सत्यता कसरी पछ्याउने (२) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

हामीले केही समयदेखि सत्यता कसरी पछ्याउने भन्‍ने अभ्यासको पहिलो प्रमुख बुँदाका बारेमा छलफल गरिरहेका छौँ, जुन “त्याग्‍नु” भन्‍ने विषय हो। हामीले पछिल्लो पटक “त्याग्‍नु” भन्‍ने विषयको तेस्रो बुँदा—आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍नेबारे सङ्गति गरेका थियौँ—जुन पूर्ण रूपमा नयाँ विषयवस्तु थियो। यस विषयवस्तुको एउटा मात्रै पक्ष छैन; यसमा धेरै बुँदाहरू र धेरै विषयवस्तुहरू समावेश छन्। परमेश्‍वरको कामका क्रममा मानिसहरूले अनुभव गर्ने कुराहरू यिनै विषयवस्तुहरू हुन्, र ती कुराहरू मानिसहरूका जीवन र पछ्याइहरूसँग सीधै सम्बन्धित हुन्छन्, त्यसकारण हामीले साँच्‍चै नै सङ्गति गर्नैपर्ने पहिलो पक्ष भनेको परमेश्‍वरबारेका मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यो विषय मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्ने क्रममा जोगिनै नसक्ने विषय हो। मैले पछिल्लो पटक यस विषयवस्तुको एउटा भागमा सङ्गति गरेको थिएँ। मैले ठ्याक्कै कुन विषयमा सङ्गति गरेँ भनेर कसैले हामीलाई बताऊ त। (पछिल्लो पटक, परमेश्‍वरले आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने बारेमा सङ्गति गर्नुभयो। परमेश्‍वरले सुरुमा परमेश्‍वरको कामबारेका हाम्रा धारणा र कल्पनाहरू खुलासा गर्नुभयो। उदाहरणका लागि, हामीसँग परमेश्‍वरको दिनका बारेमा धारणा र कल्पनाहरू छन्, र हामी परमेश्‍वरको काम अत्यन्तै अलौकिक छ र पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ र तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्छ भने, मानिसहरूले कुनै पनि समस्याहरू समाधान गर्न सक्‍नेछन् र तिनीहरूको भ्रष्ट स्वभाव रूपान्तरित हुनेछ भन्‍ने पनि विश्‍वास गर्छौँ। यी धारणा र कल्पनाहरू खुलासा गर्ने क्रममा, परमेश्‍वरले हामीलाई के भन्‍नुभयो भने, उहाँले आफ्नो काममा हासिल गर्ने अभिप्राय राख्‍नुभएको नतिजा भनेको हामीमा उहाँका वचनहरू ढाल्नु हो, ताकि दैनिक जीवनमा हामीलाई केही आइपर्दा, हामीले परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सकौँ—यो हामी प्रत्येकबाट परमेश्‍वरले गर्नुभएको माग हो।) यसमा अरू कसले थप्न सक्छ? (पछिल्लो पटक परमेश्‍वरले कुन तथ्यमा पनि सङ्गति गर्नुभयो भने, मानिसहरू परमेश्‍वरले तिनीहरूका अस्थायी प्रकटीकरणका आधारमा तिनीहरूको फैसला गर्नुहुन्छ भन्ने विश्‍वास गर्छन्, र तिनीहरू बाहिरी प्रावधानहरू र बाहिरी असल व्यवहारहरू पालना गरेर तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र मुक्ति प्राप्त गर्न सक्छन् भन्‍ने पनि सोच्छन्—यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यसको साथै, जब मानिसहरू कमजोर हुन्छन् वा तिनीहरूले विद्रोहीपन र भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरू परमेश्‍वरले तिनीहरूलाई ताडना र दण्ड दिनुहुनेछ भन्‍ने विश्‍वास गर्छन्—यो पनि धारणा र कल्पना नै हो। मानिसहरूका यी धारणा र कल्पनाहरू परमेश्‍वरले खुलासा गर्नुभएको कुराबाट हामीले के बुझेका छौँ भने, परमेश्‍वर हाम्रा बाहिरी असल व्यवहार चाहनुहुन्‍न, न त हामीले निश्‍चित बाहिरी अभ्यास र प्रावधानहरू पालना गरेको नै चाहनुहुन्छ। बरु, उहाँ हामीलाई केही आइपर्दा, हामीले सत्यता सिद्धान्तहरू खोजी गर्न र हामी सत्यता वास्तविकतामा प्रवेश गर्न सकौँ भन्‍ने आशा गर्नुहुन्छ।) हरेक व्यक्तिमा फरक-फरक मात्रामा यी धारणा र कल्पनाहरू हुन्छन्, होइन र? (हो।) मानिसहरूले सत्यता पछ्याउन थाल्नुभन्दा पहिले, वा जब तिनीहरूले सत्यता बुझेका हुँदैनन् र सत्यता प्राप्त गरिसकेका हुँदैनन्, तब तिनीहरू परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने बारेमा अनुमान गर्न वा परमेश्‍वरले कसरी काम गर्नुहुनेछ भन्‍ने बारेमा निष्कर्ष निकाल्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्ने गर्छन्। यसको साथै, तिनीहरू आफ्नै बारेमा, आफ्‍नो परिणामका बारेमा, र तिनीहरूले भविष्यमा आशिष् पाउनेछन् कि दुर्भाग्य भोग्‍नेछन् भनेर फैसला गर्नका लागि पनि यी अनुमानहरू प्रयोग गर्ने गर्छन्। त्यसकारण, मानिसहरूले सत्यता पछ्याउने क्रममा, यी धारणा र कल्पनाहरू धेरै हदसम्‍म मानिसहरूले परमेश्‍वरको कामलाई स्वीकार गर्ने, सत्यता पछ्याउने, र सत्यता प्राप्त गर्ने कार्यका बाधाहरू बनेका हुन्छन्। भन्‍नुको अर्थ, यदि मानिसहरूले यी धारणा र कल्पनाहरू त्याग्‍न सक्दैनन्, र तिनीहरूले सधैँ तिनलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने तिनीहरूको उत्प्रेरणा र मूल कारणका रूपमा लिन्छन् भने, यी धारणा र कल्पनाहरूले तिनीहरूलाई सत्यता पछ्याउने र प्राप्त गर्ने काममा निकै हदसम्‍म बाधा दिनेछन्। अनि अन्त्यमा तिनीहरूले परमेश्‍वरसामु आफ्नो मूल्य, पहिचान, र हैसियत निर्धारित गर्न, र तिनीहरूले परमेश्‍वरको घरमा कस्तो व्यवहार प्राप्त गर्न सक्‍नेछन्, तिनीहरूको गन्तव्य के हुनेछ र तिनीहरूले भविष्यमा के-कस्ता आशिष्‌हरू प्राप्त गर्नेछन्, तिनीहरूसँग कति धेरै अख्तियार हुनेछ र तिनीहरूले कति वटा सहरमाथि शासन गर्नेछन्, र तिनीहरू स्वर्गको खम्बा वा आधार स्तम्भ हुनेछन् कि हुनेछैनन्, वा तिनीहरूले यस जीवनमा कति प्राप्त गर्न सक्छन् र तिनीहरूले आउने संसारमा कति प्राप्त गर्न सक्छन् भनेर निर्धारित गर्नका लागि मात्रै आफ्ना धारणा र कल्पनाहरू प्रयोग गर्न सक्छन्। यी धारणा र कल्पनाहरू मानिसहरूका जीवन र पछ्याइहरूसँग सम्बन्धित हुने हुनाले, तिनले मानिसहरूले लिने मार्गहरूमा प्रभाव पार्छन् र अवश्य नै, तिनले मानिसहरूको अन्तिम परिणाम र गन्तव्यमा पनि प्रभाव पार्छन्। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमाझ जिउँछन् र पछ्याउँछन्; त्यसकारण, तिनीहरूले अपरिहार्य रूपमा नै यिनै धारणा र कल्पनाहरूका आधारमा सबै कुरा हेर्छन्, र सबै कुराबारे मूल्याङ्कन र निर्धारण गर्छन्। त्यसैले, परमेश्‍वरले जसरी सत्यता प्रदान गर्नुभए पनि र मानिसहरूलाई कुन दृष्टिकोण अपनाउनुपर्छ र कुन मार्ग लिनुपर्छ भनेर भन्‍नुभए पनि, मानिसहरूले आफ्ना धारणा र कल्पनाहरू त्याग्दैनन् भने, तिनीहरू ती अनुसार नै जिइरहनेछन्, र यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमा नै मानिसहरूको जीवन र तिनीहरू बाँच्ने नियमहरू बन्‍नेछन्, र ती कुराहरू अपरिहार्य रूपमा नै मानिसहरूले सबै प्रकारका घटना र कामकुराहरूलाई सम्हाल्ने तरिका र विधिहरू बन्‍नेछन्। मानिसहरूका धारणा र कल्पनाहरू तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र मापदण्ड बनेपछि, तिनीहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, वा तिनीहरूले जसरी पछ्याए पनि, र तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। कुनै व्यक्ति आफ्ना धारणा र कल्पनाहरू अनुसार जिएसम्म, यस व्यक्तिले परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ उहाँप्रति विरोधी हुन्छ; ऊसँग परमेश्‍वरद्वारा खडा गरिएका वातावरणहरू वा उहाँका मागहरूप्रति साँचो समर्पण हुँदैन। त्यसपछि अन्तिममा, उसको परिणाम अत्यन्तै दुःखदायी हुनेछ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र उहाँका लागि आफूलाई समर्पित गरेको छस्, यत्रतत्र दौडधूप गरेको छस् र ठूलो मूल्य चुकाएको छस्, तर तैँले गर्ने सबै कुराको सुरुवाती बिन्दु र स्रोत तेरा आफ्नै धारणा र कल्पनाहरू हुन् भने, तैँले परमेश्‍वरलाई साँचो रूपमा स्वीकार गर्दैनस् र तँ उहाँमा समर्पित हुँदैनस्। यी धारणा र कल्पनाहरू पुस्तकहरूबाट, समाजबाट आए पनि, वा तेरा व्यक्तिगत चाहना र रुचिहरूबाट आए पनि, छोटकरीमा भन्दा, ती धारणा र कल्पनाहरू हुन् भने, ती सत्यता होइनन्; अनि ती सत्यता होइनन् भने, ती सत्यताप्रति विरोधी हुन्छन्, मानिसहरूले सत्यतालाई स्वीकार गर्ने कार्यमा ठेस लाग्‍ने ढुङ्गा, र परमेश्‍वर र सत्यताको शत्रु हुन्छन्। त्यसकारण, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले यी धारणा र कल्पनाहरू अनुसार नै सबै कुरालाई मापन गर्नेछस् र हेर्नेछस्, र ती कुराहरूका कारण तैँले अन्तिममा परमेश्‍वरले तेरा लागि खडा गर्ने वातावरणहरूको विरुद्धमा विद्रोह गर्नेछस्, र परमेश्‍वरले तँलाई गर्ने मार्गदर्शन वा तँमाथि राख्ने सार्वभौमिकताका विरुद्धमा विद्रोह गर्नेछस् भन्‍ने कुरा निश्‍चित छ। छोटकरीमा भन्दा, यहाँ कुनै साँचो स्वीकार र समर्पणता हुँदैन। किन? किनभने तैँले जति धेरै कठिनाइ भोगे पनि वा तैँले जति धेरै मूल्य चुकाए पनि, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले भोग्‍ने कठिनाइहरू र चुकाउने मूल्य सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन; तैँले भोग्‍ने कठिनाइहरू र चुकाउने मूल्य मानव धारणा र कल्पनाहरू, र तेरा प्राथमिकताहरूमा आधारित हुन्छन्, र ती तेरा देहगत चाहनाहरू सन्तुष्ट पार्न र तेरा निश्‍चित उद्देश्यहरू पूरा गर्नका लागि हुन् भनेर भन्‍न सकिन्छ। यो त पावलले प्रकट गरेको कुरा जस्तै हो: उनले धेरै काम गरे र धेरै दौडधूप गरे, युरोपको धेरैजसो ठाउँमा सुसमाचार प्रचार गरे, तर उनले जति कठिनाइ भोगे पनि र जति नै मूल्य चुकाए पनि, वा जति नै दौडधूप गरे पनि, उनीसँग कहिल्यै सत्यता अनुरूपका विचार र दृष्टिकोणहरू थिएनन्, उनले कहिल्यै सत्यतालाई स्वीकार गरेनन्, र उनमा कहिल्यै परमेश्‍वरमा समर्पित हुने मनोवृत्ति र त्यसको वास्तविक अनुभव थिएन—उनी सधैँ आफ्नै धारणा र कल्पनाहरूभित्रै जिउँथे। उनको विशिष्ट धारणा र कल्पना के थियो? त्यो के थियो भने, उनले दौड र असल लडाइँ लड्न पूरा गरेपछि, उनका लागि धार्मिकताको मुकुट राखिएको छ—पावलको धारणा र कल्पना यही थियो। उनको धारणा र कल्पनाको विशिष्ट सैद्धान्तिक आधार के थियो? त्यो के थियो भने, परमेश्‍वरले कुनै व्यक्तिको परिणाम उसले गरेको दौडधूप, उसले चुकाएको मूल्य, र उसले भोगेको कठिनाइको मात्राका आधारमा निर्धारित गर्नुहुन्छ। पावलले आफ्नो धारणा र कल्पनाको यस्तो सैद्धान्तिक आधारमै अनजानमा ख्रीष्टविरोधीहरूको मार्ग लिएका थिए। परिणामस्वरूप, जब उनी बाटोको अन्त्यमा पुगे, तब परमेश्‍वरको प्रतिरोध गर्ने उनका व्यवहार र प्रकटीकरणहरूका बारेमा वा परमेश्‍वरको प्रतिरोध गर्ने उनको सारका बारेमा उनमा कुनै बुझाइ थिएन, उनमा कुनै पश्चात्ताप हुनु त परको कुरा हो। उनले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा अझै पनि आफ्नो मूल धारणा र कल्पनालाई कायम राखेका थिए, र उनीसँग परमेश्‍वरप्रति अलिकति पनि साँचो समर्पणता नभएको मात्र होइन, त्यस विपरीत, उनले आफू त्यसको साटो परमेश्‍वरबाट असल परिणाम र गन्तव्य प्राप्त गर्नको अझै बढी हकदार भएको विश्‍वास गरेका थिए। “त्यसको साटो” भनेर भन्‍नु भनेको त यसलाई राम्रो सुनिने र सभ्य तरिकाले भन्‍नु हो, तर वास्तवमा यो विनिमय, वा लेनदेन समेत थिएन—उनले सीधै परमेश्‍वरसँग यी कुराहरू मागिरहेका, परमेश्‍वरबाट सीधै ती माग गरिरहेका थिए। उनले कसरी परमेश्‍वरबाट ती कुराहरू माग गरे? यो त ठ्याक्‍कै उनले भनेजस्तै थियो, “मैले आफ्नो यात्रा पूरा गरेको छु, मैले असल लडाइँ लडेको छु—अब महिमाको मुकुट मेरो भएको छ। यो मैले पाउनुपर्ने कुरा हो