सत्यता कसरी पछ्याउने (५) भाग तीन
दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने
दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने—यो कस्तो प्रकारको समस्याअन्तर्गत पर्छ? (मानवताको एउटा अवगुण।) यो व्यक्तिको मानवताको एउटा अवगुण हो। कतिपय मानिस, कुनै काम सुरु गर्दा, त्यसको योजना निकै राम्ररी बनाउँछन्, केही ठूला कदम चाल्छन्, मानिसहरूको समूह जम्मा गर्छन्, प्रतिवेदनहरू तयार पार्छन्, कामहरू तोक्छन्, र सङ्कल्पका ठूला-ठूला अभिव्यक्तिहरू समेत दिन्छन्, तर तिनीहरूले काम गर्दै जाँदा, यी सबै कुरा हराएर जान्छन्, र तिनीहरूले के भइरहेको छ भनी अनुगमन, सुपरिवेक्षण, वा निरीक्षण गर्दैनन्। यदि सत्यता बुझ्ने कोही व्यक्ति सुपरिवेक्षण र मार्गदर्शन प्रदान गर्नका लागि त्यहाँ छैन भने, त्यो काम पूर्ण रूपमा त्यत्तिकै हराएर जान सक्छ, वा अवाञ्छनीय परिणामहरू समेत उत्पन्न हुन सक्छन्, जसले गर्दा काम पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। यस्ता मानिसहरू पनि हुन्छन् जसले धर्मसिद्धान्तहरू निकै स्पष्ट र सफासँग बोल्न सक्छन्, तर जब वास्तवमा काम गर्ने कुरा आउँछ, तब तिनीहरूलाई कसरी अघि बढ्ने भन्ने थाहा हुँदैन र तिनीहरूसँग कुनै ठोस योजना हुँदैन। जब विशेष परिस्थिति वा अप्रत्याशित अवस्थाहरू देखा पर्छन्, तब तिनीहरूलाई ती कुराहरू कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन, न त तिनीहरूले अरूसँग सङ्गति गर्छन्, न त तिनीहरूले आफूभन्दा माथिका मानिसहरूबाट खोजी गर्छन् वा तिनीहरूसँग परामर्श नै लिन्छन्। जब तिनीहरूले कुनै काम गर्न थाल्छन्, तब तिनीहरू आत्मविश्वासी देखिन्छन् र तिनीहरूले भव्य सुरुवात गर्छन्, मानौँ तिनीहरूले कुनै महत्त्वपूर्ण कुरा हासिल गर्न लागेका छन्, तर तिनीहरूले काम गर्दै जाँदा, तिनीहरूले उत्साह गुमाउँछन् र भाग्छन्—मानौँ तिनीहरू हावामा बिलाएका छन्। जब कसैले तिनीहरूलाई सोध्छ, “तिमी अहिले के काम गर्दैछौ? त्यो काम कस्तो हुँदैछ?”, तब तिनीहरूले जवाफ दिन्छन्, “त्यो पूरा हुनेछैन।” तैपनि तिनीहरूले आफूले कामहरू गर्न नसक्ने कुरा समयमै रिपोर्ट गर्न असफल हुन्छन्, र कुनै परिणामविना दुई-तीन महिनासम्म काममा ढिलाइ गर्छन्। के यो रिस उठ्दो कुरा होइन र? (हो।) त्यस्ता मानिसहरू साँच्चै घृणित हुन्छन्! यस्ता व्यक्तिमा दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने बाहेक अर्को समस्या पनि हुन्छ: तिनीहरूले गर्ने हरेक काम जति धेरै गर्दै जान्छन् त्यति नै धेरै अस्तव्यस्त बन्दै जान्छ। सुरुमा, तिनीहरूसँग केही मानसिक रूपरेखा, केही विचार, र थोरै संरचना हुन सक्छ, तर तिनीहरूले काम गर्दै जाँदा, तिनीहरूका विचारहरू अन्यौलग्रस्त हुन्छन्। तिनीहरूले त्यो काम किन सुरु गरे वा तिनीहरूले कस्तो परिणाम हासिल गर्नुपर्ने हो भन्ने कुरा बिर्सन्छन्। जब कसैले तिनीहरूलाई केही खोजी गर्न सल्लाह दिन्छ, तब तिनीहरूले यसो भन्छन्, “केही पनि खोजी गर्नु आवश्यक छैन। हामी यो यसरी नै गर्दै गरौँ—जे भए पनि, कोही पनि त्यसै बसिरहेको छैन।” हेर् त, तिनीहरूले ठूलो उत्साहका साथ, गर्जिरहेको मेघजस्तै गरी काम सुरु गर्छन्। तर तिनीहरूले काम गर्दै जाँदा, कामहरू त्यत्तिकै हराएर जान्छन्। यो त आकाश गर्जनु तर नबर्सनु जस्तै हो—कुनै परिणाम नै हुँदैन। यदि तैँले कामका बारेमा सोधपुछ, अनुगमन, वा निरीक्षण गरिनस् भने, तिनीहरूले प्रतिवेदन समेत नदिई त्यसलाई अधुरै छोडिदिनेछन्। तिनीहरूले सुरुमा व्यक्त गरेको सङ्कल्प कहाँ गएको हुन्छ? त्यो बिर्सिसकिएको हुन्छ। तिनीहरूले सुरुमा लेखेको योजना नि? कुनै नामोनिसानविना हराएको हुन्छ। अनि तिनीहरूका सुरुका विचारहरू नि? ती हराएका हुन्छन्; ती बिर्सिएका हुन्छन्। तिनीहरू यस्तै किसिमको प्राणी हुन्! यस्तो व्यक्तिको सुरुको उत्साह देख्दा, तँलाई ऊ साँचो काम गर्ने व्यक्ति हो जस्तो लाग्छ। तर वास्तवमा, ऊ एकदमै बेकम्मा हुन्छ; ऊ वास्तविक धरातलमा रहेर काम गर्ने व्यक्ति हुँदै हुँदैन; ऊ अस्थिर व्यक्ति हुन्छ। ऊ चर्चामा आउन मात्र इच्छुक हुन्छ, तर कष्ट सहन चाहँदैन र जिम्मेवारी लिन डराउँछ। उसले गर्ने हरेक काम अधुरै रहन्छ। त्यस्ता मानिसहरूको मानवता कस्तो हुन्छ? (खराब मानवता।) मलाई भन, के यस्तो व्यक्तिले केही हासिल गर्न सक्छ? (सक्दैन।) तिनीहरू सधैँ दह्रो सुरुवात गर्छन् तर अन्त्यमा फितला हुन्छन्, र पूर्ण रूपमा अस्तव्यस्त हुन्छन्—तिनीहरूको शैली यही हो। तिनीहरूले जुनसुकै कर्तव्य पूरा गरिरहेका भए पनि, तिनीहरूले सङ्गीत सुन्दै र गुनगुनाउँदै निकै उत्साहका साथ सुरु गर्छन्। तर केही समयपछि, तिनीहरूले चासो गुमाउँछन् र कामलाई त्यत्तिकै छोडेर जान्छन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? के त्यस्ता मानिसहरू घृणित हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले आफूले पूरा गर्न नसक्ने भनी थाहा पाएका कामहरूलाई आफ्नो क्षमता देखाउने प्रयास गर्दै, घमण्ड गर्दै, र ठूला-ठूला दाबीहरू गर्दै लापरबाहीपूर्वक लिन्छन्—के तिनीहरूलाई आफ्नै क्षमता थाहा हुँदैन र? यदि तिनीहरूले काम गर्न वा परिणाम दिन सक्दैनन् भने, किन त्यसो भन्दैनन् त? तिनीहरूले