लापरवाह कामको पछाडि वास्तवमा के छ

25 फेब्रुअरी 2023

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै समस्या भेट्टाएकी थिइन्। उनले भनिन्, यदि मैले भिडियो बनाउँदा अलिक ध्यान दिएकी भए केही समस्या भेट्टाउन सक्थेँ, र पछि त्यसलाई मिलाउनुपर्ने थिएन। उनले मलाई कर्तव्य निर्वाह गर्दा अझ होसियार हुनू र ध्यान दिनू भनेर भनिन्। मैले हुन्छ भनेँ, तर मनमनै सोचेँ, “ती वास्तविक समस्या हुन् कि होइनन् भनेर म निश्चित थिइनँ। यदि मैले सानातिना गल्तीहरू सच्याउनमा नै आफ्नो समय र शक्ति खर्च गरेको भए, के हुनेथ्यो? यो एकदमै फलदायी हुनेथिएन। ममा उसै पनि सीपको कमी छ। अब यी समस्याहरू सच्याउन मैले अनुसन्धान गर्नुपर्नेछ, र मैले ती पत्ता लगाउने नै छु भन्ने पनि छैन, त्यसैले किन प्रयास गर्ने? त्यसबाहेक, अझै मैले धेरै भिडियोहरू बनाउनु छ, ती सबै समस्या पूर्णरूपमा समाधान गर्न मैले कहाँ समय पाउने? तिमीहरू नै सिपालु छौ र समस्याहरू औँल्याउन मभन्दा दक्ष छौ, तिमीहरूले ती समस्या पत्ता लगाएपछि मैले सच्याउँदा हुन्न? यो त्यति गाह्रो हुँदैन।” त्यसरी मैले सिस्टरको चेतावनीलाई बेवास्ता गरेँ। त्यसपछि, मैले आफूलाई निश्चित नभएको समस्या सामना गर्दैपिच्छे, त्यसबारे सोच्न वा सिद्धान्तहरू खोज्न समय र शक्ति खर्च गर्न चाहँदिनँथेँ। म सधैँ ती समाधान गर्न समीक्षकको काँधमा छोडिदिन्थेँ। कहिलेकाहीँ मलाई अलिक अप्ठ्यारो लाग्थ्यो, “के यसरी कर्तव्य निर्वाह गर्दा म लापरवाह भइरहेकी छु?” तर, मैले आफ्नो अन्तरात्माका यी आलोचनालाई बहाना बनाउँदै तुरुन्तै दबाएँ: “मैले काम अघि बढाउनका लागि मद्दत गर्न यो गरिरहेकी छु। यदि ममा सीपको कमी भइरहेको छ भने म अरूलाई हेर्न दिनेछु। म यी समस्याहरूमा अल्झिएर अन्धाधुन्ध आफ्नो समय खेर फाल्न चाहन्नँ।” त्यसपछि, समीक्षकले मैले बनाएका भिडियोहरू चिटिक्क मिलेका छैनन्, र त्यसमा धेरै समस्या छन् भनेर मलाई बारम्बर भनिरहन्थिन्। यो सुन्दा, मैले त्यतिकै हुन्छ भनिदिन्थें। मनमा भने त्यो स्विकारेकै थिइनँ।

समूह अगुवाले स्पष्टसित यसरी नभनेसम्म यस्तो भएन, “तपाईंका भिडियोहरूमा एकदमै धेरै समस्या छन्, तपाईं आफैले सच्याउन सक्ने भिडियोहरू पनि सच्याउनुहुन्न, समीक्षक सिस्टरलाई खुरुक्कै काम थोपर्नुहुन्छ। तपाईं आफ्नो कर्तव्य निर्वाह गर्ने तौरतरिकामा लापरवाह र गैरजिम्मेवार बन्दै हुनुहुन्छ। सामान्यतः एउटा भिडियो समीक्षा गर्न धेरै समय लाग्दैनथ्यो, तर, तपाईंको काम एकदमै नमिलेको र तपाईंले निकै स्पष्ट समस्याहरूसमेत समाधान नगर्ने भएकाले तपाईंका भिडियोहरू समीक्षा गर्न दोब्बर वा त्योभन्दा पनि बढी समय लाग्छ। के तपाईंलाई यो अवरोध हो भन्ने लाग्दैन?” समूह अगुवाले यस्तो सङ्गति पनि दिइन्: “राम्रोसँग काम गर्न तपाईं होसियार र अति सावधान हुनैपर्छ, अनि आफ्नो कर्तव्य निभाउँदा सक्दो गर्ने प्रयास गर्नैपर्छ। यदि सबै गैरजिम्मेवार भए, र सबै समस्या अरूमाथि मात्रै थोपर्दा, अरूमा दबाब पर्नेछ, र कामको समग्र प्रगति पनि ढिलो हुनेछ।” पहिले त मैले अझै पनि आफूसँग बहाना बनाउने प्रयास गरेँ। तर भित्रचाहिँ मलाई समूह अगुवाले यो औँल्याउनु परमेश्‍वरले नै अनुमति दिनुभएको हो भन्ने महसुस भयो। भिडियो समीक्षा गर्ने सिस्टरले मलाई धेरैपटक सचेत गराएकी थिइन्। तर मैले त्यसलाई कहिल्यै मनमा लिइनँ भनेर सोचेँ। मेरो यस्तो लापरवाह मनोवृत्ति साँच्चै समस्याग्रस्त थियो।

