सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग (भाग दुई)
आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्नै भ्रष्टताका प्रकाशहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र हरेक कुराबारे तेरो मनोवृत्ति—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्नका निम्ति तैँले परमेश्वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। तिमीहरूले परमेश्वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूका कुरूप स्थितिहरू खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्नु निकै फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्वरमा विश्वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार खुलासा गर्ने वचनहरू पढ्नुपर्छ। तिमीहरूले तिनलाई आफ्नो व्यावहारिक स्थितिसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले ती वचनहरू आफूसँग धेरै र अरूसँग कम जोड्नुपर्छ। परमेश्वरले खुलासा गर्नुहुने स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा भेटिन सक्छन्। यदि तँलाई विश्वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्नेछस्, र तँलाई परमेश्वरका वचनहरू अत्यन्तै सही छन् भन्ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्वरले मानिसहरूलाई जेजेबेल र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू मानिसलाई खुलासा गर्ने परमेश्वरका वचनहरू अत्यन्तै गम्भीर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्ने विश्वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्वरका वचनहरूका आधारमा आफ्नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “जेजेबेलहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावहरू खुलासा गर्छन्; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एउटै हुन्छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्वरले भन्नुभएको सबथोक सत्यता हो, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई अर्ती दिने उहाँका वचनहरू जति नै नम्र भए पनि, उहाँका वचनहरू न्याय भए पनि आशिष् भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति हो, कि दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलि दुविधामा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्वासमा परमेश्वरका वचनहरू सत्य छन् भनी दृढ विश्वास गर्नुपर्छ। ती वास्तवमै सत्य भएकाले मानिसहरूले तिनलाई समझका साथ स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्वरको वचनले तिमीहरूमध्ये एक जना वा सबैको खुलासा गर्दैन भने, त्यसले कसको खुलासा गर्छ? अनि यदि त्यो तिमीहरूको खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्वरले सारा मानवजातिसँग बोल्नुहुन्छ, परमेश्वरले बोल्नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्वरका वाणीहरूको एउटै पङ्क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, कुनै बाह्य प्रावधानसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँलाई परमेश्वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानव व्यवहार वा बाहिरी स्वरूपको मात्र खुलासा गरिरहेको छ भन्ने लाग्छ भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्ने बझ्दैनस्। परमेश्वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका अत्यावश्यक अनि जरा गाडेर बसेका कुराहरूको खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्वरका वचनहरूलाई मानव धारणा वा कल्पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “मानिसहरूको खुलासा र न्याय गर्ने परमेश्वरका वचनहरू साँच्चै कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।
परमेश्वरका वचनहरू सबै सत्यता हुन् भन्ने तिमीहरूलाई थाहा भए पनि, र तिमीहरू सत्यता पछ्याउन इच्छुक भए पनि, परमेश्वरका वचनहरूप्रति व्यवहार गर्दा तिमीहरूमा अझै पनि आफ्नै रुचि र रोजाइहरू हुन्छन्, र तिमीहरूले अझै पनि आफ्नै इच्छाअनुसार नै कार्य गर्नेछौ। परमेश्वरका प्रतिज्ञा र आशिष्सम्बन्धी वचनहरू पढ्न तिमीहरू सबैभन्दा धेरै इच्छुक हुन्छौ, र तिमीहरूले विशेष गरी परमेश्वरको प्रतिज्ञासम्बन्धी वचनहरू सम्झनेछौ। यस्ता वचनहरू पढ्दा तिमीहरूलाई सान्त्वाना मिल्नेछ, वा तिमीहरूको अलिकति आशा पलाउनेछ र तिमीहरूले आफूमा अझै परमेश्वरमा विश्वास गर्ने शक्ति र उत्प्रेरणा पाउनेछौ। तर तिमीहरू परमेश्वरका वचनहरूले मानिसहरूलाई न्याय र उनीहरूको खुलासा गरेको पढ्न अनिच्छुक हुन्छौ, किनभने यदि व्यक्तिले सधैँ मानिसहरूको खुलासा गर्ने अनि तिनीहरूलाई न्याय र सजाय गर्ने परमेश्वरका वचनहरू पढ्छ भने, उसलाई निराशा छाउँछ, र परमेश्वरमा विश्वास गर्ने उसको शक्ति नै हराउँछ, अनि ऊ कसरी अगाडि बढ्न सक्छ र? आजकल, धेरैजसो मानिसहरूले रहस्यहरू खोल्ने परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्। तिनीहरूलाई ती अति गहन छन्, र आशिष्सम्बन्धी वचनहरू आफ्नो पहुँचबाहिर छन् भन्ने अनुभूति हुन्छ। मान्छेको भ्रष्ट स्वभाव खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तिनीहरूले तीमध्ये केही बुझ्न सक्छन्, र तिनीहरूले ती वचनहरू आफूसित जोडेर ती वचनहरू तथ्य हुन् भनी हृदयभित्र माने पनि, तिनलाई स्विकार्न तिनीहरू अझै अनिच्छुक हुन्छन्। हेर्, मानिसहरू वास्तवमै कति अफ्ठ्यारा हुन्छन्! परमेश्वरको वचन सत्यता हो भन्ने थाहा हुँदाहुँदै पनि तिनीहरू त्यसलाई स्विकार्न अझै अनिच्छुक हुन्छन्; तिनीहरू आशिष्हरू प्राप्त गर्न चाहन्छन्, तर ती प्राप्त गर्न अझै सक्दैनन्। त्यसकारण, व्यक्तिले उचित रूपमा कसरी परमेश्वरको वचन खानु र पिउनुपर्छ? सर्वप्रथम, उसले रहस्यहरू खोल्ने परमेश्वरका अझ धेरै वचनहरू पढ्नुपर्छ। यस्ता वचनहरू पढ्दा, उसलाई परमेश्वर तेस्रो स्वर्गमा हुनुहुन्छ र उहाँ उच्च हुनुहुन्छ, अनि व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ भन्ने अनुभूति हुन्छ। त्यसपछि उसले यसो भन्दै प्रार्थना गर्छ, “हे परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ! तपाईं सर्वोच्च हुनुहुन्छ! सबै कुराहरूमाथि तपाईंको सार्वभौमिकता छ, र तपाईंले मेरो नियति निर्धारण गर्न सक्नुहुन्छ; तपाईंले मेरो वरिपरि घटित होऊन् भनेर बन्दोबस्त गर्नुभएका सबै कुराहरूप्रति म समर्पित हुन इच्छुक छु।” यसरी प्रार्थना गर्दा, मानिसहरूमा परमेश्वरको केही डर हुनेछ। मानिसहरू उच्च परमेश्वरमा विश्वास गर्न तत्पर छन्, त्यसैले परमेश्वरको वचन खानु र पिउनुअघि, पहिलो