍ने थाहा नहुँदा मलाई आफू अलिक कमजोर भएजस्तो भइरहेको थियो, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! बिन्ती छ मलाई रक्षा गर्नुहोस् र विश्‍वास दिनुहोस् ताकि मर्नै परे पनि म यहूदा नबनूँ वा तपाईंलाई धोका नदिऊँ।”

भोलिपल्ट साँझमा राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेन मलाई प्रश्‍न गर्न आयो। उसले मलाई आँखा फुकाल्दै हेरेर चिच्याउँदै भन्यो, “प्रमाण हाम्रै आँखाअगाडि छ तर तँ यसलाई स्वीकार गर्दैनस्। बुद्धिमानी बनेर सबै कुरा ओकल्‍, नत्र तैँले मूल्य चुकाउनुपर्नेछ!” मैले अझै केही नबोलेको देखेपछि ऊ रिसाउँदै उठ्यो र डरलाग्दो अनुहार बनाउँदै मुठ्ठी कस्यो। यदि उसले मलाई मुड्कीले हिर्काउन थाल्यो भने मैले कसरी सहने होला, त्यो मलाई वास्तवमै थाहा थिएन! तुरुन्तै मैले प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! बिन्ती छ मेरो साथमा रहनुहोस् र मेरो डरलाई हटाइदिनुहोस्। गवाहीको रूपमा खडा हुन मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। पुलिसले जति नै निर्दयी व्यवहार गरे पनि तिनीहरू पनि परमेश्‍वरकै हातमा छन्। परमेश्‍वरको अनुमतिविना तिनीहरूले मलाई केही पनि गर्न सक्दैनन्, त्यसकारण गवाहीको रूपमा खडा हुन मैले परमेश्‍वरमा भरोसा गर्नुपर्छ भन्‍ने मैले थाहा पाएँ। यो सोचाइले मेरो विश्‍वास दह्रिलो बनायो र उप्रान्त मलाई त्यति धेरै डर लागेन। ठीक त्यही बेला एउटा तालुखुइले पुलिसले मलाई हेर्दै चिच्याएर भन्यो, “बोलिनस् भने हामीसँग तँलाई ठीक पार्ने तरिका छ! हामी तँलाई प्रान्तीय अफिसमा लानेछौँ र त्यहाँकाहरूले तेरो मुख पक्कै खोल्‍न सक्छन्।” तर तिनीहरूले मलाई जसरी धम्की दिए पनि मैले केही बोलिनँ।

