“चोरिएको” आशिष

27 फेब्रुअरी 2023

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र किताब पढ्न बेडरुममा जान्थिन्। त्यसपछि अर्को दिन पनि त्यसै भयो, अर्को दिन पनि … र यही क्रम जारी रह्यो। मलाई निकै जिज्ञासा जाग्यो। उनले के पुस्तक पढिरहेकी छिन्? किन उनलाई यो यति आकर्षक लाग्यो? एक दिन राती, मैले आफूलाई थाम्‍न नसकेर ढोका खोलेर के हुँदै रहेछ भनेर हेरेँ। म भित्र आएको देखेर, उनले किताब लुकाउन खोजिन्। मैले किताब लिएको उनको हात समातेँ र उनले कस्तो किताब पढिरहेकी छिन् भनेर सोधेँ। उनले मुस्कुराएर भनिन्, “यो थुमाद्वारा खोलिएको चर्मपत्र हो। यी फर्कनुभएका प्रभु येशूले व्यक्त गर्नुभएका वचनहरू हुन्। हामीले उहाँको पुनरागमनको तृष्णा गरेका थियौँ र अहिले उहाँ आउनुभएको छ।” यो सुन्दा, म छक्‍क परेँ र डर पनि लाग्यो। मलाई पाष्टरले भनेको यो कुरा याद आयो, “हामी प्रभुमा विश्‍वास गर्छौँ त्यसकारण हामीले मुक्ति पाएका छौँ। जब उहाँ आउनुहुन्छ, तब उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा उठाइलैजानुहुनेछ, त्यसकारण प्रभुको पुनरागमन सम्‍बन्धी कुनै पनि प्रचार गलत छ।” मैले रिसाउँदै भनेँ, “मलाई लाग्छ तिमीले गल्ती गरिरहेकी छ्यौ। पाष्टरले भनेको कुरा बिर्स्यौ? हामीले प्रभुमा विश्‍वास गरेर पहिले नै मुक्ति पाइसकेका छौँ। यदि प्रभु फर्कनुभएको थियो भने, हामी पहिले नै स्वर्गको राज्यमा उठाइ लगिनेथियौँ। तर हामी अझै यहीँ छौँ, होइन र? प्रभुका विश्‍वासीहरूका रूपमा, हामीले बाइबल पढ्नुपर्छ र प्रभुको मार्गलाई कायम राख्‍नुपर्छ। त्यसरी मात्रै हामी प्रभुको आगमन हुँदा स्वर्गको राज्यमा उठाइलगिन सक्छौँ।” मेरी श्रीमतीले भनिन्, “हतारमा यसको बारेमा यो यस्तै हो भनेर नभन्‍नुहोस्। पहिले यो किताब पढ्नुहोस्, त्यसपछि प्रभु साँच्‍चै आउनुभएको हो कि होइन तपाईंलाई थाहा हुन्छ।” तर त्यो बेला म यसप्रति निकै सतर्क थिएँ, त्यसकारण मैले मेरी श्रीमतीले भनेको कुरालाई स्वीकार गर्न सकिनँ, त्यसकारण तिनले त्यो किताब फिर्ता लानु बाहेक केही गर्न सकिनन्।

त्यसपछि, कामको बीचमा म घरमा सामान लिन आउनुपर्‍यो, र मेरी श्रीमतीले फेरि पनि त्यो किताब पढिरहेकी देख्दा, मैले आफूलाई चाहिएको कुरा उठाउँदै उनलाई आँखा तरेर हेरेँ अनि बेवास्ता गरेर घरबाट निस्केँ। घरबाट कार्यालय आउँदा बाटोमा मैले यो सोचिरहेँ, “किन मेरी श्रीमतीलाई यसप्रति यति चासो लाग्यो? समय पाउने बित्तिकै उनले यो पढिहाल्छिन्, र उनी सुसमाचार प्रचार गर्न बाहिर जान्छिन्।” मलाई अचानक मेरी आमाले पहिले भन्‍नुभएको कुरा याद आयो, “‘पूर्वीय ज्योति’ एउटा ठूलो शक्ति हो। बाइबलप्रति परिचित रहेका र धेरै खोजी गर्ने ब्रदर-सिस्टरहरू तिनीहरूका पुस्तकहरूमा डुबेपछि कहिल्यै फर्केर आउँदैनन्।” मैले सोचेँ, “के मेरी श्रीमतीले पूर्वीय ज्योतिको पुस्तक पढिरहेकी छिन्? के उनी यसबाट भ्रममा परेकी छिन्? भ्रममा परेर उनले साँच्‍चै प्रभुको मुक्तिलाई गुमाइन् भने के गर्ने? तर म जीवनमा अपरिपक्‍व छु, र म बाइबलप्रति त्यति परिचित छैन। उनलाई फर्काएर कसरी ल्याउने मलाई थाहा छैन।” पछि म पाष्टर चेनको घरमा घर सजाउन सघाउन गाएँ। तिनले प्रभुमा विश्‍वास गरेको धेरै वर्ष भयो, तिनी बाइबलप्रति परिचित छन्, र तिनी जीवनमा परिपक्‍व छन् भन्‍ने मलाई लाग्थ्यो। मेरी श्रीमतीलाई खतराबाट फर्काएर ल्याउनको लागि तिनीसँग केही बुद्धिमान उपायहरू छन् होला भन्‍ने सोचेँ। त्यसकारण, मैले पाष्टर चेनलाई भनेँ, “आजभोलि मेरी श्रीमतीले एउटा किताब पढ्दै आइरहेकी छिन्। उनले प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले सक्रिय रूपमा सुसमाचार प्रचार गरिरहनुभएको छ भनेर भन्छिन्। उनी निकै परिवर्तन भएकी छिन्। तपाईंलाई थाहै छ विगतमा प्रभुमाथिको उनको विश्‍वास कमजोर थियो, र उनले बाइबल त्यति धेरै पढ्दिनथिइन्। उनले अहिले किन यति कट्टरताको साथ खोजी गर्छिन् मलाई थाहा छैन।” यो सुनेर, तिनले गम्‍भीर रूपमा भने, “उनी खतरामा छिन्! अहिले सम्पूर्ण धार्मिक