घरायसी युद्धको दृश्य पछाडि

25 फेब्रुअरी 2023

२०१० को प्रारम्‍भतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा फैलाएका अफवाह र नकारात्मक प्रचारबाजी मेरी श्रीमतीले टिभीमा देखेछिन्। म पक्राउ पर्छु भन्‍ने डरले उनले मलाई दमन गर्न थालिन्। एक दिन, उनले मलाई अत्यन्तै रिसाउँदै भनिन्, “टिभीमा के भन्दैछ हेर्नुहोस् त। पूर्वीय ज्योति देशव्यापी कारबाही र निष्कासनको मुख्य निसाना हो। देशभरि जताततै विश्‍वासीहरूलाई पक्राउ गरिँदैछ र जेलमा हालिँदैछ, अनि पुलिसले साधारण मानिसहरूलाई तिनीहरूको बारेमा जासूस गर्न र रिपोर्ट गर्न खटाइरहेको छ। विश्‍वास छोडिदिनुहोस्! तपाईं पक्राउ पर्नुभयो भने, हाम्रो बाँकी परिवार पनि मुछिनेछ।” मैले उनलाई भनेँ, “चीनमा कम्युनिस्ट पार्टीले नै शासन गर्छ, र तिनीहरूले अरू कुनै कुरालाई भन्दा बढी परमेश्‍वरलाई नै घृणा गर्छन्, त्यसकारण तिनीहरूले विश्‍वासीहरूलाई विशेष गरी सताउँछन्। विश्‍वासको बाटो दमनमा परिने बाटो हो। मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर मानवजातिलाई मुक्ति दिन आउनुभएको छ। अहिले जसोतसो मैले प्रभुको पुनरागमनलाई स्वागत गरेको हुनाले, मैले सतावटमा पर्ने डरले मेरो विश्‍वासलाई त्याग्‍न सक्दिनँ।” म उनको सल्‍लाह सुन्दिनँ भन्‍ने देखेर, उनले मलाई बाधा दिन सबै प्रयास गरिन्, अनि मलाई भेलाहरूमा जान वा आफ्‍नो कर्तव्य पूरा गर्न दिइनन्।

एक पटक म बाहिर जान लागेको बेला, मलाई जान नदिनँ, उनी हतार-हतार मेरो अगाडि आइन् र मलाई पक्रिन्। म बल्‍ल-बल्‍ल उनको हातबाट उम्‍केँ र हलवेबाट बाहिर गएँ, त्यसपछि उनले चिच्याउँदै भनिन्, “तपाईंहरूलाई भेला हुन निषेधित गरिएको छ!” छिमेकीहरूले थाहा पाएर रिपोर्ट गर्छन् भन्‍ने डरले, म तुरुन्तै घरभित्र गएँ र ढोका बन्द गरेँ। उनले धम्की दिँदै भनिन्, “तपाईं भेलामा जाने आँट गर्नुभयो भने, म सार्वजनिक सुरक्षा ब्यूरोमा रिपोर्ट गर्नेछु! मैले तपाईंको समूहको अरू सबै चिनेको छु। म तपाईंहरू सबैलाई रिपोर्ट गर्नेछु र पुलिसलाई सबै जना पक्राउ गर्न लगाउनेछु, अनि तपाईंहरूले अझै विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न हेरौँ!” उनको कुरा सुन्दा मलाई निकै रिस उठ्यो। मैले उनलाई यस्तो कामले परमेश्‍वरलाई चिढ्याउँछ र उनी दण्डित हुनेछिन् भनेर भनेँ। उनले मेरो कुरा सुन्दै सुनिनन्, मलाई मेरो विश्‍वास त्याग्‍न लगाउनको लागि दिनरात मसँग झगडा गरिरहन्थिन्। मलाई अत्यन्तै तनाव भयो। घरमा उनले मलाई परमेश्‍वरका वचनहरू पढ्न दिँदिनथिइन् र मैले गर्ने सबै कुरा निगरानी गर्थिन्।