केही दिनपछि तिनीहरूले मलाई राष्ट्रिय सुरक्षा ब्रिगेडको अर्को सोधपुछ कोठामा लगे। चारैपट्टिको भित्ता निकै बाक्‍लो स्पन्जले ढाकिएको थियो र कोठाको बीचमा एउटा फलामको कुर्सी राखिएको थियो। एउटा पुलिसले मलाई कुर्सीमा बसायो, त्यसमा मेरो हात र खुट्टा बाँध्यो, त्यसपछि मण्डलीको पैसा कहाँ छ भनेर सोधपुछ गर्न थाल्यो। उसले मलाई जङ्गिँदै सोध्यो, “तँ त्यो ३००,००० युआन दिन्छस् कि दिँदैनस्? केही नबोलेर धर पाउँछु जस्तो लाग्छ? तेरो लागि त मसँग प्रशस्त समय छ!” उसले बाँसको त्यो भाटा निकालेर यसो भनेर चिच्याउँदै मेरो जिउमा जोडले हिर्काउन थाल्यो, “बहिरा होस् कि के हो, हँ? सुनिनस्?” त्यसपछि उसले मेरो कान, अनि मेरो कन्सिरी तान्यो। मेरो टुपीको कपाल पक्रेर सक्दो अगाडि-पछाडि झट्काए। सहनै नसक्‍ने पीडा भयो, मानौँ मेरो कपालको जरै उखेलिन लागेको छ। त्यसपछि तिनीहरूले फेरि पनि मलाई भाटाले हान्‍न थाले र मेरो जीउ सुनियो र जीउभरि नीलडाम भयो। पीडा सहन निकै गाह्रो भयो। मलाई ती पुलिसहरूप्रति निकै घृणा जाग्यो र तिनीहरूले कति धेरै यातना देलान् वा म सहन सक्छु कि सक्दिनँ होला भन्ने सोचेर अलिक डर पनि लाग्यो। मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईंलाई धोका दिऊँ र तिनीहरूले मण्डलीको पैसा चोर्न सकून् भनेर शैतानले मेरो सङ्कल्प तोड्ने प्रयास गर्दै मलाई कठोर यातना दिइरहेको छ। हे परमेश्‍वर, मेरो ज्यानले यसलाई सहन सक्दैन होला भन्‍ने डर छ। बिन्ती छ मलाई रक्षा गर्नुहोस् र विश्‍वास दिनुहोस्।” प्रार्थना गरेपछि मलाई “परीक्षाको पीडा त परमेश्‍वरको आशिष्‌ हो” भन्‍ने परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँडा टेकेर प्रार्थना गर्छौ? तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्‍ने तिमीहरू जान्दैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूमा विचार गरेपछि मलाई के महसुस भयो भने दमन र कठिनाइ अनुभव गर्नु भनेको परमेश्‍वरले हाम्रो विश्‍वासलाई सिद्ध पार्नु हो। म शैतानको अघि उहाँको गवाही दिन सक्छु भन्ने उहाँले आशा गरिरहनुभएको थियो। देहमा मैले जति धेरै कष्ट भोग्‍नुपरे पनि मैले शैतानको अघि झुक्‍नु हुँदैनथियो, तर परमेश्‍वरको लागि गवाहीको रूपमा खडा भएर उहाँलाई सन्तुष्ट पार्नुपर्थ्यो। यसबारे त्यसरी सोच्दा मलाई यो त्यति धेरै कठिन लागेन। मैले आफ्‍नो दाँत कसेँ र तिनीहरूको यातना सहेँ। तिनीहरूले मलाई १०-१५ मिनेट कुटेपछि पनि मैले नबोलेको देख्दा यसो भन्दै धम्की दिए: “एक शब्‍द पनि बोल्दैनस्—तँलाई जेल जान्छु भन्‍ने डर छैन? तँ जेल परिस् भने तँलाई सधैँको लागि दाग लाग्छ। तेरा छोराछोरीले कहिल्यै पनि लोक सेवा दिन वा पार्टीमा आबद्ध हुन पाउँदैनन्। तैँले तिनीहरूको भविष्य बरबाद गरिरहेको हुन्छस्!” तिनीहरूले भनेको कुराले मलाई रत्तिभर पनि असर गरेन किनभने मानिसहरूको भाग्य पूर्ण रूपमा परमेश्‍वरकै हातमा हुन्छ भन्‍ने मलाई हृदयबाटै थाहा थियो। मेरा बालबच्‍चाको भविष्य परमेश्‍वरको नियम र बन्दोबस्तमा थियो, अनि पुलिसले यसको निर्णय गर्न सक्दैनथियो। त्यही बेला, एउटा पुलिसले मेरी छोरीलाई फोन गऱ्यो, र मैले उनको आवाज सुनेँ: “बुबा! तपाईं र आमालाई त्यहाँ ठीकै छ?” मैले उनलाई भनेँ, “हामीलाई ठीकै छ, चिन्ता नगर। घरमै बस र भाइलाई हेर।” त्यसले काम नगरेको देखेर त्यो पुलिसले अर्को रणनीति प्रयोग गर्दै भन्यो, “म तँलाई सीधै भन्छु। तेरो सालो र म एउटै सहरका हौँ र हामी एउटै युनिटमा काम गर्छौँ। तेरो गाउँको सचिव र मैले सेनामा पनि सँगै काम गरेका थियौँ। मैले तेरो बारेमा यताउता सोधेको थिएँ र सबैले तँ राम्रो मान्छे हो भन्दा रहेछन्, त्यसैले तँलाई जे थाहा छ त्यही भन् अनि हामी तँलाई छोडिदिन्छौँ।” यो शैतानको चाल हो भन्‍ने निश्‍चित भएर मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो हृदयको रक्षा गर्नुहोस् भनेर अनुरोध गरेँ। मैले जवाफ नदिएपछि, उसले भन्यो: “तेरी श्रीमतीले बताइसकी, त्यसकारण तँलाई जे थाहा छ त्यो भन्। त्यो ३००,००० कहाँ छ?” मैले भनेँ, “मेरो भन्‍नु केही छैन।” तिनीहरूको प्रलोभनले काम गरिरहेको छैन भन्‍ने देखेपछि तिनीहरूले मलाई फेरि यातना दिन थाले।