काममा ढिलाइ गर्नु हुँदैन! बरु, तिनीहरू चुपचाप बस्छन्, र तँलाई मूर्ख बनाउने प्रयास गर्दै तेरो कामलाई रोक्छन्। के तिनीहरू नीच चरित्रका होइनन् र? (हुन्।) तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ! के त्यस्ता मानिसहरूलाई कामहरू सम्हाल्ने जिम्मा दिन सकिन्छ? (सकिँदैन।) के तिनीहरू भरोसा गर्न लायक हुन्छन्? (हुँदैनन्।) त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुँदैनन्। यदि तिनीहरूले तँलाई वचन दिए भने, के तैँले तिनीहरूलाई विश्वास गर्ने आँट गर्छस्? (गर्दिनँ।) तिनीहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू धोकेबाजहरू होइनन् र? (हुन्।) तिनीहरूले तँलाई आर्थिक लाभ वा यौन उद्देश्यका लागि धोका नदिए पनि, तिनीहरूले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तरिका अत्यन्तै घृणित र घिनलाग्दो हुन्छ। त्यसोभए, यी मानिसहरू यति घिनलाग्दा हुनुको मूल कारण के हो? तिनीहरू नीच चरित्रका हुन्छन्, आफ्नो आत्मआचरणमा आफ्नो स्थान जान्दैनन्, ठूला कुरा गर्न मन पराउँछन्, आफूसँग भएको भनी विश्वास गर्ने जुनसुकै क्षमता देखाउन मन पराउँछन्, चर्चामा आउन मन पराउँछन्, र आफूलाई प्रदर्शन गर्न मन पराउँछन्। तिनीहरू कहिल्यै पनि आफूले गर्ने कुनै पनि काममा अडिग रहँदैनन्। साथसाथै, तिनीहरू आफूलाई बढी आँक्छन्, र आफ्नो कद र आफूले कस्तो किसिमका कामहरू सम्हाल्न सक्छु भन्ने बारेमा अनभिज्ञ हुन्छन्। तैपनि तिनीहरू आफ्नो क्षमता देखाउने प्रयास गर्छन्, र जुनसुकै महत्त्वपूर्ण कामलाई साहसपूर्वक लिन्छन्। काम लिएपछि, तिनीहरूले त्यो राम्ररी नगर्दा र मुख्य मामलाहरूमा ढिलाइ गर्दा पनि, तिनीहरू उदासीन रहन्छन्; यदि तिनीहरू चर्चाको केन्द्रमा छन् भने, तिनीहरूका लागि त्यो ठीकै हुन्छ। के तिनीहरू नीच, तुच्छ मानिसहरू होइनन् र? (हुन्।) त्यसोभए के यी मानिसहरूको मानवता अत्यन्तै खराब हुँदैन र? (हुन्छ।) यदि तिमीहरूले यस्तो व्यक्तिलाई भेट्यौ भने, के तिमीहरूले उसलाई ठूला वा महत्त्वपूर्ण कुराहरू सुम्पने आँट गर्छौ? (गर्दैनौँ।) उदाहरणका लागि, यदि तँ सुसमाचार प्रचार गर्न बाहिर जानुपर्छ र तँलाई आफ्नो सानो बच्चाको हेरचाह गर्न कसैको आवश्यकता छ भने, तैँले मद्दतका लागि कस्तो व्यक्ति खोज्नुपर्छ? के तैँले यस्तो व्यक्ति छान्ने आँट गर्छस्, जसमा जिम्मेवारीको कुनै बोध हुँदैन, जो निरन्तर लागिरहन सक्दैन, र जो भरोसा गर्न लायक हुँदैन? (गर्दिनँ।) किन गर्दैनस्? किनभने उसले तेरो बच्चा हराउन सक्छ। यदि तैँले उसलाई तेरो बच्चा कसरी हरायो भनेर सोधिस् भने, उसले भन्नेछ, “मलाई थाहा छैन। म एकछिन झुलेको मात्रै थिएँ, र बच्चा हरायो। त्यसका लागि तिमीले मलाई कसरी दोष दिन मिल्छ? बच्चाको खुट्टा छ र ऊ आफै हिँड्न सक्छ—ऊ मसँग बाँधिएको थिएन। तिमीले मलाई दोष दिन मिल्दैन!” तिनीहरू जिम्मेवारीबाट पन्छिन समेत खोज्छन्! के यो निर्लज्ज बदमास होइन र? (हो।) जीवन र मृत्युका मामलाहरू त्यस्ता मानिसहरूलाई कदापि सुम्पन सकिँदैन। तिनीहरूको आत्मआचरणमा, तिनीहरू अस्थिर हुन्छन्, र तिनीहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन। जब समस्याहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले निर्लज्जताको सहारा लिने र कुराहरूलाई इन्कार गर्ने आँट गर्छन्। दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुनु मानवताको एउटा अवगुण मात्रै भए पनि, यो विशेष अवगुण एउटा अत्यन्तै गम्भीर समस्या हो—यो निष्ठाको समस्या हो। कतिपय मानिसहरूले प्रसिद्धि मन पराउँछन्, र उत्सुकतापूर्वक कामहरू लिन्छन्, तर तिनीहरूले जिम्मेवारी लिने आँट गर्दैनन्। तिनीहरूले कठिनाइहरूको सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै जिम्मेवारीबाट पन्छिन्छन् र आफूलाई त्यस परिस्थितिबाट टाढा राख्छन्। तिनीहरू पूर्ण रूपमा गैरजिम्मेवार हुन्छन्। तिनीहरू विशेष रूपमा अस्थिर पनि हुन्छन् र आफूले गर्ने कुनै पनि काममा अडिग रहन सक्दैनन्। जब यो यति खराब अवस्थामा पुग्छ, तब यो मानवताको एउटा अवगुण मात्रै रहँदैन—यो साँच्चै नै नीच चरित्र र खराब मानवता हुनु हो। म किन त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ भनेर भन्छु? किनभने तिनीहरू भरोसा गर्न लायक हुँदैनन्—तैँले तिनीहरूलाई कुनै पनि कुरा सुम्पने आँट गर्दैनस्। तैँले तिनीहरूलाई जुनसुकै काम सुम्पे पनि, तिनीहरू सजिलै सहमत हुन्छन्, तर तँ फर्किनेबित्तिकै, तिनीहरू हराउँछन्, र तँलाई तिनीहरू के गर्दैछन् भन्ने कुराको कुनै पत्तो हुँदैन। तिनीहरूलाई फेरि देख्नका लागि केही दिन समेत लाग्न सक्छ। यदि तैँले तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भनेर सोधिनस् भने, तिनीहरूले तँलाई केही नभएजस्तो गरी रिपोर्ट नै गर्नेछैनन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? तिनीहरू पूर्ण रूपमा गैरजिम्मेवार हुन्छन्! तिनीहरू यस्तो सानो कुरामा समेत परीक्षामा असफल हुन्छन् र तिनीहरूमाथि भरोसा गर्न सकिँदैन। तँलाई तिनीहरूले अरू के हासिल गर्न सक्छन् भन्ने लाग्छ? (केही पनि सक्दैनन्।) यदि तैँले तिनीहरूलाई बच्चाको हेरचाह गर्ने जिम्मा दिइस् भने, कुनै पनि बेला