परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

15 अक्टोबर 2021

शू चाङ्ग, दक्षिण कोरिया

सन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न थाल्यो। त्यसपछि, उहाँ आश्‍चर्यजनक रूपमा निको हुनुभयो र त्यो बेलादेखि म उहाँसँग हरेक आइतबार मण्डली जान्थेँ। अनि सन् २००० को वसन्तमा, प्रभुको पुनरागमनको खुशीको खबर हाम्रो घरमा आइपुग्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, हामी उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा निश्‍चित भयौं, र हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्‍यौं। हामीले हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न थाल्यौं, र ती वचनले प्रदान गर्ने मलजल र भरणपोषणको आनन्द लियौं। यसले मलाई साँच्‍चै नै आत्मिक रूपमा पोषित गर्‍यो। प्रभुको आगमनको तृष्णा गर्ने कति जना मानिसहरूले अझै उहाँको आवाज सुनेका छैनन् वा प्रभुको पुनरागमनलाई स्वागत गरेका छैनन् भन्‍ने विचार गर्दा, मलाई मैले परमेश्‍वरको इच्‍छालाई बुझेर तिनीहरूसँग राज्यको सुसमाचार प्रचार गर्नुपर्छ भन्‍ने थाहा भयो। मैले चाँडै नै सुसमाचार सुनाउने कर्तव्य पूरा गर्न थालेँ। तर अनौठो कुरा, त्यसले गर्दा म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ परेँ।

जनवरी २०१३ को कुरा हो, म अरू छ जना दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा थिएँ, त्यस बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक आए। दुई जना मानिसहरू हातमा बन्दुक बोकेर अघि सेर, र हामीलाई भने, “हलचल नगर्! तिमीहरूलाई घेराबन्दी गरिएको छ।” अरू दुई जनासँग करेन्ट लगाउने लाठी थियो र तिनीहरू चिच्याए, “हात उचालेर भित्तातिर फर्की।” बन्दुक बोकेको एउटा प्रहरीले भन्यो, “हामीले तँलाई केही हप्तादेखि पछ्याउँदै आएका छौं। तँ छियाओछियाओ होस्।” यो सुनेर मलाई डर लाग्यो। तिनीहरूलाई कसरी मेरो उपनाम थाहा भयो? उसले भनेअनुसार, तिनीहरूले मलाई केही हप्तादेखि पछ्याइरहेका रहेछन्, त्यसो भए, के म हालै जताजता गएकी थिएँ त्यो तिनीहरूलाई थाहा थियो? के ती सबै दाजुभाइ-दिदीबहिनीहरू पनि पक्राउ परे? मैले यसको बारेमा सोच्‍न पनि सकिन। मैले चुपचाप अरूको लागि प्रार्थना मात्रै गरेँ। प्रहरीले गरेको तयारीलाई हेर्दा, तिनीहरूले मलाई सहजै जान दिनेछैनन् भन्‍ने मलाई थाहा भयो। चिन्तित हुँदै, मैले परमेश्‍वरलाई पुकारेँ। त्यसपछि परमेश्‍वरका यी वचनहरू मनमा आए: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र?” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १०”)। परमेश्‍वरका वचनहरूले मलाई शान्तिको अनुभूति प्रदान गरे। मलाई ती सबै प्रहरीलगायत सबै थोक उहाँकै हातमा छन् भन्‍ने थाहा थियो। मेरो पछाडिको शक्ति परमेश्‍वर नै हुनुहुन्थ्यो, त्यसैले मैले उहाँसँगै प्रार्थना र उहाँमै भर पर्नुपर्थ्यो। मैले थाहै नपाई प्रहरीले मलाई यति समयसम्‍म पछ्याइरहेको, र यसले मण्डलीमा ठूलो समस्या ल्याएको देखेर, यति अबुझ र सुस्त भएकोमा मलाई आफैप्रति घृणा लाग्यो। मैले त्यो बेला गर्न सक्‍ने भनेको मेरा दाजुभाइ-दिदीबहिनीहरूको लागि प्रार्थना गर्नु मात्रै थियो। मैले सङ्कल्प गर्दै, परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रहरीले मलाई जसरी यातना दिए पनि, म कहिल्यै पनि मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई झोसपोल गर्नेछैन। म यहूदा बनेर परमेश्‍वरलाई धोका दिनेछैन।” त्यो प्रार्थना गरेपछि मलाई त्यति धेरै डर लागेन। म विश्‍वास र सामर्थ्यले भरिएँ।

