सत्यता कसरी पछ्याउने (३) भाग दुई
सामान्य मानवतामा जिउने मानिसहरू पनि धेरै शारीरिक जन्मजात प्रवृत्ति र शारीरिक आवश्यकताहरूद्वारा प्रतिबन्धित हुन्छन्। उदाहरणका लागि, कहिलेकहीँ मानिसहरू अत्यन्तै थकित वा बिरामी भएकाले र विश्राम लिनुपर्ने भएकाले आफ्नो कर्तव्य पूरा गर्नमा केही दिन ढिलाइ गर्न सक्छन्; कहिलेकहीँ, तनावपूर्ण वातावरणका कारण, तिनीहरूलाई डर लाग्न सक्छ अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नका लागि आफ्नो मन शान्त पार्न सक्दैनन्; वा तिनीहरूलाई प्रायजसो हृदयमा ऋणीपन र दुःखको अनुभूति हुन सक्छ किनभने, तिनीहरूको क्षमता र सक्षमता सीमित भएकाले, तिनीहरू निश्चित प्रकारको काम वा कर्तव्यमा दक्ष हुन सक्दैनन्—यी सबै सामान्य मानवताको दायराभित्र पर्ने सामान्य प्रकटीकरणहरू हुन्। कहिलेकहीँ मानिसहरू भावना र शारीरिक आवश्यकताहरूले बाँधिन सक्छन्, र कहिलेकहीँ तिनीहरू शारीरिक जन्मजात प्रवृत्तिका प्रतिबन्धहरू, वा समय र व्यक्तित्वका प्रतिबन्धहरूमा पर्न सक्छन्—यो सामान्य र प्राकृतिक कुरा हो। उदाहरणका लागि, कतिपय मानिसहरू सानैदेखि निकै अन्तर्मुखी हुन्छन्; तिनीहरूलाई कुरा गर्न मन पर्दैन र अरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। उमेरमा तीस-चालीस कटेको वयस्क अवस्थामा पनि, तिनीहरू अझै पनि यो व्यक्तित्वलाई जित्न सक्दैनन्: तिनीहरू अझै पनि बोल्नमा सिपालु हुँदैनन् वा शब्दहरू चलाउन सिपालु हुँदैनन्, न त तिनीहरू अरूसँग सङ्गत गर्नमा नै सिपालु हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यो व्यक्तित्वको विशेषताले निश्चित हदसम्म तिनीहरूको कामलाई सीमित र अवरोध गर्छ, र यसले प्रायजसो तिनीहरूलाई हैरान र निराश तुल्याउँछ, तिनीहरूलाई अत्यन्तै बन्धनमा परेको महसुस गराउँछ। अन्तर्मुखी हुनु र बोल्न नचाहनु सामान्य मानवताको प्रकटीकरणहरू हुन्। ती सामान्य मानवताका प्रकटीकरणहरू भएका हुनाले, के तिनलाई परमेश्वरप्रतिका अपराधहरू मानिन्छ? अहँ, ती अपराधहरू होइनन्, र परमेश्वरले तिनलाई सही रूपमा लिनुहुनेछ। तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ। त्यसकारण, सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, सामान्य मानवताको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानीबेहोरा, र जिउने शैली जस्ता आधारभूत अवस्थाहरूलाई आफूलाई प्रतिबन्धित गर्न नदे। अवश्य नै, यी आधारभूत अवस्थाहरूलाई जित्ने प्रयास गर्नमा आफ्नो ऊर्जा र समय पनि निवेश नगर्, न त तिनलाई परिवर्तन गर्ने प्रयास नै गर्। उदाहरणका लागि, यदि तेरो व्यक्तित्व अन्तर्मुखी छ, र तँलाई बोल्न मन पर्दैन, र तँ शब्दहरू चलाउन सिपालु छैनस्, र तँ मानिसहरूसँग सङ्गत गर्न र अन्तरक्रिया गर्न सिपालु छैनस् भने, यीमध्ये कुनै पनि कुरा समस्या होइन। बहिर्मुखीहरूलाई कुरा गर्न मन पर्ने भए पनि, तिनीहरूले भन्ने सबै कुरा उपयोगी वा सत्यता अनुरूप हुन्छ भन्ने हुँदैन, त्यसकारण अन्तर्मुखी हुनु समस्या होइन र तैँले यसलाई परिवर्तन गर्ने प्रयास गर्नु पर्दैन। तँ यसो भन्न सक्छस्, “यदि म साधारण अनुयायी भएको भए, ममा अन्तर्मुखी व्यक्तित्व हुनु समस्या हुनेथिएन; तर अहिले म अगुवा हुँ, त्यसकारण के मैले आफ्नो अन्तर्मुखी व्यक्तित्व परिवर्तन गर्नु पर्दैन र?” यदि तँ त्यसलाई साँच्चै नै परिवर्तन गर्न चाहन्छस् भने, तैँले अरूसँग कसरी सङ्गत गर्ने भनी सिक्न, वा तैँले कति कुरा बोल्छस्, कति वटा मामलाहरू सम्हाल्छस्, र तैँले दिनमा कति प्रकारका मानिसहरूको सामना गर्छस् भन्ने बारेमा नियम बनाउन सक्छस्। यदि तँसँग साँच्चै नै आफ्नो अन्तर्निहित व्यक्तित्व परिवर्तन गर्ने क्षमता छ भने, तैँले मण्डलीको काम गर्ने सन्दर्भमा यो नराम्रो कुरा हो भन्ने हुँदैन। तर, यदि तँ अन्तर्मुखी व्यक्तित्व लिएर जन्मेको थिइस् र तँ शब्दहरू चलाउन सिपालु छैनस्, र तँ घुलमिल हुनमा निपुण छैनस्, र तँलाई अरूसँग कसरी कुराकानी गर्ने वा अन्तरक्रिया गर्ने भन्ने थाहा छैन भने, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। कतिपय मानिसहरूको व्यक्तित्व अन्तर्मुखी हुन्छ, तिनीहरू अरूसँग अन्तरक्रिया गर्न वा कुराकानी गर्न इच्छुक हुँदैनन्, यसको साथै, तिनीहरूसँग भन्नका लागि त्यति धेरै कुरा हुँदैन। तिनीहरूलाई सधैँ उपयोगी कुरा बोल्नु मात्रै सही हो, र अनावश्यक कुराहरू बोल्नु पर्दैन भन्ने लाग्छ, त्यसकारण तिनीहरू धेरै कुरा भन्न इच्छुक हुँदैनन्। कतिपय मानिसहरूका हकमा, तिनीहरू अत्यन्तै युवा भएकाले र तिनीहरूसँग कुनै जीवन अनुभव नभएकाले र शब्दहरूको कमी भएकाले यस्तो भएको हुन सक्छ; अरूका हकमा, तिनीहरू उप्रान्त जवान नरहेका हुन सक्छन् र तिनीहरूसँग पहिले नै जीवनको अनुभव हुन सक्छ, तर तिनीहरूसँग अझै पनि यो अन्तर्मुखी व्यक्तित्व हुन सक्छ। यदि तँ यस्तो प्रकारको व्यक्तित्व परिवर्तन गर्ने प्रयास गर्छस् र यसलाई परिवर्तन गर्न सबै किसिमका शैलीहरू अपनाउँछस् भने, म तँलाई के भन्छु भने, तैँले आफ्नो सम्पूर्ण जीवनभरि पनि यसलाई कहिल्यै परिवर्तन गर्न सक्नेछैनस्, किनभने परमेश्वरले यस्तो प्रकारको काम गर्नुहुन्न। तेरो अनुहार वा रूप तेरो बुबा, आमा वा अरू कुनै आफन्तसँग मिल्दो भए पनि, यो रूप परिवर्तन