संसारमा, पूर्वीय ज्योतिले मात्रै प्रभुको पुनरागमनको बारेमा गवाही दिन्छ, र बाइबल नपढ्ने तिनीहरू मात्र हुन्। तपाईंकी श्रीमतीले सायद पूर्वीय ज्योतिलाई स्वीकार गर्नुभएको छ होला। यदि उहाँले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुभयो भने, उहाँले प्रभुको मुक्ति गुमाउनुहुनेछ, र स्वर्गको राज्यमा उहाँको लागि कुनै ठाउँ हुनेछैन। तपाईंले उहाँलाई फर्काएर ल्याउन तुरुन्तै केही गर्नुपर्छ।” यो सुनेपछि मलाई निकै डर लाग्यो। मेरी श्रीमतीले गलत विश्‍वास गरेकी हुनाले प्रभुले उनलाई त्याग्‍नुहुनेछ, र उनी विपत्तिहरूमा पर्नेछिन् भन्‍ने मलाई चिन्ता लागेको थियो। मैले के गर्नुपर्छ भनेर पाष्टर चेनलाई सोधेँ। तिनले एकछिन विचार गरेर भने, “म पाष्टर हुँ, त्यसकारण तपाईंलाई भन्दा बढी मलाई बाइबल थाहा छ। आज राती, तपाईंकी श्रीमतीले पढ्दैगर्नुभएको किताब चोर्नुहोस्, र म तपाईंलाई यो हेर्न सहयोग गर्नेछु। तर उहाँलाई थाहा नदिनुहोस्।” त्यो बेला, पाष्टरले मलाई यो पुस्तक विश्‍लेषण गर्न सहयोग गर्दा राम्रो हुनेछ भन्‍ने लागेको थियो। त्यसरी, यसमा के लेखिएको छ भन्‍ने कुरा मलाई थाहा हुनेथियो, र मैले केही भित्री कुरा बुझ्‍नेथिएँ। यदि मेरी श्रीमतीको विश्‍वास गलत रहेछ भने, हामीले उनलाई समयमा नै फर्केर आउन मनाउन सक्थ्यौँ। त्यो रात मैले कसैले नदेख्‍ने गरी निकालेर थुमाद्वारा खोलिएको चर्मपत्र भन्‍ने पुस्तक पाष्टर चेनको घरमा ल्याएँ। पाष्टर चेनले पुस्तक लिएर सरर पल्टाए, त्यसपछि टेबलमा पछारे। किताबको गातामा हेर्दै, तिनले तिरस्कारको साथ भने, “हो, यो पूर्वीय ज्योतिको किताब हो। तपाईंकी श्रीमतीले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ भन्‍नेमा म पक्‍का छु। तिनीहरूको प्रचार निकै उत्कृष्ट हुन्छ, र धेरैजसो मानिसहरूले यसको खण्डन गर्न सक्दैनन्। गहन रूपमा खोजी गर्ने र बाइबलप्रति परिचित रहेका कतिपय मानिसहरूले तिनीहरूको पुस्तकहरू पढ्न थालेपछि बाइबल पढ्न छोड्छन्। यदि तिनीहरूले बाइबल पढ्दैनन् भने, के तिनीहरू प्रभुका विश्‍वासी हुन् र? तपाईंकी श्रीमती पूर्वीय ज्योतिको बहकाउमा पर्नुभएको छ। उहाँ फर्केर आउनुभएन भने, उहाँले स्वर्गको राज्यको आशिष गुमाउनुहुनेछ।” यो सुन्दा म अलिक अकमक्‍क भएँ, “बाइबलप्रति अपरिचित रहेकाहरूमा समझशक्तिको कमी हुन्छ, त्यसकारण तिनीहरू यसबाट बहकिनु सामान्य हुन्छ, तर धेरै वर्ष अगुवाको रूपमा काम गरेका र बाइबल राम्ररी जानेका मानिसहरूले पूर्वीय ज्योतिमा विश्‍वास गर्छन् भने, के यो पुस्तकमा कुनै रहस्य छ? नत्र भने, बाइबलप्रति परिचित रहेका मानिसहरू किन यसप्रति यति आकर्षित हुन्छन् र पूर्वीय ज्योतिमा विश्‍वास गर्न पुग्छन्? मैले यो कुरा पटक्‍कै बुझिनँ।” त्यसकारण, मैले पाष्टरलाई भनेँ, “तपाईंले बाइबल धेरै बुझ्‍नुभएको छ। किताबको विषयवस्तुलाई हेर्नुहोस् र यसमा के भनिएको रहेछ मलाई भन्‍नुहोस्। मैले मेरी श्रीमतीलाई मनाएर फर्काउन के गर्नुपर्छ?” पाष्टर चेनले गम्‍भीर हुँदै यसो भनेको सुन्दा म छक्‍कै परेँ, “म पाष्टर हुँ, र म जीवनमा परिपक्‍व छु, त्यसकारण मैले यो किताब पढ्नु पर्दैन। हामीले प्रभुमा विश्‍वास गरेर मुक्ति पाउँछौँ, र उहाँले हामीलाई परमेश्‍वरको राज्यमा लैजानुहुने दिनको प्रतीक्षा मात्रै हामीले गर्नुपर्छ। तपाईंकी श्रीमतीले तपाईंलाई पूर्वीय ज्योतिको बारेमा प्रचार गर्नुभयो भने, विश्‍वास नगर्नुहोस्। पूर्वीय ज्योति आर्थिक ठगी बाहेक केही पनि होइन। यस विषयमा, तपाईंले गर्न सक्‍ने एउटै कुरा भनेको उहाँलाई धेरै पैसा नदिनु मात्रै हो। सबै पैसा डिपोजिट गर्नुहोस्, उहाँको हातमा पर्न नदिनुहोस्, र उहाँको हरेक क्रियाकलाप निगरानी गर्नुहोस्।” त्यो बेला, मैले पाष्टरलाई मलाईभन्दा धेरै कुरा थाहा छ, र यो मलाई रक्षा गर्नको लागि हो भन्‍ने सोचेँ, त्यसकारण मैले तिनको कुरा मान्‍ने निर्णय गरेँ। घर पुगेपछि, मेरी श्रीमती आएकी छैनन् भन्‍ने सोचेर, मैले त्यो किताब होसियारीको साथ पहिलेकै ठाउँमा राखिदिएँ, तर राख्‍नुभन्दा पहिले, मेरी श्रीमती अर्को कोठाबाट आइन्। म छक्‍क परेँ, त्यसपछि उनले उत्सुकताको साथ मलाई सोधिन्, “मेरो किताब लानुभएको थियो?” मैले चोरेको उनले थाहा पाउनेछिन् भन्‍ने डरले, मैले झूट बोलेर भनेँ, “लगिनँ। तिमी सधैँ जता पायो त्यतै सामान छोड्छौ। म तिमीलाई खोज्‍न सघाउँछु।” त्यसपछि, मैले कोठामा यता-उता खोजेजस्तो गरेँ, र अन्तिममा किताब निकालेर उनको हातमा दिएँ र भनेँ, “लाऊ। तिमी सधैँ जता पायो त्यतै सामान छोड्छौ। तिमीले साँच्‍चै सामान ठीक ठाउँमा राख्‍नुपर्छ।” मेरी श्रीमतीले मलाई हेरेको हेरेकै गरिन्, र मलाई पछुतो लागेर मेरो अनुहार रातो भइरहेको थियो। खुसीको कुरा, मेरी श्रीमतीले थप केही सोधिनन्। उनले किताब समाइन् र त्यहाँबाट गइन्। त्यो बेला, मलाई प्रभु येशूले हामीलाई इमानदार मानिसहरू बन्‍नुपर्छ भनी भन्‍नुभएको कुरा याद आयो। “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्(मत्ती ५:३७)। तर मैले के गरेँ? मैले प्रभुका शिक्षाहरू र मेरो विवेकको विरुद्धमा काम गरेको थिएँ, र मैले चोरले जस्तो व्यवहार गरेको थिएँ। तर मैले उनलाई रक्षा गर्नको लागि यसो गरेको हुँ भन्दै आफूलाई सान्त्वना दिएँ।

भोलिपल्‍ट, म बैङ्कमा गएँ, र हाम्रो बैङ्क बुक र कार्डहरू सबैको पिन परिवर्तन गरेँ, र हामीसँग भएको फाल्टो रकम डिपोजिट गरेँ, ताकि हामीसँग खानेकुराको लागि मात्रै पैसा होस्। अनपेक्षित रूपमा, मेरी श्रीमतीलाई यो कुरा थाहा भएपछि पनि उनले केही भनिनन्। पुस्तक पढ्ने बाहेक, उनले सधैँ झैँ आफ्‍नो सबै घरको कामकाज पूरा गर्थिन्, र सधैँ जस्तै मलाई मायाले व्यवहार गर्थिन्। तर मलाई लाज र असहज लाग्थ्यो। मैले प्रभुलाई विश्‍वास गरेको धेरै वर्ष भएको थियो, तर अझै पनि मेरी श्रीमतीलाई यस्तो घृणित तरिकाले व्यवहार गरेँ। इसाईले यस्तो व्यवहार गर्नु हुँदैन। मेरी श्रीमतीले किताब पढ्न थालेपछि उनी धेरै परिवर्तन भएकी छिन् भन्‍ने मलाई महसुस भयो। मैले उनलाई यसरी व्यवहार गरिरहेको थिएँ, र उनी रिसाएकी समेत थिइनन्। के त्यो पुस्तकका वचनहरूले उनलाई परिवर्तन गरेको थियो? के मैले गल्ती गरिरहेको थिएँ? के मेरी श्रीमतीले विश्‍वास गरेको यो पूर्वीय ज्योति साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ? मैले यो सबै कुरा पत्ता लगाउनुपर्छ भन्‍ने मलाई थाहा थियो।

एक रात, बेलुकाको खानामा, मेरी श्रीमतीले मलाई उक्त किताब पढ्न फेरि प्रोत्साहन दिइन्, र भनिन्, “तपाईं हामीले प्रभुमा विश्‍वास गरेको कारण हामीले मुक्ति पाएका छौँ, र उहाँ हामीलाई स्वर्गको राज्यमा लैजान आउनुहुनेछ भनेर भन्‍नुहुन्छ। तर हाम्री आमा र दिदी, र हामीलाई हेर्नुहोस्, हामीले प्रभुमा विश्‍वास गरेको वर्षौं भयो, र पनि हामी सधैँ दिउँसो पाप गर्छौँ र राती पाप स्वीकार गर्छौँ। हामी पापको बन्धनबाट उम्कन सक्दैनौँ। पवित्रताविना, हामीले प्रभुलाई देख्‍न सक्दैनौँ भनेर धर्मशास्‍त्रले भन्छ। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसकारण हामीले अझै पनि यति धेरै पाप गर्छौँ भने, हामी कसरी स्वर्गको राज्य प्रवेश गर्न योग्यका हुन्छौँ र? अहिले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। मानिसहरूलाई पापबाट पूर्ण रूपमा धुन र हामीलाई उहाँको राज्यमा लैजानको लागि उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ। स्वर्गको राज्यमा प्रवेश गर्नको लागि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नुपर्छ।” मेरी श्रीमतीले भनेको कुरा मैले अलिअलि बुझेँ। हामी अझै पनि दिउँसो पाप गरेर राती स्वीकार गर्ने स्थितिमा जिइरहेका थियौँ, र हामी अझै पनि पापको बन्धनबाट उम्कन सकेका थिएनौँ। प्रभु पवित्र हुनुहुन्छ, त्यसकारण हामीजस्तो फोहोरी र भ्रष्ट मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ कि सक्दैनौँ भनेर भन्‍न गाह्रो छ। यो महसुस गरेपछि, मैले सहमतिमा शिर हल्‍लाएँ। मैले विरोध गरेको छैन भन्‍ने देखेर, मेरी श्रीमतीले खुशी हुँदै भोलिपल्‍ट प्रभुको पुनरागमनको बारेमा कुरा गर्न दुई जना सिस्टरलाई बोलाउँछु भनेर भनिन्। मैले तिनीहरूको कुरा सुन्‍न सहमति जनाएँ। तर मैले बाइबलको बारेमा त्यति धेरै बुझेको छैनँ भन्‍ने मलाई थाहा थियो, त्यसकारण मलाई कुरा बुझ्‍न र सिस्टरहरूसँग तर्क गर्न सहयोग गर्नको लागि म पाष्टर चेनलाई पनि बोलाउन चाहन्थेँ। त्यसरी, मैले समझशक्ति पाएर कसको कुरा बाइबलसँग बढी मिल्दो छ भनेर देख्‍न सक्थेँ। त्यसकारण, मैले पाष्टर चेनलाई यसको बारेमा बताएँ।

