सत्यता कसरी पछ्याउने (२) भाग दुई
परमेश्वरमा विश्वास गर्दा, व्यक्तिले परमेश्वरको कामले मानिसहरूमा भएको ठ्याक्कै कुन कुरा परिवर्तन गर्ने अभिप्राय राखेको हो, परमेश्वरले मानिसहरूको भ्रष्टताको समस्यालाई कसरी समाधान गर्नुहुन्छ, र उहाँ मानिसहरूमा के हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भनी बुझ्नुपर्छ—यी स्पष्टसँग सङ्गति गरिनुपर्ने विषय हुन्, होइनन् र? समग्रमा भन्दा, परमेश्वरले आफ्नो कामद्वारा मानिसहरूमा ठ्याक्कै के-कस्ता प्रभावहरू हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने कुरा व्यक्तिले बुझ्नुपर्छ। पहिलो, परमेश्वरको कामको यो चरणमा, उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र जीवन आपूर्ति गरिरहनुभएको छ। मानिसहरूलाई सत्यता प्रदान गर्ने काम भनेको मानिसहरूले वास्तविक जीवनमा सबै प्रकारका मानिस, घटना र कामकुराहरूको सामना गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गर्नु हो, ताकि तिनीहरूले ती कुराहरू बुझेपछि, यी सत्यता सिद्धान्तहरूका आधारमा मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सकून्, र यस आधारमा तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान हुन्छन्, र तिनीहरूलाई यी भ्रष्ट स्वभावहरू फाल्न र परमेश्वरमा साँचो र पूर्ण रूपमा समर्पित हुन सक्षम बनाइन्छ। अवश्य नै, यो मुक्ति पाउनुको सङ्केत पनि हो, र यो मुक्ति पाउनुको साँचो प्रकटीकरण हो, जसलाई अन्ततः मानिसहरूमा देख्न सकिन्छ। परमेश्वरले मानिसहरूलाई सत्यता प्रदान गर्ने सम्पूर्ण प्रक्रियामा, समाधान गर्नुपर्ने मुख्य समस्याहरू के-के हुन्? समाधान गर्नुपर्ने समस्याहरू मुख्य रूपमा दुई प्रकारका छन्। समाधान गर्नुपर्ने पहिलो प्रकारको समस्या मानिसहरूका धारणाहरू हुन्। शैतानबाट आउने मानिसहरूका विभिन्न प्रकारका भ्रामक, विकृत र तिनीहरूले दह्रिलो गरी पक्रेर राखेका विचार र दृष्टिकोणहरूलाई सामूहिक रूपमा मानिसहरूका धारणाहरू भनिन्छ। यी गलत विचार र दृष्टिकोणहरूले मानिसहरूको विचार र व्यवहारलाई नियन्त्रण गर्छन्, र ती कुराहरू मानिस र कामकुराहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तिनीहरूको विचारको आधारभूत सिद्धान्त बनिसकेका छन्, त्यसकारण तिनलाई पूर्ण रूपमा समाधान गर्नुपर्छ। यो मानिसहरूको विचारसँग सम्बन्धित समस्या हो, जसलाई समाधान गर्नुपर्छ। समाधान गर्नुपर्ने अर्को प्रकारको समस्या भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो। भ्रष्ट स्वभावहरू मण्डली जीवनमा प्रायजसो सङ्गति, छलफल, र चिरफार गरिने विषय हुन्। कतिपय भ्रष्ट स्वभावहरू मानिसहरूका भ्रामक विचार र दृष्टिकोणहरूले पैदा गरेका हुन्छन्, जबकि अरू भ्रष्ट स्वभावहरू विशुद्ध रूपमा शैतानी स्वभावहरू हुन्। परमेश्वरले मानिसहरूमा आफ्नो काम र वचनहरूमार्फत समाधान गर्ने अभिप्राय राख्नुभएका दुई वटा कुराहरू तिनीहरूका धारणा र तिनीहरूका भ्रष्ट स्वभाव हुन्। अघिल्लो कुरा व्यक्तिले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ, जबकि पछिल्लो कुरा व्यक्तिले कसरी आफूलाई आचरणमा ढाल्छ र कार्य गर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। जब यी दुइटा कुरा समाधान हुन्छन् र मानिसहरूले सत्यता प्राप्त गरेका हुन्छन् र तिनीहरू परमेश्वरप्रति समर्पित हुन र उहाँसँग मिल्न सक्छन्, तब परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गरेको हुनेछ, र परमेश्वरको काम समाप्त भएको हुनेछ। तर, परमेश्वरको कामको सम्पूर्ण प्रक्रियामा—चाहे त्यो परमेश्वरले काम गर्ने तरिका होस्, उहाँको कामका निश्चित चरणहरू होस्, वा उहाँले व्यक्त गर्नुभएका हरेक सत्यता होस्—यीमध्ये कुनै पनि कुरा मानिसहरूको व्यक्तित्व, क्षमता, योग्यता, जन्मजात प्रवृत्ति, जीवनका बानीबेहोरा र जीवनशैली, वा तिनीहरूका सोख र रुचिहरू जस्ता पक्षहरूप्रति लक्षित हुँदैन। अर्को शब्दमा भन्दा, परमेश्वरको कामको उद्देश्य, लक्ष्य, र महत्त्व भनेको मानिसहरूका अन्तर्निहित क्षमता र योग्यताहरू, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्नु होइन। तँसँग जस्तोसुकै क्षमता र कार्य सामर्थ्य भए पनि, वा तेरो अन्तर्निहित व्यक्तित्व, जीवनका बानीबेहोरा, जन्मजात प्रवृत्ति, र अरू विभिन्न पक्षहरू जस्तो भए पनि, परमेश्वरले यीमध्ये कुनै पनि कुरालाई हेर्नुहुन्न। उहाँले तँ सामान्य मानवता भएको व्यक्ति होस् कि होइनस् भनेर मात्रै हेर्नुहुन्छ, अनि त्यसपछि यस आधारमा उहाँले तँलाई सत्यता प्रदान गर्नुहुन्छ र तँमा काम गर्नुहुन्छ। परमेश्वरले तँलाई सत्यताका जे-जस्ता पक्षहरू प्रदान गर्नुभए पनि, वा उहाँले तँमा जुनसुकै प्रकारको काम गर्नुभए पनि, अन्ततः यो तेरो अन्तर्निहित क्षमता र जन्मजात प्रवृत्तिलाई परिवर्तन गर्नका लागि होइन, यो तेरो क्षमता वा जन्मजात प्रवृत्तिलाई बढाएर त्यसलाई सुधार गर्न, वा त्यसलाई विशेष रूपमा अलौकिक बनाउनका लागि होइन—यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने निसानाहरू होइनन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, वा तैँले जति धेरै प्रवचन सुनेको भए पनि, वा तैँले परमेश्वरका वचनहरूमा जति धेरै मेहनत लगाएको भए पनि, तेरो अन्तर्निहित क्षमता उस्तै रहनेछ र परिवर्तन हुनेछैन। तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाले, धेरै वर्षदेखि प्रवचन सुनेकाले, र धेरै वर्ष दौडधुप र आफूलाई समर्पित गरेकाले यो परिवर्तन हुनेछैन। अवश्य नै, तेरो व्यक्तित्व, जन्मजात प्रवृत्ति, जीवनका बानीबेहोरा, चासो, रुचिहरू, र इत्यादि कुराहरूमा पनि यही कुरा लागू हुन्छ; तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाले र धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गरेकाले ती परिवर्तन हुनेछैनन्। मानिसहरूका धारणाहरूमा, यो परिवर्तनको अर्थ अवश्य नै तल झार्नु नभई माथि उठाउनु हो—यी कुराहरूलाई पहिलेको भन्दा उच्च र असल बनाउनु हो। अर्थात्, परमेश्वरको काम जुनसुकै चरणमा भए पनि, वा उहाँले त्यो गर्न जुनसुकै विधि प्रयोग गर्नुभए पनि, उहाँको कामले मानिसहरूको अन्तर्निहित क्षमता, कार्य सामर्थ्य, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुराहरूलाई परिवर्तन गर्दैन। त्यसकारण, यदि तेरो क्षमता कमजोर छ र तँसँग अहिले अगुवा वा कामदार बन्ने, वा निश्चित कामको सुपरिवेक्षक बन्ने क्षमता छैन भने, अबको २०-३० वर्षसम्म पनि तँसँग यो क्षमता पनि हुनेछैन; अनि सत्यता पछ्याएको कारण तैँले अन्तमा मुक्ति पाइस् भने पनि, तँसँग अझै पनि यो क्षमता हुनेछैन। तेरो क्षमता परिवर्तन हुनेछैन। के त्यसपछि तेरो जन्मजात प्रवृत्ति परिवर्तन हुनेछ त? सबैले जन्म, बुढ्यौली, रोग, र मृत्युको अनुभव गर्छन्, र ठूला घटनाहरूको सामना गर्दा, तिनीहरू बेचैन हुन्छन्, डराउँछन्, भयभीत हुन्छन्, र इत्यादि—यी जन्मजात प्रवृत्तिहरू पनि परिवर्तन हुनेछैनन्। उदाहरणका लागि, जब मानिसहरूले निकै ठूलो आवाज सुन्छन्, तब तिनीहरू सबै आफ्नो शिर ढाकेर सुरक्षित ठाउँमा लुक्छन्—यो जन्मजात प्रवृत्ति हो। जब तेरो हातले आगोको ज्वाला वा अरू कुनै तातो कुरालाई छुन्छ, तब तैँले जन्मजात प्रवृत्तिले नै हात हटाउँछस्, वा जब तैँले कुनै दुःखद खबर सुन्छस्, तब तँ जन्मजात प्रवृत्तिले नै भित्रभित्रै काँप्छस् र भयभीत हुन्छस्। जब तैँले खतराको सामना गर्छस्, तब जन्मजात प्रवृत्तिले नै तेरो पहिलो विचार यस्तो हुनेछ, “के म सुरक्षित छु? के यो खतरा मतर्फ आइरहेको छ?” यो जन्मजात प्रवृत्ति हो। साथै, जब कसैले तँलाई प्रहार गर्न हात उठाउँछ, तब तँ जन्मजात प्रवृत्तिले नै आफूलाई रक्षा गर्न त्यसलाई छल्छस्; जब तेरो आँखामा धूलो वा पानी पस्छ, तब जन्मजात प्रवृत्तिले नै आँखा बन्द गर्छस्; अनि जब तेरो दाँत दुख्छ, तब तँ बारम्बार हातले दाँत छुन्छस्। तँ जन्मजात प्रवृत्तिले नै प्राकृतिक प्रतिक्रिया दिन्छस्, तँसँग निश्चित प्रकटीकरण हुन्छ, वा तैँले जन्मजात प्रवृत्तिले नै कुनै कार्य गर्छस्। मानिसहरू यी जन्मजात प्रवृत्तिगत प्रतिक्रियाहरू लिएर जन्मिन्छन्। कसैले पनि तिनलाई खोस्न सक्दैन, र परमेश्वरले पनि तिनलाई परिवर्तन गर्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा तिनीहरूका लागि यी जन्मजात प्रवृत्तिगत प्रतिक्रियाहरू तय गरिदिनुभएको थियो, र तिनको उद्देश्य मानिसहरूलाई रक्षा गर्नु हो। ती सृजित मानवमा हुनुपर्ने कुरा हुन्। परमेश्वरले यी जन्मजात प्रवृत्तिहरूलाई खोस्नुहुनेछैन, र तैँले सत्यता पछ्याएका कारण पनि तिनलाई गुमाउनेछैनस्। मैले यसो भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, तँ सत्यता पछ्याउँछस्, तैँले धेरै सत्यता बुझेको छस्, र तँमा परमेश्वरप्रतिको साँचो समर्पणता छ भन्दैमा तँलाई आगो लागेको बेला डर नलाग्ने वा तैँले तातो तेलको कराहीमा हात हाल्दा पोलेको महसुस नगर्ने भन्ने हुँदैन—यो असम्भव कुरा हो। कसैले यस्तो गवाही दिएको भए तँलाई के लाग्नेथियो? के तैँले तिनीहरूलाई डाहा र प्रशंसा गर्नेथिइस्? तैँले यसलाई कसरी मूल्याङ्कन र चित्रण गर्नेथिइस्? कम्तीमा पनि, यो