प्रहरीले डाँकुले झैँ सम्पूर्ण घरलाई लथालिङ्ग बनाइदिए। तिनीहरूले हाम्रो मोबाइल फोन, आठवटा भिडियो प्‍लेयर, चारवटा ट्याब्‍लेट, सुसमाचारका धेरैवटा पुस्तक-पुस्तिका र १०,००० युआन जफत गरे। तिनीहरूले म र अरू दुईजना सिस्टरहरूलाई लिभिङ रुममा लगेर टुक्रुक्क बस्‍न लगाए। त्यही बेला पुलिसले दाजुभाइहरूलाई कुटेको आवाज एउटा बेडरुमबाट आउन थाल्यो। रिस उठेर, मैले भनेँ, “हामीले परमेश्‍वरमा विश्‍वास मात्रै गर्छौं, हामीले कुनै गैरकानुनी काम गरेका छैनौं। तपाईंहरूले किन हामीलाई पक्रिरहनुभएको छ?” एक जना अफिसरले घृणास्पद शैलीमा भन्यो, “विश्‍वास गर्नु कानुन उल्‍लङ्घन गर्नु हो, यो अपराध हो। यदि कम्युनिस्ट पार्टीले तिमीहरूले कानुन उल्‍लङ्घन गरिरहेका छौ भनी भन्छ भने, तिमीहरूले कानुन उल्‍लङ्घन गरिरहेका छौ। पार्टीले ईश्‍वरमा विश्‍वास गर्न दिँदैन, तर तिमीहरूले अझै पनि पार्टीको इलाकामा विश्‍वास गर्ने आँट गर्छौ। यो तिमीहरूले आफूलाई पार्टीको विरुद्धमा उभ्याएको भयो। तिमीहरूले मृत्यु खोजेकै हौ!” मैले भनेँ, “के धार्मिक आस्थाको स्वतन्त्रतालाई कानुनी रूपमा सुनिश्‍चित गरिएको छैन र?” हाँस्दै, तिनीहरूले भने, “तँलाई केही पनि थाहा छैन! धार्मिक आस्थाको स्वतन्त्रता त विदेशीहरूलाई देखाउने कुरा मात्रै हो, तर तिमीहरू विश्‍वासीले पाउने यही हो!” यसो भन्दै गर्दा उसले मलाई थप्पड हान्यो र एउटी महिला अफिसर आएर मलाई नाडीमा लात मारी। म क्रोधित भएँ र मेरो मनमा परमेश्‍वरका यी वचनहरू आए: “धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। कम्युनिस्ट पार्टी इन्‍चार्ज हुनु भनेको त वास्तवमा शैतान इन्‍चार्ज हुनु हो। तिनीहरूको सबै कानुन छल गर्नका लागि हुन्। तिनीहरूले बाहिरका मानिसहरूलाई धार्मिक आस्थाको स्वतन्त्रता छ भनेर भन्छन्, तर वास्तविकतामा तिनीहरूले कसैलाई पनि परमेश्‍वरमा विश्‍वास गर्न र सही मार्ग लिन दिँदैनन्। तिनीहरूले कुनै पनि सकारात्मक कुरालाई अनुमति दिँदैनन्। तिनीहरूले व्यापक रूपमा इसाईहरूलाई पक्राउ र हानि गर्छन्। ती पुलिसहरू त बर्दी लगाएका डाँकु र बदमासहरू मात्र थिए। तिनीहरूसँग मैले तर्क गर्न खोज्‍नु हास्यास्पद कुरा थियो! जब तिनीहरूले मलाई प्रहरीको गाडीमा हाले, हामीलाई अरू धेरै प्रहरीका गाडीले घेरेका रहेछन् भन्‍ने मैले देखेँ।

हामीलाई काउन्टीको राष्ट्रिय सुरक्षा ब्रिगेडमा लगेपछि, एकजना अफिसरले मलाई भन्यो, “हामीले तँसँग एउटा ठूलो माछा पक्रेका छौं। हामीलाई तेरो बारेमा सबै कुरा थाहा छ। तँ विगत केही हप्तामा गएका हरेक सहर, हरेक काउन्टी हामीलाई थाहा छ। तँ पक्‍कै मण्डली अगुवा हुनुपर्छ, नत्र भने तँलाई पक्राउ गर्नको लागि हामीले यति धेरै शक्तिको परिचालन गर्नेथिएनौं। हामी तँलाई यहाँ सोधपुछ गर्नेछैनौं। त्यसको लागि हामीसँग ‘राम्रो स्थान’ छ। मलाई डर छ यसले तँलाई व्याकुल बनाउनेछ!” त्यसपछि मात्रै मलाई तिनीहरू म मण्डली अगुवा हुँ भनेर झुक्‍किएका रहेछन् भन्‍ने थाहा भयो। अनि मलाई वास्तविक अगुवाहरू अलिक सुरक्षित हुनेछन् भनी अलिक ढुक्‍क भयो। तर मलाई अझै पनि चिन्ता लागेको थियो। म मण्डली अगुवा हो भन्ने ठानेका हुनाले तिनीहरूले मलाई सहजै छोड्ने छैनन् भन्‍ने मलाई थाहा थियो। तिनीहरूले मलाई कसरी यातना दिनेछन् भन्‍ने थाहा थिएन। मैले परमेश्‍वरलाई विश्‍वास र सामर्थ्यको लागि प्रार्थना गरेँ, मलाई गवाही बन्‍न सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ। त्यो रात ११ बजेपछि, तिनीहरूले मलाई पुलिसको गाडीमा हालेर “राम्रो स्थान” मा लगे। कारमा हुँदा, पुलिसले भन्यो, “सर्वशक्तिमान्‌ परमेश्‍वरका यी विश्‍वासीहरूलाई कसरी तह लगाउने तपाईंहरूलाई थाहै छैन। तिनीहरूबाट कुनै कुरा पत्ता लगाउनको लागि हात निकै गह्रौं बनाउनुपर्छ। जेले काम गर्छ हामीले त्यही गर्नुपर्छ, नत्रभने तिनीहरूले स्वीकार नगर्न सक्छन्।” अर्को अफिसरले भन्यो, “अँ, अवश्य नै। मैले त सुनेको छु तपाईंसँग यी विश्‍वासीहरूलाई तह लगाउने गजबको उपाय छ रे। त्यसैले त हामीले तपाईंलाई यसमा समावेश गरेका छौं।” यो कुरा सुनेर मैले तिनीहरूले मेरो लागि कस्तो यातना सोचेका रहेछन् भन्‍ने बारेमा विचार गरेँ। मैले मौन भई परमेश्‍वरसँग प्रार्थना गरेँ, र प्रभु येशूका यी वचनहरू मनमा आए: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डरायो जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ” (मत्ती १०:२८)। “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासलाई दह्रिलो बनाए। मेरो जीवन परमेश्‍वरकै हातमा छ, मेरो प्राण उहाँकै हातमा छ भन्‍ने मलाई थाहा थियो। त्यसकारण मैले परमेश्‍वरको योजनाहरूमा नै समर्पित हुने र उहाँलाई कहिल्यै धोका नदिने सङ्कल्प गरेँ, चाहे यसको लागि म मर्नु नै किन नपरोस्!

