कर्तव्य परिवर्तन हुँदा मेरो खुलासा भयो

25 अप्रिल 2023

म मण्डलीमा भिडियोहरू बनाउँदै थिएँ, तर त्यहाँ धेरै काम नभएकोले, अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा सरुवा गरे। त्यसपछि कामको आवश्यकता पूरा गर्न मलाई फेरि पहिलेकै काममा सरुवा गरियो। अप्रत्याशितरूपमा, केही महिनापछि हाम्रो काम कम भयो, र म फेरि मलजल गर्न गएँ। त्यसपछि मलाई फेरि पहिलेकै काममा सरुवा गरियो। र एउटी सिस्टरले मलाई भनिन्, “उनीहरूलाई जहाँ तपाईंको आवश्यकता पर्छ, तपाईं त्यहीँ जानुहुन्छ!” त्यतिबेला मैले यसबारे धेरै सोचिनँ। तर एक महिना नबित्दै, भिडियोको काम फेरि घट्यो र छिट्टै हामीलाई यति धेरै मानिस चाहिनेछैन, र मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न फिर्ता पठाइनेछ भनेर म चिन्ता नगरी बस्नै सकिनँ। त्यो सोचर मेरो मनमा गाँठो पऱ्यो। म किन यति बेकार भएँ? काम अलि कम हुनेबित्तिकै र मान्छे कम चाहिनेबित्तिकै, सरुवा गरिने म नै थिएँ। टोलीमा मेरो आवश्यकता थिएन! यदि म साँच्चै फेरि सरुवा भएँ भने, अरूले मलाई के सोच्ने होला? के तिनीहरूले मलाई किन सधैँ सरुवा गरिँदै छ, तर अरूलाई किन गरिँदैन भनेर सोच्नेछन्? तिनीहरूले म पटक्कै असल नभएकी, र मेरो महत्त्वपूर्ण भूमिका नभएकोले यस्तो भएको भनेर सोच्नेछन्। यी विचारहरूले मलाई एकदमै विचलित बनाए, र मैले त्यो परिस्थितिको सामना गर्न चाहिनँ।

पछि केही घटना भए जसले मलाई अझ खराब अवस्थामा पुऱ्याए। एकपटक, हामी एउटा भिडियोका केही समस्याबारे छलफल गर्दै थियौँ, र सबैजना आ-आफ्नो दृष्टिकोण राख्दै थिए—त्यो जीवन्त छलफल थियो। तर धेरै सोच्दा पनि, मसँग कुनै राम्रो विचार वा भन्‍ने कुनै कुरा थिएन। म त ट्वाल्ल परेर चुपचाप बसेँ। सबै बोलिरहेका थिए, तर मैले केही पनि भनिरहेकी थिइनँ। मलाई आफ्नो अस्तित्व नै नभएको जस्तो लाग्यो। केही भन्नुपऱ्यो भनेर म सोच्दै थिएँ। तिनीहरूले मलाई बेवास्ता नगरून् भनेर मैले केही अन्तर्दृष्टिपूर्ण कुरा भन्नुपर्थ्यो। मैले निकै दिमाग खियाएँ र बल्लतल्ल एउटा विचार राखेँ, तर मसँग कोही सहमत भएनन्। म लज्जित भएँ। यो निकै लाजमर्दो थियो—तिनीहरूले मलाई के सोच्नेछन्? मैले अन्तिम भिडियोको काम गरेको आठ महिना भइसकेको थियो, त्यसैले मेरो व्यावसायिक सीप र सिद्धान्तहरूको बुझाइ मैले टोली छोड्दाको बेलामा भन्दा झन् खराब भएको थियो। म अरूभन्दा धेरै पछि परेकी थिएँ। यस्ता सीपहरू सुधार्न निरन्तर अध्ययन गर्नुपर्छ, र अरूहरूले त पूरा समय भिडियोमा काम गरिरहेका थिए। मैले अलि समय यता, अलि समय उता गरेर बिताउँदै गर्दा, तिनीहरूको सीप र सिद्धान्तहरूको बुझाइमा सुधार हुँदै गइरहेको थियो। मैले कुनै एक ठाउँमा धेरै लामो अभ्यास गरेकी थिइनँ, त्यसैले म कुनै पनि क्षेत्रमा विशेष सिपालु थिइनँ। काम कम हुनेबित्तिकै पहिला सरुवा हुने म नै हुन्थेँ। तिनीहरूलाई म भए पनि नभए पनि केही थिएन। सोचेँ, कामको चापको आधारमा अगुवाले मलाई कुनै पनि बेला नयाँ विश्‍वासीहरूलाई मलजल गर्न फिर्ता पठाउन सक्छन्। त्यो सोचेर म साँच्चै दुःखी भएँ, र नरोई बस्न सकिनँ। सोचेँ, “किन सधैँ मलाई यस्तो हुन्छ?” टोलीका केही मानिससँग व्यावसायिक सीप थियो, कोही दक्ष थिए, अरू अनुभवी थिए र केही समय यो कर्तव्य गरेका थिए, कोही साँच्चै कुशल थिए…। तिनीहरू सबै एक वा अर्को तरिकाले उम्दा थिए, तर मेरो क्षमता उनीहरूको जस्तो राम्रो थिएन, म उनीहरू जत्तिको दक्ष थिइनँ, र म सधैँ एक कदम पछि थिएँ। त्यसैले, कामको बोझ हल्का हुँदा र थोरै मानिसहरू चाहिँदा, निकालिने म नै हुन्थेँ। यदि मसँग तिनीहरूको जस्तै उत्कृष्ट क्षमता र व्यावसायिक सीपहरू भएका भए, म सँधै सरुवा हुनेथिइनँ, तर दुर्भाग्यवश, मसँग ती थिएनन्। म किन अरूजस्तै सिपालु थिइनँ? मैले यसरी जति धेरै सोचेँ, मलाई उति दुःख लाग्यो र परमेश्‍वरलाई गलत बुझ्न थालेँ।

