ती सब कष्ट-भोग केका लागि?

25 अप्रिल 2023

विश्‍वासी बनेपछि, धेरै अगुवाहरूले वास्तवमा नै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम गरिरहेका, र आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुन्थे, र ब्रदर-सिस्टरहरूले तिनीहरूलाई आदर गर्थे। म तिनीहरूलाई निकै आदर गर्थेँ र तिनीहरू जस्तै कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍ने व्यक्ति बनेर अरूको आदर पाउन सकूँ भन्‍ने आशा गर्थेँ। त्यसकारण, म आफ्‍नो खोजीमा निकै उत्साहित भएर लागिपरेकी थिएँ। पछि मलाई मण्डली अगुवाको रूपमा निर्वाचित गरियो। हरेक दिन म आफ्‍नो कर्तव्यमा निकै व्यस्त हुन्थेँ, र म यति सानै उमेरको हुँदा मैले कठिनाइहरू सामना गरेकोमा अरूले मेरो तारिफ गर्थे, र म सत्यताको खोजी गर्ने व्यक्ति हुँ भनेर भन्थे। यस्तो कुरा सुन्दा म हरेक पटक नै उल्‍लसित हुन्थेँ, र यो सबै दुःख सार्थक छ भन्‍ने लाग्थ्यो। पछि, मेरा जिम्‍मेवारीहरूको क्षेत्र बढ्यो र मेरो कामको भार पनि बढ्दै गयो। मसँग काम गर्ने कतिपय सिस्टरहरूले साँच्‍चै नै कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन् भन्‍ने देखेँ। तिनीहरू सबै निकै अबेर सुत्थे र खाने समय नपाए कहिलेकहीँ भेलाहरूमा भोकै जान्थे। तिनीहरूले बोझ लिएकोमा र कठिनाइ भोग्‍न सकेकोमा घरधनीहरूले तिनीहरूको तारिफ गर्थे। यदि ब्रदर-सिस्टरहरूले त्यस्ता मानिसहरूलाई मन पराउँछन् भने, परमेश्‍वरले पनि अवश्य नै तिनीहरूलाई मन पराउनुहुन्छ भन्‍ने लाग्यो, त्यसकारण मैले राती अबेरसम्‍म आफ्‍नो कर्तव्य पूरा गर्न थालेँ। तर केही समयपछि मेरो शरीरले यसलाई थाम्‍न छोड्यो र आधा रात भएपछि मलाई निद्रा लाग्‍न थाल्थ्यो। तर अरू सिस्टरहरूले काम गरिरहेको देख्दा, मलाई सुत्‍न जान लाज लाग्थ्यो, किनभने तिनीहरूले म देहलाई ध्यान दिन्छु र आफ्‍नो कर्तव्यमा बोझ लिँदिनँ भनी भन्छन् भन्‍ने मलाई डर लाग्थ्यो। त्यसकारण म जबरजस्ती काम गरिरहन्थेँ, तर निरन्तर निद्रा लाग्दा म त्यसबाट उम्‍कन सक्दिनथिएँ, र मैले त्यति धेरै काम पूरा गर्दिनथिएँ। त्यसको बाबजुद, म सुत्‍न जाँदिनथिएँ। म चुपचाप आफूलाई मनाइरहन्थेँ, किनभने मलाई मैले आफ्‍नो देहलाई ध्यान दिनु हुँदैन र अरूको हेपाइमा पर्नु हुँदैन भन्‍ने लाग्थ्यो। कहिलेकहीँ राती अबेरसम्‍म बसेर पनि भेलाको लागि बिहान सबेरै उठ्नुपर्थ्यो, र बाइक चलाएर जाँदा मलाई निद्रा लागिरहेको हुन्थ्यो, र भेलामा पनि निद्रा लागिरहन्थ्यो। मलाई दिउँसो एकछिन सुत्‍न मन लाग्थ्यो, तर मैले आफैलाई शारीरिक रूपमा पुलपुलाइरहेकी छु भनेर अरूले सोच्छन् भन्‍ने मलाई डर लाग्थ्यो। हरेक दिन, म जबरजस्ती राती अबेरसम्‍म बस्थेँ, र मन नलागी-नलागी यसो गर्थेँ। एक दिन, भेलामा बाइक चलाएर जाँदा, मलाई निद्रा लाग्यो, बाटोभरि म झुलिरहेकी थिएँ र नालीमा बाइक लडाएँ, त्यसपछि तुरुन्तै मेरो होस खुल्यो। सडकमा बाइक डोर्‍याउँदै जाँदा, किन मलाई यस्तो भयो भनेर मैले सोचेँ। आत्मनिरीक्षण गर्दा, म अगुवाको रूपमा निर्वाचित भएपछि, मैले कष्ट भोग्‍ने मेरो क्षमताबाट आदर पाउने बारेमा मात्रै सोच्दै आइरहेकी रहेछु भन्‍ने मलाई थाहा भयो, किनभने मलाई मानिसहरूले देहमा केन्द्रित र सहजताको लोभ गर्ने व्यक्तिको रूपमा हेर्छन् भन्‍ने मलाई डर थियो। त्यसको अर्थ मेरो जीवनमा रुटिन भन्‍ने कुरा थिएन, र मैले राम्ररी आराम पनि लिइरहेकी थिइनँ।

