परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २९

10 अप्रिल 2021

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई आदर गर्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने बनाउनु हो, ताकि सृष्टि गरिएकाहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्‍वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन न्याय, सजाय र क्रूर श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोरलाई चिन्‍न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गर्न सकोस्। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई जित्‍ने अन्तिम माध्यम हुन्, र परमेश्‍वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई पनि स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्‍कै जित्‍ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्‍ने भन्‍ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्‍ने कुरा होइन। तैँले गर्न सक्‍ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्‍वरको अगाडि निहुरिने मात्र हो। यदि, परमेश्‍वरको इच्छा बुझेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग ईश्‍वरीय दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि कसैसँग पनि परमेश्‍वरमाथि विश्‍वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्‍वरको कुनै स्थान छैन। मानवजातिलाई जित्‍नु भनेको मानवजातिको विश्‍वास पुनर्स्थापित गर्नु हो। मानिसहरू सधैँ अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्याधिक आशा राख्छन्, आफ्नो भविष्यका लागि धेरै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि देहको बारेमा सोच्छन्, देहका लागि योजना गर्दछन्, र परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्‍वरप्रति आफ्नो श्रद्धा गुमाएका छन्, र तिनीहरू शैतानप्रति आसक्त छन्। तर मानिसको सृष्टि परमेश्‍वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्‍वरको महिमा गुमाएको छ। मानवजातिउपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्‍वरप्रतिको मानिसको श्रद्धाको महिमा फेरि प्राप्त गर्नु हो। यसलाई यसरी भन्‍न सकिन्छ: यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्‍ने यदि कोही छन् भने पनि, तिनीहरूको सङ्ख्या औँलामा गन्‍न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यको सोचमा डुबेका छन् र तिनीहरूले जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँपछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहका छोराहरूलाई केही पनि गरिँदैन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै अन्धकारमा जिउनेछस्। ज्योतिमा जिउँदा तैँले ज्योतिको अनमोलता महसुस गर्नेछैनस्, तर एकपल्ट अँध्यारो रातमा जिउनुपरेमा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस्, तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, जब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, तब पछुतो गर्नलाई पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न चुकेको छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् जब आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, तब धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? साँचो रूपमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएकाहरू सबैलाई प्रयोग गर्न सकिन्छ तर प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा धकेलिनेछन्। तिनीहरू पवित्र आत्माको कामबाट वञ्‍चित हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरू सजायमा पर्नेछन् र रोदनमा डुब्‍नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्‍जित भइस्, र तँ आफ्नो जीवनमा वृद्धि भएको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्‍जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्‍जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउनेछैनस्। परमेश्‍वर हिँडिसक्‍नुभएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउन तँ कहाँ जान सक्छस् र? परमेश्‍वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यति बेला, परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुहुने वा आवाज दिनुहुनेछैन; तैँले गर्न सक्‍ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्‍ने मात्र हो—त्यस्तो भएमा, समझ सजिलै कसरी आउन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाह्रा किट्दै जिउँदो मरण भोगिरहेको हुँदैनस् र? तँलाई अहिले आशिष्‌हरू दिइँदै छ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिष्‌मा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्‍ने निश्‍चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा त्यो गर्छन्, र म यसलाई बेवास्ता गर्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्‌हरूको पछि लाग्‍नलाई परमेश्‍वरमा विश्‍वास गर्दैनस् र? के तैँले विश्‍वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दै छु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्‍कै हुनेछ। के मैले तँलाई स्पष्ट रूपमा भनिरहनु पर्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्