सत्यता कसरी पछ्याउने (२४) भाग एक
पछिल्लो पटक, हामीले “सत्यता कसरी पछ्याउने” अन्तर्गत “त्याग्नु” भन्ने बृहत् विषयअन्तर्गत पर्ने आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने विषयवस्तुका बारेमा सङ्गति गरेका थियौँ। यो विषयवस्तु देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरूसँग सम्बन्धित छ। हामीले कुन-कुन पक्षहरूका बारेमा सङ्गति गर्यौँ? (पछिल्लो पटक, परमेश्वरले मुख्य रूपमा देहधारी परमेश्वरबारेका हाम्रा केही धारणा र कल्पनाहरूका बारेमा सङ्गति गर्नुभयो र तिनलाई खुलासा गर्नुभयो, र परमेश्वरले हाम्रा लागि अभ्यासका दुई वटा सिद्धान्तहरूका बारेमा पनि सङ्गति गर्नुभयो: एउटा देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु भन्ने बारेमा थियो, र अर्को देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसँग एउटै स्तरमा नराख्नु भन्ने बारेमा थियो।) देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरूलाई समाधान गर्नका लागि, मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा भनेका पछिल्लो सङ्गतिमा उल्लेख गरिएका यी दुई वटा सिद्धान्तहरू नै हुन्। पहिलो के थियो? (देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु।) अनि दोस्रो के थियो? (देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसँग एउटै स्तरमा नराख्नु।) मुख्य रूपमा यी नै दुई वटा थिए। पछिल्लो पटक, मैले पहिलो सिद्धान्त, अर्थात् देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु भन्ने बारेमा सङ्गति गरेँ र मानिसहरूले देख्न सक्ने र तिनीहरूले अझै नबुझेका देहधारी परमेश्वरको जीवनसम्बन्धी विषयहरूका बारेमा सङ्क्षेपमा परिचय दिएँ। आज, म देहधारी परमेश्वरसम्बन्धी विषयमा सङ्गति गर्ने कार्यलाई जारी राख्नेछु। म जति धेरै सङ्गति गर्छु, मानिसहरूले त्यति नै धेरै बुझ्नेछन्; म जति धेरै सङ्गति गर्छु, तिनीहरूको बुझाइ त्यति नै गहन हुनेछ। म देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताबारे जति धेरै सङ्गति गर्छु, मानिसहरूले त्यति नै धेरै बुझ्नेछन्—तिनीहरूको हृदयमा अझ धेरै स्पष्टता हुनेछ, र तिनीहरूका धारणा र कल्पनाहरू घट्ने मात्र होइन, तिनीहरूमा देहधारी परमेश्वरबारे एक हदसम्म अझ धेरै र अझ व्यावहारिक बुझाइ हुनेछ। तिनीहरूले देहधारी परमेश्वरको व्यावहारिक पक्षको बारेमा, वा मानिसहरूले देख्न र सम्पर्कमा आउन सक्ने उहाँका पक्षहरूका बारेमा अझ धेरै बुझ्न सक्नेछन्, र तिनीहरूको ज्ञान अझ बढी सही र व्यावहारिक हुनेछ। यसरी, मानिसहरूले वास्तविकतासँग नमिल्ने किसिमका स्वर्गमा हुनुहुने परमेश्वरबारेका आफ्ना केही धारणा र कल्पनाहरूलाई त्याग्नेछन्। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरबारेका आफ्ना धारणा र कल्पनाहरूलाई जति धेरै त्याग्छन्, र तिनीहरूले देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यतालाई जति धेरै चिन्छन् र बोध गर्छन्, मानिसहरू र परमेश्वरबीचको सम्बन्ध त्यति नै सामान्य बन्नेछ। देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्ने बारेको एउटा बुँदा के हो भने तँसँग देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यताको बुझाइ हुनैपर्छ। तैँले देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यतालाई जति धेरै बुझ्छस्, तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई त्यति नै धेरै बुझ्नेछस्, र तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई तेरा धारणा र कल्पनाहरूले मापन गर्नेछैनस्। अवश्य नै, वस्तुगत दृष्टिकोणबाट हेर्दा, अर्को कुरा पनि हुनेछ: परमेश्वरप्रति तँसँग सही मनोवृत्ति हुनेछ, देहधारी परमेश्वरले उहाँको मानवतामा प्रकट गर्नुभएका विभिन्न प्रकटीकरणहरूप्रति तँसँग वस्तुगत दृष्टिकोण हुनेछ, साथै तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई अझ बढी सही र व्यावहारिक रूपमा चिन्नेछस्। यसले तँलाई देहधारी परमेश्वरबारे सधैँ वास्तविकतासँग नमिल्ने धारणा र कल्पनाहरू राख्नबाट रोक्छ, र यसले तँलाई देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग सधैँ तुलना गर्नबाट पनि रोक्छ। परमेश्वरको देहधारी शरीर—अर्थात्, ख्रीष्ट—का बारेमा छलफल गर्दा, प्रायजसो उठाइने एउटा खास विषय हुन्छ: देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, अनि दीनता र गुप्तता। मानिसहरूले प्रायजसो उहाँको सामान्यता र व्यावहारिकताका बारेमा कुरा गर्छन्, र तिनीहरूले प्रायजसो उहाँको दीनता र गुप्तताका बारेमा पनि कुरा गर्छन्; तर, जब यससँग सम्बन्धित व्यावहारिक समस्याहरूको कुरा आउँछ, तब सबै मानिसहरूमा स्पष्टताको कमी हुन्छ भनेर भन्न सकिन्छ। परमेश्वरको सामान्यता र व्यावहारिकता भनेको ठ्याक्कै के हो त? उहाँको दीनता र गुप्तता भनेको के हो? अर्थात्, जब मानिसहरूको हृदयमा देहधारी परमेश्वरको सामान्यता, व्यावहारिकता, दीनता, र गुप्तता ठ्याक्कै के हुन्, साथै यी कुराहरूलाई कसरी बुझ्ने र चिन्ने भन्ने कुरा आउँछ, तब मानिसहरू यस सन्दर्भमा सत्यता वा सारबारे स्पष्ट हुँदैनन्, र तिनीहरूले यी कुराहरूलाई कुनै प्रकारको सिद्धान्त वा आत्मिक शब्दावली जस्तै गरी प्रचार मात्रै गर्छन्। त्यसकारण, हामीले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, अनि दीनता र गुप्तताको यस विषयमा विस्तृत र व्यवस्थित रूपमा सङ्गति गर्नुको ठूलो आवश्यकता छ। यस्तो सङ्गतिद्वारा, विशेष पहिचान भएको यस मानिसको पुत्र, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको जियाइ के हो भन्ने कुरामा मानिसहरू स्पष्ट हुनेछन्।
तिमीहरूको शाब्दिक बुझाइको हिसाबमा, वा तिमीहरूका धारणा र कल्पनाहरूले भ्याएसम्म, तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका बारेमा के कुराहरू बोध गर्न सक्छौ? देहधारी परमेश्वरको सम्पर्कमा आएको, उहाँसँग अन्तरक्रिया गरेको, वा कुरा गरेको यतिका वर्षमा, तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका सम्बन्धमा ठ्याक्कै के महसुस गरेका छौ र के कुरा थाहा पाएका छौ? यसअघि सङ्गति गरिएका अधिकांश विषयहरू भ्रष्ट मानवजातिका समस्याहरूबारे थिए। अर्थात्, हामीले