एक रात तिनीहरूले मलाई खान अनि सुत्‍न दिएनन्, र मैले आँखा बन्द गर्नेबित्तिकै तिनीहरूले मलाई टाउकोमा बाँसले हान्‍न थाल्थे। मेरो ढाड अलिकति कुप्रियो भने पनि, तिनीहरूले ढाडमा कस्‍सेर चाबुक लगाउँथे। अक्टोबर महिना थियो, त्यसकारण राती निकै जाडो हुन्थ्यो र मैले बिजनेस सुटसँग शर्टबाहेक केही लगाएको थिइनँ। बिहान झिसमिसेसम्‍म मलाई यति जाडो भयो कि मेरो पूरै जीउ कामिरहेको थियो। एउटा पुलिसलेले चिच्याएर भन्यो, “बोलिनस् भने सहज हुन्छ भन्‍ने नसोच्। तँ कष्टले नै मर्नेछस्!” यो सुन्दा मलाई केही हदसम्‍म कमजोर महसुस भयो। तिनीहरूले मलाई कति समय यातना दिन्छन् वा म सहिरहन सक्छु कि सक्दिनँ मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेको थिएँ, मलाई अगुवाइ र रक्षा गर्नुहोस् भनी अनुरोध गरिरहेको थिएँ। मैले जस्तोसुकै अवस्थाको सामना गर्नुपरे पनि कहिल्यै पनि परमेश्‍वरलाई धोका दिनेछैनँ भनेर सङ्कल्प पनि गरेँ। राती पालैपालो ड्यूटी गर्ने पुलिसहरूले न्यानो लुगा लगाएका थिए र तिनीहरू सबैलाई रुघा लागेको थियो, तर पातलो शर्ट मात्रै लगाएर रातभरि तिनीहरूको यातना भोग्‍ने मलाई केही पनि भएको थिएन। मैले परमेश्‍वरलाई उहाँको हेरचाहको लागि धन्यवाद दिएँ। एउटा पुलिसले खोक्दै मसँग गनगन गऱ्यो, “तैँले गर्दा मलाई रुघा लागेको हो!” त्यसपछि एउटा पुलिस आएर मेरोदेब्रे अनुहारमा यति साह्रो हान्यो कि मैले तोरीको फूल देखेँ। मलाई पूरै कोठा घुमिरहेको जस्तो लाग्यो। अर्को पुलिस चाहिँ एक छेउमा बसेर मरीमरी हाँसिरहेको थियो, त्यसपछि उ आएर चिच्याउँदै मेरो दाहिने अनुहारमा नराम्ररी हान्यो, “बोल्छस् कि बोल्दैनस्? पैसा कहाँ छ? यो सोधपुछले गर्दा हामी सबै बिरामी भएका छौँ। हामी तँलाई कुटेर मार्छौँ र हिसाब बराबर हुन्छ!” यसो भन्दै उसले मेरो नाडीमा नराम्ररी हतकडी थिच्यो, त्यसपछि हतकडी मासुमा गहिरो गरी भासिञ्‍जेलसम्‍म धेरैपटक जोड-जोडले ठोक्यो। मलाई मेरा हात भाँचिन लागेका छन् जस्तो लाग्यो। चाँडै नै ती कालो-नीलो भए—म असाध्यै पीडामा थिएँ, मेरो पूरै शरीर कामिरहेको थियो, र खलखल पसिना आइरहेको थियो। त्यस्तो पीडालाई व्याख्या गर्न सकिँदैन। त्यो बेला मलाई अब म सहन नसक्‍ने अवस्थामा पुगेको छु जस्तो लाग्यो, त्यसकारण दह्रिलो गरी खडा हुन सक्नका लागि मलाई रक्षा गर्नुहोस् भनी मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरिरहेको थिएँ। पीडाले भरिएको मेरो अनुहार देखेर एक छेउमा उभिरहेको एउटा पुलिसले मलाई यसो भन्दै गिल्‍ला गऱ्यो, “तँ ईश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण तँलाई बचाउन तेरो ईश्‍वर बोला!” मलाई शैतानले जाँचिरहेको छ भन्‍ने थाहा थियो। कम्युनिस्ट पार्टीले मलाई परमेश्‍वरलाई धोका दिन र इन्कार गर्न लगाउन यातनाको प्रयोग गर्न चाहन्छ भन्ने मलाई लागिरहेको थियो, तर यसले मलाई जति सतायो, मैले त्यति नै परमेश्‍वरलाई घृणा र विरोध गर्ने त्यसको दुष्ट अनुहारलाई देखेँ, र त्यति नै मैले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने सङ्कल्‍प गरेँ। त्यसपछि मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! कम्युनिस्ट पार्टीले अहिले मलाई दिएको क्रूर यातना तपाईंले अनुमति दिनुभएको हो ताकि मैले यो दियाबलस शैतान, तपाईंको शत्रु हो भनेर देख्‍न सकूँ। म त्यसलाई त्याग्‍न र हृदयबाट इन्कार गर्न तयार छु, र मैले तपाईंलाई पछ्याउने बलियो सङ्कल्प गरेको छु!”

