सत्यता कसरी पछ्याउने (९) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ

यस अवधिमा, हाम्रो सङ्गतिको विषयले तुलनात्मक रूपमा फराकिलो दायरा समेटेको छ, होइन र? (हो।) यसले मानवताका अझै केही निर्दिष्ट समस्याहरू समावेश गरेको छ, र यसले मानिसहरूको जीवनका केही समस्याहरू पनि समावेश गरेको छ। पछिल्लो भेलामा, हामीले क्षमतासँग सम्बन्धित विषयहरूका बारेमा सङ्गति गर्‍यौँ, त्यसपछि जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूलाई कसरी चिन्‍ने भन्‍ने बारेमा सङ्गति गर्‍यौँ। क्षमताका विषयमा रहेको हाम्रो सङ्गति मूलतः सकिएको छ; अबदेखि, तैँले यस विषयवस्तुका आधारमा व्यक्तिको क्षमता कस्तो छ भनेर सही रूपमा मूल्याङ्कन गर्न सक्छस्। यी तीन वटा पक्षहरू—जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बारेमा सङ्गति गर्दा—हामीले यी कुराहरू मानिसहरूका जन्मजात अवस्था, मानवतामा पर्छन् कि भ्रष्ट स्वभावभित्र पर्छन् मूल्याङ्कन गर्नका लागि मानिसहरूको दैनिक जीवनका केही प्रकटीकरण र प्रकाशहरूका बारेमा सङ्गति गर्‍यौँ। जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका तीन पक्षहरूका बारेमा हामीले गरेको सङ्गतिबाट, के तिमीहरूले अब सृजित प्राणीका रूपमा रहेका मानिसहरूका आधारभूत संरचनाका बारेमा ठोस बुझाइ प्राप्त गरेका छौ? (हामीले यसलाई पहिलेको भन्दा अलिक बढी बुझ्न सक्छौँ।) मानिसहरूको जीवनमा प्रकाश हुने प्रकटीकरणहरूका तीन पक्षहरूका बारेमा हामीले सङ्गति गर्नुको कारण के हो भने सृजित मानवजाति जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूले बनेको हुन्छ। चाहे तँ पुरुष भए पनि वा महिला भए पनि, तँ जवान भए पनि वा वृद्ध भए पनि, तँ जुनसुकै जातिको वा देशको बीचमा जिउने भए पनि, तँ जुनसुकै युगमा जिए पनि, वा तँ जस्तोसुकै सामाजिक वातावरण र पृष्ठभूमिमा जिउने भए पनि—छोटकरीमा भन्दा, तेरो बाहिरी रूप चाहे जस्तो भए पनि—तँ सृजित मानव होस् भने, तँ यी तीन पक्ष मिलेर बनेको हुन्छस्: जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू। अर्को शब्दमा भन्दा, भ्रष्ट मानवजातिमा पर्ने हरेक व्यक्ति जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूको जीवनले बनेको हुन्छ। भन्‍नुको अर्थ, कुनै पनि सृजित मानवसँग जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू हुन्छन्। अवश्य नै, व्यक्तिका जन्मजात अवस्थाहरू परमेश्‍वरले नियोजन गर्नुभएको हुन्छ। मानवता आंशिक रूपमा जन्मजात अवस्थाहरूद्वारा प्रभावित हुन्छ, र आंशिक रूपमा पारिवारिक लालनपालन, सामाजिक वातावरण, र शैतानको शिक्षाद्वारा ढालिएको र प्रभावित भएको हुन्छ। यस बीच, भ्रष्ट स्वभावहरू शैतानको बहकाइ र भ्रष्टताद्वारा पैदा हुने व्यक्तिका शैतानी स्वभाव र शैतानी प्रकृति हुन्। यो भ्रष्ट प्रकृति आंशिक रूपमा व्यक्तिको परिवारबाट, आंशिक रूपमा समाजबाट, र आंशिक रूपमा व्यक्तिले