केही समयसम्‍म म भेलामा जान सकिनँ, अनि यो हैरानलाग्दो र वेदनापूर्ण अवस्था थियो। मलाई मेरी श्रीमतीले दमन गर्न छोड्ने दिन कहिले आउला भन्‍ने लागिरहन्थ्यो ताकि मैले सामान्य रूपमा नै भेलामा सहभागी हुन र आफ्‍नो कर्तव्य पूरा गर्न सकूँ। मलाई त्यो परिस्थितिबाट उम्‍कने बाटो खोलिदिनुहोस् भनेर अनुरोध गर्दै म परमेश्‍वरलाई प्रार्थना गरिरहेको हुन्थेँ। पछि मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो।

१. देहधारी परमेश्‍वरले सबै प्रकारका निन्दा, अपमान, आलोचना, र दोषारोपण सहनुहुन्छ। उहाँलाई दियाबलसले खेदो गर्छ र धार्मिक संसारका मानिसहरूले पनि इन्कार र विरोध गर्छन्। उहाँको हृदयमा परेको यो चोटलाई कसैले पनि निको पार्न सक्दैन! उहाँले चरम धैर्यताद्वारा भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ; उहाँले चोट बोकेको हृदयद्वारा मानिसहरूलाई प्रेम गर्नुहुन्छ। सबैभन्दा पीडादायी काम यही हो। मानवजातिको उग्र प्रतिरोध, दोषारोपण र निन्दा, झूटो आरोप, सतावट र खेदो अनि हत्याले गर्दा परमेश्‍वरको देहले यो काम गर्ने क्रममा चरम खतराहरूको सामना गर्छ। उहाँले यी पीडाहरू सहनुहुन्छ, तैपनि कसले उहाँलाई बुझ्‍न सक्छ र कसले उहाँलाई सान्त्वना दिन सक्छ?

२. प्रभु येशूले पृथ्वीमा साढे तेत्तिस वर्ष जिउनुभयो र काम गर्नुभयो। उहाँ क्रूसमा टाँगिनुभयो, मृत्युवरण गर्नुभयो, पुनरुत्थान हुनुभयो र चालीस दिनसम्‍म मानवजातिकहाँ देखा पर्नुभयो, त्यसपछि मात्रै उहाँ मुक्त हुनुभयो, र यसरी मानवजातिसँग जिएका पीडादायी वर्षहरूलाई समाप्त गर्नुभयो। तैपनि, मानवजातिको गन्तव्यको चिन्ताको कारण परमेश्‍वरले सदैव हृदयमा यही प्रकारको कष्ट सहनुभएको छ। यो पीडालाई कसैले बुझ्दैन, न त कसैले सहन सक्छ। सुरुदेखि नै, देहधारी शरीरको कामले जे प्रकट गरेको छ त्यो पूरै प्रेम हो, उहाँको कामको सार नै प्रेम हो; उहाँले मानवजातिलाई आफ्‍नो सर्वस्व, उहाँको सबै थोक दिनुभएको छ।

— थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

यो भजनका शब्‍दहरू सोच्दा म अत्यन्तै भावुक भएँ, र मैले मानिसप्रतिको परमेश्‍वरको प्रेम अनुभव गर्न सकेँ। हामीलाई मुक्ति दिनको लागि परमेश्‍वरले दुवै देहधारणमा अत्यन्तै धेरै पीडा र अपमान सहनुभएको थियो! प्रभु येशूको जन्‍म हुने बित्तिकै हेरोद राजाले उहाँलाई मार्न चाहन्थे, र उहाँले काम गर्न थाल्‍नुभएपछि उहाँलाई फरिसीहरूले गिल्‍ला, निन्दा गरे र दोष दिए। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले अनुग्रहको युगमा भन्दा हजारौँ गुणा बढी खतरा मोलिरहनुभएको छ, काम गर्न र मानवजातिलाई मुक्ति दिनको लागि ठूलो रातो अजिङ्गरको अखडामा देहधारी हुनुभएको छ। उहाँले पार्टीको खेदो र दोषारोपण, धार्मिक संसारको इन्कार र निन्दा सहनुहुन्छ। हामीलाई मुक्ति दिनको लागि परमेश्‍वरले अनेक किसिमका कष्ट चुपचाप सहनुहुन्छ। अहिले मैले परमेश्‍वरलाई पछ्याइरहेको, मुक्तिको पछि लागिरहेको छु, त्यसकारण त्यसको तुलनामा थोरै कष्ट-भोगको गन्ती कति नै हुन्छ र? म सधैँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छु, र कष्ट र दमनको बीचमा पनि म उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछु भनेर भन्‍ने गर्थेँ, तर म वास्तविक परिस्थितिमा पर्दा ममा विश्‍वासको कमी भयो। मेरो गवाही कहाँ थियो? पहिले त मैले शाब्दिक धर्मसिद्धान्त मात्रै बुझेको थिएँ भनेर सोच्दा, मलाई निकै लाज लाग्यो। मैले मनमनै मैले जस्तोसुकै दमन वा बाधाको सामना गरे पनि, म परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउनेछु भनेर सङ्कल्‍प गरेँ। त्यसपछिका दिनहरूमा, मेरी श्रीमतीले मलाई बाधा दिइरहिन्, अनि आफ्‍नो उद्देश्य हासिल नगरेसम्‍म हरेस नखाने भनेर लागिपरेकी थिइन्। तर परमेश्‍वरका वचनहरूको अगुवाइको कारण, मलाई त्यति धेरै बन्धनमा परेको अनुभव हुन छोड्यो।

