सत्यता कसरी पछ्याउने (४) भाग तीन

उदाहरण ५: जानाजानी विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्न खोज्नु

अर्को प्रकारको व्यक्ति पनि छ, जसले विपरीत लिङ्गका मानिसहरू वरिपरि हुँदा आफ्‍नो प्रदर्शन गर्न सक्दो गर्छ, अझै कामुक देखिन विशेष प्रकारको लुगा लगाउने र मेकअप गर्ने प्रयास गर्छ। उदाहरणका लागि, तिनीहरू विशेष रूपमा परिचित रहेका दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा तिनीहरूको व्यवहार र रूप सामान्य नै हुन्छ, तर तिनीहरूको आफ्नै उमेर समूहको विपरीत लिङ्गको व्यक्ति देखा पर्नेबित्तिकै, तिनीहरू भित्री रूपमा उत्साहित हुन्छन् र विशेष वस्त्र र रूप धारण गर्न बाध्य हुन्छन्। कतिपय महिलाहरू ओठ अझ चम्काउन तुरुन्तै लिप्स्टिक लगाउँछन्, आँखीभौँ मिलाउँछन्, र समय मिल्यो भने, अनुहारमा केही लाली लगाउँछन्। सामान्यतया, तिनीहरू कपाल पछाडि बाँध्छन्, तर तिनीहरूले आफूलाई मन पर्ने वा आकर्षक लाग्‍ने विपरीत लिङ्गको व्यक्तिलाई भेटेपछि, कपाल काँधसम्‍म छोडेर आफ्नो छवि बढाउँछन्। यसबीच, कतिपय पुरुषहरूले आफ्नो कपाल चम्किलो बनाउँछन्, यसलाई काटेर कोरियाली, हङकङेली, वा पश्‍चिमी शैलीको बनाउँछन्, दारी काट्छन्, चश्मा लगाउँछन्, राम्रा लुगा लगाउँछन्, र परिस्थितिले दियो भने केही अत्तर छर्कन्छन्, र यो सबै विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि गर्छन्। विपरीत लिङ्गका मानिसहरूसँग कुरा गर्दा, तिनीहरूले बारम्बार धाक देखाउनका लागि केही सुन्दर शब्दहरू बोल्छन्, र यसको उद्देश्य आफ्नो सांस्कृतिक परिष्कार, कोमलता, बुद्धि, र हास्यबोध प्रदर्शन गर्नु हो। तिनीहरूले यी सबै कार्यहरू जानाजान गर्छन्—तिनीहरूले विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि मात्रै यसो गर्छन्। कतिपय मानिसहरू, आफूलाई मन पर्ने विपरीत लिङ्गको व्यक्ति, वा उस्तै उमेरको विपरीत लिङ्गको व्यक्तिका छेउमा हुँदा, अझै जीवन्त व्यवहार गर्छन्, अझै बढी बोल्छन्, र आफ्‍नो कुरा अझै राम्ररी व्यक्त गर्छन्, र तिनीहरूको आँखा अझै जीवन्त हुन्छ, र त्यो निन्याउरो र बोधो हुन छोड्छ, र तिनीहरूको अनुहारको हाउभाउ पनि निकै फरक-फरक प्रकारको हुन्छ। यहाँ के भइरहेको छ? विपरीत लिङ्गको व्यक्तिलाई देख्दा तिनीहरू किन अलि बढी नै देखावटी र अप्राकृतिक देखिन्छन्? विपरीत लिङ्गका सदस्यहरूको पहिलो पटक भेट हुँदा, तिनीहरू प्रायः अलिक लजाउँछन्, तर केही भेटपछि, तिनीहरू अझै परिचित हुन्छन्, र अझै प्राकृतिक रूपमा व्यवहार गर्छन्। तर, कतिपय मानिस विपरीत लिङ्गको व्यक्तिलाई देख्दा विशेष रूपमा जीवन्त र उत्साहित हुन्छन्। यो कस्तो समस्या हो? (यो प्रलोभनसँग सम्बन्धित छ, जुन भ्रष्ट स्वभावको स्तरसम्म पुग्छ।) यो कस्तो किसिमको भ्रष्ट स्वभाव हो? (दुष्टता।) के तिनीहरूको मानवतामा समस्या हुँदैन र? (हुन्छ।) कडाइका साथ भन्दा, यो त्यस्ता मानिसहरूको मानवताको समस्या हो। यहाँ तिनीहरूको मानवताको कुन पक्ष समस्याग्रस्त छ? यो विपरीत लिङ्गको व्यक्तिसँगको अन्तरक्रिया सम्बन्धी समस्या हो। गैरविश्‍वासीहरूले यसलाई कसरी व्याख्या गर्छन्? तिनीहरू यसलाई व्यक्तिको अन्तरवैयक्तिक आचरणको समस्या भन्छन्, होइन र? (हो।) यदि यसमा भ्रष्ट स्वभाव संलग्न छ भने, यसलाई दुष्टता भनेर सारांशित गर्नु मुस्किलले स्वीकार्य हुन्छ; तर अझै उचित रूपमा भन्दा, यो पुरुष र महिलाबीचको अन्तरवैयक्तिक आचरणको समस्या हो, जुन व्यक्तिको मानवतासँग सम्बन्धित हुन्छ। विपरीत लिङ्गको व्यक्तिलाई भेट्दा, कतिपय मानिसहरू विशेष रूपमा जीवन्त हुन्छन्, र विशेष रूपमा सकारात्मक र सक्रिय बन्छन्। यी “विशेष रूपमा” ले प्रकट गर्ने कुरा अन्तरवैयक्तिक आचरणको समस्या हो, जुन व्यक्तिको मानवतासँग सम्बन्धित हुन्छ। यो अन्तरवैयक्तिक आचरण सामान्य हो कि असामान्य? (असामान्य।) त्यसोभए, के यसलाई दुष्ट भनेर व्याख्या गर्न सकिन्छ? के यो दुष्ट छ भनेर भन्‍नु उचित हुन्छ? के यो अलिक नीच छ भनेर भन्‍नु ठीक हुन्छ? (हुन्छ।) त्यस्ता मानिसहरू अलिक नीच हुन्छन्। जहाँ तिनीहरूलाई मन पर्ने विपरीत लिङ्गको व्यक्ति हुन्छ, तिनीहरू त्यो व्यक्तिको समूहप्रति आकर्षित हुन्छन्, त्यस व्यक्तिको छेउमा बस्‍न जिद्दी गर्छन्, र शारीरिक स्पर्श गर्छन् र प्यासी नजरले हेर्छन्। यसले तिनीहरूको चरित्रको समस्यालाई प्रतिविम्बित गर्छ—तिनीहरू छाडा, नराम्रो व्यवहार गर्ने, र नीच हुन्छन्। यदि कुनै व्यक्ति देखावटी छ भने, ऊ समान लिङ्गको व्यक्तिसँग हुँदा होस् वा विपरीत लिङ्गको व्यक्तिसँग हुँदा होस् उसको प्रकटीकरण उस्तै हुनुपर्छ—ऊ राम्रो देखिन, र अरूले मन पराऊन्, प्रशंसा गरून्, र कदर गरून् भन्ने मात्रै चाहन्छ। यो उसको मानवतामा देखावटी हुनुको समस्या हो। तर, यदि उसको आशय विपरीत लिङ्गका मानिसलाई आकर्षित गर्नु र जिस्क्याउनु हो भने, यो विपरीत लिङ्गका मानिससँग उसको अन्तरवैयक्तिक आचरणको समस्या बन्छ। यदि कुनै व्यक्ति अत्यन्तै देखावटी छ र यसले उसको सामान्य जीवनमा असर गर्छ भने, यो उसको मानवताको एउटा पक्षमा भएको त्रुटि वा समस्या मात्रै हो। तर यदि कसैले विशेष रूपमा विपरीत लिङ्गका मानिसहरूलाई आकर्षित गर्नका लागि, कामुक, आकर्षक देखिने, र अरूको ध्यान तान्‍ने उद्देश्यले मिलाएर लुगा लगाउँछ भने, त्यो दुष्ट, नीच हो, र त्यसले खराब अन्तरवैयक्तिक आचरणलाई सङ्केत गर्छ। कतिपय मानिस जति धेरै मानिस उपस्थित छन् त्यति नै नीच बन्छन्, सधैँ विपरीत लिङ्गका मानिससँग सम्पर्क खोजिरहन्छन् र तिनीहरूका अगाडि आफ्नो प्रदर्शन गर्छन्। गैरविश्‍वासीहरूमाझ जे चलेको छ तिनीहरूले त्यस्तै लुगा लगाउँछन्। विशेष गरी भेलाहरूमा सहभागी हुँदा वा क्यामेराको अगाडि देखा पर्दा, विपरीत लिङ्गका सदस्यहरू जति धेरै छन्, तिनीहरू त्यति नै धेरै सिँगारिन चाहन्छन्। कतिपय महिलाहरू बाहुला नभएको छोटो लुगा लगाउँछन्, कपाल खुला छोड्छन्, चहकिलो लिपस्टिक लगाउँछन्, र लाली पाउडर घस्छन्। कतिपयले त नाकको आकार मिलाउने, आँखामा गाजल लगाउने, र सबै किसिमका गहना लगाउने काम समेत गर्छन्। तिनीहरू विपरीत लिङ्गका मानिसलाई आकर्षित गर्ने शैलीमा लुगा लगाउँछन्। यो देखावटी हुनुभन्दा अझै गम्भीर कुरा हो। यदि देखावटीपन व्यक्तिको मानवताको एउटा पक्षमा हुने कमीकमजोरी वा त्रुटि हो, र यो सानो समस्या हो भने, विपरीत लिङ्गका मानिसहरूको सम्बन्धहरूका दुष्ट र नीच पक्षहरू प्रमुख समस्या हुन्। देखावटी व्यक्ति कामुक क्रियाकलापहरूमा संलग्‍न हुन्छ नै भन्न नसकिएला, तर दुष्ट र नीच दुवै मानिसहरूमध्ये, नब्बे प्रतिशतभन्दा बढी मानिसहरू कामुक क्रियाकलापहरूमा संलग्‍न हुने सम्भावना हुन्छ। म किन यसो भन्दै छु? यदि कुनै व्यक्तिले विपरीत लिङ्गका मानिससँगको अन्तरक्रियालाई ठूलो महत्त्व दिन्छ, र विपरीत लिङ्गका मानिसहरूका अगाडि प्रदर्शन गर्न र आफूलाई देखाउन विशेष मन पराउँछ भने, त्यस्तो व्यक्तिले विपरीत लिङ्गका मानिसहरूलाई प्रेममा फसाउने सम्भावना निकै हुन्छ। विपरीत लिङ्गका मानिसहरूलाई