परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६६

24 जुलाई 2021

परमेश्‍वरले व्यवस्थाको युगमा काम गर्नुभएपछि, पुरानो करारको पुस्तक प्रकाशित गरियो, त्यही समयदेखि नै मानिसहरूले बाइबल पढ्न सुरु गरे। येशू आउनुभएपछि, उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँका प्रेरितहरूले नयाँ करार लेखे। यसरी बाइबलका पुरानो र नयाँ करारहरू प्रकाशित भएका थिए, र आजसम्म पनि, परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बाइबल पढ्दै आएका छन्। बाइबल इतिहासको एक पुस्तक हो। नि:सन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्रै छैन, वा यहोवाको काम मात्रै छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्छ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो नियमले मुख्य रूपमा यहोवाले इस्राएललाई डोऱ्याउनुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोग गर्नुभएको कुराको अभिलेख गर्दछ, जसले तिनीहरूलाई फारोको बन्धनबाट मुक्त गरे, र तिनीहरूलाई उजाडस्थानमा लगे, अनि त्यहाँबाट तिनीहरू कनानमा प्रवेश गरे, र त्यसपछि आउने सबै कुराहरू कनानमा जिइएको तिनीहरूको जीवन थियो। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, यो यहोवाले त्यही देशमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलदेखि बाहिरको कुनै पनि काम किन अभिलेख गरिएको छैन त? किनकि इस्राएल देश मानवजातिको उद्गमस्थल हो। सुरुमा, इस्राएलबाहेक अरू कुनै देश थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—ती इतिहासभन्दा बढी अरू केही होइनन्। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो नियमले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, र यसरी पुरानो नियम एक ऐतिहासिक पुस्तक हो भने नयाँ नियमचाहिँ अनुग्रहको युगको कामको उपज हो। जब नयाँ काम सुरु भयो, तब नयाँ नियम पनि पुरानो भयो—र यसरी नयाँ नियम पनि एउटा ऐतिहासिक पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। येशूले जति काम गर्नुभयो त्यसैको कारण नयाँ नियममा थोरै मात्र अभिलेख गरिएका छन्; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्