तिनीहरूले मलाई काउन्टीको प्रहरी चौकीमा लगे र हामी सोधपुछ कोठामा पुग्‍नेबित्तिकै, मैले एकजना ब्रदर नराम्ररी रोइरहेको सुनेँ। एकजना अफिसरले निगरानी उपकरण बन्द गर्ने आदेश दियो, अनि अरू दुई जनाले आएर मेरो दाहिने पाखुरा काँधपछाडि र देब्रे पाखुरा मुनिबाट ढाडतिर बटारिने गरी मलाई हतकडी लगाए। तिनीहरूले हतकडी तलमाथि झट्कारे, र मेरो नाडी भाँचिएला जस्तै भयो। त्यसपछि, तिनीहरूले मेरो बाँधिएको नाडी र ढाडको बीचमा बाघे कुर्सीको खुट्टा घुसारे। मलाई मेरा पाखुराहरू च्यातिँदै गरेजस्तो लाग्यो। यसले यति पीडा भयो कि मेरो अनुहारबाट पसिना बगिरहेको थियो। एकजना अफिसरले हतकडीमा तान्दै भन्यो, “धेरै दुख्यो? कस्तो लाग्यो?” अर्कोले हाँस्दै भन्यो, “तैँले वेश्याको काम किन नगरेको? तँ वेश्या भएकी भए त हामी तँलाई पक्राउ गर्नेथिएनौं।” त्यो कुरा सुनेर अरू सबै हाँसे। तिनीहरूको लज्जाहीनता देखेर मलाई घिन लाग्यो। प्रहरी अधिकारीहरूको मुखबाट त्यस्तो घिनलाग्दो कुरा निस्किन्छ भनेर मैले कहिल्यै पनि कल्‍पना गरेकी थिइन। तिनीहरू पशुभन्दा पनि नीच छन्! त्यसपछि तिनीहरूमध्ये एकजनाले भन्यो, “यो सोधपुछलाई हतार नगरौं। अन्तिममा यसले आफूलाई थाहा भएको कुरा भन्‍न आतुरी गर्नेछे। अहिलेदेखि, त्यसलाई खान, सुत्‍न, र बाथरूम जान नदेओ। त्यसले कति लामो समयसम्‍म सहन सक्दी रहेछ हेरौं!” त्यसपछि उसले मेरा नाडीहरू बल लगाएर तान्यो, कम्‍मर-कम्‍मर आउने फलामको रेलिङ्गसम्‍म पुग्‍ने गरी बटार्‍यो। म घुँडा टेक्‍न वा उभिन सक्दिनथेँ, र चाँडै नै मेरो ढाड र खुट्टाहरूमा दुख्‍न थाल्यो। तिनीहरूले मलाई सुत्‍न वा आँखा बन्द गर्न समेत दिएनन्। मेरो आँखा बन्द हुन खोज्‍नेबित्तिकै, प्रहरीले टेबल ठटाउँथे, मेचमा लात मार्थे, वा फलामको रेलमा हान्थे। नत्रभने, तिनीहरूले मेरो कानैमा कराउँथे वा मलाई तर्साउन अनेक किसिमका अनौठो आवाज निकाल्थे। यसले मलाई चनाखो अवस्थामा राख्यो र मैले एकैछिन पनि शान्तिमा बस्‍न सकिन। मैले मौन भई प्रार्थना गरेँ र निरन्तर परमेश्‍वरलाई पुकारिरहेँ अनि मलाई सर्वशक्तिमान् परमेश्‍वरका यी वचनहरू याद आयो: “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। सत्यता प्राप्त गर्नको लागि कुनै पनि कष्ट सहनु सार्थक थियो, र मैले जति नै धेरै कष्ट भोगे पनि, म यसमा लागिरहनुपर्नेथियो। मैले साक्षीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्ने सङ्कल्‍प गरेँ।