हुनेछैन, र अझै बढी, तेरो व्यक्तित्व विशेष रूपमा परिवर्तन हुनेछैन। कतिपय मानिस भन्छन्, “अन्तर्मुखी व्यक्तित्व परिवर्तन गर्न गाह्रो हुन्छ, त्यसोभए के बहिर्मुखी व्यक्तित्व परिवर्तन गर्न सजिलो हुन्छ?” बहिर्मुखी व्यक्तित्वलाई परिवर्तन गर्न पनि उत्तिकै गाह्रो हुन्छ। बहिर्मुखीहरूलाई कुरा गर्न मन पर्छ र तिनीहरूले भन्न चाहने कुरा धेरै हुन्छन्; यदि तैँले तिनीहरूलाई नबोल्न वा कम बोल्न भनिस् भने, तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्, र यदि कसैले तिनीहरूलाई बोल्नबाट रोक्यो भने, यो तिनीहरूको ज्यान लिनु जस्तै हो। यदि कुनै अन्तर्मुखीलाई कुनै बहिर्मुखीसँग सङ्गत गराइयो भने, के तिनीहरूले एक-अर्कामा प्रभाव पार्नेछन्? सुरुमा तिनीहरूले एक-अर्कामा केही हदसम्म प्रभाव पार्छन् होला; इज्जतका खातिर, दुई जना मानिसहरू एक-अर्काप्रति लचिलो र सहनशील हुनेछन्, वा एक-अर्काप्रति धैर्य र समझदार हुनेछन्। तर समय बित्दै जाँदा, तिनीहरूले एक-अर्कालाई राम्ररी चिन्नेछन् र एक-अर्काको व्यक्तित्वबारे स्पष्ट धारणा प्राप्त गर्नेछन्, र एक-अर्काप्रति यति धैर्य र विचारशील व्यवहार गर्नुपर्ने कुनै आवश्यकता हुनेछैन, त्यसकारण तिनीहरू तुरुन्तै आफ्नो मूल स्थितिमा फर्केर आउनेछन्। यदि तँमा मूल रूपमै अन्तर्मुखी व्यक्तित्व थियो भने, अहिले तँ अझै पनि अन्तर्मुखी हुन्छस्; जब तैँले बोल्छस् र कुराकानी गर्छस्, तैँले केही शब्द वा वाक्यहरू मात्रै बोल्छस्, र तँसँग भन्न बाँकी केही हुँदैन। यदि कसैले “के तिमी बाहिर गयौ?” भनेर सोध्यो भने, तँ जवाफ दिन्छस्, “अँ गएँ।” त्यसपछि यदि उसले “तिमी कति खेर फर्केर आयौ?” भनेर सोध्यो भने, तँ जवाफ दिन्छस्, “अहिले भर्खरै।” तैँले के भयो भनेर भन्दैनस्, र त्यो व्यक्तिले के सुन्न चाहन्छ त्यो भन्दैनस्। यसको विपरीत, बहिर्मुखीहरूले मेशिन गनले जस्तै निरन्तर शब्दहरू निकाल्छन्, र तैँले तिनीहरूलाई हस्तक्षेप गरे पनि, केही समयपछि तिनीहरूले कुरा गर्न जारी राख्नेछन्। के व्यक्तिको व्यक्तित्व परिवर्तन गर्न सजिलो हुन्छ? (अहँ, हुँदैन।) यो हरेक सृजित मानवले जन्मजात रूपमा लिएर आउने कुरा हो। भ्रष्ट स्वभाव वा व्यक्तिको मानवताको सारसँग यसको कुनै सम्बन्ध हुँदैन; यो मानिसहरूले बाहिरी रूपमा देख्न सक्ने अस्तित्वको स्थिति, र व्यक्तिले मानिस, घटना, र कामकुराहरूलाई लिने तरिका मात्रै हो। कतिपय मानिसहरू आफूलाई व्यक्त गर्न सिपालु हुन्छन्, जबकि अरू सिपालु हुँदैनन्; कतिलाई कुराहरू वर्णन गर्न मन पर्छ, अरूलाई मन पर्दैन; कतिलाई आफ्ना विचारहरू आफैसँग राख्न मन पर्छ, जबकि अरूलाई आफ्ना विचारहरू भित्र राख्न मन पर्दैन, बरु सबैले सुन्न सकून् भनेर तिनलाई ठूलो स्वरमा व्यक्त गर्न चाहन्छन्, र त्यसपछि मात्रै तिनीहरू खुसी हुन्छन्। मानिसहरूले जीवन र मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने फरक-फरक तरिकाहरू यिनै हुन्; मानिसहरूको व्यक्तित्व यिनै हुन्। तेरो व्यक्तित्व तैँले जन्मँदा नै लिएर आएको कुरा हो। यदि तैँले धेरै प्रयास गरेपछि पनि यसलाई परिवर्तन गर्न सकेको छैनस् भने, म तँलाई के भन्छु भने, तैँले अब विश्राम लिन सक्छस्; आफूलाई त्यति थकाउनुपर्ने आवश्यकता नै छैन। यसलाई परिवर्तन गर्न सकिँदैन, त्यसकारण यसलाई परिवर्तन गर्ने प्रयास नगर्। तेरो मूल व्यक्तित्व जेसुकै भए पनि, त्यो तेरो व्यक्तित्व नै रहन्छ। मुक्ति प्राप्त गर्नका लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्; यो भ्रमपूर्ण विचार हो—तँमा जुनसुकै व्यक्तित्व भए पनि, त्यो वस्तुगत तथ्य हो, र तँ त्यसलाई परिवर्तन गर्न सक्दैनस्। यसका वस्तुगत कारणहरूका हिसाबमा भन्दा, परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने नतिजासँग तेरो व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा पनि तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। यसका साथै, तँ सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता भएको व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। त्यसकारण, तैँले निश्चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्वरले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तँ उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तँ मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्ने कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ। परमेश्वर यही कुरा हेर्नुहुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? (हो, हामीले बुझ्यौँ।)
