आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ (भाग एक)
के अब तिमीहरूसँग आफूलाई चिन्ने, जीवन प्रवेश गर्ने, र परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्ने तरिका छ? के तिमीहरूसँग लक्ष्य वा दिशा छ? तिमीहरूसँग केही विचार हुनुपर्छ, किनकि हामीले इमानदार व्यक्ति बन्ने, आफूलाई चिन्ने, कसरी परमेश्वरको वचन खाने र पिउने, समस्या समाधान गर्न कसरी सत्यता सङ्गति गर्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी मिलेर सहकार्य गर्नुपर्छ, कसरी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कासँग सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने विषयहरूमा निकै समय सङ्गति गरिसकेका छौँ। अब तिमीहरू परमेश्वरप्रति विश्वाससम्बन्धी सत्यताका सबै पक्षमा अझ बढी स्पष्ट छौ, तिमीहरूसँग केही व्यावहारिक ज्ञान छ र तिमीहरू पहिलेजस्तो छैनौ—जतिबेला तिमीहरू जुनै पक्षबारे सोधे पनि अस्पष्ट थियौ—के तिमीहरूलाई पहिलेभन्दा निकै राम्रो महसुस हुँदैन र? (अहिले मलाई झन्-झन् स्पष्ट भएझैँ लाग्छ।) “झन्-झन् स्पष्ट” हुनु ठिक हो। वास्तवमा, व्यक्तिले सत्यताको जुन पक्षको अभ्यास गरे पनि, चाहे यो इमानदार व्यक्ति बन्न होस्, वा आफूलाई परमेश्वरमा समर्पित हुन तालिम दिनलाई होस्, वा कसरी मित्रवत् रूपमा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग सहभागी हुन सकिन्छ भन्नेबारे होस्, वा सामान्य मानवतामा कसरी जिउनेबारे होस्, वा अरू यहीजस्तै कुरा होस्, तैँले सत्यताको जुनसुकै पक्षमा प्रवेश गर्न खोजे पनि, तैँले आत्मज्ञानको सवाललाई छोएर सुरू गर्नुपर्छ। के इमानदार व्यक्ति बन्नु आफूलाई चिन्नुसँग सम्बन्धित कुरा होइन र? तैँले आफ्नै छलीपन र बेइमानीलाई नचिनेसम्म तैँले इमानदारीताको अभ्यास गर्नेछैनस्। जब तँलाई आफू परमेश्वरमा समर्पित हुन असफल भएको थाहा हुन्छ, तब मात्र तैँले उहाँप्रतिको समर्पण अभ्यास गर्न सक्नेछस्, वा उहाँमा समर्पित हुनको लागि आफूले गर्नुपर्ने कुराको खोजी गर्नेछस्। यदि तैँले आफूलाई चिनेको छैनस् भने, इमानदार व्यक्ति बन्ने, परमेश्वरमा समर्पित हुने, वा मुक्ति पाउने तेरा इच्छाहरू सबै खोक्रा हुन्। किनकि मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरूलाई सत्यताको कुनै पनि पक्ष अभ्यास गर्न सहज हुँदैन, किनभने तिनीहरूको अभ्यास आफ्नो भ्रष्ट स्वभावद्वारा सधैँ कलङ्कित र बाधित हुन्छ। जब तँ सत्यताको कुनै पनि पक्ष अभ्यास गर्छस्, तब तेरो भ्रष्ट स्वभाव निश्चित रूपले आफै प्रकट हुनेछ र त्यसले इमानदार बन्ने तेरो प्रयासलाई रोक्नेछ, परमेश्वरप्रतिको तेरो समर्पणमा बाधा दिनेछ, र तेरा दाजुभाइ-दिदीबहिनीहरूप्रतिको तेरो धैर्य र सहनशीलतालाई रोकिदिनेछ। यदि तँ ती भ्रष्ट स्वभावहरूबारे चिन्तन गर्दैनस्, तिनलाई उजागर र चिरफार गर्दैनस्, वा पहिचान गर्दैनस्, बरु सत्यता अभ्यास गर्न आफ्ना धारणा र कल्पनाहरूमा भर पर्छस् भने, तैँले केवल नियम मात्र पालना गरिरहेको हुनेछस्, किनकि तँ सत्यता बुझ्दैनस् र तँलाई कुनचाहिँ सत्यता सिद्धान्त पालना गर्ने भन्ने थाहा हुँदैन। त्यसकारण, व्यक्तिले सत्यताको जुन पक्षको अभ्यास गरिरहेको भए पनि, वा जे गरिरहेको भए पनि, तिनीहरूले सुरुमा चिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ। आफैलाई चिन्नु भनेको आफ्नो हरेक वचन र कर्मलाई, आफ्नो हरेक कार्यलाई चिन्नु हो; यो आफ्ना विचारलाई र परिकल्पनाहरूलाई, आफ्ना अभिप्राय र आफ्ना धारणा र कल्पनाहरूलाई जान्नु हो। तँलाई दुनियाँसित व्यवहार गर्ने शैतानको दर्शन अनि शैतानका विभिन्न विषका साथै परम्परागत सांस्कृतिक ज्ञान पनि थाहा हुनैपर्छ। तैँले सत्यता खोजी गरेर यी कुराहरू स्पष्टसँग खुट्याउनैपर्छ। त्यसरी, तैँले सत्यता बुझ्नेछस् र आफूलाई साँच्चै चिन्नेछस्। परमेश्वरमा विश्वास गर्न थालेदेखि व्यक्तिले धेरै कार्य गरेको हुनसक्ने भए पनि, तिनीहरूले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्दैनन्, सत्यतालाई बुझ्न सक्ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूको धेरै असल कार्यहरूको कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्वरमा समर्पित भइसकेका छन्, र उहाँका अभिप्रायहरू पहिले नै धेरै पूरा गरिसकेका छन् भन्ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे भनिएको छ तँ त्यही गर्न सक्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न लगाइन्छ, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै तोकिएको काम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यसकारण, तँलाई लाग्छ कि परमेश्वरमा समर्पित हुने र सत्यतालाई साँचो रूपमा पछ्याउने तँ नै होस्। तैपनि, यदि तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भन्दै प्रश्न गर्ने हो भने, यदि हरेक व्यक्तिलाई परमेश्वरको सत्यतासँग तुलना गर्दै केरकार गर्ने हो भने, सायद कोही पनि मापदण्ड अनुसारको छैन, र कुनै पनि व्यक्तिले सत्यताअनुसार कार्य गर्न सक्दैन भनेर भन्न सकिन्थ्यो। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफू जिउने स्वभाव र आफ्ना सबै कुरा प्रेरित गर्ने शैतानी दर्शन, तर्क, झूटो शिक्षा र भ्रमहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गर्नुको मूलजड, आफूले हठी हुँदै कार्य गर्नुको सार, र आफू केमा वा कसका लागि जिउँछन् भन्ने कुरामा चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्वरमा विश्वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै आफू विश्वासले भरिपूर्ण छु, आफ्ना कार्यहरू उचित छन् भनेर सोच्छन्, र आखिरमा तिनीहरूलाई आफूले धेरै पाएको छु भन्ने लाग्छ। तिनीहरूले पत्तै नपाई यो सोच्न पुग्छन् कि तिनीहरू पहिले नै परमेश्वरका अभिप्रायहरूअनुसार काम गर्न थालिसकेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्वरका मापदण्डहरू पूरा गरिसकेका छन् र उहाँको इच्छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्वरमाथिको तेरो धेरै वर्षको विश्वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्ने लाग्छ भने, तैँले आफैलाई सावधानीपूर्वक जाँच्न परमेश्वरको अघि फर्किआउनैपर्छ। तैँले आफ्ना सबै कामकुरा पूर्णतया परमेश्वरका अभिप्रायहरूअनुसार भएका छन् कि छैनन् भनी बुझ्न आफूले यत्तिका वर्षदेखि हिँडेको बाटोलाई हेर्नुपर्छ। आफ्नो कुन व्यवहार परमेश्वरको विरोधमा थियो, कुनचाहिँ उहाँप्रति समर्पित थियो, आफ्ना कार्यहरूले परमेश्वरको मापदण्ड पूरा गरेका र सन्तुष्ट पारेका छन् छैनन् भनी जाँच्। तैँले यी सबै कुरा स्पष्ट पार्नुपर्छ, किनभने त्यसपछि मात्र तैँले आफूलाई चिन्नेछस्।
आत्मचिन्तन गर्नु र आफैलाई चिन्नुको चाबी यो हो: तैँले कुनै निश्चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले आफैलाई ती क्षेत्रहरूमा चिन्नु र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्वरको अभिप्रायहरू पूरा गर्न सक्दैनन् सो जान्नका लागि ती क्षेत्रहरूलाई अझ गहन रूपमा बुझ्नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र उसलाई धेरैले विशेष आदर गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसलाई उसको निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्ने लाग्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्वरद्वारा दण्डित भयो। यदि, त्यस समयमा उसले आफ्नै बारेमा चिन्तन र विश्लेषण गरेको भए, उसले जसरी सोच्यो त्यसरी सोच्ने थिएन। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यता खोजी गर्न ध्यान दिएको थिएन; उसले केवल आफ्नै विचार र कल्पनाहरूमा विश्वास गरेको थियो। उसले केही असल कुराहरू गर्दैमा र केही असल व्यवहारहरू देखाउँदैमा परमेश्वरले उसलाई अनुमोदन गर्नुहुनेछ र उसलाई इनाम दिनुहुनेछ भनी उसले सोचेको थियो। अन्त्यमा, उसको आफ्नै धारणा र कल्पनाले उसको हृदयलाई दृष्टिहीन बनायो र उसको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, र तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन र परमेश्वरले यो कुरा पर्दाफास गर्नुभन्दा पहिले, तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र उसलाई तिनीहरूले आफूले बन्न खोजेको र चाहेको नायक ठाने। पावलको मामिला परमेश्वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्वरलाई पछ्याउने हामीहरूले जब आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ र परमेश्वरको सेवा गर्ने क्रममा, हामी परमेश्वरप्रति बफादार रहेको र हामीले परमेश्वरलाई प्रेम गर्ने गरेको महुसुस गर्छौँ, र यस्तो समयमा, हामीले आफ्नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का नगर्ने, यसबारेमा मनन नगर्ने, वा यसमा परमेश्वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्ने गर्दैनस्। उदाहरणको लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्ने कतिपय मानिसहरू पनि छन्। उनीहरूले कहिल्यै पनि अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरूले सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, नत्र तिनीहरूको समस्या सुल्झिँदैन; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवनप्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराले पक्कै परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र आफूहरू परमेश्वरका साँचो विश्वासीहरू हौँ भन्ने विश्वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरूले आफ्नो प्राकृतिक दयालाई कुनै फाइदा गर्ने पूँजीको रूपमा हेर्छन्, र उनीहरूले त्यस्तो गर्नेबित्तिकै, यसलाई सत्यता नै हो ठान्छन्। वास्तवमा, उनीहरूले जे गर्छन्, ती सबै मानव भलाइ मात्र हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्वरका मापदण्डहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले गर्ने सबैकुरामा परमेश्वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरूले उहाँको मापदण्डअनुसार नै काम गर्छन्। परमेश्वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्न; परमेश्वरको लागि त्यो निन्दनीय हुन्छ र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।
