सत्यता कसरी पछ्याउने (१४) भाग दुई
दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरू सत्यताबारे गरिने सङ्गतिका शब्दहरू सुन्न सबैभन्दा बढी अनिच्छुक हुन्छन्। विशेष गरी जब त्यस्ता शब्दहरू आफैलाई चिन्ने, विभिन्न प्रकारका मानिसहरूको स्थितिलाई चिरफार गर्ने, सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्ने, वा सत्यताको अभ्यास गर्ने सिद्धान्तहरू के हुन्, तीसँग सम्बन्धित हुन्छन्, तब तिनीहरूलाई हृदयमा चरम विकर्षण हुन्छ, यसका साथै, तिनीहरू विकृत बुझाइ र रायहरू फैलाउँछन्। उदाहरणका लागि, जब मण्डलीले कतिपय दुष्कर्मीहरूलाई निकाल्छ, तब यस्तो प्रकारको व्यक्तिले यस्ता कुरा भन्दै अरूलाई उक्साउँछ, “परमेश्वरको घरलाई मानिसहरूप्रति कुनै प्रेम छैन। यो त तिनीहरूले गोरुले खेत जोतेपछि ती गोरुलाई काटिरहेका छन् भनेजस्तै छ,” वा, “यी मानिसहरूले माथिल्लो स्तरका अगुवाहरूलाई चिढ्याएकाले नै तिनीहरूलाई निकालिएको हो।” तिनीहरू परमेश्वरको घरभित्र रहेको मण्डलीलाई पखाल्ने कामलाई सही रूपमा लिन सक्दैनन्, न त तिनीहरूसँग विशुद्ध बुझाइ नै हुन्छ—तिनीहरू यसबारे विकृत रूपमा सोच्ने र बोल्ने गर्छन्। तैँले तिनीहरूको मुखबाट विवेक वा समझका कुनै पनि शब्दहरू सुन्नेछैनस्, न त सकारात्मक कुराहरू जनाउने कुनै शब्दहरू नै सुन्नेछस्, सत्यता सिद्धान्तहरू अनुरूप कुरा त झनै सुन्नेछैनस्। तिनीहरूको हृदय गुनासा, अवज्ञा, र गथासोले भरिएको हुन्छ। जब तिनीहरूले असंयमित रूपमा आफ्ना दृष्टिकोणहरू व्यक्त गर्छन्, तब तिनीहरूले भन्ने कुराहरू र प्रकट गर्ने विचार र दृष्टिकोणहरू सबै पथभ्रष्ट र विकृत हुन्छन्। तँलाई यो अकल्पनीय लाग्छ—तैँले कसरी तिनीहरूले परमेश्वरमा विश्वास गरेका र प्रवचन सुनेका यति धेरै वर्ष भयो, र बाहिरी रूपमा तिनीहरू कति शिष्ट देखिन्छन् र खराब देखिँदैनन् भन्ने बारेमा सोच्छस्, र तिनीहरूले कसरी निर्णायक समयमा यी बेतुका कुराहरू भन्न सक्छन् भन्ने कुरामा तँलाई आश्चर्य लाग्छ। तिनीहरूले अन्ततः आफ्ना साँचो विचारहरू, तिनीहरूले आफ्ना हृदयमा लामो समयदेखि लुकाएका कुराहरू खुलासा गरेका हुन्छन्—के यसले साँच्चै नै तिनीहरूको समस्या प्रकट गर्दैन र? (गर्छ।) तिनीहरूले खुलासा गरेका साँचो विचारहरू पूर्ण रूपमा बङ्ग्याइएका तर्क र विधर्महरू हुन्छन्। त्यसोभए के तिनीहरूले अस्थायी खराब मुडका कारण यी बङ्ग्याइएका तर्क र विधर्महरू व्यक्त गरेका थिए त? (थिएनन्।) अवश्य नै थिएनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेका र प्रवचनहरू सुनेका वर्षहरू जतिसुकै भए पनि, यी विचारहरू सधैँ तिनीहरूको हृदयमा लुकेका हुन्छन्, र ती कहिल्यै पनि बाहिर प्रकट हुँदैनन्। तर जब निर्णायक क्षण आउँछ र तिनीहरूले आफूले भन्न चाहेका कुरा नभनी बस्न सक्दैनन्, तब यो ज्वालामुखी जस्तै विस्फोट हुन्छ—यो तिनीहरूभित्र अत्यन्तै तीव्र रूपमा उम्लिरहेको हुन्छ, र एक दिन तिनीहरूले यसलाई थामेर राख्न सक्दैनन्, र यो पथभ्रष्ट रिस विस्फोट हुन्छ। जब तिनीहरूको दियाबलसीय प्रकृति प्रस्फुटन हुन्छ, तब सबै किसिमका विकृत तर्क र विधर्म र भ्रमहरू देखा पर्छन्—तिनीहरू परमेश्वरबारे गुनासोका शब्दहरू, परमेश्वरको निन्दा गर्ने शब्दहरू, परमेश्वरलाई अपमान गर्ने शब्दहरू, मानिसहरूप्रति ईर्ष्या र घृणाका शब्दहरू, उक्साउने शब्दहरू बोल्छन्—तिनीहरूले सबै किसिमका दियाबलसीय शब्दहरू बोल्छन्, र त्यसपछि मात्रै तैँले तिनीहरू दियाबलस हुन् र तिनीहरू पूर्ण रूपमा प्रकट भएका छन् भन्ने महसुस गर्छस्। यसभन्दा पहिले, प्रवचनहरू सधैँ तिनीहरूका लागि बुझ्न नसकिने कुरा हुन्थे र तिनीहरूले परमेश्वरमा विश्वास गरेको यतिका वर्ष कहिल्यै सत्यता बुझेका थिएनन् भन्ने तैँले याद गरेको थिइस्। तैँले तिनीहरूको क्षमता कमजोर छ र सत्यता तिनीहरूको बुझ्ने क्षमताभन्दा बाहिर छ भन्ने अनुमान गरिस्, त्यसकारण तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा लिइस् र तिनीहरूलाई सहयोग गर्ने प्रयास गरिस्। तैँले तिनीहरूसँग मनका कुरा खोलिस् र तेरा आफ्नै भ्रष्ट स्वभावहरू कसरी पखालिएका छन् भन्ने बारेमा कुरा गरिस्। तर तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तिनीहरूले तिनीहरू वास्तवमा कस्ता छन् भनेर कुरा गर्न कहिल्यै आफ्नो हृदय खोलेनन्। तैँले कहिल्यै यो कुरा बुझ्न सकिनस्: तिनीहरू किन आफ्नो हृदय खोल्न सक्थेनन्? तिनीहरूले किन आफ्नो वास्तविक स्थिति उदाङ्गो पारेनन्? के तिनीहरूले कहिल्यै भ्रष्ट स्वभावहरू प्रकट नगरेका हुन सक्छन्? तैँले कहिल्यै पनि तिनीहरूलाई छर्लङ्ग देख्न सकिनस्, र तैँले तिनीहरू शिष्ट र सरल अनि सोझा छन् भन्ने समेत ठान्ने गर्थिस्। अहिले मात्रै तिनीहरूको दियाबलसीय प्रकृति प्रस्फुटन भएपछि र तिनीहरूले परमेश्वरबारे गुनासो गर्ने र ईश्वरनिन्दा गर्ने अत्यन्तै धेरै कुराहरू भनेपछि तिनीहरूसँग वास्तवमा कुनै मानवता छैन र तिनीहरू पूर्ण रूपमा दियाबलसीय प्रकृतिका छन् भन्ने तैँले देख्छस्। तँलाई यस्तो लाग्छ, “यो व्यक्ति भयानक छ! उसले परमेश्वरमा विश्वास गरेको यतिका वर्ष भएको छ, तर उसले सधैँ हृदयमा सत्यतालाई घृणा र प्रतिरोध गरेको रहेछ! उसले कसैसँग खुलस्त कुरा नगर्नु कुनै अचम्मको कुरा होइन—उसलाई त अरूले उसको दियाबलसीय प्रकृति छर्लङ्ग देख्नेछन् भन्ने डर लागेको रहेछ! ऊ खाँटी दियाबलस हो!” तैँले उसको सार छर्लङ्ग देखेपछि, तँलाई यति वर्ष तँ पूर्ण रूपमा अन्धो भएको रहेछस् भन्ने लाग्छ—हरेक दिन ऊसँग आफ्नो कर्तव्य निर्वाह गर्दै र मण्डली जीवन जिउँदै, पूरै समय उसलाई असल व्यक्ति, परमेश्वरको घरको सदस्य, परमेश्वरका चुनिएका मानिसहरूमध्ये एक भनेर सोचेको रहेछस्, र तँसँग ऊबारे कुनै सुझबुझ रहेनछ। त्यो अत्यन्तै डरलाग्दो परिस्थिति हो! यदि तँ दाजुभाइ-दिदीबहिनीहरूसँग जिउँछस् र अन्तरक्रिया गर्छस्, र तैँले कसैमा भ्रष्ट स्वभावहरू छन् वा उसले आफ्नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गर्छ भन्ने