भोलिपल्ट, बेलुकाको खानापछि, सबै जना आइपुगे। एक जना सिस्टरले यसो भन्दै सङ्गति गरिन्, “प्रभु फर्केर आइसक्‍नुभएको छ, उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गरिरहनुभएको छ—” उनको कुरा पूरा हुनुभन्दा पहिले, पाष्टर चेनले चिच्याउँदै भने, “कुन आधारमा प्रभु फर्केर आइसक्‍नुभएको छ भनेर भन्‍नुहुन्छ? प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हाम्रा पाप क्षमा हुन्छन्। अनुग्रहद्वारा हामीले मुक्ति पाउँछौँ। हामीलाई यो न्यायको कामको आवश्यकता छैन। तपाईंले बाइबल पटक्‍कै बुझ्‍नुभएको छैन!” अर्की सिस्टरले पाष्टरलाई भनिन्, “ब्रदर, हामीले वादविवाद गरेर सत्यता प्राप्त गर्न सक्दैनौँ। प्रभु साँच्‍चै फर्केर आउनुभएको छ, र तपाईंले फर्कनुभएका प्रभुले व्यक्त गर्नुभएको सत्यतालाई पढ्नुभयो भने, उहाँ साँचो हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा बुझ्‍नुहुनेछ।” क्रोधित हुँदै, पाष्टर चेनले भने, “मैले किन पढ्ने? प्रभु फर्केर आउनुभएको छैन। तपाईंहरूले बाइबल पटक्‍कै बुझ्‍नुभएको छैन, तर पनि किन सुसमाचार प्रचार गरिरहनुभएको छ? मैले तपाईंहरूले भन्दा धेरै बाइबल बुझेको छु, र म यो कुरा सुन्दिनँ।” परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा बताउन दुई जना सिस्टरहरूले बाइबलको प्रयोग गरे, तर पाष्टर चेनले पटक्‍कै सुनेनन्, र तिनले तिनीहरूलाई बोल्‍नै नदिई बीचमा कुरा कटिरहन्थे, अन्तिममा दुई जना सिस्टरहरूसँग जाने बाहेक केही विकल्‍प थिएन। त्यसपछि तिनले मेरी श्रीमतीलाई भने, “तिनीहरूको कुरा नसुन्‍नुहोस्। तपाईंले बाइबल बुझ्‍नुभएको छैन, त्यसकारण बहकाउमा नपर्नुहोस्, र भविष्यमा बाइबल अझै धेरै पढ्नुहोस्।” अनि त्यसरी, पन्ध्र मिनेट पनि नबिती तिनीहरू सबै गए। मलाई निकै खिन्‍न लाग्यो। मण्डलीको पाष्टर भएको नाताले, कसैले प्रभुको पुनरागमनको बारेमा गवाही दिन्छ भने, उसले खोजी र अनुसन्धान गर्नुपर्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरूसँग वादविवाद गर्नुपर्छ। यदि यो साँच्‍चै नै प्रभुको पुनरागमन हो भने, हामी सबैले यसलाई सँगै स्वीकार गर्नुपर्छ, र होइन रहेछ भने, हामीले केही समझशक्ति प्राप्त गर्छौँ। त्यो सबैको लागि राम्रो हुनेथियो। पाष्टर चेन किन यति अहङ्कारी थिए? यदि तिनले साँच्‍चै नै बाइबल बुझेका भए, तिनले तिनीहरूसँग उचित रूपमा छलफल गर्नेथिए। त्यो साँझ मैले केही कुरा सिक्छु भन्‍ने सोचेको थिएँ। म कति गलत रहेछु भन्‍ने थाहा पाउँदा म आश्‍चर्यमा परेँ, र पाष्टर चेनले परिस्थितिलाई यसरी सामना गरेको देख्दा मलाई नरमाइलो लाग्यो। तर तिनको सङ्गति बाइबलमा आधारित थियो, र दुई जना सिस्टरले बाइबलभन्दा बाहिरको केही कुरा पनि सङ्गति गरेका थिएनन्। दुवै पक्षको कुरा बाइबलमा आधारित थियो, तर पनि किन तिनीहरूको व्याख्या र बुझाइमा यति भिन्‍नता थियो? म अत्यन्तै दोधारमा परेँ।

पछि, मेरी श्रीमती र म हाम्रो गृहनगरमा गयौँ, र स्थानीय मण्डलीका पाष्टर लीयू र सहकर्मी लियाङ्ग मेरी श्रीमतीलाई पूर्वीय ज्योतिमा विश्‍वास गर्न छोड्नुहोस् भनी मनाउन मेरो घरमा आए। उनले तिनीहरूको कुरा नमानेको देखेर, सहकर्मी लियाङ्गले रिसाउँदै मेरी श्रीमतीतिर औँला ठड्याउँदै उनलाई हप्काए, र उनलाई तर्साउन पूर्वीय ज्योतिलाई निन्दा गर्ने धेरै कुरा भने। मैले सोचेँ, “के यो मान्छे साँच्‍चै प्रभुको विश्‍वासी हो? मेरी श्रीमतीले पूर्वीय ज्योतिमा विश्‍वास गर्ने बाहेक केही पनि गरेकी थिइनन्। तिमीहरूले त प्रभुले सिकाउनुभए जस्तै उनलाई प्रेमको साथ सहयोग र साथ दिनुपर्ने हो, उनको