बोझ परमेश्‍वरको आशिष् हो

20 जनवरी 2022

योङ्ग्सुइ, दक्षिण कोरिया

भर्खरै सम्पन्न भएको मण्डली चुनावमा म अगुवाको रूपमा चयन भएँ। यो कुरा सुन्दा म अवाक् भएँ र विश्‍वासै लागेन। म, अगुवा? त्यो कसरी हुन सक्छ? मण्डली अगुवा त सत्यतामाथि सङ्गति गर्न, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा उनीहरूका समस्यहरू समाधान गर्न सक्षम हुनुपर्छ, तर म कलिलै थिएँ, मसित सीमित जीवन अनुभव थियो। त्यसमाथि, मैले पहिला कहिल्यै अगुवा पदमा रहेर काम गरेकी थिइनँ। के म यो कार्यको लागि तयार थिएँ? यस कुराले मलाई केही समयसम्म सतायो, अनि मैले यसलाई जसरी हेरे तापनि, त्यो कर्तव्य गर्न चाहिने कुरा मसित छैन र यसलाई म स्वीकार गर्न सक्दिनँ भन्ने मलाई लाग्यो। यदि मैले यसलाई स्वीकारें र त्यसपछि राम्रो काम गरिनँ भने, के त्यो परमेश्‍वरको घरप्रति, मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति अपकार हुनेथिएन र? साथै, सबैले मलाई छर्लङ्गै देख्नेथिए, म वास्तवमा के हुँ भनेर देख्नेथिए र त्यो साह्रै अपमानजनक हुनेथियो। मैले बहानाको सूची नै तयार गरें, तर एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर सुनाउनुभयो: “परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ तँ माथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। … यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका यी वचनहरू सुनेर मैले अलिकति के बुझ्न सकें भने, त्यो जिम्मेवारी स्वीकार्नु भनेको मैले आफूलाई तालिम दिन परमेश्‍वरले दिइरहनुभएको मौका थियो। म निकै कमजोर भए तापनि, त्यो कर्तव्य गर्नु भनेको अरूलाई डोर्‍याउन र अरू मानिसहरूका समस्याहरू समाधान गर्नु मात्र थिएन, आफ्नो कर्तव्य मार्फत सत्यतामा प्रवेश गर्नेतर्फ मेरो आफ्नै ध्यानलाई बढाउनु पनि थियो। सबैभन्दा महत्वपूर्ण कुरा, मैले आफ्नै समस्याहरू सुल्झाउन सत्यता खोज्नु आवश्यक थियो; दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूका समस्याहरूमा मदत गर्नका लागि मेरो व्यवहारिक अनुभव प्रयोग गर्ने एक मात्र मार्ग त्यही हुनेथियो। परमेश्‍वरले मलाई त्यो कार्य सुम्पनु भनेको मलाई बोझ दिनु पनि थियो। मण्डली अगुवाको हैसियतमा, मैले मण्डलीका सबै प्रकारका मामिलाहरूको चिन्ता गर्नुपर्ने थियो, अनेकौं मानिस, कुरा र घटनाहरू निराकरण गर्नुपर्ने थियो, थुप्रै समस्यहरूमाथि कार्य गर्नुपर्ने थियो, र त्यसपछि समस्याहरू समाधान गर्न कसरी सत्यता प्रयोग गर्ने, त्यो सिक्नुपर्ने थियो। त्यसको अर्थ, मैले आफ्नो सत्यता बुझाइमा छिटो प्रगति गर्न सक्थें र मलाई परमेश्‍वरद्वारा सिद्ध पारिने सम्भावना धेरै हुनेथियो। मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड पनि याद आयो: “यदि तँ परमेश्‍वरद्वारा सिद्ध हुने अवसरहरू खोज्दैनस्, अनि यदि सिद्धताको तेरो खोजीमा त्यही उद्देश्य राख्ने अरूभन्दा बढी सफल हुनको निम्ति तैँले संघर्ष गर्दैनस् भने, अन्ततः तँ अफसोसले भरिनेछस्। सिद्धता हासिल गर्ने सर्वोत्तम अवसर अहिले नै हो। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि, धेरै ढिलो भइसकेको हुनेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्‍वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि, तँले कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। मैले त्यो कर्तव्य पूरा गर्न पाएको मौका वास्तवमा परमेश्‍वरद्वारा सिद्ध पारिने मौका थियो भनेर बुझें। परमेश्‍वरको कार्य अन्तिम चरणमा भएकोले, हाम्रो कर्तव्य गर्ने धेरै समय बाँकी छैन। त्यो कामलाई इन्कार गर्नुको अर्थ हो, पछि मैले त्यो गर्न चाहँदा अर्को मौका पाउने थिइनँ। पछुतो गर्ने समय बितिसकेको हुनेथियो। मलाई लाग्यो, कठिनाइहरूको घेराइमा अब जिउन सक्दिनँ, न त आफ्नो मान-सम्मान र हैसियतबाहेक अरू कुनै कुरा सोच्न सक्थें, तर मैले यसलाई स्वीकार्नुपर्थ्यो र समर्पित हुनुपर्थ्यो। हृदयदेखि नै परमेश्‍वरलाई प्रार्थना गरें अनि अभ्यास गर्ने त्यो मौका दिनुभएकोमा उहाँलाई धन्यवाद दिएँ र यसरी परमेश्‍वरमा भर पर्न र साथै, गर्न सक्ने आफ्नो कर्तव्य गर्न इच्छुक भएँ।

