गुनहरू तिर्नेबारे चिन्तन

25 अप्रिल 2023

केही महिनापहिले, मैले पनि त्यस्तै समस्या भोगेँ। मैले मेरो गृहनगरको मण्डलीबाट चाङ ह्वा नामकी सिस्टरको मूल्याङ्कन गर्नु भन्ने बेहोराको पत्र प्राप्‍त गरेँ। पत्रमा उनले मण्डली जीवनमा बाधा पुर्‍याइरहेकी छिन्, मानिसहरूलाई एकअर्काविरूद्ध लडाएर आफ्ना समर्थकहरू बटुलिरहेकी छिन् भनिएको थियो। अगुवाहरूले धेरैपटक सङ्गति गर्ने प्रयास गरे तर काम लागेन, र उनले अगुवाहरूकै गल्ती औँल्याएर प्रतिरोध गरिन्। मण्डलीले चाङ ह्वालाई निष्कासन गर्न आवश्यक जानकारी तयार पार्दै थियो र मलाई उनको मूल्याङ्कन लेख्न भनिएको थियो। पत्र पढेपछि, चाङ ह्वा यसपटक निष्कासित हुन्छिन् जस्तो लाग्यो किनभने उनी पहिलेदेखि नै निरन्तर यस्तै व्यवहार गर्थिन्, र अझै सुध्रेकी थिइनन्। यो निकै गम्भीर अवस्था थियो। चाङ ह्वा निष्कासन हुनेबारे कल्पना गर्दा, मलाई त्यति राम्रो लागेन। पहिले उनैले मलाई पदोन्नति गरेकी थिइन्, र सधैँ मेरो हेरचाह गर्ने प्रयत्न गर्थिन्। उनका दुष्‍ट कामहरू खुलासा गर्ने मै हुँ भन्ने थाहा पाइन् भने, उनले मेरा बारेमा के सोच्लिन्? मलाई बैगुनी र निर्दयी पो भन्लिन् कि? यही सोचेर, म यो कुराबाट बच्न चाहन्थेँ। मलाई अरू नै काम आइलाग्यो, र यसलाई केही दिनका लागि स्थगित गरेँ।

यो विषय मेरो दिमागमा घुमि नै रह्यो। मैले दश वर्षअघिको कुरा सम्झेँ। त्यतिबेला, चाङ ह्वा मण्डली अगुवा थिइन् र मलाई पठन सामग्रीसम्बन्धी काममा पदोन्नति गरेकी थिइन्, ताकि मैले अझ बढी अभ्यास गर्न सकूँ। मेरो बारम्बार पदोन्नति भयो, र आफ्नो कर्तव्य पूरा गर्न म सहरबाहिर गएँ। त्यतिका वर्षसम्म उनले मेरो पदोन्नति गरेकै कारण म पठन सामग्रीसम्बन्धी काम जारी राख्न सक्षम भएँ भन्ने लागेको थियो। मैले उनी अगुवा हुँदाका वर्षहरूमा उनले मसँग गरेका सङ्गति, सहयोग र समर्थन सम्झेँ—हामी राम्रोसँग मिल्थ्यौँ, र दैनिक जीवनमा उनले हाम्रो राम्रो हेरचाह गर्थिन्। उनले हामीलाई स्वागत गर्न राम्रो घरको प्रबन्ध मात्र गरिनन्, हामीसँग कपडा वा दैनिक आवश्यकताहरूको अभाव हुँदा ती सामान पनि तुरुन्तै हामीकहाँ पठाउँथिन्। एकपटक उनले हाम्रो लागि भेला गरेको मलाई याद छ। उनले मलाई कलेजोको रोग लागेको भन्ने सुनेकी थिइन्, र औषधी गर्ने एक ब्रदरलाई सम्पर्क गरेर, मलाई दश-बाह्र बोतल कलेजोको औषधी निःशुल्क दिलाइन्। त्यो व्यवहारले मलाई निकै छोयो। मेरो परिवारबाहेक, मेरो रोगप्रति यस्तो चिन्ता कसैले कहिल्यै देखाएको थिएन। मैले सधैँ उनले मेरो प्रशंसा र कदर गरेको महसुस गरेँ। र म त्यसको लागि सधैँ आभारी थिएँ। तसर्थ त्यो बेला चाङ ह्वाको मूल्याङ्कन लेख्न लगाइनु मेरो लागि करिबकरिब असह्य रूपमा अप्ठ्यारो थियो, किनकि उनका खराब कामहरू थुप्रै थिए—र यदि ती खुलासा गरियो भने, उनी निष्कासनमा पर्छिन् भन्‍ने मलाई थाहा थियो। अगुवाको रूपमा काम गर्दा उनी आफ्नो कर्तव्यमा बेपरवाह र लापरवाह भई मण्डलीको काममा गम्भीर हानि पुर्‍याउँथिन्। अनि अगुवाबाट बर्खास्त भएपछि, उनी सुसमाचार प्रचार गर्न गइन्, तर नेतृत्वको लागि सङ्घर्ष गर्न, अगुवाहरूलाई झूटा अगुवा भनेर निन्दा गर्दै ख्रीष्‍टविरोधीहरूको पछि लागिन्। फलस्वरूप, अगुवा र कामदारहरूले आफ्नो कर्तव्य पूरा गर्न सकेनन् र मण्डलीको काम गम्भीर रूपमा अवरुद्ध भयो। उनकी दिदी एक दुष्‍ट व्यक्ति थिइन्। उनलाई निष्कासन गरेकोमा, चाङ ह्वा खुसी थिइनन् र धारणा फैलाउँदै र मण्डली काममा बाधा पुर्‍याउँदै आफ्नी दिदीको बचाउ गर्न लागिन्। चाङ ह्वाले किन सधैँ गलत मानिसहरूलाई समर्थन