पत्ता लगाउँछस्, र तैँले ऊसँग सत्यताबारे सङ्गति गर्छस् र उसलाई सहयोग गर्छस्, र उसले यसलाई स्वीकार गर्न र कृतज्ञता व्यक्त गर्न सक्छ भने, तँलाई निकै सन्तुष्टि हुनेछ—तँलाई यो व्यक्ति अत्यन्तै असल छ, उसले सत्यतालाई प्रेम गर्छ भन्ने महसुस हुनेछ; तँलाई ऊबाट बिलकुलै विकर्षण महसुस हुनेछैन। तर यदि तैँले कुनै दियाबलससँग कैयौँ वर्ष सङ्गत गर्छस्, र उसलाई सधैँ दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, र प्रायजसो उसलाई सहयोग गर्छस्, साथ दिन्छस्, र उसलाई प्रेम, धैर्य, र सहिष्णुता देखाउँछस्, तैपनि, उसले तँलाई निकै शत्रुताको साथ व्यवहार गर्छ, तँलाई सधैँ आफ्नो शत्रु मानेर तँप्रति सतर्क हुन्छ, र उसले हृदयमा सत्यतालाई अलिकति पनि स्वीकार गर्दैन, र ऊ दियाबलस बाहेक केही पनि होइन भन्ने कुरा तैँले झन्-झन् महसुस गर्छस् भने—तँलाई कस्तो लाग्नेथियो? हामीले भर्खरै उल्लेख गरेको निष्कासित व्यक्तिको हकमा भन्दा—यदि तिमीहरूले यस्तो प्रकारको व्यक्तिसँग सङ्गत गर्यौ, र कुनै दिन उसको मानवता यति दुष्ट छ कि, उसले हृदयमा परमेश्वरलाई घृणा गर्ने र सत्यतालाई पटक्कै स्वीकार नगर्ने मात्र होइन, तर उसलाई प्रेमका साथ सहयोग गर्नेहरूलाई पनि उसले घृणा गर्छ भन्ने पत्ता लगायौ, जसले गर्दा तँ यस्तो व्यक्ति खाँटी दियाबलस हो भन्ने कुरामा निश्चित भइस् भने, तँलाई कस्तो लाग्नेथियो? (मलाई म साँच्चै नै मूर्ख भएको छु भन्ने लाग्थ्यो।) सुरुमा, तँलाई तँ मूर्ख भएको छस् भन्ने लाग्नेथियो, र तैँले त्यस्तो व्यक्तिमा कसरी यति धेरै व्यर्थको मेहनत गरेछस् भनेर तँलाई अचम्म लाग्नेथियो। अरू के लाग्नेथियो? (मलाई अलिक घिन लाग्नेथियो।) कोप्रति घिन लाग्थ्यो? ऊप्रति कि आफूप्रति? (ऊप्रति घिन लाग्थ्यो, तर उसलाई खुट्ट्याउन नसकेकोमा आफूप्रति पनि घिन लाग्नेथियो।) त्यसोभए, के तँ भविष्यमा अझै पनि उसलाई भेट्न वा ऊसँग सङ्गत गर्न चाहनेथिइस्? (चाहनेथिइनँ।) त्यसोभए तैँले ऊसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहनेथिइस्? ऊसँग सङ्गत गर्दा तैँले कस्तो शैली अपनाउन चाहनेथिइस्? (म उसलाई फेरि कहिल्यै हेर्न चाहनेथिइनँ—म ऊबाट जति टाढा बस्न सक्छु, त्यति नै राम्रो हुनेछ।) त्यसोभए आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले कहिलेकहीँ अझै पनि उसलाई भेट्नुपर्दा वा ऊसँग कामबारे छलफल गर्नुपर्दा, र तँ ऊबाट जोगिन नसक्दा के गर्नेथिइस्? के तिमीहरूले यसका लागि कुनै सिद्धान्त र अभ्यासको पथ निकालेका छौ? तिमीहरूलाई ऊप्रति घिन लाग्छ र त्यसकारण तिमीहरू ऊबाट जोगिन र उसलाई हेर्न चाहँदैनौ, तर यदि तिमीहरूले उसलाई आफ्नो कर्तव्यमा भेट्न मानेनौ भने, यसले काममा ढिलाइ गर्नेछ र असर गर्नेछ—त्यसकारण तिमीहरूले के गर्नुपर्छ? के तिमीहरूसँग कुनै असल समाधानहरू छन्? (छैनन्।) त्यसोभए म तिमीहरूलाई दुई वटा समाधानहरू बताउनेछु। पहिलो के हो भने, यदि यस्तो व्यक्ति सेवा दिन मण्डलीमा रहन सक्छ भने, जब तँ आफ्नो कर्तव्यमा ऊसँग सम्पर्कमा हुनु पर्दैन, तब तँ सम्पर्कमा नबसे पनि हुन्छ। किनभने तँलाई ऊप्रति घिन लाग्छ, ऊसँग सम्पर्कमा हुँदा अप्ठ्यारो र पीडादायी महसुस हुन्छ, र उसले तँलाई ऊप्रति घिन लाग्छ भन्ने कुरा थाहा पाउन पनि सक्छ, जुन कुराले उसलाई व्याकुल तुल्याउँछ। त्यसकारण, तैँले ऊसामु पहिलेको जस्तै आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्ना भित्री विचारहरू बताउनु पर्दैन। बरु, बस सहिष्णु र धैर्यवान् बन्, र बुद्धिमानी विधिहरू प्रयोग गरेर ऊसँग अन्तरक्रिया गर्—त्यो नै पर्याप्त हुन्छ। यो एउटा सिद्धान्त हो। अर्को के हो भने, जब तँ आफ्नो काममा ऊसँग सम्पर्कमा हुनुपर्ने हुन्छ, तब तैँले उसलाई दिइएको काम र सम्बन्धित सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने हुन्छ। तैँले ध्यान दिनुपर्ने एउटा बुँदा छ—तैँले उसलाई खटाइएको काम उसले सफलतापूर्वक पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले आम रूपमा यो कामका केही भाग पूरा गर्न सक्छ भने, ऊसँग सङ्गति गरेर निष्पक्ष र वस्तुगत रूपमा मामला सम्हाल्। तर यदि ऊ यो काममा सधैँ झाराटारुवा र गैरजिम्मेवार हुन्छ भने, तँलाई उसलाई काम सुम्पँदा सहज महसुस हुनु हुँदैन, बरु तैँले अरू कसैलाई छनौट गर्नुपर्छ। यदि यस विन्दुमा, उपयुक्त उम्मेदवार छैन र तँसँग उसलाई प्रयोग गर्ने बाहेक अरू कुनै विकल्प छैन भने, तैँले के गर्नुपर्छ? तैँले उसलाई सुपरिवेक्षण गर्ने कसैको प्रबन्ध गर्नुपर्छ। उसले वास्तविक काम नगरिरहेको वा बाधा वा अवरोधहरू ल्याउने तरिकाले व्यवहार गरिरहेको पत्ता लगाउने बित्तिकै, यसबारे तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यदि उसलाई सुपरिवेक्षण गर्ने व्यक्तिले प्रभावकारी रूपमा त्यसो गर्न सकेन भने, थप एउटा समाधान छ: अगुवा र कामदारहरूले व्यक्तिगत रूपमा उसको सुपरिवेक्षण गर्नुपर्छ र उसको कामको अनुगमन गर्नुपर्छ, र यी अनुगमनहरूको निरन्तरता अलिक बढी हुनुपर्छ। किनभने त्यस्ता मानिसहरू अत्यन्तै भरहीन हुन्छन्; तिनीहरूलाई नजिकबाट निगरानी नगर्ने बित्तिकै, तिनीहरूले दुष्कर्म गर्ने र मण्डलीको काममा अवरोध र बाधा दिने सम्भावना हुन्छ, त्यसपछि तिनीहरूलाई प्रयोग गर्दा आइपर्ने घाटाहरू फाइदाहरूभन्दा बढी हुन्छन्। त्यसकारण, यदि तैँले तिनीहरूसँग कामका लागि अन्तरक्रिया गर्नु नै पर्छ भने, तँ यसबाट जोगिन सक्दैनस्। तैँले तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूको साँचो रूप देख्न सक्छस् भन्दैमा तँ तिनीहरूबाट टाढा बस्न वा तैँले तिनीहरूलाई बेवास्ता गर्न सक्दैनस्—त्यो गैरजिम्मेवारीको प्रकटीकरण हुनेछ। तैँले तिनीहरूलाई खुट्ट्याउन सक्ने हुनाले, र तिनीहरूको प्रकृति सार दियाबलसको सार हो भन्ने तँलाई थाहा हुने हुनाले, र तिनीहरूले दुष्कर्म गर्न र बाधाहरू दिन सक्छन् भन्ने तँलाई थाहा हुने हुनाले, डर वा घृणाका कारण तिनीहरूलाई बेवास्ता गर्नुको सट्टा, तिनीहरूको