यसपछि मैले एउटा गवाही निबन्ध पढेँ, र यसमा उद्धृत परमेश्‍वरको वचनका केही खण्डले मनमा साँच्चै हलचल पैदा गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “सत्यताप्रति दिक्‍क हुनु भनेको के हो? यसको अर्थ, सकारात्मक कुराहरू र सत्यता, अनि परमेश्‍वरले आज्ञा गर्नुभएका कुरा, र परमेश्‍वरको इच्‍छासँग सम्‍बन्धित कुनै पनि कुराहरूप्रति मानिसहरूले चासो नदेखाउनु हो; कहिलेकाहीँ तिनीहरू यी कुरालाई घृणा गर्छन्, कहिलेकाहीँ ती कुराबाट टाढिन्छन्, कहिलेकहीँ तिनीहरूमा अनादार र उदासीनताको मनोवृत्ति हुन्छ, र ती कुरालाई महत्त्वहीन ठान्छन्, अनि तीप्रति ढोँगी र सतही व्यवहार गर्छन्, वा ती कुराका लागि कुनै जिम्‍मेवारी लिँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारका भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो)। “परमेश्‍वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्‍न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूले सत्यताप्रति दिक्‍क मान्‍नुलाई। यदि तँ सत्यताप्रति दिक्‍क मान्छस् भने, त्यो कुराले मात्रै परमेश्‍वर तँसित कहिल्यै प्रसन्‍न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँ सत्यताप्रति दिक्‍क मान्छस्, सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र घमण्‍डी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँमा यी व्यवहारहरू छन् भने, परमेश्‍वरले तँलाई अति घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्। यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर पनि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस् भने; यदि तैँले कहिलेकहीँ गल्ती गर्छस्, तर दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ परमेश्‍वरले सत्यताको विषयमा दिनुभएको सङ्गति सुन्‍न हृदयदेखि नै इच्‍छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरूलाई इमानदार र उत्कट इच्‍छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्‍वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकहीँ त अलि मूर्ख भए पनि, परमेश्‍वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्‍वरले सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँले सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्‍वरले तँमाथि कृपा देखाउनुहुन्छ र सधैँ तँलाई निगाह गर्नुहुन्छ। उहाँले तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्‍न, न त उहाँले तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्‍चा भएकोले, परमेश्‍वरले तेरो हृदय र मनोवृत्तिलाई बहुमूल्य ठान्‍नुभएसँगै, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्‍माले तँमाथि काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ। अर्कोतिर, यदि तँ कठोर मनको र आफैप्रति लिप्त छस्, सत्यतादेखि दिक्‍क मान्छस्, परमेश्‍वरका वचनहरू र सत्यतासँग सम्‍बन्धित हरेक कुरा कहिल्यै सुन्दैनस्, र हृदयदेखि नै विरोधी र तिरस्कार गर्ने छस् भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? तिरस्कार, घृणा, र अटुट क्रोध(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। मैले परमेश्‍वरको वचन पढ्दा, म आफ्नो कर्तव्यमा असावधान र लापरवाह छु भनेर किन सैद्धान्तिकरूपमा स्विकारेँ, तर कहिल्यै गम्भीर रूपमा लिइनँ भन्ने कुरा बुझेँ। मलाई सत्यतादेखि दिक्क लाग्ने र ममा अड्डी लिने स्वभाव थिएछ। मेरी सिस्टरले मलाई मेरा भिडियोहरू मिलेका छैनन् र म अझ धेरै होसियार हुनुपर्छ भनेर सचेत गराएकी थिइन्। त्यो राम्रो कुरा थियो; उनले मलाई सहयोग गरिरहेकी थिइन्। मैले उनको कुरा मुखले स्विकारेँ, तर मनमा कहिल्यै लिइनँ। यहाँसम्म कि मैले दिमागमा आफ्नो लागि सधैँ बहानासमेत बनाइरहेँ। यो अनादरपूर्ण मनोवृत्तिले म सत्यतादेखि दिक्क छु भन्ने देखाउँथ्यो, र यो परमेश्‍वरका लागि घृणित कुरा थियो। यदि मैले सधैँ आसपासका मानिस र परिस्थितिलाई यो अनादरपूर्ण र घृणित मनोवृत्ति बोकेर व्यवहार गरिरहेको भए, कसैले मलाई जति नै पटक सचेत गराउने र सहयोग गर्ने प्रयास गरे पनि, मेरो वृद्धि हुनेथिएन वा मैले यसबाट केही हासिल गर्ने थिइनँ। परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। अज्ञानता, कमजोर क्षमता र भ्रष्ट स्वभाव