आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग (भाग एक)
स्वभाव परिवर्तन भनेको के हो? धेरैजसो मानिसहरूले यो कुरा राम्रोसँग बुझ्दैनन्। स्वभाव परिवर्तन भनेको परमेश्वरका विश्वासीहरूका लागि मुख्य दर्शन हो। स्वभाव परिवर्तन गर्नु सजिलो कुरा होइन। किनभने परमेश्वरले मुक्ति दिने भनेको भर्खरै सृष्टि गरिएका र शैतानद्वारा भ्रष्ट नतुल्याइएका मानवजातिलाई होइन, तर त्यसद्वारा गहिरोसित भ्रष्ट तुल्याइएका, शैतानी विष र शैतानी स्वभावहरूले भरिएका, शैतानजस्तै अनि परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह गर्ने मानवजातिको समूहलाई हो। व्यक्तिको भ्रष्ट स्वभाव परिवर्तन गर्नु भनेको क्यान्सर लागेको व्यक्तिलाई उपचार गर्नुजस्तै हो। यो जटिल प्रक्रिया हो, होइन र? यसका लागि शल्यक्रिया, लामो समयसम्म किमोथेरापी, र केही समयपछि फेरि जाँच गर्नु आवश्यक पर्छ। यो प्रक्रिया साँच्चै जटिल हुन्छ। त्यसकारण, स्वभाव परिवर्तनलाई सजिलो कुरा नठान्। यो त मानिसले कल्पना गरेको व्यवहार वा चरित्र परिवर्तन होइन। मानिसले चाह्यो भन्दैमा हासिल हुने कुरा यो होइन। स्वभाव परिवर्तनमा धेरै प्रक्रिया—परमेश्वरका वचनमा एकदमै प्रस्टसित व्याख्या गरिएका प्रक्रियाहरू सामेल छन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको पहिलो दिनदेखि नै, परमेश्वरले मानिसहरूलाई मुक्ति दिने तरिका र तिनीहरूलाई मुक्ति दिएर हासिल गर्न चाहने परिणाम बुझ्नैपर्छ। यदि तँ सत्यता पछ्याउन र स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले परमेश्वरप्रतिको विश्वासबारे तेरा गलत दृष्टिकोणहरूलाई परिवर्तन गर्नैपर्छ। परमेश्वरमा विश्वास गर्नका लागि सुशील, असल व्यक्ति, वा कानुन पालक हुनु, वा अरूको अनुमोदन प्राप्त हुने थुप्रै असल कार्य गर्नु पर्दैन। विगतमा, मानिसहरू परमेश्वरमा विश्वास गर्नु र स्वभाव परिवर्तनको पछि लाग्नु भनेको मान्छे खुसी पारिहिँड्ने हुनु—बाहिरी रूपमा केही मानव स्वरूप, केही संस्कार, केही धैर्य, अथवा अरू मानिसप्रति केही सतही भक्तिभाव र प्रेम हुनु, अरूलाई मद्दत गर्नु र भिक्षा दिनु हो भन्ने सोच्थे। अर्को शब्दमा भन्नुपर्दा, मानव धारणा र कल्पनाहरूमा असल ठानिने व्यक्ति हुनु हो भन्ने सोच्थे। सबैका हृदयमा त्यस्ता धारणा र कुरा हुन्छन्—यो शैतानी विषहरूको एउटा पक्ष हो। विगतमा, परमेश्वरमा विश्वास गर्ने कसैले पनि स्वभाव परिवर्तनको विषयलाई प्रस्ट रूपले व्याख्या गर्न सक्थेन। तिनीहरूलाई आस्थाको मामिलाबारे थाहा थिएन—त्यो तिनीहरूले जन्मजात बुझेको, वा इसाई धर्ममा केही वर्ष विश्वास गरेपछि बुझ्न सकेको कुरा थिएन। किनभने परमेश्वरले त्यतिन्जेल उहाँको कामको यो पक्ष निर्वाह गर्नुभएको थिएन, न त सत्यताको यो पक्षबारे सङ्गति गर्नुभएको नै थियो। त्यसैले गर्दा धैरै मानिसहरू आफ्नो धारणा र कल्पनाका आधारमा आस्थालाई आफ्नो सतही व्यवहार र अभ्यासहरूलाई केही परिवर्तन गर्ने अनि आफ्ना केही प्रस्ट गलत दृष्टिकोणहरू परिवर्तन गर्ने विषय ठान्थे। कतिपयले त आस्था राख्नु भनेको ठुलठुला कठिनाइहरू सहनु, राम्रो खानेकुरा नखानु, वा फेन्सी कपडा नलगाउनु हो भनेरसमेत विश्वास गर्थे। जस्तै, विगतमा पश्चिमा देशका क्याथोलिक ननहरू परमेश्वरप्रतिको आस्था भनेको अझ बढी कठिनाइहरू भोग्नु र जीवनमा कम मात्रामा राम्रा कुराहरूको आनन्द लिनु—आफूसँग पैसा हुँदा गरिबलाई दिनु, वा थप असल कार्यहरू गर्नु र अरूलाई मद्दत गर्नु मात्र हो भन्ने विश्वास गर्थे। तिनीहरूले आफ्नो जीवनभरि कष्ट भोग्नुलाई जोड दिए। तिनीहरूले कुनै राम्रो खानेकुरा खाएनन्; तिनीहरूले कुनै राम्रा कपडा लाएनन्। तिनीहरूको मृत्यु हुँदा, तिनीहरूको कपडाको मोल केही डलर मात्र थियो। तिनीहरूका कार्यहरूबारे संसारभरि समाचारमा दिइएको हुन सक्ला। यसको मतलब के हो? यसको मतलब हो, मानिसहरूका मनमा, यस्ता मानिसहरू मात्र असल र सद्गुणी हुन्; धार्मिक संसारले यी मानिसहरूले मात्र असल कुरा र असल कार्य गरेका छन्, तिनीहरू मात्र रूपान्तरित भएका छन् र तिनीहरूमा मात्र साँच्चै दृढ विश्वास छ भन्ठान्छन्। त्यसैले, तिमीहरू सबै अपवाद होइनौ होला, सायद तिमीहरू पनि परमेश्वरप्रतिको आस्था भनेको असल व्यक्ति—अरूलाई नहिर्काउने वा बेइज्जत नगर्ने, नराम्रो भाषा प्रयोग नगर्ने वा खराब काम नगर्ने, बाहिरी रूपमा मानिसहरूले परमेश्वरको विश्वासीका रूपमा हेर्न सक्ने र परमेश्वरका महिमा गर्न सक्ने व्यक्ति बन्नु नै हो भनेर विश्वास गर्छौ। यो त भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकाहरूमा हुने मानसिक स्थिति हो। तिनीहरू स्वभाव परिवर्तन यही हो, र परमेश्वरलाई मन पर्ने व्यक्ति यस्तै हो भनी विश्वास गर्छन्। के यो दृष्टिकोण सही हो? भर्खरै आस्थामा लागेकाहरूमा मात्र यस्ता सिधासाधा सोच हुन्छ। व्यक्तिले केही सत्यता बुझिसकेपछि यस्ता सोचाइहरू तुरुन्तै हराउनेछन्। पहिले तेरो हृदयमा यो दृष्टिकोणले जति नै गहिरो जरा गाढेको भए पनि, तिमीहरूले अझै त्यसका त्रुटि र विचलनहरू उदाङ्गो पारेका छैनौ। तैँले परमेश्वरमा जति नै वर्ष विश्वास गरेको भए पनि, यी गलत दृष्टिकोणहरू पूर्णतया हटाइएको छैन। यसबाट के प्रस्ट हुन्छ भने स्वभाव परिवर्तन भनेको के हो भनी थोरै मानिसले मात्र साँच्चै बुझ्छन्, न त तिनीहरू परमेश्वरमा साँच्चै विश्वास गर्नुको अर्थ के हो, कसरी वास्तविक व्यक्ति बन्ने, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ, वा परमेश्वर कस्तो व्यक्तिलाई स्वीकार्य ठान्नुहुन्छ, र परमेश्वर कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा नै बुझ्छन्। यदि तँ यी कुराहरू बुझ्दैनस् भने, त्यसबाट तैँले साँचो मार्गमा बलियो जग बसालेको छैनस् भन्ने देखिन्छ। ती मानव धारणा, कल्पना, र व्यक्तिगत सोचहरू अझै पनि तेरो सोचाइ र दृष्टिकोणमा हाबी हुन्छन्।
कतिपय मानिस यसो भन्छन्: “मलाई आफू अझै परिवर्तन भएको छैन भन्ने लाग्छ। यदि मेरो बच्चा अनाज्ञाकारी भयो, वा मेरा श्रीमानले मलाई मन नपर्ने केही कुरा गरे भने मलाई रिस उठ्छ। गैरविश्वासीहरूले परमेश्वरमा विश्वास नगरेको देख्दा, म तिनीहरूलाई घृणा गर्छु। के यी कुरा अझै पनि भ्रष्टता र स्वभाव परिवर्तनको कमी प्रकट हुनु होइनन् र?” के यो भनाइ सही हो? (अहँ, होइन।) त्यसमा के गलत छ? त्यो बाहिरी व्यवहारमा मात्र केन्द्रित छ। ल भन् त, परमेश्वरले स्वभाव परिवर्तनको कुरा गर्नुहुँदा, के व्यक्तिको चरित्र वा मनोदशाको परिवर्तन भन्न खोज्नुभएको हो? कदापि होइन। कतिपय मानिस स्वभाव परिवर्तन भनेको त चरित्रमा हुने परिवर्तन मात्र हो भन्ने विश्वास गर्छन्, अनि विशेष गरी धैर्यवान् हुनु र कहिल्यै नरिसाउनु नै स्वभाव परिवर्तन हो भन्ठान्छन्, तर यो गम्भीर भूल हो। धेरैजसो मानिस स्वभाव परिवर्तनको मामिलालाई प्रस्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरू अहिले आफू परमेश्वरको निकट भएको र केही क्षेत्रमा परमेश्वरसित मिल्दो रहेको, र कहिलेकाहीँ तिनीहरू आफ्नो धारणा र कल्पनासँग नमिल्ने कुराहरू आइपर्दा समर्पित हुन नसक्ने भए पनि र रिसाए पनि, आफूले पछि यसबारे चिन्तन गर्न, यसलाई जान्न, र परमेश्वरलाई प्रार्थना र पश्चात्ताप गर्न सक्ने हुनाले, त्यसको मतलब आफू परिवर्तन भएको छ भन्ने सोच्छन्। के तिमीहरूलाई यस प्रकारको परिवर्तनले स्वभाव परिवर्तनलाई जनाउँछ भन्ने लाग्छ? तिमीहरू यस्तो स्थितिलाई कसरी चिन्छौ? स्वभाव परिवर्तनमा केके पर्छन्? स्वभाव परिवर्तन भएका व्यक्तिमा कस्ता स्थिति र प्रकटीकरणहरू देखा पर्छन्? (स्वभाव परिवर्तन भनेको परमेश्वरको वचनको न्याय र सजाय स्विकार्नु, आफ्नो सार जान्नु, कामकुराबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्नु, र बिस्तारै परमेश्वरसित मिल्दो हुनु हो। यो कहिल्यै नरिसाउनु, वा रिसाउन कम गर्न आफूलाई काबुमा राख्न सक्नु होइन। यसको स्वभाव परिवर्तनसँग केही सम्बन्ध छैन।) यो निकै सही बुझाइ हो। म पहिला तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु, र तिमीहरू त्यसबारे मनन गर्न सक्छौ: यदि तेरो स्वभाव परिवर्तन भएको छ र तँ सत्यता बुझ्छस् भने, कामकुराबारे तेरो विचार परमेश्वरसँग मिल्नेछ। कामकुराबारे तेरो विचार परमेश्वरसँग मिलेपछि, के तँ अझै पनि भ्रष्ट मानवहरूसँग मिल्नेछस्? तँ मिल्नेछैनस्। तैँले हृदयमा शैतानहरू र दियाबलसहरूलाई घृणा गर्न सक्नेछस्, अनि परमेश्वरलाई प्रतिरोध गर्ने र विश्वासघात गर्ने भ्रष्ट मानवहरूप्रति तँलाई विरोध, वितृष्णा, र घृणा जाग्नेछ; तैँले सबै प्रकारका नकारात्मक कुरालाई घृणा गर्न सक्नेछस्, तँ दियाबलसका मानिसहरूसँग सङ्गत गर्न झन् बढी अनिच्छुक हुनेछस्, अनि तँ परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्न र घृणा गर्ने कुरालाई घृणा गर्न सक्षम हुनेछस्। सत्यता बुझेर हासिल हुने नतिजाहरू यिनै हुन्। यदि तँ आफूलाई साँच्चै जान्न र आफ्नो प्रकृति सारलाई छर्लङ्गै देख्न सक्छस् भने, तैँले भ्रष्ट मानवताको साझा सार छर्लङ्गै देख्न, र परमेश्वरको प्रतिरोध गर्ने ती भ्रष्ट मानवहरूलाई स्वाभाविक रूपले घृणा गर्न सक्नेछस्। जब तैँले तिनीहरूको मिथ्या र निरर्थक विचारहरू देख्छस्, तब तँ तिनीहरूको सङ्गत गर्न अनिच्छुक हुनेछस्, अनि तँ तिनलाई घिनाउनेछस् र इन्कार गर्नेछस्। विशेष गरी जब तँ धार्मिक संसारले देहधारणलाई घोर निन्दा गरेको अनि सत्यतालाई चरम घृणा र तिरस्कार गरेको देख्छस्, तब तैँले स्वाभाविक रूपमा यी ख्रीष्टविरोधी शक्तिहरूलाई तिरस्कार र पूर्णतया इन्कार गर्नेछस्। यदि तँ सच्चा रूपमा सत्यता बुझ्छस् र परेमश्वरलाई चिन्छस् भने, तैँले परमेश्वरप्रति शत्रुता राख्ने, उहाँविरुद्ध विद्रोह गर्ने, उहाँलाई त्याग्ने र विश्वासघात गर्नेहरूलाई स्वाभाविक रूपमा तिरस्कार गर्नेछस्। अझै पनि तँ तिनीहरूसँग सम्भवतः कसरी मिल्दो हुन सक्थिस् र? त्यसकारण, यदि तेरो जीवन स्वभाव परिवर्तन भएको छ भने, विशेषतः तैँले गैरविश्वासीहरू र परमेश्वरको प्रतिरोध गर्ने सबैलाई घृणा र तिरस्कार गर्नेछस्। तर, अहिले हामी भ्रष्ट मानवहरूमाझ जिउने भएकाले, हामी सहन र बुद्धिका आधारमा जिउन मात्र सक्छौँ। हामीले सत्यता बुझ्यो र आफ्नो स्वभाव परिवर्तन भयो भन्दैमा तिनीहरूलाई तिरस्कार गर्न, र तिनीहरूसँग दूरी बनाउन, तिनीहरूलाई बेवास्ता गर्न, वा तिनीहरूलाई देख्दा झगडा गर्न मिल्दैन। हामीले यी कुराहरू गर्नै हुँदैन, हामी बुद्धिमान् हुनैपर्छ। तिमीहरूले अझै बुझ्दै नबुझ्ने अर्को समस्या छ—तिमीहरूमध्ये कतिपयले सोच्छौ, स्वभाव परिवर्तन र परमेश्वरसँग मिल्दो हुनु भनेको बिलकुलै रिस नगर्नु, अनि दियाबलस र शैतानहरूप्रति समेत नम्र र दयालु हुनु अनि मुस्कुराउनु हो, यो नै स्वभाव परिवर्तन हो। के यो सही बुझाइ हो र? (अहँ, होइन।) यो अत्यन्तै गलत बुझाइ हो। तर यो किन गलत