सत्यता कसरी पछ्याउने (२) भाग चार
यसपछि, हामी “आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने” भन्ने विषयमा रहेका धारणा र कल्पनाहरूका समस्याहरूका बारेमा कुरा गरौँ, जुन सत्यता कसरी पछ्याउने भन्ने अभ्यासभित्र पर्ने “त्याग्नु” को तेस्रो विषयवस्तु हो। हामीले भर्खरै परमेश्वरको कामसम्बन्धी कतिपय मानिसहरूका धारणा र कल्पनाहरूका बारेमा कुरा गर्यौँ। अहिले यसलाई हेर्दा, के मानिसहरूमा परमेश्वरको कामका बारेमा अरू केही धारणा र कल्पनाहरू हुँदैनन् र? के यी धारणा र कल्पनाहरूले मानिसहरूले परमेश्वरको कामलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्वरको कामलाई कसरी अनुभव गर्छन्, र तिनीहरूले परमेश्वरको कामलाई कसरी बुझ्छन् र चिन्छन् भन्ने कुरामा असर गर्नेछन्? मण्डलीमा देखा पर्ने विभिन्न प्रकारका मानिसहरूका बीचमा, एउटा प्रकार भनेको दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले गरेको जुनसुकै दुष्टताले गर्दा तिनीहरूलाई तह लगाइएको भए पनि, र मण्डलीले तिनीहरूलाई जुनसुकै मामलाका कारण निकालेको वा निष्कासित गरेको भए पनि, परमेश्वरको घरले अविश्वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई पखाल्ने बारेमा निश्चित धारणाहरू राख्ने केही मानिसहरू सधैँ हुन्छन्, र यी धारणा र कल्पनाहरू तिनीहरूसँग परमेश्वरको काम वा परमेश्वरको सार्वभौमिकताबारे कुनै बुझाइ हुँदै नभएकाले उत्पन्न भएका हुन्छन्। मानिसहरूका धारणा र कल्पनाहरूमा, मण्डली भनेको परमेश्वरले पृथ्वीमा काम गर्नुहुने ठाउँ हो, त्यसकारण मण्डली भनेको मानिसहरूले परमेश्वरको सार्वभौमिकता देख्ने सबैभन्दा प्रत्यक्ष ठाउँ हो, र परमेश्वरको सार्वभौमिकता प्रकट हुने सबैभन्दा प्रत्यक्ष र स्पष्ट ठाउँ यही हो भनेर पनि भन्न सकिन्छ। तर, यस ठाउँमा, मानिसहरूले प्रायजसो तिनीहरूका धारणाहरूसँग नमिल्ने कतिपय मानिस, घटना, र कामकुराहरू देखा पर्ने गरेको देख्छन्। मानिसहरूले आफ्ना धारणाहरूमा के सोच्छन् भने, मण्डली परमेश्वरको कामसँग सम्बन्धित ठाउँ भएको हुनाले, यो मित्रता र शान्ति, प्रेम र सहनशीलता, र हर्ष र आरामले भरिएको शान्त र नीरव ठाउँ हुनुपर्छ। तिनीहरू के विश्वास गर्छन् भने, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू जस्ता व्यक्तिहरू कहिल्यै मण्डलीमा देखा पर्नु हुँदैन, र दुष्ट मानिसहरूले दुष्टता गर्ने घटनाहरू हुनु हुँदैन। अनि तिनीहरू के सोच्छन् भने, परमेश्वरको सार्वभौमिकताअन्तर्गत, मण्डलीमा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुने कुनै घटना अवश्यै हुनु हुँदैन, कुनै पनि प्रकारका विधिहीन मानिस वा विधिहीन कामकुराहरू, वा मानव इच्छा, मानव भावनाहरू, र मानवतासँग नमिल्ने कामकुराहरू त झनै हुनु हुँदैन। तिनीहरूले के विश्वास गर्छन् भने, मण्डलीमा सबै कुरा शान्तिपूर्ण, नीरव, मनोहर, सकारात्मक, आशावादी, र उत्थानात्मक हुनुपर्छ, र मानवजातिका आवश्यकताहरू अनुरूप नभएका कुनै झगडा, वा कुनै घृणित वा कुरूप कुराहरूसमेत हुनु हुँदैन। यी सबै मानिसहरूका धारणाहरू हुन्। तर, तथ्यहरू मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्दैनन्। अवधि वा कामको चरण जेसुकै भए पनि, मण्डलीमा, कतिपय दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने, परमेश्वरको घरको कामका निश्चित पक्षहरूलाई अन्तर्ध्वंस गर्ने, मण्डलीको कामको सुव्यवस्थामा खलल पुर्याउने र त्यसलाई बिथोल्ने, र अरू त्यस्ता कुराहरूका घटनाहरू सधैँ घट्ने गर्छन्। जब यी कुराहरू घट्छन्, तब मानिसहरूलाई यो असोचनीय छ भन्ने लाग्छ, र तिनीहरूको हृदय विवशता, अबोधता, र अन्यौलताले भरिएको हुन्छ, र तिनीहरूले सोच्छन्, “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? परमेश्वरले मानवजातिमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ र आफ्नो मण्डलीलाई कसरी शासन गर्नुहुन्छ, आफ्नो घरलाई कसरी शासन गर्नुहुन्छ? परमेश्वर साँच्चै नै यसप्रति ध्यान दिनुहुन्छ कि दिनुहुन्न? परमेश्वर कहाँ हुनुहुन्छ? जब यी विधिहीन कुराहरू घट्छन् र जब दुष्ट मानिसहरू देखा पर्छन् र तिनीहरूले बाधाहरू उत्पन्न गर्छन्, तब किन तिनीहरूलाई रोक्न कोही पनि अघि सर्दैन, र परमेश्वरले पनि अघि बढेर तिनीहरूलाई रोक्नुहुन्न? वास्तवमा यहाँ के भइरहेको छ? के मण्डली परमेश्वरको घर होइन र? के परमेश्वरलाई पछ्याउनेहरू उहाँका चुनिएका मानिसहरू होइनन् र? परमेश्वरले किन आफ्नो घरको रेखदेख वा रक्षा गर्नुहुन्न? परमेश्वरले किन आफ्ना चुनिएका मानिसहरू सुरक्षित ठाउँमा, आश्रयस्थलमा शान्तिपूर्वक जिउन सकून् भनेर तिनीहरूको संरक्षण गर्नुहुन्न?” मानिसहरूमा हुने यी शङ्का र यो अबोधता मानिसहरूका विभिन्न धारणाहरूले पैदा गरेका हुन्छन्, होइन र? (हो।) त्यसोभए, यी धारणाहरू मुख्य रूपमा केका बारेमा हुन्छन्? के ती परमेश्वरको काम र परमेश्वरको सार्वभौमिकतासँग सम्बन्धित हुँदैनन् र? दुष्ट मानिसहरूले दुष्टता गर्ने र बाधा र अवरोध ल्याउने जस्ता मामिलाहरू मण्डलीमा घट्ने हुनाले, र मानिसहरूले यी कुराहरू नबुझ्ने हुनाले, तिनीहरूलाई यी कुराहरूको स्रोत र तिनको अन्तिम परिणाम के हुनेछ भन्ने कुरा छर्लङ्ग देख्न गाह्रो हुन्छ। मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न नसक्ने हुनाले, तिनीहरूले परमेश्वरबारे सबै किसिमका विचार, र धारणाहरू विकास गर्छन्। कतिपय मानिसहरू सोच्छन्, “परमेश्वरको