जब कतिपय महिलाहरू कार्य गर्छन्, तब तिनीहरू कामकुरा हतारपतार गर्छन्, तिनीहरू बिजुली जस्तै छिटो र जीवन्त हुन्छन्, र तिनीहरूले तुरुन्तै र दृढ निर्णयहरू गर्छन्; तिनीहरूको व्यक्तित्व पनि पुरुषको जस्तै हुन्छ। आजभोलि तिनीहरूलाई व्याख्या गर्न के लोकप्रिय शब्द प्रयोग गरिन्छ? नर स्त्रीहरू। “नर स्त्रीहरू” ले उप्रान्त मानिसहरूले यी शब्दले उल्लेख गर्ने गरेका मूर्ख, बडेमानका, ठूला ज्यानका मानिसहरूलाई जनाउँदैन। यो अपमानजनक शब्द होइन; बरु, यो तारिफ गर्ने शब्द हो। तर परमेश्वरले यो तारिफको शब्दलाई कसरी लिनुहुन्छ? तँ बिजुली जस्तै छिटो र जीवन्त छस्, र आफ्ना कार्यमा साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छस्, तर तेरा अभ्यासका सिद्धान्तहरू र तेरा कार्यहरूका आधार के-के हुन्? के त्यो आधार सत्यता हो? के ती परमेश्वरका वचनहरू हुन्? मुख्य कुरा यही हो। यदि कुनै पुरुष आफ्नो व्यवहारमा सुस्त र अति सावधान छ भने, गैरविश्वासीहरूका शब्दहरूमा भन्दा, ऊ खुट्टा बाँधिएकी महिला जस्तै हो—कतिपयले ऊ “अलिक केटीजस्तो छ” भनेर अपमानजनक शब्द समेत प्रयोग गर्छन्—तर परमेश्वरले उसलाई कसरी हेर्नुहुन्छ? व्यक्ति बिजुली जस्तो छिटो र जीवन्त भए पनि र काम गर्ने क्रममा साहसी र सङ्कल्पवान् रूपमा निर्णायक भए पनि, वा उसले खुट्टा बाँधिएकी महिलाले जस्तो व्यवहार गरे पनि र आफ्नो व्यवहारमा अलिक केटीजस्तो भए पनि, के यीमध्ये कुनै पनि कुरा समस्याहरू हुन्? (होइनन्।) के बिजुली जस्तो छिटो र जीवन्त हुनु, र साहस र सङ्कल्पवान् रूपमा निर्णायक हुनु एउटा सबल पक्ष हो? (अहँ, यो सबल पक्ष नै हो भन्ने हुँदैन।) त्यसोभए के खुट्टा बाँधिएकी महिलाले जस्तो व्यवहार गर्नु कमजोरी हो? (यो पनि, त्यस्तै नै हो भन्ने हुँदैन।) “पुरुषार्थी महिलाहरू” र “अलिक केटीजस्तो” भन्ने दुई वटा शब्दहरूमध्ये एउटा सराहनीय र अर्को अपमानजनक भए पनि, यी दुई प्रकारका व्यवहार वा काम गर्ने तरिकाहरूको सारलाई तिनको शाब्दिक अर्थका आधारमा मूल्याङ्कन गर्नु हुँदैन। यसलाई मूल्याङ्कन गर्न के प्रयोग गर्नुपर्छ त? (व्यक्तिले अभ्यास गर्ने कुरा परमेश्वरको वचन हो कि होइन भन्ने तथ्य प्रयोग गर्नुपर्छ।) यसलाई मूल्याङ्कन गर्न तिनीहरूको कार्यको आधार, साथै तिनीहरूले हासिल गर्ने अभिप्राय राखेका प्रभावलाई प्रयोग गर्नुपर्छ। यदि तिनीहरूको कार्यको आधार परमेश्वरको वचन र सत्यता सिद्धान्तहरू हुन् भने, तिनीहरूले कुनै गल्ती गरिरहेका छैनन् भन्ने कुरा मूलतः ९० प्रतिशत निश्चित हुन्छ। यदि तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्ने मात्र होइन, तर यसको साथै, तिनीहरूले हासिल गर्ने अभिप्राय राखेका प्रभाव परमेश्वरको गवाही र परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्ने, र अझै धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार गर्ने प्रभाव हो भने, तिनीहरूले कुनै गल्ती गरिरहेका छैनन् भन्ने कुरामा हामी शतप्रतिशत निश्चित हुन सक्छौँ। तिनीहरू साहसी र सङ्कल्पवान् रूपमा निर्णायक भए पनि वा खुट्टा बाँधिएकी महिला जस्तो भए पनि—तिनीहरूले बाहिरी रूपमा व्यवहार गर्ने तरिकालाई ध्यान नदेऊ—त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा के हो भने सत्यता सिद्धान्तहरू तिनीहरूको कार्यको आधार हुन् कि होइनन्, र तिनीहरूको कार्यको उद्देश्य र तिनीहरूले आफ्नो कार्यद्वारा हासिल गर्ने अभिप्राय राखेका प्रभाव परमेश्वरको घरका हितहरू र मण्डलीको कामको संरक्षण गर्नु, र अझै धेरै मानिसको आत्मिक उन्नति गर्नु हो कि होइन भन्ने कुरा हो। त्यसोभए के तिनीहरूको व्यवहारले लिने रूप महत्त्वपूर्ण हुन्छ? (अहँ, हुँदैन।) तँ नर स्त्री भए पनि वा खुट्टा बाँधिएकी महिलाजस्तो भए पनि, परमेश्वर यो कुरालाई हेर्नुहुन्न; मानिसहरूलाई मूल्याङ्कन गर्न परमेश्वरले प्रयोग गर्नुहुने मानक यो होइन। त्यसकारण, यदि कुनै नर स्त्री महिला जस्तो देखिन्छे, र आफ्नो व्यवहारमा, ऊ बिजुली जस्तै छिटो र जीवन्त छे, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छे भने, के यो प्रशंसा र आदर गर्न लायक हुन्छ? (अहँ, हुँदैन।) के बिजुली जस्तो छिटो र जीवन्त हुनु, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक हुनु कामकुरा गर्ने सिद्धान्त हो? (होइन।) तँ चाहे पुरुष होस् वा महिला होस्, साहसी र सङ्कल्पवान् रूपमा निर्णायक हुनु र बिजुली जस्तो छिटो र जीवन्त हुनु कामकुरा गर्ने सिद्धान्त होइन। त्यसोभए, कामकुरा गर्ने सिद्धान्त के हो? (व्यक्तिले सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, र व्यक्तिले हासिल गर्ने अभिप्राय राखेको प्रभाव परमेश्वरको घरका हितहरूको संरक्षण गर्नु र अझै धेरै मानिसहरूको आत्मिक उन्नति गर्नु नै हुनुपर्छ—सिद्धान्त यही हो।) यो ठोस सिद्धान्त हो। यदि तैँले यो सिद्धान्त अनुसार काम गरिस् भने, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्; यदि तैँले यो सिद्धान्त अनुसार काम गरिनस् भने, मेरा नजरमा, तँ साहसी र सङ्कल्पवान् रूपमा निर्णायक, बिजुली जस्तो छिटो र जीवन्त बन्नुलाई सबैभन्दा राम्ररी परिभाषित गर्ने अभिव्यक्ति भनेको “खराब कुराहरू गर्दै दङ्गा गर्नु” भन्ने हुन्छ। खराब कुराहरू गर्दै दङ्गा गर्नु भनेको सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु होइन भन्ने कुरा स्पष्टै छ; तँ आफ्नो व्यवहारमा निर्णायक र हिचकिचाहटरहित जस्तो, र अगुवा वा राजाको भाव देखाएजस्तो देखिए पनि, वास्तवमा तैँले खराब कुराहरू गर्दै दङ्गा गरिरहेको हुन्छस्। दङ्गा गर्नु र खराब कुराहरू गर्नुका परिणामहरू के-के हुन्? यसले अवरोध र बाधाहरू ल्याउँछ, र मण्डलीको काममा हानि गर्छ। त्यसोभए, के परमेश्वरले यसलाई याद गर्नुहुनेछ? (गर्नुहुनेछैन।) परमेश्वरले यो कुरा याद नगर्नुहुने मात्र होइन, उहाँले यसलाई दोषी पनि ठहराउनुहुनेछ। त्यसकारण, तैँले तँ नर स्त्री होस्, र