समस्याहरू उत्पन्न हुन सक्छन्। बच्चा लडेर घाइते हुन सक्छ, उसले खान नहुने कुरा खान सक्छ, वा बाहिर खेल्न जाँदा, ऊ हराउन वा खराब मानिसहरूद्वारा अपहरित हुन सक्छ—यी सबै सम्भावित परिणामहरू हुन्। किनभने तिनीहरू गैरजिम्मेवार र अत्यन्तै नीच चरित्रका हुन्छन्, र तिनीहरूले आफूले गर्ने हरेक कुरामा विवेकको कुनै सीमा पालन गर्दैनन् र अरू सबै कुरालाई बेवास्ता गर्दै केवल आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्नका लागि मात्रै काम गर्छन्। जब तैँले तिनीहरूलाई कुनै काम सुम्पन्छस्, तब तिनीहरूलाई इन्कार गर्दा तेरो अपमान हुन सक्छ भन्ने लाग्छ; आफ्नै घमण्डलाई ध्यानमा राखेर र आफ्नो अभिमानलाई सन्तुष्ट पार्न, तिनीहरू सहमत हुन्छन्, तर पछि, तिनीहरूले कुनै पनि जिम्मेवारी लिँदैनन्। तिनीहरूले ठूला-ठूला कुरा गर्छन् तर तिनीहरू कामलाई राम्ररी पूरा गर्न असफल हुन्छन्। भरोसा गर्न लायक नहुनु भनेको यही हो। के त्यस्ता मानिसहरू असल हुन्छन्? (हुँदैनन्।) के दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? (तिनीहरूले परमेश्वरको घरको कामलाई क्षति पुऱ्याउन सक्छन्।) ठीक भन्यौ। जब तिनीहरू बोल्छन् र प्रतिज्ञाहरू गर्छन्, तब तिनीहरूसँग क्षमता छ जस्तो देखिन्छ, र मानिसहरू ठूला कुरा गर्न सक्नेहरूलाई भरोसा गर्न इच्छुक हुन्छन्। तर जब वास्तवमा काम गर्ने कुरा आउँछ, तब तिनीहरूका कार्यहरू अप्रत्याशित हुन्छन्। तिनीहरूले गडबड गरे पनि, तिनीहरूले तँलाई जानकारी दिनेछैनन्; अनि यदि कुनै समस्या उत्पन्न भयो भने, तिनीहरूले तँलाई के भयो भनी स्पष्टीकरण दिनेछैनन्। तँ तिनीहरूले कामहरू राम्ररी सम्हाल्नेछन् भनी उत्सुकतापूर्वक आशा गरिरहेको हुन्छस्, तर तिनीहरू त्यसलाई बिगार्न पुग्छन् र तैँले तिनीहरूलाई सुम्पेको कुरालाई गम्भीर मामलाका रूपमा नलिई यसप्रति पूर्ण रूपमा उदासीन समेत हुन्छन्। तिनीहरूका कार्यहरूमा, तिनीहरू अस्थिर हुने गर्छन्। तिनीहरूमध्ये कतिले केवल आफ्नै रुचि, सोख, र जिज्ञासाका आधारमा काम गर्छन्; तिनीहरूमध्ये कतिले ध्यान आकर्षित गर्न मन पराउँछन् र केवल ध्यान आकर्षित गर्न र देखिनका लागि मात्रै कामकुरा गर्छन्। त्यस्ता मानिसहरू अस्थिर र गैरजिम्मेवार हुन्छन्, र तिनीहरू वास्तविक धरातलमा रहेर काम गर्न असक्षम हुन्छन्। यो निकै समस्याजनक कुरा हो। यसले तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू समर्पित छन् कि छैनन्, वा तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्ने कुरालाई छोएको छैन—यसले अझै यी पक्षहरूलाई छोएको छैन। विशुद्ध रूपमा तिनीहरूको मानवताको हिसाबमा भन्दा, त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुँदैनन्। के त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) मानकअनुरूपको मानवता नभएका मानिसहरूमा संवर्धनका लागि समेत मूल्य हुँदैन। किन हुँदैन? किनभने तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ—तिनीहरूमा आधारभूत निष्ठा र इज्जत समेत हुँदैन। त्यसकारण, तिनीहरू न त अगुवा बन्न योग्य हुन्छन्, न त अगुवाका रूपमा संवर्धन गरिन नै योग्य हुन्छन्।
कामहरू गर्दा सतर्कता अपनाउने
अब, हामी कामहरू गर्दा सतर्क हुनेबारे छलफल गरौँ। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो मानवताको एउटा गुण हो।) कामकुराहरू गर्दा सतर्क हुनु, बेपरवाह नहुनु, र मामलाहरू उत्पन्न हुँदा तिनलाई शान्त भएर सामना गर्न र सत्यताको खोजी गर्न सक्नु—यो मानवताको एउटा गुण हो। यो दुष्ट समाजमा, जटिल पृष्ठभूमि भएका मानिसहरूका विभिन्न समूहहरूका बीचमा, तैँले विभिन्न मानिस, घटना र कामकुराहरूको उदयलाई सतर्कताका साथ सामना गर्नुपर्छ। तैँले परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गरिरहेको बेला समेत, तैँले सामना गर्ने विभिन्न कुराहरूमध्ये केही जटिल परिस्थितिहरू हुन्छन्, र तैँले तिनलाई सतर्कताका साथ सामना गर्नुपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला तँमाथि दुष्ट मानिसहरूले दिइरहने बाधा आइपर्दा, तैँले पहिले खुट्ट्याउन सिक्नुपर्छ, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार त्यस स्थितिलाई सामना गर्नुपर्छ। आफ्नो कर्तव्यप्रति तैँले राख्नुपर्ने मनोवृत्ति यही हो। कामकुराहरू गर्दा सतर्क हुनुमा के कुरा समावेश हुन्छ? यसमा व्यक्तिको समझ समावेश हुन्छ। जब तैँले छर्लङ्ग देख्न नसक्ने मामलाहरूको सामना गर्छस्, तब तँ सतर्क हुनुपर्छ। तैँले केही सत्यताहरू बुझे पनि, जब तैँले अझै पनि केही विशेष मामलाहरूको अन्तर्निहित सार र मूल कारणलाई छर्लङ्ग देख्न सक्दैनस्, तब के तँ सतर्क हुनुपर्छ? (पर्छ।) यस्ता परिस्थितिहरूमा तँ अझै बढी सतर्क हुनु आवश्यक हुन्छ। सतर्क हुनु भनेको रूढिवादी हुनु वा साना-साना कदमहरू चाल्नु भन्ने होइन, न त यो काम गर्न आँट नगर्नु वा जिम्मेवारी लिन डराउनु नै हो—यसले यी कुराहरूलाई जनाउँदैन। यहाँ बोलिएको सतर्कताले मानवताको एउटा गुणलाई जनाउँछ। सतर्कताका विशिष्ट प्रकटीकरणहरू के हुन्? ती के हुन् भने, कुनै काम गर्दा, तैँले पहिले सत्यता सिद्धान्तहरूको खोजी गर्छस्, त्यसपछि त्यो काम वा त्यस कार्यका लागि