गरेकी होलिन् भनेर म छक्क परेँ। त्यसपछि मैले परमेश्‍वरको वचन सम्झेँ: “मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्‍ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्‍ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्‍ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरको वचनको प्रकाशमार्फत, र यसलाई चाङ ह्वाका विगतका खराब काम र वर्तमान व्यवहारसँग तुलना गर्दा, उनले मण्डली काममा बाधा पुर्‍याउँदै, सधैँ शैतानको पक्ष लिइरहेकी देखेँ। मलाई लाग्यो उनी वास्तवमा शैतानको दास—मण्डली काममा बाधा पुर्‍याउने दुष्‍ट थिइन्। यदि मैले चाङ ह्वाका सबै दुष्‍ट कार्यहरू खुलासा गरेको भए, मण्डली सिद्धान्तअनुसार, उनी पक्कै पनि निष्कासित हुने थिइन्। त्यसपछि उनीसँग परमेश्‍वरको घरमा कुनै पनि भूमिका हुने थिएन र मुक्तिको कुनै मौका मिल्ने थिएन। उनी अधबैँसे भइसकेकी थिइन्, र घरजम गरेकी थिइनन्। यदि उनलाई निष्कासन गरियो भने, के उनको कतै जाने ठाउँ छ? उनले मलाई गरेको हेरचाह र पदोन्नतिको बारेमा सोच्दा, म दोधारमा परेँ। मूल्याङ्कन लेखौँ भने उनी सम्भवतः उनको खराब व्यवहारको कारण निष्कासित हुनेछिन्। नलेखौँ भने म मण्डली कामको रक्षा गर्दैनथेँ वा परमेश्‍वरप्रति बफादार हुने थिइनँ। यही सोचेर मैले सम्झौताको बाटो लिएँ। वर्षौँ भइसकेको थियो, र मेरो स्मरण त्यति राम्रो थिएन। मैले धेरै विवरणहरू बिर्सिसकेको थिएँ, त्यसैले ती कुरा सम्झिन धेरै मिहिनेत गर्नुको कुनै फाइदा थिएन। मैले स्पष्‍टसँग सम्झेका केही कुराहरू मात्रै टिपेँ भने हुन्छ। जब यो विचार उत्पन्न भयो, मनमा आफैप्रति धिक्‍कार लाग्यो। के यो विश्‍वासघात र धोका मात्रै भएन र? अब भनेको मानिसलाई प्रकट गर्ने परमेश्‍वरको कामको अन्तिम चरण हो, र यसमा मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ। दुष्‍ट, ख्रीष्‍टविरोधी, गैरविश्‍वासी र दुष्‍टात्माहरूलाई निष्कासन गरेपछि मात्र मण्डली शुद्ध हुनेछ र आफ्नो काम सजिलैसँग गर्न सक्षम बन्नेछ। चाङ ह्वा दुष्‍ट थिइन् भन्ने मलाई राम्रोसँग थाहा थियो, तर म उनलाई खुलासा गर्न चाहन्नथेँ—म उनलाई आश्रय दिन, लुकाउन चाहन्थेँ। यसो गर्नु त शैतानको पक्षमा उभिएर परमेश्‍वरको प्रतिरोध गर्नु थियो। यो बुझेर म भयभीत भएँ। मैले उनका सबै कार्यहरू सम्झिन सक्दो कोसिस गरेँ र ती कुरा अगुवालाई दिनका लागि लेखेँ।

पत्र पठाएपछि मलाई अलिक सहज महसुस भयो, तर उदासी भावना अझै रही नै रह्यो। यदि म कुनै दिन आफ्नो गृहनगर फर्केँ र चाङ ह्वाले उनका दुष्कर्महरू खुलासा गर्ने व्यक्ति मै हुँ भन्ने कुरा थाहा पाइन् भने, उनले मलाई स्नेहहीन र बैगुनी पो भन्ने हुन् कि? धेरै दिनसम्म, यसबारे सोच्दा, मैले केही गल्ती गरेजस्तो लाग्यो। मैले सोचिरहेँ मलाई थाहा थियो, दुष्‍टहरूको खुलासा र रिपोर्ट गर्नु परमेश्‍वरको इच्छा र परमेश्‍वरका चुनिएकाहरू सबैको कर्तव्य हो, तर म किन यति दुःखी थिएँ, र उनको पर्दाफास गर्न चाहिनँ? मलाई किन उनीप्रति केही ऋणी छु जस्तो लाग्यो? चिन्तन गर्दै, मैले परमेश्‍वरले मानवजातिको नैतिकता चिरफार गर्दा उहाँले गुनहरू तिर्ने विषयलाई उल्लेख गर्नुभएको कुरा सम्झेँ। तसर्थ मैले परमेश्‍वरको वचन पढ्न सुरू गरेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्ति नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने विशिष्ट मापदण्ड हो। कुनै व्यक्तिको मानवता असल छ कि खराब र ऊ कति चरित्रवान् छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने अभ्यास