विभिन्‍न वातावरणमा अनुभव गर्ने प्रभावहरू र ढलाइबाट आउँछ। यस दृष्टिकोणबाट हेर्दा, कुनै पनि सृजित व्यक्ति वास्तवमा कुनै पनि प्रकारको रहस्य हुँदैन, किनभने ऊ यी तीन पक्षहरू मिलेर बनेको हुन्छ: जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू। त्यसकारण, व्यक्ति कस्तो व्यक्ति हो भनेर खुट्ट्याउन वास्तवमा सजिलो हुनुपर्ने हो। परमेश्‍वरले नियोजित गर्नुभएका र दिनुभएका जन्मजात अवस्थाहरूलाई पन्छाएर हेर्दा, व्यक्तिको मानवता कस्तो छ र उसमा के-कस्ता भ्रष्ट स्वभावहरू छन् भनेर खुट्ट्याउनु मात्रै बाँकी हुन्छ—यी कुराहरूले यस व्यक्तिको सार कस्तो छ भन्‍ने कुरा निर्धारण गर्छन्। यसरी खुट्ट्याउँदा कामकुराहरू अत्यन्तै स्पष्ट हुन्छन्। यी कुराहरूका आधारमा व्यक्तिको सार के हो भनेर खुट्ट्याउनु गाह्रो मामला होइन। यसरी खुट्ट्याउनुको पछाडि आधार हुन्छ र मापनको मानक पनि हुन्छ।

६. जन्मजात अवस्थाहरू, मानवता र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरण

यसभन्दा पहिले, हामीले जन्मजात अवस्थाहरूका केही निर्दिष्ट प्रकटीकरणहरू सूचीकृत गरेका थियौँ, जसमा भ्रष्ट स्वभावहरू समावेश हुँदैनन्। जन्मजात अवस्थाहरू मानिसहरूले बाँच्नका लागि भर पर्ने जग हुन् र सृजित मानवजातिसँग हुनुपर्ने अवस्थाहरू हुन्। चाहे ती व्यक्तिको जन्मसँग सम्बन्धित अवस्थाहरू, जस्तै समय, वातावरण, र जन्मस्थल होऊन्, वा व्यक्तिको रूप, क्षमता, सामर्थ्य, जन्‍मजात प्रवृत्ति, चासो र रुचिहरू, र व्यक्तित्वजस्ता पक्षहरू होऊन्—यी सबै व्यक्तिका जन्मजात अवस्थाहरूका अंश हुन्। यी जन्मजात अवस्थाहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्, र अवश्य नै, यी जन्मजात अवस्थाहरूमा कुनै भ्रष्ट स्वभावहरू समावेश पनि हुँदैनन्। समग्रमा भन्दा, जन्मजात अवस्थाहरू बाँच्न र जिउनका लागि सृजित मानवसँग हुनुपर्ने केही आधारभूत अवस्थाहरू हुन्। मानवताले सामान्य मानवताको विवेक र समझसँग सम्बन्धित भएर जिइने कुरालाई जनाउँछ जुन जन्मजात अवस्थाहरू भएको शरीरबाट प्रकाश हुन्छ। जहाँसम्‍म भ्रष्ट स्वभावहरूको कुरा छ, यो सीधा छ—भ्रष्ट स्वभावहरू भनेका जन्मजात अवस्थाहरू र मानवता भएको यस शरीरको जीवनलाई शैतानले भ्रष्ट तुल्याएको परिणाम हो। के यो अलिक अमूर्त कुरा हो? समग्रमा, सृजित मानवहरू भ्रष्ट स्वभावले हाबी भएका र मानवताको आधारभूत विवेक र समझ भएका सृजित प्राणीहरू हुन्। यी सृजित प्राणीहरूमा परमेश्‍वरले नियोजन गर्नुभएका विभिन्‍न जन्मजात अवस्था हुन्छन्। परमेश्‍वरले सृष्टि गर्नुभएका मानवजातिको आधारभूत संरचना यही हो। यसमा, जन्मजात अवस्थाहरू र भ्रष्ट स्वभावहरूलाई बुझ्न बढी सजिलो छ, तर मानवता तुलनात्मक रूपमा अमूर्त हुन सक्छ। सरल रूपमा भन्दा, मानवता सृजित मानवजातिको एउटा अद्वितीय गुण हो जसले उसलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउँछ। यो अद्वितीय गुण भएका सृजित प्राणीहरूसँग