हरेक व्यक्तिले आफूलाई चिन्नु महत्त्वपूर्ण हुन्छ किनकि यसले कुनै व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ कि सक्दैन वा मुक्ति पाउन सक्छ-सक्दैन भन्ने महत्त्वपूर्ण विषयलाई प्रत्यक्ष असर गर्छ। यसलाई सामान्य कुरा नठान्। आफूलाई चिन्नु भनेको आफ्नो कार्य वा अभ्यासलाई बुझ्नु होइन, तर आफ्नो समस्याको सार जान्नु हो; आफ्नो विद्रोहीपनको जड र त्यसको सार जान्नु हो, आफूले सत्यता अभ्यास गर्न नसक्नुको कारण जान्नु हो, र आफूले सत्यता अभ्यास गर्दा उत्पन्न हुने र आफूलाई बाधा पुऱ्याउने कुराहरूलाई बुझ्नु हो। यी कुरा आफूलाई चिन्ने सबैभन्दा महत्त्वपूर्ण केही पक्ष हुन्। उदाहरणका लागि, चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्ना आमाबुबा वा पुर्खाहरूप्रति भक्तिभाव हुनुपर्छ भन्ने विश्वास गर्छन्। जसले आमाबुबा वा पुर्खाहरूलाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले “आमाबुबा वा पितापुर्खाप्रतिको भक्ति नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,” भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्वरले व्यक्तिले आफ्ना आमाबुबा वा पूर्खाहरूप्रति सन्तानीय भक्ति देखाउनुपर्छ भनेर भन्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्वरमा विश्वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्याउँछ भन्ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति प्रतिकूल रहेका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्वरको विरोध गर्ने, र परमेश्वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घिनाउन र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्वरले भनेअनुसार, परमेश्वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तँलाई ऊ दुष्ट व्यक्ति होइन भन्ने लाग्छ, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र तँलाई छोराछोरी हुनलायक नभएको, विवेक नभएको, र मानवसमेत बन्न नसकेको भनी दोष लाउनेछ भन्ने सोच्छस्। तँलाई आफू दैवद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतया प्राकृतिक र उचित कुरा हो, र आफ्ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्ने गलत विश्वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो विश्वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। तेरो जीवन परमेश्वरबाट आएको हो, तेरा आमाबुबाबाट होइन भन्ने कुरा तँलाई हृदयमा थाहा हुन्छ, र तैँले तेरा आमाबुबाले परमेश्वरमा विश्वास नगर्ने मात्र होइन, परमेश्वरको विरोधसमेत गर्छन्, र परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ भन्ने कुरा जान्दछस् र तँ परमेश्वरमा समर्पित हुनुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ भन्ने तँलाई थाहा छ, तर तैँले तिनीहरूलाई चाहेर पनि घृणा गर्न सक्दैनस्। तँ यो कठिनाइ पार गर्न सक्दैनस्, तँ आफ्नो हृदय कठोर बनाउन सक्दैनस्, र तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यसको मूल कारण के हो? शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्वरका वचनहरू स्वीकार गर्न नसक्ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्वरका वचनहरू स्विकार्न नसक्ने तुल्याइएको छ। तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्ने बनाउँछन्। केही समयसम्म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी मानिसहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्वरका वचनहरू त्याग्न रुचाउँछस्, र यसरी परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्वरको मुक्तिको खाँचो छैन र? कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको धेरै भएको हुन्छ, तर आमाबुबाप्रतिको भक्तिबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आत्मविश्वास नै हुन्छ, झन् अठोट हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञा मान्न सक्दैनन्। केही मानिस यसलाई छल्लङ्गै देख्न सक्छन्, र तिनीहरूलाई वास्तवमा यसो भन्न सजिलो हुँदैन, “मेरा आमाबुबा परमेश्वरमा विश्वास गर्नुहुन्न, र उहाँहरू मलाई विश्वास गर्न रोक्नुहुन्छ। उहाँहरू दियाबलस हुनुहुन्छ।” केवल एउटा पनि अविश्वासीले परमेश्वर हुनुहुन्छ, वा उहाँले स्वर्ग र पृथ्वी अनि सबै थोक सृष्टि गर्नुभयो, वा मानिसलाई उहाँले सृष्टि गर्नुभएको हो भनी विश्वास गर्दैन। यहाँ त यस्तो भन्ने मानिसहरू पनि छन्, “मानिसलाई उसका आमाबुबाले जीवन दिन्छन् र उसले उनीहरूको सम्मान गर्नुपर्छ।” यस्तो विचार वा दृष्टिकोण कहाँबाट आउँछ? के यो शैतानबाट आउँछ? हजारौँ वर्षदेखि परम्परागत संस्कृतिले मानिसलाई यसरी नै शिक्षा दिँदै र भ्रममा पार्दै आएको छ, र तिनीहरूलाई परमेश्वरको सृष्टि र सार्वभौमिकता अस्वीकार गर्ने तुल्याएको छ। शैतानको