सत्यता कसरी पछ्याउने (६) भाग दुई

नम्बर ४: कामकुरा स्विकार्ने सामर्थ्य

चौथो सामर्थ्य के हो? कामकुरा स्विकार्ने सामर्थ्य। कामकुरा स्विकार्ने सामर्थ्य कामकुरा बुझ्ने सामर्थ्य र बोध सामर्थ्यभन्दा केही भिन्‍न हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्यमा, नयाँ कुराहरू देखा पर्दा तैँले ती सकारात्मक छन् कि नकारात्मक छन्, र तेरो जीवन, काम, र अस्तित्वका लागि तिनले के-कस्ता फाइदा वा हानि ल्याउँछन्, साथै तैँले तिनलाई कसरी हेर्छस्, तैँले तिनलाई कसरी लिन्छस्, र तैँले तिनलाई कसरी लागू गर्छस् भन्‍ने कुरालाई खुट्ट्याउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा समावेश हुन्छ। यदि तँसँग राम्रो क्षमता छ भने, जब नयाँ कुराहरू देखा पर्छन्, तब तँ विशेष रूपमा संवेदनशील र विशेष रूपमा सचेतन हुनेछस्। कुनै नयाँ कुराका बारेमा तुरुन्तै जानकारी प्राप्त गरेपछि, तैँले मानिसहरूका लागि यसले के फाइदा वा हानि ल्याउँछ, वा यसका के-कस्ता कमीकमजोरीहरू छन् भनेर पहिचान गर्न सक्‍नेछस्। यदि यो तेरो वास्तविक जीवनको निश्‍चित समस्याका लागि फाइदाजनक छ भने, तैँले तुरुन्तै यसका सबल पक्षहरूलाई लागू गर्न सक्छस्; यदि यो हानिकारक छ भने, तँ यसले मानिसहरूलाई गर्ने हानि वा बेफाइदाहरूबाट पनि जोगिन सक्छस्। अर्थात्, तँसँग नयाँ कुराहरूप्रति केही हदसम्म स्वीकार्यता हुन्छ, र तैँले मानिसहरूका लागि नकारात्मक, हानिकारक कुराहरू, र कमीकमजोरीहरू भएका नयाँ कुराहरूलाई तुरुन्तै छर्लङ्ग देख्‍न सक्छस्—कामकुरा स्विकार्ने सामर्थ्य हुनु भनेको यही हो। कामकुरा स्विकार्ने सामर्थ्य र कामकुरा बुझ्ने सामर्थ्य र बोध सामर्थ्यबीचको भिन्‍नता यहीँ लुकेको हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्यले मुख्य रूपमा नयाँ कुराहरूप्रति व्यक्तिको संवेदनशीलता र तिनलाई खुट्ट्याउने उसको सामर्थ्यलाई जनाउँछ। यदि तैँले तुरुन्तै नयाँ कुराहरू खुट्ट्याउन सक्छस्, तिनका सबल पक्ष र फाइदाहरूलाई तुरुन्तै स्वीकार गर्न र आफ्नो जीवन वा कामका लागि तिनलाई वास्तविक जीवनमा लागू गर्न सक्छस्, त्यसपछि यी नयाँ कुराहरूले प्रतिस्थापन गरेका पुराना कुराहरूलाई त्याग्‍न वा हटाउन सक्छस् भने, यसको अर्थ तँसँग कामकुरा स्विकार्ने सामर्थ्य छ र तँ राम्रो क्षमता भएको व्यक्ति होस्। यसपछि औसत क्षमताका मानिसहरू हुन्छन्। त्यस्ता मानिसहरूले पुराना कुराहरूलाई प्रतिस्थापन गरिसकेका केही नयाँ कुराहरू, साथै नयाँ विचार र नयाँ प्रविधिहरू स्वीकार गर्नमा निकै ढिलो गर्छन्। यो “ढिलो” ले केलाई जनाउँछ? यसले कुनै नयाँ कुरा व्यापक रूपमा फैलिसकेको छ, यसलाई अत्यन्तै व्यापक रूपमा प्रयोग गरिन्छ, र यसका लागि प्रयोग गरिने शब्द अत्यन्तै आम भएको छ भने मात्रै, तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन् भन्ने तथ्यलाई जनाउँछ। तिनीहरूसँग नयाँ कुराहरूका बारेमा कुनै सुझबुझ हुँदैन र तिनीहरूले ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन् भनेर खुट्ट्याउन सक्दैनन्। सकारात्मक नयाँ कुराहरू देखा पर्दा पनि, तिनीहरू ती कुराहरूप्रति प्रतिरोधी हुन्छन् र तिनीहरूले तिनलाई हृदयमा तिरस्कार गर्छन्; तिनीहरूसँग सधैँ आफ्नै धारणा र मनोवृत्ति हुन्छ, र तिनीहरू सधैँ सांसारिक प्रचलनहरू अनुरूप बन्छन्, र तिनीहरूले आफ्नो मन नयाँ कुराहरूप्रति बन्द गर्छन् र तिनलाई स्वीकार गर्दैनन्, इन्कार गर्छन्। कुनै नयाँ कुरा व्यापक रूपमा फैलँदा मात्रै, र धेरै मानिसहरूले यसका फाइदाहरू अनुभव गरेर बुझेपछि, र मानिसहरूले यसबाट फाइदा पाएपछि मात्रै, तिनीहरूले यसलाई स्वीकार गर्न र लागू गर्न थाल्छन्। यो औसत क्षमता हुनु हो। त्यस्ता मानिसहरूले अत्यन्तै निष्क्रिय रूपमा नयाँ कुराहरूलाई स्वीकार गर्छन्; यो सक्रिय स्वीकार हुँदैन। किनभने, एक हिसाबमा, तिनीहरूसँग नयाँ कुराहरूप्रति कुनै संवेदनशीलता हुँदैन; तिनीहरू भावशून्य, पिछडिएका, र कुण्ठित हुन्छन्। अर्कोतर्फ, तिनीहरूसँग नयाँ कुराहरूका बारेमा निश्‍चित धारणा र दृष्टिकोणहरू भएकाले, र तिनीहरूले ती कुराहरूप्रति घृणा र तिरस्कारको मनोवृत्ति राख्ने हुनाले पनि यस्तो हुन्छ। यसको व्यक्तिपरक कारण के हो भने, तिनीहरूको क्षमता औसत हुन्छ, र कामकुरा स्विकार्ने तिनीहरूको क्षमता औसत हुन्छ, जसले तिनीहरूलाई अत्यन्तै भावशून्य बनाउँछ; जब तिनीहरूको अगाडि