सत्यता कसरी पछ्याउने (८) भाग चार
सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्नु
आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने
१. परमेश्वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्ने: परमेश्वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्ने
च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ
मलाई भन, के मानिसहरूको क्षमता असल छ कि खराब छ भन्ने कुरासँग मानिसहरूले परमेश्वरको विरुद्धमा गर्ने प्रतिरोध र विद्रोहको हदको कुनै सम्बन्ध हुन्छ? के मानिसहरू क्षमता कमजोर भएकोले परमेश्वरको प्रतिरोध गर्छन् र उहाँको विरुद्धमा विद्रोह गर्छन्? के तिमीहरूले कहिल्यै यो प्रश्नबारे विचार गरेका छौ? के यो विचार गर्न लायक प्रश्न हो? (हो।) कतिपय मानिसहरू भन्छन्, “हाम्रो क्षमता कमजोर भएकोले, परमेश्वरले हामीलाई दिनुभएको क्षमता असल नभएकोले, हामी परमेश्वरको विरुद्धमा गम्भीर रूपमा प्रतिरोध गर्छौँ र विद्रोह गर्छौँ।” के यो अभिव्यक्ति सही छ? (छैन।) जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेका भिन्नताहरूका बारेमा हामीले गरेको यसअघिको सङ्गतिका आधारमा भन्दा, क्षमता कुन वर्गमा पर्छ? (जन्मजात अवस्थाहरूमा।) यो जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छ। त्यसोभए, के तँलाई जन्मजात अवस्थाहरूका विभिन्न पक्षहरू मानिसहरूको मानवता र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छन् कि छैनन् भन्ने थाहा छ? क्षमताबाट सुरु गरौँ—के क्षमताले व्यक्तिले परमेश्वरको विरुद्धमा कति हदसम्म विद्रोह गर्छ र प्रतिरोध गर्छ भन्ने कुरालाई निर्धारित गर्छ? (गर्दैन।) यसले त्यस कुरालाई निर्धारित गर्दैन भनेर हामी किन भन्छौँ? यो मानिसहरूले परमेश्वरको प्रतिरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने कारणसँग सम्बन्धित छ। के मानिसहरूले आफ्नो क्षमता कमजोर भएका कारण परमेश्वरको विरुद्धमा विद्रोह गर्छन् र प्रतिरोध गर्छन्? (होइन, हामीमा भ्रष्ट स्वभाव भएकोले चाहिँ त्यसो गर्छौँ।) ठीक भन्यौ—यो वास्तविकता अनुरूप छ। परमेश्वरको विरुद्धको तेरो प्रतिरोध र विद्रोह, र सत्यतामा समर्पित हुने तेरो अक्षमता तेरो कमजोर क्षमताका कारण होइन, तेरा भ्रष्ट स्वभावहरूका कारण हो। र त्यसैले, तैँले उहाँको प्रतिरोध गर्न सक्छस् भन्दैमा परमेश्वरले तँलाई कमजोर क्षमता दिनुभएको छ भनेर गुनासो गर्न मिल्दैन। क्षमता, वा तेरो जन्मजात अवस्थाहरूको अरू कुनै पनि पक्ष अन्तर्निहित रूपमा तँसँगै भएको अवस्था हो; यो एक सृजित प्राणीका रूपमा तँसँग भएको नैसर्गिक, जन्मजात अवस्था हो। यो जन्मजात अवस्थाहरूको जुनसुकै पक्ष भए पनि, यसले परमेश्वरको प्रतिरोध गर्नमा अगुवाइ गर्दैन, र भ्रष्ट स्वभावहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, अग्लो हुनुको अर्थ तँसँग कम भ्रष्ट स्वभावहरू हुन्छन् भन्ने हुँदैन। सुन्दर हुँदैमा वा चम्किलो त्वचा छ भन्दैमा तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन। मानिसहरूले आदर गर्ने र उच्च मान्ने जातिमा जन्मिनुको अर्थ तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन। अर्को शब्दमा भन्दा, परमेश्वरले कुनै व्यक्तिलाई जुनसुकै जन्मजात अवस्थाहरू दिनुभए पनि, र व्यक्तिका जन्मजात अवस्थाहरू जेसुकै भए पनि, व्यक्तिका भ्रष्ट स्वभावहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, व्यक्तिको रूपले उसलाई परमेश्वरको प्रतिरोध गर्ने बनाउँदैन। तर, मानिसहरूमा भ्रष्ट स्वभाव हुने हुनाले, जब कुनै व्यक्ति सुन्दर देखिन्छ, तब ऊ यस्तो सोच्न सक्छ, “म सुन्दर छु, त्यसकारण मैले हैसियत पाउनुपर्छ र आदर पाउनुपर्छ।” यी भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन्। कतिपय मानिसहरूले आफ्नो सामर्थ्यलाई प्रयोग गर्न आफ्नो सुन्दर रूपको प्रयोग गर्छन्, यसरी धेरै त्रुटिपूर्ण अभिव्यक्ति र व्यवहारहरू प्रकाश गर्छन्। यी सबै अभिव्यक्ति र कार्यहरू तिनीहरूका भ्रष्ट स्वभावले पैदा गरेका हुन्छन्, तिनीहरूको जन्मजात