सुपरिवेक्षण र अनुगमन गर्ने जिम्मेवारी तँमा अझै बढी हुन्छ। अगुवा वा कामदारका रूपमा, तेरो सबैभन्दा ठूलो जिम्मेवारी भनेको परमेश्वरको घरका ढोकाहरूको रक्षा गर्नु, परमेश्वरको घरको कामको सुरक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह गर्नु हो। अहिले एउटा दियाबलसले आफ्नो साँचो रूप प्रकट गरेकोले र तैँले उसलाई छर्लङ्ग देखिसकेकोले र ऊ कस्तो दुष्ट मानिस हो भन्ने कुरा थाहा पाइसकेकोले, तैँले उसलाई अझै राम्ररी सुपरिवेक्षण गर्नुपर्छ, ताकि उसले सकेसम्म प्रभावकारी रूपमा सेवा प्रदान गरोस्—तैँले गर्नुपर्ने कुरा यही हो। तैँले उसलाई छर्लङ्ग देखेको आधारमा मात्रै उसलाई ध्यान नदिने वा उसलाई बुझाइनुपर्ने काम स्पष्ट रूपमा व्याख्या नगर्ने गर्नु हुँदैन, वा उसले तँलाई कामसँग सम्बन्धित समस्याहरूका बारेमा सोध्दा पनि ऊसँग सङ्गति गर्न नमान्ने गर्नु हुँदैन। के त्यो त परमेश्वरको घरको काममा आफ्नो रिस पोख्नु होइन र? के त्यो परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बेवास्ता गर्नु होइन र? यदि तैँले यसो गरिस् भने, तँ गलत हुन्छस्—यसको अर्थ तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस् भन्ने हुन्छ। तेरो व्यक्तिगत जीवनमा, तैँले ऊसँग पटक्कै व्यवहार नगर्न सक्छस्, र तैँले उप्रान्त पहिलेको जस्तै ऊसँग सङ्गत नगर्न सक्छस्। तर यदि परमेश्वरको घरको कामले तँलाई ऊसँग अन्तरक्रिया गर्न र सङ्गत गर्न आवश्यक गराउँछ भने, तँ यो जिम्मेवारीबाट पछि हट्न सक्दैनस्—यो तेरो कर्तव्य र जिम्मेवारी हो, र तैँले यसबाट जोगिन बहानाहरू बनाउन सक्दैनस्। दियाबलसहरूको हकमा भन्दा, केवल आफ्नो दूरी कायम राख्ने, तिनीहरूलाई इन्कार गर्ने, तिनीहरूबाट जोगिने, र हृदयमा तिनीहरूप्रति तिरस्कार र वितृष्ण महसुस गर्ने शैली परमेश्वरका अभिप्रायहरू अनुरूप हुँदैन। तैँले तिनीहरूलाई सुपरिवेक्षण र रोकटोक पनि गर्नुपर्छ। यदि तिनीहरू सेवा दिन इच्छुक छन् भने, तैँले तिनीहरूलाई सहयोग गर्नुपर्छ र उचित रूपमा सेवा दिनका लागि तिनीहरूलाई प्रयोग गर्नुपर्छ—तिनीहरूलाई सकेसम्म प्रभावकारी रूपमा सेवा दिन सक्षम तुल्याउनुपर्छ। यदि तिनीहरू उचित रूपमा सेवा दिँदैनन्, र एक क्षण पनि निगरानी नगरी छोड्दा मण्डलीको काममा बाधा दिन र त्यसलाई बरबाद गर्न सक्छन् भने, तिनीहरूले ल्याउने हानि तिनीहरूको उपयोगिताभन्दा बढी हुन्छ, र तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। त्यस्ता नकारात्मक उदाहरणहरूलाई आवश्यक परेको बेला चिरफारका लागि उठाउनुपर्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले सुझबुझ प्राप्त गर्न सकून्, दियाबलसहरू र शैतानहरूको प्रकृति सार छर्लङ्ग देख्न सकून्, त्यसपछि तिनलाई हृदयदेखि इन्कार गर्न सकून्, र तिनीहरूको बहकाइ, बाधा, वा नियन्त्रणमा नपरून्। दियाबलसहरू र शैतानहरूलाई प्रयोग गर्नु, परमेश्वरका चुनिएका मानिसहरूको सेवा गर्नका लागि सबै कुरा प्रयोग गर्नु भनेको यही हो। यो तिमीहरूको जिम्मेवारी हो—तिमीहरूले गर्नुपर्ने कुरा यही हो। तर तिमीहरूसँग यो जिम्मेवारीको बोध छैन। तिमीहरूले यसभन्दा पहिले भनेको जस्तै—तिमीहरूले यस्तो व्यक्तिबारे सुझबुझ प्राप्त गरेपछि, तिमीहरूलाई घृणा लाग्छ र तिमीहरूलाई उप्रान्त ऊसँग भेट्न मन लाग्दैन, र यदि तिमीहरूले उसलाई देख्यौ भने, तिमीहरू तर्किन्छौ, र सकेसम्म टाढा बस्छौ। तिमीहरूसँग भएको समाधान त्यति मात्र हो। परमेश्वरको घरको कामका लागि, परमेश्वरको घरका हितहरूका लागि, वा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि तिमीहरूसँग कुनै बोझको बोध छैन। यो तिमीहरूको कद हो—यो प्रकट भएको छ, होइन त? तैँले दियाबलसको सार छर्लङ्ग देख्छस्, त्यसपछि तँ उसलाई देख्दा ऊबाट तर्किन्छस्। तर तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्दैनस्, र नतिजा स्वरूप, तिनीहरूलाई हानि हुन्छ। तँ अगुवा वा कामदारका रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छस्—यो जिम्मेवारीबाट विमुख हुनु हो। जब दियाबलस अझै प्रकट भइसकेको हुँदैन, तब तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई सचेत गराउनुपर्छ, तिनीहरूलाई दुष्ट मानिसहरूप्रति सावधान हुन सम्झाउनुपर्छ, दियाबलसले के गरेको छ, उसले किन त्यस्ता कुराहरू गरेको छ, उसका कार्यको प्रकृति के हो, यी कार्यहरूले के-कस्ता प्रभावहरू ल्याउन सक्छन् र तिनले के-कस्ता परिणामहरू ल्याउन सक्छन्, परमेश्वरले यो दियाबलसलाई कसरी ठहर गर्नुहुन्छ, र उसलाई कस्तो शैलीले व्यवहार गर्नुपर्छ भनेर बताउनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले सुझबुझ प्राप्त गरेपछि, र दियाबलसले सेवा प्रदान गरिसकेपछि र दाजुभाइ-दिदीबहिनीहरू वा परमेश्वरको घरका लागि उसको कुनै मूल्य नभएपछि, तैँले उसलाई निकाल्नुपर्छ, यसरी यो दियाबलस र शैतानको जीवन नै समाप्त गर्नुपर्छ। बुद्धि यसैलाई भनिन्छ—सिद्धान्तहरू अनुसार काम गर्नु र अभ्यासको मार्ग हुनु भनेको यही हो। तँ आफ्नो व्यक्तिगत जीवनमा यस्तो व्यक्तिसँग कसरी सङ्गत गर्छस् त्यो तेरो आफ्नो कुरा हो—त्यो तेरो स्वतन्त्रता हो। तर अगुवा वा कामदारका रूपमा, तैँले एउटा जिम्मेवारी वहन गर्नु नै पर्छ: तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नु नै पर्छ, र परमेश्वरको घर र मण्डलीको कामका हितहरूको संरक्षण गर्नु नै पर्छ। यो सिद्धान्तका आधारमा, दियाबलसका रूपमा रहेको यस्तो व्यक्तिले अहिले सेवा दिइरहेको छ भने, तैँले ऊविरुद्ध हतार-हतार कारबाही गर्नु हुँदैन। तैँले उसको काम सुपरिवेक्षण गर्नुपर्छ र उसले के गरिरहेको छ भनेर हेर्नका लागि उसको हरेक चाल नजिकबाट अवलोकन गर्नुपर्छ। कुनै कुरा गलत छ भन्ने कुनै लक्षणहरू देखा पर्ने बित्तिकै, तैँले तुरुन्तै उसलाई खुलासा गर्ने र काट-छाँट गर्ने, वा पदबाट हटाउने कार्य अभ्यास गर्नुपर्छ। यदि खुलासा र काट-छाँट भएपछि उसले थोरै सेवा दिन सक्छ भने, त्यो मण्डलीको कामका लागि फाइदाजनक