विवेक र समझ, चरित्र, साथै सही र गलत छुट्याउने क्षमता हुन्छ। मानवजातिलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउने यी अद्वितीय गुणहरूले मानवता गठन गर्छन्। यो मानवतामा, अवश्य नै भाषा प्रयोग गरेर व्यक्त गर्ने क्षमता, सही र गलतको बीचमा भिन्‍नता छुट्याउने क्षमता, बुझ्ने क्षमता, नयाँ कुराहरू स्वीकार गर्ने क्षमता, सृष्टिकर्ताका वचनहरू स्वीकार गर्ने क्षमता, र परमेश्‍वरको आज्ञा स्वीकार गर्ने र कुनै पनि मामला सम्हाल्ने क्षमता समावेश हुन्छ। मानवता यही हो। मानवताको सबैभन्दा सरल बुझाइ के हो भने यो सृजित मानवजातिलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउने जन्मजात गुण हो। यो गुणका सबैभन्दा आधारभूत विशेषताहरू विवेक र समझ हुन्। यसलाई बुझ्ने सबैभन्दा सरल तरिका यही हो। यसभित्र केही विवरणहरू समावेश छन्, जस्तै मानवतासँग हुनुपर्ने निष्ठा र चरित्र, सकारात्मक कुरा र नकारात्मक कुराहरू बीचमा भिन्‍नता छुट्याउने कार्य, र सकारात्मक कुराहरूको छनौट र कार्यान्वयन गर्ने कार्य। आधारभूत रूपमा, मानिसहरूले जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका तीन पक्षहरूका बारेमा बुझ्नुपर्ने र जान्‍नुपर्ने कुराहरू यिनै हुन्। के तिमीहरूले यी विषयहरूका बारेमा पहिले विचार गरेका छौ? (हामीले तिनका बारेमा यसभन्दा पहिले विचार गरेका छैनौँ।) पहिलो पटक यी विषयहरूसँग परिचित हुँदा, के तिमीहरू ती बुझ्न सक्छौ? के तिमीहरू ती बोध गर्न सक्छौ? (हामी केही हदसम्‍म ती बुझ्न सक्छौँ।) के कसैलाई हामीले कुरा गरिरहेको यो विषय अत्यन्तै गहन र अलिक अमूर्त छ, र दर्शनको बारेमा छलफल गर्दा जस्तै, यो अलिक बुझ्न नसकिने छ भन्‍ने लाग्छ? हामीले यी दिनहरूमा सङ्गति गरेका जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका यी तीन पक्षहरूका विशिष्ट प्रकटीकरणहरूका आधारमा हेर्दा, भर्खरै भनिएको कुरा तिमीहरूका लागि अमूर्त हुनु हुँदैन। यी तीन वटा पक्षहरूका निर्दिष्ट प्रकटीकरणहरू बुझ्न तँ सक्षम हुनुपर्छ। यसको साथै, के यी तीन पक्षहरूका बीचमा रहेका सम्बन्धहरू पनि स्पष्ट हुनु पर्दैन र? मानवता भनेको आधारभूत जन्मजात अवस्थाहरू भएको आधारमा व्यक्तिले प्रकाश गर्ने निष्ठा, चरित्र, विवेक, र समझ हो। भ्रष्ट स्वभावहरू मानवतामा जन्मजात अवस्थाहरूमार्फत जिइने कुराहरू हुन्, र ती शैतानले मानिसहरूमा हालिदिने जीवनले हावी भएर मानिसहरूले जिउने विभिन्‍न स्वभाव हुन्। यसरी, व्यक्तिसँग जुनसुकै जन्मजात अवस्थाहरू भए पनि, ती सबैभन्दा आधारभूत बाहिरी खोल मात्रै हुन्, जबकि व्यक्तिको सारमा साँच्चै हाबी हुन सक्‍ने जीवन, शैतानले ऊभित्र हालिदिएका भ्रष्ट स्वभावहरू हुन्। भन्‍नुको अर्थ, व्यक्तिको सार के हो भनेर खुट्ट्याउनका लागि, उसले प्रकाश गर्ने स्वभावहरूलाई हेर। यदि उसले प्रकट गर्ने स्वभावहरू अहङ्कार, हठीपन, छलीपन, दुष्टता, वा क्रूरताका भ्रष्ट स्वभावहरू