अलौकिक घटना हो, र परमेश्वरले यस्तो गर्नुहुन्न। परमेश्वरले मानवजातिका लागि सृष्टि गर्नुभएका जन्मजात प्रवृत्तिहरूका हकमा भन्दा, तँ सत्यता पछ्याउँछस् भन्दैमा परमेश्वरले तेरा यी जन्मजात प्रवृत्तिहरू खोस्नुहुनेछैन, न त उहाँले यी जन्मजात प्रवृत्तिहरूलाई अलौकिक शक्तिहरूमा रूपान्तरण नै गर्नुहुनेछ। उदाहरणका लागि, मानौँ तँ अँध्यारो ठाउँमा छस् र तैँले केही पनि देख्न सक्दैनस्; तैँले जन्मजात प्रवृत्तिले आफ्नो वरिपरिको कुरा महसुस गर्न छामछामछुमछुम गर्नेछस्, र तेरो वरिपरिका आवाजहरूलाई छुट्याउन आफ्नो कानले ध्यान दिएर सुन्नेछस्, जन्मजात प्रवृत्तिले नै तँलाई अघि बढ्ने बाटो महसुस हुनेछ। तँ सत्यता पछ्याउँछस् भन्दैमा तैँले देहलाई पार गर्नेछैनस्—जति अँध्यारो हुन्छ, तेरो आँखा त्यति नै प्रखर महसुस हुन्छ, र तैँले त्यति नै स्पष्ट रूपमा देख्न सक्छस् र आफ्नो दिशा पत्ता लगाउन तँलाई त्यति नै सजिलो हुन्छ भन्ने हुँदैन—यो अलौकिक कुरा हो, र यो परमेश्वरले गर्नुहुने कुरा होइन। तैँले धेरै सत्यता बुझेको भए पनि, र तैँले सत्यतामा समर्पित हुन र सत्यता अभ्यास गर्न सके पनि, यदि यस विषयमा तेरो जन्मजात प्रवृत्ति उस्तै रहन सक्छ र घट्दैन भने, त्यो आफैमा नै ठूलो कुरा हो, तैपनि तँ ती कुरा अलौकिक बनून् भन्ने चाहन्छस्—यो असम्भव कुरा हो! यसका साथै, कामकुरालाई हेर्ने र कामकुरालाई सम्हाल्ने व्यक्तिको क्षमता र समस्याहरू समाधान गर्ने उसको क्षमता पनि परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्ने अभिप्राय राख्नुहुने कुरा होइनन्। परिस्थितिहरूलाई सम्हाल्ने व्यक्तिको सामर्थ्य एक हिसाबमा उसको क्षमतामा निर्भर हुन्छ, र अर्को हिसाबमा उसको अन्तर्निहित बुद्धिमत्तामा निर्भर हुन्छ, र उसको बुद्धिमत्तामा उसको वरदान पनि समावेश हुन्छ। कतिपय मानिसहरू विशेष रूपमा बाहिरी मामलाहरू सम्हाल्ने निश्चित क्षमता र वरदान लिएर जन्मिन्छन्, अर्थात्, तिनीहरू सोच्न र सामाजिक रूपमा घुलमेल हुन सिपालु हुन्छन्, तिनीहरू विशेष सामाजिक क्षमता लिएर जन्मिन्छन्, र तिनीहरूलाई मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, परिस्थितिहरूलाई कसरी हेर्ने, र निश्चित मामलाहरूलाई कसरी सम्हाल्ने भन्ने थाहा हुन्छ। तिनीहरूको मनमा, सबै प्रकारका कुराहरूका हकमा निकै स्पष्ट सोच हुन्छ, र त्यो अत्यन्तै तर्कसङ्गत पनि हुन्छ। जब तिनीहरूले कुनै कुरालाई हेर्छन्, तब तिनीहरूले कुनै विचलन वा बेतुकताविना विषयको मर्म बुझ्न, र तुलनात्मक रूपमा सटीक रूपमा समस्याहरू सम्हाल्न सक्छन्। यस्तो व्यक्तिमा मामलाहरू सम्हाल्ने क्षमता हुन्छ। कतिपय मानिसहरू यो क्षमता लिएर जन्मिँदैनन्, र तिनीहरूलाई पुस्तकहरू पढ्न, फूलहरू उमार्न, घाँस रोप्न, चराचुरुङ्गी हुर्काउन, र इत्यादि कुराहरू मन पर्छ। यसलाई के भनिन्छ? यसलाई जीवनको परिष्कृत र आरामदायी शैली हुनु भनिन्छ। यिनीहरू भव्यता र परिष्कृतताको पछि लाग्ने मानिसहरू हुन्। तिनीहरू सामाजिक रूपमा घुलमेल हुन वा बाहिरी मामलाहरू सम्हाल्न सिपालु हुँदैनन्, र तिनीहरूसँग यो क्षमता हुँदैन। जब तिनीहरूले बाहिर गएर मामिलाहरू सम्हाल्नुपर्ने, वकिलसँग परामर्श लिनुपर्ने वा कुनै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ, तब तिनीहरू एकदमै डरपोक र भयभीत हुन्छन्, र त्यो व्यक्तिको आँखामा हेर्ने हिम्मत गर्दैनन्, र जब तिनीहरूलाई प्रश्नहरू सोधिन्छ, तब तिनीहरू अकमकाउँछन् र तिनीहरूलाई के भन्ने थाहा हुँदैन। तिनीहरू व्यर्थका हुन्छन्, होइन र? जब यस्तो व्यक्तिले कुनै समस्याको सामना गर्दैन, तब ऊ फुर्ती लगाउन निकै सिपालु हुन्छ, र उसले यसो भन्छ, “मैले यस्तो-त्यस्तो कुरा गरेँ, मेरो विगत यति-उति शानदार थियो, मैले एक पटक यस्ता-त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गरेको थिएँ, र मैले यस्ता-त्यस्ता सेलिब्रेटीहरूलाई चिनेको छु…।” तर, जब उसलाई वास्तवमा कुनै कुरा सम्हाल्न पठाइन्छ, तब ऊ कुनै नाम-निशाना नदेखिने गरी हराउँछ। तिनीहरूले गर्न सक्ने एउटै मात्र कुरा भनेको फुर्ती लगाउनु हो भन्ने थाहा हुन जान्छ, र तिनीहरूसँग कुनै वास्तविक प्रतिभा वा ज्ञान हुँदैन, र तिनीहरूसँग मामलाहरू सम्हाल्ने कुनै क्षमता हुँदैन। के कसैले सत्यता पछ्याएर मामलाहरू सम्हाल्नमा रहेको उसको खराबीको तथ्यलाई परिवर्तन गर्न सक्छ? दुर्भाग्यवश, अहँ, सक्दैन। अन्तर्मुखी व्यक्तित्व भएका र बाल्यकालदेखि नै अरू मानिसहरूको सामना गर्न डराउने ती व्यक्तिहरूलाई हेर् त। जब तिनीहरू उमेरमा बीस-तीसको दशकमा हुन्छन्, तब