र परमेश्‍वरले न्यायोचित रूपमा मलाई दिनुपर्ने कुरा हो।” पावलले लिएको मार्ग परमेश्‍वरप्रतिको प्रतिरोधको मार्ग थियो, जसले उनलाई विनाशमा पुर्‍यायो, र उनले पाएको अन्तिम परिणाम भनेको दण्ड पाउनु थियो। यसलाई परमेश्‍वरबारेको उनको धारणा र कल्पनाबाट अलग गर्न सकिँदैनथियो। उनी सधैँ आफ्नो धारणा र कल्पनामा दृढतापूर्वक लागिरहन्थे; उनले परमेश्‍वरले भन्‍नुभएका कुराहरू, परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्नुभएका सत्यताहरू, अर्थात् जीवनको मार्गलाई पन्छाउँथे बेवास्ता गर्थे, र घृणा र तिरस्कारको मनोवृत्ति समेत अपनाउँथे, र उनी येशू ख्रीष्ट परमेश्‍वरको देहधारण हुनुहुन्छ भन्‍ने तथ्यलाई समेत मान्दैनथे वा स्वीकार गर्दैनथे। जब उनी बाटोको अन्त्यमा पुगे, तब उनी पहिले जस्तै आफ्नो धारणा र कल्पनामा दृढ रूपमा टाँसिइरहे, र उनले परमेश्‍वरका विरुद्धमा आफूलाई खडा गरिरहे, र उनी अन्तिममा विनाशको अपरिहार्य परिणामतिर लागे। त्यसकारण, यदि परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, मानिसहरूले आफ्ना सबै नकारात्मक भावनाहरू त्याग्‍न सक्छन्, र तिनीहरूलाई सत्यता पछ्याउनबाट रोक्‍ने वास्तविक जीवनका केही कुराहरू त्याग्‍न सक्छन्, तैपनि आफू र परमेश्‍वरबीचका तगाराहरू वा परमेश्‍वरप्रतिको आफ्नो शत्रुता त्याग्‍न सक्दैनन् भने, यो अत्यन्तै पछुतोलाग्दो र दुःखदायी कुरा हुनेछ, र अन्त्यमा, मानिसहरूले पावलले जस्तै दण्ड पाउने परिणाम प्राप्त गर्नेछन्। यस कुरामा कुनै शङ्का छैन। त्यसकारण, “त्याग्‍नु” को अभ्यास गर्ने क्रममा, “आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍नु” भन्‍ने विषयवस्तु सबैभन्दा जरुरी र महत्त्वपूर्ण छ र यसलाई बेवास्ता गर्नु हुँदैन। तैँले प्रायजसो जाँच गर्नुपर्ने कुरा यो हो: परमेश्‍वरसँगको तेरो सम्बन्धमा र तैँले परमेश्‍वरको काम अनुभव गर्ने क्रममा, तँसँग अझै पनि सत्यता, परमेश्‍वरका चाहनाहरू, वा परमेश्‍वरका मागहरू अनुरूप नरहेका र तँ र परमेश्‍वरबीच खडा हुने के-कस्ता धारणा र कल्पनाहरू छन्। तैँले यी कुराहरू जाँच्नुपर्छ, परमेश्‍वरका वचनहरूसँग तुलना गर्नुपर्छ, त्यसपछि तिनलाई त्याग्‍नुपर्छ। त्याग्‍नुको उद्देश्य भनेको प्रक्रियाबाट गुज्रनु नभई सत्यतालाई स्वीकार गर्नु, यस विषयमा परमेश्‍वरले मानिसहरूका अघि सार्नुभएका सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्नु, र आफ्ना धारणा र कल्पनाहरूलाई प्रतिस्थापन गर्न, र आफ्नो पछ्याइपछाडिको दृष्टिकोण र पछ्याइको दिशा परिवर्तन गर्न यी सत्यता सिद्धान्तहरू प्रयोग गर्नु हो, ताकि तँ आफ्नो धारणा र कल्पनाहरूसँग मिल्दो हुनुको सट्टा आफ्नो जीवनमा र परमेश्‍वरलाई पछ्याउने क्रममा परमेश्‍वरसँग मिल्दो हुन सकेस्। परमेश्‍वरको काम भनेको मानिसहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्नु हो, र उहाँले मानिसहरूलाई तिनीहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्न पनि सत्यता प्रदान गर्नुहुन्छ। मानिसहरूका धारणा र कल्पनाहरू समाधान गरेर, परमेश्‍वर तिनीहरूलाई उहाँले खडा गर्ने हरेक वातावरणलाई हेर्ने, र तिनीहरूले जीवनमा सामना गर्ने हरेक मामिलालाई हेर्ने सही विचार, सोचाइ, अडान, र दृष्टिकोणहरू राख्‍न सक्षम बनाउनुहुन्छ। परमेश्‍वरले मानिसहरूका धारणा र कल्पनाहरू पूरा गर्नका लागि नभई तिनीहरूका धारणा र कल्पनाहरूलाई प्रतिकार गर्न, र अन्तमा तिनीहरूलाई आफ्ना धारणा र कल्पनाहरू त्याग्‍न र परमेश्‍वरबारे ज्ञान प्राप्त गर्न सक्षम बनाउनका लागि आफ्नो काम गर्नुहुन्छ र आफ्ना वचनहरूमार्फत सत्यता प्रदान गर्नुहुन्छ।

घ. परमेश्‍वरको कामले तिनीहरूको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, आदि परिवर्तन गर्न सक्छ भन्ने मानिसहरूको विश्‍वास