त्यसपछि एउटा पुलिसले मलाई बुटले एक-दुई पटक मेरो हतकडीमा जोड-जोडले हान्यो, जसले गर्दा यो मेरो नाडीको मासुमा अझै गहिरो भासियो। यति पीडा भयो कि मैले सास फेर्न पनि सकिनँ। एक घण्टापछि मेरा हातहरू कालो हुन थाल्यो र मेरो शरीरका सबै नसाहरू फुलिन थाले। मेरो टाउको फूट्न लागेको जस्तो पीडा हुन्थ्यो र मुटु समेत दुखिरहेको थियो। मेरो पूरै शरीरमा यस्तो पीडा भइरहेको थियो कि म व्याख्या समेत गर्न सक्दिनँ। यस्तै भइरह्यो भने मैले मेरो हात गुमाउँछु भन्‍ने डर लागेको थियो। मलाई हेरचाह गर्नुपर्ने मेरो वृद्ध हुँदै गएको बुबा र बढ्दै गरेका मेरा छोरी र छोराको याद आयो। मैले हात गुमाएँ भने ती कलिला उमेरका छोरा-छोरी र वृद्ध उमेरका बुबालाई कसरी हेरचाह गर्ने? सायद मैले पुलिसलाई केही सानोतिनो कुरा बताइदिनुपर्छ? तर त्यसपछि धोका दिनुको अर्थ सारा युगहरूमा पापीकै रूपमा रहनु हो भन्‍ने कुरा मलाई थाहा थियो। तैपनि म उप्रान्त साँच्‍चै यातना सहन सक्दिनथिएँ, र कष्टलाई अन्त्य गर्न मर्न मात्र चाहन्थेँ, त्यसरी मैले परमेश्‍वरलाई पनि धोका दिनु पर्दैनथियो। म टेबलको चुच्चोमा उनिएर मर्न र यो कष्टको अन्त्य गर्न चाहन्थेँ। रुँदै मैले परमेश्‍वरसँग अन्तिम प्रार्थना गरेँ: “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंको अनुग्रहको कारण नै मैले तपाईंको आखिरी दिनहरूको कामलाई अनुभव गर्न पाएको छु। मलाई यति चाँडै मर्न मन छैन, तर म उप्रान्त शैतानको यातना सहन सक्दिनँ र तपाईंलाई धोका दिन्छु कि भन्‍ने डर लागेको छ। म तपाईंलाई चोट पुर्‍याउन चाहन्‍नँ।” प्रार्थनाको बेला मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासलाई दह्रिलो बनाए। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्न मलाई त्यो कष्ट भोग्न लगाउनुभएको थियो, तर परमेश्‍वरको इच्‍छालाई नबुझेको कारण मैले शैतानको अघि कसरी परमेश्‍वरको गवाही बन्‍ने भनेर सोचिरहेको थिइनँ। मैले त्यो परिस्थितिबाट कसरी उम्‍कने भन्‍ने बारेमा मात्रै सोचिरहेको थिएँ। म कति स्वार्थी थिएछु! म त्यसरी मर्नु हुँदैन भन्‍ने मलाई थाहा थियो—ममा एक मुट्ठी सास बाँकी रहिञ्‍जेलसम्‍म, म परमेश्‍वरको गवाहीको रूपमा खडा हुनुपर्थ्यो! मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो जीवन तपाईंकै हातमा छ र म तपाईंले मेरो लागि बनाउनुभएको योजनामा समर्पित हुन चाहन्छु। बिन्ती छ मलाई विश्‍वास दिनुहोस् र रक्षा गर्नुहोस्, ताकि म दह्रिलो गरी बस्‍न सकूँ।” त्यो पुलिसले मबाट केही पनि नपाउने देखेपछि मलाई धम्की दिँदै भन्यो, “आज राती यसको बारेमा राम्ररी सोच्, र हामी भोलि तँलाई केही प्रश्‍न गर्न आउनेछौँ।”