हुन् भने, उसको चरित्र दयालु भए पनि वा दुष्ट भए पनि, यो व्यक्ति सारभूत रूपमा शैतानको हो, किनभने उसको जीवन शैतानको भ्रष्ट स्वभाव हो। त्यसकारण, व्यक्तिको गुण के हो भन्‍ने कुरा ऊसँग भित्र रहेको जीवनमा निर्भर हुन्छ, उसको जन्मजात अवस्थाहरू के हुन् भन्‍ने कुरामा होइन। यदि उसको जीवन शैतानको भ्रष्ट स्वभाव हो भने, उसका जन्मजात अवस्थाहरू बाहिरी रूपमा जति नै कुलीन वा महान् देखिए पनि, ऊ सारभूत रूपमा शैतानको हुन्छ, र ऊ भ्रष्ट मानवजातिको सदस्य हो। यदि व्यक्तिको जीवन सत्यता जीवन भएको जीवन हो भने, बाहिरी रूपमा उसका जन्मजात अवस्थाहरू जति नै साधारण, सामान्य, वा हेय लाग्दा देखिए पनि—अनि उसले बाहिरी रूपमा आफ्नो मानवताका केही कमजोरी, अपर्याप्तता, र त्रुटिहरू प्रदर्शन गरे पनि—ऊ अझै पनि मुक्ति दिइएको मानवजातिको भाग हो। ऊ सारभूत रूपमा परमेश्‍वरको हो, र ऊ शैतानको होइन। उसको सार परिवर्तन हुन्छ। उसको सार परिवर्तन भएपछि, ऊ कसको स्वामित्वमा छ भन्‍ने कुरा पनि परिवर्तन हुन्छ—ऊ सत्यता र परमेश्‍वरको स्वामित्वमा हुन्छ। त्यसकारण, व्यक्ति कसको स्वामित्वमा छ, उसको सार, र अन्तिम परिणाम के हो भन्‍ने कुरा निर्धारण गर्ने कारक उसका जन्मजात अवस्थाहरू होइनन्, र अवश्य नै, पूर्ण रूपमा उसको मानवता पनि होइन, बरु, उसको जीवन कस्तो छ भन्‍ने कुरा हो। यदि सुरुदेखि अन्त्यसम्मै, व्यक्तिको जीवन भ्रष्ट स्वभावहरू नै जीवन हुने जीवन हो, र ऊ शैतानको हो भने, ऊ शैतानको स्वामित्वमा हुनेछ; यदि उसको जीवनका रूपमा सत्यता छ भने, ऊ परमेश्‍वरको स्वामित्वमा हुन्छ, त्यसकारण परमेश्‍वरले मानवजातिका लागि तयार पार्नुभएको सुन्दर गन्तव्यमा ऊ परमेश्‍वरको स्वामित्वमा हुनेछ। सबै पक्षमा मानिसहरूका विभिन्‍न प्रकटीकरण र सारका आधारमा हेर्दा, मानिसहरू वर्तमानमा कसका स्वामित्वमा छन्? के मानिसहरूसँग त्यस्तो जीवन छ जसमा सत्यता नै तिनीहरूको जीवन हो? (छैन।) त्यसोभए व्यक्तिको सार ठ्याक्कै के कुरामा निर्भर हुन्छ? (उसको जीवनका रूपमा के छ भन्ने कुरामा।) ठीक भन्यौ; तेरो जीवन भित्री रूपमा जे हो, तेरो सार त्यही हो। यदि तँभित्रको जीवन परिवर्तन भयो, र तेरो जीवन उप्रान्त भ्रष्ट स्वभावहरू होइन, बरु सत्यता हो भने, तेरो सारका हिसाबमा, तँ परमेश्‍वरको स्वामित्वमा र सत्यताको स्वामित्वमा छस्। अवश्य नै, मानिसहरूको मानवताको गुण परिवर्तन हुँदैन—मानिसहरू अझै पनि मानव नै हुन्छन्, र तिनीहरूको गुणका हिसाबमा, तिनीहरू अझै पनि सृजित मानव नै हुन्छन्। तर, तेरो जीवन परिवर्तन भएको हुनाले, तँ कसको स्वामित्वमा छस् भन्‍ने कुरा पनि परिवर्तन भएको छ। सारांशमा भन्दा, जन्मजात अवस्थाहरू सृजित मानवजातिलाई गठन गर्ने आधारभूत अवस्थाहरू हुन्। भन्‍नुको अर्थ, तँलाई सृजित मानव भनिन्जेल, तँमा यी जन्मजात अवस्थाहरू अवस्थित हुनैपर्छ—ती आधारभूत अवस्थाहरू हुन्। मानवता भनेको व्यक्ति आफ्ना जन्मजात अवस्थाहरूमा जिउँदै