सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू

17 सेप्टेम्बर 2020

(१) सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सिद्धान्तहरू

ख्रीष्टिय मतका मूल सिद्धान्तहरू बाइबलबाट आएका हुन्, र सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी सिद्धान्तहरू परमेश्वरले व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगको अवधिमा सृष्टिको समयदेखि नै व्यक्त गर्नुभएका सबै सत्यहरूबाट उत्पन्न भएको हो। भन्नुको अर्थ, पुरानो र नयाँ करारहरू, र आखिरी दिनहरूका फर्कनुभएका प्रभु येशू, सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको राज्यको युगको बाइबल—वचन देहमा देखा पर्नुहुन्छ—सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू र सिद्धान्तहरू हुन्। पुरानो करारले यहोवा परमेश्वरले व्यवस्थाहरू र आज्ञाहरूको आदेश दिनुभएको र व्यवस्थाको युगको अवधिमा मानव जीवनलाई मार्गनिर्देशन गर्नुभएको कामको उल्लेख गर्दछ; नयाँ करारले अनुग्रहको युगको अवधिमा प्रभु येशूद्वारा गरिएको उद्धारको कामको उल्लेख गर्दछ; र वचन देहमा देखा पर्नुहुन्छ राज्यको युगको अवधिमा सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएको मानवजातिको शुद्धीकरण र मुक्तिसम्बन्धी सबै सत्यहरू, साथसाथै आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामको विवरण हो। सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी मौलिक आस्थाहरू भनेको कामका तीन चरणको अवधिका परमेश्वरका सबै वाणीहरू हुन्, अर्थात्, कामका यी तीन चरणमा परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू हुन्। यी सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्था र सिद्धान्तहरू हुन्।

ख्रीष्टिय मतको जन्म अनुग्रहको युगमा प्रभु येशूको कार्यबाट भएको थियो, तर यसले विश्वास गर्ने प्रभु येशू ख्रीष्टले अनुग्रहको युगमा छुटकाराको काम मात्र गर्नुभयो। देहधारी प्रभु येशू क्रूसमा टाँगिनुभयो र मानिसको पापको बलि हुनुभयो, मानिसलाई शैतानको हातबाट छुटकारा दिनुभयो र उसलाई व्यवस्थाको दण्ड र सरापबाट छुटाउनुभयो, र मानिस परमेश्वरको सामु आउनु मात्र पर्थ्यो र आफ्ना पापहरू क्षमा पाउन र परमेश्वरद्वारा प्रदान गरिएको प्रशस्त अनुग्रह र आशिषहरूको आनन्द लिनका निम्ति आफ्ना पापहरू स्वीकार्नु र पश्चाताप गर्नुपर्थ्यो। यो प्रभु येशूद्वारा गरिएको छुटकाराको काम थियो। यद्यपि मानिसका पापहरू प्रभु येशूका छुटकाराबाट क्षमा भए पनि, मानिसबाट उसको पापमय प्रकृति हटेको थिएन, ऊ अझै पनि त्यसको बन्धन र नियन्त्रणमा थियो, र उसले घमन्डी र अहङ्कारी बन्दै पाप गर्नु र परमेश्वरको विरोध गर्नु, ख्याति र फाइदाका निम्ति संघर्ष गर्नु, डाही र झगडालु हुनु, मानिसहरूसँग झुटो बोल्नु र धोका दिनु, संसारको दुष्ट चालमा चल्नु, आदि बाहेक केही गर्न सक्दैनथ्यो। मानिस पापको बन्धनबाट स्वतन्त्र भएर पवित्र बनेको थिएन, र यसैले प्रभु येशूले धेरैचोटि उहाँ आखिरी दिनहरूको न्यायको काम सम्पन्न गर्न आउनुहुने थियो भनेर अगमवाणी गर्दै यसो भन्नुभयोः “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्ना ५:२२-२७)। पत्रुसको पहिलो पत्रको ४ अध्यायको पद १७ मा यो पनि लेखिएको छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ।” सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट, फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँले मानिसका शुद्धीकरण र मुक्तिका लागि सबै सत्यता व्यक्त गर्नुभएको छ, उहाँले परमेश्वरको घरानाबाट सुरु गर्दै न्यायको काम पूरा गर्नुभएको छ, र बाइबलका अगमवाणीहरू पूर्ण रूपले सम्पन्न गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएको वचन देहमा देखा पर्नुहुन्छ चाहिँ “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो(प्रकाश २:७)। हो, जुन प्रकाशको पुस्तकमा अगमवाणी गरिएको छ, र आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामको विवरण हो। सर्वशक्तिमान् परमेश्वरले गर्नुभएको न्यायको काम मानवजातिको मुक्तिका लागि परमेश्वरले गर्नुहुने कामको अन्तिम चरण हो, र यो अति नै आधारभूत र महत्त्वपूर्ण चरण पनि हो। यदि मानिस परमेश्वरद्वारा मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छ भने, उसले सर्वशक्तिमान् परमेश्वरको न्यायको कामलाई स्वीकार्नुपर्दछ, र यसमा प्रभु येशूका वचनहरू पूरा भएका छन्ः “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। यदि मानिसले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गऱ्यो र अनुभव गऱ्यो भने मात्र, उसले परमेश्वरको पवित्रता र धार्मिकता जान्न सक्छ, शैतानद्वारा मानिसको सारलाई पुर्याएको भ्रष्टता र यसको सत्यता जान्न सक्छ, परमेश्वरको सामु साँचो पश्चात्ताप गर्न सक्छ, आफैलाई पापबाट छुटाउन सक्छ, परमेश्वरको आज्ञापालन गर्ने र परमेश्वरको आराधना गर्ने व्यक्ति बन्दछ, र परमेश्‍वरद्वारा प्राप्‍त गरिन सक्छ। तब मात्र ऊ परमेश्वरको राज्यमा प्रवेश गर्ने योग्यको हुनेछ, परमेश्वरका प्रतिज्ञाहरू र आशिषहरू प्राप्त गर्नेछ र सुन्दर गन्तव्य प्राप्त गर्नेछ।