तेरो व्यवहारमा तँ बिजुली जस्तो छिटो र जीवन्त छस्, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छस् भनेर भन्छस्, तर के त्यो उपयोगी हुन्छ? (अहँ, हुँदैन।) सत्यता खोजी गर्नु र सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुलाई मात्रै साँचो क्षमता भन्न सकिन्छ; यो मात्रै सत्यता अभ्यास गर्नु र सत्यता पछ्याउनु हो, र सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्ने कुरा यही मात्रै हो। मानौँ तँ यसो भन्छस्, “यो केवल मेरो व्यक्तित्व हो र यो परिवर्तन हुन सक्दैन, त्यसकारण मैले के गर्ने?” एउटा सजिलो समाधान छ। तँ चाहे फुर्तिलो व्यक्ति होस् वा तेरो मिजास सुस्त छ भन्ने कुरा समस्या होइन; यसद्वारा बन्धनमा नपर्। तैँले सिद्धान्तहरू अनुसार काम गर्न चाहने हुनाले तैँले कामकुरा गर्ने आफ्नो विधि परिवर्तन गर्न मेहनत गर्नु पनि पर्दैन। तेरो विधि जेसुकै भए पनि, यदि तेरा कार्यहरूको आधार सत्यता सिद्धान्तहरू हुन्, र तैँले हासिल गर्ने प्रभाव परमेश्वरको गवाही, परमेश्वरका हितहरू, र परमेश्वरको घरको कामको प्रतिरक्षा गर्ने कार्य हो भने, यी असल कार्यहरू हुन्, र परमेश्वरले तिनलाई याद गर्नुहुनेछ। यसको विपरीत, चाहे तँ बाहिरी रूपमा खुट्टा बाँधिएकी महिला जस्तो कायर र हिचकिचाउने होस्, वा अगुवा वा राजाजस्तो बिजुलीझैँ तीव्र र जीवन्त होस्—तेरा कार्यहरूको बाहिरी रूप जेसुकै भए पनि—यदि तँ सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनस् भने, तैँले अवरोध र बाधाहरू ल्याइरहेको हुन्छस्, र यी दुष्ट कार्यहरू हुन्, र तिनलाई परमेश्वरले दोषी ठहराउनुहुनेछ, र परमेश्वरले तिनलाई याद गर्नुहुनेछैन। कुनै व्यक्ति असल छ कि दुष्ट छ भनेर मूल्याङ्कन गर्ने सिद्धान्त यही हो। बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, अहिले हामीले यी कुराहरूका बारेमा सङ्गति गरेर सकाएकाले, के तिमीहरूले परमेश्वरको कामका सन्दर्भमा मानिसहरूमा के-कस्ता धारणा र कल्पनाहरू हुन्छन् भन्ने बारेमा केही बुझाइ प्राप्त गरेका छौ? (छौँ।) अब तिमीहरूले ती कुरा बुझेका हुनाले, के तिमीहरूलाई मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा तिनीहरूमा देखा पर्ने केही विचलनहरू थाहा भयो? के तिमीहरूले कसरी अभ्यास गर्नुपर्छ भन्ने बारेमा पनि तिमीहरू स्पष्ट भयौ? (हजुर, हामी स्पष्ट भयौँ।)
एक हिसाबमा, मानिसहरूका धारणा र कल्पनाहरू बुझ्नुको उद्देश्य, मानिसहरूलाई यी धारणा र कल्पनाहरूअनुसार जिउन र गलत जीवनको मार्गमा हिँड्नबाट रोक्नु हो। अर्को हिसाबमा, यो मानिसहरूले यी धारणा र कल्पनाहरू त्याग्दै गर्दा, तिनीहरूलाई सामान्य मानवतामा जिउन र सहजता र हर्षका साथ तिनीहरूका जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न, र तिनीहरूले गर्न नसक्ने कुराहरू गर्न तिनीहरूलाई जबरजस्ती नगर्न सहयोग गर्नु हो। यदि तैँले हासिल गर्न सक्ने र गर्नुपर्ने कुनै कुरा छ भने, त्यसलाई पूरा गर्न सक्दो मेहनत गर्; यदि कुनै कुरा तेरो क्षमता र सक्षमताभन्दा बाहिर छ भने, तँसँग सहकार्य गर्नका लागि कसैलाई खोज् वा अरू दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग माग्, र आफ्नो सक्षमताअनुसार सक्दो गर्—सिद्धान्तहरू यिनै हुन्। सारांशमा भन्दा, यस मामलाबारे मानिसहरूले के बुझ्नुपर्छ भने, परमेश्वरले काम गर्नुहुने अवधिमा, हरेकको मानवता विकृत, अलौकिक, वा असामान्य बन्नुको सट्टा, परमेश्वरका वचनहरू स्वीकार गर्ने प्रक्रियामा, र तिनीहरूको मानवताको अन्तर्निहित आधारभूत अवस्थाहरूको दायराभित्र, त्यो बिस्तारै राम्रो दिशामा विकास भइरहेको हुन्छ। त्यसकारण, यदि तैँले पूरा गर्ने कर्तव्यमा प्राविधिक वा पेसागत सीप समावेश छ भने, त्यो कर्तव्य राम्ररी पूरा गर्नका लागि, तैँले त्यो प्राविधिक वा पेसागत सीप लगनशीलताको साथ सिक्न र त्यसको गहन अनुसन्धान गर्न मेहनत गर्नुपर्छ। तैँले आफै सीप सिक्न मेहनत नगरी “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र हामीले उहाँलाई प्रार्थना मात्र गर्यौँ भने मानिसहरूले गर्न नसक्ने जुनसुकै कुरा परमेश्वरले हासिल गर्न सक्नुहुन्छ” भन्ने जस्ता विचार र दृष्टिकोणहरूका आधारमा र अलौकिक कुराहरूका बारेमा रहेका कल्पनाहरूका आधारमा परमेश्वरले कार्य गर्नुहुन्छ भनेर अन्धाधुन्ध प्रतीक्षा गर्नु हुँदैन। तैँले आफ्नो क्षमताले हासिल गर्न सक्ने कुराको दायराभित्र पर्ने कुरा गर्न आफ्नो सारा हृदय, सारा सामर्थ्य, र सारा मन लगाउनुपर्छ, र आफ्नो क्षमता र सक्षमताबाहिरको कुराका हकमा भन्दा, आफ्ना लागि कामकुराहरू कठिन नबना, आफूलाई कुनै पनि बन्धनमा पार्ने, बोझ दिने, वा दबाब दिने नगर्, बरु आफूसँग सहज व्यवहार गर्। उदाहरणका लागि, कम्प्युटरको सीप सिक्ने कार्यलाई लिऊँ। मानौँ तँ पाको भइरहेको छस्, र तेरो उमेर, क्षमता, र तेरा वर्तमान अवस्थाहरूका आधारमा, टाइप गर्न सिक्नु नै तेरा लागि निकै उपलब्धिको कुरा भइसकेको हुन्छ। यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न र अनलाइनमा काम गर्न पनि सिक्न सकिस् भने, त्यो त पहिले नै निकै राम्रो कुरा हो। तर, तँ कहिल्यै सन्तुष्ट हुँदैनस् र तँसँग अझै बढीको कामना हुन्छ—तँ कसरी प्रोग्रामहरू लेख्ने र नेटवर्क