घरले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई प्रेम देखाउनुपर्छ। यदि परमेश्वरको घरले तिनीहरूलाई प्रेम देखाएन भने, के यो समाज जस्तै हुनेछैन र? समाजमा, मानिसहरूको एउटा समूहले अर्को समूहलाई सधैँ कष्ट दिइरहेको हुन्छ, र यो सबै शक्ति र प्रभावका लागि प्रतिस्पर्धा गर्नका खातिर गरिएको हुन्छ। के दुष्ट मानिसहरूलाई निकालेर अनि निष्कासित गरेर परमेश्वरको घरले पनि मानिसहरूलाई कष्ट दिइरहेको हुँदैन र? परमेश्वरको घरमा बस्नु त्यति सुरक्षित छैन! यदि तिमीले साँच्चै नै कुनै अशान्त परिस्थितिहरूको सामना गर्यौ भने, तिमी अन्यायमा पर्न र निकालिन सक्छौ, र कसैले पनि तिमीलाई निर्दोष साबित गर्नेछैन! परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ? परमेश्वर किन बाहिर आएर केही भन्नुहुन्न वा केही गर्नुहुन्न? हामीलाई तपाईँको अस्तित्व, तपाईँको सर्वशक्तिमान्ता देखाउनुहोस्, हामीले तपाईँको सार्वभौमिकतालाई आफ्नै आँखाले हेरौँ, त्यसरी हामीलाई सहज महसुस हुनेछ, होइन र?” मण्डलीमा जब-जब मानिसहरूले आफूले बुझ्न नसक्ने केही घटनाहरू अनुभव गर्छन्, तब-तब तीमध्ये कतिमा असहजता र शङ्का जस्ता भावनाहरू पैदा हुन्छन्, र कति यी घटनाहरूबाट जोगिन समेत चाहन्छन्, र अरू नकारात्मकतामा पर्छन्; ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका र ठगिएका हुनाले, खास गरी कतिपयले आफूलाई नै त्याग्छन्, र कतिलाई त ख्रीष्टविरोधीहरूद्वारा बहकाइएको र शोषण गरिएको हुनाले र उनीहरू तिनीहरूका मतियार बनेका हुनाले, मण्डलीले आत्मचिन्तन गर्नका लागि अलग राख्ने वा निकाल्ने कामसमेत गर्छ। मानिसहरूलाई यी सबै कुराहरू अबोध्य लाग्नुका साथसाथै, तिनीहरूले परमेश्वरको अस्तित्वलाई पनि शङ्का गर्छन्। किनभने परमेश्वरमाथिको धेरैजसो मानिसहरूको आस्थाको मुख्य स्रोत भनेको परमेश्वर यावत् थोकमाथि, सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भन्ने तिनीहरूको विश्वास नै हुन्छ। अर्थात्, धेरै मानिसहरूले परमेश्वरले सबै कुरा, यावत् थोक, र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्ने विश्वास गर्छन्, त्यसकारण तिनीहरूले परमेश्वरको अस्तित्व, र परमेश्वरको पहिचान र सारमा विश्वास गर्छन्। तर, तिनीहरूको वरिपरि घट्ने यी कुराहरूले गर्दा तिनीहरूले परमेश्वरको सार्वभौमिकतामाथिको आफ्नो विश्वासमा शङ्का गर्न र डगमगाउन थाल्छन्, अनि त्यसपछि तिनीहरूले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई शङ्का गर्न थाल्छन्, र परमेश्वरमाथिको तिनीहरूको आस्था पनि डगमगाउन थाल्छ, त्यसकारण यो सम्पूर्ण समस्याहरूको शृङ्खला पैदा हुन्छ। मानिसहरूमा परमेश्वरको सार्वभौमिकताबारे सबै किसिमका धारणा र कल्पनाहरू हुन्छन्, र यी धारणा र कल्पनाहरू अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन्, बरु ती मानिसहरूको भ्रामक अर्थ्याइ वा गलतफहमीहरू हुन्। त्यसकारण, यसपछि हामी तैँले देख्न र महसुस गर्न सक्ने तेरो वरिपरिका सबै मानिस, घटना, र कामकुराहरूमाथि परमेश्वरले कसरी सार्वभौमिकता राख्नुहुन्छ, यो सबैमाथि परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्, र उहाँले हासिल गर्ने अभिप्राय राख्नुभएको उद्देश्य के हो भन्ने बारेमा सङ्गति गर्नेछौँ।
सबै कुरामाथि परमेश्वरको सार्वभौमिकताका सिद्धान्त र उद्देश्य
“परमेश्वरको सार्वभौमिकता” भन्ने शब्दमा अत्यन्तै व्यापक विषयवस्तुहरू समावेश हुन्छन्। व्यापक वातावरणलाई पन्छाएर, मण्डलीका हकमा भन्दा, परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य वास्तविक हो। परमेश्वरको सार्वभौमिकता खोक्रो वाक्यांश होइन, न त यो एउटा घटना मात्रै हो, बरु यसका वास्तविक उदाहरणहरू, र वास्तविक परिणामहरू छन्। त्यसोभए मण्डलीमा परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्? सुरुमा हामी यसबारे विचार गरौँ: के परमेश्वरसँग कुन-कुन मानिसहरूलाई मण्डलीमा स्वीकार गरिन्छ भन्ने कुरामाथिको सार्वभौमिकता हुन्छ र के उहाँले त्यसको बन्दोबस्त गर्नुहुन्छ? (हो, उहाँले गर्नुहुन्छ।) यो खोक्रो कुरा होइन। परमेश्वरको सुसमाचार र परमेश्वरका वचनहरू कुन-कुन मानिसहरूकहाँ आउँछन्, र कुन-कुन मानिसहरूले परमेश्वरको काम स्वीकार गर्न सक्छन्, र कुन-कुन मानिसहरू मण्डलीमा प्रवेश गर्न सक्छन्—यी सबै कुरा परमेश्वरले नियोजन गर्नुभएको हुन्छ। अहिलेका लागि, हामी यी मानिसहरूको मानवताका बारेमा, र तिनीहरू दुष्ट मानिसहरू हुन् कि होइनन् भन्ने बारेमा कुरा नगरौँ; तिनीहरू मण्डलीमा प्रवेश गर्न सक्नुको अर्थ परमेश्वरले नै यो कुरा नियोजन गर्नुभएको हो भन्ने हुन्छ। के परमेश्वरको नियोजन परमेश्वरको सार्वभौमिकताको एउटा पक्ष हो? (हो।) सर्वप्रथम, हामी एउटा कुरामा निश्चित हुन सक्छौँ, जुन के हो भने, हरेक व्यक्तिको मण्डली प्रवेश परमेश्वरले नियोजन गर्नुभएको हुन्छ। “परमेश्वरको नियोजन” भन्ने शब्द अलिक अमूर्त सुनिन्छ, त्यसकारण “परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ, परमेश्वरले ढोकामा पहरा दिनुहुन्छ” भनेर मात्रै भनौँ। परमेश्वर नै राज्यको ढोका हुनुहुन्छ र मण्डलीको ढोका पनि उहाँ नै हुनुहुन्छ। कस्तो प्रकारका मानिसहरू आधिकारिक रूपमा मण्डलीका, परमेश्वरको घरका सदस्यहरू बन्न सक्छन् भन्ने कुराको हकमा परमेश्वरले ढोकामा पहरा दिनुहुन्छ। तिनीहरू अविश्वासीहरू भए पनि वा मण्डलीमा घुसपैठ गरेका दुष्ट मानिसहरू भए पनि, वा परमेश्वरमा विश्वास गर्न रुचि राख्ने