अचम्मको कुरा, मैले आफ्नो नयाँ कर्तव्य सम्हालेको केही दिनमै मलाई पहिलो रोकावट आइहाल्यो। एउटा भेलामा, हाम्रा माथिल्लो तहका अगुवाले एक डिकनबारे कुरा उठाउनुभयो, जो विश्‍वासी भएको दुई वर्षभन्दा धेरै भएको थियो, उनीसित केही क्षमता थियो र उनी असाध्यै अहङ्कारी थिए। उनी आफ्नो कर्तव्यमा निरङ्कुश थिए र कसैसित कहिल्यै केही छलफल गर्दैनन् थिए। उनले परमेश्‍वरको घरको काममा केही हानि पुर्‍याए। त्यस्ता प्रकारका व्यक्तिबारे के सोच्नुहुन्छ भनेर ती अगुवाले हामीलाई सोध्नुभयो। त्यस्तो अहङ्कारी व्यक्ति जो दाजुभाइ-दिदीबहिनीहरूसित मेलमिलापमा काम गर्न सक्दैनन्, डिकन हुन एकदमै नालायक उनलाई हटाउनुपर्छ भन्ने मेरो सोचाइ थियो। मैले आफ्नो धारणा बताएँ। तर पछि ती अगुवाको सङ्गति मार्फत मात्र मैले के बुझें भने, यी डिकन विश्‍वासी भएको धेरै भएको थिएन, उनीसित केही क्षमता थियो, र उनले केही गम्भीर अहङ्कारको समस्या झेलिरहेका थिए; तर उनले सत्यता स्वीकार्न सकेमा, उनी प्रशिक्षित हुन सक्थे, अनि उनलाई मदत र सहयोग दिन सत्यतामाथि अझ धेरै सङ्गति गर्नु आवश्यक थियो। उनलाई खुलासा र निराकरण पनि गर्न सकिन्थ्यो, तर अचानक निर्णय गरेर उनलाई निकाल्नु र हटाउनु एकदमै अमान्य कुरा थियो। सुरुमा त मलाई, मैले गलत दृष्टिकोण राखेको र म अलिकति रुष्ट भएको भए तापनि, मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नेसम्बन्धी सिद्धान्त बुझेको छु, त्यसैले अन्त्यमा यो राम्रै कुरा हो भन्ने लाग्यो। तर पछि, मैले के थाहा पाएँ भने, मण्डलीका अरू धेरैजसो अगुवाहरूले यस मामिलाबारे पहिल्यै केही समझ पाइसकेका रहेछन्, र तिनीहरूको तुलनामा म निकै कमजोर थिएँ। सत्यताबारे मेरो बुझाइ सतही थियो, मसँग समझको कमी थियो र अरूलाई कसरी व्यवहार गर्ने भनेर सिद्धान्त प्रयोग गरिनँ। के मसँग साँच्चै एक अगुवामा हुनुपर्ने गुणहरू थिए त? अगुवाको रूपमा कार्य गर्न सत्यताको निश्चित बुझाइ र सबै प्रकारका मानिसहरूसम्बन्धी अन्तर्दृष्टि आवश्यक पर्छ। मण्डलीमा सबै प्रकारका व्यक्तिलाई सही तरिकामा व्यवहार गर्न जान्नुपर्छ। तर मसित ती गुणहरू छैनन् भनेर तथ्यहरूले प्रकट गरे। यी सबै विचार गर्दा म लत्तो छाड्ने हदमा पुगें। त्यसमाथि, त्यो कर्तव्य सम्हाल्न थालेको केही दिन मात्र भएको थियो, कामको ओइरो लागेको थियो, र केही कठिनाइ आइपरेको थियो। मलाई त्यो कर्तव्य थकाइलाग्दो र बोझिलो हुन्छ भन्ने लागिरहेको थियो। त्यो साँझ, मेरो मन बेचैन थियो र म सबै एल्डरहरूमध्ये पक्कै पनि सबैभन्दा मध्यम दर्जाको हुनुपर्छ भनेर सोचिरहेकी थिएँ। मैले मेरो अगुवाई कार्यमा यत्ति छिट्टै गल्ती गरेकी थिएँ—हाम्रा माथिल्लो तहका अगुवाले मलाई छर्लङ्गै देख्नैपर्छ, म सानो कदको र कम क्षमता भएकी थिएँ र मभित्र समझको कमी छ भन्ने देख्नुपर्छ। मसित विकास गर्न सकिने कुनै क्षमता छँदैछैन भनेर उनलाई लाग्नेथियो। दाजुभाइ-दिदीबहिनीहरूले मबारे के सोच्नेथिए? के तिनीहरूले मसित अन्तदृष्टि पटक्कै छैन र मलाई अगुवा चयन गर्नु गल्ती थियो भनेर सोच्नेथिए? यसबारे जति धेरै सोचें, त्यति धेरै मलाई अगुवाको रूपमा आफ्नो अनुहार देखाउन नसकिने महसुस भयो। मैले केही समझ देखाएर चाँडोभन्दा चाँडो आफ्नो पदबाट राजीनामा दिनुपर्ला भनेर सोचें। तर, त्यो सोचाइले मलाई असहज बनायो। त्यो कार्य स्वीकार गर्नसाथ मैले परमेश्‍वरलाई प्रार्थना र सङ्कल्प गरेकी थिएँ, त्यसकारण, यदि मैले त्यसलाई उपेक्षा गर्दै पन्छाएँ भने, के त्यो परमेश्‍वरप्रति विश्‍वासघात हुनेथिएन र? त्यो रात मैले परमेश्‍वरलाई प्रार्थना गरें र मेरो दुविधा बताएँ, आफैलाई चिन्न, यो समस्याबाट कसरी पार पाउने भनेर जान्न उहाँसँग मार्गदर्शन मागें।

