सत्यता कसरी पछ्याउने (८) भाग एक

मानिसहरूको क्षमता खुट्ट्याउने सिद्धान्तहरू

विगतका दिनहरूमा, हाम्रो सङ्गति विभिन्‍न पक्षहरूमा क्षमता कसरी खुट्ट्याउने भन्‍ने शीर्षकमा थियो, होइन? (हो।) क्षमताका विभिन्‍न पक्ष र स्तरहरूका विशिष्ट प्रकटीकरणहरूबारे हाम्रो सङ्गतिबाट, के तिमीहरू असल क्षमता भनेको के हो, औसत क्षमता भनेको के हो, कमजोर क्षमता भनेको के हो, र क्षमताको पूर्ण अभाव हुनु भनेको के हो भनेर निष्कर्ष निकाल्न सक्छौ? हामीले यस पक्षबारे निकै धेरै सङ्गति गरेका छौँ, त्यसकारण तिमीहरूले यो विषयवस्तुलाई सारांश गर्न र यसलाई दैनिक जीवनका विशिष्ट प्रकटीकरणहरूसँग मिलाउन सक्‍नुपर्छ। यसरी, तिमीहरूले आफूलाई र अरूलाई गर्ने मूल्याङ्कन तुलनात्मक रूपमा अझै सही हुनेछ। यदि तँलाई कसरी सारांश गर्ने भन्‍ने थाहा छैन भने, दैनिक जीवनमा निश्‍चित मानिसहरू भेट्दा, तैँले तिनीहरूलाई खुट्ट्याउन सक्‍नेछैनस्, र तैँले विभिन्‍न पक्षमा आफ्ना प्रकटीकरण र प्रकाशहरूलाई पनि खुट्ट्याउन सक्‍नेछैनस्। के त्यसको अर्थ तैँले सुनेको व्यर्थ भयो भन्‍ने हुनेछैन र? तँ सारांश गर्न सिपालु हुनुपर्छ। सारांश गर्नु भनेको के हो? यसको अर्थ यी सबै विभिन्‍न पक्षहरूको विशिष्ट विषयवस्तुभित्र, विभिन्‍न प्रकारका कामकुराहरूलाई खुट्ट्याउने वा बुझ्ने सिद्धान्तहरू खोज्नु हो। यसरी, सारांश गर्नुको उद्देश्य हासिल हुन्छ। जब तैँले सिद्धान्तहरू भेट्टाएको हुन्छस्, तब तैँले मानिसहरू र कामकुराहरूलाई हेर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्न सक्‍नेछस्, र तैँले अरूलाई अनि आफूलाई पनि खुट्ट्याउन सक्‍नेछस्। यसले तैँले सत्यता बुझ्छस् भनेर प्रमाणित गर्छ। जब तैँले सत्यताको एउटा पक्ष बुझ्छस् र त्यसलाई लागू गर्न सक्छस्, तब तैँले यस पक्षमा सत्यता वास्तविकतामा प्रवेश हासिल गर्नेछस्। त्यसोभए, के हामीले क्षमताका विभिन्‍न पक्षहरूको विशिष्ट विषयवस्तुलाई सारांश गर्नु पर्दैन र? (पर्छ।) हामीले यसलाई सारांश गर्नुपर्छ। यसरी मात्रै तैँले क्षमतासँग सम्बन्धित सत्यता सिद्धान्तहरूलाई स्पष्ट रूपमा बुझ्न सक्छस्।

मानिसहरूको क्षमता मूल्याङ्कन गर्नका लागि सत्यता सिद्धान्तहरू प्रयोग गर्नु

अ. असल क्षमताका प्रकटीकरणहरू

असल क्षमता भएका मानिसहरूको समग्र मूल्याङ्कन गर्नका लागि तैँले सिद्धान्तहरू जान्‍नुपर्छ, होइन र? (हो।) हामीले व्यक्तिको क्षमता के-कस्तो छ भनेर मूल्याङ्कन गर्नका लागि यी विशिष्ट प्रकटीकरणहरू प्रयोग गरेर, धेरै वटा विशिष्ट प्रकटीकरणहरूका बारेमा विस्तृत रूपमा सङ्गति गरेका छौँ। त्यसोभए, असल क्षमता भएका मानिसहरूका समग्र प्रकटीकरणहरू के-के हुन्? तिनीहरूसँग हृदयमा आफूलाई आचरणमा ढाल्‍न