वा सत्यता स्वीकार गर्न र परमेश्वरलाई पछ्याउन सक्ने असल मानिसहरू भए पनि, यदि तिनीहरू मण्डलीमा आबद्ध भए र मण्डलीका सदस्य बने भने, यो कुनै पनि व्यक्तिले निर्णय गर्न सक्ने कुरा होइन, यो त परमेश्वरको सार्वभौमिकता, बन्दोबस्त, र नियोजनले गर्दा भएको हुने कुरा हो। तिनीहरूसँग परमेश्वरमा विश्वास गर्ने निश्चित गुप्त मनसाय वा उद्देश्यहरू भए पनि वा नभए पनि, वा तिनीहरूको मानवता जस्तोसुकै भए पनि, वा तिनीहरूको शिक्षाको स्तर र सामाजिक पृष्ठभूमि जेजस्तो भए पनि, तिनीहरू मण्डलीमा आबद्ध हुन र उहाँको अघि आउन सक्छन् भनेर निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ—ढोकामा पहरा दिने परमेश्वर नै हुनुहुन्छ। के मानिसहरूले ढोकामा उचित रूपमा पहरा दिन सक्छन्? (अहँ, सक्दैनन्।) मानिसहरूले यस विषयको निर्णय गर्न सक्दैनन्, र यो मानिसहरूको इच्छामा निर्भर हुँदैन। उदाहरणका लागि, जब तैँले कुनै व्यक्ति चलाख छ र समाजमा उसको हैसियत छ भन्ने देख्छस्, तब तैँले सोच्छस्, “यो व्यक्ति मण्डली अगुवा हुनका लागि परमेश्वरको घरमा आउन सक्यो भने राम्रो हुनेथियो। हाम्रो मण्डलीमा त्यस्ता मानिसहरूको कमी छ।” तर परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्न। जब अरू मानिसहरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन् र परमेश्वरका वचनहरूमा सङ्गति गर्छन्, तब तिनीहरूले आफूले सुनेको कुरा बुझ्दैनन्। जब तिनीहरूले अरू कुनै कुरा सुन्छन्, तब तिनीहरूले त्यो बुझ्न सक्छन्; तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा मात्रै बुझ्न सक्दैनन्, र तिनीहरू मूर्खहरू जस्तै हुन्छन्—के त्यस्ता मानिसहरू अझै पनि मण्डलीमा प्रवेश गर्न सक्छन्? तिनीहरूले आशिष्हरू प्राप्त गर्नमा रुचि राख्ने भए पनि, तिनीहरू आफ्नो हृदय शान्त पार्न सक्दैनन् र परमेश्वरका वचनहरू र सत्यतामाथिको सङ्गति सुन्दा चुपचाप बस्न सक्दैनन्, र दुई-तीन वटा प्रवचन सुनेपछि, तिनीहरू आउन छोड्छन्। त्यस्ता मानिसहरूमा कुनै वास्तविक आस्था हुँदैन, त्यसकारण के तिनीहरूप्रतिको तेरो असल अभिप्रायले कुनै प्रभाव पार्छ? के तैँले तिनीहरूलाई मण्डलीमा ल्याउन सक्नेछस्? सक्नेछैनस्। त्यस विषयमा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। परमेश्वर उहाँ त्यस्ता मानिसहरूलाई चाहनुहुन्न भनेर भन्नुहुन्छ, र सेवा प्रदान गर्ने कार्यमा होस् वा कुनै भूमिका निर्वाह गर्ने कार्यमा होस्, उहाँ तिनीहरूलाई चाहनुहुन्न। त्यसकारण, यदि तैँले असल अभिप्रायहरू लिएर तिनीहरूलाई आफूसँगै घिसारिस् भने पनि, यो व्यर्थ हुनेछ, र अन्त्यमा, तिनीहरू जानैपर्छ। तिनीहरू मण्डलीका सदस्यहरू बन्नु असम्भव हुन्छ; तिनीहरूलाई जुनसुकै व्यक्तिले घिसारेर ल्याए पनि, यो व्यर्थ हुनेछ। यो मानिसहरूले निर्णय गर्न नसक्ने मामला हो; यो कुरा परमेश्वरले नियोजन गर्नुभएको कुरा हो, र परमेश्वरले नै ढोकामा पहरा दिनुहुन्छ। कतिपय मानिसहरूसँग सामाजिक हैसियत हुँदैन, तिनीहरू महत्त्वपूर्ण व्यक्तिहरू हुँदैनन्, र तिनीहरू औसत क्षमताका हुन्छन् र तिनीहरू साधारण देखिन्छन्, तर तिनीहरू निकै सरल र सीधा हुन्छन्, र तिनीहरूलाई परमेश्वरमाथिको विश्वासका मामलाहरूमा रुचि हुन्छ। तिनीहरूसँग जेजस्तो कठिनाइ भए पनि, तिनीहरूलाई परमेश्वरबाट अलग गर्न सकिँदैन, र तिनीहरूसँग निकै जोश हुन्छ—यो जोशिलो ऊर्जा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले देख्न पाउँदा खुसी हुने कुरा हो, र परमेश्वरलाई पनि यो देख्दा खुसी लाग्छ—वास्तवमा, तिनीहरू परमेश्वरका आत्माद्वारा उत्प्रेरित भएका हुनाले नै तिनीहरू यति उत्साहित हुन्छन्। तिनीहरू मण्डलीमा प्रवेश गरेपछि र मण्डलीका मानिसहरू सबै असल मानिसहरू हुन्, जसले हरेक दिन परमेश्वरका वचनहरू खाने-पिउने र सत्यतामा सङ्गति गर्ने गर्छन् भन्ने देखेपछि, तिनीहरूलाई यस कुराले अत्यन्तै प्रोत्साहन दिन्छ र यो जीवनको सही मार्ग हो भन्ने महसुस हुन्छ, त्यसकारण तिनीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्न थाल्छन् र तिनीहरू परमेश्वरका अनुयायीहरू बन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले नै निर्णय गर्नुहुन्छ।) निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले तिनीहरूलाई मण्डलीमा प्रवेश गर्न दिनुहुने हुनाले मात्रै तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन्। यदि परमेश्वरले तिनीहरूमा काम नगर्नुभएको भए र तिनीहरूलाई उत्प्रेरित नगर्नुभएको भए, तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्नेथिएनन्, र यदि तिनीहरूलाई जबरजस्ती मण्डलीमा घिसारिएको भए, तिनीहरू ढिलो-चाँडो मण्डली छोडेर जानुपर्थ्यो। मानिसहरूमा आफ्नो अन्तर्निहित गुणभित्र सत्यता स्वीकार गर्ने कुनै सामर्थ्य हुँदैन; तिनीहरू सत्यतालाई प्रेम गर्न र सत्यता स्वीकार गर्न सक्छन् भन्ने तथ्यले परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भने, तिनीहरू मण्डलीका सदस्यहरू बन्न सक्छन्—सबै प्रकारका मानिसहरू मण्डलीमा प्रवेश गर्ने पूर्वसर्त यही हो, र यो पूर्वसर्त भनेको परमेश्वरले तिनीहरूलाई चाहनु हो। तिनीहरूले मण्डलीमा जुनसुकै भूमिका खेले पनि, कुनै पनि हालतमा, परमेश्वरले आफ्नो घरको ढोकामा पहरा दिनुहुन्छ। यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्न भने, तिनीहरू ढोकाभन्दा बाहिर हुन्छन्; यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्छ भने, तिनीहरू ढोकाभित्र हुन्छन्। त्यसकारण, मण्डलीको सदस्य बन्नु त्यति सरल कुरा होइन। परमेश्वरले मानिसहरूलाई स्वीकार गर्ने आधारका रूपमा के-कस्ता सिद्धान्तहरूले काम गर्छन् भन्ने कुराका हकमा भन्दा, अवश्य नै, परमेश्वरका आफ्नै सिद्धान्तहरू छन्। हामी परमेश्वरले कस्तो व्यक्ति चाहनुहुन्छ र कस्तो व्यक्ति चाहनुहुन्न भन्ने बारेमा सङ्गति गर्नेछैनौँ—यो अत्यन्तै जटिल कुरा हो। यो जटिल छ भनेर मैले किन भनेँ? मण्डलीमा को-को प्रवेश गर्छन्, कुन अवधिमा तिनीहरूले कस्तो भूमिका खेल्छन्, र तिनीहरूले कुन कर्तव्य पूरा गर्छन् वा कुन अवधिमा तिनीहरूले कुन महत्त्वपूर्ण काम सम्हाल्छन्, र कुन अवधिमा तिनीहरू परमेश्वरको घरका कामका आवश्यकताहरू र यसका कर्मचारीसम्बन्धी आवश्यकताहरू अनुरूप हुन्छन् भन्ने कुराका बारेमा परमेश्वरसँग योजना हुन्छ। परमेश्वरले वर्तमान क्षणमा कार्य गर्नुको सट्टा व्यापक र समग्र स्तरमा नियमन र नियन्त्रण गर्नुहुन्छ—यो अत्यन्तै जटिल मामला हो, र यसलाई केही शब्दमा स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन, त्यसकारण हामी विस्तृत विवरणहरूमा प्रवेश गर्नेछैनौँ। छोटकरीमा भन्दा, कुनै व्यक्ति परमेश्वरको घरको ढोकाभित्र प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई कुनै पनि व्यक्तिले निर्धारित गर्दैन; परमेश्वरले नै यस कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र यस कुराको बन्दोबस्त गर्नुहुन्छ। परमेश्वरको घरमा प्रवेश गरेपछि, सबै प्रकारका मानिसहरूले सबै प्रकारका कर्तव्यहरू पूरा गर्छन्, सबै प्रकारका भूमिकाहरू खेल्छन्, र सबै प्रकारका मार्गहरू हिँड्छन्। यी सबै विविध प्रकारका मानिसहरूमा सबै किसिमका फरक-फरक प्रकटीकरणहरू हुन्छन्, चाहे ती असल होऊन् वा खराब, सकारात्मक होऊन् वा नकारात्मक, सक्रिय होऊन् वा निष्क्रिय—यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र शासनअन्तर्गत हुन्छन्।
परमेश्वरको सार्वभौमिकताको अर्थ सबै कुरा उहाँको शासनअन्तर्गत तिनको प्राकृतिक धारअनुसार अघि बढ्छ र घट्छ भन्ने हुन्छ; कुनै पनि घटना संयोगवश हुँदैन, र कुनै पनि घटनामा हुने विकास र परिवर्तनहरू कुनै पनि व्यक्तिले सुरु गरेको वा निर्धारित गरेको हुँदैन—यी सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता हुन्छ। अवश्य नै, कुनै पनि घटनाको अन्तिम नतिजा र चित्रण पनि त्यस्तो घटनाको सार र यसमा संलग्न हुने प्रकारका मानिसहरूको सारमा आधारित हुन्छ, र घटनालाई चित्रण गर्ने आधार पूर्ण रूपमा परमेश्वरका वचनहरू र परमेश्वरले माग गर्नुभएका सिद्धान्तहरू नै हुन्छन्। कुनै पनि प्रकारको घटना संयोगवश हुँदैन, र कुनै पनि प्रकारको घटनाको अन्तिम परिणाम मानिसहरूले निर्धारित गर्दैनन्। वास्तवमा, कुनै पनि प्रकारको घटनाको सुरुवात परमेश्वरले नै प्रबन्ध गर्नुहुन्छ र पैदा गर्नुहुन्छ। जब परमेश्वरले कुनै प्रकारको घटना पैदा गर्नुहुन्छ, तब उहाँले एक प्रकारको व्यक्तिले यसमा भूमिका खेल्ने प्रबन्ध गर्नुहुन्छ, र त्यस्तो व्यक्तिले सेवाकर्ता वा प्रतिभारको भूमिका खेल्न सक्छ, उसले नकारात्मक भूमिका खेल्न सक्छ, वा सकारात्मक भूमिका खेल्न सक्छ। तर उसले जुनसुकै भूमिका खेले पनि, यी सबै कुराहरूको सुरुवात परमेश्वरले नै प्रबन्ध गर्नुभएको हुन्छ। यस विषयमा परमेश्वरले प्रबन्ध गर्नुका दुई वटा व्याख्याहरू छन्। एउटा व्याख्या के हो भने, परमेश्वरले व्यक्तिगत रूपमा केही सकारात्मक प्रबन्धहरू गर्नुहुन्छ र केही सकारात्मक दिशा र सुपरिवेक्षण प्रदान गर्नुहुन्छ, र केही सकारात्मक व्यक्तित्वहरूलाई कुनै घटना सुरु गर्न लगाउनुहुन्छ—“परमेश्वरका बन्दोबस्तहरू” को एउटा व्याख्या यही हो। अर्को व्याख्या के हो भने, परमेश्वरले निश्चित कुराहरू गर्न एक प्रकारको आत्मा पठाउनुहुन्छ। मानिसहरूका नजरमा यी कुराहरू नकारात्मक र दुष्ट हुन्छन्, त्यसकारण यी नकारात्मक र दुष्ट पात्रहरू निश्चय नै नकारात्मक व्यक्तित्वहरू, अर्थात्, परमेश्वरले सुरुदेखि नै प्रतिभार र नकारात्मक शिक्षण सामग्रीहरूका रूपमा आफ्नो घरमा प्रवेश गराउनका लागि नियोजन गर्नुभएका मानिसहरू हुन्। परमेश्वरले तिनीहरूलाई यी भूमिकाहरू खेल्न लगाउनुहुन्छ, किनभने तिनीहरूको प्रकृति सारले गर्दा, तिनीहरूले खेल्न सक्ने भूमिकाहरू यी मात्रै हुन्, र उहाँले तिनीहरूलाई धीत मर्ने गरी प्रदर्शन गर्न र प्रतिभारका रूपमा तिनीहरूले गर्नुपर्ने कुरा धीत मर्ने गरी गर्न दिनुहुन्छ। सम्पूर्ण प्रक्रियाभरि, चाहे त्यो सकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस् वा नकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस्, यी सबै मामलाहरूलाई लिने र सम्हाल्ने कार्यबारे परमेश्वरको सिद्धान्त भनेको तिनीहरूलाई आफ्नै प्राकृतिक धार समात्न दिनु हो। यी कुराहरूलाई हेर्दा र सम्हाल्दा, सकारात्मक व्यक्तित्वहरूमा केही सकारात्मक दृष्टिकोणहरू हुन्छन्, र मानवता र विवेकको मानक अनुरूपका केही दृष्टिकोणहरू हुन्छन्। तिनीहरूमध्ये कतिले केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तिनीहरूमा मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने केही प्रकटीकरणहरू भए पनि, वा तिनीहरूले अरू केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तिनीहरूले कम्तीमा पनि मानवताको विवेक र समझलाई पक्रिराख्छन्, अर्थात्, तिनीहरूले आफ्नो आचरणको मूलभूत आधारलाई पक्रिराख्छन्। अनि नकारात्मक व्यक्तिहरूका हकमा भन्दा, परमेश्वरले तिनीहरूले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा मार्गदर्शन गर्नुहुन्न, बरु तिनीहरूलाई आफै प्राकृतिक धार समात्न दिनुहुन्छ; तिनीहरूले पनि आफ्नो हृदय तृप्त हुनेगरी प्रदर्शन गर्छन्, र आफ्नो घृणितता अवस्था खुलासा गर्छन् र आफ्नो हृदय तृप्त हुनेगरी निश्चित कुराहरू गर्छन्। तिनीहरूले परमेश्वरले खुलासा गर्नुहुने नकारात्मक व्यक्तित्वहरू, अर्थात् दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको भूमिका सफलतापूर्वक खेल्छन्, जसले गर्दा अरूले दियाबलसहरू कस्ता मानिसहरू हुन्, दुष्ट मानिसहरू कस्ता मानिसहरू हुन्, र ख्रीष्टविरोधीहरू कस्ता मानिसहरू हुन्, र परमेश्वरले खुलासा गर्नुहुने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूको घृणित अनुहार वास्तवमा कस्तो हुन्छ भन्ने कुरा वास्तविक जीवनमा स्पष्ट रूपमा देख्न सक्छन्। यदि यी नकारात्मक व्यक्तित्वहरूलाई वास्तविक जीवनमा जीवित शिक्षण सामग्रीका रूपमा प्रयोग नगरिएको भए, तेरो मनमा दियाबलसहरू र शैतानहरू सधैँ अमूर्त हुनेथिए, र सधैँ अनुमान वा चित्र मात्रै हुनेथिए। तर अहिले यी जीवित उदाहरणहरू तेरो आँखा अगाडि राखिएका छन्, र मानव छाला लगाएका यी दियाबलसहरू तेरो आँखाकै अगाडि स्पष्ट रूपमा जिइरहेका छन्, र तिनीहरूको बोलीवचन र आचरण, तिनीहरूको हरेक शब्द र व्यवहार, तिनीहरूको अनुहारको भाव, र तिनीहरूको आवाजको लबज समेत सबै तेरो जीवनमा, तेरो आँखाकै अगाडि स्पष्ट रूपमा देखा पर्छन्, र ती तेरो मनमा छापिएका हुन्छन्। यो तेरा लागि नराम्रो कुरा होइन। मण्डलीमा यस्ता कुराहरू बारम्बार हुने गर्छन्। पहिलो पटक यस्तो भएको बेला, तँलाई असहज लाग्छ र तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भन्ने लाग्छ। दोस्रो पटक यस्तो भएको बेला, तैँले सोच्छस्, “मैले आफ्नो सुरक्षा गर्न सत्यताको प्रयोग गर्न सिक्नैपर्छ, र अर्को पटक मैले यस्तो व्यक्तिलाई भेट्दा, म ऊबाट जोगिनुपर्छ,” अनि तैँले आफ्नो सुरक्षा कसरी गर्ने र दुष्ट मानिसहरूबाट कसरी टाढा बस्ने भन्नेबारे सोच्न थाल्छस्। यस्तो व्यक्ति तेस्रो पटक देखा पर्दा, तैँले यस्तो सोच्छस्, “यी मानिसहरू किन ठ्याक्कै ठूलो रातो अजिङ्गरजस्तै, शैतानजस्तै गरी बोल्छन्? के तिनीहरूले बहकाउने कुराहरू गर्दैनन् र? के तिनीहरू दुष्ट मानिसहरू होइनन् र? यी प्रकटीकरणहरू देखाउने मानिसहरू ख्रीष्टविरोधीहरू हुन् भनेर परमेश्वरका वचनहरूले भनेका छन् जस्तो लाग्छ। मैले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र खुलासा गर्नैपर्छ, म तिनीहरूको बहकाउमा पर्नु हुँदैन, र म तिनीहरूबाट टाढा बस्नुपर्छ।” बारम्बार यस्तो कुरा अनुभव गरेर, तैँले ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूलाई खुट्ट्याउने बारेमा, र बाधा र अवरोधहरू के-के हुन् भन्ने बारेमा अझै स्पष्ट र विस्तृत बुझाइ प्राप्त गर्छस्। तेरो बुझाइ त्यस उप्रान्त शब्द र धर्मसिद्धान्तहरूमा सीमित हुँदैन, र चित्रहरूमा त झनै सीमित हुँदैन। बरु तँ वास्तविक जीवनमा यी कुराहरूलाई झन्-झन् राम्ररी पहिचान गर्न सक्षम हुन्छस्, यसको साथै, तैँले यी मानिसहरूलाई सत्यता प्रयोग गरेर हेर्न, र सत्यता प्रयोग गरेर घटेका यी कुराहरूलाई समाधान गर्न सक्छस्। अवश्य नै, जब यी कुराहरू घट्छन्, तब तैँले यी मानिसहरूप्रति ठ्याक्कै कुन अडान अपनाउनुपर्छ, तिनीहरूलाई कुन दृष्टिकोणबाट हेर्नुपर्छ, र तिनीहरूसँग कस्तो सम्बन्ध कायम राख्नुपर्छ भन्ने बारेमा सोच्दै निरन्तर आफ्ना दृष्टिकोण र अडानहरूलाई सच्याइरहेको पनि हुन्छस्। जब तैँले यी कुराहरूको सामना गर्छस्, तब तैँले अवचेतन रूपमा यी समस्याहरूका बारेमा मनन गर्नेछस्, उत्तरहरू खोज्न र निष्कर्ष निकाल्न निरन्तर सत्यताको खोजी गर्नेछस्, र अन्तिममा केही कुरा प्राप्त गर्नेछस्। यस प्रक्रियाका क्रममा, परमेश्वरले केवल मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ र तिनीहरूलाई सत्यता बुझ्न सक्षम बनाउनुहुन्छ, चाहे त्यो सत्यताबारे सङ्गति गरेर होस् वा मानिसहरूलाई आइपर्ने कुराहरूमा तिनीहरूलाई सत्यता बुझ्न सक्षम बनाएर होस्—समग्रमा भन्दा, परमेश्वरले यो परिस्थितिलाई कलिलै नष्ट गर्नुहुन्न। यदि यो कुरा घट्नैपर्छ, र यो परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामका लागि फाइदाजनक छ भने, परमेश्वरले मानिसहरूलाई यस्तो आइपर्न दिनुहुनेछ, र उहाँले यसलाई रोक्नुहुनेछैन, बरु यसलाई यसको प्राकृतिक धार समात्न दिनुहुनेछ। यसरी काम गर्नुपछाडिको परमेश्वरको उद्देश्य भनेको एक हिसाबमा मानिसहरूलाई हटाउनु हो, र अर्को हिसाबमा, मानिसहरूलाई सिद्ध पार्नु हो। अवश्य नै, मानिसहरूलाई हटाउँदा उहाँले पक्कै पनि प्रतिभारका रूपमा काम गर्ने र सेवा प्रदान गर्न समेत अयोग्य मानिसहरूलाई निसाना बनाउनुहुन्छ, जबकि मानिसहरूलाई सिद्ध पार्दा, उहाँले आफ्ना चुनिएकाहरूलाई—तीमध्ये सत्यता पछ्याउन इच्छुक हुनेहरूलाई निसाना बनाउनुहुन्छ। यसका दुई वटा महत्त्व छन्। एउटा महत्त्व के हो भने, दुष्ट मानिसहरूले दिने प्रस्तुतिको माध्यमबाट, तिनीहरूलाई प्रकट गरिन्छ, मण्डलीबाट हटाइन्छ, र निकालिन्छ। अर्को के हो भने, यी दुष्ट मानिसहरूले क्रमिक रूपमा प्रस्तुति दिने र प्रतिभारका रूपमा काम गर्ने क्रममा, परमेश्वरका चुनिएका मानिसहरू परमेश्वरका वचनहरूमा खुट्ट्याउन सिक्न, र सत्यता बुझ्न सक्षम बनाइन्छन्; यसरी, परमेश्वरले व्यावहारिक