नयाँ कुराहरू देखा पर्छन्, तब तिनीहरूसँग कुनै सचेतना हुँदैन, तिनीहरूसँग कुनै भावना हुँदैन, र तिनलाई सक्रिय रूपमा स्वीकार गर्ने मनोवृत्ति हुँदैन। यसको साथै, तिनीहरू अन्तर्निहित रूपमा नै निकै पिछडिएका हुन्छन्, र निकै भावशून्य र मन्दबुद्धिका हुन्छन्। यी दुई कारणले गर्दा तिनीहरूले नयाँ कुराहरू स्वीकार गर्न ढिलो गर्छन्। धेरै मानिसहरूले पहिले नै कुनै कुराको प्रयोग गरिरहेका छन्, यसका फाइदाहरू के-के हुन्, यसको सुविधा के हो, यसले मानिसहरूमा कस्तो असर पार्छ, र यसले मानिसहरूलाई के-कस्ता फाइदाहरू पाउन दिन्छ भन्नेबारे कुरा गरिरहेका हुन्छन्, र तिनीहरूले यो सबै कुरा आफ्नै आँखाले देखेका हुन्छन्—अनि आफ्नो वरिपरिका मानिसहरूले यसलाई व्यक्तिगत रूपमा केही हदसम्म अनुभव गरेको पनि देखेका हुन्छन् भने मात्रै—तिनीहरूले यसलाई बिस्तारै हृदयमा स्वीकार गर्छन् र त्यसपछि यसलाई प्रयोग गर्न थाल्छन्। यसले कस्तो क्षमतालाई जनाउँछ? त्यस्ता मानिसहरूको कामकुरा स्विकार्ने सामर्थ्य औसत हुन्छ। कामकुरा स्विकार्ने औसत सामर्थ्य हुनुको अर्थ व्यक्तिको क्षमता औसत छ भन्‍ने हुन्छ। उदाहरणका लागि, सुसमाचार प्रचार गर्दा वा केही व्यावसायिक काम गर्दा, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले कुनै नयाँ विधि वा व्यावसायिक पद्धति प्रयोग र लागू गर्ने कामको नेतृत्व गर्छन्। तिनीहरूलाई तुरुन्तै यो व्यावसायिक पद्धति प्रयोग गर्नु अत्यन्तै राम्रो कुरा हो भन्‍ने लाग्छ, किनभने यसको प्रयोगले, आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको प्रभावकारिता निकै राम्रो हुन्छ र तिनीहरूको कार्यकुशलता पनि बढ्छ। त्यसपछि तिनीहरूले तुरुन्तै यो नयाँ पद्धति वा विधिलाई प्रवर्धन गर्छन्, र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई यो सिक्न र यसलाई लागू गर्न प्रोत्साहन गर्छन्। राम्रो क्षमता भएका मानिसहरू आफ्नो कर्तव्य पूरा गर्दा नयाँ पद्धति र विधिहरू खोज्न सिपालु हुन्छन्। निकै चाँडै, तिनीहरूले नयाँ कुरालाई स्पष्ट रूपमा जान्‍न र सटीक रूपमा मूल्याङ्कन गर्न, र यो अवसरको फाइदा उठाउन सक्छन्, र नयाँ पद्धति वा विधिलाई पूर्ण रूपमा स्वीकार गर्न, र यसलाई वास्तविक जीवनको काममा लागू गर्न सक्छन्। यो नयाँ कुराका सबल पक्ष र कमजोरीहरू के-के हुन् र यसले के-कस्ता परिणामहरू हासिल गर्न सक्छ भन्‍ने कुराको हकमा भन्दा, तिनीहरूले निरन्तर निष्कर्ष निकाल्न र त्यसपछि कामकुरा मिलाउन सक्छन्। केही समयसम्मको खोजीपछि, तिनीहरूले मण्डलीको काममा यो प्राविधिक पेसा वा जानकारीको टुक्राका कुन-कुन पक्षहरूलाई लागू गर्न सकिन्छ र कुन-कुनलाई लागू गर्न सकिँदैन भनेर क्रमिक रूपमा बुझ्छन्। पछि, तिनीहरूले परमेश्‍वरको घरका सिद्धान्त र मागहरू अनुसार आफ्नो काममा यो नयाँ कुरालाई क्रमिक रूपमा सुधार गर्छन्। तिनीहरूले यो नयाँ कुरालाई जति सुधार गर्छन्, यो त्यति नै राम्रो बन्छ, र यसले अन्तमा फल फलाउँछ। यो राम्रो क्षमताको प्रकटीकरण हो। तर, कतिपय मानिसहरू सुसमाचार प्रचार गर्दा अझै पनि मूल विधिमा दह्रिलो गरी टाँसिइरहन्छन्, या त एक जनाले एक जनालाई वा दुई जनाले एक जनालाई प्रचार गर्ने शैली अपनाउँछन्, वा सङ्ख्यामा मात्रै भर पर्छन्। तिनीहरू भावशून्य र मन्दबुद्धिका हुन्छन्, र तिनीहरूले उन्नत विधिलाई स्वीकार गर्न ढिलो गर्छन्। तिनीहरूले उन्नत विधि निकै राम्रो सुनिन्छ र यो व्यावहारिक छ भनेर मौखिक रूपमा स्वीकार गरे पनि, हृदयमा, तिनीहरूले निरन्तर शङ्का गर्छन्। यदि तिनीहरूलाई आफूले यो विधि लागू गरेमा, यसले खराब परिणामहरू दिनेछ भन्‍ने डर लाग्छ, त्यसकारण तिनीहरूले प्रयास गर्ने आँट गर्दैनन्। अरूले तिनीहरूलाई यसो भन्दै मनाउँछन्, “तिमीले त्यो सबका बारेमा चिन्ता गर्नु पर्दैन। हामीले यसलाई प्रयोग गरेर हेरिसकेका छौँ; त्यसरी अभ्यास गर्दा निकै राम्रा परिणामहरू प्राप्त हुन्छन्।” तर तिनीहरूले अझै पनि प्रयास गर्ने आँट गर्दैनन्, र मूल विधिलाई पक्रिराख्छन्। धेरै मानिसहरूले सुसमाचार प्रचार गर्न नयाँ विधि प्रयोग गर्दा, हरेक महिना थप मानिसहरू प्राप्त गर्दा र तिनीहरूको कार्यकुशलतामा वृद्धि हुँदा मात्रै, तिनीहरूले मन नलागी-नलागी एक पटक प्रयास गरेर हेर्ने निर्णय गर्छन्, तर तिनीहरूले अझै पनि स-साना कदमहरू मात्रै चाल्छन् र आफ्ना योजना र रणनीतिहरूलाई पूर्ण रूपमा