हो? परमेश्वर मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ, र उहाँले धेरै वचन बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ, तर उहाँ मानिस कस्तो खालको व्यक्ति बनेको चाहनुहुन्छ? उहाँ मानिसहरू सत्यताका डोऱ्याइमा चल्ने सोच भएका, सत्यतालाई जीवनको आदर्शका रूपमा लिने व्यक्ति बनेको चाहनुहुन्छ। उहाँ मानिसहरू विचारहीन, मूर्ख व्यक्तिजस्तो बनेको चाहनुहुन्न, झन् रिसविनाको वा सामान्य संवेग नभएको, चेतनाशुन्य व्यक्तिजस्तो बनेको चाहनु त परको कुरा हो। उहाँले मानिसहरू सत्यता बुझ्ने अनि उहाँको वचन सुन्न अनि उहाँप्रति समर्पित हुन सक्ने व्यक्ति, अर्थात् उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्ने र घृणा गर्ने कुरालाई घृणा गर्ने, उहाँले मन पराउने कुरालाई मन पराउने र तिरस्कार गर्ने कुरालाई घृणा र तिरस्कार गर्ने सामान्य व्यक्ति बनेको चाहनुहुन्छ। अब तिमीहरू मानिसका स्वभावमा परमेश्वर के परिवर्तन गर्न चाहनुहुन्छ भन्नेबारे प्रस्ट हुनुपर्छ। परमेश्वरले अत्यन्तै धेरै वचन बोल्नुभएको छ र अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ; उहाँ मानिसहरूलाई मुक्ति दिन र आफ्नो वचनद्वारा हर व्यक्तिलाई परिवर्तन गर्न चाहनुहुन्छ। परमेश्वर आफूले पूर्ण बनाउने मानिसहरूको स्वरूप कस्तो भएको चाहनुहुन्छ भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? म धेरै दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्ने गरेको सुन्छु, “मैले यत्तिका समयदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु, तर अझै पनि म बाहिरी कुराहरूका बन्धनमा छु।” कतिपय दिदीबहिनी यसो भन्छन्, “गैरविश्वासीहरूले लगाउने कपडा देख्छु र त्यो लगाउन चाहन्छु, अनि चटक्क पारेर पोसाक लगाएकाहरूलाई छड्के नजरले निकै हेर्न चाहन्छु।” कतिपय दाजुभाइ यसो भन्छन्, “म धनाढ्य, सम्पन्न परिवारहरू देख्छु, र म पनि पैसा कमाउन चाहन्छु। कुनै राम्री केटी देख्दा, म उनलाई फेरि हेर्न चाहन्छु, र आफूलाई बेखुस तुल्याउने कुरा देख्दा मलाई झोँक चलेको जस्तो हुन्छ। मेरा यी भ्रष्ट स्वभावहरू अझै परिवर्तन भएका छैनन्, र मलाई परिस्थिति आइपर्दा, म सधैँ एकदमै अनियन्त्रित रूपमा कल्पनामा डुब्छु। म यी कुराहरूलाई कसरी नियन्त्रण गर्न सक्छु? म कहिले परिवर्तन हुन सक्नेछु?” यिनै विचारहरूले मलाई तिमीहरू स्वभाव परिवर्तनको अर्थ बुझ्दैनौ भन्ने तुल्यायो। तिमीहरू केवल तिमीहरूको व्यवहार, तिमीहरूका बाहिरी कार्यहरू, तिमीहरूको रिस र चरित्रका सम्बन्धमा आफूलाई संयमित राखिरहेका छौ। यस तरिकाले स्वभाव परिवर्तन गर्नु सम्भव हुँदैन। तिमीहरूले स्वतन्त्र रूपमा बोल्ने, वा मन लाग्दा आफ्नो भावना पोखाउने, वा रिसाउने आदि गर्नु हुँदैन भनेर परमेश्वरका कुन वचनहरूले भन्छन्? के परमेश्वरको वचनले यही भन्छ? उहाँको वचनले केवल मान्छेको भ्रष्ट सारबारे धेरै कुरा खुलासा गर्छ, मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभाव कसरी चिन्ने, कसरी त्यो हटाउने र स्वभाव परिवर्तन गर्ने, शैतानको प्रभावबाट मुक्त हुने, र त्यसपछि परमेश्वरको मापदण्डका आधारमा कार्य गर्ने, र परेमश्वरको अभिप्रायअनुरूपको हुने र ती पूरा गर्ने व्यक्ति बन्ने भनेर बताउँछ। के तैँले स्वभाव परिवर्तन के हो भन्नेबारे बुझेपछि पनि यी बाहिरी कार्यहरूलाई हदै ध्यान दिनेछस्? के तँ अझै यी बाहिरी मामिलाहरूमा अल्झिरहनेछस्? (अहँ।) यदि तँ स्वभाव परिवर्तन भनेको के हो भन्ने बुझ्दैनस् भने, तैँले कहिल्यै त्यसको सार बुझ्नेछैनस् वा त्यो हासिल गर्नेछैनस्। विशेष गरी, भर्खरै धर्म परिवर्तन गरेकाहरूले परमेश्वरप्रतिको विश्वासबारे राख्ने दृष्टिकोण अझै पनि धर्मका विचार र धारणाबाट परिवर्तन भएको हुँदैन। तिनीहरू अझै पनि आत्मिक, भक्त, विनम्र, र धैर्यवान् व्यक्ति, मान्छेलाई खुसी पारिहिँड्ने प्रेमिलो, र असल सामरी हुन खोज्छन्, तर यो ठूलो भूल हो! यदि तँ यस्तो आत्मिक व्यक्ति र मान्छेलाई खुसी पारिहिँड्ने हुन खोज्छस् भने, तँ आत्मिक बुझाइ नभएको व्यक्ति होस्। के मान्छेलाई खुसी पारिहिँड्ने व्यक्तिले सत्यता बुझ्न सक्छ? के उसले आफूलाई जान्न र आफ्नो भ्रष्ट स्वभाव हटाउन सक्छ? पक्कै सक्दैन। मान्छेलाई खुसी पार्न खोज्नेहरूले कहिल्यै सत्यता प्राप्त गर्नेछैनन्, कहिल्यै आफूलाई जान्न र स्वभाव परिवर्तन गर्न सक्नेछैनन्, र कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनन्। त्यसकारण, यदि तँ स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले पहिला त्यो के हो, अनि परमेश्वरप्रतिको साँचो विश्वास र समर्पण के हुन् भनेर बुझ्नैपर्छ। त्यसपछि मात्र तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्नेछस्।