भोलिपल्ट मैले मेरो परमेश्‍वरका दैनिक वचनहरू पढ्दा, अय्यूबबारे केही पढें, त्यसबाट म निकै प्रेरित भएँ: “आफ्नो प्रतिष्ठित स्थान र हैसियतको बाबजुद पनि, तिनले यी कुराहरूलाई कहिल्यै प्रेम गरेनन् न त यी थोकहरूमा कुनै ध्यान नै दिए; अरूले तिनको अडानलाई कसरी हेर्छन् भनेर तिनले वास्ता गरेनन्, न त तिनको काम वा आचरणले तिनको अडानमा कुनै नकारात्मक असर पार्ला कि भनेर नै तिनी चिन्तित थिए; तिनी प्रतिष्ठाका लाभहरूमा लिप्त भएनन्, न त तिनले प्रतिष्ठा र स्थितिको साथमा आउने महिमाको आनन्द लिए। तिनले केवल आफ्नो मूल्य र यहोवा परमेश्‍वरको नजरमा आफ्नो जीवनको महत्त्वको बारेमा मात्रै चिन्ता गरे। अय्यूबको साँचो आत्मा नै तिनको सार थियो: तिनी प्रसिद्धि र सम्पत्तिलाई प्रेम गरेनन्, र तिनी प्रसिद्धि र सम्पत्तिका लागि जिएनन्; तिनी सत्य, र शुद्ध, अनि झूट रहित थिए(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझें भने, अय्यूबको अडान अति उच्च र उनी पूर्वका मानिसहरूमध्ये सबैभन्दा महान् भए तापनि, उनले आफूलाई अरूले कसरी हेर्छन् वा मूल्यङ्कन गर्छन् भनेर कहिल्यै ध्यान दिएनन्। उनले परीक्षा सामना गर्नुपर्दा, जतिबेला उनको जीउभरि घाउ आएको थियो र उनी खरानीमा बसेर हाँडीको खपेटाले घाउ कन्याउँथे, त्यतिबेला, यसले उनको हैसियत र ओहोदामा नकारात्मक असर पार्ने हो कि भनेर उनी चिन्तित भएनन्। उनका वरपरका मानिसहरूले उनको खिल्ली उडाए पनि, उनले त्यसलाई मनमा लिएनन्। अय्यूबले मान-सम्मान र हैसियतको लालसा गरेनन्—उनको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको, परमेश्‍वरले उनका कार्यहरूलाई कसरी हेर्नुहुन्छ त्यसले परमेश्‍वरलाई सन्तुष्ट पार्छन् कि पार्दैनन् र उहाँको अनुमोदन पाइन्छ कि पाइँदैन, भन्ने थियो। त्यसले मलाई आत्मसमीक्षा गर्न प्रेरित गर्‍यो: मैले ख्याल गरेको कुरा के थियो? म यत्ति साह्रो विचलित किन भएँ? मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको, मेरा शब्द र कार्यहरूले मेरो प्रतिष्ठा र हैसियतमा कस्तो प्रभाव पाऱ्यो होला भन्ने थियो। त्यो हालैको अनुभव एक प्रमुख उदाहरण थियो—मेरो कमजोरी प्रदर्शित भएको थियो, मानिसहरूलाई सिद्धान्तहरूको आधारमा कसरी व्यवहार गर्ने मलाई थाहा थिएन। तर मैले सोच्न सक्ने कुरा भनेकै, कतै अगुवाले मलाई तुच्छ ठान्ने हुन् कि, कतै दाजुभाइ-दिदीबहिनीहरूले मलाई चयन गरेकोमा अफसोस मान्ने हुन् कि भन्ने थियो। परमेश्‍वरको इच्छा के हो, मैले के पाठ सिक्नुपर्छ र त्यो परिस्थितिबाट मैले कस्तो सत्यता प्राप्त गर्नुपर्छ भनेर अलिकति पनि सोचिनँ। मैले पूरै ध्यान गलत कुराहरूमा लगाएकी थिएँ। मैले केवल आफ्नो मान-सम्मान र हैसियत जोगाउन परमेश्‍वरले सुम्पनुभएको कार्यलाई त्याग्न चाहें। मैले आफू अत्यन्तै विद्रोही, अति कृतघ्न भएको महसुस गरें।

मैले पछि आफूलाई मनन गर्दा, त्यो गल्तीले किन मलाई यत्ति धेरै पीडा दिएको थियो भनेर सोचें, यहाँसम्म कि उप्रान्त आफ्नो कर्तव्य गर्न नचाहने हदसम्म पुगेको थिएँ। मलाई नियन्त्रण गर्ने त्यो कस्तो स्वभाव थियो? त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढें: “ख्रीष्टविरोधी विशेष गरी धोकेबाज र छली हुन्छ। तिनीहरूले भन्‍ने सबै कुरा राम्ररी सोचविचार गरेर भनिएको हुन्छ; बहाना गर्न अरू कोही पनि यति सिपालु हुँदैन। तर खास कुरा पत्ता लागेपछि, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देखेपछि, तिनीहरूले ढाकछोप गर्न सक्दो प्रयास गर्छन्, तिनीहरूले आफूलाई बचाउन, अरूको आँखामा छारो हालेर उम्कने तरिकाहरूको बारेमा विचार गर्छन्। तिनीहरू हरेक दिन प्रतिष्ठा र हैसियतको लागि जिउँछन्, तिनीहरू हैसियतबाट आउने फाइदामा मोज गरेर बस्‍न मात्रै चाहन्छन्, तिनीहरूले आफ्‍नो दिमागमा यही कुराको बारेमा मात्रै विचार