गर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हो। चिनियाँ परम्‍परागत संस्कृतिमा, र वास्तवमा समग्र मानव परम्‍परागत संस्कृतिमा, मानिसहरूले यसलाई सदाचारको महत्त्वपूर्ण मापदण्डको रूपमा लिन्छन्। यदि कसैले ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने अभ्यास गर्दैन भने, ऊ अकृतज्ञ व्यक्ति हो र उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नरहेको व्यक्ति मानिन्छ। उसलाई सबैले घृणा, तिरस्कार वा इन्कार गर्छन्। अर्कोतर्फ, यदि कसैले ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने अभ्यास गर्छ भने, यदि ऊ कृतज्ञ छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफ्‍नो हातमा भएको हर साधनले तिर्छ भने, उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल ‘धन्यवाद’ भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्‍नेछ? सायद उसले झर्को मान्ला कि? के उसले यसो भन्‍न सक्छ, ‘यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन’? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्छन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहँदैनन्। के तिमीहरूले पनि यस्तो परिस्‍थितिमा साँच्‍चै सहयोग गरूँ कि नगरूँ भनेर सोच्दैनौ र? तिमीहरूले आफ्‍नो पहिलेको अनुभवबाट यस्तो पाठ सिकेका हुन्छौ, ‘मैले जसलाई पायो त्यसलाई सहयोग गर्नु हुँदैन—तिनीहरूले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भनेर बुझेको हुनुपर्छ। यदि तिनीहरू मैले दिएको सहयोगको ऋण नतिर्ने अकृतज्ञ खालकाहरू हुन् भने, मैले सहयोग नगर्दा नै राम्रो हुन्छ।’ के तिमीहरूको दृष्टिकोण यस्तै हुँदैन र? (हो, हुन्छ।)” (वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरको वचन पढेपछि, मैले आफू दुःखी हुनुको र उनीप्रति ऋणी महसुस गर्नुको कारण पत्ता लगाएँ। गुनहरू तिर्ने नैतिक सिद्धान्तले मलाई झुक्याएको र विषाक्त बनाएको थियो। मेरो बाल्यकालभरि, मेरा बाआमा, अग्रजहरू, वा गाउँलेहरूले गफ गर्दा, उनीहरूको कुराकानीमा “गुनहरू तिर्ने” भन्ने वाक्यांश बारम्बार आउँथ्यो। मद्दत प्राप्‍त गर्ने व्यक्तिले पछि कसरी गुन तिर्‍यो भनेको सुन्दा, उनीहरू उक्त व्यक्तिको प्रशंसा गर्थे र यस्ता मानिस असल, विवेकी, र मित्रता गर्न लायक हुन्छन् भनेर भन्थे। उनीहरू त्यस्ता मानिसहरूको प्रशंसा र आदर गर्थे, र तिनीहरूलाई देख्दा खुसीसाथ अभिवादन गर्थे। तर कसैले गुनको पैँचो तिरेन भने, तिनीहरूसँग सङ्गत नै गर्न चाहँदैनथे। उनीहरूले व्यक्तिगत रूपमा त्यस्ता मानिसहरूलाई बैगुनी, विवेकहीन र मानवताहीनको बिल्ला भिराउँथे, र तिनीहरूलाई कुनै अभिवादन नै गर्दैनथे। आफ्नो बाल्यकालको परिवेशबाट आएका यस्ता मूल्यहरूमा डुबेकोले, मैले सधैँ गुनहरू तिर्ने कुरा अभ्यास गर्ने प्रयास गरेँ। मैले मलाई मद्दत गरेका वा मेरो परिवारलाई मद्दत गरेका सबैलाई सम्झिनुपर्थ्यो, र सकेसम्म चाँडो गुन तिर्नुपर्थ्यो। त्यतिखेरै त्यो सम्भव नभएमा, मैले कुर्नुपर्थ्यो र पछि सकेको बेला त्यो तिर्नुपर्थ्यो। यो एक कुलिन, विवेकी, इमानदार व्यक्तिले गर्नुपर्ने व्यवहारजस्तो लाग्थ्यो, र यसले मलाई मेरो वरपरका मानिसहरूको सहयोग लिन मद्दत गर्‍यो। तर चाङ ह्वाको सन्दर्भमा, मैले उनका सबै पदोन्नति, चासो र सहयोगको पैँचो तिर्न सकेको छैन भन्ने लाग्यो, र मैले उनका दुष्कर्महरू पनि खुलासा गरेको थिएँ। मेरो विवेकले दोष दियो र आफू बैगुनी बनेको महसुस भयो। यी विचारहरूले मलाई अझै पनि यस्तो पकडमा राखेका थिए कि मैले दुष्‍ट मानिसहरू र गैरविश्‍वासीहरूले मण्डली काम र ब्रदर-सिस्टरहरूको कर्तव्यमा बाधा मात्रै पुर्‍याउन सक्छन् भन्ने थाहा पाए पनि म अझै उनका दुष्कर्महरू उजागर गर्न इच्छुक भइनँ। गुनहरू तिर्ने अवधारणाले मलाई ठूलो छल र बाधा गर्‍यो।