परमेश्वरले संसारको सृष्टि गर्नुभएपछि मानवजातिलाई मुक्ति दिने काम सुरु गर्नुभयो, र मानिसको मुक्तिको निम्ति उहाँको व्यवस्थापनको योजना त्यत्ति बेलासम्म पूरा हुँदैन जब उहाँले आखिरी दिनहरूमा परमेश्वरको घरानाबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्न। परमेश्वरले कामका तीन चरणमा व्यक्त गर्नुभएका वचनहरू र सबै सत्यताहरूबाट हामी पूर्ण रूपमा यो बुझ्न सक्छौं कि चाहे सुरुमा व्यवस्थाको युगको अवधिमा मानिसलाई प्रयोग गरी गरिएको काम होस्, वा अनुग्रहको युगमा र राज्यको युगमा उहाँले दुईचोटि देहधारण गर्नुभएको बेला गरिएको काम होस्, ती सबै एउटै आत्माका सत्यताका वाणीहरू र अभिव्यक्ति हुन्; सारांशमा, बोल्नुहुने र काम गर्नुहुने यो एउटै परमेश्वर हुनुहुन्छ। त्यसकारण, परमेश्वरले उहाँको कामको तीन चरणमा व्यक्त गर्नुभएका सबै सत्यताहरू—बाइबलमा अभिलेख राखिएका परमेश्वरका वचनहरू र आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वर, ख्रीष्टले व्यक्त गर्नुभएका वचन देहमा देखा पर्नुहुन्छ—तिनैद्वारा सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्था र सिद्धान्तहरू बन्दछ।

(२) वचन देहमा देखा पर्नुहुन्छ को विषयमा

वचन देहमा देखा पर्नुहुन्छ सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टको व्यक्तिगत वाणीहरू हुन्, र ती सबै त्यस्ता सत्यताहरू जुन परमेश्वरले आखिरी दिनहरूका उहाँको न्यायको कामको अवधिमा मानिसलाई शुद्ध पार्न र मुक्ति दिन व्यक्त गर्नुभएको छ। यी सत्यताहरू पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति, परमेश्वरको जीवन र सारको प्रकाश र परमेश्वरको स्वभावको अभिव्यक्ति र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुराको अभिव्यक्ति हुन्। ती मात्र यस्ता मार्ग हुन् जसद्वारा मानिसले परमेश्वरलाई चिन्न, शुद्ध हुन र मुक्ति पाउन सक्छ। सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू मानिसका कार्य र आचरणको सर्वोच्च सिद्धान्त हुन्, र त्यहाँ मानिसको जीवनका लागि कुनै उच्च सूत्रहरू छैनन्।

