सत्यता कसरी पछ्याउने (७) भाग तीन

नम्बर ११: नवप्रवर्तनको सामर्थ्य

व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने एघारौँ मानक भनेको नवप्रवर्तनको सामर्थ्य हो। नवप्रवर्तनको सामर्थ्य भनेको तैँले केही कुराका आधारभूत तत्त्व, सिद्धान्त, र नियमहरू थाहा पाएपछि प्राप्त हुने बुझाइका आधारमा तँसँग भएको सिर्जनात्मक सामर्थ्य हो। यो सिर्जनात्मक सामर्थ्यले यस कुरालाई यसको मूल जगमा सुधार गर्नु, यसको विकास गर्नु, यसको प्रभावको क्षेत्र बढाउनु, वा यसलाई कुनै निश्‍चित कुराको नयाँ पुस्तामा परिणत गर्नुलाई जनाउँछ—यसलाई नै नवप्रवर्तनको सामर्थ्य भनिन्छ। किटेरै भन्‍नुपर्दा, यसको मतलब कुनै निश्‍चित कुराका वस्तुगत नियमहरू सही रूपमा बोध गरेपछि, त्यस जगमा तैँले तिनलाई वास्तविक जीवनमा लागु गर्न, तिनको प्रयोगको दायरा ठूलो र फराकिलो बनाउन, र वस्तुहरूको विकासको नियमसँग मेल खाने यी आधारभूत तत्त्व र सिद्धान्तहरूलाई अझ धेरै मानिसहरूको सेवा गर्न दिन सक्छस्, ताकि अझ धेरै मानिसहरूले यसबाट लाभ र सहयोग प्राप्त गरून्। एक त, तैँले यी आधारभूत तत्त्व र सिद्धान्तहरूलाई टिकाएर राखिरहेको छस्, र निरन्तर तिनको प्रभावको दायरा र ती ग्रहण गर्ने मानिसहरूको सङ्ख्या बढाइरहेको छस्। यसको अतिरिक्त, तैँले तिनलाई अझ व्यावहारिक ढङ्गले र एक कदम अघि बढेर एउटा शाब्दिक प्रस्तुतिबाट ठोस कुरामा रूपान्तरित गरिरहेको छस्, जसबाट मानिसहरूले वास्तविक लाभ प्राप्त गर्न सक्छन्। नवप्रवर्तनको सामर्थ्य हुनु भनेको यही हो। यदि कुनै व्यक्तिले आफ्नो पारिवारिक वातावरण र हुर्काइको पृष्ठभूमि, साथै आफूले प्राप्त गर्ने ज्ञानका आधारमा कुनै कुराका आधारभूत तत्त्व, सिद्धान्त, र विकासका नियमहरू सही रूपमा बुझ्न सक्छ, यी आधारभूत तत्त्व र सिद्धान्तहरू लागु गर्न र तिनलाई अवधारणाबाट ठोस कुरामा परिणत गर्न जान्दछ—ऊ शब्द र धर्मसिद्धान्तको तहमै रोकिँदैन, बरु तिनलाई वास्तविक जीवनमा लागु गर्छ, तिनलाई मानिसको जीवनको हिस्सा बनाउँछ र तिनलाई जनसेवामूलक नतिजामा परिणत गर्दै मानिसहरूलाई तिनबाट लाभ र सहयोग लिन दिन्छ, र मानिसहरूको जीवन अझ सहज र सुविधाजनक बनाउँछ भने—यदि कसैले यो स्तर हासिल गर्न सक्छ भने, ऊ नवप्रवर्तनको सामर्थ्य भएको र राम्रो क्षमता भएको व्यक्ति हो। भन्‍नुको मतलब, यदि तैँले वस्तुहरूको विकासका नियमका आधारभूत तत्त्वहरू र सत्यता सिद्धान्तहरू बुझेको आधारमा कुनै कुराको प्रवर्धन, कायम राख्ने कार्य, विस्तार, वा नवीकरणलाई साकार पार्न सक्छस् भने—यदि तँसित यो सामर्थ्य छ वा तँ यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्छस्, र कुनै सकारात्मक कुराका आधारभूत तत्त्व र नियमहरू वा सत्यताका सिद्धान्तहरूलाई मानिसहरूमाझ कार्यान्वयन हुन, मूर्त रूप लिन, र विस्तार हुन दिन सक्छस् भने—यसले तेरो क्षमता राम्रो छ भन्‍ने प्रमाणित गर्छ। तैँले त्यसलाई अझ गहिरो तहमा पुर्‍याउन नसके पनि, कम्तीमा, यदि तैँले त्यसलाई टिकाउन, विस्तार गर्न, र मूर्त रूप दिन सक्छस्, र त्यसको सकारात्मक प्रभावलाई बढाउन सक्छस् भने, यसले प्रमाणित गर्छ कि तँ नवप्रवर्तनको सामर्थ्य भएको व्यक्ति होस्। यदि तँ यो सामर्थ्य राख्दैनस्, र तँसित सकारात्मक कुराहरूका नियमहरू बोध गर्ने सामर्थ्य मात्र छ, तर यो बोध सामर्थ्य शाब्दिक र सैद्धान्तिक बुझाइको तहमा मात्र रहन्छ, अनि तँ तिनलाई मानिसहरूमा कार्यान्वयन गर्न वा मूर्त बनाउन, र तिनलाई मानिसहरूका लागि सेवामुखी र लाभदायक बनाउन सक्दैनस् भने, तँसित नवप्रवर्तनको सामर्थ्य छैन। तँ आधारभूत तत्त्व, सिद्धान्त, नियम, र विधानहरूलाई व्यावहारिक रूपमा सञ्चालन र लागु गर्न सक्षम हुनैपर्छ—त्यसपछि मात्र तँसँग नवप्रवर्तनको सामर्थ्य भएको भन्‍न मिल्छ। यो सामर्थ्य भएकाहरू मात्र राम्रो क्षमताका मानिस हुन्। उदाहरणका लागि, कतिपय अगुवा र कामदारहरू वा सुपरिवेक्षकहरूले परमेश्‍वरका घरका सिद्धान्त र प्रबन्धहरू बुझ्नेबित्तिकै तिनलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले प्रत्येक कामका सत्यता सिद्धान्तहरू परमेश्‍वरका चुनिएका मानिसहरूमा कार्यान्वयन