सत्यता कसरी पछ्याउने (८) भाग दुई

इ. कमजोर क्षमताका प्रकटीकरणहरू

यसपछि, हामी कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरूलाई सारांश गरौँ। कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण निश्चित रूपमा नै औसत क्षमता भएका मानिसहरूको भन्दा कम सामर्थ्यको हुन्छ। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? ती के हुन् भने, परमेश्‍वरका वचनहरू आफै खोजी गर्ने वा खाने-पिउने कार्यद्वारा, तिनीहरूले परमेश्‍वरका वचनहरूको हरेक वाक्य र खण्डको अर्थलाई शाब्दिक स्तरमा बुझ्न सके पनि—साथै परमेश्‍वरका अभिप्राय र मागहरू के हुन् भनेर बुझे पनि—तिनीहरू सत्यता सिद्धान्तहरू वा परमेश्‍वरले माग गर्नुहुने मानकहरू पटक्‍कै बुझ्दैनन्। अर्थात्, तिनीहरूले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने वा आफूलाई कसरी आचरणमा ढाल्‍ने र व्यवहार गर्ने भन्‍ने बारेमा परमेश्‍वरले माग गर्नुहुने मानकहरू बुझ्दैनन्, न त तिनीहरू समावेश सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने कुरा नै बुझ्छन्। जब तिनीहरू आफै परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन्, तब तिनीहरू यी कुराहरू बुझ्न सक्दैनन्, र दैनिक जीवनका मानिस, घटना, र कामकुराहरूसँग अनुभव गरेपछि पनि, तिनीहरू अझै पनि यी कुराहरू बुझ्दैनन्। सङ्गति गरेपछि पनि, सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने बारेमा तिनीहरू स्पष्ट हुँदैनन्। यस्तो व्यक्तिको एउटा विशेषता हुन्छ: उसले सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने कुरा नबुझे पनि, ऊ आफ्ना भावनाहरूमा भर परेर आफूले पालना गर्नुपर्ने प्रावधानहरूको सारांश निकाल्न सक्छ। तिनीहरूले याद गर्न सक्ने भनेकै प्रावधानहरू हुन्—एक प्रकारको कठोर धर्मसिद्धान्त वा नियमहरू। उदाहरणका लागि, परमेश्‍वरले सत्यता सिद्धान्तहरूको एउटा पक्षबारे सङ्गति गर्नुहुन्छ, यस विषयका धेरै कुरामध्ये मानिसहरूको सकारात्मक प्रकटीकरण, नकारात्मक प्रकटीकरण, शुद्ध बोध, र विकृत बोधका उदाहरणहरू दिनुहुन्छ—कमजोर क्षमता भएका मानिसहरूले यसबाट अन्ततः के प्राप्त गर्छन्? तिनीहरू भन्छन्, “अब मैले बुझेँ। परमेश्‍वरले व्यक्तिलाई यो वा त्यो गर्न दिनुहुन्‍न। परमेश्‍वरले यो वा त्यो खान दिनुहुन्‍न। परमेश्‍वरले यी शब्दहरू, ती शब्दहरू बोल्न, वा ती शब्दावली प्रयोग गर्न दिनुहुन्‍न।” तिनीहरू यही याद गर्छन्, र यी नै सत्यता सिद्धान्तहरू हुन् भन्‍ने सोच्दै यस कुरालाई कडाइका साथ पालना गर्छन्। यदि तिनीहरूले यी प्रावधान, भनाइ, र व्यवहारका तरिकाहरू पालना गरे भने, तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुन्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तैँले तिनीहरूलाई यो त प्रावधानहरू पालना गर्नु मात्रै हो भनेर जति नै धेरै भने पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू यी प्रावधानहरू पालन गर्न जिद्दी गर्छन्, यो परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र सत्यता अभ्यास गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। आत्मिक बुझाइ नभएका त्यस्ता मानिसहरूलाई सम्हाल्ने कुनै उपाय छैन। यदि तिनीहरू प्रावधानहरू पालना गर्न इच्छुक छन् भने, तिनीहरूलाई त्यसो गर्न दिनुपर्छ—तिनीहरूका अभिप्राय गलत नभएसम्म, त्यो ठीकै हुन्छ। उदाहरणका लागि, एक पटक मैले यसो भनेको थिएँ, “जब तिमीहरू प्रार्थना गर्छौ, तब तिमीहरू भक्त हुनुपर्छ; त्यत्तिकै प्रार्थना नगर। उपयुक्त वातावरणहरूमा, प्रार्थना गर्न घुँडा टेकेर बस्‍नु, प्रार्थना गर्न परमेश्‍वरको अघि लम्पसार पर्नु नै सर्वोत्तम हुन्छ, र प्रार्थनाको अवधिमा, तँ परमेश्‍वरअघि शान्त हुनुपर्छ र हृदय केन्द्रित गरेर प्रार्थना गर्नुपर्छ। यो भक्त हुनु र परमेश्‍वरको डर मान्‍ने हृदय हुनु हो।” कमजोर क्षमता भएका मानिसहरूले यो सुनेपछि, एउटा प्रावधान मात्रै याद गरे: “भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयको साथ प्रार्थना गर्नका लागि, व्यक्तिले घुँडा टेक्नैपर्छ।” तिनीहरू प्रार्थना गर्न घुँडा टेक्‍न आवश्यक हुनुलाई सत्यता सिद्धान्तका रूपमा लिए, र यो सत्यताको अभ्यास गर्नु हो भन्‍ने विश्‍वास गर्दै त्यस अनुसार यसलाई पालन गरे। त्यसकारण, वातावरण जस्तोसुकै भए पनि, तिनीहरूले प्रार्थना गर्न घुँडा टेक्‍नमा जिद्दी गर्थे। खाना खाने बेला प्रार्थना गर्न चाहँदा पनि, तिनीहरू प्रार्थना गर्न टेबलमुनि घुँडा टेक्थे। खेतमा काम गर्दा, जमिन जति नै फोहोर भए पनि वा माटोमा जेसुकै भए पनि, तिनीहरू प्रार्थना गर्न घुँडा टेक्थे। गैरविश्‍वासीहरूका बीचमा हुँदा विपत्ति वा ठूला घटनाहरू सामना गर्दा पनि, यदि तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न चाहे भने, तिनीहरूले घुँडा टेकेर प्रार्थना गर्न गुप्त ठाउँ खोज्नुपर्थ्यो। तिनीहरूले यसरी प्रार्थना गर्नु मात्रै परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्‍ने विश्‍वास गर्थे, त्यसकारण परिस्थिति जेसुकै भए पनि, तिनीहरूलाई प्रार्थना गर्न घुँडा टेक्नैपर्थ्यो। तिनीहरूले यसो गरेर, सत्यताको अभ्यास गरिरहेका छन् भन्‍ने सोच्थे। यसका साथै, तिनीहरूले