तरिकाले मानिसहरूमा सत्यता ढाल्नुहुन्छ—अर्थात्, परमेश्वरले खुलासा गर्नुहुने सबै प्रकारका दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, शैतानहरू, र दियाबलसहरूको दुष्ट सारका सबै प्रकटीकरणहरूलाई मानिसहरूको वास्तविक जीवनमा प्रदर्शन हुन दिनुहुन्छ, र यसले मानिसहरूलाई विभिन्न प्रकारका दुष्ट, घृणित, र नकारात्मक व्यक्तित्व, घटना, र कुराहरूका बारेमा स्पष्ट बुझाइ र ज्ञान प्राप्त गर्न सक्षम बनाउँछ। उदाहरणका लागि, मानौँ परमेश्वरले तँलाई यसो भन्नुहुन्छ, “तैँले बलिरहेको कोइला हातले छुनु हुँदैन; तेरा औँलाहरू पोलिनेछन् र तँलाई पीडा हुनेछ।” तँलाई बलिरहेको कोइला कस्तो देखिन्छ भन्ने थाहा हुँदैन, त्यसलाई छुँदा कस्तो महसुस हुन्छ भन्ने तँलाई थाहा हुँदैन, र उहाँले तँलाई यो कुरा बताउनुभएपछि, तैँले एउटा धर्मसिद्धान्त बुझेको हुन्छस्। त्यसपछि कतिपय मानिसहरूले बलिरहेको कोइला भकुण्डो वा लामो पाता जस्तो हुन्छ होला भन्ने कल्पना गर्छन्। अनि बलिरहेको कोइलाको रङ्ग कस्तो हुन्छ? त्यसलाई छुँदा कस्तो महसुस हुन्छ? त्यसलाई छुँदा कस्तो पीडा हुन्छ? तँलाई थाहा हुँदैन। बलिरहेको कोइलाबारे तेरो धारणा तेरो मनले कल्पना गर्न सक्ने कुराको चित्र मात्रै हो, र वास्तविक कुरासँग यसको कहिल्यै कुनै सम्बन्ध हुनेछैन। त्यसकारण, एक दिन, जब परमेश्वरले तगारीमा बलिरहेको कोइला निकाल्नुहुन्छ र तेरो अगाडि राख्नुहुन्छ, तब तैँले त्यसलाई चिन्दैनस्, र तँलाई त्यो निकै तातो देखिन्छ भन्ने मात्रै लाग्छ। तैँले त्यसलाई छुँदा औँलामा तातो हुन्छ कि हुँदैन भनेर हेर्नका लागि तँ होसियारी साथ त्यसतिर हात लम्काउँछस्। परमेश्वरले भन्नुहुन्छ, “तैँले छोएर हेर्न सक्छस्, तर धेरै बेर नछो, नत्र तेरो छाला डढ्नेछ।” कतिपय मानिसहरू मूर्ख हुन्छन्—तिनीहरूले पाँचै औँला फैलाएर कोइला समात्छन्, र तिनीहरूको पूरै हात डढ्छ अनि त्यसमा पानी फोका आउँछ। अरू चलाख र सतर्क हुन्छन्—तिनीहरूले एउटा औँला लम्काएर कोइलालाई हल्का मात्रै छुन्छन् र एक सेकेन्डभित्र यसो भन्दै हात हटाउँछन्, “अहो, यो त निकै तातो रहेछ! यो साँच्चै नै बलिरहेको छ!” तैँले त्यसलाई छुन पाँच औँला प्रयोग गरे पनि वा एउटा औँला प्रयोग गरे पनि, तैँले छुने कुरा चित्र वा शब्दहरू नभई वास्तविक कुरा हो, र तेरो बाँकी जीवनभरि, तैँले बलिरहेको कोइला छुनुको अनुभूति र अनुभव, र बलिरहेको कोइलाले तेरा लागि के अर्थ राख्छ भन्ने कुरा कहिल्यै बिर्सिनेछैनस्। जब तैँले फेरि बलिरहेको कोइला देख्छस्, तब तैँले अरूलाई यसो भन्नेछस्: “तपाईँले न्यानो रहन, र लुगा सुकाउन र रोटी तताउन त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईँले त्यसलाई हातले कहिल्यै छुनु हुँदैन। छुनुभयो भने तपाईँलाई पोल्नेछ र पानी फोका आउनेछ।” मानिसहरूले यसो भन्न सक्छन्: “त्यसोभए मलाई पोल्यो र पानी फोका आयो भने के हुन्छ?” अनि तैँले यस्तो जवाफ दिनेछस्: “कम्तीमा पनि, तपाईँले हातले केही पनि समात्न सक्नुहुनेछैन, र तपाईँलाई हातले खान पनि असहज हुनेछ र शारीरिक काम गर्न त झनै अप्ठ्यारो हुनेछ।” यो अनुभवबाट बोलेको कुरा हो, होइन र? त्यो गहन अनुभवपछि, तातो कोइलाले पोल्नुको अनुभूति तेरो स्मृतिमा गहन रूपमा कुँदिनेछ, त्यसकारण तैँले फेरि कहिल्यै बलिरहेको कोइला छुनेछैनस्। परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र मानिसहरूले ती कुराहरूबाट पाठहरू सिकून् र फाइदा लिन सकून्, र उहाँले मानिसहरूलाई प्रदान गर्ने सत्यता र वचनहरू तिनीहरूमा साँचो रूपमा ढालिन सकून् भनेर सबै कुराको प्रबन्ध गर्नुहुन्छ र मानिसहरूको जीवनमा सबै किसिमका कुराहरू आइपर्न लगाउनुहुन्छ, यसरी परमेश्वरका वचन र सत्यताहरू मानिसहरूका हृदयमा धर्मसिद्धान्त, नारा, वा प्रावधानहरू रहँदैनन्, बरु तिनीहरू आफ्नो जीवन, र अस्तित्वका लागि भर पर्ने सिद्धान्त र मापदण्डहरू बन्छन्, र ती तिनीहरूको जीवनको भाग बन्छन्—यसरी, परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गरेको हुनेछ।
जब परमेश्वरको सार्वभौमिकताको कुरा आउँछ, तब मानिसहरूले के कुरा देख्नुपर्छ भने, परमेश्वरले कुनै घटनाको सुरुवातको प्रबन्ध गर्नुहुन्छ, त्यसपछि त्यसको विकासक्रमलाई मार्गनिर्देशन र अगुवाइ गर्नुहुन्छ; घटनाको अन्त्यमा परिणाम के हुन्छ, सत्यता पछ्याउनेहरूले त्यसबाट के प्राप्त गर्छन् र कति प्राप्त गर्छन्, यो घटना र यसमा संलग्न मानिसहरू र कामकुराहरू कहाँ पुग्छन्, र अन्तिममा ती कुराहरूको प्रबन्ध कसरी गरिन्छ भन्ने कुरालाई पनि अवश्य नै परमेश्वरले नै निर्धारित गर्नुहुन्छ—यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकताको एउटा सिद्धान्त यही हो। परमेश्वरले हरेक घटनाको सुरुवात, प्रक्रिया, र परिणामलाई मात्रै पूर्वनिर्धारित गर्नुहुन्छ, र उहाँले सम्पूर्ण घटनालाई आफूले तय गरेको दिशामा स्वतन्त्र रूपमा विकास हुन दिनुहुन्छ, जसको उद्देश्य सबै कुरालाई प्राकृतिक ढाँचाहरू अनुरूप बनाउनु, वा परमेश्वरले हासिल गर्ने अभिप्राय राख्नुभएको प्रभाव हासिल गर्नका लागि कुनै विकृति वा प्रशोधनबाट गुज्रन नलगाई सबै कुरालाई आफ्नो काम गर्न दिनु हो। यस्तै होइन र? (हो।) उदाहरणका लागि, जब परमेश्वरले कुनै घटना सुरु गर्ने र घट्ने कुराको प्रबन्ध गर्नुहुन्छ, तब उहाँले यस घटनाको सम्पर्कमा आउने मानिसहरूको मनोवृत्ति, र यसप्रति तिनीहरूको दृष्टिकोण के-के हुन्छन् भनेर नियाल्न थाल्नुहुन्छ—चाहे तिनीहरूले यसलाई