गर्छन्, जसले गर्दा अझ धेरै मानिसहरूले सत्यता बुझ्न मद्दत प्राप्त गर्छन् र मण्डलीको काम व्यवस्थित तरिकाले अघि बढ्छ—अर्थात्, त्यो सिद्धान्तहरूको दायराभित्र सकारात्मक रूपमा चक्कर लगाउँछ, कुनै विचलनबिना निरन्तर विकास भइरहन्छ र अघि बढिरहन्छ। मानिसहरूले यसबाट कस्तो नतिजा देख्छन्? हरेकले यो कामको दायराभित्र आफूले जे गर्नुपर्ने हो त्यो गर्छ, हरेकले सिद्धान्तहरू बुझ्छ र सिद्धान्तहरूअनुसार कार्य गर्छ, काममा कुनै विचलन हुँदैन, र यो कामले निरन्तर नयाँ नतिजाहरू वा कामका नयाँ उपजहरू सिर्जना गर्छ। यस क्रममा विशेष परिस्थितिहरू उत्पन्‍न भए पनि, सुपरिवेक्षकहरूले तिनलाई कामका आधारभूत तत्त्व, प्रबन्ध, र सिद्धान्तहरूअनुसार लचिलो रूपमा सम्हाल्न जानेका हुनेछन्। तिनीहरूको अगुवाइमा, यो काम निरन्तर व्यवस्थित ढङ्गले अघि बढ्छ र मूलतः रोकिँदैन। भन्‍नुको मतलब, चाहे जस्तोसुकै परिस्थिति उत्पन्‍न होस्, जोसुकै आएर बाधा देओस् वा भ्रमहरू फैलाओस्, त्यसले कामको व्यवस्थित प्रगतिमा असर गर्नेछैन; काम निरन्तर अघि बढ्छ। के यो कामका आधारभूत तत्त्वहरू र यससँग सम्बन्धित सत्यता सिद्धान्तहरू निरन्तर कायम भइरहेका छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यस कामका आधारभूत तत्त्व र सिद्धान्तहरूको कार्यान्वयन, कायम गर्ने कार्य, र बढावामार्फत यस काममा अवरोध पुगेको छैन; व्यवस्थित तवरले यसको निरन्तर कार्यान्वयन र कायम भइरहेको हुन्छ, र सँगसँगै फरक-फरक समयमा कामका राम्रा नतिजाहरू उत्पन्‍न हुन्छन्। यी कामका नतिजाहरूको प्रभाव निरन्तर ठूलो हुँदै गइरहेको हुन्छ, र धेरैभन्दा धेरै मानिसहरूले त्यसबाट लाभ लिइरहेका हुन्छन्। लाभ लिनेहरूले वास्तवमा यी सुपरिवेक्षकहरूले बुझ्न र स्विकार्न सक्ने कार्य बन्दोबस्तहरूका विभिन्न सिद्धान्त, आधारभूत तत्त्व, र कठोर प्रबन्धहरूबाट समेत लाभ लिइरहेका हुन्छन्। नवप्रवर्तनको सामर्थ्य हुनु भनेको यही हो। भन्‍नुको मतलब, राम्रो क्षमता भएको व्यक्तिले आफूले बुझेका र स्विकारेका कार्य सिद्धान्तहरू र सत्यता सिद्धान्तहरूलाई आफू जिम्मेवार रहेका काममा निरन्तर कार्यान्वयन गर्न र सबैमा कार्यान्वयन गर्न सक्छ, जसले गर्दा काम व्यवस्थित तवरले चल्न वा अघि बढ्न सक्छ। सँगसँगै, कामका नतिजाहरू आवधिक रूपमा वा अनियमित रूपमा उत्पन्‍न हुनेछन्; गैरविश्‍वासीहरू यसलाई “उत्पाद पैदा गर्नु” भन्छन्—अर्थात्, कामका नतिजाहरू निरन्तर देखा पर्दै जान्छन्, र कामका नतिजाहरू देखा परेपछि तिनले अझ ठूलो प्रभाव ल्याउनेछन् र ती अझ धेरै मानिससम्म पुग्नेछन्। यो सामर्थ्य बोकेका मानिसहरूले अन्ततः कामका नतिजाहरू निरन्तर बढाउन सक्छन्, ताकि धेरैभन्दा धेरै मानिस लाभान्वित होऊन्। त्यस्ता मानिसहरू राम्रा क्षमता भएका मानिस हुन्। तेरो नवप्रवर्तनको सामर्थ्यद्वारा तेरो क्षमताको मूल्याङ्कन गर्नका लागि, कार्य सिद्धान्तहरू, कार्य प्रबन्धहरू, र सत्यता सिद्धान्तहरू बोध गरेपछि, तिनलाई कार्यान्वयन, बढावा, र विस्तार गर्ने तेरो सामर्थ्य कस्तो छ; अर्थात्, यो काम कायम राख्ने तेरो सामर्थ्य कस्तो छ भनी हेर्न जरुरी हुन्छ। दोस्रो कुरा, तैँले गर्ने काम कति जना मानिसहरूसम्म पुगेको छ, तेरो काम पुगेका मानिसहरूको दायरा कति ठूलो छ, प्रभावको मात्रा कति ठूलो छ, र तेरो कार्यदक्षता र कामका नतिजाहरू कस्ता छन् भनी हेर्न जरुरी हुन्छ। यदि तेरो कार्यदक्षता उच्च छ, तेरा कामका नतिजाहरू राम्रा छन्, र तेरो काम पुगेका मानिसहरूको दायरा निरन्तर बढ्दै जान्छ भने, तेरो क्षमता राम्रो छ। यदि तेरो काम थोरै सङ्ख्याका मानिसहरूसम्म पुगेको छ, तेरो कार्यदक्षता कम छ, नतिजाहरू खराब छन्, र निरन्तर पुनः काम गर्नुपर्ने, रोक्नुपर्ने, र छिद्रहरू टाल्नुपर्ने हुन्छ भने, तेरो क्षमता औसत छ। यदि कुनै व्यक्तिले कार्य सिद्धान्तहरू, कार्य प्रबन्धहरू, र अन्य पक्षहरू निकै राम्रोसँग र चाँडै बुझ्छ, तर उसको कार्यान्वयनको प्रगति ज्यादै ढिलो छ र उसको दक्षता ज्यादै कम छ—सामान्य परिस्थितिहरूमा, नतिजाहरू एक महिनामा प्राप्त हुन सक्छन्, तर उसलाई तीन महिना वा छ महिना नै लाग्छ, तैपनि प्राप्त नतिजाहरू ज्यादै औसत हुन्छन्, त्यो थोरै सङ्ख्याका मानिसहरूकहाँ पुग्छ, र मानिसहरूलाई उल्लेखनीय लाभ मिलेको हुँदैन भने—त्यस्तो व्यक्ति औसत क्षमताको हुन्छ।

