परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२९

16 अप्रिल 2021

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट, के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुई पटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले साक्षी दिने गरी व्यक्तिगत रूपमा नै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍ने थियो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो, किनभने सारा मानवजातिले स्‍त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्‍ने ठाने। तिनीहरूले कुनै पनि स्‍त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्‍ने विश्‍वास गरे। यति मात्र होइन, स्‍त्रीको शिर पुरुष नै हो र स्‍त्रीले पुरुषको आज्ञा पालन गर्नैपर्छ, उसलाई उछिन्नुहुँदैन भनेर समेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष स्‍त्रीको शिर हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति निर्देशित थियो, जो सर्पद्वारा छलिएका थिए—सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति होइन। अवश्‍य नै, एक स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहायता गर्न सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गर्नुभएका नियम र उर्दीहरू हुन् जसलाई मानवजातिले पृथ्वीमा तिनीहरूको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको उचित संरचनाबाट नखसोस् भनेर मात्रै उहाँले यो बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ त्यस विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिइरहेका सृजित सबै प्राणीहरूमा मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारी शरीरसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै निर्देशित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, पुरुष र स्‍त्री दुवै गरी उहाँले दुई प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारी शरीरहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएको वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँ दुई पटक देह बन्‍नुभयो जुन कुरालाई, उहाँले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको विचार अनुसार नै पूर्ण रूपमा निर्धारित गरिएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएको वचनहरूलाई मानवजातिले लिएका, र त्यसलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि जसरी उहाँले गर्नुपर्थ्यो त्यसरी आफ्‍नी पत्‍नीलाई प्रेम गर्नु पर्दैन थियो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुने थियो? अनि यसो भएमा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुने थियो? यदि परमेश्‍वरको देहधारी शरीर स्‍त्री बन्‍नु गलत हो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुने थिएन र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू, जसले विवाह गर्नुभएन त्यसकारण आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारण जत्तिकै गल्‍तीमा हुनुहुने थिएन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूलाई न्याय गर्नको लागि परमेश्‍वरले आदमलाई दिनुभएको वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुष अनुसार प्रभु येशूको नाप लिन्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यतालाई सर्पले छल गरेको स्‍त्री अनुसार न्याय गर्न सक्दैनस्। यो अनुचित हुनेछ! परमेश्‍वरलाई यसरी मापन गरेको कुराले तँमा तर्कशक्ति छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग ती पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थिए जो सर्पको छलमा परेका थिएनन्; उहाँ दुई पटक देह बन्‍नुभएको यो ती पुरुष र स्‍त्री अनुसार थिए जो सर्पको छलमा परेका थिएनन्। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर विचार नगर। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक स्वभाव भएका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका शिर हुनुहुन्छ, सबै पुरुषहरूका होइन भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको शिर मात्रै होइन तर पुरुषको पनि शिर हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका शिर हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको शिरको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू पुरुष हुनुहुन्छ जसलाई भ्रष्ट तुल्याइएको छैन। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो पुरुष हुन सक्‍नुहुन्छ जो भ्रष्ट तुल्याइएका थिए? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस हकमा, के परमेश्‍वरका सबै कार्य गलत हुनेथिएन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुनेथियो? के वर्तमान समयका देहधारण देहधारी परमेश्‍वरको अर्को कामको घटना होइन र, जो येशूभन्दा फरक लिङ्गको हुनुहुन्छ तर स्वभावमा उहाँजस्तै हुनुहुन्छ? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकोले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ “स्‍त्रीले सँधै पुरुषको आज्ञापालन गर्नुपर्छ र कहिल्यै पनि परमेश्‍वरको प्रकट वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने गर्नुहुँदैन” भनेर दृढ रूपमा भनिरहने आँट गर्छस्? तैँले विगतमा बुझिनस्, तर के तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारी शरीरको निन्दा गर्दै हिँड्छस्? यदि यो तँलाई स्पष्ट भएन भने, तैँले आफ्‍नो जिब्रोलाई सम्‍हालेर राख्, नत्रता तेरो मूर्खता र अज्ञानता प्रकट गरिनेछ र तेरो कुरूपता खुलासा गरिनेछ। तैँले सबै कुरा बुझ्छस् भन्‍ने विचार नगर्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा मेरो व्यवस्थापन योजनाको हजारौं भागको एक टुक्रा बुझ्‍नको लागि पनि तेरो निम्ति पर्याप्त छैन। त्यसो भए तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्नको लागि पनि अपर्याप्त छ! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका सबै अनि तैँले कल्‍पना गरेका कुराहरू मैले एक पलमा गर्ने कामभन्दा थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एउटा प्राणी बाहेक केही पनि होइनस्, कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूला-ठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको सट्टामा दिइएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले देख्छस्, र यसको बारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसबाट धारणाको कुनै अन्त्य हुँदैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू भएको भए तापनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएन; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र? यदि पहिलो पटक येशू देह नबन्‍नुभएको भए, के तैँले देहधारणको बारेमा जान्‍ने समेत थिइस् र? पहिलो देहधारणले तँलाई ज्ञान दिएको हुनाले नै दोस्रो देहधारणको न्याय गर्ने दुस्साहस तँसँग छैन र? किन आज्ञाकारी अनुयायी हुनुको सट्टा तैँले यसलाई अध्ययन गरिरहेको छस् र? जब तँ प्रवाहमा प्रवेश गरेको हुन्छस् र देहधारी परमेश्‍वरको अघि आएको हुन्छस्, के उहाँले तँलाई उहाँको अनुसन्धान गर्न दिनुहुन्छ? तैँले तेरो आफ्‍नै पारिवारिक इतिहास अनुसन्धान गर्न सक्छस्, तर यदि तैँले परमेश्‍वरको “पारिवारिक पृष्ठभूमि” को अनुसन्धान गर्ने प्रयास गरिस् भने, आजका परमेश्‍वरले तँलाई त्यस्तो अध्ययन गर्न दिनुहुन्छ र? के तँ अन्धा छैनस्? के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्