बहकाउ र नियन्त्रण नभएको भए, मानवजातिले परमेश्वरको कामबारे अनुसन्धान गर्नेथिए र उहाँका वचनहरू पढ्नेथिए, अनि तिनीहरूलाई आफू परमेश्वरद्वारा सृष्टि गरिएको हो, र आफ्नो जीवन परमेश्वरले दिनुभएको हो; आफूसँग भएका सबै कुरा परमेश्वरले दिनुभएको हो, र आफू परमेश्वरप्रति आभारी हुनुपर्छ भन्ने थाहा हुनेथियो। कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्वरले नै बन्दोबस्त गर्नुहुन्छ। सबैमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ; मानिस त सेवाको औजार मात्र हो। यदि कसैले परमेश्वरप्रति समर्पित हुन आफ्ना आमाबुबा, वा आफ्नो पति (वा पत्नी) र छोरोछोरीलाई छेउ लगाउन सक्छ भने, त्यो व्यक्ति दह्रिलो हुनेछ र ऊसँग परमेश्वरसामु अझ बढी न्यायबोध हुनेछ। तर मानिसहरूलाई राष्ट्रिय शिक्षा र परम्परागत सांस्कृतिक विचार, धारणा र नैतिक कथनको बन्धन तोड्न सजिलो हुँदैन, किनकि यी शैतानी विष र दर्शनहरूले मानिसको हृदयमा धेरै समयदेखि जरा गाडेका छन्, जसले गर्दा परमेश्वरको वचन सुन्न र उहाँमा समर्पित हुनबाट रोक्ने सबै प्रकारको भ्रष्ट स्वभाव उत्पन्न भएका छन्। भ्रष्ट मानिसको हृदयको गहिराइमा सत्यता अभ्यास गर्ने र परमेश्वरको इच्छा पछ्याउने आधारभूत इच्छाको कमी हुन्छ। त्यसैले, मानिसहरू परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छन्; तिनीहरूले उहाँलाई कुनै पनि बेला धोका दिन र त्याग्न सक्छन्। यदि कुनै व्यक्तिमा भ्रष्ट स्वभाव अनि शैतानी विष र दर्शनहरू छन् भने, के उसले सत्यता प्राप्त गर्न सक्छ? के ऊ परमेश्वरप्रति समर्पित हुन सक्छ? वास्तवमा यो एकदमै कठिन हुन्छ। यदि यो परमेश्वर स्वयम्को न्यायको काम नहुँदो हो त, गम्भीर रूपले भ्रष्ट मानवजातिले मुक्ति पाउन सक्थेनन्, र तिनीहरू आफ्नो सबै शैतानी स्वभावबाट शुद्ध हुन सक्थेनन्। मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि र तिनीहरू उहाँलाई पछ्याउन इच्छुक भए पनि, परमेश्वरको कुरा सुन्न र उहाँमा समर्पित हुन सक्दैनन्, किनकि मानिसहरूलाई सत्यता स्विकार्न अति धेरै प्रयास चाहिन्छ। तसर्थ, सत्यता पछ्याउनुअघि आफूलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव हटाउने बाटो पछ्याउनैपर्छ। त्यसपछि मात्र सत्यता स्विकार्न सजिलो हुनेछ। आफूलाई चिन्नु निश्चय नै सजिलो कुरा होइन; सत्यता स्विकार्नेहरूले मात्र आफूलाई चिन्न सक्छन्। त्यसैले आफूलाई चिन्नु एकदमै महत्त्वपूर्ण छ, र यो तिमीहरूले अदेखा गर्नै नहुने कुरा हो।
मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूलाई सत्यता स्विकार्न एकदमै कठिन हुन्छ, र आफूलाई चिन्न झनै कठिन हुन्छ। यदि तिनीहरू मुक्ति चाहन्छन् भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र प्रकृति सारलाई चिन्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले साँचो रूपमा सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिस शब्द र सिद्धान्तहरू बोल्न सकेकोमै सन्तुष्ट हुन्छन्, र आफूले सत्यता बुझ्छु भन्ने सोच्छन्। यो ठूलो गल्ती हो, किनकि आफूलाई नचिन्नेहरूले सत्यता बुझ्दैनन्। त्यसैले, मानिसहरूले परमेश्वरप्रतिको आफ्नो विश्वासमा सत्यता बुझ्न र प्राप्त गर्न आफूलाई चिन्नमा ध्यान दिनैपर्छ। हामी जहिले वा जहाँ भए पनि, र जस्तोसुकै वातावरणमा भए पनि, यदि आफूलाई चिन्न, आफ्नो भ्रष्ट स्वभावलाई उदाङ्गो पार्न र चिरफार गर्न अनि आफूलाई चिन्नुलाई पहिलो प्राथमिकता दिन सक्छौँ भने पक्कै केही पाउनेछौँ, र बिस्तारै आफूलाई गहिरिएर बुझ्दै जानेछौँ। त्यससँगै, हामी सत्यता अभ्यास गर्नेछौँ, परमेश्वरलाई प्रेम गर्ने र उहाँमा समर्पित हुने अभ्यास गर्नेछौँ, र झन्-झन् धेरै सत्यता बुझ्दै जानेछौँ। त्यसपछि स्वभावतः सत्यता हाम्रो जीवन बन्नेछ। तर यदि तँ आफूलाई चिन्ने प्रक्रियामा प्रवेश गर्दै गर्दैनस् भने, तैँले सत्यता अभ्यास गर्छु भन्नु गलत हुन्छ किनकि तँ हर तरिकाको सतही घटनाद्वारा अन्धो तुल्याइएको हुन्छस्। तँलाई आफ्नो स्वभाव सुध्रिएको छ, आफूमा पहिलेभन्दा बढी विवेक र समझ छ, आफू पहिलेभन्दा बढी कोमल, अरूप्रति अझ विचारशील र सहनशील, मानिसहरूसँग अझ बढी धैर्यवान् र क्षमाशील भएको छु भन्ने लाग्छ, अनि परिणामस्वरूप तँ आफू सामान्य मानवतामा जिइरहेको छु अनि आफू महान् र सिद्ध व्यक्ति हुँ भन्ठान्छस्। तर परमेश्वरको नजरमा, तँ अझै पनि उहाँका मापदण्ड र मानकको स्तरमा छैनस्, अनि साँचो रूपले उहाँमा समर्पित हुन र उहाँलाई आराधना गर्नबाट कोसौँ टाढा छस्। यसले देखाउँछ कि तैँले सत्यता प्राप्त गरेको छैनस्, तँमा अलिकति पनि वास्तविकता छैन, र तँ मुक्तिको मानक पूरा गर्नदेखि अझै टाढा छस्। मानिसहरूले परमेश्वरको मापदण्ड पूरा गर्न कुन सत्यताहरू धारण गर्नुपर्छ भनेर बुझ्नैपर्छ। मानिसहरू अझै पनि बाहिरी असल व्यवहार र सत्यताको अभ्यासबीच भिन्नता छुट्याउन सक्दैनन्। अहिले मानिसमा हुने कुरा भनेको उसको बाहिरी व्यवहारमा थोरै परिवर्तन मात्र हो। आजभोलि, धेरैजसो मानिस बारम्बार भेला हुन्छन् र