तिमीहरूमा भएका विभिन्न समस्याहरूका बारेमा सङ्गति गर्यौँ, जसमा भ्रष्ट स्वभावहरू, परमेश्वरको सेवा गर्ने कुरा, र कर्तव्य निर्वाह गर्ने कुरा, साथै मानवता, क्षमता, मानिसहरूका धारणा र कल्पनाहरू, र परमेश्वरप्रतिको मनोवृत्ति र दृष्टिकोणहरूसँग सम्बन्धित छन्—हामीले यी सबैका बारेमा कुरा गर्यौँ। मैले यति धेरै वर्षसम्म सत्यता प्रचार गरेको छु र प्रवचनहरू दिएको छु, र ती सबै तिमीहरूका समस्याहरूबारे नै रहेका छन्। यस पटक, हामीले अन्ततः तिमीहरूका समस्याहरूका बारेमा कुरा गरिरहेका छैनौँ, बरु देहधारी परमेश्वरसँग सम्बन्धित केही कुराहरूका बारेमा कुरा गरिरहेका छौँ, र यसले हामीलाई फरक दृष्टिकोणबाट कुराहरूलाई हेर्न सक्षम बनाउँछ। के तिमीहरूलाई यो विषय निकै सहज भएको, कुनै पनि बोझबाट निकै मुक्त भएको, र त्यति अप्ठ्यारो नभएको जस्तो लाग्दैन र? (लाग्छ।) त्यसोभए, जब देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता वा नम्रता र गुप्तताको कुरा आउँछ, तब तिमीहरूले देख्न, बोध गर्न, वा बुझ्न सक्ने कुराहरू के-के हुन्? तिमीहरूले सिद्धान्तहरू वा तथ्यहरूका बारेमा बोल्न सक्छौ; जे भए पनि हुन्छ। तिमीहरूले जवाफ दिन सकिरहेका छैनौ—त्यसोभए, के तिमीहरूको मनमा सामान्यतया परमेश्वरको देहधारी शरीरबारे कुनै विचारहरू हुँदैनन्? कुनै ज्ञान नै हुँदैन? अनि कुनै भावना नै हुँदैन? तिमीहरूसँग केही त हुनैपर्छ, होइन र? कहिलेकाहीँ यो क्षणिक विचार हुन सक्छ, कहिलेकाहीँ यो तैँले केही बेर सोच्ने कुरा हुन सक्छ, र कहिलेकाहीँ यो तेरो हृदयमा परेको गहिरो प्रभाव हुन सक्छ। यदि यो क्षणिक विचार हो भने, तैँले यो कुरालाई याद नगर्न सक्छस्; वा कहिलेकाहीँ तेरो अवचेतन मनमा कुनै निश्चित विचार वा दृष्टिकोण आउन सक्छ, र तैँले त्यसलाई पनि याद नगर्न सक्छस्। तर कहिलेकाहीँ तँमा देहधारी परमेश्वरको एउटा निश्चित छाप बस्छ, र यो छापले गर्दा तैँले एउटा दृष्टिकोण विकास गर्छस्। यो छाप तेरो मनमा लामो समयसम्म रहिरहनेछ। तैँले यसलाई पक्कै पनि याद गर्न सक्नेछस्। तेरो मन खाली त हुनु हुँदैन, होइन र? त्यसैले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, वा दीनता र गुप्तताको बारेमा रहेको तिमीहरूको बुझाइबारे कुरा गर। (परमेश्वर, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको बारेमा मेरो बुझाइ के हो भने उहाँमा पनि देहका सामान्य आवश्यकताहरू छन्। उदाहरणका लागि, जब ख्रीष्टले लामो समयसम्म बोल्नुहुन्छ, तब उहाँलाई तिर्खा लाग्छ र उहाँले पानी पिउनुपर्ने हुन्छ। जब उहाँले हामीसँग भेलाहरूमा तीन-चार घण्टासम्म सङ्गति गर्नुहुन्छ, तब उहाँ पनि थाक्नुहुन्छ र उहाँले विश्राम गर्नुपर्ने हुन्छ। जब उहाँ लामो समयसम्म हिँड्नुहुन्छ, तब उहाँले पनि विश्राम लिनुपर्ने हुन्छ। अर्थात्, बाहिरी रूपमा हेर्दा, ख्रीष्ट सामान्य व्यक्ति जस्तै हुनुहुन्छ, र उहाँमा सामान्य मानवताका सम्पूर्ण भावना पनि हुन्छन्: जब उहाँले आनन्ददायी कुराहरू सुन्नुहुन्छ, तब उहाँले खुसी महसुस गर्नुहुन्छ, र जब उहाँले दुःखदायी कुराहरू सुन्नुहुन्छ, तब दुःखी महसुस