कतिपय मानिसहरू निश्‍चित सिद्धान्त वा आधारभूत तत्त्वहरू बुझेपछि, त्यतिखेर शाब्दिक अर्थ मात्र बुझ्छन् र यी सिद्धान्तहरू वा आधारभूत तत्त्वहरू संलग्न हुने तिनीहरूको कामका मानिस, घटना, वा कामकुराहरूसँग त्यसलाई कुनै पनि प्रकारले जोड्न सक्दैनन्। तिनीहरू केवल सिद्धान्त र आधारभूत तत्त्वहरूलाई प्रावधान वा धर्मसिद्धान्तका रूपमा सुन्छन्, र ती सुनेपछि, तिनीहरूले हृदयमा कुनै योजना बनाउँदैनन् र ती कार्यान्वयन गर्न वा कार्य बन्दोबस्तहरू र आफूले बुझेका आधारभूत तत्त्व वा सिद्धान्तहरूलाई वास्तविक जीवनमा लागु गर्न जान्दैनन्। तिनीहरूले मूलतः वास्तविक जीवन र यी आधारभूत तत्त्व वा सिद्धान्तहरूबीच कुनै पनि सम्बन्ध जोड्न सक्दैनन्। वास्तविक जीवन वा कामको कुरा गर्नुपर्दा, तिनीहरूले सिद्धान्तहरू, आधारभूत तत्त्वहरू, र वस्तुहरूको विकासका नियमहरूलाई पाखा लगाउँछन्, तिनलाई लागु गर्न सक्दैनन्, र आफूलाई जे मन लाग्यो त्यही मात्र गर्छन्। अहिलेका लागि तिनीहरूको मानवता राम्रो छ कि खराब छ, वा तिनीहरूको चरित्र कस्तो छ, वा तिनीहरूले कुनै कुरा जानाजान गर्दैनन् कि, वा तिनीहरू कुनै कुरा गर्न चाहँदैनन् कि भन्‍नेबारे कुरै नगरौँ—क्षमताका हिसाबले मात्र भन्‍नुपर्दा, त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुन्छ। चाहे तिनीहरू जहाँसुकै जाऊन्, तिनीहरूले अरूसित धेरै धर्मसिद्धान्तहरू बोल्न, केही आधारभूत तत्त्वहरूबारे कुरा गर्न, र तथाकथित वस्तुहरूको विकासका केही नियमबारे छलफल गर्न सक्छन्। तिनीहरूमा निकै उच्च तहको विचार र बोध सामर्थ्य भएको देखिन्छ, र तिनीहरूमा केही क्षमता भएझैँ देखिन्छ। तर, जब तिनीहरूलाई कुनै काममा खटाइन्छ, तब एक वा दुई महिना बितिसक्दा पनि कुनै नतिजा आउँदैन, र तिनीहरूबाट कुनै अद्यावधिक जानकारी प्राप्त हुँदैन। आफ्नो सङ्कल्प व्यक्त गर्ने समयमा, तिनीहरू निकै राम्रोसँग बोल्छन्, तर वास्तवमै त्यो काम गर्नुपर्दा के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। “माथिकाले सिद्धान्तहरू निकै स्पष्टसित बुझाएका छन्, त्यसैले अब मैले के गर्नुपर्छ? मैले सुपरिवेक्षकका रूपमा कसलाई र प्रचारकका रूपमा कसलाई नियुक्त गर्नुपर्छ, अनि बाह्य मामलाहरू कसले सम्हाल्नुपर्छ? के गर्ने भनेर मलाई थाहा छैन! तर मैले ठूला दाबी गरेँ र आफ्नो सङ्कल्प व्यक्त गरेँ, त्यसैले मैले त्यो गर्नैपर्छ!” तिनीहरू यति व्यग्र हुन्छन् कि तिनीहरू भित्रभित्रै तातिन्छन् र तिनीहरूको मुखमा घाउ आउँछ, तिनीहरू खान वा सुत्न सक्दैनन्, र अन्ततः जिङ्ग्रिङ्ग पर्छन् र अभिभूत हुन्छन्, तैपनि के गर्ने भनेर तिनीहरूलाई अझै थाहा हुँदैन। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूका लागि काम बन्दोबस्त गर्दा, तिनीहरूले जोसका साथ त्यस्ता साहसी र ठूला शब्दहरू बोलेर जसरी गहन प्रतिज्ञा गर्ने र आफ्नो सङ्कल्प व्यक्त गर्ने भए पनि—तैँले तिनीहरू काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूसँग चरण र योजनाहरू छन् कि छैनन्, र कसरी कार्य बन्दोबस्तहरू लागु गर्ने र सिद्धान्तहरूअनुसार कार्य गर्ने भनेर तिनीहरूले बुझेका छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि तिनीहरूले यो बुझ्दैनन् वा गर्न सक्दैनन् भने, तिनीहरूमा कमजोर क्षमता छ। यदि तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन् तर सिद्धान्तहरू लागु गर्न सक्दैनन्, अनि अन्धाधुन्ध र जथाभावी कार्य मात्र गर्छन् भने, यसले पनि कमजोर क्षमता नै देखाउँछ। यदि तैँले सिद्धान्तहरू, आधारभूत तत्त्वहरू, वा कामकुराका विकासका नियमहरू प्रभावकारी रूपले र वास्तविक जीवनमा कार्यान्वयन गर्न सक्दैनस् भने, चाहे तँ व्यग्र भए पनि र अत्तालिए पनि वा तैँले लापरवाह दुष्कर्महरू गरे पनि, यी कमजोर क्षमताका प्रकटीकरणहरू हुन्। के यी शब्दहरू सही छन्? (छन्।) कतिपय मानिसहरू अन्धाधुन्ध कार्य गर्छन् भने अरूले त्यो गर्न