अगाडि औँलो ठड्याउने होइन।” मलाई रिस उठ्यो, र म तिनीसँग तर्क गर्न चाहन्थेँ, तर त्यति नै बेला पाष्टर लीयूले मलाई ढोकाबाट बाहिर ताने र मलाई भने, “तपाईंले तपाईंकी श्रीमतीलाई मनाउनुपर्छ। उनले पूर्वीय ज्योतिमा विश्‍वास गरेको त्यति धेरै भएको छैन, त्यसकारण उनलाई प्रभुको अघि आफ्‍नो पाप स्वीकार गरे पश्‍चात्ताप गर्न लगाउनुहोस्, र उनले भनेको मानिनन् भने, अनि आवश्यक परे पुलिसलाई फोन गर्न सक्‍नुहुन्छ।” त्यो बेला, मलाई पाष्टर लीयूले त्यसो भन्‍नु गलत हो भन्‍ने लागेको थियो, तर मलाई उनलाई रोक्‍ने अरू कुनै उपाय छैन भन्‍ने लाग्यो। तिनीहरू गएपछि, मेरी श्रीमतीले मलाई भनिन्, “मैले प्रभुमा विश्‍वास गर्दा, म निष्क्रिय र कमजोर थिएँ, र मेरो विश्‍वास सेलाएको थियो, तर मलाई सहयोग वा साथ दिन कुनै पाष्टर वा एल्डर आएन। अहिले मैले प्रभुलाई स्वागत गरेपछि, तिनीहरू कति लगनशील भएका छन्, देख्‍नुभयो नि। तिनीहरूले मेरो जीवनको कुनै वास्ता गर्दैनन् भन्‍नेमा म निश्‍चित छु। तिनीहरूले मलाई धर्ममा नै फर्काएर लैजान चाहन्छन्, ताकि मैले तिनीहरूलाई दशांस-भेटी दिइरहन सकूँ, र यसो गर्न नसक्दा, तिनीहरूको सम्पूर्ण व्यवहार नै परिवर्तन भयो। तिनीहरूले मेरो अनुहारमा औँलो ठडाए, मलाई हप्काए, र ईश्‍वर-निन्दाका धेरै कुरा बोले। के यो प्रभुको शिक्षा अनुरूप छ? के तिनीहरूले प्रभुका विश्‍वासीहरूले जस्तो व्यवहार गरिरहेका छन्? तपाईंले तिनीहरूको वास्तविकतालाई बुझ्‍नुपर्छ र तिनीहरूले भनेको कुरा अन्धाधुन्ध सुन्‍नु हुँदैन। यहूदी धर्मका विश्‍वासीहरूले प्रभुलाई दोषी ठहराउने काममा फरिसीहरूलाई अन्धाधुन्ध पछ्याए, र अन्त्यमा, तिनीहरूले प्रभुलाई क्रूसमा टाँगे र परमेश्‍वरको स्वभावलाई चिढ्याए।” मेरी श्रीमतीको कुरा सुनेपछि, मलाई पाष्टर मेरी श्रीमतीलाई फर्काउन आएको हुँ भनेका थिए, तर तिनीहरूले प्रेम र साथको एक शब्‍द पनि प्रदान गरेका थिएनन् भन्‍ने कुरा याद आयो। तिनीहरूले संत्रास, धम्की, र दोषारोपणका शब्‍दहरू मात्रै बोले। मेरी श्रीमतीलाई पक्राउ गराउन तिनीहरूले पुलिसलाई फोन गर्नुहोस् भनेर समेत मलाई भनेका थिए। के प्रभुका विश्‍वासीहरूले यस्तो कुरा भन्छ? के यसो गर्नु मेरी श्रीमतीलाई खाडलमा पार्नु सरह थिएन र? मलाई निकै रिस उठ्यो, त्यसपछि मलाई फेरि पाष्टरमाथि विश्‍वास गर्ने दुस्साहस भएन।

यो घटनापछि, मेरी श्रीमतीले मलाई बारम्‍बार सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न अनुरोध गरिरहन्थिन्। मलाई निकै जिज्ञासा लागेको थियो। यो पुस्तकमा के रहेछ जसले मेरो श्रीमातीको विश्‍वास दह्रिलो बनायो, र मलाई पनि यो पढ्न आग्रह गर्ने उनलाई यस्तो अठोट दियो भनेर हेर्न मलाई मन थियो। तर मेरो आचरण मेरी श्रीमतीले थाहा नपाओस् भनेर, उनलाई यो कुरा भन्‍न मलाई धेरै लाज लागेको थियो। एक दिन, मेरी श्रीमती घरमा नहुँदा, मैले उनको किताब निकालेर पढेँ। मैले पहिलो अध्याय खोलेँ र शीर्षकमा “प्रस्तावना” भन्‍ने लेखिएको रहेछ। मैले किताबमा यो कुरा पढेँ: “धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू ‘परमेश्‍वर’ शब्द र ‘परमेश्‍वरको कार्य’ जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेका कारणले, र तिनीहरूले उहाँको कार्यको बारेमा नजानेको कारणले यस्तो भएको हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। ‘परमेश्‍वरमाथिको विश्‍वास’ भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न हुन्छन्: परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्न सकिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। यो बुँदा पढ्दा, कुनै पनि मानिसले यस्ता कुराहरू बोल्‍न सक्दैन भन्‍ने मलाई लाग्यो। परमेश्‍वरमाथिको विश्‍वासमा, सबै थोक परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भन्‍नेमा विश्‍वास गर्ने बाहेक, हामीले परमेश्‍वरका वचनहरू र कामलाई पनि अनुभव गर्नुपर्छ, हाम्रो भ्रष्ट स्वभावलाई त्याग्‍नुपर्छ, र परमेश्‍वरलाई चिन्‍नुपर्छ। यी वचनहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो त्यो कुरालाई स्पष्ट पारे। प्रभुमाथिको मेरो विश्‍वासको यतिका वर्षहरूमा, मलाई बाइबल पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, र प्रवचन सुन्‍नुपर्छ भन्‍ने कुरा मात्रै थाहा थियो। पाष्टरले जे भने पनि म विश्‍वास गर्थेँ, र सबै कुरामा पाष्टरकै कुरा सुन्थेँ। यसलाई कसरी परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्‍न सकिन्थ्यो र? यो त पाष्टरमा विश्‍वास गर्नु थियो! मैले यी वचनहरू जति पढेँ, मेरो हृदय त्यति नै उज्यालो भयो, र मलाई त्यति नै पढ्न मन लाग्यो। मेरी श्रीमती घरमा नहुँदा, म सधैँ कसैले थाहा नपाउने गरी किताब निकालेर पढ्थेँ।

एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वर वचनहरूको यो खण्ड पढेँ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। यी वचनहरू पढेपछि, मलाई तुरुन्तै पाष्टर र एल्डरहरूको बारेमा याद आयो। तिनीहरू बाइबलप्रति परिचित थिए, बाहिरबाट हेर्दा, नम्र, धैर्य, र प्रेमिलो देखिन्थे, र हामीलाई प्रायजसो जागा रहनुपर्छ र प्रभुको पुनरागमनको प्रतीक्षा गर्नुपर्छ भनी भन्थे तर कसैले प्रभुको पुनरागमनको गवाही दिँदा, तिनीहरूसँग यसको खोजी र अनुसन्धान गर्ने अलिकति पनि इच्‍छा हुँदैनथियो। पाष्टर चेनले मलाई किताब चोर्न लगाए, र यसलाई जाँच गर्छु भनेर भनेका थिए, त्यसकारण तिनले यसको विषयवस्तु पढ्छन् भनेर सोच्‍नु उचितै थियो, तर यसलाई हेर्दा समेत नहेरी, तिनले मेरी श्रीमतीलाई गलत भनेर दोष दिए। सहकर्मी लियाङ्गले मेरी श्रीमतीलाई हकारे, र निन्दाका शब्‍दहरूले उनलाई तर्साए र धम्की दिए, र पाष्टर लीयूले मलाई पुलिसलाई फोन गर्न, मेरी श्रीमतीलाई धोका दिएर उनलाई तिनीहरूको हातमा सुम्पिदिनू भनेर भने। परमेश्‍वरका विश्‍वासीहरूले कसरी त्यस्ता कुरा भन्‍न सक्छन्? सर्वशक्तिमान्‌ परमेश्‍वर नै प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ, तर हामीलाई खोजी र अनुसन्धानमा डोर्‍याउनुको सट्टा पाष्टरहरूले हामीलाई बाधा दिन सक्दो प्रयास गर्छन्, र मेरी श्रीमतीलाई पक्राउ गर्न मलाई पुलिसलाई फोन गर्न समेत लगाउँछन् भने, के तिनीहरू यी वचनहरूले व्याख्या गरेजस्तै छैनन् र, अनि हामीलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍ने ठेस लाग्‍ने ढुङ्गा र बाधाहरू? के तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने नाउँमा परमेश्‍वरलाई विरोध गर्ने मानिसहरू मात्र होइनन् र? प्रभु येशू काम गर्न आउनुहुँदा, कसरी फरिसीहरूले खोजी वा अनुसन्धान गरेनन्, तर उहाँलाई विरोध गर्न र निन्दा गर्न सक्दो गरे, र अन्त्यमा, प्रभुलाई क्रूसमा टाँगे, मैले त्यो कुरा विचार गरेँ। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, पाष्टरहरूले पनि फरिसीहरूले आफ्‍नो पालामा गरेकै काम गरिरहेका छन्। मलाई प्रभुको विरोध गर्ने मानिसहरू पाष्टर र एल्डरहरू नै हुन् जस्तो लाग्यो। त्यो बेला मलाई के लाग्यो भने, “मैले पाष्टरहरूको कुरा सुन्‍नु हुँदैन। उहाँ नै प्रभुको पुनरागमन हुनुहुन्छ कि भनेर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई होशियारीको साथ अनुसन्धान गर्नुपर्छ।”

पछि, श्रीमतीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर झोउ चुवानयाङलाई मसँग सङ्गति गर्न बोलाइन्। मैले तिनलाई सोधेँ, “बाइबलले भन्छ, ‘किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ’ (रोमी १०:१०)। हामी प्रभुमा विश्‍वास गर्छौँ र हामीले मुक्ति पाएका छौँ, किन परमेश्‍वरले अझै पनि न्यायको काम गर्नु आवश्यक छ?” चुवानयाङले यसो भन्दै सङ्गति गरे, “प्रभु येशूमा विश्‍वास गरेर मुक्ति पाउनु भनेको के हो? वास्तवमा, ‘मुक्ति’ ले प्रभु येशूमा विश्‍वास गर्ने, प्रभुलाई प्रार्थना गर्ने, र आफ्‍नो पाप स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ। तिनीहरूको पाप क्षमा हुन्छ, व्यवस्थाले दोषी ठहर्‍याउँदैन, र प्रभुद्वारा दिइएको शान्ति, आनन्द, र प्रशस्‍त अनुग्रह प्राप्त