प्रवचन सुन्छन्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर बस्न र सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्। तिनीहरू झगडा गर्दैनन्, र एकअर्कासँग सहनशील र धैर्यवान् हुन सक्छन्, र आफ्नो कर्तव्य निर्वाहमा पहिलेभन्दा होसियार हुन्छन्। तर तिनीहरूको सत्यता बुझाइ अति सतही हुन्छ, कति मामिलाहरूबारे तिनीहरूका सोच र दृष्टिकोण अझै पनि सत्यतादेखि टाढा वा सत्यताविपरीत हुन्छन्, र तिनीहरूका कतिपय दृष्टिकोण त परमेश्वरविरोधी समेत हुन्छन्। मानिसहरूले अझसम्म सत्यता प्राप्त गरेका छैनन् भनी दर्साउन यो काफी छ। त्यसैले हामीले आफूलाई बुझ्ने हरेक पक्षमा सत्यता खोज्नुपर्छ र आफूलाई अझ गहन रूपले चिन्ने प्रयास गर्नुपर्छ। यस सङ्गतिबाट, के तिमीहरूलाई आफूलाई चिन्न एकदमै महत्त्वपूर्ण छ भन्ने लाग्छ? भर्खरै मैले तिमीहरूलाई आफ्ना आमाबुबाहरूप्रति छोराछोरीले देखाउने श्रद्धाको उदाहरण दिएँ। यो सबैले सामना गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो। यदि तिमीहरू सत्यता बुझ्न अनि परम्परागत विचार र धारणाहरूबाट निक्लिन सक्दैनौ भने, तिमीहरूलाई सबै कुरा त्याग्न र परमेश्वरमा आफूलाई साँचो रूपमा समर्पित गर्न कठिन हुनेछ। यस्ता धेरै मानिस छन् जसले वर्षौँदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन् तर एउटा कर्तव्य पनि निर्वाह गरेका छैनन्। तिनीहरूको हृदयमा द्वन्द्व चलिरहेको अथाह समय भइसकेको छ। तिनीहरूले साँच्चै कहिले सत्यता बुझ्न अनि आफ्नो देहगत स्नेह र परम्परागत विचार तथा धारणाको नियन्त्रण र जन्जिरबाट निस्कन अनि “परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्ने, र परमेश्वरले घृणा गर्ने कुरालाई घृणा गर्ने” मोडमा पुग्न सक्नेछन् भन्ने कुरा अनिश्चित छ। यो कुरा हासिल गर्न सजिलो छैन। परिवारको सारलाई छर्लङ्ग देख्नु र आफ्ना देहगत सम्बन्धहरूको बन्धनलाई त्याग्नु परमेश्वरलाई पछ्याउनेहरूका लागि कठिन बाधा हो। आफ्नो पारिवारिक र देहगत स्नेहको जन्जिर तोड्ने र परम्परागत संस्कृतिका लगामबाट मुक्त हुने पनि प्रक्रिया छ—यसका लागि परमेश्वरले वातावरण बन्दोबस्त गरिदिनुपर्छ जसमा हामी सत्यतामा प्रवेश गर्ने अभ्यास गर्न सक्छौँ। विशेष गरी हाम्रा प्रियजनहरूको कुरा आउँदा, हामीले उनीहरूको साँचो रूप र उनीहरूको हरेक प्रकृति सार देख्न झन् महत्त्वपूर्ण छ। त्यससँगै, हामीले सत्यताको आधारमा आफूले प्रकट गरेका भ्रष्ट स्वभाव अनि हाम्रो हृदयमा अझै रहिरहेका शैतानी झूटो शिक्षा र भ्रमहरूबारे चिन्तन गर्नुपर्छ। यसका लागि परमेश्वरले हाम्रो खुलासा गर्न विभिन्न वातावरण योजनाबद्ध गर्नुपर्छ ताकि हामीले उहाँको प्रतिरोध गर्ने वा उहाँसँग नमिल्ने कस्ता कुराहरू हाम्रो हृदयमा अझै छन् भनेर जान्न सकौँ र त्यसपछि ती समाधान गर्न सत्यता खोज्न सकौँ। हाम्रो भ्रष्टता र कद खुलासा गर्न हामीलाई परमेश्वरले उपयुक्त वातावरण बन्दोबस्त गरिदिनुपर्छ। तर हामीले पनि परमेश्वरसँग सक्रिय र सकारात्मक रूपमा काम गर्नैपर्छ, र उहाँको वचनअनुसार आफ्नो लागि कठोर मापदण्ड तय गर्नुपर्छ, अनि तब मात्र हामी उहाँद्वारा पूर्ण पारिन सक्छौँ। तर परमेश्वरले कार्य गर्नुअघि हामीले आफूलाई मानसिक रूपमा तयार पार्नुपर्छ। पहिलो कुरा, हामीले मानिसभित्र हुने शैतानी विषहरू चिन्नुपर्छ अनि परम्परागत संस्कृतिका विचार र धारणाहरूले मानिसलाई बहकाउँछन् र भ्रष्ट पार्छन् भनेर बुझ्नुपर्छ। हामीले यी शैतानी कुराहरू—जुन हामी विरासतमा पाउँछौँ, जुन शिक्षा र समाजबाट आउँछन्—यी कुराहरूले कति चरम रूपमा परमेश्वरको विरोध गर्छन् र यी कुराहरू कतिसम्म सत्यताविरुद्ध जान्छन् भनेर बुझ्नैपर्छ। तिमीहरूले यी कुराहरू छर्लङ्ग देखेपछि मात्र साँच्चै सत्यता बुझ्छौ भनेर भन्न सकिन्छ।
भर्खर मैले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नुपर्छ भन्नेबारे बताएँ। यो कुरा जीवनको ठूलो मामिला हो भन्न सकिन्छ र यो हरेक व्यक्तिले सामना गर्नैपर्ने महत्त्वपूर्ण मामिला पनि हो। यो अकाट्य छ। अब हामी आफ्ना सन्तानलाई कसरी व्यवहार गर्ने भन्ने विषयमा सङ्गति गर्नेछौँ। आफ्ना सन्तान र आमाबुबालाई कसरी व्यवहार गर्ने भन्ने कुरा आउँदा, तैँले उनीहरूलाई व्यवहार गर्ने तरिकाले कुनै फरक पार्दैन, बरु तेरो दृष्टिकोणले, तैँले उनीहरूसँग जुन दृष्टिकोण र मनोवृत्तिले व्यवहार गर्छस् त्यसले फरक पार्छ। यो हामीले आफ्नो हृदयमा बुझ्नुपर्ने कुरा हो। हरेक व्यक्तिले सन्तान हुनेबित्तिकै उनीहरूले कस्तो किसिमको शिक्षा पाउनुपर्छ, उनीहरू कस्तो कलेज जानुपर्छ, र त्यसपछि उनीहरूले कसरी राम्रो जागिर पाउन सक्छन् भनी योजना बनाउन थाल्छ ताकि उनीहरूले समाजमा खुट्टा टेकाउने ठाउँ र कुनै तहको हैसियत पाऊन्। सबै मानिसलाई यो विश्वास हुन्छ कि यस जीवनमा व्यक्तिले ज्ञान र उच्च डिग्री हासिल गर्नैपर्छ—उसको नजरमा, जागिर पाउने र समाजमा जीविकोपार्जन सुरक्षित गर्ने यही मात्र तरिका हो, यसो गर्दा आफूले भविष्यमा गाँस, बास, कपास, र यातायातजस्ता