कुरा परमेश्वर स्वर्गबाट मानिसहरूसित बोलिरहनुभएको छ भन्ने कुरा सुनिश्चित गरिनुपर्छ, अनि मानिसहरू परमेश्वरको वचन पढ्न इच्छुक हुनेछन् र तिनीहरूले धारणाहरू राख्ने सम्भावना पनि कम हुनेछ। दोस्रोमा, खान र पिउनको लागि परमेश्वरका प्रतिज्ञा र आशिष्हरूसम्बन्धी केही वचनहरू खोज्नुपर्छ। मान्छेलाई आशिषित तुल्याउने परमेश्वरका वचनहरू देखेपछि, मानिसहरू अत्यन्तै उत्तेजित हुन्छन् र रुन थाल्छन्, अनि यसो भन्छन्, “हे परमेश्वर, तपाईं अत्यन्तै प्रिय हुनुहुन्छ! तपाईं हाम्रो आराधनाको अत्यन्तै लायक हुनुहुन्छ! हामीहरूको लागि तपाईंसँग भएका आशिष्हरू स्विकार्न हामी अत्यन्तै इच्छुक छौँ, र तपाईंले हामीलाई दिनुभएका प्रतिज्ञाहरू स्विकार्न हामी झनै इच्छुक छौँ। यति हो, अहिले हामी सानो कदका छौँ र हुर्किसकेका छैनौँ, तपाईंका प्रतिज्ञा र आशिष्हरू ग्रहण गर्न हाम्रो योग्यताले पुग्दैन, तर बिन्ती छ, हामीलाई थप भरणपोषण गर्नुहोस्!” परमेश्वरको आशिष्का वचनहरू पढ्न कति मिठो हुन्छ! त्यसपछि तिनीहरूले मनन् गर्छन्, “अनि, कस्ता खालका आशिष्हरू छन् त? परमेश्वरले भन्नुभएको छ कि जब समय आउँछ, तब मान्छेलाई कुनै विपत्तिहरू आइपर्नेछैनन्, र मान्छे दैनिक तीनपटक खाना खानुपर्ने अनि धुनु र सफा गर्नुपर्ने बोझबाट मुक्त हुनेछ—परमेश्वरले यस्तै प्रतिज्ञाहरूबारे बोल्नुभएको छ।” व्यक्तिले जति धेरै पढ्छ, ऊ त्यति धेरै उत्साहित बन्छ। तर तँ जति नै उत्साहित भए पनि, सत्यता पछ्याउन नबिर्सी। तेस्रो चरण भनेको मानवजातिको भ्रष्ट स्वभाव र सारको खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्नु हो। जब यो कुरा आउँछ, हरेकपटक धेरै खानु र पिउनु आवश्यक पर्दैन; एकपटकमा एक-दुई थरी कुरा खाँदा र पिउँदा पर्याप्त हुन्छ। खाने र पिउने काम गरेपछि, तैँले नबुझ्ने कुराहरू, र तँसँग जोड्न नसकिने कुराहरूलाई छेउ लगा, र तँसित जोड्न सकिने कुराहरूबारे ध्यानपूर्वक मनन् गर्, अनि तैँले बिस्तारै आफ्नो स्थिति चिन्न सक्नेछस्। जब तैँले आफ्नो भ्रष्ट स्वभाव साँच्चिकै चिनेको हुन्छस्, र बढीभन्दा बढी सत्यताहरू बुझेको हुन्छस्, तब तैँले अचेतन रूपमै आफ्नो प्रकृति सार छर्लङ्गै देख्न सक्नेछस्। के तिमीहरूलाई यो राम्रो हो भन्ने लाग्छ? (लाग्छ।) यो बच्चालाई ओखती दिएजस्तै हो: सुरुमा उसलाई फकाउन तैँले केही स्वादिष्ट कुरा दिन्छस्, त्यसपछि, जब उसले त्यसतिर ध्यान दिइरहेको हुँदैन, तैँले उसलाई एक मुख ओखती हालिदिन्छस्; यदि उसलाई तीतो लाग्यो भने, तैँले उसलाई थप दुइटा मिठाई दिएर फकाउँछस्, अनि उसले ओखती खानेछ। तर जब ऊ बढेर ठूलो हुन्छ, यसो गर्नै पर्दैन: उसलाई त्यो कति तीतो छ भन्ने पूरै ज्ञान हुन्छ र पनि उसले आफ्नै इच्छाले ओखती पिउँछ। यो कदको मामिला हो। यदि तँमा कदको कमी छ, र तँलाई परमेश्वरको वचनमा मान्छेको भ्रष्ट प्रकृति र सम्बन्धित सत्यताहरू खुलासा गर्ने ती वचन खोज्न अनि आफूलाई तीसँग तुलना गर्न लगाइयो भने, अनि यदि तँलाई दिनभरि नै यी वचनहरू खान र पिउन लगाइयो भने, अन्ततः तँलाई वाक्क लाग्नेछ, किनकि तिनको लागि तेरो अनुभव पुग्दैन र पर्याप्त हुँदैन। त्यसैले, तैँले त्यसबीच अलिकति मिठाईजस्तै केही कुरा थप्नुपर्छ, अनि सानो कद भएकाहरूले यस तरिकाले परमेश्वरका वचनहरू खानु र पिउनुपर्छ। यदि तँ प्रायः कमजोर र नकारात्मक हुन्छस् अनि तँमा वास्तविक आस्था र आशा छैन भने, तैँले चाँचाँडो परमेश्वरका आशिष् र प्रतिज्ञाहरूसम्बन्धी वचनहरू खानु र पिउनुपर्छ, अनि खान र पिउनका लागि परमेश्वरले रहस्यहरू खोल्ने वचनहरू पत्ता लगाउनुपर्छ। यदि तँलाई तेरो शक्ति बढ्दै गएको र परमेश्वरसँगको तेरो सम्बन्ध निकट बन्दै गएको अनुभूति हुन्छ भने, तैँले मौकामा चौका हान्दै सजाय र न्यायका वचनहरू खोजी खानु र पिउनुपर्छ, र यस तरिकाले, खाने र पिउने कामले अझै सहज रूपमा प्रभाव हासिल गर्नेछ, अनि तेरो जीवनवृद्धिमा ढिलाइ हुनेछैन। यदि परमेश्वरका वचनहरू खाँदा र पिउँदा, तँ सानो कदको छस् भने, तैँले समायोजन गर्न जान्नुपर्छ: तैँले यसरी खाने र पिउने गर्नुपर्छ कि त्यसले तँलाई राम्रो मानसिक स्थितिमा पुर्याओस् र तेरो तीब्र वृद्धि होस्; आफ्नो पहुँचभित्रको कुरा खाने र पिउने अनि आफ्नो पहुँचमा नभएको कुरा छेउ लगाउने गर्नुपर्छ; अनि खाने र पिउने कार्यबाट आफूले बुझेको कुराको अभ्यास र अनुभव गर्ने प्रयास गर्नुपर्छ। जबसम्म तँलाई आफूले बुझ्ने परमेश्वरका वचन र सत्यताहरू अभ्यास र अनुभव गर्न आउँछ, तबसम्म तँ परमेश्वरमा विश्वास गर्ने सही मार्ग प्रवेश गर्न सक्षम रहनेछस्।
कसैले एकपटक यस्तै केही भनेको म सम्झन्छु: परमेश्वरले कहिले धर्ती छोड्नुहोला भनेर अध्ययन गर्न एउटा मान्छेले ठूलो प्रयत्न गर्यो। त्यो ठूलो प्रयत्न भनेको त्यसबारे दिनरात सोच्नु थिएन; बरु, त्यो उसको लागि उसले परमेश्वरमा विश्वास गर्न थालेदेखिको चासोको विषय थियो। सही जवाफ भेट्टाउनको निम्ति, उसले परमेश्वरको प्रस्थानबारे सम्पूर्ण वचनहरू जम्मा पार्यो, जस्तैः परमेश्वरले कहिले धर्ती छोड्नुहोला, त्यसका कस्ता चिन्हहरू होलान्, र मण्डलीका मानिसहरूले कस्तो प्रतिक्रिया जनाउँलान्। त्यसपछि उसले ती कुराहरूबारे ठूलो जोससाथ मनन गर्यो, र एउटा बृहत विश्लेषण गर्यो र ती सबैलाई एकएक गरी अनि अगाडिदेखि पछाडिसम्म एकअर्कासँग तुलना गर्यो, यस्तो लाग्थ्यो मानौँ बाइबलकै सन्दर्भ लिइँदै छ। के यो ठूलो प्रयत्न थिएन र? यो मान्छेले परमेश्वरबारे कति “चासो” राख्थ्यो, र उसमा परमेश्वरप्रति कति “प्रेम” थियो! धर्तीबाट परमेश्वरको प्रस्थान हुनु भनेको परमेश्वरको कामको निकै महत्त्वपूर्ण घटना हो, र जब उसले यो कुरा पत्ता लगायो, उसले यसलाई सबैभन्दा महत्त्वपूर्ण मान्यो—अर्थात् मुक्ति प्राप्त गर्न उसले सत्यता पछ्याएको कुराभन्दा पनि महत्त्वपूर्ण, र परमेश्वरका वचनहरूमा सत्यताको कुनै बुँदा खोजेको कुराभन्दा पनि महत्त्वपूर्ण मान्यो। त्यसैले, उसले ती सबै वचनहरू एकै ठाउँमा जम्मा गर्यो र अन्त्यमा “जवाफ” फेला पार्यो। जे होस्, उसको अनुसन्धानको परिणामको सटीकतालाई एकातिर राखौँ, अब तिमीहरूलाई परमेश्वरमाथिको आस्था पछ्याउनेबारे यस खालको व्यक्तिको दृष्टिकोण र उसको पछ्याउने तरिका कस्तो लाग्यो? के उसले गरेको प्रयत्न आवश्यक थियो? त्यस्तो मेहनत गर्नु अर्थहीन थियो! पृथ्वीबाट हुने परमेश्वरको प्रस्थानसँग तेरो के सरोकार छ? परमेश्वरले तँलाई उहाँको आगमनबारे जानकारी दिनुभएन, त्यसैले उहाँले तँलाई उहाँ कहिले जानुहुँदै छ भनेर भन्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई धेरै कुराहरू थाहा दिनुहुन्न, अनि त्यसको कारण