तिनीहरूमा प्रेममा फसाउनुको उद्देश्य के हो? यो अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु हो। यदि तिनीहरूले कोही विपरीत लिङ्गको व्यक्तिलाई सजिलैसँग कामुकतामा लोभ्याउन सक्छन् भने, के यसले विपरीत लिङ्गका मानिससँगको सम्बन्धलाई तिनीहरूले अत्यन्तै हल्का रूपमा लिन्छन् भन्‍ने जनाउँदैन र? (जनाउँछ।) त्यस्ता मानिसहरूसँग कुनै इज्जत हुँदैन; तिनीहरूले अरूलाई सजिलै जिस्क्याउँछन् र नजिकिने अग्रसरता समेत लिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई जिस्क्याउँछन्, तिनीहरू त्यति नै खुसी हुन्छन्, र तिनीहरूले मन पराएका छन् भने कसैलाई कहिल्यै इन्कार गर्दैनन्। यो कस्तो व्यक्ति हो? तिनीहरूमा रहेका भ्रष्ट स्वभावहरूलाई अहिलेका लागि थाती राख्दा, के यस्तो मानवता असल हुन्छ? (हुँदैन।) तिनीहरूको मानवताका अरू पक्षहरूमा जे-जस्ता गुण वा कमीकमजोरीहरू भए पनि, यदि विपरीत लिङ्गका मानिससँगको अन्तरवैयक्तिक आचरणमा तिनीहरू अत्यन्तै लापरवाह, गाम्भीर्यहीन र स्वेच्छाचारी छन् भने, तिनीहरूको मानवता असल छैन भन्‍ने कुरा देखाउन यो नै पर्याप्त हुन्छ। यदि तिनीहरूले कुनै पनि समय वा स्थानमा गल्ती गर्न वा सीमा पार गर्न सक्छन् भने, के यो गम्भीर समस्या होइन र? (हो।) के त्यस्तो व्यक्ति भरपर्दो हुन्छ? (हुँदैन।) तिनीहरूको अविश्‍वसनीयताको जड के हो? यो तिनीहरूको दुष्ट प्रकृतिमा हुन्छ। तिनीहरूले कुनै पनि समय र स्थानमा कामुक कुरा सोच्न सक्छन्, र कुनै पनि समय र स्थानमा विपरीत लिङ्गका मानिसलाई कामुकताको प्रलोभनमा पार्न सक्छन्—तिनीहरूको मन यी विचारहरूले मात्रै ओगटेको हुन्छ। यदि वातावरण वा परिस्थितिहरूले साथ दिएन, वा मिलाएर लुगा लगाउनका लागि तिनीहरूसँग पर्याप्त समय छैन भने पनि, तिनीहरूले अझै उपाय भेट्छन्; तिनीहरू कामुक नजरले हेर्छन् र आफ्नो रूप वा हाउभाउ प्रदर्शन गर्छन्, र अरूलाई मोहित पार्न आँखाले इशारा गर्छन्। त्यस्ता मानिसहरू व्यर्थ हुन्छन्; तिनीहरू भर नै हुँदैन! तिनीहरू लापरवाह, लम्पट, र हल्का रूपमा लिने हुन्छन्, र कुनै पनि समय र स्थानमा तिनीहरू अरूलाई फकाएर पाप गराउन र अपराध गर्न सक्छन्; त्यस्ता मानिसहरूको मानवतामा कुनै लाजको बोध हुँदैन, तिनीहरूलाई छुटकारा दिनै सकिँदैन। के त्यस्ता मानिसहरू डरलाग्दा हुन्छन्? (हुन्छन्।) अनि तिनीहरूले यी लाजमर्दा कुरा हुन् भन्‍ने सोच्दैनन्; वरपर जतिसुकै मानिसहरू भए पनि, तिनीहरूले खुला रूपमा यसरी मिलाएर लुगा लगाउँछन् र प्रदर्शन गर्छन्, यसरी भोगी व्यवहार गर्छन् र अरूलाई यसरी मोहित पार्छन्। अरूलाई त के भइरहेको छ भन्‍ने समेत थाहा हुँदैन—तिनीहरू अझै पनि आफ्नो सामान्य काममा, गफगाफ, वा कुराकानीमा केन्द्रित हुँदा, यी व्यक्तिहरूले पहिले नै कामुक नजरले हेर्दै कसैलाई जिस्काउन थालिसकेका हुन्छन्। त्यस्ता मानिसहरू कति घृणित र डरलाग्दा हुन्छन् हेर त! तिनीहरूमा कुनै लाज हुँदैन, हुन्छ र? लाजविनाका मानिसहरू निरन्तर अपराध गर्छन्, र तिनीहरूको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू नरकमा दण्डित हुनेछन्।) परमेश्‍वरका वचनहरूले के भन्छन्? “अपराधले मानिसलाई नरकतर्फ डोर्‍याउनेछ।” त्यसकारण, यदि तेरो मानवताका समस्याहरू अत्यन्तै गम्भीर छन् भने, तँ ठूलो खतरामा हुन्छस्। यदि व्यक्तिको खराब मानवता कुनै हिसाबले खोट हो भने, यसलाई सच्याउने अवसरहरू हुन सक्छन्। तर, यदि स्वाभाविक रूपमा नै तिनीहरूमा कुनै लाजको बोध नभएकोले, र तिनीहरूले कुनै पनि