अभ्यासका विशिष्ट कदमहरू, अभ्यासको विशिष्ट मार्ग, र इच्छित परिणामहरूको खोजी गर्छस्। अर्थात्, तैँले महत्त्वपूर्ण मामलाहरू र आफ्नो कर्तव्यलाई होसियार र सतर्क हृदयले सामना गर्छस्। अवश्य नै, कतिपय मानिसहरू आफ्नो दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाई सामना गर्दा पनि विशेष रूपमा सतर्क हुन्छन्; तिनीहरू लापरवाह हुँदैनन्, बरु अत्यन्तै सतर्क हुन्छन्। यो नराम्रो कुरा होइन; यसलाई मानवताको अवगुण नभई गुण पनि भन्न सकिन्छ। सतर्कतालाई मानवताको गुण भन्न सकिन्छ; सतर्क मनोवृत्ति हुनुले मानिसहरूलाई फाइदा मात्रै पुऱ्याउन सक्छ, र यसले मानिसहरूलाई कुनै पनि हालतमा नियन्त्रित गर्ने वा बन्धनमा पार्नेछैन। यदि मामलाहरू उत्पन्न हुँदा तैँले बोल्ने आँट गरिनस्, यदि तैँले केही गर्न वा कसैसँग अन्तरक्रिया गर्न आँट गरिनस् भने—यदि तँलाई झर्दै गरेको पात आफ्नो टाउकोमा ठोक्किन्छ कि भन्ने डर लाग्छ भने—यो अत्यधिक रूपमा सतर्क हुनु हो। सधैँ आफ्नै सानो संसारमा जिउनु, अति होसियार भएर आफ्ना दिनहरू बिताउनु—के यो सतर्कता हो? (होइन।) बाहिर किनमेल गर्न जाँदा ठगिन्छु कि भनी डराउनु, पसल खोल्दा पैसा गुमाउँछु कि भनी डराउनु, घर किन्दा त्यो कुनै कलङ्कित सम्पत्ति पो हुने हो कि भनी डराउनु, कम्प्युटर किन्दा त्यसमा भाइरस पो हुने हो कि भनी डराउनु—अत्यधिक डरले यति धेरै बाँधिनु कि तैँले केही गर्न आँट गर्दैनस् र तँलाई एक कदम चाल्न पनि गाह्रो हुन्छ—यी पक्कै पनि हामीले यहाँ बोलिरहेका प्रकारका सतर्कताका प्रकटीकरणहरू होइनन्। यी प्रकटीकरणहरूले व्यक्ति अज्ञानी, काम नलाग्ने र काँतर, अपरिपक्व, र स्वतन्त्र रूपमा जिउने सक्षमताविहीन छ भनी सङ्केत गर्छन्। ती कमजोर क्षमताका प्रकटीकरणहरू हुन्। अर्थात्, जब त्यस्ता व्यक्तिहरूले यो दुष्ट समाज र मानिसहरूका जटिल समूहहरूको सामना गर्छन्, तब तिनीहरूसँग कुनै पनि प्रतिउपाय हुँदैन। तिनीहरू सधैँ चिन्तित, भयभीत, र यति डराएका हुन्छन् कि तिनीहरू पछि हट्छन् र अगाडि बढ्ने आँट गर्दैनन्। कि त तिनीहरूलाई धोका पाइन्छ र ठगिइन्छ कि भन्ने डर हुन्छ, कि त तिनीहरूलाई आफूलाई हानि पुऱ्याइन्छ वा आफ्नो हत्या गरिन्छ कि भन्ने डर हुन्छ। तिनीहरूले कसैसँग अन्तरक्रिया गर्ने वा कुनै मामलाहरू सम्हाल्ने आँट गर्दैनन्। जब तिनीहरू काममा जान्छन्, तब तिनीहरूलाई आफ्नो तलब पाइँदैन कि भन्ने डर हुन्छ। कतिपय महिलाहरू दुर्व्यवहारमा परिन्छ कि भन्ने डरले काम गर्न समेत आँट गर्दैनन्। कतिपय मानिसहरू खराब मानिसहरूलाई भेटिन्छ कि भन्ने डरले घरबाट बाहिर निस्कन समेत आँट गर्दैनन्, र तिनीहरूलाई आफूले सामानहरू किनेमा ती लुटिन्छ कि भन्ने डर हुन्छ। छोटकरीमा, तिनीहरू सबै कुरादेखि डराउँछन्। के यो अत्यधिक सतर्क हुनु होइन र? यो अति होसियार हुनु हो। के तिनीहरू पागल होइनन् र? कतिपय मानिसहरूको यस्तो मानसिकता हुन्छ, तिनीहरू दिनभरि यो र त्यो कुराको चिन्ता गर्छन्, र परिणाम के हुन्छ भने तिनीहरूले कुनै मामलाहरू सम्हाल्ने वा बाहिर गएर मानिसहरूलाई भेट्ने आँट गर्दैनन्, र तिनीहरू घरमा मात्रै बस्न सक्छन्। तिनीहरू कस्ता व्यक्ति हुन्? (पागल व्यक्ति।) तिनीहरू पागल हुन्; तिनीहरू असामान्य हुन्, तिनीहरू अमानव हुन्। कुनै तजबिज गर्ने सामर्थ्य नभएको, आफूले गर्ने कुनै पनि कुरामा कुनै सिद्धान्त वा न्यूनतम मानक नभएको यस्तो व्यक्ति पशुको पुनर्जन्म हो, ऊसँग सामान्य मानवता हुँदैन, र ऊ अति होसियार हुनु सतर्कता होइन। सतर्कताले केलाई जनाउँछ? सतर्कता भनेको संयमित, विधिवत, र नियम-पालन गर्ने तरिकाले कामहरू गर्नु हो, र यस सिद्धान्तको जगमा, निकै कडाइका साथ काम गर्नु हो, र कामकुराहरू आइपर्दा हतार, बेपरवाह, वा आवेगमा नआई शान्त हुनु, र सत्यता सिद्धान्तहरूको खोजी गर्न र बुद्धिमानी विधिहरू खोज्न सक्नु हो। यसलाई सतर्कता भनिन्छ, र केवल यही सतर्कता मानवताको एउटा गुण हो।
ठूला कुरा गर्न र घमण्ड गर्न मन पराउनु
ठूला कुरा गर्न र घमण्ड गर्न मन पराउने—यस्ता मानिसहरू धेरै हुन्छन्। यो दुष्ट समाजको एउटा प्रवृत्ति पनि हो। धेरै मानिसहरू बढाइचढाइ गरेर बोल्छन्, लापरबाहीपूर्वक कुराहरू बनाउँछन्, र मुखमा जे आयो त्यही बोल्छन्। तिनीहरूले भनेको कुरा तथ्यहरूसँग पटक्कै मेल खाँदैन र तिनीहरूले धेरै व्यर्थका कुरा गर्छन्। तिनीहरूमा कुनै निष्ठा र लाजको भावना नभए तापनि, तिनीहरू अझै पनि आफूलाई सक्षम ठान्छन्। के त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुन्छन्? (हुँदैनन्।) के त्यस्ता मानिसहरूसँग निष्ठा वा इज्जत हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरूसँग कुनै निष्ठा र इज्जत हुँदैन, तिनीहरू सम्मानका लायक हुँदैनन्, र भरोसा गर्न लायक हुँदैनन्। त्यसोभए, के तिनीहरूलाई महत्त्वपूर्ण मामलाहरू सम्हाल्ने जिम्मा दिन सकिन्छ? (सकिँदैन।) त्यसोभए, घमण्ड गर्न मन पराउनु कस्तो प्रकारको समस्या हो? (यो मानवताको एउटा अवगुण हो।) यो मानवताको एउटा अवगुण हो, तर तैँले यो व्यक्तिको मानवतालाई पनि हेर्नुपर्छ—उसको मानवता दुष्ट छ कि छैन र उसले सकारात्मक कुराहरू स्वीकार गर्न सक्छ कि सक्दैन। यदि तिनीहरू केवल घटिया छन् र, आफ्नो