आफूलाई सबैभन्दा भक्त मानिसहरू, परमेश्‍वरको मार्गलाई सबैभन्दा नजिकबाट पछ्याउने मानिसहरू, सत्यतालाई सबैभन्दा बढी प्रेम गर्ने मानिसहरू, र सत्यता र परमेश्‍वरका वचनहरूमा सबैभन्दा बढी समर्पित हुन सक्‍ने मानिसहरू भन्‍ठान्थे। हेर् त, कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। यस्तो व्यक्ति बोधको हिसाबमा कमसल र समस्याजनक हुन्छ। ऊ सधैँ एउटै वाक्य वा प्रावधानमा कडाइका साथ सिद्धान्तहरू तय गर्छ। ऊ सत्यता बुझ्नका लागि शब्दहरू बुझ्ने र ज्ञानको विधि प्रयोग गर्छ, र अवश्य नै, ऊ प्रावधान, शब्द, भनाइ, र औपचारिकताहरू पालना गरेर सत्यता अभ्यास पनि गर्छ। तैँले सत्यता सिद्धान्तहरूका बारेमा जसरी सङ्गति गरे पनि, उसले ती सुनेपछि, तिनलाई वाक्य, प्रावधान, व्यवहारका तरिकाहरू, वा नाराहरूका रूपमा मात्रै लिन्छ। उसका लागि, यो त नियमहरू पालना गर्नु मात्रै हो। उसले सत्यताको अभ्यासलाई यति सरल, के गर्न सकिन्छ र के गर्न सकिँदैन भनेर पालना गर्ने कार्यको रूपमा लिन्छ, त्यति हो।

कमजोर क्षमता भएका मानिसहरूले सबै कुरालाई मापन गर्न र लिनका लागि प्रावधानहरू प्रयोग गरेर मानिसहरू र कामकुराहरूलाई हेर्छन्, आफूलाई आचरणमा ढाल्छन्, र व्यवहार गर्छन्। बाहिरी वातावरण र वरपरका मानिस, घटना, र कामकुराहरू चाहे जसरी परिवर्तन भए पनि, तिनीहरू फेरबदल नै नगरी अडिग रूपमा एउटै प्रावधान पालना गर्छन्। यदि तैँले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र सत्यता अभ्यास गर्दैनन् भनेर भनिस् भने, हृदयमा तिनीहरूलाई अन्याय गरियो भन्‍ने लाग्छ। तिनीहरू भन्छन्, “मैले निकै त्याग गरेको छु, धेरै कष्ट सहेको छु, परमेश्‍वरका धेरै वचन अनुसरण गरेको छु, र परमेश्‍वरका धेरै वचन अभ्यास गरेको छु—त्यसोभए म सत्यतालाई प्रेम गर्दिनँ र सत्यता अभ्यास गर्दिनँ भनेर तिमी किन भन्छौ? म प्रावधानहरू पालना गर्छु भनेर समेत किन भन्छौ? मलाई अन्याय भएको छ!” तिनीहरूले त्यस्ता शब्दहरू बोल्न सक्छन् भन्‍ने कुराले के समस्यालाई सङ्केत गर्छ? कमजोर क्षमता भएका मानिसहरूका मुख्य प्रकटीकरणहरू के-के हुन्? तिनीहरूको क्षमता कुन-कुन तरिकाले कमजोर हुन्छ? तिनीहरूमा सत्यता बोध गर्ने सामर्थ्यको पूर्ण कमी हुन्छ, त्यसकारण सत्यताको कुनै पनि पक्षबारे जति नै धेरै सङ्गति गरिए पनि, तिनीहरूका लागि अन्ततः यो सबै सिद्धान्त होइन बरु कार्य गर्ने एउटा तरिका, एउटा नियम, एउटा वाक्यांश, वा एउटा औपचारिकतामा सीमित हुन्छ। यदि कसैले तिनीहरूको नियम उल्लङ्घन गर्ने वाक्य बोल्छ वा शब्द प्रयोग गर्छ भने, तिनीहरूका लागि, यो सत्यता सिद्धान्तहरूको उल्लङ्घन हो। यो समस्याजनक कुरा हो। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरूले, एकातिर, तिनीहरूसँग सत्यता वास्तविकता छ भनेर निर्धारित गर्न विभिन्‍न प्रावधान, औपचारिकता, केवल शब्दहरू, र व्यवहारका तरिकाहरू प्रयोग गर्छन्। यसका साथै, अर्को समस्याजनक मामला पनि छ: तिनीहरू आफूले बारम्बार बोल्ने धर्मसिद्धान्तहरू, र आफूले प्रायजसो पालना गर्ने प्रावधान र व्यवहारका तरिकाहरू अरूलाई मापन गर्न र परमेश्‍वरलाई मापन गर्न समेत प्रायजसो प्रयोग गर्छन्। मापन गर्नुका साथसाथै, तिनीहरू प्रायजसो अरूलाई र परमेश्‍वरलाई गलत पनि ठहराउँछन्, र अरूलाई र परमेश्‍वरलाई सीमित गर्छन्। उदाहरणका लागि, मैले एक पटक यसो भनेको थिएँ, “म सामान्यतया चिसो कुरा खाने आँट गर्दिनँ। ती खाएपछि, मेरो पेटले सहन सक्दैन, त्यसकारण म मूलतः यी काँचो र चिसो खानाहरू खाँदिनँ।” कमजोर क्षमता भएको कसैले यो सुनेर भन्यो, “अब मैले तपाईंको कुरा बुझेँ। भविष्यमा, म तपाईंलाई काँचो र चिसो खानेकुरा नदिने सुनिश्चित गर्नेछु। म तपाईंलाई कुनै पनि हालतमा कहिल्यै काँचो र चिसो खानेकुरा खान दिनेछैनँ।” तर जब गर्मीको चरम अवस्था आयो र मौसम अत्यन्तै गर्मी थियो, र खेतमा स्ट्रबेरीहरू पाके, तब एक दिन मैले खेतमा दुई वटा स्ट्रबेरी खाएँ, र यो देखेपछि, उसले यस्तो सोच्यो: “के तपाईंले कहिल्यै काँचो र चिसो कुरा खानुहुन्न होइन र? के स्ट्रबेरी ठन्डा हुँदैन र? के तपाईँले यसभन्दा पहिले ठन्डा खानेकुरा खाँदा तपाईँको पेटलाई असहज हुन्छ भनेर भन्‍नुभएको थिएन र? त्यसोभए तपाईंले आज किन स्ट्रबेरी खानुभयो? के तपाईंले झूट बोलिरहनुभएको छैन र?” उसले हृदयमा यस्तो सोचेको थियो; यति मात्र हो कि उसले यो कुरा ठुलो स्वरले भनेन। मलाई भन, के मामलाहरूप्रतिको उसको दृष्टिकोण सही थियो? (थिएन।) यो कसरी गलत थियो? (उसले परमेश्‍वरले बोल्नुभएको प्रसङ्गलाई ख्याल नगरी परमेश्‍वरले भन्‍नुभएको एउटा कुरालाई कामकुराहरू मापन गर्ने प्रावधानका रूपमा लिएको थियो।) मेरा यी शब्दहरूले केलाई जनाउँछन् भन्‍ने उसलाई थाहा भएन। सामान्य परिस्थितिहरूमा, काँचो र चिसो खानेकुरा खाँदा मेरो पेट गडबड हुन्छ, तर अपवादहरू छन्। उदाहरणका लागि, जब म शारीरिक काम गरिरहेको हुन्छु र मेरो शरीर तातिएको हुन्छ, सँगसँगै मौसम पनि गर्मी भएकोले तापक्रम लगभग तीस डिग्री पुग्छ, र ती काँचो र चिसा खानाहरू त्यति चिसा हुँदैनन्, तब त्यस्ता परिस्थितिहरूमा, म थोरै मात्रामा खान सक्छु। मैले ती कुरा पटक्‍कै खानु हुँदैन भन्‍ने होइन। जब मैले “ती खान मिल्दैन” भनेर