परिवर्तन गर्ने आँट गर्दैनन्। यो नयाँ कुराहरूलाई स्वीकार गर्नमा निकै ढिलो हुनु हो; यो औसत क्षमताको हुनु हो। कमजोर क्षमता भएका मानिसहरूमा कामकुरा स्विकार्ने क्षमता अझै खराब हुन्छ। तिनीहरूले कुनै नयाँ कुरालाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्, त्यसलाई मूल्याङ्कन गर्न सक्दैनन्, र त्यसलाई व्यवहार गर्न जान्दैनन्। हृदयमा, तिनीहरू प्रतिरोधी हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले नयाँ कुराहरू स्वीकार गर्नु हुँदैन, र नयाँ जानकारी र प्रविधिहरूलाई स्वीकार गर्नु हुँदैन भन्‍ने सोच्छन्। हेर् त, तिनीहरू निकै कुण्ठित हुन्छन्। आजसम्म निश्‍चित सम्प्रदायका मानिसहरूले बिजुली प्रयोग गर्दैनन्, टेलिभिजन हेर्दैनन्, र कम्प्युटर वा अरू कुनै पनि इलेक्ट्रोनिक सामानहरू प्रयोग गर्दैनन्। जब तिनीहरू बाहिर जान्छन्, तब तिनीहरूले आधुनिक यातायात प्रयोग गर्दैनन्; तिनीहरूले साइकल समेत चलाउँदैनन्। तिनीहरू के चढ्छन्? तिनीहरू गोरु र घोडाले तान्‍ने गाडाहरू चढ्छन्, र यताउता जाँदै गर्दा धुलोको मुस्लो उडाउँछन्। कतिपय मानिसहरूले सोध्छन्, “तिमी किन साइकल चलाउँदैनौ वा कार चढ्दैनौ?” तिनीहरूले भन्छन्, “यी कुराहरू मानिसले बनाएका कुराहरू हुन्। हामीले ती कुराहरू प्रयोग गर्‍यौँ भने परमेश्‍वरलाई मन पर्दैन भन्‍ने हामीलाई डर लाग्छ।” यो कामकुरा स्विकार्ने कमजोर सामर्थ्य हुनु हो। कामकुरा स्विकार्ने कमजोर सामर्थ्य भएका मानिसहरूले धेरै कुरालाई गलत तरिकाले हेर्छन्। तिनीहरू आफ्नो पुरानो तौरतरिकामा अल्झिएका हुन्छन्, आफ्नै दृष्टिकोणलाई पक्रिरहन्छन्, सबै नयाँ कुराप्रति प्रतिरोधी बन्छन्। तिनीहरू प्रतिरोधी हुनु आफैमा तिनीहरूको सोचाइ र मनको समस्या हो। त्यस्तो समस्या हुनुले के कुरालाई जनाउँछ? कम्तीमा पनि, यसले त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै औसत छ भन्‍ने देखाउँछ। यदि तिनीहरूले निरन्तर नयाँ कुराहरू स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरू कठोर मनका हुन्छन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, परमेश्‍वरको काम अपरिवर्तनीय छ, र परमेश्‍वरले जे-जस्ता वचनहरू बोल्नुभएको भए पनि, परमेश्‍वरले सधैँ ती नै वचनहरू बोल्नुहुनेछ, र परमेश्‍वरले जे-जस्ता काम गर्नुभएको भए पनि, परमेश्‍वरले सधैँ त्यही काम मात्रै गर्नुहुनेछ। यो मानवजाति र यो युगको हकमा भन्दा, तिनीहरू आफूले सुरुमा देखेको र अनुभव गरेको कुरा सधैँ अपरिवर्तित नै रहनेछ र सधैँ त्यस्तै रहनेछ भन्‍ने विश्‍वास गर्छन्। उदाहरणका लागि, २०-३० वर्ष पहिले, मानिसहरूले लुगासम्बन्धी आफ्नो बुझाइका बारेमा निश्‍चित धारणा राख्थे। तिनीहरूले के विश्‍वास गर्थे भने, कपासका सामग्रीहरू पूर्ण रूपमा प्राकृतिक हुन्छन् र सबै प्रकारका कपासका वस्त्रहरू राम्रा हुन्छन्; चाहे त्यो भित्री रुवा भएको ज्याकेट होस्, टि-शर्ट होस्, वा भित्री लुगा होस्, यदि त्यो कपासबाट बनेको हो भने, यो सिन्थेटिक फाइबरभन्दा राम्रो हुन्छ। तिनीहरूले यो विश्‍वासलाई दह्रिलो गरी पक्रिरहे। तर, २०-३० वर्षपछि, कपडा उद्योग विकास भएको छ, र कपास जस्ता धेरै कपडाहरू, साथै विभिन्‍न सिन्थेटिक फाइबरका लुगाहरू देखा परेका छन्। कपासका कपडाहरूभन्दा राम्रा धेरै कपडाहरू छन्; ती हावा राम्ररी छिर्ने, तापलाई छिटो भगाउने, आर्द्रता छिटो सोस्ने किसिमका हुन्छन्, र तिनलाई जसरी धोए पनि ती बाङ्गिने, खुम्चिने, वा रङ जाने हुँदैनन्। यसको साथै, तिनलाई लगाउन निकै सहज र हल्का हुन्छ, र तिनले छालामा कुनै हानि गर्दैनन्। तर कतिपय मानिसहरूले अझै पनि सिन्थेटिक फाइबरलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले अझै पनि कपासको लुगा मात्रै राम्रो हुन्छ किनभने कपास माटोमा उब्जाइन्छ, यो परमेश्‍वरद्वारा सृजित हुन्छ, र प्राकृतिक हुन्छ, जबकि कृत्रिम फाइबरहरू मानव-निर्मित हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले कपास परमेश्‍वरद्वारा तयार गरिएको भए पनि र यो सबैभन्दा राम्रो भए पनि, भूमि प्रदूषित भएको छ, र कपासलाई आक्रमण गर्ने कपास कीराहरू हरेक पुस्तासँगै दह्रिलो हुँदै गएका छन् भन्‍ने कुरा बुझ्न सक्दैनन्। साधारण कीटनाशकहरूले समस्या समाधान गर्न सक्दैनन्। अन्ततः, कपास विशेष कीटाणुशोधनको प्रक्रियाबाट गुज्रनुपर्छ ताकि यसलाई लगाउँदा जिउ नचिलाओस्। राम्रो