सुरक्षित राख्ने भनेर सिक्न, र नेटवर्क इन्जिनियर र उच्च प्रविधि कर्मचारीहरूले मात्रै गर्न सक्ने केही काम गर्न चाहन्छस्। के त्यो मूर्खता होइन र? (हो।) तैँले यी कुराहरू बुझ्न सक्दैनस्, त्यसकारण तँ नकारात्मक बन्छस् र परमेश्वरबारे गुनासो गर्छस्: “हे परमेश्वर, मैले किन यी कुराहरू बुझ्न सक्दिनँ? तपाईंले मलाई किन यस्तो क्षमता दिनुभयो? म यति बूढो छु—तपाईं किन मलाई फेरि जवान बनाउन सक्नुहुन्न? के परमेश्वर सर्वशक्तिमान् हुनुहुन्न र?” तैँले त्यस्ता विचारहरू राख्नु र त्यस्ता मागहरू गर्नु गलत कुरा हो। “आफ्नो शक्तिले जे भ्याउँछ त्यही गर्नु, र आफ्नो क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिलाई ननाघ्नु” भन्नुको अर्थ के हो? तेरो क्षमता र सक्षमताले तँलाई जे हासिल गर्न दिन्छ, परमेश्वरले तँबाट त्यही माग गर्नुहुन्छ। परमेश्वरले तेरो क्षमताभन्दा बाहिर भएको कुनै पनि कुरा तँबाट माग गर्नुहुन्न, र तैँले आफूबाट पनि यो माग गर्नु पर्दैन। यदि तँ कुनै कुरा गर्न सक्दैनस् भने, गर्न सक्ने अरू हुन्छन्; यो काम गर्ने तँ नै हुनुपर्छ भनेर परमेश्वरले माग गर्नुहुन्न। तँ भन्छस्, “म वृद्ध छु—मलाई भिडियोहरू कसरी अपलोड गर्ने भन्ने थाहा छैन, मलाई नेटवर्क कसरी सुरक्षित राख्ने भन्ने पनि थाहा छैन, र मलाई प्रोग्रामहरू कसरी लेख्ने भन्ने थाहा हुनु त परको कुरा हो,” तैपनि तैँले यी कुराहरू सिक्न जिद्दी गर्छस्—के तैँले परमेश्वरको घरलाई यो काम गर्न तेरो आवश्यकता छ कि छैन भनेर सोधेको छस्? के तैँले आफ्नै काम उचित रूपमा गरेको छस्? के तैँले तेरो क्षमताले तँलाई हासिल गर्न दिने काम उचित रूपमा गरेको छस्? यदि तैँले त्यो उचित रूपमा गरेको छैनस्, र तँ अझै पनि आफ्नो पहुँचभन्दा बाहिर र तेरो बोधभन्दा बाहिरका कुराहरू, र तैँले आफ्नो सम्पूर्ण जीवनकालमा कहिल्यै सिक्न नसक्ने कुराहरू गर्ने प्रयास गर्न जिद कस्छस् भने, तँलाई तैँले आफैविरुद्ध सङ्घर्ष गरिरहेको छस् भन्ने लाग्छ, कि परमेश्वरविरुद्ध सङ्घर्ष गरिरहेको छस् भन्ने लाग्छ? के यो अत्यन्तै समस्याजनक कुरा होइन र? (हो।) तँ सधैँ आफूलाई जित्न र महामानव बन्न चाहन्छस्, तर परमेश्वरले तँबाट त्यसो गर्ने माग गर्नुभएको छैन। तँ महामानव बन्न चाहनुको एउटै मात्र कारण हुन सक्छ, जुन के हो भने, तँ धाक लगाउन चाहन्छस् र तैँले हार स्वीकार गर्दैनस् वा तँ वृद्ध अवस्थालाई स्विकार्दैनस्। तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका खातिर कष्ट सहेको र मूल्य चुकाएको हुँदैनस्; तैँले आफूलाई शिष्ट तरिकाले आचरणमा ढाल्ने र आफ्नो उचित स्थानमा दृढ रहने सिद्धान्त अनुसार आफ्नो कर्तव्य पूरा गरिरहेको हुँदैनस्। तँ आफ्नो क्षमता र सक्षमताहरूलाई चुनौती दिएर तँ वृद्ध छैनस् भन्ने कुरा प्रमाणित गर्न चाहन्छस्। तँ यसो सोच्छस्, “म अझै पनि यो गर्न सक्छु। म अरू जत्तिकै सिपालु छु, अरूले जे गर्न सक्छन् म पनि त्यो गर्न सक्छु!” के यो अर्थपूर्ण छ? (छैन।) यो अर्थपूर्ण छैन। तैँले लगाइरहेको यो सबै मेहनत व्यर्थ र बेकामको हुन्छ। यदि तैँले आफ्ना अवस्थाहरूले हासिल गर्न दिने कुरा उचित रूपमा गर्न आफ्नो सारा हृदय, सारा मन, र सारा सामर्थ्य लगाइस् भने, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। आफूलाई चुनौती नदे, न त आफ्नो सीमालाई बढाउने प्रयास नै गर्। तेरा क्षमता र सक्षमताहरू कस्ता छन् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ। परमेश्वरले तँलाई दिनुभएका क्षमता र सक्षमताहरू उहाँले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सधैँ यी कुराहरूलाई जित्न चाहनु भनेको अहङ्कारी हुनु र आफूलाई बढी आँक्नु हो; यो समस्या निम्त्याउनु हो र यो अपरिहार्य रूपमा नै असफलतामा परिणत हुनेछ। के त्यस्ता मानिसहरूले आफ्नो उचित कार्यलाई बेवास्ता गरिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले नियम पालना गर्ने तरिकाले आफूलाई आचरणमा ढालिरहेका हुँदैनन्, र तिनीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि आफ्नो उचित स्थानमा अडिग रहिरहेका हुँदैनन्—तिनीहरूले आफ्नो व्यवहारमा यी सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्, बरु सधैँ धाक लगाउने प्रयास गरिरहेका हुन्छन्। दुई भागको एउटा भनाइ छ: “बुढी आइमाईले लाली लगाई—तँलाई देखाउनलाई।” “बुढी आइमाई” ले कुन उद्देश्यका लागि यसो गर्छे? (आफूलाई प्रदर्शन गर्न।) बुढी आइमाईले तँलाई देखाउन चाहन्छे: “म, बुढी आइमाई, साधारण व्यक्ति होइनँ—म तिमीलाई एउटा विशेष कुरा देखाउनेछु।” ऊ हेयको दृष्टिले हेरिन चाहँदिन, बरु ऊ उच्च आदर र सम्मान पाउन चाहन्छे; उसले आफ्ना सीमाहरूलाई चुनौती दिन र आफूलाई जित्न चाहन्छे। के यो अहङ्कारी प्रकृति हुनु होइन र? (हो।) यदि तँमा अहङ्कारी प्रकृति छ भने, तँ आफ्नो सीमाभित्र बस्दैनस्, तँ आफ्नो स्थान अनुरूपको आचरण प्रस्तुत गर्न चाहँदैनस्। तँ सधैँ आफूलाई चुनौती दिन चाहन्छस्। अरूले जे गर्न सक्छन्, तँ पनि त्यसो गर्न सक्न चाहन्छस्। जब अरूले आफूलाई उत्कृष्ट देखाउने, नतिजाहरू हासिल गर्ने, वा योगदान दिने, र सबैको प्रशंसा प्राप्त गर्ने कुराहरू गर्छन्, तब तँलाई असहज, डाहा, र असन्तुष्टि लाग्छ। त्यसपछि तँ आफूलाई चम्काउने किसिमका