भनेँ, तब मैले साधारण परिस्थितिहरूलाई जनाइरहेको थिएँ; अत्यधिक गर्मीका मौसममा, थोरै मात्रामा खाँदा मलाई केही हुँदैन। कमजोर क्षमता भएको व्यक्तिले यी शब्दहरू बुझ्न सकेन। उसले ती कुरा सुनेपछि, तिनलाई प्रावधान वा सूत्रका रूपमा लियो। जब विशेष परिस्थितिहरू देखा परे, उसले अझै पनि तिनलाई यो सूत्रमा मिलाउने प्रयास गऱ्यो। ती मिल्दैनन् भन्‍ने देखेपछि, उसले यो कुरा बुझ्‍न सकेन: “के तपाईंले काँचो र चिसो कुरा खानु हुँदैन भनेर भन्‍नुभएको होइन र? अहिले तपाईं कसरी ती खाँदै हुनुहुन्छ? के तपाईंले झूट बोलिरहनुभएको छैन र?” मेरा शब्दहरू बुझ्न नसक्‍नुका हिसाबमा उसको कमी कहाँ थियो? (ऊसँग कुनै बोध सामर्थ्य थिएन।) उसको कमी वातावरण र विशेष परिस्थितिहरूको परिवर्तनका आधारमा यस मामलालाई मूल्याङ्कन र बोध गर्न नसक्‍नुमा नै थियो। यदि पर्याप्त क्षमता भएको व्यक्तिले यो कुरा देख्यो भने, काम गरेपछि र मेरो शरीर तातो भएपछि, अनि गर्मीको मौसम छ र यी फलहरू त्यति चिसा छैनन् भन्‍ने तथ्यको साथै, थोरै मात्रामा खाँदा त्यो मेरा लागि समस्या होइन, र यो अत्यन्तै सामान्य कुरा हो भन्‍ने उसलाई थाहा हुनेछ। उसले यो कुरा बुझ्न र त्यसबारे छर्लङ्ग हुन सक्छ। तर कमजोर क्षमता भएको व्यक्ति यो कुराबारे छर्लङ्ग हुन सक्दैन; ऊ यही विन्दुमा अड्किन्छ र उसको हृदयमा धारणाहरू उत्पन्न हुन्छन्। धारणाहरू पैदा भएपछि परिणाम के हुन्छ? यसले तिनीहरूलाई सजिलै गलत र दोषी ठहराउने बनाउँछ। के कुरा यही होइन र? (हो।) अवश्य नै, यो सानो मामला ठूलो समस्या होइन, तर उसले यसलाई हृदयबाट त्याग्‍न नै सक्दैन: “के यो झूट बोल्नु होइन र? त्यसोभए तपाईं पनि झूट बोल्नुहुँदो रहेछ!” देखिस्, तिनीहरू यो अत्यन्तै सानो मामलालाई समेत सीमित गर्न र गलत ठहराउन हतार गर्छन्। अनि ठूला समस्याहरू आउनुभन्दा पहिले नै यस्तो हुन्छ—तिनीहरूमा धारणाहरू उत्पन्न भइसकेका हुन्छन्। कमजोर क्षमता भएका मानिसहरूले त्यस्ता स-साना मामलाहरूलाई समेत छर्लङ्ग देख्‍न सक्दैनन् र तिनीहरूसँग कुनै सुझबुझ हुँदैन। तिनीहरूले जुनसुकै समस्यालाई हेरिरहेका भए पनि, कडाइका साथ प्रावधानहरू लागू गर्छन्। तिनीहरूले प्रावधानहरू पालन गर्न सक्‍नेहरूसँग मात्रै सत्यता हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तेरा शब्द र व्यवहारहरू सत्यता सिद्धान्तहरूसँग जसरी मिले पनि, ती कुरा त्यस्ता मानिसहरूका धारणा र कल्पनाहरूको विरुद्धमा गएसम्म र तिनीहरूले पहिचान गर्ने प्रावधानहरूसँग बाझिएसम्म, तिनीहरूले हृदयमा तँलाई गलत र दोषी ठहराउनेछन्। तिनीहरूले यो कुरा ठूलो स्वरले नभने पनि, तिनीहरूमा तेरा विरुद्धमा धारणा वा पूर्वाग्रहहरू उत्पन्न हुनेछन्। कमजोर क्षमता भएका यी मानिसहरूले, चाहे जति धेरै प्रवचन सुने पनि वा तिनीहरूसँग सत्यताका जुनसुकै पक्षहरूबारे सङ्गति गरिए पनि, सधैँ सबै कुरालाई एउटै अभिव्यक्ति, व्यवहारको शैली, वा प्रावधानमा झार्छन्, र तिनीहरूले यी अभिव्यक्ति, व्यवहारका तरिका, र प्रावधानहरूलाई ठूलो उत्साहको साथ पालना गर्छन्; तिनीहरूले तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरू हुन्, र तिनीहरू साँच्‍चै नै सत्यतामा समर्पित हुन्छन् र साँच्चै परमेश्‍वरको डर मान्छन् भन्‍ने समेत विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्छन् र संसारमा कसैले पनि परमेश्‍वरलाई तिनीहरूले भन्दा बढी प्रेम गर्दैन भन्‍ने सोच्दै कहिलेकहीँ तिनीहरू आँसु झर्ने गरी उत्प्रेरित समेत हुन्छन्। वास्तवमा, तिनीहरूले पालना गर्ने कुरा बस एउटै प्रावधान वा काम गर्ने एउटै तरिका मात्रै हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका छन् र परमेश्‍वरले तिनीहरूलाई सिद्ध तुल्याउनुभएको छ भन्‍ने विश्‍वास गर्दै यसरी आफ्नो अभ्यास अघि बढाउँछन् र अपरिवर्तनीय रूपमा यसमा अडिग रहन सक्छन्। मलाई भन, के यो समस्याजनक कुरा होइन र? (हो।)

के तिमीहरूले मानिसहरूले प्रावधानहरू प्रायजसो पालना गरिरहेका घटनाहरू देख्छौ? (देख्छौँ।) उदाहरणका लागि, तैँले खाना पकाउने व्यक्तिलाई मौसम झन् गर्मी हुँदै गइरहेको छ, त्यसकारण हरेक दिन उसले मानिसहरूको भोक जगाउनका लागि ठन्डा गर्ने जडीबुटीको चिया वा चिसो पेय पदार्थ तयार गर्नुपर्छ, र खाना बनाउने क्रममा केही चिसा खानेकुराहरू—जसलाई पश्चिमी मानिसहरूले सलाद भन्छन्—दिनुपर्छ भनेर भन्छस्। कमजोर क्षमता भएको व्यक्तिले यो कुरालाई स्मृतिमा छाप्छ: जब मौसम अत्यन्तै गर्मी हुन्छ, तब मानिसहरूले चिसो खाना खानुपर्छ र चिसो पेय पदार्थ पिउनुपर्छ। उसले यो कुरा राम्ररी याद गर्छ र यसलाई लगनशीलताको साथ पालना गर्छ। तर, एक दिन, जब तापक्रम घट्छ, तब उसले मौसम चिसो छ कि छैन भन्‍ने कुरालाई बेवास्ता गर्छ र यसो सोच्छ, “अहिले गर्मी याम हो, त्यसकारण मैले चिसो खाना र चिसो पेय पदार्थहरू बनाउनुपर्छ। म तपाईंलाई पूर्ण रूपमा आनन्द दिन, तपाईंलाई पूर्ण रूपमा शीतल पार्नका लागि हरेक दिन ती बनाउनेछु। तापक्रम घट्छ कि घट्दैन मलाई मतलब छैन!” उसले चिसो खानेकुरा तयारी गर्ने मात्र होइन, नुडलहरूसमेत चिसो पानीमा पखाल्छ, अनि खानापछि चिसो पेय पदार्थ दिन्छ, र केही बरफसमेत थपिदिन्छ। कतिपय मानिसहरू यो देखेपछि यसो