तरिकाले प्रशोधन गरियो भने, लुगाको मूल्य बढी हुन्छ, जसले गर्दा अत्यन्तै महँगो बिक्री मूल्य तोक्नुपर्छ। यदि राम्ररी प्रशोधन गरिएन भने, यो सिन्थेटिक फाइबरको लुगा लगाउनु जत्तिको राम्रो हुँदैन। हेर् त, आजभोलि सिन्थेटिक फाइबरको लुगाको गुणस्तर निकै राम्रो हुन्छ; धेरै व्यावसायिक खेलाडीहरूले यो लगाउँछन्, र प्रतिक्रियाहरू सबै निकै सकारात्मक छन्। तर कतिपय मानिसहरूले यो सुनेपछि पनि यसलाई स्वीकार गर्दैनन् र कपासका वस्त्रहरू अझै राम्रा हुन्छन् भन्‍ने कुरामा विश्‍वस्त रहन्छन्। के त्यस्ता मानिसहरू अज्ञानी र जिद्दी हुँदैनन् र? (हुन्छन्।) यो अज्ञानता र जिद्दीपन तिनीहरूको मानवताको समस्या हो। त्यसोभए, तिनीहरूको क्षमता कस्तो हुन्छ? (तिनीहरूको क्षमता राम्रो हुँदैन।) जब कुनै नयाँ कुरा कसैको अघि देखा पर्छ, तब त्यो सही छ कि गलत छ भनेर मूल्याङ्कन गर्ने उसको मनोवृत्ति—यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्ने उसको मनोवृत्ति—उसको क्षमतामा निर्भर हुन्छ। यदि धेरैजसो मानिसहरूलाई नयाँ कुरा सही छ भन्‍ने लाग्छ, र कुनै व्यक्तिले भीडलाई पछ्याउँछ र निष्क्रिय रूपमा त्यसलाई स्वीकार गर्छ भने, त्यस्तो व्यक्ति धेरैमा औसत क्षमताको हुन्छ। यदि उसले आफूले पहिले दृढ रूपमा विश्‍वास गरेका पुराना कुराहरूसँगको तुलनामा नयाँ कुरा सही छ कि गलत छ, यो मानिसहरूका लागि फाइदाजनक छ कि छैन, र यसका सबल पक्ष र कमजोरीहरू के-के हुन् भन्‍ने कुरालाई खुट्ट्याउन सक्दैन, नयाँ र पुराना कुराहरूका बीचमा भिन्‍नताहरू खुट्ट्याउन वा छुट्याउन सक्दैन भने—यदि उसले यीमध्ये कुनै कुराको मूल्याङ्कन गर्न सक्दैन भने, यसले ऊसँग नयाँ कुराहरू स्वीकार गर्ने कुनै सामर्थ्य छैन भन्‍ने कुरा प्रमाणित गर्छ; अर्थात्, ऊसँग कुनै बोध सामर्थ्य हुँदैन। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्। सुरुमा, जब कुनै नयाँ कुरा देखा पर्छ, तब तिनीहरूमा निश्‍चित स्तरको अन्तर्बोधको कमी हुन्छ। जब तिनीहरूले यस कुराका बारेमा सुन्छन्, तब तिनीहरूसँग त्यो स्वीकार गर्ने सामर्थ्य हुँदै हुँदैन। अन्त्यमा, तिनीहरूले मन नलागीनलागी नयाँ कुरालाई स्वीकार गरे पनि, अरूको सहयोग र मनाइका साथ मात्रै त्यसो गर्छन्, र अरूले नयाँ कुराका फाइदा र सबल पक्षहरूलाई पुरानो कुरासँग तुलना गरेर यी मानिसहरूले यसलाई स्वीकार गर्नुभन्दा पहिले नयाँ कुरा र पुरानो कुराका बीचमा स्पष्ट भिन्‍नताहरू छन् र नयाँ कुरा पुरानो कुराभन्दा स्पष्ट रूपमा श्रेष्ठ छ भन्‍ने कुरा आफ्नै आँखाले देख्‍न दिनुपर्ने समेत हुन्छ। तर, यी मानिसहरूले अझै पनि हृदयमा अरू धेरै नयाँ कुराहरूमा के राम्रो छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्दैनन् र अझै पनि पुराना कुराहरू असल छन् र ती कुरालाई पक्रिराख्‍नुपर्छ भन्‍ने महसुस गर्छन्। तिनीहरूसँग कुनै विकल्प नभएका परिस्थितिहरूमा मात्रै तिनीहरूले मन नलागी-नलागी र निष्क्रिय रूपमा नयाँ कुराहरू स्वीकार गर्छन्। यी मानिसहरू कमजोर क्षमताका हुन्छन्। औसत क्षमता भएको व्यक्ति भनेको केही सुझावहरू पाएपछि तुरुन्तै कुरा बुझ्‍ने, र विकृत र पुरानो तरिकाले आफूले कामकुराहरूलाई हेरिरहेको छु भनेर बुझ्ने व्यक्ति हो। यो औसत क्षमता हुनु हो। अर्कोतर्फ, कमजोर क्षमता भएको व्यक्तिलाई बारम्बार सुझाव दिनुपर्छ र सम्झाउनुपर्छ, र सबैले उसलाई सामूहिक रूपमा मनाउनुपर्छ—यसका साथै, यस नयाँ कुरालाई व्यापक रूपमा अपनाइएपछि यसले कसरी मानिसहरूलाई फाइदा गर्छ भनेर देखाउने केही तथ्य र ठोस उदाहरणहरू समेत दिनुपर्छ—अनि मात्रै तिनीहरूले मन नलागी-नलागी यसलाई स्वीकार र प्रयोग गर्छन्। तर, भित्रभित्रै, तिनीहरूले अझै पनि पुरानो कुरालाई नै छनौट गर्छन्। यो अत्यन्तै कमजोर क्षमता भएको व्यक्ति हो। कमजोर क्षमता हुनुको अर्थ तिनीहरूले नयाँ कुराहरूको देखापराइले मानिसहरूमा पार्ने सकारात्मक प्रभावहरूलाई निरन्तर पहिचान गर्न सक्दैनन्, र नयाँ र पुरानो कुराहरूका बीचमा भिन्‍नताहरू पत्ता लगाउन सक्दैनन्, र नयाँ कुराहरूका फाइदा र प्रगतिहरू र पुराना कुराहरूका कमजोरी र पछौटेपनलाई निरन्तर पत्ता लगाउन वा उजागर गर्न सक्दैनन्, साथै तिनीहरूले सधैँ आफ्ना पुराना विचार र दृष्टिकोणहरूलाई पक्रिराख्छन् भन्‍ने हुन्छ; त्यसकारण, कामकुरा स्विकार्ने तिनीहरूको सामर्थ्य अत्यन्तै कमजोर हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्य कमजोर भएका मानिसहरू कमजोर क्षमता भएका हुन्छन्। कमजोर क्षमता भएका मानिसहरूलाई तैँले जसरी कुराहरू बुझाए पनि तिनीहरूले समस्याहरूको सार वा जडलाई छर्लङ्ग देख्‍न सक्दैनन्। सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूको त्यो भागसँग कामकुरा स्विकार्ने कुनै सामर्थ्यसमेत हुँदैन—नयाँ कुराहरूको सामना गर्दा, यो कुरा तिनीहरू ती कुराहरू सिक्न र स्वीकार गर्न व्यक्तिपरक रूपमा इच्छुक हुन्छन् कि हुँदैनन् भन्‍ने कुरासँग सम्बन्धित हुँदैन; बरु, समस्या के हो भने, तिनीहरूमा ती कुराहरूप्रति कुनै पनि सुझबुझको कमी हुन्छ। चाहे वास्तविक जीवनमा होस् वा कर्तव्य पूरा गर्दा होस्, जुनसुकै नयाँ कुराहरू देखा परे पनि, जुनसुकै कुरामा प्रगति भए पनि, वा जुनसुकै कुरा सुधार भए पनि, तिनीहरूसँग कुनै सुझबुझ र सचेतना हुँदैन। के यी कुराहरूप्रति तिनीहरूको अज्ञानताको कारण समाचार वा अखबार नपढ्नु हो? अहँ, त्यसको कारण के मात्र हो भने, तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्यको कमी हुन्छ। यो त यस्तो हुन्छ मानौँ तिनीहरूमा कुनै ग्रहण गर्ने सामर्थ्य नै छैन। कुनै पनि नयाँ कुरा देखा पर्नुको हकमा, तिनीहरू भावशून्य, मन्दबुद्धिका हुन्छन्, र तिनीहरूमा सुझबुझको कमी हुन्छ। तिनीहरू व्यस्त सहरमा बसे पनि, तिनीहरू दुर्गम पहाडी गाउँमा बसिरहे जस्तै प्रतीत हुन्छ। मानव जीवनमा घटिरहेका कुनै पनि ठूला वा साना घटनाहरूबारे तिनीहरूलाई पटक्‍कै थाहा हुँदैन। त्यसकारण, तिनीहरूको जीवनको दायराभित्र, तिनीहरूको गाँस, बास, कपास र यातायातमा असर गर्न सक्‍ने कुनै पनि नयाँ कुराहरू हुँदैनन्। तिनीहरू पशुहरू जस्तै हुन्छन्। तिनीहरूको सोचाइको दायराभित्रका कुराहरू तिनीहरूको जीवनको क्षेत्रभित्र रहेका थोरै कुराहरू, तिनीहरूले संसारका विभिन्‍न कुराहरूलाई हेर्न सिक्‍ने उमेरदेखि जानेका कुराहरूमा मात्रै सीमित हुन्छन्। त्यस बाहेक, बाहिरी संसारका कुनै पनि कुराले तिनीहरूमा कुनै प्रभाव पार्दैन, र तिनीहरूलाई त्यसमा कुनै चासो हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? के तिनीहरू मानसिक रूपमा कमजोर हुन्छन्? (हो।) अवश्य नै, हामीले यहाँ कुरा गरिरहेका कुराहरू दैनिक जीवनका अत्यन्तै झिना र सानातिना पक्षहरू हुन्; हामीले राष्ट्रिय मामलाहरू वा प्रमुख विश्‍वव्यापी समाचारहरूलाई जनाइरहेका छैनौँ। अत्यन्तै सानो नयाँ कुरा देखा पर्दा पनि तिनीहरूलाई त्यसबारे थाहा हुँदैन, र तिनीहरूले कुनै पनि हदसम्म त्यसलाई स्वीकार गर्दैनन्। यो “स्वीकार” ले नयाँ कुराको देखापराइले तिनीहरूको विचार र दृष्टिकोण कसरी परिवर्तन गर्छ, तिनीहरूको जीवनमा केही सुधारहरू कसरी ल्याउँछ—जसमा जीवनशैली, आधारभूत जीवन ज्ञान, इत्यादि कुराहरू समावेश हुन्छन्—र यसले जीवनमा समस्याहरू सम्हाल्ने तिनीहरूको सामर्थ्यमा केही सुधार र प्रगति ल्याउँछ भन्ने कुरालाई जनाउँछ। कामकुरा स्विकार्ने सामर्थ्य नभएका मानिसहरूले सधैँ आफ्नो दिनचर्या र मूल जीवनशैलीलाई कायम राख्छन्। उदाहरणका लागि, विगतका मानिसहरूले प्रायजसो के भन्थे भने, पालुङ्गोसँग पकाएको टोफू राम्रो हुन्छ, यसले आइरन र क्याल्सियम दुवै प्रदान गर्छ, र कोही व्यक्ति त्यसलाई त्यसरी खाएर हुर्केको हुन्छ। पछि, कतिपय मानिसहरूले के बताए भने, खाद्य अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार, पालुङ्गोमा ओक्सालिक एसिड हुन्छ, र लामो समयसम्म त्यसलाई टोफूसँग खाँदा सजिलै शरीरमा पत्थर पैदा हुन सक्छ। यो सुनेपछि, यो व्यक्तिले सोच्छ, “ओक्सालिक एसिड भनेको के हो? पालुङ्गोमा ओक्सालिक एसिड कसले कहिल्यै देखेको छ? मैले यो धेरै वर्षदेखि खाइरहेको छु तैपनि केही भएको छैन। म यो खाइरहनेछु!” तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। यो त्यस्तो व्यक्ति हो जसले नयाँ कुराहरू वा नयाँ दृष्टिकोणहरूलाई अलिकति पनि स्वीकार गर्दैन। यसको विपरीत, कामकुरा स्विकार्ने सामर्थ्य भएका मानिसहरूले पालुङ्गोमा ओक्सालिक एसिड हुन्छ भनेर पुष्टि गरेपछि, ओक्सालिक एसिडलाई कसरी हटाउने भन्नेबारे विचार गर्नेछन्, र यसबारे थप सोधखोज गरेपछि, तिनीहरूले पालुङ्गो सागलाई पानीमा उमाल्दा ओक्सालिक एसिड हट्छ भन्‍ने कुरा पत्ता लगाउँछन्। कामकुरा स्विकार्ने सामर्थ्य भएका मानिसहरूले नयाँ जानकारी सुनेपछि, सोधपुछद्वारा