गर्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र प्रतिष्ठाको लागि हुन्छ—ख्रीष्टविरोधीले परमेश्‍वरमा विश्‍वास गरेको दिनदेखि नै, तिनीहरूको जीवनको ठूलो परिश्रम हैसियत र प्रतिष्ठाको लागि हुन्छ, र यो प्राप्त नभइञ्‍जेलसम्‍म तिनीहरू विश्राम गर्दैनन्; यो ख्रीष्टविरोधीको प्रकृति र सार हो। यदि एक दिन, मानिसहरूले तिनीहरूको कार्यहरूको वास्तविकतालाई देखे भने, तिनीहरू कष्टमा पर्छन्, चिन्तित हुन्छन्, तिनीहरूलाई पीडा हुन्छ, तिनीहरू खान वा सुत्‍न सक्दैनन्, तिनीहरू प्रायजसो अलमलिन्छन्; जब अरूले तिनीहरूलाई के भयो भनेर सोध्छन्, तिनीहरू झूट बोल्छन्: ‘हिजो राति म मेरो कर्तव्य पूरा गर्नमा व्यस्त भएको हुनाले म सुत्‍नै सकिनँ—म अत्यन्तै थकित छु।’ तर त्यस्तो हुँदैन; यो पूर्ण रूपमा ढोँग गर्नु हो। तिनीहरूले आफ्‍नो दिमागमा वास्तवमा के विचार गरिरहेका हुन्छन्? ‘मेरा दुष्कर्महरू पत्ता लागेका छन्। म यसबाट कसरी जोगिन सक्छु? म अरूले मेरो मनसाय नदेख्‍ने गरी कसरी आफूलाई मुक्त गर्न सक्छु? म कस्तो माध्यमले, कस्तो स्वर-शैलीले मानिसहरूलाई यो कुरा व्याख्या गर्न सक्छु? मैले सुरुमा के बोल्‍न सक्छु, मैले यसलाई कसरी अघि बढाउन सक्छु, मैले आफूलाई लुकाउन खोजिरहेको छु भनेर थाहा नपाउने गरी मैले तिनीहरूलाई कसरी बताउन सक्छु?’ तिनीहरूले यो कुरालाई विस्तृत रूपमा, सबै कोणबाट विचार गर्छन्, यति सम्म कि तिनीहरूले आफ्‍नो दिमाग खियाउँदै मात्र बस्छन्, खाने वा पिउने बारेमा कुनै वास्ता गर्दैनन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा मैले के बुझें भने, मेरो व्यवहार ठ्याक्कै परमेश्‍वरद्वारा खुलासा गरिएका ख्रीष्टविरोधीहरूको जस्तो थियो, जसले आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्र सोच्छन्। केही गडबड गरेर म बदनाम भएँ अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो कमजोरी देखे—मलाई यो साँच्चै अपमानजनक जस्तो लाग्यो, त्यसैले, तिनीहरूले मबारे के सोच्लान् भनेर कुराले ग्रस्त भएँ। म दिनमा आफ्नो कर्तव्य गर्न समेत शान्त हुन सकिनँ, र रातमा मेरो निद्रै हरायो। यसले मलाई चौबिसै घण्टा सताइरहेको थियो। अरूले यो कुरा पहिल्यै देखिसकेका थिए, त्यसकारण त्यो परिस्थितिबाट बच्ने कुनै उपाय थिएन। मैले आफ्नो प्रतिष्ठा पुनः प्राप्त गर्न सकिनँ र मैले आफ्नो कर्तव्य गर्ने इच्छा पूरै गुमाएँ, यसरी मैले त्यो कर्तव्य त्यागें भने कमजोर कार्य प्रस्तुति गरेर र त्यसपछि सबैबाट होच्चिएर कम्तीमा पनि असफल हुने स्थितिमा त पुग्दिनँ भन्ने जस्तो मलाई लाग्यो। यसबारे मलाई परमेश्‍वरका वचनहरूको यो कुरा पनि याद आयो: “ख्रीष्टविरोधीले परमेश्‍वरमा विश्‍वास गरेको दिनदेखि नै, तिनीहरूको जीवनको ठूलो परिश्रम हैसियत र प्रतिष्ठाको लागि हुन्छ, र यो प्राप्त नभइञ्‍जेलसम्‍म तिनीहरू विश्राम गर्दैनन्; यो ख्रीष्टविरोधीको प्रकृति र सार हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। यसले मलाई के देखायो भने, ख्रीष्टविरोधीको एक प्रमुख विशेषता भनेको आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्र बोल्नु र कार्य गर्नु हो। तिनीहरू आफ्नो जीवनभरि तिनै कुराको पछि लाग्छन् र त्यसको लागि कार्य गर्छन्। ख्रीष्टविरोधीहरूले अरू सबै कुराभन्दा माथि प्रतिष्ठा र हैसियतलाई राख्छन्। त्यसले मेरो पनि कुरा गरेको हो भन्ने मलाई महसुस भयो। मेरो विद्यार्थी जीवनभरि, म सधैं कक्षामा सबैभन्दा माथि हुन चाहन्थें त्यसकारण, मेरा शिक्षकहरूले खुबै स्याबासी दिन्थे अनि मेरा परिवार र साथीसँगीले मेरो प्रशंसा गर्थे। यत्तिका वर्षहरूदेखि परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू गर्दा, मलाई सैद्धान्तिक रूपमा के थाहा भयो भने, प्रतिष्ठा र हैसियतको पछि लाग्नुको कुनै अर्थ छैन, ती कुराहरू प्राप्त गर्नु भनेको सत्यता पाउनु पटक्कै होइन। म बाहिर-बाहिर त त्यस्ता कुराको पछि