भन्छन्: “आज अत्यन्तै चिसो छ। तिमीले कसरी अझै पनि चिसो खाना बनाउन सक्यौ? अनि तिमीले चिसो पेय पदार्थहरूमा बरफ समेत हाल्यौ—के तिमीले हामीलाई चिसोले मार्ने प्रयास गरिरहेका छौ?” खाना पकाउने व्यक्तिलाई चोट पुग्छ र उसले भन्छ, “के म साँच्‍चै यति दुर्भावपूर्ण छु? गर्मी याममा साह्रै गर्मी हुन्छ—के मैले सबैलाई शीतल होस् भनेर र अझै धेरै खाना रुचोस् भनेर सहयोग गर्नका लागि मात्रै यसो गरिरहेको छैनँ र? के यो सिद्धान्तहरू पछ्याउनु र सबैलाई ख्याल गर्नु होइन र? म कसरी गलत भएँ? अनि अहिले मैले तिमीहरूलाई चिसोले मार्ने प्रयास गरिरहेको छु भनेर भन्दैछौ—के ममा साँच्‍चै नै सदाचारको त्यस्तो कमी छ र? के मेरो मानवता साँच्‍चै त्यति खराब छ? तिमीहरू सबै मलाई साह्रै बेवास्ता गर्छौ!” यसरी खाना बनाउँदा, के उसले सिद्धान्तहरू पालना गरिरहेको हुन्छ? यहाँ सिद्धान्त के हो? ऋतु र तापक्रमअनुसार खाना र पेय पदार्थ समायोजन गर्नु हो। गर्मीमा मौसम तातो हुँदा, मानिसहरूको भोक जगाउन सक्‍ने तुलनात्मक रूपमा चिसो खानेकुरा वा पेय पदार्थहरू खानु—यो सिद्धान्त हो, होइन र? यो सिद्धान्त हो। तर अहिले, तापक्रम अचानक घटेको हुनाले, यो सिद्धान्तलाई कसरी लागू गर्नुपर्छ? (जब तापक्रम अचानक घट्छ, तब खाना पकाउने व्यक्ति उप्रान्त पहिले सल्लाह दिइएको जस्तै चिसो खानेकुरा वा सलाद तयार गर्नमा लागिरहनु हुँदैन, तर उसले मौसमअनुसार यसलाई समायोजन गर्नुपर्छ, बरु तातो खाना बनाउनुपर्छ। उसले प्रावधानहरू पालना गरिरहन मिल्दैन।) ठीक भन्यौ। गर्मीमा कहिलेकहीँ मौसम चिसो हुँदा, तँ गर्मीमा चिसो खाना र चिसो पेय पदार्थ बनाउने कार्यमा लागिरहनु हुँदैन—तैँले यो प्रावधान पालना गरिरहन मिल्दैन। जब तापक्रम अचानक घट्छ, तब मानिसहरूले उपभोग गर्ने खाना र पेय पदार्थ पनि तुरुन्तै परिवर्तन हुनुपर्छ। उप्रान्त चिसो खाना र चिसो पेय पदार्थहरू बनाउनु हुँदैन, र बरफहरू त निश्चय नै थप्नु हुँदैन। बरु, तैँले तातो खाना पकाउनुपर्छ, केही तातो नुडल बनाउनुपर्छ, तापक्रम र मौसम अनुसार खाना र पेय पदार्थहरू समायोजन गर्नुपर्छ। सिद्धान्त यही हो। तर कमजोर क्षमता भएको व्यक्ति, गर्मी याम भएसम्म, तापक्रम वा मौसमको अवस्था जेसुकै भए पनि, चिसो पेय पदार्थ र चिसो खानाहरू बनाउने कार्यमा लागिरहन्छ—यहाँ समस्या के हो? (प्रावधानहरू पालना गर्नु।) यो प्रावधानहरू पालना गर्नु, परिस्थिति अनुसार लचकताको साथ सिद्धान्तहरू लागू गर्न नसक्‍नु हो। कमजोर क्षमता भएका मानिसहरूले काम गर्ने तरिकाका हिसाबमा तिनीहरूका प्रकटीकरणहरू यिनै हुन्—तिनीहरूले एउटा अभिव्यक्ति याद गर्छन् र यसलाई पालना गर्नुपर्ने प्रावधानका रूपमा लिन्छन्, र वातावरण, मानिस, घटना, र कामकुराहरू चाहे जसरी परिवर्तन भए पनि, तिनीहरूले मामलाहरू सम्हाल्न लचकदार ढङ्गले सिद्धान्तहरू लागू गर्न सक्दैनन्। वास्तवमा, खाने-पिउने सम्बन्धी सिद्धान्तहरू स्थापित गरेर हासिल गर्नुपर्ने नतिजा भनेको मानिसहरूले आफ्नो शरीरलाई सहज महसुस गराउने तरिकाले खान्छन् भन्‍ने कुरालाई सुनिश्‍चित गर्नु हो। त्यस्ता सिद्धान्तहरू पटक्‍कै प्रावधानहरू होइनन्। तैपनि, तापक्रम वा मौसमलाई ख्याल नगरी, तँलाई खान सहज लाग्छ कि लाग्दैन भन्‍ने कुरालाई वास्ता नगरी, प्रावधानहरू पालना गर्नेहरू गर्मी याम भएसम्म चिसो खाना र चिसो पेय पदार्थ बनाउने कार्यमा लागिरहन्छन्—प्रावधानहरू पालना गर्नु भनेको यही हो। सिद्धान्तहरू अनुसार अभ्यास गर्नु भनेको गरिने सबै कुरा अन्तिम असल नतिजा हासिल गर्नमा केन्द्रित भएर गर्नु हो। तर, प्रावधानहरू पालना गर्दा, नतिजालाई बेवास्ता गरिन्छ र औपचारिकताहरू र व्यवहार गर्ने तरिकाहरूमा मात्रै केन्द्रित भइन्छ। कमजोर क्षमता भएका मानिसहरूले समस्याहरूलाई ठ्याक्कै यसरी नै सम्हाल्छन्—जस्तोसुकै परिस्थितिहरू देखा परे पनि, तिनीहरूले तिनलाई सम्हाल्न एउटै शैली प्रयोग गर्छन्।

कमजोर क्षमता भएका मानिसहरूले आफ्नो बाटोमा आउने कुनै पनि कुरालाई छर्लङ्ग देख्‍न सक्दैनन्। परमेश्‍वरका वचनहरू पढ्दा वा प्रवचनहरू सुन्दा पनि, तिनीहरूको बोधमा केही विकृति हुन्छ र त्यसमा अपरिहार्य रूपमा विचलनहरू समावेश हुन्छन्। तिनीहरूले एउटा प्रावधान, व्यवहारको तरिका, वा विधिवत् कार्य पालना गरिरहेका हुन्छन्, जुन सत्यता सिद्धान्तहरूभन्दा पूर्ण रूपमा फरक हुन्छ, र परिणाम स्वरूप धेरै विकृत कुराहरू देखा पर्छन्। कुनै पनि मामलाका सन्दर्भमा, कमजोर क्षमता भएका मानिसहरूको बोधमा सधैँ अलिक विकृत प्रकृति हुन्छ भनेर भन्‍न सकिन्छ। सरल र सजिलै व्यवस्थापन गर्न सकिने कामकुराहरूमा तिनीहरू विकृति नदेखाई आज्ञापालन र समर्पणता हासिल गर्न सक्लान्, तर सिद्धान्त-आधारित मामलाहरू वा तुलनात्मक रूपमा जटिल समस्याहरूका हकमा, तिनीहरूले सत्यता सिद्धान्तहरू बोध गर्न सक्दैनन्, र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्। बुझ्यौ? (बुझ्यौँ।) कमजोर क्षमता भएका मानिसहरूमा सत्यता बोध गर्ने सामर्थ्यको पूर्ण कमी हुन्छ र तिनीहरूलाई प्रावधानहरू पालना गर्न मात्रै आउँछ। त्यस्ता मानिसहरू निकै समस्याजनक पनि हुन्छन्। तिनीहरू प्रावधानहरू पालना गर्न अत्यन्तै उत्साहित र सङ्कल्परत हुन्छन्। यदि तैँले तिनीहरूसँग