जानकारीको सत्यता र यो मानिसहरूका लागि फाइदाजनक छ कि छैन भन्‍ने कुरा खुट्ट्याउनेछन्, अनि त्यसपछि तिनीहरूले यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्नेछन्। तिनीहरूले प्रश्‍नहरू गर्नेछन्, सम्बन्धित विवरणहरूका बारेमा जान्नेछन्, अनि त्यसपछि यो जानकारीलाई वास्तविक जीवनमा लागू गर्नेछन्, र सम्बन्धित नयाँ कुराले मानिसहरूलाई ल्याउने असुविधा वा हानिहरूबाट जोगिनेछन्। अर्कोतर्फ, कामकुरा स्विकार्ने सामर्थ्य पटक्‍कै नभएका ती भ्रमित मानिसहरूले जुनसुकै नयाँ जानकारी सुने पनि, त्यसबारे वास्ता गर्दैनन् वा सोधपुछ गर्दैनन् बरु त्यसलाई सिधै इन्कार गर्छन्, र पुराना र अप्रचलित कुराहरूलाई मात्रै पक्रिराख्छन्। यो अन्ततः तिनीहरूको क्षमताको समस्यासँग नै सम्बन्धित हुन्छ। नयाँ कुराहरूका हकमा, तिनीहरूलाई ती कुराहरूलाई कसरी लिने वा तिनीहरूले कुन-कुन सिद्धान्तहरू बुझ्नुपर्छ भन्‍ने थाहा हुँदैन, न त तिनीहरूले नयाँ कुराहरूलाई इन्कार गर्दा यसले तिनीहरूको जीवन वा काममा के-कस्ता परिणामहरू ल्याउन सक्छ भन्‍ने कुराका बारेमा नै विचार गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले नयाँ कुरा र नयाँ जानकारीप्रति सधैँ शङ्कालु मनोवृत्ति राख्छन्, र तिनलाई स्वीकार गर्ने आँट गर्दैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्।

कमजोर क्षमता भएका मानिसहरूले जीवनमा आफूले सामना गर्ने समस्याहरू जति नै धेरै उत्पन्न भए पनि तिनलाई स्वतन्त्र रूपमा समाधान गर्न सक्दैनन्। त्यस्ता व्यक्तिहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। कुरा जेसुकै भए पनि, तिनीहरूले त्यो बेला आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका काम गर्ने तरिकाहरू नै कायम राख्छन्; तिनीहरूले केही पनि परिवर्तन गर्दैनन् र अन्त्यसम्मै यसलाई कडाइका साथ पालना गर्छन्। यदि तैँले तिनीहरूलाई त्यस्ता कुराहरू गर्नु गलत हो भनेर आलोचना गरिस् भने, तिनीहरूले कुरा सुन्दैनन् र तिनीहरू जिद्दी बनेर तँसँग तर्क समेत गर्छन्: “हाम्रा पुर्खाहरूबाट यो कुरा यसरी नै हस्तान्तरण गरिएको छ। मेरो हजुरबुबाको पुस्ता र मेरा आमाबुबाको पुस्ता सबैले यसरी नै काम गरेका थिए, र यो कुरा यसरी नै हस्तान्तरण गरिएको छ!” के हस्तान्तरण गरिएका कुराहरू सही नै हुन्छन् भन्‍ने हुन्छ? तिनीहरूले यो प्रश्‍नबारे विचार गर्दैनन्, जसले तिनीहरूको क्षमता कमजोर छ भन्‍ने प्रमाणित गर्छ। यदि तिनीहरूमा सामान्य व्यक्तिको क्षमता हुन्थ्यो भने, तिनीहरूले यो प्रश्‍नका बारेमा विचार गर्ने थिए। नयाँ कुराहरूका बारेमा जानकारी सुन्दा, तिनीहरूले निश्चित हदसम्‍म स्वीकारोक्ति देखाउने थिए। यदि तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दैनन् भने, यसको अर्थ तिनीहरूमा अलिकति पनि स्वीकारोक्ति छैन भन्‍ने हुन्छ। त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। तिनीहरू जति नै उमेरसम्‍म बाँचे पनि, तिनीहरूले सधैँ यसो भन्छन्, “मेरो बुबाको पालामा, यस्तै हुन्थ्यो। मेरो हजुरबुबा र जिजुबुबाको समयमा, यस्तै हुन्थ्यो। त्यसकारण, मेरो पुस्तामा पनि यो कुरा यस्तै हुनुपर्छ।” यी मानिसहरू स्पष्ट रूपमा नै जीवाश्महरू हुन्। तिनीहरू मकेका काठका मुढाहरू जस्तै हुन्छन्—परम्परावादी हुन्छन्! तिनीहरूसँग कुनै नयाँ कुरा स्वीकार गर्ने सामर्थ्य नै हुँदैन, जसले तिनीहरू अत्यन्तै कमजोर क्षमताका हुन्छन् भन्‍ने देखाउँछ। तैँले नयाँ कुराहरूका उन्नतिका बारेमा जसरी व्याख्या गरे पनि, तिनीहरू ती कुराहरू स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। झट्ट हेर्दा, तिनीहरूले आफ्नो गाँस, बास, कपास र यातायात आफै सम्हाले जस्तो देखिन्छ, तर तिनीहरूले प्रयोग गर्ने तरिका र विधिहरू कमसल हुन्छन्। तिनीहरूले आफ्नो जीवनशैलीलाई समय वा मानवजातिले प्राप्त गरेको सामान्य समझ र ज्ञानका विभिन्‍न क्षेत्रहरूको वृद्धिसँग मिलाउँदैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरू भोकले नमर्ने, नकठ्याङ्ग्रिने भए पनि, र तिनीहरूलाई कुनै ठूलो रोग नलागेको भए पनि, अस्तित्व र तिनीहरूको जीवनशैलीबारेको तिनीहरूको दृष्टिकोणबाट मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू भ्रमित तरिकाले मात्रै जिउँछन्, र तिनीहरूलाई मानसिक रूपमा अशक्त, बेवकुफ, वा