गर्नुहुन्छ। यी पनि देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू नै हुन्।) तिमीहरूले केही तथ्यहरू बताएका छौ। यी तिमीहरूले देखेका कुराहरू हुन्, र तिमीहरूले सम्पर्कमा आउन र महसुस गर्न सक्ने कुराहरू पनि हुन्। अरू केही छ? (परमेश्वर, म एउटा कुरा थप्छु: मैले पहिले के सुनेको थिएँ भने जब तपाईंले केही पेशागत कामका लागि निर्देशन दिनुहुन्छ, तब तपाईंले पनि केही विशेष ज्ञान सिक्नुपर्छ र बुझ्नुपर्छ।) के यो तिमीहरू सबैले सुनेको कुरा हो? जब मैले केही पेशागत कामका लागि निर्देशन दिन्छु, तब मैले पनि गएर व्यावहारिक रूपमा यसबारे सिक्नुपर्छ, र केही सान्दर्भिक पेशागत ज्ञान बुझ्नुपर्छ र म त्यसमा निपुण हुनुपर्छ—के धेरैजसो मानिसहरूले प्राप्त गरेको जानकारी यही हो? के तिमीहरू सबैले यही सोच्छौ? (सोच्दैनौँ। उदाहरणका लागि, जब तपाईंले चलचित्र निर्माण समूहको कामलाई निर्देशन दिनुहुन्छ, तैँले कामसँग परिचित हुनका लागि कहिलेकाहीँ केही चलचित्र र टिभी कार्यक्रमहरू मात्रै हेर्छस्; तपाईंले यसबारे सिक्न वा अनुसन्धान गर्नका लागि विशेष रूपमा समय छुट्याउनुहुन्न।) यो कुरालाई स्पष्ट पार्न आवश्यक छ। मसँग स्रोतहरू खोज्ने वा कुनै पनि प्रकारको पेशागत ज्ञान सिक्ने ऊर्जा साँच्चै नै छैन। कुरा के मात्रै हो भने मैले केही चलचित्रहरू हेरेको छु, त्यसकारण ती सामान्यतया कस्ता हुनुपर्छ भन्नेबारे ममा अलिकति छाप छ; त्यसमाथि, दाजुभाइ-दिदीबहिनीहरूले प्रदान गरेका केही सान्दर्भिक पेशागत ज्ञानका आधारमा, म त्यसपछि सान्दर्भिक सिद्धान्तहरू पत्ता लगाउँछु र निकाल्छु, र पेशागत कामका लागि केही निर्देशन प्रदान गर्छु। यहाँको अत्यावश्यक कुरा भनेको सिद्धान्तहरू गहिरिएर बुझ्नु, र सिद्धान्तहरूका आधारमा तिनलाई निर्देशन दिनु हो। काम गर्नेहरूका कठिनाइहरू के हुन् भने, एकातिर, तिनीहरूको पेशागत ज्ञान व्यापक हुँदैन, र अर्कोतिर, तिनीहरूले सत्यता सिद्धान्तहरू गहिरिएर बुझ्दैनन्, साथै तिनीहरूको क्षमता कमजोर हुन्छ। त्यसकारण, मैले तिनीहरूलाई सिद्धान्तहरू बुझेको आधारमा केही हदसम्म मार्गदर्शन दिँदा, तिनीहरू आफैले काम गर्दा भन्दा राम्रा परिणामहरू आउँछन्। म परमेश्वरका वचनहरू प्रसार गर्ने, परमेश्वरको गवाही दिने, परमेश्वरलाई लज्जित नपार्ने, र मानिसहरूलाई परमेश्वरको कामको बारेमा अझ धेरै सिक्न र सत्यता अझ धेरै बुझ्न सक्षम तुल्याउने सिद्धान्तका आधारमा यसो गर्छु, र यसले निश्चित परिणामहरू ल्याएको छ। खास पेशागत सीपहरूको हिसाबमा भने, मसँग लगभग कुनै पनि सीप छैन। पहिलो कुरा त, मसँग त्यो विशेष ज्ञान नै छैन, न त मैले तिमीहरूले भनेजस्तै विशेष रूपमा यसबारे सिक्ने प्रयास नै गरेको छु। मैले जस्तोसुकै पेशागत कामलाई मार्गदर्शन गरे पनि, मैले कहिल्यै यसबारे सिक्ने प्रयास गरेको छैन, न त मैले शैक्षिक सामग्रीहरू, स्रोतहरू, वा सान्दर्भिक पेशागत ज्ञान नै खोजेको छु। बढीमा, दाजुभाइ-दिदीबहिनीहरूले केही सान्दर्भिक शैक्षिक सामग्रीहरू वा नमुनाहरू खोजेर मलाई देखाउँछन्, र म यिनीहरूबाट केही सान्दर्भिक सिद्धान्तहरू, र त्यस पेसाका लागि काम गर्ने केही तरिकाहरू निकाल्छु, र यिनैका आधारमा तिनीहरूको कामका बारेमा निर्देशन दिन्छु।