केही समयपछि एक दिन म कामबाट घर आइपुगेँ, र मेरी श्रीमतीले मैले लुकाएर राखेको परमेश्‍वरका वचनहरूको पुस्तक अनि केही भजनका सिडिहरू भेटेर नष्ट गरेछिन् भन्‍ने थाहा पाएँ। रिसले चूर हुँदै, मैले उनलाई सोधेँ, “तिमीले किन मेरो पुस्तक र सिडिहरू नष्ट गर्‍यौ? तिमीले परमेश्‍वरलाई यति घृणा गर्छौ र विरोध गर्छौ, अनि ब्रदर-सिस्टरहरूलाई समेत पक्राउ गर्न लगाउन चाहन्छौ। तिमीलाई दण्ड आउनेछ।” उनले जङ्गिदै भनिन्, “दण्ड नै पाए पनि म तपाईंलाई विश्‍वास गर्न दिन्‍नँ!” उनले सधैँ झगडा गरिरहिन्, र मैले कुरा नसुनेको देख्दा, उनले आक्रोशित हुँदै भनिन्, “तपाईं विश्‍वास गरिरहनुहुन्छ भने म डिभोर्स गर्न चाहन्छु!”

उनले डिभोर्स गर्न चाहन्छिन् भन्‍ने सुन्दा मलाई खिन्‍न लाग्यो। हाम्रो वैवाहिक जीवनभरि, उनले मलाई सधैँ राम्ररी हेरचाह गर्दै आएकी थिइन्, र त्यतिका वर्षको अवधिमा हामीले बिरलै झगडा गरेका थियौँ। अरू सबैले हामीलाई निकै प्रशंसा गर्थे। वास्तविक डिभोर्सको बारेमा सोच्दा मलाई अलिक हिचकिचाहट भयो। त्यसपछि मलाई परमेश्‍वरले भन्‍नुभएको एउटा वचन याद आयो: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। “परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। साँचो हो। विश्‍वासी र अविश्‍वासीहरू दुई फरक बाटोमा हिँड्ने फरक-फरक प्रकारका मानिसहरू हुन्। मेरो विश्‍वास सत्यताको पछि लाग्‍नु र परमेश्‍वरमा समर्पित हुनु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु हो। कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई पक्राउ गरिरहेको छ र सताइरहेको छ भन्‍ने देख्दा, मेरी श्रीमतीले पनि यसकै पछि लागेर मलाई दमन गर्न थालिन्। उनले परमेश्‍वरको वचनको पुस्तक पनि नष्ट गरिन् र विश्‍वासीहरूलाई पक्राउ गराउने धम्की दिइन्। उनको सार परमेश्‍वरलाई घृणा गर्ने सार थियो। हामी श्रीमान-श्रीमती भए पनि, हामी फरक बाटोमा हिँड्ने फरक-फरक मानिसहरू थियौँ। उनले कम्युनिस्ट पार्टीलाई पछ्याएर परमेश्‍वरको विरोध गर्ने सङ्कल्‍प गरेकी थिइन्—उनी शैतानको स्वामित्वमा थिइन्। उनले डिभोर्स गर्न चाहेकी हुनाले, मैले उनको निर्णयलाई सम्‍मान गरेँ त्यसपछि भविष्यमा मलाई कसैले पनि भेला हुन र आफ्‍नो कर्तव्य पूरा गर्नबाट रोक्‍नेथिएन। त्यसकारण मैले दृढतासाथ भनेँ, “तिमी र म एउटै मार्गमा छैनौँ। हामी आ-आफ्‍नै बाटो लागौँ। हामीले डिभोर्स गर्नुपर्छ।” मैले त्यो कुरा बताएपछि, उनले उप्रान्त डिभोर्स गर्न चाहिनन्।