त्यो बेला म नसुतेको दुई दिन दुई रात भइसकेको थियो। म थकानले ढल्‍न लागेको थिएँ, मेरो मुटु दुखिरहेको थियो, र पूरै शरीर सहनै नसक्‍ने गरी दुखिरहेको थियो। भोलिपल्‍ट पुलिसले मलाई थप केरकार गर्छन् भन्‍ने सोच्दा म रातभरि सुत्‍न सकिनँ, र मैले निरन्तर प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर! मलाई पुलिसले भोलि पनि यातना दिइरहनेछ र मेरो ज्यानले सहन सक्‍नेछैन भन्‍ने डर लागेको छ। बिन्ती छ मलाई रक्षा गर्नुहोस् अनि मलाई विश्‍वास र शक्ति दिनुहोस्। म साक्षीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्न चाहन्छु।” प्रार्थना गरेपछि मलाई परमेश्‍वरको यो वचन याद आयो: “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मैले परमेश्‍वरका वचनहरूलाई मनन गरेँ र मसँग साँचो विश्‍वास छ कि छैन भनेर मलाई जाँच्‍न, र परमेश्‍वरको लागि गवाहीको रूपमा खडा हुने मौका दिनको लागि परमेश्‍वरले यस्तो परिस्थिति हुन दिनुभएको हो भन्‍ने मैले देख्‍न सकेँ। मलाई शैतानले अय्यूबलाई परीक्षा गरेको, तिनले आफ्‍नो सबै सम्पत्ति, छोराछोरी गुमाएको, र तिनको शरीरमा खटिरा आएको घटना याद आयो। तर पनि, अय्यूबले परमेश्‍वरलाई दोष दिएनन्, तर उहाँको नाउँको प्रशंसा गरे अनि परमेश्‍वरको लागि शानदार गवाही दिए। पत्रुसले पनि सतावट भोगे र आफ्‍नो ज्यान समेत दिने गरी परमेश्‍वरलाई प्रेम गर्दै र उहाँमा समर्पित हुँदै परमेश्‍वरको खातिर उँधमुन्टे क्रूसमा टाँगिन समेत तयार भए। तर केही पुलिसले दिएको केही निर्दयी यातनापछि मैले आफ्‍नै देहको बारेमा मात्रै सोचेँ र थोरै कष्ट भोग्नेबित्तिकै उम्‍कन चाहेँ। परमेश्‍वरको निम्ति ममा साँचो विश्‍वास र आज्ञाकारिता थिएन, गवाही हुनु त परको कुरा हो। यसको बारेमा जति सोचे मलाई त्यति नै लाज लाग्यो र मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “परमेश्‍वर, मेरो जीवन मूल्य विहीन छ। अब पुलिसले मलाई जे गरे पनि, मैले जस्तो शारीरिक पीडा भोग्‍नु परे पनि म अब आफ्‍नो बारेमा मात्रै सोच्‍न चाहन्‍नँ। म आफूलाई तपाईंको हातमा समर्पित गर्न चाहन्छु, र तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छु।” प्रार्थना गरेपछि अचम्‍मको घटना घट्यो—मेरो पूरै शरीरको पीडा हराएर गयो र मलाई अचानक हल्‍का महसुस भयो। मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद दिएँ। भोलिपल्ट लगभग बिहान ८ बजेतिर पुलिस मलाई सोधपुछ गर्न आए र पैसा कहाँ छ भनेर सोधे, तर तिनीहरूले मलाई जसरी सोधपुछ गरे पनि मैले मलाई थाहा छैन भनेँ। तिनीहरूले थप धेरै पटक सोधपुछ गरे, र मबाट कुनै उपयोगी जानकारी भेट्टाउन नसकेपछि तिनीहरूले मलाई बिदाइको शब्द भन्दै गए, “जेलमा भेटौँला!” मेरो अन्तिम दिनहरूसम्‍म जेल बस्‍नु परे पनि म परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैन भनेर मैले मनमनै भनें।