त्यसपछि मैले आफ्नो कर्तव्य निर्वाह गरिहेकी भए पनि उत्प्रेरित भइनँ। मैले सबै कुरामा निर्धारित तालिका मात्र पालना गरेँ। मैले अझ धेरै उपलब्धि हासिल गर्न कसरी दक्षतापूर्वक काम गर्ने भन्‍नेबारे सोचिनँ। मैले सामना गरेका समस्याहरू समाधान गर्न सक्दो गरिनँ। मलाई आफू टोलीमा कतिञ्जेल रहनेछु भनेर थाहा हुँदैनथ्यो, त्यसैले कामकुरा त्यतिकै छोडिदिन्थेँ। त्यो समयमा, टोली अगुवा मसँग कुरा गर्न आउँदैपिच्छे, मेरो कर्तव्य समायोजनबारे उनले कुरा गर्छन् भन्‍ने सोचेर, म निकै चिन्तित हुन्थेँ। यो सामान्य कुराकानी हो भनेर थाहा नपाएसम्म मेरो मन आतिन्थ्यो। यस्तो बारम्बार भयो, जसले गर्दा म हरेक दिन थकित हुन्थेँ। मलाई निद्रा पुगिरहेको थियो, तर भक्तिको समयमा म निद्रा झुलिरहेकी हुन्थेँ, र मैले परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि पाइरहेकी थिइनँ। मलाई आफ्नो स्तिथि खराब छ भन्‍ने थाहा थियो, त्यसैले म प्रार्थना गर्न र खोजी गर्न तुरुन्तै परमेश्‍वरसामु आएँ, र आफ्नो समस्याबारे मनन गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले आफूलाई बुझ्न मद्दत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूका चाल-चलनका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थान अनुसार चालचलन प्रस्तुत गर्नुपर्छ, तिमीहरूले आफ्‍नो लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणको रूपमा, कतिपय मानिसहरूमा कुनै निश्‍चित व्यावसायिक पेसासम्बन्धी दक्षता अनि सिद्धान्तहरूको राम्रो बुझाइ हुन्छ, र तिनीहरूले त्यो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा अन्तिम जाँच गर्नुपर्छ; विचार र अन्तर्दृष्टिहरू प्रदान गरेर अरूलाई उत्प्रेरित गर्ने र कर्तव्य अझ राम्ररी निभाउन मदत गर्ने मानिसहरू पनि हुन्छन्—त्यसकारण तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मेलमिलापमा काम गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्, र तैँले आफ्‍नो स्थान अनुसार व्यवहार गरिरहेको हुनेछस्। यदि तेरो क्षमता आफ्ना केही विचारहरू मात्र प्रदान गर्न सक्‍ने छ, तर तँ अरू चीजहरू प्रदान गर्न चाहन्छस्, र अन्त्यमा त्यसो गर्न सक्दो कोसिस गर्छस्, तैपनि तँ अझै पनि असमर्थ हुन्छस्; र त्यसपछि, जब अरूले ती अरू चीजहरू प्रदान गर्छन्, तब तँलाई असहज हुन्छ, र तँ सुन्न चाहँदैनस्, र तेरो हृदयमा पीडा हुन्छ र तँ बाध्य हुन्छस्, र तैँले परमेश्‍वरलाई दोष लगाउँछस् र परमेश्‍वर अन्यायी हुनुहुन्छ भनी भन्छस् भने—त्यो महत्त्वाकाङ्क्षा हो। व्यक्तिमा महत्त्वाकाङ्क्षा उत्पन्न गर्ने स्वभाव के हो? अहङ्कारी स्वभावले महत्त्वाकाङ्क्षा उत्पन्न गर्दछ। यस्ता अवस्थाहरू निश्चय नै कुनै पनि समय तिमीहरूमा उत्पन्न हुन सक्छन्, र यदि तिमीहरूले ती समाधान गर्न सत्यता खोजी गर्दैनौ, र तिमीहरूमा कुनै जीवन प्रवेश छैन, र यस सम्बन्धमा परिवर्तन हुन सक्दैनौ भने, तिमीहरूले कर्तव्यहरू पूरा गर्ने योग्यता र शुद्धताको हद न्यून हुनेछ, अनि परिणामहरू पनि त्यति राम्रा हुनेछैनन्। यो चित्तबुझ्दो तरिकाले कर्तव्य निभाउनु होइन र यसको अर्थ परमेश्‍वरले तिमीहरूबाट महिमा प्राप्त गर्नुभएको छैन भन्‍ने हुन्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई फरकफरक प्रतिभा र वरदान दिनुभएको छ। कतिपय मानिसहरूसँग दुई वा तीन वटा क्षेत्रमा प्रतिभाहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा प्रतिभा हुन्छ, र कसैमा एउटै पनि प्रतिभा हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ हुन्छ। सुझबुझ भएका मानिसहरूले आफ्नो स्थान पत्ता लगाउन सक्छन्, र आफ्नो स्थानअनुसार व्यवहार गर्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छन्। आफ्‍नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्‍ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। तिनीहरू सधैँ हैसियत र लाभको पछि लाग्छन्। तिनीहरू आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैनन्। अझै धेरै फाइदाहरू पाउनका लागि, तिनीहरूले जतिसक्दो धेरै कुरा लिन चाहन्छन्; तिनीहरूले सधैँ आफ्‍ना लालची इच्छाहरू पूरा गर्ने आशा गर्छन्। तिनीहरू आफूसँग वरदान छ र आफ्‍नो कद राम्रो छ भने, आफूले परमेश्‍वरको अझै धेरै अनुग्रह प्राप्त गर्नुपर्छ, र आफूमा केही