गर्छन्। अनुग्रहको युगमा ‘मुक्ति पाउनु’ भनेको यही हो। तर हामीभित्र पापी प्रकृति अझै यथावत् हुन्छ, र हामीले हाम्रो पापलाई त्यागेका हुँदैनौँ। परमेश्‍वर पवित्र हुनुहुन्छ, परमेश्‍वरको राज्य पवित्र स्थल हो, र अझै पनि पाप गर्ने र उहाँलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनु असम्‍भव हुन्छ। त्यसकारण, आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई पूर्ण रूपमा शुद्ध पार्न न्यायको कामको एउटा चरण पूरा गर्नुहुन्छ। यसरी, मानिसहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न सुयोग्य हुन्छन्।” चुवानयाङले बताए, परमेश्‍वरको नयाँ काम बारे पहिल्यै बाइबलमा भविष्यवाणी गरिएको थियो। प्रभु येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। १ पत्रुस ४:१७ ले भन्छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” तिनले भने, “यसबाट, आखिरी दिनहरूमा प्रभु फर्कनुभएपछि उहाँले सत्यता व्यक्त गर्नुहुनेछ, साथै मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम पनि गर्नुहुन्छ, अनि न्याय परमेश्‍वरको घरबाट सुरु हुनेछ। सर्वशक्तिमान् परमेश्‍वरको कामले यी अगमवाणीहरूलाई पूरा गर्छ।” त्यसपछि, चुवानयाङले परमेश्‍वरको वचन पाठ गरिएको भिडियो देखाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रताले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)। “मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। चुवानयाङले सङ्गति गरे, “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। प्रभु येशूले छुटकाराको काम मात्र गर्नुभयो। उहाँले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिनुभएन। हामीले प्रभुमा विश्‍वास गर्छौँ र हाम्रो पाप क्षमा हुन्छ, तर पनि हाम्रो पापी प्रकृति अझै पनि हामीभित्र हुन्छ, र हामी पापको बन्धनबाट उम्‍कन सक्दैनौँ। प्रभुमाथिको हाम्रो विश्‍वासका यतिका वर्षहरूमा, हामीले धेरै पटक झूट बोलेका र छल गरेका छौँ, र हामी अहङ्कारी, अहमपूर्ण, डाही हुन्छौँ, र लडाइँ गर्न तयार हुन्छौँ। हामीले प्रभुको लागि त्याग गर्नु र आफूलाई समर्पित गर्नु परमेश्‍वरका आशिषहरू प्राप्त गर्नको लागि हामीले गर्ने लेनदेन हुन्छ, र परीक्षा र संकष्टहरूको सामना गर्दा, हामीले अझै पनि प्रभुलाई विरोध, आलोचना गर्छौँ, वा धोका समेत दिन्छौँ। र यस्तै इत्यादि। प्रायजसो पापमा जिउने, परमेश्‍वरको विरोध र आलोचना गर्ने हामी जस्ता मानिसहरूका हकमा, हामी कसरी परमेश्‍वरको राज्य प्रवेश गर्न योग्यका बन्‍न सक्छौँ? आखिरी दिनहरूमा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको आधारमा, भ्रष्ट मानवजातिको आवश्यकता, र प्रभु येशूको छुटकाराको कामको आधारमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसहरूलाई पूर्ण रूपमा शुद्ध पार्न र परिवर्तन गर्न, तिनीहरूलाई पापबाट मुक्त गर्न, र तिनीहरूलाई स्वर्गको राज्यमा ल्याउनको लागि सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ। हामीले प्रभु येशूको छुटकाराको कामलाई मात्रै स्वीकार गरेका छौँ भने, हाम्रो शैतानी स्वभावलाई परिवर्तन गर्नु असम्‍भव हुन्छ, हामी सधैँ पाप र पापको बन्धनमा जिउँछौँ, र हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्यका हुँदैनौँ। यसैले त हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, स्वभाव परिवर्तन गर्ने मार्ग बुझ्‍नुपर्छ, हाम्रो भ्रष्ट स्वभावलाई त्याग्‍नुपर्छ, र परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँको डर मान्‍ने मानिसहरू बन्‍नुपर्छ। त्यसपछि मात्रै परमेश्‍वरले हामीलाई मुक्ति दिन सक्‍नुहुन्छ।”