एक दिन मैले फरिसीहरूलाई खुलासा गर्ने परमेश्‍वरका केही वचनहरू पढेँ, र त्यसलाई म आफैसँग तुलना गरेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “वास्तवमा फरिसीहरू को हुन् भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हँदैनन्। तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यताका वास्तविकता होइनन्, केवल धर्मसिद्धान्तका वचनहरू हुन्। केही मानिसहरूले धर्मसिद्धान्तलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको धर्मसिद्धान्त वाचन कला झन्-झन् उच्‍च बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यताको वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई उल्लू बनाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोङ्गी फरिसीहरू हुन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूले प्रकट गरेका कुराहरू मलाई मर्मस्पर्शी र कठिन लाग्यो। मैले फरिसीहरूले जस्तै व्यवहार गरिरहेकी थिएँ। तिनीहरूले देखावटी व्यवहार गरेर बहाना गर्न मन पराउँथे, जानी-जानी सडकका कुनाहरूमा प्रार्थना गर्थे र परमेश्‍वरका वचनहरू प्रचार गर्थे ताकि मानिसहरूले तिनीहरू साँच्‍चै भक्त छन् र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भन्‍ने ठानून्। तर गुप्तमा तिनीहरूले परमेश्‍वरको वचन अभ्यास गर्दैनथिए। तिनीहरूले गर्ने ती कुराहरू देखाउनको लागि, र आदर पाउनको लागि मात्रै गरिएका हुन्थे। म पनि त्यस्तै थिएँ। म खास गरी देखावटी असल व्यवहारमा ध्यान दिन्थेँ ताकि अरू ब्रदर-सिस्टरहरूले मलाई राम्रो सोचून्। अरूले आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सकेको, अनि सबैले प्रशंसा गरेको देख्दा, म पनि त्यस्तो व्यक्ति बन्‍न लागिपरेँ। अगुवाको रूपमा चुनिएपछि, अरू सिस्टरहरू राती अबेरसम्‍म बसेको देख्दा, म तिनीहरूभन्दा पछि नपरूँ भनेर जबरजस्ती राती अबेरसम्‍म बस्थेँ। मलाई जति नै निद्रा लागे पनि म जसोतसो गर्थेँ। आफूलाई कठिनाइ भोग्‍न सक्‍ने व्यक्तिको रूपमा प्रस्तुत गर्ने प्रयासमा म सामान्य रूपमा लिने गरिएको दिउँसोको आराम समेत लिँदिनथिएँ। हरेक मोडमा मैले आफूलाई पृथक देखाइरहेकी हुन्थेँ, अनि असल कुराहरू गरेको जस्तो गरेर ब्रदर-सिस्टरहरूको आदर पाउने प्रयास गरिरहेकी थिएँ। त्यसरी कष्ट भोग्‍नु र आफूलाई समर्पित गर्नु सबै नाटक, र छलपूर्ण कार्य थिए। मैले फरिसीहरूको मार्ग हिँडिरहेकी थिएँ—परमेश्‍वरले यसलाई कसरी घृणा गर्नुहुन्‍नथियो र? त्यसपछि मैले आफ्‍नो काम र विश्रामको समयलाई हेरफेर गर्ने प्रयास गरेँ, र दिनको काम सकेपछि सधैँ झैँ सुत्‍न थालेँ। यसो गर्न थालेपछि मलाई निकै ढुक्‍क लाग्‍न थाल्यो।

एक वर्षपछि म विदेश आएँ। मसँग बस्‍ने कतिपय सिस्टरहरूले आफ्‍नो कर्तव्यमा साँच्‍चै नै दुःख गर्न सक्दा रहेछन् र राती अबेरसम्‍म बस्‍ने रहेछन् भन्‍ने मैले थाहा पाएँ। कहिलेकहीँ आफ्‍नो काम सकेपछि मलाई चाँडै सुत्‍न जान मन लाग्थ्यो, तर तिनीहरूले मलाई म आराममा ध्यान दिन्छु भनेर सोच्छन् भन्‍ने डर लाग्थ्यो, यसको साथै, म एक अगुवा थिएँ, त्यसकारण म अरूभन्दा चाँडै सुत्‍न गएँ भने तिनीहरूले के सोच्‍नेथिए? तिनीहरूले म कष्ट भोग्‍न सक्दिनँ र आफ्‍नो कर्तव्यमा बोझ लिँदिनँ भनेर सोच्‍न