अवस्थाहरूले होइनन्। तेरो क्षमता असल भए पनि वा कमजोर भए पनि, क्षमताले नै तँलाई परमेश्वरको प्रतिरोध गर्ने तुल्याउँदैन। यदि तेरो क्षमता राम्रो छ तर तँ सत्यता बुझ्दैनस् वा स्वीकार गर्दैनस् भने, तँसँग भ्रष्ट स्वभाव भएकाले तैँले अझै पनि परमेश्वरको प्रतिरोध गर्नेछस् र उहाँविरुद्ध विद्रोह गर्नेछस्। यदि तेरो क्षमता कमजोर छ तर तँ सत्यता स्वीकार गर्न सक्छस्, र परमेश्वरले तँलाई के गर् अथवा के नगर् भन्नुहुन्छ भन्ने कुरा बुझेपछि, तँ यसलाई पालना गर्न सक्छस्, र तँ आफ्नो भ्रष्ट स्वभावका आधारमा काम गर्ने गर्दैनस् भने, तैँले परमेश्वरविरुद्ध विद्रोह गर्नेछैनस्, न त तँ धूर्त र सुस्त नै हुनेछस्, वा झाराटारुवा, स्वेच्छाचारी, वा मनोमानी र लापरवाह नै हुनेछस्। तेरो क्षमता कमजोर भए पनि नभए पनि, तँमा भ्रष्ट स्वभाव भएसम्म, तैँले परमेश्वरका वचनहरू बुझ्न सके पनि, तैँले अझै पनि परमेश्वरको विरुद्धमा विद्रोह गर्नेछस् र उहाँको प्रतिरोध गर्नेछस्। भ्रष्ट स्वभाव तेरो जीवनका रूपमा भएको हुनाले, तैँले स्वाभाविक रूपमै विभिन्न शैतानी विचार र दृष्टिकोणहरू, र संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू, साथै मानिसहरू र कामकुराहरूलाई हेर्ने तेरो तरिकाका शैतानी दृष्टिकोणहरू विकास गर्छस्, र तैँले धाक लगाउनेछस्, आफ्नो प्रतिरक्षा गर्नेछस्, र निरन्तर अरूभन्दा पृथक् देखिन र आफूलाई अरूमाथि राख्न, र अरूलाई नियन्त्रण गर्न र शासन गर्न समेत चाहनेछस्। यी सबै प्रकटीकरणहरू मानिसहरूको शैतानी प्रकृतिबाट आएका हुन्छन्। यदि तँ आफ्नो शैतानी प्रकृति र शैतानी जीवनका आधारमा विभिन्न कामकुराहरू गर्छस् भने, तेरो क्षमता असल भए पनि वा खराब भए पनि, तैँले परमेश्वरलाई प्रतिरोध गर्नेछस्। क्षमता आफैले परमेश्वरको प्रतिरोध गर्ने तुल्याउँदैन। तेरो क्षमता कमजोर छ, तर के तैँले परमेश्वरका वचनहरू बुझेसम्म ती अनुसार काम गर्न सक्छस्? यदि तँमा भ्रष्ट स्वभाव छैनन् वा तँ आफ्नो भ्रष्ट स्वभाव अनुसार जिउँदैनस् भने, तैँले अवश्य नै यो कुरा हासिल गर्न सक्छस्। उदाहरणका लागि निश्चित सामर्थ्यलाई लिऊँ—मानिसहरू प्रायजसो सोच्छन्, “मसँग यो सामर्थ्य भएको हुनाले, म अरूभन्दा श्रेष्ठ छु; परमेश्वरको घरमा मैले हैसियत पाउनुपर्छ, म परमेश्वरको घरमा अगुवा वा खम्बा हुनुपर्छ।” यी विचारहरू सामर्थ्य भएकाले पैदा हुँदैनन् बरु भ्रष्ट स्वभावले पैदा गरेका हुन्छन्। मानिसहरूमा जीवनका रूपमा भ्रष्ट स्वभाव हुने हुनाले, तिनीहरूले प्रकाश गर्ने, जिउने, र प्रदर्शन गर्ने सबै कुराहरू, साथै विभिन्न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण, अडान, र सिद्धान्तहरू, सबै तिनीहरूमा जीवनका रूपमा भ्रष्ट स्वभाव हुने भएकोले आएका हुन्छन्। यी कुराहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको कुनै पनि जन्मजात अवस्थाले पैदा भएका हुँदैनन्। बुझ्यौ? (बुझ्यौँ।) मैले यी वचनहरूबारे सङ्गति गर्नुको अर्थ के हो? यो सङ्गतिको उद्देश्य भनेको तिमीहरूलाई आफ्नो वास्तविक परिस्थितिलाई अझै स्पष्ट रूपमा बुझ्न र पहिचान गर्न, र तिमीहरूको क्षमता कस्तो छ भनेर पहिचान गर्न सक्षम तुल्याउनु हो—समझ नभएको व्यक्ति नबन, र औसत क्षमता हुनु वा कमजोर क्षमता हुनुका बारेमा व्यर्थका सङ्घर्षहरूमा संलग्न नहोऊ, वा तेरो क्षमता कमजोर छैन भनेर देखाउन व्यर्थका बहानाहरू समेत प्रस्तुत नगर्। यी कार्यहरूको कुनै मूल्य हुँदैन। यो सङ्गतिको उद्देश्य भनेको तँलाई आफ्नो क्षमता र विभिन्न क्षमताहरूलाई सही रूपमा बुझ्न, र त्यसपछि आफ्नो उचित स्थान खोज्न र आफ्नो उचित स्थान अनुसार आफूलाई आचरणमा ढाल्न सक्षम तुल्याउनु हो। यसले तँलाई उचित सृजित प्राणी बन्न, सृजित प्राणीका रूपमा रहेको तेरो स्थानमा उचित रूपमा खडा हुन, र सृजित प्राणीका कर्तव्यहरू पूरा गर्न थप सहयोग गर्नेछ। अवश्य नै यसले केही हदसम्म, तँलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न थप सहयोग पनि गर्नेछ। तेरो क्षमता वा विभिन्न क्षमताहरू जुनसुकै स्तरमा भए पनि, तिनले तैँले परमेश्वरको