सङ्गति गरेर “तिमीले जे गरिरहेका छौ, त्यो प्रावधानहरू पालना गर्नु हो, सत्यता सिद्धान्तहरू पालना गर्नु होइन” भनेर भनिस् भने, तिनीहरू यो कुरा स्वीकार गर्न सक्दैनन्। तिनीहरूलाई यस्तो लाग्छ: “मैले दृढतापूर्वक सिद्धान्तहरू पालना गरिरहेको छु र म अरूसँग सम्झौता गर्न सक्दिनँ! अरूले सिद्धान्तहरू पालना गर्दैनन् र यसका लागि दोषी ठहरिन्छन्, तर जब म तिनलाई पालना गर्छु, म पनि दोषी ठहरिन्छु। यो अन्यायपूर्ण कुरा हो!” तिनीहरू कति जिद्दी हुन्छन् हेर् त, तैँले तिनीहरूलाई मनाउन नै सक्दैनस्। के तिमीहरूले त्यस्ता मानिसहरू सामना गरेका छौ? (गरेका छौँ।) उदाहरणका लागि, म कतिपय मानिसहरूलाई यसो भन्छु, “यदि तँ नृत्य सिक्न चाहन्छस् भने, तैँले काममा व्यस्तता नभएको बेला हरेक दिन दुई घण्टा तालिम लिनका लागि छुट्याउन सक्छस्। यदि तैँले केही समयसम्म निरन्तरता दिइस् भने, सिक्‍नेछस्।” तिनीहरूलाई “हरेक दिन दुई घण्टा निरन्तर तालिम लिनु” भन्‍ने वाक्यांश याद हुन्छ र त्यसो गर्नु भनेको सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूमा लागिरहनु हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। त्यसपछि, तिनीहरूले पूरा गरिरहेका कर्तव्यमा जति नै व्यस्तता भए पनि, तिनीहरू अझै पनि हरेक दिन दुई घण्टा नृत्यको तालिम लिनमा अडिग रहन्छन्। बिहानदेखि साँझसम्म मण्डलीको काममा अत्यन्तै व्यस्तता हुने र तिनीहरूसँग मूलतः दिनको दुई घण्टा बाँकी नहुने समयावधिमा पनि, तिनीहरू दुई घण्टासम्म नृत्यको तालिम लिने जिद कस्छन्। जब अरूले तिनीहरूलाई यसले मण्डलीको काममा ढिलाइ हुन सक्छ भनेर सम्झाउँछन्, तब तिनीहरू सुन्न मान्दैनन् र भन्छन्, “परमेश्‍वरले मलाई हरेक दिन दुई घण्टासम्म नृत्यमा तालिम लिन निर्देशन दिनुभएको छ। मैले यो गर्नु नै पर्छ। यदि मैले यसो गरिनँ भने, यसको अर्थ म अनाज्ञाकारी छु र ममा कुनै समर्पणता छैन भन्‍ने हुन्छ।” यदि तैँले तिनीहरूलाई यसो नगर्नू भनेर भनिस् भने, तिनीहरू अनिच्छुक हुन्छन्। तिनीहरूले कामका आवश्यकताहरू वा वातावरणका आवश्यकताहरूका आधारमा लचकताको साथ कामकुरा सम्हाल्न वा मेरा वचनहरू लागू गर्न सक्दैनन्। तिनीहरूले किन दुई घण्टा तालिम लिनुपर्छ, दुई घण्टा तालिम लिनुको महत्त्व के हो, वा यसले के नतिजा हासिल गर्ने उद्देश्य राख्छ भन्‍ने कुरा बुझ्दैनन्। तिनीहरू यी कुराहरू बुझ्दैनन् र यसबारे अस्पष्ट हुन्छन्। तिनीहरूका लागि, सत्यता अभ्यास गर्नु भनेको एउटै अभिव्यक्ति, प्रावधान, वा औपचारिकता पालना गर्नु मात्रै हो—तिनीहरूका दृष्टिकोणमा, त्यो सत्यता अभ्यास गर्नु हो। कुनै नतिजा हासिल भए वा नभए पनि अथवा नतिजा जेसुकै भए पनि, तिनीहरू जिद्दी भएर एउटै पथमा लागिरहन्छन्, नाकै भाँचिए पनि अड्डी छाड्दैनन्। तिनीहरूले आफ्नो अभ्यासमा बाटो बिराए पनि, तिनीहरूले निरन्तर त्यसरी नै काम गरिरहनेछन्। तिनीहरूले वाहियात व्यवहार गरिरहेका छन् भनेर भन्दा पनि, तिनीहरू अझै पनि त्यसो गर्न जिद्दी गर्छन्। के त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? तिनीहरूसँग चाहे जसले सङ्गति गरे पनि, काम गर्दैन। तैँले श्रमसाध्य रूपमा कुराहरू स्पष्ट रूपमा व्याख्या गरेपछि, तिनीहरूले आज यो मामला बुझ्न सक्लान्, तर भोलि तिनीहरूले अर्को मामलामा प्रावधानहरू पालना गर्नेछन्, अटुट रूपमा प्रावधानहरू पालना गर्नेछन्, र तैँले तिनीहरूलाई निरन्तर सच्याउनुपर्ने हुन्छ। तिनीहरू कि त बायाँ कि त दायाँतिर भड्किन्छन्, र तिनीहरूले यो वा त्यो मामलामा बाटो बिराइरहेका हुन्छन्—तिनीहरूले निरन्तर अटुट रूपमा बाटो बिराइरहन्छन्। तिनीहरूलाई हेर्दा तँ बेचैन हुन्छस्, तर तैँले जति नै प्रयास गरे पनि तिनीहरूलाई सच्याउन सक्दैनस्। किन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरू, सही र गलत, ठीक र बेठीक, सत्यता र प्रावधानहरू बीचमा कहिल्यै भिन्‍नता छुट्याउन सक्दैनन्। तिनीहरूसँग यी कुराहरूलाई छुट्याउने कुनै मानक हुँदैन, तिनलाई छुट्याउने कुनै सामर्थ्य हुँदैन, र तिनीहरू तिनलाई छुट्याउनै सक्दैनन्। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरू प्रावधान-आधारित काम र लघु कार्यहरू, वा सत्यता सिद्धान्तहरूसँग असम्बन्धित एकल-पक्षीय काम मात्रै गर्न सक्छन्, जस्तै हरेक दिन नियमित समयतालिका पछ्याउनु, निश्‍चित समयमा एउटा काम गर्नु र अर्को निर्धारित समयमा अर्को काम गर्नु—अर्थात्, तिनीहरू ती सरल कामहरू मात्र सम्हाल्न सक्छन् जसमा काम राम्ररी गर्नका लागि समयतालिका, औपचारिकताहरू र कामकुरा गर्ने तरिकालाई पालना गरे पुग्छ। तर तिनीहरूले अलिक बढी जटिल काम सम्हाल्न सक्दैनन्। तिनीहरूबाट सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ र निश्‍चित नतिजाहरू हासिल गर्नुपर्छ भन्‍ने माग गरिएपछि, तिनीहरू यो कुरा हासिल गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरू लचकदार ढङ्गले लागू गर्न, उपयुक्त रूपमा विभिन्‍न समस्याहरू सम्हाल्न, र वातावरण अनुसार आफूलाई अनुकूल बनाउन माग गर्ने काम दिइस् भने, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूले यो काम पूरा गर्न सक्दैनन्। तिनीहरूलाई सहयोग गर्न र निर्देशन दिन कोही हुनु नै पर्छ; तैँले