जसरी ख्रीष्टिय मतका विश्वासीहरूले बाइबल पढछन् त्यसरी नै सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ख्रीष्टियानहरूले प्रत्येक दिन वचन देहमा देखा पर्नुहुन्छ मा सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूलाई पढ्दछन्। सबै ख्रीष्टियानहरूले परमेश्‍वरका वचनहरूलाई उनीहरूको जीवनको मार्गनिर्देशिकाको र सम्पूर्ण जीवनको सर्वोच्च सूत्रको रूपमा लिन्छन्। अनुग्रहको युगमा, ख्रीष्टियानहरू सबैले बाइबल पढेका थिए र बाइबलका प्रचारहरू सुनेका थिए। मानिसहरूका व्यवहारमा बिस्तारै केही परिवर्तनहरू देखा परे, र तिनीहरूले थोरै झन् थोरै पापहरू गरे। त्यसरी नै, सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर अनि सर्वशक्तिमान् परमेश्वरका वचनहरू अनुभव गरेर सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ख्रीष्टियानहरूले बिस्तारै सत्यता बुझ्छन् र पापको बन्धनबाट मुक्त हुन्छन्, तिनीहरूका शैतानी स्वभावहरू सफा हुन्छन् र परिवर्तन हुन्छन्, तिनीहरू अब पाप गर्दैनन् र परमेश्वरको विरोध गर्दैनन्, र साँच्चै परमेश्वरको आज्ञाकारी बन्छन्। तथ्यहरूले प्रमाणित गरेको छ कि परमेश्वरका वचनहरू पढेर र परमेश्वरका वचनहरूको अभ्यास गरेर अनि अनुभव गरेर मात्र मानिसको भ्रष्ट स्वभावहरू शुद्ध र रूपान्तरण हुन सक्दछन्, र मानिस मानिसको वास्तविक स्वरूपमा जिउन सक्छ। यी त्यस्ता तथ्यहरू हुन् जसलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। बाइबलमा अभिलेख राखिएका परमेश्वरका वचनहरू परमेश्वरले व्यवस्थाको युग र अनुग्रहको युगमा काम गर्नुहुँदा व्यक्त गरिएका थिए भने, वचन देहमा देखा पर्नुहुन्छ चाहिँ परमेश्वरले आखिरी दिनहरूका काममा व्यक्त गर्नुभएका वचनहरू हुन्। यी दुवैको स्रोत पवित्र आत्माबाट हो, र दुवै नै एउटै परमेश्वरका अभिव्यक्तिहरू हुन्। सर्वशक्तिमान् परमेश्वरका वचनहरू र कामले बाइबलका भविष्यवाणीहरू पूर्ण रूपमा पूरा गरेका छन्, जसरी प्रभु येशूले भन्नुभएको थियो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। यसरी प्रकाशको पुस्तकमा यो पनि अभिलेख राखिएको छ कि, “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्(प्रकाश २:७)। “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। … हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:१-५)

आज, हामी सबैले एउटा तथ्य देखेका छौ: सर्वशक्तिमान्‌ परमेश्वरले व्यक्त गर्नुभएका सबै वचनहरू सत्य हुन् र तिनमा अख्तियार र शक्ति छन्—ती परमेश्वरको आवाज हुन्। यसलाई कसैले पनि इन्कार वा परिवर्तन गर्न सक्दैन! वचन देहमा देखा पर्नुहुन्छ धेरै समयदेखि खोजी गर्न र अनुसन्धान गर्न सबै देशहरू र क्षेत्रहरूका मानिसहरूका निम्ति सित्तैंमा उपलब्ध छ। ती परमेश्वरका वचनहरू हुन् वा ती सत्यता हुन् भनी कसैले पनि अस्वीकार गर्ने हिम्मत गर्दैन। परमेश्वरका वचनहरूले सम्पूर्ण मानवजातिलाई अगाडि बढाउँदैछ, मानिसहरू परमेश्वरका वचनहरूको बीचमा बिस्तारै ब्यूँझिन थालेका छन्, र तिनीहरू बिस्तारै सत्यलाई स्वीकार्दै छन्, सत्य जान्दैछन्, र परमेश्वरद्वारा राज्यको युगतर्फ डोऱ्याइँदैछन्। राज्यको युग भनेको त्यो युग हो जब सर्वशक्तिमान् परमेश्वरका वचनहरूले पृथ्वीमा शासन गर्दछन्। परमेश्वरका प्रत्येक वचनहरू सम्पन्न र पूरा हुनेछन्। जसरी परमेश्वरका सबै विश्वासीहरूले आज बाइबललाई स्वीकार्छन्, परमेश्वरमा विश्वास गर्ने मानिसहरूले निकट भविष्यमा वचन देहमा देखा पर्नुहुन्छ आखिरी दिनहरूमा परमेश्वरका वाणीहरू हुन् भनी स्वीकार गर्नेछन्। आज, वचन देहमा देखा पर्नुहुन्छ सर्वशक्तिमान् परमेश्वरको मण्डलीको आस्थाहरूको आधार हो, र यो निश्चय अर्को युगमा सम्पूर्ण मानवजातिको निम्ति अस्तित्वको आधार बनिनेछ।