मलाई एक महिना राखेपछि, तिनीहरूले मलाई “पन्थ संस्थाको प्रयोग गरेर कानुन कार्यान्वयनमा बाधा दिएको” भन्‍ने आरोप लगाएर श्रमद्वारा पुनर्शिक्षाको एक वर्षे सजाय दिए। कम्युनिस्ट पार्टीले विश्‍वास गर्ने मानिसहरूलाई कति घृणा गर्छ भन्‍ने देख्दा मलाई परमेश्‍वरले भन्‍नुभएको वचन याद आयो: “त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई असमझतातर्फ लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टीले सदाचार र नैतिकताले पूर्ण भएको नाटक गर्छ, धार्मिक स्वतन्त्रताको नारा लगाउँछ, तर भित्रभित्रै परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्न र सताउन अनेक किसिमका रणनीति प्रयोग गर्छ, यसरी विश्‍वासीहरूलाई परास्त गर्न सक्छु भन्‍ने व्यर्थको आशा गर्छ। मानवजातिलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो र हामीले परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आराधना गर्नु सही र स्वाभाविक कुरा हो, तर हामीलाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउने प्रयास गर्दै कम्युनिस्ट पार्टीले पागलले झैँ हामीलाई पक्राउ र दमन गरिरहेको छ। सत्यतालाई र परमेश्‍वरलाई घृणा गर्ने कम्युनिस्ट पार्टीलाई सत्तामा हुन दिनु भनेको शैतानलाई सत्तामा हुन दिनु हो भन्‍ने कुरा मैले देख्‍न सकेँ। यो त सारगत रूपमा परमेश्‍वरको शत्रु, दियाबलस शैतान हो। पहिले त मैले कम्युनिस्ट पार्टीको दुष्ट सारलाई कहिल्यै देख्‍न सकेको थिइनँ, तर त्यो पक्राउले मलाई केही समझशक्ति प्रदान गर्‍यो र मैले यसलाई हृदयदेखि नै त्यागेँ र इन्कार गरेँ। म परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्‍पमा अझै दृढ पनि भएँ।

मलाई २००९ को नोभेम्बर ९ मा श्रम क्याम्पमा लगियो, जहाँ पुलिसले अरू दुई जना कैदीलाई मेरो निगरानी गर्न लगाएका थिए। तिनीहरू मलाई एकछिन् पनि छोड्थेनन्, र शौचालय जाँदा पनि तिनीहरूलाई भन्‍नुपर्थ्यो। मैले कसैलाई सुसमाचार सुनाउँछु भन्‍ने डरले जेलका पालेहरूले मलाई कसैसँग बोल्‍न दिँदैनथिए, र मैले हरेक दिन जेलको नियमहरू कण्ठ गरेर भन्‍नुपर्थ्यो। कण्ठ गरेको कुरा भन्दा गल्ती गरेँ भने दण्डको रूपमा म उभिएर बस्‍नुपर्थ्यो। मैले दिनरात बिहानदेखि रातीसम्‍म कठोर श्रम गर्नुपर्थ्यो, र मैले आफ्‍नो काम सकिनँ भने मलाई गाली गरिन्थ्यो, कुटिन्थ्यो, र उभिएर सजाय भोग्‍नुपर्थ्यो। तिनीहरूले मलाई दिने खानेकुरा सुँगुरको चारोभन्दा पनि खराब हुन्थ्यो। हरेक खानामा मलाई उसिनेको सानो रोटी र पातलो सूप दिइन्थ्यो जसमा सानो औँलो जत्रो गाजरको टुक्रा हुन्थ्यो। म खाली पेटमा नै सधैँ श्रम गरिरहेको हुन्थेँ। जब-जब म व्याकुल र निराश हुन्थेँ, तब-तब म परमेश्‍वरलाई प्रार्थना गर्थेँ वा मनमनै परमेश्‍वरका वचनहरूको भजन गुनगुनाउथेँ। मैले त्यो वर्षको जेल जीवन त्यसरी नै बिताएँ।