भोलि बिहान, छ-सात जना अफिसरहरू मलाई मण्डलीको रकम राखिएको स्थान र मुख्य-मुख्य अगुवाहरू को-को हुन् भनी सोधपुछ गर्न आए। मैले केही पनि नबोल्दा तिनीहरूले नराम्ररी हिर्काउँथे। तिनीहरू गएपछि तुरुन्तै, अरू केही मानिसहरू मलाई फेरि त्यही प्रश्‍न गर्न आए। तिनीहरूले दिनको २४ घण्टा निरन्तर सोधपुछ गरिरहन्थे। चार दिनपछि, मेरो सबै शरीर सुन्निएको थियो र मेरा पाँसुलाहरू यति सुनिएका थिए कि ती मेरा तिघ्राजत्रा भएका थिए। म भोकले हैरान र शक्तिहीन भएकी थिएँ। एकजना महिला पुलिसले मलाई झुलिरहेको देखी र मेरो खुट्टामा सक्दो लात मारी। मेरो शरीरको तल्‍लो भागको चेतना नै मैले गुमाएकी थिएँ र मेरो ढाडमा भाँचिएको जस्तै सहनै नसकिने पीडा भइरहेको थियो। मेरा आँखा सुन्निएका र नराम्ररी पोलिरहेका थिए। मलाई मेरो आँखाका गेडीहरू कुनै पनि समय बाहिर निस्कन सक्छ जस्तो लाग्यो। यो अत्यन्तै पीडादायी थियो। एकछिन आँखा बन्द गर्ने वा खुट्टा बिसाउने कुरा मेरो लागि ऐसआरामको कुरा जस्तो लाग्थ्यो। तिनीहरूले अझै मलाई कति धेरै यातना दिनेछन् भन्‍ने मलाई थाहा थिएन। मलाई मेरो शरीर अन्तिम स्थितिमा पुगेको र म अबउप्रान्त सहन सक्दिन जस्तो लाग्यो। हृदयमा म अत्यन्तै कमजोर भएकी थिएँ। मैले परमेश्‍वरलाई विश्‍वास र सामर्थ्यको लागि प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूबाट यो कुरा विचार गरेँ: “के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “विजेताहरूको गीत”)। “विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र?” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “सृष्टि गरिएको प्राणी परमेश्‍वरको कृपामा हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई प्रोत्साहन सामर्थ्यलाई दिए। म निर्दयी यातनामा परेकी थिएँ, तर परमेश्‍वर मेरो साथमा रहनुभयो र उहाँले आफ्‍ना वचनहरूद्वारा मलाई अगुवाइ गरिरहनुभएको थियो। मलाई थाहा थियो, म यस किसिमको संकष्टबाट गुज्रिरहेकी थिएँ ताकि परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउन सक्‍नुहोस्, र मैले ठूलो रातो अजिङ्गरको अघि विजयी गवाही दिन सकूँ। यदि मैले देहगत कष्टको डरले परमेश्‍वरलाई धोका दिएको भए, मेरो जीवन अर्थरहित हुनेथियो। यो मेरो लागि ठूलो बेइज्जत हुनेथियो। विगतका सबै युगका प्रेरित र अगमवक्ताहरूको बारेमा सोचें—तिनीहरूले सतावट भोगेको र मृत्युको सामना गरेका थिए, तर तिनीहरू सबैले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राखे र उहाँको लागि सानदार गवाही दिए भन्‍ने देख्छौं। परमेश्‍वरको अनुमतिद्वारा नै मलाई प्रहरीले यातना र कुटपिट गरेको थियो। मेरो कद सानो थियो र मलाई कुनै पनि हालतमा विगत युगका सन्तहरूसँग तुलना गर्न सकिन्नथ्यो, तर मैले परमेश्‍वरको लागि गवाही दिने मौका पाउनु मेरो ठूलो सौभाग्य थियो। म परमेश्‍वरको गवाही दिन, परमेश्‍वरको हृदयलाई थोरै भए नि आराम दिन आफ्‍नो ज्यान जोखिममा राख्‍न तयार थिएँ। परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्दा मेरो शारीरिक पीडा पनि अलिक कम भएजस्तो लाग्यो। म झुलेको देख्दा, क्याप्टेनले मेरो कपाल पक्रियो र मेरो शिर अगाडि-पछाडि झट्कायो, र मेरो टाउको र छातीमा मुड्कीले हिर्कायो। तिनीहरूले मलाई निश्‍चित समय नभइञ्‍जेलसम्‍म जान मिल्दैन भन्दै बाथरूम पनि जान दिएनन्। जब म बाथरूम जान्थेँ, शौचालयको छेउमा उभिएर केही पुरुष प्रहरी अनेक किसिमका फोहोरी शब्‍दहरू बोल्थे। कस्तो लाजमर्दो अवस्था। मलाई त मर्न मन लागेको थियो। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरूको बारेमा सोचेँ: “सायद, तिमीहरूलाई सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?”)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिले मलाई मेरो विश्‍वासको लागि अपमानित हुनु र यातना भोग्‍नु भनेको धार्मिकताको लागि कष्ट भोग्‍नु हो भन्‍ने देखायो। परमेश्‍वरको अनुग्रहले नै मलाई गवाही दिने त्यो मौका दिएको थियो; यो मेरो लागि सम्मानको कुरा थियो। तर जब मैले थोरै असहजता वा थोरै शारीरिक कष्ट भोगेँ, मैले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई गुमाएँ र मैले मृत्युको बारेमा समेत विचार गरेँ। मैले व्यक्तिगत रूपमा वैभव वा अपमान प्राप्त गर्ने कुरालाई धेरै प्राथमिकता दिन्थें। त्यो कसरी कुनै पनि प्रकारको गवाही भयो र? मैले मर्नु नै परे पनि, म परमेश्‍वरको लागि गवाही भई खडा हुनेछु भनेर सङ्कल्प गरेकी थिएँ, तर देहको थोरै कष्टको कारण मैले यो सबैलाई समाप्त गर्नेबारेमा विचार गरिरहेकी थिएँ। के म शैतानको छलमा परिरहेकी थिइन र? के शैतानले मलाई परमेश्‍वरलाई धोका दिन लगाउने प्रयास गरिरहेको थिएन र? म पछि हटेर शैतानको हाँसोको पात्र बन्‍नु हुँदैनथियो। मैले बाँचिरहनुपर्थ्यो, परमेश्‍वरको लागि गवाही बन्‍नुपर्थ्यो, र शैतानलाई लज्‍जित तुल्याउनुपर्थ्यो! मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म आफूलाई तपाईंको हातमा समर्पित गर्न तयार छु। शैतानले मलाई जसरी यातना दिए पनि, म तपाईंको गवाही दिनेछु र तपाईंलाई कहिल्यै धोका दिनेछैन। म सबै थोकमाथिको तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पछ्याउनेछु!” प्रार्थनापछि मलाई शक्ति मिलेको अनुभूति भयो।