पारिवारिक जीवन वा सामाजिक वातावरणबाट धेरै वर्षसम्म प्रभावित भएर, घमण्ड गर्न र ठूला कुरा गर्न मन पराउने, गैरजिम्मेवार तरिकाले र परिणामहरूको विचार नगरी बोल्ने खराब बानी विकास गरेका छन् भने, यो केवल तिनीहरूको मानवताको एउटा अवगुण हो। तिनीहरू खराब हुँदैनन्; तिनीहरू केवल गम्भीर रूपमा घटिया भएको स्तरमा हुन्छन्। यदि यस्तो व्यक्तिले, घमण्ड गर्न मन पराउनु बाहेक, अरूसँग अन्तरक्रिया गर्दा निकै हुकुमी र क्रूर तरिकाले व्यवहार गर्छ, र उसले ठूला कुरा गर्नु र घमण्ड गर्नुपछाडिको उद्देश्य अरूलाई दबाउनु र आफूले घमण्ड गर्ने र बढाइचढाइ गर्ने कुराहरूलाई अरू मानिसहरूले गरेका वा अरू मानिसहरूसँग भएका कुराहरूभन्दा उच्च, राम्रो, र धेरै माथि भएको देखाउनु हो भने, यो अब तिनीहरू घटिया हुनुको समस्या मात्र रहँदैन। यो कस्तो प्रकारको समस्या हो? (यो दुष्ट मानवताको समस्या हो।) यो दुष्ट मानवताको समस्या हो। त्यसोभए, के यहाँ कुनै भ्रष्ट स्वभाव समावेश छ? (छ।) कस्तो प्रकारको भ्रष्ट स्वभाव? (क्रूर स्वभाव।) तिनीहरूसँग अहङ्कारी, क्रूर स्वभाव हुन्छ। कतिपय मानिस गम्भीर रूपमा घटिया भएका हुनाले नै घमण्ड गर्न मन पराउँछन्। यो तिनीहरूको जिउने बानी र जिउने वातावरणले गर्दा भएको हो। तिनीहरूले सत्य बोल्नु, हृदयबाट बोल्नु, वास्तविक परिस्थितिहरूबारे छलफल गर्नु, वा जीवन र उचित मामलाहरूबारे कुरा गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै बुझ्दैनन्। तिनीहरूमा यो चेतनाको कमी हुन्छ। तिनीहरूको परिवार र विद्यालयको वातावरणमा यस्तो शिक्षा हुँदैन, र तिनीहरू समाजमा प्रवेश गरेपछि झनै हुँदैन। फलस्वरूप, तिनीहरूको अन्तर्निहित घटियापन धेरै गम्भीर हुन्छ। तिनीहरू हल्का पाराका हुन्छन् र तिनीहरूमा उचित आचरण हुँदैन, र तिनीहरू केवल ठूला कुरा गर्न र अरूले आफूलाई उच्च ठानून् भनेर प्रदर्शन गर्नका लागि घमण्ड गर्न मन पराउँछन्। तिनीहरूको हृदयमा, तिनीहरूसँग अरू कुनै महत्त्वाकाङ्क्षा, चाहना, वा आवश्यकताहरू हुँदैनन्। यदि तिनीहरूले केवल यी प्रकटीकरणहरू मात्रै देखाउँछन् भने, यो केवल घटियापन हो; यो तिनीहरूको मानवताको एउटा अवगुण हो। तर यदि तिनीहरूको घमण्डको कुनै उद्देश्य छ, र घमण्डमार्फत तिनीहरूले आफूलाई निकै सक्षम र असाधारण रूपमा योग्य, साथै साधारण मानिसहरूभन्दा श्रेष्ठ, भिन्न, र धेरै माथि भएको रूपमा प्रस्तुत गर्छन् भने, यो अब घटिया हुनुको समस्या मात्र रहँदैन। तिनीहरूको घमण्ड गर्ने मोहलाई विशिष्ट सोचाइले मार्गदर्शन गरेको हुन्छ, र त्यसलाई हैसियत, महत्त्वाकाङ्क्षा, र चाहनाको भोकले प्रेरित गरेको हुन्छ। तिनीहरूले अरूलाई दबाउन र प्रभावित पार्न, अरूलाई आफूभन्दा तुच्छ र आफू जत्तिको राम्रो नभएको महसुस गराउन, र आफूप्रति सम्मानजनक बनाउन र आफ्नो आज्ञापालन गराउनका लागि घमण्डलाई एक तरिकाका रूपमा प्रयोग गर्छन्। यो तिनीहरूको मानवताको दुष्टता हो। तिनीहरूको घमण्ड गर्ने मोहको उद्देश्य आफू फाइदाजनक स्थितिमा पुग्नु हुन्छ: “तिम्रो जे छ, मेरो पनि त्यही छ। तिमीले जे गर्न सक्छौ, मैले पनि त्यो गर्न सक्छु। तिमीलाई जे थाहा छ, मलाई पनि त्यो थाहा छ। तिमीले जे देखेका छौ, मैले पनि त्यो देखेको छु। म तिमीभन्दा कम छैन!” यस्तोसम्म हुन्छ कि यदि तैँले कुनै निश्चित खानेकुरा खाएको छस् भने, तिनीहरूले स्पष्ट रूपमै त्यो कहिल्यै नखाएको भए पनि, आफूले खाएको छु भनी दाबी गर्नेछन्—र त्यति मात्र होइन, तिनीहरूले आफूले त्योभन्दा धेरै खाएको, र आफूले खाएको खानेकुरा तैँले खाएको भन्दा मीठो थियो भनेर भन्नेछन्। तिनीहरूले नभएका कुराहरूबारे समेत घमण्ड गर्नेछन्। तिनीहरूको घमण्डको उद्देश्य के हुन्छ? यसको उद्देश्य तँलाई उछिन्नु, तँसँग प्रतिस्पर्धा गर्नु, र तँलाई तिनीहरू तँभन्दा राम्रा छन्, तिनीहरू तँभन्दा कुनै पनि हिसाबले कम छैनन् भन्ने कुरा महसुस गराउनु हो। तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित हुन्छन्। त्यसोभए, के यस्तो महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित मानवताको प्रकटीकरण केवल घटियापन हो, कि यो दुष्ट मानवता हो? (यो दुष्ट मानवता हो।) के यहाँ कुनै भ्रष्ट स्वभाव समावेश छ? (छ।) महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित हुनु—यो भ्रष्ट स्वभाव हो। कस्तो प्रकारको भ्रष्ट स्वभाव? (अहङ्कार र क्रूरता।) ठीक भनिस्। यी दुई प्रकारका भ्रष्ट स्वभावहरू हुन्छन्: अहङ्कार र क्रूरता। यसका साथै, थोरै दुष्टता पनि हुन्छ। अर्थात्, तैँले जे भने पनि, तिनीहरूले सधैँ त्यसलाई आफ्नो हृदयमा विचार गर्छन्, सधैँ त्यसबाट केही निहुँ बनाउने प्रयास गर्छन्, र सधैँ त्यसलाई दुष्ट विचार र चरम रायहरूका साथ सामना गर्छन्। उदाहरणका लागि, यदि तैँले “मेरो परिवारको गाडी टोयोटा हो; यो जापानी गाडी हो” भनेर भनिस् भने, तिनीहरूले यसो भन्छन्, “जापानी गाडीहरू राम्रा हुँदैनन्। जर्मन गाडीहरू राम्रा हुन्छन्। मैले पहिले चलाउने जर्मन गाडी साह्रै राम्रो चल्ने मात्रै थिएन, तर त्यो कहिल्यै नबिग्री दश वर्षभन्दा बढी समयसम्म खप्यो—त्यो तिम्रो गाडीभन्दा धेरै राम्रो छ!” तिनीहरूले तँलाई जसरी पनि उछिन्नैपर्छ। जब