जान्दैनन् र त्यो गर्ने आँट गर्दैनन्—तिनीहरूलाई कहाँबाट सुरु गर्ने भन्‍नेसमेत थाहा हुँदैन। नवप्रवर्तनको सामर्थ्यका हिसाबले, कमजोर क्षमता भएका मानिसहरूका विशिष्ट प्रकटीकरणहरू यी हुन् कि, तिनीहरूले विशिष्ट, वास्तविक काममा आधारभूत तत्त्व र सिद्धान्तहरू लागु गर्न जानेका हुँदैनन्; तिनीहरू शब्दहरू सुगा रटाइ गर्न, धर्मसिद्धान्तहरू सिक्न, र प्रावधानहरू याद गर्न मात्र सक्छन्। धर्मसिद्धान्त र प्रावधानहरू याद मात्र गर्नु बेकार हो, र त्यसले तँसँग नवप्रवर्तनको सामर्थ्य भएको सङ्केत गर्दैन। तँसँग नवप्रवर्तनको सामर्थ्य छ कि छैन भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ कि, तैँले यी आधारभूत तत्त्व, सिद्धान्त, र नियमहरूलाई वास्तविक जीवनमा कार्यान्वयन गर्न सक्छस् कि सक्दैनस्, यी आधारभूत तत्त्व र सिद्धान्तहरूसँग सम्बन्धित काम राम्रोसँग गर्न सक्छस् कि सक्दैनस्, ताकि यी आधारभूत तत्त्व र सिद्धान्तहरू शब्द र धर्मसिद्धान्त, प्रावधान, र सूत्रहरूमा सीमित नरहून्, बरु मानिसहरूको जीवनमा कार्यान्वयन होऊन् र मानिसहरूमा लागु होऊन्, जसका कारण मानिसहरूले ती प्रयोग गर्न र तीबाट लाभ र सहायता लिन सकून्, र ती जीवनमा अभ्यासको मार्ग, वा जियाइको मार्गदर्शन, दिशा, र लक्ष्य बन्‍न सकून्। यदि कुनै व्यक्तिमा यो नवप्रवर्तनको सामर्थ्य छैन र उसले शब्द र धर्मसिद्धान्तहरू ओकल्न र नाराहरू फलाक्न मात्र जानेको छ, र आफ्नो कर्तव्य निर्वाह गर्ने समय आउँदा उसले यी सिद्धान्त र आधारभूत तत्त्वहरूलाई प्रयोगमा ल्याउन सक्दैन भने, त्यस्तो अगुवा वा सुपरिवेक्षकलाई पछ्याउने मानिसहरूले सत्यताको यो पक्षमा अभ्यासका सिद्धान्तहरू प्राप्त गर्नेछैनन्। त्यस्ता अगुवा वा सुपरिवेक्षकहरू कमजोर क्षमताका मानिस हुन्, तिनीहरू काम गर्न असक्षम हुन्छन्, र पहिचान भएपछि तिनीहरूलाई रिपोर्ट गरेर हटाइनुपर्छ। कसैले कुनै कामको जिम्मेवारी लिन सक्छ कि सक्दैन भनी मूल्याङ्कन गर्नका लागि, तैँले पहिले हेर्नुपर्छ कि कार्य बन्दोबस्तहरू पढेर सत्यता सिद्धान्तहरू बुझेपछि उसले ती बन्दोबस्त गर्न र कार्यान्वयन गर्न अनि कामलाई चलायमान बनाउन सक्छ कि सक्दैन। मण्डलीमा जति जना मानिसहरू भए पनि, यदि उसले मण्डलीका सबै कामहरूलाई चलायमान बनाउन सक्छ, र ऊ जति जना मानिसहरूको कामका लागि जिम्मेवार भए पनि—चाहे त्यो पचास होस् वा सय—उसले कामलाई फस्टाउँदो बनाउन सक्छ, जसले गर्दा सबैका आ-आफ्नो स्थान हुने र सबैले काम गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्ने कुरा सुनिश्‍चित हुन्छ भने, त्यस्तो व्यक्तिलाई अगुवा वा सुपरिवेक्षकका रूपमा निर्वाचित गर्नका लागि विचार गर्न सकिन्छ। तैँले अवश्यै उसको चरित्र कस्तो छ, ऊ सच्चा व्यक्ति हो कि होइन, र ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनेर पनि हेर्नैपर्छ—यी कुराहरू जान्‍न अत्यावश्यक छ! परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउनका निम्ति अगुवा वा कामदारसँग कम्तीमा पनि यी पक्षहरूमा क्षमता र कद हुनैपर्छ, ताकि सबैले कार्य बन्दोबस्तहरू वा सत्यता सिद्धान्तहरूअनुसार काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न सकून्—यसरी, परमेश्‍वरका चुनिएका मानिसहरूले ऊबाट लाभ पाउन सक्छन्। यदि तिनीहरूसँग यो सामर्थ्य छैन भने, तिनीहरूलाई छान्‍न मिल्दैन। यदि तैँले त्यस्तो व्यक्ति छानिस् भने, हरेक दिन हल्लिँदै उसको पछि लागेर कुनै काम नगर्दा तेरो देहलाई आराम त मिल्ला, तर तँ तेरो आत्मामा परिपुष्ट हुनेछस्? यदि तैँले हरेक दिन भेलाहरूमा केही घण्टा उसले धर्मसिद्धान्तहरू प्रचार गरेको सुनेर बिताउँछस्, तर कुनै वास्तविक काम गर्दैनस् भने, के यो आफ्नो कर्तव्य पूरा गर्नु हो? (होइन।) उसले हरेक दिन तँलाई धर्मसिद्धान्तहरू प्रचार गर्छ, तर तेरा कानहरू समृद्ध हुने भए पनि तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस् र उसको पछि लागेर बिनाउद्देश्य अलमलिरहेको हुन्छस्। त्यस अवस्थामा, तँ ऊद्वारा बहकाइएको र अड्चनमा पारिएको हुन्छस्। यदि तँ उसले बोलेका ती नीरस शब्द र धर्मसिद्धान्तहरू सुनिरहन्छस्, र