सोधपुछ कोठामा, पुलिसहरूले एउटा कम्प्युटर खोले र मलाई पहिचान गर्न लगाउनको लागि तिनीहरूले केही सिस्टरहरूको फोटो देखाए। जनवरी २४ को अपराह्‍न २ बजेतिर तिनीहरूले मलाई विभिन्‍न स्थानबाट दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गरिएको छ भने। यो सुनियोजित कारबाही थियो। मलाई अत्यन्तै रिस उठ्यो। मैले उत्तर नदिएको देख्दा, तिनीहरूले मलाई धम्की र लोभ दिँदै भने, “हामीलाई तिमीहरूको बारेमा सबै कुरा थाहा भइसक्यो। लडाइ गर्ने कुनै कारण छैन। यदि सबैले बोलिसकेका छन् भने, तिनीहरूको खातिर तैँले कुरा लुकाउँदा के फाइदा हुन्छ र? यदि हामीले तँलाई अहिले छोडिदियौं भने पनि, मण्डलीले तँलाई स्वीकार गर्नेछैन। बुद्धि लगा—माथिका अगुवाहरू को हुन् र मण्डलीको रकम कहाँ राखिएको छ। त्यसपछि हामी तँलाई नयाँ वर्षको उत्सवमा घर पुर्‍याइदिनेछौं।” मैले एक शब्‍द बोलिन, र तिनीहरूले मलाई चिच्याउँदै भने, “यदि तैँले मण्डलीको पैसा कहाँ छ भनेर भनिनस् भने, हामी तँलाई नाङ्गोझार पारेर सिलिङमा झुन्ड्याउनेछौँ र रक्ताम्‍मे हुने गरी कुट्नेछौं। हामी हरेक मिनेटको स्वाद लिनेछौं।” यो कुरा सुनेर मलाई डर लाग्यो। ती दियाबलसहरूले त जे पनि गर्न सक्छन् भन्‍ने मैले देखेकी थिएँ र मैले सहन सक्छु कि सक्दिन मलाई थाहा थिएन। म साँच्‍चै तनावमा थिएँ र राती तिनीहरूले मलाई के गर्ने हुन् मलाई थाहा थिएन। डर र उदासीनताको कारण, मलाई अत्यन्तै कमजोर महसुस भयो। मैले हतार-हतार प्रार्थना गरेँ र उहाँको सुरक्षा मागेँ। मेरो प्रार्थनापछि, मैले परमेश्‍वरका यी वचनहरू स्मरण गरेँ: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। ‘देह’ को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय ३६”)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिद्वारा मैले के बुझेँ भने मलाई लाज र मृत्युको अत्यन्तै डर लागेको रहेछ। परमेश्‍वरलाई धोका दिन लगाउन शैतानले मेरो कमजोरीलाई प्रयोग गरिरहेको रहेछ। त्यही नै त्यसको छल थियो। यदि मैले मेरो ज्यान नै दिन सक्छु भने, मैले सहन नसक्‍ने कुरा के थियो र? मैले के पनि देखेँ भने तिनीहरूले मलाई त्यसरी व्यवहार गर्नु मलाई लाजमा पार्ने कार्य थिएन, त्यो त प्रहरीको दुष्ट र घृणित काम मात्रै थियो। मेरो देहको कुनै मूल्य नै छैन। मैले परमेश्‍वरको गवाही दिन र शैतानलाई लाजमा पार्नको लागि म मेरो जीवन बलिदान दिन तयार भएँ। यदि मैले परमेश्‍वरको लागि गवाही दिन सकेँ भने त्यो सार्थक कुरा हुनेछ, मैले मेरो जीवन व्यर्थमा बाँचेको हुनेछैन। यो सोचेपछि, मलाई डर लाग्‍न छोड्यो। म शक्ति र विश्‍वासले भरिएँ।