के हो? त्यसको कारण के हो भने, मानिसहरूले त्यो जान्नु आवश्यक नै छैन, र यदि तिनीहरूले जानिहाले पनि, त्यसले तिनीहरूलाई केही फाइदा गर्नेछैन र तिनीहरूको भावी गन्तव्यहरूमा पनि कुनै भूमिका खेल्नेछैन, त्यसैले मानिसहरूले त्यो जान्नु आवश्यक छैन। अब परमेश्वर देहधारी बन्नुभएकोले, उहाँलाई सबै रहस्यहरू अनि सत्यता र यावत् थोकका सबै पक्षहरू थाहा छ, अनि उहाँले मानिसहरूलाई ती सब भन्न सक्नुहुन्छ, तर त्यस्ता केही कुराहरू छन् जुन मानिसले जान्नु आवश्यक नै छैन, न त ती कुराहरू तिनीहरूलाई भन्नु आवश्यक नै छ। परमेश्वर धर्तीबाट प्रस्थान गर्नुहुँदा र उहाँले आफ्नो काम टुङ्ग्याउनुहुँदा—के मान्छेसित यी कुराहरूको कुनै सम्बन्ध हुन्छ? कसैले भन्ला: केही पनि छैन! कतिपय मानिसहरू भन्छन्, “त्यसको कसरी केही सम्बन्ध छैन? सत्यता पछ्याउन अति ढिलो भयो भने मैले के गर्ने? मैले परमेश्वरको दिन कति बाँकी छ भनेर हेर्नुपर्छ, र सत्यता पछ्याउनुअघि म त्यो दिनबारे निश्चित हुनुपर्छ।” के यस्तो व्यक्ति मूर्ख होइन र? के ऊ सत्यता पछ्याउने व्यक्ति हो र? बिलकुलै होइन! यदि कुनै व्यक्तिले साँच्चिकै सत्यता पछ्याउँछ भने, उसले यसबारे वास्ता गर्नेछैन, न ऊ यी कुराहरूबारे चासो राख्न नै चाहन्छ; उसलाई यी कुराहरूबारे चासो राख्नुले सत्यता पछ्याउनमा कुनै मद्दत गर्दैन र त्यसो गर्नुको कुनै महत्त्व छैन भन्ने लाग्छ, त्यसैले ऊ यी नीरस विषयहरूबारे सोच्न वा प्रयत्न गर्न इच्छुक हुँदैन। कतिपय मानिसहरू जहिले पनि परमेश्वरको दिन कहिले आउनेछ भनेर चासो राख्छन्, तर के यो व्यक्तिगत अभिप्राय होइन र? के परमेश्वरको दिन कहिले आउनेछ भनेर तैँले निरन्तर चासो राख्नुले तैँले परमेश्वरलाई प्रेम गर्छस् भन्ने कुरा प्रमाणित गर्छ र? के त्यसले तँ परमेश्वरको इच्छा पालना गर्ने व्यक्ति होस् भनेर प्रमाणित गर्न सक्छ र? के त्यसले तैँले परमेश्वरको साक्षी दिन्छस् भन्ने प्रमाणित गर्न सक्छ र? के त्यसले तैँले परमेश्वरको राज्यको सुसमाचार फैलाउनमा योगदान गरेको छस् भन्ने प्रमाणित गर्न सक्छ र? अनि, तेरो असल कर्महरू बटुल्ने काम कस्तो भइरहेको छ? तैँले कति सत्यता बुझेको छस्? तँ कुन-कुन सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छस्? यीचाहिँ तैँले सबैभन्दा बढी चासो राख्नुपर्ने कुराहरू हुन्। तँ सधैँ परमेश्वरको खबर सोधखोज गरिरहेको हुन्छस्, सधैँ केही गफगाफ थाहा पाउन चाहन्छस्, सधैँ केही रहस्य बुझ्न चाहन्छस्। तर यो जिज्ञासु हृदय मात्र हो, सत्यता पछ्याउने वा परमेश्वरबारे विचारशील हृदय बिलकुलै होइन, र परमेश्वरको डर मान्ने हृदय त झनै होइन। रहस्य बुझ्न दौडने तेरो क्रियाकलापसित सत्यता पछ्याउने कार्यको थोरै पनि सम्बन्ध हुँदैन। यस्ता खालका मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? के तैँले तिनीहरूलाई आदर गर्छस्? के तँ तिनीहरूको प्रशंसा गर्छस्? के तँ तिनीहरूको ईर्ष्या गर्छस्? के तँ तिनीहरूलाई त्यस्ता रहस्यहरू खोज्न मद्दत गर्नेछस्? अहँ, तैँले बरु अवश्यै तिनीहरूलाई तुच्छ दृष्टिले हेर्नेछस्, र यसो भन्नेछस्, “हामी अझै पनि सत्यता पछ्याउनमा, आफूलाई चिन्नमा, र परमेश्वरलाई चिन्नमा कमजोर रहेका छौँ—हामीले अहिलेसम्म पनि केही हासिल गरेका छैनौँ—र यहाँ हरपक्षका सत्यताहरू