नै हुन्छ। तर उसले सेवा दिन चाहँदैन, असल मार्ग लिइरहेको छैन, र बाधा तथा अवरोध दिनुका साथै दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन आफ्ना दुष्ट नङ्ग्राहरू फैलाउन लागेको छ भन्ने पत्ता लागेपछि, दियाबलसले आफ्नो साँचो रूप प्रकट गर्ने समय त्यही हो, र ऊविरुद्ध कारबाही गर्ने सही समय त्यही हुन्छ। उसलाई सेवा गर्ने मौका दिइयो तर उसले उचित रूपमा सेवा दिएन—त्यसो हो भने उसलाई समूह ख मा पठा। यदि परिस्थिति गम्भीर छ भने, उसलाई निकाल्ने वा निष्कासित गर्ने अभ्यास गर्—शैतानको नियतिलाई अन्त्य गर्ने क्षण पनि यही हो। जबसम्म तिमीहरूले यी दुई सिद्धान्तहरू पालना गर्छौ, तबसम्म तिमीहरूले दुष्ट मानिसहरू र दियाबलसहरूलाई सिद्धान्त अनुरूप व्यवहार गर्न सक्नेछौ। के यसरी कार्य गर्नु भनेको आफ्नो जिम्मेवारी पूरा गर्नु हो? (हो।) एक हिसाबमा, तँसँग दियाबलसहरूप्रति सुझबुझ हुनेछ, तँलाई तिनीहरूले उप्रान्त बहकाउनेछैनन् वा बाधा दिनेछैनन्, र तैँले उप्रान्त मूर्ख कामकुराहरू गर्नेछैनस्—कम्तीमा पनि, तैँले दियाबलसहरूका रूपमा रहेका यस्ता मानिसहरूसँग उप्रान्त सत्यताबारे सङ्गति गर्न छोड्नेछस्। तेरो हृदयमा, तैँले यो कुरा जान्नेछस्: यो मान्छे दियाबलस हो—ऊसँग सत्यताबारे सङ्गति गर्नु भनेको सुँगुरको अघि मोती फ्याँक्नु जस्तै हो; ऊसँग जसरी सत्यतामा सङ्गति गरिए पनि, त्यो व्यर्थ हुनेछ। त्यसरी, तैँले मूर्ख कामकुराहरू गर्न जारी राख्नेछैनस्। तैँले ऊसँग उसले बुझ्नुपर्ने केही धर्मसिद्धान्तहरू, र उसले पालन गर्नुपर्ने प्रावधानहरूका बारेमा मात्रै कुरा गर्नेछस्—त्यो नै पर्याप्त हुन्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, मण्डलीको काममा असर पर्नेछैन। तर यदि तैँले सिद्धान्तहरू बुझेको छैनस् भने, तँ मूर्ख कुराहरू गर्न सक्छस्। अर्को हिसाबमा, सत्यतालाई अलिकति पनि स्वीकार नगर्ने यी सेवाकर्ता र दियाबलसहरूलाई अगुवा र कामदारहरूले उचित रूपमा सुपरिवेक्षण र उपयोग गर्नुपर्छ। यसरी अभ्यास गर्दा यसले मण्डलीको काममा हानि हुँदैन भन्ने कुरा सुनिश्चित गर्न सक्छ, साथै दियाबलसहरू र शैतानहरूद्वारा बहकाइन र बाधा दिइनबाट दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन सक्छ। बुझिस्? (बुझेँ।) तैँले दुष्ट मानिसहरू र दियाबलसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा बिलकुलै व्यवहार गर्नु हुँदैन। तँसँग दियाबलसहरू र दुष्ट मानिसहरूबारे सुझबुझ भएसम्म, तैँले उप्रान्त मूर्ख कुराहरू गर्नेछैनस्। विगतमा, मानिसहरूमा सुझबुझको कमी हुन्थ्यो र तिनीहरूले धेरै मूर्ख कुराहरू गर्थे—सधैँ दुष्ट मानिसहरू र दियाबलसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्थे, र दियाबलसहरूलाई सधैँ आफ्नो खिल्ली उडाउन दिन्थे। जब तैँले दियाबलसहरूसँग सङ्गति गर्न आफ्नो हृदय खोल्थिस्, तब तिनीहरू सोच्थे, “तँ कति इमानदार, कति शुद्ध र खुलस्त छस्—तँ साँच्चै नै मूर्ख होस्!” र मनमनै तँलाई गिज्याउँथे। अहिले तँसँग दियाबलसहरूबारे सुझबुझ भएको हुनाले, तैँले उप्रान्त यस्तो मूर्ख काम गर्नेछैनस्। तँलाई अहिले के थाहा भयो भने, तैँले साँचा दाजुभाइ-दिदीबहिनीहरू, सत्यता पछ्याउने र मानवता भएका मानिसहरूसँग मात्रै सङ्गतिमा आफ्नो हृदय खोल्नुपर्छ वा तिनीहरूलाई साथ दिनु र सहयोग गर्नुपर्छ—दियाबलसहरूसँग होइन। यो एउटा पक्ष हो। अर्को के हो भने तँ उप्रान्त दियाबलसहरूप्रति डरपोक हुँदैनस् वा तिनीहरूसँग डराउँदैनस्। तिनीहरू दियाबलसहरू हुन् भन्ने तँलाई थाहा हुन्छ, र तिनीहरूले आफ्नो हृदयमा के सोचिरहेका छन् भन्ने तँलाई थाहा हुन्छ। अहिले तैँले तिनीहरूका बारेमा सुझबुझ प्राप्त गरेको हुनाले, तिनीहरूलाई उचित रूपमा कसरी व्यवहार गर्ने भन्ने तँलाई थाहा छ। तैँले सधैँ तिनीहरूलाई नजिकबाट नियाल्नुपर्छ—तिनीहरूले के गर्ने प्रयास गरिरहेका छन्, तिनीहरूले आफ्नो हृदयमा के कुराको हिसाबकिताब र षड्यन्त्र गरिरहेका छन्, तिनीहरूले कामका कुन-कुन भागहरूमा बाधा, अवरोध, र ध्वस्त पार्न सक्छन्, तिनीहरूले अरूलाई उक्साउन र बहकाउन कस्ता शब्दहरू प्रयोग गर्न सक्छन्, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्ने प्रयास गरिरहेका छन् भन्ने कुरा हेर्नुपर्छ। तैँले यी सबै कुराहरू स्पष्ट रूपमा देखेपछि, तैँले उचित रूपमा कसरी व्यवहार गर्ने भन्ने कुरा जान्नेछस्, र तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको हुनेछस्।
हामीले दियाबलसहरूबाट पुनर्जन्म हुने मानिसहरूका पथभ्रष्ट प्रकटीकरणहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गरेपछि, सायद तिमीहरूमध्ये धेरैजसोको हृदयमा अब केही स्पष्टता आएको छ र तिमीहरूमा अलिक सुझबुझ पनि छ—जस्तै, यति धेरै वर्ष अन्तरक्रिया गरेपछि, कुन-कुन मानिसहरू दियाबलसहरू जस्ता देखिन्छन्, जसलाई तिमीहरूले अबदेखि आफ्ना साँचो भावनाहरू बताउनेछैनौ; र कुन-कुन मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन्, जससँग तिमीहरूले अझै धेरै सङ्गत गर्नेछौ, जोसँग अझै नजिक हुनेछौ, र कुनै कुरा आइपर्दा—थप सङ्गति गर्नेछौ। यसरी, तिमीहरूले हरेक प्रकारको व्यक्तिलाई व्यवहार गर्दा सिद्धान्त अनुरूप व्यवहार गर्नेछौ, र तिमीहरूले गल्ती गर्नेछैनौ। तर के धेरैजसो मानिसहरू दियाबलसहरूलाई खुट्ट्याउने, दियाबलसहरूको प्रकृतिलाई छर्लङ्ग देख्ने अवस्थामा पुग्न सक्छन्? अनि यदि दियाबलस सेवा दिन इच्छुक छ भने, के तिनीहरूले दियाबलसको सेवा उपयोग गर्न सक्छन्? धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले यसरी अभ्यास गर्न सक्दैनन्—तर अगुवा र कामदारहरूले यसरी अभ्यास गर्न सक्नु नै पर्छ। तिनीहरूले त्यसो गर्न सक्नु नै पर्छ भनेर मैले किन भनेँ? किनभने अगुवा वा कामदारका रूपमा, तैँले कामकुराहरूलाई राम्ररी जाँच्नुपर्छ। तैँले दुष्ट व्यक्तिले दुष्कर्म गरिरहेको पत्ता लगाएपछि, तैँले उसलाई तुरुन्तै खुलासा गर्न र चिरफार गर्न, र उसका बाधा र