र व्यवहार गर्नका लागि निश्‍चित सिद्धान्तहरू हुन्छन्। तिनीहरूले सत्यता नबुझ्दा पनि वा सत्यता अझै नसुनेका भए पनि, तिनीहरूसँग मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने केही सबैभन्दा आधारभूत सिद्धान्तहरू हुन्छन्। अर्थात्, तिनीहरूसँग आत्म-आचरणका निश्‍चित सीमाहरू हुन्छन्। निश्‍चित हदसम्‍म, यी सीमाहरू तुलनात्मक रूपमा सत्यता सिद्धान्तहरूसँग मिल्छन् वा तिनका नजिक हुन्छन्, र कम्तीमा पनि, ती मानवताको विवेक र समझका मानकहरूको नजिक हुन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू खाएर-पिएर अनि परमेश्‍वरका वचनहरूको मलजल र आपूर्ति स्वीकार गरेर केही सत्यताहरू बुझेपछि, तिनीहरूले धेरै मामला वा विशेष वातावरण अनुभव नगरेका भए पनि, तिनीहरू आफ्नो हृदयमा अझै पनि केही सत्यता सिद्धान्तहरू बुझ्न र बोध गर्न सक्छन्। त्यसपछि वास्तविक जीवनमा, तिनीहरू विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न यी सिद्धान्तहरू लागू गर्न सक्छन्। अवश्य नै, जब तिनीहरू विभिन्‍न मानिस, घटना, र कामकुराहरू सम्हाल्छन्, तब यो सरल र एकल-पक्षीय मामलाहरू सम्हाल्ने कार्य मात्रै हुँदैन। बरु, जब तिनीहरूले विभिन्‍न जटिल र गन्जागोल भएका मानिस, घटना, र कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूले ती कुराहरूलाई व्यवहार गर्न र सम्हाल्नका लागि परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू लागू गर्न सक्छन्। सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा असल क्षमता भएका मानिसहरूको प्रकटीकरण यही हो। तिनीहरूको क्षमता असल भएकाले, परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिद्वारा, तिनीहरू आफ्ना लागि विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने बारेमा परमेश्‍वरका वचनहरूमा रहेका सिद्धान्तहरू भेट्टाउन सक्छन्। यस्तो असल क्षमता भएका मानिसहरू स्वतन्त्र रूपमा कामको कार्यभार लिन सक्छन्, र हरेक कार्य आफै पूरा गर्न सक्छन्। यो असल क्षमताको प्रकटीकरण हो। मुख्य प्रकटीकरण के हो? (मुख्य प्रकटीकरण के हो भने तिनीहरू परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिद्वारा, विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने बारेमा परमेश्‍वरका वचनहरूमा रहेका सिद्धान्तहरू आफै भेट्टाउन सक्छन्, यसरी समस्याहरू आफै समाधान गर्न र स्वतन्त्र रूपमा कामको कमान लिन सक्छन्।) ठ्याक्कै मिलाइस्—परमेश्‍वरका वचनहरू खाएर-पिएर, तिनीहरू सत्यता बुझ्न र विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने सिद्धान्तहरू पत्ता लगाउन सक्छन्, यसरी तिनीहरूले काम आफै वहन गर्न सक्छन्। असल क्षमता हुनु भनेको यही मात्रै हो। यसभन्दा पहिले, हामीले के भनेका थियौँ भने काम आफै वहन गर्न सक्‍नुका लागि विभिन्‍न क्षमताहरू हुनु आवश्यक हुन्छ। अहिले, यसलाई मापन गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्दा, यो असल क्षमता भएका मानिसहरूको प्रकटीकरण हो।

