परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २२

11 अप्रील 2021

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुके तापनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव व्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देशित गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको साथमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्‍वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनुभए पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देखून् र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्‍वरलाई देख्‍न र छुन नसके तापनि, मानवजातिले देख्‍ने परमेश्‍वरको स्वभाव र सार पूर्णतया परमेश्‍वर स्वयम्‌को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्‍वरले आफ्‍नो कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरे तापनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानद्वारा मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्‍नै पर्ने वचनहरू भन्‍नुहुन्छ। परमेश्‍वरले जुनसुकै ओहोदाबाट बोल्नुभए तापनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनुभएको हुन सक्छ, वा शरीरमा खडा भइरहनुभएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्‍नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्‍वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव व्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको अस्तित्व र सम्पत्तिहरूद्वारा मानवजातिलाई मार्गनिर्देशित गर्नुहुन्छ। व्यवस्थाको युगमा—मानवजातिको शिशु युगमा—“अदृष्य र अस्पृश्य” परमेश्‍वरको मार्गनिर्देशनमा मानिसले यसरी नै जियो।

परमेश्‍वर व्यवस्थाको युगपछि पहिलो पटक देह बन्नुभयो—जुन देहधारण साढे तेत्तीस वर्षसम्म रह्यो। मानवजातिको निम्ति, के साढे तेत्तीस वर्ष लामो समय हो? (यो लामो समय होइन।) मानवजातिको आयु तीस वर्षभन्दा धेरै लामो हुने भएकोले, मानिसको लागि यो धेरै लामो समय होइन। तर देहधारी परमेश्‍वरको निम्ति, साढे तेत्तीस वर्ष साँच्चै लामो थियो। उहाँ एक व्यक्ति बन्‍नुभयो—परमेश्‍वरको काम र कार्यभारको जिम्मा लिने एक साधारण व्यक्ति बन्‍नुभयो। यसको अर्थ यो हुन्छ कि उहाँले एक साधारण व्यक्तिले सम्हाल्न नसक्‍ने काम सम्हाल्नुपर्ने थियो, यसको साथै साधारण मानिसहरूले सहन नसक्‍ने कष्ट पनि सहनुपर्ने थियो। उहाँको कामको सुरुदेखि क्रूसमा टाँगिनुभएको समयसम्म, अनुग्रहको युगमा प्रभु येशू ख्रीष्टले भोग्‍नुभएको कष्ट आजका मानिसहरूले व्यक्तिगत रूपमा देख्‍न सक्‍ने कुरा नहुन सक्छ, तर के तिमीहरूले बाइबलका कथाहरू पढेर कम्तीमा पनि यसको बारेमा अन्दाज लगाउन सक्दैनौ? यी अभिलिखित तथ्यहरूमा जतिसुकै विवरणहरू भए पनि समग्रमा यस समयमा परमेश्‍वरको काम पूर्ण रूपमा कठिन र कष्टकर थियो। भ्रष्ट मानवको लागि, साढे तेत्तीस वर्षको अवधि लामो समय होइन; थोरै कष्ट सहनु सानो कुरा हो। तर पवित्र, निष्कलङ्‍क परमेश्‍वर, जसले सारा मानवजातिको पापहरू बोक्‍नुपरेको थियो र पापीहरूसँग खानु, सुत्‍नु र बस्‍नुपरेको थियो, उहाँको लागि यो पीडा अविश्‍वसनीय रूपले ठूलो थियो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सारा कुराहरूका