मानिसहरूसँग कुरा गर्दा वा मानिसहरूसँग अन्तरक्रिया गर्ने कार्य समावेश भएका मामलाहरू सम्हाल्दा तिनीहरू अझै पनि निकै बेचैन हुन्छन्। तिनीहरू अधबैँसे हुँदासम्म पनि, भीडको अगाडि बोल्दा तिनीहरूलाई अझै पनि लाज लाग्छ र तिनीहरू रातोपिरो हुन्छन्। त्यस्ता मानिसहरूले बाँचुञ्जेल कहिल्यै व्यापक संसारको सामना गर्न सक्नेछैनन्। अरू मानिसहरू यस हिसाबमा फरक हुन्छन् कि, तिनीहरूलाई किशोरावस्थादेखि नै मानिसहरूसँग कुराकानी र अन्तरक्रिया गर्न मन पर्छ। जोसुकै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गरे पनि, तिनीहरू डराउँदैनन्, र तिनीहरूले जेसुकै गरिरहेका भए पनि, तिनीहरू चिन्तित हुँदैनन् वा अत्तालिँदैनन्। तिनीहरूमा चेत हुन्छ, त्यसकारण तिनीहरूलाई मञ्चको डर लाग्दैन। मानिसहरू जति धेरै हुन्छन्, तिनीहरू त्यति नै खुसी र ऊर्जावान् हुन्छन्, र तिनीहरू त्यति नै बढी प्रस्तुति दिन चाहन्छन्। के परमेश्वरको काम अनुभव गरेर व्यक्तिको व्यक्तित्व र मामलाहरू सम्हाल्ने क्षमता परिवर्तन हुन सक्छ? (सक्दैन।) परमेश्वरले मानिसहरूका यी कुराहरूलाई परिवर्तन गर्नुहुन्न। कतिपय मानिसहरूलाई मामलाहरू सम्हाल्ने तिनीहरूको कमजोर क्षमता तिनीहरूको मानवताको कमीकमजोरी हो भन्ने थाहा हुन्छ, त्यसकारण तिनीहरूले यसलाई हटाउन कडा परिश्रम गर्छन्। सायद, जब तिनीहरू अधबैँसे वा वृद्धावस्थाको उमेरमा पुग्छन्, तब दशकौँसम्म खारिएपछि र व्यापक अनुभव जम्मा गरेपछि, तिनीहरूले केही तत्कालीन मामलाहरूलाई मुस्किलले झेल्न सक्लान्; तर तिनीहरूसँग अझै पनि जीवन-मृत्युका गम्भीर मामलाहरू सम्हाल्ने क्षमता हुनेछैन। विशेष गरी कतिपय मानिसहरू वृद्ध अवस्थामा पुगेपछि आफै केही पनि सम्हाल्न सक्दैनन्; तिनीहरूले जेसुकै सम्हाल्ने प्रयास गरे पनि, तिनीहरूले त्यसलाई पूर्ण रूपमा बिगार्छन्—तिनीहरू यो कुरालाई काँधमा बोक्नै सक्दैनन्—अनि तिनीहरू आफ्नो पारिवारिक मामलाहरू सम्हाल्ने बोझ समेत बोक्न सक्दैनन्। अनि तिनीहरू के गर्छन्? कतिपय अवस्थामा, तिनीहरूका छोराछोरीसँग मामलाहरू सम्हाल्ने क्षमता हुन्छ, त्यसकारण यी मानिसहरूले आफ्ना छोराछोरीबाट सहयोग लिन्छन्, अनि यसो गरिरहँदा तिनीहरूले आफ्ना लागि पहिले नै गरिएका कुराहरूको आनन्द लिन्छन्। तिनीहरू सोच्छन्, “मैले योगदान दिएको छु, मसँग मामलाहरू सम्हाल्ने क्षमता छ,” तर वास्तवमा, तिनीहरूसँग यो क्षमता हुँदैन। तिनीहरूका छोराछोरी, जो अहिले वयस्क र जिम्मेवारी लिन सक्ने भएका छन्, तिनीहरूले नै यी मामलाहरू सम्हालेका हुन्छन्। अहिले यी मानिसहरू कामकुरा सम्हाल्नमा जवान हुँदा जत्तिको बेचैन र भयभीत हुँदैनन् होला, तर यसको अर्थ मामलाहरू सम्हाल्ने तिनीहरूको क्षमता परिवर्तन वा सुधार भएको छ भन्ने हुँदैन। यसको अर्थ के हुन्छ? यसको अर्थ तिनीहरू वृद्ध भएका छन्, तिनीहरूले अनुभव प्राप्त गरेका छन्, र तिनीहरूलाई अब कुनै कुराको डर लाग्दैन भन्ने हुन्छ। “अब कुनै कुराको डर लाग्दैन” ले केलाई जनाउँछ? यो कि, तिनीहरूले धेरै कुरा अनुभव गरेका र कामकुराहरूको रूपरेखा पत्ता लगाएका हुनाले तिनीहरूले कुराहरूलाई अझै खुलस्त रूपमा हेर्न सक्छन्, त्यसकारण यदि तिनीहरू साँच्चै नै अलिकति खतरामा परे भने, तिनीहरू डराउनेछैनन्, र तिनीहरूले यस्तो सोच्नेछन्: “म त यहाँ छु। यदि तिमीहरूलाई पैसा चाहिएको हो भने, मसँग पैसा छैन; यदि तिमीहरूलाई मेरो ज्यान चाहिएको हो भने, ज्यान हाजिर छ—तिमीहरूलाई जे मन लाग्छ त्यही गर!” के त्यस्ता मानिसहरूले कुनै प्रगति गरेका हुन्छन्? तिनीहरूले पटक्कै कुनै प्रगति गरेका हुँदैनन्—कुराहरू सम्हाल्ने मामिलामा तिनीहरू अझै पनि निकै लापरवाह र भ्रमित हुन्छन्। तिनीहरू पहिले जत्तिकै हतारिलो र अधीर हुन्छन्। तिनीहरू पहिले कामकुरा पूरा गर्न असफल भएका थिए, र अहिले पनि तिनीहरू अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू यस्तै हुन्छन्। मलाई भन, वास्तवमा कुरा यस्तै होइन र? (हो।)