घातक रोग होइनन्, तर यदि तपाईंको हृदय हठी छ र तपाईं सत्यतादेखि दिक्क हुनुहुन्छ, परमेश्‍वरले मिलाउनुभएका परिस्थितिहरूलाई तपाईं सधैँ अनादरपूर्ण र प्रतिरोधी मनोवृत्ति लिएर व्यवहार गर्नुहुन्छ, र सत्यता खोज्नुहुन्न वा पाठहरू सिक्नुहुन्न भने, सत्यता हासिल गर्न वा परमेश्‍वरबाट मुक्ति पाउन बिलकुलै सक्नुहुन्न। यदि मैले पश्चात्ताप नगरेकी वा तौरतरिका नसच्याएकी भए, मेरो कर्तव्य निर्वाह नराम्रो मात्रै हुनेथिएन, अन्त्यमा परमेश्‍वरले मलाई निकाल्नु पनि हुनेथ्यो। यी कुराहरू महसुस भएपछि मात्र मलाई डर लाग्यो। मैले अबउसो आफ्नो कर्तव्यमा यस्तो लापरवाह मनोवृत्ति देखाउनु हुँदैनथ्यो। मैले तुरुन्तै आत्मचिन्तन गरेर परमेश्‍वरसामु पश्चात्ताप गर्नुपर्थ्यो। ती केही दिनहरूमा, मैले प्रायः परमेश्‍वरलाई प्रार्थना गरेर आफूलाई चिन्न अन्तरदृष्टि र सहयोग मागेँ। यसबारेका परमेश्‍वरका वचनलाई मैले समझदार भएर ग्रहण पनि गर्थेँ।

एक दिन मैले परमेश्‍वरका यी वचन पढेँ। “साँचो कुरा के हो भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न त्यति गाह्रो छैन। यसको लागि विवेक र समझ हुनुपर्छ, र आफू सोझो र लगनशील हुनुपर्छ, त्यति भए पुग्छ। इमानदारीसाथ काम गरेर सफल बन्‍ने धेरै अविश्‍वासीहरू छन्। तिनीहरूलाई सत्यताका सिद्धान्तहरूबारे केही पनि थाहा हुँदैन, र पनि तिनीहरू कसरी यति सफल हुन्छन्? किनभने तिनीहरू सावधान र लगनशील हुन्छन्, त्यसकारण तिनीहरूले इमानदारीसाथ काम गर्न, सानोतिनो कुरामा ध्यान दिन, र सहजै काम पूरा गर्न सक्छन्। परमेश्‍वरको घरका कुनै पनि कर्तव्यहरू अति कठिन छैनन्। तैँले यसमा आफ्‍नो सारा हृदय लगाइस् र सक्दो प्रयास गरिस् भने, राम्रो काम गर्न सक्छस्। तँ सोझो छैनस्, र आफूले गर्ने कुनै पनि कुरामा तँ लगनशील हुँदैनस्, सधैँ आफूलाई समस्याबाट जोगाउने प्रयास गर्छस्, सधैँ सबै कुरामा लापरवाही गर्छस् र झारा टार्छस, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनस्, कामकुरा भताभुङ्ग गरेर परमेश्‍वरको घरमा हानि पुर्‍याउँछस् भने, त्यसको अर्थ तैँले दुष्कर्म गरिरहेको छस्, र यो परमेश्‍वरको निम्ति घृणित अपराध बन्‍नेछ। सुसमाचार सुनाउने महत्त्वपूर्ण क्षणमा, तैँले आफ्‍नो कर्तव्यमा राम्रो परिणाम हासिल गरिनस् र सकारात्मक भूमिका खेलिनस्, वा बाधा र व्यवधान ल्याइस् भने, परमेश्‍वरले स्वाभाविकरूपले तँलाई घृणा गर्नुहुनेछ र तँ हटाइनेछस् अनि तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। यसमा तँलाई सदैव पछुतो हुनेछ! तँलाई आफ्‍नो कर्तव्य पूरा गरेकोमा परमेश्‍वरले उचाल्‍नु नै तैँले मुक्ति पाउने एक मात्र मौका हो। यदि तँ गैरजिम्‍मेवार भइस्, यसलाई हल्कासित लिएर झारा टारिस् भने, तैँले यही मनोवृत्तिले सत्यता र परमेश्‍वरलाई लिनेछस्। यदि तँ अलिकति पनि इमानदार वा आज्ञाकारी छैनस् भने, तैँले कसरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस्? अहिले समय अत्यन्तै बहुमूल्‍य छ; हरेक दिन र हरेक पल महत्त्वपूर्ण छ। यदि तँ सत्यताको पछि लाग्दैनस्, जीवन प्रवेशमा ध्यान दिँदैनस्, र आफ्‍नो कर्तव्यमा झारा टार्छस् र परमेश्‍वरलाई धोका दिन्छस् भने, त्यो साँच्‍चै समझहीन र खतरनाक कुरा हो! परमेश्वरले तँलाई घृणा गरेर हटाउनेबित्तिकै पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र त्यसलाई फेरि सुल्ट्याउनु सम्भव हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्‍वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ? के भन्‍न सकिन्छ भने तिनीहरू सबैमा विवेक र समझ हुन्छ र तिनीहरू सत्यता स्वीकार गर्न सक्छन्, किनभने विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्विकार्न र प्रेम गर्न सक्छन्, र तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भने, यसलाई अभ्यास गर्न सक्छन्। अविवेकी र समझहीन