त्यो दिन अपराह्‍न १ बजेतिर, मेरो मुटु छिटोछिटो धड्किन थाल्यो र मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मेरो खुट्टा लल्याकलुलुक भए र म भुइँमा ढलेँ। मलाई देखेर, तिनीहरूले भने, “मर्न लागेको जस्तै नाटक नगर्। हामी अझै तँलाई जान दिँदैनौं। केन्द्रीय समितिले हामीलाई विश्‍वासीलाई कुटेर मारे पनि केही फरक पर्दैन भनेको छ। थप एकजनाको मृत्यु भयो भने एकजना भए पनि विश्‍वासी घट्छ! हामीले खाल्डो खनेर लास त्यहाँ फ्याँकिदिन सक्छौं। कसैलाई पनि थाहा हुनेछैन।” पछि, मेरो अवस्था साँच्‍चै खराब छ भन्‍ने तिनीहरूले देखे, र म मर्छु र तिनीहरूले पोल खोल्‍ने मान्छे गुमाउने डरले, मलाई परीक्षणको लागि अस्पताल लगे। डाक्टरले मेरो जीउको शक्ति सकिएको र यसले गर्दा मुटुमा समस्या आएको बताए। मैले केही खानेकुरा खानुपर्छ र आराम गर्नुपर्छ भने। तर म मरे पनि बाँचे पनि तिनीहरूलाई मतलब थिएन। अस्पतालबाट फर्केको आधा घण्टापछि, तिनीहरूले फेरि पनि मलाई फलामको रेलिङमा हतकडी बाँधे। कठोर शैलीले केही पनि परिणाम नआएको देखेर, तिनीहरूले आफ्‍नो शैलीलाई नरम बनाए। एकजना अफिसरले मलाई देखावटी कोमल शैलीमा ऊ प्रभुको विरुद्धमा नरहेको, र उसकी हजुरआमा इसाई भएको बतायो। उसले आफ्‍नो प्रेमिका नभएको, र म राम्री देखेपछि, उसलाई मजस्तै प्रेमिका बनाउन मन लागेको छ भनेर पनि बतायो। त्यसपछि अर्को व्यक्तिले भन्यो, “आफ्‍नो बारेमा विचार गर्दैनौ भने, आफ्‍नो आमाबाबुको बारेमा त विचार गर। अब त चिनियाँ नयाँ वर्ष लाग्‍न आँट्यो र अरू सबै आफ्‍नो परिवारसँग छन्। तर तिमी यहाँ कष्ट भोगिरहेकी छ्यौ। तिम्रो आमाबाबुलाई यो कुरा थाहा भयो भने तिनीहरू अत्यन्तै दुःखित हुनेछन्।” अर्को अफिसरले पनि ताल मिलाउँदै भन्यो, “मेरो तिम्रो उमेरकै छोरी छे। र मलाई पनि तिमीले यसरी कष्ट भोगेको देख्दा नरमाइलो लाग्छ। तिमीलाई के चाहिन्छ भन—यहाँ मैले भनेको चल्छ। म तिमीलाई जागिर खोज्‍न पनि सहयोग गर्न सक्छु। तिमीले आफूलाई जे थाहा छ त्यो मलाई मात्रै खुसुक्‍क भन्‍न सक्छौ।” तिनीहरूले यसरी चिप्‍ले व्यवहार गरेको देख्दा मलाई घिन लाग्यो, र मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १७”)। मलाई प्रलोभनमा पारी परमेश्‍वरलाई धोका दिन लगाउनको लागि, शैतानले मलाई मेरो भावनाहरू र केही सानातिना निगाहको प्रयोग गर्ने प्रयास गरिरहेको थियो। यो लाजपचेको र घृणास्पद थियो! म शैतानको छलमा पर्नु हुँदैन भन्‍ने मलाई थाहा थियो। त्यसपछि, तिनीहरूले मलाई जसरी धम्की वा प्रलोभन दिए पनि, मैले एक शब्‍द बोलिन। तिनीहरू एकपटकमा छ-सात जनाको समूहमा आउँथे, र तिनीहरूले मलाई पालैपालो आठ दिन र आठ रात सोधपुछ गरिरहे। मलाई बोल्‍न लगाउनको लागि तिनीहरूले सन्त्रास, धम्की, र यातनाको प्रयोग गरे, तर तिनीहरूले मबाट कुनै पनि जानकारी प्राप्त गरेनन्। अन्तिममा, एउटा अफिसरले भन्यो, “तेरो सङ्कल्प दह्रै रहेछ, र तेरो ईश्‍वर ठूलो रहेछ।” यो कुरा सुनेर म निकै खुशी भएँ—मैले शैतान लाजमा परेको र हारेको देखेकी थिएँ।