समय र स्थानमा अरूलाई लोभ्याउन सक्‍ने हुनाले, तिनीहरूको मानवताको कुनै पक्ष खराब छ, र तिनीहरूले स्पष्ट रूपमा भ्रष्ट स्वभाव प्रकट गरेका छैनन् भने पनि—तिनीहरूले अझै पनि गम्भीर परिणामहरू ल्याउने गम्भीर अपराधहरू गर्न सक्छन् भने, त्यस्ता मानिसहरू जसरी आफूलाई आचरणमा ढाल्छन् त्यसको कुनै सीमा हुँदैन, तिनीहरूको चरित्र विशेष रूपमा खराब हुन्छ, र तिनीहरूले केही अपराधहरू गरे भने, यसले तिनीहरूलाई बरबाद पार्न सक्छ। मानवताका समस्याहरूका सम्बन्धमा तिनीहरूले अघि बढ्ने आफ्नै मार्ग अवरुद्ध गरेका हुन्छन्। किनभने तिनीहरूको मानवता यति खराब हुन्छ र तिनीहरूले यति धेरै अपराध गरेका हुन्छन् कि तिनीहरूलाई नरकमा पठाउनका लागि त्यो नै काफी हुन्छ, र तिनीहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा हिँड्ने कुनै अवसर नपाई तिनीहरूका लागि सबै कुरा समाप्त भएको हुनेछ। लाजको बोधको कमी हुनु व्यक्तिको मानवतासँग सम्बन्धित अत्यन्तै गम्भीर समस्या हो। कडाइका साथ भन्दा, यो भ्रष्ट स्वभावको स्तरसम्म पुग्दैन; यो व्यक्तिले आफूलाई आचरणमा ढाल्दा र निश्‍चित मामलाहरूलाई सम्हाल्दा अपनाउने तरिका, अर्थात् मनोवृत्ति मात्रै हो। यो मनोवृत्ति तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र यसले अपराधहरू गर्ने अवस्था ल्याउन सक्छ, जसले गर्दा समस्या गम्भीर हुन्छ।

उदाहरण ६: आफ्ना सबलताहरूलाई पूँजी ठान्नु

कतिपय मानिसहरू नाच्न मन पराउँछन् र नृत्यका चालहरू निकै चाँडो सिक्छन्। शिक्षकले तीन पटक देखाएपछि, तिनीहरू नृत्यको लय र चालहरूमा आधारभूत रूपमा पोख्त हुन्छन् र तिनीहरूले यसलाई जस्ताको तस्तै प्रस्तुत गर्न सक्छन्। तिनीहरू पनि निकै राम्रो नाच्छन् र तिनीहरूले अवार्डहरू जितेका हुन्छन्, अनि तिनीहरू सायद नृत्य शिक्षक वा कलाकारका रूपमा नृत्यसँग सम्बन्धित करियर पछ्याउने आशा गर्छन्। यो कुन पक्षसँग सम्बन्धित छ? (यो तिनीहरूका रुचि र सोखहरूसँग सम्बन्धित हुन्छ।) यो तिनीहरूको सबलता हो; यो तिनीहरूको रुचि र सोख हो। तिनीहरूले नृत्य निकै चाँडो सिक्छन्, यसले तिनीहरू नाच्न निकै सिपालु छन् भन्‍ने देखाउँछ; तिनीहरूले स्वाभाविक रूपमै यस्तो कुरा सटीक रूपमा बुझ्छन् र सजिलै सिक्छन्। यो एउटा सबलता हो, होइन र? (हो।) यस सम्बन्धमा तिनीहरूको एउटा सबलता हुन्छ। नृत्य सिकेपछि, तिनीहरू पनि नाच्न रमाइलो मान्छन्, तिनीहरूलाई नाच्न उत्कट इच्छा हुन्छ; यति मात्र होइन, तिनीहरूले भविष्यमा नृत्यसँग सम्बन्धित करियर पछ्याउने योजना बनाउँछन्, र नृत्यलाई तिनीहरूको भावी जीवन र भावी यात्रामा सँगसँगै लिएर हिँड्ने अभिप्राय राख्छन्—यो तिनीहरूका रुचि सोखहरूसँग सम्बन्धित कुरा हो। नृत्य तिनीहरूको सबलता साथै तिनीहरूको चासो र रुचि दुवै हो—यो तिनीहरूको जन्मजात अवस्था हो। कतिपय मानिसमा यो जन्मजात अवस्था हुन्छ, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूलाई नृत्य भिडियोहरू हेर्न पनि मन पर्छ। त्यसकारण, तिनीहरू आफूले सिकेको कुरालाई आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न सकिन्छ र यो परमेश्‍वरका घरमा उपयोगी हुन सक्छ, र परमेश्‍वरले सम्झनुहुने गरी आफ्ना असल कार्यहरू तयार गर्न सकिन्छ भन्‍ने आशाले परमेश्‍वरका घरमा नाच्ने कर्तव्य लिन्छन्। तिनीहरूको नृत्यको जग बलियो हुन्छ, र तिनीहरूले विभिन्‍न प्रकारका नृत्य पनि चाँडै सिक्छन्। परमेश्‍वरको घरका मागहरू अनुसार नृत्य कार्यक्रमहरू बनाउने क्रममा, तिनीहरू केही