गर्दा उसको सामान्य मानवताबाट प्रकाश हुने र जिउने कुरा हो। भ्रष्ट स्वभावहरू भ्रष्ट मानवजातिमा अन्तर्निहित रूपमा भएका जीवन हुन्, जुन जन्मजात अवस्थाहरू र मानवताको खोलभित्र लुकेका हुन्छन्। यी तीन पक्षहरूका बीचमा रहेका सम्बन्ध र भिन्‍नताहरू, साथै सृजित मानवजातिमा तीमध्ये हरेकले खेल्ने भूमिका वा तिनले पूरा गर्ने कार्यहरू, व्याख्या गरिए अनुसार नै छन्। यसभन्दा पहिले, हामीले मानिसहरूले प्रकाश गर्ने जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका यी तीन पक्षहरूसँग सम्बन्धित केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। तर, यी तीन पक्षहरूसँग सम्बन्धित विषयवस्तु हामीले सङ्गति गरेको कुराभन्दा निकै बाहिर जान्छ, त्यसकारण हामीले आज यस विषयमा सङ्गतिलाई जारी राख्‍नुपर्छ।

भकभकाउनु र लटपटाउनु

जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा हामीले पछिल्लो पटक कहाँ कुरा छोडेका थियौँ? कायरता र साहस, होइन र? (हो।) त्यो सङ्गति पूरा भएको थियो। अब बोल्दा भकभकाउने र लटपटिने कार्यलाई हेरौँ—यो कस्तो समस्या हो? (जन्मजात अवस्था।) यो जन्मजात अवस्था हो र यो एक प्रकारको शारीरिक खराबी पनि हो। अवश्य नै, भकभकिने शैलीहरू फरक-फरक हुन्छन्। कतिपय भकभकेहरूले एउटा शब्दको एउटा अक्षरलाई तानेर बोल्छन्, जबकि अरूले एउटा शब्दको एउटा अक्षर दोहोर्‍याउँछन्, र दिनभरि बोले पनि एउटै वाक्य पूरा गर्दैनन्। छोटकरीमा भन्दा, यो जन्मजात अवस्था हो र अवश्य नै, यो एक प्रकारको शारीरिक खराबी पनि हो। के यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ? (हुँदैन।) यसमा भ्रष्ट स्वभाव समावेश हुँदैन। यदि कसैले “तिमी बोल्दा भकभकाउँछौ; तिमी पक्‍कै पनि धूर्त हौ!” वा “बोल्दा समेत तिमी भकभकाउँछौ; तिमी कसरी यति अहङ्कारी हुन सक्यौ?” भनेर भन्यो भने—के त्यस्ता अभिव्यक्तिहरू सही हुन्छन्? (हुँदैनन्।) एउटा खराबी वा त्रुटिका रूपमा, भकभकाउनु व्यक्तिका भ्रष्ट स्वभावहरूको कुनै पनि पक्षसँग सम्बन्धित हुँदैन। त्यसकारण, भकभकाउनु एउटा जन्मजात अवस्था र एक प्रकारको शारीरिक खराबी हो। स्पष्ट रूपमा नै, यो व्यक्तिको भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन र तीसँग यसको कुनै सम्बन्ध नै हुँदैन। भकभकाउनुसँग सम्बन्धित अर्को परिस्थिति पनि छ: कतिपय मानिसहरू बोल्दा सामान्यतया भकभकिँदैनन्, तर जब तैँले तिनीहरूलाई प्रश्‍न सोध्छस्, तब तिनीहरू हिचकिचाउँछन् र डगमगाउँछन्; तिनीहरूले एउटा वाक्य बोल्न दिनभरि लगाउँछन्, र तिनीहरूले के भन्‍न खोजिरहेका छन् भन्‍ने कुरा तैँले अझै पनि थाहा पाउन सक्दैनस्। तिनीहरूको बोली कहिल्यै पनि पर्याप्त रूपमा स्पष्ट हुँदैन, जसले गर्दा तैँले सधैँ तिनीहरूको अर्थ अनुमान गर्नुपर्ने हुन्छ—तैँले जे अनुमान गर्छस्, त्यही नै तिनको अर्थ बन्छ। नत्र भने, तिनीहरूले अर्थको सट्टा मुस्कानको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले तेरो प्रश्‍नको सीधा उत्तर नै दिँदैनन्। उदाहरणका लागि, तँ तिनीहरूलाई सोध्छस्, “तपाईं कहाँबाट आउनुभएको हो?” तिनीहरूले भन्छन्, “म…म…अँ, यसो घुमेर…” यो सुनेपछि, तिनीहरू कहाँबाट आएका हुन् भन्‍ने तँलाई अझै पनि थाहा हुँदैन। अथवा तँ तिनीहरूलाई सोध्छस्, “तपाईंले त्यो व्यक्तिको क्षमता कसरी मूल्याङ्कन गर्नुहुन्छ?” तिनीहरू भन्छन्, “उसको … क्षमता, अँ … सबै जनाको … हामी सबै … ऊ … वास्तवमा … स्पष्ट छैन।” तिनीहरू किन यसरी अड्किँदै र कुरा टुक्र्याउँदै बोल्छन्? के यो भकभकाउनु वा लटपटाउनु हो? त्यस्तो हो भन्‍ने त देखिँदैन। त्यसोभए तिनीहरूले किन यसरी बोल्छन्? यदि यो भकभकाउनु वा लटपटाउनुका कारण होइन भने, यसको कारण के हो त? (तिनीहरू भ्रष्ट स्वभावको प्रभुत्वमा हुन्छन्।) यो स्पष्ट रूपमा नै एउटा स्वभावको प्रकटीकरण हो। यसको अर्थ के हो भने, जब तिनीहरूले कुनै कुरा व्यक्त गर्छन् वा कुनै काम गर्छन्, तब तिनीहरू स्वभावको प्रभुत्वमा हुन्छन्, जुन तिनीहरूको जीवनको अंश हुन्छ, जसले तिनीहरूलाई निश्‍चित उद्देश्य हासिल गर्नका लागि बोल्न र व्यवहार गर्न लगाउँछ। यो उद्देश्य के हो? यो साँचो तथ्यहरू लुकाउनु, तँलाई साँचो तथ्यहरू बताउनबाट जोगिनु हो; तिनीहरूले कुराहरू त्यति स्पष्ट रूपमा व्याख्या गर्न चाहँदैनन्। तिनीहरू किन यस्तो व्यवहार गर्छन्? किनभने तिनीहरूले वास्तवमा के भइरहेको छ भनेर व्याख्या गरे भने, तिनीहरूले परिणामहरू भोग्‍नुपर्नेछ—कि त कसैलाई चिढ्याइनेछ कि त आफूलाई हानि पुर्‍याइनेछ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यी परिणामहरू भोग्‍न चाहँदैनन्; तिनीहरू तँलाई साँचो तथ्यहरू थाहा होस् भन्‍ने चाहँदैनन्। यो भ्रष्ट स्वभावको प्रभुत्वमा रहेर बोल्ने र व्यवहार गर्ने तरिका र शैली हो। तिनीहरूलाई प्रभुत्वमा राखेर यसरी व्यवहार गर्न लगाउने जीवनले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूले यसरी व्यवहार गर्नुले तिनीहरूसँग कुनै सत्यता छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार बोल्दैनन्। त्यसोभए सत्यता सिद्धान्तहरू अनुसार बोल्नका लागि व्यक्ति कसरी बोल्नुपर्छ? यसो गर्नका लागि, व्यक्ति इमानदार व्यक्ति हुनुपर्छ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “तर तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” के तिनीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू हो भने न त हो भनेर भन्छन् अनि होइन भने न त होइन भनेर नै भन्छन्। तिनीहरू कुन विधि प्रयोग गर्छन्? तिनीहरू अस्पष्ट रूपमा बोल्छन्, आफ्नो सुरक्षा गर्ने आफ्नो उद्देश्य हासिल गर्नका लागि आफ्नो अर्थ व्यक्त गर्न छली र दुष्ट तरिकाहरू प्रयोग गर्छन्। तिनीहरूले कुनै मामला सम्हाल्न वा कुनै कुरा व्यक्त गर्नका लागि शैतानले तिनीहरूलाई निर्देशन दिएका र हालिदिएका विधिहरू प्रयोग गर्छन्। यो स्पष्ट रूपमा नै शैतानको भ्रष्ट स्वभाव हो। यो मानवताको सतही प्रकटीकरण होइन बरु शैतानको भ्रष्ट स्वभावको प्रभुत्वमा रहेको कार्य गर्ने तरिकाको प्रकटीकरण हो।