स्वभाव परिवर्तन अनुष्ठान वा नियमका परिवर्तनमा निर्भर हुँदैन, झन् व्यक्तिको बाहिरी स्वरूप वा बाहिरी व्यवहार, चरित्र, वा स्वभाव परिवर्तनमा निर्भर हुनु त परको कुरा हो। यो सुस्त स्वभावलाई तीव्र स्वभावमा वा तीव्र स्वभावलाई सुस्त स्वभावमा रूपान्तरण गर्नु होइन, न त यो अन्तर्मुखीलाई बहिर्मुखीमा रूपान्तरण गर्नु, वा बोलक्कड व्यक्तिलाई अल्पभाषी व्यक्तिमा रूपान्तरण गर्नु नै हो। यो मार्ग होइन, यो परमेश्वरका मापदण्डहरूभन्दा एकदमै फरक छ, र असाध्यै टाढा छ! कसैले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, उसले सत्यता नबुझ्ने हुनाले सधैँ आफ्नो धारणा र कल्पनाअनुसार कामकुरा गर्छ। फलस्वरूप, ऊ सही मार्गबाट तर्किन्छ, अनि कुनै वास्तविक कुरा हासिल नगरी आफ्नो कैयौँ वर्ष खेर फाल्छ। त्यो बेला, उसलाई परमेश्वरप्रतिका विश्वासमा सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्ने थाहा हुँदैन। यसले गर्दा ऊ वर्षौँसम्म गलत मोडहरूतिर लाग्छ, तब मात्र उसले परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्न वास्तविकतामा प्रवेश गर्नु, अनि यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी विश्वास गर्छ। त्यसपछि मात्र उसले, परमेश्वरले उल्लेख गर्ने स्वभाव परिवर्तनले बाहिरी व्यवहारको परिवर्तनलाई जनाउँदैन, बरु परमेश्वर मानिसहरूले आफूलाई र आफ्नो भ्रष्ट सारलाई चिनेको, प्रयत्न गरेको र मान्छेको प्रकृति सारलाई बुझ्नेसम्बन्धी जड कारण फेला पारेको, अनि आफ्नो भ्रष्ट स्वभाव हटाएको, सत्यता अभ्यास गरेको, अनि परमेश्वरप्रति समर्पित हुन र उहाँको आराधना गर्न सकेको माग गर्दै हुनुहुन्छ भनेर बुझ्छ। आफ्नो जीवन स्वभाव परिवर्तन गर्नु भनेको यही हो। के अब तिमीहरूलाई कुनै स्वभाव परिवर्तन नगरी आफूले वर्षौँदेखि परमेश्वरमा विश्वास गर्दै आउनुको जड कारण थाहा भयो? कारण हो, तिमीहरू स्वभाव परिवर्तन के हो भन्ने बुझ्दैनौ, अनि मानिसहरूलाई मुक्ति दिएर परमेश्वरले के नतिजा र मानकहरू हासिल गर्न चाहनुहुन्छ भन्ने तिमीहरूलाई थाहा छैन। कतिपय मानिस सत्यताको यो पक्ष नस्विकार्लान् र यसो भन्लान्: “स्वभाव परिवर्तन भनेको के हो भन्ने मलाई थाहा छ, तर म आफूलाई नियन्त्रण गर्नै सक्दिनँ। म सधैँ आफूलाई गर्न मन लाग्ने, र सही लाग्ने कुराहरू गर्छु।” समग्रमा, तैँले त्यसलाई जसरी व्यक्त गरे पनि, यस्तो बोलाइले स्वभाव परिवर्तन भनेको के हो भन्ने तैँले अझै बुझ्दैनस्, जसले गर्दा तैँले सबै प्रकारका धारणा र कल्पना पैदा गरेको छस् भन्ने प्रमाणित गर्छ। स्वभाव परिवर्तनबारे जति धेरै कुरा गरिन्छ, उति नै त्यो तँबाट टाढा लाग्छ, उति नै त्यो तेरो पहुँचबाहिर लाग्छ, र उती नै तँ त्यसको एक छेउ पुग्दैनस् भन्ने देखिन्छ। स्वभाव परिवर्तन र मानवजातिको प्रकृति सार खुलासा गर्नेबारे जति बढी छलफल हुन्छ, के तिमीहरूलाई आफ्नो स्वभाव बिलकुलै परिवर्तन नभएको, र आफूले कडा मेहनत गरिरहनैपर्छ भन्ने झन् बढी महसुस हुँदैन र? किन म तिमीहरूलाई स्वभाव परिवर्तनबारे सोध्ने गर्छु? वास्तवमा, मलाई तिमीहरूले जवाफ दिन सक्नेछैनौ भन्ने थाहा छ। कतिपय मानिसले यसो भन्नेछन्, “के तपाईं केवल हामीलाई कठिनाइमा पार्दै हुनुहुन्न र? तपाईंलाई हामी जवाफ दिन सक्दैनौँ भन्ने थाहा छ भने किन सोध्नुहुन्छ?” म तिमीहरूलाई कठिनाइमा पारिरहेको छैनँ। म हरेक प्रश्न सोधेर तिमीहरूले ती गहन रूपमा लिएको आशा गरिरहेको हुन्छु। हरेक वाक्य वा मैले सङ्गति गर्ने विषयबारे मात्र सोच्ने र आफूले ती बुझेजस्तो लागेपछि त्यो कुरा सकियो भन्ठान्ने नगर्। हरेक वाक्य र अहिले मैले सङ्गति गर्ने विषयवस्तुको हरेक पक्ष भनेको तिमीहरूले भविष्यमा पार गर्नुपर्ने एउटा प्रक्रिया हो। त्यसको कुनै भाग पनि छोड्न मिल्दैन, र यी सबै तिमीहरूसँग आधारभूत रूपमा नहुने कुरा हुन्। म तिमीहरू आत्मचिन्तन गर्नेछौ, र आफ्ना हृदयमा कुनै मानव धारणा र कल्पना छ कि छैन भनेर जाँच गर्नेछौ भन्ने आशामा प्रश्न सोध्ने गर्छु। तिमीहरूले परमेश्वरमा विश्वास गर्ने आफ्ना शैलीमा आफूसँग कुनै मानव धारणा वा कुनै गलत सोच र विचार छ कि छैन भनेर होसियारीसाथ चिन्तन गर्नुपर्छ। वास्तवमा, सबै मानिसका आ-आफ्ना सोचविचारहरू हुन्छन्, र परमेश्वरप्रतिको विश्वाससम्बन्धी मामिलाहरू अपवाद होइनन्। त्यसैले, तिमीहरूले यी सोच र धारणाहरूको सार जाँच्नैपर्छ। अहिले हामी भेलाहरूमा धार्मिक संसारका मानिसहरूले गरेजस्तो औपचारिकता पूरा गर्दैनौँ: बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रवचन सुन्ने, त्यति नै हो। के यो त्यति सरल हुन सक्छ? पक्कै हुँदैन। अहिले हामीले छलफल गर्ने विषयहरू मानव विषयहरूमध्ये सबैभन्दा उच्च र अरू कुनै विषयभन्दा बढी महत्त्वपूर्ण हुन्, किनकि अहिले हामीले कुरा गर्ने विषयहरू मानवताको भावी गन्तव्य, र मान्छेका लागि सबै थोकमाथि सार्वभौम हुनुहुने परमेश्वरको मापदण्डसँग सम्बन्धित छन्। हामी यस्तो प्रकारका विषयहरू खोजी गर्छौँ र तीबारे दैनिक सङ्गति गर्छौँ, तर सायद अझै पनि तिनलाई बुझ्दै नबुझ्नेहरू छन्। हामीले यी विषयहरूमा सङ्गति गरी सिध्याएका छैनौँ, र तीमध्ये कुनैलाई पनि पूर्ण रूपमा वर्णन वा व्याख्या गर्न सकिँदैन। त्यसकारण, जीवनका मामिलाहरू मानिसले कल्पना गरेजस्तो सजिला छैनन्। यो प्रवचनहरू अझ बढी सुन्ने, परमेश्वरको वचन अझ बढी पढ्ने, बढी नोटहरू बनाउने, र त्यसपछि केही प्रसिद्ध वाक्यांशहरू कण्ठ पार्ने, र ती कुरा भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न प्रयोग गर्ने कुरा मात्र होइन। यो त्यस्तो सरल छैन। तैँले ध्यान दिनैपर्छ, परमेश्वरले बताउने सत्यताको हरेक पक्ष बुझ्नैपर्छ, र यी कुरा मुक्ति प्राप्त गर्न खोज्ने हरेकले आफूलाई सुसज्जजित पार्नैपर्ने सत्यता पनि हुन्। यदि तैँले परमेश्वर किन मानिसले स्वभाव परिवर्तन गरेको चाहनुहुन्छ भनेर बुझिस् भने, हृदयमा यसलाई ध्यान दिनेछस् र सत्यताका लागि कोसिस गर्नेछस्। यदि तैँले स्वभाव परिवर्तन भनेको के हो भनेर प्रस्टसित बुझ्न सक्दैनस् भने, सत्यतालाई