विरुद्धमा कति हदसम्म प्रतिरोध गर्छस् र विद्रोह गर्छस् भन्ने कुरालाई निर्धारित गर्दैनन्। अर्को शब्दमा भन्दा, तेरा भ्रष्ट स्वभाव तेरो क्षमताको स्तरमा निर्भर हुँदैनन्, र ती तेरा जन्मजात अवस्थाहरू कस्ता छन् भन्ने कुरामा निर्भर हुनु त परको कुरा हो। मानिसहरूको भ्रष्ट स्वभाव तिनीहरूको जन्मजात र नैसर्गिक देहभित्र पैदा हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि, तिनीहरूको भ्रष्ट स्वभाव तिनीहरूको भित्री जीवन बन्यो। जब तैँले अझै आफ्नो भ्रष्ट स्वभाव फालेको हुँदैनस्, तब तैँले यो शैतानी जीवनका आधारमा बोल्न र व्यवहार गर्नका लागि आफ्ना जन्मजात अवस्थाको फाइदा लिन्छस्। यसको अर्थ तैँले आफ्नो भ्रष्ट स्वभाव फाल्नुभन्दा पहिले, तैँले तेरा आफ्नै उद्देश्यहरू हासिल गर्ने सेवामा परमेश्वरले तँलाई दिनुभएका विभिन्न जन्मजात अवस्थाको फाइदा लिइरहेको हुन्छस्। त्यसकारण, हामी यसो भन्न सक्छौँ: यदि तँ आफ्नो भ्रष्ट स्वभाव फाल्दैनस् भने, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न जन्मजात अवस्थाहरूको फाइदा लिइरहेको हुन्छस् वा तिनलाई कुल्चीमिल्ची गरिरहेको हुन्छस्; यदि तँ आफ्नो भ्रष्ट स्वभाव फाल्नका लागि सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने प्रक्रियामा छस् भने, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न जन्मजात अवस्थाहरूको उचित र प्रभावकारी रूपमा फाइदा उठाइरहेको छस्; जब तँ भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनका रूपमा लिने व्यक्तिबाट सत्यतालाई आफ्नो जीवनका रूपमा लिने व्यक्तिमा रूपान्तरित हुन्छस्, तब तैँले परमेश्वरले तँलाई दिनुभएका जन्मजात अवस्थाहरूलाई उचित र सही तरिकाले प्रयोग गरिरहेको हुन्छस्—अर्को शब्दमा भन्दा, अझै अर्थपूर्ण तरिकाले त्यसो गरिरहेको हुन्छस्। के अब तिमीहरूले बुझ्यौ? जन्मजात अवस्थाहरू आफै परमेश्वरको विरुद्धमा मानवजातिले गर्ने प्रतिरोधको जड होइनन्। बरु, मानिसहरूको शैतानी भ्रष्ट स्वभाव र शैतानले मानिसहरूमा हालिदिएको जीवन नै परमेश्वर विरुद्धको मानवजातिको प्रतिरोध र विद्रोहको जड हो। के कुरा यही होइन र? (हो।) के तिमीहरूलाई यो समस्या अहिले मूलतः स्पष्ट भएको छ? (भएको छ।)
६. जन्मजात अवस्थाहरू, मानवता र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरण
हामीले क्षमताका विषयमा सङ्गति गर्नुभन्दा पहिले, हामीले तीन वटा पक्ष: जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। हामीले यसअघि कुन-कुन प्रकटीकरणहरूका बारेमा सङ्गति गर्यौँ? (यसअघि, सङ्गति गरिएका प्रकटीकरणहरूमा कार्यहरू गर्दाको लगनशीलता, विधिवत रूपमा कामकुरा गर्ने, काम गर्दा दह्रिलो रूपमा सुरु गर्ने तर कमजोर रूपमा समाप्त गर्ने, र कामकुरा गर्दा सतर्क हुने, साथै ठूलो कुरा गर्ने र घमण्ड गर्ने, लापरवाह हुने, आफूलाई देखावट गर्न मन पराउने, गरिबलाई घृणा गर्ने र धनीलाई प्राथमिकता दिने, शक्ति भएका मानिसहरूको चापलुसी गर्ने, असाधारण स्मरण शक्ति हुने, र इत्यादि कुराहरू थिए।) हामी यी कुराहरूका बारेमा थप सङ्गति गर्नेछैनौँ। हामी जन्मजात अवस्था, मानवताका विभिन्न प्रकाश, र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणका बारेमा सङ्गति जारी राख्नेछौँ। जब यी प्रकटीकरणहरू देखा पर्छन्, तब तँलाई ती कुन प्रकारका प्रकटीकरणका हुन् भन्ने कुरा थाहा हुनैपर्छ, र तैँले तिनलाई छुट्याउन र खुट्ट्याउन सक्नैपर्छ; त्यसपछि मात्रै तैँले तिनलाई सही रूपमा लिन सक्छस्। यदि कुनै प्रकटीकरण जन्मजात अवस्थाहरूसँग सम्बन्धित छ, जुन अपरिवर्तनीय छ भने, तैँले त्यसबारे चिन्ता गर्नु पर्दैन। यदि यो मानवताका केही खराबी वा त्रुटिहरूमध्ये एउटा हो जसलाई जित्न, सुधार गर्न, वा परिवर्तन गर्न सकिन्छ भने, तैँले तिनलाई सुधार गर्ने र परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। यदि तिनलाई जित्नु पर्ने आवश्यकता छैन र तिनले तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याइलाई असर गर्दैनन् भने, तैँले तिनलाई ध्यान दिनु