पनि नलुकाई आफूले सिकेको सबै कुरा अरूलाई सिकाउन तयार हुन्छन्। तिनीहरूले अरूले भन्दा धेरै प्रकारका नृत्य सिकेका भए पनि र तिनीहरू आफ्नो पेसामा अरूभन्दा निपुण भए पनि, तिनीहरू स्वाङ पार्दैनन्। तिनीहरू अरूसँग मैत्रीपूर्ण रूपमा मिलेर बस्छन् र आफूले सिकेको कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै धैर्यका साथ सिकाउँछन्। यो केको प्रकटीकरण हो? (यो तिनीहरूको मानवताको प्रकटीकरण हो।) तिनीहरूको मानवता असल हुन्छ कि हुँदैन? (तिनीहरूको मानवता असल हुन्छ।) यो कुन-कुन तरिकाले असल हुन्छ? (तिनीहरूले आफूलाई थाहा भएको सबै कुरा नलुकाई अरूलाई सिकाउन सक्छन्, जसले गर्दा अरूले पनि तिनीहरूले प्राप्त गरेको कुरा प्राप्त गर्न सक्छन्—यो असल मानवता हो।) तिनीहरू आफूले सिकेको सबै कुरा नलुकाई अरूलाई सिकाउन सक्छन्। तिनीहरूसँग अरू के-कस्ता सबल पक्षहरू हुन्छन्? तिनीहरू खासै धाक देखाउँदैनन्। यस्तो व्यक्तिको मानवता राम्रो हुन्छ। नृत्यमा तिनीहरूको सामर्थ्य हुने हुनाले, तिनीहरूले परमेश्‍वरका घरमा नृत्यसँग सम्बन्धित कर्तव्य लिन्छन्। तर केही समयपछि, कामका आवश्यकताका कारण, परमेश्‍वरको घरले तिनीहरूलाई अरू उपयुक्त काम गर्ने बन्दोबस्त गर्छ। तिनीहरूले मनमनै सोच्छन्, “के मैले नृत्य सिक्दै बिताएको बिस वर्ष खेर गएको छ? अहिले मलाई नृत्यसँग असम्बन्धित काम गर्न लगाइएको हुनाले, म निकै असन्तुष्ट छु! मलाई टोली अगुवा वा सुपरिवेक्षक बनाउनुको सट्टा किन आफ्नो सबलता र विशेषज्ञता प्रयोग गर्न दिइँदैन? यो मेरो सबलता होइन, र यो काम कसरी गर्ने मलाई थाहा छैन। यो मैले कहिल्यै अपेक्षा नगरेको कुरा हो।” तिनीहरूले बाहिरी रूपमा “यो सबै परमेश्‍वरका बन्दोबस्तहरूको पाटो हो, र म समर्पित हुन तयार छु” भने पनि, वास्तवमा, अगुवाहरूले जे भने पनि, तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छन् र यसलाई मनमा लिँदैनन्। तिनीहरू सोच्छन्, “तिमी मानिसहरूमा पेसागत ज्ञानको कमी छ र पनि तिमीहरू हामीलाई अगुवाइ गर्न आउँछौ। तिमीहरूले गर्ने भनेकै धर्मसिद्धान्तका बारेमा कुरा गर्ने हो। तिमीहरू मभन्दा राम्रा छँदै छैनौ!” यो केको प्रकटीकरण हो? (भित्री अवज्ञा।) यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावको प्रकाश हो? (हो।) तिनीहरूको मानवता सामान्यतया स्वीकार्य भए पनि—तिनीहरू अरूसँग सहकार्य गर्न, दयालु हुन, र असल व्यक्ति बन्‍न, बाधा र अवरोध नदिन वा दुष्कर्म र समस्या पैदा नगर्न तयार भए पनि—र तिनीहरूको व्यक्तिपरक चाहनाका हिसाबमा, तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरूमा समर्पित हुन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तयार भए पनि, जब तिनीहरूको हैसियतको कुरा आउँछ, वा तिनीहरूका आफ्नै धारणा र चाहनाहरूसँग नमिल्ने मामलाहरूको कुरा आउँछ, तब के तिनीहरूसँग समर्पण हुन्छ? के तिनीहरूले सत्यताको खोजी गर्ने कुनै प्रकटीकरण देखाउँछन्? (देखाउँदैनन्।) त्यसोभए, तिनीहरूले के प्रकट गर्छन्? (तिनीहरूले प्रकट गर्ने भनेको प्रतिरोध, गुनासो, र परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति समर्पणको कमी हो।) ठीक भन्यौ। त्यसोभए, यी प्रकटीकरणहरूलाई कस्तो समस्याका रूपमा सारांशीकृत गर्न सकिन्छ? (भ्रष्ट स्वभाव।) बाहिरी रूपमा तिनीहरूको मानवता दयालु देखिने र तिनीहरूले अगुवाहरूलाई खुलस्त विरोध नगर्ने, नचिच्याउने, वा गलत नठहराउने भए पनि, यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति भनेको तिनीहरूको भ्रष्ट स्वभावको एउटा प्रकाश हो। तिनीहरूले कस्तो प्रकारको भ्रष्ट स्वभाव प्रकाश गर्छन्? (अहङ्कारी स्वभाव।) ठीक भन्यौ, अहङ्कार। तिनीहरूले आफू निश्‍चित क्षेत्रमा दक्ष छु र तिनीहरूको मानवता निकै राम्रो छ भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले मण्डली अगुवाहरूका बन्दोबस्तहरूमा समर्पित हुन इन्कार गर्नका लागि यसलाई पूँजीका रूपमा प्रयोग गर्छन्। तिनीहरू सत्यताको खोजी गर्दैनन् र आफूलाई रुचि भएको कर्तव्य निर्वाह गर्न चाहन्छन्। मण्डलीले तिनीहरूलाई उचित कर्तव्यमा खटाउँदा पनि तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्, र यदि कुनै कुरा तिनीहरूका धारणा र कल्पनाहरू अनुरूप छैन भने, यो परमेश्‍वरको घरको बन्दोबस्त भए पनि, तिनीहरू समर्पित हुन मान्दैनन्। यी विद्रोहीपन र अहङ्कारी स्वभावका प्रकटीकरणहरू हुन्। तिनीहरूले प्रदर्शन गर्ने यी श्रृंखलाबद्ध प्रकटीकरणहरूलाई हेर: तिनीहरूको जन्मजात अवस्थाका सामर्थ्यदेखि, तिनीहरूको मानवता, र अन्तिममा तिनीहरूको भ्रष्ट स्वभावसम्‍म—तिनीहरूका प्रकटीकरणहरूले यी तीन वटा फरक-फरक पक्षलाई समेट्छन्। तिनीहरूको जन्मजात अवस्थाका सबलताहरू तिनीहरूले जन्मिँदै लिएर आएका कुरा हुन्, र त्यसमा आलोचना गर्नुपर्ने केही पनि छैन। तिनीहरू जे कुरामा दक्ष भए पनि, यसको अर्थ तिनीहरूमा भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन, न त यसले तिनीहरूको चरित्र असल छ कि खराब छ भन्‍ने कुरालाई नै देखाउन सक्छ। तर, निश्‍चित जन्मजात अवस्थाहरूले पैदा गरेको श्रेष्ठताको बोध, वा सांसारिक सार्वजनिक विचारले तिनीहरूमा लादेको स्थान र चित्रणले तिनीहरूको मानवतालाई विकृत पार्न सक्छ। यो विकृत पार्नुको अर्थ के हो? यसको अर्थ व्यक्तिमा अरूले तुलनात्मक रूपले सकारात्मक रूपमा हेर्ने केही जन्मजात अवस्थाहरू हुने हुनाले, र उसले समाजका कतिपय मानिसको आदर र सम्मान प्राप्त गर्ने हुनाले, उसले आफ्नै मूल्य र स्थानका बारेमा गलत चित्रण विकास गर्छ। तिनीहरू आफूलाई निकै असल, अरूभन्दा श्रेष्ठ सोच्छन्, र मानिसहरूलाई हेयका नजरले हेर्न थाल्छन्, सधैँ आफू सही भएको र आफ्ना सबै कुरा असल छन् भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरू अरूले तिनीहरूको कुरा सुनून् र तिनीहरूलाई पछ्याऊन् भन्‍ने चाहन्छन्। त्यस्तो अवस्थामा, कामकुराबारे तिनीहरूको दृष्टिकोण र अडान सबै गलत हुन्छन्। यी गलत दृष्टिकोण र अडानहरू लिएर, व्यक्तिले संसार र दुष्ट मानवजातिलाई पछ्याउनेछ। दुष्ट मानवजाति र दुष्ट संसारलाई पछ्याउनुको तात्पर्य के हो? यसको तात्पर्य के हो भने तँ यो दुष्ट संसार र दुष्ट मानवजातिबाट आउने भ्रमपूर्ण विचार र दृष्टिकोणहरू अनुसार जिउनेछस्, र तैँले सबै कुरालाई छुट्याउन र चित्रण गर्न यी भ्रमपूर्ण विचार, दृष्टिकोण, र भनाइहरू प्रयोग गर्नेछस्। उदाहरणका लागि, मानौँ तँ निकै सुन्दर छस्, तेरो मुखाकृति मिलेको छ र जीउडाल राम्रो छ—यी जन्मजात अवस्थाहरू हुन्, जुन परमेश्‍वरले दिनुभएको हो। यसमा केही गलत छैन; यो एउटा तथ्य मात्रै हो। तर, यो समाज र यो दुष्ट मानवजातिले यसलाई दिने गलत स्थानको कारण, यो तथ्यले तँलाई अहङ्कारी र भोगी, देखावटी, र घमन्डी बनाउन सक्छ। भन्‍नुको अर्थ, जन्मजात, श्रेष्ठ अवस्थाहरू हुने, र यो समाज र मानवजातिका विभिन्‍न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूले प्रभाव पार्ने, प्रलोभनमा पार्ने, र