आधारभूत आवश्यकताहरूबारे चिन्ता गर्नुपर्दैन। त्यसैले, मानिसले आफ्ना सन्तानलाई कसरी व्यवहार गर्ने भन्ने कुरा आउँदा, हरेक आमाबुबा आफ्ना सन्तानले उच्च शिक्षा प्राप्त गरोस् भन्ने आशा गर्छन्। उनीहरू आफ्ना सन्तान एक दिन संसारमा अघि बढ्न सक्नेछन् र समाजमा आफ्नो स्थान बनाउनेछन्, तिनीहरूको आम्दानी धेरै र स्थिर हुनेछ, अनि तिनीहरूले प्रतिष्ठा र हैसियत कमाउनेछन् भन्ने आशा साँच्छन्। यसरी मात्र उनीहरूका पितापुर्खाको सम्मान हुनेछ भनी उनीहरू सोच्छन्। “मेरा छोराछोरी सुनजस्तै बहुमूल्य बनून्”—के यो दृष्टिकोण सही हो? सबैले आफ्ना छोरा वा छोरी प्रतिष्ठित विश्वविद्यालयमा गएर उच्च शिक्षा लिऊन् भन्ने चाहन्छन्। उनीहरूलाई लाग्छ, ती सन्तान उच्च डिग्री हासिल गरिसकेपछि संसारमा अघि बढ्न सक्छन्। सबै मानिस आफ्नो हृदयमा ज्ञानको पूजा गर्छन् र “किताबको अघि सबै कुरा फिका हुन्छ” भनी विश्वास गर्छन्; त्यसबाहेक, उनीहरू आजभोलि समाजमा प्रतिस्पर्धा निकै जोरदार छ, र कुनै व्यक्तिसँग शैक्षिक योग्यता छैन भने उसलाई हातमुख जोड्न पनि धौधौ पर्छ भन्ने सोच्छन्। हरेक व्यक्तिले राख्ने विचार र दृष्टिकोण यही हो—मानौँ उच्च डिग्री लिएमा उसको भावी जीविकोपार्जन र भविष्य सुरक्षित हुनेछन्। त्यसैले मानिसहरूले आफ्ना छोराछोरीका लागि गर्ने मागको सन्दर्भमा भन्नुपर्दा, उनीहरू उच्च शिक्षा संस्थानमा भर्ना हुनु र उच्च शिक्षा पाउनुलाई सबैभन्दा बढी प्राथमिकता दिन्छन्। वास्तवमा, मानिसहरूले पाउने त्यो सबै शिक्षा, सबै ज्ञान, र सबै विचार परमेश्वर र सत्यताविरुद्ध हुन्छन्, र परमेश्वर ती कुरालाई घृणा र निन्दा गर्नुहुन्छ। यसले मानिसको दृष्टिकोण गलत र निरर्थक हुन्छन् भन्ने कुरा साबित गर्छ। मानिसहरूले के बुझ्नुपर्छ भने, यदि आफ्ना छोराछोरीले यस किसिमको शिक्षा पाए भने, केही उपयोगी बौद्धिक ज्ञान हासिल गर्नेबाहेक, शैतानका कैयौँ विष, विचार, सिद्धान्त, झूटो शिक्षा र भ्रमहरू पनि सिक्नेछन्, अनि तिनीहरूले यसको परिणाम के हुनेछ भनी बुझ्नुपर्छ। मानिसहरूले यसबारे पहिले सोचेकै हुँदैनन्, र यस मामिलालाई प्रस्टसँग देख्न सक्दैनन्। तिनीहरूलाई आफ्नो सन्तान उच्च शिक्षा संस्थानमा भर्ना भए भने उनीहरूको भविष्य उज्ज्वल हुनेछ र आफ्नो पुर्खाको सम्मान हुनेछ भन्ने मात्र लाग्छ। परिणामस्वरूप, जब एक दिन तेरो सन्तान घर आउँछ, अनि तँ उसँग परमेश्वरप्रतिको विश्वासबारे कुरा गर्छस्, तब उसलाई त्यसप्रति वितृष्णा जाग्छ, र जब तँ उसँग सत्यता सङ्गति गर्छस्, तब उसले तँलाई मूर्ख भन्नेछ, तेरो खिल्ली उडाउनेछ, र तेरा शब्दहरूलाई तिरस्कार गर्नेछ। त्यति बेला, तँलाई आफूले आफ्नो सन्तानलाई उच्च शिक्षा हासिल गराउन उच्च शिक्षा संस्थानमा पठाएर गलत बाटो रोजेछु भन्ने थाहा हुनेछ। तर त्यतिन्जेल पश्चाताप गर्न अति ढिलो भइसकेको हुनेछ। यदि कुनै व्यक्तिले शैतानको दर्शन र दृष्टिकोण स्विकार्छ, र यी कुराले उसमा जरा गाड्छन्, र यी कुरा फुल्छन् र फल्छन् भने, त्यो क्यान्सरको ट्युमर पलाएझैँ हो—यी कुरालाई रातारात हटाउन वा परिवर्तन गर्न सकिँदैन। त्यो बेला, त्यस व्यक्तिलाई सत्यता स्विकार्न कठिन हुन्छ, र उसले कुनै हालतमा मुक्ति पाउँदैन। यो त उसलाई शैतानले विष दिएर मार्नु बराबर हो। मैले कसैले यस्तो भनेको सुनेको छैनँ: “मेरो बच्चालाई स्कूलमा पढ्न मात्र सिकाउनू ताकि उसले परमेश्वरको वचन भनेको के हो भनेर बुझ्न सकोस्। त्यसपछि म उसलाई पूरा हृदयले परमेश्वरमा विश्वास गर्न र कुनै उपयोगी पेशाबारे अलिकति सिक्न डोऱ्याउनेछु ताकि भविष्यमा उसले राम्रो काम पाउन र आफ्नो जीवन स्थिर बनाउन सकोस्। त्यसपछि, म ढुक्क हुन सक्छु। यदि ऊ उच्च क्षमताको भयो भने, उसमा असल मानवता भयो भने, र उसले परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्न सक्यो भने बेस हुनेथ्यो। यदि उसले कर्तव्य निर्वाह गर्न सक्दैन भने, मण्डलीबाहिर जागिर खानु काफी हुन्छ, ताकि उसले आफ्नो परिवारलाई पालनपोषण गर्न सकोस्। सबैभन्दा बढी, म उसले परमेश्वरको घरमा उहाँको सत्यता पाएको र ऊ समाजद्वारा दूषित वा नियन्त्रित नभएको चाहन्छु।” मानिसहरूमा आफ्ना सन्तानलाई परमेश्वरसामु ल्याउने विश्वास हुँदैन; तिनीहरू सधैँ यदि आफ्नो सन्तानले उच्च शिक्षा लिएन भने उसको भविष्य राम्रो हुनेछैन भनेर चिन्ता गर्छन्। अर्को शब्दमा भन्नुपर्दा, आफ्नो सन्तानको सन्दर्भमा त एक व्यक्ति पनि आफ्नो सन्तानले परमेश्वरको वचन स्विकार्न सकोस् अनि आफूलाई सत्यता र परमेश्वरको मापदण्डअनुसार व्यवहारमा ढाल्न सकोस् भनी उसलाई परमेश्वरसामु ल्याउन इच्छुक हुँदैन। मानिसहरू यसो गर्न अनिच्छुक हुन्छन्, र यसो गर्ने साहस गर्दैनन्। उनीहरू यदि आफूले यस्तो व्यवहार गरेमा, आफ्नो सन्तानले जीवन धान्ने माध्यम वा यस समाजमा भावी आशा पाउँदैन भनी डराउँछन्। यस दृष्टिकोणले के पुष्टि गर्छ? यसले शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट पारिएका मानिसहरूलाई सत्यता वा परमेश्वरप्रतिको विश्वासमा कुनै रुचि हुँदैन