(३) परमेश्वरका नाउँहरू र परमेश्वरको कामका तीन चरणहरूको बारेमा

शैतानद्वारा भ्रष्ट पारिएपछि मानिस शैतानको राज्य-क्षेत्रमा जिउँदछ र उसको भ्रष्टता झनै गहिरो हुँदै गएको छ। मानिसले आफैलाई पापको बन्धनबाट मुक्त गर्न सक्दैन, र सबैलाई परमेश्वरको मुक्तिको आवश्यकता छ। भ्रष्ट मानवजातिको आवश्यकता अनुरूप, परमेश्वरले व्यवस्थाको युगमा, अनुग्रहको युगमा र राज्यको युगमा तीन चरणका काम गर्नुभएको छ। व्यवस्थाको युगमा, परमेश्वरले व्यवस्था र आज्ञाहरू घोषणा गर्ने र मानिसको जीवनलाई डोऱ्याउने काम गर्नुभयो। अनुग्रहको युगमा, परमेश्वर देह बन्नुभयो, व्यवस्थाको युगमा उहाँको कामको आधारमा उहाँले क्रूसमा टाँगिने काम पूरा गर्नुभयो र मानिसलाई पापबाट छुटाउनुभयो। राज्यको युगमा, परमेश्वर एकचोटि फेरि देह बन्नुभएको छ र अनुग्रहको युगको छुटकाराको कामको आधारमा उहाँले परमेश्वरको घरानाबाट सुरु गर्दै न्यायको काम पूरा गर्नुहुन्छ, मानिसको शुद्धता र मुक्तिका लागि सबै सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई शुद्धीकरण र मुक्तिको खोजी गर्ने बाटोमा मात्र डोऱ्याउनुहुन्छ। हामीले सत्यतालाई हाम्रो जीवनको रूपमा प्राप्त गऱ्यौं भने, परमेश्वरको आज्ञापालन गर्ने र परमेश्वरको आराधना गर्ने व्यक्तिहरू बन्यौं भने मात्र हामी परमेश्वरको राज्यमा डोऱ्याइने योग्यका हुनेछौं र परमेश्वरका प्रतिज्ञाहरू र आशिषहरू प्राप्त गर्न सक्नेछौं। मानिसको मुक्तिका निम्ति परमेश्वरले गर्नुभएका कामका तीन चरणहरू घनिष्ठ रूपले जोडिएका छन्, प्रत्येक चरण अनिवार्य छ, प्रत्येक चरण पछिल्लोभन्दा उच्च र गहिरो हुँदैजान्छ, ती एउटै परमेश्वरले विभिन्न युगमा गर्नुभएको कामका तीन चरणहरू हुन्, अनि परमेश्वरको कामका तीन चरण मात्र मानवजातिको मुक्तिका लागि परमेश्वरको पूर्ण काम हो।