आकार दिने हुनाले, तेरो मानवता विकृत बन्छ। “विकृत” ले केलाई जनाउँछ? तँसँग यी जन्मजात अवस्थाहरू हुनु आफैमा पूर्णतया सामान्य कुरा हो—सुन्दर हुनु कुनै असाधारण कुरा होइन; यसको अर्थ तँ सत्यता बुझ्छस् भन्‍ने हुँदैन, न त यसको अर्थ तँ कुलीन छस् भन्‍ने नै हुन्छ। यसको अर्थ तँ राम्रो देखिन्छस्, प्रस्तुत गर्न लायक देखिन्छस्, र मानिसहरू तँलाई अलिक बढी हेर्न इच्छुक हुन सक्छन् भन्‍ने मात्रै हुन्छ; तँ अरूका नजरमा झिजो लाग्दो वा अप्रिय छैनस्, कुरा यति हो। तर, सुन्दरता, आकर्षकता, र स्तरीय र महँगो ग्ल्यामर सम्बन्धी विचारहरूलाई आदर्श ठानिने सामाजिक वातावरणमा, यो प्रवृत्तिले तँलाई चरम स्थितितर्फ धकेल्छ, जसले गर्दा तेरो मानवता घमन्डी, भोगी, र देखावटी बन्छ। सुन्दर रूप हुनु एउटा जन्मजात अवस्था हो। परमेश्‍वरले यो जन्मजात अवस्था तँलाई घमन्डी, भोगी, वा देखावटी बनाउनका लागि दिनुभएको होइन, बरु उहाँ तैँले यसलाई सामान्य रूपमा हेरेको चाहनुहुन्छ: “मलाई यो जन्मजात अवस्था, यो रूप दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद। यो परमेश्‍वरको अनुग्रह र वरदान हो। म परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ। मसँग घमण्ड गर्ने केही कारण छैन।” यस्तो जन्मजात अवस्था भएको व्यक्तिले परमेश्‍वरका शिक्षाहरू अनुसार मानिस र कामकुरालाई हेर्नुपर्छ, आफूलाई आचरणमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ। तर, समाज र शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेपछि, तिनीहरूले सुन्दरता र आकर्षकतालाई एक प्रकारको पूँजीका रूपमा हेर्न थाल्छन्। त्यसपछि तिनीहरू हरेक समूहको हरेक व्यक्तिबाट निगाह पाउन यो पूँजीको प्रयोग गर्छन्, र आफूले चाहेको कुरा प्राप्त गर्न यो जन्मजात र आधारभूत अवस्थाको सक्दो फाइदा लिन्छन्। कतिपयले यो जन्मजात अवस्थालाई कानुन तोड्ने, नैतिक सीमाहरू उल्लङ्घन गर्ने, वा मानवताको विरुद्धमा जाने कामकुरा गर्न समेत प्रयोग गर्छन्। व्यक्तिको मानवतामा केही विकृत र चरम कुराहरू हुनुको कारण भनेको समाज र दुष्ट मानवजातिका केही विधर्म, भ्रम, र गलत सार्वजनिक विचारहरूको बढ्दो प्रभाव हो। मानिसहरूमा जन्मजात रूपमा सत्यता र खुट्ट्याउने क्षमता नहुने हुनाले, तिनीहरू स्वाभाविक रूपमा समाज र दुष्ट मानवजातिबाट आएका यी सार्वजनिक विचार, भनाइ, र प्रतिपादित सिद्धान्तहरूलाई स्वीकार गर्छन्। तिनीहरूले यी नकारात्मक कुराहरूलाई सही हुन् जस्तै गरी लिन्छन्, साथै यी भ्रमपूर्ण र दुष्ट विचार र दृष्टिकोणहरूको मार्गदर्शनमा, तिनीहरूको विवेक र समझ उन्नत वा शुद्ध हुनुको सट्टा विकृत हुन्छन् र बिग्रिन्छन्। यदि यो समाजले सुन्दर पुरुष र सुन्दर महिलाहरूलाई प्रशंसा वा तारिफ गर्दैनथियो, र तँलाई प्रलोभनमा पार्ने वा आकार दिने कुनै पनि बाहिरी विचार थिएन भने—यदि, तँ जहाँ गए पनि, कसैले पनि तेरो सुन्दर रूपका लागि तँलाई प्रशंसा गरेन, तँलाई विशेष व्यवहार गरेन, वा प्रलोभन वा दबाबमा पारेर विभिन्‍न कामकुरा गर्न लगाएन भने—तैँले देख्नेथिइस् कि प्राकृतिक रूपमा सुन्दर रूप हुनु पूर्णतया सामान्य कुरा हो र घमण्ड गर्नलायक कुरा होइन। यसको अर्थ तैँले आफ्नो जन्मजात र आधारभूत अवस्थाका आधारमा आफूले गर्नुपर्ने कुराहरू गर्नेथिइस्, र तँसँग यस्तो उत्कृष्ट जन्मजात अवस्था भएकोले नै गर्न नहुने कुराहरू तैँले गर्नेथिइनस् भन्‍ने हुन्छ। तर, बाहिरी वातावरणको प्रलोभन र भ्रष्टताको कारण, तैँले प्राकृतिक रूपमै