पत्ता लगाउन, बुझ्न, र अभ्यास गर्न बाँकी छ, त्यसैले हामीले त्यस्ता रहस्यहरू अध्ययन गर्न जोड दिनुपर्ने कुनै जरुरी छैन।” खासमा, यदि तेरो हृदयमा परमेश्वर हुनुहुन्छ र तँमा सत्यता पछ्याउने चाहना छ भने, जब त्यो दिन आउँछ, परमेश्वरले तँलाई अज्ञानवश छोड्नुहुनेछैन; उहाँले तेरो परित्याग गर्नुहुनेछैन। तँसँग हुनुपर्ने आस्था र बुझाइ नै यही हो। यदि तँसँग यो आस्था र बुझाइ छ भने, तैँले कुनै पनि मूर्ख काम गर्नेछैनस्। यदि परमेश्वरको अभिप्राय तँलाई भन्ने नै हुन्थ्यो भने, के उहाँले त्यो सिधै भन्नुहुन्थेन र? के घुमाउरो तरिकाले भन्नुपर्ने कुनै जरुरी हुन्थ्यो र? के वचनहरूभित्रै वचनहरू लुकाउनु आवश्यक हुन्थ्यो र? के गोप्य हुन जरुरी पर्थ्यो र? बिलकुलै पर्दैनथ्यो। परमेश्वरले मानिसहरूलाई थाहा दिन चाहेको भनेको सत्यता हो; उहाँका काम, वचन र अभिप्रायहरूले व्यक्त गर्ने हरेक कुरा सत्यता हो, र तिनलाई उहाँले मानिसहरूबाट कदापि लुकाउनुहुनेछैन। त्यसकारण, परमेश्वरले जे कुरा मानिसहरूले जानून् भन्ने चाहनुहुन्न तैँले ती कुराहरू सोधखोज गर्नु आवश्यक छैन, न त तैँले ती कुराहरू मनमा खेलाउनु नै आवश्यक छ, किनकि तैँले ती कुराहरूमा जति प्रयत्न लगाएको छस् त्यो व्यर्थ हुनेछ, र त्यसको केही मूल्य हुनेछैन, बरु त्यो कुरा परमेश्वरको लागि घिनलाग्दो हुनेछ। त्यो किन परमेश्वरको लागि घिनलाग्दो हुनेछ? सर्वप्रथम त, परमेश्वरले थुप्रै सत्यताहरू व्यक्त गर्नुभएको छ, र सत्यताहरू सबै क्षेत्रमा व्यक्त गरिन्छन् भन्ने कुरा तैँले बुझ्नुर्छ। यदि तँलाई केही आइपर्दा तैँले सत्यता खोजेर तेरा आफ्ना वास्तविक समस्याहरू हल गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति हैनस्: तँ अत्यन्तै जिज्ञासु व्यक्ति होस्; ससाना कुरामा बखेडा गर्न रुचाउने व्यक्ति होस्; र परमेश्वरका वचनहरूलाई उचित आदरविना र सधैँ झाराटारुवा तरिकाले व्यवहार गर्ने व्यक्ति होस्। तेरो हृदयमा परमेश्वरको लागि कुनै ठाउँ छैन। तेरो हृदयमा ती थोरै कुराहरू मात्र छन् जुन तैँले थाहा पाएको परमेश्वर चाहनुहुन्न, जस्तै उहाँको निवास—अर्थात तेस्रो स्वर्ग—कस्तो छ र त्यो वास्तवमा कहाँ छ, भविष्यको राज्य कस्तो हुनेछ, र परमेश्वरको देहधारणले कहिले धर्ती छोड्नुहुनेछ। त्यही कारणले गर्दा म भन्छु, परमेश्वरले तँलाई घिनाउनुहुन्छ। परमेश्वरले तँलाई घिनाउनुपर्ने कुनै कारण छ? (छ।) मानौँ तेरा बालबच्चाले दिनभरि मेहनतसाथ पढेनन् र तिनीहरूले गर्नुपर्ने गृहकार्य गरेनन्, बरु यस्ता प्रश्नहरू मनमा खेलाए, जस्तै: “मेरा बुबा र आमाको कसरी भेट भयो? उनीहरूले मलाई कसरी जन्माए? म जन्मेपछि, के उनीहरूलाई म मन परेँ? मेरो परिवारको अवस्था भविष्यमा कस्तो होला? के हामीले धेरै सम्पति जोड्न सक्नेछौँ?” यदि तिनीहरूले सधैँ यी प्रश्नहरूबारे अध्ययन-अनुसन्धान गरे भने, के तैँले त्यस्तो बच्चालाई मन नपराउनेथिनस् र? के तेरा बालबच्चाले यसो गरेको तैँले घृणा गर्नेथिनस् र? अनि, तँ तेरा बालबच्चाले के गरून् भन्ने चाहन्थिस्? राम्ररी पढ्न र लेख्न सिकून् अनि मेहनतका साथ अध्ययन गरून्। तेरा बालबच्चाको लागि तेरो अभिप्राय यस्तो हुन्छ भने मान्छेको लागि परमेश्वरको अभिप्राय के हुन्छ? कसरी पो परमेश्वर मान्छेले सही मार्ग पछ्याऊन् र उचित