अवरोधहरूलाई काबुमा राख्न सक्नुपर्छ। यदि तैँले यसरी अभ्यास गर्न सक्छस् भने, तैँले मण्डलीको कामको सामान्य प्रगतिलाई सुनिश्चित गर्न सक्नेछस्, र दाजुभाइ-दिदीबहिनीहरू सुरक्षित हुनेछन्—तिनीहरूको सुझबुझमा वृद्धि हुनेछ, र दियाबलसहरूको बाधाका कारण तिनीहरूको जीवन प्रवेशमा घाटा हुनेछैन। यदि तँ यसरी अभ्यास गर्न सक्दैनस् भने—यदि तँ दियाबलसहरूलाई काबुमा पार्न सक्दैनस्, ढोकाको रक्षा गर्न सक्दैनस् भने—दियाबलसहरू निरन्तर बाधा दिन आउनेछन्। आज तिनीहरूले एउटा व्यक्तिलाई बाधा दिन्छन्, उसलाई नकारात्मक र सुसमाचार प्रचार गर्ने कार्यप्रति उदासीन बनाउँछन्; भोलि तिनीहरूले अर्को व्यक्तिलाई बाधा दिन्छन्, उसलाई आफ्नो कर्तव्य निर्वाह गर्न नचाहने बनाउँछन्, यसरी काममा ढिलाइ हुन्छ र तँ प्रतिस्थापन गर्नका लागि व्यक्ति खोज्न बाध्य हुन्छस्। तैँले निरन्तर केही अप्रत्याशित र अनपेक्षित परिस्थितिहरू सम्हाल्नुपर्ने हुन्छ। के यसरी काम गर्नु अत्यन्तै निष्क्रिय कार्य हुँदैन र? (हुन्छ।) त्यसोभए अगुवा वा कामदारका रूपमा, के तँ मानकअनुरूप हुनबाट निकै चुकेको हुँदैनस् र? यदि तैँले अगुवा वा कामदारका रूपमा सेवा गरिरहेको थिइनस् भने, तैँले आफ्नो जीवन प्रवेश, परमेश्वरका वचनहरू खाने-पिउने कार्य, र आफ्नो कर्तव्य व्यवस्थापन गर्न सक्नेथिइस्। तर तैँले अगुवा वा कामदारका रूपमा सेवा गर्न थालेपछि, तँ हरेक दिन व्यस्त हुन्छस्—आत्तिँदै दौडधूप गर्छस्, र हतार-हतार काम गर्छस्। कि त ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति देखा पर्छ र मण्डलीमा बाधा दिन्छ, कि त कतिपय दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक बन्छन् र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, कि त नयाँ विश्वासी अफवाहहरूद्वारा बहकिन्छ र उप्रान्त विश्वास गर्न चाहँदैन र ऊ पछि हट्छ। काम पर्याप्त रूपमा पूरा भइरहेको हुँदैन, जसले गर्दा जताततै समस्याहरू देखा पर्छन्, र यी समस्याहरू निरन्तर देखा पर्दा तँ अत्तालिन्छस् र हैरान हुन्छस् र तैँले हरेक दिनको सामना गर्न सक्दैनस्, राम्ररी खान वा सुत्न सक्दैनस्—तैपनि, काम अझै राम्ररी पूरा हुँदैन। त्यो कामका लागि साह्रै अयोग्य हुनु हो। त्यस्तो अगुवा वा कामदार मानकअनुरूप पटक्कै हुँदैन। तँ मानकअनुरूप हुँदैनस् भनेर म किन भन्छु? किनभने सबैले सत्यता बुझ्ने र सुझबुझ प्राप्त गर्ने गरी, तैँले देखा पर्न सुनिश्चित यी समस्याहरूका बारेमा अग्रिम रूपमा स्पष्ट रूपमा सङ्गति गरिनस् ताकि समस्याहरू देखापर्दा ती तुरुन्तै समाधान हुन सकून्। अर्को शब्दमा भन्दा, तैँले धेरैजसो मानिसहरूलाई यी कुराहरू सहन सक्ने क्षमताले सुसज्जित गर्न सजग तुल्याइनस्। अन्त्यमा, जब यी कुराहरू एकपछि अर्को गर्दै घटे, तब तँ अत्यन्तै निष्क्रिय बनिस्—सधैँ गडबडी मिलाउने, सधैँ दुष्परिणामहरू सफा गर्ने मात्रै गरिस्। यसको अर्थ तँ अगुवा वा कामदारका रूपमा मानकअनुरूप हुनबाट धेरै चुकेको हुन्छस्। तैँले विभिन्न प्रकारका दियाबलसहरूलाई व्यवहार गर्ने तरिकामा, तिनलाई सम्हाल्ने तेरा विधिहरू अनुचित हुन्छन्, तैँले गर्ने काम अपर्याप्त हुन्छ, र त्यसकारण मण्डलीका काममा निरन्तर बाधा पुग्छ, यो निरन्तर समस्याहरूले ग्रसित हुन्छ। तैँले सधैँ कुराहरूलाई समाधान गर्नुपर्ने र तिनलाई मिलाउनुपर्ने हुन्छ, त्यसकारण तँ अत्यन्तै व्यस्त हुन्छस्, र यो काम गर्ने कार्य अत्यन्तै कठिन हुन्छ।
के तिमीहरूलाई दियाबलसहरूबाट पुनर्जन्म लिने मानिसहरूलाई व्यवहार गर्ने दुई वटा सिद्धान्त याद छ? तीमध्ये मुख्य कुन हो? दियाबलसहरू र शैतानहरूको डर नमान र तिनीहरूबाट नतर्क। बरु, तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूको सार छर्लङ्ग देख्न, र तिनीहरूका विचारको प्रवृत्तिलाई बोध गर्न सिक; अर्थात्, तिनीहरूले मण्डलीमा के गर्न चाहन्छन्, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्न चाहन्छन् भन्ने कुरा स्पष्ट रूपमा देख। यसरी, तिमीहरूले निष्क्रियतालाई पहलमा परिणत गर्न सक्छौ, र तिनीहरूलाई खुलासा गर्न र निराकरण गर्न सक्रिय रूपमा अग्रसरता जनाउन सक्छौ। यदि, दियाबलसहरू र शैतानहरूले बोलेको र व्यवहार गरेको देख्दा, तँलाई घिन मात्रै लाग्छ र तँ तिनीहरूलाई कुनै ध्यान दिन वा तिनीहरूसँग सहकार्य गर्न चाहँदैनस् र त्यत्ति मात्र हो भने—दियाबलसहरू र शैतानहरूले मण्डलीको काममा बाधा र अवरोध दिइरहेको देख्दा यसलाई बेवास्ता समेत गर्छस् भने—के यसरी कार्य गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ? (हुँदैन।) दियाबलसहरू र शैतानहरूले मण्डलीमा घुसपैठ गरेपछि, तिनीहरूले नियम पालना गर्ने तरिकाले मण्डली जीवन जिउनेछैनन्, नियम पालना गर्ने तरिकाले सेवा प्रदान गर्नु त परको कुरा हो। तिनीहरूले अपरिहार्य रूपमा नै बोल्नेछन् र कामकुरा गर्नेछन्, यहाँसम्म कि आफ्ना उद्देश्यहरू हासिल नभएसम्म तिनीहरू हरेस खाँदैनन्। त्यसकारण, दियाबलसहरूसँग व्यवहार गर्दा, तिमीहरू बुद्धिमान हुनुपर्छ, र सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। खुलासा र इन्कार गरिनुपर्नेहरूलाई खुलासा र इन्कार गर्नुपर्छ। जब दियाबलस अझै प्रकट भएको हुँदैन, तब यदि ऊ सेवा दिन तयार हुन्छ भने, उसलाई सेवा दिन उपयोग गर्, अनि उसले सेवा दिइरहेको बेला उसको नजिकबाट निगरानी गर्। उदाहरणका लागि, यदि तैँले कामको निश्चित विषयवस्तुको कार्यभारी रहेको निश्चित सुपरिवेक्षकलाई छर्लङ्ग देख्न सक्दैनस्—तैँले ऊ अरू दाजुभाइ-दिदीबहिनीहरू जत्तिको सरल र खुलस्त छैन, ऊ कहिल्यै कसैलाई साँचो कुरा पूर्ण रूपमा बताउँदैन, र काममा कठिनाइ वा समस्याहरू सामना गर्दा, उसले समाधान खोज्दैन भन्ने देख्छस् भने—तैँले उसको परिस्थितिको जरा पत्ता लगाउने पहल गर्नुपर्छ। तँ निष्क्रिय भएर, उसले काम बरबाद नगरेसम्म पर्खेर बस्ने त्यसपछि “काम बिग्रेपछि चेत खोल्ने” प्रयास गर्नु हुँदैन। तैँले ऊसँग कुरा गर्नुपर्छ र आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्ति