सुन्दर हुनु असाधारण कुरा हो र यसले तँलाई अरूभन्दा राम्रो बनाउँछ भन्‍ने विश्‍वास गर्छस्। तँसँग कुनै आत्म-संयमता नहुने हुनाले, तँ आफ्नो आकर्षक रूपलाई प्रयोग गरेर अरूलाई प्रलोभनमा पार्छस्, विवेक र समझको बन्धन तोड्छस् र आत्मआचरणका सीमाहरू पार गर्छस्। फरक-फरक वातावरणमा, तँ आफ्नो श्रेष्ठ जन्मजात अवस्थाको फाइदा उठाउँदै र आफूले चाहेका फाइदाहरू प्राप्त गर्नका लागि विभिन्‍न युक्ति प्रयोग गर्दै विभिन्‍न भ्रष्ट स्वभाव प्रकट गर्न सक्छस्। जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेको सम्बन्ध यही हो। कहिलेकहीँ, यी तीन पक्षहरूका बीचमा कुनै निश्‍चित सम्बन्ध हुन्छ, र अवश्य नै, कहिलेकहीँ पहिलो दुइटा वा अन्तिम दुइटा पक्षहरूका बीचमा एउटा जरुरी सम्बन्ध हुन्छ। बुझ्यौ? (अब अलिक बढी बुझ्यौँ।) तिमीहरूले कम्तीमा पनि के कुरा जान्‍नुपर्छ? कुनै पनि जन्मजात अवस्था आफैमा गलत हुँदैन; यो त व्यक्तिको मानवताको एउटा आधारभूत अवस्था मात्रै हो। मानिसहरूको मानवताको कुरा गर्नुपर्दा त्यो असल वा खराब, सकारात्मक वा नकारात्मक हुन्छ। त्यसोभए, भ्रष्ट स्वभाव कसरी पैदा हुन्छ? यो तब पैदा हुन्छ जब आफ्नो भित्री र जन्मजात अवस्थाका आधारमा शैतानका विभिन्‍न विचार र दर्शनहरूले व्यक्तिको मगज भरिएको हुन्छ, र यो मानसिकताले गर्दा विभिन्‍न गलत दृष्टिकोणहरू निर्माण हुन्छन्, त्यसपछि ती कुरा व्यक्तिले बाँच्नका लागि भरोसा गर्ने एक प्रकारको जीवन सार बन्छन्। भ्रष्ट स्वभाव भनेको यही हो।

भर्खरै, हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ। हामीले दश वटा जन्मजात अवस्थालाई सूचीकृत गर्‍यौँ, र हामीले मानवतासँग सम्बन्धित विभिन्‍न प्रकटीकरणहरूका बारेमा पनि सङ्गति गर्‍यौँ। अब, हामी यसलाई सारांशित गरौँ: हामीले सङ्गति गरेका मानवताका फरक-फरक प्रकटीकरणहरू के-के हुन्? (मानवताको हिसाबले भन्नुपर्दा, असल मानवताका प्रकटीकरण र खराब मानवताका प्रकटीकरणहरू हुन्छन्। परमेश्‍वरले भर्खरै केही उदाहरणहरू दिनुभयो। कतिपय मानिसमा स्वाभाविक रूपमा निश्‍चित क्षेत्रमा कुनै विशेष सबलता हुन्छ र तिनीहरू कुनै निश्‍चित प्राविधिक पेसामा दक्ष हुन्छन्, र तिनीहरू केही पनि नलुकाई अरूलाई सिकाउन सक्छन्। कतिपय त्यस्ता मानिस पनि हुन्छन् जसले अरूबाट फाइदा लिँदैनन्। यी तुलनात्मक रूपमा असल मानवताका प्रकटीकरणहरू हुन्। परमेश्‍वरले खराब मानवताका प्रकटीकरणहरूका उदाहरणहरू पनि प्रदान गर्नुभयो। उदाहरणका लागि, नीच र फोहोरी मानवता हुनु, र अरूको पिठ्युँपछाडि निरन्तर चियोचर्चो गर्न मन पराउनु; अनि विपरीत लिङ्गीसँगको अन्तरवैयक्तिक आचरणको हिसाबमा भन्दा, त्यसलाई हल्का रूपमा लिनु, र इज्जत र निष्ठा नहुनु; अनि स्वार्थी, नीच हुनु, र अरूबाट फाइदा लिन मन पराउनु, साथै अलिकति पनि विवेक वा समझविना अरूसँगको अन्तरक्रियामा अति हिसाबी हुनु—यी सबै खराब मानवताका प्रकटीकरण हुन्।) खराब मानवताका प्रकटीकरणहरूमध्ये, सबैभन्दा खराब के हो? तिमीहरूलाई कुन प्रकारको व्यक्ति सबैभन्दा अप्रिय लाग्छ? (कुनै लाजको बोध नभएका र विपरीत लिङ्गीसँग अन्तरक्रिया गर्दा त्यसलाई अत्यन्तै हल्का रूपमा लिने मानिसहरू।) लापरवाह, लम्पट, र लाजको बोध नभएको। यसलाई अलि सभ्य तरिकाले भन्दा, यी मानिसहरूलाई “लाज भन्‍ने नै थाहा हुँदैन”। सरल भाषामा भन्दा, तिनीहरू “निर्लज्ज” हुन्छन्, वा अझै सटीक रूपमा भन्दा, “साह्रै गतिछाडा” हुन्छन्। त्यस्ता मानिसहरूलाई कसैले पनि मन पराउँदैन।