यस पक्ष, अर्थात् देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको सम्बन्धमा, मानिसहरूले उहाँको देहका नैसर्गिक प्रवृत्तिहरूद्वारा प्रदर्शित केही सामान्यता र व्यावहारिकता देखेका छन्। यसमा मानव नैसर्गिक प्रवृत्तिहरू, साथै देहका विभिन्न जन्मजात अवस्थाहरूका केही प्रकटीकरण र सीमितता समावेश छन्; यो यी शब्दहरूको साँचो अर्थमा सामान्यता र व्यावहारिकता हो। चाहे यो उहाँले बाहिरी रूपमा प्रकट गर्ने कुरा होस्, वा उहाँका भित्री विचार र दृष्टिकोणहरू होऊन्, वा उहाँको मानवताको आत्मआचरणका भित्री सिद्धान्तहरू होऊन्—छोटकरीमा, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको सबैभन्दा सरल र आधारभूत बुझाइ के हो भने उहाँ असाधारण, पारलौकिक वा असामान्य हुनुहुन्न। अर्थात्, देहधारी परमेश्वरको बाहिरी रूपबाट, तँ साधारण मानिसहरूका भन्दा फरक कुनै विशेष प्रकटीकरणहरू देख्न सक्दैनस्। यदि उहाँ केही बोल्नुहुन्न वा गर्नुहुन्न भने, उहाँको अनुहारको बनावट, उहाँको शारीरिक रूप र समग्रमा उहाँको व्यक्तित्वलाई मात्रै हेर्दा, तँ कुनै असामान्य कुरा देख्न सक्दैनस्। उहाँ असाधारण, पारलौकिक वा असामान्य हुनुहुन्न; उहाँ साधारण व्यक्ति मात्र हुनुहुन्छ। सही रूपमा वा वस्तुगत रूपमा भन्दा, यदि यो व्यक्ति भीडमा छ र ऊ बोल्दैन, काम गर्दैन वा सत्यता व्यक्त गर्दैन भने, तँ यो व्यक्ति अरू कोहीभन्दा कसरी फरक छ भनेर छुट्ट्याउन सक्दैनस्। उदाहरणका लागि, यदि म तिमीहरूमाझ बसिरहेको छु र कुनै अपरिचित व्यक्ति भित्र आयो भने, उसले म तिमीहरूजस्तै देखिन्छु भन्ने देख्नेछ। म सम्मानको सिटमा बस्दिनँ, न त म विशिष्ट नै देखिन्छु। मेरो रूप साधारण छ; म असाधारण छैनँ, अग्लो छैनँ र म कुनै प्रकारको महान् व्यक्तित्वजस्तो देखिँदिनँ—म साधारण व्यक्ति मात्रै हुँ। त्यसैले तिनीहरूले देहधारी परमेश्वर को हुनुहुन्छ भनेर ठम्याउन सक्नेछैनन्। यदि म मानिसहरूको समूहसँगै बसेँ भने, तैँले त्यतिखेर पनि ममा कुनै फरक कुरा देख्न सक्नेछैनस्। तँलाई के मात्रै थाहा हुन्छ भने, यी देहधारी परमेश्वर महिला हुनुहुन्छ, तर तैँले मेरा प्रवचनहरू धेरै नसुनेसम्म, नाङ्गो आँखाले देहधारी परमेश्वर को हुनुहुन्छ भनेर छुट्ट्याउन सक्नेछैनस्, जुन अवस्थामा तैँले सायद मेरो आवाजबाटै छुट्ट्याउन सक्छस्। यदि कसैको आवाज मेरोसँग मिल्दोजुल्दो छ भने, कतिपय मानिसले गल्ती समेत गर्न सक्छन् र उनी नै देहधारी परमेश्वर हुन् भन्ने मानिलिन सक्छन्। के यस्ता कुराहरू हुन्छन्? यस्तो पक्कै भएको छ। कतिपय व्यक्ति पारलौकिक र असाधारण देखिन्छन्, तिनीहरूमा विशेष रूपमा आभा र शैली हुन्छ अनि तिनीहरू निकै कुलीन, हैसियत र निश्चित प्रतिष्ठा भएका व्यक्तिजस्तै देखिन्छन्। देहधारी परमेश्वरलाई भेट्न विशेष रूपमा चाहने कतिपय मूर्ख ब्रदर-सिस्टर वा मानिसले गल्तीले त्यस्तो व्यक्तिलाई देहधारी परमेश्वर ठान्नेछन् र उनीसामु निहुरिने र घुँडा टेक्नेसमेत गर्नेछन्। जसको अघि निहुरिएको