कस्तो छ, ऊसँग कामका लागि विशिष्ट योजना र प्रबन्धहरू छ कि छैन, ऊसँग काम गर्ने सिद्धान्तहरू छ कि छैन, उसले कामका प्रबन्धहरू अनुसार काम गर्न सक्छ कि सक्दैन, र उसले आफूभन्दा माथि रहेकाहरूलाई छल गर्न र आफूभन्दा तलका मानिसहरूबाट कुराहरू लुकाउन, र आफ्नै तरिकाले कामकुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा हेर्नुपर्छ। के यी कुराहरू तैँले ध्यान दिनुपर्ने कुराहरू होइनन् र? (हुन्।) मानौँ तैँले कुनै व्यक्ति दियाबलस हो भन्ने पत्ता लगाइस्, त्यसकारण तैँले ऊसँग अन्तरक्रिया गर्न छोडिस्, र यसो समेत भनिस्, “यो दियाबलस अत्यन्तै भयानक छ—उसलाई देख्दा मात्रै पनि मलाई घिन लाग्छ। म अबदेखि ऊसँग बोल्नेछैनँ। मैले आफू र उसको बीचमा स्पष्ट रेखा कोर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई पनि स्पष्ट रेखा कोर्न लगाउनुपर्छ—सबैले उसलाई बेवास्ता गर्नुपर्छ।” के यसरी व्यवहार गर्नु ठीक हुन्छ? यो व्यवहार गर्ने मूर्ख तरिका हो। यो न त चलाख तरिका हो न त बुद्धिमानी तरिका नै हो, र यो कद हुनु होइन। के तँलाई ऊसँग नबोलेकोले मात्रै पनि तँ चलाख छस् भन्ने लाग्छ? के तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छस्? के तैँले बगालको रक्षा गर्ने र परमेश्वरको घरको ढोकाको रेखदेख गर्ने बोझ वहन गरेको छस्? के तैँले यी कुराहरूका बारेमा पनि सोच्नु पर्दैन र? दियाबलसहरूप्रति सुझबुझ हुनुपर्ने मानिसहरूबाट परमेश्वरले गर्नुहुने मागको अर्थ दियाबलसहरूलाई इन्कार गर्नु नै पर्याप्त हुन्छ भन्ने पटक्कै हुँदैन। तैँले दियाबलसहरूलाई सुपरिवेक्षण गर्न र रोक्न पनि सक्नुपर्छ; यदि दियाबलस अझै प्रकट भएको छैन र ऊ सेवा दिन चाहन्छ भने, तैँले उसलाई उपयोग गर्न पनि सक्नुपर्छ—यी कुराहरू पनि तैँले निर्वाह गर्नुपर्ने कर्तव्य, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी हुन्, र यो पूर्ण रूपमा मण्डलीको कामको संरक्षण गर्नका लागि हो। यदि तैँले कुनै व्यक्ति अत्यन्तै रहस्यमय व्यक्ति हो, उसले भन्ने सबै कुरा खोटरहित हुन्छ र कसैले पनि उसलाई बुझ्न सक्दैन भन्ने देखिस् भने, यो व्यक्ति अत्यन्तै खतरनाक हुन्छ र ऊ भरोसा गर्न लायक हुँदैन। विशेष गरी यदि तैँले एकदमै कुटिल, धूर्त, चतुर तरिकाले व्यवहार गर्ने व्यक्ति देखिस्—जो कहिल्यै कसैलाई साँचो कुरा पूर्ण रूपमा बताउँदैन, र ऊसँग अन्तरक्रिया गर्ने वा सङ्गत गर्ने धेरैजसो दाजुभाइ-दिदीबहिनीले उसलाई छर्लङ्ग देख्न सक्दैनन् भने—त्यस्तो व्यक्तिलाई पन्छाएर एकलै छोडिदिनु हुँदैन। बरु तँ उसको नजिक जानुपर्छ, ऊसँग सम्पर्क गर्नुपर्छ र कुरा गर्नुपर्छ, ताकि तेरो सुझबुझ र अन्तर्ज्ञानमा वृद्धि हुन सकोस्, अनि तैँले उसले के सोचिरहेको छ, उसको व्यवहारको स्रोत र मनसाय के हो, उसले के गर्ने योजना बनाइरहेको छ, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा काम वहन गर्न सक्छ कि सक्दैन, मण्डलीको काममा बाधा दिन र स्वतन्त्र राज्य स्थापना गर्न सक्छ कि सक्दैन, र उसले कर्तव्य निर्वाह गर्दा त्यसले फाइदाभन्दा बढी हानि गर्छ कि, र अन्त्यमा फाइदाभन्दा बढी घाटा हुन्छ कि भन्ने कुरा देख्न सकेस्। देखिस्—के अगुवा वा कामदार हुनु सरल कुरा हो? जब मण्डलीमा त्यस्तो व्यक्ति भेटिन्छ, तब तँ ऊबाट नटाढिनुपर्ने र ऊबाट नतर्किनुपर्ने मात्र होइन, बरु तँ सक्रिय रूपमा उसको निकट जानुपर्छ र सम्पर्कमा आउनुपर्छ। यसो गर्नुको उद्देश्य के हो? यो उसको परिस्थितिलाई राम्ररी बुझ्नु र सतर्कताका उपायहरू अपनाउनु हो। उदाहरणका लागि, यदि तैँले निरन्तर तेरो व्यक्तिगत जानकारीबारे खोजीनिधो गर्ने अवसरहरू खोजिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्ट वा जासुसलाई भेटिस्, र ऊ जासुस हो भन्ने तँलाई हृदयमा महसुस भयो भने, तँ त्यस व्यक्तिबाट सतर्क हुनुपर्छ, र तैँले उसलाई आफ्नो वास्तविक परिस्थितिबारे पटक्कै बताउनु हुँदैन। तैँले अझै महत्त्वपूर्ण कुरा पनि याद गर्नैपर्छ: तैँले उसलाई तेरो फोन नम्बर, इमेल खाता, इत्यादि कुरा थाहा दिनु हुँदैन। तर, यदि तँ उसले तेरो परिस्थितिबारे खोजिनिधो गर्छ भन्ने कुराप्रति मात्रै सतर्क हुन्छस्, तर ऊ अरू कोसँग सम्पर्कमा छ, उसले कसको जानकारी सोधिरहेको छ, र मण्डलीको कुन परिस्थितिबारे सोधिरहेको छ भन्ने जस्ता कुराहरूलाई तैँले पूर्ण रूपमा बेवास्ता गर्छस् र छोडिदिन्छस्—यसो गर्दा तँ निकै चलाख भइरहेको छस् भन्ने समेत सोच्छस् भने—तैँले यस मामलालाई सम्हालेको तरिका कस्तो हुन्छ? के तैँले कुनै बुद्धि देखाएको हुन्छस्? के तैँले आफूमा कद छ भन्ने देखाएको हुन्छस्? के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्? के तैँले परमेश्वरको घरका हितहरू संरक्षण गरेको र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गरेको हुन्छस्? यदि तैँले यी कुराहरूलाई पटक्कै ख्याल गर्दैनस् भने, तँ पूर्ण रूपमा स्वार्थी र घृणित व्यक्ति होस्। मानौँ तैँले कुनै दियाबलसका रूपमा रहेको कुनै व्यक्ति भेट्छस्, र उसले तँ कहाँको होस् र तेरो परिवारमा कसैले परमेश्वरमा विश्वास गर्छ कि गर्दैन भनेर सोध्छ; उसले जानकारी खोजिरहेको छ भन्ने तँलाई थाहा हुन्छ, त्यसकारण तैँले आफ्नो वास्तविक परिस्थिति खुलासा नगरी उसलाई पन्छाउन केही कुरा त्यत्तिकै भन्छस्, त्यसपछि तैँले प्रश्नहरू उल्ट्याएर उसलाई सोध्छस्, “तिमी कहाँका हौ? तिम्रो परिवारमा कसले परमेश्वरमा विश्वास गर्छ? तिम्रो गृहनगरको मण्डलीमा मण्डली जीवन कस्तो छ? के चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँका विश्वासीहरूलाई पक्राउ गर्छ? के तिमी कहिल्यै पक्राउ परेका छौ?” चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्ट वा जासुसले यो सुनेपछि, मनमनै सोच्छ, “सधैँ प्रश्नहरू गर्ने म नै हुन्छु—कसैले पनि मलाई कहिल्यै फर्केर सोधपुछ गरेको छैन। यो व्यक्तिको दिमाग रहेछ!” तैँले उसलाई प्रश्नहरू सोधिरहेको देखेर, उसलाई