ध्यान दिएर हेरून् वा यसलाई ध्यान दिन नचाहून्, र चाहे तिनीहरू हृदयदेखि यसमा संलग्न होऊन् वा तिनीहरूले यसलाई इन्कार गरून्, प्रतिरोध गरून्, र तिनीहरू यसबाट जोगिऊन्—परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणहरू नियालिरहनुभएको हुन्छ। त्यसोभए, के परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणमा हस्तक्षेप गर्नुहुन्छ? परमेश्वरले हस्तक्षेप गर्नुहुन्न। परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ। तैँले यस घटनालाई ठूलो महत्त्व दिन र यसबारे अत्यन्तै गम्भीर हुन सक्छस्, वा तैँले यसलाई बेवास्ता गर्ने र यसप्रति उदासीन हुने मनोवृत्ति अपनाउन सक्छस्, र अवश्य नै, तैँले यसबाट अलग बस्ने, यसबाट जोगिने, र यसमा सहभागी नहुने मनोवृत्ति पनि अपनाउन सक्छस्—परमेश्वरले चुपचाप नियाल्नुहुन्छ। तर सम्पूर्ण घटनाको उत्पत्ति र घटाइलाई परमेश्वरले नै सुरु गर्नुभएको हुन्छ। कुनै घटनामाथिको परमेश्वरको सार्वभौमिकताको प्रारम्भिक चरण यही हो। जब यो घटना विकास हुन थाल्छ, यसमा कुन-कुन मानिसहरू सहभागी हुन्छन्, कुन-कुन मानिसहरू यसमा संलग्न हुन्छन्, र तिनीहरू यसमा संलग्न भएपछि घटना कुन दिशामा अघि बढ्छ भन्ने कुराका हकमा भन्दा, अवश्य नै यी सबै मानिसहरूलाई मिलाउनुहुने र बन्दोबस्त गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, ताकि घटना परमेश्वरले चाहनुभएको दिशामा र प्रभावसाथ अघि बढोस्। त्यसरी नै, जब यो घटना बाहिर आउँछ र सम्पूर्ण मामला चरमोत्कर्षमा पुग्छ, तब पनि परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको मनोवृत्ति, प्रकटीकरण, विचार, र दृष्टिकोणहरूलाई निगरानी गरिरहनुभएको हुन्छ। तैँले यो घटनालाई साँच्चै हृदयमा लिन्छस्, तँ यो घटनाप्रति अत्यन्तै गम्भीर, कठोर, र तत्पर हुन्छस् कि तँ यसप्रति उदासीन हुन्छस्, तँ यसलाई बेवास्ता गर्छस्, र तँ यसप्रति अत्यन्तै भावशून्य हुन्छस्, वा तैँले यसबाट बच्ने र विकर्षित हुने मनोवृत्ति अपनाउँछस् भन्ने कुरालाई उहाँले हेरिरहनुभएको हुन्छ। उहाँले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस्, र तँ परमेश्वरका वचनहरू, परमेश्वरका मागहरू, र सत्यताका हकमा गम्भीर व्यक्ति होस् कि होइनस् भन्ने कुरा हेरिरहनुभएको हुन्छ। सम्पूर्ण घटनाको विकासको प्रक्रियामा, तेरो मनोवृत्ति झन्-झन् स्पष्ट हुँदै जान्छ, र परमेश्वरले सत्यताप्रतिको तेरो मनोवृत्ति, उहाँले खडा गर्ने वातावरणहरूप्रति तेरो मनोवृत्तिलाई झन्-झन् स्पष्ट रूपमा देख्नुहुनेछ, र सत्यताको पछ्याइप्रतिको तेरो मनोवृत्तिलाई पनि स्पष्ट रूपमा देख्नुहुनेछ। जब सम्पूर्ण घटना यसको अन्त्यतर्फ अघि बढ्छ र यसको अपरिहार्य परिणाम देखा पर्छ, तब परमेश्वरले अझै पनि तैँले सम्पूर्ण घटनाबाट के प्राप्त गरेको छस्, तैँले आफ्नो मनमा के सोचिरहेको छस्, र तैँले के-कस्ता हिसाब-किताब गरिरहेको छस् भन्ने कुरालाई हेरिरहनुभएको हुन्छ। उहाँले तँ आफूलाई रक्षा गर्नका लागि अनुभव प्राप्त गर्न र यस घटनाबाट पाठहरू सिक्नमा मात्रै केन्द्रित छस्, अर्थात् मान्छे खुसी पारिहिँड्ने व्यक्ति भइरहेको छस्, वा तँ सत्यता सिद्धान्तहरूअनुसार काम गर्छस् र तँ अब पहिले जस्तो भ्रमित छैनस् कि भन्ने कुरा हेरिरहनुभएको हुन्छ। परमेश्वरले यो घटनाप्रतिको तेरो मनोवृत्ति के हो, तैँले आफूलाई व्यक्तिगत रूपमा असर नगर्ने कुनै पनि कुराबाट टाढा रही मौन भएर कुनै दृष्टिकोण व्यक्त नगर्ने गर्छस् कि यो घटनाको सामना गर्दा तँमा शुद्ध बुझाइको कमी मात्रै नभई बरु परमेश्वरप्रतिको तेरा गलतफहमी र गुनासाहरू पनि अझै गम्भीर भएका हुन्छन्, र तैँले उहाँका बारेमा अझै धेरै धारणा र कल्पनाहरू विकास गरेको हुन्छस्, यहाँसम्म कि तँ यसबाट जोगिन समेत चाहन्छस् भन्ने कुरालाई पनि हेर्नुहुनेछ। सबै प्रकारका घटनाहरू घट्दा विभिन्न प्रकारका मानिसहरूका विचार र दृष्टिकोण फरक-फरक हुन्छन्, र परमेश्वरले ती सबै कुरालाई नियालिरहनुभएको र अभिलेख राखिरहनुभएको हुन्छ। कुनै पनि वर्ष, कुनै पनि दिन, र कुनै पनि घण्टा, मिनेट, वा सेकेन्डमा, तैँले के सोचिरहेको छस्, के भनिरहेको छस्, के हिसाब-किताब गरिरहेको छस्, के योजना बनाइरहेको छस्, तैँले सत्यताहरूको कुन पक्ष बुझेको छस्, कसैले सत्यताको कुनै पक्षका बारेमा सङ्गति गर्दा तेरो मनोवृत्ति कस्तो हुन्छ, तँ यसको प्रतिरोध गर्छस् र यसप्रति वितृष्ण हुन्छस् र त्यो सुन्न चाहँदैनस्, वा उम्कने योजना बनाउँछस् कि—परमेश्वर यी सबै कुराहरूलाई छानबिन गर्नुहुन्छ। मण्डली, परमेश्वरको घर, वा आफ्नो वरिपरि देखा पर्ने मानिस, घटना, र कामकुराहरूप्रति कहिल्यै कुनै मनोवृत्ति नहुने पुतला जस्तै भावशून्य र मन्द-बुद्धिका मानिसहरू पनि हुन्छन्। तिनीहरूले यस्तो सोच्दै आफ्नो दृष्टिकोणलाई दह्रिलो गरी समातिरहन्छन्: “मैले दुष्टता गरिनँ र बाधा वा अवरोध पैदा गरिनँ, वा अरूलाई गलत ठहराइनँ, र कुनै पनि मानिस, घटना, वा कामकुराहरूको सामना गर्दा म कुनै टिप्पणी गर्दिनँ वा कुनै मनोवृत्ति वा दृष्टिकोण राख्दिनँ, र म रोबटजस्तै व्यवहार गर्छु र नियम पालना गर्ने तरिकाले आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु र राम्ररी श्रम गर्छु भने, त्यो नै पर्याप्त हुन्छ।” यो पनि एक प्रकारको सोचाइ र दृष्टिकोण हो। अवश्य नै, परमेश्वरले यस्तो सोचाइ र दृष्टिकोणलाई नियाल्नुहुनेछ र त्यसको अभिलेख राख्नुहुनेछ। परमेश्वरले यावत् थोक र घटनामाथि अनि मानिसहरूको वरिपरि