तिमीहरूमाझ सबै उमेरका मानिसहरू छन्। अहिलेसम्म, के तैँले कहिल्यै कुनै विशेष कुरा अनुभव गरेको छस्—सत्यता पछ्याउने क्रममा, के तेरो क्षमता पूर्ण रूपमा परिवर्तन भएको छ र पहिलेको भन्दा निकै राम्रो भएको छ, वा तेरो जन्मजात प्रवृत्ति परिवर्तन भएको छ? के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? (छैनँ।) त्यसोभए, के कसैले कहिल्यै यसो भनेको छ, “म पहिले निकै काम नलाग्ने थिएँ। म बोल्न सिपालु थिइनँ, मसँग कुनै क्षमता वा सीप थिएन, र मसँग सामाजिक रूपमा घुलमेल हुने क्षमता थिएन। अहिले मैले परमेश्वरको काम स्वीकार गरेको हुनाले, म बोल्न सिपालु छु, मसँग सामाजिक क्षमताहरू छन्, र परिस्थितिहरूलाई सम्हाल्दा, म बुद्धिमान हुन्छु र मसँग कौशल हुन्छ, र म परिस्थितिहरू सम्हाल्न जान्दछु”? के कसैसँग यस्तो अनुभव छ? (छैन।) कतिपयले भन्छन्, “मेरो जीवनमा ती कुराहरू नघटेका भए पनि, परमेश्वरमा विश्वास गर्न थालेपछि परमेश्वरको काम अनुभव गर्ने क्रममा, मलाई मेरो व्यक्तित्व परिवर्तन भएको छ जस्तो लाग्छ। म ढिलो बोल्थेँ, र सबैले मलाई ‘लोसे’ भनेर बोलाउने गर्थे। मेरो अर्को उपनाम पनि थियो, ‘ढिल्लड’। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो प्रतिक्रिया पहिलेको भन्दा तीव्र भएको छ, र म पहिलेभन्दा छिटो बोल्छु र कार्य गर्छु। म कामकुराहरू पनि पहिलेभन्दा छिटो र प्रभावकारी रूपमा सम्हाल्छु।” के त्यस्ता कुराहरू हुन्छन्? (हुँदैनन्।) एउटा अवस्था छ, जसमा यो सम्भव हुन सक्छ। उदाहरणका लागि, जब कतिपय मानिसहरूले विदेशी भाषा सिक्छन् र सुरुमा बोल्ने अभ्यास गर्छन्, तब तिनीहरू निकै सुस्त गतिमा, एक-एक गरी शब्द बोल्छन्। अरूले के सोच्छन् भने, यी मानिसहरू सुस्त स्वभाव बोकेरै जन्मिएकाले यिनीहरूले यति सुस्त गतिमा बोलेको हुन सक्छ। चार-पाँच वर्षपछि, यी मानिसहरू त्यो विदेशी भाषा बोल्ने मानिसहरूसँग बारम्बार सम्पर्कमा रहिआएका हुनाले, तिनीहरूले आफ्नो मातृभाषा जत्तिकै यो भाषा पनि फरर बोल्छन्, र केही थाहा नभएका अरूले यस्तो सोच्छन्, “त्यो व्यक्तिको व्यक्तित्व परिवर्तन भएको छ। पहिले ऊ बिस्तारै बोल्थ्यो र मानिसहरू उसलाई सुन्दा अधीर हुन्थे, तर अहिले ऊ फरर बोल्छ—ऊ फुर्तिलो व्यक्ति बनेको छ। उसले बोल्ने सीधा र स्पष्ट तरिकाका आधारमा हेर्दा, उसले तत्परतासाथ मामलाहरू सम्हाल्छ र ऊसँग राम्रो व्यक्तित्व छ भन्ने कुरा थाहा पाउन सकिन्छ।” यस अवस्थामा, के उसको व्यक्तित्वमा परिवर्तन आएको छ? (छैन।) वास्तवमा, यो सामान्य ढाँचा हो। यो कुनै पनि प्रकारको पेसा सिक्ने क्रममा सामान्य प्रगतिको प्रक्रिया हो—यो व्यक्तित्व परिवर्तनको प्रक्रिया होइन। चाहे त्यो क्षमता, योग्यता र जन्मजात प्रवृत्ति होस्, वा व्यक्तित्व, बानी, चासो, र रुचिहरू होस्, यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने कुराहरू होइनन्। यदि तँ सधैँ मानिसहरूलाई सत्यता आपूर्ति गर्नका लागि परमेश्वरले काम गर्नु र बोल्नुको उद्देश्य भनेको मानिसहरूका यी सबै अन्तर्निहित गुणहरू परिवर्तन गर्नु हो भन्ने विश्वास गर्छस्, र त्यसपछि मात्रै व्यक्तिलाई परमेश्वरले बोल्नुभएअनुसारको पूर्ण रूपमा पुनर्जन्म भएको, र साँचो रूपमा नयाँ व्यक्ति मान्न सकिन्छ भन्ने सोच्छस् भने, तँ गम्भीर रूपमा गलत छस्। यो मानव धारणा र कल्पना हो। यो कुरा बुझेपछि, तैँले त्यस्ता धारणा, कल्पना, अनुमान, वा भावनाहरूलाई त्याग्नुपर्छ। अर्थात्, सत्यता पछ्याउने क्रममा, तँ यी कुराहरूलाई सारांशित गर्न सधैँ भावना वा अनुमानहरूमा भर पर्नु हुँदैन: “के मेरो क्षमतामा सुधार आएको छ? के मेरो जन्मजात प्रवृत्ति परिवर्तन भएको छ? के मेरो व्यक्तित्व पहिलेको जस्तै खराब छ? के मेरो जीवनशैली परिवर्तन भएको छ?” यी कुराहरूका बारेमा मनन नगर्; यस्तो मनन व्यर्थ हुन्छ, किनभने यी परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुभएका पक्षहरू होइनन्, र परमेश्वरका वचन र काम कहिल्यै यी कुराहरूप्रति लक्षित भएका छैनन्। परमेश्वरको कामले कहिल्यै मानिसहरूको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्ने उद्देश्य राखेको छैन, न त परमेश्वरले कहिल्यै मानिसहरूका यी पक्षहरूलाई परिवर्तन गर्ने उद्देश्यले नै बोल्नुभएको छ। यसको निहितार्थ के हो भने, परमेश्वरको कामले मानिसहरूलाई तिनीहरूका अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता आपूर्ति गर्छ, जसको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न लगाउनु अनि त्यसपछि सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन लगाउनु हो। अर्को शब्दमा भन्दा, तँसँग जस्तोसुकै क्षमता भए पनि, र तेरो व्यक्तित्व र जन्मजात प्रवृत्ति जस्तो भए पनि, परमेश्वरले तेरो अन्तर्निहित क्षमता, जन्मजात प्रवृत्ति, र व्यक्तित्व परिवर्तन गर्नुको सट्टा तँमा सत्यता ढाल्न, तेरा पुराना धारणा र भ्रष्ट स्वभावहरू परिवर्तन गर्न चाहनुहुन्छ। अहिले तैँले बुझिस्, होइन त? परमेश्वरको कामले के कुरालाई परिवर्तन गर्ने उद्देश्य राख्छ? (परमेश्वरको कामले मानिसहरूमा रहेका पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्ने उद्देश्य