तैँले भन्छस्, “मैले त हाई स्कूल पनि पास गरेको छैन,” तब तिनीहरूले यसो भन्छन्, “मैले हाई स्कूल पास गरेको छु। तिमी मेरो डाहा गर्छौ, होइन त?” वास्तवमा, तिनीहरूले माध्यमिक स्तर पनि पास गरेका हुँदैनन्, तर तिनीहरू अझै पनि तँलाई उछिन्न चाहन्छन्। तिनीहरूलाई अरू मानिसहरूले आफ्नो डाहा गरेको, आफूलाई उच्च ठानेको, र आफूलाई सम्मान गरेको अनुभूतिमा आनन्द आउँछ। हेर् त, तिनीहरूले कुनै पनि व्यक्तिबाट प्राप्त गर्ने जानकारीप्रतिको तिनीहरूको प्रतिक्रिया सधैँ दुष्ट र चरम हुन्छ। तिनीहरूमा सामान्य मानवताको सोचाइको कमी हुन्छ। एक सामान्य व्यक्तिले अरू कसैले केही राम्रो कुरा छ भनी सुनेपछि यसो भन्न सक्छ, “तिमीसँग त्यो हुनु निकै राम्रो कुरा हो। के तिमीले मलाई त्यसका विशिष्ट विशेषता र फाइदाहरूबारे बताउन सक्छौ? म यसबारे थप जान्न चाहन्छु।” सामान्य मानवता भएको व्यक्तिले यसरी प्रतिक्रिया दिनेथियो। तर घमण्ड गर्न मन पराउने मानिसहरूसँग सामान्य मानवता हुँदैन। तिनीहरूले यस्तो सोच्छन्, “तिमीसँग त्यो किन हुनुपर्ने र मसँग नहुनुपर्ने? मसँग त्यो नभए पनि, मैले मसँग छ भन्नैपर्छ, र अझै, मैले मेरोचाहिँ तिम्रोभन्दा राम्रो छ भन्नैपर्छ!” यदि तिमीले तिनीहरूलाई त्यो निकालेर देखाउन भन्यौ भने, तिनीहरूले “म तिमीलाई देखाउँदिनँ!” भनेर भन्नेछन्, जबकि वास्तवमा तिनीहरूसँग त्यो हुँदै हुँदैन। के यो दुष्ट कुरा हो? (हो।) अर्को शब्दमा, जब तिनीहरूलाई केही हुन्छ, वा जब तिनीहरूले कुनै जानकारी देख्छन् वा प्राप्त गर्छन्, तब तिनीहरूको प्रतिक्रिया सधैँ चरम, मानवतासँग अमिल्दो, र दुष्ट हुन्छ, त्यसकारण तिनीहरूको स्वभावमा केही दुष्टता पनि हुन्छ। अर्को तरिकाले भन्दा, जब तँ तिनीहरूसँग सामान्य रूपमा कुराकानी वा सङ्गति गर्छस्, र तँलाई तैँले कुनै अनुचित मानसिक प्रतिक्रिया उत्पन्न गर्न सक्ने केही भनेको छैनस् भन्ने लाग्छ, तब तिनीहरूको दिमाग पहिले नै धेरै विचारहरूले भरिएको हुन्छ। तिनीहरूले पहिले नै तेरो डाहा गरिरहेका हुन्छन्, र तँप्रति अवज्ञाकारी र घृणाले भरिएका हुन्छन्, साथै तँलाई दबाउन पनि चाहन्छन्। तिनीहरूको दिमाग यी कुराहरूले भरिएको हुन्छ। के तँ यो दुष्ट कुरा हो भनेर भन्दैनस् र? (भन्छु।) दुष्ट मानिसहरू शुद्ध हुँदैनन्। तिनीहरूले प्रकट गर्ने अधिकांश अभिव्यक्ति, शब्द, र कार्यहरू सामान्य मानवताको विवेक र समझसँग अमिल्दा हुन्छन्। तिनीहरूका शब्दहरूमा केही आक्रामकता हुन सक्छ; आक्रामकता समावेश हुनुका साथै, तिनीहरूका केही शब्दहरू असत्य हुन सक्छन्, र केही त घमण्ड हुन सक्छन्। किनभने तिनीहरूभित्र दुष्ट विचारहरू हुन्छन्, र यी दुष्ट विचारहरूद्वारा प्रेरित भएर, तिनीहरूले बोल्ने शब्दहरू सबै झूट हुन्छन्, ती सबै शैतान र दियाबलसहरूबाट उत्पन्न हुन्छन्। त्यस्ता मानिसहरूसँग कुनै मानवता हुँदैन; तिनीहरू अमानव हुन्। घमण्ड गर्न र ठूला कुरा गर्न मन पराउने मानिसहरूलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ। तिनीहरूलाई तिनीहरूको मानवताको सारका आधारमा चित्रण गरिनुपर्छ। अर्थात्, तिनीहरूसँग कस्तो समस्या छ भनी मूल्याङ्कन गर्न तिनीहरू घटिया छन् कि छैनन् र तिनीहरूको मानवता दुष्ट छ कि छैन भनी हेर्नुपर्छ। यदि तिनीहरूमा दुष्ट मानवता छ र तिनीहरू गम्भीर रूपमा घटिया छन्, र धेरै दुष्ट कार्यहरू गर्न सक्षम छन् भने, तिनीहरू असल मानिसहरू होइनन् र तिनीहरूलाई दुष्ट मानिसहरूका रूपमा चित्रण गरिनुपर्छ। तर, यदि तिनीहरू अलिकति ठूला कुरा गर्नमा र अलिकति घटियापनमा मात्रै संलग्न हुन्छन्, तर तिनीहरूले कुनै खराब कामहरू गर्न सक्दैनन्, तिनीहरूसँग अझै पनि केही विवेक र समझ हुन्छ, र तिनीहरूले केही असल कामहरू पनि गर्न सक्छन् भने, तिनीहरूलाई अझै पनि असल मानवता भएका मानिसहरू मान्न सकिन्छ। यो ठूलो समस्या होइन, र यदि तिनीहरूको क्षमता राम्रो छ भने, तिनीहरूलाई सुपरिवेक्षक वा अगुवा वा कामदारहरूका रूपमा छनोट समेत गर्न सकिन्छ। यी दुवै प्रकारका मानिसहरूले ठूला कुरा गर्ने र घमण्ड गर्न मन पराउने भए तापनि, यो तिनीहरूको मानवता असल छ कि दुष्ट छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरू केवल घटिया छन् भने, यो तिनीहरूको मानवताको एउटा अवगुण हो र यसमा भ्रष्ट स्वभाव समावेश हुँदैन। तर, यदि तिनीहरूको घमण्डको पछाडि अभिप्राय र महत्त्वाकाङ्क्षा छ भने, यसले दुष्ट मानवतालाई सङ्केत गर्छ, र यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। तिनीहरूको मानवताको हिसाबमा, यो दुष्ट हो; यसमा समावेश हुने भ्रष्ट स्वभावहरू अहङ्कार, दुष्टता, वा क्रूरता हुन्। यसमा खराब चरित्र र भ्रष्ट स्वभाव दुवै समावेश हुन्छ, होइन र? (हो।)
लापरवाही