आ. औसत क्षमताका प्रकटीकरणहरू

औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? तिनीहरू निश्चित रूपमा नै असल क्षमता भएका मानिसहरूभन्दा कम क्षमताका हुन्छन्। तर, मानिसहरूको क्षमता चाहे असल भए पनि वा औसत भए पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त गर्नुअघि र सत्यता बुझ्नुअघि, तिनीहरूसँग आफूलाई आचरणमा ढाल्‍ने सही सिद्धान्तहरू हुनेछैनन्। आफूलाई आचरणमा ढाल्‍नुका सिद्धान्तहरूको बोध हासिल गर्ने कार्य परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त गर्ने र सत्यता बुझ्ने जगमा नै गरिनुपर्छ। वास्तविक अनुभवहरूद्वारा मात्रै व्यक्ति आफूलाई आचरणमा ढाल्‍ने सिद्धान्तहरू बिस्तारै बुझ्न पुग्न सक्छ। यदि यो औसत क्षमता भएको व्यक्ति हो भने, परमेश्‍वरका वचनहरू पढ्दा, उसले परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका आधारभूत अर्थ र माग गरिएका मानकहरू मात्रै बुझ्न सक्छ। उसले यी कुराहरूलाई धर्मसिद्धान्तका हिसाबमा बुझ्छ, तर परिस्थितिहरूको सामना गर्दा, ऊ अझै पनि सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैन। अरूको मार्गदर्शन र आपूर्तिद्वारा मात्रै, वा धेरै कुराहरू अनुभव गरेपछि मात्रै, उसले केही आधारभूत सत्यता सिद्धान्तहरू बुझ्न सक्छ। यहाँ “आधारभूत” ले के जनाउँछ? यसको अर्थ उसले बुझेका र बोध गरेका सिद्धान्तहरू मुख्य रूपमा एकल-पक्षीय र तुलनात्मक रूपमा सरल सिद्धान्तहरू हुन्छन्, र तिनले उसलाई साधारण समस्याहरू सम्हाल्न र समाधान गर्न सक्षम तुल्याउँछन्, तर जटिल परिस्थिति वा प्रसङ्गहरू सामना गर्दा, उसलाई सिद्धान्तहरू अनुसार कसरी कार्य गर्ने भन्‍ने थाहा हुँदैन। ऊ केही जटिल समस्या वा बहुमुखी कार्यहरू सम्हाल्नका लागि सत्यता बुझेका मानिसहरूको मार्गदर्शन र सहयोगमा भर पर्नुपर्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरूमा के कुरा प्रबल हुन्छ? तिनीहरू परमेश्‍वरका वचनहरूमा स्वतन्त्र रूपमा सत्यता बुझ्न वा अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। तिनीहरू परमेश्‍वरले माग गर्नुहुने मानकहरू वास्तवमा के हुन् भन्‍ने कुरालाई सही रूपमा बुझ्न सक्दैनन्। तिनीहरूलाई तिनीहरूसँग सङ्गति गर्ने, साथ दिने, र कामकुराहरू जाँच्न सहयोग गर्ने, र स्पष्ट रूपमा बताउने र सम्झाउने व्यक्ति चाहिन्छ। यसरी मात्रै तिनीहरूलाई थाहा हुन्छ: “यो सत्यता सिद्धान्त