पर्दैन। यदि कुनै प्रकटीकरण जन्मजात अवस्थाहरूको समस्या पनि होइन वा मानवताको समस्या पनि होइन, बरु त्यसमा भ्रष्ट स्वभावहरू समावेश छन् भने, त्यसलाई परिवर्तन गरिनु नै पर्छ। यदि तैँले त्यसलाई रूपान्तरण गरिनस् वा परिवर्तन गरिनस् भने, तँभित्र जरा गाडिरहेका र शक्ति चलाइरहेका भ्रष्ट स्वभावहरूले प्रभुत्व जमाउने जीवन लिएर, तैँले जिउने र प्रकाश गर्ने कुरा अरूसँग मिलेर बस्न नसक्नु वा अरूका लागि अप्रिय बन्नु र तिनीहरूको आत्मिक उन्नति गराउन नसक्नु जस्ता सानातिना समस्याहरूमा मात्रै हुँदैनन्। बरु, तैँले जिउने र प्रकाश गर्ने कुरा सत्यता उल्लङ्घन गर्ने, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरलाई इन्कार गर्ने, परमेश्वरप्रति शत्रुवत् बन्ने, र—यो पनि भन्न सकिन्छ—परमेश्वरको विरोधमा खडा हुने स्तरमा पुग्छ। भ्रष्ट स्वभावहरू ठ्याक्कै यस्तो प्रकृतिका हुने हुनाले नै, यी प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू समावेश भएपछि, तैँले यी भ्रष्ट स्वभावहरूलाई चिन्न पुग्नु नै पर्छ, त्यसपछि सत्यता खोजी गर्नुपर्छ, सत्यता अभ्यास गर्ने सिद्धान्तहरू बुझ्नु र बोध गर्नुपर्छ, र यी भ्रष्ट स्वभावहरूलाई प्रतिस्थापन गर्न सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नुपर्छ, ताकि यी भ्रष्ट स्वभावहरू तेरो जीवनमा उप्रान्त हाबी नहोऊन्, र तिनका ठाउँमा, सत्यता तेरो जीवन बनोस् र त्यो तेरो दैनिक जीवन र तैँले जिउने कुरामा हाबी होस्।
भुलक्कडपन
हामी जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति जारी राख्नेछौँ। हामीले यसअघि सङ्गति गरेको अन्तिम प्रकटीकरण भनेको राम्रो स्मरण शक्ति हुनु हो, होइन र? (हो।) त्यसोभए भुलक्कडपन कुन पक्षसँग सम्बन्धित हुन्छ? (जन्मजात अवस्थाहरूसँग।) यो जन्मजात अवस्था र मानवताको खराबी पनि हो—यी दुई पक्षहरू मात्रै। के भुलक्कडपन भ्रष्ट स्वभाव हो? (होइन।) स्पष्ट रूपमा नै होइन। कतिपय मानिसको स्मरणशक्ति प्राकृतिक रूपमा नै कमजोर भएकाले तिनीहरू भुलक्कड हुन्छन्, जबकि अरूको मस्तिष्क बुढो भएकाले र उमेर बढ्दै जाँदा स्मरणशक्ति घट्दै जाँदा तिनीहरू भुलक्कड बन्छन्। यदि भुलक्कडपन जन्मजात रूपमा आएको हो भने, यो जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छ; यदि यो हासिल गरिएको हो भने, यो मानवताको खराबी हो। प्राकृतिक रूपमा नै भुलक्कड हुनुलाई, अवश्य नै एउटा खराबी मानिन्छ, होइन र? (हो।)
कामकुरा गर्नुभन्दा पहिले योजना बनाउन सिपालु हुनु र अत्यन्तै हिसाबी हुनु
कामकुराहरू गर्नुभन्दा पहिले योजना बनाउन सिपालु हुनु—यो कुन पक्षसँग सम्बन्धित छ? (मानवताको असल गुणसँग।) यो मानवताको असल गुण हो। कुनै कार्य गर्नुअघि, योजना बनाउन सिपालु मानिसहरू अग्रिम रूपमा योजना बनाउँछन्, त्यसपछि आवेगरहित, लापरवाह नभई, वा हतार नगरी चरणहरू पछ्याउँछन्। तिनीहरू दृढ रूपमा कार्य गर्छन्, मनपरी हतार-हतार कामकुरा गर्न जाँदैनन्, तर कसरी अघि बढ्ने, कोसँग अघि बढ्ने, विशेष परिस्थितिहरूमा के गर्ने, के-कस्ता कागजात वा सामानहरू ल्याउनुपर्छ, वातावरण अनुसार केही दैनिक आवश्यकताका सामानहरू ल्याउनुपर्छ कि पर्दैन, र इत्यादि कुराहरूका बारेमा अग्रिम रूपमा विचार गर्छन्। तिनीहरूले यी सबै कुराहरूलाई ख्याल गर्न सक्छन्। कामकुराहरू गर्नुभन्दा पहिले, तिनीहरू अझै धेरै कारकहरूका बारेमा ख्याल गर्दै र आफ्नो विचारमा अझै होसियार हुँदै पूर्ण रूपमा तयारी गर्छन्। तिनीहरूले अनुकूल र प्रतिकूल अवस्थाहरूका बीचमा रहेको भिन्नतालाई अग्रिम रूपमा मूल्याङ्कन गर्नेछन्, र तिनीहरूले सबैभन्दा राम्रो परिदृश्य र आइपर्न सक्ने सबैभन्दा खराब परिणामहरूका बीचमा भिन्नता छुट्याउनेछन्। तिनीहरूले सबैभन्दा राम्रा नतिजाहरू हासिल गर्न उचित प्रबन्धहरू मिलाउनेछन्। तिनीहरू योजना बनाउन र उचित प्रबन्धहरू गर्न सिपालु हुने हुनाले, तिनीहरूले सामान्यतया मामलाहरू अझै राम्ररी सम्हाल्छन्। तिनीहरूले प्रबन्ध गर्ने कुरा र तालिकाहरूमा अनपेक्षित परिस्थितिहरू झन्-झन् कम देखा पर्छन्, र तिनीहरूको