तिनीहरूले स्वतन्त्र रूपमा काम राम्ररी गर्छन् भनेर अपेक्षा गर्न सक्दैनस्। त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू हर दिन नियमित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नमा अडिग रहन सक्‍ने भए पनि, अनपेक्षित परिस्थितिहरू सामना गर्दा, तिनीहरूलाई कसरी प्रतिक्रिया दिने भनी थाहा हुँदैन र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न समेत छोड्न सक्छन्। त्यस्ता मानिसहरूका लागि, तिनीहरूको काम बारे बारम्बार सोधपुछ गर्नु र निरीक्षण गर्नु आवश्यक हुन्छ, र यो सोध्नुपर्छ, “यो अवधिमा, के मण्डलीको काममा कुनै अवरोध वा बाधाहरू आएका छन्? के तिमीलाई सम्हाल्‍न नआएका कुनै जटिल समस्याहरू छन्?” यसबारे विचार गरेपछि, तिनीहरू भन्छन्, “यो अवधिमा सबै कुरा ठीकठाक रहेको छ। सबैले आ-आफ्नो कर्तव्य पूरा गरिरहेका छन् र सामान्य रूपमा भेला भएर परमेश्‍वरका वचनहरू खान-पिउन सक्छन्। कसैले पनि अवरोध वा बाधा दिएको छैन, र अरूलाई बहकाउन कसैले भ्रमहरू फैलाएको मैले सुनेको छैनँ।” तिनीहरूले कुनै समस्याहरू पहिचान गर्न सक्दैनन् र के रिपोर्ट गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, न त तिनीहरूले प्रश्‍नहरू उठाउन समेत सक्छन्। त्यसकारण, तैँले तिनीहरूबाट, वास्तविक जीवनमा वा आफ्नो कर्तव्य पूरा गर्दा देखा पर्ने समस्याहरू आफै सम्हाल्छन् वा समाधान गर्छन् भन्ने अपेक्षा गर्न सक्दैनस्। न त तैँले तिनीहरूबाट, कुनै कुरा कसरी सम्हाल्ने भन्‍ने थाहा नभएको बेला आफूभन्दा माथि रहेका मानिसहरूबाट खोजी गर्छन् वा तिनीहरूलाई प्रश्‍नहरू सोध्छन् भन्‍ने नै अपेक्षा गर्न सक्छस्। तिनीहरूको क्षमता अपर्याप्त भएकोले तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्दैनन्। यदि त्यस्ता मानिसहरूले आफूभन्दा माथिका मानिसहरूलाई समस्याहरूका बारेमा रिपोर्ट गरेनन् भने, अरूले तिनीहरूसँग कुनै समस्या छैन भन्‍ने सोच्न सक्छन्। तर, यो कुरा साँचो होइन। तिनीहरू साधारण समस्याहरूलाई समेत पहिचान गर्न सक्दैनन्, र तिनीहरूका अगाडि समस्याहरू थुप्रिँदा पनि, तिनीहरू तिनलाई समस्याहरूका रूपमा लिँदैनन्। र त्यसकारण, तिनीहरू समस्याहरू पनि समाधान गर्दैनन्। तिनीहरूको शिर, दुई आँखा र दुई कान हुन्छ; तिनीहरू देख्‍न, सुन्‍न, र बोल्न सक्छन्, र तैपनि तिनीहरू समस्याहरू पहिचान गर्न वा समाधान गर्न सक्दैनन्। तिनीहरूमा समस्याहरू पहिचान गर्ने र सम्हाल्ने क्षमता र सामर्थ्यको पूर्ण कमी हुने हुनाले, तिनीहरूको रूप जति नै चलाख देखिए पनि, यसको कुनै काम हुँदैन। तिनीहरूले आफूले देखेको वा सुनेको कुरालाई मनमा लिएर मन्थन गर्न र यी समस्याहरू हुन् कि होइनन् वा तिनलाई कसरी सम्हाल्नुपर्छ भनेर पत्ता लगाउनका लागि यसबारेमा विचार गर्न सक्दैनन्। यदि तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरूलाई सम्हाल्न नसकेमा, ती कुराहरूबारे आफूभन्दा माथि रहेका मानिसहरूलाई रिपोर्ट पनि गर्नेछैनन्। तिनीहरू यीमध्ये कुनै पनि कुरा गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। के यसले तिनीहरूको क्षमता कमजोर छ भन्‍ने देखाउँदैन र? के यी कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू होइनन् र? (हुन्।) यदि तैँले कमजोर क्षमता भएको व्यक्तिलाई, “के यो अवधिमा काममा कुनै समस्याहरू आएका छन्? के तिमीले सिद्धान्तहरू नबुझेका कुनै क्षेत्रहरू छन्?” भनेर सोधिस् भने तिनीहरूले जवाफ दिन्छन्, “कुनै समस्या छैनन्; सबै जना व्यस्त रहेका छन्, र सबै कुरा निकै राम्ररी अघि बढिरहेको छ!” तिनीहरूका लागि, सबै कुरा ठीकै हुन्छ। अगुवा वा कामदारका रूपमा, यदि तिनीहरूले सबै कुरा ठिक छ भनेर भन्दा तैँले बस तिनीहरूलाई विश्‍वास गरिस् भने, तँ अत्यन्तै मूर्ख होस् र तँ तिनीहरू जस्तै कमजोर क्षमता भएको व्यक्ति होस्। असल क्षमता भएका मानिसहरूलाई समस्याहरूबारे कसरी सिक्‍ने भन्‍ने मात्रै थाहा हुँदैन तर तिनीहरूले ती समस्याहरूलाई आफै पहिचान गर्न सक्नुपर्छ। तिनीहरू समस्याहरूलाई लक्षित गरेर कुराकानीहरूमा संलग्‍न हुन सक्छन्, र तिनीहरूले कुरा गर्दै जाँदा, समस्याहरू स्वाभाविक रूपमा आफै देखा पर्छन्। जब तैँले समस्या पत्ता लगाउँछस् र कमजोर क्षमता भएको व्यक्तिलाई उसले त्यो कसरी सम्हाल्यो भनेर सोध्छस्, तब उसले प्रतिक्रिया दिन्छ, “कुन समस्या? मैले कसरी यो कुरा याद गरिनँ?” कमजोर क्षमता भएका मानिसहरूले समस्याहरू पहिचान गर्न सक्दैनन्, त्यसकारण काम गर्दा, तँ समस्याहरूका बारेमा सिक्न र तिनलाई पहिचान गर्न सिपालु हुनुपर्छ, समस्याहरूलाई हातमा लिनुपर्छ र छोड्नु हुँदैन, त्यसपछि तिनलाई सम्हाल्न र समाधान गर्न सहयोग गर्नुपर्छ। समस्याहरूलाई पहिचान गर्नका लागि कमजोर क्षमता भएका मानिसहरूसँग कसरी कुराकानी गर्ने, तिनीहरूलाई प्रश्नहरू कसरी सोध्‍ने र कुराकानी गर्दै सोधपुछ कसरी गर्ने भन्‍ने कुरा तँलाई थाहा हुनुपर्छ। तैँले कुराकानी गर्दै जाँदा, तिनीहरूले अनजानमा समस्याहरू आफै उठाउनेछन्। यसरी कुरा नगरी, यी समस्याहरू पहिचान गर्न असम्भव हुनेथियो। तैँले तिनीहरूसँग यसरी कुराकानी गर्ने हुनाले, तिनीहरूले अन्तर्बोध पाउँछन् र अचानक यी समस्याहरू पहिचान गर्छन्। यदि तैँले परिस्थितिबारे