प्रेम गर्नेछैनस् वा त्यसलाई ध्यान दिनेछैनस्। त्यसको विपरीत, तँमा सत्यताप्रति रुचि हुनेछैन, त्यसैले तैँले त्यो कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। परमेश्वर सत्यताको तृष्णा गर्नेहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ तर सत्यता नपछ्याउनेहरूदेखि लुक्नुहुन्छ। यदि तँ तृष्णा गर्छस् र हृदयमा खोजी गर्छस् भने, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँमा काम गर्नुहुनेछ, र थोरै-थोरै गरेर तँलाई सत्यताका सबै पक्ष प्रस्टसँग बुझाउनुहुनेछ। के तिमीहरूलाई स्वभाव परिवर्तनको विषय महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ? (हो, यो महत्त्वपूर्ण छ।) यो निश्चय नै महत्त्वपूर्ण छ, किनकि तिमीहरूले अहिले तत्कालै सत्यताको यो पक्ष बुझ्न आवश्यक छ। तिमीहरू आफूमा सत्यता छैन, आफू परिवर्तन भएको छैन, र विपत्तिहरू आउँदा आफू त्यागिनेछु भनेर डराउँछौ, अनि आफू विपत्तिमा पर्नेछ र त्यसैमा कष्ट भोग्नुपर्नेछ भनेर डराउँछौ। अवश्य नै, कतिपय मानिस अहिले आफूले अत्यन्तै थोरै सत्यता बुझेको छ, र भविष्यमा परमेश्वरले परीक्षा लिनुहुँदा आफूले ठेस खानेछ र दृढ रहन सकिँदैन, आफ्नो पहिलेका प्रयत्नहरू सबै खेर जानेछन् भनेर डर मान्छन्। यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण भएकाले, यदि मानिसहरूले यस चरणमा मुक्ति प्राप्त गर्न सकेनन् भने, परमेश्वरप्रतिको तिनीहरूको विश्वास पूर्णतया विफल भएको हुनेछ, परमेश्वरप्रति तिनीहरूको आस्थाको जीवन समाप्त हुनेछ, र अन्ततः तिनीहरू नष्ट हुनेछन्।
यदि तँ स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले पहिला त्यो के हो भनेर बुझ्नैपर्छ। मैले भर्खरै कतिपय मानिस आफ्ना धारणामा स्वभाव परिवर्तन कस्तो भएको कल्पना गर्छन् भनेर बताएँ, र तिमीहरू सबै यी मानिसहरूको भनाइ र विचार बेठिक र गलत छन् अनि परमेश्वरले माग गर्ने स्वभाव परिवर्तनसित मिल्दैनन् भनेर सहमत हुन्छौ। त्यसैले, तिमीहरूले स्वभाव परिवर्तनलाई कसरी बुझ्नुपर्छ? तिमीहरूले कसरी स्वभाव परिवर्तन गर्नुपर्छ? स्वभाव परिवर्तन गर्नु चानचुने कुरै होइन। पहिला त तँसँग परमेश्वरको वचन खाने, पिउने र बोध गर्ने क्षमता हुनैपर्छ। यदि तँसँग यो क्षमता छैन भने, तैँले सत्यता बुझ्न वा आफूलाई चिन्न सक्नेछैनस्, र त्यसरी स्वभाव परिवर्तन गर्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, यदि तँ यस्तो परिवर्तन गर्न चाहन्छस् भने, तैँले आफ्नो भ्रष्ट स्वभावलाई जान्नैपर्छ, र परमेश्वरको वचनका आधारमा आफ्नो विविध मिथ्या सोच, दृष्टिकोण, व्यवहार र प्रकटीकरणलाई चिन्नुपर्छ। तैँले आफ्नो स्थितिलाई परमेश्वरको वचनसित तुलना गर्नुपर्छ, र आफ्नो भ्रष्ट स्वभावलाई बुझ्नुपर्छ, र यो भ्रष्ट स्वभावको सार परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्ने, र उहाँले घृणा गर्नुहुने कुरा हो भनी प्रस्टसँग बुझ्नुपर्छ। यो तरिकाले, तैँले आफ्नो भ्रष्ट स्वभाव फाल्न र बिस्तारै स्वभाव परिवर्तन गर्न सक्नेछस्। ल भन् त, मानवजातिलाई अत्यन्तै गहन रूपले भ्रष्ट तुल्याइएकाले, यदि तिनीहरू परमेश्वरले व्यक्त गर्ने सत्यताहरू स्विकार्दैनन् भने के तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न सक्नेछन् र? के तिनीहरूले मानवजातिको गम्भीर भ्रष्टताको वास्तविकता बुझ्न सक्नेछन् र? सबै भ्रष्ट मानिस शिक्षाका पक्षमा वकालत गर्छन्, तिनीहरू सबै जना ज्ञान स्विकार्छन् र त्यसका लागि प्रतिस्पर्धा गर्छन्, तर पनि मानव संसार झन्-झन् अन्धकार र दुष्ट बन्दै जान्छ। अनि मानवजातिलाई यस अन्धकारको प्रभावबाट बचाउन सक्ने को छ? त्यसकारण, यदि तँ परमेश्वरको वचनबाट तर्किन्छस् अनि उहाँको न्याय र शुद्धिकरण स्विकार्दैनस् भने, स्वभाव परिवर्तन गर्न र मानव स्वरूपमा जिउन पूर्णतया असम्भव हुन्छ। कतिपय मानिस यसो भन्छन्: “म मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्न चाहन्नँ, किनकि यी कुराहरू पढ्दा म मर्माहत हुन्छु र मलाई असहज हुन्छ।” के तिनीहरूले परमेश्वरका वचनहरूलाई यस तरिकाले लिएर आफूलाई चिन्न सक्नेछन्? के तिनीहरूलाई स्वभाव परिवर्तन गर्न सजिलो हुनेछ? यदि तँलाई मानवजातिलाई न्याय गर्ने र सजाय दिने परमेश्वरका वचनहरू पढ्न मन लाग्दैन भने ठिकै छ, किनकि परमेश्वरका घरमा तेरा लागि हेर्ने र सिक्ने परमेश्वरका वचनका भजनहरू, साथै अनुभवात्मक गवाही भिडियोहरू छन्। ती भजनहरू अझ धेरै गाउने गर्, किनकि तिनमा धूनहरू हालिएका हुनाले ती सिक्न र स्मरण गर्न सजिलो हुन्छ। परमेश्वरको वचनका यी भजनहरू यस तरिकाले गाउन सिक्दा नतिजा प्राप्त हुनेछ, र तँलाई उहाँका केही वचन सम्झन सजिलो हुनेछ। यी वचनहरूद्वारा सत्यतामा रुचि जगाउन सुरु गर्। परमेश्वरको वचन खाने र पिउने सम्बन्धमा समेत मानिसहरूको रुचि जगाउनुपर्छ—ल भन् त, मानवजाति भजनहरूमार्फत आफूले रुचि जगाएको हुनुपर्ने परमेश्वरको मापदण्डदेखि कति टाढा छन्? यसले के प्रमाणित गर्छ भने मानवजातिले सत्यतालाई एकदमै प्रेम गर्दैन! परमेश्वरका वचनहरू अति राम्ररी बोलिएका हुन्छन्, र सत्यताको जुनै पक्षमा सङ्गति गरिरहेको भए पनि, त्यो पक्ष मान्छेका लागि सुरुदेखि अन्त्यसम्म लाभदायक हुन्छ, तर पनि मानिसहरू त्यो खान र पिउन मन पराउँदैनन्। मानवजाति वास्तवमै परमेश्वरको मापदण्डदेखि एकदमै टाढा छन्! त्यसोभए, यो अवस्थामा के गर्नुपर्छ? पहिला, तैँले