सक्थे। यसरी सोच्दा, म फेरि पनि बहाना नबनाई बस्‍न सकिनँ र तिनीहरूसँग राती अबेरसम्‍म बस्‍न थालेँ। तर बिहान १ बजे पछाडि मलाई निद्रा लाग्‍न थाल्थ्यो र म झुल्‍न थाल्थेँ। तिनीहरूले मलाई चाँडै सुत्‍नुहोस् भनी भन्थे, तर मैले आफूलाई तिनीहरूले जस्तै गर्न बाध्य गर्थेँ र भन्थेँ, “ठिकै छ, म सहन सक्छु। म एक छिनपछि सुत्छु।” तर त्यसपछि म फेरि झुलिपठाउथेँ। कहिलेकहीँ म निद्रा सहनै सक्दिनथिएँ, त्यसकारण म टेबलमा घोप्टिएर एक्छिन् सुत्थेँ, तर यसले गर्दा मलाई खटपट हुन्थ्यो। अरूले मेरो बारेमा के भन्छन् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसकारण म हतार-हतार काम गर्न थाल्थेँ। म बोझ लिन्छु भन्‍ने देखाउन, कहिलेकहीँ म जानी-जानी राती अबेर समूहमा मेसेज पठाउथेँ, ताकि म कति अबेर बसेँ, र मैले राती आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ भन्‍ने कुरा सबैले देख्‍न सकून्। स्वास्थ्य सम्‍बन्धी केही समस्याहरूको कारण म केही पोषण सम्‍बन्धी वस्तुहरू किन्‍न चाहन्थेँ, तर सबैले के सोच्छन् भन्‍ने मलाई चिन्ता लागेको थियो। के तिनीहरूले म देहलाई धेरै बहुमूल्य ठान्छु भन्‍ने ठान्‍नेछन्? त्यसकारण, मैले ती खरिद गरिनँ। एक दिन भेलामा, मैले एक जना सिस्टर सही स्थितिमा छैनन्, र उनलाई केही सङ्गति र सहयोग चाहिएको छ भन्‍ने थाहा पाएँ। तर उनी फरक समय क्षेत्रमा रहेको देशमा बस्थिन्, र मेरो लागि यो आधा रात हुन्थ्यो, त्यसकारण मैले भोलिपल्‍ट उनीसँग सङ्गति गर्छु भनेर सोचेकी थिएँ। तर त्यसपछि मैले सोचेँ मैले उनीसँग राती सङ्गति गरेँ भने मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशको निम्ति बोझ लिन्छु भन्‍ने देखिन्छ। त्यसकारण मैले त्यस सिस्टरलाई कल गरेँ र बिहान २ बजे मात्रै सङ्गति सकेँ। उनले मलाई भनिन्, “तपाईंलाई अबेर भयो, तपाईं सुत्‍नुहोस्। सधैँ राती-राती काम गर्नु तपाईंको स्वास्थ्यको लागि नराम्रो कुरा हो।” उनले त्यसो भनेको सुन्दा मलाई निकै खुशी लाग्यो। शारीरिक रूपमा असहज भएको थियो, तर यो व्यर्थ भएको थिएन, किनभने मैले बोझ लिएकी छु र ममा जिम्‍मेवारीको बोध छ भन्‍ने उनले सोचेकी थिइन्। त्यसपछि मलाई स्वास्थ्य सम्‍बन्धी सानातिना अनेक समस्याहरू देखिन थाल्यो, र यो लामो दिर्घकालीन अनिद्राको कारणले भएको हो भनेर भने। मैले त्यो कुरालाई बेवास्ता गरेँ र पहिलेको जस्तै गरिरहेँ। एक जना माथिल्‍लो स्तरका अगुवाले सधैँ मलाई राती अबेरसम्‍म बस्‍नु हुँदैन, म चाँडै सुतेर चाँडै उठेँ भने काममा बाधा हुँदैन भनेर भन्थे। म के सोच्थेँ भने, यदि म सबेरै सुतेँ भने, अरूले मलाई अगुवा भएर पनि अरूले जति कठिनाइ भोग्‍न सक्दिनँ भनेर सोच्‍नेछन्, अनि त तिनीहरूले मलाई कसरी आदर गर्नेछन्? मैले अगुवाको सल्‍लाहलाई त्यति ध्यान दिइनँ। म स्वास्थ्य छैन भन्‍ने देखेर एक जना सिस्टरले भनिन्, “तपाईंले धेरै कुरा सोच्‍नुहुन्छ जस्तो लाग्यो। यति धेरै समस्याहरू समाधान गर्नुपर्दा र त्यति धेरै तनाव लिँदा, तपाईंको स्वास्थ्यमा असर गरिरहेको छ। अगुवाको रूपमा, तपाईंलाई धेरै कुराको चिन्ता हुन्छ।” उनले त्यसो भन्दा मलाई आफैप्रति निकै खुशी लाग्यो। मैले चुकाएको मूल्य, र मैले भोगेको कष्ट अरूको अनुमोदन पाउनको लागि सार्थक रह्यो जस्तो लाग्यो। पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जुन