हामीले यसभन्दा पहिले परमेश्‍वरको कामबारेका मानिसहरूका केही धारणा र कल्पनाबारे सङ्गति गरेका छौँ। यी धारणा र कल्पनाहरूका साथै, मानिसहरूमा परमेश्‍वरको कामका बारेमा अरू केही धारणा र कल्पना पनि हुन्छन्, जसलाई सत्यता पछ्याउने क्रममा तिनीहरूले त्याग्‍नुपर्ने हुन्छ। उदाहरणका लागि, मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरको काम स्वीकार गरेपछि, सत्यता पछ्याउन सकियो भने, पूर्ण रूपमा नवीकरण भइनेछ, र आफूसँग आफ्नो जीवनका रूपमा परमेश्‍वरका वचनहरू भएपछि, पूर्ण रूपमा नयाँ जीवन प्राप्त गरिनेछ, र नयाँ व्यक्तिका रूपमा पुनर्जन्म लिइनेछ। तिनीहरू आफ्नो क्षमतामा सुधार आएको हुनेछ र तिनीहरूको जन्मजात प्रवृत्ति पनि केही हदसम्‍म परिवर्तन भएको हुनेछ, त्यसकारण तिनीहरूले कहिल्यै अपेक्षा नगरेका कुराहरू प्रायजसो तिनीहरूको जीवनमा आइपर्नेछन् भन्‍ने विश्‍वास गर्छन्। अर्थात्, तिनीहरूले आफ्नो क्षमता र जन्मजात प्रवृत्तिबाहिरका कुराहरू गर्न सक्‍ने मात्र होइन, ती अत्यन्तै सजिलै र सहजताका साथ गर्न पनि सक्‍नेछन्। त्यसबाहेक, कतिपय मानिस परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, प्रायजसो के समेत महसुस गर्छन् भने, आफूले सत्यता पछ्याउन थालेपछि, आफ्नो व्यक्तित्व र मिजासमा सुधार आएको छ, तिनीहरूको आँखा पहिलेको भन्दा तेजिलो भएको छ, र तिनीहरूको सुन्‍ने क्षमता पहिलेको भन्दा राम्रो भएको छ। बेला-बेलामा, तिनीहरू ऐनामा हेर्छन् र आफू झन्-झन् स्वर्गदूतजस्तै बनिरहेको महसुस गर्छन्; तिनीहरूलाई आफू झन्-झन् सुन्दर देखिएको, र पहिलेको भन्दा निकै फुर्तिलो भएको लाग्छ। कतिपय मानिसलाई त तिनीहरूको जीवनका केही बानीबेहोरा परिवर्तन भएका छन् र तिनीहरूको जीवनशैली फरक भएको छ भन्‍नेसमेत लाग्छ—विगतमा, तिनीहरू एकदमै ढिलो सुते भने, तिनीहरू निरन्तर हाइ काढ्थे, तर तिनीहरूले सत्यता पछ्याउन थालेदेखि, यी प्रतिक्रियाहरू हराएका छन्, र तिनीहरूलाई यो कुरा निकै चामत्कारिक लाग्छ। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमा के विश्‍वास गर्छन् भने, सत्यता पछ्याउन थालेपछि, परमेश्‍वरले तिनीहरूमा केही काम गर्नुहुनेछ ताकि तिनीहरूले अनपेक्षित रूपान्तरणहरू भोगून्। यसमा तिनीहरूको क्षमता रातारात सुध्रिनु समावेश हुन्छ—तिनीहरू औसत क्षमतावान् वा अत्यन्तै कमजोर क्षमतावानबाट अत्यन्तै चलाख, सक्षम, र अनुभवी व्यक्तिमा परिणत हुनेछन्, क्षमता र बुद्धि भएको व्यक्ति बन्‍नेछन्, र तिनीहरूको सोचाइको क्षेत्र पनि माथि उठ्नेछ। जब मानिसहरू सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन् र सत्यता पछ्याउने निर्णय गर्छन्, तब तिनीहरूले सत्यता पछ्याउनेबारे अत्यधिक बढाइचढाइ र अवास्तविक कल्पनाहरू गरेका हुन्छन्, छोटकरीमा भन्दा, तीमध्ये कुनै पनि कुरा साँच्चै वास्तविकताअनुरूप हुँदैनन्। मानिसहरू के विश्‍वास गर्छन् भने, तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरूका धेरै पक्ष माथि उठ्नेछन्, र अघि बढ्नेछन्, र कतिपय क्षेत्रमा तिनीहरूले साधारण मानिसहरूलाई समेत उछिन्‍नेछन्। त्यसकारण, कतिपय मानिस आफ्नो नाम लीयू चाओ, अरूले मा चाओ, र अझै अरूले निउ चाओ राख्छन्। यी नामहरूको अर्थ क्रमशः गधा, घोडा, र गोरुलाई जित्नु भन्‍ने हुन्छ—अर्थात्, घोडाभन्दा छिटो दौडन सक्नु र गधा वा गोरुभन्दा बढी बल हुनु। गधाहरू सामान्यतया कुराहरू तान्नमा निकै बलिया हुन्छन्, घोडाका खुट्टा अत्यन्तै दह्रिला हुन्छन्, र गोरुमा धेरै सहनशीलता हुन्छ, त्यसकारण यी मानिसहरू आफूलाई लीयू चाओ, मा चाओ, र निउ चाओ भनेर बोलाउँछन्। हेर् त, तिनीहरू आफूले छनौट गर्ने नामहरूलाई विशेष ध्यान