लाग्दै लागिनँ। तर, भित्र-भित्र भने अझै प्रतिष्ठालाई प्रेम गर्थें, र हरेक काम राम्ररी गर्न चाहन्थें ताकि अरूले मेरो प्रशंसा र मान गरून्। मैले मण्डली अगुवाको पद स्वीकार गर्दा, म “अगुवा” उपाधिको योग्य हुन सक्छु र त्यो पद लिनसाथ सबैले मेरो प्रशंसा गर्नेछन् भनेर मैले आशा गरिरहेकी थिएँ। म केही कुरामा असफल हुँदा, दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ ठान्नेछन् अनि मेरो प्रतिष्ठा र हैसियत गुम्छ भनेर मैले सोचें, त्यसकारण, मैले त्यो कर्तव्य गर्न चाहिनँ। मैले आफ्नो कर्तव्य गर्न पाएको मौकालाई कदर गर्नुको सट्टा अरू मानिसको मनमा बनेको मेरो छविलाई मात्र कदर गरिरहेकी थिएँ भनेर बुझें। आफ्नो प्रतिष्ठा र हैसियतलाई त्याग्नुपर्ने स्थिति हुँदा, परमेश्‍वरको कार्यलाई त्याग्न चाहें। मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई अरू सबै कुराभन्दा माथि सम्झें। यस्तो प्रकारको ख्रीष्टविरोधी स्वभाव मेरो रगतमा बगेको थियो, म ख्रीष्टिविरोधीको मार्गमा छु भनेर बुझें। सोचें, धत्तेरी! दाजुभाइ-दिदीबहिनीहरूले किन मलाई मान गर्नुपर्छ र? मसित सत्यता थिएन, कुनै व्यवहारिक अनुभव थिएन, मसँग कमसल क्षमता थियो, अनि म अझै हैसियतको चाहनाले पूरै ग्रस्त थिएँ। शैतानी स्वभावको वशमा परेको म जस्तो व्यक्तिले अझै अरूबाट प्रशंसा चाहन्थें! म कत्ति निर्लज्ज थिएँ!

त्यतिबेला, मैले सत्यताको यस पक्षबारे सोचिरहेकी र खोजी गरिरहेकी पनि थिएँ। मैले पढेको परमेश्‍वरका वचनहरूको मदतकारी खण्ड यो थियो: “जब तँ सृजिएको प्राणीको हैसियतले सृष्टिकर्ताको सामु आउँछस्, तब तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने उचित कुरा हो। मानिसहरूले सृजिएका प्राणीहरूको कर्तव्य निर्वाह गर्न आवश्यक छ भन्ने तथ्यलाई विचार गर्दा, सृष्टिकर्ताले फेरि मानवजातिको माझमा अझ महान् काम गर्नुभएको छ। उहाँले मानवजातिमा कामको एउटा थप चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुभएको छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सकेका छन् अनि यसद्वारा आफ्ना भ्रष्ट स्वभावहरू फ्याँकिदिन र शुद्ध हुन पाएका छन्। यसरी तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र खराबीलाई त्याग्न, पूर्ण मुक्ति हासिल गर्न अनि उप्रान्त शैतानका कुनै कष्टहरूको वशमा नपर्न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुहुने मुख्य प्रभाव यही नै हो। त्यसैकारण, तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, सृजिएको प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गर्दाखेरि यसले तेरो जीवनमा ल्याउने मूल्य र सार्थकतामा मात्र तँ आनन्दित हुँदैनस्। यस बाहेक, तँ शुद्ध भएको हुन्छस् र मुक्ति पाएको हुन्छस्, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन आउँछस्। … अहिलेको सन्दर्भमा, प्रत्येक व्यक्ति जो परमेश्‍वरको अगाडि आउँछ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, उसले परमेश्‍वरबाट के प्राप्त गर्छ? मानवजातिमा जे सबैभन्दा मूल्यवान् र सुन्दर छ, त्यही कुरा प्राप्त गर्छ। मानवजातिको बीचमा सृष्टि गरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको हातबाट यस्ता आशिष्‌हरू संयोगले मात्र प्राप्त गर्न सक्दैन। यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसरी तिनीहरूले सृष्टिकर्ताको हातबाट मुकुट र पुरस्कारहरू माग्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र धर्मी चीजलाई सबैभन्दा कुरूप र खराब चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरूले यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुन्? तिनीहरू वास्तवमा पूर्ण रूपमा दुष्ट हुन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग छ)”)। मैले परमेश्‍वरका वचनहरूलाई विचार गर्दा के बुझें भने, सृष्टि गरिएका जनले