यो समस्या अन्त्य भयो भन्‍ने लागेको थियो, तर उनले हाम्रो छोरा र छोरीलाई पनि आफ्‍नो पक्षमा लिएछिन्। मेरी बुहारीले भनिन्, “बुबा, के तपाईंलाई नातिको धेरै माया लाग्दैन? मानिसहरूले नातिनातिना आफ्‍नो आमाबुबासँग भन्दा बढी बाजे-बजूको नजिक हुन्छन् भन्‍ने गर्छन्, र तपाईं त्यस्तै हुनुहुन्छ।” त्यो साँचो हो भन्‍ने कुरामा मैले उनीसित सहमत जनाएँ। त्यो कुराले मलाई कति खुशी बनाएको छ भन्‍ने देखेर, उनले भनिन्, “बुबा, तपाईंले उसलाई त्यति धेरै माया गर्नुहुन्छ, त्यसकारण यसको बारेमा कुरा गरौँ। मेरो काका सार्वजनिक सुरक्षाको प्रमुख हुनुहुन्छ। उहाँले भन्‍नुभएको, सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरू राजनीतिक अपराधीहरू हुन् र तिनीहरूलाई पक्राउ गरियो भने जेल सजाय हुन्छ। तिनीहरूको सन्तान र पछिका पुस्ता पनि यसमा फस्छन्, र सरकारी जागिर खान वा कलेजमा भर्ना हुन पाउँदैनन्। बुबा, तपाईंले आफ्‍नो विश्‍वास त्याग्‍नुपर्छ। तपाईं पक्राउ पर्नुभयो भने हाम्रो भविष्यमा पनि असर पर्नेछ। तपाईंले हाम्रो बारेमा पनि सोच्‍नुपर्छ, होइन र? हाम्रो बारेमा सोच्‍नुहुन्‍न भने पनि, आफ्‍नो नातिको बारेमा सोच्‍नुपर्छ। तपाईंको विश्‍वासको कारण त्यो कलेज जान पाएन भने वा राम्रो जागिर पाएन भने, त्यो तपाईंको गल्ती हुनेछ।” उनले त्यसो भनेको सुन्दा म निकै व्याकुल भएँ। त्यसपछि मेरो छोराले गम्‍भीर हुँदै भने, “बुबा, तपाईंको खुट्टामा समस्या छ। तपाईं हिँड्न सक्‍नुभएन भने के गर्ने? तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुभयो भने, हामी तपाईंलाई हेरचाह गर्नेछौँ। तर तपाईं विश्‍वासमा नै लागिरहनुभयो भने, तपाईं बूढो भएपछि, तपाईं खुट्टा दुखेर हिँड्न सक्‍नुभएन भने, हामी तपाईंलाई हेरचाह गर्नेछैनौँ।” तिनको मुखबाट यस्तो कुरा सुन्दा अत्यन्तै नरमाइलो लाग्यो। मेरो विश्‍वासकै कारण तिनले त्यस्तो निर्दयी कुरा भन्छ भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइनँ। मैले तिनलाई हुर्काउन मेरो सर्वस्व सुम्पेको थिएँ, तर तिनले मेरो वृद्ध अवस्थामा मलाई हेरचाह गर्ने विषयलाई धम्कीको रूपमा प्रयोग गरे। मैले त्यो सब व्यर्थमा गरेको थिएँ! मेरो खुट्टामा हाडजोर्नी र हड्डी फैलने समस्या थियो। यो समस्या आउँदा म दुई हप्तासम्‍म खुट्टा सीधा पार्न सक्दिनथिएँ, खुम्च्याउन सक्दिनथिएँ, र अत्यन्तै दुख्‍ने भएकोले काम गर्न सक्दिनथिएँ। र मलाई म जवान हुँदै जाँदिन भन्‍ने थाहा थियो, त्यसकारण जब म वृद्ध हुन्थेँ तब पीडा अझै बढेर जानेथियो। बाँच्‍नको लागि मेरो पेन्सन वा त्यस्तो केही कुरा थिएन। मेरो छोराले मेरो हेरचाह गरेन भने, म कसरी बाँच्‍ने? म