अन्त्यमा तैँले आफ्नो कर्तव्य पूरा गर्दैनस् वा बफादारी देखाउँदैनस्, र सत्यतामा कुनै वास्तविक अनुभव प्राप्त गरेको हुँदैनस्, परमेश्‍वरले सुम्पनुभएको काममा बफादारी देखाउँदैनस्, कामलाई चलायमान बनाउँदैनस् वा कुनै नतिजा हासिल गर्दैनस्—ताकि परमेश्‍वरले मानिसहरूबाट नतिजाहरू माग्नुहुँदा, प्रस्तुत गर्नलाई तँसित केही पनि हुँदैन भने—के तैँले घाटा भोगेको हुँदैनस् र? त्यसकारण, यदि तैँले यसअघि त्यस्ता मानिसहरू अगुवाका उम्मेदवार हुन् भनेर सोचेको थिइस् भने, अब तुरुन्तै आफ्नो दृष्टिकोण परिवर्तन गरेर त्यस्ता मानिसहरूलाई उम्मेदवारको सुचीबाट हटाइदे। तिनीहरूलाई अगुवाका रूपमा चयन गर्नै हुँदैन। कमजोर क्षमता भएका र नवप्रवर्तनको सामर्थ्य नभएका मानिसहरू कहाँ चुक्छन्? तिनीहरू यो कुरामा चुक्छन् कि, तिनीहरू केवल कुर्सीमा बसेर आदेश दिन मात्र जान्दछन् तर कहिल्यै आफ्ना विचारहरूलाई वास्तविक जीवनको काममा लागु गर्न जान्दैनन्, र तिनीहरू वास्तविक काम गर्न सक्दैनन्। यदि त्यस्ता मानिसहरू अगुवा बनेमा कस्ता परिणामहरू आउलान्? तिनीहरूले कामलाई पूरै लथालिङ्ग मात्र पार्नेछन्। यदि तिनीहरूले मूलभूमि चीनमा मण्डली अगुवाका रूपमा सेवा गरेका भए, तिनीहरूले पूरै मण्डलीलाई सखाप पार्नेथिए। तिनीहरू आफैले सत्यता प्राप्त गर्न नसक्ने मात्र नभई तिनीहरूले अगुवाइ गरेका मानिसहरूको जीवनमा पनि क्षति पुग्नेछ। यदि तैँले त्यस्ता मानिसहरूलाई तत्काल पहिचान गरेर हटाउन सक्छस् भने, कतिपय विपत्तिहरू रोक्न सकिनेछ र मण्डलीको कामले क्षति भोग्नुपर्नेछैन। तर यदि तैँले त्यस्ता मानिसहरूकै अनुयायी रहेर तिनीहरूको अगुवाइ स्विकार्छस् भने, तेरो मुक्ति प्राप्त गर्ने आशा तिनीहरूद्वारा नष्ट पारिन सक्छ, र त्यसपछि तेरो मुक्तिको अवसर गुम्नेछ। त्यसकारण, नवप्रवर्तनको सामर्थ्य भनेको कुनै अगुवा वा कामदार वा सुपरिवेक्षकका लागि अत्यन्त महत्त्वपूर्ण क्षमता हो। यदि तँमा काम गर्ने आधारभूत क्षमता र सामर्थ्य छैन भने, तँ अत्यन्त सजग हुनैपर्छ र जोसका भरमा अघि बढ्नु हुँदैन, साथै तैँले सधैँ पृथक् बन्‍ने र अगुवा वा सुपरिवेक्षक हुने चाहना राख्नु हुँदैन। त्यसो गर्नाले तँलाई मात्र नभई अरूलाई पनि मुक्ति प्राप्त गर्नमा बाधा हुन्छ। यदि तैँले आफूलाई मात्र बाधा दिन्छस् भने, तैँले आफ्नो मृत्यु मात्र निम्त्याएको हुन्छस्, तर यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छस् भने, के तैँले धेरै मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तँलाई आफ्नै जीवनको वास्ता नहोला, तर अरूलाई त आफ्नो जीवनको वास्ता हुन्छ नि। त्यसमाथि, तेरो आफ्नै दैनिक जीवन वा वित्तीय सफलतालाई बाधा दिनु ठूलो कुरा होइन, तर मण्डलीको काममा बाधा दिनु सानो मामला हुँदै होइन। के तँ त्यस्तो जिम्मेवारी वहन गर्न सक्छस्? यदि तँ साँच्चिकै विवेक भएको व्यक्ति होस् र तैँले यस मामलाले महत्त्वपूर्ण जिम्मेवारी बोकेको हुन्छ, र मण्डलीको काममा बाधा दिनु भनेको तैँले जिम्मेवारी लिन सक्ने कुरै होइन भन्‍ने महसुस गर्छस् भने, तैँले आवश्यक परेको जुनसुकै उपाय अपनाएर देखावटी गर्नु र नेतृत्वका लागि होड गर्नै हुँदैन। यदि तँसँग क्षमता र कद छैन भने, सधैँ पृथक् बन्‍ने कोसिस नगर्। अख्तियारप्रतिको तेरो लालसा पूरा गर्नकै लागि मण्डलीको काममा बाधा दिने वा परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यतामा प्रवेश गर्न र असल गन्तव्य प्राप्त गर्नमा बाधा दिने काम नगर्—यो एउटा अधर्म हो! तँसित अलिकति आत्म-सचेतना हुनुपर्छ। तँ जे कुरामा सक्षम छस् त्यो गर् र सधैँ अगुवा बन्‍ने आकाङ्क्षा नराख्। अगुवा हुनुबाहेक, तैँले गर्न सक्ने अरू धेरै कर्तव्यहरू छन्। अगुवा हुनु तेरो अनन्य अधिकार होइन, र त्यो तेरो पछ्याइ बन्‍नु हुँदैन। यदि तँसित अगुवा बन्‍ने क्षमता र कद छ, र तँसित बोझको भावना पनि छ भने, अरूलाई तेरो चयन गर्न दिनु राम्रो हुन्छ। यो अभ्यासले मण्डलीको काम र त्यसमा संलग्न सबैलाई फाइदा हुन्छ। यदि तँसित अगुवा बन्‍ने क्षमता छैन भने, तैँले केही दया देखाएर अरूका भविष्यका लागि केही जिम्मेवारी लिनुपर्छ। सधैँ अगुवा बन्‍ने होड नगर् र अरूलाई बाधा नदे। कमजोर क्षमता हुनुका बाबजुद अगुवा बनेर मण्डलीको कामको जिम्मेवारी लिन चाहनुले समझको कमी देखाउँछ। यदि तँसित क्षमता र कद छैन भने, बस आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्। साँचो रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्नुले तँमा केही समझ छ भन्‍ने देखाउँछ। तेरो सामर्थ्यअनुसार जे काम गर्न सक्छस् त्यो गर्; महत्त्वाकाङ्क्षा र चाहनाहरू नराख्। मण्डलीको कामलाई बेवास्ता गरेर आफ्ना व्यक्तिगत चाहनाहरू मात्र पूरा गर्न नखोज्—यसले तँ र मण्डली दुवैलाई हानि गर्छ। यो नै नवप्रवर्तनको सामर्थ्यका हिसाबले कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण हो।

कमजोर क्षमता भएका मानिसहरू नवप्रवर्तनको सामर्थ्य हुने स्तरसम्म पुगेका हुँदैनन्—जसको क्षमता नै छैन, तिनीहरूमा त झनै यो सामर्थ्य हुँदैन। त्यस्ता मानिसहरूले कामकुराका आधारभूत तत्त्वहरू, कामकुराका विकासका नियमहरू, वा सत्यता सिद्धान्तहरू सुन्दा ती बिलकुलै बुझ्न सक्दैनन्। परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूले यी सत्यता सिद्धान्तहरू हुन् भनेर देख्न सक्ने भए पनि, तिनीहरूले सिद्धान्तहरूलाई ती लागु हुने दायरासँग वा तिनमा संलग्न मानिस र मामलाहरूसँग जोड्न सक्दैनन्। तिनीहरू यस्तोसम्म सोच्छन्, “सत्यताबारे यो सङ्गति अति विस्तृत छ, र यसको मात्रा पनि धेरै छ। यी वचनहरू सुन्दा, म यी सिद्धान्त हुन् भनेर बुझ्न सक्छु, तर मलाई ती सिद्धान्तहरूको परिभाषा के हो वा उक्त सिद्धान्तहरूले सीमाङ्कन गर्ने दायरा के हो भन्‍ने कुरा थाहा छैन।” यदि तिनीहरूलाई सिद्धान्तहरूको परिभाषा समेत थाहा छैन भने, तिनीहरूलाई निश्‍चय नै ती कसरी कार्यान्वयन वा अभ्यास गर्ने भनेर थाहा हुँदैन। उदाहरणका लागि, जब केही आइपर्छ र त्यसलाई सम्हाल्नुपर्ने हुन्छ, तब अरूले तिनीहरूलाई “तिमीले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ” भनेर भन्छन्। तिनीहरूले भन्छन्: “मलाई त सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भन्‍नेसमेत थाहा छैन। मलाई यो मामला कुन सिद्धान्तसँग सम्बन्धित छ भन्‍ने थाहा छैन।” अरूले तिनीहरूलाई यो मामला सम्हाल्दा अभ्यास गर्नुपर्ने सिद्धान्त बुझाएपछि पनि तिनीहरूलाई अझै के गर्ने भनेर थाहा हुँदैन। त्यस्ता मानिसहरूमा अत्यन्तै कमजोर क्षमता हुन्छ; तिनीहरू मानव भाषासमेत बुझ्न सक्दैनन्, र तिनीहरू प्रयोग गरिन झनै अयोग्य हुन्छन्। के यसले त्यस्ता मानिसहरू यति असक्षम हुन्छन् कि तिनीहरूलाई सहयोग गर्नै सकिँदैन भन्‍ने देखाउँदैन र? सहयोग गर्नै नसकिनेगरी असक्षम मानिसहरूमा सामान्य मानवताको सोचाइ र कामकुरा बुझ्ने सामर्थ्य हुँदैन, तार्किक सोचाइको त कुरै छाडौँ। त्यसकारण, सत्यता सिद्धान्तहरू वा विभिन्‍न आधारभूत तत्त्वहरू र नियमहरू बुझ्ने मानिसहरूले क्षमता नभएका मानिसहरूसँग कुराकानी गर्नु सम्भव नै हुँदैन; तिनीहरू सर्वसम्मतिमा पुग्न सक्दैनन्, र अवश्य पनि तिनीहरूको साझा भाषा हुँदैन। तिनीहरू किन कुराकानी गर्न सक्दैनन्? एउटा सारभूत समस्या छ, त्यो के हो भने, विभिन्‍न कुराबारे संज्ञान राख्ने, कामकुराको परख गर्ने, तजबिज गर्ने, बुझ्ने र स्विकार्ने यी दुई किसिमका मानिसहरूका सामर्थ्यहरू एउटै स्तरमा वा एउटै मार्गमा हुँदैनन्—ती एक अर्कालाई कहिल्यै नछुने दुई समानान्तर रेखा जस्तै हुन्। यो अलि अमूर्त रूपमा भनिएको हो। यसलाई अझ ठोस तरिकाले भन्‍नुपर्दा, यी दुई किसिमका मानिसहरूको क्षमतामा आकाश-जमिनको फरक हुन्छ, र त्यो एउटै स्तरको हुँदैन। त्यसकारण, एउटै मामलाका सम्बन्धमा तिनीहरूको तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, वा संज्ञानात्मक सामर्थ्य कहिल्यै समान हुँदैन। भन्‍नुको मतलब, राम्रो क्षमता वा औसत क्षमता भएका मानिसहरूले जे चिन्‍न सक्छन्, क्षमता नभएकाहरूले त्यो बिलकुलै चिन्दैनन्—तिनीहरू यस मामिलामा त्यो स्तरमा झनै पुग्न सक्दैनन्, र सधैँ चुक्छन्, मानौँ तिनीहरूमा त्यो अन्तर्निहित सक्षमता नै छैन। उदाहरणका लागि, कुखुरी परिपक्व बनेपछि त्यसले स्वतः अण्डा