त्यसपछि तिनीहरूले मलाई थुनाकेन्द्रमा लगे। त्यहाँ पुगेपछि, एकजना महिला प्रहरीले मलाई निगरानी प्रणाली अन भएको बेला निर्वस्त्र पारी खानतलास गरी। म थुनाकोठामा पुगेपछि, अरू कैदीहरूले मलाई खाउँला झैँ हेरे, र जेलको गार्डहरूले तिनीहरूलाई उक्साए, “यो अर्को विश्‍वासी हो। यसको ‘राम्ररी हेरचाह’ गर।” मैले आफू कहाँ छु भनेर राम्ररी जान्नुभन्दा पहिले, एउटा कैदीले मलाई चिसो पानीले नुहाउने आदेश दियो, र मेरो शरीरमा एक भाँडो पानी खन्याएपछि म कामिरहेकी थिएँ। अरू कैदीहरू पर बसेर हाँसिरहेका थिए। मैले बाथरूम सफा गर्न र सरसफाइ गर्न हरेक दिन धेरै बाल्टी पानी बोक्नुपर्थ्यो र यस क्रममा तिनीहरूले मलाई जानीजानी थोरै खाना दिन्थे। मैले कहिल्यै पनि पेट भर्ने गरी खान पाउदिनथेँ। राती, म सुत्‍न नसकूँ भनेर तिनीहरूले मेरो ओछ्यानमा जोडजोडले लात मार्थे। मलाई डर लाग्थ्यो र मेरो मुटु जोडले धड्किन्थ्यो। यो भयङ्कर थियो। पछि तिनीहरूले मलाई चिसो, कडा भुइँमा एकलै सुत्‍न लगाए। त्यति मात्र होइन, गार्डहरूले टाउके कैदी र अरू हत्याराहरूलाई उक्साएर मलाई सताउन लगाए, अनि पुलिसलेहरू मलाई सधैँ सोधपुछ गरिरहेका र धम्की दिइरहेका हुन्थे, “तँ राजनीतिक कैदी होस्। तँ मरिस् भने कसैले पनि वास्ता गर्नेछैन। यदि तँ बोलिनस् भने, हामी तँलाई अनिश्‍चितकालीन रूपमा यहाँ राख्‍नेछौं। यहाँबाट निस्कने सोच्दै नसोच्!” त्यो सुन्दा मलाई नमिठो अनुभूति भयो। त्यो चार महिनाको हरेक दिन नै यातनामा बित्यो र मैले वास्तवमा अबउप्रान्त सहन सक्दिनथेँ। यो सबै कहिले सकिन्छ भन्‍ने मलाई थाहा थिएन। मलाई मसँग यसरी अघि बढिरहने सामर्थ्य छैन भन्‍ने लाग्यो। मलाई अत्यन्तै कमजोर अनुभव भइरहेको थियो। मैले पीडाबाट मुक्त हुनको लागि मृत्युको चाहना गरिरहेकी थिएँ। मैले मेरो पीडामा परमेश्‍वरसँग प्रार्थना गरेँ, र प्रार्थना गर्ने क्रममा म नराम्ररी रोएँ। मैले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिनको लागि कसरी पृथ्वीमा आएर परमेश्‍वर देह बन्‍नुभएको थियो भन्नेबारेमा सोचेँ। मैले परमेश्‍वरका वचनहरूको मलजल र भरणपोषण प्राप्त गरिरहेकी थिएँ तर मैले परमेश्‍वरको प्रेमको गुन फिर्ता दिनुभन्दा पहिले यो संसार त्याग्‍न चाहेकी थिएँ। म पछुतो र ग्‍लानिले भरिएँ; मलाई नराम्रो अनुभूति भयो, मेरो मुटुमा प्रहार गरिएको जस्तो लाग्यो। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। “तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूला रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (२)”)। परमेश्‍वरका यी वचनहरूको सामना गर्दा म अत्यन्तै लज्‍जित भएँ। परमेश्‍वर हाम्रो भरणपोषणको लागि धेरै सत्यता व्यक्त गर्नको लागि देह बन्‍नुभयो र पृथ्वीमा आउनुभयो, र अहिले उहाँको गवाही दिनको लागि उहाँलाई मानिसहरू चाहिएको छ, तर मैले थोरै अपमान सहेकी कारण, मैले शारीरिक रूपमा कष्ट भोगेकी कारण म मृत्युमार्फत त्यो परिस्थितिबाट उम्कन चाहन्थेँ। त्यो साँचो आज्ञापालन थिएन। के त्यो परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नु थिएन र? अय्यूबले आफ्‍ना सबै सम्पत्ति र छोराछोरी गुमाएका थिए, र उनले रोगको कष्ट भोगेका थिए, तर तिनले कहिल्यै पनि परमेश्‍वरलाई दोष दिएनन् मैले त्यसबारेमा विचार गरेँ। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गरिरहे र तिनी परमेश्‍वरमा नै समर्पित भए। तिनी परमेश्‍वरको निम्ति सानदार साक्षी थिए। अनि युगौंयुगदेखि चेलाहरू र अगमवक्ताहरूले परमेश्‍वरको लागि आफ्‍नो जीवन दिएका र आफ्‍नो रगत बगाएका थिए। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेकी थिएँ, तर मैले उहाँको लागि के बलिदान गरेकी थिएँ र? म कति स्वार्थी र घृणित थिएछु, र परमेश्‍वरले मेरो लागि तिर्नुभएको मूल्यको स्तरमा म बाँचिरहेकी थिइन। म मानव भनिन समेत लयाककी थिइन! म पश्‍चात्ताप गर्दै प्रार्थनामा परमेश्‍वरको अघि आएँ र भने: “हे परमेश्‍वर, म गलत रहेछु। मैले मृत्युको बारेमा सोच्‍नु हुँदैन। म अय्यूबजस्तै, पत्रुसजस्तै हुनुपर्छ, र मैले जेसुकै कुराको सामना गर्नु परे पनि, म तपाईंको लागि गवाही हुन चाहन्छु।” प्रार्थना गरेपछि यसले मलाई अगाडि जे आइपरे पनि सामना गर्ने सामर्थ्य दियो। केही समयपछि नै, मुख्य कैदीलाई सजायको लागि जेल चलान गरियो र अरू केही कैदीहरूलाई स्थानान्तर गरेर ल्याइयो, जसले मेरो हेरचाह गरे। तिनीहरूले मसँग दैनिक खाँचोका कुराहरू बाँडे र मौसमअनुसारको लुगा दिए। यो परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्त हो भन्‍ने मलाई थाहा थियो। यो बाइबलमा भनिएको जस्तै थियो: “चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)।