झन्-झन् व्याकुल हुँदै गएँ। त्यो बेला मलाई अचानक के महसुस भयो भने यो शैतानको चलाकी हो। यसले मलाई जाँच्‍न, मलाई परमेश्‍वरलाई धोका दिन परीक्षामा पार्न मेरो स्‍नेह र मेरा बालबच्‍चाको भविष्य साथै भविष्यमा म कसरी बाँच्‍नेछु भन्‍ने प्रश्‍नलाई प्रयोग गरिरहेको थियो। मैले तुरुन्तै परमेश्‍वरलाई पुकारेँ, “हे परमेश्‍वर! बिन्ती छ मेरो हृदय रक्षा गर्नुहोस् र शैतानको परीक्षामाथि विजय प्राप्त गर्न डोर्‍याउनुहोस्।” मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। ठीक भन्‍नुभयो। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र हाम्रो भाग्य पूर्ण रूपमा उहाँकै हातमा छ। मेरो नातिले भविष्यमा कस्तो गर्छ र उसले कस्तो काम पाउँछ, मेरो छोराको जीविका कस्तो हुन्छ र मेरो विश्‍वासको कारण तिनलाई असर पुग्छ कि पुग्दैन यो सबै कुरा परमेश्‍वरले नै निर्धारित गर्नुहुन्छ। यसको साथै, परमेश्‍वरको आखिरी दिनहरूको काम समाप्त हुन लागेको छ, र महा-विपत्तिहरू बर्सिन लागेका छन्। यदि तिनीहरूले परमेश्‍वरलाई पछ्याउने र उहाँको आराधना गर्ने गर्दैनन् भने, तिनीहरूले कलेज गएर राम्रो जागिर पाए पनि, परमेश्‍वरको काम समाप्त भएपछि तिनीहरू अझै पनि विपत्तिमा पर्नेछन् र नष्ट हुनेछन्। त्यसपछि तिनीहरूसँग कुन राम्रो सम्‍भावना हुन्छ र? झट्ट हेर्दा, मेरो छोरा र बुहारीले मलाई बाधा दिन र दमन गर्न यी कुराहरू बताइरहेका थिए, तर वास्तवमा यो शैतानबाट आएको परीक्षा थियो। मैले मेरो नातिलाई कति माया गर्छु र वर्षौंदेखि मेरो खुट्टाको दुखाइ खराब हुन्छ र अनि मलाई हेरचाह गर्ने कोही हुँदैन भन्‍ने कुरा नै मेरो सबैभन्दा ठूलो चिन्ता हो भन्‍ने शैतानलाई थाहा थियो। मलाई विचलित बनाएर परमेश्‍वरलाई धोका दिन लगाउनको लागि यसले यी कुराहरू प्रयोग गरिरहेको थियो। शैतान अत्यन्तै कुटिल छ! म भविष्यमा हिँड्न सक्छु कि सक्दिन भन्‍ने कुरा परमेश्‍वरको हातमा थियो, र म परमेश्‍वरको नियम र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। यो सोचेपछि, मैले दृढताको साथ भनेँ, “तिमीहरू आफ्‍नो जीवन आफै जिओ। म हिँड्न सक्छु कि सक्दिन, वा म बाँच्‍छु कि मर्छु बन्‍ने बारेमा धेरै चिन्ता नगर। यदि तिमीहरूलाई म पक्राउ परेँ भने फसिन्छौँ भन्‍ने चिन्ता छ भने, हामी अहिले नै सम्‍बन्ध तोड्न सक्छौँ। म सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वासमा दह्रिलो छु!” मैले स्पष्ट कुरा बताएको देख्दा, तिनीहरू हेराहेर गरे, विवश हुँदै शिर हल्‍लाए, र अरू केही पनि भनेनन्। शैतानको परीक्षा र आक्रमणलाई जित्‍न अगुवाइ गर्नुभएकोमा मैले परमेश्‍वरलाई मनैदेखि धन्यवाद दिएँ।