पार्छ। उत्पादन थोरै भए पनि त्यसले अण्डा चाहिँ पार्छ, किनकी त्यसमा त्यो अन्तर्निहित सक्षमता हुन्छ। तर, भालेलाई जति राम्रो खाना दिए पनि त्यसले अण्डा पार्न सक्दैन, किनभने त्योसँग त्यो अन्तर्निहित सक्षमता हुँदैन। भालेले भन्छ: “ममा अण्डा पार्ने अन्तर्निहित सक्षमता नभए पनि म बिहान बास्न सक्छु!” चाहे तँ जति पटक बासे पनि वा तेरो स्वर जति चर्को भए पनि, त्यसको अर्थ यो होइन कि तैँले अण्डा पार्न सक्छस्। कुखुरी बास्दैन तर त्योसँग अण्डा पार्ने खुबी हुन्छ। म तिमीहरूलाई किन यो उदाहरण दिइरहेको छु? किनकी क्षमता नभएका मानिसहरू त्यस्ता विकृत, भ्रामक, र तर्कहीन तर्क गर्छन्—यसलाई क्षमता नहुनु भनिन्छ। त्यसकारण, क्षमता नभएका मानिसहरूसँग राम्रो क्षमता भएका, औसत क्षमता भएका, वा कमजोर क्षमता भएका मानिसहरूले नै मामलाहरूबारे कुराकानी र छलफल गर्दा पनि, त्यो अनौठो लाग्छ। कमजोर क्षमता भएका मानिसहरूसँग तैँले अझै पनि केही सरल र सजिलै बुझिने मामलाहरूबारे कुराकानी गर्न सक्छस्। तर क्षमता नै नभएका मानिसहरूसँग कसैले पनि कुराकानी गर्न सक्दैन, किनकी तिनीहरूमा बोध सामर्थ्य हुँदैन र कुनै पनि कुराबारे कुनै विचार वा दृष्टिकोण हुँदैन। यो क्षमता नभएका मानिसहरूको वर्णन वा व्याख्या हो। तैँले कुनै कुराबारे तिनीहरूसित कुराकानी गर्दा, तैँले त्यो कुरा राम्रोसँग र प्रस्ट रूपमा बुझाए पनि, र तिनीहरूले बुझेको छु भनेर भने पनि, त्यही कुरा दोहोरिँदा, तिनीहरूले अझै पनि बुझ्दैनन् र फेरि विकृत र भ्रामक तर्क गर्नेछन्। ल भन्, के त्यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) तिनीहरूमा कामकुराको परख गर्ने वा तिनका बारेमा संज्ञान राख्ने सामर्थ्य हुँदैन—तिनीहरूले कसरी सत्यता बुझ्न सक्थे र? तिनीहरूले सत्यता बुझ्न सक्छन् भन्‍नु पूरै बकवास हुनेछ। क्षमता नभएका मानिसहरूमा नवप्रवर्तनको सामर्थ्य हुँदैन, त्यसैले यस सम्बन्धमा तिनीहरूका प्रकटीकरणहरू यस्तै हुन्छन्। तिनीहरूले कुनै पनि आधारभूत तत्त्व वा सिद्धान्तहरू नबुझ्ने हुनाले, तिनीहरूले गर्ने कुनै पनि काममा कुनै योजना हुँदैन। तिनीहरूका मनमा कुनै योजना वा चरणहरू हुँदैनन्, र तिनीहरूले कुनै पनि आधारभूत तत्त्व वा सिद्धान्तहरू त झनै कार्यान्वयन गर्न सक्दैनन्। तिनीहरूले जे गर्छन्, त्यो पूरै भद्रगोल हुन्छ, पूरै अस्तव्यस्त हुन्छ। त्यस्ता मानिसहरूले शारीरिक मेहनत लगाउन र शारीरिक कार्य गर्न मात्र सक्छन्। तिनीहरूले जसोतसो एउटा सामान्य, एकल कार्य मात्र गर्न सक्छन्; आखिरमा, तिनीहरू साधारण मानिस हुन्, जो एकल कार्यमा लाग्न सक्छन्, तर जब परिस्थिति कुनै कामको जिम्मेवारी लिने तहमा पुग्छ, तब तिनीहरू त्यसका लागि योग्य हुँदैनन्। त्यस्ता मानिसहरू कुनै बहुमूल्य वा प्राविधिक दक्षता आवश्यक पर्ने काम गर्न असमर्थ हुन्छन्। तिनीहरूले शारीरिक श्रम, खेतीपातीको काम, वा पशुपालन जस्ता केही सानातिना कामहरू मात्र गर्न सक्छन्, र त्यति बेला पनि तिनीहरूलाई कुनै सुपरिवेक्षकले निरीक्षण र सहयोग गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ, तिनीहरू खराब मुडमा हुँदा कसैले तिनीहरूलाई सम्झाइ-बुझाइ गर्नुपर्छ; र कहिलेकाहीँ तिनीहरू विकृतिमा फस्दा वा नकारात्मक बन्दा, कसैले तिनीहरूलाई सोच्ने तरिकामा सल्लाह दिनुपर्ने हुन्छ। सानातिना कामका लागि समेत कसैले तिनीहरूको कामको मूल्याङ्कन गर्नुपर्ने हुन्छ; नत्र, समस्या र त्रुटिहरू उत्पन्‍न हुनेछन्, र उक्त काम फेरि गर्नुपर्ने हुन्छ। यदि तिनीहरूले सामग्रीहरू खेर फालिरहेका हुँदैनन् भने, तिनीहरूले ऊर्जा, वा पानी, विद्युत, र ग्याँस खेर फालिरहेका हुन्छन्। पश्‍चिमा देशहरूमा, तिनीहरूलाई निरन्तर अरूद्वारा रिपोर्ट गरिन्छ र प्रहरीद्वारा जरिवाना तिराइन्छ। निगरानी गर्ने कोही छैन भने, तिनीहरू सानातिना कामहरूसमेत राम्ररी गर्न सक्दैनन्—तिनीहरू यति समस्याजनक र दयनीय हुन्छन्। क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। के त्यस्ता मानिसहरू केवल बेकामे र मूर्ख होइनन् र? के तिनीहरूलाई अझै पनि मानवका रूपमा प्रयोग गर्न सकिन्छ? वास्तवमा, परमेश्‍वरका