दिन्छन्। मानिसहरूले आफ्ना लागि छनौट गर्ने नामहरूबाट के देख्‍न सकिन्छ भने, मानिसहरूमा परमेश्‍वरको कामबारे आफ्नै बुझाइ हुन्छ; दुर्भाग्यवश, यो बुझाइ सत्यताअनुरूप हुँदैन र यो सकारात्मक हुँदैन—यो मानिसहरूको धारणा र कल्पना हो। यो धारणा र कल्पना विकृत भए पनि वा चरम भए पनि, छोटकरीमा भन्दा, यो तथ्यहरू र सत्यतासँग मिल्दैन; यो अत्यन्तै खोक्रो छ र अलौकिक कुराहरूसँग सम्बन्धित छ। परमेश्‍वरले मानिसहरूमा काम गर्ने सिद्धान्त यो हो: मानिसहरूमा जस्तो प्रकारको क्षमता भए पनि, वा तिनीहरूमा जस्तो प्रकारको काम गर्ने योग्यता वा परिस्थितिहरू सम्हाल्ने सक्षमता भए पनि, तिनीहरूको जन्मजात प्रवृत्ति जे-जस्तो भए पनि, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, रुचि र सोख जे-जस्तो भए पनि, वा यहाँसम्म कि तिनीहरू जुनै लिङ्गका भए पनि, छोटकरीमा भन्दा, परमेश्‍वरको काम भनेको मानिसहरूलाई तिनीहरूको अन्तर्निहित क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानी, तिनीहरूको जिउने सही तरिकाहरू, अनि तिनीहरूको वैध रुचि र सोखहरू इत्यादि कुराका आधारमा सत्यता बुझ्न, सत्यता स्विकार्न, सत्यतामा समर्पित हुन, त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम पार्ने परिणाम हासिल गर्नु हो। त्यसोभए, कुन आधारमा यो परिणाम हासिल हुन्छ? यो मानिसहरूमा सत्यता बुझ्ने र बोध गर्ने क्षमता छ, र तिनीहरूमा सामान्य मानवता छ भन्‍ने आधारमा हासिल हुन्छ। यो तथाकथित समुन्नत मानवताका आधारमा हासिल हुँदैन, न त यो अलौकिक मानवताका आधारमा नै हासिल हुन्छ। त्यसकारण, हामीले सत्यताका जुनै पक्षहरूमा सङ्गति गरे पनि, यो सबै तँसँग सामान्य मानवता छ र तँसँग सत्यता बुझ्ने क्षमता छ भन्‍ने आधारमा तँलाई तिनमा प्रवेश गर्न सक्षम पार्नका लागि हो। तर, मानिसहरूका धारणा र कल्पनाहरू यसको ठिक विपरीत हुन्छन्। मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरको कामले मानिसहरूमा हासिल गर्ने परिणाम र उहाँले व्यक्त गर्ने सत्यता तिनीहरूको अन्तर्निहित क्षमता र जन्मजात प्रवृत्तिको विरुद्धमा जान्छन्, र ती तिनीहरूको व्यक्तित्व, बानी, रुचि, र सोखहरूविरुद्ध पनि जान्छन्। मानिसहरू व्यावहारिक रूपमा सत्यता खोजी गर्न प्रयास लगाउनुको सट्टा तिनीहरूमाथि कुनै आश्‍चर्यकर्म हुनेछ, अलौकिक कुरा वा अनपेक्षित वा तिनीहरूको आफ्नै क्षमता र जन्मजात प्रवृत्तिभन्दा बाहिरको कुरा हुनेछ भन्‍ने प्रायः आशा गर्छन्। यस तथ्यले के प्रमाणित गर्छ? के यसले मानिसहरू सत्यता पछ्याइलाई निकै अलौकिक र खोक्रो कुराका रूपमा लिन्छन् भन्ने प्रमाणित गर्दैन र? के यसले तिनीहरू परमेश्‍वरले मानिसहरूमा काम गर्ने तरिकालाई निकै अलौकिक र खोक्रो कुरा ठान्छन् भन्ने प्रमाणित गर्दैन र? (हो।) मानिसहरू प्रायः आफूले सत्यता जति पछ्याइन्छ, आफ्नो क्षमता त्यति नै उच्च हुनेछ, वा धेरै प्रवचन सुनेपछि र धेरैजसो सत्यता स्वीकार गरेपछि र बुझेपछि, आफ्नो क्षमता पहिलेको भन्दा उच्च हुनेछ भन्‍ने आशा गर्छन्। यो धारणा र कल्पना हो, होइन र? (हो।) उदाहरणका लागि, कुनै पेसा सिक्नुलाई लिऊँ: तैँले स्कूलमा अध्ययन गरिरहेको बेला, यदि कुनै पेसामा पोख्त हुन चाहन्थिस् भने, यस पेसाको ज्ञानलाई कण्ठस्थ गर्नुपर्थ्यो, अनि, बिहानदेखि बेलुकासम्म अध्ययन गर्नुपर्थ्यो, र आफ्नो खाली समयमा पनि यसलाई सिक्न प्रयास गर्नुपर्थ्यो। तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तँलाई के लाग्छ भने पवित्र आत्माले काम गर्नुभयो भने मानिसहरूको क्षमतामा सुधार हुनेछ, तिनीहरू रूपान्तरित हुनेछन्, र तिनीहरू पहिलेको भन्दा फरक हुनेछन्। त्यसकारण, तँ के निर्धारित गर्छस् भने परमेश्‍वरले जसरी काम गर्नुभए