यहोवा, येशू र सर्वशक्तिमान् परमेश्वर—यी तीन नाउँ ती विभिन्न नाउँहरू हुन् जुन परमेश्वरले व्यवस्थाको युगमा, अनुग्रहको युगमा र राज्यको युगमा धारण गर्नुभएको छ। परमेश्वरले बेग्लाबेग्लै नाउँहरू लिनुहुन्छ, किनकि उहाँको काम विभिन्न युगमा फरक-फरक हुन्छन्। परमेश्वरले नयाँ युग सुरु गर्न र त्यस युगको कामको प्रतिनिधित्व गर्न नयाँ नाउँ प्रयोग गर्नुहुन्छ। व्यवस्थाको युगमा परमेश्वरको नाउँ यहोवा थियो, र अनुग्रहको युगमा येशू थियो। राज्यको युगमा परमेश्वरले एउटा नयाँ नाउँ—सर्वशक्तिमान् परमेश्वर—प्रयोग गर्नुहुन्छ। यसले बाइबलमा प्रकाशको पुस्तकमा भएका अगमवाणीहरू पूरा गर्दछ: “र फिलाडेल्‍फिया को मण्डलीको दूतलाई लेख्…। जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यस उप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्नेछु, जुनचाहिँ स्वर्गका मेरो परमेश्‍वरबाट तल आउने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु(प्रकाश ३:७-१२)। “सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ(प्रकाश १:८)। यद्यपि तीन वटा युगमा परमेश्वरका नाउँहरू र काम फरक-फरक भए पनि, सारमा एउटै मात्र परमेश्वर हुनुहुन्छ, र स्रोत पनि एउटै हो।

मानिसलाई मुक्ति दिने परमेश्वरको कामका तीन चरणहरू एउटै परमेश्वरका काम हुन्। यद्यपि परमेश्वरले प्रत्येक युगमा फरक काम गर्नुहुन्छ र प्रत्येक युगमा फरक नाउँ धारण गर्नुहुन्छ, तापनि परमेश्वरको सार कहिल्यै परिवर्तन हुँदैन; त्यसकारण यहोवा, येशू र सर्वशक्तिमान् परमेश्वर उही एउटै परमेश्वर हुनुहुन्छ। येशू यहोवाको देखा पराइ हुनुहुन्थ्यो, र सर्वशक्तिमान् परमेश्वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ, त्यसैले सर्वशक्तिमान् परमेश्वर उनै एक मात्र सत्य परमेश्वर हुनुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी, र सबै थोक सृष्टि गर्नुभयो, सबै थोकलाई आज्ञा गर्नुहुन्छ र सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, र उहाँ अनन्त र एक मात्र सृष्टिकर्ता हुनुहुन्छ।

मानिसलाई मुक्ति दिने कामका तीन चरणमा, परमेश्वरले आफ्नो सम्पूर्ण स्वभाव मानिसको सामु प्रकट गर्नुभएको छ, हामीलाई यो देख्न दिनुहुन्छ कि परमेश्वरको स्वभाव कृपा, र प्रेम मात्र होइन, तर धार्मिकता, प्रताप र क्रोध पनि हो, कि उहाँको सार पवित्रता र धार्मिकता हो, र सत्य र प्रेम हो, र परमेश्वरको स्वभाव र परमेश्वरको अख्तियार अनि शक्ति सृष्टि गरिएको वा सृष्टि नगरिएको कसैसित पनि छैन। सृष्टिको समयदेखि संसारको अन्त्यसम्म, परमेश्वरले जसरी काम गर्नुभए पनि वा उहाँको नाउँ जसरी बदलिए पनि, वा परमेश्वरले मानवजातिको सामु जसरी देखा पर्ने निर्णय गर्नुभए पनि, परमेश्वरको सार कहिल्यै परिवर्तन हुँदैन, परमेश्वर परमेश्वर हुनुहुन्छ, र उहाँले बोल्नुहुने सबै वचनहरू सत्य छन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर परमेश्वरका वचनहरू कहिल्‍यै हराउनेछैनन्, र ती प्रत्येक पुरा हुनेछन्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटैपरमेश्वर हुनुहुन्छ

जब मानवजाति शैतानद्वारा भ्रष्ट पारियो, परमेश्वरले मानवजातिको मुक्तिका लागि आफ्नो व्यवस्थापन योजना सुरु गर्नुभयो। परमेश्वरले मानवजातिको...

किन सर्वशक्तिमान् परमेश्वरको मण्डलीले देहधारी परमेश्वरमा विश्वास गर्छ भनिएको छ

संसारका दुई ठूला धर्म—ख्रीष्टिय मत र क्याथोलिक धर्म—दुवैले प्रभु येशूमा विश्वास गर्दछन् र उहाँ परमेश्वरको देहधारण हुनुहुन्थ्यो भनी स्वीकार...

परमेश्वरले किन राज्यको युगमा सर्वशक्तिमान् परमेश्वरको नाउँ लिनुहुन्छ

धेरै मानिसहरू यो बुझ्दैनन् कि सर्वशक्तिमान् परमेश्वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ भने प्रभु येशू आखिरी दिनहरूमा न्यायको काम गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्