अब अर्को प्रकटीकरणबारे छलफल गरौँ: लापरवाही। आफूले गर्ने हरेक कुरामा लापरवाह हुनु—यो कुन पक्षअन्तर्गत पर्छ? (मानवताको एउटा अवगुण।) यस्ता मानिसहरूले हरेक कुरालाई मोटामोटी र सामान्य तरिकाले हेर्छन्, र मुख्य बुँदाहरू बुझ्न सक्दैनन्। तिनीहरूले हरेक कुरा हचुवाको भरमा गर्छन्। तिनीहरूले लेखन-पठनको काम वा दस्तावेज व्यवस्थापन जस्ता सूक्ष्म काम गर्न सक्दैनन्। तिनीहरूले सटीकता चाहिने कामहरू पनि सम्हाल्न सक्दैनन्। लुगा सिलाउँदा, तिनीहरूले कहिलेकाहीँ बाहुला हुनुपर्ने ठाउँमा सुरुवालको खुट्टा सिउँछन्, कहिलेकाहीँ लामो बाहुलालाई छोटो बनाउँछन्, वा २६ इन्चको कम्मरलाई २४ इन्चको बनाउँछन्। तिनीहरूले लुगा कि त धेरै ठूलो कि त धेरै सानो बनाउँछन्। तिनीहरूले जे गरे पनि, तिनीहरू सधैँ यति लापरवाह, यति बेपरवाह, र यति भद्दा हुन्छन् कि तिनीहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्। तिनीहरू कतिसम्म लापरवाह हुन सक्छन्? कुनै काम सम्हाल्न बाहिर जाँदा, तिनीहरूले आफूले ल्याउनुपर्ने कुराहरू समेत बिर्सन सक्छन्। उदाहरणका लागि, मुद्दाका लागि वकिललाई भेट्दा, तिनीहरूले आफ्नो परिचय पत्र, साथै वकिलले मागेको प्रमाण ल्याउन बिर्सन्छन्। तिनीहरूले धेरै कुराहरू पछाडि छोड्छन्। कहिलेकाहीँ, तिनीहरूलाई आफूले आफ्ना महत्त्वपूर्ण सामानहरू कहाँ राखेको भन्ने समेत थाहा हुँदैन र तिनीहरू याद गर्ने प्रयास गर्दैनन्। फलस्वरूप, तिनीहरूले प्रायजसो सामानहरू हराउँछन् र बिर्सन्छन्, र तिनीहरूले गर्ने कामहरू र तिनीहरूको दैनिक जीवन पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। यस्ता मानिसहरू आफ्नो काम वा आफ्नो कर्तव्यलाई लिने तरिकामा कहिल्यै गम्भीर हुँदैनन्। तिनीहरूले जे गरे पनि सधैँ सरसरती र हचुवाको भरमा गर्छन्—तिनीहरूले हेर्ने कुराहरूलाई मोटामोटी रूपमा मात्रै बुझ्छन्, सुन्ने वचनहरूको मोटामोटी बुझाइ मात्रै प्राप्त गर्छन्, कुराहरू मोटामोटी र सामान्य रूपमा मात्रै भन्छन्, र आफ्नो स्मरणमा कुराहरूको मोटामोटी रूपरेखा मात्रै राख्छन्। फलस्वरूप, तिनीहरू महत्त्वपूर्ण वा गोप्य काम सम्हाल्न असक्षम हुन्छन्; तिनीहरू त्यस्ता कामहरूका लागि उपयुक्त हुँदैनन्। यदि तिनीहरूको लापरवाहीमा तिनीहरूको व्यक्तिगत जीवन वा सरसफाइ मात्रै समावेश हुन्छ, र त्यसले अरू मानिसहरू वा कुनै महत्त्वपूर्ण मामलाहरूलाई असर गर्दैन भने, यो केवल तिनीहरूको मानवताको एउटा अवगुण हो—जुनसुकै समस्या उत्पन्न भए पनि, तिनीहरूले आफैले जिम्मेवारी लिएपछि कुरा सकिन्छ। तर, यदि यसमा कर्तव्य, महत्त्वपूर्ण काम, कसैको नियति र भविष्यका सम्भावना, कोही बस्छ कि छोडेर जान्छ, इत्यादि समावेश छ भने, त्यस्ता मानिसहरू यी मामलाहरू सम्हाल्न अनुपयुक्त हुन्छन् किनभने तिनीहरू धेरै लापरवाह हुन्छन्। एकातिर, तिनीहरू यी मामलाहरूमा अति सावधान हुँदैनन्; तिनीहरूले केवल मोटामोटी रूपमा हेर्छन्, र आफ्नो दिमाग प्रयोग गर्न वा ती कुराहरू सम्हाल्न सोच र ऊर्जा लगाउन धेरै अल्छी हुन्छन्। अर्कोतिर, तिनीहरूको काम गर्ने शैली र तौरतरिका निरन्तर सरसरती र हचुवाको भरमा गर्ने हुन्छ, र तिनीहरूले प्रायजसो सामानहरू हराउँछन् र बिर्सन्छन्। यदि यो तिनीहरूको व्यक्तिगत जीवनसँग मात्रै सम्बन्धित छ भने, यो ठूलो समस्या होइन। तर, यदि यो महत्त्वपूर्ण काम वा गोप्य मामलाहरूसँग सम्बन्धित छ भने, तिनीहरूले कुराहरू बिगार्न सक्छन् वा ठूलो प्रकोप समेत निम्त्याउन सक्छन्। उदाहरणका लागि, कसैलाई तुरुन्तै पेरिस जानु आवश्यक छ, तर आफ्नो लापरवाहीका कारण, उसले रोमको हवाई टिकट किन्छ। ऊ निकै खुसी समेत हुन्छ, र भन्छ, “आज मैले किनेको टिकट त कति सस्तो!” अरूले त्यसलाई हेर्छन् र भन्छन्, “अवश्य पनि सस्तो छ—तिमी पेरिस जानुपर्ने थियो, तिमीले किन रोमको टिकट किन्यौ?” यो त अत्यन्तै लापरवाह हुनु हो! यस्ता मानिसहरूले हरेक कुरालाई उपेक्षा र झाराटारुवा मनोवृत्तिले हेर्छन्। तिनीहरूले कुनै कुरालाई मोटामोटी रूपमा बुझ्नका लागि एक नजर मात्रै हेर्छन् र कुरा त्यतिमै सकिन्छ। तिनीहरूसँग ठीक यस्तै प्रकारको गैरजिम्मेवार मनोवृत्ति हुन्छ। अवश्य पनि, यो मनोवृत्ति कुनै पनि कुरामा आफ्नो हृदय लगाउन नचाहने र अल्छीपन देखाउने कार्यद्वारा पनि चित्रित हुन्छ—तिनीहरू कुनै पनि कुरामा आफ्नो हृदय लगाउनमा, आफ्नो दिमाग प्रयोग गर्नमा, वा कुनै पनि मामला सम्हाल्दा सोचविचार गर्नमा धेरै अल्छी हुन्छन्। यस्ता लापरवाह मानिसहरू महत्त्वपूर्ण कामका लागि अनुपयुक्त हुन्छन्, विशेष गरी लेखन-पठनको काम, दस्तावेज व्यवस्थापन, वा गोप्य व्यावसायिक सीपहरूसँग सम्बन्धित कार्यहरूका लागि। त्यसोभए, यदि त्यस्ता मानिसहरू अगुवा बने भने, के तिनीहरू त्यस कार्यका लागि योग्य हुन सक्छन्? (सक्दैनन्। तिनीहरूको काम कहिल्यै राम्ररी भएको हुँदैन; यो सधैँ मोटामोटी र सामान्य रूपमा गरिएको हुन्छ, र यो सधैँ अधुरो छोडिएको हुन्छ। तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्।) यस्ता मानिसहरूको काममा विवरणको कमी हुन्छ; तिनीहरू सधैँ सरसरती र हचुवाको भरमा काम गर्ने हुन्छन्, र तिनीहरूले मामलाहरूलाई सतही, झाराटारुवा तरिकाले सम्हाल्छन्। तिनीहरूका शब्दहरू पनि सधैँ अस्पष्ट हुन्छन्, र तिनीहरूले “मोटामोटी,” “सायद,” “सम्भवतः,” वा “हुन सक्छ” जस्ता शब्दहरू प्रयोग गर्ने गर्छन्। यस्ता मानिसहरूले केही पनि हासिल गर्न सक्दैनन्। परमेश्वरको घरका धेरै कामहरू, जस्तै प्रशासनिक काम, कर्मचारीसम्बन्धी काम, मण्डली जीवनसम्बन्धी काम, र सुसमाचारको काममा विशिष्ट विवरणहरू समावेश हुन्छन्। विस्तृत कामको सामना गर्दा, यस्ता लापरवाह मानिसहरूको टाउको दुख्छ र