खण्डले मलाई मैले हिँडेको गलत मार्गको बारेमा केही बुझाइ प्रदान गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “ख्रीष्टविरोधीहरूले कहिल्यै पनि सत्यताका सिद्धान्तहरूअनुसार काम गर्दैनन्, तिनीहरूले सत्यता कहिल्यै अभ्यास गर्दैनन्—यो ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। हैसियत र प्रतिष्ठा, अनि आशिष र इनाम पाउनबाहेक, तिनीहरूले खोजी गर्ने एउटै कुरा देहको सहजता र हैसियतका लाभहरू मात्रै हुन्; यसले गर्दा, तिनीहरूले स्वाभाविक रूपमै बाधाहरू पैदा गर्छन्। यी तथ्यहरूले के देखाउँछन् भने तिनीहरूले खोजी गर्ने कुरा, तिनीहरूको व्यवहार, र तिनीहरूले प्रकट गर्ने कुरा परमेश्‍वरले प्रिय ठान्‍नुहुने कुराहरू होइनन्। अनि यी कुरा अवश्य नै सत्यता खोजी गर्ने मानिसहरूको काम गर्ने र व्यवहार गर्ने शैली होइनन्। उदाहरणको लागि, कतिपय पावलजस्ता ख्रीष्टविरोधीहरूले कर्तव्य निभाउँदा तिनीहरूमा कष्ट भोग्‍ने अठोट हुन्छ, काम गर्दा तिनीहरू रातभरि बस्‍न र खाना नखाई बस्‍न सक्छन्, तिनीहरूले आफ्‍नो शरीरलाई अधीनमा राख्‍न, रोग र असहजतालाई जित्‍न सक्छन्। अनि यो सब गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्‍वरको आज्ञा पूरा गर्दा तिनीहरूले आफूलाई पन्छाउन, आत्म-इन्कार गर्न सक्छन् भनेर सबैलाई देखाउनु हो; तिनीहरूको लागि कर्तव्य नै सबथोक हो भन्‍ने देखाउनु हो। तिनीहरूले अरूका अघि यो सब प्रदर्शन गर्छन्, तिनीहरूले भरपूर रूपमा देखाउँछन्, विश्राम गर्नुपर्ने बेलामा विश्राम गर्दैनन्, जानीजानी काम गर्ने समय बढाउँछन्, सबेरै उठ्छन् र राती ढिलो सुत्छन्। तर ख्रीष्टविरोधीहरूले यसरी बिहानदेखि रातीसम्‍म मेहनत गर्दा तिनीहरूको कार्य कुशलता र प्रभावकारिता कस्तो हुन्छ? यी कुराहरू तिनीहरूको विचारभन्दा बाहिर हुन्छन्। तिनीहरूले यो सब अरूको अघि मात्रै गर्ने प्रयास गर्छन्, ताकि तिनीहरूले कष्ट भोगेको अरूले देख्‍न सकून्, र तिनीहरूले आफ्‍नो बारेमा नसोची कसरी परमेश्‍वरको लागि मेहनत गरिरहेका छन् भन्‍ने देख्‍न सकून्। जहाँसम्‍म तिनीहरूले निर्वाह गरेको कर्तव्य र तिनीहरूले गर्ने काम सत्यताका सिद्धान्तहरूअनुसार भएका छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरू यसबारेमा सोच्दै सोच्दैनन्। तिनीहरूले तिनीहरूको बाहिरी असल व्यवहार सबैले देखेका छन् कि छैनन्, सबैलाई यो कुरा थाहा छ कि छैन, सबैलाई यसले राम्रो प्रभाव पारेको छ कि छैन, र यो प्रभावले गर्दा तिनीहरूमा आदर र अनुमोदनको भाव पैदा हुन्छ कि हुँदैन, तिनीहरू जाँदा यी मानिसहरूले तिनीहरूलाई स्याबास भन्छन् कि भन्दैनन् र ‘उसले साँच्‍चै कठिनाइ भोग्‍न सक्छ, उसको सहने क्षमता र असाधारण धैर्यता हाम्रो समझभन्दा बाहिर छ। यो त सत्यताको खोजी गर्ने, कष्ट भोग्‍न र ठूलो बोझ लिन सक्‍ने व्यक्ति हो, यो व्यक्ति मण्डलीको खम्‍बा हो’ भनेर प्रशंसा गर्छन् कि गर्दैनन् भन्‍ने मात्रै विचार गर्छन्। यो सुनेपछि, ख्रीष्टविरोधीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूले हृदयमा यस्तो सोच्छन्, ‘मैले यसरी बहाना गरेँ, म कति बाठो छु, मैले यस्तो गर्न सकेँ म कति चलाख छु! सबैले बाहिरी कुरा मात्रै हेर्छन्, र तिनीहरूलाई यी असल व्यवहार मन पर्छ भन्‍ने मलाई थाहा थियो। मैले यस्तो व्यवहार गरेँ भने, यसबाट मानिसहरूको अनुमोदन प्राप्त हुन्छ, यसले गर्दा तिनीहरूले मलाई स्याबासी दिन्छन्, मलाई हृदयदेखि नै आदर गर्छन्, मलाई राम्रो नजरले हेर्छन्, र मलाई कसैले पनि कहिल्यै नीच ठान्दैनन् भन्‍ने मलाई थाहा थियो। अनि यदि कुनै दिन मैले वास्तविक काम गरेको छैन भन्‍ने कुरा माथि थाहा भयो र मलाई प्रतिस्थापन गरियो भने, मेरो पक्षमा खडा हुने, मेरो लागि रुने, र मलाई बस भन्‍ने, अनि मेरो पक्षमा बोल्ने मानिसहरू अवश्यै धेरै हुनेछन्।’ तिनीहरू आफ्नो झूटो व्यवहारप्रति मनमनै गर्व गर्छन्— अनि यो घमण्डले ख्रीष्टविरोधीको प्रकृति र सार पनि प्रकट गर्दैन र? अनि यसको सार के हो? (दुष्टता।) ठीक हो—यो दुष्टताको सार हो” (वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस))। परमेश्‍वरका वचनहरूले ख्रीष्ट-विरोधीको सारलाई भयानक रूपमा दुष्ट भनेर खुलासा गरेका छन्। तिनीहरूले अरूलाई नियन्त्रण गर्ने र अरूको आदर पाउने तिनीहरूको भयानक उद्देश्य हासिल गर्नको लागि, बहाना बनाउन, र देखावटी काम गर्न कुनै पनि युक्तिको प्रयोग गर्छन्। उदाहरणको लागि, तिनीहरूले आफ्‍नो कर्तव्यमा जानी-जानी ढिलासुस्ती गर्छन्, अनि राती अबेर बस्छन् र बिहान सबेरै उठ्छन् ताकि तिनीहरू परमेश्‍वरप्रति समर्पित छन् जस्तो देखियोस्। तिनीहरूले धेरै लामो समयसम्‍म मेहनत गर्छन् र खाना र निद्रा छुटाउँछन्, र कर्तव्य पूरा गर्ने क्रममा शारीरिक आवश्यकताहरूलाई बेवास्ता गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् र प्रिय ठानून्। तिनीहरूले मानिसहरूलाई आफ्‍नो अनुयायी बनाउँछन्। परमेश्‍वरले त्यस्तो व्यवहारलाई घृणा र निन्दा गर्नुहुन्छ। आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्दा मलाई निकै भयानक अनुभव भयो र निकै अप्ठ्यारो लाग्यो। मैले त ख्रीष्ट-विरोधीले जस्तै व्यवहार गरिरहेकी थिएँ। म कठिनाइ सहन सक्छु, म आफूलाई पुलपुल्याउँदिनँ, र आफ्‍नो कामको बोझ लिन्छु भन्‍ने अरूले देखून् भन्‍ने चाहन्थेँ, र म असल अगुवा भएकोमा तिनीहरूले मलाई आदर गरून् भन्‍ने चाहन्थेँ, त्यसकारण म काम, विश्राम, र खानाको समयमा नाटक गरेर ठूलो कष्ट भोग्थेँ। विश्राम लिने बेलामा विश्राम लिँदिनथिएँ, र मेरो कर्तव्यको लागि त्यसो गर्नु आवश्यक नहुँदा पनि म जानी-जानी राती अबेरसम्‍म बस्थेँ। मेरो स्वास्थ्यमा केही समस्या आउँदा समेत मैले त्यसै गरिरहेँ। अरूले मलाई म देहको धेरै वास्ता गर्छु भनेर सोच्छन्, अनि मलाई नराम्रो नजरले हेर्छन् भन्‍ने डरले, म सामान्य शारीरिक आवश्यकताहरू पूरा गर्ने वा मलाई चाहिने थोकहरू किन्दिनथिएँ। राम्रो व्यवहार गरेर, कष्ट भोगेर अनि मूल्य चुकाएर मैले कुटिल तरिकाले आफैलाई स्थापित गरिरहेकी थिएँ, ताकि म सत्यताको खोजी गर्छु, म आफ्‍नो कर्तव्यमा लगनशील र समर्पित छु, र म असल अगुवा हुँ भन्‍ने अरूले सोचून्, त्यसपछि तिनीहरूले मलाई आदर गर्नेथिए। मेरा प्रयासहरू सबै झूट, र छलले कलङ्कित थिए। र अरूलाई झूटो छविले भ्रममा पारिरहेकी थिएँ। म यसरी काम गरिरहन चाहन्‍नथिएँ, त्यसकारण पश्‍चात्ताप गरेर परिवर्तन हुन तयार हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि मैले यो सोच्दै मनन गरिरहेकी थिएँ—किन मैले कठिनाइ भोगेको बहाना गर्नमा त्यति ध्यान दिइरहेकी थिएँ? मेरो मननद्वारा मैले के महसुस गरेँ भने मैले गलत दृष्टिकोण लिएर हिँडेकी रहेछु। म सधैँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नु, असल कार्यहरू गरेको जस्तो देखिनु भनेको नै सत्यताको अभ्यास गर्नु र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु हो र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ भन्‍ने सोच्थेँ। तर परमेश्‍वरका वचनहरूलाई विश्‍लेषण गरेर मैले त्यस्तो दृष्टिकोण उचित होइन भन्‍ने थाहा पाएँ। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्साउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्दैन। … यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्‍ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डिपन झनझन मौलाउनेछ। तिमीहरूभित्र पाखण्डिपनको तत्वहरू जति धेरै ठूलो भयो, परमेश्‍वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन)। “आज, कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा बिहानदेखि राती अबेरसम्‍म काम गर्छन्, वा रातभरि बस्छन् र खाना नखाई बस्छन्। तिनीहरूले देहलाई वशमा राख्‍न, भौतिक कठिनाइलाई बेवास्ता गर्न—र बिरामी हुँदासमेत काम गर्न सक्छन्। तर तिनीहरूमा यी गुण भए पनि, र तिनीहरू असल र सही मानिसहरू भए पनि, तिनीहरूको हृदयमा अझै पनि तिनीहरूले पन्छाउन नसकेका कुराहरू अर्थात् हैसियत, प्रतिष्ठा, र घमण्ड हुन्छन्। अनि यदि तिनीहरूले यी कुराहरूलाई कहिल्यै पन्छाउँदैनन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? उत्तर आफैमा स्पष्ट छ। परमेश्‍वरमा विश्‍वास गर्दा, स्वभाव परिवर्तन गर्नुजत्तिको गाह्रो अरू केही पनि हुँदैन। मानिसहरू जीवनभरि अविवाहित रहन सक्छन्, तिनीहरूले कहिल्यै पनि मीठो खाएका वा राम्रो लाएका नहुन सक्छन्, तिनीहरूले ‘जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि म त्यो सहन सक्छु—परमेश्‍वरको साथ हुँदा, यी कुरा केही पनि होइनन्’ भनेरसमेत भन्‍न सक्छन्। तिनीहरूले सहजै देहका पीडा र कठिनाइ जित्‍न र समाधान गर्न सक्छन्। तिनीहरूलाई के कुरा जित्‍न सहज हुँदैन? तिनीहरूको भ्रष्ट स्वभाव। भ्रष्ट स्वभावलाई काबूमा राखेर मात्रै तिनलाई समाधान गर्न सकिँदैन। आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्न, परमेश्‍वरको इच्‍छा पूरा गर्न, र राज्यमा प्रवेश गर्नका लागि, मानिसहरूले देहको पीडा सहन सक्‍नुपर्छ—तर कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नुको अर्थ तिनीहरूको स्वभावमा परिवर्तन आएको छ भन्‍ने हुन्छ? हुँदैन। कसैको स्वभावमा परिवर्तन आएको छ कि छैन भनेर मापन गर्नलाई उसले कति कष्ट भोग्छ, र उसले बाहिरी रूपमा कति राम्रो व्यवहार गर्छ भनेर हेर्ने होइन; बरु, तैँले तिनीहरूको कामको सुरुवाती विन्दु, मनसाय, र अभिप्रायहरू, तिनीहरूको व्यवहारपछाडिका सिद्धान्तहरू, र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यी पक्षहरूका आधारमा मापन गर्नु मात्रै सही हुन्छ(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन)। परमेश्‍वर वचनहरू पूर्ण रूपमा स्पष्ट छन्। कसैले जति राम्रो व्यवहार गरेको जस्तो देखिए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्‍ने हुँदैन, र तिनीहरूको स्वभावमा परिवर्तन आएको हुन्छ र तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गरेका