सिक्न यो शैली प्रयोग गरिनस् भने, तिनीहरू आफूले देख्ने यी कुराहरूलाई समस्याका रूपमा देख्‍नेछैनन्। त्यसकारण, जब कुराकानीका अवधिमा समस्याहरू पत्ता लगाइन्छ, तब तिनलाई अलि-अलि गर्दै स्पष्ट पार्नुपर्छ, मञ्जन निचोरेर निकालिए जस्तै। सबै समस्याहरू समाधान भएपछि मात्रै तिनीहरूलाई अलिक लाज लाग्नेछ। के यसले तिनीहरूको क्षमता कमजोर छ भन्‍ने देखाउँदैन र? (देखाउँछ।) कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्: समस्याहरू हुँदा पनि, तिनीहरू तिनलाई पहिचान गर्न सक्दैनन्, र तिनीहरूले समस्याहरूलाई पहिचान गर्न नसक्‍ने हुनाले, तिनलाई कहिल्यै उठाउन वा समाधान गर्न सक्दैनन्। मलाई भन्, यदि तिनीहरू समस्याहरू पहिचान गर्न सक्दैनन् भने, के तिनीहरू आफ्नो काम राम्ररी गर्न सक्छन्? के तिनीहरूले प्रावधानहरू पालना गरेर आफ्नो काम राम्ररी गर्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्। यो कमजोर क्षमता हुनुको एउटा प्रकटीकरण हो। यदि तैँले तिनीहरूको क्षमता कमजोर छ भनेर भनिस् भने, तिनीहरू यस्तो समेत सोच्छन्, “मेरो क्षमता उत्कृष्ट छ! परमेश्‍वरले कुनै कुराबारे बोल्‍नुभएपछि, म तुरुन्तै एउटा व्यवहार गर्ने तरिका वा प्रावधान बुझ्छु, र यसलाई जीवनभरि पालना गर्न सक्छु। देख्यौ? के मेरो क्षमता असल छैन र? तिमीहरू सबैजना मुख्य बुँदाहरू बुझ्न असफल हुन्छौ, तर म त बुझ्न सक्छु। उदाहरणका लागि, मलाई गर्मी याममा मौसम तातो हुन्छ र हामीले चिसो खाना खानुपर्छ भनेर भनिएको थियो। त्यसकारण, म चिसो खाना बनाइरहन्छु र चिसो पेय पदार्थहरू दिइरहन्छु—म यो निर्देशन पालना गर्न सक्छु। हेर त, तिमीहरू कसैले पनि यसलाई पालना गर्न सक्दैनौ, र तिमीहरू सधैँ सिद्धान्तहरूबारे कुरा गरिरहेका हुन्छौ। के सिद्धान्तहरू त प्रावधानहरू मात्रै होइनन् र? यदि तिमीले प्रावधानहरू पालना गऱ्यौ भने, के त्यो सिद्धान्तहरू पालना गर्नु होइन र?” तिनीहरू आफ्नो क्षमता असल छ भन्‍ने समेत सोच्छन्, र तिनीहरू आफूले समस्याका मुख्य बुँदाहरू बुझ्न सक्ने, र लामो प्रवचनबाट, आफूले पछ्याउनुपर्छ भन्‍ठानेको एउटा अभिव्यक्ति, व्यवहारको शैली, प्रावधान, वा एउटा वाक्यांश वा शब्दसमेत आफूले चुन्न सक्ने विश्‍वास गर्छन्। मलाई भन्, के यो समस्याजनक कुरा होइन र? त्यस्ता मानिसहरू निकै धेरै छन्। जब तैँले सत्यताका विभिन्‍न विवरणहरूका बारेमा सङ्गति गर्छस्, तब तिनीहरूले बुझ्न सक्दैनन् र यसो समेत भन्छन्, “कस्तो झमेला! तिमी बोलेको-बोलै गर्छौ। के यो त ती शब्दहरू नबोल्नु वा त्यस्तो कुरा नगर्नु भन्‍ने मात्रै होइन र? त्यो एउटा अभिव्यक्ति पालना गर, त्यत्ति त हो नि—यो एउटा अभिव्यक्तिको कुरा मात्रै हो। किन यसलाई यति झिजोलाग्दो बनाउनु? तिमी विभिन्‍न प्रकारका मानिसहरूको स्थिति, वातावरण, र मानवतालाई समेत छुट्याउँछौ, र विकृत र विशुद्ध बोधका बीचमा भिन्‍नता छुट्याउँछौ। के साँच्‍चै नै यति धेरै विवरणहरू समावेश हुन्छन् त? किन यति साह्रो तोकेर नै भन्‍ने? तिमी कति झर्को लाग्दो छौ!” तिनीहरू अरूलाई दोषीसमेत ठहराउँछन्। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

कमजोर क्षमता भएका मानिसहरूका विशेषताहरू के-के हुन्? तिनीहरू सत्यता सिद्धान्तहरू बुझ्दैनन्; सत्यता सिद्धान्तहरूको जुनसुकै पक्ष भए पनि, तिनीहरू त्यसलाई एक प्रकारको प्रावधान वा सूत्रका रूपमा लिन्छन्, त्यसपछि अथक जोसको साथ त्यसलाई पछ्याउँछन्। तिनीहरू धेरै धर्मसिद्धान्तहरू बोल्न सक्छन् र त्यसकारण आफूले सत्यता सिद्धान्तहरू बुझ्छु भन्‍ने सोच्छन्, तर वास्तवमा, तिनीहरूले सत्यता पटक्‍कै बुझ्दैनन्। यदि तैँले कमजोर क्षमता भएका यी मानिसहरूलाई काम गर्ने अगुवा र कामदारहरूका लागि रहेका केही सिद्धान्तहरू व्याख्या गरिदिइस्, तिनीहरूलाई यी सिद्धान्तहरूको बुझाइका आधारमा काम गर्न र विभिन्‍न समस्याहरू सम्हाल्न आग्रह गरिस् भने, तिनीहरूले ती कुराहरूलाई पटक्‍कै लागू गर्न सक्‍नेछैनन्। तिनीहरू यी सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त काम गर्दा यी सत्यता सिद्धान्तहरू लागू नै गर्न सक्छन्। जब तिनीहरू काम गर्न जान्छन्, तब यो पूर्ण रूपमा प्रावधानहरू पालना गर्नु, प्रक्रियाहरू पालना गर्नु, र यान्त्रिक रूपमा मान्यताहरू लागू गर्नु हुन्छ। कतिपय मानिसहरू सत्यता सिद्धान्तहरू पालना गर्न चाहन्छन्, तर तिनीहरूको क्षमता कमजोर भएकोले र तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न नसक्‍ने हुनाले, तिनीहरू सिद्धान्तहरू पालना गर्न सक्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, समस्याहरू सामना गर्दा, तिनीहरूलाई के गर्ने थाहा हुँदैन र व्याकुल समेत हुन्छन्—तिनीहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्। जब माथिल्लो स्तरका मानिसहरूले सिद्धान्तहरूबारे सङ्गति गर्छन्, तब तिनीहरूलाई ती सबै कुरा बुझेको, बोध गरेको, जानेको छु, र याद गरेको छु भन्‍ने लाग्छ। तर जब तिनीहरू वास्तविक जीवनमा समस्याहरू सामना गर्छन्, तब तिनीहरू अन्योलमा पर्छन्, किनभने तिनीहरूले बुझेका धर्मसिद्धान्त र प्रावधानहरूको कुनै काम हुँदैन, त्यसकारण तिनीहरू सोच्छन्: “अब म के गर्ने?” तिनीहरूलाई काम कहाँ सुरु गर्ने