हो। मैले यो याद गर्नैपर्छ। मैले यस अनुसार अभ्यास गर्नु नै पर्छ। मैले कामको यो प्रबन्ध अनुसार काम कार्यान्वयन गर्नैपर्छ।” यो तिनीहरूको बोधको सन्दर्भमा हो। दोस्रो, काम गर्ने सन्दर्भमा भन्दा, तिनीहरू आफूसँग अनुभव नभएको काम गर्दा, विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्न वा सम्हाल्न तुरुन्तै सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैनन्। तिनीहरू केही आधारभूत सत्यता सिद्धान्तहरू बुझेको आधारमा केही एकल-पक्षीय काम मात्रै सम्हाल्न सक्छन्। धेरै सत्यता सिद्धान्तहरू समावेश हुने जटिल काम सामना गर्दा, तिनीहरूलाई कामकुराहरूको जाँच गरिदिन, र सहयोग र आपूर्ति गरिदिन अरू कसैको आवश्यकता हुन्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। व्यक्तिगत बोधको हिसाबमा भन्दा, तिनीहरूलाई अरूले तिनीहरूसँग सङ्गति गर्न र कामकुराहरू जाँच्न सहयोग गरिदिनुपर्छ। तिनीहरूले धेरै सुन्‍नुपर्छ—सत्यताको एउटा पक्ष मात्र होइन तर विभिन्‍न पक्षहरू सुन्‍नुपर्छ, र अन्त्यमा तिनीहरूलाई सत्यताका विभिन्‍न पक्षहरूका आधारभूत सिद्धान्तहरू के-के हुन् भनेर कसैले बताइदिनुपर्छ ताकि तिनीहरूले तीमध्ये केही कुरा हृदयमा बुझ्न सकून्। तर, जब तिनीहरूले जटिल परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरूलाई त्यो कसरी बोध गर्ने भन्‍ने फेरि थाहा हुँदैन र अझै पनि तिनीहरूले खोजी नै गर्नुपर्छ। यो तिनीहरूको बोधको सन्दर्भमा हो। जहाँसम्‍म काम वा वास्तविक जीवनका विभिन्‍न मामला सम्हाल्ने कुरा आउँछ, समस्याहरू सम्हाल्ने तिनीहरूको सामर्थ्य एकल-पक्षीय काम सम्हाल्नका लागि सत्यता सिद्धान्तहरू पालना गर्ने स्तरमा मात्रै पुग्‍न सक्छ। धेरै सत्यता सिद्धान्तहरू समावेश भएको जटिल काम सामना गर्दा, तिनीहरूलाई यो अलिक गाह्रो लाग्छ र तिनीहरूले खोज्‍नुपर्छ र कसैलाई कुराहरू जाँच्न लगाउनुपर्छ। तिनीहरूले आफै काम राम्ररी गर्न सक्छन् भन्‍ने कुराको प्रत्याभूति दिन सक्दैनन् र तिनीहरूले गर्ने कुरा सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर निर्धारित गर्न सक्दैनन्। कहिलेकहीँ, तिनीहरूको काममा विचलनहरू हुनेछन्। तर, यी विचलनहरू विचलन मात्रै हुन् र विकृतिहरू होइनन्। यदि ती विकृतिहरू भएका भए, यसले कमजोर क्षमताको सङ्केत गर्नेथियो। विचलन र विकृतिहरूका बीचमा भिन्‍नता छ: विचलनहरूको अर्थ काम पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप छैन, पर्याप्त रूपमा गरिएको छैन, वा त्यसमा पर्याप्त विचारको कमी छ, तर दिशा गलत छैन भन्‍ने हुन्छ। कुरा के मात्र हो भने, तिनीहरूसँग कामको पर्याप्त अनुभव नभएकोले, वा सत्यताबारे निकै सतही बुझाइ र सत्यता