उसको पहिचान खुलासा हुनेछ भन्ने चिन्ता हुन्छ र त्यसकारण उसले विषय परिवर्तन गर्नेछ। तैँले यस्तो व्यक्तिलाई ध्यान दिएर अवलोकन गर्नुपर्छ। यदि तैँले ऊ अत्यन्तै शङ्कास्पद छ, र ऊ चिनियाँ कम्युनिस्ट पार्टीका जासुस हुने सम्भावना ८० प्रतिशत छ भन्ने कुरा पुष्टि गरिस् भने, ऊबाट तँ सतर्क हुनुपर्छ—तैँले दाजुभाइ-दिदीबहिनीहरूका बारेमा अलिकति पनि जानकारी खुलासा गर्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरू ऊबाट पटक्कै सतर्क भएनन् र यस व्यक्तिलाई कुनै कुरा बाँकी नराखी, कुनै पनि विषयमा कुरा गर्न इच्छुक हुँदै, आफूलाई थाहा भएका सबै कुरा बताए भने, यसले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई सजिलै खतरामा पार्छ। त्यसकारण तैँले त्यस्तो व्यक्तिलाई नजिकबाट नियाल्नुपर्छ—ऊ निरन्तर कसको सम्पर्कमा आउँछ, उसले निरन्तर कोबाट जानकारी प्राप्त गर्ने प्रयास गर्छ, उसले गुप्तमा दाजुभाइ-दिदीबहिनीहरूको फोन नम्बर जाँच गरिरहेको छ कि, वा तिनीहरूको कम्प्युटरमा रहेका खाताहरू जाँच गरिरहेको छ कि, वा मानिसहरूको पिठ्युँ पछाडि परमेश्वरको घरको आन्तरिक जानकारी खोजिरहेको छ कि भनेर अवलोकन गर्नुपर्छ। तैँले उसलाई नजिकबाट नियाल्नुपर्छ—तैँले उसलाई सफल हुन दिनु हुँदैन। तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई यो व्यक्तिको विरुद्धमा सतर्क हुन पनि भन्नुपर्छ—यदि उसले बारम्बार जानकारी खोजीनिधो गर्छ भने, ऊबाट टाढा बस्नुपर्छ, र मानिसहरूलाई दुर्व्यवहार नगर्न भनी उसलाई चेतावनी दिनुपर्छ। यसका साथै, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउनका लागि के-कस्ता विधर्म र भ्रमहरू फैलाइरहेको छ भन्ने कुरा पनि तैँले हेर्नुपर्छ—यदि तैँले त्यस्ता समस्याहरू पत्ता लगाइस् भने, तैँले तिनलाई तुरुन्तै सम्हाल्नुपर्छ र समाधान गर्नुपर्छ। यसरी अभ्यास गर्नु भनेको मण्डलीको कामको संरक्षण गर्नु र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नु हो—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यो परमेश्वरका चुनिएका मानिसहरूको पनि जिम्मेवारी हो। यदि तँ चुप लागेर बस्छस् र केही गर्दैनस्, र उसलाई आफूले चाहे अनुसार खोजीनिधो गर्न दिन्छस् भने, केही मूर्ख मानिसहरू वा विश्वासमा सतही जग भएका नयाँ विश्वासीहरूले उसलाई सबै कुरा बताउने सम्भावना हुन्छ। त्यसपछि, मुख्य भूमि चीनको पुलिसले तिनीहरूको परिवारका सदस्य र आफन्तहरूलाई तुरुन्तै पक्राउ गर्न थाल्न सक्छ, जसले गर्दा निश्चित मण्डली र निश्चित दाजुभाइ-दिदीबहिनीहरूमा समस्या आइपर्न सक्छ। जस्तोसुकै समस्या पैदा भए पनि, जे भए पनि, यदि अगुवा वा कामदारका रूपमा तैँले दियाबलसका रूपमा रहेको व्यक्ति पत्ता लगाइस् तर तुरुन्तै उपायहरू अपनाइनस्, सतर्कताको काम उचित रूपमा अघि बढाइनस्, र फलस्वरूप कतिपय मूर्ख र अज्ञानी मानिसहरूले खुलासा गर्न नहुने धेरै कुराहरू खुलासा गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूको जानकारी चुहावट गर्छन्, जसले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछ भने, त्यो तँ जिम्मेवारी विमुख हुनु हो। मलाई भन्, यस मामलामा तेरो कर्तव्य निर्वाह कस्तो भयो? के तैँले त्यो राम्ररी पूरा गरिस्? (गरिनँ।) आफ्नो कर्तव्य राम्ररी पूरा नगर्नु—के यो तैँले परमेश्वरलाई निराश तुल्याएको मामला हो? (हो।) यो त परमेश्वरलाई निराश तुल्याउनु हो। यदि तिमीहरू आफै विदेशमा निकै सुरक्षित छौ तर तिमीहरूको आफ्नै मूर्खताका कारण चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्टले तिमीहरूलाई झुक्क्याइदिन्छ भने, यसले खतरनाक परिणामहरू ल्याउनेछ; यसले मुख्य भूमिमा रहेका तिमीहरूको गृहनगरका मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमा प्रकोप ल्याउनेछ। के तिमीहरू त्यस्तो परिणाम हेर्न इच्छुक छौ? (छैनौँ।) यदि व्यक्तिमा थोरै विवेक र थोरै मानवता छ भने, ऊ यस्तो घटना घटेको हेर्न अनिच्छुक हुनुपर्छ; ऊ आफै अहिले चाहे जहाँ भए पनि, उसले मुख्य भूमिमा कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूले सतावट भोगेको हेर्न चाहँदैन। यदि कसैले “अँ, अहिले म विदेशमा सुरक्षित छु—को पक्राउ पर्छ मलाई के मतलब! यदि कसैले कष्ट भोग्छ भने त्यसको मसँग के सम्बन्ध हुन्छ र? मलाई मेरो आफ्नै परिवारको समेत वास्ता छैन। मलाई कुनै स्नेह छैन” भनेर भन्छ भने—के त्यस्तो व्यक्तिमा मानवता हुन्छ? (हुँदैन।) उसमा कुनै मानवता हुँदैन—व्यक्तिले त्यसरी सोच्नु हुँदैन। यदि तँ आफूसँग विवेक र मानवता छ भनेर दाबी गर्छस् भने, कम्तीमा पनि तैँले मुख्य भूमिमा रहेका आफ्ना आफन्तहरू र मण्डलीमा समस्या ल्याउनु हुँदैन। त्यसकारण, जब तैँले दियाबलसहरूको सामना गरिरहेको हुन्छस्, तब तिनीहरूप्रतिको सुझबुझ हुनु मात्रै पर्याप्त हुँदैन—तैँले व्यापक रूपमा सोच्नु पनि पर्छ। तैँले आफूलाई खुलासा नगर्ने, साथै मुख्य भूमिमा रहेका तेरा आमाबुबा र आफन्तहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि नपुग्ने कुरालाई सुनिश्चित गर्ने तरिकाले कसरी कार्य गर्ने भन्ने बारेमा सोच्नुपर्छ। तैँले मण्डलीको काम संरक्षण गर्ने र परमेश्वरको घरको ढोकाको रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नु नै पर्छ। मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। यदि तैँले सक्दो प्रयास गरेको छस् भने, तैँले गर्न नसक्ने केही कुराहरू भएका कारण वा तैँले कुनै मामलालाई छर्लङ्ग नदेखेका कारण कुनै कुरा गलत भयो भने पनि, तँ दोषी हुँदैनस्—सबै कुरा परमेश्वरको हातमा छ। तर मानिसहरूको दृष्टिकोणबाट हेर्दा, मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे तँ स्पष्ट हुनुपर्छ। तँ त्यसबाट पछि हट्नु हुँदैन, र तैँले आफ्नो बारेमा मात्रै सोच्न मिल्दैन—तैँले आफ्नो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको कामलाई पनि ख्याल गर्नुपर्छ। के अहिले अभ्यासको यो मार्ग स्पष्ट भएको छ? (भएको छ।) देखिस्, यदि यी कुराहरूमा सङ्गति नगरिएको भए, तिमीहरूले सबैभन्दा निर्णायक र महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गर्नेथियौ, र अझै पनि के सोच्नेथियौ भने दियाबलसहरू र शैतानहरूसँग कसरी व्यवहार गर्ने भन्ने तिमीहरूलाई थाहा छ। वास्तवमा, तिमीहरूले अभ्यासका सिद्धान्तहरू बुझ्दैनौ—तिमीहरूको वास्तविक कद यही हो।