लालची इच्‍छा हुनु गलत होइन भन्‍ने सोच्छन्। के यस्तो व्यक्तिमा समझ हुन्छ? के सधैँ लालची इच्‍छा गर्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूले यो लाजमर्दो कुरा हो भनेर महसुस गर्न सक्छन्। सत्यता बुझ्‍ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कामहरू गर्नेछैनन्। यदि तँ परमेश्‍वरको प्रेमको ऋण तिर्न निष्ठावान्‌ रूपमा आफ्‍नो कर्तव्य निभाउन चाहन्छस् भने, यो लालची इच्‍छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप हुन्छ। यसले परमेश्‍वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्‍चै नै आफ्‍नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्नो लागि सही स्थान खोज्नै पर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सम्पूर्ण हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र सक्दो राम्रोसित गर्नुपर्छ। यो सन्तोषजनक हुन्छ, र कर्तव्यको यस्तो प्रदर्शनमा शुद्धताको एउटा हद हुन्छ। सृष्टि गरिएको वास्तविक रूपमा प्राणीले गर्नुपर्ने कुरा यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, म निराश हुँदै थिएँ किनभने मेरा इच्छाहरू पूरा भएका थिएनन्। अरूले मलाई प्रशंसा गरेनन् वा मूल्यवान् ठानेनन्, र मैले आफ्नो परिस्थिति परिवर्तन गर्न सकिनँ, त्यसैले, मैले परमेश्‍वरलाई गलत बुझेँ र दोष दिएँ, उहाँले मलाई जे दिनुभयो त्यो पर्याप्त भएन भन्‍ने लाग्यो। काम सुस्त भएकोले मेरो कर्तव्य दुईपटक परिवर्तन भएको थियो, र फर्केर आएको महिना दिन पनि नपुग्दै मेरो सम्भवतः तेस्रोपटक सरुवा हुँदैथ्यो। यो अवस्थामा, मलाई आफू टोलीमा सबैभन्दा खराब, अनावश्यक व्यक्ति हुँ, र मेरो अस्तित्वको कुनै मूल्य छैन भन्‍ने लाग्यो। मैले यो वास्तविकता स्विकार्न सकिनँ, र म दुःखी थिएँ। कामको छलफलमा, म धेरै कम देखिन चाहन्नथेँ, त्यसैले मैले दिमाग खियाएँ, र केही मूल्यवान्, अन्तर्दृष्टिपूर्ण विचार व्यक्त गर्ने प्रयास गरेँ, तर मेरा सुझावहरू नकारियो र मैले एकदमै अपमानित महसुस गरेँ। र मेरो सीप अरूको भन्दा कति पछाडि रहेछ भन्‍ने देखेर, म खिन्न र आक्रोशित भएँ। मलाई लाग्यो, म कुनै कुरामा त्यति निपुण छैन किनकी मेरो कर्तव्य बदलिरहन्छ, र मलाई जहाँ गए पनि तल्लो तहमा राखिन्छ, र कुनै पनि बेला सरुवा गरिन सक्छ। मैले भित्रभित्रै आफूलाई अरूसँग तुलना गरेँ। तिनीहरू सबैमा सामर्थ्य छ र तिनीहरू एक निश्चित क्षेत्रमा उत्कृष्ट छन्, तर मचाहिँ हर हिसाबले कम छु र ममा सबै कुरामा सुस्त हुने ठूलो कमजोरी पनि छ भन्‍ने मलाई लाग्यो। त्यो वास्तविकता सामना गर्न नसकेर, मैले परमेश्‍वरलाई राम्रो क्षमता नदिनुभएकोमा दोष दिएँ। म उदास भएँ र मलाई अन्याय भएको महसुस भयो, र आफ्नो कर्तव्यमा उत्साह भएन। तर वास्तवमा, परमेश्‍वर सबैलाई फरक-फरक वरदान, शक्ति र क्षमता दिनुहुन्छ। हामीलाई विभिन्न कर्तव्यहरू गर्न नियुक्त गरिन्छ—यो सबै परमेश्‍वरद्वारा व्यवस्थित हुन्छ। समझदार व्यक्तिमा समर्पण गर्ने हृदय हुन्छ। तिनीहरू आफ्नो सामर्थ्यअनुसार स्थान लिन्छन्, र आफूलाई राम्रो प्रयोगमा ल्याउँछन्। तर मैले समर्पण नै गरिनँ—म सबैभन्दा कम महत्त्वपूर्ण हुन इच्छुक भइरहेकी थिइनँ। म अरूको हृदयमा स्थान पाउन अनि तिनीहरूको सम्मान र प्रशंसा पाउन पछि लागेँ, र त्यो नपाउँदा सुस्त बनेँ। ममा समझ थिएन। परमेश्‍वरले मलाई ठूलो क्षमता दिनुभएन, तर मबाट धेरै माग पनि गर्नुभएन। उहाँ मैले सही स्थान भेट्टाएको, र आफ्नो कर्तव्यमा सर्वस्व लगाएको मात्र चाहनुहुन्थ्यो। म जे गर्न सक्छु त्यो मात्र गर्नु पर्याप्त थियो। तर म धेरै घमण्डी र समझहीन थिएँ। म कुनै कुरामा राम्रो थिइनँ, र वास्तविकता सामना गर्न चाहन्नथेँ। मैले रातारात सफल हुने र अरूबाट इज्जत पाउने ठूला महत्त्वाकाङ्क्षाहरू राखेँ। परिणामस्वरूप, मैले धेरै ऊर्जा प्रयोग गरेँ तर त्यो कहिल्यै प्राप्त गरिनँ, र नकारात्मक भएँ। मैले आफैलाई सताइरहेकी थिएँ।