त्यसपछि मैले अझ बढी परमेश्‍वरको वचन पढेँ। “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ जस्ता नैतिक चालका अभिव्यक्तिहरूले मानिसहरूलाई समाजको सदस्य र मानवजातिको भागको रूपमा तिनीहरूका जिम्‍मेवारीहरू ठ्याक्‍कै के-के हुन् त भनेर भन्दैनन्। ती त मानिसहरूले चाहे पनि नचाहे पनि, र परिस्‍थिति वा प्रसङ्ग जस्तो भए पनि, तिनीहरूलाई निश्‍चित तरिकाले व्यवहार गर्न र सोच्‍न बाध्य पार्ने वा जबरजस्ती गर्ने तरिका हुन्। प्राचीन चीनबाट आएका यसका प्रशस्‍त उदाहरणहरू छन्। जस्तै, एउटा भोकले मर्न आँटेको भिखारी केटोलाई एउटा परिवारले लगेर खानेकुरा दिन्छ, लुगा दिन्छ, मार्सल आर्ट सिकाउँछ, र हरकिसिमका ज्ञान दिन्छ। तिनीहरूले ऊ ठूलो हुञ्‍जेल पर्खन्छन्, त्यसपछि उसलाई आम्दानीको स्रोतको रूपमा प्रयोग गर्छन्, उसलाई दुष्ट काम गर्न, मानिसहरूलाई मार्न, र सबै कुरा गर्न पठाउँछन्, जुन काम गर्ने उसलाई चाहना हुँदैन। यदि तिमीहरूले यो कथालाई उसले पाएका सबै दयाको आधारमा हेर्छौ भने, उसलाई बचाउनु राम्रो कुरा थियो। तर पछि उसलाई जुन काम जबरजस्ती गर्न लगाइयो त्यसबारे विचार गर्दा, यो असल थियो कि खराब? (खराब थियो।) तर ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्‍परागत संस्कृतिको शिक्षणले गर्दा, मानिसहरूले यस कुराको भिन्‍नता छुट्याउन सक्दैनन्। झट्ट हेर्दा, त्यस केटासँग दुष्कर्म गर्ने, मानिसहरूलाई हानि गर्ने, र हत्यारा बन्‍नेबाहेक कुनै विकल्‍प नभएको देखिन्छ—जुन धेरैजसो मानिसहरूले गर्न चाहँदैनन्। तर के दयाको ऋण तिर्ने इच्‍छाबाट उसमा आफ्‍नो मालिकको लागि खराब काम गर्ने र हत्या गर्ने तत्परता आएको हुँदैन र? विशेष गरी ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने चिनियाँ परम्‍परागत संस्कृतिको शिक्षणले मानिसहरूमा पारेको प्रभावको कारण, तिनीहरू यी विचारहरूको प्रभाव र नियन्त्रणमा नपरी बस्‍न सक्दैनन्। तिनीहरूले गर्ने कार्य, र ती कार्यपछाडि रहेका तिनीहरूका अभिप्राय र मनसायहरू पनि यी विचारहरूद्वारा नियन्त्रित हुन्छन्। जब त्यस केटालाई त्यो परिस्थितिमा पारियो, उसमा पहिलो सोच के आएको थियो होला? ‘मलाई यो परिवारले बचाएको हो, र उनीहरूले मसँग राम्रो व्यवहार गरेका छन्। म अकृतज्ञ हुनु हुँदैन, उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मलाई जीवन दिने उनीहरू नै हुन्, त्यसैले मैले यो जीवन उनीहरूमै समर्पित गर्नुपर्छ। उनीहरूले मलाई जे भन्छन् मैले त्यही गर्नुपर्छ, चाहे त्यसको लागि दुष्ट काम गर्नु र मानिसहरूलाई मार्नु नै किन नपरोस्। यो सही हो कि गलत हो भनेर मैले विचार गर्नु हुँदैन, मैले चुपचाप उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मैले त्यसो गरिनँ भने म कस्तो मान्छे हुन्छु?’ फलस्वरूप, जबजब त्यो परिवारले उसलाई कसैको हत्या गर्न वा गलत काम गर्न लगाउँथ्यो, उसले नहिचकिचाइ वा कुनै कसर नराखी त्यसो गर्थ्यो। के उसको चाल र व्यवहार, उसको पूर्ण आज्ञापालन ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने सोचबाट आएको होइन र? के उसले त्यो नीतिवचन पालन गरिरहेको थिएन र? (हो।) यो उदाहरणबाट तिमीहरूले के सिक्यौ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने कुरा राम्रो हो कि होइन? (होइन, यसमा कुनै सिद्धान्त