मानिसहरूमा मानवताको कमी हुन्छ; हामी आफ्नो भाषामा तिनीहरूलाई सद्‌गुणको कमी भएका मानिस भन्छौँ। सद्गुणको कमी हुनुको प्रकृति के हो? यो मानवताविहीन र मानव कहलाइन नालायक प्रकृति हो। भनाइ नै छ, अरू कुराको कमी भए चल्छ, तर सद्गुणको कमी चाहिँ हुनु हुँदैन; यो छैन भने खतम भइन्छ, र मानव रहिन्‍न। परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँका चुनिएका मानिसहरूलाई हानि गर्न सक्दो प्रयास गर्ने पिशाचहरू र दुष्ट राजाहरूलाई हेर्। के तिनीहरूमा सद्गुणको कमी छैन र? कमी छ; तिनीहरूमा यही त कमी छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरको वचनका यी खण्डहरू विगतमा देखेको भए पनि, आत्मचिन्तन गर्न ती गम्भीरतापूर्वक प्रयोग गरेकी थिइनँ। ती फेरि पढ्दा, म भावविह्वल भएँ। हजुर। परमेश्‍वरले मबाट धेरै माग गर्नुहुन्न वा मलाई मेरो क्षमताभन्दा पर धकेल्नुहुन्न। मैले फिटिक्कै त्रुटी नभएको भिडियो बनाओस् भनेर परमेश्‍वर अपेक्षा गर्नुहुन्न, केवल लगनशील, सावधान र सक्दो गर्ने बनेको चाहनुहुन्छ। मेरो क्षमता सीमित भए पनि र मैले देख्न नसक्ने केही समस्या भए पनि, यदि मैले सक्दो गरेँ भने आफ्नो जिम्मेवारी पूरा गरेकी हुनेछु। तर मैले के गरिरहेकी थिएँ? मैले स्पष्टसित देख्न सक्ने केही समस्या थिए। मैले केवल होसियारीपूर्वक सोच्नुपर्थ्यो र ती सच्याउन थोरै समय खर्चिनुपर्थ्यो, तर म त्यसमा प्रयास गर्न चाहन्नथेँ। आफूलाई समस्याबाट जोगाउन, म काम अरूलाई भिराउँथेँ। त्यसो गर्दा, कष्ट नभोगी वा समस्यामा नपरी म काम फत्ते गर्न सक्थेँ। लापरवाह वा सुस्त बन्न म एकदमै सिपालु थिएँ। यसो हेर्दा, मैले केही सङ्ख्यामा भिडियोहरू बनाएकी थिएँ र काम चटक्क थियो। तर वास्तवमा अरूले यी समस्या सच्याउन प्रयास गरेका थिए। म त केवल अल्छी बनिरहेकी थिएँ। म त परमेश्‍वरले बताउनुभएको, सद्गुण र मानवता नभएकी व्यक्ति थिएँ। ती भिडियो बनाउने म नाम मात्रकी थिएँ। तर वास्तवमा, मैले अरूलाई त्यसमा कति समय खर्चिन लगाएँ भनेर मलाई थाहा थिएन। भिडियो जाँच्न केवल एक घण्टा मात्रै लाग्नुपर्ने हो, तर अरूलाई मेरो भिडियो जाँच्न दोब्बर वा त्योभन्दा बढी समय लाग्यो। अरू पहिल्यै आ-आफ्नो कर्तव्यमा व्यस्त थिए, त्योमाथि मैले त्यति धेरै काम थपिदिएँ, र समग्र कामको प्रगति ढिलो गरिदिएँ। मैले आफ्नो फाइदाका लागि साँच्चै अरूलाई हानि पुर्‍याइरहेकी थिएँ। मेरी सिस्टरले मलाई आफ्नो कर्तव्य अझ बढी गम्भीर भएर लिन र अझ धेरै होसियार हुन बारम्बार सम्झाएकी थिइन्, तर मैले उनको कुरा कहिल्यै गम्भीररूपमा लिइनँ, र बहानासमेत बनाएर अति लापर्बाहीसँग काम गरेँ। मैले उत्पादन बढाउन र कार्यकुशलताको लागि यस्तो गरिरहेकी छु भनेर भनेँ। म साँच्चै अति गैरजिम्मेवार भइरहेकी थिएँ। वास्तवमा केही समस्या थिए, जसलाई समाधान गर्न म त्यति सिपालु थिइनँ, तर म त्यसबारे ब्रदर र सिष्टरहरूसँग छलफल गर्न सक्थेँ, र त्यसरी त्यसका केही अंश सच्याउन सक्थेँ। त्यसो गर्दा मैले आफ्ना सबै समस्या अन्य मानिसहरूलाई भिराउनु पर्ने थिएन। तर म त त्यो मूल्य चुकाउनसमेत इच्छुक थिइनँ, ममा साँच्चै मानवताको कमी थियो! त्यसपछि मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन निभाए पनि, तिनीहरू यसमा सफल हुन सक्दैनन्, तिनीहरूको लागि यो धेरै गाह्रो हुन्छ, तिनीहरू मानिसहरूले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारी पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् र? बुद्धू, मानसिक रूपमा अशक्त, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्‍नो कर्तव्य र जिम्‍मेवारी पूरा गर्नुनपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्तिले सधैँ धूर्त र फोहोरी खेल खेलिरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आसय के हो भने यस्ता व्यक्तिहरूले उचित व्यक्तिले जस्तो व्यवहार गर्न