हरेकपटक परमेश्वरका वचनहरू खाँदा र पिउँदा उहाँलाई यसो भन्दै प्रार्थना गर्नैपर्छ: “हे परमेश्वर, स्वभाव परिवर्तनका लागि कोसिस गर्ने र राम्रो गन्तव्य हासिल गर्ने मेरो चाहना छ, किनकि मलाई विपत्तिमा पर्ने डर छ। म तपाईंका वचनहरू अझ धेरै खान र पिउन पनि चाहन्छु, तर मानिसहरूको न्याय र खुलासा गर्ने ती वचनहरू अति कठोर छन्, तिनले मलाई मर्माहत बनाउँछन्, त्यसैले म ती पढ्न चाहन्नँ। बिन्ती छ, मलाई तपाईंका वचनहरू बुझ्न, अनि तपाईंका वचनहरू मेरो जीवनलाई नै चाहिन्छ र ती नै मैले प्राप्त गर्नुपर्ने जीवन हुन् भनी बुझ्न अन्तर्दृष्टि दिनुहोस्, मद्दत गर्नुहोस र सक्षम तुल्याउनुहोस्।” यदि तैँले यसरी इमानदारीपूर्वक प्रार्थना गरिस् भने, थाहै नपाईसमेत परमेश्वरले तँमा काम गर्नुहुनेछ, र तँलाई बिस्तारै झन्-झन् गहन रूपमा उहाँका वचनहरू बुझ्न मद्दत गर्नुहुनेछ। कतिपय मानिस यसो भन्छन्: “मलाई परमेश्वरका वचनहरू खान र पिउन धेरै मन पर्छ, र मैले ती सुरुदेखि अन्त्यसम्म पढिसकेको छु, तर बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू कुन हुन्, र कुन सत्यता वास्तविकतामा प्रवेश गर्न सबैभन्दा महत्त्वपूर्ण छ, वा स्वभाव परिवर्तन गर्न कसरी पछ्याउनुपर्छ भन्ने मलाई थाहा छैन।” यो समस्यालाई कसरी हल गर्न सकिन्छ? पहिला, तैँले परमेश्वरका वचनहरूमा अझ निकै धेरै प्रयत्न गर्नैपर्छ। तिनलाई केहीपटक पढेर मात्र पुग्दैन। तैँले वास्तविक अनुभव नगरिन्जेल तिनलाई ध्यानपूर्वक धेरैपटक पढ्नैपर्छ, बारम्बार मनन र सङ्गति गर्नैपर्छ, र आफ्ना जीवनमा अभ्यास गर्नैपर्छ। त्यसपछि मात्र तैँले सत्यता बुझ्न सक्छस्। त्यसबाहेक, यदि तिमीहरू कतिपय विषयमा प्रस्टसँग सङ्गति गर्न सक्दैनौ भने, जतिसम्म सक्छौ त्यति मात्र सङ्गति गर। अहिले तिमीहरूले साँच्चै प्रस्टसँग सङ्गति गर्न नसक्ने विषयहरूलाई पर पन्साऊ; पहिला आफूलाई बुझ्न सजिला, र आफ्नो वर्तमान अनुभवको स्तरसँग मिल्ने विषयहरूमा सतही तहबाट सुरु गरेर गहिरिँदै सङ्गति गर। जीवन प्रवेश चानचुने कुरा होइन, र तीन वा पाँच वर्ष मात्र विश्वास गरेर गहन रूपमा प्रवेश गर्न असम्भव छ। यो त वयस्क बन्ने प्रक्रियाजस्तै हो: बाल्यकालदेखि अलिअलि गर्दै बढ्दै गएर अन्त्यमा २० वा ३० वर्षपछि वयस्क बन्छन्। परमेश्वरमा विश्वास गर्न पनि यतिका धेरै वर्षको अनुभव चाहिन्छ, र परमेश्वरप्रति समर्पित हुने र उहाँलाई प्रेम गर्ने सत्यताहरूका सन्दर्भमा भन्नुपर्दा, ती अनुभव गर्न जिन्दगीभरि लाग्छ। कतिपय मानिस यसो भन्छन्: “म यस तरिकाले परमेश्वरका वचनहरू खाने र पिउने गर्छु, तर मैले आफ्नो स्वभाव परिवर्तन गरेको छु कि छैनँ भनेर ठ्याक्कै कसरी मापन गर्न सक्छु?” धेरै दाजुभाइ-दिदीबहिनी यस प्रश्नबारे चिन्तित हुन्छन्। ल भन् त, जब बच्चा जन्मन्छ, र उसकी आमाले उसको पालनपोषण र हेरचाह गर्छे, तब के त्यो बच्चालाई आफू कहिले वयस्क होला भन्ने मतलब हुन्छ? पक्कै हुँदैन, किनकि उसले त्यो बुझ्दैन। त्यसैले, तैँले यो प्रश्न सोध्नु आवश्यक छैन। आफ्नो कद बढिन्जेलसम्म केवल प्रतीक्षा गर्, त्यसपछि स्वाभाविक रूपमा त्यो बुझ्नेछस्, र जब तँ परिवर्तन हुनुपर्ने समय आउँछ, तब स्वाभाविक रूपमै तँ परिवर्तन हुनेछस्। तैँले पार गर्ने हरेक चरण र अवधिमा परमेश्वरले केही कामकुरा गर्नुहुनेछ, तँलाई पाठहरू सिकाउन केही वातावरण वा मानिस, घटना र कामकुराको बन्दोबस्त गर्नुहुनेछ। सुरुवातदेखि अहिलेसम्मको परमेश्वरप्रतिको आफ्नो विश्वासबारे फर्केर सोच्, आफूले पहिलोपटक परमेश्वरमा विश्वास गर्दाका दृष्टिकोणलाई अहिलेको आफ्नो विचारसँग तुलना गर्, र आफू परिवर्तन भए-नभएको थाहा पाउनेछस्। अहिले चाहिँ, तिमीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको वचन अझ धेरै खानु र पिउनु, अझ धेरै सङ्गति गर्नु, अझ धेरै प्रवचन सुन्नु, र परमेश्वरका वचनहरूमा अझ मेहनत गर्नु हो। यसो गर्नु महत्त्वपूर्ण छ, र यो नै स्वभाव परिवर्तन गर्नका लागि प्रमुख सर्त हो। यदि तँ परमेश्वरका वचनहरू पढ्दैनस् वा सत्यतामा सङ्गति गर्दैनस्, बरु कसरी पवित्र आत्माको छुवाइ अनुभूत गर्ने, कसरी आत्मामा जिउने र आत्मिक बन्ने भनेर मात्र ध्यान दिन्छस् भने, के नतिजा हासिल गर्न सक्छस्? सधैँ यी कुराहरूमा ध्यान दिनुको कुनै अर्थ छैन, किनकि ती सबै गौण कुरा हुन्। त्यसोभए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? परमेश्वरका वचनहरू अझ धेरै खानु र पिउनु। यदि तँ उहाँका वचनहरू सावधानीपूर्वक खाँदैनस् र पिउँदैनस् भने, दैनिक भेला भए पनि वा धार्मिक अनुष्ठानहरू राम्ररी सञ्चालन गरे पनि, तैँले सत्यता बुझ्न सक्नेछैनस्, झन् त्यो अभ्यास गर्ने त कुरै छोडौँ। किनभने सबै सत्यता परमेश्वरका वचनमा छन्, र यदि तैँले उहाँका वचनहरू खाँदैनस् वा पिउँदैनस् भने, त्यो कहिल्यै प्राप्त गर्नेछैनस्। सबै सत्यता परमेश्वरका वचनहरूबाट आउँछ, र यदि तैँले उहाँको वचन छोडिस् भने, त्यो परमेश्वरलाई छोड्नुसरह हो। यदि तैँले परमेश्वरको वचन खान र पिउन छोडिस् भने, परमेश्वरमा विश्वास गरिरहेको हुँदैनस्, र तँ गैरविश्वासी हुन्छस्। त्यसपछि, तेरो व्यवहार जति नै राम्रो भए पनि, तैँले कहिल्यै मुक्ति प्राप्त गर्न सक्नेछैनस्। त्यसकारण, परमेश्वरमा विश्वास गर्नेहरूका लागि उहाँको वचन खानु र पिउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्वरका वचनमा मेहनत गरिस् भने, जति