छैन।) वास्तवमा, दयाको ऋण तिर्ने व्यक्तिमा सिद्धान्त हुन्छ, र त्यो हो ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’। कसैले तँलाई दया गर्छ भने, तैँले पनि दया फर्काउनुपर्छ। यदि तैँले त्यसो गर्न सकिनस् भने, तँ मानव होइनस् र तँलाई यसको दोषी ठहराइयो भने तैँले भन्‍न सक्‍ने केही हुँदैन। भनिन्छ: ‘एक थोपा पानीको ऋण बगिरहने मूलले तिर्नुपर्छ,’ तर यो घटनमा त, त्यो केटोले जीवन बचाउने दया पायो, र उसले जीवनले नै ऋण तिर्नुपर्‍यो। दयाको ऋण तिर्ने सीमा वा सिद्धान्तहरू के-के हुन् भन्‍ने उसलाई थाहा थिएन। उसले आफ्नो जीवन त्यो परिवारले दिएको हो भन्‍ने विश्‍वास गर्थ्यो, त्यसैले यसको सट्टा आफ्‍नो जीवन तिनीहरूमा समर्पित गर्‍यो र तिनीहरूले जे अह्राए पनि, हत्या वा अन्य दुष्कर्म सबै गर्‍यो। दयाको ऋण तिर्ने यस्तो तरिकामा कुनै सिद्धान्त वा सीमा हुँदैन। उसले आफूमा पशु हुर्कायो र यस क्रममा आफूलाई बरबाद पार्‍यो। के उसले यसरी दयाको ऋण तिर्नु सही थियो? अवश्यै थिएन। यो मूर्खता थियो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। भिखारीले गुन तिरेको परमेश्‍वरको उदाहरणमार्फत, गुनहरू तिर्नु भनेको हामीलाई विषाक्त पार्ने शैतानी भ्रम हो भन्ने कुरा बुझेँ। गुनहरू तिर्ने अवधारणाले हाम्रो आत्मालाई मात्र सङ्कीर्ण पार्दैन, हाम्रा विचारहरूलाई पनि विकृत बनाउँछ, मानिसहरूबीचको सामान्य मद्दतलाई कृतज्ञताको ऋणमा परिणत गर्छ जुन सम्झेर तिर्नुपर्छ, नत्र ऊ विवेकहीन र मानवताहीन व्यक्तिको रूपमा दरिन्छ। यो भ्रामक र विषालु नैतिकताको कारण कति मानिसले उचित आचरण छोडिसके? जसले मदत गरेको भए पनि, चाहे त्यो दुष्कर्मी होस् वा गलत मनसाय भएको कोही होस्, जसले फाइदा पाउँछ उसले दिलोज्यान लगाएर गुन तिर्नुपर्छ, चाहे त्यसको लागि हत्या र अन्य दुष्‍ट काम नै गर्नु किन नपरोस्। त्यसैले गुनहरू तिर्नुपर्ने नैतिकताले मानिसलाई वास्तवमै विषाक्त पार्दो रहेछ भन्‍ने महसुस भयो। जब मैले चाङ ह्वाले अगुवाहरूलाई आक्रमण गरेको र मण्डली काम बिथोलेको बारेमा सोचेँ, मलाई थाहा थियो, अगुवाले चाङ ह्वाको मूल्याङ्कन गर्न लगाउनुको उद्देश्य उनलाई निष्कासन गर्ने वा नगर्ने निर्णय गर्नका लागि सामान्यतया उनले कस्तो व्यवहार गर्छिन् भन्ने कुरा स्पष्‍ट रूपमा बुझ्नु थियो। तर “गुनहरू तिर्ने” विचारको छल र प्रभावले, अनि चाङ ह्वाले मलाई पदोन्नति र हेरचाह गरेको र उनका सबै गुनहरू सम्झँदा मात्रै पनि मलाई उनका दुष्कर्महरू ढाकछोप गर्न मन लाग्यो। असल र दुष्‍ट, राम्रो र नराम्रोबीच भिन्नता छुट्याउन म साह्रै अलमलमा परेँ! यस बिन्दुमा, म गुनहरू तिर्ने विचारको बारेमा केही कुराहरू बुझ्न सक्षम भएँ। यो सकारात्मक कुरा होइन, बरू शैतानले मानिसलाई छल्न र भ्रष्‍ट पार्न प्रयोग गर्ने भ्रम हो भन्ने थाहा भयो। मैले योअनुसार जिउनु हुँदैन, र यसलाई आचरण सिद्धान्तको रूपमा लिनु हुँदैन भन्ने थाहा भयो।

पछि मैले अझ धेरै परमेश्‍वरको वचन पढेँ। “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्‍परागत सांस्कृतिक अवधारणाको भित्री कुरा बुझ्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण शब्‍द ‘दया’ हो—यो दयालाई कसरी हेर्ने? यसले ‘दया’ को कुन पक्ष र प्रकृतिलाई जनाइरहेको छ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने कुराको महत्त्व के हो? सत्यता खोजी गर्ने सबैले यी प्रश्‍नहरूको उत्तर पत्ता लगाउनु अत्यावश्यक छ। मानव धारणाअनुसार ‘दया’ भनेको के हो? सामान्य तहमा, दया भनेको तँ समस्यामा हुँदा कसैले तँलाई