कामका नतिजाहरू अझै राम्रा हुने गर्छन्। तिनीहरूसँग काम गर्ने मानिसहरूलाई बेचैनी हुँदैन बरु उल्टै तिनीहरू निकै सहज महसुस गर्छन्। त्यसोभए, के तुलनात्मक रूपमा भन्दा, योजना बनाउने कार्यमा सिपालु हुनु मानवताको असल गुण हो भनेर भन्न सकिन्छ? (सकिन्छ।) त्यसले योजना बनाउन सिपालु हुनुलाई समेट्छ। त्यसोभए, हिसाबकिताबे हुनु असल हो कि होइन? (यो असल होइन। यो मानवताको खराबी हो।) योजना बनाउन सिपालु हुनु मानवताको असल गुण र सबल पक्ष हो—यो सकारात्मक कुरा हो—जबकि हिसाबकिताबे हुनु मानवताको खराबी हो। उदाहरणका लागि, यदि दुई जना मानिसहरूले दश युआन पर्ने खाना खान्छन्, र हिसाबकिताब गर्ने व्यक्तिले पैसा तिर्दा, साढे पाँच युआन तिर्छ जबकि अर्को व्यक्तिले साढे चार युआन तिर्छ भने, उसलाई यस्तो लाग्छ: “यो सही होइन—उसले पचास पैसा कम तिरेको छ। यो निष्पक्ष र उचित हुनका लागि हरेक व्यक्तिले पाँच युआन तिर्नुपर्छ।” उसले यति थोरै रकमको समेत हिसाबकिताब गर्छ। यदि उसलाई घाटा भएको छ भन्ने लाग्यो भने, उसलाई असहज हुन्छ र उसले सधैँ षड्यन्त्रका माध्यमहरूद्वारा आफ्नो घाटाको पूर्ति गर्ने अवसर खोजिरहेको हुन्छ। यदि उसले यसरी आफ्नो घाटाको पूर्ति गर्न सकेन भने, उसलाई भोक-निद्रा नै लाग्दैन। हिसाबकिताबे हुनु मानवताको एउटा खराबी हो। यदि यो अवस्था गम्भीर भयो र उसले ठूला मामलाहरूमा समेत हिसाब-किताब गर्छ, सधैँ अरूबाट लाभ निचोर्ने वा अरूबाट फाइदा लुट्ने प्रयास गर्छ, वा आफ्नो हिसाब-किताबका खातिर बारम्बार युक्तिहरूको सहारा लिन्छ भने, यो मानवताको खराबी मात्रै होइन बरु यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। यदि व्यक्तिले गर्ने हिसाब-किताबले अरूलाई असर गर्दैन वा तिनीहरूको हितमा हानि गर्दैन र यो दैनिक जीवनका सानातिना मामलाहरूमा मात्रै हुन्छ, जसले गर्दा अन्ततः मामलाहरू सम्हाल्दा बारम्बार असफलता वा कमजोर नतिजाहरू आउँछन् भने, यो मानवताको खराबी हो।
कन्जुस हुनु कस्तो समस्या हो? (मानवताको खराबी हो।) कन्जुस हुनुका प्रकटीकरणहरूमा के-के पर्छन्? उदाहरणका लागि, यदि कन्जुस व्यक्ति सवारी चलाएर कुनै ठाउँमा जान लागेको छ र कसैले “तिमी पनि त्यतै जाँदै रहेछौ, के मलाई पनि लैजान सक्छौ? पाँच मिनेट मात्रै लाग्नेछ, र म तिमीलाई पेट्रोलका लागि केही पैसा दिन सक्छु” भन्यो भने, ऊ सो व्यक्तिले पुगेपछि पैसा नतिर्ला कि भनेर डराउँछ र उसलाई लैजान इन्कार गर्ने बहाना खोज्छ—यो कन्जुस हुनु हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जो कसैले तिनीहरूबाट कुनै कुरा सापट माग्दा र तिनीहरूले त्यो कुरा सापट दिन नचाहँदा, यसो भन्छन्, “म अहिले यसलाई प्रयोग गरिरहेको छु। म वास्तवमा तिमीलाई यो कुरा सापट दिने अवस्थामा छैनँ। तिमीले अरू कसैसँग माग्नुपर्छ।” तिनीहरू अत्यन्तै कृपण र छुद्र हुन्छन्; तिनीहरू सामान्य अन्तरवैयक्तिक अन्तरक्रिया गर्दैनन् र तिनीहरूलाई तिनीहरूबाट अरूले फाइदा लिनेछन् भन्ने निकै डर हुन्छ, जबकि आफूचाहिँ सधैँ अरूबाट फाइदा लिने आशा गर्छन्। कन्जुस हुनु भनेको यही हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसलाई तैँले खानेकुरा किन्न र अरू केही कुराहरू किन्न दश युआन सापट माग्दा, तिनीहरू यसबारे सोच-विचार गर्छन्: “म तिमीलाई खाना खाने पाँच युआन मात्रै दिनेछु—त्योभन्दा बढी एक पैसा पनि दिन्नँ!” भोलिपल्ट तिनीहरूले तँलाई भेट्दा, तिनीहरू यसो भनेर समेत सोध्छन्, “त्यो खाना कस्तो थियो? के तिमीले पाँच युआन सबै खर्च गऱ्यौ?” तिनीहरूका शब्दहरूले घुमाउरो रूपमा यसो भन्ने सङ्केत दिन्छन्, “तुरुन्तै मेरो पैसा फिर्ता दे! तैँले त्यो खानाको पैसा अझै मलाई तिर्न बाँकी नै छ। यदि तैँले मलाई पैसा फिर्ता दिइनस् भने, तैँले मलाई खाना किनेर खुवाउनुपर्छ!” यस्ता प्रकारका मानिसहरू आफूलाई आचरणमा ढाल्ने कार्यमा अत्यन्तै सानो मनका हुन्छन् र हिसाब-किताब गर्नमा सिपालु हुन्छन्। भौतिक सामानहरूका हकमा मात्र तिनीहरू हिसाब-किताब गर्न सिपालु हुँदैनन्, बरु तिनीहरू अन्तरवैयक्तिक अन्तरक्रियाहरूमा