मूर्खका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। कतिपय मानिसहरूलाई मानसिक रूपमा अशक्त वा बेवकुफ भनिँदा तिनीहरूलाई असहज लाग्छ, तर तिनीहरूलाई असहज महसुस भए पनि, यो कुरा साँचो हो। तिनीहरूको क्षमता साँच्‍चै नै त्यति कमजोर हुन्छ। म तँलाई सहज बनाउने कुनै कुरा साँच्‍चै नै भन्‍न चाहन्छु, तर तँसँग त्यसका लागि क्षमता नै छैन। तँमा हरेक पक्षमा सामर्थ्यको कमी छ र तँसँग कुनै पनि मामलाप्रतिको सामान्य मानवताको सोचाइ अनुरूपका सही र सटीक विचार वा दृष्टिकोणहरू छैनन्। के यो क्षमताको कमी हुनु होइन र? तँलाई काम नलाग्ने व्यक्ति नभन्‍नु आफैमा दयालु कार्य हो। कुनै क्षमता नभएको यस्तो व्यक्ति मानसिक रूपमा अशक्त हुने अवस्थाबाट एक कदम मात्रै टाढा हुन्छ। मानसिक रूपमा अशक्त व्यक्तिहरूमा आफ्नो हेरचाह गर्ने सामर्थ्यसमेत हुँदैन, र तिनीहरू पूर्ण रूपमा अरूको सहयोगमा भर पर्छन्। खाना खाने बेला, तिनीहरूका आमाबुबाले अझै पनि तिनीहरूलाई एक-एक गाँस खुवाउनुपर्छ, र तिनीहरू आफैलाई समेत अघाएको छु कि छैन भन्‍ने थाहा हुँदैन। कमजोर क्षमता भएका मानिसहरू मानसिक रूपमा कमजोर हुन्छन्; तिनीहरू मूर्ख हुन्छन्, र तिनीहरू मानसिक रूपमा अशक्त हुने अवस्थाबाट एक कदम मात्रै टाढा हुन्छन्। तिनीहरूको क्षमता यति कमजोर हुन्छ। मलाई भन्, के त्यस्ता मानिसहरू दयनीय हुँदैनन् र? के तिनीहरू निकै रिसउठ्दा हुँदैनन् र? कमजोर क्षमता भएका मानिसहरूमा कुनै सिक्ने सामर्थ्य हुँदैन, कुनै कामकुरा बुझ्ने सामर्थ्य हुँदैन, र कुनै बोध सामर्थ्य हुँदैन; तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्य हुनु त परको कुरा हो—तिनीहरूमा कुनै पनि पक्षमा कुनै सामर्थ्य हुँदैन। तैँले तिनीहरूलाई कामकुराहरूबारे जसरी व्याख्या गरिदिए पनि वा उदाहरणहरू दिए पनि, तिनीहरूले अझै पनि त्यो कुरा मगजमा छिराउन वा भनिएको कुरा बुझ्न सक्दैनन्। के यो मानसिक अशक्तता होइन र? तैँले जसरी व्याख्या गरे पनि, तिनीहरूले बुझ्न सक्दैनन्। तैँले अत्यन्तै स्पष्ट रूपमा बोले पनि र राम्ररी व्याख्या गरे पनि, तिनीहरूले अझै पनि कुरा बुझ्दैनन्, र तिनीहरूलाई तैँले भनेको कुरा अत्यन्तै अप्ठ्यारो समेत लाग्छ। तिनीहरूमा सामान्य मानवताको सोचाइको कमी हुन्छ र तिनीहरूले तँलाई खण्डन गर्नका लागि केही भ्रमहरू समेत सिर्जना गर्छन्। त्यस्ता मानिसहरूसँग तर्क गर्ने कुनै उपाय हुँदैन; तिनीहरूलाई तीन वटा शब्द मात्रै भन्: “तिमीमा समझै छैन!” तिनीहरूको क्षमता यति कमजोर हुन्छ। के तँलाई तिनीहरूको चिन्ता र तिनीहरूदेखि रिस उठ्दैन र? तैँले त्यस्ता मानिसहरूलाई जे भने पनि, त्यो व्यर्थ हुन्छ। तैँले तिनीहरूलाई जसरी अन्तर्दृष्टि दिने प्रयास गरे पनि, तिनीहरूले बुझ्दैनन्। सानो कुराको हकमा समेत, तिनीहरूलाई अन्तर्दृष्टि दिन दिनभरि लाग्छ, र यदि तैँले अलिक गहन तरिकाले बोलिस् भने, तिनीहरूले बुझ्नेछैनन्; तैँले सबैभन्दा सतही शब्दहरू प्रयोग गरिस् र धेरै कुरा भनिस् भने मात्रै तिनीहरूले बुझ्‍न सक्छन्। तिनीहरूले एउटा कुरा बुझेपछि पनि, जब यस्तै समस्या पैदा हुन्छ, तब पनि तिनीहरूले कुरा बुझ्दैनन्। के यो मानसिक अशक्तता होइन र? तर, यस्तो मानसिक रूपमा अशक्त व्यक्तिले आफूलाई मूर्ख ठान्दैन। उसले भन्छ, “म मूर्ख छु भनेर नसोच। यदि तिमीले मलाई दश युआन वा दश अमेरिकी डलर दिने प्रस्ताव गर्‍यौ भने, म कुन रोज्छु हेर—म अवश्य नै अमेरिकी डलर लिनेछु किनभने ती बढी बहुमूल्य छन् भन्‍ने मलाई थाहा छ।” अरूले भन्छन्, “तिमी अझै पनि मूर्ख छौ।” अरूले किन त्यस्ता मानिसहरूलाई मूर्ख भन्छन्? किनभने साधारण व्यक्तिले आफू मूर्ख छैन भन्‍ने कुरालाई प्रमाणित गर्न यस्तो उदाहरण प्रयोग गर्दैन, न त उसले यो कुरा प्रदर्शन गर्न यस्तो निम्न विधि नै प्रयोग गर्छ। त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुने भएकाले, कुनै पनि मानिस, घटना, वा कामकुराहरूलाई मूल्याङ्कन गर्ने कुनै मानक नहुने भएकाले, र तिनलाई कसरी मूल्याङ्कन गर्ने भन्‍ने थाहा नभएकाले नै, तिनीहरूले आफूलाई कहिल्यै पनि मूर्ख ठान्दैनन्। साँचो रूपमा चलाख मानिसहरूले तीनदेखि पाँच वर्षसम्म मानिसहरूको एउटा समूहमा निरन्तर लागिपरेपछि र सङ्घर्ष गरेपछि, कुनै पनि समूहमा तिनीहरूभन्दा असल, तिनीहरूलाई जित्ने मानिसहरू हुन्छन् भन्‍ने कुरा बुझ्नेछन्। तिनीहरूलाई सधैँ तिनीहरूको आफ्नै क्षमता पर्याप्त रूपमा