सहयोग गर्नु हो। उदाहरणको लागि, तँलाई साह्रै भोक लागेको बेला कसैले तँलाई एक थाल भात दिनु, वा तँ तिर्खाले मर्न लागेको बेला एक बोतल पानी दिनु, वा तँ लडेर उठ्न नसक्दा तँलाई उठ्न सहयोग गर्नु हो। यी सबै दयाका काम हुन्। दयाको ठूलो काम भनेको तँ कठिन परिस्थितिमा हुँदा कसैले तँलाई उद्धार गर्नु हो—त्यो जीवन बचाउने दया, वा तेरो ज्यान खतरामा हुँदा कसैले तँलाई मर्नबाट जोगाउने कुरा हो, त्यो आधारभूत रूपमा तेरो जीवन बचाउनु हो। मानिसहरूले ‘दया’ को रूपमा लिने केही कुराहरू यिनै हुन्। यस प्रकारको दयाका कामहरू सानातिना, भौतिक निगाहभन्दा निकै ठूला हुन्छन्—यो ठूलो दया हो जसलाई पैसा वा भौतिक कुराहरूको आधारमा मापन गर्न सकिँदैन। यो प्राप्त गर्ने मानिसहरूले यति कृतज्ञ महसुस गर्छन् जसलाई धन्यवादका केही शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तैपनि, के मानिसहरूले यसरी दयालाई मापन गर्नु सही हो त? (होइन।) किन होइन? (किनभने यो मापन परम्‍परागत संस्कृतिका मापदण्डहरूका आधारमा गरिएको हुन्छ।) यो सिद्धान्त र धार्मिक वादमा आधारित उत्तर हो, र यो सही देखिए पनि, यसले मामलाको सार प्रस्तुत गर्दैन। त्यसकारण, यसलाई कसरी व्यावहारिक रूपमा व्याख्या गर्न सकिन्छ? यसबारेमा ध्यान दिएर सोच। केही समयअगाडि, मैले एउटा भिडियोको बारेमा सुनेको थिएँ, जसमा एउटा मान्छेले थाहै नपाई आफ्‍नो वालेट खसाउँछ। त्यो वालेट एउटा सानो कुकुरले भेट्छ र त्यो कुकुर उसको पछि लाग्छ, र त्यो मान्छेले त्यसलाई देखेपछि त्यो कुकुरले वालेट चोरेछ भनेर कुटेर त्यसलाई मार्छ। कस्तो मूर्खता, होइन? त्यो मान्छेमा कुकुरमा जत्ति पनि नैतिकता छैन! कुकुरको त्यो काम नैतिकतासम्‍बन्धी मानव मापदण्डअनुरूप नै थियो। मान्छे भए ‘तपाईंको वालेट खस्यो!’ भनेर भन्‍ने थियो, तर कुकुरको बोली नभएको कारण, यसले चुपचाप वालेट उठायो र त्यो मान्छेको पछि दगुर्‍यो। त्यसकारण, यदि एउटा कुकुरले परम्‍परागत संस्कृतिले प्रवर्धन गरेको केही असल व्यवहार लागू गर्न सक्छ भने, त्यसले मान्छेको बारेमा के भन्छ? मानिस विवेक र समझसहित जन्‍मेको हुन्छ, त्यसकारण यी कुराहरू गर्नका लागि तिनीहरू झन् सक्षम हुन्छन्। जबसम्‍म कुनै व्यक्तिमा विवेक हुन्छ, तबसम्म उसले यस्ता जिम्‍मेवारी र दायित्वहरू पूरा गर्न सक्छ। तिनीहरूले कठिन परिश्रम गर्नु वा मूल्य चुकाउनु पर्दैन, तिनीहरूले थोरै प्रयास गरे पुग्छ, आखिर यो कुरा अरूलाई मदत मिल्‍ने र फाइदा पुग्‍ने केही काम गर्नु मात्र हो। तर यस्तो प्रकृतिको कामलाई ‘दया’ भन्‍न सुहाउँछ? के यो काम दयाको स्तरमा पुग्छ? (पुग्दैन।) यदि पुग्दैन भने, के मानिसहरूले यसको ऋण तिर्नेबारे कुरा गरिरहनु आवश्यक छ? त्यो आवश्‍यक छैन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। उहाँको वचन मनन गर्दा, मेरो हृदयले अन्तर्दृष्‍टि पायो। परमेश्‍वर भन्नुहुन्छ, “सबैभन्दा महत्त्वपूर्ण शब्‍द ‘दया’ हो—यो दयालाई कसरी हेर्ने?” “गुन” लाई कसरी बुझ्ने भनेर पत्ता लगाउन सक्नेबित्तिकै म सत्य देख्न थालेँ र त्यहाँदेखि त्यसबाट भ्रमित वा नियन्त्रित भइनँ। तसर्थ मैले यसबारे विचार गरेँ। चाङ ह्वाले मुख्यतः दुई तरिकाले मलाई गुन लगाएकी थिइन् भन्ने मलाई विश्‍वास थियो। पहिलो, उनले मेरो पदोन्नति गरिन्। दोस्रो, उनी अगुवा भएकी बेला एक ब्रदरमार्फत मलाई औषधी उपलब्ध गराइन्। अब, के यी साँच्चै गुन थिए त? वास्तवमा, कोही बिरामी हुँदा वा केही कठिनाइमा पर्दा, केही राहत प्रदान गर्न सहयोगी हात फैलाउनु सामान्य व्यवहार हो—यो सामान्य विवेक