त्यसपछि मेरो छोरा र बुहारी निकै महिनासम्‍म मलाई भेट्न आएनन्, र मैले पनि कल गरिनँ। मेरी श्रीमतीले मलाई परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुहोस् भन्दै मसँग सधैँ तर्क गरिरहेकी हुन्थिन्। केही समयपछि, मलाई चिन्ता लाग्‍न थाल्यो। के मेरो छोराले मलाई साँच्‍चै त्यागेको हो? यदि मेरी श्रीमती र मैले कुनै दिन डिभोर्स गर्‍यौँ भने र यदि म हिँड्न सकिनँ वा आफ्‍नो ख्याल गर्न सकिनँ, अनि मेरो छोराले मलाई हेरचाह गरेन भने, मैले के गर्ने? भविष्यमा धेरै पीडा र कठिनाइको सामना गर्ने बारेमा विचार गर्दा, मलाई विवश महसुस भयो। मैले त्यस्तो सोच्‍नु हुँदैन र म फेरि पनि शैतानको छलमा परिरहेको छु भन्‍ने मलाई थाहा भयो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरलाई पुकारेँ र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सामर्थ्य दिनुहोस् भनेर अनुरोध गरेँ। त्यसपछि, मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो।

तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

— थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “सबैभन्दा अर्थपूर्ण जीवन”

परमेश्‍वरका वचनहरूको बारेमा सोच्दा मलाई सामर्थ्य दियो। परमेश्‍वरमा विश्‍वास गर्नु र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु जत्तिको धर्मी कार्य अरू केही छैन। यो जीवनको सही मार्ग हो, र सत्यता प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि भोगिने कुनै पनि प्रकारको कष्टको मूल्य हुन्छ र त्यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। फर्केर हेर्दा के देख्छु भने, मैले केही दमनको सामना गरे पनि, मैले साँच्‍चै नै यसबाट केही कुरा प्राप्त गरेँ। पहिले, मलाई परमेश्‍वरमा विश्‍वास छ भन्‍ने लाग्थ्यो। कम्युनिस्ट पार्टीको दमनको सामना गर्दा म पछि हट्दिनँ, र मेरी श्रीमती र छोराछोरीको प्रतिबन्धले परमेश्‍वरलाई पछ्याउने मेरो इच्‍छालाई हल्‍लाउँदैन भन्‍ने ठान्थेँ। म परमेश्‍वरप्रति समर्पित छु भन्‍ने लाग्थ्यो। तर जब वास्तविक घटना घट्यो, जब मेरो छोराले मलाई महिनौँसम्‍म बेवास्ता गर्‍यो, तब मलाई रोग लाग्छ र कसैको हेरचाहविना मैले आफ्‍नो ख्याल गर्न सक्दिनँ भन्‍ने डर लाग्यो। मैले आफ्‍नो भविष्यको बारेमा मात्रै विचार गरिरहेको थिएँ—परमेश्‍वरप्रति ममा कुनै विश्‍वास थिएन। म त्यसबाट गुज्रेपछि मात्रै आफ्‍नो साँचो कदलाई देखेँ त्यसपछि केही आत्मज्ञान प्राप्त गरेँ। मैले शैतानका चलाकीहरूका बारेमा पनि केही समझशक्ति प्राप्त गरेँ, र मेरो परमेश्‍वर-विरोधी, र अविश्‍वासी परिवारको सार देखेँ। यो परमेश्‍वरको मुक्ति थियो। म पनि अय्‍यूब जस्तै हुनुपर्थ्यो, र शैतानले जसरी आक्रमण गरे पनि, वा मेरो परिवारले मलाई जसरी दमन गरे पनि परमेश्‍वरलाई पछ्याउनुपर्थ्यो। मैले यो सङ्कल्प गरेपछि, मप्रतिको मेरा छोरा र बुहारीको आचरण अलिक परिवर्तन भयो। मेरी बुहारीको काकाले पार्टीले विश्‍वासीहरूलाई पक्राउ गर्ने, केही कारबाही चलाउने थप योजना बनाइरहेको छ भनेर भन्दा, उनले मलाई जानकारी गराउँथिन् र मेरो कर्तव्यमा अझै होसियार हुन अनुरोध गर्थिन्। उनले मलाई बन्धनमा राखिनन्।