तिनीहरूले अलमल्लमा परेको महसुस गर्छन्, र निसास्सिएको महसुस गर्छन्; तिनीहरू यस्तो विस्तृत काममा संलग्न हुन अनिच्छुक हुन्छन्। तिनीहरूमा यो अल्छी मनोवृत्ति हुन्छ, त्यसकारण जब काम गर्ने कुरा आउँछ, तिनीहरूले सधैँ यस्तो सोच्छन्, “मोटामोटी काम गरे पुग्छ; आखिर, यो कामको प्रबन्धले भनेको कुरासँग लगभग मिल्दोजुल्दो छ।” तिनीहरूले सधैँ यो “लगभग मिले पुग्छ” भन्ने मनोवृत्ति कायम राख्छन्—के यसरी काम राम्ररी गर्न सकिन्छ? (सकिँदैन।) जब तिनीहरूले मानिसहरूको मूल्याङ्कन गर्छन्, तब तिनीहरूले त्यो पनि मोटामोटी रूपमै गर्छन्—तिनीहरूले अगुवा र कामदारहरूको मोटामोटी मूल्याङ्कन गर्छन्, र तिनीहरूले हरेक टोलीका सुपरिवेक्षकहरूको पनि मोटामोटी मूल्याङ्कन गर्छन्। जब कसैले सोध्छ, “त्यो सुपरिवेक्षकले परमेश्वरमा विश्वास गरेको कति भयो?” तब तिनीहरूले जवाफ दिन्छन्, “तीन वर्षभन्दा बढी भयो जस्तो लाग्छ।” तर परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको व्यक्तिले जग समेत बसालेको नहुन सक्छ—के यस्तो व्यक्ति सुपरिवेक्षकका रूपमा भरपर्दो हुन सक्छ? लापरवाह मानिसहरूले यो कुरा छर्लङ्ग देख्नै सक्दैनन्। त्यसकारण तिनीहरूको बोली सधैँ “मोटामोटी,” “सम्भवतः,” “सायद,” “हुन सक्छ,” र “जस्तो लाग्छ” जस्ता शब्दहरूले भरिएको हुन्छ; तिनीहरूले कहिल्यै सटीक शब्दहरू प्रयोग गर्दैनन्। जब कसैले सोध्छ, “के उसले परमेश्वरमा विश्वास गर्दा कहिल्यै अगुवाका रूपमा सेवा गरेको छ?” तब तिनीहरूले जवाफ दिन्छन्, “गरेको छैन जस्तो लाग्छ, किनभने मैले उसले यो कुरा उल्लेख गरेको सुनेको छैन।” हेर् त, तिनीहरूले कुनै पनि कुरालाई कहिल्यै गम्भीर रूपमा लिँदैनन्। यदि तैँले तिनीहरूलाई विवरणहरूका लागि दबाब दिइस् भने, तिनीहरू केवल भावना र छापमा भर पर्छन्। तिनीहरूले “म तुरुन्तै गएर सोध्छु र पुष्टि गर्छु” भनेर भन्दैनन्। तिनीहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। हरेक कुरामा, तिनीहरूले “मोटामोटी रूपमा ठीक” वा “लगभग मिले” सम्म ठीकै छ भनी ठान्छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “किन यति सावधान भएर जिउने?” एक हिसाबमा यो कुरा साँचो भए तापनि—दैहिक जीवनसँग सम्बन्धित मामलाहरूका लागि, तँ अलि हचुवा हुन सक्छस्—जब मण्डलीका कामको कुरा आउँछ, तँ हचुवा हुन मिल्दैन। काममा हचुवा हुँदा त्यसले त्यो कामको परिणामलाई असर गर्छ। कुनै पनि काममा राम्रा परिणामहरू विशिष्ट योजना, प्रबन्ध, अनुगमन, सुपरिवेक्षण र आग्रहको कारणले मात्रै हासिल हुन्छन्। यदि कार्यहरू मोटामोटी, हडबड तरिकाले गरिन्छ भने, कुनै पनि कामले कहिल्यै परिणाम दिन सक्दैन। त्यसकारण, लापरवाहीपन मानवताको एउटा अवगुण हो, र यस्ता लापरवाह मानिसहरू महत्त्वपूर्ण कामका लागि योग्य हुँदैनन्; विशेष गरी, तिनीहरू अगुवा र कामदारहरूको काम गर्न योग्य हुँदैनन्। मामला जेसुकै भए पनि, यस्ता मानिसहरूले केवल मोटामोटी रूपरेखा मात्रै सुन्छन् र त्यसपछि आफूले बुझेको अनुमान गर्छन्। उदाहरणका लागि, मण्डलीहरू स्थापना गर्ने काममा, कसरी मण्डली स्थापना गर्ने, एउटा मण्डली स्थापना गर्न कति जना मानिसहरू चाहिन्छ, कति वटा मण्डलीले एउटा इलाका बनाउँछ, कति वटा इलाकाले एउटा क्षेत्र बनाउँछ—परमेश्वरको घरको कामका प्रबन्धमा यी सबैका लागि विशिष्ट नियमहरू छन्, साथै विशेष परिस्थितिहरूका लागि पनि अतिरिक्त विशिष्ट नियमहरू छन्। तर, लापरवाह मानिसहरूले न त यी नियमहरूको खोजी गर्छन् न त तीबारे जान्ने प्रयास नै गर्छन्, तैपनि अझै पनि कसरी अघि बढ्ने भनी थाहा भएको दाबी गर्छन्। विवरणहरू प्रदान गर्न लगाउँदा समेत, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “यो त मण्डलीहरू स्थापना गर्नु मात्रै हो। एक निश्चित सङ्ख्यामा मानिसहरू भएपछि, स्थापना हुन्छ।” तर जब “यसलाई निश्चित रूपमा कसरी स्थापना गर्नुपर्छ?” भनेर सोधिन्छ, तब तिनीहरूलाई थाहा हुँदैन र तिनीहरूले विवरणहरू प्रदान गर्न सक्दैनन्। यदि तिनीहरू नयाँ अगुवा हुन् र तिनीहरूलाई अझै मण्डली कसरी स्थापना गर्ने भनी थाहा छैन भने, त्यो बुझ्न सकिन्छ। समस्या के हो भने तिनीहरूलाई थाहा हुँदैन तर तिनीहरू यसबारे गम्भीर पनि हुँदैनन्, र तिनीहरूले यसको अध्ययन पनि गर्दैनन्, र खोजी पनि गर्दैनन्। के यस्ता मानिसहरूले मण्डलीको काम राम्ररी गर्न सक्छन्? (सक्दैनन्।) यस्ता मानिसहरूका लागि, हामीसँग एउटा मात्रै शब्द छ—“छोडिहाल्!” तिनीहरू अगुवाइको कामका लागि योग्य हुँदैनन्। मानिसहरू समावेश हुने कामभन्दा अरू कुनै पनि काम जटिल हुँदैन। यदि तँसँग सतर्क र जिम्मेवार हृदयको कमी छ, र तेरो काम हचुवाको भरमा हुन्छ र सावधानीपूर्वक हुँदैन भने, तेरो क्षमता जतिसुकै राम्रो भए पनि, तँ अझै पनि त्यस भूमिकाका लागि योग्य हुनेछैनस्। धेरै लापरवाह हुनु, हरेक कुरा मोटामोटी रूपमा मात्रै गर्नु, रूपरेखामा मात्रै ध्यान केन्द्रित गर्नु, केवल औपचारिकता पूरा गर्नमा मात्रै ध्यान केन्द्रित गर्नु, विवरणहरूमा ध्यान केन्द्रित नगर्नु, कुराहरूलाई गम्भीरतापूर्वक लिन नजान्नु—यी सबैको अर्थ तँ अगुवा र कामदारहरूको कामका लागि बिलकुलै योग्य छैनस् भन्ने हुन्छ। बुझिस्? (बुझेँ।)