हो। तर यसमा पैँचो नै तिर्नुपर्ने खालको विशेष गुन सायदै मात्र हुन्छ। जब चाङ ह्वाले मेरो कलेजो रोगको बारेमा थाहा पाई ती ब्रदरलाई औषधी दिन लगाइन्, यसलाई त उनको जिम्मेवारीको रूपमा लिन सकिन्छ, जुन विवेक भएका सबै विवेकशील मानिसमा हुन्छ। तर मैले उनको सहयोगलाई मनमा राखेँ र यसलाई तिर्नैपर्ने विशेष गुनको रूपमा लिएँ, र उनका दुष्कर्महरू ढाकछोप गरेरै भए पनि उनलाई मण्डलीमा राख्ने प्रयास गरेँ। यसरी उनको गुन तिरेर, के म आफ्नो स्वार्थको लागि मण्डली हितलाई त्याग्दै थिइनँ र? म पूरै अलमलमा परेँ।

चाङ ह्वाले मलाई गरेको पदोन्नति विषेश गुनमै गनिन्छ कि भनेर पनि विचार गरेँ। मैले परमेश्‍वरका वचनमा भनिएको कुरा सम्झेँ: “तिमीहरूले यो समस्यालाई राम्ररी हेर्नुपर्छ। कालखण्ड जुन भए पनि वा कामको जुन चरण अघि बढिरहेको भए पनि, सहकार्यका लागि परमेश्‍वरलाई सधैँ एक भाग मानिसहरूको आवश्यकता पर्छ। यी मानिसहरूले परमेश्‍वरको काममा सहकार्य गर्नेछन् वा सुसमाचार फैलाउने काममा सहभागिता जनाउनेछन् भनेर परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। … परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्ने तिमीहरूमध्ये कोचाहिँ संयोगवश आएका छौ र? तिमीहरू जुनसुकै पृष्ठभूमिका भए पनि, तिमीहरू संयोगले आफ्‍नो कर्तव्य निभाइरहेका छैनौ। यी कर्तव्यहरू जथाभाबी छनौट गरिएका धेरै विश्‍वासीहरूले पूरा गर्न सक्दैनन्; यी कुराहरू परमेश्‍वरले युगौँपहिले पूर्वनिर्धारित गर्नुभएको थियो। कुनै कुरा पूर्वनिर्धारित गर्नु भनेको के हो? यसको पूर्ण विवरण के-केस्तो छ? यो कस्तो के हो भने, उहाँको सम्पूर्ण व्यवस्थापन योजनामा परमेश्‍वरले धेरै लामो समयअघि नै तँ कति चोटि मानिसको संसारको माझमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको योग्यता हुनेछ, तँ कतिको स्पष्टवादी हुनेछस्, तेरो के क्षमता हुनेछ, तँ कस्तो रूपाङ्गको हुनेछस्, कुन उमेरमा तँ परमेश्‍वरको घरमा आउनेछस् अनि तेरो कर्तव्य गर्न थाल्नेछस् र त्यस समय तैँले कस्तो कर्तव्य पूरा गर्नेछस् भनेर योजना गरिसक्‍नुभएको छ—परमेश्‍वरले धेरै समयअघि नै तेरो लागि हरकदम पूर्वनिर्धारित गरिसक्‍नुभएको छ। तँ जन्मनअघि, जब तँ अन्तिमका धेरै वटा जीवनमा मानिसको माझमा आइस्, तब यो अवधिमा, कामको यो अन्तिम चरणमा तैँले के कर्तव्य पूरा गर्नेछस् भनी परमेश्‍वरले बन्दोबस्त मिलाइसक्नुभएको थियो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरू जति मनन गरेँ, कुराहरू त्यति नै स्पष्‍ट हुँदै गए। मैले पठन-सामग्रीसम्बन्धी काम चाङ ह्वाले पदोन्नति गरेको कारण पाएजस्तो देखिन्थ्यो होला, तर सबै कुरा मिलाउने त परमेश्‍वर नै हुनुहुन्छ। उहाँले नै मलाई बिस्तारै यो भूमिकामा डोहोर्‍याउनुभयो। यदि परमेश्‍वरको घरमा यो काम नभएको भए, मैले यो कर्तव्य पूरा गर्न सक्दिनथेँ। अनि के यो सबै परमेश्‍वरको कामको परिणामस्वरूप भएको थिएन र? म परमेश्‍वरप्रति आभारी र कृतज्ञ हुनुपर्थ्यो, तर मैले भने अझै पनि चाङ ह्वालाई यो सहयोगको स्रोतको रूपमा लिएँ, र उनलाई नै यसको पैँचो तिर्न चाहेँ। मैले परमेश्‍वरको अनुग्रह देख्न सकिनँ, मानिसको मात्रै देखेँ। म साँच्चै अबुझ, अज्ञानी, अनुचित र मूर्ख थिएँ। मण्डली अगुवाको हैसियतमा चाङ ह्वाको कर्तव्य परमेश्‍वरको घरको कामको आवश्यकताअनुसार मानिसहरूलाई तालिम दिनु र पदोन्नति गर्नु थियो—मैले यो गुन अर्को व्यक्तिलाई तिर्नुको सट्टा, परमेश्‍वरलाई धन्यवाद दिनुपर्थ्यो। मैले यो बुझेपछि, मलाई राहत महसुस भयो। दश वर्षभन्दा बढी