तर मलाई अझै के कुराले छक्‍क पार्यो भने एक दिन, मेरी श्रीमतीले अचानक झ्याल खोलिन्, झ्यालको फ्रेममा पक्रिन्, झ्यालको छेउमा एउटा खुट्टा राखेर मलाई चिच्याउँदै भनिन्, “मैले तपाईंलाई विश्‍वास त्याग्‍नुहोस् भनेर भनेँ, तर तपाईंले सुन्‍नुभएन। तपाईं पक्राउ पर्नुभयो भने हाम्रो पूरै परिवार बरबाद हुन्छ। म तपाईंलाई अन्तिम पटक सोध्दैछु—विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न? गर्नुहुन्छ भने, म हामफाल्छु!” त्यसपछि उनी हामफाल्‍न तयार हुँदै झ्यालको छेउमा उभिन्। मलाई साह्रै डर लाग्यो। हाम्रो घर सातौँ तल्‍लामा थियो। उनले हामफालिन् भने, उनी पक्‍कै मर्नेथिइन्। मैले उनलाई हतार-हतार तल तानेँ, र उनले मलाई औँल्याउँदै भनिन्, “मलाई नछुनुहोस्! मलाई छुनुभयो भने, म तुरुन्तै हाम फाल्छु!” उनको दुबै खुट्टा झ्यालको किनारमा देखेर, मैले नजिक जाने आँट गरिनँ। मैले परमेश्‍वरसँग निरन्तर प्रार्थना गरेँ र मलाई अगुवाइ गर्नुहोस् भनेर बिन्ती गरेँ। त्यसपछि मलाई के महसुस भयो भने मलाई परमेश्‍वरलाई धोका दिन लगाउने प्रयास गर्दै मेरी श्रीमतीले हाम फल्छु भनेर धम्की दिइरहेकी छिन् र म शैतानको छलमा पर्नु हुँदैन। मलाई डर लाग्‍न छोड्यो र मैले शान्त हुँदै भने, “मर्न चाहन्छौ भने, कसैले तिमीलाई रोक्‍न सक्दैन। तर आत्‍महत्यालाई धम्कीको रूपमा प्रयोग नगर—यसले काम गर्दैन। यदि तिमी झ्यालबाट हाम फालेर मर्छौ भने, त्यो तिम्रो आफ्‍नै निर्णय हो। म मेरो विश्‍वासमा दृढ छु र मलाई कसैले पनि रोक्‍न सक्दैन!” उनको धम्कीले काम गरिरहेको छैन भन्‍ने देखेर उनले खुट्टा तानिन् र भनिन्, “म त्यति मूर्ख पनि छैन। म मरेँ भने त तपाईंलाई सजिलो हुनेछ—तपाईं र परमेश्‍वरको बीचमा कोही पनि उभिनेछैन।” मलाई परमेश्‍वरलाई धोका दिन जबरजस्ती लगाउनको लागि आफ्‍नै मृत्युको प्रयोग गर्ने, परमेश्‍वरप्रतिको उनको घृणा कति चरम छ भन्‍ने कुरा देखेँ। उनी भूतको प्रकटीकरण थिइन्। यसको साथै, मलाई कम्युनिस्ट पार्टीप्रति अझै धेरै घृणा जाग्यो। मानिसहरूलाई बहकाउनको लागि यसले अनेक किसिमका अफवाह र झूट फैलाउन टेलिभिजन मिडियाको प्रयोग गरिरहेको थियो, इसाईहरूलाई पागलले जस्तै पक्राउ गरिरहेको थियो, एक जनाले विश्‍वास गर्दा सम्पूर्ण परिवारलाई मुछिरहेको थियो, ताकि विश्‍वास नगर्ने परिवारका सदस्यहरूले पनि परमेश्‍वरको विरोध गरून् र विश्‍वासीलाई दमन गरून्। कम्युनिस्ट पार्टी पूर्ण रूपमा दुष्ट छ। यो परमेश्‍वर-विरोधी भूत, दुष्ट आत्मा हो! मैले यसलाई मेरो हृदयदेखि सरापेँ र इन्कार गरेँ र परमेश्‍वरलाई पछ्याउने अझै दह्रिलो अठोट गरेँ।