पछि, मैले थुन केन्द्रमा एकजना सिस्टरलाई भेटेँ। यो मेरो लागि निकै हृदयस्पर्शी कुरा थियो। हामीले एकअर्कालाई सङ्गति गर्न प्रोत्साहन दिनको लागि गुप्त रूपमा परमेश्‍वरका केही वचनहरूको प्रतिलिपि तयार गर्‍यौं। मेरो हृदयले भरिपूर्ण र आनन्दित महसुस गर्‍यो। सेप्टेम्‍बर महिनामा एक दिन, प्रहरी फेरि मलाई सोधपुछ गर्न आए। म सोधपुछ कोठामा पुग्‍नेबित्तिकै तिनीहरूले मेरो फोटो खिचे र तिनीहरूले यसलाई अनलाइनमा गएर मेरो पहिचान पत्ता लगाउन प्रयोग गरिनेछ भने। तिनीहरूले मलाई धम्की दिए, “तेरो मुद्दा लगभग पक्‍का भएको छ। बाहिर निस्‍कनेछु भनेर त सोच्दै नसोच्! इसाईहरूको निम्ति कम्युनिस्ट पार्टीको नीति भनेकै एक वर्षको सजायलाई तीन वर्षको सजायमा परिवर्तन गर्नु, र तीन वर्षको सजायलाई सात वर्षको सजायमा परिवर्तन गर्नु हो। तिनीहरूले इसाईहरूलाई अचानक कुटेर मार्न सक्छन् र कसैलाई पनि त्यसको लागि जिम्‍मेवार बनाइँदैन। तँ कति समयसम्‍म थाम्दी रहेछस्, हेर्छौं।” चिनियाँ कम्युनिस्ट पार्टी कति दुष्ट र घृणित रहेछ भन्‍ने देखेपछि मलाई दियाबलस शैतानप्रति झन् घृणा लाग्यो। मैले कहिल्यै पनि हरेस खाएर परमेश्‍वरलाई धोका दिनेथिइन र मैले तिनीहरूलाई गम्‍भीरतासाथ भनेँ, “तपाईंहरूले यो कुरा बिर्सन सक्‍नुहुन्छ। मेरो बाहिर निस्कने कुनै योजना छैन। जबसम्‍म म मेरो जीवनभरि परमेश्‍वरलाई चिन्‍न र सृष्टिकर्ताको लागि गवाही बन्‍न सक्छु, म यहाँ मर्नु नै परे पनि यो सार्थक हुनेछ!” त्यसपछि पुलिसहरू रिसले चूर हुँदै बाहिर गए।

मलाई ती अधिकारीहरूले गैरकानुनी थुनामा राखेको १० महिनापछि नोभेम्बर २०१३ मा मेरो रिहाइ भयो। चिनियाँ कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरेको मेरो अनुभवमा मैले शारीरिक रूपमा कष्ट भोगेको भए तापनि, परमेश्‍वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिइरहेका थिए, शैतानका परीक्षाहरूमाथि विजय पाउन र गवाहीको रूपमा खडा हुन अगुवाइ गरिरहेका थिए। मैले साँचो रूपमा परमेश्‍वरका वचनहरूको शक्ति र अख्‍तियारको अनुभव गरेँ र परमेश्‍वरमाथिको मेरो विश्‍वास गाढा भयो। मैले परमेश्‍वरलाई घृणा गर्ने र उहाँको शत्रुको रूपमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको दियाबलस सार पनि स्पष्ट रूपमा देखेँ। मैले यसतर्फ पूर्ण रूपमा पिठ्यूँ फर्काएँ, यसलाई इन्कार गरेँ, र परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्पलाई दह्रिलो बनाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: जेलको कष्ट

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

मेरो रोजाइ

बाइयुन्, चीन मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू...

सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्