राख्छ।) अहिले तैँले यो सत्यता बुझिसकेको हुनाले, तैँले ती अवास्तविक र अलौकिक कुराहरूसँग सम्बन्धित कल्पना र धारणाहरू त्याग्नुपर्छ, र आफूलाई मापन गर्न वा आफूबाट माग गर्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्नु हुँदैन। बरु, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यताको खोजी गर्नुपर्छ र त्यसलाई स्वीकार गर्नुपर्छ। यसको अन्तिम उद्देश्य के हो? त्यो के हो भने, तँ आफ्नो अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता सिद्धान्तहरू बुझ्छस्, आफूले सामना गर्ने विभिन्न परिस्थितिहरूको अघि अभ्यास गर्नुपर्ने हरेक सत्यता सिद्धान्त बुझ्छस्, र तँ यी सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सक्छस्। यसो गर्दा परमेश्वरका मागहरू पूरा हुन्छन्। किनभने परमेश्वरका वचन र कामको उद्देश्य भनेको मानिसहरूलाई महामानव वा अलौकिक शक्ति भएका मानिसहरूमा रूपान्तरण गर्नुको सट्टा, मानिसहरूमा सत्यताहरू ढाल्नु हो, ताकि ती तिनीहरूको अभ्यासका सिद्धान्त र मापदण्डहरू बनून्, र ती मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने आधार बनून्, र ती तिनीहरूको जीवन बनून्। मैले “महामानव” र “अलौकिक शक्ति भएका मानिसहरू” भन्नुको अर्थ के हो? आफ्नो जन्मजात प्रवृत्तिलाई पार गर्न, आफ्नो योग्यताको दायरालाई पार गर्न, आफ्नो क्षमतालाई पार गर्न, र आफ्नो लिङ्गलाई समेत पार गर्न, र आफ्नो लिङ्गभन्दा बाहिर जिउन सक्नु—के यी अलौकिक शक्तिहरू होइनन् र? (हुन्।) उदाहरणका लागि, कतिपय मानिसहरूले विशेष भाषा अध्ययनमा संलग्न नभई अनेकौँ वा दश वटाभन्दा बढी भाषा बोल्न सक्छन्। के यो अलौकिक कुरा हो? (हो।) यो अलौकिकता मानव क्षमता, योग्यता र अन्तर्निहित प्रवृत्तिभन्दा बाहिरको कुरा हो, होइन र? (हो।) यति मात्र होइन, विभिन्न भाषा बोल्दा, तिनीहरूले लचकतासाथ फरक-फरक पुरुष र महिलाको आवाज समेत निकाल्न सक्छन्। के यो झनै अलौकिक कुरा होइन र? (हो।) तिनीहरूले जति वटा भाषा बोले पनि, तिनीहरू अलमलिँदैनन्, र तिनीहरूले जति लामो समयसम्म बोले पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूले अलिकति पानी नपिए पनि, तिनीहरूलाई तिर्खा लाग्दैन। यसका साथै, तिनीहरूले जति बोल्छन्, तिनीहरूको आँखा त्यति नै प्रखर हुन्छ, तिनीहरूको अनुहार त्यति नै धपक्क बल्छ, र तिनीहरूको पूरै शरीर चम्कन्छ। के यो अलौकिक कुरा होइन र? (हो।) बोल्दै गर्दा तिनीहरूलाई गोली लाग्यो भने पनि, तिनीहरू ठीकै हुन्छन् र बोलिरहन्छन्। त्यो त झनै अलौकिक कुरा हो, होइन र? (हो।) जब तिनीहरूले गोली देख्छन्, तब तिनीहरू त्यसलाई छल्ने प्रयास समेत गर्दैनन्, बरु सीधै त्यसको सामना गर्छन्। गोली तिनीहरूको छाती छेडेर जान्छ, तर तिनीहरू दह्रिलो गरी खडा हुन्छन् र डगमगाउँदैनन्। तिनीहरूलाई कुनै पनि हालतमा असर पर्दैन, र तिनीहरूको शिरको एउटा केशमा समेत चोट पुग्दैन। यो त जन्मजात प्रवृत्तिलाई पार गर्नु हो, होइन र? (हो।) यी सबै घटनाहरूले मानवको जन्मजात प्रवृत्तिलाई पार गर्छन्। सबैभन्दा गम्भीर कुरा त के हो भने, तिनीहरू असामान्य व्यक्ति बनेका हुन्छन्, अर्थात्, साधारण मानिसहरूभन्दा फरक, सामान्य मानिसहरूको क्षमता र योग्यताहरूलाई पार गर्ने, र सामान्य मानिसहरूको जन्मजात प्रवृत्तिलाई पनि पार गर्ने व्यक्ति बनेका हुन्छन्। सबै पक्षमा तिनीहरूका प्रकटीकरणहरू साधारण मानिसहरूको भन्दा फरक हुन्छन् र ती विशेष रूपमा अलौकिक हुन्छन्। यसले समस्या निम्त्याउँछ। के तिनीहरू अझै पनि सामान्य व्यक्ति हुन्? (होइनन्।) त्यसोभए तिनीहरू के हुन्? (दुष्ट आत्मा।) तिनीहरू दुष्ट आत्मा हुन्। के तिमीहरू यसलाई पछ्याउन चाहन्छौ? (चाहँदैनौँ।) तिमीहरूमध्ये कसैले पनि चाहँदैन, त्यसकारण के तँलाई परमेश्वरको कामले मानिसहरूलाई त्यस हदसम्म परिवर्तन गर्छ भन्ने लाग्छ? के परमेश्वरको कामको उद्देश्य व्यक्तिहरूलाई असामान्य मानिसहरूमा रूपान्तरण गर्नु हो? (होइन।) यसको उद्देश्य तँलाई सत्यतालाई स्वीकार गर्न र उहाँले तेरा लागि खडा गर्नुभएका वातावरणहरूलाई सामान्य मानवताको दायराभित्र अनुभव गर्न लगाउनु हो, ताकि यसबाट तैँले परमेश्वरले आफ्नो काम गर्नुका श्रमसाध्य अभिप्रायहरू, वा तेरा आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू, वा तेरा आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सकेस्, अनि त्यसपछि, यो बुझाइका आधारमा, सत्यताको खोजी गर्न, र त्यो अभ्यास गर्न, र क्रमिक रूपमा सत्यतामा प्रवेश गर्न सकेस्—यो प्रक्रिया सुस्त हुन्छ र अलौकिक पटक्कै हुँदैन। जब कतिपय मानिसहरू नकारात्मक भइरहेका हुन्छन्, तब तिनीहरू यसो भन्न मन पराउँछन्: “यतिका वर्ष परमेश्वरमा विश्वास गरेर मैले के पाएँ?” तँ आफूले केही प्राप्त गरेको छैन भनेर भन्छस्, तर तैँले निम्न कुराबारे ध्यान दिएर सोच्नुपर्छ। यतिका वर्ष परमेश्वरमा विश्वास गरेको हुनाले, के अहिले तँसँग धेरै कुराहरूबारे स्पष्ट दृष्टिकोण छ? तँ जति लामो समय विश्वास गर्छस्, तँलाई त्यति नै शान्ति र स्थिरता महसुस हुने, र तँलाई यो जीवनको सही मार्ग हो भन्ने त्यति नै लाग्ने हो र? यदि तँलाई यस्तो लाग्छ भने, यसको अर्थ तैँले साँच्चै नै केही कुरा प्राप्त गरेको छस् भन्ने हुन्छ। तैँले कुनै भौतिक कुराहरू प्राप्त नगरेको भए पनि, तैँले पैसा, हैसियत, ख्याति, प्राप्ति प्राप्त नगरेको भए पनि—तैँले हातले समात्न वा आँखाले देख्न सक्ने कुराहरू नपाएको भए पनि—तैँले हृदयमा केही सत्यता बुझेको छस्। तैँले परमेश्वरको वास्तविक अस्तित्व र यावत् थोकमाथिको उहाँको सार्वभौमिकताका बारेमा केही बुझाइ प्राप्त गरेको छस्। यसका साथै, तैँले मानिसहरूका लागि परमेश्वरका अभिप्रायहरू र उहाँका मागहरू पनि बुझेको छस्, र सृजित प्राणी भनेको के हो र तैँले कुन कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा तँलाई थाहा छ। अनि यदि अहिले, तँलाई कर्तव्य पूरा गर्न दिइएन भने, तँलाई पीडा हुनेछ र तेरो जीवन खोक्रो छ भन्ने महसुस हुनेछ। के यो सबैले तैँले परमेश्वरमा विश्वास गरेर लाभहरू प्राप्त गरिसकेको छस् भन्ने देखाउँदैन र? तैँले प्राप्त गरेको कुरा कुनै पनि भौतिक कुराभन्दा बढी मूल्यवान् छ। परमेश्वरको कामले मानिसहरूमा हासिल गर्ने प्रभावहरू यिनै हुन्। उहाँ मानिसहरूलाई मानवता, मानवको जन्मजात प्रवृत्ति, वा देहका सामान्य आवश्यकता र सामान्य प्रकटीकरणहरूलाई नाघ्ने केही अलौकिक, अनि अवास्तविक परिवर्तनहरूबाट गुज्रन सक्षम बनाउने अभिप्राय राख्नुहुन्न। बरु, उहाँ मानिसहरूलाई सामान्य मानवताको दायराभित्र रहेका सबै किसिमका वातावरणहरू अनुभव गर्न, र यस प्रक्रियामा, क्रमिक रूपमा र बिस्तारै सबै किसिमका बुझाइ र अनुभवहरू प्राप्त गर्न सक्षम बनाउने अभिप्राय राख्नुहुन्छ। छोटकरीमा भन्दा, यो प्रगतिशील र ढिलो प्रक्रियाको क्रममा, मानिसहरूका विचार र धारणाहरू अलि-अलि गर्दै परिवर्तन हुन्छन्, मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ, सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने तिनीहरूको दृष्टिकोण र तरिकाहरू परिवर्तन हुन्छन्, तिनीहरूका केही भ्रष्ट स्वभाव पहिलेको जस्तो स्पष्ट हुँदैनन्, र तिनीहरूको विवेक र समझ केही हदसम्म पुनर्स्थापित हुन्छ। तिनीहरूले ती अवास्तविक, भ्रामक, रित्ता, खोक्रा, वा अलौकिक कुराहरू समेतका सट्टा यी वास्तविक लाभहरू प्राप्त गर्छन्।
परमेश्वरले मानवजातिलाई मुक्ति दिने काम क्रमिक रूपमा गर्नुहुन्छ, र अवश्य नै, अझै अर्को झनै प्राथमिक सिद्धान्त पनि छ, जुन के हो भने, आफ्नो काम गर्दा, परमेश्वरले कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनुहुन्छ। “कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनु” भन्ने यो सिद्धान्त बुझ्न मानिसहरूलाई अलिक गाह्रो हुन सक्छ। कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनु भनेको के हो? यसको अर्थ के हो भने, चाहे परमेश्वरले मानिसहरूमा काम गरिरहनुभएको होस् वा मानिसहरूसँग बोलिरहनुभएको होस्, उहाँले कहिल्यै कसैलाई कामकुरा गर्न जबरजस्ती गर्नुहुन्न। परमेश्वरले तेरा लागि वातावरणहरू खडा गर्नुहुन्छ, र अरू मानिसलाई जस्तै तँलाई पनि सत्यता प्रदान गर्नुहुन्छ। उहाँले खडा गर्ने वातावरणहरूलाई तैँले कसरी हेर्नु र बुझ्नुपर्छ, र तैँले ती कुरालाई कुन दृष्टिकोण र मनोवृत्तिले लिनुपर्छ भन्ने सम्बन्धमा, परमेश्वरसँग स्पष्ट वचनहरू छन् र उहाँले तँलाई स्पष्ट सत्यता सिद्धान्तहरू बताउनुभएको छ। तैँले तिनलाई कसरी लिन्छस् भन्ने कुराका हकमा भन्दा, त्यो तेरो आफ्नै स्वतन्त्र छनौट हो। तैँले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्ने कार्य छनौट गर्न सक्छस्, वा तैँले सत्यतालाई इन्कार गर्ने कार्य छनौट गर्न सक्छस्; तैँले परमेश्वरले योजनाबद्ध गर्ने वातावरणहरूद्वारा तेरो प्रकटीकरण स्वीकार गर्न रोज्न सक्छस्, वा तैँले परमेश्वरको कामलाई बेवास्ता गर्न रोज्न सक्छस्—तँसँग छनौट गर्ने स्वतन्त्रता छ, तँ छनौट गर्न स्वतन्त्र छस्। उदाहरणका लागि, तैँले पूरा गर्नुपर्ने कर्तव्यका हकमा भन्दा, तैँले त्यसलाई