भन्ने पुष्टि गर्छ। उनीहरूले परमेश्वरमा विश्वास गरे पनि, त्यो आशिष् पाउनका लागि मात्र हुन्छ। उनीहरू सत्यता पछ्याउँदैनन् किनकि उनीहरू आफ्नो हृदयमा भौतिक कुरा, पैसा र शैतानको प्रभावलाई पूजा गर्छन्। तँमा यसो भन्ने विश्वास छैन: “यदि कसैले संसारको चलन त्याग्छ र परमेश्वरमा भर पर्छ भने उहाँले उसलाई बाँच्न सकोस् भनी निस्किने बाटो दिनुहुनेछ।” तँमा यो विश्वास छैन। ज्ञानलाई पूजा गर्ने तेरो भ्रमित दृष्टिकोणले तेरो हृदयमा जरा गाडेको छ। यसले तेरो हरेक शब्द र कार्यलाई नियन्त्रण गर्छ, त्यसैले तँ परमेश्वरको कार्य स्विकार्न र त्यसप्रति समर्पित हुन सक्दैनस्, झन् परमेश्वरले व्यक्त गर्ने सत्यता स्विकार्नु त परको कुरा हो। म यो किन भन्छु? किनकि यस विचार र दृष्टिकोणले परमेश्वरको प्रतिरोध गर्छ, परमेश्वरलाई धोका दिन्छ, परमेश्वरलाई अस्वीकार गर्छ, र यो सत्यतासँग मेल खाँदैन। जब कुनै व्यक्तिले सत्यता बुझ्छ, उसले यो समस्यालाई छर्लङ्ग देख्न सक्छ, र आफूमा परमेश्वरविपरीत धेरै कुरा—परमेश्वरले मूलतः घृणा गर्ने कुराहरू—रहेछन् भनी थाहा पाउँछ। यी सबै परिणाम परमेश्वरको काम अनुभव गरेर हासिल भएका हुन्। परमेश्वरको वचनको खुलासाविना र परमेश्वरको वचनको न्याय र सजायविना त मानिसहरूले आफू पवित्र भइसकेको छु, आफू परमेश्वरप्रतिको प्रेमले भरिएको छु, र परमेश्वरमा केही वर्ष विश्वास गरेर र आफ्नो व्यवहारमा केही परिवर्तन गरेर उहाँप्रतिको आफ्नो विश्वास बलियो भएको छ भनी सोच्नेथिए। तर अहिले तिनीहरू सत्यता बुझ्छन्, त्यसैले अचानक यस्तो बोध गर्छन्: “मानिसहरूमा यी भ्रष्ट कुराहरू किन अझै छन्? किन मैले ती पहिले चिन्न सकिनँ? मानिसहरू अति अनजान छन्!” यस बेला, तिनीहरूले परमेश्वरद्वारा गरिने मानिसको भ्रष्टताको खुलासा एकदमै ठूलो र एकदमै आवश्यक छ भनेर सिक्नेछन्, अनि यदि परमेश्वरले तिनीहरूको भ्रष्टताको खुलासा र न्याय नगर्नुभएको भए, तिनीहरूले कहिल्यै त्यसलाई चिन्न सक्नेथिएनन्। मानिसहरू सबै बहाना बनाउन र भेष बदल्न सिपालु हुन्छन्। तिनीहरू निकै मजाले भेष बदल्न वा आफूलाई लुकाउन वा छोपछाप गर्न सक्छन्, तर तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभाव र तिनीहरूको मनमा गहिरो जरा गाडेका विचारहरूले परमेश्वरको विरोध गर्छन्, र ती कुरालाई परमेश्वर घृणा र तिरस्कार गर्नुहुन्छ। यी कुराहरूलाई नै परमेश्वर खुलासा गर्न चाहनुहुन्छ र यी कुराहरू नै मानिसहरूलाई थाहा हुनुपर्छ। तर मानिसहरू प्राय: सोच्छन्, “हाम्रो बोलीको हिसाबमा, हामीले परमेश्वरको विरोध हुने कुनै शब्द बोलेका छैनौँ, र हामीमा समझ छ। हाम्रो व्यवहारको हिसाबमा, हामीले कुनै कुरा सीमा नाघेर गरेका छैनौँ, हामी आफ्नो कर्तव्य एकदमै उपयुक्त ढङ्गले निभाउने मोडमा पुगिसक्यौँ। हामीमा स्पष्ट समस्याहरू छैनन्, त्यसैले हामीले आफूबारे अझै के जान्नुपर्छ र? के हामीले आफूबारे पनि जान्नुपर्छ र?” के यो दृष्टिकोण तथ्यसँग मेल खान्छ? यदि मेल खान्छ भने, किन मानिसहरू अझै पनि सधैँ आफ्नो पाप परमेश्वरलाई कबुल गर्छन्? किन मानिसहरू अझै पनि आफ्नो भ्रष्ट स्वभाव बारम्बार प्रकट गर्छन् र अझै अपराधसमेत गर्छन्? त्यसैले, तैँले एक तरिकामा जति आफूलाई राम्रो ठान्छस्, तैँले त्यस तरिकामा सत्यता खोज्नु, चिन्तन गर्नु र आफूलाई चिन्नु त्यति नै सार्थक हुन्छ। यसरी मात्र तँ आफ्नो भ्रष्ट स्वभावलाई साँच्चै चिन्न सक्छस्, र तँ शुद्ध पारिन, र परमेश्वरद्वारा सिद्ध पारिन सक्छस्। परमेश्वरको काम अनुभव गर्नुको परिणाम यही हो।
धेरै मानिस आमाबुबालाई श्रद्धा गर्दा परमेश्वर प्रसन्न हुनुहुन्छ र उहाँबाट आशिष् पाइन्छ भनी विश्वास गर्छन्। तिनीहरू आफ्ना आमाबुबालाई श्रद्धा गर्नु भनेको पक्कै परमेश्वरलाई मन पर्ने कुरा हो भन्ने सोच्छन्, किनकि आमाबुबाप्रतिको श्रद्धा पूर्णतया प्राकृतिक र उचित हो, अनि यसले व्यक्तिमा विवेक छ, र उसले आफू कहाँबाट आएको हो भनी बिर्सेको छैन भन्ने कुरा पुष्टि गर्छ भनी तिनीहरू विश्वास गर्छन्। परम्परागत धारणाअनुसार, यस्तो व्यक्तिलाई असल र आमाबुबाको श्रद्धा गर्ने सन्तान मानिन्छ। आमाबुबाको श्रद्धा गर्ने सन्तानलाई सबैले स्याबासी दिन्छन्। मानिसहरू र आफ्ना आमाबुबाले पनि उसलाई माया गर्छन्। त्यसैले तँ स्वभावतः परमेश्वरले पनि तँलाई मन पराउनैपर्छ भन्ने ठान्छस्, र यस्तो चाहना राख्दै सोच्छस्: “परमेश्वरले आफ्ना आमाबुबाप्रति श्रद्धा देखाउनेहरूलाई मन पराउनैपर्छ—उहाँ तिनीहरूलाई पक्कै मन पराउनुहुन्छ!” त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर आफ्ना आमाबुबाप्रति श्रद्धा देखाउन घर फर्कन्छस्। यसो गर्दा, तँ झन्-झन् उत्प्रेरित हुन्छस्, र यो जायज र उचित छ, अनि आफूले सत्यता अभ्यास गरिरहेको छु भनेर झन्-झन् विश्वस्त हुँदै जान्छस्। अनजानमै, तैँले परमेश्वरलाई सन्तुष्ट पारिसकेको छु र आफूसँग परमेश्वरको अनुमोदन, उहाँको प्रसन्नता, र उहाँको मान्यता पाउने पुँजी छ भन्ने विश्वास गर्न थाल्छस्। जब परमेश्वर तैँले उहाँको विरोध गरिरहेको