समयदेखिको मेरो उनीप्रतिको कृतज्ञता, उनले मलाई सराहना गरेकोप्रति मैले महसुस गरेको कृतज्ञता, र उनको गुन तिर्ने मेरो इच्छा सबै गायब भए। त्यसउप्रान्त मैले उनीप्रति ऋणी महसुस गरिनँ र उनका दुष्‍ट कामहरू खुलासा गरेकोमा दुःख लागेन। बैगुनी हुनुको आत्मदोष पनि हरायो र हामीबीच कुनै गुनको सवालै रहेन। परमेश्‍वरले भन्नुभएजस्तै, “मेरो लागि त यस प्रकारको ‘दया’ अस्तित्वमै हुँदैन, र सायद तिमीहरूलाई पनि त्यस्तै लाग्छ भन्‍ने आशा छ। त्यसो भए, तिमीहरूले यसबारे कसरी विचार गर्नुपर्छ? यसलाई केवल दायित्व, जिम्‍मेवारी र प्राकृतिक मानव नैसर्गिक गुणको रूपमा लिनुपर्छ। तिमीहरूले यसलाई मानवको रूपमा तिमीहरूको जिम्‍मेवारी र दायित्वको रूपमा लिनुपर्छ, र यसलाई आफ्‍नो क्षमताले भ्याउञ्‍जेल गर्नुपर्छ। त्यति भए पुग्छ(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरको वचनले मलाई गुनको पैँचो तिर्नुपर्ने आवश्यकताको बन्धनबाट मुक्त गर्‍यो र यी विषयहरूसम्बन्धी मेरो दृष्‍टिकोण सच्याइदियो। म उहाँप्रति अत्यन्तै आभारी छु।

त्यसैले जे भए पनि, मलाई यो कुरा समाप्‍त भयो भन्ने लाग्यो। तर केही दिनअघि, मेरो गृहनगरको मण्डलीले मलाई चाङ ह्वाको व्यवहारबारे, साथै कहाँ र कहिले के-के भए भन्‍नेबारे, अनि उनी कहिले ख्रीष्‍टविरोधी र दुष्‍ट मानिसहरूको पक्षमा उभिइन्, र दुष्कर्म गर्न ख्रीष्‍ट-विरोधीहरूको पछि लागिन् भन्‍नेबारे स्पष्‍ट खुलाएर लेख्न आग्रह गर्दै पत्र लेख्यो। यस्तो प्रमाण बिना, उनलाई निष्कासन गर्न असम्भव हुन्थ्यो। पत्र पाएपछि, मलाई अझै पनि अलि असहज भयो। मैले त्यो लेख्दा, चाङ ह्वा निश्‍चित रूपमा निष्कासित हुने थिइन्। उनी मलाई असाध्यै राम्रो गर्थिन्। यदि मैले यसो गर्थेँ भने, के म … तर यहाँ गुनहरू तिर्ने शैतानी सिद्धान्तले काम गरिरहेको छ भन्ने मैले तुरुन्तै बुझिहालेँ। मैले यो विचारलाई बेवास्ता गरेर परमेश्‍वरको वचनअनुसार अभ्यास गर्नुपर्ने थियो। मलाई परमेश्‍वरको वचन याद आयोः “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ। यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।’ यी वचनहरू स्पष्ट छन्…(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरको वचनले के स्पष्‍ट पार्छ भनेः हामीले मानिसहरूलाई सिद्धान्तका आधारमा व्यवहार गर्नुपर्छ, परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम र घृणा गर्ने कुरालाई घृणा गर्नुपर्छ। सत्य पछ्याउने र अभ्यास गर्नेहरू हाम्रा ब्रदर-सिस्टर हुन् र उनीहरूसँग प्रेमसाथ व्यवहार गर्नुपर्छ। सत्य पटक्कै नपछ्याउने वा अभ्यास नगर्नेहरू, वा मण्डलीको काम बिथोल्ने दुष्‍ट कार्य गर्नेहरू ब्रदर-सिस्टर होइनन्, तिनीहरू त शैतानका नोकर र दुष्‍ट मानिस हुन्। तिनीहरूलाई खुलासा गर्न, चिन्‍न र मण्डलीबाट निष्कासन गर्न आवश्यक छ। यसो गर्नु मात्रै परमेश्‍वरको इच्छाअनुरूप हुन्छ। यो कुरा बुझेपछि मलाई कुनै हिचकिचाहट भएन। मैले पहिले उपलब्ध गराएका कागजातहरू हेरेर अनि राम्रोसित सम्झँदै, मैले उनका दुष्कर्महरूको बयान तयार पारेँ। आफ्नो जवाफ पठाएपछि, मैले शान्त र सहज महसुस गरेँ। अन्ततः गुनहरू तिर्ने अवधारणाको बन्धनबाट म बाहिर आएको थिएँ र मेरो हृदयले राहत महसुस गर्‍यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो सतर्कतालाई हटाउँदा

केही समयअघि, हामीले मण्डलीको छायाङ्कन कार्यका लागि केही तस्विरहरू बनाउनुपर्थ्यो। मेरा सहकर्मी ब्रदर साइमनले एउटा तस्विर डिजाइन गरेर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्