सिद्धान्तहरूको बोध पर्याप्त रूपमा सही नभएकोले, तिनीहरूको काम पर्याप्त रूपमा मानकअनुरूप हुँदैन। यो मानकअनुरूपको नजिक हुन सक्छ तर पूर्ण रूपमा मानकअनुरूप हुनका लागि त्यसमा अझै पनि सुधारको आवश्यकता पर्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। यस्तो प्रकारको व्यक्तिको मुख्य विशेषता के हो? (तिनीहरू स्वतन्त्र रूपमा कामको कुनै पनि विषयवस्तु उचित रूपमा गर्न सक्दैनन्; तिनीहरूलाई कुनै-कुनै काम पूरा गर्न अरूको सहयोग र साथ चाहिन्छ।) तिनीहरूको विशेषता के हो भने, चाहे तिनीहरूको बोधको हिसाबमा होस् वा आफ्नो कर्तव्य निर्वाह गर्ने हिसाबमा होस्, तिनीहरू तुलनात्मक रूपमा कमजोर हुन्छन्। तिनीहरू साधारणतया स्वतन्त्र रूपमा कुनै पनि काम उचित रूपमा गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई अरूको सहयोग, जाँच, र सङ्केत चाहिन्छ। त्यसकारण, औसत क्षमता भएका मानिसहरूमा हुनुपर्ने आधारभूत समझ भनेको कामकुरा गर्दा अझै धेरै खोजी गर्नु र अझै धेरै प्रतीक्षा गर्नु हो। जब तिनीहरूले कुनै कुरा छर्लङ्ग देख्‍न सक्दैनन्, तब तिनीहरूले तुरुन्तै र नम्रताको साथ खोजी गर्नुपर्छ—कि त आफ्नो आधारका रूपमा उपयोग गर्नका लागि परमेश्‍वरका वचनहरूमा रहेका सत्यता सिद्धान्तहरूको खोजी गर्नुपर्छ कि माथिल्लो स्तरका मानिसहरूबाट खोजी गर्नुपर्छ—र अन्धाधुन्ध वा अलमल्ल शैलीमा काम गर्नु हुँदैन। केही समयावधि काम गरेपछि, यदि तँ धेरै कुराहरूका बारेमा अन्योलमा हुन्छस् भने, तुरुन्तै तिनलाई सारांश र अभिलेख गर्, र माथिल्लो स्तरका मानिसहरूबाट खोजी गर्। यसको उद्देश्य भनेको तेरो माथिल्लो स्तरका मानिसहरूलाई तैँले यो अवधिमा गरेको काममा कुनै विचलन वा कमजोरीहरू छन् कि छैनन् भनेर जाँच र निरीक्षण गर्न दिनु हो। तँसँग कामको अनुभव छ भन्‍ने सोच्दै अत्यन्तै आत्म-धर्मी नबन्, र आफ्‍नो बारेमा अति राम्रो महसुस नगर्। तँमा आत्म-चेतना हुनु नै पर्छ। औसत क्षमताका प्रकटीकरणहरूका बारेमा पहिले नै छलफल गरिसकिएको छ, त्यसकारण औसत क्षमता भएका मानिसहरूका विशेषताहरू के-के हुन्? (तिनीहरू स्वतन्त्र रूपमा काम गर्न सक्दैनन्; तिनीहरूलाई साथ दिन, सहयोग गर्न, र कामकुराहरू जाँचिदिनका लागि अरूको आवश्यकता हुन्छ।) अनि परमेश्‍वरका वचनहरू बोध गर्ने सन्दर्भमा तिनीहरूका विशेषताहरू के-के हुन्? (परमेश्‍वरका वचनहरू बोध गर्ने सन्दर्भमा भन्दा, तिनीहरू केही आधारभूत सिद्धान्त मात्रै बोध गर्न सक्छन् तर तिनलाई काममा व्यावहारिक रूपमा लागू गर्न सक्दैनन्।) अनि कार्य सक्षमताको हिसाबमा तिनीहरूका विशेषताहरू के-के हुन्? (कार्य सक्षमताको हिसाबमा भन्दा, औसत क्षमता भएका मानिसहरू विभिन्‍न मामला हेर्न वा सम्हाल्नका लागि