काम गरून् भन्ने चाहन सक्नुहुन्न र? मानिसले परमेश्वरको अध्ययन गरेको, वा सधैँ उहाँको हरेक वचन र कार्य गोप्य रूपमा नियालेको, वा उहाँमाथि अर्थहीन समय र प्रयत्न खर्चेको परमेश्वर मन पराउनुहुन्न। धेरैजसोले परमेश्वरको दिन कहिले आउला भनेर सधैँ अध्ययन गरिरहेका हुन्छन्। के तिनीहरूले आफ्नो हृदयमा परमेश्वरलाई शङ्का र प्रतिरोध गरिरहेका हुँदैनन् र? परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरूलाई बहुमूल्य नठान्ने र तिनलाई नपछ्याउने मान्छेको समस्या के हो? भक्त व्यक्तिले सत्यता खोज्छ र यावत थोकमा परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्छ, र परमेश्वरका वचनहरू पढेपछि, ऊ ती वचनहरू सत्यता हुन् र मानिसहरूले तिनको अभ्यास गर्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ भनेर निश्चित हुन सक्छ। परमेश्वरको वचन सत्यता हो भनेर विश्वास नगर्नेले मात्र परमेश्वरको अध्ययन गर्नेछ। यस्ता मानिसहरूले आफ्ना जिम्मेवारीहरू र आफ्ना कर्तव्यहरूबारे अलिकति पनि वास्ता गर्दैनन्; तिनीहरूले ती कुराहरूबारे बिलकुलै ध्यान दिँदैनन्, र ती कुराहरूको लागि प्रयत्न गर्ने वा मूल्य चुकाउने गर्दै गर्दैनन्। बरु, तिनीहरू सधैँ यस्तै कुराहरूबारे चासो राख्छन, जस्तैः परमेश्वरले धर्ती कहिले छोड्नुहुनेछ, परमेश्वरले कहिले विपद् ल्याउनुहुनेछ, र परमेश्वरको दिन आउन अझै कति समय लाग्नेछ, साथै अनौठा प्रश्नहरूबारे पनि चासो राख्छन्, जस्तै: “के परमेश्वरले धर्ती छोडिसकेपछि पनि उहाँले हामीलाई भेट्नुहुनेछ? के उहाँले धर्ती छोडिसकेपछि उहाँको काम यस्तै हुनेछ? परमेश्वरले धर्ती छोडिसकेपछि, उहाँ तेस्रो स्वर्गमा कति समय रहनुहुनेछ? के उहाँ फर्केर आउनुहुनेछ? के भविष्यको राज्यको युगमा स्वर्गदूतहरू हुनेछन्? के स्वर्गदूतहरूले मानिसहरूसँग अन्तरक्रिया गर्नेछन्?” यस्ता विषयहरू निरन्तर अध्ययन गरिरहने मानिसहरूलाई परमेश्वरले घिनाउनुहुन्छ। त्यसोभए मान्छेले केमा ध्यान दिनुपर्छ? देहधारी परमेश्वरलाई कसरी चिन्ने, परमेश्वरको काम कसरी चिन्ने, र परमेश्वरले बोल्नुभएको हरेक वचन कसरी बुझ्ने: यी मान्छेका जिम्मेवारीहरू हुन्, र यी मान्छेले बुझ्न र प्रवेश गर्न खोज्नुपर्ने प्रथम कुराहरू हुन्। यदि तँ यी सत्यताहरू बुझ्न र तिनमा प्रवेश गर्न खोज्दैनस् भने, परमेश्वरमाथिको तेरो विश्वास अर्थहीन छ—वास्तविक विषयवस्तु नभएको खोक्रो नाराजस्तै छ। यदि तँ सधैँ रहस्यहरूसम्बन्धी कुराहरू र परमेश्वरले धर्ती कहिले छोड्नुहुन्छ भन्नेसम्बन्धी कुराहरू गोप्य रूपमा मनन गरिरहेको हुन्छस् भने, वा यदि तिमीहरू सधैँ एकअर्कामाझ परमेश्वरको देहधारण कहाँ भयो, उहाँको देहधारण कस्तो परिवारमा भयो, उहाँको पारिवारिक पृष्ठभूमि कस्तो छ, उहाँको जीवन कस्तो छ, उहाँ कति वर्षको हुनुहुन्छ, उहाँले कस्तो शिक्षा लिनुभयो, उहाँले कहिल्यै परमेश्वरमा विश्वास गर्नुभयो कि भएन, उहाँले कहिल्यै बाइबल पढ्नुभयो कि भएन, र उहाँले येशूमा कति समय विश्वास गर्नुभयो, आदि इत्यादिबारे कुरा गरिरहेका हुन्छौ भने—यदि तिमीहरू सधैँ यी कुराहरू अध्ययन गरिरहेका हुन्छौ भने, तिमीहरू परमेश्वरको आलोचना र उहाँको देहको निन्दा गरिरहेका छौ! परमेश्वर तैँले उहाँको स्वभाव र उहाँको सार जानेको चाहनुहुन्छ, ताकि तैँले