सृष्टिकर्तासामु आउने र परमेश्‍वरको व्यवस्थापन कार्यको दायराभित्र कर्तव्य गर्ने सुअवसर पाउनु सबैभन्दा सुन्दर र धर्मी कुरा हो। मैले सोचें, किन परमेश्‍वरले हाम्रो कर्तव्य गर्नु सबैभन्दा सुन्दर र धर्मी कुरा भन्नुभयो? किनभने परमेश्‍वर हामीलाई नि:स्वार्थभावले एकदमै धेरै सत्यताहरू दिनहुन्छ, उहाँ आफ्नो घरमा हामीलाई हाम्रो कर्तव्य गर्न दिनुहुन्छ र हामीलाई तालिम दिन अवसरहरू प्रदान गर्नुहुन्छ। हामीले आफ्नो कर्तव्य गर्ने क्रममा, सत्यता बुझ्न र प्राप्त गर्न सक्छौं र हामी बिस्तारै आफ्नो जीवनमा प्रगति गर्न सक्छौं। हामीले भ्रष्ट स्वभावहरू पत्ता लगाउन, जान्न र समाधान गर्न सक्ने मात्र होइन, परमेश्‍वरबारे साँचो बुझाइ प्राप्त गर्न अनि परमेश्‍वरप्रतिको भयको मार्गमा हिँड्न र खराबी पनि त्याग्न सक्छौं, र अन्ततः हामीलाई परमेश्‍वरबाट स्वीकारिन सम्भव तुल्याउन सक्छौं। पररमेश्‍वरले हामीलाई सत्यता र जीवन दिन कर्तव्य गर्न दिनुहुन्छ—यो हामीलाई शुद्ध पार्न र मुक्ति दिनलाई हो, बद्लामा उहाँ केही पनि आशा गर्नुहुन्न। अनि सृष्टि गरिएका जनहरूको हैसियतमा हामीले साँचो र इमानदार हृदयले आफ्नो कर्तव्य गरेर परमेश्‍वरको निष्कपट अभिप्रायहरूलाई देख्नु र बुझ्नुपर्छ, अनि आफ्नो कर्तव्य गर्न सबै कुरा लगाउनुपर्छ ताकि हामीले परमेश्‍वरको प्रेमको साटो तिर्न सकूँ। सृष्टिकर्ता र उहाँका सृष्टिहरूबीच, परमेश्‍वर स्वयं नि:स्वार्थभावले समर्पित हुनुहुन्छ र मानवहरू चाहिं परमेश्‍वरप्रति साँचो मनले समर्पित र ऋणी हुनुपर्छ। अन्ततः हामी परमेश्‍वरबाट आउने सत्यता प्राप्त गर्छौं, शैतानबाट आउने हाम्रा भ्रष्ट स्वभावहरूलाई हटाउँछौं, मानव स्वभावमा जिउँछौं र परमेश्‍वरको हृदयलाई शान्त पार्न सक्षम हुन्छौं। यो एकदमै शुद्ध प्रेमपूर्ण सम्बन्ध हो। साथै, सृष्टिकर्ताको कार्य स्वीकार्ने र आफ्नो कर्तव्य गर्ने सृष्टि गरिएको जन आफ्ना आमाबाबुप्रति कर्तव्यपरायण बच्चा जस्तै हो। यो सही र उचित हो; गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा हो यो। अनि हाम्रो कर्तव्यमा हामी आफ्नो उद्यम चलाइरहेका छैनौं, तर सुसमाचार सुनाउने आफ्नो कार्य गरिरहेका छौं ताकि अझ धेरै मानिसहरू परमेश्‍वरसामु आऊन्। यो, यस पृथ्वीमा गरिएको सबैभन्दा धर्मी प्रयास हो। तर यसको ठीक विपरीत, यो अद्भुत र धर्मी कुरालाई मैले ठ्याक्कै केही खराब, कुरूप कुरा बनाएँ। मैले यसलाई आफ्नो हैसियत प्राप्त गर्न सक्ने वा नसक्ने लेनदेनको रूपमा लिएँ। यदि यसले मेरो हैसियतलाई माथि उठाउँथ्यो भने म यो गर्न इच्छुक हुन्थें, नत्र भने, मैले यसलाई इन्कार गर्नेथिएँ, अरू कसैको काँधमा हालिदिनेथिएँ। मैले आफ्ना दुष्ट लक्ष्यहरू प्राप्त गर्न परमेश्‍वरको उचाइ र अनुग्रहको अनुचित लाभ उठाइरहेकी थिएँ। म कत्ति धेरै दुष्ट थिएँ र परमेश्‍वरको प्राणी हुन योग्य समेत थिइनँ भनेर बुझें। मेरो कर्तव्यप्रति आफ्नो मनोवृत्तिलाई फर्केर विचार गर्दा, मेरो मन पछुतोले भरिएको थियो। म प्रार्थनाद्वारा परमेश्‍वरसामु आएँ: “हे परमेश्‍वर, मेरो कमसल क्षमताको कारण वा मेरो जीवनको दयनीय अनुभवको कारण तपाईं मदेखि टाढिनुभएन। तपाईंले अझै पनि मलाई अभ्यास गर्ने मौका दिनुभयो र यो मेरो लागि आशिष थियो। तैपनि, मैले आफ्नो कर्तव्यलाई तपाईंसितको लेनदेनको रूपमा लिने प्रयास गरें। म अत्यन्तै दुष्ट छु! हे परमेश्‍वर, म उप्रान्त मेरो व्यक्तिगत प्रतिष्ठा र हैसियतलाई वास्ता गर्न चाहन्नँ, तर, म यस अवसरको साँच्चै सँगाल्न चाहन्छु र आफूले सकेसम्म यो कर्तव्य गर्न आफ्नो सबै कुरा लगाउन चाहन्छु, ताकि म तपाईंलाई निराश नबनाऊँ।” प्रार्थना गरेपछि, मलाई निकै सहज, निकै शान्ति महसुस भयो। पछि होश खुल्दा, ओहोदा लिनसाथ त्यो असफलता अनुभव गर्नु र अलिकति परिचय गुमाउनु बाहिर-बाहिर केही नराम्रो जस्तो देखिएको थियो तर त्यो वास्तवमा असल कुरा थियो। यो त, मेरो मार्ग र लक्ष्यहरूलाई