हुन्छन् भन्‍ने हुँदैन। अनुग्रहको युगमा, पावलले कष्ट भोग्‍न सकेका थिए। तिनी जेल परेका थिए र सुसमाचार प्रचार गर्ने प्रयासमा तिनले प्रभुलाई धोका दिएका थिएनन्। तिनको व्यवहार साँच्‍चै नै तारिफ योग्य जस्तो देखिन्थ्यो। तर तिनका सबै कष्ट-भोग, तिनले चुकाएको मूल्य परमेश्‍वरसँग कारोबार गर्नका लागि थिए। तिनले आफ्‍नो कष्टलाई मुकुट र परमेश्‍वरको राज्यको आशिषसँग साट्न चाहन्थे। तिनले असल कार्य भन्दैमा तिनमा स्वभावगत परिवर्तन आएको थियो भन्‍ने हुँदैनथियो, बरु, तिनी झन्-झन् अहङ्कारी हुँदै गए, तिनले सधैँ आफ्‍नो प्रदर्शन गर्थे र आफ्‍नो गवाही दिन्थे। तिनले आफू ख्रीष्‍टको रूपमा जिइरहेको छु भनेर समेत गवाही दिए, र परमेश्‍वरले तिनलाई दोषी ठहराएर दण्ड दिनुभयो। आफ्‍नो बारेमा विचार गर्दा, के थाहा पाएँ भने, मानिसहरूले मलाई आदर गरून् भनेर म सधैँ राम्रो व्यवहार देखाउने बारेमा मात्रै सोचिरहन्थेँ, तर म परमेश्‍वरका वचनहरू अभ्यास गर्ने वा मेरो भ्रष्ट स्वभावलाई समाधान गर्ने प्रयास गर्दिनथिएँ। परिणाम स्वरूप, म झन्-झन् ढोङ्गी हुँदै गएँ र मेरो जीवन स्वभाव परिवर्तन पटक्‍कै भएन। यदि म त्यसरी नै अघि बढिरहेकी भए, मैले अवश्य नै सत्यता प्राप्त गर्नेथिइनँ। मलाई पनि पावललाई जस्तै हटाइनेथियो! यसको बारेमा मनन गरेपछि, मलाई तुरुन्तै मेरो गलत खोजी र दृष्टिकोण परिवर्तन गर्न मन लाग्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “परमेश्‍वरले मानिसलाई शरीर दिनुभएको छ, र निश्‍चित हदसम्‍म, यसका अङ्गहरू स्वस्थ रहनेछन्; तैपनि, यी हदहरूभन्दा बाहिर गएमा वा निश्‍चित नियमहरू तोडेमा भने, परिस्थितिहरू आइपर्नेछन्—र मानिसहरू बिरामी पर्नेछन्। मानिसको लागि परमेश्‍वरले तय गर्नुभएका नियमहरूको अवहेलना नगर्। यसो गर्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरलाई आदर गर्दैनस्, र तँ मूर्ख र अज्ञानी छस् भन्‍ने हुन्छ। यदि तँ यी नियमहरूको अवहेलना गर्छस् भने—यदि तँ ‘गलत मार्गमा लाग्छस्’ भने— परमेश्‍वरले तँलाई रक्षा गर्नुहुनेछैन, परमेश्‍वरले तेरो लागि जिम्‍मेवारी उठाउनुहुनेछैन; परमेश्‍वरले त्यस्तो व्यवहार घृणा गर्नुहुन्छ। … आफ्‍नो कर्तव्य निभाउने क्रममा, काम र विश्रामबीच सामान्य सन्तुलन कायम गर्नु राम्रो हुन्छ। जब तेरो कर्तव्यमा व्यस्तता आउँछ, तब तेरो देहले थोरै कष्ट सहनुपर्छ, तैँले आफ्‍ना शारीरिक आवश्यकताहरूलाई पन्छाउनुपर्छ, तर यो कार्य धेरै समयसम्‍म जारी रहनु हुँदैन; यदि यस्तो भइरह्यो भने, तँ सहजै थकित हुन सक्छस्, र यसले तेरो कर्तव्यपालनको प्रभावकारितामा असर पार्न सक्छ। यस्तो बेला तैँले आराम गर्नैपर्छ। विश्राम गर्नुको उद्देश्य के हो? यो आफ्‍नो शरीरको हेरचाह गर्नु हो ताकि तैँले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्। तर यदि तँ शारीरिक रूपमा थकित छैनस् र आफ्नो कर्तव्यमा व्यस्तता भए नि नभए नि सधैँ सुस्त हुने मौका खोज्छस् भने, तँमा कुनै भक्ति छैन। भक्ति गर्ने, र परमेश्‍वरले तँलाई सुम्पनुभएको कर्तव्य राम्रोसित पूरा गर्नेबाहेक, अन्य कुराबाट तैँले आफ्‍नो शरीरलाई थकित तुल्याउनु हुँदैन। तैँले यो सिद्धान्त बुझ्‍नैपर्छ। तेरो कर्तव्यमा व्यस्तता नभएको बेला, समय मिलाएर विश्राम ली। बिहान उठेपछि, आत्मिक भक्तिको अभ्यास गर्, प्रार्थना