पनि, व्यक्तिले सहकार्य मात्रै गर्नुपर्छ, र सत्यता पछ्याउन र व्यावसायिक ज्ञान सिक्न प्रयास गर्नु पर्दैन; व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्नु नै पर्याप्त हुन्छ—उसले यसरी परमेश्‍वरमा विश्‍वास गरेर पनि प्रगति गरेको हुनेछ। के मानिसहरू यसको कल्पना यसरी नै गर्दैनन् र? (गर्छन्।) मलाई भन, के यो पछ्याउने सही तरिका हो? के यसरी पछ्याउँदा, साँचो रूपान्तरण हुन सक्छ? (अहँ, सक्दैन।) रूपान्तरण हुन नै सक्दैन। उदाहरणका लागि, कतिपय मानिस के सोच्छन् भने, राम्ररी गाउनका लागि आफूले बिहानदेखि बेलुकासम्म अभ्यास गर्नुपर्छ, अरूका तौरतरिका चोर्नुपर्छ, र अरूको गुणबाट सिक्न सबै किसिमका गीतहरू सुन्‍नुपर्छ, र यसरी मात्रै उपलब्धिहरू प्राप्त गर्न सकिन्छ। त्यसको विपरीत, कतिपय मानिस गायन त प्रतिभामा निर्भर हुन्छ भनेर विश्वास गर्छन्; तिनीहरूले के सोच्छन् भने यदि व्यक्तिमा गाउने प्रतिभा छ र उसलाई गायन मन पर्छ भने, उसले राम्रोसँग गाउन सक्छ, र यदि कसैसँग गाउने प्रतिभा वा गायनको रुचि छैन भने, उसले राम्ररी गाउन, भावनाका साथ गाउन पवित्र आत्माको उत्प्रेरणामा भर पर्नुपर्छ, ताकि उसले गाएको सुन्दा अरूलाई आनन्द आओस्। परिणामस्वरूप, धेरैजसो मानिसले सधैँ यस्तो भ्रम पालेका हुन्छन्; तिनीहरू आफूलाई उत्प्रेरित गर्न पवित्र आत्मामा भर पर्छन्, नत्र भने तिनीहरू गाउनका लागि मुख खोल्दैनन्। यो धारणा र कल्पना हो, होइन र? कतिपय मानिस के सोच्छन् भने व्यावसायिक ज्ञान सिक्न त्यति धेरै प्रयास गर्नु पर्दैन, र मानिसहरूले सत्यता पछ्याए भने, परमेश्‍वरले काम गर्नुहुनेछ, र मानिसहरूले ती अर्थहीन त्यागहरू गर्नु व्यर्थ र बेकार हुन्छ। तिनीहरूले के सोच्छन् भने परमेश्‍वरले काम गर्नुभएलगत्तै, मानिसहरूले लगाउने कुनै पनि प्रयासभन्दा यो बढी कामको हुन्छ, त्यसकारण यदि मानिसहरू इमानदारी साथ आफ्नो कर्तव्य गर्छन् र परमेश्‍वरमा आफ्नो हृदय समर्पित गर्न इच्छुक हुन्छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरूका क्षमता र सक्षमताहरू तुरुन्तै सामान्य मानवताको दायराभन्दा माथि उचालिनेछन्—तिनीहरूले यसभन्दा पहिले नबुझेका कुराहरू बुझ्न सक्‍नेछन्, र तिनीहरूले पहिले एकैपटकमा दुइटा हरफसमेत पढ्न नसके पनि, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि एकैपटकमा दशवटा हरफ पढ्न र ती सबै याद गर्न सक्‍नेछन्। तर तिनीहरूले जति नै धेरै तालिम लिए पनि, अझै पनि यो हासिल गर्न सक्दैनन्, त्यसकारण तिनीहरू यस्तो सोच्छन्, “के परमेश्‍वरले मलाई अनुग्रह दिइरहनुभएको छैन र? के मैले आफ्नो कर्तव्य गर्नमा पर्याप्त परिश्रम गरिरहेको र म प्रशस्त इमानदार भइरहेको छैनँ र?” कुरा यस्तै हो त? (होइन।) तैँले के सोच्छस् भने, तैँले आफ्नो क्षमता र योग्यताहरूको दायरालाई उछिनेर अलौकिक कुरा जति हासिल गर्न सक्छस्, यसले यो परमेश्‍वरको काम हो भन्‍ने कुरालाई त्यति नै प्रमाणित गर्छ; यदि तेरो इमानदारी र सहकार्य गर्ने तेरो इच्छा झन्-झन् बढ्यो भने, परमेश्‍वरले तँमा झन्-झन् बढी काम गर्नुहुनेछ, र तेरा क्षमता र सक्षमताहरू झन्-झन् बढ्दै जानेछन्। के यो मानिसहरूमा हुने धारणा र कल्पना होइन र? (हो।) के तिमीहरूमा विशेष गरी यसरी सोच्ने प्रवृत्ति हुन्छ? (हो।) यसरी सोच्नुको परिणाम के हुन्छ? के त्यसको परिणाम सधैँ असफलता र साकार हुनुको कमी हुनु हुँदैन र? कतिपय मानिसहरू यसो भन्दै नकारात्मक समेत बन्छन्, “मैले परमेश्‍वरलाई आफ्नो सक्दो इमानदारी दिएको छु—परमेश्‍वरले मलाई किन राम्रो क्षमता दिनुहुन्‍न? परमेश्‍वरले मलाई किन अलौकिक क्षमताहरू दिनुहुन्‍न? म किन सधैँ कमजोर हुन्छु? मेरो क्षमतामा सुधार आएको छैन, म स्पष्ट रूपमा केही पनि देख्‍न