काम वहन गर्नका लागि, आफ्नो वर्तमान कामहरूलाई त्याग्न चाहन्छस्, उच्च आदर पाउने कामना गर्छस्। तर तँ आफूलाई विशिष्ट देखाउने काम गर्न सक्दैनस्, त्यसकारण के यो समयको बरबादी होइन र? के यो आफ्नो उचित कार्यहरूलाई बेवास्ता गर्नु होइन र? (हो।) उचित कार्यहरूलाई बेवास्ता नगर्, किनभने तिनलाई बेवास्ता गर्दा परिणाम असल हुनेछैन। यसले कामकुरामा ढिलाइ र समय बरबाद गर्नेछ, जसले गर्दा अरूले तँलाई हेयको दृष्टिले हेर्ने मात्र छैनन्, तर यसले गर्दा परमेश्वरले पनि तँलाई घृणा गर्नुहुनेछ, र अन्त्यमा, तैँले आफूलाई निकै नकारात्मक बन्नेगरी यातना दिनेछस्। व्यक्तिको उमेर जतिसुकै भए पनि—ऊ जवान भए पनि, अधबैँसे भए पनि वा वृद्ध भए पनि—उसको क्षमता र प्रतिभाका हिसाबमा उसका सीमाहरू हुन्छन्; कोही पनि सिद्ध हुँदैन। सिद्ध व्यक्ति बन्ने कुरा बिर्सिदे, सबै कुरा कसरी गर्ने भनी जान्ने, सबै कुरा गर्न सक्ने बन्ने, र सबै कुरा बुझ्न सक्ने बन्ने कुरा बिर्सिदे—तँमा यस्तो प्रकारको स्वभाव छ भने यो समस्याजनक कुरा हो।
परमेश्वरको कामभित्र, उहाँले कुनै पनि विषय वा कुनै पनि प्रकारको समस्याबारे सबै प्रकारका मानिसहरूसामु बोल्नुहुँदा, उहाँ किन फरक-फरक स्थिति र परिस्थितिहरूलाई सम्बोधन गर्दै एउटै कुराबारेमा बारम्बार कुरा गर्नुहुन्छ? आत्मिक बुझाइ नभएका मानिसहरू सोच्छन्, “यसरी बोल्दा अत्यन्तै विस्तृत र लामो हुन्छ; हामीले बुझिसकेका छौँ।” तैँले बुझिसकेको हुन सक्छस्, तर अरूले नबुझेका हुन सक्छन्; अनि तैँले बुझे पनि, के तँ विभिन्न स्थितिहरूका समस्याहरू समाधान गर्न सक्छस्? यदि सक्दैनस् भने, यसको अर्थ तैँले अझै पनि पूर्ण रूपमा बुझेको छैनस्, त्यसकारण बुझेको नाटक नगर्। मानिसहरूको स्थिति सबै फरक-फरक हुन्छ। हरेक प्रकारको व्यक्तिका सबै स्थितिहरूका बारेमा कुरा गरिएपछि मात्रै, र सबै किसिमका विभिन्न स्थितिहरूलाई समेटिसकेपछि मात्रै—अर्थात्, निश्चित ठूलो समस्याभित्र पर्ने सबै प्रकारका मानिसहरूको स्थितिहरूका बारेमा छलफल गरिएपछि, र सबैले सत्यताको यो पक्ष बुझेपछि मात्रै—यस समस्यालाई स्पष्ट रूपमा व्याख्या गरिएको हुन्छ। मैले यसो भन्नुको अर्थ के हो? सबैले आफ्ना अवस्थाहरूमा जिउँदै गर्दा फरक-फरक समस्याहरू विकास गर्छन्; सबैका समस्याहरू फरक-फरक हुन्छन्, र सबैको व्यक्तित्व, सबल पक्षहरू, र तिनीहरू सिपालु रहेका कुराहरू पनि फरक-फरक हुन्छन्। त्यसकारण, सबैको आ-आफ्नै व्यक्तिगत अवस्था, आ-आफ्नै कठिनाइहरू, र आ-आफ्नै फरक-फरक विचार र दृष्टिकोणहरू हुन्छन्। तर, मानिसहरूको आ-आफ्नो अवस्था जति नै फरक भए पनि, र तिनीहरूको सक्षमता, क्षमता, दृष्टिकोणको उचाइ, व्यक्तित्व, र बानीबेहोरा जति नै फरक भए पनि, मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सार उही हुन्छ। अर्थात्, मानिसहरूको मानवताका विभिन्न अवस्थाहरू जति नै फरक भए पनि, मानिसहरूमा उही आम विशेषताहरू हुन्छन्। मानवमा किन एउटै आम विशेषताहरू हुन्छन्? किनभने मानवहरू बाँच्नका लागि निर्भर रहने स्वभाव सार उही हुन्छ। त्यसकारण, सबै प्रकारका मानिसहरूको स्थिति र समस्याहरू खुलासा भएपछि, मानिसहरूले गर्नुपर्ने कुरा भनेको परमेश्वरले माग गर्नुभएको सत्यता र सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो, त्यसपछि मानवजातिका आम समस्याहरू समाधान हुनेछन्। तेरो व्यक्तित्व वा क्षमता जस्तोसुकै भए पनि, तँ जति नै सक्षम भए पनि, र तँ पुरुष भए पनि वा महिला भए पनि, अथवा तँ पश्चिममा जन्मे पनि वा पूर्वमा जन्मे पनि, वा तँ दक्षिण वा उत्तरबाट भए पनि, यदि सत्यता स्वीकार गरेर, परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गरेर, र सत्यता अभ्यास गरेर तेरा भ्रष्ट स्वभावहरू समाधान हुन्छन् भने, तेरा कठिनाइहरू अवश्यै समाधान हुनेछन्। यसको अर्थ मानवहरूका आम समस्याहरूको सन्दर्भमा मानिसहरूमा पैदा हुने सबै किसिमका विभिन्न स्थितिहरू पनि समाधान गर्न सकिन्छ। मानिसहरूमा किन विभिन्न स्थितिहरू देखा पर्छन्? किनभने हरेक व्यक्तिसँग हुने मानवताको अन्तर्निहित अवस्थाहरू फरक-फरक हुन्छन्। उदाहरणका लागि, यदि तँ दक्षिणमा बस्छस्, र तँसँग दक्षिणवासीहरूका केही जिउने बानीबेहोरा र शैलीहरू छन्, र तैँले विशिष्ट रूपमा दक्षिणका मानिसहरूमा हुने केही व्यक्तित्व र जीवनशैलीका विशेषताहरू पनि विकास गर्छस् भने, यस्तो पृष्ठभूमिका साथ, तैँले केही निश्चित धारणा र कल्पनाहरू, निश्चित विचार र दृष्टिकोणहरू, र निश्चित स्थितिहरू विकास गर्नेछस्। यदि तँ उत्तरमा जन्मेको भए, तँसँग उत्तरवासीहरूको व्यक्तित्व र जिउने बानीबेहोराहरू, वा उत्तरवासीहरूका चलन, सांस्कृतिक पृष्ठभूमि, शिक्षाका विधिहरू, र तिनीहरूका अरू त्यस्ता अन्तर्निहित कुराहरूबाट पैदा हुने केही स्थितिहरू हुनेथिए। यसरी, दक्षिण र उत्तरमा बस्ने मानिसहरूमा पैदा हुने स्थितिहरू फरक हुन्छन्। तर, एउटै समस्याबाट पैदा हुने स्थितिहरूको जड र सार उही हुन्छ, त्यसकारण ती सबैलाई एउटै सत्यताद्वारा समाधान गर्न सकिन्छ। यस्तो अवस्थामा, तँ चाहे उत्तरको होस् वा दक्षिणको होस्, वा पूर्वको होस् वा पश्चिमको होस् त्यसले केही फरक पार्दैन; तँ सृजित मानव भएसम्म, तेरा सबै समस्याहरूलाई सत्यताद्वारा समाधान गर्न