हुने हरेक निश्चित कुरामाथि सार्वभौमिकता राख्नुपछाडिको उद्देश्य भनेको मानिसहरूका लागि वातावरण खडा गर्नु र तिनीहरूलाई जीवित शिक्षण सामग्रीहरू प्रदान गर्नु हो, ताकि सबै किसिमका कुराहरूको सामना गर्दा, विभिन्न प्रकारका मानिसहरूले आफ्नो सबैभन्दा साँचो पक्ष देखाऊन्, र परमेश्वर र सत्यताप्रतिको आफ्नो सबैभन्दा साँचो विचार र दृष्टिकोण, र आफ्नो सबैभन्दा साँचो मनोवृत्ति देखाऊन्। मानिसहरूमा रहेका यी मनोवृत्तिहरू पूर्ण रूपमा स्वतन्त्रता र उन्मुक्तिको स्थितिमा प्रकट हुन्छन्। परमेश्वर कहिल्यै हस्तक्षेप गर्नुहुन्न, हात हाल्नुहुन्न, वा चालबाजी गर्नुहुन्न, उहाँ केवल विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको हृदय सन्तुष्ट हुने गरी र तिनीहरूको प्राकृतिक धार अनुसार आफ्ना विचार, दृष्टिकोण, र मनोवृत्तिहरू व्यक्त गर्न दिनुहुन्छ, र अन्तिममा विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको प्रकटीकरण अनुसार प्रकाश गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। “विभिन्न प्रकारका मानिसहरू” मा को समावेश हुन्छ? परमेश्वरले विभिन्न प्रकारका मानिसहरूका लागि के-कस्ता बन्दोबस्तहरू गर्नुहुन्छ? परमेश्वरले सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यता प्राप्त गर्न सक्षम बनाउनुहुन्छ; उहाँले सत्यताप्रति रुचि नभएका तर श्रम गर्न इच्छुक हुनेहरूलाई त्यसो गर्नका लागि बस्न सक्षम बनाउनुहुन्छ; सत्यतादेखि विकर्षित र वितृष्ण हुनेहरूका हकमा भन्दा, उहाँले सत्यताप्रति वितृष्ण हुने तिनीहरूको मनोवृत्ति प्रकाश गर्नुहुन्छ, तर यदि तिनीहरू सेवा दिनका लागि बस्न सक्छन् वा तिनीहरू सेवा दिनका लागि उपयुक्त छन् भने, परमेश्वरले यी अझ राम्रा मानिसहरूलाई छनौट गरेर सेवा दिनका लागि तिनीहरूलाई अधिकार प्रदान गर्नुहुनेछ, जबकि यदि तिनीहरू सेवा दिनका लागि उपयुक्त छैनन्, वा तिनीहरू बाधा र अवरोधहरू उत्पन्न गर्न सक्ने हदसम्म सत्यताप्रति वितृष्ण हुन्छन् भने, परमेश्वरले तिनीहरूलाई ठीक समय र अवसरमा निकाल्नुहुनेछ। परमेश्वरले गर्नुहुने यो सबै काम मानिसहरूका धारणाहरूसँग मिल्दैन, होइन र? (हो।) के मानिसहरूले यसमा परमेश्वरको सहनशीलता र प्रेमिलो स्वभाव देख्न सक्छन्? (यी कुराहरूबाट हामीले के देख्न सक्छौँ भने, यो व्यावहारिक काममार्फत, परमेश्वरले मानिसहरूलाई अनुभव गर्न अगुवाइ गर्नुहुन्छ, र यो सबै कामको पछाडि मानिसप्रतिको परमेश्वरको प्रेम हुन्छ।) यो कामभित्र परमेश्वरका श्रमसाध्य अभिप्रायहरू, उहाँको कामको बुद्धि, र उहाँले मुक्ति दिने अभिप्राय राख्नुभएका मानवहरूप्रतिको उहाँको जिम्मेवार मनोवृत्ति समावेश हुन्छन्। अर्को पक्ष पनि छ, जुन के हो भने, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मानवसँग हुने कुराहरू होइनन्। परमेश्वर आफूले गर्ने सबै कुरामा अत्यन्तै कडा र गम्भीर हुनुहुन्छ, र उहाँले कहिल्यै लापरवाही गर्नुहुन्न। विशेष गरी मानिसहरूले सत्यता प्राप्त गर्ने मामिलामा, उहाँ अत्यन्तै कडा र गम्भीर हुनुहुन्छ; मानिसहरूको जीवन र मानिसहरूका परिणामहरूको जिम्मेवारी लिनका लागि, परमेश्वरले यसरी काम गर्नैपर्छ। अवश्य नै, परमेश्वरका लागि, उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो ठीक यस्तै हुन्छन्। आफ्नो जीवन, र परिणाम र गन्तव्यप्रतिको तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, चाहे त्यो गम्भीर र कडा मनोवृत्ति होस् वा झाराटारुवा मनोवृत्ति होस्, जेसुकै भए पनि, परमेश्वरका लागि, उहाँले तँलाई छनौट गर्नुभएको हुनाले र उहाँले तँलाई सत्यता प्रदान गर्नुभएको हुनाले र तँलाई मुक्ति दिन चाहनुभएको हुनाले, उहाँले तेरो हरेक शब्द र व्यवहार, र सबै कुराप्रतिको तेरो मनोवृत्तिलाई पूर्ण रूपमा बुझ्नुहुनेछ, र उहाँले अन्तमा तेरा सबै मनोवृत्तिका आधारमा तेरो परिणाम निर्धारित गर्नुहुनेछ। अनि तेरा सबै मनोवृत्तिका आधारमा, उहाँले तँ अन्ततः सत्यता प्राप्त गर्ने व्यक्ति, र परमेश्वरप्रति समर्पित हुन र उहाँसँग मिल्न सक्ने व्यक्ति बन्नेछस् कि बन्नेछैनस् भन्ने कुरालाई हेर्नुहुनेछ। सायद तँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुने कुराबारे कहिल्यै गम्भीर भएको छैनस्, यसबारे कहिल्यै ध्यान दिएर मनन गरेको छैनस्, र परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भन्ने तँलाई थाहा छैन होला। तर, सृजित मानवहरूमाथि सार्वभौमिकता राख्नुहुने सृष्टिकर्ताका रूपमा, उहाँ मानिसहरू जस्तै भ्रमित र अन्योलग्रस्त हुनुहुन्न; उहाँले मानवजातिलाई मुक्ति दिने काम गम्भीर रूपमा गर्नुहुन्छ। उहाँले तँलाई सृष्टि गर्नुभयो र छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिने वाचा गर्नुभयो, त्यसैले उहाँले यो काम पूरा गर्नुहुनेछ र उहाँ अन्त्यसम्मै जिम्मेवार रहनुहुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो काम पूरा गर्नु र अन्तसम्मै जिम्मेवारी लिनुका वास्तविक प्रकटीकरण र वास्तविक कामका विषयवस्तुहरू हुन्छन्। परमेश्वरले यसरी नै काम गर्नुहुन्छ, र यो उहाँको इमानदार र तत्पर मनोवृत्ति हो। परमेश्वरले तँसँग झाराटारुवा व्यवहार गर्नुहुन्न, वा तँलाई कुनै नारा फलाकेर पन्छाउनुहुन्न, र परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिनका लागि उहाँले चुकाउनुहुने वास्तविक मूल्य, र मानिसहरूप्रतिको उहाँको जिम्मेवार मनोवृत्तिलाई अझै राम्ररी प्रतिबिम्बित गर्छ।