परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २४

3 डिसेम्बर 2022

परमेश्‍वरले हव्वालाई सृष्टि गर्नुहुन्छ

उत्पत्ति २:१८-२० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु। अनि यहोवा परमेश्‍वरले जमिनबाट भूमिका हरेक जनावर र आकाशका हरेक पन्‍छी बनाउनुभयो; र त्यसले तिनलाई के नामले बोलाउँदो रहेछ भन्‍ने हेर्नलाई उहाँले तिनीहरूलाई आदमकहाँ ल्याउनुभयो: र आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो। अनि आदमले सबै चौपाया र आकाशका पन्‍छीहरू र भूमिका हरेक जनावरको नाम राखे; तर आदमको निम्ति सहयोगी भेटिएन।

उत्पत्ति २:२२-२३ अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएको थियो।

धर्मशास्त्रको यस खण्डमा एउटा महत्त्वपूर्ण पङ्‍क्ति छ: “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो।” यसैले, सबै जीवित प्राणीहरूको नाम कसले राख्यो? आदमले, परमेश्‍वरले होइन। यस पङ्‍क्तिले मानवजातिलाई एउटा तथ्य भन्छ: परमेश्‍वरले मानिसको सृष्टि गर्दा नै उसलाई बुद्धि दिनुभयो। यसको अर्थ, मानिसको बुद्धि परमेश्‍वरबाट आएको हो। यो एक निश्‍चितता हो। तर किन? परमेश्‍वरले आदमको सृष्टि गर्नुभएपछि, के आदम विद्यालय गयो? के उसलाई पढ्न आउँथ्यो? परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरू बनाउनुभएपछि, के आदमले यी सबै प्राणीहरूको पहिचान गर्‍यो? के परमेश्‍वरले उसलाई तिनीहरूको नाम के-के थिए भनी बताउनुभयो? परमेश्‍वरले उसलाई यी प्राणीहरूका नामहरू कसरी राख्‍ने भनेर पनि अवश्य सिकाउनुभएन। सत्य त्यही हो! त्यसो भए यी जीवित प्राणीहरूको नाम कसरी राख्‍ने र तिनीहरूलाई के नाम दिने भनेर आदमलाई कसरी थाहा भयो? यो आदमको सृष्टि गर्दा परमेश्‍वरले आदममा के कुरा थपिदिनुभयो भन्‍ने प्रश्‍नको जवाफसँग सम्बन्धित छ। यी तथ्यहरूले प्रमाणित गर्छन् कि परमेश्‍वरले मानिसको सृष्टि गर्नुहुँदा आफ्नो बुद्धि पनि उसमा थपिदिनुभयो। यो मुख्य बुँदा हो, त्यसैले ध्यान दिएर सुन। तिमीहरूले बुझ्‍नुपर्ने अर्को मुख्य बुँदा पनि छ: आदमले जीवित प्राणीहरूको नाम राखेपछि, ती नामहरू परमेश्‍वरको शब्दावलीमा स्थापित भए। म किन यो कुरा उल्लेख गर्छु? किनकि यसमा परमेश्‍वरको स्वभाव सामेल छ र यस बुँदाको थप व्याख्या मैले गर्नुपर्छ।