पनि हिसाब-किताब गर्न विशेष रूपमा सिपालु हुन्छन्। कसैले तिनीहरूलाई चाहे जे भने पनि, तिनीहरू सधैँ त्यसबारे सोच-विचार गर्छन् र त्यो कुरा पछाडि रहेको अर्थबारे मनन गर्छन्। यदि शब्दहरूले तिनीहरूलाई हानि गर्छ वा तिनीहरूका हितलाई अतिक्रमण गर्छ भने, तिनीहरू तुरुन्तै बदला लिन्छन्। कुराकानी गर्दा समेत, तिनीहरू फाइदा लिने प्रयास गर्छन् र कुनै नोक्सानी भोग्न जिद्दी रूपमा इन्कार गर्छन्। यो उप्रान्त सङ्कीर्ण हुनु वा कन्जुस हुनु मात्रै रहेन—यो भ्रष्ट स्वभाव हो। यदि यसमा दैनिक भौतिक र आर्थिक अन्तरक्रियाहरूमा सधैँ फाइदा उठाउने र घाटाबाट जोगिने प्रयास गर्ने कार्य मात्रै समावेश हुन्छ भने, यो मानवताको खराबी मात्रै हो र यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन। तर, यदि यसमा आफूलाई आचरणमा ढाल्ने र काम गर्ने सिद्धान्तहरू समावेश छन् भने, यो उप्रान्त मानवताको खराबी रहँदैन बरु यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। त्यसोभए, उदारता केमा पर्छ? (मानवताको असल गुणमा।) यसलाई मानवताको असल गुण रूपमा वर्गीकरण गर्न सकिन्छ। अरूसँगका अन्तरक्रियामा, उदार मानिसहरूले नाफा र घाटाबारे त्यति धेरै चिन्ता गर्दैनन्। जब अरूले तिनीहरूबाट स-साना फाइदाहरू लिन्छन् वा केही कुरा लिन्छन्, वा कहिलेकहीँ जब कसैले तिनीहरूलाई सापटी पैसा तिर्दैन, तब तिनीहरूले त्यस्ता कुराहरूका बारेमा वास्तवमा हिसाब-किताब गर्दैनन्। तिनीहरू अरूप्रति तुलनात्मक रूपमा उदार र सहनशील हुन्छन्—यो मानवताको असल गुण हो।
सङ्कीर्णता
सङ्कीर्णता कस्तो समस्या हो? (मानवताको खराबी।) यो मानवताको खराबी हो। सङ्कीर्णताका प्रकटीकरणहरू के-के हुन्? (सानातिना कुराहरूमा किचकिच गर्ने प्रवृत्ति।) उदाहरणका लागि, खाना खाँदै गर्दा, यदि तैँले त्यस सङ्कीर्ण व्यक्तिलाई “तिमीलाई साह्रै रुच्ने रहेछ—तिमी अधिकांश मानिसहरू भन्दा बढी खान्छौ” भनेर भनिस् भने, ऊ रिसाउँछ: “के तिमी मलाई घिचुवा भनिरहेको छौ?” तैँले उसलाई अनजानमा चोट पुऱ्याउने वा व्याकुल पार्ने टिप्पणी गरिस्, र उसले यसलाई मनमा लिन्छ र यो कुरा त्याग्नेछैन। ऊ तँसँग पन्ध्र दिनसम्म रिसाएर बस्न सक्छ र तँसँग बोल्न नमान्न सक्छ, र यसको कारण के हो भन्ने तँलाई थाहा नै हुनेछैन। वास्तवमा, तैँले उसलाई गिल्ला गर्ने कुनै अभिप्रायविना सामान्य टिप्पणी मात्रै गरिरहेको थिइस्, तर उसले अचानक यो टिप्पणीलाई पहाड बनाउँछ, र आफूलाई हाँसोको पात्र बनाइएको विश्वास गर्छ। उसले यो सानो कुरालाई समेत मनमा लिन्छ र अटुट रूपमा बढाइ-चढाइ गर्छ, तिललाई पहाड बनाउँछ र कुनै सहनशीलता देखाउँदैन—यो सङ्कीर्णता हो। यस्तो व्यक्ति कति सङ्कीर्ण हुन सक्छ? ऊ केटा-केटी जत्तिकै स्वेच्छाचारी हुन सक्छ—कसैले पनि उसलाई उक्साउने आँट गर्दैन। ऊसँग अन्तरक्रिया गर्दा, तँ सधैँ सतर्क हुनुपर्छ, र ऊसँग सामान्य रूपमा कुरा गर्ने आँट गर्नु हुँदैन, किनभने तैँले त्यसो गरिस् भने, तैँले भनेको कुनै पनि कुराले उसलाई चिढ्याउन वा चोट पुर्याउन सक्छ, र त्यसका परिणामहरू हुनेछन्—अर्को पटक जब तैँले उसलाई भेट्छस्, तब उसले तँलाई उदास अनुहारले हेर्नेछ, आँखा जुधाउन मान्नेछैन, र सामानहरूलाई हिर्काउने समेत गर्नेछ। यदि तैँले ऊसँग कुरा गर्ने प्रयास गरिस् भने, उसले तँलाई बेवास्ता गर्नेछ। न त ऊसँग कुराहरू छलफल गर्दा न त उसलाई मनाउने प्रयास गर्दा नै सार्थक हुनेछ। यदि तँ उसको छेउमा बसिस् भने, ऊ तँबाट टाढा बस्नेछ र तँलाई बेवास्ता गर्नेछ। उसको उमेर जतिसुकै भए पनि, उसले सधैँ बच्चाले जस्तै रिस पोखिरहेको हुन्छ र स्वेच्छाचारी रूपमा काम गरिरहेको हुन्छ—के यो सङ्कीर्णता होइन र? (हो।) यो मानवताको खराबी हो। यस्ता मानिसहरूसँग मिलेर बस्न निकै गाह्रो हुन्छ। जब दाजुभाइ-दिदीबहिनीहरूले खुलस्त हृदयले सँगै सङ्गति गर्छन्, र एक-अर्काका कमीकमजोरीहरूलाई औँल्याउँछन्, तब कसैले पनि यस प्रकारका मानिसहरूलाई कुनै कुरा औँल्याउने आँट गर्दैन। तर यदि तिनीहरूलाई त्यो सङ्गतिमा समावेश गरिएन भने, तिनीहरू असन्तुष्ट हुन्छन् र केही यस्ता