सार्वभौम र हरेक कुराका शासक हुनुहुन्छ, तथापि जब उहाँ संसारमा आउनुभयो, उहाँले भ्रष्ट मानवको थिचोमिचो र क्रूरता सहनुपर्‍यो। उहाँको काम पूरा गर्न र मानवजातिलाई दुःखको सागरबाट उद्धार गर्न, उहाँ मानिसबाट निन्दित हुनुभयो र उहाँले सारा मानवजातिका पापहरू बोक्‍नुपर्‍यो। उहाँले भोग्‍नुभएको कष्टको मात्रा साधारण मानिसहरूले सम्भवतः बुझ्न सक्दैनन् र यसलाई सराहना गर्न सक्दैनन्। यो कष्टले केको प्रतिनिधित्व गर्छ? यसले मानवजातिप्रति भएको परमेश्‍वरको समर्पणताको प्रतिनिधित्व गर्छ। मानिसका पापहरूको छुटकाराको निम्ति र यस चरणको आफ्नो काम सम्पन्‍न गर्नको निम्ति उहाँले भोग्‍नुभएको अपमान र मानिसको मुक्तिको लागि उहाँले तिर्नुभएको मूल्यको प्रतिनिधित्व यसले गर्छ। यसको यो पनि अर्थ हुन्छ कि परमेश्‍वरले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुनेथियो। यो रगतमा, जीवनमा तिरिएको मूल्य हो र यो मूल्य सृष्टि गरिएका कुनै पनि प्राणीले तिर्न सक्दैनन्। किनकि उहाँमा परमेश्‍वरको सार छ र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै उहाँमा छ, उहाँले यस्ता किसिमका कष्टहरू सहन र यस्ता किसिमका कामहरू गर्न सक्‍नुहुन्छ। उहाँद्वारा सृष्टि गरिएका कुनै पनि प्राणीले उहाँको साटोमा यो कुरा गर्न सक्दैनथियो। यो अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको स्वभावको प्रकाश हो। के यसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई केही मात्रामा प्रकट गर्छ? के यो मानवजातिले थाहा पाउन लायकको छ? त्यस युगमा, मानिसले परमेश्‍वरको व्यक्तित्व नदेखे तापनि, तिनीहरूले परमेश्‍वरको पाप बलि प्राप्त गरे र तिनीहरूलाई परमेश्‍वरले क्रूसद्वारा छुटकारा दिनुभयो। परमेश्‍वरले अनुग्रहको युगमा गर्नुभएको कामप्रति मानवजाति अपरिचित नहुन सक्छ, तर के यस अवधिमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभाव र इच्छासँग कोही परिचित छ? मानिसले परमेश्‍वरले फरक-फरक युगहरूमा र विभिन्‍न माध्यमहरूद्वारा गर्नुभएका कामको विवरणको बारेमा वा परमेश्‍वरले आफ्नो काम सम्पन्न गरिरहनुभएको समयमा घटित परमेश्‍वरसँग सम्बन्धित कथाको बारेमा विरलै मात्र जान्दछ। यी विवरण र कथाहरू परमेश्‍वर सम्‍बन्धी केही जानकारी वा किंवदन्तीहरूभन्दा बढी होइनन् र परमेश्‍वरका स्वभाव र सारसँग तिनीहरूको केही सम्बन्ध छैन। यसैले मानिसहरूले परमेश्‍वरको बारेमा जति धेरै कथाहरू जाने तापनि, यसको अर्थ तिनीहरूसँग परमेश्‍वरको स्वभाव र उहाँको सारको बारेमा गहिरो बुझाइ र ज्ञान छ भन्‍ने हुँदैन। व्यवस्थाको युगमा जस्तै, अनुग्रहको युगका मानिसहरूले देहमा हुनुभएको परमेश्‍वरसँग तत्कालीन र घनिष्ठ भेट अनुभव गरेका भए तापनि, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बारेको तिनीहरूको ज्ञान वास्तवमा अस्तित्वमा थिएन।