आफ्नो सारा हृदय र शक्तिले पूरा गर्ने छनौट गर्न सक्छस्, वा तैँले त्यसलाई झाराटारुवा मनोवृत्तिले पूरा गर्ने छनौट गर्न सक्छस्। यो पूर्ण रूपमा तेरो व्यक्तिगत छनौटमा आधारित हुन्छ, र अवश्य नै, यो तेरो आफ्नै क्षमता, योग्यता, जन्मजात प्रवृत्ति, इत्यादिमा पनि आधारित हुन्छ। परमेश्वर अतिरिक्त काम गर्नुहुन्न—अर्थात्, सामान्य परिस्थितिहरूमा, परमेश्वर जोड दिने वा कर गर्ने कुनै अतिरिक्त काम गर्नुहुन्न। यसको अर्थ के हो? यसको अर्थ परमेश्वरले तेरा लागि वातावरणहरू खडा गर्नुहुन्छ भन्ने हो—यो त परमेश्वरले तेरा लागि तातो र चिसो खानेकुरा, भात र सूप, फलफूल, पेय पदार्थ, इत्यादि कुराहरूसहितको भोज तयार गर्नुभए जस्तै हो, र तैँले गर्ने छनौटमा परमेश्वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ—तैँले जेसुकै छनौट गरे पनि, तँसँग त्यसो गर्ने स्वतन्त्रता हुन्छ, र परमेश्वरले हस्तक्षेप गर्नुहुन्न, उहाँ मानिसहरूलाई आपूर्ति गर्न सत्यता व्यक्त गर्नमा मात्रै ध्यान दिनुहुन्छ। कतिपय मानिस भोजको स्वादिष्ट पकवान वास्तवमा कस्तो छ भनेर आफैले नचाखी भोजलाई सरसरती हेर्ने मात्र गर्छन्। तिनीहरूले भोजका बारेमा टिप्पणी मात्रै गर्छन्, केही धर्मसिद्धान्तहरू बोल्छन्, र त्यसपछि जान्छन्। अरूले केवल भोज हेर्ने, त्यसको स्वादिष्ट खानालाई बेवास्ता गर्ने, र कुनै मनोवृत्ति वा विचार नराखी जाने छनौट गर्छन्। अरूले व्यक्तिगत रूपमा त्यसको स्वाद चाखेका र त्यसको स्वादिष्ट व्यञ्जन अनुभव गरेका हुन्छन्, र स्वादिष्ट खानाहरूमध्ये कुनै एउटा कसरी पकाउने भनेर पनि सिकेका हुन्छन्। परमेश्वरद्वारा खडा गरिएको वातावरणमा, तेरो मनोवृत्ति जस्तोसुकै भए पनि—तैँले यसलाई स्वागत गर्ने, वा यसलाई इन्कार गर्ने र नकार्ने, वा यसलाई तुच्छ ठान्ने र यसप्रति शत्रुवत् बन्ने, इत्यादि किसिमको भए पनि, परमेश्वरका सन्दर्भमा त यी सबै कुरा मनोवृत्तिहरू नै हुन्। परमेश्वरले मानिसहरूका विभिन्न मनोवृत्तिहरूलाई कसरी लिनुहुन्छ र सम्हाल्नुहुन्छ? मानिसहरूलाई धेरै सत्यता प्रदान गरिसकेपछि, परमेश्वरले तिनीहरूप्रति राख्नुहुने मनोवृत्ति भनेको हेर्नु र अभिलेख राख्नु मात्रै हो। मानिसहरूले के छनौट गर्छन् वा तिनीहरूको मनोवृत्ति के हो भन्ने कुराका हकमा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—परमेश्वरसँग यो मामलाको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, यो मामला के कुरासँग सम्बन्धित हुन्छ? यो तैँले कुन मार्ग रोज्छस्, तैँले अन्ततः के प्राप्त गर्छस्, र तेरो आफ्नै अन्तिम परिणाम के हो भन्ने कुरासँग सम्बन्धित हुन्छ। यस विषयमा, परमेश्वरले कुनै अतिरिक्त सहजीकरणको काम गर्नुहुन्न, उहाँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू मात्रै पूरा गर्नुहुन्छ। उहाँले तँलाई सत्यता प्रदान गरिसक्नुभएपछि र सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने सिद्धान्तहरू बताउनुभएपछि, उहाँ तेरा लागि वातावरणहरू पनि खडा गर्न सक्नुहुन्छ। तर, तैँले ठ्याक्कै के-कस्तो अन्तिम छनौट गर्छस् वा तैँले कस्तो मार्ग लिन्छस् भन्ने बारेमा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—उहाँले तँलाई आफै छनौट गर्न दिनुहुन्छ। उदाहरणका लागि, यदि तँ अगुवा वा कामदारका रूपमा निर्वाचित भइस् भने, तैँले सत्यता सिद्धान्तहरू र परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार कार्य गर्ने, वा आफ्ना प्राथमिकताहरू अनुसार स्वेच्छाचारी र लापरवाह रूपमा काम गर्ने छनौट गर्न सक्छस्। यदि तैँले सबै कुरा सत्यता सिद्धान्तहरू अनुसार सम्हाल्ने र आफ्नो कर्तव्य कामका बन्दोबस्तहरू अनुसार पूरा गर्ने छनौट गरिस् भने, परमेश्वरले यो अवलोकन गर्नुहुनेछ र यसको अभिलेख राख्नुहुनेछ, र अन्तमा तैँले सत्यता प्राप्त गरेको हुनेछस् र तँ परमेश्वरमा समर्पित भएको हुनेछस्—यो एउटा परिणाम हो। यदि तैँले आफ्नै इच्छा अनुसार काम गर्छस्, र परमेश्वरको घरको कामका बन्दोबस्तहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्दै स्वेच्छाचारी र लापरवाह ढङ्गले काम गर्छस् भने, यो पनि एउटा छनौट हो र यसले तैँले लिइरहेको मार्गलाई प्रतिनिधित्व गर्छ, र त्यसैगरी परमेश्वरले त्यो अवलोकन गर्नुहुनेछ र यसको अभिलेख राख्नुहुनेछ, र अवश्य नै तेरो परिणाम के हुनेछ भन्ने कुरा भनिरहनु पर्दैन। यदि तैँले सत्यता र जीवन प्राप्त गरेको छस् भने, यसले तँलाई परमेश्वरको अनुमोदन प्राप्त गर्न र तेरा लागि राम्रो गन्तव्य सुरक्षित गर्न पनि तँलाई सहयोग गर्नेछ।