पछि, मैले सोचेँ: मैले किन सधैँ अरूको प्रतिभा र सामर्थ्यको ईर्ष्या गरेँ? किन सधैँ मानिसहरूको मनमा ठाउँ बनाउन खोजेँ, र पछाडि पर्न चाहिनँ? यसको मूल कारण के थियो? मैले आफ्नो खोजीमा परमेश्‍वरका वचनहरूमा यो कुरा फेला पारेँ: “ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्‍ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्‍ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। … यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा वा हैसियत छैन, कसैले पनि आफूलाई सम्‍मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै हताश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्‍नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्‍बार विचार गर्छन्, आफ्‍नो लागि परमेश्‍वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा बोल्न पाऊन्, प्रतिष्ठा पाऊन्, ताकि तिनीहरूले लाभहरू, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्‍चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई साँच्चै मूल्यवान् ठान्छन् भनेर परमेश्‍वर प्रकट गर्नुहुन्छ। तिनीहरू आफूले गर्ने सबै कुरामा, सधैँ अरूमाझ आफ्नो स्थानबारे सोचिरहेका हुन्छन्। तिनीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन अनि आफ्नो खोजको वस्तु बनाउँछन्। प्रतिष्ठा वा मानिसहरूको प्रशंसा नपाउँदा, तिनीहरू निराश हुन्छन्, यहाँसम्म कि कामकुरामा रुचि गुमाउँछन्। के मैले त्यसै गरिरहेकी थिइनँ र? मलाई पटक-पटक सरुवा गर्दै फर्काउँदै गर्दा, आफू अनावश्यक, कुनै हैसियतविनाको मामुली र महत्त्वहीन व्यक्ति भएकी रहेछु भन्‍ने लाग्यो, त्यसैले मलाई निकै दुःख लाग्यो। मामिलाहरू छलफल गर्दा, मसँग भन्नलाई कुनै महत्त्वपूर्ण विचारहरू हुन्थेन, र मैले व्यक्त गरेका विचारहरू कसैले स्वीकार गर्दैनथे। मलाई लाग्थ्यो, म टोलीमा सबैभन्दा खराब हुँ, कसैले मेरो इज्जत गर्दैन, र मेरो जीवनको कुनै मूल्य छैन जस्तो देखिन्थ्यो। म कमजोर र नकारात्मक भएँ, मैले परमेश्‍वरलाई गलत बुझेँ र दोष दिएँ। मैले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन बनाएकी थिएँ, र त्यो प्राप्त नहुँदा, म सुस्त भएँ र ममा जोसजाँगर कम भयो। मैले यी कुराहरूमा अति धेरै ध्यान दिएँ। म सधैँ किन ती कुरालाई पछ्याउँछु भनेर सोचेँ। म यी शैतानी विषहरूको प्रभावमा परेकीले गर्दा त्यसो भएको थियो: “सबैलाई उछिन,” “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ”, र “मानिसहरूले सधैँ आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ।” मैले ती कुरा जीवनका सबैभन्दा उचित उद्देश्य हुन्, र ती कुराको पछि लाग्नु भनेको आकाङ्क्षा राख्नु हो भनेर सोचेँ। मैले विद्यालयमा धेरै मेहनत गरेँ। म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा लगभग हरेक परीक्षामा कक्षामा पहिलो हुन्थेँ। म निकै लोकप्रिय थिएँ र प्रायः सहपाठी र शिक्षकहरूले मेरो प्रशंसा गर्थे। मलाई यस्तो जीवन मात्र जिउन लायक छ भन्‍ने लाग्थ्यो। मण्डलीमा आबद्ध भएर कर्तव्य लिएपछि, म ती शैतानी विषहरूअनुसार जिइरहेँ, र अरूको हृदयमा आफ्नो स्थानलाई निकै महत्त्व दिएँ, आफू योग्य भएको देखाउन र मानिसहरूलाई मेरो प्रशंसा गराउन सधैँ प्रयास गरेँ। म टोली अगुवा वा सुपरभाइजर नभए पनि, महत्त्वपूर्ण व्यक्ति हुनुपर्थ्यो, जसलाई अरूले अनुमोदन गर्नेथिए। मैले त्यो नपाउँदा अनि मेरा महत्त्वाकाङ्क्षाहरू पूरा नहुँदा, परमेश्‍वरका सार्वभौम प्रबन्धहरूप्रति गुनासो गरेँ र असन्तुष्ट भएँ। मैले केही भन्‍ने हिम्मत गरिनँ, तर हृदयमा भने परमेश्‍वरको विरोध गर्दै थिएँ, र म आफ्नो कर्तव्यमा सुस्त भएँ। मैले ती शैतानी विषहरूअनुसार जिएर दुःख र पीडाबाहेक केही निम्ताइनँ, र म परमेश्‍वरको खिलाफमा थिएँ, उहाँसँग तर्क र मोलतोल गरेँ, उहाँको धर्मीपनलाई शङ्का गरेँ र उहाँको विरोधसमेत गरेँ। त्यसरी त, मैले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथेँ र उहाँले मलाई हटाउनुहुनेथ्यो। मलाई परमेश्‍वरका वचनहरू याद आयो: “मानिसहरूले महत्वाकांक्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, फाइदा, र हैसियतको पछि