चाहँदैनन्। परमेश्‍वरले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य निभाउन प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, बस सबै कुराको आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जे-जस्तो भए पनि, तिनीहरू सधैँ लापरवाह र झाराटारुवा बन्छन्, सधैँ अल्छी र भर नलाग्‍ने हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरूले आफ्‍नो जिम्‍मेवारी अरूको काँधमा थुपार्न चाहन्छन्; तिनीहरूले कुनै पनि जिम्‍मेवारी वहन गर्दैनन्, बरु परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, बाँच्‍नको लागि कसले पो आफ्‍नै भरोसा गर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्‍छा गरे पनि, तिनीहरूलाई सहयोग लिन अप्ठ्यारो लाग्‍नुपर्छ, र तिनीहरूले ‘मेरा आमाबुबाले छोराछोरी हुर्काउने आफ्‍नो काम पूरा गर्नुभएको छ। म ठूलो भइसकेँ, र मेरो शरीर पनि ठीकठाक छ—म आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ’ भन्‍ने कुरा पहिचान गर्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको सुझबुझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहनु हुँदैन; तिनीहरूलाई अरूहरू हाँस्लान्, र आफू लाजमा पर्नुपर्ला भन्‍ने डर हुनुपर्छ। त्यसो भए, के हात बाँधेर बस्‍ने अल्छेमा समझ हुन्छ त? (हुँदैन।) तिनीहरूले सधैँ केही नदिई केही पाउन चाहन्छन्, कहिल्यै जिम्‍मेवारी लिन चाहँदैनन्, तिनीहरू सित्तैँमा भात खान खोजिरहेका हुन्छन्, तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, र बस कसैले भात पस्केर दियोस्, र खाना मीठो होस् भन्‍ने चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा इज्‍जत र सत्यनिष्ठा हुन्छ त? अवश्य नै हुँदैन; तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू पढ्दा, म लाजले रातीपिरी भएँ। जीवनमा हरेक व्यक्तिका जिम्मेवारीहरू हुन्छन्, पूरा गर्नैपर्ने कर्तव्य हुन्छ। यदि हामीले आफ्नै जिम्मेवारीसमेत ख्याल गरेनौँ भने, हामी साँच्चै निकम्मा, बेकामका व्यक्ति हौँ। के म त्यस्तै थिइनँ र? म ती भिडियो निर्माणका लागि जिम्मेवार थिएँ, र ती राम्रोसँग बनाउन मैले सक्नेजति सबै गर्नुपर्थ्यो। त्यो मेरो जिम्मेवारी थियो। ती भिडियो समीक्षा गर्ने अरू कोही छ भन्दैमा मैले यस्तो लापरवाही गर्न मिल्दैनथ्यो। त्यसो गरेर म लापरवाह र सुस्त बनिरहेकी अनि मैले आफ्नो जिम्मेवारीबाट पन्छिने प्रयास गरिरहेकी, र यी जिम्मेवारी अरूमाथि थोपर्न बहाना खोजिरहेकी थिएँ। मैले आफैँलाई सोधेँ, “मैले यी जिम्मेवारीहरू अरूमाथि थोपरेकी छु, त्यसोभए खासमा मैले कस्तो भूमिका निभाइरहेकी छु त? मेरो क्षमता सधैँ औसत रहेको छ, र मेरा सीपहरूको आफ्नै सीमितता छ। यदि मैले कडा मेहनत गरिनँ र मूल्य तिर्न चाहिनँ भने, कसरी म आफ्नो कर्तव्य ठिकसित गर्न सक्छु?” मैले परमेश्‍वरमा विश्‍वास गरेका यत्तिका वर्षमा, उहाँको धेरै अनुग्रह पाएकी थिएँ। आफूले ठिकसित गर्न सक्ने कर्तव्यहरूसमेत मैले अहिले गरिरहेकी थिइनँ। ममा साँच्चै विवेक वा समझ थिएन, ममा मानवताको पूर्णतः कमी थियो! मानवता र चरित्र भएका मानिसहरूलाई आफूले परमेश्‍वरको इच्छाको ख्याल गर्नैपर्छ, आफ्नो कर्तव्य ठिकसित गर्नैपर्छ र उहाँको प्रेमको मूल्य तिर्नैपर्छ भन्ने थाहा हुन्छ। उनीहरूले सत्यताबारे धेरै नबुझे पनि र कुनै महान् कार्य गर्न नसके पनि, कम्तीमा आफ्ना दायित्वहरू निभाउन सक्छन्, र परमेश्‍वरको एक सृष्टिका रूपमा आफ्नो उचित काम इमानदारीपूर्वक पूरा गर्छन्। तर आफूलाई समस्याबाट बचाउन म आफ्नो कर्तव्य निर्वाहमा लापरवाह भएँ। स्पष्टतः त्यो काम धेरै कठिन थिएन, तर अझै मौका पायो कि सुस्ताइहाल्थेँ। म साँच्चै मर्यादा वा निष्ठा नभएकी धूर्त व्यक्ति थिएँ। यसबारे मनन गरेपछि मलाई धेरै पछुतो भयो, र यसरी लापरवाह भइरहन चाहिनँ। मैले आफ्नो कर्तव्य ध्यानपूर्वक गर्न र आफ्ना जिम्मेवारीहरू ख्याल गर्न मात्र चाहेँ।