रोमाञ्चकताको आनन्द लिनु

हामी अर्को प्रकटीकरणका बारेमा कुरा गर्दै यसलाई जारी राखौँ: रोमाञ्चकताको आनन्द लिनु र सादापनलाई मन नपराउनु; रोमाञ्चकताका खातिर नै सबै कुरा गर्नु र जीवनशैली छनौट गर्नु। यो कस्तो समस्या हो? सर्वप्रथम, के यो जन्मजात अवस्थाहरूभित्रका चासो र रुचिहरूमा पर्छ? (पर्छ।) पर्छ र? ध्यान दिएर विचार गर—के यो साँच्‍चै नै त्यसमा पर्छ? के रोमाञ्चकताको आनन्द लिनु व्यक्तिको चेतनाको सामान्य कुरा हो? (यो सामान्य कुरा होइन।) त्यसोभए, के यसलाई जन्मजात अवस्थाहरूमा वर्गीकरण गर्नु उचित हुन्छ? (हुँदैन।) यसलाई यसरी हेर्दा, यो उचित हुँदैन। यो प्रकटीकरण कस्तो समस्या अन्तर्गत पर्छ? यदि हामीले रोमाञ्चकताको आनन्द लिनु भ्रष्ट स्वभाव हो भनेर भन्छौँ भने, यो कस्तो भ्रष्ट स्वभाव हो? यो अहङ्कार हो, छल हो कि क्रूरता हो? (यीमध्ये कुनै पनि होइन।) यो कुनै पनि प्रकारको भ्रष्ट स्वभावसँग सम्बन्धित छैन। त्यसोभए यो कस्तो समस्या हो? (यो मानवताको समस्या हो।) यो मानवताको कस्तो प्रकारको समस्या हो? के यो अलिक हदभन्दा बाहिर जानु हो? (हो।) यो अनुचित र हदभन्दा बाहिरको तरिकामा व्यवहार गर्नु, रोमाञ्चकताको आनन्द लिनु, र चञ्चल हुनु हो। चञ्चलताले सामान्य मानवताको कमीलाई सङ्केत गर्छ। यो विवेकसँग सम्बन्धित हुँदैन बरु यसले मुख्य रूपमा सामान्य मानवताको चेतनाको कमीलाई प्रतिबिम्बित गर्छ। त्यस्ता मानिसहरू एउटा कार्यमा लागिरहन सक्दैनन् वा नियम पालना गर्दै र कर्तव्यनिष्ठाको साथ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। तिनीहरूले वयस्कहरूले जसरी काम गर्न सक्दैनन्; तिनीहरूमा परिपक्‍व सोचाइ, व्यक्तिगत आचरणको परिपक्‍व शैली, र काम गर्ने परिपक्‍व तरिकाको अभाव हुन्छ। कम्तीमा पनि, यो तिनीहरूको मानवताको खराबी हो। अवश्य नै, यो तिनीहरूको चरित्रको समस्या बन्‍ने स्तरमा पुग्दैन बरु तिनीहरूले आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने मनोवृत्तिसँग सम्बन्धित हुन्छ। नवीनता र रोमाञ्चकताहरूको आनन्द लिनु, तिनीहरूले जे गरे पनि त्यसमा अस्थिर हुनु, धैर्यता कायम राख्‍न नसक्‍नु, चञ्चल र अनुचित हुनु, र सधैँ रोमाञ्चकता खोजी गर्न र नयाँ सुन्दर कुराहरू प्रयोग गर्न चाहनु—यस्ता समस्याहरू मानवताको खराबीभित्र पर्छन्। रोमाञ्चकताका आनन्द लिने मानिसहरूमा सामान्य मानवताको चेतनाको कमी हुन्छ; तिनीहरूलाई वयस्कहरूले वहन गर्नुपर्ने जिम्मेवारी र काम वहन गर्न सजिलो हुँदैन। तिनीहरूले जुनसुकै कार्य गरे पनि, तिनीहरूले लामो समयसम्म काम गरे र यसले यसको नवीनता गुमायो भने, तिनीहरूलाई यो काम न्यास्रोलाग्दो लाग्छ, तिनीहरू त्यो गर्नमा रुचि गुमाउँछन्, र नवीनता र रोमाञ्चकता बोधको खोजी गर्न चाहन्छन्। कुनै