उहाँका अभिप्रायहरू बुझ्न सक्छस्, उहाँप्रति समर्पित हुन सक्छस्, र सत्यता अभ्यास गरेर उहाँलाई सन्तुष्ट तुल्याउन सक्छस्; उहाँले तँलाई उहाँको अध्ययन गर्न र उहाँको पिठ्यूँपछाडि उहाँबारे छलफल गर्न दिनुहुन्न। त्यसकारण, हामीले परमेश्वरको देहधारण र परमेश्वरको कामको यो चरण स्विकारेको हुनाले, र हामीले ख्रीष्टलाई हाम्रो जीवन र हाम्रो परमेश्वरको रूपमा स्विकारेको हुनाले, हामीमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ र परमेश्वरका सम्पत्ति र प्रकृति र उहाँले धारण गर्नुभएको देहलाई भक्त मनोवृतिसाथ व्यवहार गर्नुपर्छ; हामीमा हुनुपर्ने समझ र मानवता नै यही हो। यदि तँलाई अहिले आफूमा परमेश्वरबारे कुनै ज्ञान छैन भन्ने अनुभूति हुन्छ भने, त्यसबारे नबोल्। बरु, आफूलाई चिन्नेबारे, अनि सत्यता कसरी पछ्याउने, र कसरी कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे बोल्, अनि सत्यताका यी पक्षहरूद्वारा आफूलाई सुसज्जित गर्। एकदिन, जब तँलाई तँसँग परमेश्वरबारे केही वास्तविक ज्ञान भएको अनुभूति हुन्छ, तब तैँले सबैसँग मिलेर सङ्गति गर्न सक्छस्। तर परमेश्वरको देहधारी देह वा अरू कुनै थाहा नभएका रहस्यबारे कुरा गर्ने प्रयास नगर्, किनकि तैँले सजिलै परमेश्वरको स्वभाव चिढ्याउन सक्छस्, र परमेश्वरद्वारा तेरो निन्दा हुन सक्छ, र तँ ईशनिन्दा गर्ने व्यक्ति बन्न सक्छस्, अनि पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। यो तैँले प्रस्टसित बुझ्नुपर्ने मामिला हो। के सधैँ परमेश्वरको अध्ययन गर्नु र गफगाफबारे सोधखोज गर्नुले सत्यता पछ्याइको ठाउँ लिन सक्छ? के त्यसले तँलाई परमेश्वर चिन्न सक्षम पार्न सक्छ? यदि यी कुराहरू प्रस्टसित बुझ्न सक्दैनस् भने, के तँ अत्यन्तै मूर्ख र अज्ञानी व्यक्ति हैनस् र?
सत्यता पछ्याउनु ठ्याक्कै के हो भनेर मानिसहरूले बुझ्नैपर्छ। मानिसहरूलाई मुक्ति प्रदान गर्न परमेश्वरले किन त्यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ? परमेश्वर किन मानिसहरूलाई त्यति धेरै सत्यताहरू बुझ्न लगाउनुहुन्छ? यदि व्यक्तिले यी सत्यताहरू बुझ्दैन भने, के उसले आफ्नो भ्रष्ट स्वभाव सुल्झाउन सक्छ? के उसले यी सत्यताहरू नबुझीकन परमेश्वरलाई चिन्न सक्छ? यदि व्यक्तिले परमेश्वरलाई चिन्दैन भने, के उसले परमेश्वरप्रति समर्पण हासिल गर्न सक्छ? के उसले परमेश्वरको आराधना गर्न सक्छ? यी सबै सत्यताहरू अन्तर्सम्बन्धित छन्। व्यक्तिले यी सत्यताहरू नबुझीकन कसरी मुक्ति प्राप्त गर्न सक्छ? के यी सत्यताहरू बुझ्न सजिलो छ? के व्यक्तिले न्याय र सजाय अनुभव नगरीकन सत्यताको बुझाइ हासिल गर्न सक्छ? के व्यक्तिले काटछाँटहरू अनुभव नगरीकन आफैलाई चिन्न सक्छ? के व्यक्तिले आफैलाई नचिनीकन साँचो पश्चात्ताप गर्न सक्छ? के व्यक्तिले साँचो पश्चात्ताप नगरीकन मुक्ति प्राप्त गर्न सक्छ? यी सबै सत्यताहरू परमेश्वरका विश्वासीहरूले बुझ्नुपर्ने सत्यताहरू हुन्, र मुक्ति प्राप्त गर्नको लागि यी बुझ्नैपर्ने सत्यताहरू हुन्। यदि परमेश्वरमाथिको तेरो विश्वास सधैँ दोधारे नै थियो र तैँले सत्यता पछ्याउँदै आएको छैनस् भने, तैँले परमेश्वरमा विश्वास गर्नुको अर्थ गुमाइसकेको हुनेछस्।
शरद, २००७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।