नलाग्‍ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। यसअतिरिक्त, तिनीहरूले मानिसहरूमाझ उच्‍च स्थानमा रहेको र अरूलाई आफ्नो आराधना गर्न लगाउने महान्‌ व्यक्ति वा महामानव बन्‍ने कोसिस गर्नु हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि मानिसहरू निरन्तर प्रसिद्धि, फाइदा, र हैसियतको पछि लाग्छन् र पश्‍चात्ताप गर्न अस्विकार गर्छन् भने तिनीहरूको लागि कुनै उपचार छैन, र तिनीहरूको निम्ति एउटै परिणाम हुन्छ: त्यो हो, तिनीहरूको निष्कासन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। पहिले, मैले ती नतिजाहरू कति गम्भीर छन् भनेर कहिल्यै महसुस गरिनँ। सोचेँ, म ख्रीष्टविरोधीले जस्तो ठूलो दुष्टता गर्नेछैनँ, वा मण्डलीको काममा बाधा पुर्‍याउनेछैनँ, र बढीमा, मलाई आफूले अरूको प्रशंसा पाउन नसक्दा नकारात्मक र व्याकुल मात्र हुनेछ। तर त्यसपछि कुरा त्यस्तो होइन रहेछ भन्‍ने देखेँ। यसो हेर्दा, मैले त्यति केही नराम्रो गरेको जस्तो देखिँदैनथ्यो, तर परमेश्‍वरले तय गर्नुभएको अवस्थासँग म असन्तुष्ट थिएँ, र सधैँ गुनासो गर्थेँ। म आफ्नो हृदयमा परमेश्‍वरविरुद्ध जाँदै थिएँ। म परमेश्‍वरको प्रतिरोध गर्दै थिएँ! परमेश्‍वरले मजस्तो व्यक्तिलाई कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र? मैले पहिले सँगै काम गरेकी सिस्टरबारे सम्झेँ। उनी सुरुमा आफ्नो कर्तव्यमा उत्साहित थिइन्, र अगुवा निर्वाचित भएकी थिइन्, तर पछि उनी बर्खास्त भइन् र आफ्नो प्रतिष्ठा र हैसियत गुमाइन्। अरूको प्रशंसा पाउन नसक्दा उनी निरन्तर नकारात्मक भइन्, र अन्ततः उनी परमेश्‍वरलाई त्यागेर गइन्। यदि मानिसहरू सधैँ प्रतिष्ठा र हैसियतको पछि लाग्छन् भने, आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा नहुँदा, तिनीहरू नकारात्मक बन्छन्, परमेश्‍वरलाई गलत बुझ्छन् र दोष दिन्छन्। तिनीहरू परमेश्‍वरसँग संघर्ष गर्छन्, वा उहाँलाई त्याग्छन् समेत। यहाँनिर मलाई आफू खतरनाक अवस्थामा छु भन्‍ने महसुस भयो। म परमेश्‍वरको प्रतिरोध गरिरहन चाहन्नथेँ, प्रतिष्ठा र हैसियतको बन्धनहरू हटाउन चाहन्थेँ।

मैले आफ्नो भक्तिमा, परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ। “जब परमेश्‍वरले मानिसहरूलाई आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्नू, वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्‍नुहुन्‍न, न त उहाँले तिनीहरूलाई कुनै ठूलो कामको जिम्मेवारी वहन गर्नू भनेर नै भन्‍नुहुन्छ। परमेश्‍वरको चाहना यही हो कि मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। तँ महान् वा प्रतिष्ठित हुनु परमेश्‍वरको आवश्यकता होइन, न त तैँले कुनै चमत्कार गर्नु उहाँको आवश्यकता हो, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरूअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्‍वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले राम्ररी बुझेका कुराहरूलाई अघि बढा, आफूले सुनेको कुरालाई याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्, ताकि परमेश्‍वरका वचनहरू तेरो जीवन, तेरो वास्तविकता, र तैँले वास्तवमै जिउन चाहेको कुरा बन्‍न सकून्। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। “यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभएको हो भने, तेरो मूर्खतामा अर्थ लुकेको हुन्छ; यदि उहाँले तँलाई तेज दिमागवाला बनाउनुभएको छ भने, तेरो तेज दिमागको पनि अर्थ हुन्छ। परमेश्‍वरले तँलाई जुनसुकै विशेषज्ञता दिनुभए पनि, तेरा सबल पक्षहरू जेसुकै भए पनि, तेरो बौद्धिक स्तर जे-जस्तो भए पनि, परमेश्‍वरको लागि ती सबैको उद्देश्य हुन्छ। यी सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले जीवनमा खेल्‍ने भूमिका र तैँले पूरा गर्ने कर्तव्य परमेश्‍वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हो। कतिपय मानिसहरूले आफूमा नभएको विशेषज्ञता अरूमा देख्छन् र तिनीहरू असन्तुष्ट हुन्छन्। तिनीहरू अझै धेरै सिकेर, अझै धेरै खोजेर, अनि अझै धेरै लगनशील भएर परिस्थिति बदल्न चाहन्छन्। तर तिनीहरूको लगनशीलताले