राम्रो छैन, तिनीहरूको सामर्थ्य र बुद्धिमत्ता पर्याप्त रूपमा राम्रो छैन भन्‍ने लाग्छ। तिनीहरू सधैँ आफ्ना अपर्याप्तताहरू पत्ता लगाउन, अरूको तुलनामा तिनीहरूमा कुन कुराको कमी छ भनेर पहिचान गर्न, र आफ्नै समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्; तिनीहरूले सधैँ अरूका सबल पक्षहरू देख्‍न सक्छन्। यस्तो व्यक्ति चलाख हुन्छ र उसमा क्षमता हुन्छ। यसबीच, क्षमताविनाका मानिसहरूले मानिसहरूको एउटा समूहमा जिउँदा सधैँ अरू आफूभन्दा निम्न स्तरका छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले कतिपय मानिसहरूले निश्‍चित शब्दहरू लेख्‍न वा टाइप गर्न समेत सक्दैनन् भन्‍ने देख्छन्, र तिनीहरूले उनीहरूलाई कमजोर क्षमता भएका मानिसहरू भनेर तिरस्कार गर्छन्। तिनीहरूले आफ्नो क्षमता राम्रो छ भनेर पुष्टि गर्न आफूले गर्न सक्‍ने यी नगण्य र सानातिना कुराहरू प्रयोग गर्छन्। आफ्नो सरसफाइका बारेमा त्यति स्पष्ट रूपमा नसोच्‍ने वा राम्ररी लुगा लगाउन नजान्ने मानिसहरूलाई देखेर, उनीहरूको क्षमता कमजोर छ भनेर भन्‍ने मानिसहरू पनि हुन्छन्। तिनीहरू आफै अलिक सफा हुन्छन्, तिनीहरूले परिष्कृत भएको ढोँग गर्न सक्छन्, वा तिनीहरूसँग केही ज्ञान र सबल पक्षहरू हुन्छन्, त्यसकारण तिनीहरूले आफ्नो क्षमतालाई राम्रो ठान्छन्। त्यस्ता मानिसहरू चलाख हुन्छन् कि मूर्ख? तिनीहरू मूर्ख हुन्छन्। चलाख मानिसहरू कसरी बोल्छन्, याद गर त: “मैले किन फेरि कामकुरा बिगारेँ? म त मूर्ख पो रहेछु!” जो अक्सर आफू मूर्ख भएको र आफूमा अपर्याप्तताहरू भएको भनेर भन्छन् तिनीहरू साँच्‍चै नै चलाख हुन्छन्। आफू मूर्ख भएको भनी कहिल्यै स्वीकार नगर्ने र सधैँ, “के तिमी मलाई मूर्ख ठान्छौ? पैसा मागेर हेर त, दिन्छु कि दिँदिन रहेछु!” भनेर भन्‍ने मानिसहरू साँच्‍चै नै मूर्ख हुन्छन्। बोलचालको भाषामा भन्दा, मूर्खता भनेको “अक्कल नभएको मान्छे” हो। तिनीहरूले यस्ता मूर्ख कुराहरू बोल्न सक्नु नै मूर्खता होइन र? के त्यो “अक्कल नभएको मान्छे” हुनु होइन र? (हो।) जब तिनीहरूले केही कमीकमजोरी वा त्रुटि भएको, वा आफूले गर्ने काममा गल्ती गर्ने व्यक्तिलाई देख्छन्, तब तिनीहरू उसको पिठ्यूँपछाडि हाँस्छन्, र भन्छन्, “ऊ कसरी यति मूर्ख हुन सक्यो?” जब तिनीहरूले फाइदा लिन चालबाजी र धूर्त युक्तिहरूले भरिएको व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई चलाख र राम्रो क्षमता भएको व्यक्ति ठान्छन्। साँचो रूपमा चलाख मानिसहरूले व्यक्तिको क्षमताको गुणस्तर र ऊ चलाख छ कि मूर्ख छ भन्‍ने कुरालाई उसका विभिन्‍न सामर्थ्यका आधारमा मूल्याङ्कन गर्छन्। तर मूर्ख मानिसहरूले कसले चालबाजी गरिरहेको छ, कसले फाइदा लिन्छ र को सधैँ घाटाबाट जोगिन्छ, र चलाकीद्वारा आफ्नो हित गर्न सिपालु छ भन्‍ने कुरालाई मात्रै हेर्छन्, र त्यस्ता सबै मानिसहरू चलाख हुन्छन् र तिनीहरूमा राम्रो क्षमता हुन्छ भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, यस्ता मानिसहरू सबै मूर्ख हुन्छन्। व्यक्तिले कत्तिको चालबाजी गरिरहेको छ भन्‍ने आधारमा उसको क्षमताको गुणस्तर मूल्याङ्कन गर्ने यस्ता मानिसहरू आफै पनि मूर्ख हुन्छन्। यसभन्दा पहिले, हामीले सबैभन्दा मूर्ख प्रकटीकरणहरूमध्ये एउटा उल्लेख गरेका थियौँ: तिनीहरूले भन्छन्, “यदि तिमीले मलाई दश अमेरिकी डलर वा दश युआन दिने प्रस्ताव गर्‍यौ भने, मैले कुन रोज्छु, हेर। म अवश्य नै चिनियाँ पैसा छनौट गर्दिनँ—अमेरिकी डलर बढी बहुमूल्य छ भन्‍ने मलाई थाहा छैन भन्‍ने नसोच! यदि तिमीले मलाई मासु वा टोफू दिने प्रस्ताव गर्‍यौ भने, म कुन खान्छु, हेर। के तिमीलाई म मासु नभई टोफू खाने मूर्ख हुँ भन्‍ने लाग्छ? मासु नै मीठो हुन्छ भन्‍ने मलाई थाहा छ!” वास्तवमा त्यस्ता मानिसहरू मूर्ख हुन्छन्। यदि तँ साँच्चै अरूले तेरो मूर्खता देखून् भन्‍ने चाहँदैनस् भने, तैँले त्यस्ता उदाहरणहरू पटक्‍कै प्रयोग गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) के मूर्ख मानिसहरूले प्रायजसो यो गल्ती गर्छन्? (गर्छन्।) तिनीहरूले यस्तो समेत सोच्छन्, “हेर त, म उदाहरणहरू दिन कति सिपालु छु! म कति चलाख छु, देख्यौ त? के तिमीलाई म मूर्ख जस्तो लाग्छ? तिमी पो मूर्ख हौ!” सबैभन्दा मूर्ख व्यक्तिले निरन्तर मूर्खता देखाउँछ। यो सामर्थ्य: कामकुरा स्विकार्ने सामर्थ्यबारेको सङ्गति यहीँ समाप्त हुन्छ।