सच्याउने परमेश्‍वरको कार्य थियो। पद ग्रहण गर्नासाथ दाजुभाइ-दिदीबहिनीहरूबाट सराहना र प्रशंसा पाउनको लागि राम्रो कार्य गर्ने महान् अगुवा हुन्छु भनेर मैले आशा गरेकी थिएँ। तर, प्रसिद्धी र हैसियतको पछि लाग्नु गलत र असफलताको मार्ग हो भनेर यस अनुभवले मलाई देखायो। मैले बुझें, त्यो कर्तव्य गर्दा मेरा आफ्ना कमजोरीहरू खुलासा हुन सक्थे, अनि मैले गर्नुपर्ने आवश्यक कुरा भनेको मैले कुनै असफलतालाई स्वीकार्नु र तथ्यहरूको सामना गर्नु थियो, त्यसपछि आफूलाई सत्यताले सुसज्जित पार्न कडा परिश्रम गर्नुपर्थ्यो ताकि म एक-एक पाइला गर्दै अघि बढ्न सकूँ, आफ्नो कर्तव्य राम्ररी गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकूँ। मैले माथिल्लो तहका अगुवाबाट स्याबासी पाउन, दाजुभाइ-दिदीबहिनीहरूबाट प्रशंसा बटुल्न प्रयास गर्नु हुँदैनथियो। मानिसहरूलाई सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने भनेर मलाई थाहा थिएन भन्ने कमजोरी मसित भए तापनि त्यसको अर्थ मैले आफूसित सत्यताको वास्तविकताको कमी थियो भनेर स्वीकार्नु, पाठ सिक्नु र सिद्धान्तहरू बुझ्नु आवश्यक थियो। त्यो एउटा असफलतादेखि त्यति साह्रो भयभीत हुनु आवश्यक थिएन। सत्यतालाई अभ्यास गर्न र भविष्यमा प्रगति गर्न सक्षम हुनु मूल कुरो थियो। मेरो मनमा आएको परमेश्‍वरका वचनहरूको अर्को खण्ड यो थियो: “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझें भने, कुनै व्यक्तिले अगुवाको कर्तव्य पूरा गर्न सत्यतालाई वारपार बुझ्नुपर्दैन र पर्याप्त कद प्राप्त गर्नुपर्दैन। त्यसबाहेक, सुरुमा कोही पनि व्यक्ति वास्तवमा अगुवाले गर्ने कार्यको योग्य हुँदैन। परमेश्‍वरले हामीलाई हाम्रा कर्तव्यहरू मार्फत तालिम दिनुहुन्छ, अनि यही तालिम मार्फत् उहाँले हामीलाई डोर्‍याउनुहुन्छ र सिद्ध पार्नुहुन्छ। आफ्नो कर्तव्य गर्ने प्रक्रियामा, हामीले सम्भवतः थुप्रै दोषहरू प्रकट गर्छौं र साथै केही असफलताहरू र अवरोधहरू सामना गर्छौं अनि हाम्रो काटछाँट र निराकण भइरहेको हुन्छ। सत्यता खोजेर अनि बिस्तारै सिद्धान्तहरू कायम गरेर हामी बिस्तारै आफ्नो कद सुधार्न सक्छौं यस प्रक्रियाभरि, हामीले केही कुरा नबुझ्नु र प्राप्त गर्न नसक्नु वा असफलता र अवरोधहरू भोग्नु एकदमै सामान्य कुरा हो। यो पनि हामीले पार गर्नुपर्ने अनिवार्य कुरा हो। परमेश्‍वरद्वारा सिद्ध पारिने यो मौकालाई यदि मैले गुमाएँ भने, यो मेरो लागि कत्ति अन्धोपन हुनेथियो भनेर मैले बुझें, किनभने म आफ्नो मान-सम्मान गुमाइन्छ, अपमान होइन्छ भनेर डराएँ, र त्यसरी मैले यो कर्तव्य गर्न चाहिनँ। वास्तवमा यस सोचले मलाई स्वतन्त्र बनाइरहेको थियो। मेरो क्षमता कमसल छ, मैले सत्यता बुझेकी छैन, अनि मेरो जीवन प्रवेश मध्यम दर्जाको छ भनेर मलाई थाहा थियो, तर, म कडा परिश्रम गर्न र मूल्य चुकाउन अनि सत्यताको निम्ति लागिपर्न सक्थें। त्यसबेला, सबै अगुवाहरूमध्ये म सबैभन्दा कमजोर भए तापनि, हुन सक्छ एक दिन म केही प्रगति गर्न सक्थें। मैले नूहबारे सोचें, तिनले पहिला कहिल्यै जहाज बनाएका थिएनन्, तर तिनी हृदयका सच्चा र समर्पित थिए, उनी मार्गदर्शनको लागि परमेश्‍वरमा भर परे। उनी १२० वर्षसम्म काममा लागिरहे र अन्त्यमा परमेश्‍वरको कार्य पूरा गर्दै जहाज बनाई सिद्ध्याए। त्यतिबेला, तिनीसित परमेश्‍वरका वचनहरू समेत धेरै थिएन वा एकदमै कम मानिसहरूले तिनलाई मदत गरे। तर मसित परमेश्‍वरका वचनहरूको मार्गदर्शन थियो र मेरा अगुवाहरूको निर्देशन थियो साथै, दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र मदत प्राप्त थियो यस्तो हुँदाहुँदै, आफ्नो कर्तव्यमा आउने समस्याहरूबारे गुनासो पोखाउने मलाई के अधिकार थियो? त्यसरी गुनासो गरिरहने साँच्चै मसित आधार थिएन। यस सोचाइले मलाई केही कुरामा मनन गर्न लगायो: केही व्यवहारिक कार्य गर्नका लागि मैले कसरी आफ्नो कर्तव्य गर्नुपर्छ?