प्रयत्न लगाउँछस् त्यति नै प्राप्त गर्नेछस्। तैँले यी प्राप्तिहरू ठ्याक्कै कति ठूला छन् भनेर जाँच्नु र मापन गर्नु आवश्यक छैन, झन् त्यसको वास्ता गर्ने त कुरै छोडौँ। यो तेरो जिम्मेवारी होइन। परमेश्वरले आफ्नो काम आफै गर्नुहुनेछ, अनि उहाँले तँलाई व्याख्या गर्नुहुनेछ र अन्तर्दृष्टि दिनुहुनेछ, र थाहा दिनुहुनेछ। त्यसैले, यदि भविष्यमा कसैले “परमेश्वरले कहिले मेरो परीक्षा लिनुहुनेछ? के म खरो उत्रिन सक्नेछु? वास्तवमा मेरो स्वभाव कति परिवर्तन भएको छ? के परमेश्वरले मलाई ठ्याक्कै जवाफ दिन सक्नुहुन्न?” भनी सोधेमा, यो उद्दण्डता र अनुचित हो। तैँले यस्ता कुराहरूमा चिन्ता लिनु आवश्यकता नै छैन। जब तैँले कुनै दिन कद प्राप्त गर्छस्, र तेरो स्वभाव साँच्चै परिवर्तन भएको हुन्छ, तब तैँले आफूलाई आइपर्ने परिस्थितिलाई परमेश्वरले माग गर्ने विधिहरू प्रयोग गरेर पार गर्न र सही ढङ्गले सम्हाल्न सक्नेछस्। त्यसपछि तैँले आफू परिवर्तन भएको रहेछु भनेर थाहा पाउनेछस्। यो बाहिरी परिवर्तन नभई भित्री परिवर्तन हो, र यो स्वभाव र सारमा हुने परिवर्तन हो।
स्वभाव परिवर्तन रातारात हुने, वा केही वर्षको अनुभवपछि हासिल गर्न सकिने कुरा होइन। कतिपय मानिस आफ्नो खराब आनीबानी परिवर्तन गर्न थाल्दा प्रायः असफल हुन्छन् र ठेस खान्छन्, अनि सोच्छन्: “मलाई पुग्यो। म निराश छु। स्वभाव परिवर्तन मेरा लागि होइन, परिवर्तन हुनु मेरा लागि असम्भव छ। यदि मलाई यी ससाना त्रुटि र खराब बानीहरू परिवर्तन गर्नसमेत यति कठिन छ भने, निश्चय नै आफ्नो स्वभाव परिवर्तन गर्न त झन् बढी कठिन हुनेछ।” तिनीहरू नकारात्मक बन्छन्, आफ्नो कुनै आशा छैन जस्तो महसुस गर्छन्, अनि लामो समयसम्म परमेश्वरका वचनहरू खान र पिउन अनिच्छुक हुन्छन्। कसैले तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरू रिसाउँछन् र नकारात्मक हुन्छन्, आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, र सत्यतामा फिटिक्कै चासो लिँदैनन्। यो कस्तो स्थिति हो? यो गम्भीर समस्या हो। के तिमीहरूले कहिल्यै यस्तो अनुभव गरेका छौ? के तिमीहरूलाई आफ्नो जीवन अनुभवका क्रममा आफू सधैँ नकारात्मक, कमजोर, असफल हुनेछु र ठेस खानेछु भन्ने डर लाग्छ? तिमीहरूलाई डर लागे पनि नलागे पनि, वास्तविकता के हो भने स्वभाव परिवर्तन रातारात हुँदैन। किनभने स्वभाव परिवर्तन मानवजातिको भ्रष्ट प्रकृतिको जडबाट नै सुरु हुन्छ, अनि यो आमूल र पूर्ण रूपान्तरण हो। यो त कुनै व्यक्तिलाई क्यान्सर लागेर त्यसको ट्युमर बढ्नुजस्तै हो: उसले ट्युमर हटाउन शल्यक्रिया गर्नैपर्छ, उसले निकै कष्ट सहनैपर्छ, र यो एकदमै जटिल प्रक्रिया हो। स्वभाव परिवर्तनका क्रममा, तैँले अलिअलि सत्यता बुझ्न वा स्वभाव परिवर्तनको कुनै पक्ष हासिल गर्नअघि धेरै कुरा पार गर्लास्, वा अन्त्यमा थोरै परिवर्तन गर्नुअघि धेरै मानिस, घटना, कामकुरा, र विभिन्न परिवेश अनुभव गर्लास्, अनि धेरैवटा गलत दिशामा लाग्छस् होला। यो परिवर्तन जति नै ठूलो भए पनि मूल्यवान् हुन्छ, र परमेश्वरका नजरमा यो प्रिय र स्मरणीय हुन्छ किनकि त्यसका लागि तैँले निकै कष्ट भोगेको र ठूलो मूल्य चुकाएको हुन्छस्। परमेश्वर मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ, तिनीहरूका सोच र चाहना अनि कमजोरीहरू जान्नुहुन्छ, तर सबैभन्दा बढी परमेश्वर तिनीहरूलाई के आवश्यक छ भनी जान्नुहुन्छ। व्यावहारिक परमेश्वरलाई पछ्याउन हामीमा यो सङ्कल्प हुनैपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, जस्तो प्रकारका कठिनाइहरू आए पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्वरले मानवजातिलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसलाई वहन गर्न मानिसहरूमा सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्वर कायरहरूलाई मन पराउनुहुन्न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गर्ने, निकैपटक गलत मार्गमा हिँड्ने, वा धेरै अपराध गर्ने, परमेश्वरबारे गुनासो गर्ने, वा धर्मभित्र परमेश्वरको प्रतिरोध गर्ने वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्वर ती सबै कुरा हेर्नुहुन्न। परमेश्वर त कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र कुनै दिन ऊ परिवर्तन हुन सक्छ वा सक्दैन भनेर मात्र हेर्नुहुन्छ। बाइबलमा बिग्रेको छोरो घर फर्केको एउटा कथा छ—किन प्रभु येशूले यो नीतिकथा प्रयोग गर्नुभयो? त्यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय निश्चल छ र उहाँले मानिसलाई पश्चात्ताप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ भनी मानिसहरूलाई बुझाउनका लागि थियो। यो प्रक्रियाभरि, परमेश्वर मान्छेलाई बुझ्नुहुन्छ र उनीहरूको कमजोरी र भ्रष्टताको हदको राम्रो ज्ञान राख्नुहुन्छ। उहाँलाई थाहा छ, मानिसहरू पछारिनेछन् र असफल हुनेछन्। जसरी केटाकेटीले हिँड्न सिक्दा तिनीहरूको शरीर जतिसुकै बलियो भए पनि कुनै बेला तिनीहरू लड्ने र ठेस लाग्ने, अनि वस्तुहरूसित ठोक्किने र अल्झेर लड्ने त हुन्छ नै। जसरी एउटी आमाले आफ्नो सन्तानलाई बुझ्छे त्यसरी नै परमेश्वर हर व्यक्तिलाई बझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तनमा प्रवेश गर्ने प्रक्रियामा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर बुझ्नुहुन्छ। परमेश्वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसको मतलब परमेश्वर मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्वरद्वारा मुक्ति पाइने आशा हुन्छ। जब हामी स्वभाव परिवर्तन भनेको के हो, र त्यसका लागि कस्तो प्रक्रिया आवश्यक पर्छ भनेर बुझ्छौँ, तब हामी डराउनु हुँदैन, बरु आस्था राख्नुपर्छ र परमेश्वरसामु यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म अत्यन्तै गहन रूपमा भ्रष्ट छु। मलाई सत्यता के हो भन्नेसमेत थाहा छैन, झन् स्वभाव परिवर्तन भनेको के हो भनेर थाहा हुनु त परको कुरा हो। मलाई साँच्चै तपाईंको मुक्ति, मद्दत र भरणपोषण चाहिन्छ, ताकि मैले तपाईंका वचनहरू कसरी बुझ्ने र अभ्यास गर्ने भनेर जान्न, तीबाट ज्ञान र अनुभव हासिल गर्न, र यसरी तपाईंको वचनलाई आफ्ना जीवनमा ल्याउन सकूँ, अनि आफ्नो हरेक बोली र कार्यमा, आफ्नो हरेक कदममा, आफ्ना सबै अभिप्राय र आफूले गर्ने हर कुरामा तपाईंको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सकूँ। म यसको आशा गर्छु, म यसको तृष्णा गर्छु, म तपाईंलाई सन्तुष्ट तुल्याउन सामान्य मानवता र साँचो मानव स्वरूपमा जिउने तृष्णा गर्छु। तर अझै म यो हासिल गर्न सक्दिनँ, मेरो भ्रष्टता अझै यति ठूलो छ कि त्यसलाई म आफै महसुससमेत गर्दिनँ। कृपया, मलाई प्रकाश गर्नुहोस्, मलाई मद्दत गर्नुहोस, र मेरो भरणपोषण गर्नुहोस्। मलाई अहिले चाहिएको यही हो।” तैँले यस प्रकारको प्रार्थना गर्नुपर्छ र तँसँग यस प्रकारको सङ्कल्प हुनुपर्छ। तैँले यसरी प्रार्थना गरेपछि थाहै नपाई तेरो हृदय र जीवन परिवर्तन हुनेछ, किनकि तँ कसरी प्रार्थना र खोजी गर्छस् त्यो तेरो सङ्कल्पमा र परमेश्वरले तेरो सङ्कल्प पूरा गर्ने तरिकामा झल्किन्छ। तँ सधैँ असफलतादेखि त्रसित भएर हुँदैन, र तँ साँच्चै केही हुनुअघि नै डराउनुले के प्रमाणित गर्छ भने स्वभाव परिवर्तनका मामिलामा तँमा सङ्कल्प र आस्थाको कमी छ। प्रथमतः तैँले स्वभाव रातारात परिवर्तन हुँदैन भनेर बुझ्नैपर्छ। के तिमीहरूलाई शैतानले मानवजातिलाई रातारात अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको हो भन्ने लाग्छ? अहँ, मानिसहरू शैतानद्वारा हजारौँ वर्षदेखि भ्रष्ट तुल्याइँदै आएका छन्, तिनीहरूको शैतानी प्रकृति पूर्ण रूपमा खुलासा गरिएको छ, र त्यो तिनीहरूले नियन्त्रण गर्न नसक्ने हदमा पुगेको छ, र तिनीहरूको स्वाभाविक प्रकटीकरणले शैतानको प्रकटीकरणलाई उछिन्न मात्र सक्छ। तिनीहरू परमेश्वरका शत्रु बन्ने तहमा अनि कुनै कुरा सत्यता, परमेश्वरको वचन, वा परमेश्वरबाट आएको कुरा हो भन्ने सुन्दा आफूलाई अरूचि, तिरस्कार र घृणा लाग्ने हदमा पुगेका हुन्छन्। मानिसहरू त्यस हदसम्म भ्रष्ट र भावशून्य हुन्छन्, त्यसैले तिनीहरूलाई सत्यता बुझ्न सजिलो हुँदैन, झन् स्वभाव परिवर्तन गर्न सजिलो हुने त कुरै छोडौँ। व्यक्तिको स्वभाव परिवर्तन गर्नु उसको व्यवहार परिवर्तन गर्नु जत्तिकै सजिलो हुँदैन। त्यसकारण, हामीले स्वभाव परिवर्तनको यो मामिलालाई सही ढङ्गमा बुझ्नैपर्छ, र त्यसलाई सही मनोवृत्तिले सम्हाल्नैपर्छ। हामीले कल्पनामा चुर्लुम्मै डुबेर यसो भन्न मिल्दैन, “म परमेश्वरमा विश्वास गर्छु, र मैले सुरुदेखि नै उहाँका वचनहरू खाँदै र पिउँदै आइरहेको छु। यदि परमेश्वरले अलि बढी काम गर्नुभयो, अनि केही चिन्ह र अचम्मका कार्यहरू गर्नुभयो भने, के म परिवर्तन हुनेछैनँ र?” यो अवास्तविक विचार र मानव कल्पना हो। यदि हामीले मानव धारणा र कल्पना पछ्याएको भए, परमेश्वरले आफ्नो न्यायको काम गर्नुपर्ने थिएन, न त मानवजातिको भ्रष्टता खुलासा गर्ने यतिका धेरै वचन व्यक्त नै गर्नुपर्ने थियो, झन् मानिसहरूलाई जाँच र शोधन गर्नुपर्ने त कुरै छोडौँ। ल भन् त, परमेश्वरको व्यवस्थापन योजनामा, के उहाँ शैतानलाई हराउन मानवजातिलाई मुक्ति दिनुहुन्छ, कि मानवजातिलाई मुक्ति दिन शैतानसँग लडाइँ गर्नुहुन्छ? (परमेश्वर मानवजातिलाई मुक्ति दिन शैतानसँग लडाइँ गर्नुहुन्छ।) ठिक भनिस्। हामीमा परमेश्वरको व्यवस्थापन योजनाको सही बुझाइ हुनैपर्छ। त्यसैले, भविष्यमा “परमेश्वरले शैतानलाई किन नष्ट गरिहाल्नुहुन्न?” भन्ने मूर्ख अभिव्यक्ति नदे। शैतानको भ्रष्टता नभएको भए, के परमेश्वरले हामीलाई मुक्ति दिन यतिका धेरै सत्यता व्यक्त गर्नुहुनेथ्यो? के हामीले अहिलेसम्म यतिका धेरै सत्यता हासिल गरेका हुनेथियौँ र? शैतानको भ्रष्टता नहुँदो हो त, मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजना कहिल्यै उदय भएको हुन्थेन, न त परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूको यो समूहलाई सिद्ध पारेर शेष जन बनाउने योजना नै गर्नुभएको हुनेथ्यो। परमेश्वर मानवजातिलाई मुक्ति दिन र मानिसहरूको समूह प्राप्त गर्न शैतानसित लडाइँ गर्नुहुन्छ। परमेश्वर हाम्रो समूहका मानिसहरूलाई सिद्ध पार्नकै निम्ति शैतानसँग लडाइँ गर्न देहधारी हुनुभयो पनि भन्न सकिन्छ। त्यसकारण, हामीले परमेश्वरको अभिप्राय देखेका छौँ, अनि उहाँको व्यवस्थापन योजनाको लक्ष्य र मूल कुरा भनेको साँचो मानिसहरूको समूह प्राप्त गर्नु हो। यो नै परमेश्वरको व्यवस्थापन योजना हो। त्यसैले, परमेश्वरप्रतिका विश्वासमा स्वभाव परिवर्तन गर्नु, र पूर्ण रूपमा परमेश्वरले प्रेम गर्ने र प्राप्त गर्न चाहने साँचो व्यक्ति बन्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा तैँले बुझ्न सक्छस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।