रोमाञ्चकताविना, तिनीहरूलाई परिस्थितिहरू सादा लाग्छ र तिनीहरूले आत्मिक खोक्रोपनको अनुभूति समेत अनुभव गर्न सक्छन्। जब तिनीहरूलाई यस्तो महसुस हुन्छ, तब तिनीहरूको हृदय चञ्चल हुन्छ, र तिनीहरूले रोमाञ्चकता वा चाख लाग्दा कुराहरू खोज्न चाहन्छन्। तिनीहरू निरन्तर चलनचल्ती बाहिरका कुरा गर्न चाहन्छन्। जब पनि तिनीहरूलाई आफूले गरिरहेको काम वा आफूले सम्हालिरहेका मामलाहरूलाई अल्छीलाग्दो वा अरोचक लाग्छ, तब तिनीहरू निरन्तरता दिने चाहना गुमाउँछन्। यो तिनीहरूले गर्नुपर्ने काम वा अर्थपूर्ण र बहुमूल्य काम भए पनि, तिनीहरू निरन्तरता दिन सक्दैनन्। गैरविश्‍वासीहरूमध्ये, कति जना मानिसहरूले बारम्बार लागूऔषध प्रयोग गर्छन् हेर त। यसको पछाडि रहेका कारणहरू जेसुकै भए पनि, तिनीहरूलाई सामान्य मानिसहरूसँग हुने कुराभन्दा बाहिरको रोमाञ्चकता र तर्कहीन अनुभूतिहरू खोज्नका लागि लागूऔषधहरू प्रयोग गर्नमा आनन्द लिन्छन्। रोमाञ्चकताको आनन्द लिने मानिसहरू उत्तेजकताका लागि लागूऔषधमा भर पर्ने मानिसहरू जस्तै हुन्छन्। आफ्नो आचरण प्रस्तुत गर्ने तरिकाका हिसाबमा तिनीहरूमा सामान्य मानिसहरूको चेतनाको कमी हुन्छ र तिनीहरू आफ्नो जीवनशैली छनौट गर्दा सधैँ अवास्तविक र पारलौकिक अनुभूतिहरू पछ्याउन मन पराउँछन्। यो अत्यन्तै खतरनाक कुरा हो। बाहिरी रूपमा हेर्दा यस्ता मानिसहरूमा कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिन्छ। यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याइनस् वा तिनीहरूको सार वा यस्तो समस्याको सारलाई छर्लङ्ग देख्‍न सकिनस् भने, तैँले यस्तो सोच्न सक्छस्, “यी मानिसहरूमा अस्थिर स्वभाव मात्रै छ; तिनीहरू तीस-चालीसको दशकका हुन् तर अझै पनि साना केटाकेटी जस्तै अपरिपक्‍व छन्।” वास्तवमा, भित्र गहिराइमा, यस्ता प्रकारका मानिसहरूले निरन्तर रोमाञ्चकताको खोजी गर्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूमा वयस्कहरूको सोचाइ र सचेतना, साथै मामलाहरू सम्हाल्ने वयस्कहरूको शैली र मनोवृत्तिको कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तिनीहरूको मानवता खराब हुँदैन र तिनीहरूको चरित्र विशेष रूपमा दुष्ट हुँदैन होला, तर तिनीहरूको मानवताको यो खराबीका कारण, तिनीहरूलाई महत्त्वपूर्ण कामका लागि, विशेष गरी कामका निश्‍चित महत्त्वपूर्ण विषयवस्तुका लागि सुयोग्य हुन निकै गाह्रो हुन्छ। जब तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गर्छस्, तब तिनीहरू भन्छन्, “मैले सबै कुरा बुझेको छु; म यो गर्न मात्र सक्दिनँ।” तिनीहरू सामान्य मानिसहरूका विचार र मनोवृत्तिहरूका साथ उचित रूपमा र कर्तव्यनिष्ठाको साथ जिउन वा काम गर्न सक्दैनन्। तिनीहरूको हृदय सधैँ चञ्चल हुन्छ। त्यस्ता प्रकटीकरण भएका मानिसहरू पनि अत्यन्तै समस्याजनक हुन्छन्। रोमाञ्चकताको आनन्द लिने प्रकटीकरणका बारेमा रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।