परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९७

जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्‍न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्‍नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको निराकरण गर्नको लागि परमेश्‍वरसँग सम्‍बन्धित स्वर्गीय आदेश र उर्दीहरू हुन्छन्; यो ठोस कुरा हो। त्यसकारण, परमेश्‍वरको हजारौं वर्षको व्यवस्थापन कार्यको अवधिमा, गलत कार्य गर्ने कतिपय कर्तव्य निर्वाहकर्ताहरूलाई समाप्त पारिएको छ, र कतिलाई आजको दिनसम्‍म नै थुनामा राखिएको र दण्ड दिइएको छ। आत्मिक संसारमा हरेक प्राणीले सामना गर्नुपर्ने कुरा यही हो। यदि तिनीहरूले कुनै गलत वा दुष्ट कार्य गरे भने, तिनीहरूलाई दण्ड दिइन्छ—र यो कुरा परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूलाई गर्नुहुने व्यवहार जस्तै छ। तसर्थ, आत्मिक संसार र भौतिक संसार दुवैमा, परमेश्‍वरले जुन सिद्धान्तहरू अनुसार काम गर्नुहुन्छ, ती परिवर्तन हुँदैनन्। तैँले परमेश्‍वरका कार्यहरूलाई देख्‍न सके पनि नसके पनि, तिनका सिद्धान्तहरू परिवर्तन हुँदैनन्। सम्पूर्ण समयमा, परमेश्‍वरले सबै थोकलाई गर्ने व्यवहार र सबै थोकलाई सम्‍हाल्‍ने कार्यमा उही सिद्धान्तहरू अनुसार काम गर्नुभयो। यो अपरिवर्तनीय कुरा हो। परमेश्‍वरले तुलनात्मक रूपमा उचित तरिकाले जिउने अविश्‍वासीहरूलाई दया गर्नुहुनेछ, र हरेक धर्ममा रही राम्रो व्यवहार गर्ने र दुष्ट कार्य नगर्नेहरूलाई अवसरहरू दिनुहुनेछ, र परमेश्‍वरले व्यवस्थापन गर्नुहुने सबै थोकमा तिनीहरूलाई आफ्‍नो भूमिका निर्वाह गर्न र तिनीहरूले गर्नुपर्ने कार्य गर्न दिनुहुनेछ। यसरी नै, परमेश्‍वरलाई पछ्याउनेहरू, र उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरले उहाँका यी सिद्धान्तहरू अनुसार कुनै पनि व्यक्तिलाई पक्षपात गर्नुहुन्‍न। इमानदार रूपमा उहाँलाई पछ्याउन सक्‍ने हरेक व्यक्तिप्रति उहाँ दयालु हुनुहुन्छ, र उहाँलाई इमानदार रूपमा पछ्याउने प्रत्येकलाई उहाँले प्रेम गर्नुहुन्छ। यति मात्रै हो कि यी विभिन्‍न प्रकारका मानिसहरूलाई—अविश्‍वासीहरू, विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई—उहाँले दिनुहुने कुराहरू फरक-फरक हुन्छन्। उदाहरणको लागि अविश्‍वासीहरूलाई लिऊँ: तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरे तापनि, र परमेश्‍वरले तिनीहरूलाई पशुका रूपमा हेर्नुहुने भए तापनि, सबै थोकको बीचमा तिनीहरू प्रत्येकसँग खानलाई खाने कुरा, बस्‍नलाई तिनीहरूको आफ्‍नै स्थान, र जीवन र मृत्युको सामान्य चक्र हुन्छ। दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिइन्छ, र असल कार्य गर्नेहरू आशिषित हुन्छन् र तिनीहरूले परमेश्‍वरको दया प्राप्त गर्छन्। कुरा यही त हो नि, होइन र? विश्‍वासका मानिसहरूको हकमा, यदि तिनीहरूले एक जन्‍मपछि अर्को जन्‍मसम्‍म तिनीहरूका धार्मिक नियमहरूलाई कठोरताका साथ पालन गर्न सक्छन् भने, ती सबैको पुनर्जन्मपछि, परमेश्‍वरले तिनीहरूका निम्ति उहाँको घोषणा गर्नुहुनेछ। त्यसै गरी, आज तिमीहरूको हकमा, तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू भए पनि वा सेवाकर्ता भए पनि, परमेश्‍वरले आफूले तय गर्नुभएका नियम र प्रशासनिक आदेशहरू अनुसार नै तिमीहरूलाई उचित मार्गमा ल्याउनुहुनेछ र तिमीहरूको परिणाम निर्धारित गर्नुहुनेछ। यस प्रकारका मानिसहरूमध्ये, विश्‍वासका फरक-फरक प्रकारका मानिसहरूलाई—अर्थात्, विभिन्‍न धर्मका मानिसहरूलाई—के परमेश्‍वरले बस्‍ने ठाउँ दिनुभएको छ? यहूदीहरू कहाँ छन्? के परमेश्‍वरले तिनीहरूको विश्‍वासमा हस्तक्षेप गर्नुभएको छ? उहाँले गर्नुभएको छैन, होइन र? अनि इसाईहरूको हकमा नि? उहाँले तिनीहरूलाई पनि हस्तक्षेप गर्नुभएको छैन। उहाँले तिनीहरूलाई तिनीहरूका आफ्‍नै पद्धतिहरू पालन गर्न दिनुहुन्छ, उहाँले तिनीहरूसँग कुराकानी गर्ने वा तिनीहरूलाई अन्तर्दृष्टि दिने गर्नुहुन्‍न, यस अलावा, उहाँले तिनीहरूलाई कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। यदि तँलाई यो सही लाग्छ भने, यसरी नै विश्‍वास गर्। क्याथोलिकहरूले मरियममा विश्‍वास गर्छन्, र तिनले नै येशूलाई सुसमाचार हस्तान्तरण गरिन् भनी विश्‍वास गर्छन्; तिनीहरूको विश्‍वासको रूप त्यस्तै छ। के परमेश्‍वरले कहिल्यै तिनीहरूको विश्‍वासलाई सुधार गर्नुभएको छ र? उहाँले तिनीहरूलाई स्वतन्त्रता दिनुहुन्छ; उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न र तिनीहरूलाई जिउनको लागि निश्‍चित क्षेत्र दिनुहुन्छ। मुस्लिमहरू र बुद्ध धर्मावलम्बीहरूका हकमा पनि, यही कुरा लागू हुँदैन र? उहाँले तिनीहरूका लागि पनि सीमाहरू तय गर्नुभएको छ, र तिनीहरूको सम्बन्धित विश्‍वासमा हस्तक्षेप नगरीकन, तिनीहरूलाई जिउने आफ्‍नै क्षेत्र दिनुभएको छ। सबै कुरा सुव्यवस्थित छन्। अनि यी सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरसँग अख्‍तियार छ, तर उहाँले यसको दुरुपयोग गर्नुहुन्‍न। परमेश्‍वरले सबै थोकलाई सर्वोत्तम रूपले सुव्यवस्थित क्रममा मिलाउनुहुन्छ र सुव्यवस्थित रूपमा उहाँले यसो गर्नुहुन्छ, र यसैमा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४७

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६१

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६६

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म...