तुरुन्तै सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैनन्। यसका साथै, तिनीहरू एउटा काम मात्रै कायम राख्‍न सक्छन्; धेरै वटा कामको विषयवस्तुको कुरा आउँदा, तिनीहरू सिद्धान्तहरू बोध गर्न सक्दैनन्। तिनीहरू विभिन्‍न कामलाई राम्ररी पूरा गर्न महत्त्व वा आत्तुरीअनुसार प्राथमिकता दिन सक्दैनन्, काम उचित रूपमा प्रबन्ध गर्नु त परको कुरा हो। कसैले तिनीहरूका लागि कामकुराहरूको जाँच गरिदिनुपर्छ र तिनीहरूको दिशा मार्गदर्शन गरिदिनुपर्छ, र तिनीहरूलाई निरन्तर सहयोग र साथ दिनुपर्छ।) ठिक भनिस्। औसत क्षमता भएका मानिसहरू स्वतन्त्र रूपमा कुनै एकल-पक्षीय काम गर्न सक्छन्, वा निश्‍चित स्तरको कामको अनुभव भएको आधारमा, केही सरल काम सम्हाल्न सक्छन्। तर, जटिल समस्याहरू सामना गर्दा, विशेष गरी धेरै सत्यता सिद्धान्तहरू समावेश भएको कामको सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन् र कसरी अभ्यास गर्ने भनी जान्दैनन्। एक क्षण, तिनीहरू यो यसरी गर्नुपर्छ भन्‍ने सोच्छन्, र अर्को क्षण, तिनीहरू यो त्यसरी गर्नुपर्छ भन्‍ने सोच्छन्, तर कुन तरिका सत्यता सिद्धान्तहरू अनुरूप छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू अन्ततः कार्य पूरा भएपछि पैदा हुन सक्‍ने परिणामहरू मूल्याङ्कन गर्न सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूसँग कुनै मार्ग हुँदैन। औसत क्षमता भएका मानिसहरू एउटा कामका लागि योग्य हुन सक्छन्, तर धेरै काम वा अलिक जटिल काम सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन्। उदाहरणका लागि, तिमीहरूमध्ये कतिपय अगुवा र कामदारहरूले तिनीहरूलाई काममा खटाइँदा एउटा काम सम्हाल्न सक्छन्, तर यदि तिनीहरूलाई दुई वा तीन वटा काममा खटाइयो भने, तिनीहरू ती काम सम्हाल्न सक्दैनन्। तिनीहरूले ती काम राम्ररी पूरा गर्न चाहे पनि, त्यो हासिल गर्न सक्दैनन्। काममा व्यस्त हुँदा, कसैले कुनै न कुनै समस्या उठाउने बित्तिकै, तिनीहरू अन्योलमा पर्छन् र तिनलाई कसरी समाधान गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। परिणामस्वरूप, कुनै पनि काम राम्ररी पूरा हुँदैनन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूले एकै पटकमा कामको दुई-तीनवटा काम वहन गर्न सक्दैनन्। विशेष गरी जब तिनीहरूले जटिल वा विशेष परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरू तुरुन्तै अन्योलमा पर्छन् र के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। परिणामस्वरूप, तिनीहरूले राम्ररी गर्न सक्‍ने काम राम्ररी पूरा हुँदैन, र तिनीहरू जिम्मेवार रहेका कामहरूमाथि समस्या आइपर्छ र तिनमा ढिलाइ हुन्छ। त्यसकारण, औसत क्षमता भएका