जेलबाट निस्केपछि पुलिसले मलाई यसो भन्दै चेतावनी दिए, “तँ एक वर्षसम्‍म घरबाट टाढा जान सक्दैनस्। हामीले बोलाउने बित्तिकै तँ हाजिर हुन तयार हुनुपर्छ।” घर गएपछि मलाई के थाहा भयो भने मेरी श्रीमतीलाई पक्रेपछि पुलिसले उनलाई पनि मण्डलीको पैसा कहाँ राखेको छ भनेर निरन्तर सोधपुछ गरिरहे। उनले तिनीहरूलाई केही पनि बताइनन् र २३ दिन राखेपछि उनलाई थुना घरबाट रिहाइ गरिएछ। पैसा कहाँ छ भन्‍ने बारेमा पुलिसले कुनै जानकारी पाउन नसकेपछि तिनीहरू दुई पटक हाम्रो घरमा खोज्‍न गएछन् र हाम्रो सिलिङ समेत छेडेछन् अनि हाम्रो दुई जना बच्‍चाहरूलाई हाम्रो विश्‍वासको बारेमा सोधपुछ गरेर सताएछन्। तिनीहरू मेरो छोरालाई सताउनको लागि उसको स्कूल समेत गएछन्। हाम्रा बालबच्‍चा यति डराएका थिए कि तिनीहरू सधैँ तनावमा हुन्थे र सधैँ असुरक्षा महसुस गर्थे। केही रकम हात पार्नको लागि ती पुलिसहरूले कसरी साना बालबच्‍चालाई समेत छोडेनन् भन्‍ने देख्दा ममा कम्युनिस्ट पार्टीका ती दुष्टहरूप्रति निकै घृणा जाग्यो। म बाहिर निस्केपछि पुलिसको निगरानीले मलाई परमेश्‍वरका वचनहरू पढ्न वा भेलाहरूमा जान दिएन। सहरबाट बाहिर गएर सुसमाचार सुनाउने र आफ्‍नो कर्तव्य पूरा गर्ने बाहेक मसँग कुनै विकल्‍प थिएन। पुलिसले मलाई आजको दिनसम्‍म पनि खोजिरहेको छ, र म कहाँ छु भन्‍ने बारेमा जानकारी पाउनको लागि तिनीहरूले मेरा आफन्त र मेरो सम्पर्क हुने गरेका ब्रदर-सिस्टरहरूलाई अझै पनि दबाब दिइरहन्छन्।

यो सतावट र कठिनाइबाट मैले केही शारीरिक कष्ट भोगेँ, तर मैले परमेश्‍वरको प्रेमलाई साँचो रूपमा अनुभव गरेँ। मलाई यातना दिइँदा, म सहनै नसक्‍ने अवस्थामा पुग्दा, मलाई हरेक पटक परमेश्‍वरका वचनहरूले नै विश्‍वास र शक्ति दिए र दह्रिलो गरी खडा हुने मार्ग देखाए। परमेश्‍वरका वचनहरूले नै मलाई शैतानका चलाकीहरू देख्‍न र एकपछि अर्को गर्दै शैतानका परीक्षाहरूलाई जित्‍न अगुवाइ गरेका हुन्। यी सबैको अनुभवपछि मैले परमेश्‍वरका वचनहरूको शक्ति र अख्तियारलाई अनि परमेश्‍वरले मात्रै मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने देखेँ। परमेश्‍वरमाथिको मेरो विश्‍वास बढ्दै गयो। मैले कम्युनिस्ट पार्टीको दुष्ट अनुहारलाई, यसले परमेश्‍वरलाई घृणा गर्छ र उहाँको विरुद्धमा काम गर्छ भन्‍ने कुरा पनि स्पष्ट रूपमा देखेँ। मैले यसलाई मेरो हृदयको अन्तस्करणबाट नै त्याग्‍न र इन्कार गर्न सकेँ। भविष्यमा मैले जति धेरै सतावट र कठिनाइ भोग्‍नु परे पनि म परमेश्‍वरलाई सन्तुष्ट पार्न अवश्य नै आफ्‍नो कर्तव्य पूरा गर्नेछु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

वाङ ग्याङ, चीन सन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार...

सोधपूछ कोठामा दिइएको यातना

जियाओ मिन, चीनसन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ,...

क्रूर यातनाको समय

चेन हुइ, चीन म चीनमा एक साधारण परिवारमा हुर्किएँ। मेरा बुबा सेनामा थिए र म सानै उमेरदेखि उहाँद्वारा मोडिएकी र प्रभावित भएकी हुनाले, म एक...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्