हो, उनलाई भित्रभित्रै निकै आनन्द लाग्छ र उनी यसलाई मौन रूपमा स्वीकारसमेत गर्छिन्। जब उनी जान लाग्छिन्, तब निहुरिने र घुँडा टेक्ने ती मूर्ख मानिसहरू आँसुसमेत झार्छन् र उनीसँग छुट्टिन अनिच्छुक हुन्छन्; तिनीहरू यसो भन्दै उनको लुगा तान्छन् र उनलाई जान दिँदैनन्, “तपाईँ फेरि कहिले आउनुहुन्छ? हामीलाई तपाईँको याद आउनेछ!” तिनीहरू निकै उत्साहका साथ यसोसमेत भन्छन्, “मैले अन्ततः देहधारी परमेश्वरलाई भेटेँ। मलाई यस जीवनमा कुनै पछुतो छैन। म मरेँ भने पनि, मेरो जीवन सार्थक भएको हुनेछ!” जसको अघि निहुरिएको हो, उनी परिस्थितिलाई पटक्कै स्पष्ट पार्दिनन्। के तिमीहरूले यस्ता कुराहरू सुनेका छौ? (छौँ।) यस प्रकारको कुरा विदेशमा हुने सम्भावना हुँदैन। किन यो मुख्यभूमि चीनमा भयो? किनभने देहधारी परमेश्वरले चीनमा देखा परेर काम गर्नुभयो, उहाँमा निश्चित रूपले चिनियाँ व्यक्तिको रूप छ, त्यसैले मुख्यभूमि चीनमा यस्तो कुरा भयो। हामी यस मामिलामा संलग्न दुई पक्ष सही छन् कि गलत छन् भन्ने कुराबारे चर्चा गर्नेछैनौँ। यस समस्याको हकमा भन्दा, मानिसहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतालाई जसरी बुझे पनि, आफ्ना धारणाहरूअनुसार, मानिसहरू देहधारी परमेश्वरको उच्च स्वरूप, प्रतिष्ठित रूप, र अझ त्योभन्दा बढी प्रतिष्ठित पहिचान हुनुपर्छ भन्ने विश्वास गर्छन्—उहाँको बाहिरी रूप र बोल्ने शैली पनि अद्वितीय हुनुपर्छ, जसले गर्दा उहाँलाई हेर्ने सबैले अलिकति पनि शङ्काविना उहाँ परमेश्वरजस्तै हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने महसुस गरुन्। यदि उहाँ मानिसहरूलाई साधारण देखिनुहुन्छ, र तिनीहरूले उहाँमा परमेश्वरको आभा वा परमेश्वरको स्वरूप देख्न सक्दैनन् भने, उहाँ परमेश्वर हुनु असम्भव छ। मानिसहरू देहधारी परमेश्वर निश्चित रूपले विशेष गरी अग्लो, महान्, र आभायुक्त हुनुहुन्छ, अनि विशेष गरी राजसी पहिचान भएको व्यक्ति जस्तो देखिनुहुन्छ भन्ने विश्वास गर्छन्—उहाँ हिँड्दा, सिधा ठाडो भएर हिँड्नुपर्छ, उहाँका आँखाहरू तेजिला र तीक्ष्ण हुनुपर्छ अनि उहाँको हेराइ विशेष रूपमा तेज हुनुपर्छ; उहाँले कसैलाई हेरेर मात्रै ऊ के सोचिरहेको छ भनेर तुरुन्तै जान्न सक्नुपर्छ र उहाँले कसले शत्रुता वा खराब विचारहरू पाल्छ भनेर एक झलकमै बताउन सक्नुपर्छ। मानिसहरूमा भएका यी विचारहरूले एउटा निश्चित घटनालाई प्रतिबिम्बित गर्छन्: मानिसहरूमा देहधारी परमेश्वरबारे यति धेरै कल्पना हुन्छन्। तर वास्तवमा, देहधारी परमेश्वर मानिसहरूका धारणा र कल्पनाहरूको परमेश्वरजस्तो हुनुहुन्न; एउटा भिन्नता छ। देहधारी परमेश्वरको बाहिरी रूप निकै साधारण छ। उहाँ पटक्कै अग्लो हुनुहुन्न, पटक्कै पारलौकिक हुनुहुन्न र पटक्कै अलौकिक हुनुहुन्न; उहाँमा कुनै विशेष कुरा छैन भनेर समेत भन्न सकिन्छ। बाहिरी रूपमा, उहाँ सबै सृजित मानवहरूभन्दा लगभग फरक हुनुहुन्न। अर्थात्, उहाँ मानवहरूमा हुने विभिन्न कार्यहरू, साथै मानवहरूका नैसर्गिक प्रवृत्ति, सामान्य सोचाइ र विभिन्न क्षमताका सन्दर्भमा परमेश्वरले सृष्टि गरेका मानवहरूसँग