उनको सङ्गति सुनेपछि, मेरो हृदय उज्यालो भयो। छुटकारा प्राप्त गर्नु भनेको पापक्षमा पाउनु मात्रै हो। यसको अर्थ हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ भन्‍ने हुँदैन। मैले विश्‍वास गरेको दश वर्षभन्दा बढी भएको थियो, र म प्रायजसो प्रार्थना गर्थेँ, मेरो पाप स्वीकार गर्थेँ, र परमेश्‍वरलाई क्षमा माग्थेँ, तर मेरो भ्रष्ट स्वभाव परिवर्तन भएको थिएन। पाष्टर चेन, पाष्टर लीयू, र अरूले प्रभुमा वर्षौंदेखि विश्‍वास गरेका भए पनि, प्रभुको पुनरागमनको खबर सुन्दा, तिनीहरूले खोजी वा अनुसन्धान पटक्‍कै गरेनन्, अरू विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोके, र यसलाई विरोध र निन्दा समेत गरे। मेरी श्रीमतीलाई पक्राउ गर्न मलाई पुलिसलाई फोन गर्न समेत तिनीहरूले मलाई प्रोत्साहन दिए। अझै पाप गर्न र परमेश्‍वरलाई विरोध गर्न सक्‍ने मानिसहरू कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्? यसको बारेमा विचार गरेपछि, मैले चुवानयाङलाई भनेँ, “हामीले अझै पनि हाम्रा पापलाई त्यागेका छैनौँ, त्यसकारण हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामलाई साँच्‍चै नै स्वीकार गर्नु आवश्यक छ।” त्यसपछि, मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरले कसरी न्यायको काम गर्नुहुन्छ भनेर सोधेँ, र तिनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। चुवानयाङले यसो भन्दै सङ्गति गरे, “सर्वशक्तिमान् परमेश्‍वरले सबै कुरा स्पष्ट पार्नुभएको छ। परमेश्‍वरको न्यायको कामको वास्तवमा परमेश्‍वरले उहाँको सत्यता, बाटो र जीवन मानिसहरूको लागि खुला गर्नु हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले सबै सत्यता व्यक्त गर्नुहुन्छ, र परमेश्‍वरको धर्मी र प्रतापी स्वभावद्वारा, उहाँले मानिसहरूको शैतानी प्रकृतिलाई न्याय गर्नुहुन्छ र खुलासा गर्नुहुन्छ, मानिसहरूको बोलीवचन र व्यवहारलाई विश्‍लेषण गर्नुहुन्छ, र एक-एक गरी, उहाँले हाम्रा विभिन्‍न धारणाहरू प्रकट गर्नुहुन्छ र परमेश्‍वरमा विश्‍वास गर्ने सम्‍बन्धी हाम्रो अनुचित अभिप्रायलाई, हाम्रो अहङ्कारी, छली, र जिद्दी शैतानी स्वभावहरूलाई, र हाम्रो हृदयको गहिराइमा लुकेका सोचाइ र विचारहरूलाई समेत खुलासा गर्नुहुन्छ। जब हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छौँ, तब यो परमेश्‍वरले हामीलाई आमने-सामने न्याय गरिरहनुभएको र प्रकट गरिरहनुभएको जस्तै हुन्छ। हामीले हाम्रो शैतानी प्रकृतिलाई महसुस गर्छौँ, शैतानले हामीलाई गरेको भ्रष्टताको तथ्यलाई देख्छौँ, मानिसहरूको कुनै उल्लङ्घन नसहने परमेश्‍वरको धर्मी स्वभावको बारेमा केही बुझाइ प्राप्त गर्छौँ, हृदयमा परमेश्‍वरको डर मान्छौँ, आफूलाई घृणा गर्न र हृदयबाट पश्‍चात्ताप गर्न, साँचो पश्‍चात्ताप गर्न, र हाम्रो भ्रष्ट स्वभावलाई क्रमिक रूपमा परिवर्तन गर्न सक्छौँ।” परमेश्‍वरको काम कति व्यवहारिक छ! विगतमा, म परमेश्‍वरको कामलाई अलौकिक र अस्पष्ट कुराको रूपमा लिन्थेँ। प्रभुलाई विश्‍वास गरेपछि, मैले मुक्ति पाएको हुन्छ, र म स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु भन्‍ने सोच्थेँ, यो परमेश्‍वरको वचनको तथ्यहरू अनुरूप पटक्‍कै थिएन। यो महसुस गरेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ, र मैले खुशीसाथ सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पाष्टरहरूकहाँ फर्केर नगएकोमा म खुशी छु। फर्केर हेर्दा, म कसरी मेरा धारणा र कल्‍पनाहरूमा अल्झिएर बसेँ, मैले प्रभुको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्न इन्कार गरेँ, र मेरी श्रीमतीलाई बाधा दिएँ भन्‍ने कुरा देख्छु। म अज्ञानी र अन्धो थिएँ, र यसको बारेमा विचार गर्दा मलाई निकै ग्‍लानि हुन्छ। तर मलाई कृपा गर्नुभएकोमा र चरणबद्ध रूपमा मलाई उहाँको अघि ल्याउनुभएकोमा म सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति अझै कृतज्ञ भएँ यसरी मैले बल्‍ल परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गर्न पाएँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभुलाई स्वागत गर्दाको मेरो कथा

म सानो छँदा, खुट्टामा निकै पीडा हुने भएकोले हिँड्न सक्दिनथेँ, त्यसकारण मेरी आमाले मलाई प्रभुसामु ल्याउनुभयो। अचम्‍मको कुरो, एक महिनापछि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्