थाहा हुँदैन, काम गर्नका लागि कुन-कुन विधिहरू प्रयोग गर्ने थाहा हुँदैन, कामका प्रबन्धहरू कसरी लागू गर्ने थाहा हुँदैन, र मण्डलीको कामको सामान्य प्रगति प्रत्याभूति गर्नका लागि तत्कालै कुन-कुन समस्याहरू समाधान गर्नुपर्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुनु त परको कुरा हो—तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन। नतिजा स्वरूप, तिनीहरूले चाहे जति लामो समयसम्म काम गरे पनि, कुनै नतिजाहरू निस्किँदैनन्, र कामका प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन। तिनीहरू मण्डली जीवनलाई कसरी असल बनाउने भन्‍ने समस्या समेत समाधान गर्न सक्दैनन्। तिनीहरू सबैभन्दा आधारभूत काम समेत कार्यान्वयन गर्न सक्दैनन् र यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू मानिसहरूलाई धर्मसिद्धान्तहरू बताउन र प्रावधानहरू पालना गर्न आग्रह गर्न मात्रै सक्छन्। कामका प्रबन्धहरू कार्यान्वयन गर्ने र मण्डलीको ठोस काम गर्ने कुरा आउँदा, तिनीहरू अन्योलमा पर्छन् र यो काम गर्न सक्दैनन्। तिनीहरू मनमनै यसो सोच्छन्, “यी कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्नुपर्छ? कुन-कुन प्रावधानहरू पालना गर्नुपर्छ?” तिनीहरूले यी कुराहरूलाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तर तिनीहरूसँग अझै पनि अन्तिम उपाय हुन्छ: तिनीहरूले धेरै भेलाहरू आयोजना गरेसम्म, समस्याहरू समाधान गर्न सकिन्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। त्यसकारण, काम गर्ने तिनीहरूको तरिका भनेको अथक रूपमा भेलाहरू आयोजना गर्नु र अथक रूपमा प्रवचन दिनु हो। जब तिनीहरूको प्रचारले सबैलाई जोस्याउँछ र उत्साहित तुल्याउँछ, तब तिनीहरूले समस्याहरू सबै समाधान भएका छन् र अरू समस्याहरू छैनन्, र सबै जना उत्साहित भएसम्म, सबै काम उचित रूपमा पूरा हुन्छ भन्‍ने सोच्छन्। तर के हुन्छ भने, कैयौँ दिन भेला भएपछि, वास्तविक समस्याहरू समाधान नहुने र मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरूले अझै पनि कुनै नतिजा ननिकाल्ने मात्र होइन, मण्डलीको काममा पनि कुनै प्रगति हुँदैन। तैपनि तिनीहरूसँग अझै पनि प्रवचन दिने मुड हुन्छ। कमजोर क्षमता भएका मानिसहरूले चाहे जति लामो समय काम गरे पनि कुनै नतिजा हासिल गर्दैनन्, र तिनीहरूलाई जति धेरै समय दिइए पनि तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्दैनन्—तिनीहरूमा न त कार्यदक्षता हुन्छ न त प्रभावकारिता नै। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू मैले भर्खरै व्याख्या गरे अनुसार हुन्छन्, क्षमता नै नभएका मानिसहरूका प्रकटीकरणहरूका बारेमा कुरा गरिरहनु पर्दैन। तिनीहरूले चाहे जति धेरै प्रवचन सुने पनि वा अरूले तिनीहरूसँग जति धेरै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र पालना गर्नुपर्ने सबैभन्दा आधारभूत प्रावधानहरू समेत बुझ्न सक्दैनन्। जब कसैको क्षमता यो हदसम्म कमजोर हुन्छ, तब सत्यता सिद्धान्तहरू तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छन्। अरूले तिनीहरूसँग सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले अभ्यासको मार्ग भेट्टाउन सक्दैनन्, र अभ्यास कसरी गर्ने भन्‍ने थाहा हुनुभन्दा पहिले तिनीहरूलाई कसैले निर्दिष्ट निर्देशन दिनुपर्छ। त्यस्ता मानिसहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू झैँ हुन्छन्; तिनीहरूको मन सधैँ धमिलो र अस्पष्ट हुन्छ, र तिनीहरूले सिद्धान्तहरू के हुन् र प्रावधानहरू के हुन् भनेर कहिल्यै छुट्याउन सक्दैनन्। तिनीहरू हृदयमा यसो भन्छन्, “यी कुराहरू सुन्दा किन सधैँ मेरो टाउको दुख्छ र मलाई निद्रा लाग्छ?” अन्त्यमा, तिनीहरू यस्तो निष्कर्ष निकाल्छन्: “सत्यता सिद्धान्तहरू मेरो पहुँचभन्दा बाहिर मात्र छैनन्, तर म प्रावधानहरू समेत पालना गर्न सक्दिनँ, त्यसकारण भविष्यमा, मभित्र जति धेरै आगो छ त्यति नै धेरै आगो निकालेर जति सक्दो उज्यालो रूपमा चम्किनेछु, मेरो सामर्थ्यले जति भ्याउँछ त्यति नै धेरै मेहनत गर्नेछु, र आफूले गर्न सक्‍ने काम मात्र गर्छु, र त्यो नै पर्याप्त हुन्छ।” यीमध्ये कतिले यसो भन्दै आफूलाई सान्त्वना समेत दिन्छन्, “मलाई प्रावधानहरू कसरी पालना गर्ने भन्‍ने थाहा छैन, न त म सत्यता सिद्धान्तहरू नै बुझ्छु, तर मसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ!” यदि तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्थे भने, त्यो नराम्रो कुरा हुनेथिएन, तर यति कमजोर क्षमता भएकोले, तिनीहरू सत्यता समेत बुझ्दैनन्—के परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम साँचो हुन सक्छ? कुनै क्षमता नभएका मानिसहरूमा सबै हिसाबमा बोध सामर्थ्यको कमी हुन्छ र तिनीहरूसँग प्रावधानहरू पालना गर्ने सामर्थ्य समेत हुँदैन। कमजोर क्षमता भएका कतिपय मानिसहरू, सत्यताको अभ्यास गर्दा, कम्तीमा पनि आंशिक रूपमा बुझेको सिद्धान्त, प्रावधान, वा सूत्रलाई पक्रन सक्छन्, र यसरी थोरै सत्यता अभ्यास गर्न सक्छन्। तर, क्षमता नभएका मानिसहरूले प्रावधान-आधारित कुराहरूलाई बुझ्न वा पालना गर्न समेत सक्दैनन्—यस्तो प्रकारको व्यक्ति झन् बढी दयनीय हुन्छ।