लगभग ठ्याक्कै समान हुनुहुन्छ। यी त मानिसहरूले नाङ्गो आँखाले सिधै देख्न सक्ने र तिनीहरू सम्पर्कमा आउन सक्ने अनि मानिसहरूले बोध गर्न र बुझ्न सक्ने बाहिरी कुराहरू हुन्। यी बाहिरी कुराहरू देख्न र बुझ्न मानिसहरूलाई सजिलो हुन्छ, त्यसैले ती हाम्रो सङ्गतिको केन्द्रबिन्दु हुनेछैनन्। देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता अनि उहाँको दीनता र गुप्तता हाम्रो सङ्गतिको केन्द्रबिन्दु हुन्।
चाहे त्यो उहाँको सामान्यता र व्यावहारिकता होस्, वा उहाँको दीनता र गुप्तता होस्, मानिसहरूले देहधारी परमेश्वरबारे बुझ्नुपर्ने कुराको हकमा भन्दा, यसमा मानिसहरूको हृदयमा पटक्कै नहुने सोच वा चिन्ने तरिकाहरू हुन्छन्; यी सोचहरू तिनीहरूका धारणा र कल्पनाहरूभित्र समेत अस्तित्वमा हुँदैनन्। यो कुरा देहधारी परमेश्वर कसरी मानिसहरूमाझ जिउनुहुन्छ, र उहाँ कसरी मानवजातिको वास्तविक जीवनको वातावरणमा जिउनुहुन्छ भन्नेसँग सम्बन्धित छ, उहाँ कसरी आफ्नो जीवन चलाउनुहुन्छ अनि उहाँ कसरी मानिसहरूमाझ बोल्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने कुराहरूसँग सम्बन्धित छ। यो देहधारी परमेश्वरको सारसम्बन्धी विषयहरूसँग सम्बन्धित छ, र यी विषयहरू सङ्गति गर्न लायक हुन्छन्। यी पक्षहरू मानिसहरूले देख्न नसक्ने वा मानिसहरूलाई बुझ्न एकदमै गाह्रो हुने कुराहरू पनि हुन् अनि अवश्य नै, ती मानिसहरूको ज्ञानभित्र वा देहधारी परमेश्वरबारेका तिनीहरूका धारणा र कल्पनाहरूभित्र अस्तित्वमा नहुने कुराहरू पनि हुन्। अर्थात्, देहधारी परमेश्वरबारे मानिसहरूको ज्ञान, बुझाइ र कल्पनाहरू आधारभूत रूपमा देहधारी परमेश्वरको जीवन र अस्तित्वको वास्तविकताबाट विच्छेद भएका हुन्छन्। फलस्वरूप, देहधारी परमेश्वरको सारसम्बन्धी मानिसहरूको धेरै ज्ञान अव्यावहारिक र अवस्तुगत हुन्छ अनि यसमा वास्तविकताअनुरूप नहुने केही धारणा र कल्पनासमेत हुन्छन्। देहधारी परमेश्वर मानिसहरूमाझ र यस भौतिक संसारमा जिउनुहुन्छ; उहाँको सामान्यता र व्यावहारिकता उहाँको जीवनमा, साथै उहाँको अस्तित्वको प्रक्रियामा प्रतिबिम्बित हुन्छन्। उहाँको जीवन र उहाँको अस्तित्वको प्रक्रियामा, एकातिर, यो देहको जीवनसँग सम्बन्धित हुन्छ र अर्कोतिर, देहधारी परमेश्वरले निर्वाह गर्ने सेवकाइसँग सम्बन्धित हुन्छ। देहधारी परमेश्वरले जिएको तथा उहाँमा भएको सामान्यता र व्यावहारिकता मानिसहरूका धारणा र कल्पनाहरूभन्दा कसरी फरक छन् भन्ने कुरालाई यी दुई पक्षबाट हेरौँ—यस सामान्यता र व्यावहारिकताका कुन भागहरूलाई मानिसहरू बुझ्न सक्दैनन् वा देखेपछि तिनलाई हलुका रूपमा लिन्छन्, तर वास्तवमा ती परमेश्वरको देहधारी देहमा भएको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू हुन्। यो देहधारी परमेश्वरको जीवन र अस्तित्वसँग सम्बन्धित हुने हुनाले, यसले धेरै वास्तविक विषय, साथै यी वास्तविक विषयहरूसम्बन्धी धेरै सोच र दृष्टिकोणलाई समेट्छ। यी सोच र दृष्टिकोणहरूलाई वास्तवमा देहधारी परमेश्वरको जीवन र उहाँले निर्वाह गर्ने सेवकाइमा व्यावहारिक र वस्तुगत रूपमा प्रकट गरिन्छ र जिइन्छ। तर, चाहे स्वर्गमा हुनुहुने परमेश्वरबारे होस् वा पृथ्वीमा हुनुहुने परमेश्वरबारे होस्—मानिसहरूले अति धेरै धारणा र कल्पनाहरू राख्ने हुनाले—र यी सबै खोक्रा हुने र वास्तविकतासँग मिल्दा नहुने हुनाले, धेरैजसो मानिस देहधारी परमेश्वर—परमेश्वरको यस विशेष पहिचानद्वारा प्रकट गरिएको मानिसहरूले देख्न सक्ने सामान्यता र व्यावहारिकता अनि नम्रता र गुप्ततालाई हलुका रूपमा लिन्छन्। धेरैजसो मानिसले ध्यान केन्द्रित गर्ने कुराहरू भनेका चिह्न र आश्चर्यकर्महरू, रहस्यहरू, अलौकिक क्षमताहरू अनि गहन, भव्य वा तुलनात्मक रूपले पारलौकिक र अनौठा कुराहरू इत्यादि हुन्। तैपनि मानिसहरू परमेश्वर स्वयम्ले जिएका र प्रकट गरेका साँच्चै वस्तुगत, व्यावहारिक र वास्तविक कुराहरूलाई हलुका रूपमा लिन्छन्। परमेश्वरको देहधारी देह मानवजातिमाझ जतिसुकै वर्ष जिए पनि, मानिसहरूले यी कुराहरूलाई हलुका रूपमा लिने हुनाले, परमेश्वरबारे तिनीहरूको ज्ञान सधैँ तिनीहरूका खोक्रा र कल्पित कल्पनाहरूमा नै अड्केर बस्छ। फलस्वरूप, परमेश्वरबारे मानिसहरूको ज्ञान सधैँ यति अवस्तुगत र अव्यावहारिक हुन्छ। आज, यस विषयबारे सङ्गति गरेर, देहधारी परमेश्वरको जीवन र उहाँले निर्वाह गर्ने सेवकाइमा प्रतिबिम्बित सामान्यता र व्यावहारिकतालाई चिनौँ। चाहे त्यो देहधारी परमेश्वरको जीवन होस् वा उहाँले निर्वाह गर्ने सेवकाइ होस्, दुवै पक्षमा उहाँको सामान्यता र व्यावहारिकता जिउनु समावेश हुन्छ। यो देहधारी परमेश्वर—विशेष पहिचान भएको यस मानिसको पुत्र—का सबै प्रकारका मानिस, घटना र कामकुराहरूप्रतिका दृष्टिकोणहरू अनि सबै प्रकारका मामिलाहरू सम्हाल्ने उहाँका सिद्धान्त र विधिहरूसँग सम्बन्धित छ। तिमीहरूले देहधारी परमेश्वरले सबै प्रकारका मामिलाहरूलाई व्यवहार गर्ने र सम्हाल्ने सिद्धान्त र विधिहरूबारे वर्षौँका सङ्गतिहरूमा सुनेका छौ, अनि तिमीहरूलाई अब यी कुराहरूका बारेमा थाहा छ। तिमीहरूको मनमा निकै उच्च र भव्य देखिने यी कुराहरू सबै सत्यतासँग सम्बन्धित हुन्छन्। एकातिर, तिनले स्वर्गमा हुनुहुने परमेश्वरका अभिप्रायहरूलाई प्रतिनिधित्व गर्छन्; तिनले परमेश्वरको पहिचान र सार भएका परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ र उहाँ तिनीहरूलाई के सिकाउनुहुन्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्छन्। अर्कोतिर, तिनले देहधारी परमेश्वर, यस मानिसको पुत्रले सबै प्रकारका मामिलाहरूलाई कसरी हेर्नुहुन्छ वा सम्हाल्नुहुन्छ भन्ने कुरामा उहाँका सिद्धान्त, विधि र सोच अनि दृष्टिकोणहरूलाई पनि प्रतिनिधित्व गर्छन् भनेर नकार्न सकिँदैन। मैले तिमीहरूसँग सत्यता सिद्धान्तहरूसँग सम्बन्धित रहेका यस विशाल विषयवस्तुबारे लामो समयदेखि सङ्गति गर्दै आएको छु; विषयहरू धेरै छन् र ती निकै लामा छन्। यो विषयवस्तु देहधारी परमेश्वर—मानिसको पुत्रका—सोच र दृष्टिकोण, मनोवृत्ति र सबै प्रकारका मामिलाहरूमा कामकुराहरूलाई सम्हाल्ने सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्न पर्याप्त छ। हामी आज यस पक्षका बारेमा कुरा गर्नेछैनौँ।