हासिल गर्न सक्‍ने कुराको सीमा हुन्छ, र तिनीहरूले यी वरदान र विशेषज्ञता भएकाहरूलाई उछिन्‍न सक्दैनन्। तैँले जति नै संघर्ष गरे पनि यो व्यर्थ हुन्छ। तँ के बन्‍नेछस् भन्‍ने कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र यसलाई कसैले पनि केही गरी परिवर्तन गर्न सक्दैन। तँ जुन कुरामा सिपालु छस्, तैँले यही कुरामा प्रयास लगाउनुपर्छ। तँ जुन कर्तव्यको लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो सीपको क्षेत्रभन्दा बाहिर आफूलाई जबरजस्ती लैजाने प्रयास नगर् र अरूको डाहा नगर्। हरेकको आ-आफ्‍नै कार्य हुन्छ। सधैँ अरूको स्थान लिने र आफूलाई प्रदर्शन गर्ने इच्‍छा गर्दै, तैँले सबै कुरा राम्ररी गर्न सक्छु, वा तँ अरूभन्दा सिद्ध वा असल छस् भनेर नसोच्। यो भ्रष्ट स्वभाव हो। आफूले कुनै पनि काम राम्ररी गर्न सक्दिनँ, र आफूसँग कुनै सीपै छैन भनेर सोच्ने मानिसहरू पनि हुन्छन्। यदि त्यस्तो अवस्था छ भने, तैँले वास्तविक धरातलमा रही सुन्‍ने र पालना गर्ने व्यक्ति बन्‍नुपर्छ। आफूले गर्न सक्‍ने काम गर् र आफ्‍नो सारा शक्तिले राम्रोसित गर्। त्यही नै पर्याप्त छ। परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। मैले परमेश्‍वरका वचनहरूबाट के देखेँ भने, हामी महान् मानिस बनून् भन्‍ने उहाँको इच्छा होइन। उहाँ हामी स्थिर हुनेछौँ, आफ्नो स्थानअनुसार काम गर्नेछौँ, आफ्नो कर्तव्य निर्वाह गर्नेछौँ, उहाँका वचनहरू अभ्यास गर्न ध्यान दिनेछौँ, र सृष्टि गरिएका आज्ञाकारी प्राणी बन्नेछौँ भनेर आशा गर्नुहुन्छ। हामीसँग जेजस्तो क्षमता वा व्यावसायिक क्षमता छ, यो परमेश्‍वरको सार्वभौम बन्दोबस्तको कारणले हो। मैले स्वीकार र समर्पण गर्न, अनि परमेश्‍वरले मलाई दिनुभएका सबै कुरालाई आफ्नो सामर्थ्यको आधारमा सदुपयोग गर्न, र आफूले सक्दो गर्न सिक्नुपर्थ्यो। मेरो सीप अरूको जस्तो राम्रो थिएन, तर म काम गर्न असक्षमचाहिँ थिइनँ। मण्डलीले मलाई त्यो कर्तव्य पूरा गर्न खटाएको हुनाले, मैले दृढतापूर्वक आफ्नो सर्वस्व दिनुपर्थ्यो, र आफूले सक्ने कुरा गर्नुपर्थ्यो। कामबारे छलफल हुँदा, मैले आफूले बुझेका कुराहरू मात्र बोल्नुपर्थ्यो। यदि मसँग अन्तर्दृष्टिको कमी भएको वा सिद्धान्तहरू थाहा नभएको भए, मैले अरूसँग खज्न र सङ्गति गर्न, तिनीहरूका विचारहरू सुन्न, अनि आफ्ना कमजोरी परिपूर्ति गर्न तिनीहरूको सबलताबाट सिक्नुपर्थ्यो। यो सोचेर मेरो मन प्रसन्न भयो, र मलाई अभ्यासको बाटो र निर्देशन थाहा भयो। म सरुवा हुनुलाई लाजमर्दो कुरा ठान्थेँ। सरुवा हुँदा मलाई यसले म सबैभन्दा खराब हुँ भनेर प्रमाणित गर्छ भन्‍ने लाग्थ्यो, त्यसैले मैले यसलाई उचित तवरमा लिन सकिनँ। अहिले यसबारे सोच्दा, त्यो त मेरो दृष्टिकोणको समस्या रहेछ। परमेश्‍वर सबैलाई फरक-फरक प्रतिभा, सामर्थ्य र क्षमता दिनुहुन्छ, र सबैका फरक-फरक आवश्यकताहरू छन्। साँचो हो, मेरो सिप त्यति राम्रो थिएन, त्यसैले टोलीसँग त्यति काम नहुँदा, मण्डलीले मेरो सामर्थ्यको आधारमा मेरो कर्तव्य समायोजन गऱ्यो। त्यो सिद्धान्तअनुरूप थियो र त्यसले मण्डलीको कामलाई फाइदा पुऱ्याउँथ्यो। यसबाहेक, परमेश्‍वरले कुनै व्यक्तिलाई मापन गर्नुहुँदा, उसले राम्रोसँग काम गर्न सक्छ कि सक्दैन भन्‍ने आधारमा मात्र नभई, उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, साँच्चै उहाँको आज्ञा मान्छ कि मान्दैन, र ऊ आफ्नो कर्तव्यमा समर्पित छ कि छैन भन्‍ने आधारमा पनि मापन गर्नुहुन्छ। यसबारे सोच्दा मेरो हृदय प्रसन्न भयो, र मलाई आफ्नो कर्तव्यमा परिवर्तनहरू हुँदा बन्धनमा परेको महसुस भएन। मैले के पछ्याउनुपर्छ भन्‍ने कुरा पनि मलाई ठ्याक्कै थाहा भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई अन्तर्दृष्टि दिनुभएकोमा र तपाईंको इच्छा बुझ्न मद्दत गर्नुभएकोमा धन्यवाद। मलाई आफू कहिले सरुवा हुन्छु थाहा छैन, तर म तपाईंको बन्दोबस्तहरू मान्न तयार छु। म आफूले जहाँ कर्तव्य निर्वाह गरे पनि, केवल आफ्नो सर्वस्व दिन र तपाईलाई सन्तुष्ट पार्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्!”

मेरो दृष्टिकोण बद्लिएपछि, मेरो कर्तव्यको स्थिति पनि परिवर्तन भयो। म सधैँ आफू अरूजस्तो छैन, केवल एक अस्थायी टोली सदस्य हुँ जसले कुनै पनि समय त्यो छोड्न सक्छ भनेर सोच्थेँ। मलाई आफू सबैभन्दा निम्न स्तरमा छु र म यहाँको भाग होइन भन्‍ने लाग्थ्यो। मैले गलत बुझेँ र परमेश्‍वरबाट टाढा भएको महसुस गरेँ, अनि आफ्नो कर्तव्यमा सर्वस्व दिइनँ। तर मलाई अब त्यस्तो लाग्दैन। मैले जहाँसुकै वा जति समयसम्म कर्तव्य गरे पनि, त्यसको पछाडि परमेश्‍वरको असल इच्छा हुन्छ, त्यसैले मैले आज्ञा पालन गर्न सिक्नुपर्छ। पछि गएर छोड्नुपरे पनि, म अहिले भिडियोहरू बनाइरहेकी छु, र मैले हरेक दिन सक्दो गर्नुपर्छ, अनि कर्तव्य र आफूले अनुभव गर्ने हरेक परिस्थितिमा आफ्नो हृदय लगाउनुपर्छ। म आफ्नो कर्तव्य गर्दा प्रायः परमेश्‍वरलाई प्रार्थना गरेर अझ दक्ष बन्न मार्गदर्शन माग्छु। म आफ्नो काममा कस्ता समस्या छन् भनेर पनि सोच्छु, ताकि ती समस्यालाई सारसंक्षेप गरेर तुरुन्तै सच्याउन सकूँ। आफूले नबुझ्ने सिद्धान्तहरू भेट्टाउँदा, म अरूसँग सङ्गति गर्छु। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई सहज महसुस हुन्छ, र परमेश्‍वरको नजिक भएको महसुस गर्छु।

एउटा भेलामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरूको नियतिमाथिको परमेश्‍वरको बन्दोबस्त र सार्वभौमिकताप्रति तिनीहरूको प्रतिक्रिया कस्तो हुनुपर्छ? (परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ।) पहिलो, तैँले सृष्टिकर्ताले किन तेरो लागि यस्तो नियति र वातावरण बन्दोबस्त गर्नुभयो, किन उहाँले तँलाई निश्‍चित कुराहरू सामना र अनुभव गर्न लाउनुहुन्छ, र तेरो नियति किन यस्तो छ भनेर खोजी गर्नुपर्छ। यसबाट, तैँले आफ्‍नै खाँचोहरू र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू बुझ्‍नुपर्छ। तैँले यी कुराहरू बुझेपछि र जानेपछि, आफ्‍नो नियतिको प्रतिरोध गर्ने, यसबारेमा छनौटहरू गर्ने, यसलाई इन्कार गर्ने, योसँग बाझिने काम गर्ने, वा यसबाट तर्किने काम गर्नु हुँदैन। अनि अवश्य नै, तैँले परमेश्‍वरसँग मोलतोल गर्ने चेष्टा गर्नु हुँदैन। बरु, तँ समर्पित हुनुपर्छ। तँ किन समर्पित हुनुपर्छ? किनभने तैँले आफ्‍नो नियति आफै योजना गरी अघि बढाउन सक्दैनस् र यसमाथि तेरो सार्वभौमिकता हुँदैन। परमेश्‍वरले नै तेरो नियति निर्धारित गर्नुभएको हुन्छ। तँ सृष्टि गरिएको प्राणी होस्, र आफ्नो नियतिको हकमा, तँ निष्क्रिय छस् र तेरो कुनै विकल्‍प छैन। तैँले गर्नुपर्ने एउटै काम भनेको समर्पित हुनु हो। तैँले आफ्‍नो नियतिको बारेमा आफ्‍नै छनौटहरू गर्नु वा यसबाट तर्किनु हुँदैन, तैँले परमेश्‍वरसँग मोलतोल गर्नु हुँदैन, र तैँले परमेश्‍वरको खण्डन वा गुनासो गर्नु हुँदैन। विशेष गरी, तैँले अवश्य नै यस्तो कुरा बोल्‍नु हुँदैन, ‘परमेश्‍वरले मेरो लागि तय गर्नुभएको नियति खराब छ। यो दयनीय र अरूको नियतिभन्दा खराब छ,’ वा ‘मेरो नियति खराब छ र म खुसी वा सम्‍पन्‍नतामा रमाउन पाउँदिनँ। परमेश्‍वरले मेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ।’ यी आलोचनाका शब्‍दहरू हुन् र ती बोलेर, तँ आफ्‍नो अख्‍तियारभन्दा बाहिर गइरहेको छस्। यी शब्‍दहरू सृष्टि गरिएको प्राणीले बोल्‍नुपर्ने शब्‍दहरू होइनन् र यो सृष्टि गरिएको प्राणीमा हुनुपर्ने दृष्टिकोण वा मनोवृत्ति होइन। बरु, तैँले नियतिसम्‍बन्धी यस्ता विभिन्‍न गलत बुझाइ, परिभाषा, दृष्टिकोण, र ज्ञानहरू त्याग्‍नुपर्छ। यसको साथै, परमेश्‍वरले तय गर्नुभएको तेरो नियतिको रूपमा आइपर्ने सबै कुराहरूमा समर्पित हुन तैँले सही मनोवृत्ति र अडान अपनाउनुपर्छ। तैँले प्रतिरोध गर्नु हुँदैन, र तैँले निराश भएर स्वर्ग निष्पक्ष छैन, परमेश्‍वरले तेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ, र तँलाई सर्वोत्कृष्ट कुरा दिनुभएको छैन भनेर गुनासो गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीसँग आफ्‍नो नियति छनौट गर्ने अधिकार हुँदैन। परमेश्‍वरले तँलाई यस्तो