गर्, परमेश्‍वरका वचनहरू पढ्, र मिलेर परमेश्‍वरका वचनहरूको सत्यता सम्बन्धमा सङ्गति गर् वा सामान्य तवरमा भजनहरू सिक्; व्यस्त हुँदा, आफ्‍नो कर्तव्य पूरा गर्न ध्यान दे, परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू समाहित गर्; यसले गर्दा सत्यताका सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न तँलाई सहज हुनेछ। यसरी मात्रै तैँले साँचो रूपमा परमेश्‍वरको वचन अनुभव गर्नेछस्। यिनीहरू तैँले समायोजन गर्नुपर्ने कुराहरू हुन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि मैले धेरै ज्योति पाएँ। परमेश्‍वरले हामीलाई उहाँले तय गर्नुभएका नियमहरूभित्र जिउन, काम गर्न र उचित रूपमा आराम गर्न, र यही जगमा रही आफ्‍नो कर्तव्य पूरा गर्न लगाउनुहुन्छ। हाम्रो कामको लागि केही कष्ट भोग्‍नुपर्दा, हामीले देहलाई त्याग्‍नुपर्छ, र यसलाई पूरा गर्न सक्दो गर्नुपर्छ। हामी राती अबेरसम्‍म बस्‍नु आवश्यक नहुँदा, हामीले उचित रूपमा काम गर्नुपर्छ र आराम गर्नुपर्छ र सामान्य स्थितिलाई कायम राख्‍नुपर्छ। त्यसपछि हामी हाम्रो कर्तव्यमा प्रभावकारी हुन सक्छौँ। मलाई बाइबलको यो पद याद आयो: “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो(मत्ती २२:३७-३८)। हाम्रो कर्तव्यमा हामीले उहाँको इच्‍छालाई सम्झेको, साँचो रूपमा बोझ लिएको, र पूर्ण हृदयले आफ्‍नो कर्तव्य पूरा गरेको परमेश्‍वरले चाहनुहुन्छ। त्यसरी मात्रै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकिन्छ। परमेश्‍वरले हामीलाई दिनुभएका यी मार्गहरूका बारेमा विचार गर्दा, म कति मूर्ख रहेछु भन्‍ने मलाई थाहा भयो। परमेश्‍वरका वचनहरू साँच्‍चै नै स्पष्ट छन्, तर मैले तिनलाई कहिल्यै अभ्यास गरिनँ। मैले आफ्‍नै धारणा र कल्‍पनाहरूको आधारमा व्यवहार गर्दै व्यर्थका कुराहरूमा कष्ट भोग्दै आइरहेकी थिएँ। त्यसपछि मलाई के महसुस भयो भने मैले राम्रो व्यवहार गर्ने कार्यमा ध्यान दिइरहनु हुँदैन, तर परमेश्‍वरको छानबिनलाई स्वीकार गरेर मानिसहरूले के सोच्छन् भन्‍ने कुरालाई ध्यान नदिई सबै कुरा परमेश्‍वरको अगाडि गर्नुपर्छ। मैले आफ्‍नो कर्तव्यमा सक्दो गर्नुपर्थ्यो—मैले गर्नुपर्ने काम त्यही थियो।

त्यसपछि, मैले म कसरी गलत बाटोमा गएकी थिएँ र मेरो सोचाइमा रहेका समस्याहरूका बारेमा बताउन थालेँ, ताकि ब्रदर-सिस्टरहरूले समझशक्ति प्राप्त गर्न सकून्। सामान्यतया मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने कार्यमा ध्यान दिन थालेँ, र बहाना बनाउन छोडेँ। समय बित्दै जाँदा, अरू मानिसहरूले मलाई कसरी हेर्छन् भन्‍ने बारेमा चिन्ता गर्न छोडेँ, र बहाना गर्ने कुरा सोच्‍न छोडेँ। मलाई निकै खुला महसुस भयो। अनुभवबाट मैले के सिकेकी छु भने परमेश्‍वरका वचनहरू मात्रै हाम्रो जीवनको कार्य-व्यवहारको दिशा र सिद्धान्त हुन्, र परमेश्‍वरका वचनहरू अनुसार काम गर्दा निकै ढुक्‍क लाग्छ। सधैँ बहाना गर्नुपर्दैन, अनि त्यस्तो थकाइलाग्दो र पीडादायी रूपमा जिउनु पर्दैन। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

निराकरणपछिको जागरूकता

२०२० को अन्त्यतिर, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मा लिएँ। सुरुमा तिनीहरू त्यति धेरै थिएनन्, त्यसकारण तिनीहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्