घरमा, त्यस्ता मानिसहरूले थोरै शारीरिक मेहनत लगाउन मात्र सक्छन्। जब मण्डलीको कामको कुरा आउँछ, तिनीहरूले त्यो गर्नै सक्दैनन्; तिनीहरू केही पनि गर्न सक्दैनन्। शारीरिक मेहनत आवश्यक पर्ने काममा पनि तिनीहरूले ती काम स्वतन्त्र रूपमा पूरा गर्न सक्दैनन् र तिनीहरूले गर्ने काममा अरूको निर्देशन, सुपरिवेक्षण र मूल्याङ्कन आवश्यक पर्छ। तर जब तिनीहरूले शारीरिक मेहनत आवश्यक पर्ने कामहरू गर्छन्, तब तिनीहरूले यो आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको भएको, तिनीहरू योग्यता बढी भएको ठान्छन्, अनि तिनीहरूले अवज्ञा गर्छन् र यस्तो गुनासो समेत गर्छन्: “ती प्राविधिक कम्प्युटरको काम गर्ने, लेख लेख्ने, गीत गाउने र नृत्य गर्ने, वा अभिनय गर्ने मानिसहरूलाई हेर्नुहोस् त—तिनीहरू कति आकर्षक देखिन्छन्! तर म त दिनभर तेल र धुवाँसँग जुध्दै अतिथिसत्कार र खाना बनाउने काम मात्र गर्न सक्छु। केही वर्षमा, म जीर्ण आइमाईमा परिणत हुनेछु। हेर्नुहोस् त, म कति दयनीय छु!” तिनीहरू यो काम गर्दा सधैँ निकै दयनीय महसुस गर्छन्, तर तिनीहरूले किन यस किसिमको काम मात्र गर्न सक्छन् भन्‍नेबारे रोकिएर सोच्दैनन्। तिनीहरूले आफू अरू काम सम्हाल्न साँच्चिकै सक्षम रहेको वा नरहेको भनेर मापन गर्दैनन्। तिनीहरूको क्षमता कमजोर भएकाले शारीरिक मेहनत आवश्यक पर्ने केही कामहरू गर्दा तिनीहरू सधैँ दुःखी हुन्छन्। यदि तिनीहरूको क्षमता साँच्चिकै राम्रो हुँदो हो त, तिनीहरू दुःखी हुने थिएनन्। तिनीहरूको क्षमता पहिल्यै यति कमजोर छ कि तिनीहरू शारीरिक कामहरू मात्र गर्न सक्छन्, तैपनि तिनीहरू त्यसलाई आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको ठान्छन्। के तिनीहरू मूर्ख होइनन् र? त्यस्ता मानिसहरू साँच्चिकै मूर्ख हुन्। यस किसिमका मानिसहरू शारीरिक मेहनत आवश्यक पर्ने कामहरू समेत राम्रोसँग पूरा गर्न सक्दैनन्। खाना बनाउँदा, तिनीहरूले कि त अति धेरै बनाउँछन् कि अति कम बनाउँछन्, र तिनीहरूले जति लामो समयसम्म पकाउने काम गरे पनि, तिनीहरूलाई अझै पनि खाना बनाउँदा अपनाउनुपर्ने तरिका थाहा हुँदैन। तैपनि, तिनीहरू अझै त्यस्ता कामहरू आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको भएको, आफ्नो योग्यता बढी भएको ठान्छन्, र आफूले शारीरिक मेहनत आवश्यक पर्ने काम गर्न नहुने सोच्छन्। तिनीहरू आफू सचिवका रूपमा कुनै कार्यालयमा काम गरिरहेको, परमेश्‍वरका घरमा केही कामको जिम्मेवारी बोकिरहेको, वा कम्तीमा मण्डली अगुवाका रूपमा सेवा गरिरहेको हुनुपर्ने सोच्छन्। के यो पूर्णतया समझ नहुनु होइन र? ल भन्, तँ कस्तो कामका लागि योग्य छस्? यदि तँ कुनै किसिमको कामका लागि योग्य छैनस्, र परमेश्‍वरको घरले तेरो भरणपोषण गर्दागर्दै पनि तँलाई शारीरिक मेहनत आवश्यक पर्ने कामहरू दिइन्छ भने, के यो तेरो बढाइ होइन र? तैपनि तँ असन्तुष्ट नै हुन्छस्। के तेरो समझ अत्यन्तै कमजोर होइन र? (हो।) के समझ र क्षमताबीच कुनै सम्बन्ध छ? (छ।) आफूलाई नचिन्‍नु, आफ्नो क्षमताको स्तर के हो भनेर थाहा नपाउनु, सधैँ आफ्नो क्षमता उच्च छ भन्‍ने सोच्नु—के यी कमजोर क्षमताका प्रकटीकरणहरू होइनन् र? (हो।) राम्रो क्षमता भएका मानिसहरूले आफूलाई कसरी मूल्याङ्कन गर्ने भनेर जान्‍नेछन्, र मूल्याङ्कन गरेपछि, तिनीहरूले आफ्नो क्षमताको स्तर थाहा पाउनेछन्। आफ्नो क्षमता के हो भनी निर्धारण गरेपछि, तिनीहरूले मण्डलीमा आफ्नो स्थान भेट्टाउन सक्नेछन्। तिनीहरूले जे गरे पनि ढुक्क महसुस गर्नेछन्, र आफूले पूरा गर्ने कर्तव्यलाई तर्कसङ्गत रूपमा लिन सक्नेछन्। तिनीहरूलाई शारीरिक मेहनत आवश्यक पर्ने कामहरू अह्राइए पनि, तिनीहरूले ती काम गर्दा शान्त र न्यायोचित महसुस गर्नेछन्; तिनीहरू हृदयको गहिराइदेखि नै त्यसमा समर्पित र सहमत हुनेछन्, र यो काम र यस कार्यलाई स्विकार्नेछन्। यसलाई चेतना हुनु भनिन्छ। यदि कोही आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै ढुक्क हुँदैन, सधैँ दुखित महसुस गर्छ, र आफूलाई गर्न भनिएको कुनै पनि कार्य आफ्नो प्रतिभाभन्दा तल रहेको सोच्छ भने, के उसमा समझको कमी छैन र? (छ।)