दायित्व दिनुभएको छैन र यस्तो अधिकार पनि प्रदान गर्नुभएको छैन। त्यसकारण, तैँले छनौट गर्ने, परमेश्‍वरसँग तर्क गर्ने, वा उहाँसँग थप अनुरोध गर्ने प्रयास गर्नु हुँदैन। तैँले परमेश्‍वरका बन्दोबस्तहरू मान्‍नु र सामना गर्नुपर्छ, चाहे ती जेसुकै नै किन नहोऊन्। परमेश्‍वरले जे तय गर्नुभएको छ त्यसलाई तैँले सामना र अनुभव गर्ने अनि बुझ्‍ने प्रयास गर्नुपर्छ। परमेश्‍वरका बन्दोबस्तहरूमार्फत अनुभव गर्नुपर्ने सबै कुरामा तँ समर्पित हुनुपर्छ। परमेश्‍वरले तेरो लागि तय गर्नुभएको नियति तैँले मान्‍नुपर्छ। यदि तँलाई कुनै कुरा मन परेन भने पनि, वा यसले गर्दा तँलाई कष्ट नै भयो भने पनि, यसले तेरो स्वाभिमान र इज्‍जतलाई चुनौती र दमन गरे पनि, जबसम्म यो तैँले अनुभव गर्नुपर्ने कुरा हुन्छ, र जबसम्म यो परमेश्‍वरले तेरो लागि योजना र बन्दोबस्त गर्नुभएको कुरा हुन्छ, तबसम्म तँ यसमा समर्पित हुनुपर्छ र यसबारे तँसँग कुनै विकल्‍प हुँदैन। परमेश्‍वरले नै मानिसहरूको नियति तय गर्नुहुन्छ र त्यसमाथि उहाँकै सार्वभौमिकता हुन्छ, त्यसैले यसबारेमा परमेश्‍वरसँग मोलतोल गर्न सकिँदैन। यदि मानिसहरू बुज्झकी छन् र तिनीहरूमा सामान्य मानवताको समझ छ भने, तिनीहरूले आफ्नो नियति खराब छ वा आफ्नो लागि यो वा त्यो कुरा असल छैन भनेर गुनासो गर्नु हुँदैन। आफ्‍नो नियति खराब लाग्यो भन्दैमा, तिनीहरूले आफ्‍नो कर्तव्य, जीवन, विश्‍वासको मार्ग, परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिस्थितिहरू, वा तय गर्नुभएका मापदण्डहरूलाई निराश मनोवृत्तिले लिनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता कसरी खोजी गर्ने (२))। परमेश्‍वरका वचनहरू मनन गर्दा, परमेश्‍वरको सार्वभौम प्रबन्धलाई कसरी लिने भनेर मैले अझ स्पष्टरूपमा देखेँ। हाम्रा सबै भाग्य परमेश्‍वरको हातमा छन्। व्यक्ति कस्तो परिवारमा जन्मिन्छ, उसले कस्तो शिक्षा पाउँछ, तिनीहरूका प्रतिभा र सबलताहरू, तिनीहरू कहिले मण्डलीमा आउँछन् र कर्तव्य लिन्छन्, र के कर्तव्य निर्वाह गर्छन्, सबै परमेश्‍वरले मिलाउनुहुन्छ, र ती कुराको पछाडि परमेश्‍वरको असल इच्छा हुन्छ। पहिले, मैले किन म सधैँ सरुवा भइरहेकी छु भनेर बुझेकी थिइनँ, तर यसलाई सावधानीपूर्वक सोचेपछि, मैले यो वास्तवमै मलाई चाहिएको कुरा रहेछ भनेर बुझेँ। यी अनुभवहरूविना, मैले प्रतिष्ठा र हैसियतको चाहना गर्नु कति नराम्रो रहेछ भनेर देख्नेथिइनँ। म अलि बदलिएकी छु भनेर अझै सोच्थेँ, र शैतानका दर्शनहरूले ममा कति गहिरो जरा गाडेका छन् भनेर मलाई थाहा हुँदैनथ्यो, र त्यसले गर्दा ममा सामान्य मानवताको समझ गुमेको थियो र म परमेश्‍वरको विरोध गर्थेँ, र यदि मैले ती कुरा पछ्याइरहेँ भने म हटाइनेछु भनेर बुझ्नेथिइनँ। यसबाट गुज्रिँदा, मलाई प्रतिष्ठा र हैसियत पछ्याउनेसम्बन्धी आफ्नो गलत दृष्टिकोणबारे केही स्पष्ट भयो, र मैले यो सही बाटो होइन, यो त मानिसहरूलाई भ्रष्ट पार्ने र हानि गर्ने शैतानको मार्ग हो भनेर बुझेँ। मैले के पनि सिकेँ भने, मैले आफ्नै क्षमतालाई सही तरिकाले लिनुपर्छ, परमेश्‍वरका प्रबन्धहरू स्विकार्नुपर्छ र पालन गर्नुपर्छ, आफ्नो स्थानमा उभिन सक्नुपर्छ, र समझदार सृजित प्राणी बन्नुपर्छ। भविष्यमा मेरो सरुवा भए पनि, मैले जुनसुकै कर्तव्य गरे पनि, परमेश्‍वरको सार्वभौम बन्दोबस्त पालन गर्नुपर्छ, उहाँको इच्छा खोज्नुपर्छ, उहाँले मेरो लागि मिलाउनुहुने सबै परिस्थितिमा समायोजित हुनुपर्छ, त्यो अनुभव गर्नुपर्छ र त्यसमा डुब्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

बर्खास्त भएपछि मैले सिकेको पाठ

झेङ्ग यि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको...

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

अब म डरले लुरुक्क पर्दिनँ

मैले सेप्टेम्‍बर २ मा एउटी सिस्टर पक्राउ परेकी सुनेँ। त्यो दिन म अगुवाको घर जाँदै थिएँ, तर घरमा कोही थिएन। अगुवाको घर छेउमा बस्‍ने सिस्टर...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्