राज्यको युगमा, पहिले जसरी नै, परमेश्‍वर फेरि एक पटक देह बन्‍नुभएको छ। कामको यस अवधिमा, परमेश्‍वरले अझै खुला रूपमा उहाँका वचन व्यक्त गर्नुहुन्छ, उहाँले गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो व्यक्त गर्नुहुन्छ। यसको साथै, उहाँले मानिसको अनाज्ञाकारिता र अज्ञानतालाई झेल्‍ने र सहने काम निरन्तर गर्नुहुन्छ। के परमेश्‍वरले यस कामको अवधिमा पनि आफ्नो स्वभावलाई प्रकट गर्ने र उहाँको इच्छालाई व्यक्त गर्ने कार्यलाई निरन्तरता दिनुहुन्‍न र? यसैले, मानिसको सृष्टिको सुरुदेखि अहिलेसम्म, परमेश्‍वरको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र उहाँको इच्छा हरेक मानिसको निम्ति सधैँ खुला रहिआएको छ। परमेश्‍वरले कहिले पनि जानाजान उहाँको सार, उहाँको स्वभाव वा उहाँको इच्छालाई लुकाउनुभएको छैन। मानवजातिले परमेश्‍वरले के गर्दै हुनुहुन्छ, उहाँको इच्छा के हो भन्‍ने कुराको वास्ता नराखेको मात्र हो—यसैले मानिससँग परमेश्‍वरको बारेमा यस्तो अपर्याप्त बुझाइ छ। अर्को शब्दमा, परमेश्‍वरले आफ्नो व्यक्तित्वलाई लुकाउँदै गर्दा हरेक पटक उहाँको इच्छा, स्वभाव र सारलाई हरबखत खुला रूपमा प्रस्तुत गर्दै उहाँ मानवजातिको सामु खडा भइरहनुभएको हुन्छ। एक अर्थमा, परमेश्‍वरको व्यक्तित्व मानिसहरूको निम्ति पनि खुला छ, तर मानिसको अन्धोपन र अनाज्ञाकारिताको कारण, तिनीहरूले परमेश्‍वरको देखापराइलाई कहिले पनि देख्‍न सक्दैनन्। यसैले, यदि त्यसो हो भने, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने कार्य सबैको निम्ति सजिलो हुनुपर्ने होइन र? यो एउटा कठिन प्रश्‍न हो, होइन र? तिमीहरू भन्छौ यो सजिलो छ, तर जब कतिपय मानिसहरूले परमेश्‍वरलाई चिन्‍न खोज्छन्, वास्तवमा तिनीहरूले उहाँलाई चिन्‍न वा उहाँको बारेमा स्पष्ट रूपले बुझ्‍न सक्दैनन्—यो सधैँ धमिलो र अस्पष्ट हुन्छ। तर यो सजिलो छैन भनी तिमीहरू भन्छौ भने, त्यो पनि सही होइन। यति लामो समयसम्म परमेश्‍वरको कामको पात्र भएको कारण, आफ्ना अनुभवहरूद्वारा सबैले परमेश्‍वरसँग साँचो अनुभव गरेको हुनुपर्ने हो। तिनीहरूले आफ्ना हृदयमा केही हदसम्म परमेश्‍वरको अनुभूति गरेका वा परमेश्‍वरको आत्मिक छुवाइको महसुस गरेका हुनुपर्ने हो, र तिनीहरूले कम्तीमा पनि परमेश्‍वरको स्वभावको बारेमा केही अवधारणात्मक जागरूकता प्राप्त गरेका वा उहाँको बारेमा केही बुझेका हुनुपर्ने हो। मानिसले परमेश्‍वरलाई पछ्याउन थालेको समयदेखि अहिलेसम्म, मानवजातिले धेरै कुरा प्राप्त गरेको छ, तर मानिसको कमजोर योग्यता, अज्ञानता, विद्रोह र विविध अभिप्रायहरूजस्ता कारणहरूले गर्दा मानवजातिले तीमध्ये धेरै कुरा गुमाएको पनि छ। के परमेश्‍वरले मानवजातिलाई पहिले नै प्रशस्त कुरा दिनुभएको छैन र? परमेश्‍वरले मानवजातिबाट आफ्नो व्यक्तित्व लुकाउनुभए तापनि, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै र उहाँको जीवन मानवको निम्ति उपलब्ध गराउनुहुन्छ; मानवजातिमा परमेश्‍वर बारेको ज्ञान अहिले भएको जस्तो मात्र हुनु नपर्ने हो। यसैले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌को विषयमा तिमीहरूसँग थप सङ्‍गति गर्नुपर्ने जरुरत छ भन्‍ने मलाई लाग्छ। परमेश्‍वरले मानिसमा लगानी गर्नुभएको हजारौँ वर्षको वास्ता र ख्याल खेर नजाओस् र मानवजातिले तिनीहरूप्रतिको परमेश्‍वरको इच्छालाई साँचो रूपमा बुझ्‍न र सराहना गर्न सकोस् भन्‍ने यसको उद्देश्य हो। ताकि मानिसहरू परमेश्‍वर बारेको तिनीहरूको बुझाइमा अर्को चरणमा प्रवेश गर्न सकून् भन्ने हो। यसले परमेश्‍वरलाई मानिसहरूको हृदयहरूमा उहाँको वास्तविक स्थानमा फर्काउने पनि छ; अर्थात् परमेश्‍वरले पाउनुपर्ने कुरा प्रदान गर्नेछ।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्