मानिसहरूले कामका दुई-तीन वटा विषयवस्तुहरू वहन गर्न सक्दैनन् र तिनीहरू सरल र एकल कामका विषयवस्तुहरूका लागि मात्रै उपयुक्त हुन्छन्। कतिपय अगुवा र कामदारहरूले जहिले पनि, काम गर्नु अत्यन्तै सरल कुरा हो भन्‍ने सोच्छन्। जब अरू मानिसहरूले समस्याहरू औँल्याउँछन्, तब तिनीहरू सधैँ उदासीन हुन्छन् र तिनलाई समस्याहरूका रूपमा देख्दैनन्, र ती मानिसहरूको दिमागमा केही समस्या छ र तिनीहरूले कामकुराहरूलाई अत्यन्तै जटिल बनाइरहेका छन् भन्‍ने समेत सोच्छन्। अन्तमा, ठूला समस्याहरू देखा पर्छन्, र तिनीहरू तिनलाई समाधान गर्न सक्दैनन् अनि मात्रै माथिल्लो स्तरका मानिसहरूलाई तीबारे रिपोर्ट गर्छन्। त्यस्ता अगुवा र कामदारहरूमा अत्यन्तै थोरै अनुभव हुन्छ र अन्तर्ज्ञानको कमी हुन्छ। आफ्नो काममा, तिनीहरू सधैँ सबै कुरा सहज रूपमा अघि बढ्नेछ भन्‍ने अनुमान गर्छन्, केही प्रावधानहरू मात्र पालना गरिरहन्छन् र जिद्दी भएर एउटै मार्गमा लागिरहन्छन्। पैदा हुने समस्याहरू चाहे जति नै गम्भीर भए पनि, तिनीहरूले तिनलाई महसुस गर्न सक्दैनन्; यति मात्र होइन, यदि यी समस्याहरू समाधान भएनन् भने तिनले समग्र काममा ढिलाइ गर्नेछन् भन्‍ने कुरा तिनीहरू महसुस गर्न सक्दैनन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

सामान्यतया, यदि औसत क्षमता भएका मानिसहरू आफ्नो मानवताका सबै पक्षमा मानकअनुरूप छन् भने, तिनीहरू आधारभूत रूपमा एकल-पक्षीय कामका लागि योग्य हुन सक्छन्। तिनीहरू स्वतन्त्र रूपमा वृहत् काम पूरा गर्न सक्दैनन् भन्‍नुको मेरो कारण के हो भने, तिनीहरूको क्षमताले तिनीहरूलाई एकल-पक्षीय काम मात्रै राम्ररी गर्न सक्षम तुल्याउँछ। जब तिनीहरूको सोख, रुचि, र सबल पक्षहरूसँग सम्बन्धित निश्‍चित कामको कुरा आउँछ, तब तिनीहरूको क्षमताका हिसाबमा, तिनीहरू यसका लागि योग्य हुन सक्छन्। तर, बहुमुखी कामका जटिलताहरू सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन्। तिनीहरूसँग केही व्यावहारिक अनुभव भए पनि, तिनीहरूको क्षमता कार्यका लागि पर्याप्त हुँदैन। कतिपय मानिसहरू भन्छन्, “के म युवा भएकोले यस्तो भएको हो?” अहँ, होइन। यदि तेरो क्षमता औसत छ भने, तँ चालीस वा पचास काटेपछि पनि बहुमुखी काम वहन गर्न अझै पनि सक्षम हुनेछैनस्। म किन यसो भन्छु? वास्तवमै काम गरेर केही अनुभव बटुलेपछि, तँ निश्‍चित एकल-पक्षीय काम सम्हाल्न सक्षम हुन सक्छस्। तर, तैँले मार्गदर्शन पाउँछस्, कामकुराहरू जाँचिदिने व्यक्ति छ, वा अरूले अनुगमन गर्छन् भने त्यस्ता परिस्थितिहरूमा मात्रै तैँले कामलाई स्वतन्त्र रूपमा राम्ररी पूरा गर्न सक्छस्—तँ सधैँका लागि स्वतन्त्र रूपमा बहुपक्षीय काम वहन गर्न नसक्‍ने नै हुन्छस्। यसले