परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४०

29 अगस्ट 2021

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्‍वरको इच्‍छा सँधै परिवर्तन भइरहने भएकोले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्ने प्रमाण होइन—त्यस्तो बुझाई गलत हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र? यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा कामको एउटा नयाँ चरणमा प्रवेश गर्नुहुन्छ। उहाँले आफ्नो स्वभाव अझ बढी प्रकट गर्नुहुनेछ, र त्यो येशूको समयको स्‍नेह र प्रेम हुनेछैन। उहाँको हातमा नयाँ काम भएकोले यो नयाँ कामको साथमा नयाँ स्वभाव हुनेछ। त्यसकारण, यदि यो काम आत्माद्वारा गरिएको थियो भने—यदि परमेश्‍वर मानिस नबन्नुभएको भए, र उहाँसँग सम्पर्क गर्ने मानिससित कुनै उपाय नभएकोले आत्मा गर्जनको माध्यमबाट सीधै बोल्नुभएको थियो भने के मानिसले उहाँको स्वभाव जान्न सक्‍नेथियो? यदि यो काम गर्ने आत्मा मात्र हुनुहुन्थ्यो भने, मानिसले परमेश्‍वरको स्वभावको बारेमा जान्ने कुनै उपाय थिएन। जब परमेश्‍वर देह बन्नुहुन्छ, जब वचन दहमा देखा पर्नुहुन्छ, जब उहाँले देहद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ तब मात्र मानिसहरूले आफ्नो आँखाले परमेश्‍वरको स्वभाव देख्न सक्छन्। परमेश्‍वर साँच्चै र वास्तविक रूपमा मानिसहरूको बीचमा वास गर्नुहुन्छ। उहाँ वास्तविक हुनुहुन्छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा संलग्न हुनसक्छ; यस तरिकाले मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्दछ। साथै, परमेश्‍वरले त्यो काम पनि पूरा गर्नुभएको छ, जसमा “परमेश्‍वर पुरुषहरूका परमेश्‍वर र स्त्रीहरूका परमेश्‍वर हुनुहुन्छ” र उहाँले शरीरमा आफ्नो काम सम्पूर्ण रूपमा पूरा गर्नुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्