सकिन्छ। बुझिस्? के यो समस्या जटिल छ? (अब मैले यसको व्याख्या सुनेपछि, मलाई यो उप्रान्त जटिल छैन जस्तो लाग्छ।) यो समस्या जटिल छैन भनेर तँ किन भन्छस्? (मानिसहरूका आ-आफ्ना अवस्था, पृष्ठभूमि, र व्यक्तित्व फरक भए पनि, र यसले स्वाभाविक रूपमा नै फरक-फरक स्थितिहरू पैदा गरे पनि, यी फरक-फरक स्थितिहरूको जड उही हुन्छ, र मानिसहरूको भ्रष्ट सार उही हुन्छ। मानिसहरूले जति धेरै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यसलाई उही सत्यताहरूले समाधान गर्न सकिन्छ; त्यसकारण, सत्यताहरूले हरेक व्यक्तिका समस्याहरू समाधान गर्न सक्छन्।) मानिसहरू दक्षिण, उत्तर, पूर्व, वा पश्चिम जहाँका भए पनि, तिनीहरू पुरुष भए पनि वा महिला भए पनि, जवान भए पनि वा वृद्ध भए पनि, र तिनीहरूका आ-आफ्ना अवस्थाहरू जस्तोसुकै भए पनि, तिनीहरूको भ्रष्ट स्वभाव उही हुन्छ, र यी भ्रष्ट स्वभावहरूले पैदा गर्ने विभिन्न स्थिति, विचार र दृष्टिकोण, र सत्यताप्रतिका मनोवृत्तिहरूको साझा विशेषता हुन्छ। यो साझा विशेषता के हो? यी भ्रष्ट स्वभावहरूबाट पैदा हुने सबै कुरा शैतानका हुन्छन् र सत्यताअनुरूप हुँदैनन्; अवश्य नै, अझै निर्दिष्ट रूपमा भन्दा, यी सत्यताविपरीत हुन्छन् भनेर भन्न सकिन्छ। त्यसकारण, भ्रष्ट मानवजातिका जाति, धर्म, वा संस्कृतिका बीचमा जस्तोसुकै भिन्नता भए पनि, र मानिसहरूको छाला चाहे पहेँलो, सेतो, खैरो, वा कालो भए पनि, तिनीहरू सबै भ्रष्ट मानव हुन्, र सबै मानवहरूमा परमेश्वरको प्रतिरोध गर्ने एउटै सार हुन्छ। तिनीहरूबीच रहेको साझा कुरा यही हो। त्यसकारण, मानिसहरू जुनसुकै देशका भए पनि वा तिनीहरू जुनसुकै जातिका भए पनि, तिनीहरूलाई सामूहिक रूपमा भ्रष्ट मानव भनेर भनिन्छ। अर्थात्, यी जातिका मानिसहरू आफ्नो छालाको रङ, रूप, जीवनका बानीबेहोरा, वा जातीय संस्कृतिका हिसाबमा श्रेष्ठ भए पनि वा निम्न भए पनि, गरिब भए पनि वा धनी भए पनि, र तिनीहरूले जस्तोसुकै शिक्षा प्राप्त गरे पनि, जे भए पनि, तिनीहरू आफ्नो अस्तित्वका लागि निर्भर रहने नियमहरू शैतानबाट आएका हुन्छन्, ती सत्यताअनुरूप हुँदैनन्, र ती परमेश्वरप्रतिरोधी हुन्छन्। मानिसहरू उच्च धार्मिक पृष्ठभूमि भएको सम्पन्न, कुलीन जातिका भए पनि, तिनीहरूको सार अझै पनि भ्रष्ट मानवहरूको सार हुन्छ, तिनीहरू अझै पनि परमेश्वरको प्रतिरोध गर्ने शैतानकै कोटिका हुन्छन्, तिनीहरू अझै पनि भ्रष्ट मानिसहरू नै हुन्छन्, तिनीहरू सबै परमेश्वरप्रतिरोधी हुन्छन्, तिनीहरू सबै परमेश्वरको कामभित्र न्याय र सजाय गरिने मानिसहरू हुन्, र तिनीहरूमध्ये सत्यता स्वीकार गर्न सक्ने मानिसहरू परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएका मानिसहरू नै हुन्छन्। यसको तात्पर्य के हो? के हो भने तँलाई मुक्ति दिइनु भन्दा पहिले, तेरो सांस्कृतिक पृष्ठभूमि, शैक्षिक पृष्ठभूमि, र धार्मिक पृष्ठभूमि जति नै उच्च भए पनि, तेरो सार अझै पनि परमेश्वरप्रतिरोधी र परमेश्वरप्रति शत्रुवत् नै हुन्छ। त्यसकारण, मानवहरूको छालाको रङ, धर्म, जन्म भएको देश, वा तिनीहरूको शैक्षिक पृष्ठभूमि वा सांस्कृतिक पृष्ठभूमिका कारण तिनीहरूको सार परिवर्तन हुनेछैन। त्यसरी नै, व्यक्ति जुनसुकै जातिको भए पनि, ऊ आफ्नै अवस्थाहरूका कारण परमेश्वरको नजरमा कुलीन वा नीच बन्नेछैन। त्यसोभए परमेश्वरका नजरमा, मानिसहरू कुलीन छन् कि नीच छन् भनेर मूल्याङ्कन गर्ने मानक के हो? एउटै मात्र मानक छ, र त्यो तैँले सत्यता स्वीकार गर्छस् कि गर्दैनस् भन्ने हो। यदि तँ सत्यतालाई स्वीकार गर्छस् भने, तेरो जाति वा छालाको रङ जस्तोसुकै भए पनि, तँ कुलीन होस्। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, तैँले “मेरो गोरो छाला छ, खैरो कपाल छ, र नीलो आँखा छ, र मेरो परिवार पुस्तौँदेखि राजकीय खानदानको रहिआएको छ,” भनेर भने पनि, त्यसको कुनै काम हुँदैन! तँ मानवजातिको बीचमा कुलीन भए पनि, यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, परमेश्वरका नजरमा तँ अझै पनि भ्रष्ट मानव होस्, तँ अरू कुनै पनि भ्रष्ट मानवसरह होस्—कुनै भिन्नता छैन। मानवजातिका जति धेरै सदस्यहरूले तँलाई उच्च माने पनि, सम्मान गरे पनि, र तँलाई भेटीहरू चढाए पनि, यसको कुनै काम हुँदैन र यसले परमेश्वरका नजरमा तेरो हैसियत, पहिचान, र सार परिवर्तन गर्नेछैन। मानवजातिलाई मूल्याङ्कन गर्ने परमेश्वरको मानक—जुन अवश्य नै परमेश्वरले मानवजातिलाई मूल्याङ्कन गर्ने स्थायी मानक र उच्च मानदण्ड पनि हो—त्यो तिनीहरूलाई सत्यताद्वारा मूल्याङ्कन गर्नु हो। यदि तँ सत्यतालाई प्रेम गर्छस् र सत्यता अभ्यास गर्छस् भने, तँ कुलीन होस्; यदि तँ सत्यता अभ्यास गर्दैनस् भने, तेरो यो पुरानो देह भ्रष्ट मानव हो; यो एक पैसाको पनि लायक छैन, र यो भुईँको कमिला जत्तिको मूल्यवान् समेत छैन। मानिसहरूले देख्न नसक्ने सूक्ष्मजीवहरू बाहेक, सबै जीवित प्राणीहरूमध्ये कमिलाहरू तुलनात्मक रूपमा साना हुन्छन्। तिनीहरूको जिउने शैली, अस्तित्वका नियमहरू, र जन्मजात प्रवृत्तिले परमेश्वरले खडा गर्नुभएका व्यवस्थाहरूलाई पूर्ण रूपमा पालन गर्छन्। तिनीहरूको काम र विश्रामको तालिका मौसम र चार ऋतुको तापक्रमको फेरबदलअनुसार परिवर्तन हुन्छ, र तिनीहरूले यी शैली र नियमहरू