छस् र उहाँलाई धोका दिइरहेको छस् भनेर भन्नुहुन्छ, वा जब उहाँ तँ पटक्कै बद्लिएको छैनस् भनेर भन्नुहुन्छ, तब तँ उहाँको विरोध र निन्दा गर्छस्। तँ उहाँ गलत हुनुहुन्छ भनी दाबी गर्दै उहाँका वचनहरू अस्वीकार गर्छस्। यो कस्तो किसिमको समस्या हो? जब परमेश्वर तँ असल छस् भन्नुहुन्छ र तँलाई अनुमोदन गर्नुहुन्छ, तब त्यो स्विकार्छस्। तर जब परमेश्वर तँ उहाँको अवज्ञा र विरोध गरिरहेको छस् भनी खुलासा गर्नुहुन्छ, तब तँ त्यो मान्दैनस् र अस्वीकार गर्छस्, परमेश्वरको विरोध र निन्दासमेत गर्छस्। यो कस्तो किसिमको स्वभाव हो? मानिसहरू अहङ्कारी, अभिमानी र आत्मधर्मी हुन्छन् भन्ने स्पष्ट छ। सामान्यत: मानिसहरू परमेश्वरको वचन सत्यता हो भनी स्विकार्न सक्षम भएजस्ता लाग्छन्, र सबै मानिस आफू परमेश्वरप्रति समर्पित छु भन्ने ठान्छन्, तर जब परमेश्वर तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्नुहुन्छ, तब तिनीहरूमध्ये कसैले पनि उहाँका वचनहरूलाई ध्यान दिँदैनन्, र हरेकपटक आफूले केही गर्दा आफ्ना कार्यहरूलाई उहाँको वचनसँग तुलना गर्दैनन्। बरु तिनीहरू केवल अलिकति बोल्छन् र कुरा गर्छन्, अनि कुरा त्यतिमै सकिन्छ, वा तिनीहरू भेलामा परमेश्वरको वचनका केही हरफ कन्ठाग्र भन्छन्, तीबारे अलिअलि सङ्गति गर्छन्, अनि तिनीहरूको काम सकिन्छ। वास्तविक परिस्थितिमा, तैँले कामकुरा गर्दा परमेश्वरको वचनअनुसार पटक्कै अभ्यास गर्दैनस्। त्यसोभए, तैँले परमेश्वरको वचन पढ्नु र त्यसमा सङ्गति गर्नुको के अर्थ छ? तँ आफूलाई केही आइपर्दा, परमेश्वरको वचन अभ्यास गर्दैनस्, र परमेश्वरको वचनअनुसार जिउँदैनस्, त्यसोभए तँ किन परमेश्वरको वचन पढ्छस्? के यो औपचारिकता मात्र होइन र? के तँ यसरी सत्यता बुझ्न सक्छस्? के तँ सत्यता प्राप्त गर्न सक्छस्? परमेश्वरमा यसरी विश्वास गर्नु अर्थहीन छ। धेरै मानिस परमेश्वरको थोरथोरै वचन पढ्छन्, यसको शाब्दिक अर्थ बुझ्छन्, अनि केही वचन र धर्मसिद्धान्तहरू बोलेर आफूले सत्यता बुझेको र आफूसँग सत्यता वास्तविकता भएको भन्ठान्छन्। कोही कोही भन्छन्, “म परमेश्वरको वचनमा सङ्गति गरिरहेको छु, त्यसैले यो कसरी शब्द र सिद्धान्तहरू मात्र हुन सक्छ?” तँलाई परमेश्वरको वचनको सार थाहा छैन, तँ उहाँको वचन अभ्यास गर्दैनस्, र निश्चित रूपमा तँमा त्यसको अनुभवात्मक ज्ञान छैन, त्यसैले तैँले त्यसबारे सङ्गति गर्दा शब्द र सिद्धान्तहरू बोलिरहेको हुन्छस्। अवश्य नै, परमेश्वरको वचन सत्यता हो, तर तँ त्यसलाई साँचो रूपमा बुझ्दैनस् वा अभ्यास गर्दैनस्, त्यसैले तैँले बुझ्ने कुरा भनेको धर्मसिद्धान्त मात्र हो। के तिमीहरू यो बुझ्न सक्छौ? के यी शब्दहरू सुनेर तिमीहरूको मन पोलिरहेको छ? के तिमीहरू यसो भन्नेछौ, “यदि मैले मेरा आमाबुबालाई सम्मान गरिनँ भने के त्यो ठूलो अपराध होइन र? मानिसबाट परमेश्वरले माग गर्ने मापदण्डले तिनीहरूको भावनालाई बेवास्ता गर्दैन र?” ल भन् त, के परमेश्वरले मानिसबाट माग गर्ने मापदण्डहरू उच्च छन्? वास्तवमा, ती उच्च छैनन्—मानिसको विवेक र समझको आधारमा ती त मानिसले पूरा गर्न सक्ने मापदण्ड हुन्। मानव स्नेहको प्रभावले गर्दा र परम्परागत संस्कृतिले मानिसहरूको हृदयमा बलियो, अचल जरा गाडिसकेको हुनाले तिनीहरूलाई परमेश्वरको माग अति उच्च, र आफ्नो पहुँचबाहिर छ भन्ने लाग्छ। यो सत्यता नबुझेको कारण भएको हो। यदि तँ साँच्चै सत्यता बुझ्छस् र यस मामिलाको साँचो प्रकृतिलाई छर्लङ्ग देख्छस् भने तैँले यो समस्यालाई सही तरिकाले लिन र सम्हाल्न सक्नेछस्। हजारौँ वर्षदेखि मानिसहरू परम्परागत संस्कृतिद्वारा प्रभावित हुँदै आएका छन्। शैतानको दर्शन र स्व-आचरण अँगाल्ने नियमहरूले मानिसहरूको हृदयमा जरा गाडिसकेका छन्। तँ यी विचारहरूअनुसार जिउँछस्, त्यसोभए तँ वास्तवमा केमा जिएको छस्? के तँ सामान्य मानवत्वमा जिएको छस्? के तँ वास्तविक जीवनमा जिएको छस्? तैँले यस मामिलालाई बुझ्नु र चिरफार गर्नु तेरा लागि सार्थक हुन्छ। तैँले परम्परागत संस्कृति र शैतानको दर्शन र दृष्टिकोणबाट आफूले के प्राप्त गरेको छु, अनि ती कुरा साँच्चै सत्यता हुन् कि होइनन्, र तीबाट तँलाई के प्राप्त हुन्छ भन्नेबारे चिन्तन गर्नुपर्छ। त्यसपछि तैँले यी मामिलामा सङ्गति गर्नुपर्छ र तिनलाई परमेश्वरका वचनअनुसार चिरफार गर्नुपर्छ। यदि तैँले यसो गरिस् भने, तँलाई सत्यता पत्ता लगाउन सजिलो हुनेछ। तैँले सत्यता र परमेश्वरको अभिप्राय बुझेपछि, मानिसप्रति परमेश्वरका मापदण्डहरू सबै मान्छेको विवेक र समझले पूरा गर्न सक्ने कुरा रहेछन् भनेर देख्नेछस्। स्वभावतः, तैँले परमेश्वर मानिसबाट अति धेरै माग गर्नुहुन्छ भनी गुनासो गर्न छोड्नेछस्। बरु, तैँले भन्नेछस्, “हामी सिद्धान्तहरू बुझ्छौँ; हामीसँग अभ्यासको मार्ग छ, र हामी यी कुराहरू कसरी सम्हाल्ने भनी जान्दछौँ।” यसरी अलिअलि गर्दै, तँ परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्नेछस्। सत्यता बुझ्ने प्रक्रिया यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।