सक्दिनँ, र जटिल मामलाहरूको सामना गर्दा म अन्योलमा पर्छु। पहिले पनि यस्तै थियो, अहिले पनि किन उस्तै छ? यसको साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने र समस्याहरू सम्हाल्ने क्रममा, म किन कहिल्यै आफ्नो देहलाई पार गर्न सक्दिनँ? मैले केही धर्मसिद्धान्तहरू बुझेको छु, तैपनि, म परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्‍न सक्दिनँ, र मामलाहरू सम्हाल्ने क्रममा, म अनिर्णित हुन्छु, र म अझै पनि राम्रो क्षमता भएका मानिसहरूको तुलनामा पछि पर्छु। मेरो काम गर्ने योग्यता पनि कमजोर छ, र मेरो कर्तव्य निर्वाह प्रभावकारी छैन। मेरो क्षमतामा पटक्‍कै सुधार आएको छैन! के भइरहेको छ? के परमेश्‍वरप्रतिको मेरो इमानदारी अपर्याप्त भएको हो? कि परमेश्‍वरले मलाई मन पराउनुहुन्‍न? ममा के कुराको कमी छ र?” कतिपय मानिसहरूले यस तथ्यलाई परिवर्तन गर्न विभिन्‍न कारणहरू खोज्छन् र धेरै तरिकाहरू प्रयोग गरेका छन्, जस्तै अझै धेरै प्रवचनहरू सुन्‍नु, परमेश्‍वरका अझै धेरै वचनहरू याद गर्नु, अझै धेरै आत्मिक भक्तिका नोटहरू लेख्‍नु, साथै मानिसहरूले सत्यतामा सङ्गति गरेको अझै धेरै सुन्‍नु, र अझै धेरै खोजी गर्नु, तर अन्तिम परिणाम अझै पनि निराशाजनक हुन्छ। परमेश्‍वरमा विश्‍वास गरेको तीनदेखि पाँच वर्ष भए पनि, तिनीहरूको क्षमता र काम गर्ने योग्यता पहिलेको जस्तै रहन्छ, र त्यसमा कुनै सुधार हुँदैन। त्यसपछि तिनीहरू आफ्नै व्यक्तित्वलाई हेर्छन् र आफू अझै पनि पहिलेको जस्तै कायर, बूढो गाई जस्तो सुस्त भएको देख्छन्, वा तिनीहरूमा अझै पनि अधीर व्यक्तित्व हुन्छ, र तिनीहरू सबै कुरालाई उन्मत्त रूपमा सम्हाल्छन्—कुनै रूपान्तरण भएको हुँदैन! अरूले के देख्छन् भने, हालसालै तिनीहरूका रुचि र सोखहरू परिवर्तन भएका छैनन्, र तिनीहरूका केही खोट, बानीबेहोरा, र त्रुटिहरू पनि परिवर्तन भएका छैनन् जस्तो देखिन्छ। अझै राती ढिलो सुत्न र बिहान ढिलो उठ्न मन पराउने अरूले यी जीवनका बानीबेहोराहरू पनि अपरिवर्तित नै छन् भन्‍ने पत्ता लगाउँछन्। त्यसकारण तिनीहरू सबैले सोच्छन्, “के भइरहेको छ? के पवित्र आत्माले ममा काम गरिरहनुभएको छैन? के परमेश्‍वरले मलाई त्याग्‍नुभएको छ? के परमेश्‍वर मदेखि खुसी हुनुहुन्‍न र? के मैले गलत मार्ग लिएको छु? के मैले गलत तरिकाले पछ्याइरहेको छु? के मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा पर्याप्त रूपमा हृदय लगाएको छैनँ र? के मैले पर्याप्त रूपमा मूल्य चुकाएको छैनँ र?” तिनीहरूले सबै किसिमका कारणहरू खोज्छन्, तैपनि कुनै परिणाम प्राप्त गर्दैनन्। तिनीहरूले परिणामहरू प्राप्त नगर्नुको कारण के हो? (यसको कारण तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूभित्रै जिएका छन् भन्‍ने हो। तिनीहरू के सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू उहाँप्रति इमानदार भए भने, परमेश्‍वरले काम गर्नुभएलगत्तै, तिनीहरूको क्षमता र कार्य सामर्थ्यमा सुधार आउनेछ—तिनीहरूका त्यस्ता विचारहरू तिनीहरूका धारणा र कल्पनाहरूबाट आउँछन्।) मानिसहरूका धारणा र कल्पनाहरूले तिनीहरूको पछ्याइका उद्देश्य र विधिहरू, तिनीहरूले लिने मार्गहरू निर्धारित गर्छन्, र अन्तिममा तिनीहरूका प्राप्ति र परिणामहरू निर्धारित गर्छन्। यदि मानिसहरूमा त्यस्ता धारणा र कल्पनाहरू छन् भने, तिनीहरूले के प्राप्त गर्नेछन्? के तिनीहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्‍वरमाथिको साँचो आस्था र परमेश्‍वरप्रतिको साँचो प्रेम प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्‍वरप्रति साँचो समर्पणता प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले यीमध्ये कुनै पनि कुरा प्राप्त गर्नेछैनन्।