विचारहरू खेलाउन थाल्छन्: “तिमीहरू सबैले खुलस्त हृदयले सँगै सङ्गति गर्छौ, एक-अर्कालाई सहयोग गर्छौ, तर तिमीहरूले मलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्दैनौ।” तिनीहरूलाई केही नभन्दा पनि राम्रो हुँदैन—तैँले तिनीहरूलाई थोरै केही न केही कुरा त भन्नुपर्छ: “तिमी राम्रो छौ, तर कहिलेकहीँ तिम्रो रिस अलिक कडा हुन्छ। तर, हाम्रा पनि त्रुटिहरू छन् र हामी आफूले भनिरहेका कुराहरूमा प्रायजसो विचार पुऱ्याउँदैनौँ।” यदि तैँले यस कुरालाई त्यसरी भनिनस् र तिनीहरू रिसाहा छन् र कुण्ठित मनका छन् भनेर मात्रै भनिस् भने, त्यसले काम गर्नेछैन—तिनीहरू रिसाउनेछन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा, तँ विशेष रूपमा होसियार हुनुपर्छ र होसियार भएर बोल्नुपर्छ। यदि तैँले एउटा अनुचित कुरा बोलिस् भने, तैँले परिणामहरू भोग्नुपर्ने हुन्छ। त्यसकारण, तिनीहरूसँग अन्तरक्रिया गर्नु निकै थकाइलाग्दो हुन्छ। गैर-विश्वासीहरूसँग यसका लागि एउटा शब्द छ, तिनीहरूले यस प्रकारका मानिसहरू “सिसाको मुटु” भएका मानिसहरू हुन् भनेर भन्छन्, अर्थात् तिनीहरूलाई विशेष रूपमा सजिलै चोट पुग्छ। सानो कुराले पनि, यस्ता मानिसहरूलाई चोट लाग्छ, तिनीहरू रुन थाल्छन्, खान मान्दैनन्, सुत्न सक्दैनन्, र नकारात्मक बन्छन्। तिनीहरू भन्छन्, “तिमीहरू सबैले म असल छैनँ भनेर भन्छौ। तिमीहरूमध्ये कसैले पनि मलाई मन पराउँदैनौ, तिमीहरू कसैले पनि मसँग कुरा गर्दैनौ, र तिमीहरू सबै मबाट टाढा बस्छौ र तिमीहरू मसँग नजिक हुन चाहँदैनौ।” के यो केटाकेटीपन होइन र? (हो।) कसैले भन्छ, “तिम्रो मन, सिसाजस्तै साह्रै नाजुक छ—सानो कुराले पनि टुक्रिन्छ। कसले तिमीलाई खुलासा गर्ने आँट गर्नेथियो र? कसले तिमीसँग व्यवहार गर्ने आँट गर्नेथियो र? सबैलाई त्यसो गर्न डर लाग्छ।” यस प्रकारका मानिसहरूमा दुष्ट मानवता हुन्छ भनेर भन्नु वस्तुगत हुनेछैन—तिनीहरू कुनै दुष्ट कार्यहरूमा साँच्चै नै संलग्न हुँदैनन्। यति मात्र हो कि तिनीहरू अत्यन्तै चिडचिडे हुन्छन्—तिनीहरू स्वेच्छाचारी, किचकिचे हुन्छन्, र तिनीहरूमा बच्चाको जस्तो रिस हुन्छ। तैँले तिनीहरूलाई छुनु वा उक्साउनु हुँदैन। यदि तैँले तिनीहरूसँग सहिष्णु व्यवहार गरिस् भने, तिनीहरू तैँले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छस् र तिनीहरूलाई गम्भीरतापूर्वक लिइरहेको छैनस् भनेर भन्छन्; यदि तँ तिनीहरूसँग गम्भीर भइस् भने, तिनीहरू तैँले तिनीहरूसँग किचकिच गरिरहेको छस् भनेर भन्छन्—तैँले चाहे जे गरे पनि, गलत नै हुन्छ। यस्ता प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्दा, यदि तेरो शैली उचित छ र तैँले तिनीहरूलाई खुसी पार्न सक्छस् भने, तिनीहरूको क्षमता अलिक कमजोर नै भए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्। तर यदि तेरो शैली उपयुक्त छैन र कुनै कुराले तिनीहरूलाई व्याकुल तुल्याउँछ भने, तिनीहरू नकारात्मक बन्छन्, र तैँले तिनीहरूलाई फकाउने उपायहरू खोज्न आफ्नो दिमाग खियाउनुपर्छ। सङ्कीर्ण मान्छेहरू अत्यन्तै समस्याजनक हुन्छन्। सानो कुरामा, तिनीहरू धेरै बेरसम्म रुन सक्छन्, यहाँसम्म कि तिनीहरूको आँखा अत्यन्तै रातो हुन्छ। यदि सानो मामला तिनीहरूले भनेजस्तो भएन भने, तिनीहरूले घन्टौँसम्म ठुस्स पर्न सक्छन्। जब तिनीहरू रिसाउँछन्, तब तिनीहरू आधा महिनासम्म अरूलाई ध्यान नदिई वा अरूसँग नबोली बस्न सक्छन्। यस्ता मानिसहरू रिसाहा र सङ्कीर्ण हुन्छन्, तर पनि आफूले गर्नुपर्ने काम गर्छन्—यति मात्र हो कि तिनीहरू रिसका साथ सो काम गर्छन्। तिनीहरूको मनस्थितिमा सुधार आएपछि, तिनीहरू फेरि राम्ररी काम गर्न सक्छन्। समग्रमा, तिनीहरूको मानवताको यो खराबी र समस्या गम्भीर हुन्छ। तिनीहरूले तनावपूर्ण वातावरण सिर्जना गर्ने र आफू र अरू दुवैमाथि समस्या ल्याउने र बोझ हालिदिने सम्भावना हुन्छ। यस्ता प्रकारका मानिसहरूमा संसारसँग व्यवहार गर्दा वयस्कहरूमा हुनुपर्ने उदारता वा मनोवृत्ति हुँदैन। तिनीहरू लगभग दश वर्षको उमेरका केटाकेटी जस्तै हुन्छन्—तिनीहरू समझदार