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, उसमा जीवनको सास फुकिदिनुभयो र उसलाई उहाँको बुद्धिबाट केही, उहाँको क्षमताहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो दिनुभयो। परमेश्‍वरले मानिसलाई यी सबै कुराहरू दिनुभएपछि, मानिस केही कुराहरू स्वतन्त्र रूपमा गर्न सक्‍ने र आफैँले सोच्‍न सक्‍ने भयो। मानिसले सोचेको र गरेको कुरा परमेश्‍वरको नजरमा असल छ भने, परमेश्‍वरले त्यसको पुष्टि गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्‍न। यदि मानिसले गरेको कुरा सही छ भने, परमेश्‍वरले यसलाई हुन दिनुहुन्छ। त्यसो भए, “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो” वाक्यांशले के कुराको सङ्‍केत गर्छ? यसले विविध जीवित प्राणीहरूका कुनै पनि नामलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्छ भन्‍ने लागेन भन्‍ने कुराको सङ्‍केत गर्दछ। कुनै प्राणीलाई आदमले जे नाम दियो, परमेश्‍वरले “त्यस्तै होस्” भनेर उक्त प्राणीको नामलाई स्वीकार गर्नुहुन्थ्यो। के यस विषयमा परमेश्‍वरले कुनै धारणा व्यक्त गर्नुभयो? होइन, उहाँले अवश्य नै गर्नुभएन। त्यसो भए, यसबाट तिमीहरूले के बुझ्छौ? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुभयो र मानिसले परमेश्‍वरले दिनुभएको बुद्धिलाई कुराहरू गर्नको निम्ति प्रयोग गर्‍यो। यदि मानिसले गरेको कुरा परमेश्‍वरको नजरमा सकारात्मक छ भने, परमेश्‍वरले कुनै पनि न्याय वा आलोचना नगरी त्यसलाई पुष्टि गर्नुहुन्छ, मान्यता दिनुहुन्छ र स्वीकार गर्नुहुन्छ। यो कार्य कुनै पनि व्यक्ति वा दुष्ट आत्मा वा शैतानले गर्न सक्दैन। के तिमीहरूले यहाँ परमेश्‍वरको स्वभावको प्रकाश देख्‍छौ? के मानवजाति, भ्रष्ट व्यक्ति वा शैतानले तिनीहरूकै सामुन्‍ने आफ्नो नाममा कसैलाई केही गर्ने अनुमति दिन्छन् र? अवश्य नै दिँदैनन्! के तिनीहरूले अर्को व्यक्ति वा तिनीहरूभन्दा फरक अर्को शक्तिसँग यस स्थानको निम्ति लड्लान्? अवश्य नै तिनीहरूले यसो गर्ने छन्! यदि आदमसँग त्यति बेला कुनै भ्रष्ट व्यक्ति वा शैतान भएको भए, तिनीहरूले आदमले गरेको कुराको खण्डन गर्ने थिए। तिनीहरूमा स्वतन्त्र सोच्‍न सक्‍ने खुबी र आफ्नै अद्वितीय अन्तर्दृष्टि छ भन्‍ने कुरालाई प्रमाणित गर्नको निम्ति, आदमले गरेका सबै कुराहरूलाई तिनीहरूले पूर्ण रूपमा इन्कार गर्ने थिए: “तिमीले यसको नाम यस्तो राख्‍न चाहन्छौ? ठीकै छ, मचाहिँ यसलाई यो नामले बोलाउने छैन, म यसलाई त्यो नामले बोलाउँछु; तिमीले यसलाई टम भन्यौ तर म यसलाई ह्‍यारी भन्‍ने छु। म कति बाठो छु भन्‍ने कुरा मैले देखाउनुपर्छ।” यो कस्तो किसिमको स्वभाव हो? के असभ्य अहङ्कार होइन? अनि परमेश्‍वरचाहिँ कस्तो हुनुहुन्छ? के उहाँसँग यस्तो स्वभाव छ? के आदमले गरिरहेको कुरामा परमेश्‍वरले अनौठो आपत्ति जनाउनुभयो? यसको जवाफ प्रष्ट रूपमा “जनाउनु भएन” हुन्छ। परमेश्‍वरले प्रकट गर्नुहुने स्वभावमा तर्क-वितर्क गर्ने बानी, अहङ्कार वा स्व-धार्मिकताको कति पनि सङ्‍केत छैन। यति कुराचाहिँ यहाँ स्पष्ट छ। यो सानो कुरा जस्तो देखिन सक्छ, तर यदि तैँले परमेश्‍वरको सार बुझ्‍दैनस् भने, यदि तेरो हृदयले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र परमेश्‍वरको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्‍ने प्रयास गर्दैन भने, तैँले परमेश्‍वरको स्वभाव बुझ्दैनस् वा परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश जान्‍ने छैनस्। के कुरा यही होइन? के मैले भर्खरै वर्णन गरेको कुरासँग तिमीहरू सहमत छौ? आदमले गरेका कार्यहरूको जवाफमा, परमेश्‍वरले भव्यतापूर्ण तरिकाले यस्तो घोषणा गर्नुभएन, “तैँले असल गरिस्, तैँले सही गरिस् र म सहमत छु!” उहाँको हृदयमा भने परमेश्‍वरले आदमले गरेको कामलाई स्वीकार गर्नुभयो, सराहना गर्नुभयो र प्रशंसा गर्नुभयो। सृष्टिदेखि यता परमेश्‍वरको निम्ति मानिसले उहाँको निर्देशनमा गरेको यो पहिलो कुरा थियो। परमेश्‍वरको साटोमा र परमेश्‍वरको खातिर, मानिसले यसो गरेको थियो। परमेश्‍वरको नजरमा, परमेश्‍वरले मानिसलाई दिनुभएको बुद्धिको कारण यसो भएको थियो। परमेश्‍वरले यसलाई असल, सकारात्मक कुराको रूपमा देख्‍नुभयो। आदमले त्यस बेला गरेको कुरा मानिसमा परमेश्‍वरको बुद्धिको पहिलो प्रस्फुटन हो। परमेश्‍वरको दृष्टिमा यो राम्रो प्रस्फुटन थियो। यहाँ मैले तिमीहरूलाई भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वरले मानवजाति उहाँलाई प्रस्फुटन गर्ने जीवित प्राणी बनोस् भन्‍ने उद्देश्यका खातिर नै परमेश्‍वरले मानिसलाई उहाँसँग जे छ तथा उहाँ जे हुनुहुन्छ त्यो र उहाँको बुद्धि प्रदान गर्नुभयो। उहाँको खातिर काम गर्ने यस्तै जीवित प्राणी देख्‍न परमेश्‍वरले चाहिरहनुभएको थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्