मलाई उनले मेरो बाटोमा खडा हुने प्रयास गर्न छोड्छिन् भन्‍ने लागेको थियो, तर केही समयपछि नै, एक दिन बिहानको खाजापछि, मेरो ध्यान अर्कैतिर भएको बेला उनी उफ्रिन्, र यति लामो चक्‍कु निकालेर मेरो घाँटीमा तेर्स्याइन्, र जङ्गिदै भनिन्, “विश्‍वास गरिरहनुहुन्छ भने म तपाईंको घाँटी काटिदिन्छु!” उनको अनुहारमा हत्याराको जस्तो हेराइ थियो र उनको आँखामा हिंस्रक हेराइ थियो। उनी भूत लागेको जस्तो देखिन्थिन्। मलाई डर पनि लाग्यो र रिस पनि उठ्यो। मलाई परमेश्‍वरलाई धोका दिन लगाउनको लागि मेरी श्रीमतीले अनेक किसिमका दुष्ट चलाकी प्रयोग गर्थिन्। मैले उनलाई दृढताको साथ भनेँ, “आज तिमीले मेरो घाँटी रेट्यौ भने पनि, म अझै पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु। म उहाँलाई छोड्दिनँ।” म कति दृढ छु भन्‍ने देख्दा उनी छक्‍क परिन्। उनी हिउँले जमेजस्तै गरी हलचल नगरी चक्‍कु लिएर उभिरहिन्। केही समयपछि, उनले चक्‍कु टेबलमा राखिन् र भनिन्, “अबदेखि म तपाईंलाई कुनै ध्यान दिनेछैन। जेमा मन लाग्छ त्यसैमा विश्‍वास गर्नुहोस्।” उनले मलाई रोक्‍न नसकेको देख्दा मैले परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाएँ। त्यसपछि मेरी श्रीमती र म अलग भयौँ र हामी आ-आफ्‍नै बाटो लाग्यौँ। उनले मेरो विश्‍वासमा हस्तक्षेप गर्न छोडिन्।

यो सबै कुराद्वारा मैले मेरी श्रीमती साँच्‍चै मलाई दमन गरिरहेकी थिइन् र मेरो विश्‍वासलाई रोक्‍ने प्रयास गरिरहेकी थिइन्, आत्‍महत्या गर्ने र मलाई मार्ने धम्की समेत दिइन्, र मेरो छोरा र बुहारीले मलाई त्याग्‍ने चाहना गरेका थिए, जुन सबै कम्युनिस्ट पार्टीको सतावटको कारण आएका थिए भन्‍ने देखेँ। यसले अफवाह र झूटहरू नफैलाएको भए, यसले पागलले जस्तो पक्राउ र सतावट गर्दै विश्‍वासीको सम्पूर्ण परिवारलाई नमुछेको भए, मेरो परिवारले कहिल्यै पनि मेरो विश्‍वासलाई त्यसरी दमन गर्नेथिएन र मेरो घर कहिल्यै पनि तोडिनेथिएन। मानिसहरूलाई नष्ट गर्ने दुष्ट र परमेश्‍वर-विरोधी कम्युनिस्ट पार्टीलाई देख्दा, मलाई यसप्रति पूर्ण रूपमा घृणा जाग्यो! यसको साथै, मैले मेरी श्रीमतीको परमेश्‍वरलाई विरोध र शत्रुवत् व्यवहार गर्ने पैशाचिक सार देखेँ। उप्रान्त मलाई उनको बन्धनमा छु भन्‍ने अनुभव हुन छोड्यो। मैले भविष्यमा जस्तोसुकै दमन वा कठिनाइ सहनु परे पनि, मैले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने सङ्कल्प गरेको छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

लापरवाह कामको पछाडि वास्तवमा के छ

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्