तँसँग औसत क्षमता छ भन्‍ने सङ्केत गर्छ। कतिपय मानिस, धेरै वर्ष विभिन्‍न परिस्थिति भोगेर केही अनुभव बटुलेपछि, र केही सत्यता सिद्धान्त बुझेपछि पनि, अझै बहुपक्षीय काम वहन गर्न सक्दैनन्, विशेष गरी तिनीहरू स्वतन्त्र रूपमा कामको कार्यभार लिने काम गर्न सक्दैनन्। जब तिनीहरू जटिल परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरू अन्योलमा पर्छन् र महत्त्व वा आत्तुरी अनुसार कार्यहरूलाई प्राथमिकता दिन सक्दैनन्। त्यस्ता मानिसहरूको क्षमता निश्चित रूपमा नै औसत हुन्छ। कामको अनुभवले व्यक्तिको कार्य सक्षमताको एउटा पक्षलाई मात्रै समेट्छ; यो प्रमुख कारक होइन। प्रमुख कारक भनेको व्यक्तिको क्षमता र विभिन्‍न पक्षमा रहेका उसका सामर्थ्यहरू हुन्। कामको अनुभवले केही सन्दर्भ मात्रै दिन्छ। अवश्य नै, कामको अनुभव पनि बहुमूल्य हुन्छ किनभने यो व्यक्तिगत अनुभवबाट पैदा हुन्छ, तर कामको यो व्यावहारिक अनुभवले तँलाई बहुमुखी कामका सिद्धान्तहरू अझै सही रूपमा बोध गर्न सक्षम तुल्याउन सक्दैन। यदि तेरो क्षमता असल छ र तँ साँच्चै सत्यता सिद्धान्तहरू बुझ्छस् भने, तँसँग कामको कुनै अनुभव नभए पनि वा तेरो व्यक्तिगत अनुभव व्यापक नभए पनि, तैँले समग्र काम आफै वहन गर्न र कामको कार्यभारको जिम्मा स्वतन्त्र रूपमा लिन सक्छस्। तर, औसत क्षमता भएका मानिसहरूले समग्र काम आफै पूरा गर्न सक्दैनन्; तिनीहरूले एकल-पक्षीय काम मात्रै पूरा गर्न सक्छन् र तिनीहरूलाई बारम्बार सङ्केत, जाँच, सहयोग, र मार्गदर्शनको आवश्यकता हुन्छ। त्यसकारण, तिमीहरूमध्ये औसत क्षमता भएकाहरूका हकमा भन्दा, निश्‍चित एकल-पक्षीय काममा राम्ररी गर्न सक्नुको अर्थ तँ बहुमुखी काम गर्न योग्य छस् वा तँ स्वतन्त्र रूपमा कामको जिम्मा लिन सक्छस् भन्‍ने नसोच्। यो भ्रम र गलत बुझाइ हो। आफै निश्‍चित एकल-पक्षीय काम पूरा गर्न सक्नु र आफै बहुपक्षीय काम पूरा गर्न सक्नुको बीचमा एउटा अन्तर हुन्छ—अर्थात्, कामको जिम्मा स्वतन्त्र रूपमा लिन सक्नु। यो कुरा तिमीहरूले अनुभवद्वारा बिस्तारै जान्‍नेछौ। यी वचनहरू बुझ्न सजिलो नहुन सक्छ—धेरै वर्ष अगुवा वा कामदारको रूपमा सेवा गरेका र व्यावहारिक अनुभव भएका मानिसहरूले मात्रै ती बुझ्न सक्छन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा नबुझ्न सक्छन्, होइन र? बहुपक्षीय काम वहन गरेका अगुवा र कामदारहरूसँग व्यावहारिक अनुभव हुन्छ र तिनीहरूले यसभित्रका भिन्‍नताहरू बुझ्छन्—आफ्नो काम कसरी गर्ने भन्‍ने बारेमा तिनीहरूसँग सिद्धान्तहरू हुन्छन्। तर औसत क्षमता भएका मानिसहरूमा यो कुराको कमी हुन्छ। यसरी औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू पूर्ण रूपमा सारांश गरिएको छ।