यसपछि मैले परमेश्‍वरका केही वचन पढेँ। “कतिपय मानिसहरू आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो लापरवाही मनोवृत्ति हो। तैँले लापरवाहीसित आफ्‍नो कर्तव्य पूरा गर्दा, र यसलाई हल्कासित लिँदा परिणाम के हुन्छ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिप्रति परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्‍नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यस्तो सहकार्य गर्न सकेको भए, परमेश्‍वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुहुन्थ्यो, ताकि तैले कामकुराहरू गर्दा ती सबै उचित ठाउँमा परून्, र नतिजा राम्रो आऊन्। तैँले त्यति धेरै शक्ति लगाउनु पर्दैन; जब तैँले सहकार्यमा कुनै प्रयास लगाउँदैनस्, तब परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेछ। यदि तँ छट्टू र धोकेबाज छस् भने, यदि तँ आफ्नो कर्तव्यप्रति उदासीन छस् र सधैँ बाटो बिराउँछस् भने, परमेश्‍वरले काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँ उपयुक्त छैनस्; तेरो कुनै काम छैन। जा, पाखा लाग्। तँलाई चलाक र विश्वासघाती हुन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हार हो कि जित हो? (हार।) यो ठूलो हार हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। भिडियो बनाउने क्रममा मलाई समस्याहरू आइपर्दा र तीबारे अनिश्चित हुँदा, यदि मैले लगनशील भएर मूल्य चुकाएकी भए, प्रार्थना गरेर खोजी गरेकी भए, परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुहुनेथ्यो र समस्याको जड बुझ्न अगुवाइ गर्नुहुनेथ्यो। त्यसपछि मैले आफ्नो कर्तव्यमा सुधार गरिरहनेथेँ, र आफ्ना कमीकमजोरीहरू परिपूर्ति गर्न सक्नेथेँ। मैले आफ्नो सीप र जीवन प्रवेश दुवैमा उपलब्धि पाउनेथेँ र प्रगति गर्नेथेँ। मैले सोचेँ, कसरी मैले समस्या सामना गर्दा, त्यसलाई अरूमाथि थोपर्ने प्रयास गर्थेँ, अन्त्यमा, उनीहरूले खोजी र मनन गरेर यसबाट केही प्राप्त गर्थे, आफ्ना कर्तव्यमा निरन्तर सुधार गर्थे, र जीवनमा प्रगति गरिरहन्थे। जबकि, मचाहिँ कुनै कुरा हासिल नगरी काम मात्रै पूरा गरिरहेकी हुन्थेँ। के म साँच्चै मूर्ख थिइनँ र? अन्त्यमा हरुवा त म नै भएँ। त्यसबाहेक, मैले आफ्नो कर्तव्यमा देखाएको मनोवृत्तिलाई परमेश्‍वर दिगमिगाउनुहुन्छ र घृणा गर्नुहुन्छ, त्यसैले उहाँले मलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्थेन। यही कारण म अन्धो थिएँ र कुनै समस्य देख्न सक्दिनथेँ। यदि मैले पछुतो नगरेको भए मेरो जीवन स्वभाव परिवर्तन नहुने मात्र होइन, मैले आफ्नो कर्तव्यमा कहिल्यै प्रगति गर्नेथिइनँ। यदि कसैले मेरो कामको समीक्षा र जाँच नगरेको भए अनि मैले यो सब ठिकसित नगरेकी भए, के म निकम्मा बन्नेथिइनँ र? यो विचार गरेपछि मैले लापरवाह र सुस्त हुँदा, मैले परमेश्‍वरलाई धोका दिइरहेकी र मण्डलीको काममा ढिलाइ गरिरहेकी मात्र हुनेथिइनँ, आफूलाई पनि धोका दिइरहेकी र बरबाद गरिरहेकी हुनेथिएँ भन्ने बुझेँ। त्यो सोच्दा मलाई धेरै दुःख लाग्यो। म केवल आफ्नो काम ध्यानपूर्वक गर्न र भविष्यमा आफ्ना जिम्मेवारीहरूको ख्याल राख्न चाहन्थेँ अनि सुस्त हुन वा लापरवाह भएर काम गर्नलाई बहाना खोज्न चाहदिनँथेँ। पछि मैले परमेश्‍वरको यो वचन पढेँ। “मानिसहरूसँग भ्रष्ट स्वभाव हुँदा उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अक्सर झारातिरुवा र लापरवाह हुन्छन्। यो सबैभन्दा गम्भीर समस्यामध्ये एक हो। यदि मानिसहरूले आफ्नो कर्तव्य उचित तरिकाले गर्ने हो भने, पहिला झारातिरुवा शैली र लापरवाहीपनको यो समस्या हल गर्नुपर्छ। उनीहरूसँग यस्ता झारातिरुवा र लापरवाही मनोवृत्ति भइन्जेलसम्म, उनीहरू आफ्नो कर्तव्य उचित तरिकाले गर्न सक्षम हुनेछैनन्। त्यसको अर्थ, झारातिरुवा शैली र लापरवाहीपनको समस्या समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसोभए, उनीहरू कसरी यसलाई अभ्यास गर्नुपर्छ? सर्वप्रथम, उनीहरूले आफ्नो मनस्थितिको समस्या समाधन गर्नुपर्छ; उनीहरूले आफ्नो कर्तव्यलाई सही तरिकाले लिनुपर्छ, अनि छली र बेपरवाह नभई, गम्भीरतासाथ र जिम्मेवारीको भावले काम गर्नुपर्छ। कर्तव्य परमेश्‍वरको लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिको लागि गरिँदैन; यदि मानिसहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्षम छन् भने, उनीहरूसित सही मनस्थिति हुनेछ। त्यसबाहेक, मानिसहरूले केही काम गरेपछि त्यसलाई जाँच्नुपर्छ र त्यसबारे चिन्तन गर्नुपर्छ, अनि यदि उनीहरूको मनमा कुनै शङ्का भएर राम्ररी निरीक्षण गर्दा साँच्‍चै समस्या रहेको पत्ता लाग्यो भने, उनीहरूले त्यसमा परिवर्तनहरू गर्नुपर्छ; यी परिवर्तनहरू गरिसकेपछि उनीहरूको मनमा कुनै शङ्का रहनेछैन। मानिसहरूको मनमा शङ्का हुनु भनेको समस्या छ भन्‍ने प्रमाण हो र उनीहरूले आफूले गरेको कुरालाई, विशेष गरी मुख्य चरणहरूलाई लगनशील भई जाँच गर्नुपर्छ। यो आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको गम्भीर, जिम्‍मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर बन्न सक्छ, उसले जिम्‍मेवारी लिन्छ, र आफ्‍नो सारा हृदय र शक्ति लगाउँछ, तब काम उचित तरिकाले पूरा हुनेछ। कहिलेकहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट समस्या पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यताका सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? यसले के देखाउँछ भने मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको मनस्थिति एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना विचार र अभिप्रायहरू कता लगाउँछन् त्यो अत्यन्तै महत्त्वपूर्ण छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा मानिसहरूको मनस्थिति कस्तो छ, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले सूक्ष्म जाँचपड्ताल गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। सहकार्य महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिलिऊँ, मण्डलीले तँलाई एउटा काम गर्न दिन्छ, र तँ भन्छस्, ‘यो काममा पृथक देखिने मौका भए पनि नभए पनि, यो काम मलाई दिइएको हुनाले, म राम्ररी गर्नेछु। म यो जिम्‍मेवारी लिनेछु। यदि मलाई स्वागत गर्ने काम दिइयो भने, म त्यो काम राम्ररी गर्न सर्वस्व सुम्पनेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा कायम गर्नको लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने काम दिइयो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमपूर्वक सुसमाचार सुनाउँदै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्‍ने काम दिइयो भने, म लगनशील भई यो अध्ययन गर्छु, मेहनत गर्छु, र जतिसक्दो चाँडो, एकदुई वर्षमा यो राम्ररी सिक्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्‍न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित तुल्याउनेछु, र अवस्थालाई सत्यताका सिद्धान्तअनुसार हेर्नेछु; म भाषाबारे सिक्‍नेछु, र मैले सुन्दर गद्य शैलीमा लेख लेख्‍न नसकूँला, तैपनि कम्तीमा स्पष्ट रूपले मेरो अनुभव र गवाही बताउन, सत्यताबारे विस्तृत तवरमा सङ्गति गर्न, र परमेश्‍वरका लागि साँचो गवाही दिन सक्षम बन्‍नेछु, ताकि मानिसहरूले मेरा लेखहरू पढेर केही सिक्न र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यद मैले कुनै कुरा बुझिनँ वा समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यता खोजी गर्नेछु, सत्यताका सिद्धान्तहरू बुझ्‍नेछु, र कामकुरा राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले लिनुपर्ने सबै जिम्‍मेवारी लिनेछु, र कम्तीमा पनि म आफ्‍नो विवेक र समझविरुद्ध काम गर्नेछैनँ, वा लापरवाही गर्नेछैनँ र झारा टार्नेछैनँ, वा धूर्त र कामचोर बन्‍नेछैनँ, वा अरूको मेहनतको फल खानेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मापदण्डभन्दा मुनि हुनेछैन।’ यो त मानव व्यवहारको न्यूनतम मापदण्ड हो र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने मानिस विवेकशील र समझदार व्यक्तिको रूपमा योग्य हुनेछ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि तैँले दिनमा तीनपटकको खाना चोरी नगरी जुटाउँछस् भन्‍ने महसुस गर्नैपर्छ। यसलाई जिम्‍मेवारीको बोध भनिन्छ। तेरो क्षमता बलियो भए पनि कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि नबुझे पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाएर आफ्‍नो सारा हृदय र शक्तिले राम्ररी पूरा गर्नैपर्छ। मैले यसलाई पूर्णरूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै लापरवाह र झाराटारुवा बन्‍नेछैनँ। यदि समस्या पैदा भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचन पढेर मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले आफ्नो कर्तव्य निभाउँदा इमानदार र जिम्मेवार हृदय कायम राख्नुपर्थ्यो, र हरेक भिडियो बनाउँदा ध्यान दिनुपर्थ्यो। यदि कुनै कुराबारे निश्चित नभएमा, मैले त्यसलाई जाँच्नुपर्थ्यो र अझ होसियारीसाथ विचार गर्नुपर्थ्यो। कहिलेकाहीँ म आफैले त्यो पत्ता लगाउन सकिनँ भने, केही सिपालु ब्रदर र सिस्टर खोजेर त्यसबारे सँगै छलफल गर्न सक्थेँ, र त्यसपछि समस्या समाधानका लागि आफूले सक्ने सबै गर्नुपर्थ्यो। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा मात्रै मैले परमेश्‍वरको अन्तर्दृष्टि पाउन सक्थेँ। यो विचार गरेपछि, मैले सचेत भएर अभ्यासको यो मार्ग पछ्याएँ। मैले केही कठिन समस्या सामना गर्दा र सुस्त भएर ती समस्या अरूलाई भिराउन मन लाग्दा, म प्रार्थना गर्थेँ र आइन्दा कर्तव्यमा लापरवाह हुन चाहदिनँथेँ। मैले आफूले सक्ने जिम्मेवारीहरूको ख्याल गर्नुपर्छ भन्ने मलाई ज्ञान भयो। मैले फेरि परमेश्‍वरलाई घृणा लाग्ने कुरा गर्नु हुँदैनथ्यो। त्यसैले म आफूले बुझ्न नसकेका समस्याबारे अरूसँग छलफल गर्थेँ, र सबैसँग सङ्गति गरेर मैले केही समस्याहरू समाधान गर्न सक्ने भएँ र धेरै कुरा सिकेँ। पहिले समस्या सामना गर्दा, म त्यसबारे होसियारीसाथ चिन्तन गर्दिनथेँ र केवल अरूमाथि त्यो थोपर्थेँ। अरूले मलाई समस्याबारे बताउँदा, म केवल उनीहरूले भनेका कुरा पछ्याउँथेँ, मेरा आफ्नै कुनै विचार हुँदैनथ्यो, र मैले भिडियो पूरा गर्दा कुनै कुरा हासिल गर्दिनथेँ। तर मैले होसियारीसाथ मनन गरेको समस्यालाई अरूले औँल्याइदिँदा, मलाई आफूले धेरै उपलब्धि हासिल गरेको जस्तो लाग्थ्यो। यसरी केही समय अभ्यास गरेपछि, मेरो सीप अलिक तिखारियो, र मेरा भिडियोमा पहिलेभन्दा थोरै समस्या देखियो। म आफ्नो कर्तव्यमा पनि अलिक कुशल भएँ। बल्ल मलाई के महसुस भयो भने, मैले आफ्नो कर्तव्य ध्यानपूर्वक गरेँ र आफ्ना जिम्मेवारीहरूको ख्याल गरेँ भने, मलाई शान्त र सहज महसुस हुनेछ, र धेरै उपलब्धि हासिल हुनेछ र प्रगति गर्नेछु। हामीले लगनशील भई आफ्नो कर्तव्य निभाउँदा साँच्चै जीवन प्रवेश सुरु हुन्छ। धन्यवाद परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म भावनामा बहेँ

सन् २०१७ को मेमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि म बिरामीबाट निको भएर...

सुसमाचार सुनाउँदा कठिनाइहरूको सामना कसरी गर्ने

मेरो पुरै परिवार क्याथोलिक थियो, र अरू धेरेजसो गाउँलेहरू पनि क्याथोलिक नै थिए। तर हाम्रो गाउँको क्याथोलिक गिर्जामा देखरेख गर्ने पादरी नभएको...

छोराको घातक रोगको सामना गर्दा

लियाङ शिन्, चीन दुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको परिणाम चिन्ताजनक रहेको,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्