कहिल्यै सक्रिय रूपमा परिवर्तन गर्नेछैनन्। तर मानिसहरू फरक हुन्छन्। मानिसहरू सधैँ यथास्थिति र संसारलाई परिवर्तन गर्न चाहन्छन्, तिनीहरूसँग सधैँ महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरू निरन्तर धोका र विद्रोहमा संलग्न हुन्छन्। कमिलाहरूसँग सत्यता स्वीकार गर्ने सामर्थ्य नभए पनि, अनि तिनीहरूसँग सत्यता बुझ्ने क्षमता नभए पनि, कम्तीमा पनि तिनीहरू परमेश्वरको प्रतिरोध गर्दैनन्। मानिसहरू फरक हुन्छन्; तिनीहरू सक्रिय रूपमा परमेश्वरलाई आक्रमण गर्न र प्रतिरोध गर्न अघि आउनेछन्। त्यसकारण, परमेश्वरको नजरमा, सत्यता प्राप्त नगरेका र मुक्ति नपाएका मानवहरूको कुनै मूल्य हुँदैन। के यो तथ्य होइन र? (हो।) यो तथ्यका आधारमा मानिसहरूलाई मूल्याङ्कन गर्ने र चित्रण गर्ने कार्य पूर्ण रूपमा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यी समस्याहरूको सङ्गतिमार्फत, मानिसहरूले मानवजातिको सार र परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राख्ने प्रभावबारे सही दृष्टिकोण र बुझाइ प्राप्त गर्नुपर्छ। तैँले सत्यताको यो पक्ष बुझेपछि, के तँ मानिसहरूलाई सुसमाचार प्रचार गर्दा वा तिनीहरूसँग सङ्गत गर्दा र सङ्गति गर्दा, तिनीहरू जुनसुकै प्रकारका व्यक्ति भए पनि—तिनीहरूको धार्मिक पृष्ठभूमि भए पनि वा नभए पनि, समाजमा तिनीहरूको स्थान र हैसियत भए पनि वा सामाजिक हैसियत कमजोर भए पनि, र तिनीहरू गोरा भए पनि वा अश्वेत भए पनि, तँ कम बाँधिने छैनस् र? (हो।) यदि तँ यी सत्यताहरू बुझ्दैनस् भने, तँसँग सधैँ अरू जातिका मानिसहरूलाई उच्च मान्ने प्रवृत्ति हुन्छ, वा तैँले तिनीहरूलाई बुझ्न सक्दैनस् भन्ने महसुस गर्नेछस्, र तिनीहरूसँग कसरी सङ्गति गर्ने वा अन्तरक्रिया गर्ने भन्ने तँलाई थाहा हुनेछैन। के यी सत्यताहरू बुझ्दा यसले तिमीहरूलाई ती मानिसहरूसँग सङ्गत गर्न सहयोग गर्दैन र? यसले तिमीहरूलाई सम्पूर्ण मानवजातिलाई सही अडान र सही दृष्टिकोणबाट हेर्न सहयोग गर्नेछ। सत्यता बुझ्नुको फाइदा यही हो। जब तैँले सत्यता बुझ्छस्, तब कामकुराहरूप्रतिको तेरो दृष्टिकोण सही हुनेछ र त्यो तुलनात्मक रूपमा उदार पनि हुनेछ, र त्यति सङ्कुचित किसिमको हुनेछैन। नत्र भने, तँमा अगुवा वा कामदारका रूपमा सधैँ आत्मविश्वासको कमी हुनेछ। पहिलो, तँलाई तँसँग जीवन अनुभवको कमी छ भन्ने महसुस हुनेछ। दोस्रो, तँलाई तैँले पर्याप्त अनुभव प्राप्त गरेको छैनस् भन्ने महसुस हुनेछ। तेस्रो, तँलाई तँ बोल्न सिपालु छैनस् र तैँले धेरैजसो मानिसहरूको स्थिति छर्लङ्ग देख्न सक्दैनस् भन्ने लाग्नेछ; विशेष गरी, जब तैँले पाको मानिसहरू देख्छस्, तब तँ डराउनेछस् र नर्भस हुनेछस्, र तैँले बोल्ने आँट गर्नेछैनस्। कतिपय मानिसहरू भन्छन्, “विशेष गरी जब म लामो समयदेखि धर्ममा विश्वास गर्नेहरूसँग बाइबलको केही ज्ञान छ भन्ने देख्छु, तब तिनीहरूलाई कसरी सुसमाचार प्रचार गर्ने भन्ने मलाई थाहा हुँदैन, र मलाई डर लाग्छ र मलाई तिनीहरूभन्दा निकृष्ट महसुस हुन्छ।” तैँले धेरै सत्यता बुझेको छस्, त्यसकारण तँलाई केको डर लाग्छ? के यो मामलाहरूलाई छर्लङ्ग देख्न नसक्नु होइन र? मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूले यी मामला र समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ, र तिनीहरू उप्रान्त यी कुराहरूको बन्धनमा रहनुहुँदैन।
आज हामीले सङ्गति गरेका विषयहरूबाट तिमीहरूले सत्यताका के-के पक्षहरू बुझेका छौ? के तिमीहरू परमेश्वरको काम, र परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ, मानिसहरूलाई मुक्ति दिने परमेश्वरका विधिहरू, र परमेश्वरले परिवर्तन गर्नुहुने मानिसहरूका पक्षहरूका बारेमा स्पष्ट छौ? (छौँ।) अब तिमीहरूलाई यी कुराहरू स्पष्ट भएको हुनाले, के तिमीहरूलाई सत्यता अभ्यास गर्नु र सबै कुरालाई सत्यताद्वारा मूल्याङ्कन गर्नुको महत्त्व अझै बढी महसुस भएन र? (भयो।) के तिमीहरूलाई सत्यता पछ्याउनु र बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्ने अझै बढी लाग्दैन र? यदि कसैले सत्यता बुझेको छैन भने, उसले कुनै पनि मामलालाई छर्लङ्ग देख्न सक्दैन, उसले सबै प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, र उसले सबै देश र जातिका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, त्यसकारण ऊ मूर्ख, पटमूर्ख हुन्छ। जब कतिपय व्यक्तिहरूले चश्मा लगाउने मानिसहरू देख्छन्, तब तिनीहरूले तिनीहरू प्राध्यापक वा बुद्धिजीवीहरू हुन् भन्ने अनुमान गर्छन्, र त्यसकारण तिनीहरूलाई बाँधिएको महसुस हुन्छ र तिनीहरू बोल्ने आँट गर्दैनन्, र जब पनि तिनीहरूले अग्ला र सुन्दर मानिसहरू देख्छन्, तिनीहरूलाई आफू उनीहरूभन्दा निकृष्ट भएको महसुस हुन्छ। सत्यता बुझेपछि, के मानिसहरूलाई यी कुराहरूले मूलतः प्रभाव नै नपर्ने हुनेछैन र? एक हिसाबमा, तिनीहरूले आफूलाई बाँध्नेछैनन्; अर्को हिसाबमा, तिनीहरूले मानिसहरू र कामकुराहरूलाई सम्हाल्ने सन्दर्भमा, आफ्नो मनोवृत्ति र दृष्टिकोणलाई निश्चित हदसम्म सुधार गर्नेछन्, र तिनीहरूसँग यस विषयमा केही अन्तर्ज्ञान पनि हुनेछ। यो तिनीहरूको कर्तव्यनिर्वाहका लागि फाइदाजनक हुनेछ, विशेष गरी सबै तहका अगुवा र कामदारहरूले निर्वाह गर्ने कामको कुरा आउँदा।