छन् भनेर भन्न सकिँदैन, किनभने तिनीहरू वास्तवमै समझदार हुँदैनन्, तर तिनीहरू अपरिपक्व छन् भनेर भन्न सकिँदैन, किनभने तिनीहरू सधैँ वयस्कले जस्तै बोल्छन्। यदि तैँले तिनीहरूलाई वयस्कहरूलाई जस्तो व्यवहार गरिस् भने, तैँले भनेको कुनै पनि कुराले तिनीहरूलाई अप्रसन्न पार्न र बाँधिएको जस्तो महसुस गराउन सक्छ, जसले गर्दा तिनीहरू अचानक बच्चा जस्तै रिसाउँछन्। तर यदि तैँले तिनीहरूलाई केटाकेटीलाई जस्तो व्यवहार गरिस् भने, तैँले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छस् भन्ने तिनीहरूलाई लाग्छ। छोटकरीमा भन्दा, तिनीहरू अत्यन्तै असामान्य हुन्छन्। यो मानवताको खराबी हो। यदि कुनै व्यक्तिमा यस्तो प्रकारको समस्या छ भने, ऊ परिवर्तन हुनुपर्छ अनि उदार र सहनशील हुन, सही तरिकाले र सही मनोवृत्तिले समस्याहरूलाई लिन र सम्हाल्न, र सामान्य मानिसहरूको तर्कसङ्गत तरिकाले अरूसँग अन्तरक्रिया गर्न सिक्नका लागि लागिपर्नुपर्छ। धेरैजसो मानिसहरूले सत्यता वा कामकुरा गर्ने सही तरिका स्वीकार नगरे पनि, तँ यसद्वारा बाँधिनु वा प्रभावित हुनु हुँदैन, न त तँ यसद्वारा प्रतिबन्धित हुनु वा सीमित हुनु नै पर्छ। तँ अझै पनि सही तरिकाले काम गर्नमा अडिग हुनुपर्छ। तँलाई गाह्रो लाग्यो भने पनि, हरेस नखा—यो पनि सिकाइको प्रक्रियाको भाग हो। बिस्तारै, तेरो मानवता, अन्तर्ज्ञान, र अरू पक्षहरू परिपक्व हुनेछन्, र तँ बढ्नेछस्। बढ्नुको चिन्ह के हो? यो धेरैजसो मानिसहरूसँग सामञ्जस्य रूपमा मिल्न सक्नु हो; यो कसैले तँलाई केही अप्रिय कुरा भन्दा, ठट्टा गर्दा, वा चोट पुर्याउने कुरा गर्दा, तैँले सहन, बुझ्न, र सही रूपमा लिन सक्नु हो। यदि अरूले भनेको कुरा अप्रिय सुनिन्छ तर त्यसले तेरो वास्तविक परिस्थिति प्रतिबिम्बित गर्छ भने, तैँले त्यसलाई स्वीकार गर्नुपर्छ र मान्नुपर्छ। यदि कसैले अनजानमा तँलाई चिढ्याउने केही कुरा भन्यो, र यो अनजानमा गरिएको हो भन्ने तैँले देखिस् भने, तैँले सहनशीलताको अभ्यास गर्ने छनौट गर्नुपर्छ। यदि कसैले जानी-जानी तँलाई निसाना बनायो र अत्यन्तै चोट पुऱ्याउने कुराहरू भन्यो भने, तँ शान्त हुनुपर्छ, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र खोजी गर्नुपर्छ: “उसले किन मलाई यसरी निसाना बनाइरहेको छ? उसको अभिप्राय के हो? के ऊ दुष्ट व्यक्ति हो, कि यो भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो? यदि ऊ दुष्ट व्यक्ति हो भने, मैले उसलाई अझै खुट्ट्याउनुपर्छ र ऊप्रति अझै सावधान हुनुपर्छ। यदि उसले भनेको कुरा सही छ र यो सत्यता अनुरूप छ भने, म यसलाई स्वीकार गर्नेछु; यदि यो गलत छ भने, ऊसँग बहस गर्नु पनि पर्दैन। यदि उसले भ्रष्ट स्वभाव प्रकाश गरिरहेको छ भने, उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भनेर म हेर्नेछु। यदि उसले सत्यता स्वीकार गर्न सक्छ भने, म ऊसँग सत्यताबारे सङ्गति गर्नेछु। यदि ऊ सत्यतालाई स्वीकार गर्दैन भने, म सहनशीलताको अभ्यास मात्रै गर्न सक्छु।” के त्यसले समस्या समाधान गर्दैन र? यसरी, जब तैँले हर प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले पारस्परिक सहनशीलता र पारस्परिक सहयोगको साथ त्यसो गर्न सक्छस्, र तँ तिनीहरूसँग सामञ्जस्य रूपमा मिलेर बस्न सक्छस्—सङ्कीर्ण व्यक्ति बन्नुभन्दा यो सधैँ राम्रो कुरा हुन्छ। एक हिसाबमा, सङ्कीर्ण मानिसहरूले अरूलाई ठूलो असहजतामा पार्छन्, र अर्को हिसाबमा, तिनीहरू कुनै पनि समूहमा मिल्न असक्षम हुन्छन्, र तिनीहरू अत्यन्तै एक्लो र अमिल्दा देखिन्छन्। कतिपय दयालु मानिसहरूले तँप्रति दयाको अनुभूति गर्नेछन्, र सबैले वास्तवमा तँलाई सहयोग गर्न चाहनेछन्, किनभने तिमीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हौ, तर जब तँ सधैँ आफूलाई एक्ल्याउँछस् र यसरी एकलै बस्छस्, तब के तँलाई तँ अरूको अगाडि अनौठो देखिन्छस् जस्तो लाग्दैन र? (लाग्छ।) तँ किन अमिल्दो छस्? किनभने तँमा मानवताको यो खराबी छ, त्यसकारण तैँले यसलाई जित्न र क्रमिक रूपमा परिवर्तन हुन काम गर्नुपर्छ, होइन र? (हो।)