तैँले सत्यता, सकारात्मक कुराहरू, र परमेश्वरप्रति दियाबलसहरूको मनोवृत्तिलाई अवगत गर्न सके वा नसके पनि, तिनीहरूको सार, जे भए पनि, सत्यतालाई घृणा गर्ने, सकारात्मक कुराहरूलाई घृणा गर्ने, र परमेश्वरलाई घृणा गर्ने नै हुन्छ। पथभ्रष्ट हुनु भनेको यही हो। चाहे तिनीहरूले प्रकाश गर्ने शब्दहरूबाट होस् वा तिनीहरूको हृदयका विचार र दृष्टिकोणहरूबाट होस्, सत्यताप्रतिको, सकारात्मक कुराहरूप्रतिको, र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई देख्न सकिन्छ। यो मनोवृत्ति अनुसार मूल्याङ्कन गर्दा, दियाबलसहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्, सकारात्मक कुराहरूलाई पटक्कै स्वीकार गर्दैनन्, र अवश्य नै, तिनीहरूले परमेश्वरको आराधना पटक्कै गर्दैनन् भनेर निश्चितताको साथ भन्न सकिन्छ। त्यसकारण, तिनीहरूले मानिसहरूबाट आउने कुनै पनि सही सुझाव, अभिव्यक्ति, वा अर्ती स्वीकार गर्दैनन्। त्यसोभए, परमेश्वरबाट आउने सत्यता सिद्धान्तहरू, परमेश्वरका चेतावनीहरू, परमेश्वरले गर्नुहुने मागहरू, र मानिसहरूका लागि परमेश्वरले दिनुभएका शिक्षाहरूका हकमा भन्दा, तिनीहरू यी सबै कुरालाई अझै बढी तुच्छ ठान्छन् र तिनलाई कहिल्यै स्वीकार गर्दैनन्। बरु, तिनीहरू हृदयमा आफूले मन पराउने जुनसुकै कुरा, आफूलाई फाइदा गर्ने जुनसुकै कुराबारे षड्यन्त्र गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो हैसियत, प्रतिष्ठा, अभिमान, र गन्तव्यका बारेमा षड्यन्त्र गर्छन्; तिनीहरू आफ्नो वास्तविक जीवनमा आफूले आनन्द लिन, प्राप्त गर्न, र हासिल गर्न चाहेका जुनसुकै फाइदाहरूका बारेमा षड्यन्त्र गर्छन्। यो तिनीहरूको भित्री संसार हो, र तिनीहरूको प्रकृति सार दुष्ट छ भन्ने कुरा देखाउन यो नै पर्याप्त हुन्छ। यो पथभ्रष्ट प्रकृति सार कहिल्यै परिवर्तन हुनेछैन। सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले गर्ने सबै कुरा, र तिनीहरूका सबै विचार र दृष्टिकोणहरूको सत्यता वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन, र परमेश्वरका शिक्षाहरू वा मानव जीवनको सही मार्गसँग तिनको कुनै सरोकार हुँदैन; ती सबै दुष्ट नकारात्मक कुराहरू हुन्। तैँले दुष्ट सार भएका मानिसहरूसँग सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, तिनीहरूलाई प्रेमको साथ जसरी सहयोग गर्ने प्रयास गरे पनि, तैँले तिनीहरूको मन छुन सक्दैनस्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन गर्न सक्दैनस्, र तिनीहरूले हरेक दिन दुष्टताबारे मात्र सोच्ने तिनीहरूको जीवनशैली परिवर्तन गर्न सक्दैनस्। अवश्य नै, तैँले तिनीहरूले पछ्याउने उद्देश्यहरू पनि परिवर्तन गर्न सक्दैनस्, न त तिनीहरूले हरेक मामलाको युक्ति रच्ने शैली र दिशा नै परिवर्तन गर्न सक्छस्। दियाबलसहरूका रूपमा रहेका यी मानिसहरू सुरुदेखि अन्त्यसम्मै उस्तै रहन्छन्। तिनीहरूको दुष्ट सार परिवर्तन हुनेछैन। तिनीहरूले परमेश्वरको नाम नत्यागी वा साँचो मार्ग नछोडी, सधैँ परमेश्वरको घरमा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले सत्यता स्वीकार नगर्ने हुनाले, र तिनीहरूले विचार गर्ने र मनन गर्ने सबै कुरा नकारात्मक कुरा र दुष्ट कुराहरूसँग सम्बन्धित हुने हुनाले, तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्ने कुनै सम्भावना हुँदैन, र तिनीहरूको मानवतामा पनि कुनै परिवर्तन आउन सक्दैन। अवश्य नै, एउटा कुरा निश्चित छ: यी मानिसहरूले मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुँदैन। तिनीहरूको गन्तव्य के हो भन्ने बारेमा त बताइरहनु नै पर्दैन। हामीले यहाँ सङ्गति गरिरहेको कुरा तिनीहरूको गन्तव्य के हो भन्ने होइन। हामी तिनीहरूको प्रकृति सार खुट्ट्याउने र चिरफार गर्ने कार्यमा केन्द्रित छौँ।
दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको पथभ्रष्ट प्रकृति सारको पहिलो प्रकटीकरण—“कुटिल हुनु”—का बारेमा अब पूर्ण रूपमा सङ्गति भइसकेको छ। हामीले मुख्य रूपमा, तिनीहरूले सकारात्मक कुराहरूलाई कसरी लिन्छन्, त्यस सम्बन्धी तिनीहरूका विभिन्न मनोवृत्ति र प्रकटीकरणहरू, साथै तिनीहरूले आफ्नो हृदयमा पाल्ने र राख्ने विभिन्न विचार र दृष्टिकोणहरूका बारेमा सङ्गति गऱ्यौँ। चाहे ती तिनीहरूका ठोस प्रकट गरिएका कुराहरू र प्रकटीकरणहरू हुन्, वा तिनीहरूले खुलासा गर्ने आँट नगर्ने तिनीहरूको हृदयका गहिराइमा लुकेका कुराहरू हुन्, यी सबैले तिनीहरू साधारण भ्रष्ट मानिसहरू होइनन् भन्ने कुरा प्रमाणित गर्छन्। तिनीहरूसँग साधारण भ्रष्ट मानिसहरूको विवेक र समझ हुँदैन। यी मानिसहरूसँग साधारण भ्रष्ट मानिसहरूको मानवता हुँदैन भनेर पनि भन्न सकिन्छ। यसलाई सरल रूपमा भन्दा, यी मानिसहरूसँग कुनै मानवता हुँदैन। तिनीहरूका विचार र दृष्टिकोण चाहे जति नै दुष्ट भए पनि, तिनीहरूको अभिव्यक्ति, कार्य, व्यवहार र आचरण चाहे जति नै दुष्ट भए पनि र मानवतासँग जति नै नमिल्ने भए पनि, तिनीहरूलाई यसबारे पटक्कै थाहा हुँदैन। तिनीहरू आफ्नो प्रकृति सारलाई दुष्ट, सत्यता विपरीत, वा सत्यताप्रति शत्रुवत् भनेर कहिल्यै पनि ठहर गर्दैनन्। तैँले तिनीहरूसँग चाहे जसरी सङ्गति गरे पनि, तिनीहरू अझै पनि आफ्ना भ्रष्ट स्वभावको क्षेत्रभित्र जिउँछन्। यी मानिसहरू एक-अर्कासँग सङ्गत गर्दा, विशेष रूपमा मिलेर बस्छन्, र तिनीहरू आफ्नो खराबीमा विशेष रूपमा समान विचारका हुन्छन्। तर हृदयमा, तिनीहरू सत्यता बुझ्ने र सत्यता पछ्याउने मानिसहरूबाट अत्यन्तै विकर्षित हुन्छन् र तिनीहरूलाई तिरस्कार गर्छन्।