त्यसको केही क्षणपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढें: “तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो, अनि तैँले सधैँ आफ्नो दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले कसरी यी समस्याहरू समाधान गर्नेछस् तँ त्यो जान्‍न उत्सुक हुनेछस्? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस्, अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँको वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरको मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यस बारेमा तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो, अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरको वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरको वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँको वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझें भने, आफ्नो कर्तव्य राम्ररी गर्न सक्नुको कुञ्जी यसको बोझलाई साँच्चै बोक्नु हो र यसबारे साँचो चासो राख्नु हो। मैले आफ्नो कार्यका समस्याहरू वा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका कठिनाइहरू पत्ता लगाउँदा, ती कुराहरूको समाधान कसरी गर्ने भनेर कुनै पनि हालतमा दिमाग खियाउनुपर्छ। प्रार्थना गर्नुपर्छ, आफ्नो बोझ उठाएर परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ, अनि त्यसपछि मनमा यी व्यवहारिक समस्याहरू लिएर सत्यता खोज्दा, पवित्र आत्माको मार्गदर्शन र अन्तदृष्टि पाउन मेरो लागि झन् सजिलो हुनेछ। त्यसपछि भेलाहरूमा, मैले दाजुभाइ-दिदीबहिनीहरूका व्यक्तिगत अनुभवहरूको सङ्गति सुन्न ध्यान दिन थालें, र त्यसपछि उनीहरूका स्थितिहरू र समस्याहरूबारे अनि मैले त्यसलाई कसरी आफ्नो सङ्गतिमा परमेश्‍वरका वचनहरूसित मिलान गर्नुपर्छ भनेर साँच्चै विचार गर्नेथिएँ। मलाई केही समस्याले रोकावट दिएको महसुस हुँदा, यसबारे मसित सबैभन्दा नजिक रहेर काम गरेकी सिस्टरसित छलफल र खोजी गर्नेथिएँ ताकि त्यस समस्याबारे अझ स्पष्टसित बुझ्न सक्थें। यसो गर्नु हाम्रा भेलाहरूको लागि प्रभावकारी थियो। एक पटक, लामो समयदेखिका केही विश्‍वासीहरूसितको भेलामा, म निकै घबराएँ। मेरो सङ्गतिले मसित बुझाइको कमी छ भन्ने कुरा प्रकट गर्छ र तिनीहरूका समस्याहरू समाधन हुँदैन भनेर म डराएँ। मैले आफैलाई अपमानित गर्छु र हाँसोको पात्र हुन्छु भनेर डराएँ, अनि म एकदमै कलिलो उमेरको भएकीले तिनीहरूले यो सानी केटीले ठूलो कुरा गरेकी भन्ठान्छन् भनेर डराएँ। म चुप लागेर बसें। मैले मनमनै परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेकी थिएँ, र मलाई रोकावट दिने मान-सम्मान र हैसियतरूपी बाधाहरूबाट मुक्त हुन उहाँको मार्गदर्शन मागें ताकि म खुल्ला रूपमले सङ्गति गर्न सकूँ। मैले मेरो मनोवृत्ति बिस्तारै परिवर्तन हुन थालेको महसुस गरें, र मलाई के लाग्यो भने, सङ्गति भनेको अरूको अनुमोदन पाउनका लागि सबैभन्दा प्रेरणादायी र उच्च कुरा भन्नु होइन, तर सच्चा व्यक्ति हुनु र सकेजति आफ्नो व्यक्तिगत बुझाइ साझा गर्नु हो। भेला जोसुकैसँग भए तापनि, हामी परमेश्‍वरसामु आफ्नो कर्तव्य गरिरहेका हुन्छौं, तसर्थ, कसैले मलाई जेसुकै सोचोस्, मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। मैले आफ्नो मनोवृत्ति सुधार गरेपछि, हृदयभित्र अझ धेरै स्वतन्त्र महसुस गरें र आफ्ना विचारहरूलाई स्पष्ट पार्न सकें। ती समस्याहरूलाई अझ स्पष्टसित बुझें अनि सङ्गतिमा केही योगदान दिन सक्छु भनेर महसुस गरें। यो कुरा, मेरो व्यक्तिगत कदमाथिको भरोसा थिएन, तर यो त परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनबाट आएको कुरा थियो भनेर साँच्चै महसुस गरें। यो, आफैमा पूर्ण भरोसा गरेर कहिल्यै प्राप्त गर्न नसकिने कुरा थियो। ती अनुभवहरूपछि, मैले केही प्रगति गरेको महसुस गरें अनि मैले आफ्नो कर्तव्य गर्न छोडेकी थिइनँ र म एकदमै खुसी थिएँ। नत्र त, मैले ती उपलब्धिहरू कहिल्यै हासिल गर्ने थिइनँ। परमेश्‍वरका यी वचनहरू कत्ति साँचो छन् भनेर पनि म झनै पक्का भएँ: “तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। यी वचनहरू सत्यता हुन् र बिल्कुलै अकाट्य छन्। मैले परमेश्‍वरका वचनहरू अभ्यास गरेपछि, उहाँको अगुवाइ र आशिषहरू वास्तवमै देखें।

अर्को: मेरो रोजाइ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

चापलुसीबाट के आउँछ

सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...

मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु

मैले मेरा इष्टमित्र, परिवार र छिमेकीहरूसित अन्तरक्रियाहरू गर्दा व्यक्तिगत सम्बन्धलाई कायम राख्न निकै प्रयास गर्ने गर्थेँ। म कुनै पनि कुरा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्